content
stringlengths
31
27.4k
कास्की क्षेत्र नं २ बाट तीन महिला भिड्दै देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ । भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आएकी छन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वाचित भएकी थिइन्। त्यसयता निरन्तर राजनीतिमा सक्रिया उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन्। २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य बन्न सफल भइन् । २०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरिन् । त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । त्यसैगरी साझा पार्टीले काङ्ग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार बनाएको छ । सामाजिक अभियन्तासमेत रहेकी रजनी केसी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बढाउँदै उम्मेदवार बनेकी हुन्। केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई यही कात्तिक ६ गते पार्टीको नेतृत्वले प्रतिनिधिसभा सदस्यका रुपमा केसीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो । विवेकशील नेपाली दल पार्टीले आजै पत्रकार सम्मेलन गरेर अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टी उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ। शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत हुनाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध रहेकी छन् । कास्कीमा हालसम्म पाँच दलले उम्मेदवार सार्वजनिक गरेका छन् । समाजवादी पार्टीले धर्मराज गुरुङ र राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । यद्यपि आजसम्म पनि नेपाली काङ्ग्रेसले जिल्लाबाट १६ जनालाई सिफारिस गरे पनि आजसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । तत्कालीन पर्यटनमन्त्रीको गृह जिल्ला रहेको यस क्षेत्रलाई सबैले चासोपूर्वक नियाँलिरहेका छन् । निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीका अनुसार हालसम्म निर्वाचन आयोगमा १२८ दल दर्ता छन् । त्यसमा प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने दल ९५ र स्थानीय तहमा मात्र भाग लिने दल ७८ रहेका छन् । प्रतिनिधि, प्रदेश र स्थानीय गरी तीनै तहमा भाग लिन पाउने ९२ दल रहेको उहाँले जानकारी दिनुभयो । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा ९२ दलले सहभागी रहेको उनको भनाइ छ । यस वर्ष मात्रै निर्वाचन आयोगमा १६ दल दर्ता भएका छन् । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ ।रासस
विद्यालयमा पानी, शौचालय र सफाइका लागि ‘तारा पद्धति’ काठमाडौं । के तपाईं वरिपरिको विद्यालयमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको छ? त्यस विद्यालयमा शुद्ध पिउने पानी र हरियाली वातावरण छ? छ भने त्यस्तो विद्यालयका शिक्षक र विद्यार्थीलाई बधाई दिएर उनीहरुको अशल कामको प्रशंसा गर्न सक्नुहुनेछ र त्यस्तो विद्यालयलाई स्थानीय सरकारले ‘एक तारा’ को उपाधिसहित पुरस्कृत गर्नेछ । सरकारले छात्रालाई निःशुल्क स्यानेटरी प्याड वितरणको तयारीसँगै ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन) जारी सबै विद्यालयमा आधारभूत खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने प्रबन्ध गरेको छ । विद्यालयमा पानी, शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका सूचकसहितको मापदण्ड उक्त कार्यविधिले तोकेको छ । विद्यालयमा विद्यमान खानेपानी सरसफाइ एवं स्वच्छताको अवस्था हेरी तोकिएका मापदण्डका आधारमा विद्यालयलाई उत्कृष्ट, मध्यम र सुधारोन्मुख (एक तारा, दुई तारा र तीन तारा) गरी तीन वर्गमा वर्गीकरण गरिने पनि त्यसमा उल्लेख छ । यो मापदण्डमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको विद्यालयले एक तारा (उत्कृष्ट) को सूचक पाउनेछ । विश्वव्यापी दिगो विकास लक्ष्य नं ४ अन्तर्गत यी विषय पछिल्ला समयमा मापदण्डकैरुपमा थपिएका हुन् । ‘तारा पद्धति’ भन्नाले विद्यालयमा विद्यमान खानेपानी र सरसफाइका सुविधा, स्वच्छता अभ्यासको अवस्था, संस्थागत सुदृढीकरण र दिगोपनासँग सम्बन्धित तोकिएको सूचकहरूका आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा गाउँ वा नगरस्तरीय शिक्षा समितिले प्रमाणीकरण गरेअनुसार एक, दुई वा तीन तारामा वर्गीकरण गर्दै खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धनलाई स्तरीकृत गर्दै लैजाने पद्धतिलाई जनाउने कार्यविधिमा जनाइएको छ । यस मापदण्डको अनुगमन शुरु गरिरहेको सरकारले सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुको महिनावारी स्वास्थ्य र सरसफाइमा आवश्यकपर्ने स्यानेटरी प्याड निःशुःक वितरणलाई प्रभावकारी बनाउन कार्यविधिको मस्यौदा पनि तयार गरेको छ । छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सार्वजनिक ९सामुदायिक० विद्यालयमा स्यानेटरी प्याड निःशुल्क वितरण र व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयमा सरोकार भएका निकायको छलफलबाट त्यसलाई अन्तिमरुप दिइ स्वीकृत गरेपछि कार्यान्वयन गरिने मन्त्रालयका सहसचिव दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयले कार्यविधि तर्जुमाका लागि सहसचिव वैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । मन्त्रालयले आज विज्ञप्ति जारी गरी कार्यविधि निर्माण प्रक्रियामै रहेकाले मन्त्री र कतिपय पदाधिकारीलाई जोडेर स्यानेटरी प्याड खरीदमा अनियमितता भएको भनी कतिपय सञ्चारमाध्यममा समाचार आएकामा आपत्ति जनाएको छ । त्यस प्रकारको भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिएको उक्त प्याड निःशुल्क उपलब्ध गराउन सःशर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न सरकारले यसअघि निर्णय गरिसकेको छ । उक्त वितरण कार्य कुन मन्त्रालय वा तहबाट हुने भन्ने विवादबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लयमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीबीचको पटकपटकको छलफलबाट शिक्षा मन्त्रालयलाई उक्त जिम्मेवारी दिइएपछि त्यसको तयारी गर्न मन्त्रालयले आफू मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिक शिक्षा विभाग)लाई पत्राचार गरिसकेको छ । सरकारले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राको सङ्ख्याका आधारमा बजेट निर्धारण गरी स्थानीय तहमा रकम पठाउन लागेको हो । केन्द्रका महानिर्देशक बाबुराम पौडेलका अनुसार उक्त कार्यक्रमका लागि रु ९७ लाख केन्द्रमा प्राप्त भएको छ । सबै सामुदायिक विद्यालयमा स्यानेटरी प्याड र छात्रा शौचालयको प्रबन्ध नहुँदा छात्राहरु महिनावारी भएको समयमा विद्यालय जान अप्ठ्यारो मान्छन् । यसले छात्राहरुको कक्षा छाड्ने दर बढाउँदै आएको छ । कतिपयले स्थानीयरुपमा सामग्रीका आधारमा उत्पादन हुने स्यानेटरी प्याडको वितरणमा प्राथमिकता दिन पनि प्रस्ताव गर्दै आएका छन् ।रासस
सिकार गर्ने क्रममा एक जनाको मृत्यु लमजुङ । दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो। गुरुङ भिरबाट लडेर घाइते भएका थिए। उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताए। मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए। रासस
बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु पक्राउ काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ। बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले संजयलाई ३ वर्ष कैद र १ करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मी देवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजु रही फरार भएका थिए। केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले संजयलाई आइतबार काठमाडौंको गौशला र लक्ष्मी देवीलाई मंगलबार पर्सा वीरगंजबाट पक्राउ गरेको हो। २०६७ फागुन २५ गते क्रिष्टल फाईनान्स थापाथलीबाट जग्गा धितो राखी धितो राखेको जग्गाको आफूखुशी अस्वाभाविक रुपमा मूल्याङकन गराई कर्जा लिई कर्जा दुरुपयोग गरेका थिए। पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काठमाडौं र पर्सा मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।
५ नम्बर प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न रुपन्देही । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र ५ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा उक्त गोष्ठी सोमबारदेखि सुरु भएको हो । उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीमा प्रदेशको मात्र नभइ देशकै सुरक्षा स्थितिका बारेमा गम्भीर रुपमा समीक्षा भएको उल्लेख गर्दै सुरक्षा सुदृढ गर्नका लागि आवश्यक रणनीति र योजनाहरुलाई परिमार्जन गर्न प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताए । प्रदेशको सुरक्षा सुदृढ गर्न तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न गोष्ठीले महत्वपूर्ण योगदान पुर्याकउने विश्वास व्यक्त गर्दै गृहमन्त्री थापाले रचनात्मक सुझावलाई मन्त्रालयकोतर्फबाट पुरा गर्न गम्भीर रुपमा लिएको उल्लेख गरे । मुलुकमा राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक र सीमा सुरक्षा सम्बन्धि चुनौती रहेको चर्चा गर्दै गृहमन्त्री थापाले यस्ता चुनौतीलाई सरकारले सफलतापुर्वक सामना गर्दै आएको र आगामी दिनमा सुरक्षा नीतिलाई अझ विकास गर्दै मुलुकको शान्ति र स्थिरता सुदृढ बनाउन थप योगदान दिन लाग्नुपर्ने बताए । तस्करी, कालो बजारी, ठगी, राजस्व छलीलाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाई गम्भीर रुपमा काम गरी अझै गुणात्मक बनाउनु पर्नेमा उनले जोड दिए । अबका दिनमा सबै मिलेर मुलुकलाई समृद्ध बनाउनेतिर सक्रियताकासाथ लाग्न र समाजमा शान्ति सुरक्षा कायम गर्न गोष्ठीका निष्कर्ष फलदायी हुने विचार उनले व्यक्त गरे । उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्तव्य व्यक्त गर्दै उक्त प्रदेशको सुरक्षा सुदृढिकरणका लागि विभिन्न सुझाव प्रस्तुत गरे । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतमा भन्दा सुरक्षा धेरै राम्रो भएको चर्चा गर्दै गोष्ठीबाट आएका सुझावलाई कार्यान्वयन गरेको खन्डमा धेरै समस्या समाधान गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे । गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रमलगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई तथा विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, उक्त प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेल, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सीताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवं १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो । उक्त गोष्ठी पश्चानत् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ५ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुका प्रमुखहरु एवं अन्तर्गतका १२ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा लगायत समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।
फुटसल प्रतियोगिता कप सैनिकको पोल्टामा भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले हात पारेको छ । आज रोम्बस नेशनल सेकेन्डरी स्कूल र सैनिक आवासीय महाविद्यालयबीच भएको खेलमा २–७ गोलको अन्तरमा सैनिक आवासीय माहाविद्यालयले जीत हासिल गरेको एन्फा भक्तपुरका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताए । रोम्बस र सनसाइनबीच भएको खेलमा ५–३ ले रोम्बसले जीत हासिल गरेपछि फाइनलमा गएको थियो भने सैनिक आवासीय मावि र जेन्युइनबीच भएको खेलमा ६–३ गोलले सैनिकले जीत हासिल गरेपछि सैनिक आवासीय फाइनलमा गएको थियो ।
उपनिर्वाचनको तयारी तीव्र, मनोनयनपत्र दर्ता बिहीबारदेखि काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।
लुम्बिनी प्रादेशिक अस्पताल परिसरका ७८ सटर भत्काइने रुपन्देही । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि सटर भत्काइने भएको छ । प्रादेशिक अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा रुपान्तरण गर्न मङ्सिर महिनापछि अस्पतालको उत्तरपूर्वका सटर भत्काउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रदेशकै सुविधासम्पन्न नमूना अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल परिसरमा रहेका सटर हटाएर पर्खाल निर्माण गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि मन्त्रालयले सटर भत्काउने भएको हो । अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा विकास गर्न अस्पतालको उत्तर–पूर्व सडकसँग जोडिएका सटर भत्काइ मापदण्डअनुसार नयाँ पर्खाल निर्माणका गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । “हामीले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रूपमा राखेका छौँ, यो अस्पतालको स्तरोन्नतिका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ”, उनले भने । सरकारले दिएको समयसीमाभित्र सटर खाली नगरे डोजर लगाएर भए पनि भत्काउने तयारी गरेको उनले बताए । प्रदेशस्तरमा आवश्यकपर्ने स्वास्थ्य सेवा व्यवस्थापनका लागि अस्पतालको स्तरोन्नति गरिन लागेको प्रदेश सरकारले जनाएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारसमक्ष सटर हटाएर पर्खाल निर्माणका लागि स्वीकृत दिन प्रस्ताव राखेको थियो । अस्पताल परिसरमा क्लिनिक, कपडा पसल, एग्रोभेट, रेस्टुराँ, पुस्तक पसललगायत ७८ वटा सटर सञ्चालनमा छन् । अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकलाई प्राथमिकता दिन अस्पताल आउने बिरामीले राम्रो सेवा नपाएका कारण सटर हटाउनुपर्ने बाध्यता रहेको प्रवक्ता चौधरीको भनाइ छ । “हामीले अस्पतालको सेवा थप प्रभावकारी बनाउन चाहेका छौँ”, प्रवक्ता चौधरी भन्छन्, “अब अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनेछ ।” लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीनमहिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा अस्पतालको हालको क्षमताले थाम्न गाह्रो भएको र सोको व्यवस्थापन गर्न विशेषज्ञ स्वास्थ्य सेवा (क्याथल्याब, न्यूरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेसनलगायत) विस्तार गरी प्रदेश अस्पताललाई ‘रिफरल’ अस्पतालका रुपमा सञ्चालन गर्न गुरुयोजनाअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न जग्गा अभाव देखिएकाले अस्पताल परिसरका सटर र यस अस्पतालको जग्गामा व्यक्ति वा संस्थाले निर्माण गरेका संरचना खाली गर्न अनुरोध गरिएको छ । अस्पतालदेखि उत्तरतर्फका सटरलाई व्यवस्थित गर्नका प्रदेश सरकारले यसअघि नै कार्यदल गठन गरिसकेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएपछि ती सटर के गर्ने भन्ने विषयमा निर्णय हुने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास डिभिजन कार्यालय स्थापना र सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक विकास मन्त्रालयअन्तर्गत छ जिल्लामा सामाजिक डिभिजन कार्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्तुत गरेको प्राइभेट फाराम दर्ता नियमावली २०७६ स्वीकृति गरेको छ । मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटालाई नियुक्ति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।रासस
गोरखा भूकम्पपछि ५३५ परकम्प गोरखा । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउँछन्। “ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ”, उनले भने। चार रेक्टरस्केलभन्दा साना ५० हजारभन्दा बढी परकम्प गएको भट्टराईले बताए। गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पुर्याएको थियो। भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो। पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ। रासस
एकैदिन ६ हजारबढीले अवलोकन गरे नारायणी महोत्सवमा चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव २०७६’ को मंगलबार ६ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गर्नेगरि नारायणी नदी किनारमा महोत्सवको आयोजना गरिएको राजकर्णिकारको भनाइ छ । मंगलबार महोत्सवको विशेष आकर्षणको रुपमा राजनराज सिवाकोटी, प्रताप दास, दीक्षा सुनुवारलगायतका कलाकारहरु रहेका थिए । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । महोत्सव अन्तरगत बुधबार चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, दीक्षा सुनुवारलगायतका कलाकारले प्रस्तुति राख्ने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले बताए । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधिउपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्था समेत मिलाइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । नेपालको संविधानको धारा २६३ मा नेपालमा एक थारु आयोग रहने व्यवस्था छ । वर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा विसं २०७५ चैत ७ गते आयोगको गठन भएको थियो । गठनपछि आयोगले संवैधानिक व्यवस्थाअनुरूप समावेशी र समानुपातिक सिद्धान्त कार्यान्वयन गर्ने सन्दर्भमा थारु समुदायको हकहित र अधिकारका लागि समुदायबीचमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्दै आएको छ । मुलुकको तराई/मधेशका २४ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहिआएको छ । नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार रहेको आयोगले जनाएको छ । रासस
नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ। कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो। समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठक काठमाडौँमा बसेको थियो। समझदारीलाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ। बैठकले कामदारको भर्ना प्रक्रियाका चरणलाई स्पष्ट पारेको छ। समझदारीअनुसार युएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क दुईतर्फी हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ। घरेलु कामदारसम्बन्धी ‘प्रोटोकल’को मस्यौदामा घरेलु कामदारका विशेष सुरक्षा व्यवस्था र थप हकहितका विषयलाई समेट्ने सहमति भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले जानकारी दिए। “घरेलु कामदारको सन्दर्भ रहेका कानूनी व्यवस्थासमेतमा थप छलफल गरी अघि बढ्ने सहमति भएको छ”, उनले भने। युएईमा घरेलु कामदारको हकहित र संरक्षणको विषय समेटी घरेलु कामदारसम्बन्धी नयाँ कानून लागू भएको छ । घरेलु कामदार आपूर्ति गर्न युएई सरकारले सरकारको प्रत्यक्ष निगरानी तथा सार्वजनिक निजी साझेदारीको अवधारणामा ‘ताड–वियर सेन्टर’ स्थापना गरेको छ । उक्त सेन्टरबाट मात्र घरेलु कामदार आपूर्ति हुने एवं यसले घरेलु कामदारको संरक्षणका सबै विषय जिम्मा लिने बताइएको छ । नेपाल र युएईबीचको श्रम समझदारीलाई प्रभावकारी ढङ्गले अघि बढाउन दैनिक आउने सवाललाई थप सहज ढङ्गले समाधान गर्न दुवै सरकारका सम्पर्क विन्दु तोकिएको सहसचिव ढुङ्गानाले जानकारी दिए । “श्रम समझदारीको कार्यान्वयनको चरणमा दुवै देशका निजी क्षेत्रबीच आपसी समन्वय र सहकार्यलाई थप व्यवस्थित बनाउन, दुवै देशका कानूनी प्रक्रियाबारे थप स्पष्ट हुन निजी क्षेत्रका प्रतिनिधि सम्मिलित सम्मेलन आयोजना गर्ने सहमति भएको छ”, उनले भने, “स्वास्थ्यलगायत रोजगारीका क्षेत्रमा दुवै देशको संयुक्त कार्यक्रमसम्बन्धी सम्भावनाको पहिचान गर्ने विषयमा समेत सहमति भएको छ।” कल्याणकारी र बीमाबाहेक कुनै शुल्क तिर्नु नपर्ने समझदारीमा शून्य लागतको विषयलाई समेटिएको छ । कामदारको भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने समझदारीमा उल्लेख गरिएको छ । कामदारले रोजगारदातासँग भएको सहमति कार्यान्वयन नभएमा कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने, पारिश्रमिक, अतिरिक्त समय, सुरक्षित कार्य वातावरण तथा न्यायमा सहज पहुँच सुनिश्चित गरिएको छ । गुनासो सुनुवाइलगायत विषयमा अन्य विदेशी कामदार सरह समान व्यवहार, महिला कामदारको सुरक्षामा विशेष व्यवस्था जस्ता कामदारको हकहित र सुरक्षा गर्ने विषयलाई समझदारीले स्पष्ट पारेको छ । अबदेखि नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि युएई जाँदा कल्याणकारी शुल्क र बीमा शुल्क मात्र व्यहोर्नुपर्ने छ । बाँकी अन्य सम्पूर्ण खर्च र कामदार पठाउने सम्बन्धित वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्कसमेत रोजगारदाताले व्यहोर्ने छन् । श्रमिकको स्वास्थ्य परीक्षण शुल्क र सेवा शुल्कको भुक्तानी बैंकिङ माध्यमबाट सम्बन्धित नेपाली वैदेशिक रोजगार व्यवसायीलाई फिर्ता गर्ने छन् । मन्त्रालयले कामदारको सम्पूर्ण खर्च रोजगारदताले व्यहोर्ने विषय समझदारीमा नै स्पष्ट पारिएको उल्लेख गर्दै अब उप्रान्त कामदारसँग कुनै पनि शुल्क नलिन ‘म्यानपावर’ व्यवसायीलाई आग्रह गरेको छ । सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी त्यसअघिको समझदारीलाई समयानुकूल बनाउन नेपाल र युएईबीच गत जेठ ३१ गते नयाँ श्रम समझदारी भएको थियो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समाराहेमा सहभागी हुने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।रासस
चर्चित सांगितिक व्याण्ड एडीको कन्सर्ट कीर्तिपुरमा हुने काठमाडौं । चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको सांगितिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ । मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो । कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित जोन क्षेत्रीको पनि सांगितिक प्रस्तुति रहनेछ । कन्सर्टमा टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआईपी से १ हजार रहेका छन । कार्यक्रम यही शनिबार अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।
२२ वर्षपछि प्रकाउ परे धादिङका चन्द्रबहादुर धादिङ । धादिङमा २२ वर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका ३ स्थित बस्ने पेम्बा दोर्जे तामाङलाई ज्यान मार्ने उद्याेकमा सोही ठाउँका ३ जनाले कुटपिट गरेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो। स्थानीय चन्द्र बहादुर तामाङ‚ मैते तामाङ र धने तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा २०६९ सालमा ज्यान मार्ने उधोग शीर्षकमा मुद्दा दर्ता भई धादिङ जिल्ला अदालतले १०/१० वर्षको कैद सजायको फैसला गरेको थियो। सोही बेलादेखि फरार सूचीमा रहेका चन्द्र बहादुर तामाङलाई सोमबार पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ।
ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने काठमाडौं । ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेवलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता हुने जानकारी दिए। प्रतियोगितामा सिंगल ईभेन्टमा प्रथम हुने खेलाडीलाई १० हजार, द्धितीय हुने खेलाडीलाई ५ हजार र तृतीय हुने खेलाडीलाई ३ हजार नगदसहितको पुरस्कार दिने पनि घोषणा गरिएको छ । सो खेलकुद प्रतियोगिता सञ्चालनका लागि करिव ८ लाख ५० हजार बजेट लाग्ने अनुमान पनि गरिएको छ ।
सुकुटे बस दुर्घटनाः अझै ५ जना घाइते अस्पतालमै काठमडाौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो। सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ। अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ। बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो। रासस
सिआइबीको टोली ग्राहक बनेर जाँदा… काठमाडौँ । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो । कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय ग¥यो । सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले कार्भेपलाञ्चोकबाट काठमाडौँ बोलायो । सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने, “उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौँ, उनीहरुको गतिविधि काभ्रेमा थियो, भेटौँ–हेरौँ अनि कुरा गरौँला भन्ने कुरा भो, त्यसपछि उनीहरु आए ।” सोही क्रममा चरीबाघको छालासहित काठमाडौँको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको उनले बताए । प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारवाही गरिने जनाइएको छ।
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन गर्नका लागि करीब छ वटा नेपाली भाषाका चलचित्रको छनोट कार्य भइरहेको सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुहुने उक्त महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, अन्तक्र्रियाका साथै स्थानीय सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न कार्यक्रम गरिनेछ । नेपाली भाषाका चलचित्रले तराईमा बर्चश्व कायम राख्न नसकेको अवस्थामा त्यहाँका दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् । बलिउडका कलाकारको समेत सहभागिता रहने महोत्सवमा प्रदेश नं २ सरकार, भ्रमण वर्ष सन् २०२० वीरगञ्ज महानगरपालिका, नेपाल चलचित्र विकास बोर्ड, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत संस्थाको सहयोग रहेको छ ।रासस
कीर्ते नागरिकता बनाइदिने पक्राउ वालिङ । झुठो विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका ३० का डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता बनाइ दिएका थिए । झुठो विवरण दिएर नागरिकता बनाइदिएको खुल्न आएपछि प्रहरीले ‘नागरिकतासम्बन्धी कसुर’ मुद्दा दर्ता गरी प्रतिवादी सुनारलाई पक्राउ गरेर स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।
पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनलाई भिडियो सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताइन्। राष्ट्रपति भण्डारीले नेपालले बहुक्षेत्रीय षोषण कार्ययोजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै आमा र बालबालिकालाई पोषिलो खाना उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिइन् । आमाको गर्भ सुरक्षित हुँदा मात्र युगको सुरक्षा हुने भन्दै उनले भनिन्, “पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छ ।” सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले संयुक्तरुपमा उद्घाटन गरेका थिए। सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न सरकारले विशेष कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताए । आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको’ सङ्कल्पसहित काम गरिरहेको उल्लेख गर्दै सामाजिक कारणले पनि महिला बालबालिका कुपोषित भइरहेको बताए। उपप्रधानमन्त्री पोखरेलले गरीबी निवारण कार्यक्रममार्फत पोषण र खाद्य सुरक्षाका कार्यक्रम अगाडि बढाइएको तथा कृषिमा आधुनिकीकरण गरी खाद्य सुरक्षामा जोड दिइएको बताउँदै खाद्य सुरक्षा र पोषणलाई नेपालको संविधानलेसमेत मौलिक हकका रुपमा सुरक्षित गरेको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सन् २०२२ सम्म विकासशील देशमा नेपाललाई रुपान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको बताउँदै पोषण र खाद्य सुरक्षाका लागि सातै प्रदेशमा कार्यक्रम कार्यान्वयन भइरहेको छ भने। उनले प्रजनन उमेरका महिला तथा बालबालिकालाई एकीकृत गरेर साझा कार्यक्रमका साथ सरकार लागिपरेको बताए। ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तरराष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो । हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्वका साथ लिएका छन् । सम्मेलनमा भाग लिन विभिन्न देशका उच्च व्यक्तित्व आइतबार काठमाडौँ आइपुगेका थिए । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधिको सहभागिता छ । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी विज्ञहरू सो सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनको पहिलो दिन आज बिहानदेखि पोषणसम्बन्धी सेवाको विस्तार (स्केलिङ अफ न्युट्रिसन) अभियानमा आबद्ध देश, अन्तराराष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्र सङ्घीय निकायका उच्च नेतृत्वका बीचमा सम्मेलनको तयारी बैठक सम्पन्न भयो । सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाजकल्याणलगायतका विषयमा २५ अलगअलग कार्यशाला सम्मेलनका क्रममा हुने जनाइएको छ । साथै सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै कुपोषण न्यूनीकरणका गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल गर्दै सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ । यसैगरी आगामी सम्मेलनको स्थानसमेत यो सम्मेलनले तोक्ने छ । नेपाल स्केलिङ अफ न्युट्रिसन अभियानको सक्रिय सदस्य देश हो । यो अभियानको सुरुआतदेखि नेपालले यो सम्मेलनमा भाग लिँदै आएको छ । सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिकाको न्यूयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए ।रासस
कात्तिक नाचको चौथो दिन : बाथः प्याखँ अर्थात् सती जाने परम्परा ललितपुर । ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज चौथो दिन बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ सातबजेदेखि कात्तिक नाच हुँदै आएको छ। सो नाचको कथामा तीन जना बाठा दाजुभाई हुन्छन् । यी तीन मध्ये एक जनाले बाठो भएर अर्को गाउँमा गई एउटी केटी बिहे गरेर ल्याउँछ । बिहे गरेको केही समयपछि सो पुरुषको मुत्यु भई सति गएको कुरालाई नृत्यमा मञ्चन गरी देखाइने पाटनका ७२ वर्षीय वृद्ध सूर्यमान डङ्गोलले जानकारी दिए। आजको नाचमा मुख्य गरी तीन जना दाजुभाईको बठ्याइँलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सती जानुपर्ने कुरालाई नाचमा मञ्चन गरिने पाटनका वृद्धवृद्धाको भनाइ छ । सो कथामा पात्रको आउने जाने क्रम रहँदा कूल १६ जना कलाकारको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताए। गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो दिन बाथ प्याखँ मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म देखाइने सो नाच यो वर्ष कात्तिक शुक्लपञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए । विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले करीब पौने चारसय वर्ष अगाडि कात्तिक नाच शुरुआत गरेका हुन्। शाक्यले भने, “यस नाचको आफ्नै धार्मिकविधि रहेकाले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात ‘कात्तिकनाच’ भन्ने गरिएको हो।” सत्रौँ शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ । नाचको माध्यमबाट जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरेको समितिले जानकारी दिएको छ । उपत्यकाको तीनै सहरबाट साँझमा कात्तिक नाच हेर्ने एक हजार ५०० देखि दुई हजार मानिस भित्रिएका वृद्ध डङ्गोलको भनाइ छ । उनले भने, “विगतका वर्षको तुलनामा यो वर्ष पाटनमा धेरै मानिस भित्रिएका छन् । यो नाच हेर्न स्वदेशी व्यक्तिका साथै विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकले पनि डबली भरिएको छ ।” पाटनमा कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ ।
पेस्तोल र गोली सहित मोरङबाट एकजना पक्राउ मोरङ । कटहरी गाउँपालिका १ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका २ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही खोला नजिकको खुल्ला मैदानमा छठ पूजाको अवसरमा स्थानीय एक युवाक्लबले आयोजना गरेको साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा केही व्यक्तिहरूले ढुंगा प्रहार गरेकोले उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पदहरूलाई तलासी गर्ने क्रममा भगतलाई उक्त हतियार तथा गोली सहित फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका ७ कदमहा बस्ने २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको खुल्न आए पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मण्डललाई समेत आइतबार साँझ बिराटनगर महानगरपालिका ७ जलजला चोकबाट पक्राउ गरेको छ । उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू रुपन्देही । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सोमबारदेखि सुरू भएको छ। ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ। उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीहरु लगायतका विषयमा चर्चा गर्दै दन्डहिनताको अन्त्यका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए। गौतम वुद्धको जन्मस्थल शान्तिको प्रतीकको रुपमा चिनिएको सन्दर्भमा नेपाल प्रहरीले कानुनको उचित कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गरी शान्तिको प्रतीकलाई थप चिनाउने काम गरेको उनले उल्लेख गरे। प्रहरीका काम कारवाही पारदर्शी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई बदनाम बनाई मनोबल घटाउन खोज्ने तत्वलाई निस्तेज बनाई मनोबल अझै बढाउन सबै मिलेर जानुपर्ने बताए। उचित व्यक्तिलाई उचित स्थान दिने नीति अवलम्बन गरी काम गर्दै अपराध गरी विदेशमा भागेका र विदेशमा अपराध गरी नेपाल आई लुकेका अपराधीहरुलाई समेत कानुनको दायरामा ल्याउने लगायत काम गरी असम्भवलाई पनि नेपाल प्रहरीले सम्भव बनाएको उनले उल्लेख गरे। प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली समृद्ध नेपालको नीतिप्रति नेपाल प्रहरी कटिवद्ध भई अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे। समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अन्तर्राष्ट्रिय रुपमा लैजानु पर्नेमा जोड दिँदै नागरिकसँगै मिलेर सुरक्षा सुदृढिकरणमा लाग्न साझेदारी कार्यक्रमले मद्दत पुर्‍याएको उनले बताए। विभिन्न बक्ताहरु समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रमलगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो। मंगलबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सीताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो।
नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाडीमै बेहोस भएपछी सुवेदीलाई नर्भिक हस्पिटल लगिएको थियो । नर्भिक पुर्याइएका सुवेदीको डाक्टर जेपी जैसवालले सर्जरी गरेका थिए । सामान्य सर्जरी पछि सुवेदीको अवस्था सामान्य रहेको उनका सहयोगी देव चौलागाईंले बताए । २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र न २ का तत्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार भइ तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई हराएर उनी चर्चित बनेका थिए । सुवेदी हालको नेकपाका केन्द्रीय सम्पर्क मञ्चका सहसंयोजक हुन् । उनलाई दाङको प्रहरी हिरासतमा रहेका छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न जाने क्रममा हृदयघात भएको हो । उनका छोरा सन्तोष सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका रोल्पा इन्चार्ज हुन् । उनी केही समय अघि दाङको राजपुरबाट पक्राउ परेका थिए ।
नेपाल र नर्वेबीच परामर्श संयन्त्र स्थापना काठमाडौं । नेपाल र नर्वेबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री डागइनङ्गे उल्स्टेनको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलकुमार काफ्ले र नेपालका लागि नर्वेका राजदूत लास्से जोनासेनले आज परराष्ट्र मन्त्रालयमा हस्ताक्षर गरेका हुन्। त्यसअघि दुई देशका मन्त्रीबीच भएको भेटवार्तामा नेपाल–नर्वे सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनका साथै ऊर्जा, व्यापार, लगानीलयगायत आपसी सहयोग अभिवृद्धिका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । दुवै देशका मन्त्रीबीचको वार्ता जलवायु परिवर्तन र त्यसले पारेका असर तथा साझा चासोका विषयमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहयोग बढाउनेबारेमा पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चितवनमा सहकारीको गैरकानुनी रुपमा शाखा, बचतकर्ताको रकम जोखिममा चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ । सो सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा सम्पर्क कार्यालय संचालन गरेको छ । सो सहकारीले २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमा सम्पर्क कार्यालय स्थापना गरी कारोवार सञ्चालन गरेको छ । त्यस्तै शारदानगरमा पनि करिव १ वर्षदेखि सम्पर्क कार्यालयमा कारोवार हुँदै आएको छ । सो सहकारीले खोलेसिमल शाखाबाट करिव ५ सय ग्राहकबाट १ करोड भन्दा बढी रुपैया र शारदानगर शाखाबाट करिव ३ सय ५० ग्राहकको करिव ६० लाख भन्दा बढी रकम संकलन गरेको छ । कुनैपनि सहकारी दर्ता भइसकेपछि शाखा विस्तारका लागि पनि सम्वन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । एउटै नगरपालिकाभित्र नगरपालिकाबाट र फरक नगरपालिकामा शाखा विस्तार गर्ने भए प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भएपनि सो सहकारीले अनुमति नै नलिई कारोवार गर्दा सयौँ बचतकर्ता लाखौँ रकम जोखिममा पर्न गएको हो । २०६८ सालमा स्थापना भई भरतपुर १० हाकिमचोकको सरस्वती टावरमा कार्यालय रहेको सो सहकारीको मुख्य कार्यालय पनि आर्थिक रुपमा समस्यामा रहेको छ । सो सहकारीको सम्पर्क कार्यालय संचालनमा रहेको बताउँदै मुना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष एवम् प्रवन्ध निर्देशक श्रीराम उपाध्यायले सोको दर्ताको लागि प्रदेश सरकार समक्ष निवेदन दिएको बताए ।
‘सेन्टी भाइरस’को पहिलो पोस्टर सार्वजनिक, यस्ता देखिए धुर्मुस काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ फिचर्ड छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा धुमुर्स र सुन्तली मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको पनि अभिनय छ । ब्यङ्ग्यात्मक कमेडी ‘सेन्टी भाइरस’ फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । पोस्टर सार्वजनिक सँगै निर्माण युनिटले आज रिलिज डेट पनि तोकेको हो । डुन्डु लामाको निर्माण रहेको चलचित्र कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन् ।
मिस्टर एण्ड मिस स्टारको उपाधि भावना र श्रवणलाई चितवन । क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरि युवती तर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् । भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले ३० हजार नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए त्यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले १ महिना अघि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् । प्रतियोगिताको निर्णायकहरु संचारकर्मी, कलाकार, निर्देशक सूर्य चन्द, मोडल, नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा ब्यबसायी राजु बन्जाडे रहेका थिए। उक्त प्रतियोगितालाइ कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रम संचालन मोडल निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । कार्यक्रममा हास्यकलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुति रहेको थियो ।
बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै काठमाडौं । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन) मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसकेका छन्। मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ। प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा बेलायतमा आउँदो यही कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको यो मेला आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने मेलामा नेपालको समग्र पर्यटन प्रवद्र्धनका सामग्री तथा खानाका परिकारको समेत प्रदर्शनी गरिने बोर्डले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने कार्यक्रम रहेको छ । बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ । त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरुलाई कदर पत्र प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। अवार्ड तथा कदरपत्र मन्त्री भट्टराईले वितरण गर्नेछन् । त्यसैगरी ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागिपरेका मर्कस कट्टन, नेपालको वन्यजन्तु पर्यटनमा काम गर्दै आएका एभी जीम एडवार्ड, नेपालको पर्यटन गन्तव्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल पर्यटनका अग्रणी कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिनेछ। त्यसैगरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुहुने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल), आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम) लाई प्रशंसापत्र वितरण गरिने भ्रमण वर्ष सचिवालयले उल्लेख गरेको छ ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वेको काम हुनेछ । सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना गरिएको छ । अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ । अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि आवश्यक जनशक्तिको सूचना प्रकाशन गरेको छ । “जिल्लाकै बासिन्दालाई काममा प्राथमिकता दिइने छ”, प्रालिका सूर्यमणि लामिछानेले भने । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको हो । पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिङ्गो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्मा बताउँछन्। उद्योग वाणिज्य सङ्घका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गरे।रासस
३ किलोग्राम चरेससहित एकजना पक्राउ काठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो। प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताए। रासस
सहकारीको ४३ करोड रुपैयाँ हिनामिना गर्ने ४ जना कारागार चलान राँझा । सहकारीको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो। अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु २० लाख धरौटी मागिएको छ। बज्राचार्य रु २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जायजेथा राखीपाउँ भनेर निवेदन दिएपनि जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने भएको छ। जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको छ। चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी छ जना मात्र पक्राउ परेका थिए। ३५ जना अभियुक्त फरार छन्। बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी रु ५२ करोडबाट रु ४३ करोड अपचलन भएको दाबी गरिएको छ। सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन्। रासस
म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै (नामावली सहित) बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । “आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो”, प्रहरी निरीक्षक शर्माले भने, “उनका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ। घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ। दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस सडकदेखि करीब २०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन। १) मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी २) मालिका ७ बिमका हुमबहादुर जुग्जाली ३) मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली ४) मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार ५) बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री ६) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल ७) बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल ८) बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल ९) मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा १०) बिमकीे ६ वषीया कृष्टिना जुग्जाली ११) बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली १२ बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी १३) बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली १४) बिम बस्ने सुरेश जुग्जाली १५) बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली १६) धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा १७) बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे १८) मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेका छन् ।
उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा आज आयोगमा सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्देशन दिएका हुन्। उनले भने, “उप निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा संलग्न हुने सबै तहका जनशक्तिलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।” बैठकमा निर्वाचन आयुक्त एवं उच्चस्तरीय सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायबीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगका सहसचिवको नेतृत्वमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने जानकारी दिँदै केन्द्रमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने जानकारी दिए । उनले एकीकृत सुरक्षा योजना पनि कार्यान्वयन हुने बताए। बैठकमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गरेको आयोगद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएका उपनिर्वाचन सुरक्षा योजनासमेत पेश गरेका थिए। बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति थियो ।
बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्ध लामा पक्राउ काठमाडौं । एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन्। प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका लामालाई आजै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेका थिए। उनलाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको जोशीले बताए।
म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्। दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन्।
कञ्चनपुरमा गहुँखेतीका लागि डिएपी मल अभाव कञ्चनपुर । धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कञ्चनपुरमा भने मलखादको अभाव भएको छ। अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव भएको जनाएको छ। “युरिया मात्रै एक ट्रक जति आएको छ”, कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भने, “धान खेती गर्दा पनि किसानलाई डिएपी मल वितरण गर्न सकिएन।” गहुँ छर्ने बेला डिएपी मलको प्रयोग हुने भए पनि मल नहुँदा किसान मारमा परेका छन्। “दुई हजार ५०० मेट्रिक टन युरिया र दुई हजार मेट्रिक टन डिएपी मल यहाँ वार्षिक रुपमा खपत हुन्छ”, उनले भने, “डिएपी मल भारतको कलकत्ताबाट ढुवानी गर्न सकिएको छैन ।” मलखादको अभाव मुलुकभर रहेको शाहले बताए। शुक्लाफाँटा नगरपालिकाका किसान जयराम डगौँराले रासायनिक मलको अभाव हुँदा खेती गर्न समस्या भइरहेको दुखेसो पोखे। “धान रोपाँइका बेला पनि मल नहुँदा समस्या भयो”, उनले भने “अनुदानमा मल दिने निकायका गोदाम रित्तै छन ।” उनले हरेक दिन किसान मल अभावका कारण निराश हुनुपरेको डगौँराको भनाइ छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले सुदूरपश्चिम प्रदेशभा डिएपी मल प्रर्याप्त नभएको बताए । “डिएपी मलको अभाव नै भन्न त मिल्दैन”, उनले भने, “दुई महिनामा यहाँ तीन हजार मेट्रिक टन डिएपी मल बिक्री भएको छ ।” सुदूरपश्चिम प्रदेशमा भैरहवाबाट मल आयात हुने गरेको भन्दै उनले आयात हुने ठाउँमै मल अभाव भएको बताए। सुदूरपश्चिमका लागि युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक भएको बोगटीले बताए। “हामीलाई चाहिने जति मल कहिल्यै आएन”, उनले भने, “यस महिनाको अन्तिमसम्ममा डिएपी मल आउँछ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रासायनिक मल खपत हुन्छ। कञ्चनपुरमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरीद गर्नुपरेको किसानको दुखेसो छ।
कैलाली दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो कैलाली । कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। बसले मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी–१० पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै र सोही ठाउँका मानबहादुर चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि विरोधमा आफन्तले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध छ। राजमार्गमा भएको शव नउठाउँदा राजमार्ग अवरुद्ध भई छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रु अलपत्र परेका छन् । बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १६ पुग्यो, ४७ घाइते, ५ को सनाखत काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ। दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन्। दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन्। नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएका प्रहरीको भनाइ छ। यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो। बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ। सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० को उपचार भइरहेको छ। त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ। गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार ठूलो दुर्घटना भएकाले क्षति बढ्न सक्ने छ।रासस
महिला आयोगमा पदाधिकारी नियुक्तिको माग काठमाडौं । राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ति नहुँदा कामकाज प्रभावित भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन्। सङ्कल्प नामक संस्थाद्वारा आयोजित आयोगका पदाधिकारी गठन बारेको छलफलमा महिला अधिकारकर्मीले पदाधिकारी नियुक्ति नहुँदा नीति तथा कार्यक्रममा प्रभाव परेको भन्दै जतिसक्दो चाँडो नियुक्ति गर्नुपर्ने माग गरेका हुन्। चालू आर्थिक वर्षमा मात्र ५०० भन्दा बढी उजुरी आयोगमा परेका छन्। पदाधिकारी नहुँदा ती उजुरीबारे निर्णय गर्न सकिएको छैन। राष्ट्रिय महिला आयोग ऐन, २०७४ प्रमाणित भएको दिन २०७४ असोज २९ गतेदेखि नै आयोग पदाधिकारीविहीन छ। महिला अधिकारकर्मी लिली थापाले आयोगको पदाधिकारी नियुक्तिका लागि महिलाले संसद्, सडक र पार्टीभित्रसमेत सकारात्मक दबाब दिनुपर्नेमा जोड दिइन्। आयोगमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था गरिएको छ । महिला आयोग मात्रै होइन पदाधिकारी नहुँदा आदिवासी जनजाति आयोग र अन्य आयोगको पनि हालत उस्तै छ। आयोगका हरेक गतिविधि तथा काम बोर्ड बैठकले पास गर्नुपर्ने व्यवस्था छ । “पदाधिकारी नहुँदा आयोगका काम ठप्प जस्तै छन्”, सांसद शान्ति पाख्रिनले भनिन्। राजनीतिक दलको असहमतिका कारण आयोगमा पदाधिकारी गठन गर्न ढिलाइ भएको भन्दै उनले दबाब सिर्जना गर्नुपर्ने बताइन्।
१३औं संस्करणकाे इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने काठमाडौँ। १३औं संस्करणको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने भएकाे छ । ज्योति एभरेष्ट तेक्वान्दाेकाे आयोजनामा  सन् २०२० मे १ र २ तारिखमा इस्टर्न मिचिगन युनिभर्सिटीमा उक्त प्रतियाेगिता हुने पक्का भएकाे हाे । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता(आईओएफटिसी) ले यस्ताे खालकाे प्रतियाेगिता प्रत्येक दुई वर्षमा पालैपालो (एकपटक अमेरिका र अर्काेपटक अमेरिका बाहिर) गर्दै आएकाे छ । जसअनुसार आईओएफटिसीले आफ्नाे प्रमुख कार्यालय रहेकाे पाेर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार, भारत, बेलायत र हङकङमा एक-एक गरि बाह्रवटा संस्करणहरू  सफलतापूर्वक सम्पन्न गरिसकेकाे छ। मिचिगनमा हुने उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, हङकङ, फिलिपिन्स, अस्ट्रेलिया, क्यानडा, भारत, चिन, पाकिस्तान लगायतका विभिन्न मुलुकका करिब सातसयभन्दा बढी खेलाडीहरू सहभागि हुने आयाेजकले जानकारी गराएको छ । नेपालबाट भने साेही प्रतियाेगिताका लागि गत कार्तिक १ र २ गते चितवनकाे रत्ननगरमा आयाेजित तेस्राे खुल्ला  रत्ननगर तेक्वान्दाे प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीहरु छनोट भएका छन् । सितापाईला तेक्वान्दाे डाेजाङका शैलेश राज गिरी, कोटेश्वर तेक्वान्दाे डाेजाङका रञ्जित साउद, मैत्री तेक्वान्दाे डाेजाङका दिनेश सुनार, सितापाईला तेक्वान्दाे डाेजाङकी आयशा तामाङ र  काेटेश्वर तेक्वान्दाे डाेजाङकी सुस्मिता मोक्तान छनाेट भएका हुन् । एक कराेड बीस लाख कुल बजेट भएकाे उक्त प्रतियाेगितामा जम्मा ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयाेजकले बताएकाे छ ।
नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक चितवन । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य भएको हो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी घर्ती, जादुगर बलराम सरकारले आफ्नो प्रस्तुती रखेका छन्। त्यस्तै, तृष्णा गुरुङको लाइभ म्युजिक कन्सर्टका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको चौथो दिन सोमबार प्रकाश सपुत, पूर्णकला विसी, कमेडियन राजा राजेन्द्र पोखरेललगायतका व्यक्तिको प्रस्तुती रहने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुको समेत प्रस्तुती रहने अधिकारीले बताए । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती राखिएको राजकर्णिकारले बताए। कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको लागि काम गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग तथा स्टीमर चढ्ने सुविधा समेत रहेको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी सोमबार र मंगलबार काठमाडौं । यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोलीबाट आयोजना गर्न लागिएको जानकारी गराएको हो। गोष्ठीको पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्। गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराईने गेसोले जनाएको छ। सरकारले व्रिटिस सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहेका पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्र्रौलाले जानकारी दिए। तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ। गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिस सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिस सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ।
लाओस पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक दम्पती पक्राउ काठमाडौं । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ। वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ। महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पुर्याएर अलपत्र पारी उनीहरु फरार भएका थिए। रामेछापका नविनकुमार तामाङसमेत चार जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौँडाबाट पक्राउ गरेको थियो। ठगी प्रमाणित भए अधिकतम पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ।
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४७ जना घाइते काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। आइतबार चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटेस्थित अरनिको राजमार्गमा बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी खोलामा खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन्। दुर्घटनामा परी ४७ जना घाइते भएका छन्। तत्काल दुर्घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा नियुक्त काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बास्कोटालाई नियुक्त गरिएको छ। आइबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रहेका थिए। त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञसमेत रहेका बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सकसमेत हुन्।
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्ने काठमाडौँ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरु समेट्दै विद्यमान लैङ्गिक हिंसा विभेद असमानता र वञ्चितीकरणका लागि लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिद्वारा लैङ्गिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने आधार तयार गर्न सो अभियान शुरु गर्ने भएको हो । अभियान सोमबार विराटनगरबाट शुरु गरिनेछ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा मन्त्रालयले सो अभियान सञ्चालन गर्न लागेको हो । लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि शुरु भई डिसेम्बर १० सम्म १६ दिन सम्पन्न हुने गरेको छ । अभियान सञ्चालनका लागि केन्द्रमा मन्त्रीको अध्यक्षतामा विभिन्न सरोकारवाला निकाय रहेको मूल समायोजन समिति गठन गरिएको छ भने प्रदेशमा सामाजिक विकासमन्त्री, जिल्लामा जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहमा स्थानीय कार्ययोजनालाई निकायका प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने प्रस्ताव गरिएको छ। अभियान मुख्यगरी घरेलु हिंसा, वैदेशिक रोजगारसँग सम्बन्धित हिंसा, मनोरञ्जन क्षेत्रमा कार्यरत महिलासँग सम्बन्धित, यौन हिंसा तथा दुव्र्यहार, कार्यस्थलमा हुने यौनजन्य हिंसा, सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसा, अन्धविश्वास, कुरीति, कुसंस्कार अन्त्य गर्ने विषयमा केन्द्रित हुने सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन्। उनका अनुसार राजनीतिक क्षेत्रमा महिलामाथि हुने हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा र एसिड आक्रमणबाट हुने हिंसालाई पनि यसमा समावेश गरिएको छ । महिलाको सवालमा विभिन्न समयमा भएका उपलब्धिपूर्ण दिनको स्मरणमा गर्दै २०७६ जेठ ६ गतेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष जेठ १६ का दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउने र यस वर्ष २०७६÷७७ साललाई लैङ्गिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा सङ्घ, प्रदेश र स्थानीय तहले अभियान कार्यक्रम सञ्चालन गरी मनाउने निर्णय गरेको थियो । देशव्यापी रुपमा ‘लैङ्गिक हिंसामुक्त देश निर्माण’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्पसहित महिलालाई लैङ्गिक भेदभावबिना समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकलगायतका मौलिक हकको प्रत्याभूति गरेको छ । अभियानअन्तर्गत यही कात्तिक १८ गते विराटनगर, २१ गते जनकपुर, २९ गते पोखरा, २६ मा सुर्खेत, २४ धनगढी र मङ्सिरको ९ गते काठमाडौँ, मङ्सिर १ गते बुटवलमा मन्त्रीहरु, प्रदेशमन्त्रीहरु, जनप्रतिनिधि र सरोकारवाला सङ्घ÷संस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिने भएको छ । विसं २०६३ मा पुनस्र्थापित प्रतिनिधिसभामा ‘आमा वा बाबुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने सुनिश्चित गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चित गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्ने’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको थियो । यस प्रस्तावलाई २०६३ जेठ १६ का दिन तत्कालीन प्रतिनिधिसभाले सर्वसम्मतरुपमा पारित गरेको पनि थियो । संविधानले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव तथा हिंसा जस्ता जघन्य अपराधलाई दण्डनीय बनाई पीडितलाई क्षतिपूर्ति दिलाउन र शिक्षा स्वास्थ्य रोजगारी तथा सामाजिक सुरक्षामा विशेष अवसरद्वारा लैङ्गिक समानता कायम गर्ने व्यवस्थासमेत गरेको छ । अभियानलाई सफल बनाउनका लागि विभिन्न सङ्घीय मन्त्रालयका सरोकारवाला निकायहरु एवम् लैङ्गिक हिंसाविरुद्धको अभियानमा संलग्न गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, निजी संस्थालगायत अन्य सामाजिक सङ्घसंस्थालाई सहभागी गराई त्यसका बारेमा जानकारीसमेत गराइसकिएको सहसचिव शर्माले जानकारी दिइन्।रासस
सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, काँग्रेसद्वारा शोक व्यक्त मेलम्चि। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए। उनका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए। घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। यसैबीच दुर्घटनाप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ। काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिब कृष्णप्रसाद पौडेलले आइतबार शोक विज्ञप्ति जारी गर्दै शोक तथा समवेदना प्रकट गरेका छन्।
बर्दियामा लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो। तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
एमसीसी विरुद्ध युवा टिमले बलिङ गर्ने काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली युवा टिमले सुरुवातमा बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर पहिले फिल्डिङ रोजेको छन् । र, एमसीसीलाई सुरुवातमा ब्याटिङ गर्न पठाएका छन् । यू–१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
वनभोज खाएर फर्किएको बस दुर्घटना, तीन जना घाइते सुर्खेत। सुर्खेको कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको ब्रेक फेल गई दुर्घटना भएको हो । दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–१९ कन्ठीपुरका १५ वर्षीया लीला बुढाथोकी, १५ वर्षीय आकाश थापा क्षेत्री र १९ वर्षीय नरेन्द्र उपाध्याय घाइते भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। घाइतेमध्ये उपाध्यायको वीरेन्द्रनगरस्थित माया नर्सिङहोम र अन्य दुईको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भई सडक किनाराको रुखमा ठोक्किन पुगेको थियो । रासस
नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार पक्राउ गुलरिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन् । आफूहरु ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । नेटवर्किङ व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका २०० सर्वसाधारणलाई नाकाबाट उद्धार गरिएको पनि प्रहरी उपरीक्षक बाँस्तोलाले बताए । प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुत्त, अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का, भूटानमा सक्रिय रहेको छ । भारतको चेन्नइमा प्रधान कार्यालय तथा नयाँदिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमा नजिक लखिनीपुर भन्ने स्थानमा नेचरल वैल इन्टरप्राइज नामक उपशाखा कार्यालयले नेटवर्किङ व्यवसायको नाममा विभिन्न खाद्य वस्तुको उत्पादन गरी सर्वसाधारणलाई ठगी गर्दै आएको छ ।
धुलिखेलवमा टिपर दुर्घटना, घटनास्थलमा नै चालकको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो। बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ। रासस
दुर्घटनामा विदेशी पर्यटकको मृत्यु दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकप स्याक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
चितवनको सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री भरतपुर । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा मृत्यु भएका पाँच जनालाई विभिन्न सवारी साधनले ठक्कर दिएको हो। यसका अतिरिक्त बस दुर्घटनामा एक जना, मोटरसाइकल दुर्घटनामा तीन जना र साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार पछिल्लो समय दुर्घटनामा पैदलयात्रीको मृत्यु हुनेक्रम बढ्दो रहेको छ। सवारी चालकको तीव्र गति र पैदलयात्रीको लापरवाहीका कारण दुर्घटना हुने गरेको छ। यसरी मृत्यु हुने पैदलयात्री मादक पदार्थ सेवन गरेका धेरै हुने गरेका छन्। उनले बाटोमा हिँड्दा ट्राफिक नियमको पालना नगरेका कारण यस्ता घटना बढी हुने गरेको भन्दै जनचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए । रासस
ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् । एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
दुर्घटनामा एकको मृत्यु, दुई घाइते पोखरा । पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बँेसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकामा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ। बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। चौताराबाट इर्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रासस
बञ्चरो प्रहार गरी छिमेकीको हत्या कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु¥याएपछि उनको मृत्यु भएको उनले बताए । मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।
एमसीसीको नेपाल भ्रमण तालिका र टिम सार्वजनिक काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण तालिका सार्वजनिक गरेको छ ।एमसीसीले सार्वजनिक गरेको तालिका अनुसार सुरुवातमा एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय खेल खेल्नेछ । यस्तै राष्ट्रिय टिमसँग एक दिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्नेछ । त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ ।त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ । यस्तै एमसीसीले नेपाल सँग खेल्ने टिमको घोषणा गरेको छ । एमसीसीले नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको छ । कप्तान एडम्ससँगै टिममा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट् रहेका छन् । टिममा रहेका मध्ये अराफातले पाकिस्तानबाट टेष्ट खेलिसकेका छन् । यस्तै विल रोड्सले इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् । टियुमा हुने खेल तालिकाः ३ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल यू–१९ (५० ओभर) ४ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर ) ६ देखि ८ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय) ९ नोभेम्बरः एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू–१९ टिम (टी–ट्वान्टी) पोखरामा हुने खेलः ११ नोभेम्बरः एमसीसीविरुद्ध पोखरा आमन्त्रण–११ (२० ओभर) १२ नोभेम्बरः एमसीसीविरुद्ध मुख्य मन्त्री–११ (२० ओभर)
नेयमार विना पिएसजीको लगातार जित एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । आइतबार राति मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले फराकिलो जित निकालेको हो । पहिलो हाफमै ४ गोल गरेको पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले दुई दुई गोल गरे । खेलको १० औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको २६ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । त्यसपछि एमबाप्पेले ३२ औं र ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ४-० को सहज जित सुनिश्चित गराए । चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ । जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।
सरकार विकास र समृद्धितर्फ निरन्तर अगाडि बढ्दैछः अध्यक्ष प्रचण्ड काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।” उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे । उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए । अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औँल्याए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताए । रासस
नगदसहित छ जुवाडे पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । बीरेन्द्रनगर नगरपालिका– ९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र सोही नगरपालिका– ६ सुर्खेतका ४८ वर्षीय मुकुन्द मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिपावलीलाई सभ्य र सुरक्षितरुपले मनाउन ९ बजेसम्म मात्र देउसी भैलो खेल्न, जुवातास तथा लङ्गुर बुर्जा नखेल्न, मादक पदार्थ सेवन नगर्न, जबर्जस्ती रकम नअसुल्न र कानूनद्वारा बर्जित काम नगर्न पनि प्रहरीले सार्वजनिकरुपमा सूचना प्रवाह गरेको छ ।
श्रीमानको हत्याको आरोपमा महिला पक्राउ राजापुर। श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु काठमाडौं । राजधानीमा ९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । वल्र्ड विथ एंगर (डब्लुडब्लुए), ग्लोबल पीस फाउन्डेशन (जीपीएफ) नेपाल र समृद्धि कलेज, लोकन्थलीले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको शुक्रबार उद्घाटन गरिएको छ । दुई दिन संचालनमा आउने उक्त सम्मेलनमा इक्यू फोर पिस विश्वव्यापी इंक, संयुक्त राज्य अमेरिका र नेशनल एसोसिएशन साइक्लोजिकल साईन्स (एनएपीएस्) भारतको अन्तर्राष्ट्रिय साझेदारी रहेको छ । सम्मेलनमा समग्र विषय भावनात्मक खुफिया, व्यवसायिक सफलता, शान्ति, शिक्षा र एक राम्रो जीवनको माध्यमबाट संसारमा शान्त समाज निर्माण गर्ने बारेमा हुनेछन् । उक्त सम्मेलनमा आठवटा राष्ट्र सहभागी भएका छन् । जसमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकाबाट ३६ वटा अनुसन्धानपत्र प्रस्तुत गरिने छ ।
उपनिर्वाचनका लागि जारी गरिएको आचारसंहिता आजदेखि लागू काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता आजदेखि कार्यान्वयनमा आएको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले बिहीबार आचारसंहिता जारी थियो। मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ। यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो। आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो। निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ। राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ।
कर्णालीले पर्यटनबाटै लाभ लिन सक्छ : उपराष्ट्रपति सुर्खेत । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको आज अवलोकन गर्दै उनले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताएका हुन् । उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने धारणा राखे। “सिंजाको महत्वबारे विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषीलाई बुझाउन जरुरी छ, सिंजा क्षेत्रले जति महत्व पाउनुपर्ने पर्ने त्यति पाएको छैन”, उनले भने, “कम्तीमा कर्णालीका मुख्य गन्तव्यस्थल रारा, सिंजा र काँक्रेविहारलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नसके भविष्यमा उचित लाभ पाउन सक्छौँ ।” उनले संसारको जुनसुकै कुनामा बसोबास गर्ने नेपालीभाषी भए पनि कम्तीमा एकपटक आफ्नो भाषाको उत्पत्तिस्थल सिञ्जा क्षेत्रको भ्रमण गराउनुपर्नेमा जोड दिए। उपराष्ट्रपति पुनसँगै कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले काँक्रेविहार र बुलबुले उद्यान क्षेत्रको अवलोकन गरेका थिए। काँक्रेविहारमा वीरेन्द्रनगर नगरपालिकाले पञ्चेबाजासहित उपराष्ट्रपतिको स्वागत गरेको थियो । नगर उपप्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको विकासको अवस्था र ऐतिहासिक पक्षका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए। उपराष्ट्रपति पुनले शुक्रबार सिंजा महोत्सवको उद्घाटन र हुम्लामा एक विद्यालयको शिलान्यास गर्ने कार्यक्रम छ । यसैबीच, उनले आज वीरेन्द्रनगर खजुरास्थित एक निजी अस्पतालको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि अन्तिम समयमा रद्द गरे। अस्पताल सञ्चालनको पूर्वाधार नपुगेको सूचनाका आधारमा उद्घाटन समारोहमा सहभागी नभएको उपराष्ट्रपतिको सचिवालयले जनायो । रासस
बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो काठमाडौँ । गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो । जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको अनुमान गरिएको छ । नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको कुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै उक्त टोर्नेडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो । समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ । समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिए। समितिले मौसमी अध्ययनअन्तर्गत त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्सा, भू–उपग्रहबाट लिइएका तस्वीर, चट्याङ सञ्जालबाट प्राप्त तथ्याङ्क, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोण्ड डाटामा आधारित रहेर विश्लेषण गरिएको उनले बताए। महानिर्देशक वैद्यले भने, “घुम्रपातले पर्सामा भन्दा अघि चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा समेत क्षति पुर्याएको देखिन्छ । यद्यपि त्यसको स्थलगत यकिन विवरण प्राप्त भएको छैन ।” तथापि भू–उपग्रहको तस्वीरले निकुञ्जभित्र ‘घुम्रपात’ले जम्मा नौ किमिको दूरी तय गरेको प्रतिवेदनमा उल्लेख छ । ‘घुम्रपात’ले पर्साको जग्गनाथपुरदेखि बाराको बैरियासम्मको मानव बस्ती क्षेत्रमा तय गरेको दूरी र समयको अध्ययन गर्दा भने ‘घुम्रपात’ले ३४ किमि प्रतिघण्टाको गतिले यात्रा गरेको आँकलन गरिएको छ। क्षति न्यूनीकरणका लागि सुझाव प्रतिवेदनमा ‘घुम्रपात’ जस्ता अतिजन्य मौसमको कारणले हुने धनजनको क्षतिन्यूनीकरण गर्न आवश्यक उपकरण र स्रोतसहितको पूर्वसूचना प्रणाली विभागमा स्थापना गर्न र यस्ता अतिजन्य मौसम प्रणालीको थप अध्ययन र अनुसन्धान गर्न सुझाव दिइएको छ । साथै प्रतिवेदनमा घुम्रपातको प्रारम्भिक अध्ययनमात्र गरिएको हुनाले यो ‘घुम्रपात’को मौसमी अवस्थाको विभिन्न दृष्टिकोणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘घुम्रपात’ तथा अतिजन्य मौसमसम्बन्धी विज्ञको सहकार्यमा विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ । यस्ता मौसमी घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विभागलगायत सम्बन्धित केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकाय तथा स्थानीय जनसमुदायले अपनाउनुपर्ने पूर्वतयारी पद्धतिको विकास गरी लागू गर्न सुझाव दिइएको छ । टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्याएको थियो।
मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ : वरिष्ठ नेता खनाल इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आज यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताए। नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुगेका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताए। उनले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताए। सन्दकपुरको प्रचारका लागि खनाल शुक्रबार नै सन्दकपुर जानुहुने भएको छ । खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै छन्।
उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ । यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ । राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ ।रासस
रुसमा बाढीका कारण बाँध भत्किँदा १७ जनाको मृत्यु मस्को (रासस/सिन्ह्वा) । रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो। “नातेदारहरुले मृत्यु भएका सवै १७ जनाकै शव पहिचान गरिसकेका छन्,” रूसी आपत्कालीन सेवा केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार संस्थाहरूले समाचार सम्प्रेषण गरेको छन्। बाढीका कारण बाँध भत्किएको अधिकारीहरूले जानकारी दिएका छन्। अन्य चार बाँध पनि भत्किएकाले त्यसको असर समेत यो बाँधमा परेको बताइएको छ। अनुसन्धान टोलीका सदस्यहरुले १७ जनाको मृत्यु भएको र अरु तीन जना अझै हराईरहेको जनाएका छन्।
लेड (सिसा)को विषाक्तताबाट बालबालिकालाई जोगाउनुपर्ने चिप्लेढुंगा । आम जनस्वास्थ्य र विशेष गरी बालबालिकामा प्रत्यक्ष असर पार्ने पेन्ट लेड (सिसा) को विषाक्तताबाट जोगिने उपायका बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्र एवं वन तथा वातावरण प्रवद्र्धन मन्त्रालयको सहकार्य र विश्व स्वास्थ्य सङ्गठनको को सहयोगमा पोखरा महानगरपालिकाले आज आयोजना गरेको लेडको मापदण्डको प्रभावकारी कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीका वक्ताले विशेषगरी लेडबाट बालबालिकालाई जोगाउनुपर्ने बताएका हुन्। विश्व स्वास्थ्य सङ्गठनले लेड (सिसा) लाई विश्वव्यापीरुपमा असर पुर्याउने प्रमुख १० रसायनमध्ये एक प्रमुख घातक रसायनका रुपमा पहिचान गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले जानकारी दिए। लेडले मानिसको र खासगरी बालबालिकाको शारीरिक र मानसिक तथा बौद्धिक विकासमा अवरोध पुर्याउने र लेडको सम्पर्कबाट दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्या हुने भएकाले त्यसतर्फ ध्यान जानुपर्ने बताए। वार्षिक यसबाट पाँच लाख ४० हजार मानिसको मृत्यु हुने गरेको र १.३९ करोड मानिस शारीरिकरुपमा अशक्तता हुने गरेको तथ्याङ्क रहेको उहाँले जानकारी दिए। उनले विसं २०७४ र २०७५ मा २७ पेन्ट्स उद्योगका ५६ वटा इनामेल पेन्टस्मा गरिएको मापदण्डको प्रभावकारितासम्बन्धी अध्ययनले मापदण्ड परिपालनको अवस्था ६० प्रतिशत मात्र पाइएको बताए। पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले पोखरा सुन्दर र पर्यटकीय नगर, तालतलैयाको शहर भएकाले लेडमुक्त रंगरोगनको आयात उत्पादन र बिक्रीवितरण गर्ने पहल गरिने बताए। कार्यक्रममा पोखरा औद्योगिक क्षेत्रका आरती पेन्ट उद्योगका निर्देशक सुरेन्द्र भुर्तेलले आफ्नो उत्पादन परिमार्जन गरी मापदण्डको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरे। विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि राजुराम पोटे श्रेष्ठले लेडयुक्त पेन्ट उन्मूलका निम्ति विश्व स्वास्थ्य सङ्गठनबाट नेपाली जनस्वास्थ्य र वातावरणमा पर्ने लेडको असरको निराकरण तथा न्यूनीकरण गर्ने नेपाल सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारलाई सघाउने प्रतिबद्धता जनाए। उपभोक्ता संरक्षण मञ्चका महासचिव राजुराम अधिकारीले लेडको विषाक्तताबारे जनचेतना फैलाउन र सरकारले तोकिएको पेन्टमा बाध्यकारी मापदण्डको पूर्ण परिपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेही पूर्ण पेन्टको उत्पादन, आयात, बिक्री वितरण र प्रचार गर्नुपर्नेमा जोड दिए। कार्यशालामा अर्थमन्त्रालयका भन्सार विभागका वरिष्ठ रसायनशास्त्री मनोजनिधि वाग्ले, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वातावरण निरीक्षक भूपेन्द्र शर्माले लेडयुक्त पेन्टले मानव जीवनमा पार्ने असर र यसबाट जोगिने उपायका बारेमा प्रस्तुति राखेका थिए।
पूर्व माओवादी र राप्रपा संयुक्तका ५१ नेता नेपाली काँग्रेसमा प्रवेश काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी काँग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै उपाध्यक्ष श्याम बहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरु— नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ रोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल, विश्वनाथ राना मगर, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, इन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मिना रोका सहित जम्मा ४९ जना काँग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरु एवं हाल नेपाल कम्युनिष्ट पार्टीका कर्णबहादुर शाही र लोकबहादुर चलाउने विना शर्त नेपाली कांग्रेसमा आज प्रवेश गरेको काँग्रेसले जारी गरेको विज्ञप्तिमा जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा भएको एक कार्यक्रम बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए।
‘जेठो छोरालाई गरी खाने वातावरण र कान्छो छोरालाई होचोको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन माग’ काठमाडौं । जनकपुर अञ्चल रामेछाप जिल्ला साविक भिरपानी गाविस वडा नं. २ हाल खाँडादेवी गा.पा वडा नं. ३ रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना छोराहरु राजु श्रेष्ठ र कल्याण श्रेष्ठको लागि सहयोगको लागि याचना गरेका छन् । उनीहरुका अनुसार २०४७/०८/०७ गते जेष्ठ सुपुत्र राजु र २०४८/०२/१९ गते कान्छा सुपुत्र कल्याण श्रेष्ठको जन्म भएको हो । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार छोराहरुसहित सम्मेलन गर्दै उनीहरुले निजहरुको नियमित तथा दैनिक जीवनचर्या अनौठो, आश्चर्यजनक र अकल्पनीय भई सीमित घेरा र क्षेत्रभित्र रही आएको गुनासो पोखे । बुवा रामकुमारले भने,‘छोराहरुको वास्तविक अवस्था बाहिर ल्याउनको लागि म आज यस क्लबमा उपस्थित् भएको छु । अहिलेको प्रविधि र सञ्चारको युगमा विभिन्न मिडियामार्फत छोराहरुको यथार्थ जीवनावस्थालाई बाहिर ल्याउन प्रचार प्रसार गरी सम्पुर्ण मानव समुदायवीचमा परिचय र जानकारी गराउन उचित महसुुुस गरी आजकै सामुहिक सञ्चार मिडियामा उपस्थित भएका छौ ।’ उनकाअनुसार दुवै छोरा राजु र कल्याण जन्मपछि बढ्ने र शारिरीक र मानसिक बृद्धि हुने क्रममा रोकावट आएपछि विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गरिएकोमा थाइराईड हर्माेनको कमीले शारीरिक बृद्धिमा अवरोध आएको हो । उनले भने, ‘निजहरुको शारीरिक अवस्था अति दयनीय र असामान्य रही आएको छ । यस उपचारको खोजीमा धेरै वर्षसम्म प्रयास गर्दा पनि खास सुधार र सफलता देखिएन । बीस बाईस वर्षसम्म त बढ्ने आशा रह्यो तर ती आशाहरु निराशामा परिवर्तन भएपछि हाम्रो साहारा र सहयोगमा मात्र निजहरुका जीवन गुजारा भईरहको छ । आमाको र परिवारको मुख्य जिम्मेवारी अन्य खेतीपाती, व्यापार व्यवसाय गर्नु नभई मात्र दुई भाइ छोराहरुको पालनपोषण, स्याहारसुसार र सहयोग गर्नु मात्र रहेको छ ।’ उनले दुवै छोराहरु हातखुट्टा धुन, शौचालय जान, नुहाउन,लुगा धुन, खाना पकाउन, भित्र र बाहिर गर्न, कपडा लगाउन र बोल्नसमेत असक्षम रहेको सुनाए । उनले भने, ‘यो कान्छो छोरा कल्याण त झनै दयनीय अवस्थामा छ । हाम्रो बुझाईमा कल्याण श्रेष्ठ नेपालकै र विश्वको नै सबभन्दा होचो व्यक्ति र सबभन्दा कम तौल भएका व्यक्तिका रुपमा चिनिन र ठहरिन गई ग्रिनिज बुकमा नाम दर्ता हुन सक्ने सम्भावना भएकोले निज लाई नेपालकै र विश्वकै सबभन्दा होचो र कम तौल भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन आदरणीय पत्रकारहरु मार्फत आवश्यक प्रक्रिया अघि बढाई मानवीय सहयोग गर्न र सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछु ।’ त्यस्तै, उनीहरुले छोराहरुको पालनपोषण, रेखदेख, स्याहारसुसार गर्न र जीवन निर्वाह निमित्त समय दिन आमाबुबा वा परिवारको एक सदस्यको निरन्तर उपस्थिति र सहयोगको खाँचो परेकोले र निजहरुको पालन पोषण, स्याहार सुसार गर्न, नियमित स्वास्थ्य परिक्षण र स्वास्थ्य उपचारका लागि आर्थिक रकम अभाव भई समस्या परेकोले निजहरुको जीवन निर्वाहका लागि नेपाल सरकार तथा गैर–सरकारी संघसस्था समक्ष पनि आवश्यक सहयोगका लागि पहल गरी दिन पत्रकारज्यु समक्ष अपिल गर्दछु।’ उनकाअनुसार जेठो छोरा राजुको उचाई ४२ इन्च र तौल २३ केजी छ । र, कान्छा छोरा कल्याणको तौल १० केजी र उचाई २९ इन्च मात्र छ । उनले भने,‘इशाराले मात्र आफ्ना कुरा व्यक्त गर्ने कान्छा छोरो कल्याणलाई त क्षणभर पनि छोड्न मिल्दैन् । हाल उनीहरुको समयमा देखापर्ने शारिरीक परिवर्तनहरु जस्तै दाह्री, जुङ्गा आउने दाँत साटिने बोलीमा धोद्रोपन आउने, बौद्धिक तथा यौन परिपक्वता आदिमा कुनै पनि परिवर्तन देखिएको छैन।’ दुई छोराहरुमध्ये जेठो राजुले होचो र असामान्य व्यक्ति भएरपनि शिक्षाशास्त्र संकायमा १०ं२ उतीर्ण र ६ महिने आधारभुत कम्प्युटर तालिम पुरा गरेको पनि उनले सुनाए । उनले भने, ‘तर, निजले योग्यताअनुसारको रोजगारी पाउन सकेको छैन । निज राजु श्रेष्ठलाई आत्मनिर्भर र स्वावलम्वी बनाउन धेरै ठाउँमा प्रयास गरेपनि कुनै व्यक्ति संघसस्था तथा निकायले खासै चासो नदेखाएकोले निजको योग्यता र शारिरीक अनुकुलता सुहाउदो रोजगारी समेत प्रवन्धको लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दछु ।’
‘सहकारी क्षेत्रको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्छ’ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताएका छन्। काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयको अन्तक्र्रियामा मन्त्री अर्यालले सहकारीसँग भएको स्रोत र सामथ्र्यलाई सामाजिक विकास र राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए। अबको यात्रा भनेको समाजवादोन्मुख यात्रा भएको बताउँदै उनले अब हरेक क्षेत्रमा समाजवादोन्मुख कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। “सरकारले योजना र केही रकम दिने हुँदा त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौँ”, उनले भने। मन्त्री अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता हुनुपर्ने बताउँदै सहकारीको ठूलो जनशक्तिलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने र सबैभन्दा बढी गरीब भएका स्थान छानेर सहकारीले गरीबी उन्मूलन कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे। अहिले पनि १७.७५ गरीब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरीबी उन्मूलनमा सहकारीको पनि भूमिका हुनुपर्ने उनको भनाइ थियो। रासस
त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी काठमाडौं । विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन्। एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो। अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए। नेविसङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाएपछि आन्दोलन गर्नुपरेको बताए। त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको थियो। त्रिविमा नयाँ पदाधिकारी नियुक्तिमा प्राध्यापकले समेत असन्तुष्टि व्यक्त गर्दैआएका छन्। रासस
काँग्रेस केन्द्रीय समिति बैठक नबसेरै स्थगित काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो। पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रलाई पठाउनुपर्नेमा धेरै उम्मेदवारको नामावली आएपछि त्यसबारे छलफल गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा प्रस्ताव गरिएका विषय बारेमा छलफल यथेष्ट नभएकाले औपचारिक बैठक बस्न नसकेको उनले बताए। पार्टीले जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिलाई ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाउन निर्देशन गरेको थियो। तर सबै स्थानबाट ३ जना भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा पठाईएको छ। प्रवक्ता शर्माका अनुसार सबै भन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको छ। पुन सिफारिस गरि पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने सन्र्दभमा छलफल गरि निर्णय गरिने उनले बताए।
प्रहरी पोशाक दुरुपयोग गरेको अभियोगमा पक्राउ काठमाडौं । अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका ५ ठेगाना भएका आफूलाई र्‍यापर भन्न रूचाउने भिटेन, समिर घिसिङ्ग भन्ने २२ वर्षीय समिर लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। “हामी यस्तै त हो नी ब्रो” बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेका समिरलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको उक्त महाशाखाले जनाएको छ।
प्रधानमन्त्री ओली दोहामा दोहा। प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा कतारको पुगेका छन्। यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । प्रधानमन्त्री ओलीका साथ उनकी पत्नी राधिका शाक्य छिन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरे। करीब दुई घण्टाको विश्रामपछि प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल बाकुका लागि नेपाली समयअनुसार रातिको ८ बजे प्रस्थान गर्नेछ । दोहाबाट बाकुको उडान समय २ घण्टा ५० मिनेट रहेको छ । रासस
महरालाई थप ७ दिन थुनामा राख्न आदेश काठमाडौं । यौन काण्डमा मुछिएर प्रहरीको हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो। बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद थपको माग अदालतसमक्ष गरेको थियो ।
दलित व्यक्तिलाई कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ पाल्पा । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो । जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । त सार्की डाङ्ग्रालाई के को पैसा भन्दै कुटपिट गरेको प्रहरीको दाबी छ । कुटपिटबाट नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ । जनप्रतिनिधि विष्टले आफूले नेपालीलाई कुटपिट गरेको स्वीकार गरिसकेका छन् । विभिन्न राजनीतिक दलले घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेपछि पीडित नेपालीले दोषीउपर कारवाही हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन् । रासस
बैतडीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
भारतको कर्नाटकमा बाढीका कारण थप १३ को मृत्यु कर्नाटक (रासस/एएनआई) । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ। विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्। राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण १५० भन्दा बढी पशुचौपाया मरेका छन्। अधिकारीहरुले बाढीका कारण ९ हजार ८३२ घरमा आंशिक क्षति भएको र २०६ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन्। गत पछिल्लो छ दिनमा यस क्षेत्रमा अत्यधिक वर्षा भएको र बाढी आएकाले धनजनको क्षति भएको सरकारी अधिकारीहरुको भनाई छ। उनीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले जनजीवन सामान्य हुँदै जान थालेको छ भने खोजी, उद्धार तथा राहतका लागि कामहरु पनि भइरहेका छन्। बगालकोटमा मात्रै ३७ हजार ३४ जना बाढी प्रभावितलाई विभिन्न शिविर बनाएर पुनस्र्थापित गरिएको छ। कर्नाटक राज्यका २८ ओटा शिविरमा ७२ हजार २० जनालाई पुनस्र्थापना गरिएको प्रदेश सरकारको तथ्याङ्क छ। सरकारी अधिकारीले बाढीबाट प्रभावितका लागि आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरिरहेको पनि जनाएका छन्।
नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित काठमाडौं । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ। पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन्। त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठले जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र होे चोल युलाई हराएका हुन्। तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले कोरियाका खेलाडीलाई पराजित गरेका हुन्। मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ। आजै भएको ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन्। इन्टरनेशल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने ल्याउन सकेनन्। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो। उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ।रासस
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका ९ घर भएका ४२ वर्षीय लिलाराज गौतम पक्राउ परेका छन्। गौतम समेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएका फरार गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ। २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सिताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्का समेतले करणी गरी घाँटी थिची हत्या गरेपछि रुखमा झुण्डाएर भागेको र २०५७ असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केकी छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरे। राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन्। म्यान्माको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्या भिषेक समारोहमा सहभागी हुन म्यान्माबाट जापानतर्फ प्रस्थान गरेका थिए। जापानमा रहँदा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोमा शिष्टाचार भेटवार्तासमेत भएको थियो। राष्ट्रपतिसँग शुभराज्याभिषेक समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी पदाधिकारीसमेत सहभागिता रहेको थियो।रासस
विश्व महिला सम्मेलन : २० बुँदे काठमाडौं घोषणा–पत्र जारी काठमाडौं । चौंथो विश्व महिला सम्मेलनको २५ औं वार्षिकोत्सवका उपलक्ष्यमा समानान्तर राष्ट्रिय प्रतिवेदन तयारीका सिलसिलामा आयोजित बेइजिङ्ग २५ को राष्ट्रिय समीक्षा कार्यक्रम २० बुँदे काठमाडौं घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले गरिन्। उद्घाटन मन्तव्यमा उनले महिला हिंसा अन्त्य गर्न सरकारले जिम्मेवार भएर काम गर्ने भन्दै हाम्रो अभियानलाई थप उत्साह थपेकी छन्। उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताइन्। अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको दिगो विकास–लक्ष्य प्राप्तिका लागि बेइजिङ घोषणा तथा कार्ययोजनाको पूर्ण एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पक्षमा जोड दिँदै; बेइजिङ घोषणा तथा कार्ययोजना, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने माग गर्दै कार्यक्रम सम्पन्न गरेका छौं । राष्ट्रिय सञ्जाल संस्था बियोण्ड बेइजिङ कमिटी (बिबिसी) प्रदेशस्तरीय सम्मेलनबाट प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं घोषणा–पत्र जारी गरेका हौं। संघीयता कार्यान्वयन संगसंगै राजनीतिक, सामाजिक तथा आर्थिक विकासका चरण तथा प्रक्रियाहरू लगायत सार्वजनिक एवं निजी क्षेत्रमा लैङ्गिक सवालहरूको मूलप्रवाहीकरण गर्ने नीति, कानुन, कार्ययोजना तथा कार्यक्रमहरुको बन्नका लागि हाम्रो घोषणा पत्र र कार्यक्रमबाट आएको निचोडले सहयोग पुर्याउने हामीले विश्वास गरेका छौं । बियोण्ड बेइजिङ कमिटी (बिबिसी)को स्थापनाकालदेखीका अग्रज महिला अधिकारर्कीदेखी किशोरी अधिकारकर्मीसम्मको सहभागिताले उत्कृष्ट निचोड निकाल्न सफल भएको छ। संविधानलगायत विभेदकारी कानूनहरूको तुरून्त संसोधन गरी सारभूत लैङ्गिक समानता कायम गर्नु पर्ने अपरिहार्यतालाई यो कार्यक्रमले अझै प्रचार प्रसार गर्न सहयोग पुर्याएको विज्ञप्तिमा जनाएको छ । राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य सार्वजनिक जीवनका निर्णय प्रक्रियाका सबै चरणमा सन् २०३० सम्ममा ५०ः५० कायम गर्न नेपालको संविधानले प्रदत्त गरेका समावेशी एवं समानुपातिक सहभागितालाई कार्यान्वयनका लागि देशभरबाट सहभागि महिला अधिकारकर्मीहरुले अभियान गर्ने प्रतिबद्धता जनाएका छन् । घरेलु कामलाई आगामी राष्ट्रिय जनगणनामा समेट्दै त्यसलाई औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न कामकाजी महिलाहरूको तथ्याङ्क निकाल्न हामिले दवाव दिनेछौं । दिगो विकास हासिल गर्न राष्ट्रिय स्तरदेखि स्थानीय स्तरसम्म लैङ्गिक संयन्त्रहरूलाई सकृय बनाउन स्थानीय तहदेखी नै जोड दिन माग गर्दछौं । राष्ट्रिय महिला आयोगलाई यथाशीघ्र कानून, नीतिद्वारा सुसज्जित बनाई जनशक्ति एवं वित्तिय श्रोतसाधन सम्पन्न गराउन आह्वान गर्दछौं । बलात्कार, दुव्र्यवहार, हिंसा, शोषण र साइवर अपराध विरूद्ध बनेका कानूनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गरी यौनजन्य हिंसा र अपराधहरूबाट महिला र बालिकाको सुरक्षाको ग्यारेन्टी गर्दै दण्डहीनताको अन्त्य गर्न कार्यक्रमले माग गरेको छ । महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे पुरुष महिला, यौनिक अल्पसंख्यक, किशोर किशोरीहरुमा व्यापक शिक्षा सचेतना जगाई यौनजन्य हिंसा, दुव्र्यवहार, वलात्कार, बालविवाहको रोकथाम गर्न आह्वान गर्दछौं । २० बुँदे काठमाडौं घोषणा–पत्र यसै बिज्ञप्तीका साथ वितरण गरेका छौं । विज्ञप्तिमा भनिएको छ।
अवैध रुपमा ल्याएका विभिन्न सामान बरामद मोरङ । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ। बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुपाडी, वदम र सुनपाप्री लगायतका छन्। उक्त सामान विराटनगर महानगरपलिकाका वडा नम्बर ६, १० र १४ का विभिन्न स्थानबाट बरामद गरिएको हो। बरामद सामान आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
टोनार्डोको क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बारा-पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ। बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको हो। बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक गरेको सो प्रतिवेदनमा त्यस्ता खालको पूर्व सूचना प्रणालीले हावाहुरी, चटयाङसहितको विपत्तिबाट हुने क्षतिको न्यूनिकरण गर्न पनि सघाउ पुर्याउने जल तथा मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिए। बारा–पर्सामा आएको जस्तो मौसमी घटनाहरुबाट जनधनको क्षति न्यूनिकरण गर्न प्रदेश र स्थानीय तहमा पनि सावधानी अपनाउने गरी पूर्व तयारी पद्धतिको विकास गर्नुपर्ने सुझाव पनि सो प्रतिवेदनमा दिइएको छ। विभागका महानिर्देशक सरजुकुमार बैद्यको अध्यक्षतामा गठन गरिएको समितिले सो टोनार्डोको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा सो टोनार्डोको अधिकतम गति १८० देखि २६५ प्रतिघण्टा भएको अनुमान गरिएको पनि उल्लेख गरिएको छ।
राप्रपाका नेता स्व. चन्द्र बहादुर गुरुङको स्मृतिसभा काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानसभामा तत्कालीन राप्रपा नेपालका संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले आफ्नो पार्टीले लिएको निष्ठाप्रति अविचलित र अडिक भएर प्रस्तुत हुने नेताका रुपमा स्व. चन्द्रबहादुर गुरुङलाई चित्रण गर्दै उनका राम्रा पक्षको अनुशरण गरेर अगाडि बढ्न राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्र बहादुर गुरुङको चौथो वार्षिक पूण्य तिथिको अवसरमा ‘स्व. चन्द्र बहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’द्वारा आयोजित स्मृति सभालाई सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेम्वाङले सो कुरा बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विचार र सिद्धान्तका हिसाबले कांग्रेस र कम्यूनिष्टको विकल्प राप्रपा मात्र भएको बताए। अध्यक्ष थापाले संविधानसभाको पहिलो बैठकमा संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले पार्टीको अडान राजसंस्था सहितको लोकतन्त्र र हिन्द्ु राष्ट्रको पक्षमा डटेर आवाज वुलन्द गरेको र त्यसलाई निरन्तर रुपले अगाडि बढाएकै कारण आज आम राष्ट्रवादीहरुले राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रका बारेमा खुलेर बोल्न सक्ने वातावरण सिर्जना भएको बताउँदै स्व गुरुङको सिद्धान्तप्रतिको निष्ठा, कर्तव्य परायणता एवं अनुशासन लाई शिक्षको रुपमा लिएर राप्रपाका आम नेता तथा कार्यकर्ताले अनुशरण गरि व्यवहारमा उतारेमा राप्रपाको प्रगतिलाई कसैले छेक्न नसक्ने स्पष्ट पारे। परिवर्तनका नाममा परिवर्तनका संवाहक भन्ने राजनीतिक दलहरुको गलत मार्गचित्रका कारण देशको आर्थिक अवस्था जर्जर भएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपाली युवाहरुको रगतर पसिना विदेशमा निर्यात गरेर आएको रेमिट्यान्सले देश चल्नु दुर्भाग्य रहेको बताए। भएका उद्योगधन्दा नष्ट गर्नु, व्यक्तिगत एवं समुहगत स्वार्थकै लागि राजनीतिमा अपराधिकरण बढ्नु, भ्रष्टाचार मौलाएर जानु लगायत विकसित मुलुकको परिस्थितिलाई नियाल्दा परिवर्तनकारी राजनीतिक दलहरुको अकर्मण्यता पुष्टि भएकोले यसलाई निराकरण गर्न सक्षम राजनीतिक दलको रुपमा आम नेपाली जनताले राप्रपालाई हेर्न थालेको प्रशंग उल्लेख गर्दै अध्यक्ष थापाले विचार मिल्ने पार्टी एवं संगठनहरुसँग एकता र सहकार्य गर्दै पार्टीलाई अग्रणी स्थानमा पुर्याउने उद्घोष गरे। सम्बोधनकै क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जुझारु एवं मृदुभाषी नेता स्व. चन्द्र बहादुर गुरुङको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गर्दै अहिलेको अवस्थामा उनीजस्ता निर्भिक नेताको खाँचो टड्कारो रहेको बताए। कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दिपक वोहोरा, उपाध्यक्ष तोरण बहादुर गुरुङ र प्रतिष्ठानका सदस्य सचिब चन्द्र बहादुर गुरुङ ‘रमेश’ लगायतले स्व. गुरुङको योगदानप्रति चर्चा गर्नुभएको थियो भने पार्टीका सहायक महामन्त्री राजाराम वर्तौलाले स्व गुरुङको संक्षिप्त जीवनी माथी प्रकाश पारेका थिए।
नेपालमा पोषणसम्बन्धि विश्व सम्मेलन हुने काठमाडौं । पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । बढि पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन्। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने पनि आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए। ४ दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ । नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ। उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ। ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढि अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्।
सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था छैन : गगनकुमार थापा काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्। पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गरे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको ईतिहासमै बलियो सरकार बनेपनि त्यसले बैज्ञानिक ढंगले काम गर्न नसकेको पनि बताए। काँग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको पनि बताए।
‘उर्जा शिखर सम्मेलन’ मंसिर ५ र ६ गते काठमाडौंमा हुने काठमाडौं । नेपालमा यही मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो। नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका साथ यो शिखर सम्मेलन आयोजना गर्न लागिएको इप्पानका वरिष्ठ उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए। काठमाडौंमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सो शिखर सम्मेलनमा भारत, बंगलादेश, चीन, क्यानडा, नेदरल्याण्ड, बेलायत, अमेरिका तथा जापानसहित विभिन्न देशका ७ सय भन्दा बढी उर्जा क्षेत्र विज्ञहरु सहभागी हुनेछन्। सो शिखर सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने पनि इप्पानले जनाएको छ।
बाढी प्रभावित परिवारलाई राहत वितरण मुगु । गत साउन ३२ गते परेको अविरल बर्षाले बाढी आउदा घर, जग्गा र अन्नवाली बगाएपछि पीडित भएका यहाँका कृषकहरुलाई आज राहत वितरण गरिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १, ४, ६ र ७ वडा भएर बग्ने गमगाढ खोलामा गत साउन ३२ गते बाढी आउँदा मानविय बाहेक करोडौका खेतबारी, घर र अन्नवाली बगाएर बगर बनाएको थियो। बाढीबाट प्रभावित मध्य आज वडा नं ६ र ७ का बालै, घुईर, कोटिल्ला र पिना गाँउका २३० घरधुरीलाई छायाँनाथ रारा नगरपालिकाले राहत सामग्रीहरु वितरण गरेको हो। नगरप्रमुख हरिजंग शाहीकोे हातबाट नगरपालिकाले बाढी पीडित घरधुरीलाई १ बोरा चामल र १ वटा खानेतेल वितरण गरेका थिए। निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीका अनुसार बाढी प्रभावित वडा नं ६ का १९५ र वडा नं ७ का ३५ घरधुरीलाई राहत स्वरुप चाल र तेल वितरण गरिएको थियो । बगर क्षेउछाउमा रहेका खेतहरुमा लगाएको धान, खेत गरा, पानी घट्ट र पुलहरु बाढीले बगाएपछि स्थानीयहरु प्रभावित भएका थिए । बाढीले २०० बढी खेत, ८ वटा काठेपुल, १ वटा फलामे ट्रसपुल र ७ वटा परम्परागत पानी घट्ट बगाएको भाद्र ३ गते उपप्रमुखको नेतृत्वमा बाटी प्रभावित क्षेत्रमा अनुगमनमा गएको टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ । राहत वितरण कार्यक्रममा बोन्दै नगर प्रमुख शाहीले प्रभावित कृषकहरुका लागी यो स्थानीय सरकारको मलम मात्र भएकोे र अन्य सहयोगका लागि प्रभावित परिवारलाई आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, बगेका काठेपुल बनाउने, घट्ट र घरधनीलाई धनीलाई निर्माण अनुदान दिने आश्वासन दिए। बाढीले खोलामा रहेका काठेपुल र फलामे पुल बगाएको १ महिना वितिसक्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारहरुले निर्माणका लागि कुनै काम अगाडी नबढाउदा यो खोला तरेर वन जंगलमा वस्तुभाउ चराउन र एक गाँउबाट अर्को गाँउ आवत जावत महिला बालबालिका र जेष्ठ नागरिकहरुलाई कठिन हने गरेको छ भने जिल्ला सदरमुकाम भएर नाक्चेलाग्ना सडक खण्डको अल्का साघु भन्ने स्थानमा रहेको काठेपुल बगाउपछि यो सडक अवरुद्घ छ । प्रभावित बाँकी १ र ४ वडाका स्थानीयहरुलाई तिहार लगतै राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान काठमाडौं । नेपालले अन्तराष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ। वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो। सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ औँ सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो। सोही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिए। उनले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपाली जनताले प्राप्त गरेको सफलताको सम्मानको रुपमा सो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा सो अवार्ड हात पार्न सफल भएको पनि बताए। नेपालको संविधानले द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वल्र्ड फ्यूचर काउन्सिलले सो विश्व स्तरको अवार्ड प्रदान गरेको हो।
एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै तोकिएको समय अघि नै आयोजना निर्माणको काम सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिएका हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए। प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिएका थिए। कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी रहेका थिए। प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर यतिखेर सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरिरहनु भएको छ। pic.twitter.com/Le7rf0mnBy — Kundan Aryal (@TheRealKalamchi) October 23, 2019
अन्तरजातिय विवाह गरेकी दलित केटी भैसिँगोठमा बस्न बाध्य सिरहा । सिरहा जिल्लामा जातिय छुवाछुतको घटनामा बृद्धि भईरहेको छ । केहि दिन पहिले सिरहा नगरपालिका ११ को भलुवाहिमा छुवाछुतकै कारणले स्थानीय बिरेन्द्र महरालाई भोज खानलागेका बेला पात खोसेर भोजखान दिइएको थिएन । उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को छुवाछुतको घट्नाले अहिले सिरहा जिल्ला चर्चामा छ । कानुनले नै छुवाछुतलाई बर्जित गरिसकेको बेला सिरहामा भने बेलाबेलामा यस्ता घटनाहरु हुने गरेका छन् । घटनाअनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं १० को बङ्गठिया बसोबास गर्ने अकाश भन्ने बरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कट्टी ५ महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित जाति चमार जातिको भएकै कारण पतिको घरपक्षले घरमा बस्न नदिएपछि भैंसिको गोठमा बस्न बाध्य भएकी छिन । केहिदिन पहिले केटा र केटीले प्रेम विवाह गरेर उनीहरु दुवै काठमाण्डौं गएका थिए । केटा पक्षले दुवैजनालाई फकाएर काठमाडौंबाट सिरहाको गोलबजार नगरपालिका वडा नं १० को बेतौना पुरयाएका थिए । बेतौनामा फुपुु फुपाजुको घरमा दुई दिन राखेर उनिहरुले बरुणलाई सम्पर्क विहिन बनाएका छन। बरुण त्याहाबाँट गएपछि आफुलाई कुटपिट गरी फुपु फुपाजुले घरबाट निकालिदिएको सुनिता रामले गुनासो गरिन् । अहिले सुनिता राम वरुणकै घरमा रहेको भैंसि गोठमा बस्दै आएकी छिन् । श्रीमानलाई बेपत्ता परिएपछि दुई दिन अघि देवर अरुण मण्डल र सासु रेखादेवी मण्डलले आफूलाई कुटपिटगरेर झोला फालिदिएको र गोठबाट समेत निकालिदिएको सुनिताले बताईन् । मलाई दलितको छोरि घरमा पसे घरै छुइने भन्दै घरमा बस्न र खान दिएका छैनन भन्छिन् । दुई छाकको गर्जो टार्ने कुनै माध्यम नभएको भन्दै उनले आफुसँग रहेको सीमित पैसाले गाउँकै चिया पसलमा दिनमा एक छाक रुखासुख्खा खाएर भोक टार्ने गरेको दुखेसो पाखिन् । प्रेम बिवाह गरिसकेकोले सुनिताले भने आफु जस्तोसुकै दुःख कष्ट सहेर भएपनि पतिकै घरमा जिवन निर्वाह गर्नेे बताईन । उनले भनिन मैले उसैलाई भनेर माईति त्यागेर आँए अब म माईत कुन मुख लिएर जाउँ । बरु म भोकै बसेर भएपनि आफ्नो पतिकै भैंसी गोठमा प्राण त्याग्छु । छोरी गोठमा बस्न बाध्य भएपछि न्याय माग्न इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख हिरा यादब समक्ष पुगेका सुनिताका बुवा झरिलाल महरापनि न्याय पाउने आश नदेखिएपछि निराश भएर फर्किएका छन । उल्टै प्रहरि ले बरुण को उमेर नपुगेकोले आफनो तर्फबाट केहि गर्न नसक्ने बताएको गुनासो झरिलालले गरे । बरुणको परिवारले उनको उमेर १६ बर्षमात्र पुगेको दाबी गर्दै आएको छ । सुनिताले भने पतिको उमेर २० वर्ष कटेको दावी गर्दै आएकी छिन् । बरुणको भाई अरुण हाल कक्षा १० मा अध्ययनरत छन । अरुणकै उमेर १६ वर्ष पुगेकाले दाजु बरुणको उमेर कसरी १६ बर्ष हुन्छ भन्ने सुनिताको प्रश्न छ । संयुक्त दलित मोर्चाका केन्द्रिय संयोजक शिवकुमार महराले तराई मधेशका जिल्लाामा जातिय छुवाछुतकै कारणले सुनिता राम जस्तै कैयैँ महिलाहरु समस्या भाग्न बाध्य भएको बताए । संयोजक महराले अगाडिभने विवाह गर्नेलगायतका विभिन्न प्रलोभन देखाई कथित ठूला जातका भनाउदाले सुरुमा दलित केटीसँग मोजमस्ती गर्छन् अनि घरमा विवाह गरेर लगेपछि घरपरिवारले मानेन भन्दै केटीलाई अलपत्र पार्ने गरेका छन् । जातिय छुवाछुतकै कारणले तराई समाजमा यस्ता घटनाहरु दिनप्रतिदिन बृद्धि भईरहेकोले रोकथामका लागि संबन्धित निकाय चनाखो हुनुपर्ने माग संयोजक महराको रहेको छ ।
चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते काठमाडौं। चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । रासस
समृद्धिका लागि समाजवाद आवश्यक : श्रेष्ठ काठमाडौं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताएका छन् । नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले पाउन नसक्ने बताए । नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धि नभई देश समाजवादमा पुग्न नसक्ने औँल्याउँदै नेता श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताए । सो पार्टीको महालक्ष्मी नगर समितिका अध्यक्ष दीपा थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय सदस्य राजन केसी, ३ नम्बर प्रदेशका सहइञ्चार्ज लालबहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद् सदस्य विनोद नेपालीलगायतले समाजवादी पार्टी देशको वैकल्पिक राजनीतिक शक्ति बनेको जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डितलगायत ८१ नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उत्तम लामा, मानबहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य–सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महतलगायतले पनि नवप्रवेशीलाई स्वागत गरेका थिए ।
काठमाडौँ र ललितपुरमा रगतको अभाव काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन । सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ । दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ। रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने, “डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।” रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औषतमा ३०० युनिट रगतको माग भई आएको छ तर आपूर्ति गर्न कठिनाइ भइरहेको छ। केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै सङ्घ संस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिए । पछिल्लो सयम केन्द्रको रक्त सेवा फितलो र प्रभावहीन बन्दै गएको छ। भनेका सयममा चाहिएका रगत समूह सेवाग्राहीले पाउन धौधौ पर्ने गर्दछ। ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिए । रासस