content
stringlengths
31
27.4k
समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्छ : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्। अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्वद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे। सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुक, प्रजातन्त्र र जनताको हितका निम्ति पनि राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताए। अध्यक्ष थापाले दसंै, तिहारको अवसर पारेर सबै राजनीतिक दलहरुलाई शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै सत्तारुढ नेकपाप्रति आभार पनि व्यक्त गरे।
‘दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको पनि बताए। सत्तारुढ नेकपाले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपी कोइरालाले दसैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार पनि व्यक्त गरे। सभापति देउवाले नेताहरुबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रुपमा पनि चाडपर्वहरुलाई लिनुपर्ने बताए।
बिपी कोइराला क्यान्सर अस्पतालमा मङ्सिर १ गतेदेखि ईएचएस सुरु काठमाडौं । पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ। शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार साँझ ४ः३० बजेबाट विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराइने छ। काठमाडौँका सिभिल र गङ्गालाल अस्पताजस्तै नमूना सेवा प्रदान गरिने आचार्यले जानकारी दिए। जसबाट बिरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने जनाइएको छ।रेडियोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलब्ध गराइने भएपनि अरु सेवामा केहि बढी शुल्क लाग्ने छ। यद्यपि निजीको तुलनामा निकै सस्तोमा बिरामीले उपचार पाउने आचार्यको भनाइ छ। अस्पताल स्थापनाका समयमा चिकित्सक कर्मचारीलाई आकर्षक भत्ता उपलब्ध गराइ बाहिर काम गर्न नपाउने व्यवस्था गरिएको थियो। पछि भत्तामा केही कम गरी बाहिर काम गर्न छुट दिइएको थियो। त्यसकै नाममा अस्पतालका चिकित्सक र कर्मचारीले बिरामी बाहिर पठाउने गरेको आरोप लाग्ने गरेको थियो। आचार्यले विस्तारित सेवा अस्पतालमा शुरु भएपछि साँझमा पनि बिरामी बाहिर जानुनपर्ने बताए। विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीले अतिरिक्त रकम पाउने छन्। बिरामीबाट लिइने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलब्ध गराइने छ। झण्डै तीन वर्षअघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो। पछिल्ला समयमा सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ। २० वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन्। गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन्। जसमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ। एक सय शैयबाट शुरु भएको अस्पतालमा हाल ४५० शैया रहेको छ।
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा गएकाले कार्यबाहक राष्ट्रपतिको रुपमा उप–राष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिइएको छ। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी उनलाई तोकिएको जनाइएको छ। नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति पुनबाट सम्पादन हुनेगरी तोकेकी हुन्।
जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले काम अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भने, “जुन लोकप्रिय र प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन।” तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनःगठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए। सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो।रासस
दुई दशकदेखि थुनिएरै कोठामा लमजुङ। यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन्। सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन्। उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको छ। राजुलाई झण्डै १४ वर्षको उमेरबाट कोठामा राख्दै आएको परिवारले जनाएको छ। उनको स्वभाव निकै आक्रमक भएकाले बाहिर छाडेपछि जो कसैलाई आक्रमण गरिहाल्ने समस्याले परिवारजन थप मर्कामा परेका छन्। “उसले आमाबाबु कोही भन्दैन जसलाई पनि जे भेट्छ त्यसले हान्छ”, राजुकी आमा लुरीमायाले भनिन्, “केहीदिन अघि मात्रै बिहान खाना पुर्याउन गएको मलाई टाउकोमा चिर्पटले हान्यो, बाबाले रोक्न खोज्दा उहाँलाई पनि नाकमै बजायो, हामी रगताम्य हुँदै भागेर बाँच्यौँ।” राजुले चिर्पटले हानेर घाउ लागेपछि टाउकोमा १० ओटा टाँका लगाउनु परेकोसमेत लुरीमायाले बताइन्। “खाना दिने बेलामा कहिले त भाग्ने गर्छ र केही दिनसम्म त घरमै आउँदैन। छोरालाई कसैले पिटेर हो कि कतै लडेर हो शरीरभरि घाउ बनाएर घर फर्किन्छ”, बुबा पूर्णबहादुर विक (कामी)ले भने। यति मात्रै होइन कोठाबाट भागेर छोराले छिमेकीलाई समेत कुट्ने गरेको बताउँदै कति चोटि गाउँलेलाई जरिवानासमेत तिर्दैै आएको उनको भनाइ छ। छोरालाई कोठाबाट बाहिर निस्किन नदे भन्दै स्थानीयले भन्ने गरेको र छोराले विध्वंश पार्ने डरले कोठामै राख्नुपरेको आमा लुरीमायाले बताइन्। राजुको मानसिक सन्तुलन मात्रै गुमेको छैन, छारे रोगसमेत रहेको परिवारले जनाएको छ । छोराको उपचारका लागि वडा कार्यालयदेखि जिल्ला समन्वय समिति लगायतमा कुरा राखे पनि समस्याको समाधन केही हुन नसकेको बुबा विकको भनाइ छ । गाउँकै महेन्द्र मन्दिर माविमा ४ कक्षामा पढ्दै गर्दादेखि उसको मानसिक सन्तुलन बिग्रँदै गएको आमाको भनाइ छ । स्कुलमा साथीहरुलाई कुट्ने, पिट्ने र जथाभावी गर्ने जस्ता गतिविधि गर्न थालेपछि विद्यालय छुटाएर घरमै कोठामा राख्ने गरिएको आमाले बताइन्। उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खाना लाउनै धौधौ छ। राजुको उपचारका लागि परिवारले पर्याप्त खर्च गर्न नसक्दा उनी लामो समयदेखि कष्टकर जीवन विताउन बाध्य छन्। “पैसा भएको भए राम्रो अस्पतालमा लगेर स्वास्थ्य जाँच गर्न पाए ठिक हुने थियो होला, कसैले सहयोग गर्दिए म धेरै भाग्यमानी र खुसी हुने थिएँ”, आमा लुरीमायाले भनिन्, “उपचार गर्न नसके पनि कतै छोरालाई खाना र बस्ने ठाउँको व्यवस्था भए त्यहीँ पठाउनुहुन्थ्यो, छोरालाई पनि राम्रो अनि हामी आमा बाबुलाई पनि ढुक्क हुन्थ्यो ।” लुरीमायाको चार छोरा र दुई छोरी छन्। मानसिक सन्तुलन ठिक नभएको राजु माइलो छोरो हुन्। राजु बाहेक सबैजनाले विवाह गरेर कोही कतै कोही कतै पुगेका छन् । घरमा आमा लुरीमाया, बाबा पूर्णबहादुर र राजु मात्रै छन्। बुढाबुढीले कामकाज गर्दै परिवार चलाउँदै आएको बुबा पूर्णबहादुरले बताए।
‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरणीय भएको बताएका छन्। सर्बियाको बेलग्रेडमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४१ औँ सम्मेलनअन्तर्गत ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणः संसदको भूमिका र संयन्त्र तथा क्षेत्रीय सहकार्यको योगदान’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले दशवर्षे द्वन्द्व समाधान गरी जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट संविधान निर्माण गर्दै स्थायित्वको मार्गमा अगाडि बढेको बताए। अन्तर्राष्ट्रिय कानूनले अन्तर्राष्ट्रिय सरोकार र नीति निर्माणका विषयमा सहयोग गर्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा आपसी सञ्चार र समझदारी अभिवृद्धिको सफल माध्यम बनेको बताए। ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणले आ–आफ्नो मुलुकमा क्षेत्रीय र विश्वको समानान्तर रुपले उन्नति एवं प्रगति गर्ने विश्वास लिएको छु,’ उनले भने। नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी रहेको अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए। यही अक्टोबर १३ देखि शुरु भएको सम्मेलन १७ अक्टोबरसम्म चल्नेछ। नेपाललगायत १७१ राष्ट्रका सांसद र अन्य ११ एसोसिएट सदस्य राष्ट्र सम्मेलनमा सहभागी छन्। रासस
आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने काठमाडौं । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएको छ। बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उनले सम्बोधन गर्ने श्रम मन्त्रालयले जनाएको छ। नेपाल आबुधावी डायलगको सदस्य मुलुक हो। बैठकमा सहभागी हुन मन्त्री विष्ट आजै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन्। प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गाना हुन्। उक्त छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ। त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि छलफल हुनेछ। डायलगमा श्रमिक पठाउने देशहरु नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, म्यानमा, थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश र भियतनाम सहभागी हुने बताइएको छ। त्यस्तै श्रमिक लिने देश यूएई, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन र यमन पनि सहभागी हुनेछन्।रासस
हुण्डी कारोवारको १३ लाख बरामद काठमाडौं । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला परेको हो। यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायले बोकेको झोला जाँच गर्दा १० लाखसहित विभिन्न बैंकको चेकबुकसहित सोमबार साँझ पक्राउ गरेको छ। दुवै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ।
सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : मुख्यमन्त्री पोखरेल काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। उनले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढङ्गले अघि बढ्ने बताए। चीनको छेन्दूमा विकास र सहकार्यका लागि बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे। “दुई मुलुकबीच भाइभाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौँ”, उनले भने, “हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ।” उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको बीआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बीआरआई महत्वपूर्ण रहेको बताए। सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गरे। सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए। सिचुवान र प्रदेश ५ बीच तीन महीनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो।
बमकाण्डका आरोपी मोहम्मद आलमको म्याद ७ दिन थप काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ। अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो। विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्याएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताए। अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध र पानीको पानी’ चाँडै छुट्टिने प्रतिक्रिया दिए। उनले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि कुरा गर्ने बताए। म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्याइएको छ। यता आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ। जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षका श्रीनारायण सिंहले घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताए। ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उनको भनाइ छ। भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारवाही गर्नुपर्ने उनको माग छ।रासस
गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख काठमाडौं । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ। सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए। गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो। गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पुर्याइएको हो। अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ। उनले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए। निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको सात लाख, महासचिवको छ लाख, सचिव र कोषाध्यक्षको पाँच लाख, सहकोषाध्यक्षको चार लाख, महिला तथा युवा संयोजकको तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ । सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ। ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ। सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ। कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ। निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ। उनले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन्।रासस
जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो‍‍‍… काठमाडौं । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो। राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो। यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो। कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो। तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो। दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन, २०७६ मा सहभागी हुन नेपाल आएका विदेशी साहित्य अनुरागी पनि नेपाली कला संस्कृतिको अवलोकन गर्न व्यग्र प्रतिक्षामा थिए। नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मेलनमा सहभागी हुन काठमाडौँ आएको स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। साँझ ५ बजेका लागि कार्यक्रम आयोजना गरिए पनि तयारी स्वरुप केही समय ढिला भएको थियो। प्रतिष्ठान परिसरमा उपस्थित साहित्य अनुरागीभित्र हलमा प्रवेश गर्दा पर्दा बन्द थियो। साहित्यप्रेमी कतिबेला पर्दा खुल्छ र कला संस्कृतिमा रम्न पाइन्छ भनेर व्यग्र प्रतिक्षामा थिए। झण्डै आधा घन्टा ढिला गरी हलको पर्दा खुल्यो, पर्दाभित्र समग्र नेपालको ग्रामीण भेगको वस्तुस्थित झल्कने गरी घरको स्वरुप दिइएको थियो। लाग्थ्यो प्रतिष्ठानको हलभित्रै ग्रामीण भेग हुने घर टपक्कै टिपेर ल्याइएको छ। खरको छाना। पिँढीको खाँबो, झ्याल र ढोकामा ‘खोटो’ दलिएको, छानामाथि नाङ्ग्लामा गुन्द्रक, खुर्सानी सुकाइएको, पिँढीको ‘बलो’मा मकैको झुत्ता झुण्डयाइएको, अनि उज्यालोका लागि ‘लालटिन’ बालिएको, पिँढीमा जाँतो, डोको…यस्तैयस्तै। विदेशीका माझ ती ग्रामीण पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमूना नै थिए। तीनै घरको पिँढीमा कलाकार बाद्यवादनको साधनसहित तम्तयारी अवस्थमा बसेका थिए। प्रतिष्ठानको सिङ्गो टोली अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति विदेशी साहित्यकारलाई देखाउन आतुर थियो। प्रतिष्ठानकै आयोजनामा गरिएको सो सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला संस्कृति झल्कने कलाकृति र नृत्य प्रस्तुत गरेका थिए। नेपालको सांस्कृतिक वैभव पस्केका थिए। पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो। मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, संगीत तथा नृत्यले विदेशी पाहुँनामाझ नेपाल कला संस्कृतिकमा निकै धनी भएको प्रतीत गरेको थियो। पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो। सास्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने साहित्य अनुरागीको भनाइ थियो। कार्यत्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एशियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गरे। सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ। आगामी कात्तिक ३ गतेसम्मे चल्ने सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ। सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ। असोज ३० गते चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ। यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो। साँझ छिप्पिसकेको थियो। हुड्केली नृत्यले तातेका साहित्यप्रेमी प्रतिष्ठानको हलबाट बाहिरिँदै गर्दा भन्दै थिए, “बाहिर कस्तो चिसो भइसके छ।” रासस
डिन अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्ने तयारीमा काठमाडौं । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घटनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डिन अग्रवालमाथि दलिएको कालो मोसोको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताए । उनले भने, ‘भ्रष्टहरु विरुद्धको यो लडाई लड्दै गर्दा देशमा कानून छ, यसको पालना गर्नुपर्छ । कानूनको सम्मान र रक्षा पनि गर्नुपर्छ भन्नेमा म सजग छु । कानूनको सम्मान र पालना गर्नुपर्छ भनेर नै म यस प्रेस विज्ञप्तीसहित आज तपाईहरुको सामू उपस्थित् भएको छु ।’ थापाले कालोमोसो दल्न रहर नभएको बताउँदै भने, ‘यो समय र अवस्थाले निम्त्याएको बाध्यता थियो । अरु विकल्प सोच्न र खोज्न तत्कालिन् अवस्थामा सम्भव थिएन् ।’ थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘शिक्षा, स्वास्थ, रोजगार हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्वविदितै छ । शिक्षा र स्वास्थ सेवालाई निःशुल्क, सर्बसुलभ, गुणस्तरीय, मर्यादित बनाई नेपाली जनताले यसलाई मौलिक अधिकारका रूपमा प्रत्यक्ष अनुभव गर्नसक्ने वातावरणको निर्माणार्थ केन्द्रित छौँ।’ स्वास्थ, शिक्षा र रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति सरकारले नदिलाएसम्म आफूहरु निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु निरन्तर अगाडि बढाईरहनेपनि थापाको जिकिर छ । उनले आफूले संघर्षकै क्रममा दुईपटक आफ्नो ज्यानको बाजी राखेर (सत्याग्रह) आमरण अनशनमा बसेको पनि बताए । थापाले आफूले अघि सारेका मागहरू पनि सार्वजनिक गरेका छन् । उनकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकारको उपयोग गर्नसक्ने ग्यारेन्टीको प्रत्याभूति दिलाईनुपर्ने, काठमाडौं उपत्यकाबाहिर तत्काल् मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरण को निर्माण गरिनुपर्ने, बाङ्लादेशबाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका (१८) अठार जना डाक्टरहरुको परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको ब्यबस्था गरिनुपर्ने लगायत छन् । त्यस्तै, उनले सरकारी तलबभत्ता, सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरि कडाभन्दा कडा कारबाही गरिनुपर्ने पनि आफूहरुको अर्को मुख्य माग रहेको सुनाए । आन्दोलन र अनशनका नाममा अनेकौं नाटक मन्चन गरि स्वास्थ संस्थाजस्तो अत्यन्तै संवेदशनी क्षेत्रलाईनै ठप्प पारी बन्धक बनाएर बार्गेनिङ गर्ने डाक्टर गोबिन्द केसी र भ्रष्ट डिन जगदीश अग्रवालसहितको अराजक झुंडहरुलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गरिनुपर्ने उनको माग छ । उनले अघि सारेका मागहरुमा प्लस टु माथीको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरि अध्ययन का नाममा वर्षैनि देशबाहिर बिदेशीने गरेको (७०)सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बाताबरणको निर्माण गरिनुपर्ने, स्वदेशमै लगानी गरि रोजगारी सिर्जना गरेर यो देशको रास्ट्रिय पुँजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़ संकल्पित उद्योगी, व्यावसायिहरुलाई प्राथमिकता राखेर लगानी गर्ने वातावरणको निर्माण गरि लगानी सुरक्षित गरिदिने वातावरणको निर्माण गरिनुपर्ने पनि रहेका छन्। केही समय पहिले विद्यार्थीहरुले विभिन्न आठ बुँदे माग राखी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)को डिन कार्यलय र परिक्षा नियन्त्रण शाखामा लगाएको तालाबन्दी, विभिन्न मेडिकल कलेजबाट पीडित विद्यार्थीहरुको आन्दोलनप्रति विद्यार्थीहरुको सम्पुर्ण संघर्षका कार्यक्रमहरुप्रति पनि आफूहरुको प्रत्यक्ष सहभागिता र समर्थन सहितको एक्यवद्धता रहेको थापाले जनाए । उनले भने,‘ती आन्दोलनमा हाम्रो समर्थन र साथ थियो । अहिलेपनि छ र यो रहिरहने छ । हामीले बिगतदेखिनै चिकित्साशिक्षा ऐनले ब्यवस्था गरेको ७५५ प्रतिशत छात्रवृत्तिको प्राबधान लागु हुनुपर्छ, मेडिकल कलेजहरुले विभिन्न शिर्षकमा उठाउदै आएको मनोमानी शुल्क फिर्ता गरि उक्त मेडिकल कलेज उपर कारबाही हुनुपर्छ, तत्काल शक्तिशाली स्वतन्त्र चिकित्सा शिक्षा आयोगले पूर्णता पाउनुपर्छ, नेपालमा पहिलोपटक डिन जगदीश अग्रवालकै पालामा एमबिबिएस परीक्षाको प्रश्नपत्र परीक्षाअगावै पैसाको चलखेलमा बेचिएको घट्नामा डिन अग्रवालमाथी छानबिन हुनुपर्छ ।’ डिन जगदीश अग्रवालको शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिन गर्नुपर्ने आफूहरुको पूर्ववत माग अहिलेपनि यथावत रहेको थापाको जिकिर छ। उनले भने, ‘डिन जगदीश अग्रवालको नागरिकता छानबिन हुनुपर्छ । हामीले यो मागसहित निरन्तर रूपमा सरकारलाई शान्तिपुर्ण तवरमा दबाब दिँदै आइरहेका थियौ । तर, हाम्रो आवाज यहाँपनि सुनिएन। पटकपटक सरोकारवाला निकाय (त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान् (आइओएम) का डिन अग्रवाललाई विद्यार्थीहरुको समस्याहरुको विषयमा, डिन जगदीश अग्रवालमाथि नै उब्जिएका विभिन्न गम्भीर प्रकारका नैतिक प्रश्नहरुका विषयमा यिनै (आइओएम) डिनलाई नै हामीले ज्ञापनपत्र बुझाउदा च्यातेर फ्यालिदिनेसम्मका हर्कत देखाउनुभयो। जगदीश अग्रवाज्ञापनपत्र उहाँले कागजमात्रै सोच्नुभयो ।’ उनले हिजोमात्रै सरकारी सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका डा. गोविन्द केसीलाई ठगको संज्ञा दिए । केसीले नेपाली विद्यार्थीहरुलाई विदेश पढ्न पठाउन बाध्य गरेको उनको आरोप छ । उनले भने,‘नेपालमा मेडिकल कलेज खोल्न नदिने, आमरण अनशनको नाटक मञ्चन गर्नेहरुविरुद्ध हामी निरन्तर संघर्ष गर्छौं । यसको लागि बरु परे पटक पटक जेल जान्छौं । भ्रष्टहरुको दिनगिन्ती सुरु गरिसकेका छौं ।’
शुभेच्छा थापाको चलचित्र ‘लक्ष्मी रानी’ कार्तिक १ बाट देशभर प्रदर्शन हुँदै काठमाडौं । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ कात्तिक १ गतेदेखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ। नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ। शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन्। यहि कात्तिक १ गते तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा रहेको छ। नारी विषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ले नेपाली चलचित्र उधोगमा नयाँ आयाम थप्नेमा निर्माण पक्ष ढुक्क भएको छ। शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो। चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन्। यो चलचित्र बिशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ। ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो। उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन्। यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ। द्धन्द्ध, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन्। चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन्। ‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ। नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ। अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन्। चलचित्रमा ‘लक्ष्मी रानी लाई ‘।’ भन्ने वोलको शीर्ष गीत रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गितकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री‘।’ भन्ने वोलको गितमा गायक गायिका ध्रुबराज अधिकारीरसंगिता तिमिल्सेना र गितकार शंकर अधिकारी ‘घायल’ रहेका छन्। दुवै गीतमा चर्चित युवा संगीतकार बबुल गिरीको संगित रहेको छ। चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन्। सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ। चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रालिले जिम्मा लिएको छ। चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रर्दशनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ। ‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको थियो। यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जिवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन्। नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थ्रु गर्नेछ, उनले भनिन्। यहि तिहारमा प्रर्दशनमा आउने ‘लक्ष्मी रानी’ चलचित्र हेर्न सम्पूर्ण नेपालीलाई निर्देशक थापाले आग्रह समेत गरेकी छिन्।
विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदैआएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको छ। उनले सङ्घीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदानप्रदान गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने भएका छन्। साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री डा खतिवडाले गर्ने कार्यक्रम तय भएको छ। प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी हुनेछन्। अर्थमन्त्री डा खतिवडा कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ। रासस
महराको अदालत देखि अस्पतालसम्मका दृश्य (भिडियो) काठमाडौं। जिल्ला अदालत काठमाडौंको परिसरमा गाडीबाट झर्दै गरेका कृष्णबहादुर महरालाई हेर्नेको भिड थियो। यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज मङ्गलबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो। गाडिबाट ओर्लिंदा पत्रकारका क्यामेरा छल्न उनले प्रयास गरेका थिए। सुरक्षाकर्मीको घेरामा महराको अदालत देखि अस्पताल पुग्दाका दृश्य कैद गर्न पत्रकारलाई हम्मे परेको थियो। अदालतले ३ दिन थुनामा राख्न आदेश दिएपछि उनी जसरी अदालत पुगेका थिए उस्तै सुरक्षा घेरा सहित महरा गाडी चढेर अदालतबाट बाहिरिएका थिए। भिडियोमा हेर्नुस्ः
रारादेखि छायाँनाथ धामसम्म हेलिकोप्टर सेवा शुरु मुगु । दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायानाथ धामहवाई प्याकेजको मंगलवार परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षितगरी मंगलवार सदरमुकाम गमगढीदेखि छायानाथसम्म सिम्रिक एयरको नाईन एनएएलपिकल साईन हेलिकप्टरबाट परीक्षण उडान सम्पन्न गरिएको हो । परीक्षण उडानका क्रममा प्रतिनिधिसभा संसदका सदस्य गोपालबहादुर बम, कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको टोली रारा छायानाथ प्याकेजको परीक्षण उडानमा सहभागि भएका थिए। परीक्षण उडानपछि गमगढीमा संक्षिप्त प्रतिक्रियादिदै प्रतिनिधिसभा सदस्य बमले अबमुगुको पर्यटकीय स्थल रारा मात्रै नभएर धार्मिक स्थल छायानाथ माथिल्लो मुगु पनि पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत हुन सक्ने बताए । रारा घुम्न आउने पर्यटकले रारामा स्नान गरि पवित्र तीर्थस्थल छायानाथ घुम्न चाहेमा हेलिकप्टर प्याकेज सञ्चालन गरिनु पर्यटन प्रर्बद्धनमा निकै सहयोग मिल्ने बमको भनाई छ। विशेष गरि छायानाथ धामबौद्ध धर्मालम्वी र हिन्दु धर्मालम्वीहरुले आ–आफ्नै शैलीमा पुज्ने भएकाले पनि धार्मिक पर्यटनको निकै सम्भावना भएको उनले बताए । नेपाल भ्रमण वर्षमा रारा छायानाथ प्याकेज मात्रै नभई से–फोक्सुण्डो रारा, रिभर टु रिभर, कान्जिरोवा–सैपाल माउण्टेन फ्लाईट, रारा सिमिकोट हिल्सा टुर्सलगायतका कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्कीले बताए। यस्ता प्याकेजले समग्र कर्णालीको पर्यटनको प्रर्बद्धनमा सहयोग पुग्ने दावी गरे। दुई महिना अघि साउनबाट प्याकेज सञ्चालनगर्ने भनिएपनिप्रतिकुलमौसमकाकारण प्याकेज सञ्चालन हुन नसकेको उपयुक्त मौसम असोजदेखि जेठसम्म हवाई प्याकेज उपयुक्त देखिएको कार्कीको भनाई छ।राराबाट छायानाथ पुगेर पुनः रारा फर्किन एक पटकमा चारदेखि पाँचजना हेलिकप्टरमा जान सक्ने देखिएको सिम्रिक एयरका चालक हरेराम थापाले बताए । प्याकेज शुल्क राराबाट छायाँनाथ र छायाँनाथबाट रारा पुग्न ३० मिनेटको समय लाग्ने गर्दछ भने प्याकेजका लागि २५ देखि ३५ हजार खर्च लाग्ने जनाईएको छ। छायाँनाथ पुग्दा सम्म मुगुकमारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका मनोरम रमणीय स्थलकोे पनि अवलोकन गर्न सकिने बताईएको छ । छायाँनाथ धामको धार्मिक कथन छायाँनाथ धाम कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायानाथ धाम पुस्तौंदेखि नै दुई धर्मालम्बीको संगमस्थल बनेको छ ।  छायानाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दु धर्मालम्वीले आ–आफनै विश्लेषण र तर्क गरिरहेका छन् । मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीनदिनको पैदल यात्रापछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँचहजार मिटर माथिको उचाइमा अवस्थित छ। केदार नाथ, बद्रिनाथ, पशुपतिनाथभन्दा छायानाथलाई जेठो धामका रुपमा मानिन्छ भने यसको अर्को स्वरुप मानसरोवर पनि हो । छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवालगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले शति देवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिबिम्ब रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थ स्थलका रुपमामान्ने गर्दछन् । हरेक १२ वर्षमाबाँदर वर्षका रुपमाबौद्ध धर्मालम्वीले छायाँनाथको जन्मवर्ष मनाउने गर्दछन्। यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बालबच्चा सबै छायानाथ जाने गर्दछन् । छायाँनाथमा पुगेर नाचगान पुजा पाठ गर्ने पनि गर्दछन्। यताहिन्दु धर्मालम्बीले पनि जनै पूर्णिमाका बेला नै छायानाथमा पुगेर, शिव, महादेवको रुप मानेर पुजापाठ गर्ने, आ–आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन् छायानाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायानाथ पुग्न नसकेककाहरूलाई जलदिने गर्दछन् । देवी देवताका मूर्तिहरू छायानाथबाट शुद्ध पारेर ल्याएपछि जनै पूर्णिमाको विहान आफ्नो गाउँमा पुगेर देवी देवताको पूजापाठ र धामी नाच्ने बैदिक परम्परा छ । धार्मिक ग्रन्थ किवंदन्तीअनुसार महादेवले शति देवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शति देवीको अन्तिम शेष पतन भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दुको पवित्र धाम मानिएको विश्वास गरिदै आएको छ । छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवी देवता पाइने र पुण्य कमाउने भन्दै हजारौं तीर्थ यात्री छायानाथ पुग्ने गर्दछन् । भारतको काशीजानु पहिले छायानाथको दर्शन गर्नु पर्ने हिन्दुहरूको मान्यता छ। कासी दर्शन गर्न जाँदात्यहाका पण्डितले छायानाथ गएको छ की छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायानाथको प्रति कबनाएर दर्शन गराएपछि मात्र कासीको दर्शन गराउने गरेको ब्राह्माणको भनाई छ ।
चिनियाँ राष्ट्रपतिको सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै एआइजिपीद्वारा धन्यवाद व्यक्त काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा धन्यवाद दिएका छन्। प्रधानमन्त्री, गृहमन्त्री एवम् चीन सरकारबाट समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘यसको हकदार संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन्।’ सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरीकाले अगाडि बढ्न निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘सबल टिम, सामूहिक भावना र आ–आफ्नो भूमिका पुरा गर्नमा नै सफलता छ, त्यो सबैले बुझ्नुपर्छ।’ संगठनलाई उत्कृष्ट बनाउन व्यवसायिकताका साथ झन बढी जिम्मेवार भएर राज्यले दिएको दायित्व रचनात्मक रुपमा सम्पादन गर्न अग्रसर हुनुपर्ने उनले बताए। स्पष्ट र स्वच्छ तरीकाले नागरिक सेवा दिने कार्य समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समेटेको उल्लेख गर्दै उनले यस कार्यक्रमलाई सक्रिय रुपमा अगाडि लैजानुपर्ने बताए। अपराध विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै समाजमा हुने आवाञ्छित गतिबिधि नियन्त्रणमा कानूनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई अगाडि बढ्न उनले निर्देशन समेत दिए। साथै नजिकिंदै गरेका महान चाड शुभ दीपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए। कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरुलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी काठमाडौं । सरकारले ३९ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाउने भएको छ । कृषि विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भोली असोज २९ गते (अक्टोबर १६ तारिक) का दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने जानकारी गराएको हो। ‘पहलः स्वस्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नाराका साथ भोली ३९ औं विश्व खाद्य दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले जानकारी दिए। कार्यक्रम अनुसार भोली (बुधबार) बिहान सो दिवसको अवसर पारेर बिहान ८ बजेदेखि १० बजेसम्म ललितपुरको हरिहर भवनदेखि जावलाखेल र जावलाखेलदेखि हरिहरभवनसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी १० बजेदेखि २ बजेसम्म कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यमा विश्व खाद्य सम्बन्धि औपचारिक कार्यक्रम आयोजना हुने पनि विभागका महानिर्देशक पौडेलले बताए। नेपालले खाद्य सुरक्षाको महत्व उजागर गर्ने उद्देश्यका साथ सन् १९८१ देखि सो दिवसमा राष्ट्रिय रुपमा मनाउँदै आएको छ।
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्ध सगरमाथाझैं उचाई र सागरझैं गहिराईमा पुर्याएको छ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सगरमाथाझैं उच्च र सागरझैं गहिराईमा पुर्याएको बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको पनि बताए। त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे। उनले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न सबैलाई आग्रहसमेत गरेका छन्। मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने सो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए।
नेपालकाे जलविद्युतमा लगानी गर्न एनआरएनलाई अर्थमन्त्री खतिवडाको आग्रह काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए। गैर आवासीय नेपाली संघको मंगलबारबाट काठमाडौंमा सुरु भएको नवौं विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्व लगानीको अपेक्षा गरिएको पनि बताए। अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यक्तामा सरकारले जोड दिएको पनि स्पष्ट पारे। त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंशा पनि गरे। कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरे। उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिए। काँग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तीव्रता दिनुपर्ने आवश्यक्ता औंल्याए।
२५ सय अमेरिकी डलरको अनेसास पुरस्कार डा. लुइँटेललाई काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ। तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा. डा. लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि दुई हजार ५०० अमेरिकी डलर छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा, साहित्यको विकास र अन्तरराष्ट्रिय करणका साथै अनेसासको वृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ । नेपाली भाषा साहित्यको विकासमा अनवरत रुपमा लागेर आप्रवासमा नेपाली भाषा, साहित्यको विस्तार, संवद्र्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरणमा गरेको भूमिकाका आधारमा यस्तो निर्णय गरिएको उक्त समितिले जनाएको छ । अमेरिकाको क्यालफोर्निया निवासी लामाले स्थापना गरेको सो पुरस्कार यसअघि सन् २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । आगामी नोबेम्बर १० मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। रासस
मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल एजेन्सी। स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले  फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । दुवै हाफमा ३-३ गोल गरेको अर्जेन्टिनाका लागि लुकास अलारियोले २० औं मिनेटमा गरेको गोलले नै टोलीलाई अग्रता दिलायो। इक्वेडरका जोन एस्पिनोजाले खेलको २७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले २-० को अग्रता लियो । ३२औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपछि लियान्ड्रो पारेडेसले टिमको लागि अर्को गोल जोडे। दोस्रो हाफमा इक्वेडरका एन्जल मीनाले ४९ औं मिनेटमा गोल फर्काए । ६६ औ मिनेटमा जर्मन पेजेलाले अर्जेन्टिनाका लागि चौथो गोल गरे । निकोलास डोमिन्मुएजले ८२ औ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ५–१ ले अघि बढाए । खेल सकिन ४ मिनेट बाकीँ रहँदा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई ६–१ गोलको फराकिलो जित दिलाए। कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन्। कोपा अमेरिकाको दौरानमा कप्तान मेस्सी तिन महिनाका लागि प्रतिबन्धमा परेका थिए । उनी अर्को महिनाबाट टोलीमा फर्कने विश्वास गरिएको छ।
भारतमा आजदेखि नेपाल र भारतका ऊर्जा सचिवको बैठक शुरु हुँदै काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ। ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा उक्त बैठकले तय गर्ने नेपाली अधिकारीले विश्वास राखेका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने तय भएको छ। यस्तै सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद्को यही असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायतका अधिकारीलाई स्वीकृति दिएको थियो। नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन गत भदौ २६ गते यहाँ आएका भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरेको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रसारण लाइनको ढाँचा, निर्माण लागतलगायतका विषयलाई शीघ्र टुङ्गोमा पु–याइ निर्माण शुरु गर्ने सहमति भएको थियो । संयुक्त निर्देशक समितिको बैठकमासमेत सहभागी हुन जाने तयारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरेका अनुसार दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयलाई केन्द्रमा राखेर छलफल हुने र सहमति हुने विश्वास छ। सो प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण गर्ने तयारी छ। सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै सहमति हुन सकेको थिएन।
सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गरिने रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्नेभएको छ। निकुञ्जको वार्षिक कार्यक्रमअनुसार सौराहामा रहेको सम्पर्क कार्यालयमा डिजिटल डिसप्लेसहित आधुनिक सूचना केन्द्र स्थापना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए। केन्द्र निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रु एक करोड विनियोजन गरेको छ । सूचना अधिकारी घिमिरेकाअनुसार रु ६० लाखमा भवन निर्माण गरिने छ भने रु ४० लाखमा आठ वटा डिजिटल डिसप्ले, पुस्तक, ब्रुसर र अन्य उपयोगी सामग्री राखिने छ । नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । भ्रमण वर्ष आउन केही समय रहेकाले केन्द्र निर्माण गर्न निकुञ्जले सक्रियता बढाएको छ । केन्द्रमा निकुञ्जभित्र प्रवेश सम्पूर्ण अवस्थाको बारेमा अध्ययन गर्न सकिने छ । छोटो भ्रमणमा आउनेहरुले आफू जान नसकेका ठाउँहरुको बारेमा पनि जानकारी लिन सक्ने छन् । केन्द्रले निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पति र जनवारको विषेशताको बारेमा पर्यटकलाई जानकारी दिएसँगै यसको विश्वव्यापी प्रचारप्रसार हुने निकुञ्जको विश्वास छ।रासस
राष्ट्रपति सीको राजकीय भ्रमण सम्पन्न, नेपाल-चीन सम्बन्ध नयाँ युगमा प्रवेश काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ। यो भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन्। भ्रमण सम्पन्न भएपछि दुई मुलुकले आज जारी गरेको एक संयुक्त विज्ञप्तिमा यस अवधिमा राष्ट्रपति सीले नेपाली समकक्षी विद्या भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको, राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सरिक भएको र न्यानो तथा सौहार्दपूर्ण वातावरणमा दुई मुलुकका नेताहरु आपसी सम्बन्ध तथा चासोका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा गहन दृष्टिकोण आदान प्रदान गरी व्यापक समझदारीमा पुगेको उल्लेख गरिएको छ। “दुई मुलुकबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यस सम्बन्धले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन भोगेको, निरन्तर तथा स्वस्थ्य ढङ्गले विकास प्राप्त गरेको र विभिन्न आकारका दुई मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वका नमूना प्रस्तुत गरेको भनी दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। दुवै पक्षले दुई मुलुकबीच दुई पक्षीय सम्बन्ध समानता, सौहाद्र्रपूर्ण, सहअस्तित्व र निरन्तर मित्रता र एकीकृत सहयोगका रुपमा चित्रित गर्न सकिने भनी स्वीकार गरेका छन्”, विज्ञप्तिमा भनिएको छ। नेपाल तथा चीनले क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसिएटिभ) लाई सबै क्षेत्रमा एकीकृत रुपमा आपसी फाइदाका सहयोगलाई गहन बनाउने, साझा समृद्धि प्राप्त गर्न संयुक्त रुपमा प्रयास गर्ने तथा यस क्षेत्रमा शान्ति, स्थायित्व तथा विकास कायम गर्न आफूलाई लागि पराउने महत्वपूर्ण अवसरको रुपमा लिएका छन्। नेपाल र चीनबीच दुई पक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ। दुबै पक्षले शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको घोषणापत्र, असल छिमेकका सिद्धान्तका साथै निरन्तर मित्रताका आधारमा विकास तथा समृद्धिका लागि नेपाल चीनबीच रणनीतिक र एकीकृत साझेदारी कायम गर्ने निर्णय गरेका छन्। “दुवै पक्षले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने तथा एकअर्काको चासो एवं मूल अभिरुचिलाई सम्मान गर्ने कुरामा सहमति व्यक्त गरेका छन्। दुवै पक्षले असल छिमेकका नीतिलाई पालना गर्दै आपसी फाइदा प्राप्त गर्न तथा मिलेरै स्थिरता तथा विकासका लागि प्रयास गर्न सहविजेताका रुपमा समग्र सहयोगलाई गहन बनाउने छन्”, विज्ञप्तिमा भनिएको छ। नेपाली पक्षले एक चीन नीतिप्रति दृढ वचनबद्धता तथा ताइवान चिनियाँ क्षेत्रको अविच्छिन्न भाग भएको, तिब्बत मामिला चीनको आन्तरिक विषय भएको र आफ्नो भूमिमा चीन विरोधी गतिविधि हुन नदिने दृढता दोहोर्याएको छ। चिनियाँ पक्षले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता कायम गर्न नेपाललाई दृढ सहयोग गर्ने तथा नेपालको राष्ट्रिय परिस्थितिमा स्वतन्त्रतापूर्ण छनोट गरिएको नेपालको सामाजिक प्रणाली तथा विकासका मार्गलाई दृढ सहयोग तथा सम्मान गर्ने दृढता दोहोर्याएको छ। “चिनियाँ पक्षले नेपाललाई ऐतिहासिक तथा युगान्तकारी राजनीतिक सङ्क्रमण तथा उसको दु्रत आर्थिक तथा सामाजिक विकासका लागि बधाई व्यक्त गरेको छ। उसले नेपाली जनता एकबद्ध भएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार गर्नेतर्फ अगाडि बढ्नेछन् र यसबाट राजनीतिक स्थिरता, सामाजिक समन्वय तथा द्रुत आर्थिक विकास प्राप्त हुने विश्वास गरेको छ। शासन व्यवस्थाका अनुभवमा नेपाली पक्षसँग निरन्तर अन्तरक्रिया गर्न चिनियाँ पक्षले चाहना व्यक्त गरेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली पक्षले जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा बधाई ज्ञापन गरेको छ। बितेका ७० वर्षको अवधिमा विकासका क्षेत्रमा चीनले हासिल गरेको आश्चर्यजनक प्रगतिको सराहना गरेको छ। नेपालले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिनियाँ प्रकृतिको समाजवादमार्फत नयाँ युगमा प्रवेश होस् र चिनियाँ जनताले दुई शताब्दीको विकास लक्ष्य प्राप्त गर्न प्रयास गरी चीनलाई महान्, आधुनिक–सामाजिक, समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिकरुपमा आधुनिक, समन्वयपूर्ण तथा सुन्दर मुलुक बनाउन सकुन् भन्ने हार्दिक कामना गरेको छ। “दुवै पक्षले दुईपक्षीय सम्बन्ध विकासका लागि उच्चस्तरीय सम्पर्क विशेष महत्वपूर्ण भएको बुझेका छन्। दुवै पक्षले उच्चस्तरीय भ्रमणको गति कायम गर्न, आपसी विश्वास गहन बनाउन, मन्त्रालय, विभाग, संसद् तथा राजनीतिक दलका सबै तहमा भ्रमण आदानप्रदान तथा सहयोग विस्तार गर्न सहमति व्यक्त गरेका छन्”, विज्ञप्तिमा भनिएको छ। नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्य आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका ‘एजेण्डा’लाई महत्वपूर्णरुपमा सहयोग गर्न हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना विस्तार गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका लागि सझदारीपत्रलाई गहनरुपमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन्। सन् २०१८ को जुन २१ मा दुई मुलुकबीच हस्ताक्षर भएको ‘रेलमार्ग परियोजनामा सहयोग’ विषयक सहमतिपत्रलाई स्मरण गर्दै दुवै पक्षले अन्तरसीमा रेलमार्ग निर्माण गर्ने कार्य आरम्भ गर्न महत्वपूर्ण जग राख्ने सन् २०१९ को अक्टोबर १३ मा भएको सहमतिपत्रमा उल्लेख गरिएको सम्भाव्यता अध्ययन गर्ने सहमति व्यक्त गरेका छन्। दुवै पक्षले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनामा सहयोग विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएका छन्। दुवै पक्षले झाङ्मु÷खासा बन्दरगाहको ढुवानी कार्यलाई पुनःखोल्ने तथा पुनःस्थापना गर्ने कामलाई स्वागत गर्दै जिलोङ÷केरुङ बन्दरगाहको कामलाई अधिकतम बनाउनेछन् तथा लिजी÷नेचुङ बन्दरगाहलाई सकेसम्म छिटो समयमा खुला गर्नेछन् र सीमाको नेपाली भागमा आवश्यक आधारभूत संरचना निर्माण गर्नेछन्। “दुवै पक्षले माल ढुवानीका लागि चीनको तिब्बतमा नेपालले राजमार्ग उपयोग गर्नेसम्बन्धी प्रोटोकल तथा पारगमन यातायातसम्बन्धी समझौताको प्रोटोकल कार्यान्वयनलाई निरन्तर दिनेछन्। अरनिको राजमार्गको दीर्घकालीन सञ्चालनलाई कायम राख्ने आधारमा दुवै पक्षले चरणबद्धरुपमा प्राथमिकताका आधारमा राजमार्गको सुधारीकरण तथा पुनःनिर्माणमा सहयोग गर्ने सहमति गरेका छन्। स्याफ्रुबेंसी–रसुवागढी राजमार्ग मर्मत आरम्भ गर्न चिनियाँ पक्षले आफ्नो तत्परता व्यक्त गरेको छ”, विज्ञप्तिमा भनिएको छ। दुई मुलुकबीच सम्पर्कको स्तर विस्तार गर्नुपर्ने महत्व अनुभव गर्दै दुवै पक्षले जिलोङ÷केरुङदेखि काठमाडौँसम्मको मार्गमा सुरुङ निर्माण गर्ने सम्भाव्यता अध्ययन गर्ने कुरामा सक्रियतापूर्वक सहयोग गर्न सहमति जनाएका छन्। “कोशी राजमार्गको किमाथाङ्का–लेगुवाघाट भागको निर्माणका लागि नेपाली पक्षले गरेको अनुरोधलाई चिनियाँ पक्षले नोट लिएको छ तथा भविष्यको सहयोग योजनामा यस परियोजनामा विचार गर्न सहमति व्यक्त गरेको छ र नेपाली पक्षलाई यसको विस्तृत प्रस्ताव प्रस्तुत गर्न आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ। दुवै पक्षले रोजगारी सिर्जना गर्न, स्थानीय जीविका सुधार गर्न तथा आर्थिक वृद्धि तथा विकासका लागि कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर तथा कर्णाली आर्थिक करिडोरका रुपमा रहेको उत्तर–दक्षिण करिडोरको विकास गर्न सन् २०१८ को जुन २१ मा बेइजिङमा जारी भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको विषयमा सम्भाव्यता अध्ययन गर्ने कार्यलाई अगाडि बढाउने कुरा दोहो¥याएका छन्। चिनियाँ पक्षले रेलमार्ग, सडक तथा सुरुङ इञ्जिनीयरिङका साथै आन्तरिक जलमार्ग तथा ‘सिपिङ’का क्षेत्रमा नेपाली प्राविधिक मानवीय स्रोतलाई तालीमका लागि सहयोग उपलब्ध गराउनेछ। थप प्रत्यक्ष हवाई सेवा आरम्भ र सञ्चालनका लागि अभिप्रेरित गर्न दुवै पक्षका वायुसेवाका लागि संरचनाभित्र आफ्ना हवाई अधिकार विस्तार गर्ने विषयमा दुवै मुलुकका नागरिक उड्डयन अधिकारीहरुले मतैक्यता व्यक्त गरेकामा दुवै पक्षले स्वागत गरेका छन्। छिटो समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकियोस् भनी यसको निर्माणलाई गति दिन दुवै पक्षले नजिकमा समन्वय गर्नेछन्। नेपाल चीन सीमापार अप्टिकल फाइबर केबलको सफल व्यापारिक सञ्चालन भएकामा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् र आपसी फाइदाका लागि सूचना तथा सञ्चारका क्षेत्रमा सहयोग थप बलियो बनाउन सहमति व्यक्त गरेका छन्। आपसी विकास प्रवद्र्धन गर्न व्यापार, पर्यटन, लगानी, उत्पादनको क्षमता तथा जनताको जीवनस्तर सुधार्न अर्थतन्त्रका विभिन्न क्षेत्रमा सहयोग बलियो बनाउन दुवै पक्ष सहमत भएका छन्। दुईपक्षीय लगानी तथा व्यापारमा सहयोग गर्न अर्थतन्त्र तथा व्यापारका क्षेत्रमा नेपाल–चीन संयुक्त आयोगको संरचनाभित्र दुवै पक्षले लगानी सहयोग तथा व्यापारमा सचिव÷उपमन्त्रीस्तरका अधिकारी वा उनीहरुले तोकेका अधिकारीको नेतृत्वमा एक÷एक कार्य समूह गठन गर्नेछन्। चिनियाँ पक्षले नेपाली पक्षलाई सन् २०१९ को नोभेम्बरमा साङ्घाइमा आयोजना हुने दोस्रो चीन अन्तर्राष्ट्रिय आयातसम्बन्धी राष्ट्रिय प्रदर्शनीमा भाग लिन स्वागत गरेको छ। दुई मुलुकबीच व्यापार सम्बन्ध बलियो बनाउने दृष्टिकोणले दुवै पक्षले एकीकृत छलफल आयोजना गर्नेछन्। चीनमा नेपाली निर्यातलाई विस्तार गर्न चिनियाँ पक्षले सकारात्मक उपाय अवलम्बन गर्नेछ। नेपालमा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न प्राविधिक सहयोग उपलब्ध गराउन तथा तातोपानी लार्चास्थित सीमा निरीक्षण केन्द्रलाई काम गर्नसक्ने बनाउन चिनियाँ पक्षले विचार गर्नेछ। नेपालले दुई मुलुकबीच व्यापार तथा लगानीलाई सहयोग उपलब्ध गराउने दृष्टिकोणले नेपालमा चिनियाँ बैंकका शाखा तथा अन्य वित्तीय सेवा खोल्न सहयोग गर्नेछ। पारवहन यातायात सम्झौताको प्रोटोकललाई सकेसम्म छिटो कार्यान्वयन गर्न दुवै पक्षले आफ्नो आन्तरिक प्रक्रिया पूरा गर्नेछन् र यसलाई सकेसम्म छिटो कार्यान्वयन गर्न प्रयास गर्नेछन्। दुवै देशले नेपालका अमिलो वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी (वनस्पति स्वच्छता)को आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएकोमा स्वागत गरेका छन्। साथै दुवै पक्षले चाँडोभन्दा चाँडो खाद्यसुरक्षासम्बन्धी आयातनिर्यात सहयोग समझदारीलाई निष्कर्षमा पुर्याउन सहमति जनाएका छन्। दुवै पक्षले उत्पादन क्षमता तथा लगानी उद्योग उपक्रम प्रमुखताका सिद्धान्तका आधारमा निरन्तरता दिन तथा व्यापारका सिद्धान्तको पूर्णपालना र अन्तर्राष्ट्रिय साझा अभ्यास, बजार प्रवद्र्धनका सिद्धान्तको परिपालनालाई निरन्तरता दिनेछन्। नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच सन् २०१८ को जुन २१ तारिखमा भएको ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रका आधारमा जलविद्युत्, वायुऊर्जा, सौर्यऊर्जा, जैविक इन्धन र सबै किसिमका नयाँ ऊर्जा ग्रीड प्रणालीमा सहयोग आदानप्रदान गर्न दुवै पक्षले नेपाल–चीन ऊर्जा सहायतासम्बन्धी संयुक्त कार्यान्वयन संयन्त्रलाई पूर्णरुपमा सक्रिय तुल्याउने भएका छन्। दुवै देश नेपाल–चीन विद्युत् ऊर्जा सहयोग योजनालाई एक वर्षभित्र संयुक्तरुपमा पूरा गर्न सहमत भएका छन्। यो योजनालाई दुईपक्षीय विद्युतीय ऊर्जा सहयोग प्रवद्र्धन तथा कार्यान्वयनका निम्ति मार्गदर्शकका रुपमा स्वीकार गर्न पनि दुवै पक्ष सहमत भएका छन्। नेपालको विकास प्रयासमा चिनियाँ पक्षले गरेको सहयोगको सराहना तथा २०७२ सालको भूकम्पपछि तत्काल खुला हृदयले स्वस्फूर्तरुपमा गरेको सहयोगको नेपाली पक्षले मुक्तकण्ठले प्रशंसा गरेको छ। नेपालको सामाजिक–आर्थिक विकासका लागि आफ्नो क्षमताअनुसार चीन सरकारले निरन्तर सहयोग गर्नेछ। उक्त सहयोगले नेपाली जनताको जीवनयापन सुधारका क्षेत्रमा जोड दिनेछ। स्वर्गीय जननेता मदन भण्डारीको सम्मानमा बहुविषय अध्यापन हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी नेपालको आकाङ्क्षालाई चिनियाँ पक्षले उच्च महत्व दिएको छ। उक्त विश्वविद्यालयका लागि नेपाल सरकारले उपयुक्त स्थान निर्धारण गरेपछि चीनले चाँडोभन्दा चाँडो सहयोग गर्नेछ। विश्वविद्यालय निर्माणसम्बन्धी चिनियाँ कार्यदलको प्रतिवेदशनका आधारमा दुवै देशले विचारविमर्श गर्नेछन्। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको गुणस्तर सुधार्ने परियोजनालाई दु्रतगतिमा अघि बढाउन चिनियाँ पक्षले तत्परता देखाएको छ। नेपालको हिमाली क्षेत्रमा छरिएर रहेका बस्तीलाई एकीकृतरुपमा विकास गर्ने नेपालको प्रस्तावलाई चिनियाँ पक्षले भावी योजना कार्यान्वयन गर्ने सन्दर्भमा जानकारीमा लिएको छ। नेपालको उक्त प्रस्तावप्रति चीनले आफ्ना अनुभव आदानप्रदान र सहयोग गर्ने इच्छा प्रकट गरेको छ। नेपाल र चीनबीचको अनन्तकालसम्म रहिरहने मैत्रीको प्रतीकका रुपमा रहेको सगरमाथा शिखरलाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिर्वतन तथा पर्यावरण संरक्षणका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने भएका छन्। दुवै देशले सगरमाथाको वैज्ञानिक अनुसन्धान गरेर त्यसको उचाई संयुक्तरुपमा घोषणा गर्नेछन्। सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकामा दुवै देशले सन्तोष व्यक्त गरेका छन्। यसबाट दुवै देशबीच सीमा व्यवस्थापन सहयोग गर्र्न मद्दत पुग्नेछ। आपराधिक गतिविधिसम्बन्धी पारस्परिक कानूनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर भएकामा पनि दुवै देशले सन्तोष व्यक्त गरेका छन्। साथै दुवै पक्षले उक्त सन्धिबाट चाँडोभन्दा चाँडो प्रत्यर्पण सन्धि टुङ्ग्याउन मार्गप्रशस्त हुने आशा व्यक्त गरेका छन्। कानून कार्यान्वयन निकायबीच सूचना आदानप्रदान, क्षमता अभिवृद्धि तथा प्रशिक्षणमा सहयोग सुदृढ गर्न नेपाल र चीनले सहमति जनाएका छन्। आगामी तीन वर्षसम्म चीनले १०० जना नेपाली कानून कार्यान्वयन गर्ने अधिकारीलाई प्रशिक्षणको अवसर प्रदान गर्नेछ। उक्त प्रशिक्षणमा वर्षेनी १०० जना नेपाली सहभागी हुनेछन्। सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सन्दर्भमा दुवै देशका सुरक्षा अधिकारीबीच भ्रमणको आदानप्रदान, संयुक्त अभ्यास तथा तालीम, विपत्ति रोकथाम तथा न्यूनीकरण र कर्मचारी तालीम आयोजना हुनेछन्। दुवै पक्ष शिक्षा, संस्कृति, पर्यटन, परम्परागत उपचार पद्धति, आमसञ्चार विद्वत्वर्ग, युवा आदानप्रदानका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्न सहमत भएका छन्। चिनियाँ पक्षले १०० जना नेपालीलाई कन्फ्युसस प्रतिष्ठानमा छात्रवृत्ति प्रदान गर्नेछ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन चीनले सहयोग गर्नुका साथै नेपाली पक्षलाई चीनमा आयोजना हुने यात्रा मेलामा स्वागत गर्ने तत्परता व्यक्त गरेको छ। चीनले आफ्नो भूमिमा नेपालको पर्यटन प्रवद्र्धनमा सहजकर्ताको भूमिका निर्वाह गर्नेछ। चिनियाँ पक्षले नवौँ चीन महोत्सव तथा चौथो काठमाडौँ सांस्कृतिक मञ्च आयोजना गरेर नेपालमा चिनियाँ सांस्कृतिक केन्द्र र कन्फ्युसस प्रतिष्ठानले नेपाल–चीन संस्कृति प्रवद्र्धनमा प्रोत्साहन गर्नेछन्। नेपालको काठमाडौँ र चीनको नान्जिङ तथा बुटवल उपमहानगरपालिका र चीनको सियाननगरले मैत्रीपूर्ण सम्बन्ध स्थापना गरेकामा दुवै पक्षले त्यसको स्वागत गरेका छन्। सिचुवान प्रान्तको छेन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने नेपालको प्रस्तावप्रति चिनियाँ पक्षले सहमति जनाएको छ। नेपाल–चीनबीच विद्यमान विभिन्न संयन्त्रहरुलाई पुनर्गति दिन तथा पारस्परिक लाभ र सहयोगका क्षेत्रलाई थप सुदृढ तुल्याउन दुवै पक्षले सहमति जनाएका छन्। संयुक्त राष्ट्रसङ्घ तथा अन्य बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्न तथा विकासोन्मुख देशका साझा चासोका विषयको रक्षा गर्न दुवै देश सहमत भएका छन्। क्षेत्रीय मुद्दाहरुमा सहकार्य र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा दुवै पक्षले फलदायी विचार आदानप्रदान गरेका थिए। दुवै देशले बहुपक्षीय व्यापार प्रणाली तथा आर्थिक भूमण्डलीकरणका साझा लाभ तथा समावेशी एवं सन्तुलित हुनुपर्नेमा दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको ऐतिहासिक अवसरमा राष्ट्रपति सीबाट भएको नेपालको राजकीय भ्रमणलाई दुवै पक्षले उच्च स्थान दिएका छन् भने यो भ्रमणबाट नेपाल–चीन सम्बन्ध नवयुगमा प्रवेश गरेको छ। राष्ट्रपतिको यो भ्रमणबाट दुई देशबीचको मैत्रीपूर्ण सहकार्यमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। चिनियाँ पक्षले नेपाल सरकार र यहाँका जनताप्रति न्यानो आतिथ्य र मैत्रीपूर्ण स्वागतका निम्ति हार्दिक आभार व्यक्त गरेको छ। राष्ट्रपति सीले नेपालको नेतृत्व वर्गलाई नेपाल र चीनलाई अनुकूल हुने समयमा पुनःचीन भ्रमण गर्न हार्दिक निमन्त्रणा गरेका छन्। त्यस निम्ति नेपाल र चीन कूटनीतिक माध्यमबाट निरन्तर सम्पर्कमा रहनेछन्।रासस
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१औँ सम्मेलनमा भाग लिन आज सर्बियाको बेलग्रेड प्रस्थान गरेका छन्। अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागीका लागि प्रस्थान गरेका हुन्। नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रह्को आइपियुको १४१औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ। उक्त सम्मेलनमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेल सहभागी हुनेछन्।रासस
शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भेटघाटले राजनीतिक रुपमा जतिसुकै मतभेद भएता पनि भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने संस्कृत विकास भएको बताए। सञ्चाकर्मीको जिज्ञासामा सभापति देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध अझ घनिष्ठ भएको बताउँदै राष्ट्रपति सीसँगको आफ्नो भेटमा काङ्ग्रेसले सदैव एक चीन नीति स्वीकार गरेको तथा चीनको खिलापमा नेपालको भूमि प्रयोग हुन नदिने विषयमा नेपाल प्रतिबद्ध रहेको आफूले सुनाएको उल्लेख गरे। भेटमा नेपालको विकासमा चीनले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरेको सुनाउँदै सभापति देउवाले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेको र समय मिलाएर चीन भ्रमणमा जाने उल्लेख गरे। विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ। रासस
भक्तपुरकाे नवदुर्गा गणमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोजाग्रत पूर्णिमाका अवसरमा आईतबार भक्तपुरस्थित नवदुर्गा गणको दर्शन गरेकी छन्। दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट गरिदै आएको पुजाको निरन्तरता स्वरुप उनले भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पुजा गरि नवदुर्गा गणको दर्शन गरेकी हुन्। सो अवसरमा पहिलो पटक ‘देवता प्रर्दशन’ कार्यक्रम समेत गरिएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको दर्शन, पुजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर ‘देवता प्रर्दशन’को कार्यक्रम गरिएको हो । राष्ट्रपति भण्डारीको सम्मानमा उनको सामु प्रदर्शनी गरिएको द्यो ब्वोय्केगु अर्थात् ‘देवता प्रर्दशन’ कार्यक्रममा बनकालाहरुले विभिन्न देखाएका थिए । झण्डै एकघण्टा सम्म बाजागाजा सहितको नाच कार्यक्रम चलेको थियो। देवगणको पूजामा वहान (सुँगुरको पाठो)को बली दिने चलन छ। सो कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले १ लाख १५ हजार रुपैयाँ र संस्थानले २५ हजार रुपैया उपलब्ध गराएको थियो ।
काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताएका छन्। काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताए। उनले भने, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ।” चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उनले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भने। “अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भने। राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उनको भनाइ थियो। “असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भने। सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महाअभियान, त्यतिबेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भने। विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ। रासस
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान… काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए। नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो । आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उनी केही बेर टक्क अडिए। नृत्य अवलोकनका समय उनको मुहारमा मन्द मुस्कान झल्किएको थियो। उनका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए। त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उनको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उनले केही बेर भलाकुसारीसमेत गरे। बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गरेकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उनले बालबालिकालाई धन्यवाद फर्काएका थिए। विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उनको स्वागत र आइतबार बिदाइ गरेका थिए। स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिएका राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिए। एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिए। सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो। त्यसो त शनिबारको रात्रीभोजका क्रममा उनले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिए। त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उनलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ। राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो। सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए। आज राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गरेका थिए। यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गरेका थिए। चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो। उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो । भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उनलाई सडकमै बसेर स्वागत गरेका थिए। उनको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो। शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेक्नुभएका सीले झण्डै २२ घण्टा नेपालमा रही आज अपराह्न २ः४४ मा स्वदेश फर्किए। उनको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो। कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो। ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गरेको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गरेका थिए। भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ। यसअघि उनले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए भने अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गरेका थिए। शनिबार साँझ उनले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।रासस
काँग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, ‘देउवा र पौडेलसंग ४५ वर्षदेखिको सम्बन्ध छ’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आफ्नो ४५ वर्षदेखिकै सम्बन्ध रहेको बताएका छन्। नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समारोहमा उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ वर्षदेखिकै हो । यस्ता चाडपर्वले हाम्रो सम्बन्धलाई अझै राम्रो बनाउने विश्वास लिएको छु।’ बिजया दशमी, दीपावली तथा छठको शुभकामना दिदै उनले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जीतको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताए। ‘संस्कृतिका नाममा विद्यमान गलत परम्परालाई परित्याग गर्दे राम्रा कुरालाई अगाल्नुपर्छ।’ उनले भने, ‘समाजको सुसम्बन्ध र सुव्यवस्था बनाई राख्न तथा सत्यको जीत र असत्य पराजित हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको छ। यस्ता कुरामा सबैले निरन्तरता दिने अभ्यासमा जुट्नुपर्छ।’ सरकारको लोकतन्त्र प्रतिको निष्ठामा कांग्रेसले प्रश्न उठाएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने “शुभकामना आदानप्रदानका बेला धुलो चकमक लगाउने काम नगरौं।”
सोमबारदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ। ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा उक्त बैठकले तय गर्ने नेपाली अधिकारीले विश्वास राखेका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने तय भएको छ। यस्तै सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद्को यही असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायतका अधिकारीलाई स्वीकृति दिएको थियो। नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन गत भदौ २६ गते यहाँ आएका भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरेको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रसारण लाइनको ढाँचा, निर्माण लागतलगायतका विषयलाई शीघ्र टुङ्गोमा पु¥याइ निर्माण शुरु गर्ने सहमति भएको थियो। संयुक्त निर्देशक समितिको बैठकमासमेत सहभागी हुन जाने तयारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरेका अनुसार दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयलाई केन्द्रमा राखेर छलफल हुने र सहमति हुने विश्वास छ। सो प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण गर्ने तयारी छ। सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै सहमति हुन सकेको थिएन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र भारतका ऊर्जा राज्यमन्त्री सिंहबीच गत भदौमा भएको छलफलका क्रममा सो प्रसारण लाइनका विषयमा देखिएका विवादलाई समाधान गरी निर्माण शुरु गर्ने र सम्बद्ध निकायले आवश्यक तयारी गर्ने सहमति भएको थियो। गत माघमा पोखरामा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा समेत सो विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको थिएन। त्यतिबेला राजनीतिकस्तरमा सहमति भएपछि अन्य प्राविधिक विषय टुङ्गो लगाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ थियो। नेपाल र भारतका उच्च अधिकारीका यसअघिका बैठकमा प्रसारणलाइन निर्माण र कार्यान्वयन ढाँचा तयार गरी सचिवस्तरीय बैठकमा पेश गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिइएको थियो। अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एससीसी)सँग सम्बन्धित आयोजनामा न्यू बुटवल गोरखपुर प्रसारण लाइनसमेत जोडिएकाले त्यसलाई सरकारले ठूलो महत्वमा राखेको छ। सो प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी बनाएर जान सकिनेमा नेपालको जोड रहँदै आएको थियो। सो प्रसारणलाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। प्राधिकरणको बुटवलमा रहेको सब–स्टेशनपूर्व रोहिणी खोलानजिक अर्को सबस्टेशन बनाउने र नेपालबाट भारत निर्यात गर्न तथा भारतबाट विद्युत् आयात गर्नसमेत सहज हुने गरी प्रस्ताव गरिएको छ। सो प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सन् २०१५ मा तयार भएको थियो। यो प्रसारणलाइन आयोजना निर्माण गर्न दुवै देश सहमत भए पनि निर्माण ढाँचा टुङ्ग्याउन बाँकी छ । त्यो ढाँचासमेत तय भई सहमति हुने विश्वास सचिव घिमिरेले जानकारी दिए। कूल १४० किलोमिटर लामो प्रसारणलाइनको २० किलोमिटर नेपालमा र बाँकी १२० किलोमिटर नेपाल–भारत सिमानादेखि भारतको गोरखपुर पु¥याउने योजना तय भएको छ। बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायत स्थानमा उत्पादन भएको विद्युत् बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन्। सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका सन्दर्भमा सोही प्रसारण लाइनमार्फत करीब दुई हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। विद्युत्को मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिकपर्ने भएकाले सरकारले प्राथमिकतामा राखेको हो। सरकारले प्रस्ताव गरेको प्रसारणलाइन गुरुयोजनामा पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई जोड दिइएको छ। हाल दुई देशबीच ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ। इनर्जी बैंकिङ प्राथमिकतामा यस्तै सचिव घिमिरेका अनुसार उक्त बैठकमा इनर्जी बैंकिङका बारेसमेत छलफल हुने एजेण्डा तय भएको छ। नेपाल विद्युत् प्राधिकरणले गत साउनको अन्तिम सातादेखि एकसाता २५० मेगावाट विद्युत् भारत निर्यात गरेर इनर्जी बैंकिङको अभ्यास गरेको थियो। यस्तै, रक्सोल–गोरखपुर प्रसारण लाइनमार्फत प्राधिकरणले ४५ मेगावाट विद्युत् विहारमा निर्यात गरिरहेको छ। भारतले इनर्जी बैंकिङका विषयमा नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ। चालू आवको अन्तिमसम्ममा माथिल्लो तामाकोशी (४५६ मेगावाट), रसुवागढीलगायत सरकारी लगानीका र निजी क्षेत्रले निर्माण गरेका विभिन्न आयोजनाबाट एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले आन्तरिक खपतसँगै भारत निर्यात गर्नुपर्ने बाध्यता रहेको छ। बैठकमा सो विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने र सहमति खोज्ने प्रयास गर्ने प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए। प्राधिकरणले वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिँउदको समयमा आयात गर्ने लक्ष्य राखेको छ। पोखरा बैठकले दुई देशबीच इनर्जी बैंकिङमा सैद्धान्तिक सहमति भएको थियो। बैठकले प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार पारेको इनर्जी बैंकिङसम्बन्धी प्रस्तावलाई स्वीकार गरेको थियो। भारतीय पक्षले सो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको थियो। यस्तै बैठकमा नेपालले रक्सोल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिका विषयमा समेत छलफल गर्ने एजेण्डा तय गरेको छ। ती प्रसारणलाइनको ‘सिङ्¬गल सर्किट’ यसअघि नै सञ्चालनमा आइसकेको छ। त्यसमा अर्को सर्किट थपेर डबल सर्किट बनाउने नेपालको तयारी छ। त्यसो हुँदा विद्युत् आयात तथा निर्यातमा समेत थप मार्ग प्रशस्त हुने विश्वास छ। ती प्रसारणलाइनबाट नेपालले आवश्यकताका आधारमा विद्युत् आयात गरिरहेको छ।
नेपाली काँग्रेसको चियापान कार्यक्रम (भिडियोसहित) काठमाडौं । नेपाली कांग्रेसले बिजया दशमी, दीपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ । केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, डाक्टर बाबुराम भट्टराई सहभागी भएका थिए। त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ्ग, राजपाका नेता महन्थ ठाकुर, पूर्व प्रधानसेनापति रुकमाङ्गगत कटवाल, विभिन्न दलका नेता कार्यकर्ताहरु, माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो । चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह् आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो । चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो । २०३३ सालमा स्वर्गीय विपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ साल देखि हरेक बर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दे आएको छ ।
‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले आज गरेको एक ट्वीट सन्देशमा चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्। चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्केका छन्।रासस
यी हुन् नेपाल र चीनबीचका भएका बीस बुँदे सम्झौता काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ। नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गरे। हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता २. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानका लागि सम्बन्धी समझदारीपत्र ३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानुनी सहायता सन्धि ४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारी पत्र ५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र ६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) ७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेलपरियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र ८. नेपालको काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता ९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता १०. नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र ११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्र १२. नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारीपत्र १३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता १४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकल १५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र १६. चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र १७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्र १८. नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्र १९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) २०. चीनको सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय
जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने बर्लिन (रासस/सिन्ह्वा) । टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ। बर्लिनले भनेको छ, “टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधारण जनताको मृत्यु भएका खबरहरूपछि जर्मनीले उक्त निर्णय लिन लागेको हो।” उत्तरपूर्वी सिरियामा टर्कीको सैन्य आक्रमणका कारण विगत चार दिनमा २७ जना सर्वसाधारणको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आएका थिए। बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले शनिबार पनि हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको दावी गरेको छ। बाइल्डको आइतबारका लागि तयार समाचारमा जर्मनीका विदेशमन्त्री हेइको मासलाई उद्धृत गरी भनिएको छ, “सरकारले टर्कीलाई सैन्य हतियार बिक्रीका लागि कुनै नयाँ स्वीकृति दिने छैन।”
‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आउनुभएका चिनियाँ समकक्षी सी चीनपिङलाई आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा स्वागतपछि आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बिआरआइ) को सफलतापूर्वक समापन भएकामा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गरिन्। जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी तथा चिनियाँ जनतालाई बधाई व्यक्त गर्दै उनले चीनको युगान्तकारी परिवर्तन, प्रगतिशील सुधार र प्रभावकारी सुशासन हासिल गरेको बताए। राष्ट्रपति भण्डारीले नेपालमा निर्वाचनपछि स्थायी सरकारको स्थापना भएको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न प्रयास गरिरहेको जानकारी दिँदै नेपाललाई सन् २०३० भित्रै अतिकम विकसित मुलुकबाट मुक्त गरी मध्यम आय भएको अर्थतन्त्रयुक्त मुलुक बनाउने सरकारको प्रयास भइरहेको उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले भूकम्पबाट प्रभावित नेपालमा चिनियाँ सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकको आगमनका साथै नेपालको जनशक्ति विकासमा चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरिन्। उनले नेपालमा चिनियाँ लगानी सहज र सुरक्षित बनाउन नेपाल सरकार सदा तत्पर रहेको बताइन्। नेपाललाई ३.५ अर्ब आरएमबी दिइने त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने जानकारी दिए। नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए। उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्य अनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिए। उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट पारे। उनले चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए। उनले नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने उल्लेख गरे। उनले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिए। राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए। उनले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताए। उनले संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गरे। सो अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे। त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, खानेपानी तथा सरसफाइमन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो। चिनियाँ राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका लागि आज अपराह्न काठमाडौँ आएका हुन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ रात्रिभोजमा (फोटोफिचर) काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु सरिक भएका छन्। आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन्। भण्डारीले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ।” उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन्।
चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन्। राष्ट्रपति सीको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष, सिनामङ्गल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोडलगायत स्थानमा झाँकी प्रदर्शन गरिएको संयोजक सांस्कृतिक संस्थानको संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले जानकारी दिइन्। यसैगरी राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा विशेष सांस्कतिक प्रस्तुति तथा नेपाली र चिनियाँ नृत्य प्रस्तुत गरिने संस्थानका सङ्गीत प्रबन्धक खर्कबहादुर मगरले जानकारी दिइन्। उक्त सांस्कृतिक प्रस्तुतिमा २५ कलाकारको सहभागिता रहने छ। नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए। विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो। विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए। विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको थियो। विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो । राष्ट्रपति भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ। चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गरेकी छन्। तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। रासस
सीको भ्रमणले नेपाल–चीन सम्बन्ध अझै दरिलो र कसिलो बनाउँछ : पूर्वमन्त्री पाण्डे काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुशीको कुरा हो ।’ चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनको संकेत छ । उनले भने,‘अब यसको कुरा गर्दा भ्रमण गर्ने र गराउने मुलुकको अवस्था र तयारी पनि हुन्छ । हामी संविधान निर्माणमा धेरै व्यस्त रह्यौं । राजनीतकि अस्थिरता रह्यो । हामीले संविधान निर्माणलाई नै प्राथमिकता दियौं । सबै दल मिलेर एक ढिक्का भएर वर्तमान संविधान निर्माण गरेका छौं । अहिले राजनीतिक रुपमा नेपालमा स्थिरता आयो । यो कुरा पूरा विश्वले हेरको छ।’ उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणको लक्ष्य भनेको नै मित्रताको गाँठोलाई अरु कसिलो, दरिलो बनाउने र सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने रहेको स्पष्ट पारे। उनले भने,‘नेपाल र चीनबीच एक–आपसमा पारस्परिक लाभका आधारमा सम्बन्ध गर्नुपर्छ । भाषण गरेर सम्बन्ध सुदृढ हुँदैन्। व्यवहारमा जानुपर्छ । हामीले चीनलाई के सहयोग गर्ने र हामीलाई चीनले के सहयोग गर्ने भन्ने कुरामा पारस्परिक लाभ हेर्नुपर्छ। कनेक्टिभिटी भनेको रोडमात्रै होईन, यसका धेरै आयाम छन् । अहिले हाम्रो ध्यान गएको छ ।’ उनले आफूहरुलाई नेपालको विकास र समृद्धिलाई ध्यानमा राखेर अर्थतन्त्रलाई अगाडि बढाउन चाहेको पनि सुनाए । उनले भने,‘चीन आज लगानीको हिसवाले नम्बर एक र अर्थतन्त्रको हिसवाले विश्वमै दोस्रो हो । नेपालको परराष्ट्र नीति, राष्ट्रिय चासो हामीले संविधानमा उल्लेख गरेका छौं । स्वाधिनता, स्वाभिमान, सार्वभौमसत्तालाई हामीले राष्ट्रिय स्वार्थमा परिभाषित गर्छौं ।’ चिनियाँ प्रविधि नेपालमा कसरी लागु गर्न सक्छौं भन्नेबारे नेपालले सोच्नुपर्ने उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा उसको प्रविधिको उपयोग गर्नुपर्छ । हाम्रा उत्पादन वस्तुहरुलाई चिनियाँ बजारमा कसरी पुर्ुयाउन सक्छौं भन्नेबारे सोच्नुपर्छ । यो गर्न सकियो भने व्यापार घाटा सन्तुलन गर्न सक्छौं ।’ बिआरआई र आईपिएस विल्कुल भिन्न भएको उनको भनाई । पाण्डेले भने, ‘कन्टेन्ट हेर्नुपर्छ । दुईवटै कुरामा सैनिक रणनीति छ भने हामी स्विकार्दैनौं । कुटनीतिक रुपमा हामीले यो पक्षमा असंलग्न राष्ट्र, शान्तिकामी, बुद्धका नागरिक, हामी यो हतियारको राजनीतितिर हामी जान चाहँदैनौं भनेर भन्नुपर्छ । अबको दुनियाँलाई परिवर्तन गर्ने र विचारलाई परिवर्तन गर्ने बलबाट होईन विचारले गर्ने हो ।’ चिनियाँ राष्ट्रपति सीको भ्रमणमा रसुवा–काठमाडौको बाटो नम्बर एक प्राथमिकतामा परेको पनि उनले सुनाए । ‘यो बाटोलाई उन्नती गर्ने, सुरुगमार्ग पनि बनाउन्ुपर्छ ।’–उनले भने,‘ किमाथांका नाका, कोरिडोर खुल्ला गर्नुपर्छ । नेपाल शीर ठाडो छ । सगरमाथाजतिकै शीर ठाडो गरेर राष्ट्रको सर्वाभौमिकतालाई जोगाउनुपर्छ । मित्रराष्ट्रहरुसँग हातेमालो गरेर समृद्धि गर्ने हो । आफ्नो हितअनुसार अघि जाने हो ।’ सीको यो भ्रमणमा रेलवे ल्याउनेबारे छलफल हुने र सहमति हुनेपनि उनले विश्वास दिलाए । उनले थपे,‘केरुङ–काठमाडौं रेलवेबारे हामी भर्खर फिजिविलटी अध्ययन गर्ने अवस्थामा छौं । त्यसपछि डिपिआर तयार हुन्छ । अनिमात्रै खर्चको कुरा हुन्छ । कहाँबाट जुटाउँछौं । स्रोतको विषयमा कुरा हुन्छ । नेपालको अर्थतन्त्रको बारेमा मित्रराष्ट्रहरुले पनि बुझेका छन् ।, नेपाललाई सहयोग गर्दा अलिक बढि ग्रान्ट वा सफ्ट लोन दिनुपर्छ भनेर उहाँहरुले बुझ्न्भएको छ। अनि नेपालले आफने आन्तिरक स्रोत र साधनलाई प्रयोग गर्नुपर्छ । चीनबाट मात्रै होईन, भारतबाट पनि रेल ल्याउनुपर्छ । रक्सौलदेखि काठमाडौंसम्म पनि रेल आउँदैछ । यो बारेमा डिपिआर, फिजिविलीटी गर्ने कुरा छ ।’ उनले नेपाल अब ल्याण्डलिंक्टमा जोडिने स्पष्ट पारे । उनले भारत र चीनलाई फरक फरक आँखाले हेर्न नहुने पनि तर्क गरे । उनले भने,‘चिनियाँ राष्ट्रपतिको यो भ्रमण चीन र नेपाल दुवैको हितमा हुन्छ । सफल रुपले सम्पन्न हुन्छ । आउने दिनमा विकास निर्माणका ढोकाहरु खुल्नेछन् ।’ भ्रमणको क्रममा के–के भाईवल हुन्छ, ती प्राथमिकताका आधारमा हस्ताक्षर हुनेपनि उनले जनाए ।
तीनकुनेमा उद्यान निर्माण सम्पन्न काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले तीनकुनेमा पार्क निर्माण सम्पन्न गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ । निकै मेहनत गरी चिटिक्क बनाइएको पार्कले सर्वसाधारणलाई समेत मनोरञ्जन दिइरहेको छ । यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले देशको अर्थ तथा कूटनीतिक क्षेत्रमा अर्थपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ । महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले राष्ट्रपति सीको भ्रमणका क्रममा सडकका दायाँबायाँ भागको पोलमा दुवै देशका झण्डाको व्यवस्थापनसमेत गरिएको जानकारी दिँदै त्रिपुरेश्वरदेखि रत्नपार्कसम्मका पर्खाल र फलामे बारमा सरसफाइ गरी रङरोगन लगाएर राम्रो बनाइएको बताए । उनले महानगरपालिकाले लिएको जिम्मेवारी पूरा गरेको जानकारी दिए। सडकका किनारामा दुवै मुलुकका प्रमुखका तस्वीर अङ्कित ‘फ्लेक्स’ तथा स्वागतद्वारसमेत निर्माण गरिएको छ भने सडक मर्मतका कार्य सडक विभागले गरेको छ। रासस
चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयामिक लाभ लिन्छ : दाहाल चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन्। नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए। नेपाल, चीन र भारतमा यति बेला सशक्त र शक्तिशाली सरकार रहेको र यस्तो परिस्थितिमा हुन लागेको भ्रमण केवल केही समय आउने र जानेमा मात्र सीमित नहुने विश्वास व्यक्त गरे। फरक प्रसङ्गमा उनले माडी क्षेत्रको विकासका लागि आफूले सरकार, निकुञ्ज र कर्मचारीसँंग छलफल गरिरहेको उनको भनाइ थियो । यस क्षेत्रको विकास संवेदनशील, महत्वपूर्ण र चुनौतीपूर्ण छ भन्दै उनले भने, “यस क्षेत्रको विकासका लागि जति चुनौती छ त्यति नै महत्वपूर्ण रहेको छ जसका लागि म निरन्तर लागिरहेको छु।” अध्यक्ष दाहालले पार्टीले छिट्टै महाभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकलाई त्यसमा जुट्न आग्रह गरे। कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भुसाल एक आदर्श नेता मात्र नभएर कम्युनिष्टका धरोहर रहेको बताउँदै उनको आदर्श पूरा गर्न सिङ्गो पार्टी लाग्नुपर्नेमा जोड दिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भुसालले समाज र पार्टीलाई छाडेर गएको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढ्दा मात्र उनीप्रति सच्चा सम्मान हुने बताए। पार्टीको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्दै उनले अब एकीकृत पार्टीका सारा शक्ति र सरकार राष्ट्र निर्माण लगाइने बताए। कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज कृष्ण खनाल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललगायतले भुसालको योगदानबारे चर्चा गरेका थिए। जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्मृति ग्रन्थ तयारीमा लागेका पत्रकार नारायणप्रसाद सापकोटा र शालिक निर्माणमा लागेका महानुभावलाई सम्मान गरिएको थियो। यसअघि अध्यक्ष दाहालले माडीको बघौडामा रहेको बघौडा अस्पतालको शल्यक्रिया भवन उद्घाटन गरेका थिए। सो अवसरमा उनले अस्पताललाई १५ श्ययाबाट ५० श्ययाको बनाउन पहल गरिने प्रतिबद्धता जनाए।
एडिबीले सार्वजनिक गर्यो पञ्चवर्षीय रणनीति काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ। रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ। नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत गर्ने उक्त रणनीतिक साझेदारीको दस्तावेज मनिलास्थित बैंकको प्रधानकार्यालयमा सार्वजनिक गरिएको हो। बैंक सञ्चालक समितिको आजको बैठकले अनुमोदन गरेको नेपाल देशीय साझेदारी रणनीतिले निजी क्षेत्रको नेतृत्वमा उत्पादकत्व वृद्धिमा योगदान गर्ने भौतिक पूर्वाधार निर्माण, प्रभावकारी सेवा प्रवाहमा सर्वसाधारणको पहुँ्चमा सुधार र वातावरणीय दिगोपन कायम गर्दै प्राकृतिक विपत्तिमा पनि क्षति नहुने पूर्वाधार निर्माणजस्ता तीनवटा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ। राजनीतिक स्थायित्व कायम भएसँगै सङ्घीय शासन प्रणालीमा गएको नेपाल आर्थिक–सामाजिक उन्नयनको मार्गमा अग्रसर भएको सन्दर्भमा नयाँ देशीय साझेदारी रणनीति उच्च आर्थिक वृद्धि हासिल गर्ने तथा गरीबी घटाउने नेपाल सरकारको लक्ष्यलाई टेवा दिनमा नै केन्द्रित रहेको नेपालका लागि बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जानकारी दिए। बितेको दशकमा नेपालले गरिबी घटाउनका साथै साक्षरता दर बढाएको, सङ्घीयताको निर्वाध कार्यान्वयन अघिबढेको, अत्यावश्यक भौतिक पूर्वाधारमा लगानी, निजी क्षेत्रका निम्ति लगानीको आकर्षक वातावरण बनाउने विषयलाई रणनीतिले समेटेको उनले बताए। जलविद्युत् र नवीकरणीय ऊर्जाको विकास, सडक तथा हवाई यातायात, घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालका निम्ति व्यापार सहजीकरण, उत्पादकत्वको लागत कम गर्नें, वाणिज्य–व्यापार विस्तार, निजी लगानी आकर्षणलाई पनि रणनीतिमा विशेष जोड दिइएको छ। शहरी क्षेत्रका नगरपालिकासहित नगरहरूको विकास, गुणस्तरीय शिक्षा, रोजगारीमूलक सीप विकास तथा ग्रामीण भेगका जनताको आय बढाउन कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र व्यावसायिकतालाई पनि रणनीतिले अधिक जोड दिएको छ। सामाजिक–आर्थिक विकासको प्रतिफलबाट वञ्चित रहेका महिला तथा अन्य सुविधाहीन सामाजिक समूहको विकासमा रणनीति लक्षीत छ। केन्द्र, प्रदेश र स्थानीयत तहका सरकारी निकाय, नेपालको विकासका अन्तर्राष्ट्रिय साझेदार, नागरिक समाज र निजी क्षेत्रसँगको परामर्शमा तयार गरिएको रणनीतिक साझेदारीमा विकासका सबै कार्यक्रम र परियोजनामा एडिबीले लैङ्गिक समानता, सामाजिक समावेशितालाई आफ्नो मूल मन्त्र बनाएको छ। आधारभूत सेवामा सर्वसाधारणको पहुँचको सुनिश्चितता, बेलाबेलामा हुने प्राकृतिक विपत्तिमा पनि क्षति नहुने भौतिक संरचना, प्राकृतिक स्रोत र साधनको दिगो उपयोग, सार्वजनिक वित्तको पारदर्शिता, कृषि, हवाई यातायात, कृषि क्षेत्रमा नीतिगत सुधार, ज्ञान र प्रविधिको विकास तथा उपक्षेत्रीयस्तरमा संस्थागत विकासलाई रणनीतिले विशेष महत्व दिएको छ। रासस
काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते काभ्रे । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। पन्ध्र जना घाइते भएका छन्। महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो। मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो। दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन्।रासस
साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३४० करोड सहुलियत ऋण प्रदान गर्ने काठमाडौं । साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गरे। अर्थसचिव डा.खनालले साउदी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले भूकम्पपीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गरे। फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गरे।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाडौं झिलीमिली (फोटोफिचर) काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सिंगारिएका छन्। उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा व्यानर तथा गेटहरु निर्माण गरिएका छन्। राष्ट्रपति विद्यादेबी भण्डारीको निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी भोलि शनिवार दिउँसो ४ बजे काठमाडौमा विमानस्थलमा अवतरण गर्नेछन्। २१ घण्टाको नेपाल बसाईपछि आइतबार दिउँसो १ बजे चीन फिर्ता हुने कार्यक्रम छ। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अपरान्ह काठमाडौं उत्रिदैंछन्। राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै सरकारले राजधानी काठमाडौंलाई बेहुली जस्तै सिङ्गारेको छ। चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइ करिब २१ घण्टा हुनेछ। राष्ट्रपति सीको स्वागतार्थ सरकारले उनको कार्गेट चलाइने सडकलाई चिटिक्क पारेको छ। जहाँ जहाँ राष्ट्रपतिको कार्गेट चलाइन्छ त्यहाँको सडक हेर्दा लाग्छ गरे के हुँदैन। तीनकुनेको खुल्ला चौर होस् वा अस्तव्यस्त कालीमाटी–सोल्टीमोड सडक, यी रातारात भएको विकासको ‘नमूना’ हो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन्। नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्। नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।
आबुधाबिमा साहित्यिक कार्यक्रम हुँदै, दुई श्रष्टालाई सम्मान गरिने युएई । सगरमाथा साहित्य प्रतिष्ठानले दुई जना साहित्यकर्मिलाई सम्मान गर्ने भएको छ। यहि अक्टोबर १८ तारिखमा युएईको आबुधाबिमा एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र समरसले जानकारी दिए। सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एबम् सञ्चारकर्मी मायामितु न्यौपाने छन्। कार्यक्रममा भाग लिन न्यौपाने युएई आएका छन्। नेपाली भाषा र साहित्यमा उनीहरुले पुर्याएको योगदान स्वरुप यो सम्मान गर्न लागिएको सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बिश्वकर्माले बताए। युएईको आबुधाबीमा हुन लागेको यस कार्यक्रमको सह–आयोजक सृजना बाचन डबली हो। डबलीले बिगत तीन बर्षदेखि युएईमा साहित्यिक कार्यक्रम गर्दै साहित्यकर्मीलाई एकताबद्ध गर्दै आईरहेको छ। कार्यक्रममा प्रमुख अतिथि मायामितु न्यौपानेले आफ्ना चर्चित कविता र गजल बाचन गर्नु हुनेछ भने विशेष अतिथिको रुपमा टक गुरुङ्ले गजल बाचन गर्नेछन्। कार्यक्रममा युएईमा रहेका पचास भन्दा बढी श्रष्टाले आफ्ना कविता र गजल बाचन गर्नेछन्। कार्यक्रम आबुधाबी स्थित भावना रेस्टुरेन्टको सभाहलमा हुनेछ। रचना बाचन र साहित्यकर्मिलाई सम्मान गर्ने काम आगामी दिनहरुमा पनि निरन्तर रहने र यस्ता गतिबिधिले युएई र समस्त नेपाली साहित्यलाई टेवा पुग्न सक्ने आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका महासचिब अमन एकलले बताए। नेपाली साहित्यकर्मिलाई गोलबद्ध गर्दै नेपाली साहित्य र भाषालाई अझ माथी पुराउन योगदान दिने उदेश्यका साथ २०६९ सालमा स्थापित सगरमाथा साहित्य प्रतिष्ठानले स्थापनाकालदेखि नै रचनात्मक साहित्यिक गतिबिधी गर्दै आईरहेको छ।
चिनियाँ राष्ट्रपति सीलाई न्यानो स्वागत र अभिवादन गर्छौं : राप्रपा (संयुक्त) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ। पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक रहेको उल्लेख गरेका छन्। पार्टीले राष्ट्रपति सी भ्रमणले दक्षिण एशियामा स्थायित्व, शान्ति र विकासमा थप योगदान पुग्नाका साथै नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। उक्त पार्टीले भनेको छ, ‘राष्ट्रपति सीको भ्रमणको पूर्ण सफलताको कामनासहित स्वागत र अभिवादन गर्दछौँ।’
सिन्धुपाल्चोक बस दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटना बारे नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ। शुक्रबार मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ तर्फ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती गा.पा. १०, बडहरे मोडमा आज विहान दुर्घटना हुँदा ११ जनाको मृत्यु र ४० भन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।’ विज्ञप्तिमा सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताइएको छ। ‘घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट समेत गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ। ‘बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन संचालन गर्नु भन्दा अगाडि त्यसको चेकजाँच नगर्नु दुःखद विषय हो।’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता घटना पुनः नदोहरिन दिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्न नेपाली कांग्रेस आग्रह गर्दछ ।’
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु’ : सुजाता कोइराला काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा उनले सी भारत हुँदै नेपाल आउन लागेको बताईन् । उनले भनिन्,‘चिनियाँ राष्ट्रपति यतिवेला भारतमा हुनुहुन्छ, मोदीसँग उहाँको कुराकानी भैरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाईदा हुन्छ । यसले नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्छ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाउँदै भनिन्, ‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ भन्नुहुन्थ्यो । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’ उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै रम्रो भएको बताउँदै विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । उनले भनिन्, ‘चीनलाई हामीले बढि महत्वको साथ हेरेका छौं । हाम्रो राम्रो सम्बन्ध रहँदै आयो । चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको छ । हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायित्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’ सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ । उनले भनिन्,‘ जनताले चाहेको नै विकास हो । स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ । सीको भ्रमणबाट नेपालले केही पाएपनि वा नपाएपनि उहाँ नेपाल आउनुनै एउटा महत्वपूर्ण कुरा हो । हामी सबै पूराना तिता कुराहरु बिर्सिएर विकासको कुरामा मात्रै लागिरहेका छौं । यो नै एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । एउटा नयाँ बाटोमा हामी हिँड्न लागेका छौं । देशले एउटा नयाँ मोड लिन्छ भनेर म उत्साहित छु ।’ गिरिजाबाबुले जहिल्यैपनि ‘एक चीन नीति’ लाई नै समर्थन गर्दै आएको सुनाउँदै कोइरालाले भनिन्,‘उहाँ प्रधानमन्त्री हुँद्या स्टेट भिजिटमा जानुभयो । पार्टीको सभापति हुँदापनि उहाँ पार्टी–पार्टी सम्बन्ध बनाउनको लागि दुई चोटी प्रतिनिधिमण्डल लिएर चीन जानुभयो । एकचोटी उहाँसँग म पनि गएको थिएँ । छिमेकीसँग पिपुल–टु–पिपुल रिलेशनपनि हुन्छ । पार्टी–टु–पार्टी रिलेशनपनि हुन्छ । यसलाई गलत हिसाबले हामीले सोच्नुहुँदैन् । गिरिजाबाबुले सिपिसी पार्टीलाई नेपालमा आमन्त्रित गर्नुभएको थियो । उनीहरु पनि नेपाल आएका थिए । यो गर्नुपर्छ । हामीले पनि यसलाई निरन्तरता दिन्छौं ।’ उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् । उनले भनिन्, ‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्के लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निश्कर्षमा म पनि पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । उनीहरुलाई नेपाल आवागमनमा सहजता हुन्छ । यो आवश्यकत्ता छ । सुरुवात हुन्छ भनेको सुन्छु । हामी स्वागत गर्छौं ।’ चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । उनले भनिन्,‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । चीन बलियो भएको छ । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । नाका खुल्छ । यो खुशीको कुरा हो ।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्, ‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’ त्यस्तै, उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्, ‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुँदैन् । हामीले ऋण लिनुपर्छ । सहुलियत व्याजमा ऋण पाउनुपर्छ । रेल होस वा अरु कुनै परियोजना बनाउँदा त्यसमा हामीले आफ्नो अपनत्व लिनुपर्छ । सस्तो व्याजमा ऋण लिनुपर्छ । नेपाल सार्वभौम र स्वतन्त्र देश हो । हामीले थोरै भएपनि ईनपुट दिनुपर्छ, त्यसो गर्न सकियो भने कसैको दास भएको हुँदैन् । नेपालीले बनाएको हो । यो रेल हाम्रो हो भन्ने भावना हुन्छ । आत्मसम्मान हुन्छ । केही थोरै भएपनि हाम्रो ईनपुट दिनुपर्छ ।’ नेतृ कोइरालाले चीनबाट लगानी ल्याउनु्पर्नेमा जोड दिईन् । उनले नेपाल विपत्तमा पर्दा पनि चीनले ठूलो सहयोग गरेको सुनाईन् । उनले भनिन्,‘भुकम्प, बाढी, पहिरोले नेपालले धेरै दुःख पायो । प्रकृतिले पनि हामीलाई सहयोग गरेन् । चीनमा प्रविधि एकदम आधुनिक छ । उनीहरुले नयाँ नयाँ आविष्कार गरेका छन् । बाटो चाँडो र बलियो बनाउने उनीहरुको प्रविधि छ । हाम्रा ठेकेदारलाई पनि तालिम दिनुपर्छ । चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’
यस्तो छ चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तालिका काठमाडौं । दुई दिने भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नई पुगेका छन्। उनलाई चेन्नई विमानस्थलमा तमिलनाडुका गर्भनर बनवारीलाल पुरोहित, मुख्यमन्त्री इडापाड्डी के पलनिस्वामीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दोस्रो अनौपचारिक शिखर सम्मेलन भारतको तमिलनाडुको महाबलीपुरमा हुँदैछ। यस्तो छ भ्रमण तालिका (आज शुक्रबार) १२:३० प्रधानमन्त्री मोदी चेन्नई पुग्ने। १२ः५५ मा हेलिकोप्टरबाट महाबलीपुरमा गए। १ः३० मा चिनियां राष्ट्रपति सी चेन्नई पुग्ने। १ः४५ मा एयरपोर्टबाट होटल आईटिसी ग्रैण्ड जाने र आराम गर्ने त्यहीबाट महाबलीपुरमा जाने। ५:०० महाबलीपुरमा मोदीसंगै अर्जुनकी तपस्यास्थल,पंचरथ र शोरे मन्दिरको भ्रमण गर्ने। ६:०० बजे सांस्कृतिक कार्यक्रम ६ः४५ बाट ८ बजेसम्म मोदी र राष्ट्रपति सीबीच डिनर (भाेलि शनिवार) १०-१०ः४० सम्म दुवै नेताबीच भेटवार्ता १०ः५० देखि ११ः४० बीच द्धिपक्षीय वार्ता ११ः४५ देखि १२ः४५ सम्म दिवाभोज २:०० बजे नेपालका लागि प्रस्थान
सी जिनपिङको नेपाल भ्रमणबारे यस्तो भन्छन् नेकपाका नेताहरु काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् । नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्। नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए। नेपाल दुई छमेकी चीन र भारतलाई जोड्ने पुल बन्न चाहेको पनि स्पष्ट पारे। उनले सरकार तथा नेकपाले देशको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए। चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे। नेता देव गुरुङ्गले नेपालले चीनसंग लिने ऋणका बारेमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नभएको बताए। उनले विश्वका सबै मुलुकले ऋण लिने गरेको दृष्टान्त दिदै ऋणलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखे। उनले अनुदान हुन सकेन भने निरपैक्ष ऋण लिनै हुदैन भन्न नहुने तर्क गरे। चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा हुने आर्थिक सहयोग सम्बन्धी सम्झौतालाई लिएर विभिन्न टिका टिप्पणी हुँदै आएका छन्। विशेष गरेर रेल सेवा विस्तार ऋणमा नभई चिनले अनुदानमा बनाईदिनुपर्ने तर्क हुदै आएको छ।
चीनको सहयोगमा नौतले दरबार पुनर्निर्माण तीव्र गतिमा काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ। चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो। सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ। पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ। विभागका निमित्त महानिर्देशक दामोदर गौतम दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताउँछन्। विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानोस्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको उनले सुनाए। करीब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो। दरबार पुनःनिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो। नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गरेका थिए। दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराएका थिए। नुवाकोट दरबार पुनःनिर्माणमा पनि चीनको सहयोग चीनले नुवाकोटको साततले दरबारको पुनःनिर्माणमा पनि सहयोग गरेको छ । नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणका लागि हाल अध्ययन भइरहेको छ। अध्ययनसँगै पुनःनिर्माणको काम पनि शुरु भएको विभागका निमित्त महानिर्देशक गौतमले बताए। नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहललगायत सबै संरचना चीन सरकारले नै पुनःनिर्माण गरिदिने छ। नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानोस्वरूपमै निर्माण गर्न लागेको विभागले जनाएको छ।रासस
राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
चीनमा हुने सातौँ विश्व सैनिक खेलकूदमा भाग लिने खेलाडीको बिदाइ काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकलाई सङ्गठनको तर्फबाट बिदाइ गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च आत्मबलका साथ नेपाली सेना अनुशासनको हिमायती हो भन्ने ढङ्गबाट प्रतियोगितामा प्रस्तुत हुन निर्देशन दिए। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल ९सिआइएसएम०ले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो। प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने छ। नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने छ। प्रधानसेनापति थापाले भने, “नेपाली सेना र नेपालीको गौरव प्रवद्र्धन गर्न आत्मअनुशासन रही प्रतियोगीता जित्छु भन्ने अठोटका साथ खेलाडीले ठिक समयमा अनुभव, खेल कौशल र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ, खेलाडीले प्राप्त गर्न उत्कृष्ट नतिजाले सङ्गठनको मात्र होइन, मुलुकै गौरवमाथि उठ्ने छ, डराउनु पर्दैन ढुक्क भएर खेल्नुस्, खुवी देखाएर प्रतियोगिता जित्ने कोसिस गर्नुस्। ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले समारोहमा उक्त प्रतियोगिताको तयारीको समग्र अवस्थाका बारे जानकारी गराउँदै पहिलोपटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको जानकारी दिए। विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन्। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनेछन्। उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहने छन्।रासस
महरा प्रकरण : पत्रकार सिवाकोटीबिरुद्ध साइबर क्राइमको मुद्धा हाल्ने रोशनीको चेतावनी (पत्रसहित) काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा अनावश्यक घटनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बिरुद्ध बेइजती तथा साइबर क्राइमको मुद्धा दर्ता गराउने चेतावनी दिएकी छन्। शुक्रबार पत्रकारलाई जानकारीका लागि पत्र लेख्दै महरा आफ्नो कोठामा नआएको, नभएकै कुरालाई अनावश्यक रुपमा बेज्जत गराएको भन्दै पत्रकार सिवाकोटीलगायत युट्युवे पत्रकारविरुद्ध मुद्धा हाल्ने पत्रमा लेखेकी छन्। गत आइतबार यसै समाचारलाई लिएर कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएर प्रहरीले पक्राउ गरी हिरासतमा उनको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। हेर्नुहोस् रोशनीको पत्र
च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न भोजपुर । पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । गाउँपालिका उपाध्यक्ष सम्झना राईका अनुसार ती दुई गाउँपालिकामा निर्माण गर्न लागिएको पर्यटकीय संरचनाको डीपीआर पनि तयार भएको छ । उनका अनुसार च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणको लागि रु दुई करोड सात लाख र अरुणमा भवन निर्र्माण तथा अन्य संरचना निर्माणको लागि रु चार करोड ५० लाखको लागत डीपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। अध्यक्ष राईले भने, “गाउँपालिकाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि काम बढाएको छ, त्यसका लागि तीन ठाउँको डीपीआर सम्पन्न गरिसकेका छौं ।’’ अध्यक्ष राईका अनुसार डीपीआर भएका सबै संरचनाको निर्माण कार्य तीन वर्षमा सक्ने लक्ष्य रहेको छ । गाउँपालिकाले तीन ओटै संरचनाको डीपीआरका लागि रु २० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले पर्यटनसँगै खेल क्षेत्रका विकास गर्ने उद्देश्यले कबड हल निर्माण गरिसकेको छ भने अन्तर्राष्ट्रियस्तरको रङ्गशालासमेत निर्माण गरिहेको छ । त्यसका लागि रु एक करोड ३५ लाख लागतमा काम भइरहेको छ ।
खुर्पा प्रहारबाट पाँच घाइते भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरूलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार स्टकहोम (रासस/एपी) । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ । सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन । स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुबै पुरस्कारको घोषणा गरेकाे थियो । पुरस्कारका लागि आठ जनाको नाम प्रारम्भिक छनौटमा परेको र त्यसमध्ये दुई जनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोेबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सोनले बताए। पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन्। उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ। यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको पुरस्कार घोषणा गरिसकिएको छ।
दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ सुर्खेत । सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट रु एक लाख ९१ हजार ५९५ नगदसहित सात जनालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार भेरीगङ्गा नगरपालिका–१२ का कर्णबहादुर चन्द, दीपक थापा, भेरीगङ्गा–२ का दीपक वली,–४ का भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का धीरज अधिकारी र–११ का चिरञ्जीवी वली पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगरबाट रु २५ हजार ४५० नगदसहित सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० का चेत भट्टराई, लोकबहादुर ठाडा, खगेन्द्र शाही, वीरेन्द्रनगर–३ का भोजकुमार डाँगी, दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का दिल पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता रवी रावलले जानकारी दिए । पक्राउ परेकाको अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ ।रासस
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछ, अन्तर्राष्ट्रिय जगतमा राम्रोसँग चिनाउँछ’ काठमाडौं । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई अझै राम्रोसँग चिनाउने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले सीको भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पूर्वराजदुत कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनु सुखद समाचार हो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । २३ वर्ष अगाडि र पछाडि यो बीचको दरबियानमा बाग्मतीमा धेरै पानी बगे । प्रशान्त महासागरमा पनि पानीका छालहरु धेरै आए । उतारचढाव भए । हामी अहिले नयाँ परिवेश र नयाँ युगमा छौं । चीन र नेपाल दुवै यतिवेला नयाँ युगमा छन् । परिवर्तनको एउटा संघारमा हामी उभिएका छौं । यतिखेर चीनजस्तो अहिलेको दुनियाँको एउटा उदयीमान राष्ट्रका सर्वोच्च नेता राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । स्वयम नेपालको निम्ति आफैंमा एउटा गर्वको विषय हो । आफैंमा एउटा नेपालको प्रतिष्ठाको एउटा सम्मान पनि हो ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उक्त भ्रमणको बारेमा नेपाली राजनीतिक वृत्तमा विचारधारात्मक रुपमा आन्तरिक रुपमा विभाजित भएपनि राष्ट्रपति सीको नेपाल भ्रमणबारे सबै एकमत रहेको दाबी गरे । उनले भने, ‘सीको नेपाल भ्रमणबारे नेपाल एक ढिक्को छ । भ्रमणको पूर्ण सफलताको कामना पनि छ । योगदानको बारेमा राजनीतिक वृत्तमा एउटै अवधारणा छ। नेपालको हितमा प्रयोग गरिनुपर्छ । बढिभन्दा बढि नेपालको हितमा परिलक्षित गर्नुपर्ने मत छ ।’ उनले नेपालका राजनीतिक दलहरु र नेपालीहरु अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक सम्बन्धका मामिलामा सधैंभरि एक ढिक्का भएको पनि सुनाए । उनले भने, ‘यहाँ आईपर्ने आपत्तविपत्तमा पनि हामी एक ढिक्का भएर सामना गरेका छौं । प्रजातन्त्रको पूर्नस्थापनामा पनि र हामीले एकजुट भएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हौं ।’ चिनियाँ राष्ट्रपति सी भारत भ्रमण गरेर नेपाल आउने सुनाउँदै कार्कीले भने,‘उहाँ भारत भ्रमण गरेर नेपाल आउँदै हुनुहुन्छ । चीन र भारतको सम्बन्धलाई प्रस्तुत गर्दा प्रतिद्धन्द्धीतमा प्रस्तुत गर्ने गरिन्छ, तर उनीहरुको प्रतिद्धन्द्धिताको आयाम चाहीँ साँघुरो छ । सहयोगात्मक क्षेत्र फराकिलो छ । आपसी हितमा उनीहरुको साझा एजेण्डा छन् । भित्रभित्र उनीहरुबीच सहयोग छ । नेपालले छिमेकीको हितमा, उनीहरुको बीचमा सद्भावका आधारमा आफ्नो सम्बन्ध स्थापित गर्नुपर्छ । त्यसो गर्दा नै हाम्रो हित हुन्छ ।’ उनले सीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि कुनै कसर बाँकी राख्न नहुने पनि सुनाए । उनले भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिने, अझ गहन बनाउने, अझ सुदृढ बनाउने र अझ गहकिलो बनाउने पनि विश्वास दिलाए । उनले भने, ‘दुई देशबीचको आपसी सम्बन्धलाई फराकिलो बनाउने । अपासी विश्वास र समझदारीलाई अझ उँचो बनाउन यो भ्रमण फलदायी हुनेछ ।’ त्यस्तै, उनले आर्थिक क्षेत्रको उपलब्धिको दिशा के हो ? भन्नेबारे नेपालले आफ्नो आर्थिक क्षेत्रका अपेक्षाहरु चीनसमक्ष यसअघि नै राखिसकेको पनि सुनाए । उनले भने,‘केपी शर्मा ओली अघिल्लोपटक चीन जाँदा हामीले ऐतिहाँसिक महत्व राख्ने सन्धि, सम्झौता गरेका छौं । मूलतः तीनै सन्धि, सम्झौताको घेराभित्र रहेर त्यसलाई कसरी प्रभावकारी र ठोस रुपमा अघि बढाउने भन्ने नै हो । सीको भ्रमणको क्रममा यसबारेमा विशेष ध्यान दिनुपर्छ ।’ पूर्वाधार विकासमा चिनियाँ सहयोग र नेपालको औद्योगीकरणको निम्ति चिनियाँ विदेशी पुँजी नेपालमा भित्र्याउने बारेमा अलिक बढि फोकस गर्नुपर्ने उनको सुझाव छ । उनले भने,‘शपिङ लिष्ट होईन, हामीले मुख्य कुरामा ध्यान दिनुपर्छ ।’ नेपालले छानेको र प्राथमिकता दिएको परियोजनामा आफूहरु मद्दत गर्न तयार रहेकोबारे चिनियाँ विदेशमन्त्रीले हालै गरेको नेपाल भ्रमणको क्रममा आफ्नो पोजिशन राखेको पनि उनले सुनाए । उनले भने, ‘बल अब हाम्रो कोर्टमा छ । नेपालले आफ्ना परियोजना के हो ? मेरो जुत्ताको साईज कत्रो हो भनेर पहिचान गर्न सक्नुपर्छ । थोरै अवधिमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिशिचत भएको छ । हामी सबैले यसलाई सफल तुल्याउनको लागि योगदान गर्नुपर्छ ।’ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई केन्द्रमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदुतहरुको छलफलमा पनि भ्रमणलाई सफल बनाउनेबारे कुराकानी भएको उनले सुनाए । उनले भने, ‘आजैमात्रै पनि कांग्रेसका साथीहरु, भूतपूर्व प्रम, पूर्व राजदुतहरुको बालुवाटारमा बैठक भएको थियो । यो भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुइै देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा अझै राम्रोसँग चिनाउने काम गर्नेछ ।’ उनले नेपालले स्वतन्त्र विदेश नीतिमा आफ्नो छबि प्रस्तुत गर्ने कुरामा कुनै द्धिविधा नरहेको पनि जिकिर गरे ।
भूकम्पले क्षति पुगेका छपन्न हजार घर पुनर्निर्माण नुवाकोट । नुवाकोटमा भूकम्पले क्षति पुगेका छपन्न हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुनःनिर्माण गरेका छन्। पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति लिएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशतले घर निर्माण गरेर नयाँ घरमा बसोवास गर्न थालेका छन्। विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख शम्भुकुमार शाहले जानकारी दिए। उनको अनुसार तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई स्थानीयस्तरमा खटिएका प्राविधिकको सिफारिसमा सरकारी अनुदान र तीन लाख उपलब्ध गराइएको हो। भूकम्प पीडितमध्ये ६७ हजार ९५५ लाभग्राही (८८.४७ प्रतिशत) ले आवास निर्माणको लागि घरको जग बसालेर अनुदानको दोस्रो किस्ताबापत एक लाख पचास हजार लिएर घर निर्माण अन्तिम चरणमा पुर्याएका छन्। कुल लाभग्राहीमध्ये ७३ हजार ५१ (९५.११ प्रतिशत) ले भूकम्प प्रतिरोधि आवास बनाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्झौता गरेका छन्। तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गर्ने प्रतिबद्धता जनाएका लाभग्राहीलाई सम्झौता पश्चात रु पचास हजार अनुदान उपलब्ध गराइसकेको कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले जानकारी दिए। उनको अनुसार घर निर्माणको लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले पुनःनिर्माण अघि बढाएका छन्। “अनुदान रकम लिएकामध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरुको लागि कार्यालयले ताकेता गरिरहेको छ”, सापकोटाले भने, “अहिलेको प्रगतिको आधारमा पुनःनिर्माण जारी रहेमा तोकिएको अवधिमा भूकम्पले लडाएका घरको पुनःनिर्माण सम्पन्न गराउनसक्ने आशा जगाएको छ।” सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणको लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्ने वित्तिकै पहिलो किस्ताबापत रु पचास हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्ताबापत रु एक लाख पचास हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्ताबापत रु एक लाख गरेर तीन चरणमा तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ। विनाशकारी भूकम्पले लडाएको निजी आवासको पुनःनिर्माण यो वर्ष भित्रै पूरा गर्ने सरकारी लक्ष्य छ। रासस
पर्यटक माथिको दुर्व्यवहारप्रति दुःख व्यक्त पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा यही असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ। सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुव्र्यवहार भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। पशुपति दर्शनका लागि लखनउबाट आएका झण्डै एक दर्जन भारतीय पर्यटकले सीमामा आफ्नो सवारीसाधन पार्किङ गरेबापत दुई सय रुपैया तिरेको तर त्यसबापत नेपाली व्यवसायीसँग रसिद माग्दा उल्टो पर्यटकलाई दुव्र्यवहार गरिएको र प्रहरीचौकी छिर्दासमेत आक्रमण गरिएको भन्ने समाचार अहिले केही भारतीय प्रिन्ट र अनलाइन सञ्चार माध्यमले प्रकाशित गरेका छन् भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनासमेत संलग्न पर्यटक समूहमाथि भएको घटना सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कारवाही गर्न सङ्घले सरकारसँग माग गरेको छ। बीस लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यकासाथ घोषित नेपाल भ्रमण वर्ष २०२० शुरु हुन तीन महीना पनि बाँकी नहुँदा भारतीय पाहुनामाथि भएको यस्तो व्यवहारले पर्यटन र दुई पक्षीय सम्बन्धमा नै नकारात्मक असर पर्ने बताउँदै सङ्घले पाहुनामाथि हुने कुनै पनि दुव्र्यवहार मान्य नहुने बताएको छ। लखनउलगायत उत्तर भारतका थुप्रै शहरमा सङ्घले विगत १२ वर्ष अघिदेखि भारतीय पर्यटक नेपाल भित्र्याउन सञ्चालित चलिए पोखरा अभियानको सकारात्मक प्रभाव परिरहेको उल्लेख गर्दै सङ्घले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। भविष्यमा यस प्रकारका घटना नदोहोर्याउन सचेत रहनसमेत सङ्घले सम्बन्धित सबैसँग आग्रह गरेको छ। रासस
किन मनाइन्छ ‘विश्व दृष्ट्रि दिवस’ ? World Sight Day अर्थात विश्व दृष्ट्रि दिवस प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो हप्ताको विहिवार मनाउने गरिन्छ। तसर्थ यस वर्ष अक्टोवर १० अर्थात आश्विन २३ गते परेको छ। आजको दिनमा संसार भर अन्धोपन र अन्धोपन हूनूको कारण चित्र आकरण गर्ने छौं। आज भने “Vision First” अर्थात् “दृष्टि पहिलो प्राथमिकता” नाराको साथ विश्व दृष्टि दिवस मनाउँदै छौं। विश्व दृष्टि दिवस पहिलो पटक लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले सन् २००० सालमा सूरु गरेको थियो। अहिले विश्व दृष्टि दिवस International Agency for Prevention of Blindness (Vision २०२०) को संलग्नतामा सहकार्य गर्दै मनाउँदै आएको छ । विश्व दृष्टि दिवसका उद्देश्यहरुः आज नेपाल सरकारको स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखालगायत नेपालका विभिन्न आँखा अस्पतालहरुमा यस दिवसलाई विशेष पर्वको रुपमा मनाइदै छ। यस दिवसमा Nepalese Association of Optometrists (NAO) र विद्यार्थीहरुको पनि विशेष भूमिका रहेको देखिएको छ। Nepal Optometry Student’s Society (NOSS) ले र्याली, जनचेतनाका विभिन्न कार्यक्रमहरु जस्ता क्रियाकलापहरुमा सहभागिता जनाएको छ। कपिल गौतम अध्यक्ष (NOSS) Kapilgautamsir@gmail.com 9843239292
बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन्। स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। “महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ।” उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए। “अहिलेसम्म मुद्दा दर्ता भएको छैन।” चन्दले भने, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ।”रासस
‘चिनियाँ राष्ट्रपतिलाई सी जिनपिङलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुहुनेछ’ काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने बताएका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन्। ‘कसले स्वागत गर्ने भन्दा राष्ट्रपति ज्यूको मैंत्रीपूर्ण निमन्त्रणामा उहाँ आउँदै हुनुहुन्छ भनेपछि उहाँले नै स्वागत गर्नु हुन्छ,’ बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो धेरै बहसको विषय रहेन्, त्यो धेरै क्यूरिसिटीको विषय पनि भएन ।’ मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताए। त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि संचारमन्त्री बास्कोटाको भनाई छ । उनले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बतए। ‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउने, ऐतिहासिक बनाउने कुरामा हामी पूर्ण रुपले सचेत छौं,’ संचारमन्त्री बास्कोटाको भनाई थियो, ‘दुवै देशले त्यसलाई गम्भिरतापूर्वक लिएको छ ।’ चिनियाँ राष्ट्रपति सीको यही शनिबार र आईतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ। संचारमन्त्री बास्कोटाले सो भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख ६ निर्णय काठमाडाैँ । साप्ताहिक रुपमा सरकारले सार्वजनिक गर्ने निर्णय बिहीबार पनि सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै विश्व वैंकले विद्यालय क्षेत्र विकासमा दिने करिब ३ अर्ब स्वीकार गर्नलगायतका निर्णयहरु सार्वजनिक गरेका छन्। १. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । २. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ। ३. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ। ४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ। ५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ। ६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।
मध्यपश्चिममा तीन गुणाले बढ्याे पेट्रोलियम खपत नेपालगञ्ज । पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ। नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५/७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ। जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ। निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ। निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ। आव २०७१/७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५/७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ। त्यस्तै आव २०७१/७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५/७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ। त्यस्तै आव २०७१÷७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५/७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ। आव २०७१/७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५/७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्यास खपत भएको नेपाल आयल निगम नेपालगञ्ज डिपोको तथ्याङ्क छ। यस अवधिमा मट्टितेलको खपत भने शुरुआतमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर रहेको छ। आव २०७१/७२ मा ३०९ किलोलिटर खपत भएको मट्टितेल आव २०७२/७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ। त्यसयता खपत दर करीब स्थीर छ। आव २०७३/७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४/७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५/०७६ मा एक हजार ९३७ किलोलिटर खपत भएको छ। विगतमा भन्दा पछिल्लो समयमा मट्टितेलको खपत विस्तारै खुम्चिँदै गएको नेपाल आयल निगम नेपालगञ्ज डिपोका प्रमुख नवविनोद पोखरेलले जानकारी दिए। सडक निर्माण र अन्य विकासका गतिविधि बढेसँगै मट्टितेल खपत घट्दै गएको र अन्य पेट्रोलियम पदार्थको खपत दर बढ्दै गएको उनको भनाइ छ। “इन्धन क्षेत्र आयातमुखी र खपत उन्मुख भएका कारण मट्टितेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर उच्च भएको छ। आर्थिक गतिविधि र विकासका काम बढेका छन्, सवारी आयातमा उच्च वृद्धि भएको छ, हामीसँग भने पेट्रोलियमको कुनै स्रोत छैन। त्यसैले पनि खपत दर उच्चरुपमा बढेको छ”, डिपो प्रमुख पोखरेलले भने। पेट्रोलियमको स्रोत नभए पनि विद्युत्, वैकल्पिक ऊर्जाका स्रोतमार्फत पेट्रोलियम आयात घटाउन सकिए पनि त्यसो नहुँदा आयात बढेको उनको भनाइ छ। पेट्रोल र डिजलको खपत दर बढेसँगै नेपालगञ्ज डिपोमा रहेका मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिँदैछ। हाल नेपालगञ्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २१० किलोलिटर मात्रै छ। जुन दुई दिनका लागि मात्रै पुग्छ। मट्टितेल भण्डारण क्षमता ७६० किलोलिटर रहेको छ,जुन १२६ दिनलाई पुग्छ। त्यसैले पनि निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएको छ। अहिले निगमलाई सबैभन्दा ठूलो चुनौती भण्डारणको छ। कुनै कारणले तीन/चार दिन आपूर्ति असहज भएमा त्यसको व्यवस्थापन गर्न निगमलाई धौधौ पर्छ। यही आवश्यकतालाई ध्यानमा राखेर निगमले ८० किलोलिटर मट्टितेल भण्डारण क्षमता राखेर पेट्रोल भण्डारण क्षमता ८९० किलोलिटर पुर्याउने भएको छ। “मट्टितेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया शुरु भइसकेको छ”, डिपो प्रमुख पोखरेलले भने, “पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने हालको भण्डारणले माग धान्न पनि धौधौ पर्नेछ। त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ। त्यो प्रक्रिया शुरु भइसक्यो।” मट्टितेलको खपत न्यून भएपछि निगमले मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न शुरु गरिसकेको उनको भनाइ छ। डिपो प्रमुख पोखरेलले भने, “अब मट्टितेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि करीब १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ।” मट्टितेलको माग घट्दै गएपछि मट्टितेल बोक्ने ट्याङ्कर पनि पेट्रोलमा रुपान्तरण हुनेछन्। निगमका अनुसार छुट्टै पेट्रोल ट्ययाङ्की राख्न धेरै रकम आवश्यक पर्ने भएपछि कम लागतमा मट्टितेल ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न लागिएको हो। पेट्रोल भण्डारण क्षमता बढेपछि उपभोक्ताका लागि अझै सहजरुपमा इन्धन आपूर्ति गर्न सकिने डिपो प्रमुख पोखरेलले बताए। “अहिले मट्टितेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रममा रहेको छ”, उनले भने, “सवारीको चापलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल भण्डारण क्षमता विस्तार शुरु गरेको हो।” हाल नेपालगञ्ज डिपोमा डिजेल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्याङ्की रहेका छन्। त्यस्तै बाँके र दाङ्मा ७०८ मेट्रिक टन क्षमतामा खाना पकाउने ग्यास भण्डारण हुँदै आएको छ। बाँकेका दुई वटा भेरी ग्यास उद्योगमा ५१० र मनकामना ग्यास उद्योगमा ९०मेट्रिक टन तथा दाङमा रहेको राप्ती ग्यास उद्योगमा १०८ मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमता रहेको निगमका नेपालगञ्ज डिपो प्रमुख पोखरेलले बताए। निगमको नेपालगञ्ज डिपोको तथ्याङ्कअनुसार खाना पकाउने ग्यास बाहेक बाँकेमा ९८ र दाङमा २८ गरी १२६ जना विक्रेता रहेका छन्। त्यस्तै ५४ जना इन्धन ढुवानीकर्ता रहेका छन् भने २० किलोलिटर क्षमताका १०८ वटा र १२ किलोलिटर क्षमताका चार वटा गरी ११२ वटा ट्याङ्करले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेका छन्। निगमका अनुसार हवाई इन्धनका लागि २० किलोलिटर क्षमताका ९ वटा ट्याङ्कर सञ्चालनमा रहेका छन्। नेपालगञ्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जुम्ला र जाजरकोट गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आइरहेको छ। निगमले वर्षात् शुरु भएसँगै बजारमा इन्धनको खपत घट्ने गरेका पनि जनाएको छ। वर्षात्मा सडक अवरुद्ध, यात्रुको आवागमन कम हुने र विकास निर्माणका काम घट्ने भएपछि इन्धन खपत घट्ने गरेको गरेको छ। खाना पकाउने ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको खपत वर्षात्मा घट्ने गरेको निगमको भनाइ छ। वर्षात्मा बजारमा माग कम भएपछि आयात पनि घट्ने गरेको निगमले जनाएको छ। यस क्षेत्रका लागि निगमले पेट्रोल, डिजल र मट्टिलेतको आयात भारतको गोण्डाबाट गर्दै आएको छ भने हवाई इन्धन इलाहावाद र खाना पकाउने ग्यास मथुराबाट आयात गर्दै आएको छ। निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी)मार्फत इन्धन आयात गर्दै आएको छ।रासस
टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित काठमाडौं । ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ६५ रनको झिनो लक्ष्य पस्केको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले उक्त लक्ष्य ११.५ ओभरमा ४ विकेट जाँदा पूरा गर्यो । ओमनकालागि सुरज कुमारले ३० बलमा ४२ रन बनाए। पाँच देश सम्मिलित उक्त सिरिजको नेपालले सुरूवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्स दुबैलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने आयरल्याण्डसँग १३ रनले पराजित भएको थियो। यो संगै सिरिजको चार खेलमध्ये चारवटै खेल जितेको ओमन ८ अंकसहित अंकतालिकाको शीर्ष स्थामा रहेको छ। तीन खेल जितेको आयरल्याण्ड ६ अंकसहित दोस्रोमा र नेपाल ४ अंकसहित तेस्रोमा स्थामा रहेका छन्। एकखेल जितेको नेदरल्यान्डस् चौथोमा छ भने चारै खेलमा पराजित भएको हङकङ अंकतालिकाको पुच्छारमा रहेको छ।
बढी भाडा लिने चालकलाई कारवाही काठमाडौं । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ। यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो। ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको हो। “साविकभन्दा बढी भाडा लिएको पाइएपछि चालकलाई जनही एक हजार जरीवाना गरिएको हो”, उनले भने। यस्तै काठमाडौँदेखि पोखरासम्म चल्ने माइक्रोबसका चालकले यात्रुको सामान छतमा राखेबापत् एक हजारसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले चार माइक्रोबसका चालकलाई कारवाही गरेको छ। “चालकलाई जनही एक हजार पाँच सय जरिवाना गरेका छौँ”, उनले भने। चाडपर्वको बेला यात्रुको बाध्यतालाई चालकले मौकाको फाइदाका रुपमा लिँदै बढी भाडा असुल्ने गरेका छन्। बढी भाडा लिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर जानकारी गराउन अधिकारीले यात्रुलाई आग्रह गरे।
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। सो दुर्घटनमा बा ६८ प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन्। उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
ओमानविरुद्ध नेपालको खराब प्रदर्शन काठमाडौं । सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको नेपाली टोली घरेलु टोली ओमानसंग नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । टस जितेर पहिले बलिङ्ग गरेको ओमानले खेलको ११ ओभरमा नै नेपाललाई अलआउट बनायो। नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे । ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिएका ओमनका अमिर कालिम नेपालका लागि खरो साबित भए भने बिलाल खानले २ विकेट लिए । ओमन ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ, भने नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ। ओमनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा काठमाडौं । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गरेकाे छलफल कार्यक्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने बताएका छन्। नेपाल राजनीतिक स्थिरतामा प्रवेश गरेको र लामो समयपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाइको सरकारले आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर नीति तथा योजना अगाडि सारेको सन्दर्भमा भौतिक पूर्वाधार तथा विकासलाई नै केन्द्रमा राखेको छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले सडक पूर्वाधार, रेलमार्गलाई प्रमुख प्राथमिकतामा राखेको हो। पूर्वसम्भाव्यता अध्ययन भइसकेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका क्रममा रहेको काठमाडौँ–रसुवागढी रेलमार्ग निर्माणका विषयमा समेत चिनियाँ राष्ट्रपतिको भ्रमणमा केही न केही महत्वपूर्ण समझदारी हुने विश्वास गरिएको छ। चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मङ्सिरमा बुझाएको थियो। त्यसयता एकपटक नेपाल र चीनका अधिकारीबीच सो विषयमा छलफल भयो। सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो। केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ। सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। यस्तै काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ। सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। सो सहमतिलगत्तै चिनियाँ अधिकारीले रेलमार्गको स्थलगत अध्ययनसमेत गरेको थियो। काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन भइसकेको छ। सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ। गत असारमा दुई देशका अधिकारीबीच सो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल भएपनि उपयुक्त निर्णय हुन सकेको थिएन। चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा डिपिआर तयारीलगायतका विषयमा महत्वपूर्ण समझदारी हुन सकिने सरकारी अधिकारीको भनाइ छ। प्रधानमन्त्री ओलीले आज आयोजना गर्नुभएको छलफलमा सहभागी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख खड्ग केसीले केरुङ काठमाडौँ रेलमार्ग निर्माणका लागि आवश्यक अध्ययन पूरा गरी लगानीको ढाँचाका सम्बन्धमा थप केही न केही सम्झौता हुनसक्ने बताए। गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा सहभागी भएका चिनियाँ अधिकारीले उक्त रेलमार्ग निर्माणका विषयमा उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १९ मा गरेकाे चीन भ्रमणका क्रममा समेत सो रेलमार्गको विषयमा महत्वपूर्ण सहमति भएको थियो। चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)मा समेत सो रेलमार्गलाई समावेश गरेको छ। सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने जानकारहरुको भनाइ छ। उच्च स्तरको सहमति भएको खण्डमा प्रारम्भिक अध्ययनका आधारमा रेलमार्गको विषयमा विस्तृत अध्ययन हुनेछ। सो अध्ययनसँगै लगानीको ढाँचालगायत विषयमा आवश्यक निर्णय गर्नु आवश्यक छ। सामान्यतया विस्तृत अध्ययनका लागि डेढ वर्षदेखि दुई वर्षसम्म लाग्ने जानकारहरुको भनाइ छ। डिपिआरका लागि रु एक अर्ब ७० करोड जति खर्च लाग्ने अनुमान गरिएको छ। लाओस, भियतनामलगायत देशमा चिनियाँ लगानी ७० प्रतिशत र ती देशको लगानी ३० प्रतिशत हुने गरी ढाँचा तयार गरिएको छ। कूल तीन खर्बलागत अनुमान गरिएको रेलमार्गमा सोही आधारमा लगानीको ढाँचा तयार पार्दा खासै ठूलो लगानी एकैपटक नपर्ने पनि देखिन्छ। यस्तै प्रधानमन्त्रीले आयोजना गरेकाे छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने जनाउँदै किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङमार्ग निर्माण, अरनिको राजमार्गको स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने बताए। प्रधानमन्त्रीले सन्तुलनका तीन आधार राष्ट्रिय हित, न्यायोचितता, अन्तर्राष्ट्रिय विश्वसनीयता रहेको भन्दै भारतसँग जलमार्ग, चीनसँग रेलमार्गसँग जोडी अन्तरदेशीय व्यापार र अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गर्ने पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसँगको छलफलमा बताएका थिए। उनले सन्दर्भ र सामथ्र्य परिवर्तित भएको चीनसँगको सुम्बन्धलाई नयाँ उचाइमा लगिने जानकारी दिएका थिए। सोही रेलमार्गसँग सँगै रसुवागढी–रातमाटे ४०० केभी अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण गर्ने तयारी भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई करीब करीब अन्तिम चरणमा पुर्याएको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सो आयोजनाका बारेमा समेत केही न केही सहमति गर्ने तयारीमा सरकार रहेको छ।रासस
स्वास्थ्यमा समस्या आएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। सोमबारदेखि हिरासतमा रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको प्रहरी स्रोतले जनाएको छ। हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको जनाएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो।
नेपालविरुद्ध अस्ट्रेलियाको पहिलो हाफमा नै तीन गोलको अग्रता काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको छ । खेलको छैटौँ मिनेटमा नै जेमी म्याकलेरनले अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए । म्याकलेरनले नै १९औं मिनेटमा अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले २३औं मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई अझ बलियो बनाए। सन् २०२२ मा कतारमा हुने विश्वकपको एसिया छनौट अन्तरगत समूह ‘बी’ मा रहेको नेपालले हालसम्मका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो। लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर आज बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र ९लाइसन्स० र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। यस्तै सिरहा प्रहरीले एसएलआर राइफलको गोलीसहित आजै एक युवकलाई पक्राउ गरेको छ । भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीचौकी बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले एक थान एसएलआर राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई पक्राउ गरेको हो।
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। सो दुर्घटनमा बा ६८ प ६८८७ नम्बरको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
स्याङ्जामा एक युवकको हत्या वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ । छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए। इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । घटनाको कारण भने खुल्न सकेको छैन ।
फर्कने यात्रु बढ्दै कास्की । बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आआफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आ आफ्ना कार्यस्थलमा फर्कने गर्दछन् । दशैँका कारण केही दिन भने पनि चहलपहल भएका गाउँ बस्ती पुनः पूर्ववत् सुनसान हुँदै जान थालेका छन् भने शहरमा देशका विभिन्न भागका लागि बाहिरिने सवारीसाधनको चाप बढेको छ । हिजोदेखि नै फर्कने यात्रुको सङ्ख्या बढ्दै गएको पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । पोखराबाट पूर्व र पश्चिमतर्फ ४९ वटा रात्रि बस नियमित सञ्चालन भएकोमा दशैँको टीका लगाई फर्कने यात्रुका कारण सवारीसाधन थपेर ७० वटा बनाइएको उनले बताए । उनका अनुसार काठमाडौँलगायतका स्थानमा जाने माइक्रो बस भने बिहानैदेखि खचाखच भरिएर गएका छन् । दशैँमा फर्कने यात्रुको सुविधा, सुरक्षा एवं जथाभावी भाडा बढी लिने क्रमलाई नियन्त्रण गर्ने लक्ष्यका साथ ठाउँठाउँमा गस्ती एवं सुरक्षा जाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक बाबुराम केसीले जानकारी दिनुभयो । फूलपातीदेखि बिदा भएका सरकारी कार्यालय आजदेखि खुलेका कारण पनि बजार क्षेत्र एवं कार्यालयमा चहलपहल बढेको छ । रासस
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका ब्यानर च्यातेपछि… काठमाडौं । चिनिया राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सजाइएका व्यानर च्यातिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार चिनिया राष्ट्रपतिको स्वागतका लागि सजाइएका बानेश्वर नजिकैको बिजुलीबजारमा सजाइएका ब्यानर च्यातेको अभियोगमा उदयपुरका गोपाल सार्की र रौतहटका राजकुमार ठाकुर पक्राउ परेका छन्। उनीहरुलाई आवश्यक कार्बाही र अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा यही असोज २५ गते शनिबार चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउँदैछन्। सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ। जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने जनाइएको छ ।
शनि सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह एजेन्सी । हाम्रो सूर्यमण्डलले उपग्रहहरूको सङ्ख्याको आधारमा नयाँ विजेता ग्रह पाएको छ । वैज्ञानिकहरूले शनिको थप २० वटा चन्द्रमाहरू पत्ता लगाएसँगै अब शनिको चन्द्रमाहरूको सङ्ख्या ८२ पुगेको छ, जसले वृहस्पति र यसका ७९ चन्द्रमाहरूलाई पछि पारेको छ । हाम्रो सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह वृहस्पति आफ्नो चन्द्रमाहरूको सङ्ख्याका आधारमा शनिभन्दा पछाडि परेतापनि बृहस्पतिसँग सबैभन्दा ठुलो चन्द्रमा(उपग्रह) छ । बृहस्पतिको ‘ग्यानिमीड’ नामक उपग्रह करिब पृथ्वीको आधा आकारको रहेको छ ।
अर्जेन्टिनासँग जर्मनीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा एजेन्सी। फिफाको मैत्रीपूर्ण खेलमा पूर्व डिफेन्डिङ च्याम्पीयन जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा रोकिएको छ । जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन । पहिलो हाफमा २-० ले पछाडि परेपनि दोश्रो हाफमा अर्जेन्टिनाले पुनरागमन गरेको हो ।  खेलको १५ औँ मिनेटमा नै नाब्रीको गोलमा जर्मनीले अग्रता बनाएको थियो । त्यसपछि २२ औं मिनेटमा हाभेर्जले गोल गरेर टिमलाई २–० ले अगाडि राखे । लुकास अलारियोले ६६औं मिनेट र खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास ओकाम्पसले अलारियोको उत्कृष्ट मुभलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । उक्त खेलमा मेस्सी आफ्नो टिममा थिएनन्। मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अजरबैजानले बहराइनलाई ३–२ ले हराएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ। विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो। भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछन्। राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ। राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। नेपाल र छिमेकी चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ। ‘अतिथिदेवो भवः’ को आदर्शलाई व्यवहारत अपनाइरहेको नेपालले विशिष्ट पाहुनाको भ्रमणमा जनस्तरबाट समेत स्वागत हँुदै आएको छ। तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ। मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ। बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ जसले एकै हेराइमा पनि नेपालको पहिचानलाई बुझाइदिनेछ। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगत्मा नेपालको थप पर्यटन प्रवद्र्धन हुने ठानिएको छ। यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ । काठमाडौँ शहरको सौन्दर्य अभिवृद्धिमा कार्यरत काठमाडौँ महानगरपालिका तीनकुनेस्थित खुलास्थललाई कृत्रिम उद्यान (आइल्याण्ड) बनाई हरियाली तुल्याउँदै छ । कतिपय स्थानमा अस्थायी संरचना बनाई आकर्षक बनाएको छ। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहरलाई सुन्दर, हराभरा र स्वच्छ राख्न आफूहरुले काम गरिरहेको बताउँदै विभिन्न आइल्याण्ड, उद्यान निर्माण र सडकका बारहरुमा रङ्रोगन भइरहेको बताए । स्वागतका झण्डा राखिने खम्बाहरु पनि महानगरपालिकाले सजाउँदैछ । प्रवक्ता डङगोलले भने, “हामीले जिम्मा पाएअनुसार सरसफाइको काम व्यापक भइरहेको छ । शहरलाई सफा र हरियाली बनाइनेछ । सडक बत्तीहरुको व्यवस्थापनको काममा पनि हामी लागेका छौँ ।” राष्ट्रपति सी आउँदा त्रिभुवन विमानस्थलदेखि मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा फहराएर विद्यार्थी बस्नेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुलाई पनि विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको जानकारी दिए । सडक अनुगमनमा भौतिकमन्त्री काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिनुभएका मन्त्री महासेठले रासससँग कुरा गर्दै मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए। सोहीस्थलमा मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए। काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ।
दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस
दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन्। आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जाने धारणा राखे। उनले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको भन्दै कृषिमा थुप्रै सम्भावना भएको धारणा राखे। उनले कृषकहरुका थुप्रै समस्याहरु सुनिने गरेको बताउँदै मल, बीउ, सिँचाइलगायतका समस्या समाधान गर्न तथा उत्पादन वृद्धि गराउने आधुनिक प्रविधि भित्र्याउन पहल गरिने उल्लेख गरे। प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कृषि प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गरेमा मात्रै प्रदेशसँगै सिङ्गो राष्ट्र समृद्ध हुने बताए। उनले कृषिमा उपलब्धी हासिल गरेका कृषकहरुले नयाँ र कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई अनुभव तथा सीप हस्तान्तरण गर्नुपर्ने धारणा राखे। मुख्यमन्त्री पौडेलले आज हेटौँडाको विभिन्न कृषि क्षेत्रको अवलोकन गरेका हुन्। दशैँमा समेत किसानको खेतबारीमा पुगेपछि व्यावसायिक किसानहरु खुशी भएका छन्। मुख्यमन्त्रीको अनुगमन तथा अवलोकनले किसानहरु खुशी भएको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतीका सञ्चालक बालकृष्ण चौलागाईँले बताए। मुख्यमन्त्रीले यस क्षेत्रको कृषिमा ठूलो चासो राखेको तथा हौसला प्रदान गरेको चौलागाईँको भनाइ छ। उनले यस क्षेत्रमा सिँचाइको समस्या रहेको बारे मुख्यमन्त्रीलाई जानकारी गराएको र मुख्यमन्त्रीले भूमिगत सिँचाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी दिए।
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन्। पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा १२ च १८१२ नं को जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन्। यसैगरी पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरोको ठक्करबाट आज स्कुटरमा सवार तीन जना घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नं को बोलेरोले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–००–०१प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन्। घाइतेमध्ये सुरजको हातमा सामान्य चोट लागेको छ भने शोभा र अर्पणको टाउको र बायाँ खुट्टामा चोट लागेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुई जनालाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। राहत प्रदान चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ। मङ्गलबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँका परिवारलाई कार्यालयले आज किरिया खर्चस्वरुप रु ५० हजार उपलब्ध गराएको हो। मृतक बालकको घरमा पुगेर डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उक्त रकम मृतकका काका रामचन्द्र बानियाँलाई हस्तान्तरण गरेका छन्। चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने डिभिजन प्रमुख बरालले जानकारी दिए। बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ। घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो। बालकको घर वरपर अत्यधिक झाडी रहेकाले झाडीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण गरेको थियो। घर नजिकै झाडी भएको ठाउँमा र साँझको बेला चितुवाले बालबालिकालाई आक्रमण गरेकाले चितुवाको आक्रमणबाट बच्न सचेत हुनुपर्ने भानु नगरपालिकाका प्रमुख गौलीले बताए। “घर वरपरको झाडी सरसफाइमा विशेष ध्यान दिनुपर्ने र साँझको बेला घर बाहिर बत्तीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ”, नगरप्रमुख गौलीले भने, “साँझको बेला परिवारले बालबालिकाको विशेष ख्याल गर्नुपर्छ।” डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए। बरालले घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने भएकाले सर्वसाधारण यसप्रति सचेत हुनुपर्ने बताए। सामुदायिक वनमा खोर राखिने भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका लागि केही खोर राखिएको थियो। भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा राखिएको खोरमा असोज १५ गते एउटा चितुवा परेको थियो। उक्त खोर प्रभावकारी देखिएपछि भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा खोर थपिने भएको छ। स्थानीयवासीको सहयोग र भानु नगरपालिकाको आर्थिक लगानीमा खोर निर्माण गरी चितुवा नियन्त्रणका लागि सामुदायिक वनमा राखिने डिभिजन नगरप्रमुख गौलीले जानकारी दिए। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहभागितामा सर्च अभियानसमेत सञ्चालन गरिनेछ।बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिले गोली हान्ने आदेश दिइसकेको छ। चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ। यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको छ।रासस
जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु बर्लिन (रासस/एएफपी) । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ। प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जनाएको छ। हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ। उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ। यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ।रासस
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई प्रदान स्टकहोम (रासस/एपी) । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो छन्। यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरु धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ। नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति हुन्। उनीहरुले गरेको अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गरेका छन्। सन् १९७० को दशकमा तेलको विश्वव्यापी संकट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थालेका थिए। रसायनशास्त्र तर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ। यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ।
हराएका ४८८ महिला तथा बालबालिका फेला दमौली । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन्। आर्थिक वर्ष २०७४/७५ मा २५६, ०७५/७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६/७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४/७५ मा २५६, ०७५/७६ मा २२२ र ०७६/७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन्। सिलवालका अनुसार ०७४/७५ मा हराएकामध्ये छ र ०७६/७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन्। “विसं ०७४/७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भने। कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताए। प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ। त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ। मुद्दा दर्ता बढ्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा वर्षेनी मुद्दा दर्ताको चाप बढ्दै गएको छ। प्रहरी कार्यालयको त्रिवर्षीय मुद्दा दर्ताको विवरणले जिल्लामा वर्षेनी मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि भएको देखाएको छ। आव २०७३/७४ मा ३७९ मुद्दा दर्ता भएको कार्यालयमा ०७४/७५ मा ३७८ र ०७५/७६ मा ४३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक सिलवालका अनुसार चालू आव ०७६/७७ मा पनि ८४ वटा मुद्दा दर्ता भइसकेको छ। दर्ता भएका मुद्दामध्ये आव ०७३/७४ मा ३७८ फछ्र्यौट भई १, ०७४/७५ मा ३०७ फछ्र्यौट भई ७१ र ०७५/७६ मा ३६७ फछ्र्यौट भई ५६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ भने चालू आवमा ५४ फछ्र्यौट भई ३० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ। कार्यालयमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती चोरी, लागुऔषधलगायतका मुद्दा बढिरहेको सिलवालले बताए। गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सवारी ज्यान र लागुऔषधको रहेको छ। उक्त अवधिमा सवारी ज्यानको ५१ र लागुऔषधको ४४ मुद्दा दर्ता भएको थियो। उक्त दुवै मुद्दा फछ्र्यौट भइसकेको सिलवालले जानकारी दिए। त्यस्तै सोही अवधिमा जबर्जस्ती करणीको २२, जबर्जस्ती करणी उद्योगको छ, कर्तव्य ज्यानको १०, नकबजनी चोरीको १५, अभद्र व्यवहारको ३८, सार्वजनिक उपद्रयाइको २० मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजा फँडानी, विद्यालयमा सचेतना अभियान, लागुऔषध नियन्त्रण लगायतलाई प्राथमिकता दिएको छ। साथै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्लास्तर समिति बैठक, पालिकास्तरीय बैठक, अभिमुखीकरण लगायतका कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ।रासस
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग एनआरएन कुनै पनि देशको संबिधान त्यो देशको मुल कानुन मानिन्छ । तर संबिधानमा सबै कुरा बिस्तृत रुपमा लेखिएको हुदैन । त्यसैले संबिधान कार्यान्वनको लागी संबिधानको मर्म अनुरुप कानुनहरु निर्माण गरिन्छ। यदी कुनै कानुन संबिधानको भावना बिपरित हुन गएमा बिपरित भएको जती खण्ड स्वत अमान्य गराउन सकिन्छ। नेपालको संबिधान २०७२ भाग २ नागरिकता सम्बन्धी धारा १४ मा दक्षिण यशियाली मुलुक बाहेकका मुलुकमा बस्ने साबिकमा नेपालको नागरिक रहेको र पछी बिदेशको नागरिकता लिएको हकमा तिनलाइ नेपालको संघीय कानून बमोजिम आर्थिक्, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवाशीय नागरिक्ता दिन सकिने व्यवस्था गरिएको छ। हाल संसदमा अंगीकृत नागरिकता र अन्य नागरिकता बारे छलफल चलिरहेको छ। कानूनहरु निर्माणाधिन अवस्थामा नै रहेको छ। तर अमेरिकाको नागरिक लिईसकेकाको एन आर एनलाई भने दुई नाउमा खुट्टा राख्ने दोहोरो नागरिकता पाउन चट्टारो परिसकेको छ। नेपालको संसदमा दुई तिहाई बहुमत बिना संबिधान संशोधन गर्न सकिदैन। अहिले नेकपाको १७४ सांसद र फोरमको १७ मिलाउदा १९१ सांसद हुन्छ जुन दुइतिहाई भन्दा बढी हुन्छ। तराई केन्दृत दलहरु सबिधान संशोधनको लागि ताकेता गरिरहेका छ्न्। तर नेकपाका कतिपय सांसदहरु संशोधन प्रती उदासिन देखिएका छ्न्। अलिकति संशोधनको पाईलो चाल्दा अरु धेरै संशोधन गर्न अनिवार्य हुन जान्छ। त्यसैले अहिले नेकपाको दुइतिहाईको स्थिति भएपनि उनीहरु संबिधानलाइ हलचल नै मचाउने कुनै संशोधन गर्न इच्छुक देखिदैनन्। साथै नेपाल खोजिरहेको छ एनआरएनबाट लगानी। तर एनआरएन खोजिरहेको छ दोहोरो नागरिकता। अनि मिडिया र नागरिक समाज हरु चाही दोहोरो नागरिकताबाट एनआरएनलाई त फाईदा होला। तर नेपाललाइ फाईदा के भनी प्रश्न गरिरहेका छ्न्। एनआरएनमा कसैले नागरिकताको निरन्तरता खोजिरहेका छ्न्। कसैले राजनितिक अधिकार सहितको नागरिकता खोजिरहेका छ्न्। कसैलाइ सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्रको नागरिकता भए पुग्ने भएको छ। यसरी एनआरएनमा नागरिकताको रुपमै एकरुपता छैन। राजनीतिक गुटबन्दीको कारण एनआरएनको चुनाव डोर्याएको छ। नेपाल र नेपालीको लागि यो संस्थाले तातो भुत्लो केही गरेको देखिदैन। यिनिहरुको सधैको खिचौलो कुरो सिर्फ यिनिहरु बिच सिमित राख्न फेसबूक्मा एक बकस खडा गर्नु उचित हुने देखिएको छ। गत सेप्टेम्बर ३० मा एनआरएन न्यूयोर्क च्याप्टरले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग गरेको अन्तर्कृया कार्यक्रममा “मन्त्री ताक्ने मुडो, एन आर एन ताक्ने घुँडो” भन्ने उखान चरितार्थ भएको छ। मन्त्रीले नेकपा सरकार नेपालमा आर्थिक स्मृघी ल्याउन कटिबध्ध रहेको र त्यसकालागी बिदेशी लगानी भित्र्याउन लगानी बिकास बोर्ड खडा गरी बिभिन प्रयास गरिरहेको बारे उल्लेख गर्नु भयो। सरकारले सोचे बमोजिम उपलब्धी हाशिल गर्न कती बजेट आवस्यक पर्ने र त्यसका लागी कती रकम बिदेशी लगानी कर्ताहरुबाट प्राप्त हुने बचन प्राप्त भएको बारे बताए । अनि कती रकम अझै नपुग हुने र त्यसका लागी एन आर एनलाइ लगानी गर्न सुबर्ण अवसर भएको बारे उल्लेख गरे । साथै एन आर एनलाइ दोहोर नागरिक्ता प्रदान गर्ने बिषय हाल कुन अवस्थामा पुगेको छ भन्ने बारे पनि बिस्तृत बिवरण सुनाए । एन आर एनलाइ दोहोरो नागरिकता दिने बारे देशको संबिधानले नै ब्यवस्था गरी सकेको हुनाले यो कुनै कानुले हटाउन नसक्ने र अहिले यो नागरिकता प्रदान गर्ने प्रकृया पुरा गर्न कानुन सदनमा निर्माण भैइरहेको बारे बिस्तृत उल्लेख गर्नु भयो । सिर्फ अन्य बिबिध कारणले मात्र अलि ढिला हुना गएको हो तर यो ढिलो वा चाडो आउने निस्चित भएको स्पस्ट पार्नु भयो। मन्त्रीज्युले आफनो बिस्तृत भनाइ राखी सकेपछी आफु एउटा त्यस्तो योजनाको खोजिमा रहेको जसले धेरै लगानी बटुलेर्, धेरैलाइ जोडेर्, उत्पादन र रोजगार बढाएर देशको कायापल्ट गर्न सकियोस, भन्ने आफ्नो सोचाई रहेको अति प्रभावकारी सोच ब्यक्ती गरे। नेपालमा आफ्नो मुटु नै टाँस्सिएको भन्न ईच्छुक एन आर एन अमेरिकाले बिकास र लगानी सम्बन्धी प्रतिबध्धता जाहेर गर्ला कि भनी स्पस्ट त्यसको आशा एव्ंम अपेक्षा पनि नेकपा सरकारले गरेको बताए। दोहोरो नागरिकताको प्राप्तिको लागी निरन्तर लागिरहेका कानुनबिद खगेन्द्र जिसि ले मन्त्रीज्युले बताएको संपुर्ण कुरा बारंबार फेसबूकमा पोस्ट गरी सबैलाइ अवगत गराई आएकाछ्न्। त्यसकारण यसबारे अरु सोध्नु पर्ने केहि कुरो थिएन। कसैलाइ केही कुरो सोध्न मन लागे गुलमेली मन्त्रीले दाजु भनेका गुलमेली जिसिले नै बताई दिन सक्छ्न।उनि कानुनका ज्ञाता भएकाले यो उनको लागी साधारण कुरो हो। अब दोहोरो नागरिकता चाहिएकाहरुले सिर्फ सयंमपुर्वक धैर्य गर्दै पर्खन जान्नु पर्यो । त्यो बाहेक अर्को बिक्ल्प छैन। जिसिले नागरिकता सम्बन्धी बिस्तृत कुरा राखी सके पछी र मन्त्रीज्युको ईमन्दारितापुर्ण बिस्तृत जवाफ सुने पस्चात त्यसैको आधारमा वहालाइ केही जानकारी दिने सोच बोकेका कतिपय कांग्रेसी र अन्य बिकास र लगानी सम्बन्धी ज्ञाताहरु पनि कार्यक्रममा थिए। एन्करले मन्त्री ज्युले जिज्ञासा र चासो देखाएका बिकास र लगानीमा मात्र केन्दृत भएर प्रश्न राख्न सबैलाइ सुरुमै भनिएको थियो। तर यसको बिपरित बिकास र लगानी बाहेकका अनेक प्रश्न राख्ने बामपन्थी गुट पहिले नै सेट भैसकेको रहेछ। अनि त आयोजक प्रमुखले आफ्नो दुई फुट अगाडी उभिएको सहभागिलाई पनि नदेखेको जस्तो गर्न थाले र एन्करले नाम भन्न जादा वास्ता गरेनन। पुर्व सेट्टिङ गुट्बाट नेपालले दशै अगाडि नै दोह्रोरो नागरिक्ता दिने भन्ने कुरो भएको थियो सो किन आएन भन्ने नै मुल प्रश्न सबैको मन्त्रीसग रह्यो। मानिलिउ मन्त्रीले युन एनको कार्यक्रममा भाग लिन आउदा अमेरिकामा बाँडन नेपालको दोहोरो नागरिकता खल्ती मै बोकेर आएका छ्न र त्यो कहिले दिने भन्ने खालका प्रस्न सुनियो। तर बिकास र लगानिको कुरो नसुनिएपछी मन्त्रीज्युको आशामा तुषारापात भएको सहजै बुझ्न सकिन्थियो। आयोजकले यो एक बाम भेट्घाट कार्यक्रमलाइ, ूमन्त्री र एन आर एन अन्तरकृयाू, नामाकरण गरी मान्छे बटुलेर मन्त्रीलाइ देखाउने मात्र कार्य गरेका रहेछ्न। अनि पुर्व निर्थारित बामे मण्डलकालाइ मात्र मन्त्रीसंग प्रश्न राख्ने वा सुझाव दिने चाजोपाजो मिलाएका रहेछ्न्। पछि पुझ्दा त अमेरिकाको नागरिक लिएकाहरुलाइ दोहोरो नागरिक चाहिएकोले राजनीतिक कार्यक्रम भनेर आयोजक प्रमुखले जवाफ दिए। कतिपय बामपन्थी ईतरकाले मन्त्रीसग प्रश्न गर्न वा नेपालको बिकास र स्मृधिको लागी केही सल्लाह सुझाव दिन चाहनेलाइ अवसर दिईएन। यसबाट उनिहरुलाइ त केही घाटा भएन। तर नेपालको बिकास र लगानी सम्बन्धी मन्त्री ज्युले केही कुरो सुन्न नपाए पछी नेपाललाइ उपलब्धी हिन कार्यक्रममा आएर घाटा चाही अवस्य भएको अनुमान गर्न सकिन्थियो । सांरासमा यो कार्यक्रम उपलब्धिहिन मन्त्री भेटघाट कार्यक्राम भएको धेरैको अनुभुव रह्यो। धेरैले समय त्यसै खेर गएको महशुस गरे। अनेसास न्यूयोर्क च्याप्टरको पुस्तक बिमोचन कार्यक्रम तर लगतै पस्चात अनेसास न्यूयोर्क च्याप्टरलेले श्रीमती मन्त्री ज्ञवालीको ”लालटिनको उज्यालो” पुस्तक बिमोचन कार्यक्रम राखेको रहेछ । जसमा फेरी मन्त्री ज्ञवालीलाइ श्रीमतीको बिमोचन कार्यक्रमको प्रमुख अतिथी बनाइ च्यापटरका सभापति राजेन्द्र श्रेष्ठले खादा ओढाएर स्वागत गरे। सञ्चालिका शकुन ज्ञवाली र समिक्षिकाले पुस्तकका बारे उल्लेख गरेको बिवरण सुन्दा मन्त्री ज्ञवाली दम्पतिको आदर्श्, पंचायतकालिन पिडा, यातना, महिलाको बिवस्ता, दयनिय अवस्थाका दिनहरु, बाम बिचारमा अटुट अस्था अनि आफुले हेडेको मार्गबाट कुनै दिन सोचेको गन्तब्यमा पुगिने अटुट बिस्वास इत्यादी बारे सुन्दा श्रोता निकै भावबिह्वल भैइ पाच मिनेट भनेको कार्यक्रम एक घण्टा ध्यान मग्न भई सुनेका थिए। यसका लागि राजेन्द्र श्रेष्ठ र शकुन ज्ञवाली धन्यबादका पात्र हुनु भएको छ।
सिन्धुपाल्चोकमा भव्य रुपमा मनाइयो दही छ्याप्ने जात्रा सिन्धुपाल्चोक । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ५ स्थित तौथलीमा सम्पन्न भएको छ । विजया दशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरा सुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा आज सम्पन्न भएको हो। तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्यत्र कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए। आसपासका गाउँका गाईभैँसीले सधैँ दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ। एकले अर्कालाई दही छ्यापाछ्याप गर्दा सहभागीको अनुहारसमेत चिन्न मुस्किल पर्ने र छ्यापेको दही बगेर पैदल हिँड्नसमेत असहज हुने स्थानीय बासिन्दा बताउँछन्। जात्रामा करीब आठ/१० वर्षअघिसम्म प्रशस्त दही जम्मा भई जात्रामा खोलो नै बग्ने गर्दथ्यो। तर गाउँमा चौपाया पाल्ने किसानको कमी हुन थालेपछि दही आउन पनि कम हुँदै गयो। त्यसलाई दृष्टिगत गरी यस वर्ष दही खरीद गर्न पालिकाले रु दुई लाख र चन्दा सङ्कलनबाट रु दुई लाख गरी रु चार लाख जम्मा भएकाले पुनःपहिलेकै अवस्थामा दहीको खोलो बगाउने योजना रहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डव जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बसेको महाभारतमा उल्लेख छ। उनीहरु गुप्तबास बसेको ठाउँ दोलखा भएको अनुमान गरिएको छ। गुप्तबास बस्दा अरुबाट चिनिने डरले उनीहरूले पाल्छी भाषा अर्थात् कोड भाषा प्रयोग गरेका थिए। दोलखा र तौथली डाँडाबारी र पारी पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दो जुल्दो छ। दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोल्दैनन् र बुझ्न पनि कठिन पर्दछ। दोलखामा जस्तै तौथलीमा पनि भिमसेनको मन्दिर रहेको छ। रासस
बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो। दुई दिनदेखि नेपाल प्रहरीका साथै भिरपाखोमा सहजरूपले हिँड्न सक्ने १० थप दक्ष जनशक्ति र स्थानीय बासिन्दासमेत परिचालन गरिएको छ। उनको खोजी अहिले गोसाइँकुण्ड गाउँपालिका वडा नं १ थुमन गाउँको उत्तर रसुवागढीबाट १० किमी दक्षिण पश्चिम रिछर जङ्गल इलाकामा भइरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए। पर्यटकीय पदमार्गको वृद्धिम, टिमुरे तथा लाङ्टाङ समेतका क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेदेखि परिचालन गरी पछिल्लो चरणमा भने थुमन इलाका क्षेत्रमा खोजीमा केन्द्रित गरिएको प्रहरीले बताएको छ। पर्यटक प्रहरीचौकी स्याफ्रुबेंसीको अभिलेखअनुसार उनी गत महीनाको भदौ २७ गते रसुवाको स्याफ्रुबेंसीमा बास बसी असोज २८ गतेदेखि तामाङ सम्पदा पदमार्गको भ्रमणमा गएका थिए।रासस
एनआरएनएको नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्वारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन्। कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन्। नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् भैसकेको छ। नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि उम्मेद्धवारी घोषणा गरेका सोम सापकोटा, महेश कुमार श्रेष्ठ र सुदन थापाले पनि गैरआवासीय नेपालहरुले दोहोरो नागरिकता पाउनुपर्ने कुरा उठाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले संघको नवौं महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोषाध्यक्षका उम्मेद्धवार सोम सापकोटाले आफू कोषाध्यक्षमा निर्वाचित भए संघको कोषलाई पारदर्शी रुपमा चलाउने विश्वास दिलाए । त्यस्तै, सापकोटाले स्वरोजगार कल्याणकारी कोषलाई चलायमान बनाउँदै गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्नको लागि उपयोग गर्ने बताए । आफूले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुसँग साक्षात्कार गरेको र उनीहरुको सल्लाह र सुझावकै आधारमा कोषाध्यक्षको उम्मेद्धवार बनेको सुनाउँदै आफ्नो जीत सुनिश्चित् रहेको पनि सापकोटाको दाबी छ । उनले प्यानल बनाएर चुनाव लड्नुभन्दा संस्था बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी प्यानलबाटै चुनाव लड्नुपर्ने अवस्था आए अध्यक्षका उम्मेद्धवारी कुल आचार्यसँग आफू नजिक रहेकोले सोहीअनुसार निर्णय लिने पनि उनले स्पष्ट पारे। सापकोटा अहिले संघका सह–कोषाध्यक्ष हुन् । संघलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्नेबारे आफूसँग विगत १३ वर्ष लामो अनुभव रहेकोले अब उक्त अनुभवलाई व्यवहारमा उतार्ने बेला आएको सुनाउँदै कोषाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको सापकोटाको भनाई छ । संघमा आवद्ध भएदेखिको १३ वर्षको अवधिमा आफू संसारभरि रहेका राष्ट्रिय समन्वय परिषदमा आफू पुगेको पनि उनले सुनाए । वैदेशिक रोजगारीका समस्यालाई हल गर्नको लागि पनि आफूले पहलकदमी लिने उनले सुनाए । ‘म कल्याणकारी समितिको सदस्य पनि हुँ, आगामी दिनमा वैदेशिक रोजगारीको समस्या जो छन्, ती सबै हल गर्नको लागि पनि म पहल गर्नेछु ।’–उनले भने । उनले २ करोड रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई कम्तिमा पनि पाँच करोडको कोष बनाउने जनाए । विभिन्न कालखण्डमा आफूहरुले गरेका सञ्चालनमा रहेका परियोजनाहरुको लेखाजोखा गर्नुपर्ने बताए । राष्ट्रिय समन्वय परिषदलाई पनि आर्थिक रुपमा पारदर्शी बनाउनुपर्ने उनको धारणा छ । उनले आफू निर्विरोध कोषाध्यक्ष हुने सम्भावना सुनाए । तर, चुनावी प्रतिष्पर्धा भएपनि आफू नै विजयी हुने उनले सुनाए । उनले संघको नेतृत्वमा उम्मेद्धवारी दिएका कुमार पन्त र कुल आचार्यबीच समझदारी बन्नेमा आफू विश्वस्त रहेको पनि सुनाए । उनले भने,‘हामीसँग अझै एक हप्ता समय छ, हामी सर्वसम्मतीमा नेतृत्व चयन गर्नेबारे प्रयासरत छौं ।’ कोषाध्यक्षका अर्का उम्मेद्धवार महेशकुमार श्रेष्ठले आफ्नो फाईनान्सियल अनुभवलाई संघमा उपयोग गर्ने सोचका आधारमा नै कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेको सुनाए । आफू विगत लामो समयदेखि संघका विभिन्न समितिमा बसेर काम गरिसकेको व्यक्ति भएको पनि उनले सुनाए । श्रेष्ठले भने,‘मैले संघको विधान र लगानी समितिमा बसेर काम गरिसकेको छु । संघमा मैले लामो योगदान गरेको छु ।’ त्यस्तै, उनले सरकारले गठन गरेको ईन्भेष्टमेन्ट कमिटीमा पनि आफूले लामो समय काम गरेको बताए । संघको कोषलाई कसरी सवलीकरण गर्न सकिन्छ भन्नेबारे आफूसँग ठोस योजना रहेको पनि उनले सुनाए । उनले भने, ‘हाम्रो संघको कोष सेफ सन्टेनेवल हुन आवश्यक छ। त्यो अहिले भैरहेको छैन्, हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले कोषलाई सवलीकरण गर्नेबारे आफ्नो तत्काल, अल्पकालिन र दिर्घकालिन योजना पनि सुनाए । उनकाअनुसार तत्काल गर्न सकिने योजनामा ८ करोड जम्मा गर्न सकिने योजना सुनाए । उनले भने,‘म रेमिट्यान्स सेक्टरमा काम गरेको व्यक्ति हुँ, मलाई के थाहा छ भने विश्वभरिबाट अहिले ८ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । रेमिट्यान्स भित्र्याएबापत राष्ट्र बैंकले ३० पैसा ईनसेन्टिभ गर्छ । त्यसको एक पैसामात्रै श्रमिकहरुको लागि कलेक्सन गर्न सकियो भने ८ करोड हुन जान्छ ।’ यसबारेमा आफूले राष्ट्रबैंकका अधिकारीसँग छलफल अघि बढाईएको पनि उनले सुनाए । संघको वार्षिक आर्थिक नीति बनाउनुपर्ने आफ्नो धारणा रहेको पनि उनले स्पष्ट पारे । आगामी दिनमा संघका परियोजना र घोषणाहरु आर्थिक योजनामा आधारित हुनेपनि आफूले विश्वास लिएको उनको भनाई छ । संगठनमा हुने खर्चहरु पारदर्शी हुनुपर्ने आफ्नो मान्यता रहेको श्रेष्ठको भनाई छ । उनले कोषलाई अनुशासित, मर्यादित र पारदर्शी रुपमा चलाउने प्रतिबद्धता व्यक्त गरे । संघको सांगठानिक संरचनालाई मजबुद बनाउँदै अघि बढाउने पनि उनले विश्वास दिलाए । संघभित्र पार्टीको राजनीति हावी हुन नदिने पनि उनले स्पष्ट पारे । कोषाध्यक्षका अर्का उम्मेद्धवार सुदन थापाले संस्थालाई आर्थिक रुपमा बलियो र सशक्त बनाउनको लागि आर्थिक पाटो स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘नेपालमा विदेशी लगानी भित्र्याउनको लागि पनि मेरो उम्मेद्धवारी हो । सन् २००८ देखि कार्यसमितिमा रहेर कार्यरत छु । लाखौं नेपालीहरुको लागि कल्याणकारी कोषको आवश्कत्ता छ ।’ उनले आफू जापानको अध्यक्ष बन्दै गर्दा नेपालीहरुको ठूलो समस्यालाई मध्यनेजर गर्दै कल्याणकारी कोष खडा गरेको सुनाए । उनले भने, ‘वैदेशिक रोजगारमा रहेका साथीहरु अंगभंग हुँदा हामीले सहयोग गर्न नसकेको अवस्था थियो । ती अवस्थालाई देखेर, बुझेर र सिकेर तीनिहरुलाई सहयोग गर्नको लागि पाँच करोडको आपतकालिन कोष जापानमा खडा गरेको थिएँ । त्यो कोष धेरै उपयोगी भएको थियो ।’ उनले आफ्नो समग्र उम्मेद्धवारी देशसँग जोड्नको लागि पनि भएको जिकिर गरे । उनले भने, ‘१४ वर्षको अनुभवलाई अब उपयोग गर्नको लागि पनि कोषाध्यक्षमा उम्मेद्धवारी दिन लागेको हुँ।’ आईसिसीको युवा संयोजक भएर काम गरेको सुनाउँदै थापाले गैरआवासीय नेपाली युवाहरुको वृद्धिविकासमा पनि आफूले ध्यान दिने बताए । उनले भने, ‘नेपालमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाम्रा साथीहरुले भाग लिनुभएको थियो । उहाँहरुलाई खेल्ने वातावरण सिर्जना गरेका थियौं ।’ उनले सबैलाई समेटेर जाने पनि प्रतिबद्धता व्यक्त गरे ।
भोजपुरमा टेम्पो दुर्घटनामा हुँदा एक जनाको मृत्यु काठमाडौं । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो। दुर्घटना सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए। घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन्। घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।रासस
‘चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन्’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन्। उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो। हामी उहाँलाई स्वागत गर्न चाहन्छौं।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको स्पष्ट पारे। उनले भने, ‘म परराष्ट्रमन्त्री भएको बेला नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थियौं, उहाँले त्यतिवेला पनि उपयुक्त समयमा आउने कुरा गर्नुभएको थियो । उहाँ अब आउँदैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’ एक कार्यक्रममा बोल्दै उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए। उनले भने, ‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ। विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ। हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ।’ आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पारे। उनले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्धती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दापनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने बताए। र, अहिले सोहीअनुसार आफूहरु अघि बढिरहेको पनि महतको जिकिर छ। चीनसँगपनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउँदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भिर हुनुपर्ने बताए। नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्ता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउँदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्नेमा महतले जोड दिए। उनले भने, ‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्तालाई ध्यानमा राखेर आफ्नो एजेण्डा अघि सार्नुपर्छ।’ आफू नै परराष्ट्रमन्त्री हुँदा बिआरआई परियोजनाबारे सम्झौता भएको सुनाउँदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ। उनले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए। उनले भने, ‘नेपालमा चिनियाँ लगानी भित्र्याउन सक्यौं भने दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिनेछ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हुने उच्चस्तरीय छलफलमा यो विषयमा कुराकानी हुनुपर्छ। नेपालबाट चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागत कायम गर्नेबारे पनि कुराकानी हुनुपर्छ।’ त्यस्तै, उनले नेपालले चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिए। उनले भने, ‘चीनसँग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ। त्यस्तै, अरु नाकाहरुपनि खोल्नुपर्छ।’ पछिल्लो समय नेपालमा रेलवेबारे धेरै बहस भएको सुनाउँदै महतले रेलमा लगानी गर्दा समयमै प्रतिफल नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराए। भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुँदैन्, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनको संकेत छ। उनले भने, ‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिँदैन्। हामीले लगानी मुल्य त परै जाओस्, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं।’ महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गरे। तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनको तर्क छ। चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उनको धारणा छ। उनले भने, ‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन्। त्यसैले ऋणमा पनि बनाउनुहुँदैन्। बरु, अनुदानमा नै बनाउनुपर्छ।’ नेपालको आफ्नो साधन र स्रोतलाई ध्यान दिएर अघि बढ्नु नै आजको आवश्यकत्ता रहेको महतको भनाई छ। ऋणको बोझमा बस्नुभन्दा पहिले यसको आर्थिक प्रतिफल के आउँछ ? र कहिलेसम्म आउँछ भन्ने कुरामा बढि ध्यान दिनुपर्ने पनि उनको भनाई छ। उनले भने, ‘रेलको कुरा गरेर बढि सेन्टिमेन्टल हुन जरुरी छैन्।’ महतले नेपालले छहरे–टोखा सुरुङमार्गको बारेमा सोच्नुपर्ने बताए। उनले भने, ‘सुरुङमार्गको विकास गर्न सकियो भने चीनसँगको सडकमार्ग एकदमै छोटो हुन्छ।’ महतले चीनको एक चीन नीतिको चासोमा नेपाल सधैं प्रतिबद्ध रहेको पनि सुनाए। उनले भने, ‘नेपालको भूमि कसैको खिलाफमा पनि प्रयोग हुन दिँदैनौं। नेपाल यसप्रति सजग छ। हामी हाम्रो राष्ट्रिय स्वार्थका आधारमा र आपसी हितको आधारमा अघि बढ्छौं।’ चीनसँग सरकारले सुपुर्दुगी सन्धी गर्न लागेको छ भनेर बाहिर चर्चा छ नि भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘यसबारेमा नेपालले थप छलफल गर्नुपर्छ। यसबारेमा समान दृष्टिकोण हुनुपर्छ।’
काठमाडौंको असनमा खडग जात्राको रमझम काठमाडौं । काठमाडौंको असनबासीले हर्षोल्लासका साथ खडग जात्रा मनाएका छन्। दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन्। टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ। टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिए। सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ। ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ। जात्रामा स्थानीयले खडग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।
चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए। “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु रुपन्देही । कञ्चन गाउँपालिका–१ राताडाँडास्थित सडकमा बा ९० प ५४०६ नम्बरको स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँका २९ वर्षीय कृष्ण भुर्तेल उपचारको क्रममा प्रादेशिक लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय टिकाराम भुर्तेल र पन्चरत्न भुर्तेलको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।