title
stringlengths
10
138
summary
stringlengths
17
955
text
stringlengths
111
16.8k
कोरोना भाइरस महामारीः चीनले कसरी आवाज दबायो र कोभिड-१९ को इतिहासको पुनर्लेखन गर्‍यो
गत वर्षको आरम्भमै चीन सरकारले दुईवटा चुनौती खेप्नुपरेको थियो। देशभरि ठूलो खतराका रूपमा देखिएको एउटा अज्ञात रोग अनि त्यहाँको अवस्थाबारे इन्टरनेटको माध्यमबाट विश्वभरि सूचना दिइरहेका मानिसहरूको आवाज शक्तिशाली चीनका ठूला चुनौती थिए।
तर सन् २०२० को अन्त्यसम्म सरकारद्वारा नियन्त्रित सञ्चारमाध्यमलाई गहिरिएर हेर्ने हो भने दुवै चुनौती अब नियन्त्रण आइसकेको जस्तो देखिन्छ। बीबीसीका केरी इलन र जाओयिन फेङले कसरी चीन सरकारले नकारात्मक समाचारलाई अङ्कुश लगायो अनि त्यो अवस्थामा कसरी केही नागरिकले त्यहाँको जानकारी प्रवाह गर्न सके तथा सरकारी संयन्त्रले त्यसको प्रतिवादमा फरक धारणा बनायो भन्ने विषयको समीक्षा गरेका छन्। अनलाइनमा आक्रोश वर्षको आरम्भतिरै अप्रत्याशित कुरा हुन थालेको स्पष्ट भइसकेको थियो। चीनको सामाजिक सञ्जालमा मानिसहरूका हजारौँ सन्देशले कोलाहल सिर्जना गरेका थिए। उनीहरूले कतै स्थानीय सरकारले 'सार्स'जस्तो भाइरस लुकाउने प्रयास गरिरहेको त छैन भनी प्रश्न गरिरहेका थिए। 'सीना वेइबो' जस्ता सामाजिक सञ्जालमा सरकारविरोधी पोस्ट सेन्सर गरिन्छ। तर यस पटक सन्देशको बाढी आएकाले केही सामग्रीमा सेन्सर नभएको देखियो। कैयौँ सञ्चारमाध्यमले ज्यानुअरी र फेब्रुअरीमा अवसर छोपेर खोजमूलक विवरण प्रकाशन गरे। ती विवरणहरू सामाजिक सञ्जालमा निकै फैलिएपछि बेइजिङ दुष्प्रचारमा ओर्लियो र ती समाचार दबाइयो। ज्यानुअरीको मध्यतिर चीनका राष्ट्रपति सी जिन्पिङ अचानक त्यहाँका सञ्चारमाध्यमका समाचारबाट ओझेल परे। उनी कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। 'पीपल्स डेली'जस्ता परम्परागत सरकारी सञ्चारमाध्यमको पहिलो पृष्ठमा पनि उनको तस्बिर छापिएन। उनी दोषमुक्त हुन भौतिक रूपमा ओझेल परेको आशङ्का गरियो। तर एक हप्तापछि अवस्था केही फेरियो। सरकारका उच्च अधिकारीले स्थानीय सरकारलाई यदि आफ्नो इलाकामा कोरोनाभाइरसको विषय लुकाए ऐतिहासिक लज्जा हुने चेतावनी दिन थाले। चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वुहानले किन तत्काल मानिसहरूलाई भनेन भनेर त्यहाँको नेतृत्वलाई दोष दिँदै अस्वाभाविक टिप्पणीहरू आए। त्यसपछि फेब्रुअरीमा राष्ट्रपति सी आत्मविश्वास र शक्तिको स्तम्भको रूपमा फेरि देखा परे। चिकित्सकलाई नियन्त्रण गर्ने नीति थुप्रै भ्रमका बीच एक चिकित्सकको आवाज दबाउनु नहुने थियो भन्ने स्पष्ट भयो। लि वेन्लियाङले सार्सजस्तो एउटा सरुवा रोग भयावह स्थितिमा फैलिरहेको चेतावनी दिएका थिए। उक्त रोगकै कारण फेब्रुअरी ७ मा उनको मृत्यु भयो। 'मिथ्या टिप्पणी' गरेर 'सामाजिक सुव्यवस्था बिथोलेको' आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो भन्ने कुरा प्रकाशमा आयो। उनको मृत्युपछि १० लाखभन्दा धेरै प्रयोगकर्ताले वेइबोमा उनको प्रोफाइलमा समर्थन जनाए। पछि बिस्तारै ती पोस्टहरू हटाइयो। तर इन्टरनेट प्रयोगकर्ताहरूले इमोजी, मोर्स कोड र प्राचीन चिनियाँ लिपिको माध्यमबाट उनको सम्झना गर्ने रचनात्मक तरिका खोजे। फेसबुक र वीच्याटका प्रयोगकर्ताले आफूले लगाएको मास्कमा 'मैले सक्दिनँ' र 'मैले बुझ्दिनँ' लेखेर पोस्ट गर्ने ट्रेन्डनै सुरु भयो। डा. लिको मृत्यु भएपछि उनको समर्थनमा इन्टरनेटमा यस्ता तस्बिरहरू प्रेषित भए प्रहरीले अनुसन्धानका क्रममा डा. लिलाई चेतावनी दिँदै सोधेका प्रश्नको उत्तरको रूपमा उनीहरूले त्यसो लेखेका हुन्। पछि चिनियाँ अधिकारीले डा. लिलाई 'शहीद' माने। तर अन्य कैयौँ महत्त्वपूर्ण कार्यकर्ताहरूको नाम कोभिड- १९ को इतिहासबाट हटाइएको हुनसक्छ। पत्रकार बेपत्ता वुहान प्रकोपका बेला नागरिक पत्रकारितामा संलग्न व्यक्तिहरूले सूचना बाहिर पुर्‍याएर अन्तर्राष्ट्रिय रूपमा प्रभावकारी काम गरेका थिए। तीमध्ये पर्ने शेन चिउशी, फाङ बिन र जाङ जानले बनाएको भिडिओ लाखौँ मानिसले यूट्यूबमा हेरेका छन्। उक्त भिडिओलाई उनीहरूले वुहानको वास्तविक तस्बिर भनेका छन्। तर उनीहरूले त्यसको मूल्य तिर्नुपर्‍यो। कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सीपीजे) का अनुसार वुहानमा अधिकारीहरूले चीन सरकारको धारणाको निम्ति खतरा बनेका कैयौँ पत्रकारहरूलाई गिरफ्तार गरे। वुहानमा समाचार सङ्कलन गरेकाले जाङ जान पक्राउ परिन् ती पत्रकार अझै पनि जेलमा रहेको सीपीजेले जनाएको छ। ली जुख्वाले फेब्रुअरीमा यूट्यूबमा एउटा भिडिओ पोस्ट गरे। त्यसमा उनले प्रहरीले आफूलाई पिछा गरिरहेको बताएका थिए। त्यसपछि उनी बेपत्ता भए। दुई महिनासम्म उनीबारे सुइँको पाइएन। पछि क्वारन्टीनमा बसेको र अधिकारीहरूलाई सहयोग गरिरहेको भनिएको उनको भिडिओ सार्वजनिक भयो। त्यसपछि उनको कुनै पोस्ट देखिएन। उनलाई बलपूर्वक उक्त भिडिओ पोस्ट गर्न लगाएको हुनसक्ने केहीको भनाइ छ। इतिहास लेख्ने नयाँ पुस्तक र टीभी शो चीनले एउटा निकै सकारात्मक तस्बिर देखाउने प्रयास पनि गर्‍यो। 'द क्राउन' ब्रिटेनको राजपरिवारको इतिहासको अप्रमाणित संस्करण हुनसक्ने भन्दै कतिपयले चिन्ता गरे जस्तै कैयौँ चिनियाँमा पनि वुहानमा जे भएको थियो त्यो कोभिडबारे पछि लेखिने पुस्तक र प्रस्तुत हुने टेलिभिजन कार्यक्रमहरूमा वास्तविक रूपमा उजागर नहुने चिन्ता थियो। वर्षको सुरुमा चिनियाँ लेखक फाङ फाङले वुहानमा आफूले व्यतीत गरेको जीवनको अभिलेख तयार पारेकोमा व्यापक प्रशंसा पाइन्। उनको लेखनले वुहानका मानिसको त्रास र आशाको दुर्लभ झलक प्रदान गरेको छ। फाङ फाङलाई 'वुहान डायरी'बाट गलत सन्देश फैलाएको आरोप लाग्यो तर 'वुहान डायरी' लेखेका कारण उनी चिनियाँ राष्ट्रवादीको आलोचनाको निसानामा परेकी छन्। उनीहरूले फाङमाथि चीनको छवि धमिलो पार्न र निराशापूर्ण सन्देश प्रवाह गर्न चाहेको आरोप लगाएका छन्। सरकारी सञ्चारमाध्यमले पनि अन्य पुस्तकको प्रवर्धन गरे जसमा महामारीसँग सङ्घर्ष गर्न अधिकारीहरूको भूमिकाबारे सरकारको सकारात्मक सन्देशलाई बल दिइएको थियो। केही सन्दर्भमा सरकारी सञ्चारमाध्यमले पनि सरकारी निर्देशन पालनाका विषयमा असन्तुष्टि खेप्नुपर्‍यो। सेप्टेम्बरमा 'सत्य घटनामा आधारित' अग्रपङ्क्तिमा काम गर्ने मानिसबारे निर्मित नाटकको पहिलो शो 'हिरोज इन हार्म्स वे' देखाइँदै गर्दा उक्त कार्यक्रमको आलोचन भयो। त्यसमा प्रकोपका क्रममा महिलाले निर्वाह गरेको भूमिका न्यून बनाएर चित्रण गरिएको थियो। सन् २०२० को बिदाइसँगै चीनले आफ्नो क्षमता उच्च रहेको देखाउन खोजेको छर्लङ्ग छ। कोभिड-१९ बारे बनाइएको कार्यक्रमको आलोचना भयो उसले आफ्ना नागरिक र बाँकी विश्वलाई आफूले कोभिड-१९ विरुद्धको लडाइँ करिब जितिसकेको सन्देश दिन खोजेको छ। तर कोरोनाभाइरस महामारीको थालनीसँग आफ्नो सम्बन्ध रहेको तथ्यसँग चीन पर बस्न खोजेको छ। अहिले उसले कोभिड-१९ माथिको आफ्नो जितको अर्थ पश्चिमा देशको भन्दा आफ्नो राजनीतिक प्रणाली बढी सफल छ भन्ने कुरालाई देखाउन खोजेको जस्तो देखिन्छ।
कोरोना भाइरस अर्थतन्त्र : कोभिड-१९ महामारी फैलिएको भए पनि कसरी बढ्यो नेपाल आउने रेमिट्यान्स
कोरोनाभाइरस महामारी फैलिएको भए पनि यसपालि अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले विप्रेषण वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसबाट वैदेशिक रोजगारीको क्षेत्र तत्काल कोभिड-१९ को ठूलो जोखिममा नरहेको सङ्केत देखिएको अधिकारी तथा विज्ञहरूको धारणा छ।
अहिले विदेश जान लागेका नेपालीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ परीक्षणको रिपोर्ट देखाउनुपर्छ नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको प्रतिवेदन बुधवार सार्वजिनक गरेको थियो। उक्त प्रतिवेदनका अनुसार पाँच महिनामा नेपालमा प्राप्त रेमिट्यान्स ४१६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। कोरोनाभाइरसको महामारी देखा परेयता झन्डै एक लाख ९७ हजार नेपाली कामदार विभिन्न देशबाट फर्किएको वा उनीहरूको उद्धार गरिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। रेमिट्यान्स बढ्नुको कारण के हो? नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट कोभिड-१९ को महामारीसँगै लगाइएको लकडाउन सहितका सन्दर्भलाई जोडेर रेमिट्यान्स अर्थात् विप्रेषण वृद्धिलाई हेरिनुपर्ने बताउँछन्। उनले भने, “कोभिड -१९ को महामारीपछि सीमामार्फत् हुने आवतजावतलाई व्यवस्थित बनाउने काम भयो र उडानहरू पनि भएनन्।" मलेशिया नेपाली श्रमिकहरूको एउटा प्रमुख गन्तव्य हो "त्यसले गर्दा अनौपचारिक किसिमका व्यापार र कारोबार निरुत्साहित भएको देखिन्छ। विगतमा अनौपचारिक व्यापारमा रेमिट्यान्स प्रयोग भएको कुरा आउँथ्यो। त्यो अहिले औपचारिक प्रणालीबाट आएको र त्यसले रेमिट्यान्सलाई बढाउन भूमिका खेलेको देखिएको छ।” त्यसअघि सुन खरिद, हुन्डीबाट हुने कारोबार लगायतमा रेमिट्यान्स प्रयोग गर्ने गरिएका विवरण आउने गरेका थिए। प्रवक्ता भट्टका अनुसार मानिसहरूले विदेशबाट फर्किँदा ल्यापटप, फोनजस्ता सामान पनि रेमिट्यान्स भित्र्याउने गरेको भए पनि उडानहरू अवरुद्ध भएपछि रकम नै पठाउने क्रम बढ्यो। उनले थपे, “हाम्रा श्रमिकहरूले काम गर्ने गन्तव्य देशहरूमा कोभिड-१९ महामारीपछि अर्थतन्त्र प्रभावित भएको छ। तर उत्पादनका क्षेत्रहरूमा कामहरू अघि बढि नै रहेको छ। त्यो हुँदा उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने कामदारहरूले जागिर गुमाउनुपरेन। त्यही भएर ठूलो परिमाणमा मानिसहरू घर फर्किन्छन् र हाम्रो रेमिट्यान्स घट्छ भन्ने जुन हाम्रो आशङ्का थियो त्यो भएन।” अहिले भारतबाहेक अन्य देशमा ३२ लाख नेपाली श्रमिकहरू रहेको अधिकारीहरूको अनुमान छ। कोरोनाभाइरसको महामारीका कारण प्रवासमा रहेका झन्डै २० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने आकलन एउटा अध्ययनले गरेको थियो। अक्टोबर महिनामा विश्व ब्याङ्कले सार्वजनिक गरेको एउटा प्रतिवेदनले सन् २०२१ मा विप्रेषण प्रवाह कोरोनाभाइरसको महामारीभन्दा अघिको समयको तुलनामा १४ प्रतिशतले घट्न सक्ने प्रक्षेपण गरेको थियो। त्यसमा सन् २०२० मा दक्षिण एशियामा आउने विप्रेषण लगभग चार प्रतिशतले घट्ने उल्लेख गरिएको थियो। विज्ञहरू के भन्छन्? राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल औपचारिक संयन्त्रहरूबाट विप्रेषण आएको र श्रमिकहरूले आफ्नो सञ्चित रकमहरू पठाएको कारण विप्रेषण बढेको हुनसक्ने ठान्छन्। महामारीका कारण झन्डै सात लाख नेपाली स्वदेश फर्किन सक्ने आकलन गरिएको भए पनि त्यति ठूलो सङ्ख्यामा मानिसहरू नफर्किएको जानकारी उनले दिए। उनी भन्छन्, “हामीले ६० प्रतिशत मानिसहरू कोभिडका कारण फर्किने र ४० प्रतिशत मानिसहरू आफ्नो नियमित आवतजावतअन्तर्गत घर फर्किने र प्रवेशाज्ञाको अवधि सकिएर वा करार सकिएर फर्किने ठानेका थियौ। अब बिस्तारै जाने क्रम पनि बढ्छ।” उनका अनुसार विगतमा दैनिक रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १,२०० रहेको थियो भने फर्किनेको सङ्ख्या ७०० थियो। राष्ट्र ब्याङ्कको प्रतिवेदनले यो आर्थिक वर्षको पहिलो पाँच महिनामा नयाँ श्रम स्वीकृति लिने संस्थागत र व्यक्तिगत सङ्ख्या दुईतिहाइभन्दा बढीले घटेको देखाएको छ। श्रम स्वीकृति नवीकरण गरेर पुन: विदेश जान आउनेको सङ्ख्या लगभग ७० प्रतिशतले घटेको उक्त प्रतिवेदनमा उल्लेख छ। आप्रवासनका बारेमा अध्ययन गर्ने राजधानीस्थित एउटा संस्था सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका अनुसन्धान संयोजक अर्जुन खरेलका अनुसार गन्तव्य देशहरूमा लकडाउन भएको अवधिमा रेमिट्यान्स घटेको थियो र कतिपय कामदारहरू ज्याला नलिईकनै नेपाल फर्किएका थिए। उनले भने, “हामीले १०० भन्दा बढीमा गरेको एउटा सर्वेक्षणमा ज्याला नलिएरै फर्किनेको सङ्ख्या झन्डै एकतिहाइजति नै थियो। सुरुमा पैसा नपाएको वा त्यहाँ नै बसेका कामदारहरूलाई कम्पनीले पैसा दिएर उनीहरूले केही रकम पठाएको पनि हुनसक्छ।” उनले थपे, “घर बिदामा आउने मानिसहरूको सङ्ख्या पनि घटेको छ। हाम्रो वैदेशिक रोजगारीमा रहेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छैन। करार सकिएका व्यक्ति पनि थपेर बस्न थाले। त्यही भएर सुरुमा पाँच लाख/ छ लाख नेपाली फर्किन्छन् भनेर गरिएको अनुमान सही साबित भएन।” उनका अनुसार विगतमा बिदामा आएर तिहारपछि भारतमा फर्किने गरेका नेपाली श्रमिक यो पालि चाँडै फर्किएकाले पनि त्यसले रेमिट्यान्स बढाउन भूमिका खेलेको हुनसक्छ। विदेशमा काम गरेर घर पैसा पठाउँदा यसरी अर्बौँ डलर बीचका मान्छेकहाँ पुग्छ अब बढ्ला कि घट्ला? अनुसन्धानकर्ता खरेल नेपाली श्रमिक रहेका देशमा कोभिड-१९ ले आगामी दिनमा पार्न सक्ने प्रभावले भावी दिनमा हुने रेमिट्यान्स प्रवाहलाई निर्धारण गर्ने ठान्छन्। उनका अनुसार नयाँ खालको भाइरस आएर लकडाउन गर्नुपर्ने अवस्था आएको खण्डमा विप्रेषणमा नकारात्मक असर पर्न सक्छ। तर पछिल्लो समयमा कोरोनाभाइरसको खोप उपलब्ध भइसकेको र ठूलो सङ्ख्यामा नेपाली कामदार रहेका खाडी देशहरूको आर्थिक सामर्थ्य बलियो रहेकाले उनीहरूले खोप अभियानलाई प्राथामिकता दिएर सञ्चालन गर्न सक्ने उनी ठान्छन्। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट चाहिँ अन्तर्राष्ट्रिय निकायहरूले नै कोरोनाभाइरसका कारण सुस्ताएको अर्थतन्त्र पुन: तङ्ग्रिन थालेको विश्लेषण गरिरहेकाले तत्काल नकारात्मक असर नपर्ने विश्लेषण गर्छन्। उनले भने, “पछिल्लो समयमा विश्व व्याङ्कले पनि संसारको अर्थतन्त्र चार प्रतिशतले विस्तार हुन्छ भन्ने अनुमान गरेको छ। कतारमाथि लागेको नाकाबन्दी फिर्ता भएको छ र त्यहाँ विश्वकप फुटबल हुन गइरहेको छ। यसले गर्दा त्यहाँ अर्थतन्त्र विस्तार हुन्छ र कामदारको माग बढ्छ भन्ने हामीले ठानेका छौँ।” ज्यानुअरी महिनाको आफ्नो आर्थिक प्रक्षेपणमा विश्व व्याङ्कले कोभिड-१९ विरूद्धका खोप प्रयोगमा ल्याइएसँगै सन् २०२१मा अर्थतन्त्र चार प्रतिशतले विस्तार हुने उल्लेख गरेको थियो। तर महामारीलाई नियन्त्रण गर्न र लगानी वृद्धि गर्न सुधारका कदमहरू नीति निर्माताहरूले चाल्न नसके उक्त लक्ष्य पूरा नहुने उसले चेतावनी दिएको थियो।
चीनसँगको सम्बन्धबारे भारतमै बहस, नेपालले अंश ग्रहण गर्‍यो, के अनौठो?
भारतमा अन्तिम चरणमा पुगेको चुनावको नतिजाप्रति चासो बढिरहेको छ। त्यसप्रतिको चासो नेपालमा पनि पाइन्छ। खासगरी केही वर्षअघिको नाकाबन्दीका कारण पनि त्यहाँ कस्को सरकार बन्ला र नेपालसँग उसको कस्तो सम्बन्ध रहला भन्ने कुराले त्यो चासो बढाएको हो।
नाकाबन्दी गर्दाताकाकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जारी चुनावबाट पुन: सत्ता प्राप्तिको लक्ष्यमा छन्। नेपालमा मिलिजुली सरकारको प्रमुखको रूपमा नाकाबन्दीको सामना गरेका केपी ओली अहिले एकल बहुमतको सरकारको नेतृत्वमा छन्। यससन्दर्भमा बीबीसी नेपाली सेवाका शरद केसीले दुई देशको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य समेत रहिसकेका दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक मेहन्द्र पी लामासँग गरेको कुराकानी। भारतमा बन्ने नयाँ सरकारले नेपालसँगको सम्बन्धलाई कसरी अघि बढाउला? अब सरकार कसले बनाउने हो, अहिलेकै सत्तापक्षीय गठबन्धनले बनाउने हो या विपक्षीहरूले बनाउने हुन् भन्ने अहिलेसम्म कुनै स्पष्टता वा प्रवृत्ति देखापरेको छैन। कुन सरकार कस्तो रूपमा बन्ने हो भन्नेमा पनि धेरै कुरा निर्भर गर्छ। यदि भारतीय जनाता पार्टी (भाजपा) कै सरकार बन्यो र नरेन्द्र मोदी नै प्रधानमन्त्री बने भने? हेर्नोस् है। भाजपाकै सरकार बन्यो भने मलाई लाग्छ उनीहरूले अहिलेसम्म गर्दै आएका धेरै कार्यक्रमलाई अझ सुगठित बनाएर अगाडि बढाउने होला जस्तो लाग्छ। सुगठित बनाउँदा त्यसमा हेरफेर-परिवर्तन निश्चय नै ल्याउँछ। कारण—गत पाँच वर्षमा भारत र नेपालबीचको सम्बन्धमा जस्तो तलमाथि देखियो, नयाँ रूप देखियो, त्यो लामो समयदेखि देखेका थिएनौं, झण्डै ३० वर्षपछि देखियो। त्यसैले नयाँ कुरा ल्याउने र कसरी यसलाई अझ सुमधुर-दिर्घकालीन बनाउने भन्नेमा निश्चय नै बिचार गर्लान्। भारतमा लामो समयपछि मोदीको नेतृत्वमा बहुमतको सरकार बनेकै बेला नाकाबन्दीका कारण नेपालसँगको सम्बन्ध चिसियो। मोदीले त्यसबाट कुनै शिक्षा लिएका छन् वा कुन रूपमा लिएका छन् त्यो घटनाक्रमलाई? नेपालमा लगभग १० वर्ष छलफल भएर संविधानलाई अन्तिम रूप दिइँदै थियो। भारतमा नयाँ राजनीति पार्टी र नेताले सत्ता सम्हालेपछि के गर्ने, कसो गर्ने भन्नेमा अलिकति अन्योल थियो। त्यस्तो बेला भारतको विदेश नीति सञ्चालन गर्ने संस्थाहरूमा पनि अलिकति शिथिलता आएको देख्यौँ। शिथिलता भनेको? व्यक्ति विशेष भए, संस्था विशेष भएन। संस्था केन्द्रीत भएन। भनेको त्यसलाई विधिवत रूपमा भन्दा पनि व्यक्तिलाई जसरी मन लाग्यो त्यसरी चलायो? हामीले त्यस्तै देख्यौँ। किन कि यदि त्यही कुरा संस्थाले अगाडि बढाएको खण्डमा संस्थाले धेरै कुरा गर्ने थिएन जस्तो लाग्छ। जस्तो के कुरा गर्ने थिएन? जस्तै नाकाबन्दीको कुरा। नाकाबन्दी दुई देशबीचको सम्बन्धमा गहिरो आघात पुर्‍याउने कुरा हो। यस्तो गहिरो आघात पुग्ने कुरा भारत जस्तो परिपक्व राष्ट्रले कसरी ल्यायो भन्नेमा हामी आफैँ अचम्मित छौँ। त्यो पनि नेपालमा यस्तो परिवेश जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यति भव्य रूपमा मानियो, स्वागत गरियो। उहाँले पनि यो गर्छु र उ गर्छु भन्नु भएको थियो। त्यति राम्रो त्यति सुगम स्थितिमा पनि यस्तो किसिमको आघात पुग्ने कुरा कसरी अघि बढाइयो भन्नेमा हामी अचम्मित छौँ। पछि हामीलाई लाग्यो- यो त संस्थाले गरेको काम होइन्। कारण-संस्थाको त इनस्टिट्युसनल मेमोरी (संस्थागत स्मरण) हुन्छ, सोच हुन्छ। त्यसले इतिहास हेर्छ। परम्परा हेर्छ। त्यो त व्यक्ति केन्द्रीत निर्णय र निश्चित गरिएको कुनै कार्यक्रम पो हो कि भन्ने हामीलाई लाग्यो। फेरि नाकाबन्दी सकिनासाथ सम्बन्धमा सुधार आउनु पर्छ भनेर ठोस कार्यक्रम दुई देशबीच अगाडि बढ्यो। प्रधानमन्त्रीहरूबीच भेटघाट भयो। यो, त्यो गर्ने भनियो। त्यो सब देखेपछि हामीलाई अब संस्था नै अघि बढ्छ कि जस्तो लाग्यो। त्यसैले अब मलाई लाग्छ- भाजपाको सरकार बनेमा र नरेन्द्र मोदी नै प्रधानमन्त्री बनेमा त्यस्ता कार्यक्रम अघि नबढाउला, संस्थालाई नै अगाडि बढाउला। तर तपाईँ समेत सदस्य रहेको दुई देशबीचको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन प्रधानमन्त्रीले अझै बुझेका छैनन्। यसले त भारत नेपालप्रति अझै असन्तुष्ट भन्ने सङ्केत होइन? होइन्, त्यसरी नहेरौँ। अब दुई राष्ट्रबीच भित्र के छ? एउटा विशेष लक्ष्य राखेर हामीलाई सुम्पिइएको अभिभारा हामीले पूरा गर्‍यौँ। तपाईहरूले त पूरा गर्नु भयो। तर त्यो जिम्मेवारी दिएका प्रधानमन्त्रीहरूले त आफूले गर्नुपर्ने काम त गरिरहेका छैनन् नि। हामीले आफ्नो काम गर्‍यौँ। तर कतिबेला त्यो लिने, कार्यान्वयन गर्ने, स्वीकृति दिने भन्ने त्यो सरकारको काम हो। हामीभन्दा टाढाको कुरा हो। त्यसैले यसलाई मोदी सरकारको असन्तुष्टिको रूपमा लिन सकिन्न? मलाई त त्यस्तो लाग्दैन। अब सरकारले के कारणले ढिला गर्‍यो, न हामीले नै प्रतिवेदन बुझाउन ढिला गर्‍यौँ। यस्ता धेरै अफवाह फैलिन्छन्। अब सरकार बन्यो भने दुबै राष्ट्रका प्रधानमन्त्रीले कुरा गरेर प्रतिवेदन लिनेछन् भन्ने नै हामीलाई विश्वास छ। नेपालमा लामो समयपछि वामपन्थीहरूको अत्यधिक बहुमतको सरकार बनेको छ। उसले चीनसँगको सम्बन्धलाई कुनै न कुनै रूपमा अघि बढाइ राखेको छ। त्यो काम समग्र भारतको निम्ति अहितकर हुन्छ, त्यसैले ढिलो चाँडो त्यो सरकारको विस्थापन गर्नुपर्छ र त्यसको निम्ति नेपालभित्र हुने सरकार विरोधी कामलाई भारतले सघाउनु पर्छ भन्ने बुझाइ भारतमा छ भन्ने विश्लेषण हुन्छ। तपाईँले त्यसमा कतिको दम देख्नुहुन्छ? यसमा दुईटा कुरा हुन्छ। पहिलो- नेपालले आफ्नो स्वतन्त्रता र सार्वभौमिकतालाई कुन प्रकारले प्रकट गर्छ, कुन प्रकारले दिशानिर्देशन गर्छ भन्ने कुरा भयो। अर्को नेपाल र चीनबीचको सम्बन्ध बेल्ट एण्ड रोड इनिसियटिभले ल्याएको सम्बन्ध होइन्। सन् १९५० को दशकको अन्त्यतिर औपचारिक रूपमा जसरी सम्बन्ध शुरू भयो-कोदारी राजमार्ग जस्ता जति काम भए ती हेर्दा यो नयाँ होइन। नेपालमा कुनै पनि सरकार आउँदा चीनसँग सम्बन्ध रह्यो नै। कांग्रेसको सरकार आउँदा पनि रह्यो। माओवादीको सरकारको पालामा पनि थियो। राजा महेन्द्र, राजा वीरेन्द्रको पालामा पनि थियो। तर पारवहन सम्झौता जस्ता कुरा हेर्दा त दोस्रो जनआन्दोलनपछि बनेका सरकारहरूले अहिलेको जस्तो चीनसँग औपचारिक रूपमा यति तीव्र रूपमा सम्बन्ध बढाएको देखिएको थिएन नि। यो कुरा चाहिँ नयाँ हो। चीनलाई भित्र्याउने, चीनबाट लगानी ल्याउने, चीनसँग व्यापार-वाणिज्य सम्झौता गर्ने जो होडबाजी छ राष्ट्रहरूबीच, अहिले देखिएको त्यो होडबाजीमा नेपाल पनि पर्‍यो। श्रीलङ्कालाई हेर्नोस्, पाकिस्तानलाई हेर्नोस्, बांग्लादेशलाई हेर्नोस्, म्यानमारलाई हेर्नोस्। लाओस, भियतनाम, कम्बोडिया, थाईल्यान्ड, इन्डोनेशिया, अफ्रिका र युरोपकै राष्ट्रहरूलाई हेर्नोस्। यो खाली एशियाली मात्र नभएर यो लगभग विश्वव्यापी होडबाजी नै हो। यो होडबाजीमा नेपालले अंश ग्रहण गर्नु कुनै नयाँ कुरो होइन है। भनेको यसलाई भारतले पनि अन्यथा लिनु हुँदैन? लिनु हुँदैन। भारत पनि होडबाजीमै छ। आज लगानी हेर्नोस् न। हाम्रो मोबाइल कम्पनीहरू सबै बन्द हुन लागे। चिनियाँ कम्पनीहरू नै हाबी छन्। गुजरातको मुख्यमन्त्री हुँदा मोदीले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकता नै दिएका थिए। भारतले चीनसँगको आफ्नो सहकार्यलाई स्वाभाविक रूपमा लिन्छ। तर नेपाल आफ्नो छत्रछायाँमा रहिरहोस् भन्ने मानसिकताले पो हो कि नेपालले चीनसँग केही साझेदारी गर्न खोज्दा भारतले प्रतिक्रिया देखाइहाल्छ, रूष्ट बन्छ, भारत सानो मनको छ भन्ने टिप्पणी हुन्छ नि नेपालमा। यो पनि सोचको कुरा हो। हिजो-अस्तिसम्म सबै राष्ट्रमा भारतको जो प्रभाव थियो- त्यो प्रभुत्व (प्रभुत्वलाई नराम्रो रूपमा लिएको होइन) सांस्कृतिक, सामाजिक, जनता-जनताबीच, व्यापार-वाणिज्यमा थियो, त्यो सबै देशमा धेरै घटेर गएको छ। श्रीलङ्कालाई हेर्नोस्, म्यानमारलाई हेर्नोस्। अहिले जस्तो बेल्ट एण्ड रोड इनिसियटिभमा भारतले अंश ग्रहण गर्नुपर्छ कि पर्दैन? पर्दैन भने किन पर्दैन, पर्छ भने किन पर्छ भनेर व्यापक चर्चा-परिचर्चा भइरहेको छ। त्यसको अर्थ भारतभित्रै पनि चीनसँग कस्तो सम्बन्ध हुनुपर्ने भन्ने कुरामा एउटा नयाँ किसिमको सोच, एउटा नयाँ किसिमको प्रतिक्रिया र एउटा नयाँ किसिमको दिशानिर्देश हुँदैछ। चीनसँग खालि सीमा झगडासँग सम्बन्धित कुरा गर्ने कि विश्वव्यापी व्यापक कुरा गर्ने भन्ने कुरामा ठूलो चर्चा-परिचर्चा भइरहेको छ। जब हामी नै हाम्रो नीतिमा स्पष्टताको निम्ति जुझ्दैछौं भने नेपाल, बांग्लादेश, पाकिस्तानमा चीनको प्रभावको प्रसंग अलि टाढैको कुरा जस्तो लाग्छ। त्यसो भए त्यस प्रसंगमा भारतको जे प्रतिक्रिया आउँछ त्यसलाई अस्थायी प्रकृतिको संक्रमणकालीन प्रतिक्रिया मान्नु पर्‍यो? पक्का हो। भारत आफू स्पष्ट भइसकेपछि क्षेत्रीय रूपमा अरू देशको चीनसँगको सम्बन्ध कस्तो हुन्छ र त्यसलाई भारतले कसरी लिन्छ भन्ने कुरा निर्धारण गर्छ? हो-हो। किन भने अहिले चीनको जस्तो आगमन छ- त्यसको बनावट, आधार र रूपरेखा अलग्लै प्रकारको छ। ६०, ७०, ८० र ९० को दशकसँग मिल्दैन। र, जम्मै क्षेत्रमा अलग्गै किसिमको आगमन भएकाले देशहरू जुझ्दैछन्, सोचमा टक्कर भइरहेको छ। यो हाम्रो भारतको कुरा मात्र होइन। मैले यही कुरा पाकिस्तान, थाईल्यान्ड, मलेशिया, अफ्रिकाका राष्ट्रहरूमा पनि देख्छु। सन्तुलन, स्थिरता कसरी ल्याउने भन्ने कुरा हाम्रो भारतभित्र पनि चलिरहेको छ।
गर्भनिरोधक चक्कीका कारण आर्थिक क्रान्ति
गर्भनिरोधक चक्कीले गम्भीर सामाजिक परिणामहरु दिएको छ। यसबारे सबै सहमत छन्।
वास्तवमै त्यो कुरा पहिला नै उठाइएको थियो। गर्भ नियन्त्रणसम्बन्धी अभियान चलाएकी मार्गरेट स्याङगरले महिलाहरुलाई यौनिक तथा सामाजिक रुपमा स्वतन्त्र बनाउन र पुरुष जतिकै समान हैसियत दिनका लागि गर्भनिरोधक चक्की बनाउन वैज्ञानिकहरुलाई अपील नै गरेकी थिइन्। तर उक्त चक्की सामाजिक रुपमा मात्र क्रान्तिकारी थिएन। २० औं शताब्दीको सम्भवत सबभन्दा महत्वपूर्ण आर्थिक परिवर्तन जसलाई आर्थिक क्रान्ति पनि भनिन्छ त्यसलाई सल्काउन यसले निकै महत्वपूर्ण भूमिका खेलेको छ। किन होला? त्यो जान्न उक्त चक्कीले महिलाहरुलाई के दियो पहिला त्यो हेरौँ। सबभन्दा शुरुमा अरु कैयौँ विकल्पहरुको तुलनामा यो बढी परिणाममुखी देखियो। शताब्दीऔंसम्म प्रेमी प्रेमिकाले गर्भ रोक्न सबै प्रकारका, कतिपय अप्रिय लाग्ने, विधिहरु पनि अपनाए। प्राचीन इजिप्टमा गोहीको गोबरको प्रयोग गरिएको थियो भने एरिस्टोटलले सेडरको तेल प्रयोग गर्न सुझाव दिएका थिए। १८ औँ शताब्दीमा क्यासानोभा विधि अन्तर्गत कागतीको बोक्रालाई महिलाको यौनाङमा राख्ने गरिन्थ्यो। तर सबभन्दा आधुनिक र बढी प्रयोग हुने विकल्प कण्डमको समेत असफलता दर उच्च रहेको छ। किनभने मानिसहरुले त्यसलाई ठ्याक्कै जसरी प्रयोग गर्नुपर्ने हो गरिरहेका छैनन्। कतिपय अवस्थामा यौनसम्पर्कको समयमा कण्डम च्यातिन्छ वा फुस्किन्छ। अहिलेसम्म यौनसम्पर्कमा एक वर्षसम्म निरन्तर क्रियाशील कण्डम प्रयोग गर्ने १०० महिलामध्ये १८ जनाको गर्भ रहने पाइएको छ। तर गर्भनिरोधक चक्कीको असफलताको दर करिब ६ प्रतिशत मात्रै रहेको छ जुन कण्डमभन्दा तीन गुणा बढी सुरक्षित देखिन्छ। एकदमै सही रुपमा प्रयोग गर्ने हो भने उक्त असफलता दर त्यसको २० भागको एक भागमा सीमित हुने बताइन्छ। आर्थिक क्रान्ति कण्डम प्रयोग गर्नु भनेको आफ्नो यौन साथीसँग सम्झौता गर्नु भन्ने ठानिन्थ्यो। महिलाहरुले प्रयोग गर्ने डायफ्राम र एक किसिमको स्पुन्जको प्रयोग निकै झन्झटिलो थियो। तर गर्भनिरोधक चक्की प्रयोग गर्ने निर्णय महिलाहरुकै थियो र यो निजी मात्र नभई गोप्य पनि थियो। आश्चर्य मान्नुपर्दैन, महिलाहरुले नै यस्तो चक्की चाहेका थिए। मार्गरेट स्याङगरले गर्भपतन र परिवार नियोजनका साधनहरुको प्रयोग गैरकानुनी नै हुँदा सन् १९१६ मा न्युयोर्कमा पहिलो परिवार नियोजन केन्द्र स्थापना गरेकी थिइन् सन् १९६० मा अमेरिकामा गर्भनिरोधक चक्कीलाई अनुमति दिइएको थियो। त्यसको मात्रै पाँच वर्षमा लगभग आधा विवाहित महिलाहरुले गर्भ रोक्न सो चक्कीको प्रयोग गरिरहेको पाइएको थियो। तर खास क्रान्ति अविवाहित महिलाहरुलाई पनि त्यस्तो चक्की किन्न पहुँच दिने निर्णय गरिएपछि आएको हो। त्यसका लागि केही समय लाग्यो। तर सन् १९७० तिर एकपछि अर्को अमेरिकी राज्यहरुले अविवाहित महिलाहरुले पनि उक्त चक्की खरिद गर्न पाउने निर्णय लिए। विश्वविद्यालयहरुले परिवार नियोजन केन्द्रहरु स्थापना गर्न थाले। सन् १९७० को मध्यसम्म आइपुग्दा त अमेरिकामा १८ देखि १९ वर्ष उमेरका किशोरीहरुमा गर्भनिरोधक चक्की सबैभन्दा लोकप्रिय परिवार नियोजनको साधन बनिसकेको थियो। र, ठीक त्यही समय हो, जतिबेला विश्वमा वास्तवमै आर्थिक क्रान्ति शुरु भयो। अमेरिकामा महिलाहरुले विशेष खालका डिग्रीहरु लिन थाले। त्यसअघि चिकित्सा विज्ञान, दन्त विज्ञान र व्यवस्थापन लगायतका विषय पुरुषहरुले मात्रै पढ्ने गर्थे। सन् १९७० मा मेडिकल डिग्री लिने विद्यार्थीहरुमध्ये ९० प्रतिशतभन्दा बढी पुरुष थिए। कानुन र व्यवस्थापन संकायमा डिग्री लिएका ९५ प्रतिशत पुरुषमात्रै थिए। दन्त विज्ञानमा ९९ प्रतिशत पुरुषहरु थिए। तर सन् १९७० मा गर्भनिरोधक चक्कीहरुमा पहुँच पाउन थालेपछि यी संकायहरुमा पढ्ने महिलाहरुको संख्या ह्वात्तै बढ्यो। शुरुमा पाँचमध्ये एक विद्यार्थी महिला हुन थाले त्यसपछि त्यो बढेर एक चौथाई पुग्यो र सन् १९८० सम्म आइपुग्दा उक्त संख्या एक तिहाई पुगिसकेको थियो। महिलाहरु विश्वविद्यालय जान इच्छुक भएकाले मात्रै यस्तो भएको भने थिएन। व्यावसायिक प्रगति विश्वविद्यालयमा अध्ययन गर्ने निर्णय लिइसकेका महिलाहरुले यस्ता व्यावसायिक शिक्षा रोज्ने निर्णय गरेका थिए। त्यसबेला चिकित्सा र कानुन जस्ता विषय अध्ययन गर्न चाहने महिलाहरुको संख्या निक्कै नाटकीय रुपमा वृद्धि भयो र अरु पेशाहरुमा पनि त्यस्को लगत्तै महिलाहरुको उपस्थिति तीव्र रुपमा बढ्यो। तर गर्भनिरोधक चक्कीसँग यस्को के सम्बन्ध छ? भन्ने प्रश्न उठ्छ। आफ्नो प्रजननसम्म नियन्त्रण दिएर गर्भनिरोधक चक्कीले उनीहरुलाई आफ्नो भविष्यका लागि लगानी गर्ने अवसर दियो। गर्भनिरोधक चक्की उपलब्ध हुनु अघिसम्म पाँच वर्ष वा त्यो भन्दा बढी समय चिकित्सक वा वकिल बन्न खर्च गर्नु महिलाहरुका लागि पैसा र समय दुवैको सही सदुपयोग थिएन। यी विषयहरुको अध्ययनबाट साँच्चै फाइदा लिन एकजना महिलाले विश्वस्नीय रुपमा आफू आमा बन्ने उमेर कम्तीमा ३० वर्ष बनाउनुपर्थ्यो। गलत समयमा सन्तान जन्मिए त्यसले उनको अध्ययन वा पेशागत प्रगतिलाई बाधा पुर्याउँथ्यो। कतिसम्म भन्ने गरिन्थ्यो यौन सम्बन्धमा क्रियाशील महिलाले चिकित्सक, दन्त चिकित्सक वा वकिल बन्नु भनेको भूकम्पको जोखिम रहेको क्षेत्रमा एउटा फ्याक्ट्री निर्माण गर्नु हो जुन भाग्यले एक पटक साथ दिएन भन्ने पुरै लगानी स्वाहा हुन्थ्यो। विवाहको स्थगन वास्तवमै पेशागत शिक्षा लिने इच्छा राख्ने हो भने त्यसका लागि महिलाहरु यौन गतिविधिबाट परै बस्न पनि सक्थे। तर धेरै जना त्यसो गर्न चाहँदैन थिए। आफ्नो भविष्यका लागि यौन सम्बन्धमा निषेध गर्ने निर्णय लिने महिलाहरुले ३० वर्षको उमेरमा श्रीमान्‌को खोजी गर्नुपर्थ्यो र त्यसबेलासम्म सबै राम्रा पुरुषहरु लभगभ सम्बन्धमा भइसकेको हुने अवस्था थियो। गर्भनिरोधक चक्कीले यी दुवै अवस्था अन्त्य गरिदियो। यसको अर्थ अविवाहित महिलाहरुले गर्भ रहने जोखिम एकदमै न्यून हुने गरी यौनसम्पर्क राख्न सक्ने परिस्थिति बन्यो। यसबाहेक विवाहको प्रवृत्तिमा त यसले एकदमै आमूल परिवर्तन ल्याइदियो। सबैले, चक्की प्रयोग नगर्ने महिलाहरुले, समेत ढिला विवाह गर्न थाले। सन्तानहरु पनि, महिलाहरुलाई आफूलाई सजिलो हुने समयमा, ढिलो जन्माउन थालियो। र, त्यसको अर्थ कम्तीमा महिलाहरुले आफ्नो पेशागत भविष्य सुरक्षित गर्ने अवसर पाए। त्यसबाहेक सन् १९७० को दशकमा अमेरिकी महिलाहरुका लागि धैरै अरु कुराहरु पनि फेरिँदै गयो। आम्दानीमा वृद्धि गर्भपतनलाई कानुनी मान्यता दिइयो, यौन भेदभावविरुद्ध कानुन नै बनाइयो, नारी पुरुष बराबरी हुनुपर्छ भन्ने सिद्धान्त अभियानका रुपमा नै देखापर्यो र युवा पुरुष सिपाहीहरु भियतनाम युद्धमा लड्नुपर्ने भएकाले महिलाहरुलाई रोजगारीमा अवसर पनि बढ्दै गयो। तर हार्वड विश्वविद्यालयका अर्थशास्त्रीहरु क्लाउडीया गोल्डिन र लरेन्स कात्जले निकै विचार गरेर गरेको तथ्यांकको एउटा अध्ययनले गर्भनिरोधक चक्कीले महिलाहरुलाई विवाह र सन्तान जन्माउने कामलाई पर सार्न एकदमै महत्वपूर्ण योगदान दिएको देखाएको छ। ती अर्थशास्त्रीहरुका अनुसार त्यसले महिलाहरुलाई आफ्नो भविष्यका लागि लगानी गर्ने अवसर समेत दियो। गोल्डीन र कात्जले अमेरिकाका राज्यपिच्छे किशोरी महिलाहरुले गर्भनिरोधक चक्कीसम्म कतिको पहुँच पाए भन्नेबारे अध्ययन गरेका थिए। उनीहरुले प्रत्येक राज्यले महिलाहरुलाई परिवार नियोजनका साधनहरुसम्म पहुँच दिएको र त्यसका कारण पेशागत क्षमता बढाउने विषयहरुमा अध्ययन गर्ने महिलाहरुको संख्यामा वृद्धि भएको र महिलाको आम्दानी पनि बढेको देखाएको थियो। केही वर्षअघि अर्थविद् अमालीया मिलरले तथ्यांकीय विधिबाट एउटा अध्ययन गर्दै यदि आफ्नो २० औं वर्षको दशकमा महिलाहरुले सन्तान जन्माउने उमेर एक वर्ष मात्रै ढिला गर्न सकेको भए उनीहरुको जीवनभरको आय १० प्रतिशतले बढ्ने निचोड निकालेकी थिइन्। आफ्नो शिक्षा पूरा गरी सन्तान जन्माउनु पहिले नै आफ्नो भविष्य सुरक्षित गर्न थालेका महिलाहरुलाई प्राप्त अवसरबारे उक्त अध्ययनले केही मापन गर्ने उद्देश्य बोकेको थियो। वैकल्पिक सत्य तर न् १९७० को दशकका किशोरीहरुले अमालीया मिलरको अनुसन्धानलाई हेर्नु नि परेन किनभने उनीहरुलाई त्यो सत्य भएको थाहा थिएन। गर्भनिरोधक चक्कीहरु उपलब्ध हुन थालेपछि उनीहरुले लामो पेशागत शिक्षा संकायहरुमा कीर्तिमानी संख्यामा भर्ना हुन थाले। अहिले अमेरिकी महिलाहरुले वैकल्पिक सत्य खोजीका लागि प्रशान्त महासागरभन्दा पारिपट्टी आफैं हेर्न सक्छन्। जापानमा महिलाहरुले निकै ढिला आएर परिवार नियोजनका साधनहरुमा पहुँच पाए। प्रविधिमा विश्वकै सबैभन्दा प्रगति गरेको जापानी समाजमा सन् १९९९ सम्म गर्भनिरोधक चक्कीहरुको प्रयोगलाई अनुमति दिइएको थिएन। जापानी महिलाहरुले आफ्ना अमेरिकी सहकर्मीहरुभन्दा ३९ वर्ष ढिला उक्त परिवार नियोजनको साधनमा पहुँच पाए। तर त्यसको ठ्याक्कै उल्टो, यौन क्षमता बढाउने औषधि भियाग्राले अमेरिकामा अनुमति पाएको केही महिनापछि नै त्यो जापानमा पनि पुग्यो। विकसित विश्वमा जापानमा जति लैङ्गिक विभेद अन्यत्र कतै पनि नभएको ठानिन्छ। त्यहाँ अहिले पनि महिलाहरु काम गर्ने ठाउँमा उचित सम्मानको खोजीमा संघर्ष गरिरहेका छन्। यहाँ कारण र परिणामलाई अलग गरेर हेर्न खोजिएको होइन तर अमेरिकी अनुभवले संयोगले मात्र त्यस्तो नभएको संकेत गर्छ। दुईवटा पुस्तासम्म गर्भनिरोधक चक्कीमा पहुँच नदिनुस् त, त्यसले महिलामाथि पार्ने आर्थिक असर निकै भयावह हुनेछ। त्यही एउटा सानो चक्कीले अहिले पनि निरन्तर विश्व अर्थतन्त्रलाई रुपान्तरण गराइरहेको छ।
कोरोना भाइरस: 'दुष्ट आत्मा' मन्साउने यस्तो छ मनिलाका पादरीको विधि
कोभिड-१९ महामारी फैलिएको बेला फिलिपिन्सको राजधानी मनिलामा एक हातमा स्प्रे र अर्को हातमा क्रस बोकेर केही पादरीहरू हिँडेको देखिन्छ।
उनीहरू व्यक्तिगत सुरक्षा परिधान पीपीई लगाएर कोरोनाभाइरसबाट मृत्यु भएका मानिसको अन्तिम संस्कारमा सहभागी हुन जान्छन्। तीमध्येका एक पादरी भन्छन्, "कोरोनाभाइरस दुष्ट आत्माको काम हो।" कोरोनाभाइरस 'मन्साउन' र शवको अन्तिम संस्कारको व्यवस्था गरिने स्थान चोख्याउन उनीहरूको आफ्नै विधि छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
ब्रेक्जिट: ब्रिटिश प्रधानमन्त्रीका नयाँ ब्रेक्जिट चुनौती
ब्रिटेनमा आगामी अक्टोबर ३१ तारिखमा ब्रिटेन विना कुनै सम्झौता युरोपेली संघ (ईयू) बाट बाहिरिने योजनालाई बुधवार विपक्षी लेबर पार्टी र सत्ताधारी टोरी पार्टीका विद्रोही सांसदहरूले अवरूद्ध पार्न सफल भएमा प्रधानमन्त्री बोरिस जोनसनले नयाँ आम निर्वाचन गराउने प्रयास गर्नेछन्।
प्रधानमन्त्री जोनसनले आफूले ब्रेक्जिट प्रकृयामा थप विलम्ब नचाहेको बताएका छन् तर नो-डिल भनिएको सहमति विनाको ब्रेक्जिटका लागि तोकिएको समयसीमा लम्ब्याउन उनलाई बाध्य तुल्याउने विधेयकमा सांसदहरूले मतदान गर्दैछन्। नयाँ आम निर्वाचनको आह्वान गर्न प्रधानमन्त्री बोरिस जोनसनलाई दुई तिहाई सांसदको समर्थन आवश्यक पर्दछ तर अहिलेसम्मको चरणमा विपक्षी लेबर र अन्य दलहरू निर्वाचनको पक्षमा देखिएका छैनन्। टोरी भनेर चिनिने सत्ताधारी कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदलाई निष्काशन गर्ने निर्णयले पार्टी भित्र चर्को विवाद निम्त्याएको छ। हित केही भूतपूर्व वरिष्ठ मन्त्रीहरूको समूहले, जस्मा पूर्व अर्थमन्त्रीहरू फिलिप ह्यामन्ड र केन क्लार्क पनि संलग्न छन्, आफ्नो हितभन्दा राष्ट्रको हितलाई सर्वोपरि राखेकोमा जोड दिएका छन्। बुधवारको नाटकीय राजनीतिक घटनाक्रममा प्रतिनिधिसभामा आफ्नो पार्टीको बहुमत गुमाएको एक दिनपछि प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको सामना गरेका छन्। यसैबीच स्कटल्याण्डका एकजना न्यायाधीशले ब्रेक्जिटअघि संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको कदमलाई गैरकानुनी घोषणा गरियोस् भनी दायर गरिएको मुद्दाको मागलाई अस्वीकार गरिदिएका छन्। सम्झौतारहित अथवा नो-डिल भनिएको ब्रेक्जिटका विषयमा सरकार र विपक्षीहरूबीचको घम्साघम्सी बुधवार अबेरसम्म पनि जारी नै रहनेछ। विधेयक दिनको अन्त्यतिर लेबर र अन्य विपक्षी दलहरूले अक्टोबर १९ तारिखसम्म पनि कुनै सहमति हुन नसकेमा ब्रेक्जिट प्रक्रियालाई थप लम्ब्याउने विधेयक पारित गर्ने प्रयास गर्नेछन्। यदि त्यस्तो ब्रेक्जिटमा ढिलाइ गर्ने विधेयक पारित भएर अनुमान गरिए अनुसार त्यहाँको राष्ट्रिय सभा, हाउस अफ लर्डसमा गयो भने प्रधानमन्त्री जोनसनले निर्धारित समयभन्दा निकै अगावै आम निर्वाचन गराउने विषयमा तत्काल संसद्‌मा मतदानका लागि प्रयास गर्नेछन्। बीबीसी रेडिओ फोरको प्रसिद्ध टुडे कार्यक्रममा बोल्दै विपक्षी लेबर पार्टीका छाया ब्रेक्जिट मन्त्री सर स्टारमरले भने, उनको दल आम निर्वाचन त चाहन्छ तर "बोरिस जोनसनको सर्तमा होइन कि आफ्नै दलको सर्तहरूमा"। तर लन्डनमा बसेको एक बैठकमा लेबर पार्टीका कतिपय सांसदहरूले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै ब्रेक्जिट प्रकृयालाई औपचारिक रूपमा लम्ब्याउने निर्णय नहुन्जेलसम्म नयाँ आम निर्वाचनको पक्षमा नलाग्न आह्वान गरेका छन्।
एशियाली हात्ती: छालाको लागि हात्तीको विनाश, नयाँ कारोबारको घातक असर
जानकारी: यो सामग्रीमा प्रयोग गरिएका तस्बिरले तपाइँलाई विचलित पार्न सक्छन्। "मलाई कसैले मुक्का हानेकोजस्तो अनुभव भयो। मैले ती फोटो हेरिरहन सकिनँ। जीवनमा पहिलोपल्ट मैले आफूलाई असहाय अनुभव गरेँ," वर्ल्ड विश्व वन्यजन्तु कोष म्यान्मारका निर्देशक क्रिस्टी विलियम्सले भने।
म्यान्मार र चीनमा हात्तीको छालाको खुला व्यापार हुन्छ उनले छाला काढिएको एउटा हात्तीका तस्बिरहरू हेरेपछि यसो भनेका हुन्। "छाला पूरै निकालिएको थियो। तपाईँले केवल एक मृत र कुहिन थालेको मासु देख्न सक्नुहुन्छ," उनले बीबीसीलाई बताए। "हात्ती अनुसन्धान तथा संरक्षणमा मैले बिताएको २० वर्षको अवधिमा मैले धेरै त्रासदीपूर्ण घटना देखेको छु। तर यो त अत्यन्त विभत्स थियो।" प्रमाण यी जनावरको सङ्ख्या ह्रास हुनुको पछाडि हात्तीको दाह्राका लागि हुने चोरीसिकार तथा वनविनास दुई मुख्य कारण हुन्। तर हात्तीको छालाको बढ्दो माग एशियाली हात्तीका लागि नयाँ खतराको रूपमा देखा परेको छ। हात्तीलगायत दुर्लभ वन्यजन्तुलाई मारेर निकालिने विभिन्न उत्पादन म्यान्मारमा बेचिँदै यो नौलो व्यापारको प्रमाण सन् १९९० को मध्यताका चीनमा देखा परेको थियो। तर अचेल हात्तीको छालाबाट बनाइएका सामान किन्ने मानिसहरू केवल चीनमा मात्र सीमित छैनन्। "छालाको व्यापार पूरै क्षेत्रमा फैलिरहेको छ। हामीले यसको प्रमाण पाँचवटा एशियाली देशमा पायौँ - चीन, म्यान्मार, लाओस, भियतनाम र क्याम्बोडियामा," यूकेस्थित गैरसरकारी संस्था 'एलिफन्ट फ्यामिली'का संरक्षण प्रमुख डेभिड एम अगेरीले भने। तर यस्तो माग केले बढाइरहेको छ? औषधि चीनमा हात्तीको छालालाई धूलो पारेर औषधिको रूपमा प्रयोग गरिन्छ। त्यसरी बनाइएको धूलोलाई अल्सर, पेट फुल्ने बिमारी तथा पेटको क्यान्सरसम्मको उपचारका लागि उपयोगी भनेर बेचिन्छ। यो धूलोलाई हात्तीको बोसोसँग मिसाएर बनाइने क्रिमलाई छालाको सङ्क्रमणको उपचारका लागि भन्दै बेचिन्छ। फेशन उद्योगले पनि विभिन्न आभूषण बनाउन यी सामान किन्छन्। हात्तीको छालालाई मालाको गेडाको स्वरूपमा ढालेर ब्रास्लेट तथा नेकलेस बनाउन प्रयोग गरिन्छ साथै यसको चारकुने टुक्रालाई गलामा लगाउने हारको पेन्डन्टका रूपमा प्रयोग गरिन्छ। हत्या यी मागहरू पूरा गर्न म्यान्मारमा हात्तीहरूको व्यापक चोरीसिकार हुने गरेको छ। छालाको माग म्यानमारमा जङ्गली हात्तीको निम्ति घातक भइरहेको छ "हात्तीहरूलाई प्राय: विषालु तीरले प्रहार गरिन्छ। घाइते हात्ती कैयौँ दिनसम्म छटपटाएर मर्छ। उसको जीउको सबै भागमा विषको सङ्क्रमण फैलन्छ," क्रिस्टी विलियम्सले बताए। "कतिपय घटनामा हात्ती केवल अचल भएको हुन्छ तर मरिनसक्दै उसको छाला काढ्न थालिन्छ। उसको शरीरको प्रत्येक इन्चको छाला बडो दक्षताका साथ निकालिन्छ।" एलिफन्ट फ्यामिली समूहले छालाको धूलोलाई सालकको कत्लासँग मिसाएर पारम्परिक औषधिको रूपमा बेच्ने गरेको पायो। दुर्लभ हात्ती एशियाका १३ वटा देशमा पाइन्छ। कुल सङ्ख्या ५० हजारभन्दा कम छ। जसको ६० प्रतिशत त भारतमा मात्रै छ। इन्टरन्याश्नल युनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन) ले एशियाली हात्तीलाई दुर्लभ वन्यजन्तुमा वर्गीकरण गरेको छ। पोथी एसिशाली हात्तीको अफ्रिकी हात्तीमा जस्तो दाह्रा हुँदैन। त्यसैले पोथी हात्ती तथा छावाहरू दाह्राका निम्ति हुने चोरीसिकारबाट जोगिएका छन्। तर यो नयाँ खतराले भने उनीहरू जोखिममा छन्। "छालाको चोरीसिकार व्यापक छ। यसले भाले, पोथी तथा छावा सबैलाई असर पारेको छ। दाह्राका कारण हुनेभन्दा धेरै गम्भीर प्रभाव छालाका कारण हुने चोरीसिकारले पार्ने कुरा सबैले बुझ्न आवश्यक छ," स्मिथसोनियन कन्जर्भेशन बायोलजी इन्स्टिट्युटका पिटर लाइम्ग्रुबरले बताए। माग म्यान्मारमा सन् २०१० देखि २०१८ को बीचमा कम्तीमा २०७ वटा हात्ती मारिएको आधिकारिक तथ्याङ्कले देखाउँछ। यो वन्यजीव जोगाउन छालाका निम्ति हुने चोरीशिकार रोकिनुपर्ने विज्ञहरू बताउँछन् म्यान्मारमा दुई हजार हात्ती रहेकोमा यो निकै ठूलो सङ्ख्या हो। "सन् २०१० देखि चोरीसिकार ठूलो समस्या भएको छ," म्यान्मारको वन विभागका महानिर्देशक डा. नी नी क्यावले भने। सन् १९४० मा १० हजारको सङ्ख्यामा रहेका म्यान्मारका जङ्गली हात्ती अहिले छालाका निम्ति मारिन्छन्। "आजका दिनमा हात्तीको पूरै शरीरको माग छ, खासगरी चीनका मानिसहरूबाट। सुँडबाट परम्परागत औषधि बनाइन्छ। छालाको प्रयोग आभूषण वा माला बनाउन गरिन्छ। मासु पनि विभिन्न कामका लागि प्रयोग गरिन्छ। बजारको यस्ता मागका कारण हात्ती गैरकानुनी ढङ्गले मारिन्छन्," डा क्यावले भने। म्यानमारका अधिकारीहरू भन्छन् अचेल हात्तीको शरीरको सम्पूर्ण भागको माग छ "छाला काढिएका तथा आगोमा फ्याँकिएका हात्तीका शरीर भेटिएका छन्।" स्मिथसोनियन इन्स्टिट्युटका अनुसन्धानकर्ताहरूले १९ वटा हात्तीमा रेडियो कलर जडान गरेर म्यान्मारमा तिनको हिँडडुलको अध्ययन गरे। तर मार्च २०१५ तथा जुन २०१७ को बीचमा उनीहरूले तीमध्ये सात मारिएको र दुई हराएको पाए। साथै सन् २०१७ को मार्चमा अयेयरवाडी डेल्टा क्षेत्रमा एकै ठाउँमा अनुसन्धानकर्ताहरूले २० वटा हात्तीको शव भेट्टाए। यो घटनाबाट उनीहरूमा कतै त्यहाँ भइरहेको चोरीसिकारको स्तर कम आँकिएको त छैन भन्ने परेको छ। भियतनाम सन् २०१३ मा मध्ये भियतनामका वन अधिकृतहरूले मिन्ह होआ जिल्लामा छाला काढिएको हात्ती भेट्टाए। त्यसले यस्तो चोरीसिकारका कारण भियतनाममा पनि हात्ती जोखिममा रहेको सम्भावना देखायो। भियतनाममा केवल एक सय हात्ती छन्। छाला काढिएको यो हात्ती भियतनाममा भेटिएको थियो विगतमा यस्ता गैरकानुनी व्यापार रोक्न केही नगरेको दोष लाग्ने गरेको चीनले अचेल यस्ता क्रियाकलापमा कडिकडाउ गर्न थालेको छ। तर कारोबारीहरूले अन्लाइन माध्यमको प्रयोग गर्न थालेका छन्। "सीधा हुने किनबेच घट्दै गएको छ भने अन्लाइनमार्फत् हुने कारोबार बढेको छ। यो पत्ता लगाउन र रोक्न एकदम कठिन छ," डेभिड एम अगेरीले भने। अनुसन्धानकर्ताहरूका अनुसार ब्याङ्क ट्रान्स्फर वा एपबाट भुक्तानी गरिन्छ। कारोबार "छाला दाह्राजत्तिको मूल्यवान् छैन, तर फेशनको संसारको आफ्नै तरिका छ। यदि ह्वात्त माग बढ्यो भने हात्तीहरूका लागि घातक हुन्छ", आईयूसीएनमा एशियाली हात्तीसम्बन्धी कार्यक्रम व्यवस्थापक सन्दीपकुमार तिवारीले बताए। म्यान्मारको मोन स्टेटमा एक विक्रेता हात्तीको पुच्छर देखाउँदै एलिफन्ट फ्यामिलीका अनुसन्धानकर्ताहरूले म्यान्मारका व्यापारीहरूले हात्तीको छाला प्रतिकिलो १०८ डलरमा बेचिरहेको भेट्टाए। चिनियाँ सहर ग्वाङ्जाउमा त्यसको मूल्य दुई सय डलर छ भने अन्लाइनमा त्यसलाई २८५ डलर तोकिएको छ। हात्तीको छाला प्रयोग गरेर बनाइएको उच्च गुणस्तरका माला प्रतिग्राम ३२ डलरमा बेचिन्छन्। आवश्यक चेतावनी यी उच्च मूल्यका कारण हात्तीको छालाको माग पनि बढ्न सक्ने डर छ। केही कारबाही थालिएका पनि छन् - चीनले जस्तै म्यान्मारले पनि यो बढ्दो कारोबार रोक्न केही कदम चालेको छ। पोथी एशियाली हात्तीको दाह्रा हुँदैनन् त्यहाँका प्रहरीले हालसालै चोरीसिकारमा संलग्न दश जनालाई पक्राउ गर्‍यो। तिनका साथबाट हात्तीको मासु पनि बरामद गर्‍यो। तर चीन र म्यान्मारका अधिकारीहरूले यति गर्दागर्दै पनि ती पर्याप्त नभएको र थप कारबाही आवश्यक भइसकेको अभियानकर्मी तथा संरक्षणवादीहरूले बताएका छन्। एलिफन्ट फ्यामिलीले छालाको कारोबारले स्थानीय पशुको सङ्ख्यामा गम्भीर खतरा पैदा गरेको बताएको छ। "यदि यो अझ बढ्यो भने ती पाइने स्थानहरूमध्ये आधा स्थानबाट एशियाली हात्ती चाँडै नै लोप हुनेछन्।" अन्तर्राष्ट्रिय संरक्षण तथा कानुन कार्यान्वयन गर्ने निकायबाट तत्काल हुने कारबाहीबाट मात्र सङ्कटबाट जोगिन सकिने उसले जनाएको छ।
राजकुमारहरूको 'यौन भोक बढाउन' पाकिस्तानमा हुन्छ दुर्लभ पन्छीहरूको सिकार
सन् १९८३ मा दक्षिणपश्चिम पाकिस्तानको एउटा सानो तटीय नगर पास्नीस्थित गाडी भाडामा दिने एउटा कार्यालयमा दुई सैनिक अधिकृत आए।
सन् १९८० ताका पास्नी क्षेत्रमा अबु धाबीबाट आएका सिकारीहरूको एक समूह एक जनाले कार्यालयका साहूलाई सोधे: "के तपाईँसँग राम्रो कार छ? हामीलाई एक अरब शेखलाई पान्जगुर लैजानुछ।" उनले छ भने अनि आफ्नो छोरा हनिफलाई गाडी देखाउन अह्राए। उक्त गाडी राजकुमार सुरुर बिन मोहम्मद अल-नाह्यानको निम्ति थियो। उनी संयुक्त अरब इमिरेट्सका छ राजपरिवारहरूमध्ये एउटाका सदस्य थिए। उनी हुबारा बस्टार्ड नामक दुर्लभ पन्छीको सिकार गर्न पास्नीबाट १०० किलोमिटरभित्र पान्जगुर जान चाहन्थे। उक्त पन्छीको मासुलाई कतिपयले यौन उत्तेजक औषधि ठान्छन्। शेखलाई गाडी मन पर्‍यो। अनि उनले त्यतिखेर ३१ वर्षका हनिफलाई पनि सँगै लगे। हाल हाजी हनिफ भनेर चिनिने हनिफको त्यो बेलादेखि लामो मित्रता सुरु भएको थियो। सैँतीस वर्षदेखि अहिलेसम्म पनि हरेक वर्ष हुबाराको सिकार गर्न आउने राजपरिवारका सदस्यहरूलाई उनी सघाउँछन्। फाल्कनले हुबारा बस्टार्डको सिकार गर्दै (फाइल फोटो) लजालु स्वभावका यी पन्छी आकारमा टर्की चराजत्रै हुन्छन्। यिनको सङ्ख्या लगातार घटिरहेको छ त्यसैले यिनको सिकार विवादास्पद बनेको छ - तर अझै पनि रमाइलोका निम्ति तिनको सिकार गरिन्छ। पाकिस्तानका शक्तिशाली स्वार्थ समूहहरूले यो गोप्य रूपमा गरिने सिकारको समर्थन गर्छन्। दशकौँदेखि चलिरहेको यस्तो सिकारलाई खाडीका धनी देशका प्रभावशाली व्यक्तित्वहरूसँग सम्बन्ध विस्तारको एउटा माध्यम बनाइएको छ। यस्ता सिकारको समर्थन गर्नेहरूले यसबाट रोजगारी तथा लगानी भित्रिने तर्क गर्छन्। तर यसबाट पाकिस्तानले खासमा के फाइदा पाउँछ भन्ने प्रष्ट छैन। सिकार अभियानमा सामेल केहीका अनुसार राजपरिवारका सदस्यहरूले यस्ता भ्रमणलाई केवल व्यक्तिगत मनोरञ्जनको रूपमा लिन्छन्। प्रत्येक वर्ष नोभेम्बर र फेब्रुअरीको बीचमा हाजी हनिफले बलोचिस्तान प्रान्तस्थित रणनीतिक महत्त्वको ग्वादार बन्दरगाहबाट पूर्वतर्फ एक घण्टाको दूरीमा रहेको सो स्थानमा शाही समूहहरूको स्वागत गर्छन्। यो जाडो यामको सिकार मौसम सकिनुअघि उनले बीबीसीलाई डाकेर राजपरिवारहरूका निम्ति उनी तथा उनका कर्मचारीहरूले गरेका मिहिन तयारी देखाएका थिए। स्थानीय मानिसहरूलाई अझै पनि आधारभूत सुविधा नै उपलब्ध हुन नसकेको पास्नीजस्तो स्थानमा उनीहरूका निम्ति विलासितापूर्ण तयारी भएको देखिन्छ। हामीलाई दुईजना मानिसहरूले भेटेर एअरपोर्ट रोडबाट केही किलोमिटर पर रहेको हाजीको भव्य महलतर्फ लगेका थिए। ती मानिसहरूको जीप यूएईमा दर्ता भएको देखिन्थ्यो। हामीलाई त्यहाँ पुग्दा अबु धाबीकै कुनै ठाउँमा पुगेको जस्तो अनुभूति भयो। हाजी हनिफको महलमा स्वागत गर्दै राखिएको अबुधाबीको जस्तै सङ्केतचिह्न त्यो अनुभूति त्यतिखेर झनै बलियो भयो जतिखेर हामीले त्यहाँको घरमा प्रवेश गर्ने बेला अबु धाबीका राजपरिवारको सङ्केतचिह्न देख्यौँ। सिकार गर्न आउने राजपरिवारका सदस्यहरूले दर्जनौँ स्थानीय मानिसहरूलाई रोजगारी दिन्छन्। हामी त्यहाँ पुग्दा शेखको फाल्कन चरा व्यवस्थापनमा व्यस्त केही पुरुषहरू देख्यौँ। अरू मानिस चाहिँ भान्साकोठा सफा गर्दै थिए वा त्यहाँको ग्यारेजमा राखिएका गाडीहरूको मर्मत गर्दै थिए। खाकीको पोसाक लगाएका एक जनाले हामीलाई अतिथिगृहमा लगे जहाँ अत्तरको मगमग सुगन्धले हाम्रो स्वागत गर्‍यो। "हाम्रो महल कस्तो लाग्यो?" सोफामा बसिरहेका हाजी हनिफले सोधे। हाजी हनिफले आफ्नो जीवनको अधिकांश समय यूएईबाट आउने राजपरिवारका सदस्यहरूको सेवासत्कारमा खर्च गरेका छन् अहिले ६० वर्षको उमेर कटेका हाजी निकै रोचक कुरा गर्छन्। वरपर देखाउँदै उनले वर्षौँदेखि भएका शेखहरूको भ्रमणको वर्णन गरे। "त्यो बेला हामीले उनलाई गाडी उपलब्ध गरायौँ। त्यसपछि उनी फेरि हामीकहाँ आए। सन् १९८८ तिर आइपुग्दा म र मेरा बुवाले शेखका निम्ति २० वटा गाडीहरू व्यवस्थापन गर्न थाल्यौँ। उनले हामीलाई विश्वास गरे।" पास्नीका निम्ति त्यस्ता भ्रमणले करिब ३५ जना स्थानीय बासिन्दालाई रोजगारी दिलाएको छ। भ्रमण हुनुभन्दा तीन महिना अगाडिदेखि उनीहरूको काम सुरु हुन्छ। फाल्कन चरा तथा परेवाको हेरचाह गर्ने, तिनलाई प्रशिक्षण दिने काममा कतिपय लाग्छन् भने तीन जना त शेखका निम्ति उमारिएका कागतीको बगैँचाको रेखदेखमा खटिन्छन्। लुगा धुनका निम्ति अर्का एक जना खटाइएका छन्। अरूहरू खाना पकाउने तथा सरसफाइमा सहभागी हुन्छन्। एकजना मानिसलाई मोटरसाइकलमा चढेर वरपर नजिकै कतै हुबारा बस्टार्ड पन्छीहरू छन् कि भनेर हेर्न खटाइन्छ। त्यसो गर्दा शेखहरूले सिकारका निम्ति टाढा जान पर्दैन। हाजी हनिफका तीन छोराले पनि उनलाई सहयोग गर्छन्। जेठा छोराले ग्यारेज तथा शेखका निम्ति जुटाइएका २० वटा एसयूभी गाडी रेखेदेख गर्छन्। माहिला छोरा उनका अङ्गरक्षक हुन् र सुरक्षा मामिला हेर्छन्। कान्छाले चाहिँ स्थानीय मानिसहरूले हुबाराको सिकार नगरून् अनि तिनको विक्रीवितरण नगरुन् भनेर निश्चित गर्ने कार्य गर्छन्। पाकिस्तानले राजपरिवारहरूलाई सन् १९७३ देखि निम्त्याउन थालेको हो। उनीहरूका कैयौँ समूह जाडोयाममा दक्षिण पश्चिम बलोचिस्तान आइपुग्ने हुबारा बस्टार्ड पन्छीको सिकार गर्न आइपुग्छन्। सन् १९८९ सम्म आइपुग्दा उक्त अभियानलाई प्रान्तीय सरकारले इस्लामावादका केन्द्रीय अधिकारीहरूसँग मिलेर व्यवस्थित बनाउन थाल्यो। त्यसअनुसार यूएईका राजपरिवारका निम्ति पास्नी, पान्जगुर र ग्वादार छुट्ट्याइएको छ। कतारका शेखहरूका निम्ति अवरन जिल्लाको झल झाओ इलाका छुट्ट्याइएको छ भने साउदी अरबका शाही परिवारका निम्ति चघी क्षेत्र छुट्ट्याइएको छ। सन् १९७० ताका शाही समूहहरू हुबारा जता हुन्छन् त्यतै शिविर खडा गरेर बस्थे। सिकार करिब एक साता चल्थ्यो। चरा मारेर उनीहरूले त्यहीँ पकाएर खान्थे र फर्किन्थे। अरब देशमा कतिपयले हुबाराको मासु यौन उत्तेजक औषधि हुने ठान्छन् तर दक्षिण पश्चिम बलोचिस्तानमा वर्षौँदेखि जारी पृथक्तावादी गतिविधिका कारण उत्पन्न सुरक्षा चिन्ताले गर्दा अचेल सुनसान क्षेत्रमा शिविर खडा गर्नु सुरक्षित हुँदैन। त्यसैले राजपरिवारका सदस्य अधिकांश समय होटेल वा उनीहरूको इच्छानुसार बनाइएका घरहरूमा बस्छन् - हनिफको घरजस्तै। त्यहाँबाट केही मिनेटको गाडी यात्राबाट मरुभूमि गएर पहिल्यै सहयोगीहरूले पत्ता लगाइसकेका हुबाराहरूको सिकार गर्छन्। परम्परागत रूपमा फाल्कन चराले हुबारालाई लखेट्छन् - अनि हुबारालाई पक्रिएपछि घाँटी चुँडाएर मारिन्छ। सिकारीहरूले गोली हानेर पनि मार्छन्। अचेल चोरीसिकारको चिन्ताका कारण सहयोगीहरूले पहिले हुबारा समात्छन् अनि शाही सिकारीहरू आइपुगेछि मात्र तिनलाई छाडिदिन्छन् ताकि फाल्कनले लखेट्न सकोस्। सन् १९८० ताकाको सिकार अभियानको दृश्य हुबाराको सिकार लामो समयदेखि विवादित रहेको छ। कुनै बेला ती पन्छीहरू अरब प्रायःद्वीपमा प्रशस्त हुन्थे। तर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयूसीएनको अनुमानमा अब ती पन्छीहरूको सङ्ख्या विश्वभरि जम्मा ५० हजारदेखि एक लाखमा सीमित भएको छ। तिनलाई जोखिममा परेका प्रजाति राखिने रातो सूचीमा राखिएको छ। पाकिस्तानमा धेरै मानिसहरूले यस्ता सिकारलाई 'मालिक'हरूलाई खुसी पार्ने काम भन्दै रुचाउँदैनन्। तर कतिपयले चाहिँ यसले पाकिस्तानको ती देशसँग भातृत्वपूर्ण सम्बन्ध विस्तार हुने ठान्छन्। पछिल्ला दशकहरूमा पाकिस्तानले ती धनी देशहरूबाट ठूलो मात्रामा ऋण तथा लगानी पाइरहेको छ। पाकिस्तानको विदेश मन्त्रालयका एक पूर्वप्रवक्ताले यो 'लज्जाजनक' गतिविधि अन्त्य गर्ने उनीहरूले प्रयत्न गरे पनि सफल नभएको बताए। उनका अनुसार सरकारभित्र रहेका धेरैलाई पनि यस्ता सिकार भ्रमणको कूटनीतिक उपयोगिता नभएको लागे पनि शक्तिमा आसीन व्यक्तिहरूले यसलाई चलिरहन दिएका छन्। गत २५ वर्षको पाकिस्तान-यूएई सम्बन्ध नियाल्ने हो भने पाकिस्तानले खासै केही नपाएको उनले बताए। यो वर्षको जाडो याममा यूएईका राजकुमारको भ्रमणलाई पाकिस्तानले व्यग्रतापूर्वक प्रतीक्षा गर्‍यो। सो भ्रमणले दुई देशको सम्बन्धमा हालै उत्पन्न केही समस्या समाधान हुने ठानियो। सन् २०२० मा यूएईले पाकिस्तानका नागरिकलाई त्यहाँ काम गर्न प्रवेशाज्ञा नदिइने देशहरूको सूचीमा राखिदिएको थियो। पाकिस्तानमा भित्रने विप्रेषण आम्दानीका निम्ति यूएई एक प्रमुख स्रोत देश रहँदै आएको छ। यूएईको सो कदमलाई विश्लेषकहरूले पाकिस्तानमाथि इजरेलको हैसियत तथा कश्मीर विवादलाई लिएर गरिएको एक किसिमको दबाबको रूपमा अर्थ्याए। प्रधानमन्त्री इमरान खान र उनको मन्त्रिपरिषद्ले त्यस्ता विश्लेषण स्वीकार्दैनन्। उनीहरूले यूएईसँग सम्बन्धमा कुनै समस्या नरहेको बताउँछन्। जे होस् सिकार भने जारी रहने देखिन्छ। पाकिस्तानको सर्वोच्च अदालतले सिकार भ्रमण रोक्ने प्रयास गरेको थियो तर सन् २०१५ लगाइएको प्रतिबन्ध एक वर्षमै खुला गरियो। प्रतिबन्ध जारी रहेकै समयमा पनि सरकारले विशेष अनुमति दिएर सर्तसहित सिकार सञ्चालन हुन दिएको थियो। हाजी भन्छन् पास्नीका निम्ति शेखहरूको भ्रमण राम्रो रहेको छ। उनी स्वयंको निम्ति त राम्रो हुने नै भयो। हाजी हनिफ भन्छन् उनी शेखका सहयोगी हुन् तर आफ्ना छोराहरू यही काममा लागुन् भन्ने चाहिँ चाहँदैनन् हनिफ भन्छन् शेखले स्थानीय बासिन्दालाई रोजगार मात्र दिने होइन त्यहाँ इनार खन्नेदेखि स्कूल तथा औषधालयहरूपनि खोलिदिएका छन्। तर ती स्कूलमा शिक्षक छैनन् अनि औषधालयमा औषधि तथा कर्मचारी छैनन्। "शेखले बनाइदिने मात्र हो। कर्मचारी पनि त्यहाँ राखिदिन सक्दैनन्। त्यो काम त प्रान्तीय सरकारले गर्नुपर्छ।" हाजीलाई आफ्ना छोराहरूले पनि यही काम गरून् भन्ने चाहिँ लाग्दैन। "म त शेखको सेवक हुँ तर मेरा सन्तानले पनि यही गरून् भन्ने मलाई चाहना छैन। उनीहरू आफ्नै बाटो हिँड्नुपर्छ। व्यापार गर्नुपर्छ र आफ्नो नाम राख्नुपर्छ। "मैले मेरो जीवन मलाई मन पर्ने काममा लगाएँ। यसमा म खुसी छु।"
मानव जातिले अर्को शताब्दी देख्छ कि डाइनोसर जस्तै लोप हुन्छ
के मानिसको पनि डाइनोसरको जस्तै अवस्था हुन्छ?
अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन्। दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका छन्। सबैभन्दा ठूलो खतरा अक्सफर्डका फ्यूचर अफ ह्यूम्यानिटिज इन्स्टिट्यूटसँग जोडिएका शोधकर्ता एन्डर्स स्यान्डवर्गका अनुसार 'मानव जातिको अगाडि त्यस्तो खतरा छ जसले पुरै कथा सिध्याउँछ'। बीसौं शताब्दीसम्म हामी सोच्थ्यौँ कि हामी एकदमै सुरक्षित छौँ तर अहिलेको अवस्था परिवर्तन भइसकेको छ। मानव जातिको विनाशको खतरा चिन्ताजनक रुपमा बढिरहेको छ। सन् १९८० को दशकसम्म आकाशबाट झर्ने उल्का पिण्डका कारणले धर्तीमा विनास हुनसक्छ भन्ने सोच थिएन्। तर त्यही दशकमा वैज्ञानिक बाबु-छोरा लुईस र वाल्टर एवारेजले उल्का पिण्डको कारणले डाइनोसर लुप्त भएको अवधारणा अगाडि सारे। जब मेक्सिकोको यूकटान प्राय:द्वीपमा एउटा ठूलो खाल्डो पत्ता लाग्यो, त्यसपछि वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूहले पनि हालै त्यो अवधारणाको समर्थन गरेका छन्। उल्का पिण्डसँग ठोक्किएर हुने विनाशको सम्भावना टाढा भए पनि तुलनात्मक रुपमा हामी आफैँले त्यसको खतरा निम्त्याइरहेका छौँ। समयसँगै जीवका अन्य प्रजाती लोप भएका छन् जनसङ्ख्याको अतिवृद्धि, स्रोतको क्षय र जलवायु परिवर्तन जलवायु परिवर्तनका कारण आउने खतरासँग हामी परिचित छौँ तर लण्डन विश्वविद्यालयका शोधकर्ता करिन हुल्हेमनले जनसङ्ख्या वृद्धिमाथि आफ्नो ध्यान लगाएकी छन्। घट्दो प्राकृतिक संसाधनबारे सायदै चर्चा छ किनभने हामीलाई त्यो नराम्रो लाग्छ र नराम्रा कुराहरू हामी सोच्नै चाहदैनौँ। करिनका अनुसार जलवायु परिवर्तनमा जनसङ्ख्या वृद्धिको खास असर छ। किनभने संसाधन दोहन पनि बढिरहेकोले त्यो सकिँदै छ। जनसङ्ख्या वृद्धि नरोकिएसम्म जलवायु परिवर्तन रोक्नु भनेको असम्भव कुरा हो। शोधकर्ताका अनुसार जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनमा खास सम्बन्ध छ जैविक विविधताको विनाश केही शोधकर्ताका अनुसार यो शताब्दीको मध्यतिर पुग्दा व्यवसायिक माछा पालनका लागि समुद्रमा पर्याप्त माछा बाँकी रहने छैनन्। यसको मतलब पसलहरूमा किन्नका लागि माछा वा त्यसको तरकारी पाइने छैन। किरा फट्याङ्ग्रा पनि तीव्ररूपमा हराइरहेका छन् र आहारका लागि किरा फट्याङ्ग्रामा निर्भर चराका प्रजातिहरू पनि कम हुँदैछन्। करिन भन्छिन्: "नासिँदै गएका जैविक विविधताको असर के हुन्छ भन्ने बारेमा हामीलाई थाहा छैन तर यस्तो लाग्छ यसको सबैभन्दा नराम्रो असर हामीलाई पर्नेवाला छ।" माहुरीको सङ्ख्यामा आएको कमीले खतराको सङ्‍केत गरिसकेको छ महामारी क्याम्ब्रिजको सेन्टर फर एक्सटेन्सियल रिस्कसँग जोडिएकी ललिथा सुन्दरम् जैविक विविधताको खतराबारे अध्ययन गरिरहेकी छन्। उनी भन्छिन्: सन् १९१८ मा स्प्यानिश फ्लूको महामारीका बेला गरिएको एउटा अनुमान अनुसार करिब आधा जनसङ्ख्या यसको चपेटामा परेका थिए र पाँचदेखि १० करोड मानिसको ज्यान गएको थियो। महामारी त्यतिबेला हुन्छ जब ठूलो स्तरमा मानिसहरू विस्थापित हुन्छन्। त्यो समयमा पनि मानिसहरूलाई युद्धबाट फर्काइँदै थियो र उनीहरू एकदमै नजिकै बस्थे। यद्यपि हामी खोपहरू विकास गर्न सक्षम भइसकेका छौँ तर विश्वव्यापीकरणले खतराहरू निम्त्याएको छ। स्प्यानिश फ्लूका बेला मानिसहरू रेल र डुङ्गाबाट यात्रा गर्थे। तर अहिलेको हवाईयात्राको युगमा विनाशकारी असरहरूसहित रोग अझै छिटो फैलिन सक्ने आशङका गरिएको छ। फ्लू भाइरसमा लगातार प्रतिरोधी शक्ति बढ्दै जानु वैज्ञानिकहरूका लागि चुनौती बनेको छ व्यक्ति व्यक्तिबाट खतरा मानव निर्मित धेरै विनाशहरू अन्जानमै भएका हुन्छन् तर विज्ञान र प्रविधिको विकासको युगमा विनाशकारी हमलाहरूको सम्भावना बढी हुन्छ। उदाहरणका लागि 'सिन्थेटिक बायोलोजी' प्रयोग गरिने प्रयोगशालाले ज्यानै लिनसक्ने भाइरस बनाउँछ। फ्यूचर अफ लाइफ इन्स्टिट्यूटका शोधकर्ता फिल टोरेजका अनुसार यदि कुनै विनाशकारी बटनले सबै कुरा नष्ट गरिदिनसक्छ भने त्यस्ता मानिसको कमी छैन जो त्यस्तो बटन थिच्न चाहन्छन्। त्यसरी बटन थिच्ने जापानमा जस्तै धार्मिक कट्टरपन्थी हुनसक्छन्। यद्यपि फिलका अनुसार सार्वजनिक ठाउँमा अन्धाधुन्ध गोलाबारी गर्नेहरू जस्ता मानिसबाट पनि खतरा हुन्छ जो मानव जातिको विनाशलाई लिएर आफ्नै कारणले प्रेरित हुन्छन्। त्यस्तो बटन थिच्नेहरूको सङ्ख्या कति होला? एक अनुमान अनुसार अहिलेको समयमा दुनियाँमा मानसिक विरामीको सङ्ख्या ३० करोड हुनसक्छ जसमध्ये धेरैजना खतरा बन्न सक्छन्। सन् १९९५ मा टोकियोमा दुनियाँको विनाश हुन्छ भन्ने विश्वास राख्ने एउटा समुदायले ग्यासले हमला गर्दा १२ जना मारिएका थिए परमाणु युद्ध परमाणु युद्धले सम्भवत हामीलाई खत्तम गर्न सक्दैन तर त्यसपछिको असरले गर्न सक्छ। ग्लोबल क्याटास्ट्रोफिक रिस्क इन्स्टिट्यूटका सेथ बामका अनुसार परमाणु विस्फोटबाट जलेको शहरमाथि उड्ने धुलो वायुमण्डलको धेरै माथि जानसक्छ। यो धुलो दशकौंसम्म त्यहाँ बस्छ र सूर्यका किरणलाई रोक्न सक्छ। परमाणु युद्धका कारण पहिला ठूलो स्तरमा विनाश हुनसक्छ। त्यसपछि आर्थिक बाधाहरू अनि अन्तत विश्वव्यापीरूपमा पर्यावरणीय असरहरू पर्नसक्छ। सन् १९७१ मा फ्रान्समा परमाणु बम परीक्षण गर्दाको दृश्य। आर्टीफिसियल इन्टेलिजेन्स कृत्रिम खतरा विभिन्न तरिकाबाट निम्तिन सक्छ। कम्प्यूटरको गणनामा खराबी भएर पुरै दुनियाँको शेयर बजार धराशायी हुनसक्छ जसका कारण आर्थिक व्यवस्था नष्ट हुन्छ र मानिसको नियन्त्रणबाट बाहिर जान सक्छ। तर एउटा कुरा जसका कारण विज्ञ चिन्तित बनेका भनेको 'डीप फेक भिडिओ' हो जसमा जो कसैको पनि साँचो जस्तो लाग्ने भिडिओ बनाउन सकिन्छ। कसैले एउटा एक विश्व नेताले अर्कोलाई धम्की दिएको मिथ्या भिडिओ बनाउन सक्छ र दुई परमाणु शक्तिबीच तनाव बढाउनसक्छ। यस्तो खालको प्रविधि छ र मिथ्या सामग्रीको पहिचान थप कठिन बन्दै गइरहेको छ। मसिनको कोड १ र ० को अलग अलग संयोजनले बनेको हुन्छ हाम्रो सभ्यता कति सङ्‍कटमा छ? यसको उत्तर कुन खतराको कुरा भइरहेको छ भन्ने कुरामा भर पर्छ। तर करिन ठान्छिन् जनसङ्ख्या वृद्धि सबैभन्दा ठूलो समस्या हो। उनी भन्छिन्, "परिवारसँग जोडिएको सामाजिक तरिका बदल्न आवश्यक छ। र, हामीलाई चाहिए जति बच्चा जन्माउन र मन लागेको गर्न स्वतन्त्र छौँ भन्ने सोच बदल्न जरुरी छ।" यसरी हामी विश्व विनाश रोक्नलाई आफ्नो भूमिका निभाउन सक्छौं। यो शताब्दी हाम्रो जातिको अन्तिम शताब्दी नहोस् भन्नका लागि हामीले यी खतराहरूलाई गम्भीर रुपमा लिन आवश्यक छ। भविष्य ढुङ्गामा लेखिएको अक्षर होइन। यस्ता धेरै चीज छन् जुन हामी गर्न सक्छौँ र अब हामीले त्यो कदम उठाउने बेला आएको छ। हामीले कदम उठायौँ भने खतराबाट बच्न सक्छौँ
कोरोना भाइरस भारतः कोभिड-१९ का कारण दिल्लीमा बिरामीका आफन्त अक्सिजन माग्दै सडकमा
भारत अहिले कोभिड-१९ का कारण अभूतपूर्व सङ्कटमा परेको छ।
ठूला सहरका सरकारी र निजी अस्पतालहरू बिरामीको भार थेग्न नसक्ने अवस्थामा पुगेका छन्। दिल्लीमा ३० शय्या भएको एउटा निजी अस्पताल पेन्टामेड हस्पिटल र धेरै ठूलो लोक नायक अस्पतालबाहिर बिरामीको ताँती लागेको छ। तर शय्या र औषधोपचारका लागि आवश्यक सामग्रीको अभावका कारण धेरै बिरामीले भर्ना पाएका छैनन्। उनीहरूले पालो कुर्नुपरेको छ। अस्पतालहरूले बिरामीका आफन्तलाई सामान र अक्सिजनको जोहो गर्न आग्रह गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
नेपाल फुटबल: २० वर्षअघि इराक र काजाकस्तानमा खेलिएका ऐतिहासिक विश्वकप छनोट खेलको संस्मरण
बग्दादको सद्दाम हुसेन अन्तर्राष्ट्रिय विमानस्थल (अहिले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल) मा ओर्लिनेबित्तिकै एउटा अनौठो कुरा देखियो।
विमानस्थलको भुइँमा अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको विशाल टाउको खोपिएको थियो। अनि विमानबाट ओर्लिने सबैले उनको टाउको कुल्चेर मात्र इराकी भूमिमा प्रवेश गर्नुपर्ने रहेछ। त्यो इराकको अमेरिकाप्रतिको घृणाभावको सङ्केत थियो। त्यसले नेपालको राष्ट्रिय फुटबल टोलीको इराक बसाइमा यस्ता थुप्रै फरक क्षणहरू अनुभव गर्न पाइने पूर्वाभास भयो। यो सन् २००१ को एप्रिल महिना अर्थात् २० वर्ष अगाडिको घटना हो। नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप २००२ को छनोट खेल्न इराक र काजाकस्तानको यात्रामा निस्केको थियो। समूह 'एफ'मा नेपालसँगै इराक, काजाकस्तान र मकाउका चार टोलीले उक्त छनोट खेलमा सहभागी भए। विवाद, अन्योल, डर, उत्साह अनि युद्धको आभास हुँदै अन्त्यमा सफलतामा पुगेर टुङ्गिएको सो यात्रा राष्ट्रिय फुटबल टोलीले खेलेको अहिलेसम्मकै सफल विश्वकप छनोट प्रतियोगिता मानिन्छ। नेपालबाटै अप्ठेरो त्यति बेला अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नेतृत्व विवाद चरम उत्कर्षमा थियो। दुई समानान्तर एन्फा अस्तित्वमा थिए। सरकारी मान्यताप्राप्त गीता राणा नेतृत्वको एन्फा सातदोबाटोमा र फिफाको मान्यताप्राप्त गणेश थापाको नेतृत्वमा रहेको एन्फा ललितपुरबाट सञ्चालन भइरहेका थिए। विवादमाझ विश्वकपको तयारी पनि दुईतिर भइरहेको थियो। राणाको नेतृत्वको एन्फाले सातदोबाटोमा युवा खेलाडीहरू राखेर बन्द प्रशिक्षण सञ्चालन गरेको थियो भने उपेन्द्रमान सिंह, बालगोपाल महर्जनजस्ता वरिष्ठ खेलाडीहरूको समूह स्वतन्त्र रूपमा खुलामञ्चमा प्रशिक्षण गरिरहेका थिए। थापाको आफ्नै टीम पठाउने तयारी, राणाको असहमति र खेलाडीहरूको दबावकाबीच सिर्जित अन्योलमा नेपाली टोलीले विश्वकप छनोट खेल्ने सम्भावना निकै कम थियो। यस्तो विषम परिस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव विनोदशङ्कर पालिखेले सबै पक्षलाई समेट्दै एउटा स्वतन्त्र टोली बनाई विश्वकपमा भाग लिने जुक्ति निकाले। स्वतन्त्र टोलीको नेतृत्व टासी घलेले गर्ने भए। टोलीको व्यवस्थापक लोकबहादुर शाही, प्रशिक्षक महेश्वर मुल्मी र सहायक प्रशिक्षकमा राजुकाजी शाक्य बने। उनीहरूले संयुक्त टोली छाने। अनि अन्तिम समयमा टोलीको विश्वकप सहभागिता पक्का भयो। उडान तालिकाअनुसार समूह 'एफ' मा रहेको टोलीले इराक र काजाकस्तानमा 'होम एन्ड अवे' खेल्ने भयो। तर युद्धमा होमिएको इराक जान सजिलो कहाँ थियो र? त्यसका लागि नेपालले लामो अनि घुमाउरो हवाईयात्रा तय गर्नुपर्‍यो। यात्रा सुरुदेखि नै रोमाञ्चक बनिसकेको थियो। इराक पुग्न ४८ घण्टा हवाईयात्रा गर्नुपर्‍यो। उपेन्द्रमान सिंह टोली पहिले दुबई पुग्यो। त्यहाँबाट जर्मनीको म्युनिख, द नेदरल्यान्ड्सको एम्स्टरड्याम हुँदै सिरियाको राजधानी दमास्कस पुग्यो। त्यहाँ एक रात बसेपछि इराकबाट एउटा बडेमानको दुईतल्ले 'डबल डेकर' विमान खेलाडी लिन दमास्कस आइपुग्यो। विमानस्थलमा मकाउको टोलीसँग भेट भयो। झन्डै ५०० सीट क्षमताको दुईतल्ले विमान खाली थियो। त्यहाँ थिए त केवल नेपाल र मकाउका ६० जना यात्रु। विमान धेरै समयपछि प्रयोग गरिए जस्तो आभास हुन्थ्यो। त्यसमा पाको उमेरका परिचारिकाहरू थिए। कडा सुरक्षा फिफाले इराकमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न प्रतिबन्ध लगाएकै बेला विश्वकपका लागि भने खुल्ला गरिएको रहेछ। खेलाडीहरूको सुरक्षा व्यवस्था अत्यन्त कडा थियो। राष्ट्रपति सद्दाम हुसेनका छोरा उदय हुसेन इराकी फुटबल सङ्घ र इराक ओलिम्पिक्स कमिटीका अध्यक्ष थिए। हाम्रा खेलाडीको गाडी अगाडिपछाडि एके४७ बोकेका सैनिक हुन्थे र हाम्रो टोलीको गाडी हिँड्दा बाटोका अन्य सवारीसाधन र मानिसहरू लाखापाखा लाग्नु पर्थ्यो। उदय हुसेनको डर त्यस्तो थियो। नेपाली टोली प्रशिक्षणका लागि वा कतै घुम्न जाने बेलामा पनि एके४७ बोकेका सैनिक साथमा हुन्थे। ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’ फरक वातावरण सन् १९९१ मा अमेरिका इराक बीचको 'गल्फ वार' ले चर्चित युद्धमा पराजित भएपछि त्यहाँ युद्धको छाया भने कायमै थियो। विश्वका अधिकांश देशको इराकमाथि प्रतिबन्ध कायमै थियो। बग्दाद सहरमा युद्धको प्रभाव बेसरी परेको अनुभव गर्न सकिन्थ्यो। पर्यटकविहीन सहर, आर्थिक रूपमा विपन्न भए जस्तो अनुभूति। टोलीमा पनि त्यसको असर देख्न सकिन्थ्यो। नेपाली टोलीलाई पाँचतारे होटेलमा राखिएको थियो तर सुविधा खासै थिएन। कार्पेटहरू मक्किएका, शौचालयमा पानी चुहिने अनि खानेकुरा पनि अत्यन्त सीमित। होटेलको झ्यालबाट देखिने दृश्य भने अनौठो थियो। ठाउँठाउँमा बङकर देख्न पाइन्थ्यो। यदि युद्ध भइहालेमा लुक्न बनाइएको ठाउँ। होटेलमा उपेन्द्रमान सिंह, नीराजन रायमाझी र सञ्जीव जोशीको क्यामेरा चोरी भयो। चोर पत्ता लागेन। होटेल मालिक क्षतिपूर्ति दिन तयार भएनन्। उदय हुसेनसमक्ष गुनासो पुर्‍याउने कुरा गरेपछि होटेल मालिकले तुरुन्तै बजारमा गएर नयाँ क्यामरा किनिदिए। हराएकोभन्दा राम्रो र महँगो क्यामरा। सिंह सम्झिन्छन्ः "इराकी पैसा कति सस्तो होला कि क्यामरा किन्न जाँदा बोरा पैसा बोकेर लगेका थिए।" इराकविरुद्ध नेपालको गोल चालीस हजार दर्शक क्षमताको सद्दाम हुसेन रङ्गशाला खचाखच भरिएको थियो। खेल सुरु हुनासाथै बलियो इराकले नेपाल विरुद्ध गोल बर्साउन थालिहाल्यो। दर्शकहरू हर्षोल्लास गर्दै थिए। तर खेलमा नेपाललाई एउटा यस्तो अवसर जुर्‍यो कि स्ट्राइकर नीराजन रायमाझीले इराकी पोस्टमा एक गोल छिराए। भएको के थियो भने नेपाली खेलाडीहरू गोल बचाउनमा नै व्यस्त अनि विपक्षी खेलाडीहरू आक्रमणमा केन्द्रित हुँदा खेलाडीहरू सबै नेपाली पोस्टमा झुम्मिएका थिए। अति आत्मविश्वासी इराकी गोलरक्षक पनि झन्डैझन्डै मैदानको मध्य भागसम्म आइपुगेका थिए। नयाँ वर्ष र इराकविरुद्ध नेपालले गरेको गोलको खुसीयाली मनाउन केक काटिएको थियो त्यही बेला गोलकीपर उपेन्द्रले हानेको लामो प्रहार इराकका गोलकीपरलाई पनि नाघेर अगाडि पुग्यो अनि रायमाझीले खाली पोस्टमा बललाई जाली चुमाइदिए। त्यो गोल इराकी दर्शकहरूलाई यति धेरै बिझेको देखियो कि नेपाललाई नौ गोल गरेभन्दा एक गोल खानपुगेकोमा उनीहरू दुःखी देखिएका थिए। त्यो एक गोलले नेपाली टोलीलाई गजबकै ऊर्जा दियो। इराकी दर्शकहरूले रङ्गशाला वा बजारमा नेपाली खेलाडीहरू डुल्न जाँदा त्यहाँका सर्वसाधारणहरूले नौवटा औँला देखाएर जिस्काउँथे अनि नेपाली खेलाडीहरूले चोर औँलाले एक गोलको इसारा गर्दा उनीहरू चुप लाग्थे। त्यो खेल २०५८ वैशाख १ गते भएको थियो। त्यो रात हामीले केक काटेर नयाँ वर्ष र इराकविरुद्ध गोल हानेको खुसीयाली मनायौँ। अनि मैले नेपालमा समाचार पठाएँः " नयाँ वर्षमा नेपाललाई नीराजनको गोल उपहार "। नीराजन रायमाझीको हुन नसकेको ह्याट्रिक दोस्रो खेलमा नेपाल काजाकस्तानसँग ६-० ले पराजित भयो। तर मकाउसँगको तेस्रो खेल भने नेपालको लागि ऐतिहासिक उपलब्धिको खेल बन्यो। मकाउलाई नेपालले ४ -१ ले हरायो। नेपालले विश्वकप छनोटको इतिहासमा पाएको त्यो पहिलो जित थियो। तर म त्यो खेललाई रायमाझीको हुन नसकेको ह्याट्रिकको रूपमा सम्झिन्छु। सो खेलमा नीराजनले सुरुमै लगातार दुई गोल हानेका थिए। उनैलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पनि पायो। पेनाल्टी हरि खड्काले प्रहार गरे। गोल भयो। नेपालले फेरि अर्को पेनाल्टी पायो। यतिखेर रायमाझीलाई अवसर दिइएको भए उनको ह्याट्रिक पूरा हुन सक्थ्यो। त्यो पेनाल्टी पनि खड्काले नै प्रहार गरे। तर गोल भएन। सामान्यतया पेनाल्टी हान्ने खेलाडी प्रशिक्षकले पहिले नै तय गर्छ। तर सहज जिततिर उन्मुख खेलमा खेलाडीलाई ह्याट्रिक अवसर छ भने त्यस्तो खेलाडीलाई मौका दिइने अभ्यास सामान्य हो। रायमाझीले भने त्यो अवसर पाएनन्। अहिलेसम्म पनि नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान खड्का र रायमाझीको संयुक्त नाममा छ। दुवैले समान १३/१३ गोल गरेका छन्। सातौँ आश्चर्य प्रत्येक प्रमुख चोक, गल्ली, सडक जताततै सद्दाम हुसेनको तस्बिर र मूर्तिले घेरिएको बग्दादको डर, त्रास र रोमाञ्चक यात्राबाट नेपालले यात्राको बिट मार्‍यो। नेपाली खेलाडीहरूले त्यति बेला कमैले मात्र अवसर पाउने सहर बग्दादमा कडा सुरक्षाका माझ घुमफिर गरेर रमाए। अनि फर्किनुअघि विश्वको सातौँ आश्चर्यमध्ये एक मानिने बेबिलोन पार्क (ह्याङ्गिङ गार्डेन) मा घुम्ने अवसर पाए। बेबिलोन पार्कमा नेपाली खेलाडी र पत्रकार राजवंशी (बीचमा) त्यसको दुई वर्षपछि सद्दाम शासन ढल्दा सहरको मुख्य चोकमा ढालिएका सद्दामका मूर्तिहरू नेपाली खेलाडीहरूले टेलिभिजनमा हेरिरहेका थिए, जहाँ खेलाडीहरूले पोजपोजमा फोटो खिचेका थिए। काजाकस्तान यात्रा इराकले दिएको रोमाञ्चक यात्राको सुखद अन्त्य नेपालले काजाकस्तानमा भएको 'अवे म्याच' मा प्राप्त गर्‍यो। इराकले त्यहाँ नेपाललाई ४-२ ले हराउँदा खड्का र रायमाझीले गरेका दुई गोल निकै दर्शनीय थिए। त्यसबाट इराकलाई पहिलो चरणबाटै बाहिर गराउने सम्भावना समेत बनेको थियो। इराकी पत्रकारले पोस्ट-म्याच प्रेस कन्फरेन्समा 'काजाकस्तानसँग मिलेर इराकलाई हराउन खोजेको हो' भनेर नेपाललाई आरोप नै लगाए। काजाकस्तानले घरेलु मैदानमा भने नेपाललाई चार गोल मात्र गर्न सक्यो। अनि समान अङ्क भए पनि गोल भिन्नताकै आधारमा अन्ततः इराक छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो। काजाकस्तानमा भने नेपालले मकाउलाई ६-१ ले पराजित गर्‍यो। इराकमा गर्न नसकेको ह्याट्रिक सपना नीराजन रायमाझीले त्यहाँ पूरा गरे। सो खेलमा बालगोपाल महर्जन र दीपक लामाले पनि एकएक गोल गर्न भ्याएका थिए। फेरिएको परिचय यसरी अन्योलकाबीच सुरु भएको नेपालको विश्वकप यात्रा अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप छनोटको रूपमा परिचय दिँदै टुङ्गियो। विश्वकपमा कहिले जित हात पार्न नसकेको नेपालले छ अङ्क लिएर फर्कियो। सन् १९८२ देखि विश्वकप छनोट खेल्न थालेको र जितविहीन नेपाली टोलीले एकै संस्करणमा १३ गोल गर्न सक्यो। विश्वकप छनोटमा सधैँ रक्षापङ्क्तिमा सीमित टोली आक्रमण गर्ने टोलीको रूपमा परिचित भयो। अनि त्यो पनि त्यस्तो टोली जसले नेपालमा विवादको भूमरीकाबीच नाम मात्रको तयारी गरेको थियो। (पत्रकार निरञ्जन राजवंशीले नेपाली टोलीसँगै यात्रा गरेका थिए। यो सामग्री उनको निजी अनुभूतिमा आधारित छ।)
नेपालले विश्वकप छनोट खेलमा गरेको गोलको सम्झना
एक दशकअघिका नेपाली फुटबलका चर्चित स्ट्राइकर निराजन रायमाझी इराकको राजधानी बग्दादमा भएको मकाउविरुद्धको विश्वकप छनोट खेलमा आफूले गरेको गोललाई अविस्मरणीय ठान्दछन्।
निराजन रायमाझी विश्वकप छनोटमा नेपाली टोलीको तर्फबाट सर्वाधिक सात गोल गर्ने नेपाली खेलाडी हुन्। सन् २००२ को विश्वकपको लागि भएको छनोट खेलमा उनले मकाउविरुद्ध ह्याट्रिक अर्थात् लगातार तीन गोल सहित उक्त स्कोर गरेका थिए। यो अहिलेसम्म पनि विश्वकप छनोट खेलमा नेपाली फुटबलको कीर्तिमान मानिन्छ। उनै पूर्वखेलाडी रायमाझीलाई निरञ्जन राजवंशीले सोधेका थिए, “अहिले ती गोलहरू सम्झिँदा कस्तो लाग्छ?” उनीसँग गरिएको कुराकानीको अंश।
भारत: विमानभित्र यात्रुका नाक र कानबाट रगत बग्न थालेपछि...
भारतमा बिहीवार आन्तरिक सेवामा रहेको एउटा विमानका कर्मचारीहरूले क्याबिनभित्र हावाको उचित चाप व्यवस्थापन गर्ने स्विच थिच्न बिर्सिँदा सो विमानलाई फर्काउन बाध्य भएको नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।
सो घटनाका कारण मुम्बईबाट जयपुरतर्फ उडेको जेट एयरवेज विमानमा कार्यरत कर्मचारीहरूलाई निलम्बित गरिएको छ। सो घटनाबारे छानबिन भइरहेको बताइएको छ। रगत सामाजिक सञ्जालमा राखिएका जानकारीहरूमा यात्रुहरुले अक्सिजन मास्क लगाइरहेको देखिएको छ। अधिकारीहरूका अनुसार उक्त असावधानीका कारण केही यात्रुहरुको नाक र कानबाट रगत बग्नुका साथै कतिपयको टाउको दुखेको थियो। मुम्बई फर्काइएका यात्रहरूलाई चिकित्सकले उपचार गरेका थिए। तीस जनाभन्दा धेरै यात्रुहरूलाई त्यसरी उपचार गरिएको अधिकारीहरूले बताएका छन्। उक्त बोइङ ७३७ विमानमा १६६ यात्रु सवार थिए। लन्डनबाट मुम्बईका लागि उडेको एउटा विमानको कक्पिटभित्र झगडा गरेको विविरण सार्वजनिक भएपछि गत ज्यानुअरी महिनामा जेट एयरवेजले आफ्ना दुई विमानचालकहरूलाई निलम्बन गरेको थियो। तीन सय चौबीस यात्रु भएको सो विमानले सकुशल अवतरण गरेको थियो।
के हाम्रो खाद्यप्रणालीले स्वास्थ्य बिगारेको छ
सयौँ मेडिकल र वैज्ञानिक अध्ययनहरूको एउटा प्रतिवेदनले अहिले विश्वको खाद्यप्रणालीले मानवजातिलाई नै हानि गरिरहेको र जलवायु परिवर्तनमा तीव्र योगदान गरिरहेको जनाएको छ।
अहिलेको विश्व खाद्य प्रणालीले मानव जातिलाई नै विफल बनाइरहेको र जलवायु परिवर्तनमा योगदान गरिरहेको जनाएको छ। आजभोलि खाइने उच्च क्यालोरीयुक्त खाना जुन तुलनात्मक रूपमा सस्तोमा पाइन्छ त्यसले मानवको स्वास्थ्यमा हानि गरिरहेको प्रतिवेदनमा उल्लेख छ। दृष्टिकोण तीन वर्ष लगाई तयार पारिएको सो प्रतिवेदनमा खाना, पोषण, कृषि र वातावरणप्रति अहिलेको दृष्टिकोण नै दीर्घकालीन नभएको बताइएको छ। प्रतिवेदनले स्वस्थ, सुलभ र वातावरणमैत्री खाना उपलब्ध गराउन क्रान्तिकारी परिवर्तनको आवश्यकता औँल्याउँदै हरितगृह ग्यासको असर न्यूनीकरणमा ध्यान दिनुपर्ने जनाएको छ। कम खाना र धेरै खाना दुवैका कारण कुपोषित मानिसहरूको सङ्ख्या बढिरहेको बताउँदै लेखकहरूले युरोपेली खानामा मासु कम गर्न पर्ने सँगै प्रयोगशालामा विकास गर्न सकिने मासु, लेउ वा किटमा आधारित खाद्य पदार्थको आविष्कारको प्रयास गर्न पर्ने सुझाव दिएका छन्।
अमेरिका निर्वाचन २०२०: राष्ट्रपति पद र जिम्मेवारी कसरी हस्तान्तरण हुन्छ
अमेरिकामा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खर सम्पन्न निर्वाचनमा जो बाइडनसँग आफू पराजित भएको स्वीकारेका छैनन्। उनको पक्षले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतपरिणामालाई कानुनी चुनौती दिएको छ। तर ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार गरेका छन्।
यस्तोमा हस्तान्तरणमा के-के हुन्छ र यो किन महत्त्वपूर्ण छ? हस्तान्तरण प्रक्रिया के हो? यो एउटा प्रशासनबाट अर्कोलाई महत्त्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हो। जसले गर्दा राष्ट्रपति निर्वाचित र उनको समूह ह्वाइट हाउसमा पुगेपछि त्यसलाई गति दिन सक्छन्। सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्छ। उसले कोष उपलब्ध गराउँछ र कार्यालय, प्रविधि र उपकरण जस्ता कुराहरू सहयोग गर्छ। हस्तान्तरण झन्डै ११ हप्तामा पूरा हुन्छ। त्यो सामान्यतया कसले जित्यो भन्ने कुरा स्पष्ट भएपछि सुरु भएर ज्यानुअरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्तारोह गर्दासम्म सकिन्छ। सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र होइन। नयाँ राष्ट्रपतिले ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्छ। हस्तान्तरण अवधिमा के हुन्छ? तीनवटा मुख्य काम हुन्छन्: कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारण। औपचारिक रूपमा हस्तान्तरण सुरु भएपछि त्यो राष्ट्रपति निर्वाचितको समूहद्वारा त्यो प्रक्रिया अघि बढ्छ जसको पूरै चुनावी अभियानभरि तयारी गरिरहेको हुन्छ। एउटा महत्त्वपूर्ण विषय दैनिक सुरक्षा जानकारी हो। चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचनाहरू पाउँछन्। तर राष्ट्रपति पदममा निर्वाचित उम्मेदवारलाई दिन थालिएपछि जस्तो त्यो नियमित र विस्तृत हुँदैन। बाइडनले अब दैनिक जानकारी पाउनेछन्। त्यसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू पनि पर्छन्। फ्लोरिडाको मतदानमा भएको विवादका कारण बिल क्लिन्टनबाट जर्ज डब्ल्यू बुशलाई हस्तान्तरण ढिलो भएको थियो सन् २००१ को सेप्टेम्बर ११ मा भएका आक्रमणबारे छानबिन गर्न गठित सम्बन्धी आयोगले सन् २००० को चुनावपछि सत्ता हस्तान्तरण ढिलो हुँदा त्यसले उक्त घटना रोक्न नसकिएको सम्भावना औँल्याएको थियो। कर्मचारीको निर्धारण र नीति परिवर्तनमा सहयोगको निम्ति सामान्यतया बैठकहरू सरकारी निकायका बहालवाला सदस्यहरूसँगै आयोजना गरिन्छ। प्रमुख सदस्यहरूले आफ्नो नयाँ भूमिकाको तयारीका निम्ति बहिर्गमन हुन लागेका कर्मचारीका कामहरूलाई पछ्याउने गर्छन्। बाइडनले प्रमुख सदस्यहरू नियुक्त गर्न थालिसकेका छन्। हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ। राजनीतिक नियुक्ति हुने ४,००० पदमध्ये १,२०० मा सिनेटको अनुमोदन आवश्यक हुन्छ। हस्तान्तरण प्रक्रियाका क्रममा उनीहरूको पृष्ठभूमि जाँचमा सरकारले सघाउँछ। यो वर्ष कोरोनाभाइरस महामारी पनि छ र बाइडनले स्वास्थ्य निकायका उच्च अधिकारीसँग सम्पर्क गर्न र जनस्वास्थ्य सूचनामा पूर्ण पहुँच चाहेको बताएका छन्। सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया राष्ट्रपति-निर्वाचित र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ। अहिलेसम्म बाइडनको समूहले अनौपचारिक संयन्त्रमार्फत् सम्पर्क गरेको छ। अब भने सरकारी इमेल र सुरक्षति संयन्त्रमा पहुँच हुनेछ। राष्ट्रपति-निर्वाचित उम्मेमदवारको दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर त्यहाँको आन्तरिक साजसज्जाबारे उनीहरूको रुचिबारे सोध्ने गरिन्छ। तर त्यो कानुनी प्रावधानभन्दा पनि परम्परा हो। हस्तान्तरण किन ढिलो? यो सामान्यतया जीएसएले नयाँ राष्ट्रपति को हो भन्ने कुरा उल्लेख गर्दै पत्र लेखेपछि सुरु हुन्छ। तर यो वर्ष उसले बाइडनले चुनाव जितेको पत्र जारी गर्न करिब चुनाव भएको तीन हप्तापछि नोभेम्बर २३ सम्म अस्वीकार गरेको थियो। जीएसएले बाइडनको समूहको निम्ति कोष र अन्य स्रोतहरू उपलब्ध गराएको छ। हस्तान्तरण कहिले सुरु हुनुपर्छ भन्ने कानुनी प्रावधान अस्पष्ट छ। त्यसले गर्दा पनि चुनावी परिणाममा विवाद झिकेको ट्रम्प प्रशासनलाई ढिलो गर्न छुट मिलेको हो। अमेरिकी कानुनअनुसार जीएसएले 'स्पष्ट विजेता' भएपछि हस्तान्तरण थाल्नुपर्छ तर त्यसको मिति निश्चित छैन। सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो। मतपरिणामविरुद्ध अदालतमा मुद्दा परेकाले त्यसो भएको थियो। तर त्यस बेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो। जीएसएले औपचारिक रूपमा परिणाम घोषणा हुनु निकै पहिल्यै सन् २०१६ को चुनावको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो। त्यसको भोलिपल्ट ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपति ओबामासँग भेट गरेका थिए। यसको खर्च कसले बेहोर्छ? सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ। जीएसएले राष्ट्रपति-निर्वाचितलाई मान्यता दिएपछि सङ्घीय कोषबाट करिब ७० लाख डलर निकास हुन्छ। यो समान्यतया राष्ट्रपति-निर्वाचितले सङ्कलन गरेको कोषबाट परिपूर्ति गरिन्छ। बाइडनले आफ्नो हस्तान्तरण प्रक्रियाको निम्ति नोभेम्बरको सुरुमा ७० लाख डलर सङ्कलन र आफ्ना समर्थकहरूबाट थप कोष जुटाउन अपील गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
कश्मीरमा मोदीले मध्यस्थता खोजेका थिएः ट्रम्प
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको बताएका छन्।
तर उनको उक्त भनाइलाई दिल्लीले तत्कालै खण्डन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै उनले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम रहेको देखेर आफूलाई आश्चर्य लागेको बताए। उनले भने, "यदि म सहयोग गर्न सक्छु भने म मध्यस्थकर्ता बन्न मन पराउँछु। यदि तपाईंहरू मलाई मध्यस्थता गरोस् भन्ने चाहनुहुन्छ भने म मध्यस्थता गर्न तयार छु।" भारतको विदेश मन्त्रालयले चाहिँ यस्तो कुनै पनि अनुरोध नगरिएको बताएको छ। उसले भारतले पाकिस्तानसँगका मुद्दाहरूलाई द्विपक्षीय रूपमा मात्र छलफल गर्ने निरन्तर अडान राख्दै आएको स्पष्ट गरेको छ। पाकिस्तानलाई सहायता ह्वाइट हाउसमा पाकिस्तानी प्रधानमन्त्रीसँगको बैठकपश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई एक अर्ब डलर बराबरको सहायता दिन सकिने सुझाव दिएका छन्। आफ्ना पाहुनासँगै बसेका ट्रम्पले दुई देशबीचको सम्बन्ध सुधार भएको बताए। गत वर्ष वाशिङ्टनले इस्लामाबादलाई दिँदै आएको सहायता कटौती गरेको थियो। ट्रम्प प्रशासनले यसअघि पाकिस्तानलाई आतङ्कवादीलाई सहयोग गरेको आरोप लगाउने गरेको थियो। त्यसलाई पाकिस्तानले नकार्दै आएको छ। ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्न सहयोगका निम्ति पाकिस्तानसँग काम गर्न चाहेको बताए।
फ्रान्समा आगलागीबाट बच्न हामफालेका दुई बालकको अनौठो उद्धार
तीन र दश वर्ष उमेरका दुई बालक फ्रान्समा आगलागीबाट अचम्मसँग बाँचेका छन्।
उनीहरूले आफ्नो घरबाट झण्डै ३५ फिट तल हामफालेका थिए। तल रहेका मानिसहरूले उनीहरूलाई समाएर बचाएका थिए। अर्को भवनबाट लिइएको भिडिओमा उनीहरू तेस्रो तला माथिबाट हामफालेको देखिन्छ। हेर्नुहोस् एउटा भिडिओ। अनि यो पनि:
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
4
Edit dataset card

Models trained or fine-tuned on sanjeev-bhandari01/XLSum-nepali-summerization-dataset