content
stringlengths
31
27.4k
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग काठमाडौं । श्रमिक महिला रक्षक सङ्घले अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेको छ। सङ्घले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जन क्षेत्र’ विषयक अन्तक्र्रियामा सांसद रामकुमारी झाँक्रीले अनौपचारिक क्षेत्रमा गरिने सबै प्रकारका कामलाई अब औपचारिक बनाउनुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रमा सङ्गठित सबै कामदारलाई कोषमा अनिवार्य रुपमा सूचिकृत गर्न व्यवस्था गरिएकाले सम्बन्धित व्यवसायीले आफ्नो संस्था र श्रमिकलाई सूचिबद्ध गर्नुपर्नेमा जोड दिए। पूर्वमन्त्री परशुराम खापुङले सामाजिक सुरक्षामा आवद्ध भएपछि श्रमिकले योगदानमा आधारित सुविधा प्राप्त गर्नसक्ने हुँदा यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लागू गरेको श्रम ऐनलाई व्यवसायीले मानेर त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोडदिँदै त्यस्तो कार्यले व्यवसायलाई मर्यादित बनाउने उद्यमी तथा श्रमिकलाई थप सुरक्षित बनाउने बताए। ट्रेड युनियनकर्मी ऋषभदेव घिमिरेले श्रमिकलाई आधारभूत ज्याला नदिएको यस क्षेत्रलाई व्यवस्थित बनाउन खाँचो औँल्याए। आयोजक सङ्घका अध्यक्ष सविना लिम्बूले अनौपचारिक क्षेत्रका कामदारले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुर्यौएकोले यस व्यवसायलाई मर्यादित र सुरक्षित गर्नुपर्ने उल्लेख गरे। एक लाख ५० हजारका सामग्री वितरण सनराइज बैंकले १२ औँ वार्षिकोत्सवको अवसरमा बाल मन्दिरका बालबालिका आज करिब रु एक लाख ५० हजार बराबरको सामग्री वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नक्सालमा आयोजना गरेको कार्यक्रममा बाल मन्दिरलाई खाद्यान्न, लत्ताकपडा, जुत्तालगायत सामग्री हस्तान्तरण गरेका हुन्। प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौड्यालले बाल मन्दिरका महासचिव देशभक्त श्रेष्ठलाई सो सहयोग हस्तान्तरण गरेको छ। प्रमुख कार्यकारी अधिकृत पौड्डालले बालबालिका भविष्यका कर्णधार भएकाले यस्ता असाहय बालबालिकालाई सबै तहबाट सहयोग गर्न सकेमा उनीहरुको लालनपालन, स्वास्थ्य, शिक्षाका साथै भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरे। बैंकका सञ्चालक समितिका सदस्य आशा राणा, बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी लगायतले सरकारले लिएको विकास र समृद्धिको अभियानलाई पूरा गर्न बैंक दृढतापूर्वक अगाडि बढेको बताउँदै देशभर कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रविधियुक्त बनाउन बैंकले १२ प्रतिशत लगानी गरिरहेको र आगामी दिनमा १५ प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिए। बाल मन्दिरमा हाल ९२ बालबालिका आश्रित छन्। काठमाडौँ उपत्यका तथा बाहिर गरी बालमन्दिरअन्तर्गत १० आश्रयस्थल रहेको जनाइएको छ।रासस
नेपाल र युएईबीच हवाई सेवा सम्झौता काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो। महासभामा नेपालका तर्फबाट सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका थिए। हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन्। ‘दुबै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदनप्रदान गर्न मद्दत पुग्नेछ ।’ ‘यो सम्झौता पत्रको तयारीमा लाग्नुभएका दुबै देशका सम्बद्ध अधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, मन्त्री भट्टराईले आफ्नो फेसबुकवालमा पोष्ट गरेका छन्। उनले हवाई सम्झौताले एक अर्को देशलाई सहयोग गर्ने वातावरण निर्माण हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। एक सय ९३ देशका झण्डै दुई हजार बढीको सहभागिता रहेको आइकाओ महासभामा आफ्नो सहभागिता र आफूले त्यहाँ व्यक्त गरेका धारणाले भ्रमण वर्षको प्रचार र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको मन्त्री भट्टराईले उल्लेख गरे। उनले भ्रमण वर्ष सफल पार्न सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय गरिएको कार्यक्रम फलदायी बनेको बताए। भ्रमण वर्षको प्रवद्र्धनका लागि भ्रमण वर्ष शुरुवात कार्यक्रममा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका अधिकारीलाई बोलाइने जानकारी गराउँदै उनले विश्वका विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगमार्फत ती देशका राष्ट्रप्रमुख तथा अधिकारीलाई बोलाएर विभिन्न देशमा कार्यक्रम गरिने बताए ।रासस
हातहतियार तथा लागूऔषधसहित अमडुवाबाट २ जना पक्राउ सुनसरी । बर्जु गाउँपालिका ३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्। उनीहरुको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल १ थान त्यसको म्याग्जिन २ थान तथा गोली ३ राउण्ड, नियन्त्रित लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागु औषध डाईजेल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद भएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कृषि विकास बैंक ह्याकिङ प्रकरण : लाहान शाखाकै शाखा प्रमुख पक्राउ काठमाडौं । कृषि विकास बैंकबाट लुटिएको रकम प्रकरणमा मुछिएको आरोपमा सोही बैंकका शाखा प्रमुख पक्राउ परेका छन्। ह्याकिङ प्रकरणमा मुछिएको भन्दै कृषि विकास बैंक सिराहा लाहान शाखाका सुनीलकुमार झालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी श्यामलाल ज्ञवालीले बताए। उनका अनुसार लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई पक्राउ गरेको हो। ‘कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको बेलामा पक्राउ परेका शाखा अधिकृत झा लहान शाखाका निमित्त प्रमुख थिए।’ उनले भने।
श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन्। पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्म विगतमा भएका निर्णय कार्यान्वयन गर्न अन्तिम पटकको अल्टिमेटम दिएका छन्। चरणबद्ध आन्दोलन शुरु गरेका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन्। श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलनमा जान बाध्य भएको आन्दोलनरत सामूहिक सौदाबाजी समितिका संयोजक रमेश गौतमले बताए। “पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन, दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले सप्लायर कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ” उनले भने। नियुक्तिपत्र बिनै काममा राखिएको भन्दै श्रमिकले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तपत्र दिएर मात्र काममा राख्न माग गर्दै आएका छन् । “विगत पाँच महीनादेखि नै यहाँ कार्यरत हामी श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन पनि गरेको छ” श्रम ऐनबमोजिम कम्पनीमा गठित सौदाबाजी समितिका संयोजक गौतमले भने। श्रमिक राख्दा स्थानीयवासीलाई ग्राहयता पनि नदिइएको उनको गुनासो छ। निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन्। श्रमिकको श्रम शोषण गर्ने, अमानवीय व्यवहार गर्ने तथा कुनै पनि बेला निष्काशन गर्ने कार्यले श्रमिक प्रताडित भएको उनको भनाइ छ । कम्पनीको व्यवस्थापन पक्षले श्रमिकका माग सम्बोधनमा आलटाल गर्दै आएपछि विभिन्न समयमा राजनीतिक दल, सांंसद, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घको पहलमा पटक–पटक माग सम्बोधनका लागि श्रमिक र कम्पनीबीच सहमति भएको थियो। कम्पनीले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै राजनीतिक दलहरुले श्रमिकको आन्दोलनमा ऐक्बद्धता जनाउँदै चरणबद्ध आन्दोलनप्रति समर्थन जनाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बुद्धन अलीले बताए। नेपाली काङ्ग्रेसका जिल्ला सचिव विक्रम यादवले श्रमिकको समस्या समाधानका लागि श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा साथ दिँदै यही असोज १४ गते परासीमा विरोध प्रर्दशनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभए असोज १७ गते कम्पनीमै अनिश्चितकालका लागि तालाबन्दी गर्ने निर्णय भएको जानकारी दिए। राजपाका जिल्ला संयोजक मुकुरजी गिरीले सर्वपक्षीयरूपमा पटक–पटक सहमति हुँदा पनि उद्योग प्रशासनले निर्णय कार्यान्वयनमा आलटाल गर्नु विडम्बना भएको बताए। समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष अमिरुल्लाह मियाँले श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा सबै राजनीतिक दलले साथ दिने निर्णय भएको जानकारी दिए। उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन्। आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्काशन गर्दै कम्पनीले अहिले भारतबाट कामदार ल्याएर काममा लगाएको छ।
काठमाडौंमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश–३–०२–००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भएका २१ वर्षीय सुजन लामा, धादिङ महादेवस्थान थाक्रे गाउँपलिका ४ घर भएका सुदिप परियार र धादिङ नेत्रावती गाउँपालिका ४ घर भएका २१ वर्षीय राजन तामाङ रहेका छन्। मोटरसाइकल चोरी गरी फरार भएका उनीहरुको खोजी गर्ने क्रममा धादिङ खानीखोलाबाट चोरी भएको मोटरसाइकल सहित फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। ललितपुर, ललितपुर कुपण्डोल बस्ने सिन्धुली घर भएका रियज बुढाथोकीलाई चोरी गरेको प्रदेश ३–०२–००२ प ५७९४ नम्बरको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका ३ किटनीबाट उनलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पर्साका सम्सुदिन मिया हतार हतार गरेर हिड्दै थिए, त्यसपछि… काठमाडौं । पर्सामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पर्सागढी नगरपालिका ४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका ३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट संयुक्त रुपमा खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। त्यस्तै धादिङको थाक्रे गाउँपालिका ७ हाप्सेचौर चेक प्वाइन्टस्थित ना ५ ख ७०७० नम्बरको बसबाट अवैध लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ करिब १ केजी प्रहरीले बरामद गरेको छ। मकवानपुरबाट काठमाडौं जाँदै गरेको उक्त बस जाँच गर्ने क्रममा सिट भन्दा माथि झोला राख्ने ठाउँमा प्रहरीले उक्त पदार्थ फेला पारेको हो। बसका चालक र बसमा सवार शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कामदारको हकहितलाई ध्यान दिएर काम गर्छु : बिष्णु प्रसाद गैरे काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले कामदारको हितलाई ध्यान दिएर काम गर्ने बताएका छन्। शनिवार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले कामदारको हित र व्यवसायीको अनुकुलतामा कामगर्ने बताएका हुन् । सरोकारवाला निकायसँग समन्वय गरेर सम्बादका आधारमा सहकार्य गर्न आफ्नो कार्यसमिति सधै तयार रहेको पनि बताए। अध्यक्ष गैरेले अघिल्लो कार्यसमितिले गरेका गल्तिको कारण ब्यबसायी र मन्त्रालयबीच बढेको दूरीलाई घटाउने प्रतिबद्धता पनि व्यक्त गरे। सरकारले व्यवसायीको सहमति बिना केहि येन संसोधन गरेको नियमावली ल्याएकोले व्यवसायी र सरकार बीच दुरी बढेको बताए। गत मंगलबार भएको निर्वाचनमा अध्यक्ष गैरेको नेतृत्वमा नेपाली कांग्रेस निकट मानिएका बहुमत ब्यबसायी केन्द्रिय पदाधिकारिमा आएका छन्। अध्यक्ष गैरेले नेकपा निकट प्रगतिशिल समूहका सरोज कुमार पोखरेललाई ४८ मतले हराएका थिए।
गृहमन्त्री चढेको हेलिकप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण रामेछाप। गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ । सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् । सो हेलिकोप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो । मध्यान्हसम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ । मध्यान्हसम्म उडानका लागि मौसम नखुलेपछि विमानस्थलबाट उनीहरु खाना खान मन्थली बजार तर्फ लागेका छन् ।
साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ भोजपुर । भोजपुरमा साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ परेका छन्। जिल्लाको षडानद नगरपालिका १ बार्ता बस्ने एकराज कार्कीको घरमा कौडा खेलिरहेका कार्की लगायत १२ जनालाई नगद १८ हजार ७ सय रुपैयाँ र १६ थान कौडा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा अस्थाई प्रहरी चौकी कात्तिकेघाटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
वडाध्यक्षको छोरालाई कैँची प्रहार गर्ने पक्राउ धरान । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनालगत्तै फरार रहेका मियाँलाई आज धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए । घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो । घाइतेलाई सर्जरी वाडमा राखिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते सल्यान। सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ। यस्तै दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ की ६८ वर्षीया महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षीय टीकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ वर्षीय तिलक पुन र ३७ वर्षीय तिलक पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। हरेक शुक्रबार कपुरकोटमा तरकारी हाटबजार लाग्ने र हाटबजारमा तरकारी ल्याउँदै गर्दा जिप दुर्घटना भएको हो । पानी परेका कारण बाटो चिप्लो भएकाले अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीको भनाइ छ। जिप चालक र सहचालकलाई प्रहरी नियन्त्रण राखिएको इलका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ। रासस
दुर्घटनामा तीन जनाको मृत्यु मकवानपुर। मकवानपुरमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो । यस्तै भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी १८ वर्षीय उमेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। दुर्घटनामा तीन जना घाइते भएका छन् । बिहीबारै चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ३५५६ नं को बसको ठक्करबाट नाम र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक राम बालकले जानकारी दिए। रासस
आलेख : लैङ्गिक हिंसाका उजुरीकर्ता महिला, पीडित पुरुष ! रोल्पा । गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो। उजुरी थियो, ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन्। महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआएको महिला सेल अचम्ममा पर्यो। उजूरी दर्ता गर्ने कि नगर्ने ? उजुरी दर्ता गरौं महिला तथा बालबालिकाको हैन । दर्ता नगरौं लैङ्गिक हिंसामा पर्ने पीडितको उजूरी छ । अन्ततः सेलले उक्त उजुरी दर्ता गर्यो। उजुरीबमोजिम दुबै पक्ष झिकाई छलफल चलायो । छलफल गहिराइमा पुग्दै जाँदा भानवहादुरले विदेशबाट दुःख गरेर पठाएको पैसा श्रीमतीले दुरुपयोग गरेको र परपुरुषसँग सम्बन्ध राखेको निष्कर्ष निकालियो। उक्त उजूरीको छिनोफानो जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले गर्न नसक्ने भएपछि जिल्ला अदातल पठाइएको थियो। रोल्पामा लैङ्गिक हिंसाको यो एक प्रतिनिधि घटना मात्रै हो। आम रुपमा महिलामाथि पुरुषले गर्ने हिंसाको रुपमा लैङ्गिक हिंसालाई चित्रण गरिए पनि पछिल्ला दिन यो मान्यता नै उल्टिन पुगेको छ। यहाँ आउने लैङ्गिक हिंसाको उजूरीमध्ये अधिकाँश पुरुष हिंसामा पर्ने गरेको देखिएको छ। “पारिवारिक विवाद पछि महिलाहरु न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा पुग्छन्, घटनाको अनुसन्धान हुँदै जाँदा तिनै महिला नै पीडक देखिने गरेका छन्,” जिप्रका रोल्पाको महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले भनिन्, “एकाध घटना बाहेक हिंसा पीडित भएपनि पुरुष उजूरी गर्न आउँदैनन्। पारिवारिक झगडा भएपछि महिला भने प्रहरीमा आइहाल्छन्। बुझ्दै जाँदा महिला नै पीडक भएका घटना धेरै देखिएका छन्।” जिप्रका महिला तथा बालबालिका सेवा केन्द्रको अभिलेखअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा लैङ्गिक हिंसाका ४४ वटा उजूरी परेका थिए। त्यसरी परेका उजूरी सबै मिलापत्रमा टुङ्ग्याइए। आव २०७३/७४ मा ३६ वटा लैङ्गिक हिंसाका उजूरी परेका थिए। आव २०७४/७५ मा यो सङ्ख्या ११ मा झ¥यो भने आव २०७५/७६ मा लैङ्गिक हिंसाका २२ उजूरी परे। बितेको चार वर्षमा जिप्रका रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा लैङ्गिक हिंसाका ११३ वटा उजूरी परेको अभिलेखिकरण गरिएको छ। यी सबै महिला पीडित भएर दिएका उजूरी हुन्। खान लाउन नदिएको, कुटपिट गरेको, विदेशबाट पैसा नपठाएको जस्ता आरोप लगाएर लेखिएका यस्ता उजूरीको सत्यतथ्य पत्ता लगाउँदै जाँदा उल्टै पुरुष पीडित हुने गरेको देखियो,” सेल इञ्चार्ज विकले भनिन्। उनका अनुसार पछिल्लो पटक पुरुष पीडित रहेका घटना बढ्दै गएको छ। सामाजिक सञ्जाल र टेलिफोनको दुरुपयोग यस प्रवृत्तिको कारक मान्छन् जिप्रका रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङ। “अज्ञात र अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमार्फत जोडेको सम्बन्धले महिलाहरु श्रीमान्सँग टाढिँदै जाने गरेको देखिएको छ,” गुरुङले भने। उनका अनुसार जिल्लावासी अत्यधिक मात्रामा वैदेशिक रोजगारी गएका कारण पनि यो समस्या आएको हुनसक्छ। “सामाजिक र पारिवारिक विग्रहको कारक बन्दै गएको सामाजिक सञ्जालले पुरुषलाई समेत हिंसा पीडित बनायो,” प्रनाउ गुरुङले भने। हिंसा पीडित भए पनि पुरुष हत्पत न्याय माग्न जाँदैनन्। महिला नै हिंसा पीडित भए भने उजूरी गर्न आउने गरेको गुरुङको अनुभव छ। महिला अधिकारकर्मी श्रीकुमारी रोका भने पुरुष हिंसा बढ्नुमा पुरुष नै दोषी रहेको देख्छिन्। “घरमा श्रीमान् नभएकाहरुलाई सहयोग गर्ने नाममा पुरुषहरुले अनैतिक सम्बन्ध गाँस्ने गरेको देखिन्छ,” रोकाले भनिन्, “सामान्य सहयोगबाट शुरु भएको सम्बन्ध प्रगाढ बन्दै जाँदा छुट्टिनै नसक्ने अवस्थामा पुगेर परिवारै तहसनहस हुने गरेको छ।” अधिकाँश महिला श्रीमान्को सहयोगमा नै सामाजिक सञ्जाल प्रयोग गर्न सिक्छन्। “विदेशमा रहेका श्रीमान्सँग टेलिफोनमा कुराकानी गर्दा धेरै पैसा खर्च पर्ने भएपछि पुरुषले नै सामाजिक सञ्जाल प्रयोग गर्न प्रोत्साहित गर्छन्,” रोकाले भनिन्, “श्रीमान्सँग कुराकानी गर्न खोलिएका सामाजिक सञ्जाल विस्तारै परपुरुषसँग सम्बन्ध स्थापित गर्ने माध्यम बन्दै जाँदा यस्तो समस्या निम्तिएको हो।” जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा जिल्लाका करीब ४९ हजार युवा रोजगारीको सिलसिलामा कतार, साउदी अरब, दुबई जस्ता खाडी मुलुक, मलेसिया तथा अन्य देशमा गएको देखिन्छ। विवाहित पुरुषको अनुपस्थितिमा धेरैको परिवार नै विखण्डनको चपेटामा परेको देख्न सकिन्छ। वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणको सही व्यवस्थापन गर्नुको साटो दुरुपयोग हुने क्रम बढेपछि यस्ता समस्या देखिएको जानकारहरु बताउँछन्। विप्रेषण स्वरुप आएको पैसाको आडमा गरिने बसाइसराइले समेत पारिवारिक विखण्डनलाई बल मिलेको घटनाहरु देखिन थालेका छन्।
सरकारी जग्गा किर्ते गरी कम्पनीको नाममा बनाएको अभियोगमा ६ जना पक्राउ काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका २ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका ३ मुलपानी घर भएका ५० वर्षीया मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका १० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका ५ दानसिङका ४१ वर्षीय राम कुमार सुयाल थापा, ललितपुर गोदावरी नगरपालिका(१४ वाडेगाउँ बस्ने कैलाली चुरे गाउँपालिका ६ घर भएका ४६ वर्षीय राम बहादुर शाह, काठमाडौं महानगरपालिका १६ बस्ने नागार्जुन नगरपालिका ७ घर भएका तत्कालिन मालपोत अधिकृत ५५ वर्षीय शिव प्रसाद रिमाल, काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने गोरखा सिरानचौक गाउँपालिका १ घर भएका कानुन व्यवसायी ५१ वर्षीय बाबुराम शर्मा रेग्मी र काठमाडौं बुढनिलकण्ठ नगरपालिका १२ कपन बस्ने ओखलढुङगा चिसंखुगढी गाउँपालिका ८ घर भएका ४६ वर्षीय योगेन्द्र पोखरेल रहेका छन्। उक्त सरकारी जग्गालाई राम बहादुरको योजनामा मिनाको नाममा नक्कली जग्गाधनी प्रमाण पूर्जा बनाइ उक्त जग्गालाई कम्पनीको नाममा विक्रीको करारको कागजातहरु तयार पारेको अनुसन्धानबाट खुल्ला आएको छ। पक्राउ परेका ६ जनालाई लिखत सम्बन्धि कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारवाही लागि जिल्ला सरकारी वकील कार्यालय काठमाडौं पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ।
राजस्वमा स्वच्छता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्। उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पर्याप्त सहकार्य गर्नुपर्ने बताए। विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन्। मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारे। उनले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत निर्देशन दिए। उनले तोकिएको राजस्व पुरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत निर्देशन दिए। उहाँले निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकीय एवम् नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने बताए। स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।
नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गर्यो : बालकृष्ण खाँड काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्। प्रमुख सचेतक खाँडले संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै प्रहार हुनेगरी केपी ओली नेतृत्वको सरकारले प्रयत्न गरिरहेकाले त्यसप्रति नेपाली जनता र सबै लोकतन्त्रवादीहरुले आपत्ति जनाईरहेको दावी पनि गरे। बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन नदिने पनि बताए। प्रमुख सचेतक खाँडले अहिलेको सरकारले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन अनेक अभ्यास गरिरहेको दावी पनि गरे।
चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको नेता साउदको दाबी काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भिर आपत्ति जनाएक छन्। काँग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्चिन पनि सत्तारुढ नेकपासँग माग गरे। नेपालको संविधान, कानून विपरितको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा आफ्नो पार्टीको गम्भिर असहमति रहेको नेता साउदको भनाई छ। ‘चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिएर सत्तारुढ नेकपाले सत्ता कब्जाको अभ्यास गरेको विषयलाई हामीले गम्भिर आलोचनाको विषयको रुपमा लिएका छौं,’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा काँग्रेस नेता साउदको भनाई थियो, ‘त्यसकारण सत्तारुढ नेकपा सच्चिनु पर्छ र दुई पार्टीबीच गरिएको सहमतिको सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ नेता साउदले दुई पार्टीबीचको सम्बन्धले राष्ट्रलाई नोक्सान पुर्याउन नहुने पनि बताए। यता, सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले भने चिनियाँ नेताहरुले ‘सी विचारधारा’ मान्न आफूहरुलाई कुनै दवाव नदिएको स्पष्टिकरण दिएका थिए। उनले बरु नेपालका कम्युनिष्ट पार्टीहरुले बेलायत, अमेरिका मोडलको लोकतन्त्रको अभ्यास गरिरहेकोतर्फ पनि काँग्रेस नेताहरुको ध्यानाकर्षण गराए। नेता पौडेलले लोकतन्त्रको सच्चा हिमायती आफ्नो पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परेको भनेर कुनै पनि राजनीतिक दलले भन्न नमिल्ने तर्क समेत गरे।
गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश काठमाडौं । नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै आज गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए। गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए। घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले जानकारी दिए। सो घटनामा नेपालगञ्ज उपमहानगरपालिकाको लापरवाही देखिएको भन्दै स्थानीयले कारवाहीको माग गरेका थिए।उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको काञ्जीहाउसबाट दैलेख पठाउने क्रममा उक्त घटना भएको थियो। उपमहानगरपालिकाले नियतबस घटना भएको अस्वीकार गर्दै आएको छ। रासस
काठमाडौंको होलिडे इन होटलबाट पेस्तोलसहित ४ पक्राउ काठमाडौं । काठमाडौंको शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोलसहित ४ पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। उनका अनुसार प्रहरीले यही ८ गते ११ः३० बजे काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ। निजहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
‘राष्ट्रलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण’ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्। अध्यक्ष दाहालले समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका विश्वव्यापी रुपमै बढ्दै गएको पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले केही वर्षयता नेपालमा पनि खेलकुद क्षेत्रमा राम्रो सुधार र प्रगति हुँदै आएकोमा सन्तुष्टि पनि व्यक्त गरे। ‘नेपालमा पनि केही वर्षयता खेलकुद क्षेत्रमा निकै राम्रो सुधार र प्रगति हुँदै आएको छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘देश भित्र र देश बाहिर हुने यस्ता खालका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट धेरै खुसी भएको छु ।’ अध्यक्ष दाहालले निकट भविष्यमै नेपालमा आयोजना हुने १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले तीव्रता दिईरहेको उल्लेख गर्दै सफल हुने विश्वास पनि व्यक्त गरे। अध्यक्ष दाहालले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई चिनाउन तथा राष्ट्रहरुबीचको भाईचारा सम्बन्ध वृद्धि गर्न पनि ठूलो रणनीतिक भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए।
उपनिर्वाचनमा एकताबद्ध हुन कार्यकर्तालाई निर्देशन काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कास्की निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावमा दुई कम्युनिष्ट पार्टी एक भएको सन्देशलाई प्रमाणित गर्ने गरी एकताबद्ध भई क्रियाशील हुनुपर्ने बताए। कम्युनिष्ट नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीको असामयिक निधनका कारण यो क्षेत्र रिक्त बनेको उल्लेख गर्दै उनले स्वर्गीय अधिकारीका अधुरा सपना पूरा गर्न पनि निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन अपरिहार्य भएको बताए। पार्टीको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पण्डितले निर्वाचन आचारसंहिता दशैँपछि मात्र लाग्ने बताउँदै छुट्टीको अवसरलाई पनि भरपुर उपयोग गर्न कार्यकर्तालाई आग्रह गरे। वर्तमान सरकारले नयाँ प्रणालीअनुसार जिम्मेवारी लिएको उल्लेख गर्दै उनले स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारी भर्ना अन्तिम चारणमा पुगेको र सङ्घ तथा प्रदेशमा पनि निकट भविष्यमा नयाँ कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइने जानकारी दिए। विकास निर्माणका काम देखिन समय लाग्ने बताउँदै उनले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताए। नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सचिव बखान सिंह तमुले पार्टीका गतिविधिमाथि प्रकाश पाए।
‘सनराईज फष्ट म्युचुअल फण्ड’ मा लगानी गर्दै सनराईज बैंक काठमाडौं । सनराईज बैंकले सनराईज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको ‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो । सेयर बजारमा लगानी गर्ने सही समयमा फन्ड संचालन गर्न लागिएकाले सो फण्डले उचित प्रतिफल दिने सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले दावी गरे। बैंकले सेयर बजार नघटने निष्कर्ष निकाल्दै लगानीकर्ताहरुलाई सो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण पनि गरेको छ । सनराईज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड ईकाई मध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवद्र्धक सनराईज बंैकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणका लागि विक्री गर्न लागिएको पनि सनराईज क्यापिटलले जनाएको छ।
बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न मिडियालाई उपराष्ट्रपतिको आग्रह काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यामहरुलाई पनि आग्रह गरेका छन्। उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि संचार माध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गराए। मंगलबार काठमाडांैंमा आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा ‘समृद्धि नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउन पनि संचार क्षेत्रले उल्लेखनीय योगदान पुर्याउनुपर्नेमा जोड दिए। उपराष्ट्रपति पुनले त्यस अवसरमा नेपालका संचार क्षेत्रले मुलुकको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे। कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार नेत्र पौडेललाई २५,५०० नगदसहितको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०७६’ बाट सम्मान गरिएको थियो। नेपाल टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनमा कार्यरत पत्रकारद्धय हेमराज भण्डारी र सुनिलकुमार सिंहको स्मृतिमा सो पुरस्कार स्थापना गरेको हो। सो दुर्घटनामा परी भूगोलविद् हर्क गुरुङसहित प्रकृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई मुलुकले गुमाउनु परेको थियो।
रोजगारी सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायलाई मन्त्री विष्टको आग्रह काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन्। मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए। मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघ अन्तरगतको ‘एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै उनले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने पनि स्पष्ट पारे। मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एशिया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको पनि बताए। मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको दावी पनि गरे।
काठमाडौँको माईतीघरमा कृषि प्राविधिकहरुको दवावमुलक आन्दोलन सुरु काठमाडौँ । कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन्। काठमाडौंको माईतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको दवाव आन्दोलन सुरु गरेका हुन्। ३ हजारभन्दा बढि स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको बिचल्ली हुने गरी सरकारले गरेको सो निर्णय खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नु परेको नेपाल कृषि तथा भेटनरी हक, हित संरक्षण संघर्ष समितिका उपसंयोजक छबी भट्टराईले जानकारी दिए। २०७३ सालमा सबै स्थानीय तहमा सरकारले सर्तसहितको सेवा, सुविधा दिने गरी कृषि तथा भेटनरीहरुमा ३ हजारभन्दा बढि कृषि प्राविधिकहरु नियुक्त गरेको थियो । उनीहरुको रोजगारीको ग्यारेन्टी नगरी सरकारले एउटा गाउँमा एउटा मात्रै प्राविधिक राख्ने निर्णय गरेपछि कृषि प्राविधिकहरुले सो निर्णयको विरोधमा आन्दोलन सुरु गरेका हुन। प्रर्दशनसहितको आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले कृषि र कृषि क्षेत्रका उत्थानमा लागेका आफूहरुको आन्दोलनमा साथ दिन सम्पूर्ण कृषक तथा कृषि क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई पनि अपिल गरेका छन्।
कावासोतीको खरकट्टा जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक-आपसमा ठोकिँदा ५ जना यात्रुको ज्यान गएको छ। कावासोती नगरपालिका–८ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा हिजो राति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी (नवलपुर) ले जनाएको छ । प्रहरीका अनुसार, सोमबार राति करिब १० बजेतिर खरकट्टा जंगलमा बुटवलबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र बुटवलतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको हो । ज्यान जानेमध्य ३ जना यात्रु सुरज रानामगर, दिलबहादुर रानामगर र दिपक विकको सनाखत भएको र अन्यको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। त्यस्तैगरी नवलपरासीको मध्यविन्दुमा पनि दाङबाट काठमाडौँ आउँदै गरेको यात्रुवहाकबस दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ भने १५ जना यात्रु घाईते भएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका –१० मा राति २ बजेति ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाईते भएका अन्य १५ जनाको चितवनको पूरानो मेडिकल कलेज र स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्। अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो। “मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ,” पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए। घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको दारियन्तोले बताए ।
नेमकिपाको सातौँ महाधिवेशनबाट पनि अध्यक्षमा नारायणमान बिजुक्छे काठमाडौं । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। आज साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन्। त्यस्तै सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए। महाधिवेशनबाट कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बन्दसत्रमा शपथग्रहण गरेको र उनले शपथग्रहण गरेपछि नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएका थिए। प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा उद्धव सुजखु र सुनकेसा शाही सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। आजको बन्दसत्रले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गरेको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको र पार्टीको भावी कार्यक्रममाथि समूहगत छलफल र समूह प्रस्तुतिपछि संशोधनसहित पारित गरिएको थियो। उनले प्रस्तुत गरेको समसामयिक राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रस्तावहरू संशोधनसहित पारित गरेको छ। रासस
संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी : राजेन्द्र महतो काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन्। राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३औँ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए। उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ ।’ मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो। श्रद्धाञ्जलिसभामा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेश वनमन्त्री रामनरेश राय, वन राज्यमन्त्री सुरेश मण्डललगायतको उपस्थिति थियो। रासस
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। थापालाई जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ।
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन् : महानिर्देशक हमाल काठमाडौं । दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन्। उनले भने, ‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे। उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए। नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए। उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए। हिजोमात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको सुनाउँदै सबैले मिलेर व्यवस्थापन गर्ने कुरा भएकोपनि उनले जनाए। महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०–२० प्रतिशत भाडा थप हुने उनको भनाई छ। भाडादरमा द्धिविधा नहोस भनेर आफूहरुले विभागको वेबसाईटमा राखिएको सुनाउँदै यसलाई अझै प्रचार गर्न फ्लेक्स प्रिन गरेर मुख्य मुख्य ठाउमा राखिनेपनि जनाए। तोकिएको भन्दा बढि भाडा लिनेलाई कानूनअनुसार कडा कारबाही हुने पनि उनले चेतावनी दिए। उनले यो वर्षको दशैं दुर्घट्नारहित मनाउने सरकारको तयारी रहेको सुनाए। उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्नेगरि काम गरेको पनि सुनाए। उनले भने, ‘हामी समयमै सबै काम पूरा गर्छौं ।’
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु काठमाडौं । कपिलवस्तु, चितवन र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। कपिलवस्तु : कपिलवस्तु नगरपालिका ११ निगालीस्थित सडकमा लु.२३ प १५१४ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिँदा आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक बाणगंगा नगरपालिका ५ झण्डा बस्ने ३५ वर्षीय लक्ष्मी आचार्यको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका साइकल चालक सोही नगरपालिका पचेहरा बस्ने ४० वर्षीय मुरली रैदासको सोही अस्पतालमा उपचार भइरहेको छ। स्कुटर र साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन : भरतपुर महानगरपालिका १ आंपटारीस्थित सडकमा लु.२ ख ६९० नम्बरको ट्रकमा ना. ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही महानगरपालिका-१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनुषा : गणेशमान चारनाथ नगरपालिका-१ बीरेन्द्रबजारस्थित सडकमा बा. २० च १३५० नम्बरको बोलेरो पिकअपले स.१० प २७०१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय श्रबन कुमार शर्माको जानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन्। ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह गरेका हुन्। ‘लामो राजनीतिक आन्दोलन र अभियानपछि देश स्थिरतातर्फ अगाडि बढेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अब राजनीति र समाजलाई शुद्धिकरण गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ।’ नेपाल जस्तो सुन्दर र प्राकृतिक रुपमा विविधतापूर्ण देश गरीब हुनु बिडम्वनापूर्ण भएको बताउँदै तिमिल्सिनाले देश विकासका लागि नेतृत्व लिन युवालाई आग्रह गरे। ‘अहिले देशमा तीन पुस्ता सक्रिय छ, पहिलो २०४६ अगाडिको पुस्ता, जसले स्वतन्त्रता र प्रजातन्त्रका लागि लड्यो। दोस्रो पुस्ताले विभिन्न संघर्षमार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गराउन सफल भयो,’ उनले भने, ‘त्यसपछिको युवा पुस्ताले अहिलेसम्म हासिल उपलब्धीलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउनका लागि नेतृत्व गर्ने हो।’ अधिकांश युवाको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले देशलाई गाली गर्दै युवा विदेश पलायन हुने क्रम नरोकिएमा देश नबन्ने दाबी गरे। ‘राजनीति गरेर चुनाव नै लड्नुपर्छ भन्ने होइन । कुन दललाई समर्थन गर्ने भन्ने पनि व्यक्तिको रोजाइ हो। तर, राजनीतिप्रति चासोचाहीँ राख्नुस्,’ उनको सुझाव थियो। दिगो विकास लक्ष्य घोषणाको चौथो वर्ष पुगेको अवसरमा आयोजित समिक्षात्मक कार्यक्रममा उपस्थित युवालाई अध्यक्ष तिमिल्सिनाले भावनात्मक भएर प्रतिक्रिया दिने वा निर्णय गर्ने नभई गहिरो छलफल गरेर निष्कर्समा पुग्न आग्रह गरे। दिगो विकासका लक्ष्यहरु नेपालको राष्ट्रिय लक्ष्य भएको बताउँदै उनले त्यसका लागि संसद, तीन तहका सरकार र सबै यससँग सम्बद्ध संस्था सक्रिय हुन आवश्यक रहेको धारणा राखे। युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्ट्रिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल, एक्सन एड नेपालको सहकार्य र २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा शुरु भएको कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए।
दशैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडा दर (सूचि सहित) काठमाडौं । दशैं तिहारका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। टिकट अनलाइन मार्फत र टिकट काउण्टरमै गएर बुकिङ गर्न सकिने भएको छ। ‘अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ भने काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ। तर कतिपय गाडीवालाले निर्धारित भाडा भन्दा बढी लिने गुनासो बढेसँगै विभागले उपत्यकाबाट देशभर जाने यातायातको भाडादर सार्बजनिक भएको छ।
दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे झु*ण्डिएर आत्मा*हत्या इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन्। दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए। घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ। घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो। इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ। घाइतेको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस
काठमाडौंबाट २४ जना जुवाडे पक्राउ काठमाडौं । टोखा नगरपालिका ९ म्याग्दी चोकस्थित रवि गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ६४ वर्षीय सोभित केसीलगायत ९ जनालाई नगद ७६ हजार ३ सय ८० रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। साथै सोही स्थानस्थित धनकुटा बाजोगडा नगरपालिका १५ घर भएकी ३५ वर्षीया कल्पना लिम्बुको कोशी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ११ हजार र चार बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी काठमाडौं महानगरपालिका ५ हाँडीगाँउस्थित ४१ वर्षीय काजी थापाको हिमालयन टुर्स सर्भिस प्रालिमा जुवातास खेलिरहेको अवस्थामा थापालगायत ७ जनालाई नगद २४ हजार ३ सय ९५ रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी काठमाडौं महानगरपालिका १५ डल्लुस्थित मिरा मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४९ वर्षीय बेद प्रसाद रेग्मीलगायत ५ जनालाई नगद ९ हजार १ सय ७० रुपैयाँ र तीन बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। यसैगरी काठमाडौं महानगरपालिका १६ नेपालटारस्थित गणेश श्रेष्ठको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४९ वर्षीय राज कुमार रिजाललगायत ३ जनालाई नगद ११ हजार ६ सय १० रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
समुदायको पहिचान नै भाषा, कला र संस्कृति हो : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। थारु समूदायको ठूलो पर्व जितिया पर्वको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेकले आफ्नो पहिचान जोगाउन पनि आफ्नो कला, भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने पनि बताए। उपप्रधानमन्त्री पोखरेलले सबैलाई मिलेर बस्न पनि जितिया पर्वले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उपप्रधानमन्त्री पोखरेलले जातीय चाडपर्वहरुले नेपाली समाजलाई मिलेर बस्ने प्रेरणा दिईरहेको पनि बताए।
निर्माण आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीयलाई मन्त्री पुनको आग्रह काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले स्थानीय जनताले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्। काठमाडौँमा भएको जलविद्युत सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका हुन्। पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउदा लगानी मैत्री बातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताएका हुन्। कुनै नयाँ आयोजना गाउँमा आउना साथ धेरै भन्दा धेरै पैसा निकाल्नु पर्छ, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुख दिदा लगानीकर्ता निराश भएर भाग्ने आवस्था आउन नदिन स्थानिय नै सजग हुनुपर्ने उनले बताए। केन्द्रीय सरकार वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यवहारिक रुपमा विकासमैत्री लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताए। यस्तै कार्यक्रममा मन्त्री पुनले आयोजना निर्माणकर्ता र लगानीकर्ताले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडी बढाउन आग्रह गरे। मन्त्रालयमा धेरै डेलिगेसन आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै आउने गरेको बताए। आयोजनाहरुको सार्वजनिक सुनुवाई नाम मात्रको गर्ने,प्रभावित जनता बसेको स्थानमा नगर्ने, वातावरणीय प्रभाव मुल्यांकन हचुवाको भरमा गर्ने, स्थलगत अध्ययन र स्थानीयको सहभागिता नराखी गरिने भन्दै मन्त्री पुनले आयोजना निर्माण पक्षले सरकारले तोकेको र गर्नु भनेको सम्पूर्ण काम बास्तविक रुपमा गर्न आग्रह गरे। तोकेको प्रक्रियाले स्थानीयमा अपनत्व बढाउने भएकोले स्थानीयलाई साथमा लिनुको बिकल्प नरहेको बताए। कार्यक्रममा मन्त्री पुनले मोदी खोलाका जलबिद्युत आयोजनाहरुले परेको वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका थिए। सरकारले बिद्युत ऐन सम्बन्धि मस्यौदा तयार गरि सार्वजनिक प्रतिक्रिया र छलफलको लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरि सुझाव दिन आग्रह गरे। मन्त्री पुनले बिद्युत ऐनको मस्यौदामा बिद्युत उत्पादनमा सबै तहका सरकारले उत्पादन विकास र वितरण समेत गर्न सक्ने गरि अधिकार बाँडफाँड गरेको बताए।
चोरीका मोटरसाइकलसहित सात पक्राउ मध्यपुरथिमि । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेँसीका २३ वर्र्षीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली न्यूयोर्क प्रस्थान काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन्। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन अधिकारीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीसहित सरकारी अधिकारीले बिदाइ गरे। चौहत्तरौँ महासभामा ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुनेछ।मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नेछन्। महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र ‘राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद’ विषयक बैठकमा समेत सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रीस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्तिकार्य सम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३०औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ । मन्त्री ज्ञवालीले असंलग्न आन्दोलन (नाम), जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रीस्तरीय बैठकलाई बेग्लाबेग्लै सम्बोधन गर्नुहुनेछ भने एशियाली सहयोग संवाद (एसिडी) को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । महासभामा भाग लिने सिलसिलामा नै मन्त्री ज्ञवाली विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुनेछ भने संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्यूयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी शिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नेछन् ।
व्यवसायीलाई निराश नहुन अर्थमन्त्रीकाे आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरे। मन्त्री खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताए। काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताए। अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने ठोकुवा गरे। आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उनको धारणा थियो। कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले लगानीको वातावरण बन्दै गएकाले उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गरे। मुलुक अस्थिरताबाट दिगो विकासको बाटोमा हिँडेकाले अब सकारात्क नतिजा आउने उनको भनाइ थियो। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रका समस्यामा सरकार गम्भीर हुन नसकेको भन्दै व्यवसायीमैत्री वातावरणमा जोड दिन आग्रह गरे। सो अवसरमा सङ्घले आर्थिक पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार भरत कोइरालालाई सम्मान गरेको छ। कोइरालालाई पत्रकारिताको माध्यमबाट पोखराको आर्थिक विकासमा पुर्याएको योगदान स्वरुप २५ हजारसहित सम्मान गरिएको हो। यस्तै लक्ष्मी हाउस पोखराद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित लक्ष्मी विद्यापदक, २०७६ पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन सङ्कायमा बिबिएस र बिबिएतर्फ स्नातक र व्यवस्थापनको स्नातकोत्तरमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ। बिबिएसतर्फ पृथ्वीनारायण बहुमुखी क्याम्पसकी छात्रा स्मृति पुर्जा, बिबिएतर्फ पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र स्नानतकोत्तरतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने कन्या क्याम्पस पोखराकी छात्रा श्वेताकुमारी गुप्तालाई अर्थमन्त्री खतिवडाले पदकसहित सम्मान गरे। कार्यक्रममा सङ्घका अध्यक्ष दामु अधिकारीले व्यवसायका समस्या प्रस्तुत गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्री खतिवडासँग आग्रह गरे।रासस
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गयाे, १ घाइते सर्लाही । सदरमुकाम मलङ्गवामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन्। मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नंको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय राकेश पण्डित घाइते भएका छन्। राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालक राकेश पण्डितको मलङ्गवा अस्पतालमा उपचार भइरहेको छ। हतियारसहित दुई जना पक्राउ सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मेजरगञ्ज का ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन्। लालबन्दीबाट खटिएको प्रहरी टोलीले जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ प २३९२ र बिआर ०६ एजे ०८०६ भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा दुबै जना एक थान कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
अवैध लागूऔषध सहित ३ जना पक्राउ काठमाडौं । नवलपरासी (पूर्व), देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट नियन्त्रित लागूऔषध फेनरागन ३० एम्पुल, नोर्फिन ३० एम्पुल र डाइजेपाम ३० एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र लेखनाथ महानगरपालिका ३२ बस्ने २४ वर्षीय कुमार खडका रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भैरहवाबाट बेनी म्याग्दीतर्फ जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। सप्तरी, राजविराज नगरपालिका ८ स्थित अवैध लागूऔषध गाँजा करिब ५० ग्राम र नियन्त्रित लागूऔषध नाइट्रोभेट १४ ट्याब्लेट सहित कंचनपुर नगरपालिका १० बस्ने नागेश्वर चौधरी समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स १० प १८१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंमा बृहत प्रदर्शन हुने काठमाडौं । श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंको अनामनगरस्थित हनुमानस्थानमा बृहत प्रदर्शन हुने भएको छ। शनिबार नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय भएको जनाएको छ। रेडियो नेपालमा श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न र रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायललगायत देशभरका श्रमजीवीको रोजगारी नखोस्न दबाब दिन आइतबार (भोलि) काठमाडौको अनामनगरस्थित हनुमानस्थानमा दिउँसो १.३० बजे हुने बृहत प्रदर्शन हुने नेपाल पत्रकार महासंघले जनाएको छ। यस्तै रेडियो नेपालका सबै प्रदेश प्रशारण केन्द्रमा पनि आइतबार (भोलि) धर्नालगायत आकस्मिक विरोधका कार्यक्रम हुने नेपाल पत्रकार महासंघले जनाएको छ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको ज्यान गयो काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका ३ कालापानी बस्ने २० वर्षीय बिनोद कुमार भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाही, ईश्वरपुर नगरपालिका ५ स्थित सडकमा ना ३ त ५५४३ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका ६ बस्ने ३० वर्षीया मन्दीरा माझीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहा, धनगढीमाई नगरपालिका ८ बसन्तपुरस्थित सडकमा स १० प ८००३ नम्बरको मोटरसाइकलले ज ४ प १०५१ नम्बरको मोटरसाइकल तथा साइकल समेतलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका ज ४ प १०५१ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका ७ बस्ने ४४ वर्षीय बिशेश्वर यादवको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका स १० प ८००३ नम्बरको मोटरसाइकलका चालक धनगढीमाई नगरपालिका ६ बस्ने ४५ वर्षीय रामजतन पालको आरके मेडिसिटी अस्पताल धनगढी तथा ज ४ प १०५१ नम्बरको मोटरसाइकलमा सवार धनगढीमाई नगरपालिका ८ बस्ने ३६ वर्षीय बिनोद साह र साइकलयात्री धनगढीमाई नगरपालिका ८ बस्ने ३२ वर्षीय शिवशंकर मण्डलको स्थानीय जनशक्ति क्लिनिक कसाहामा उपचार भइरहेको छ। रुपन्देही, ओमसतिया गाउँपालिका २ स्थित सडकमा लु ३ त ६९९५ नम्बरको ट्याक्टरमा लु २८ प ९९२४ नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका दुईजना पुरुषको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। दाङ, घोराही उपमहानगरपालिका ९ गुकाली डाँडास्थित सडकमा रा ४ प ७८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही उपमहानगरपालिका ९ बस्ने २५ वर्षीय मनोज बिक र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय दिपक बिकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ। बाँके, राप्ती सोनारी गाउँपालिका ९ नयाँगाउँस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। तनहुँ, आबुखैरेनी गाउँपालिका(३ स्थित सडकमा लु १ ख ८००२ नम्बरको बसले बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका २ घर भएका २८ वर्षीय यमबहादुर थापाको छिम्केश्वरी अस्पताल आबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको छ। फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाली काँग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिद्वारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बत् तथा संविधान दिवसको अवसमा शुभकामना आदान–प्रदान, चियापान तथा प्रशिक्षणको आयोजना गरेको छ । धनकुटा जन्मथलो भई हाल काठमाडौंमा कर्मथलो बनाउँदै आएका जिल्लाका नेपाली कांग्रेससम्वद्ध कार्यकर्ताका उल्लेख सहभागिता रहेको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष गूरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । घिमिरेले पार्टीभित्र रहेको गुट÷उपगुटको अन्त्य गर्दै पार्टीको कार्यशैलीलाई परिवर्तन गर्नुपर्ने बताए । कांग्रेसनिकट भातृ संगठनहरुलाई पनि चुस्त दुरुस्त बनाउन आवश्यक रहेको जनाउदै उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सासद तथा निवर्तमान धनकुटा जिल्ला सभापति मनोहर नारायण श्रेष्ठले सम्पर्क समितिहरुले जिल्लावासीहरुका हकहितका निम्ति लागिपर्नुपर्नेमा जोड दिए । नेपालको संविधान लागु गर्नमा पार्टीले अतुलनीय योगदान दिएको चर्चा गर्दै उनले पार्टीलाई सुदृढ बनाउन आग्रह गरे । सम्पर्क समितिका सभापति भीमबहादुर सुयल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सविन पोख्रेलको सयंजकत्वमा सात सदस्य नेपाल विद्यार्थी संघ धनकुटा–काठमाडौ सम्पर्क समितिको गठन गरिएको जानकारी गराएका छन् । कार्यक्रममा नेपाल कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सद्श्य रामजि कोङरेन, राष्ट्रिय अपाङ्ग संघका सद्श्य एवं महाधिवेशन प्रतिनिधि उदय बहादुर लिम्बु, नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका द्वय निर्मल ओझा र मोहन बान्तवा, मोरङ–काठमाडौं सम्पर्क समितीका सभापति विनोद भट्टराई, रौतहट–काठमाडौं सम्पर्क समिती एवं समन्वय समितीका अध्यक्ष सुवास कोइराला, नेपाली कांग्रेस पाँचथरका जिल्ला सचिव मच्छेन्द्र लिम्बु, ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका सभापति भक्तिराज भट्टराई, पाल्पा–काठमाडौं सम्पर्क समितिका सभापति शिवानन्द बस्याल, दैलेख–काठमाडौं सम्पर्क समितिका सभापति यकेन्द्र पन्तले पनि आफ्नो शुभकामना तथा मन्तव्य राखेका थिए । सविन पोख्रेलले सञ्चालन गरेको उक्त कार्यक्रममा यज्ञ आचार्य, यज्ञ अधिकारी, नरेश लिम्बु, सुरेश आचार्य, राजकुमार उप्रेती, कुमारसिंह घिसिङ र महेश पौडेललगायतले शुभकामना दिएका थिए ।
चितवनमा भएको सवारी दुर्घटनामा चार घाइते, एकको अवस्था गम्भीर चितवन । चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना १ ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन्। घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेमध्ये दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुईवटै सवारी साधनसहित ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन बस्ने २४ वर्षीय शुक्रराज सारु मगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घरभित्र चुरोटको बट्टामा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। सर्लाही, बरहथवा नगरपालिका ९ झुलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० केजी सहित हरिवन नगरपालिका २ बस्ने २४ वर्षीय महेशकुमार गौतमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले ना ३० प ७४३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यसैगरी सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकालीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र डाइजेल्याप ६ एम्पुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ बस्ने संखुवासभा खाँदवारी नगरपालिका ७ का विपिन थापामगर र काठमाडौं टोखा नगरपालिका ३ गोंगवु बाँनियाटार हाइट बस्ने १९ वर्षीय सुमन कार्की रहेका छन्। उक्त स्थानमा खटिएको प्रहरीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दललाई नेता नेम्वाङको आग्रह काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उपनेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको पनि स्पष्ट पारे। उनले संविधानमा मधेशवादी दलहरुको असन्तुष्टि भए संबोधन गरेर अघि बढन सकिने बताए। तर त्यो काम संविधान बमोजिम हुने उपनेता नेम्वाङको भनाई छ । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलहरुको सहयोग हुनुपर्ने पनि बताए। उपनेता नेम्वाङले संविधानमा कुनै कुरा सुधार गर्न परे त्यसमा खुलेर बहस गर्न सकिने पनि बताए।
संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छः सभापति देउवा काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। उनले आज एक विज्ञप्तिमार्फत दिवसले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास लिएका छन्। साथै उनले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्। सभापति देउवाले संविधान दिवसका अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। “नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो। यस संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ”, विज्ञप्तिमा उल्लेख छ। सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरीबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली काङ्ग्रेसको विचार र सङ्कल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको सभापति देउवाले उल्लेख गरेका छन्।
संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताएका छन्। ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको कार्यक्रममा मन्त्री पोखरेलले नेपाली लाखौँ जनताको सहमतिद्वारा निर्माण भएको संविधानमा कुनै पनि कमजोरी नरहेको प्रतिबद्धता जाहेर गरे। ‘सरकारले यस संविधानको अधिनमा रही भष्टाचार मुक्त समाज निर्माण गर्न चाहेको छ’, रक्षामन्त्रीले भने, ‘प्रदेश तथा स्थानीय तहमा मानव स्रोत र वित्तीय व्यवस्थापन, कर्मचारी भर्ना अभियान, पुरानै ठेकेदारले काम गर्ने प्रवृति रहँदा हाल समाजमा विवाद उत्पन्न हुन गएको हो।’ डेढ वर्षअघि आफू सरकारमा आएपछि दीर्घकालीन आयोजना निर्माणमा उल्लेख्य प्रगति, विगतमा भन्दा छिमेकी मुलुकसँग राम्रो संवाद बढेको, वैदेशिक रोजगारीमा संरक्षात्मक सुधारका कार्य अघि बढेको, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाको विषयमा उल्लेख्य प्रगति भएको उनले जानकारी दिए। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विसं २०७२ को संविधान निर्माण गर्न सर्वसाधारण जनतादेखि वनमा बस्ने राउटेसम्मको धारणा लिएको जानकारी गराए। ‘यो संविधान २०४७ सालको संविधानभन्दा पनि सुधारिएको, सम्झदारी र सम्झौताको दस्तावेज हो’, नेम्वाङले भने, ‘सो संविधान परिवर्तन गर्न चाहानेले राजनीतिक परिवर्तन गर्न आवश्यक छैन, केवल जनताको मत जिते पुग्छ।’ सर्वोच्च अदालतका न्यायधीश ईश्वर खतिवडाले न्यास क्षेत्रको लगानी विगतको वर्षमा भन्दा यसवर्ष झन थोरै भएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘विगतको वर्ष सरकारले न्यास क्षेत्रमा १४ अर्ब बजेट विनियोजन गरेकोमा यसवर्ष भने जम्मा ६ अर्ब विनियोजन गरी आर्थिक अवस्थालाई कमजोर बनाउँदै लगेको छ।’ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले वर्तमान सत्ता पक्ष र प्रतिपक्षबीच असम्झदारी बढ्दै जाँदा संविधान चुनौती परेको बताए।रासस
नियन्त्रित लागूऔषध ४ हजार ४४२ एम्पुलसहित ८ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तीनगरबाट नियन्त्रित लागूऔषध नुर्फिन १ हजार ३७ एम्पुल, डाइजेपाम १ हजार ४७ एम्पुल र फेनारगन १ हजार ४२ एम्पुल सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत डुमरवाना बैरगनिया ठेगाना भएका ३७ वर्षीय राजा कुणाल, ३८ वर्षीय अभिशेक कुमार जयसवाल र ३२ वर्षीय राजेश कुमार जयसवाल रहेका छन्। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बिआर ३० पि ८६०७ नम्बरको गाडी जाँच गर्दा गाडीमा उक्त लागूऔषध फेला पारी उनीहरुलाई गाडी सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १० एम्पुल, फेनारगन ३ सय ७५ एम्पुल र नुर्फिन ४ सय १५ एम्पुल सहित ४ जनालाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिराहा, गोलबजार नगरपालिका ४ बस्ने ४२ वर्षीय उतिमलाल साह, सोही नगरपालिका ३ जमद बस्ने २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका १३ बस्ने ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रे रोशी गाउँपालिका ७ बस्ने २८ वर्षीय पेमा लामा रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। पक्राउ परेका उतिमलाल साह कर्तव्य ज्यान मुद्धामा २ वर्ष ९ महिना सिराहा कारागारबाट कैद भुक्तान गरेको, सुजेन्द्र लोहनी लागूऔषध मुद्धामा २ वर्ष सिराहा कारागारबाट कैद भुक्तान गरेको, पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिराहा कारागारबाट कैद भुक्तान गरेको र अशोक तामाङ जबरजस्ती करणी मुद्धामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरी सकेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ। ललितपुर, ललितपुर महानगरपालिका १२ लगनखेल बसपार्कबाट धोबिघाट बस्ने २६ वर्षीय सुवाश रानामगरलाई नियन्त्रित लागूऔषध डाईजोपान ९ एम्पुल, नुर्फिन ६ एम्पुल र फेनारागन ८ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी बा ६६ प २९६९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
‘बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन सकिन्न’ काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कार्वाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानवीन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने प्रष्टयाएका हुन्। बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले छानविन नै नगरी, दोषी नठहराई, घटनामा कसको संलग्नता छ ? भन्ने पुष्टि नभई आरोपितमाथि कार्वाही गर्न नमिल्ने पनि स्पष्ट पारे। ‘हाम्रा निकायले छानविन गर्छ, अनुसन्धान गर्छ,’ मन्त्री बास्कोटाको भनाई थियो, ‘दोषी ठहर भएपछि कानुन बमोजिम कार्वाही हुन्छ ।’ हाँत भाँचिएको हो भने पनि कानुन बमोजिम कार्वाही गर्न कसले भाँचेको हो ? भनेर अनुसन्धान गर्नुपर्ने मन्त्री बास्कोटाको भनाई छ। मन्त्री बास्कोटाले अरुले आरोपित गरेको आधारमा कसैमाथि पनि कार्वाही गर्न नमिल्ने पनि पटकपटक दोहोर्याए। प्रमुख प्रतिपक्ष दल काँग्रेसले पार्टीका बाँके सभापति किरण कोइरालासहितका नेता, कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले हमला गरी घाईते बनाएको भन्दै तत्काल कार्वाही गर्न माग गर्दै आएको छ।
संविधान समय र माग अनुसार संशोधन गरिनु पर्छ : बाबुराम भट्टराई काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठुलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्धालाई छोड्न नहुने बताएका हुन्। उनले संविधान भनेको विद्यमान आर्थिक, राजनीति, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतनसंगै परिर्वतन हुदै जानुपर्ने बताए। लोकसेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वयन हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताए। उनले भने, ‘संविधानमा नै त्रुटीहरु गरेका छौं। त्यही कारणले गर्दा आज एकातिर हामीले पुरानै पञ्चायती शैलीमा उर्दी जारी गरेर सबैले अनिवार्य रुपमा दीपावली मनाउनुपर्ने, उपस्थित हुनुपर्ने फरमान जारी गरिराखिएको छ भने अर्कोपट्टि यो संविधान केही पनि होइन भनी पुरै च्यातेर पुर्नलेखन गर्नुपर्छ भन्ने आवाज पनि छ। यी दुई थरी अतिवादी प्रवृति लोकतन्त्र सम्मत, विज्ञान सम्मत छैन। सत्य सेतो र कालोमा हुदैन, सत्य खैरो हुन्छ। त्यसैले यो संविधानका सवल पक्षको रक्षा गर्दे दुर्रवल पक्ष र कमजोर पक्षलाई संशोधन गरेर पुर्णता दिनुपर्ने आजको आवश्यकता हो।’ शासकीय र निर्वाचन प्रणालीबीच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याए। ठुला ठुला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। उनले नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके अफगानिस्तान जस्तो द्वन्द्वमा फस्न सक्ने खतरा औल्याए। उनले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बिआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठीक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। नेपाल जस्तो सानो मुलुकले भूराजनीति र सामरिक अवस्थितिलाई ध्यानमा राखेर गतिशिल, शान्तिवाद र तटस्थतावादको नीति अनुसार यी मुख्य शक्तिसंग अलग अलग व्यवहार गर्नुपर्ने आवश्यकता उनले औल्याए।
संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन : सुवास नेम्वाङ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प नभएको भन्दै सफल कार्यान्वनयका लागि सहयोग गर्न सबै दलहरुलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले प्रतिपक्ष सत्तापक्ष सबै मिलेर एकतावद्ध भएर संविधान कार्यान्वयन गर्ने सिलसिलामा अहिलेको अवस्थासम्म आईपुगेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। उनले सरकारले प्रतिपक्षी दललाई सम्मान गर्ने र प्रतिपक्षीका कुरालाई धैर्यताका साथ सुन्ने आश्वस्त तुल्याए। विगतमा आफुहरुले प्रतिपक्षी दलको रुपमा भोगेका घटनाहरु अहिले पनि ताजै रहेको भन्दै त्यस्ता घटना आफुहरुले हुन नदिनेमा प्रतिवद्धता जनाए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले सरकारले प्रतिपक्षी दलले सदनमा उठाएको आवाजलाई दबाउन खोजेको, सदनबाहिर आक्रमणमा उत्रिएको दाबी गरेका थिए। उपनेता नेम्वाङ्गले कानूनी राज्यको अवधारणा सहितको समाजवाद उन्मुख बाटोमा सरकार अघि बढेकाले संसद भित्र र बाहिर अभिव्यक्ति दिंदा संविधानका मुल्य र मान्यतामा कतै असर पर्छ कि भनेर सबै सचेत हुनुपर्नेमा जोड दिए। संसद कहिल्यै अवरुद्ध नहोस् भन्दा भन्दै बेला बेलामा अवरुद्ध भएको उल्लेख गर्दै उनले आगामी अधिवेशनबाट संसद कहिल्यै अवरुद्ध नहुने गरि विशेष व्यवस्था गरिने बताए।
संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भयाे : काँग्रेस नेता सिटौला काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्। जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको काँग्रेस नेता सिटौलाको भनाई छ। उनले सरकारले संविधानलाई कमजोर बनाउने गरी आफैंले विधेयकहरु ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे। संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेकाले संविधानको पक्षमा जनमत सृजना गर्न संचारकर्मीहरु पनि लाग्नुपर्ने बताए। काँग्रेस नेता सिटौलाले सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको दावी पनि गरे।
चौथौ संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक छ? काठमाठौं । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथो संविधान दिवस’ मनाउने तयारी गरेका छन्। दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएका संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले जारी गरेका हुन्। नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको छ। सङ्घीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको छ। संविधान जारी भएर चारवर्षमा आइपुग्दा संविधानले परिकल्पना गरेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुरुप तीन तहको सरकारको संरचना तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा आएको छ। मौलिक हकका कानून बनिसकेका छन्। प्रदेश र स्थानीय तहका कानून पनि धेरैजसो बनिसकेका छन्। संविधान सर्वमान्य रुपमा कार्यान्वयनमा आएको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका अनुसार संविधानअनुरुप अतिआवश्यक सबै कानून बनिसकेको छ। प्रदेश र स्थानीय तह सञ्चालनका लागि धेरैजसो कानूनहरु बनिसकेको छ। “संविधान अनुकूलका कानूनहरु निर्माण भइसकेको छ” कानूनमन्त्री ढकालले भने, “प्रदेश र स्थानीय तहको पनि अति आवश्यक कानून बनिसकेको छ, अब केही कानून आवश्यकता अनुसार बनाइनेछ ।” सरकारले मौलिक हक अन्तर्गतका कानून बनाए पनि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सकेको छैन। कानून बनाएर पनि त्यसलाई कार्यान्वयनको संरचना र नियमावलीहरु तयार हुनसकेको छैन। चार वर्षको अवधिका कानून ठूला र अति आवश्यक कानूनहरु बनिसके पनि कार्यान्वयन पक्ष त्यति बलियो देखिएको छैन। राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेपछि नेपाली नागरिक र पछाडि परेका लक्षित वर्गहरुको आधारभूत जीवनमा रुपान्तरण लक्ष्य रहेको थियो तर त्यो लक्ष्य भने सोचेअनुरुप हासिल हुन सकेको छैन। नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईका अनुसार संविधान जारी भएपछि देशमा राजनीतिक स्थिरता आएको छ। स्थायी सरकार बनेको छ। संविधान कार्यान्वयनले उल्लेखनीय प्रगति पनि हासिल गरेको छ तर लक्षित समुदायको जीवनस्तरमा लक्ष्यअनुसार सुधार हुन सकेको छैन। “मुलुकमा गणतन्त्र आएर हुने खाने वर्गमा पहुँच बढ्दै जानु र हुँदा खानेको जीवनमा उल्लेखनीय परिर्वतन आउन सकेको छैन”–उनले भने, “कानून निर्माणमा उल्लेखनीय प्रगति हासिल भयो, त्यो अनुरुप जनताले महसुस गर्ने गरी गणतन्त्रको अनुभूति हुन सकेको छैन।” नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मौलिक हकका कानूनहरु बने तर कागजमा मात्र सीमिति भएको अधिवक्ता भट्टराईको बुझाइ छ। कार्यान्वयनमा नआएसम्म कानून बनाएर मात्र नहुने हुँदा जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्ने उनको सुझाव छ। नेपालमा संविधानसभाबाट संविधान जारी गरेर लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली अपनाएको हुनाले अभ्यास गर्दै सिक्दै जाँदा केही समय लागेको सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीको भनाइ छ। “लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो अनुभव हो, छिटोछिटो रफतारमा अघि बढनसकेको छैन, नयाँ अभ्यास भएको हुँदा केही समय लाग्नु स्वभाविक हो”, उनले भन्नुभयो, “तीन तहको संरचना तयार भएर प्रायः सबै कार्यान्वयन आयो, कानून बन्यो, त्यो नै ठूलो उपलब्धि हो।” उनका अनुसार सङ्घले संविधान अनुकूलका कानून बनाएर प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने खालको कानून धेरै बनाएको छ र केही बन्ने क्रममा छ। संविधान जारी भएर त्यसअनुरुप सङ्घीय संरचना तयार भई कार्यान्वयनमा आउनु राम्रो कुरो हो। संविधान कार्यान्वयन अवस्था सन्तोषजनक भए पनि त्यसअनुरुप बनेका कानून प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकले कठिनाई भोग्नुपर्ने अवस्थामा सुधार आएको छैन्।रासस
जङ्गली च्याउ खाएर पूरै परिवार अस्पताल भर्ना झापा । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए । सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उनीहरुलाई बुुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ। रासस
साढे ८ केजी चरेससहित ३ जना घोराहीबाट पक्राउ दाङ । घोराही उपमहानगरपालिका १९ खम्बासबाट अवैध लागूऔषध चरेस ८ केजी ५ सय ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रोल्पा गंगादेव गाउँपालिका ४ बस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा ३ प ४५५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
आसरा सुधार केन्द्र रानीबारीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्रमिला खनालले केन्द्रको स्थापना कालमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवर र केन्द्रकी पूर्व सचिव सुनिता राणालाई सम्मानपत्र प्रदान गरे। साथै प्रहरी महानिरीक्षक खनालले केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ठमेल, जीवन विज्ञान प्रतिष्ठान चाबहिल र चिकित्सक तथा चिकित्सा मनोविदलाई समेत प्रशंसापत्र प्रदान गरे। यसैगरी प्रहरी महानिरीक्षक खनालले केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदाताहरु लगायतलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे। सो अवसरमा उनले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गरे। उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले केन्द्रमा उपचाररत सदस्यहरुले अनुशासित, लगनशील र धैर्यवान भएर उपचार प्रविधि र विधि अनुशरण गरेमा सकारात्मक परिणाम आउने बताए। समाजले प्रहरीले नै सबै काम गरोस भन्ने अपेक्षा गर्ने भएकोले लागूऔषध दूर्व्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुनर्स्थापना गर्न नेपाल प्रहरीले यस्ता केन्द्रहरु थप बिस्तार गर्दै लगेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केन्द्रले नेपालभरीकै लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न थप उर्जा र सक्रियताका साथ यस्ता सामाजिक कार्यमा अघि बढनुपर्ने बताए। नेपाल प्रहरीले सामाजिक अपराध नियन्त्रणलाई विशेष प्राथमिकताका साथ संचालन गर्दै आएको उल्लेख गर्दै यसलाई थप व्यवस्थित बनाउन हालै मानव बेचबिखन अनुसन्धान ब्यूरो, साइबर ब्यूरो लगायतका विशिष्टिकृत इकाई स्थापना गरेको प्रहरी महानिरीक्षक खनालले बताए। समाज सेवा कठिन कार्य भएको उल्लेख गर्दै सामाजिक विकृति विसंगति निर्मुल पार्ने कार्यमा केन्द्रको प्रयासलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तयार रहेको समेत उनले बताए। कार्यक्रममा केन्द्रकी अध्यक्ष प्रमिला खनालले लागूऔषध दुर्व्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस्ता कुलतबाट युवावर्गलाई मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताए। लागूऔषध सम्बन्धी अपराध व्यवसायिक र संगठित स्वरुपमा बलियो बन्दै गइरहेको अवस्थामा सामुहिक प्रयासले यस विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्नुपर्ने उनले बताए। कार्यक्रममा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले बर्दी लगाएको प्रहरी नै नागरिकको विपद् र अप्ठ्यारो परिस्थितिको सहयोगी र प्रतिनिधि भएको बताए। नेपाल प्रहरी श्रीमती संघ नै सबैभन्दा ठूलो र बलियो सामाजिक संस्था भएकोले मानवसेवाको कार्यमा थप क्रियाशील भएर अघि बढ्नुपर्ने उनले बताए। सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दीपक केसीले मन्तव्य व्यक्त गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। केन्द्रकी सचिव महिमा शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो समारोहमा केन्द्रका पूर्व उपचाररत सदस्यले केन्द्र मार्फत प्राप्त पुनर्जीवनको अनुभूति ब्यक्त गरेकी थिइन भने केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत केन्द्रमा उपचाररत सदस्यका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
चाबहिल सडकमा गुडेको ह्विलचेयर… (भिडियो) काठमाडौं । चाबहिल चोकबाटै सुरु हुन्छ चौतर्फी भिडभाड र जामको सास्ती। गौशालातर्फ जानुस् जाम, जोरपाटीतर्फ लाग्नुस् झनै जाम। खाल्डै खाल्डो, उवडखावड र हिलाम्य यो सडकमा यात्रा गर्नु कुनै सजाय भन्दा कम छैन। राज्यलाई कर तिरेका नागरिक दिनदिनै यहाँ सजाय भुक्तान गरिरहेका हुन्छन्। यस्तो भैसक्यो कि सजाय पनि अब त सजाय लाग्न छाडिसक्यो। आदत नै बनिसक्यो। राज्यसँग गर्ने गुनासोको स्वर नै सुकिसक्यो। हामी चावहिलतर्फ अगाडि बढ्दै थियौ। नजर सडकमा गुड्दै गरेको ह्विलचेयरमा गएर ठोक्कियो। एकजना पुरूष महिलालाई ह्विलचेयरमा राखेर हतारहतारमा कुँदाउँदै थिए। सिमसिम पानी परिरहेको थियो। हिलाम्य सडकमा जाममा फसेका गाडीहरू छिचोल्दै र खाल्डाहरू छल्दै त्यो ह्विलचेयर गुडिरहेको थियो। गाडीहरूका पाङ्ग्राले त्यो होचो ह्विलचेयरलाई दायाँबायाँबाट हिलो छ्याप्दै गुडिरहेका थिए। सडकको बीचबीचमा यति ठूला खाल्डा, पोखरी र धरापहरू थिए। त्यसपछि जे भयो यो भिडियोमा हेर्नुस्
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका ७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस-७ सिम्ले हाल ककनी गाउँपालिका-५ बस्ने ७० वर्षीया पदम कुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो। अनुसन्धानको शिलशिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका ७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो। पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछी नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा निज सुनारले ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सो ब्यूरोले जनाएको छ। पक्राउ सुनारलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ।
जबरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका १ सितापुरी चौक बस्ने २३ वर्षीय सरोज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सरोजले सोमबार राति किशोरीलाई घरदेखि करिब ५ सय मिटर पर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै सोही घटनामा संलग्न सरोजका दाजु २५ वर्षीय गणेश श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अवैध लागूऔषधसहित काठमाडौंमा २ जना पक्राउ काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका ७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने झापा काँकडभिंट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागूऔषध ब्राउनसुगर करिब २८ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते जुम्ला । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना १ ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो। कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार घाइते हुनेमा मुगुको छायानाथ, रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही ठाउँकी ३२ वर्षीया लालदेवी रावत रहेका छन्। यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् भने जुम्लाको चन्दननाथ नगरपालिका–९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको प्रहरी नायब उपरीक्षक धामीले बताए। टेलिफोन सम्पर्क हुन नसक्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ। घटनास्थलतर्फ प्रजिअ र प्रहरी निरीक्षकको टोली गएको र थप विवरण बुधबार आउने उनले बताए। घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। मृतकको पहिचान खुल्न सकेको छैन।रासस
भाइले बालिकालाई बलात्कार गरे, दाइले पनि ‘चान्स’ खोज्दा दुवै प्रहरीको फन्दामा झापा । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ। सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ वर्षीय बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए। आफूलाई जबरजस्ती करणी गरेको भन्दै पीडिकको घरमा पुगेकी बालिकालाई पीडकका २५ वर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितको आफन्तले ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोज तलासमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजुभाई लाई नै पक्राउ गरेको छ। पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
बल्ल भयो काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा काठमाडौं । मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। देशका विभिन्न विकट ठाउँहरुमा पनि वर्षाैं अगाडि नै खुला दिसा मुक्त क्षेत्र घोषणा हुँदा पनि संघीय राजधानीमा भने खुला दिसा मुक्त हुन सकेको थिएन। मंगलबार जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। ‘स्मार्ट सिटी’ बनाउने चर्चा कमाएको काठमाडौंलाई ढिला गरी खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुलाई लज्जाबोधको रुपमा हेरिएको छ। काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो । यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । सरकारले सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्रै ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भईसकेको पनि सार्वजनिक गरिसकेको छ ।
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, ३ जना चालक प्रहरीकाे नियन्त्रणमा काठमाडौं । चितवन, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका १ आँपटारीस्थित सडकमा ना १ ज ५२९९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका भ्यानमा सवार माडी नगरपालिका ४ सितलपुर बस्ने २२ वर्षीया निसा नेपालीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। म्याजिक भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै धादिङमा पनि एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका ३ स्थित राजमार्गमा बा ६२ प ७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं कपन बस्ने ३२ वर्षीय बिजय नगरकोटीको उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका १३ खनार सोमबारेस्थित धरान–विराटनगर सडकखण्डमा मंगलबार बिहान को १ ख २७४७ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री मोरङ रतुवामाई नगरपालिका ७ बस्ने ३४ वर्षीय मंगल सिंह दमाईको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै काठमाडौँ । शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ। गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जानकारी दिए। बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ। सन् १४६९ अप्रिल १५ मा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मिएका गुरु नानकले शिख दर्शन र साहित्यको प्रवद्र्धन गरेका थिए । उनको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ। धार्मिक गतिविधिका माध्यमबाट उनले तत्कालीन समाजमा जातीय विभेदको अन्त्य गरी न्याय, समानता, भ्रातृत्व कायम गरेका हुन् । धर्म रक्षाका लागि मार्गदर्शन गरेका नानकको दशौँ अवतारका रुपमा गुरु गोविन्द सिंहलाई मानिएको छ। शान्ति, अहिंसा, परोपकार, स्वाभिमानजस्ता विषयवस्तुलाई महत्व दिइएको छ। मानव कल्याण र समाजसेवामा समर्पित रहन समग्र मानवलाई शिक्षा दिइएको उक्त धर्मको दार्शनिक पक्ष भनेको सबै धर्मको सार एउटै हो, ईश्वर सर्वव्यापी छन् भन्ने हो । ओमकार परिवारभित्र पर्ने शिख धर्म एकेश्वरवादी धर्म हो । सनातन धर्म संस्कृतिको संरक्षणमा जोड दिएको यस धर्ममा १० गुरुलाई मानिन्छ। ती दश गुरुमा नानक देव, सतगुरु अङ्गददेव, अमरदास, रामदास, अर्जुनदेव, हरगोविन्द, हरिराय, हरिकृष्ण, तेगबहादुर र गोविन्द सिंह छन्। यी धर्मगुरुले स्थापित गरेका आदर्श, ज्ञान तथा मान्यतालाई ग्रन्थमा समेटिएको छ । त्यसलाई गुरु ग्रन्थ भनिन्छ । हाल धर्मको आधार भनेको गुरु ग्रन्थ हो । शान्ति, अहिंसा र मानव कल्याणका लागि धार्मिक ग्रन्थको अत्यधिक उपयोग गर्न अनुयायीलाई आग्रह गरिएको छ। गुरु नानक नेपालमा आएर पशुपतिनाथ, बालाजुलगायतका क्षेत्रमा भ्रमण गरेको विश्वास छ। विश्वका विभिन्न मुलुकमा छरिएका ती धर्मावलम्बी हाल करीब दुई करोड ७० लाखको सङ्ख्यामा छन्। नेपालमा भने करीब सात हजारको सङ्ख्यामा छन्। गुरुको शिक्षामा श्रम र सेवालाई विशेष महत्व दिएका कारण मेहेनतमा विश्वास गर्ने शिख इमान्दार मानिन्छन् । अन्तरराष्ट्रिय तहमा फैलिएका शिख अनुयायीले शिक्षा, स्वास्थ्य, यातायात, उद्योगलगायत क्षेत्रका विकासमा लगानी गरी प्राप्त हुने आम्दानीको निश्चित एकाइबाट विद्यालय तथा अस्पताल स्थापना गरेका छन्। प्रत्येक कात्तिक पूर्णिमामा गुरु नानकको जन्मोत्सव पर्ने हुँदा नेपालका विभिन्न गुरुद्धारामा गुरुग्रन्थका उपदेशको अनुशरण गरिन्छ। यसो गर्दा दुःख, कष्ट र झन्झटमुक्त हुने बताइएको छ। श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्र सिक्का प्रकाशनका लागि क्रियाशिल रहेको थियो। केन्द्रका अध्यक्ष जसपाल सिंहले केन्द्रीय बैंकले सिक्का प्रकाशन गर्न लागेकामा खुसी व्यक्त गर्दै उनको योगदानलाई चिरस्थायी बनाउने विश्वास व्यक्त गरे। रासस
नेपाल बैंकमा जागिर खुल्यो, कुन पदमा कति ? हेर्नुहोस् काठमाडौं । नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न प्रदेशका लागि विभिनन तहमा ठुलो संख्यामा कर्मचारीहरु माग गरेको हो । योग्यता पुगेका इच्छुक महानुभावहरुले भदौ ३० गते सोमबारदेखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ । गोरखापत्रमा जारी सूचना अनुसार अधिकृतस्तरको सहायक प्रबन्धक ६ तहमा १ सय २७ जना र सहायक प्रबन्धकमा १० जना सीए माग गरेको छ । प्रदेश नम्बर ३ का लागि १ सय ६७ जना कर्मचारी आह्वान गरिएको छ। नेपाल बैँक लिमिटेडको वेब साईड https://www.nepalbank.com.np/ मा गएर अनलाईन फारम भर्न सकिने छ ।
सिसिटिभी उद्‍घाटन गर्न मुख्यमन्त्री राई जिप्रका मोरङमा मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरे। साथै उनले संचालनमा आएका उक्त सिसीटिभी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मार्फत जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण समेत गरे। मोरङ जिल्लाका सीमा क्षेत्र तथा राजमार्गमा प्रथम चरणमा १ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको लागतमा जडान गरिएका ५८ वटा सिसिटिभी जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालयहरु बेलबारी र पथरीले मोनिटरिङ गर्नेछन्। उक्त सिसिटीभीमध्ये विराटनगर क्षेत्रमा ३२ वटा, बुढीखोलादेखि बाउन्नेसम्म १३ वटा र पथरी उर्लाबारीसम्म १३ वटा जडान भएका छन्। अप्टिकल फाइबर जडान भएका उक्त सिसिटीभी काठमाडौंपछिको दोस्रो ठूलो नेटवर्क हो । प्रहरी सेवालाई प्रविधिमैत्री बनाई समाजमा घटने अपराध न्यूनीकरण तथा नियन्त्रण गर्न, अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्ति सु(व्यवस्था कायम गर्न १ नम्बर प्रदेश सरकारको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो। उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री राईले नेपाल प्रहरीको विद्यमान सुदृढिकृत सुरक्षा पद्धतिलाई थप प्रभावकारी बनाई सेवा प्रवाहको गुणस्तरीय अभिवृद्धि गर्न प्रविधिको उपलब्धता निशर्त आवश्यकता रहेको चर्चा गर्दै भने, ‘अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान गरी समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरिरहेको नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउँदै लैजानुको विकल्प छैन्।’ मुख्यमन्त्री राईले समग्र सुरक्षा व्यवस्थापनमा प्रविधिको महत्वलाई आत्मसात गर्दै १ नम्बर प्रदेश सरकारले प्रदेश अन्तर्गतका प्रहरी इकाईहरुको परिचालनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकतामा राखी आवश्यक पूर्वाधार तयारीमा लगानी अभिवृद्धि गरिरहेको बताए। हाल जडान गरिएका सिसिटिभीको प्रयोगबाट सडक सुरक्षा मजबुत बनाउनुको साथै अपराध रोकथाम तथा सफल अनुसन्धान गरी नागरिकको जिउधनको सुरक्षाको लागि प्रहरी कार्य गर्न सहज हुने विश्वास उनले व्यक्त गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अहिलेको सन्दर्भमा अपराध नियन्त्रण, अनुसन्धान, रोकथाम र शान्ति सुरक्षाका लागि प्रहरीले प्रविधिमैत्री भएर काम गर्नुपर्ने अपरिहार्यता रहेको बताए। प्रदेश सरकारको सहयोगमा सिसिटिभी हस्तान्तरणले अत्यन्त महत्वपूर्ण सन्देश सम्प्रेषण गरेको उल्लेख गर्दै उनले १ नम्बर प्रदेशबाट सुरु भएको यस सहयोगबाट सुरक्षा संयन्त्रलाई थप बलियो, भरपर्दो र प्रविधियुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। प्रदेश प्रहरीलाई कस्तो बनाउनुपर्छ भन्ने प्रदेश सरकारको सोच अनुसार अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने र व्यवहारमा पनि अत्यन्त शालिन तथा कानुनको पालना गर्ने गराउन दृढतापूर्वक उभिने इमानदार प्रहरी बनाउने सन्दर्भमा १ नम्बर प्रदेशबाट भएका काम अनुरुप अगाडि बढेको बताए।
गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने प्रस्ताव काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेकी गरेकी छन्। नेकपाकी सांसद भुसालले कम तलव र सेवामा काम गर्ने गाडी चालक र कार्यालय सहयोगीहरुलाई न्याय गर्न पनि उनीहरुलाई अनिवार्य स्थायी गर्नुपर्ने कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेकी हुन्। सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माथिल्लो ओहोदाका कर्मचारीलाई मात्रै अनिवार्य रुपमा स्थायी गर्ने ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धि विधेयक’मा राखिएको प्रावधानमाथिको छलफलमा भाग लिँदै उनले तल्लो तहका कर्मचारीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुुपर्ने माग सरकारसँग गरिन्। सांसद भुसालले कम्युटर अपरेटरलाई पनि करारमा राख्न नहुने धारणा राखिन्। त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पनि अस्थायी र करारमा कर्मचारी नराख्ने कानूनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिए। उनले अस्थायी प्रकृतिका कार्यालयका लागि भने सो कार्यालयको प्रयोजन सकिएपछि कर्मचारीहरुलाई पनि विदाई गर्ने कानूनी व्यवस्था गर्नुपर्ने धारणा राखे। काँग्रेस सांसद बडुले सबै कर्मचारी स्थायी भएपछि उनीहरुलाई राज्यले दिने सेवा र सुविधा पनि समान खालको हुने स्पष्ट पारे।
काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् । काँग्रेस सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्। बाँके घनालाई लिएर खजुरा गाउपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल विरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै काँग्रेस संसद संचालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफुहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएको छ । बाँके घटनालाई लिएर खजुरा गाउपालिका वडानम्बर १ का अध्यक्ष मल्लविरुद्ध मुद्दा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदहरु उभिइरहेकै समयमा सांसद रोकाले बाँके घटनामा नेपाली काँग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडा अध्यक्षलाई मुद्दा चलाए आफुहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो । सांसद रोकाले भने, ‘कसैले पनि त्यहाँ हातपात गरेको छैन । कुनै पनि केही घटना घटेको छैन । त्यहाँ कसैले कसैलाई छोएकै छैन । त्यसै आक्षेप लगाएर हुँदैन । तर वडा अध्यक्ष वेकसुर छ । त्यो वडा अध्यक्षलाई मुद्दा लगाउने भन्ने कुरा कतै पनि सहन सक्दैनांै । यदि नेपाली काँग्रेसले आन्दोलन गर्छ भने हामीले पनि आन्दोलन गर्छौ । आन्दोलन किन नगर्ने ? हामी सत्य कुरा मात्रै स्वीकारछौं । असत्य कुरा कुनै पनि हालतमा स्वीकार गर्दैनांै । समिति गठन गरेर छानविन गर्नुपर्छ । जो दोषी छ कारवाही गरांै । समिति गठन विना हुन सक्दैन । समिति गठन गरेर छानविन गर्नुपर्छ ।” सांसद रोकाको अभिव्यक्ति पछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरि नाराबाजी गरेका हुन् । कांग्रेस सांसदहरुले “संसदमा निश्पक्षता कायम गर , दोषीलाई कारवाही गर । राज्य आतंक बन्द गर । ” भन्दै झण्डै आधाघण्टा नाराजाबी गरेका थिए ।
सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। आदेशमा भनिएको छ, “आफूले भुक्तान गर्नुपर्ने रकम नबुझाइ आलटाल गरेका अवस्थामा कानूनबमोजिमको कारवाही र परिणाम व्यहोर्नु स्वभाविक र नियमति प्रक्रिया हो, सुविधा सन्तुलनका दृष्टिले विचार गर्दा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन।” नेपाल दूरसञ्चार प्राधिकरणले सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णयविरुद्ध सुमार्गी सर्वोच्च अदालतमा गएका थिए। सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत शेयर सात वर्षअघि बिक्री गर्दा रु चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार पूँजीगत लाभकर छली गरेको ठूला करदाता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको थियो। सुमार्गीका तर्फबाट सुभाषचन्द्र पौडेलले गत साउन १३ गते सर्वोच्चमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। गत भदौ २ गते बसेको प्राधिकरण बोर्ड बैठकले सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्कबापतको ८० करोड तोकिएको समयमा नतिरेपछि खारेज गर्ने निर्णय गरेको थियो। यसअघि, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्म अन्तरिम आदेश जारी नहुने भन्दै आजका लागि छलफलमा बोलाएको थियो। दुवै पक्षको छलफलपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। रासस
सर्लाही गोली काण्डमा संलग्न दुई जना पक्राउ काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। ईश्वरपुर नगरपालिका–११ करमुहान निवासी ३५ वर्षीय राजेश साहलाई शनिबार राति ८ बजे गाउँ नजिकै गोली लागेको थियो। गोली लागेका साहले नै बोकेको पेस्तोल पक्राउ परेका रञ्जित रायले असावधानिकरुपमा चलाउँदा साहलाई नाइटो नजिक गोली लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका उमेश साह गोली लागेका राजेश साहका भाई हुन्। घटनामा प्रयोग भएको मेड इन युएसए ११७० लेखिएको ७.५ एमएम कैलिबरको पेस्तोल एक थान र दुई थान गोली, पेस्तोल प्रयोग हुने म्यागजिन एक थान ईश्वरपुर–११ करमुहानबाट खैरातर्फ जाने बाटोको झाडीबाट प्रहरीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए। गोली लागेका साहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ।रासस
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार काठमाडौं । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ। दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन्। उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए। अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका थिए। ‘हामीले हतियार खोस्न खोज्दा दुवै जना भागे’, अध्यक्ष साउदले भने। प्रहरी नायब उपरीक्षक शाहीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र अध्यक्ष साउद सकुशल रहेको बताए।रासस
सवारी दुर्घटनामा परी ५ जना मृत्यु काठमाडौं । कपिलवस्तु, बाणगंगा नगरपालिका १ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु ३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल पिपरा पठाइएकोमा थप उपचारको लागि लुम्विनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ। सर्लाही, बागमती नगरपालिका ८ गिरिटोलस्थित सडकमा बा ३१ प ६८०२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय पैदलयात्री ईन्द्रबहादुर कुशवारको एडभांस संजिवनि अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ। चितवन, कालिका नगरपालिका ७ गैडाखोलास्थित सडकमा ना ३ त १३३५ नम्बरको ट्याक्टरले ना ४१ प ९८४९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय बिकाश श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय मुकेस पौडेलको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी चितवन, राप्ती नगरपालिका ४ मार्तल पुलस्थित पूर्वपश्चिम राजमार्गमा युपी २१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकले ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका ६ बस्ने २५ वर्षीय सरोज तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं र पोखरामा ९० हजारसहित १० जना जुवाडे पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका ३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट नगद ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक तास प्रहरीले बरामद गरेको गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। कास्की, पोखरा महानगरपालिका ११ रानिपौवा डेरा गरी बस्ने मकवानपुर बाग्मती गाउँपालिका १ का बिष्णु राईको डेरामा जुवातास खेलिरहेका राईलगायत ६ जनालाई नगद २४ हजार ८० रुपैयाँ र ४ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो छैन : प्रचण्ड काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन्। अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिए। सहीद प्रतिष्ठान, नेपालद्वारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री ओलीले सो आयोगको संयोजक मैले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिएको बताएका छन्। ‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएपनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खवरीदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाई थियो। अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी÷विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे।
रुपन्देहीमा गोली हानेर एक जनाको हत्या काठमाडौं । रुपन्देहीमा गोली हानेर एकजनाको हत्या गरिएकोे छ। आइतबार दिउँसो साढे २ बजेतिर ओमसतिया गाउँपालिका ३ का महेन्द्र कुर्मीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले डिसी नेपाललाई बताए। उनका अनुसार घटना रोहणी गाउँपालिकामा भएको हो। ‘लुटेरा समूहले उनी माथि गोली चलाएको हुनसक्ने प्रारम्भिक अनुमान लगाएका छौं।’ उनले भने। पैसासहित लुटियो भन्ने विषयमा भने पूर्ण रुपमा जानकारी नआएको उनले बताए। ‘घटनास्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान भैरहेको छ।’ उनले भने।
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नंको ट्रकले बा ८९ प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय वसन्त कार्की गम्भीर घाइते भएका छन्। गम्भीर घाइते कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।रासस
पहिरो जाँदा साँफे-मार्तडी सडक अवरुद्ध बाजुरा । जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ। शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए। उहाँका अनुसार अम्कोटमा आज बिहान आएको पहिरो पन्छ्याएको भए पनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुङ्गानाको भनाइ छ। सडकको माथिबाट लगातार पहिरो खस्ने कार्य नरोकिएकाले आजै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए। पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतबार सडक मर्मत गरी पुनः सञ्चालन हुने बताइएको छ। भारी वर्षाका कारण सडकमा पटकपटक पहिरो जान थालेपछि यात्रुहरुलाई सास्ती भोग्नुपरेको छ। सडक अवरुद्ध भएको बहाना देखाउँदै यातायात व्यवसायीले चर्को भाँडा असुल्ने गरेका छन्। यस राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधनसमेत सञ्चालनमा अवरोध पुगेको यातायात व्यवसायी देवेन्द्र नाथले बताए। बाटो खुलाउनका लागि निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानासहितको टोली खटिरहेको छ।रासस
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’ चितवन । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन्। पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताए।निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए। पाँच दिनको अस्पतालको बसाईपछि घर फर्कनुभएकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैँ निको भएर जाने बताए । यो रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलियो बनाउनुपर्ने भन्दै अधिकारीले भने, “यो ज्वरोले उठ्नै सक्दिन कि के हो भनेर चिन्ता नलिनुस्, मलाई केही हुँदैन भन्नुस् आफैँ ठीक हुन्छ।” सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको यो प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गरे। कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उनले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताए । पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गु केहो रु यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराएका थिए । सो अस्पतालमा मात्र साउन १६ गतेयता ४०५ ज्वरोका बिरामी उपचार गरिएकामा तीमध्ये २२३ मा डेङ्गु देखिएको र उनीहरुमध्ये १०५ जनालाई अस्पतालमा नै भर्ना गरेर उपचार गरेको अधिकारीले बताए । यसबाहेक बाहिर अस्पतालमा डेङ्गु प्रमाणित भएपछि अस्पतालमा भर्ना भएर ५५ ले सेवा लिएका उनले जानकारी दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष चेतनाथ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी, गोपाल पौडेललगायतले बोलेका थिए । हालसम्म जिल्लामा एक हजार ७०० लाई डेङ्गु सङ्क्रमण भएको छ । यो रोगको सङ्क्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो। अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका बिरामीले डा अधिकारीको परामर्शमा तयार गरेको डेङ्गु रोग र यसबाट बच्ने उपायका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाइ गरी उनीहरुमार्फत गाउँगाउँमा पुर्याउने काम गरेको छ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार काठमाडौँ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए। आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा प्रदानको लक्ष्यका साथ सो विश्वविद्यालय स्थापना हुन लागेको हो। चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विश्वविद्यालयका लाािग रु १० करोड बजेट विनियोजन गरिएको छ। ध्यान र योगका माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन र विश्वविद्यालय स्थापनाको कार्यलाई सरकारले बढाएको हो। आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अक्कुपञ्चर, सोवा रिग्पा र प्राकृतिक चिकित्सा वैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने कार्यक्रम पनि बजेटमा राखिएको छ। बहुमूल्य र उपयोगी जडीबुटीको मुलुक नेपालका लागि आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा सान्दर्भिक बनाउन विश्वविद्यालयले काम गर्नेछ। हालसम्म केन्द्रीय, क्षेत्रीय र अध्ययन प्रतिष्ठान गरी १४ विश्वविद्यालय सञ्चालित छन्। विसं १९२४ मा भोजपुरमा जन्मिनुभएका सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले विसं १९९८ मा आफ्ना करीब ८० सहयोगीसहित अरुण नदीमा जलसमाधि लिनुभएको थियो।
अपहरण गरि फिराैती रकम माग्ने ४ जना साेल्टीमाेडबाट पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३८ वर्षीय एल्ली गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने कार्यमा संलग्न ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका ४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका २ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशील उप्रेती रहेका छन्। उनीहरुले एल्ली गुरुङलाई ग.१ ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखी सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफेमा लगि उक्त रकम फिरौती मागेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एल्ली गुरुङलाई उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सिद्धबाबामा दुई जीप पुरिए, एक जनाको घटनास्थलमै मृत्यु, सडक अवरुद्ध काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरोले दुई जीप पुरेको छ। शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट तर्फबाट वुटबल आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कारपियो पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक रुपन्देहीका २६ वर्षीय कमल परियार रहेका छन्। भने चार जनाको उद्धार गरि उपचारका लागि वुटवल पठाइएको छ। अहिले बुटवल–पाल्पा सडक अवरुद्ध रहेको र सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।
भुमादेवीको हत्यामा संलग्न २ दम्पति पक्राउ काठमाडौं । प्रहरीले हत्यामा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्दै आएका ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मीना खड्का, तनहुँको रिसिङ घर भई गैँडाकोट–१५ बस्दै आएका ४५ वर्षीय वसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। उनीहरुले मङ्गलबार राति खत्रीको हत्या गरेका थिए। उनी घरमा एक्लै बस्दै आएकी थिइन्। गरगहना चोरी गर्ने क्रममा वृद्धाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको रानाभाटले बताए।रासस
यू–१६ राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले यही भदौ २८ गते आयोजक जोर्डनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफनो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । नेपाली टोलीको गोलरक्षकमा मनोज दहाल, जेनियस केसी, पाथुङ हाङ नेम्वाङ छन् भने डिफेन्डरमा अजय चौधरी, अभिषेक वाइवा, जान लिम्बू, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद छन् । त्यसैगरी मिडफिल्डरमा नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपीन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री छन् भने स्ट्राइकरमा शशाङ्क बोहोरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई छन् ।
कास्कीबाट हातहतियार सहित ४ जना पक्राउ कास्की । माछापुच्छ्रे गाउँपालिका–२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङलगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, १ थान भरुवा बन्दुकको बट, करिब ५ केजी सतुवा र २ थान भरुवा बन्दुकको नाल बेसाबुत अवस्थामा फेला पारी उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता काठमाडौं । सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ। दशै, तिहारजस्ता चाँड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो। कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन गर्यो। गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन सो अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिए। उनले अनुगमनको क्रममा तीनवटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि बताए। सरकारले सबै खाद्य बस्तु उत्पादन तथा विक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना पनि बनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताए। उनले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताए। मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको पनि विभागले जनाएको छ । यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ। विभागकी महानिर्देशक बैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिएका हुन्। सरकारले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक ९ वटा टोली परिचालन गर्ने दावी गर्दै आएको छ।
डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न काँग्रेसको माग काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। तत्काल डेंगु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले “सरकारले राष्ट्रिय इर्मरजेन्सिको” रुपमा लिनुपर्ने टिप्पणी गरे। उनले भने, “सरकार कुहिरोका काग बनेको छ। यसलाई अंग्रेजीमा क्लु लेस भन्छ। ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ? ” उपचारमा संलग्न चिकित्सक देखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुदा पनि सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए। उनले भने “के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।” ३ सय ५० रुपैयाँ मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँ सम्म लिने गरेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैया सम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारवाही गछौ’ भनेको उल्लेख गर्दै उनले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गरे। उनले भने “वास्तवमा यसको मुल्य ३ सय ५० रुपैया पर्ने रहेछ। ३ सय ५० नै थप्दा पनि ७ सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै १ हजार रुपैयाको छुट दिन खोजिरहेको छ । ” उनले डेंगु परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारी बारे सदनलाई जानकारी गराउन माग गरे। साथै उनले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि सभामुखको ध्यानाकर्षण गराए। बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरे। उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। डेंगु संक्रमणले महामारीको रुप लिईसकेको भन्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसंग माग गरे। शुक्रराज ट्रपिकल अस्पताल टेकूका डाक्टर र कर्मचारी पनि विरामी भएको तथा मेसिनले उपयुक्त काम नगरेका कारण गत सोमबार देखि विरामीले चुस्त रुपमा सेवा पाउन नसकेको भन्दै उनले प्रयोगशालाका मेसिनलाई चुस्त दुरुस्त बनाउदै सहज उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाण्डौमा २ सहित ६ जनाको मृत्यु भईसकेको छ भने हजारौ संक्रमित भएका छन्। संक्रमण नियन्त्रण हुनुको सट्टौ फैलिदै गएको छ।
भिडियोमा हेर्नुस् सिंहदरबार अगाडि यसरी उत्रियो ट्राफिक र महानगरपालिका-फलोअप काठमाडौं । सिंहदरबार अगाडि अनधिकृत पार्किङमा राखिएका सवारी साधन कारवाहीमा परेका छन्। फुटपाथ कब्जा गरेर पार्किङमा राखिएका मोटरसाइकलहरू काठमाडौं महानगरपालिकाले उठाएर लगेको थियो भने फुटपाथमा राखिएका गाडीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ह्विल लक लगाएको थियो। डिसी नेपालले काठमाडौंको अस्तव्यस्त फुटपाथबारे स्थलगत भिडियो शृङ्खला प्रस्तुत गर्दै आएको छ। त्यसकै क्रममा सिंहदरबार अगाडिको फुटपाथ कब्जाबारे हामीले भिडियो प्रस्तुत गरेका थियौ। देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अगाडि अस्तव्यस्त सवारी पार्किङका कारण ट्राफिक जाम भएका धेरै उदाहरण छन्। ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सिंहदरबारको प्रवेश द्वारमा त्यसको असर पर्छ। खुलेआम फुटपाथ कब्जा गरेर यहाँ व्यवसाय चल्दै आएको छ। आफ्ना ग्राहकलाई फुटपाथमा पार्किङ गर्न लगाएर व्यवसाय चलिरहेको छ र त्यसको असर पैदल यात्रुदेखि सिंहदरबार छिर्ने भिआइपीहरूले भोग्दै आएका छन्। प्रधानमन्त्री, मन्त्री देखि देश हाँक्ने उच्चपदस्थ कर्मचारीहरू रहने सिंहदरबार अगाडि जे मनमौजी चलिरहेको बारे भिडियोमा उतारिएको थियो। भिडियोको प्रतिकृयामा ट्राफिक र महानगरपालिका एक्सनमा उत्रिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले डिसी नेपालसँगको कुराकानीमा फुटपाथ क्लियर गर्ने प्रतिकृया दिएका थिए। यसैसाता महाशाखाको नेतृत्वमा आएका ढकालले ट्राफिक व्यवस्थापनमा निकै चुनौतीहरू रहेका बताउँदै ती चुनौतीमाथि आफूहरू खरो उत्रने बताएका थिए। भिडियोमा हेर्नुस् सिंहदरबार अगाडि यसरी उत्रियो ट्राफिक र महानगरः
घुस लिएको आरोपमा सहायक वन अधिकृत डिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत तीन लाख २६ हजार घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो। यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने विष्णुकुमारी पराजुली (शिक्षिका) विरुद्ध पनि मुद्दा दायर गरेको छ। निजले सेवा प्रवेशका क्रममा पेश गरेको विहार संस्कृति शिक्षा बोर्ड, पटनाबाट जाी गरिएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ। रासस
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका ३ का बिनोद बस्नेत/बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरुलाई मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा पटक/पटक गरी १९ लाख १० हजार रुपैयाँ लिई ठगी गरी फरार रहेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं हाँडीगाउँबाट उनलाई पक्राउ गरेको हो। उनको साथबाट राजु केसीको नामको ०५/५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६/४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले फेला पारी बरामद गरेको छ। निजलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्यमक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ।
रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। चट्याङबाट घाईते हुनेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का नैनसिंह खत्री र आसिराम रोका रहेका छन्। घाईतेहरुलाई उपचारको लागि अस्पताल ल्याईदै गरेको उनले बताए।
सामूहिक बलात्कारको अभियोगमा ९ जना पक्राउ परासी । एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए। प्रहरी निरीक्षक श्रीमलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अभियुक्त भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । फरार एक जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुस्ता–३ फेनहरा बस्ने वर्ष ४५ को सुरेन्द्र यादव, सोही ठाउँ बस्ने वर्ष २५ का मनमोहन राजभर, वर्ष २२ का शिवराज राजभर, वर्ष ३७ का भीमलाल मुसहर, वर्ष २२ का सन्दिप यादव, वर्ष २२ कै राजु मुसहर, वर्ष ४० का नेत्र चौधरी, वर्ष १९ का पिल्टु चौधरी र वर्ष १९ का अमरनाथ भेडिहार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए।रासस
कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ काठमाडौं । कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ परेका छन् । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित तनहुँ छिपछिपे नगरपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। हिमालयन एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेजमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको सुन बरामद गरेको हो। साथै उक्त सुन संकलन गर्न आएका मोरङ पथरी नगरपालिका–२ बस्ने ३२ वर्षीय अनिल लुइटेल र ३१ वर्षीय भोजराज घिमिरेलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका तीनैजना र बरामद सुन सम्बन्धमा भन्सार कार्यालय गौचरबाट आवश्यक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पूर्वाधार विकासमा बाह्य लगानी भित्र्याउन काठमाडौंमा ‘शिखर सम्मेलन’ काठमाडौं । काठमाडौंमा यही भाद्र २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् भने दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान स्योङ सू किनोट स्पीकरको रुपमा सहभागी हुने छन्। परिसंघका अध्यक्ष सतिसकुमार मोरले सो सम्मेलनमा विशिष्ट स्पिकरको रुपमा भारतका युनियन स्टेट मिनिष्टर आरके सिंहले सम्बोधन गर्ने जानकारी दिए। सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरु, योजना आयोगका पदाधिकारी पनि सहभागी हुनेछन्। प्रदेश सरकारका मुख्य सचिवहरुलाई पनि सो सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको पनि परिसंघका अध्यक्ष मोरले बताए। नेपालको पूर्वाधार विकासमा आवश्यक बाह्य लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा सो शिखर सम्मेलन तेस्रो पटक पनि आयोजना गर्न लागेको हो । परिसंघका अध्यक्ष मोरले विगतमा भन्दा यस वर्ष पूर्वाधार विकासका लागि विशेष रुपमा छलफल गर्न सो शिखर सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।
प्रहरीसँग मात्रै हुने पेस्तोल कसरी पुग्यो लुटेरा समूहसँग? काठमाडौं ।राजधानी काठमाडौंमा लुटपाट र आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी अहिले सक्रिय छ। यसैक्रममा प्रहरीले आपाराधिक ट्र्याक रेकर्ड भएकाहरुलाई निगरानीमा राखिरहेको छ। उनीहरुका गतिविधिबारे प्रहरीले निगरानी बढाइरँहदा शनिबार राजधानी काठमाडौंको माछापोखरीबाट ८ जना युवाहरुलाई २ थान पेस्तोलसहित पक्राउ परे। काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटी विभिन्न आपाराधिक क्रियाकलापमा रहेको आशंकामा खोजतलासी गर्दा ८ जना युवाहरु २ थान पेस्तोलसहित पक्राउ परेको जानकारी दिए। प्रहरीले हतियारसहित आपारिक समूहलाई पक्राउ गर्नू सफलता भएको दावी गरेको छ। हुन पनि पेस्तोलसहित रहेको सो समूहले जे पनि घटना गराउन सक्थ्यो । घटना गराउनु अघि नै उनीहरु प्रहरीको फन्दामा परेपछि प्रहरीले सम्भाभित अपराध रोक्न सफलता पाएको छ। तर, प्रहरी त्यतिबेला शक्ड भयो जब उनीहरुसँग रहेको हतियारबारे छानविन भयो। प्रहरीसँग मात्रै हुने पेस्तोल लुटेरा समूहबाट बरामद भएपछि प्रहरी यो पेस्तोल उनीहरुसम्म कसरी पुग्यो भन्ने छक्क परेको छ । शनिबार पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद थियो । उनीहरुबाट बरामद भएका पेस्तोल प्रहरीसँग मात्रै हुने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बताए । द्वन्द्वकालमा माओवादीले लुटेको पेस्तोल लुटेरा समूहसँग पुगेको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका ८ जनामध्ये रसुवाका यार्साङ घले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएकोले माओवादीले लुटेको पेस्तोल हुनसक्ने आशंका गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको एसपी सिंहले बताए । निबार हतियारसहित पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता रसुवाका योर्साङ घले पनि रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । त्यस्तै पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा कुशल अधिकारी पनि रहेका छन् । हाल हाइ रेष्टुरेन्ट एन्ड डान्सबारका सञ्चालक रहेका उनी गोरखाका हुन् । पक्राउ पर्ने अन्यमा रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् । उनीहरुको साथबाट दुईवटा चाइनिज पेस्तोल, दुईवटा म्याग्जिन र चार राउण्ड गोली र एक किलो सुन प्रहरीले बरामद गरेको परिसरका एसपी अशोक सिंहले बताए ।