content
stringlengths
31
27.4k
काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने सञ्चारमन्त्रीको चेतावनी काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । आईतबार मन्त्रालयको समिक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्य प्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिएका हुन् । उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए । उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए । उनले भने, ‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ ।’ उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए । उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताए । उनले भने, ‘६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’ बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।
प्रधानमन्त्री ओली फेरि ग्राण्डी अस्पतालमा काठमाडौं । नियमित स्वास्थ्य परीक्षण गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली पुनः ग्राण्डी अस्पताल पुगेका छन् । नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओली आइतबार ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य परीक्षण पश्चात् निवासमा फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि केही समयअघि ग्राण्डी अस्पतालमा पुग्नुभएको छ । उहाँको परीक्षणपछि आजै निवास फर्किने योजना रहेको छ ।’ १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना : ४ जनाको मृत्यु काठमाडौं । आइतबार छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार धादिङ गल्छी गाउँपालिका–६ बैरेनीबजारमा बा.२ ख ६२६८ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार नुवाकोट घर भएकी १३ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० महिला, ४ पुरुष, २ बालक र १ बालिका गरी १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि स्थानीय मेडिकल गल्छी पठाएकोमा १३ जना थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन् भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै उदयपुरको कटारी नगरपालिका ८ स्थित सडकमा स ११ प ३२२८ नम्बरको मोटरसाइकल र ना.७ ख ४६१५ नम्बरको ट्रक शनिबार बेलुका आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय सन्तोष कार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र मोटरसाइकल सहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–११ लवका टोलमा अनटेष्ट लेखेको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय ईनरजित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको आरके मेडिसिटी मुसरनियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–१ बाघखोर भन्ने स्थानमा ना.६ त ३१४६ नम्बरको ट्याक्टर शनिबार राति अनियन्त्रित भई पल्टँदा उक्त ट्याक्टर चलाएका सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय छिरिङ राईको घटनास्थलमै मृत्यु भएको छ । सोही ठाउँ बस्ने १९ वर्षीय सुमन शंकरले चलाई ल्याएको उक्त ट्याक्टर र छिरिङले चलाई ल्याएको प्रदेश–१–०३–०१–०२२ च ०३१८३ नम्बरको बलेरो जिप उनीहरुले सोही ठाउँस्थित बाघखोरमा एकअर्काले साटेर चलाई नेचातर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा हुँदा छिरिङको मृत्यु भएको खुल्न आएको छ । बलेरो जिप सहित सुमन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा आइतबार बिहान ना ६ ख १८९६ नम्बरको आईचर ट्रकको ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उद्योग समितिले गर्‍याे बजार अनुगमन गर्न समिति गठन काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले बजारमा कालोबजारी बढेको निष्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको जनाएको छ । समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा गठन भएको समितिले ७ सदस्यीय टोली गठन गरेर बजार अनुगमन गर्ने भएको छ । उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो । उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधिलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मुल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गर्ने छ । उपसमितिले एक महिनाभित्र बजार अनुगमन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन् । एकजना सदस्य संयोजकले तोक्न पाउने व्यवस्था समेत गरेको छ । यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२० को तयारी र वैदेशिक रोजगारीमा गई कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जानकारी गराएको छ ।
भारतले अतिक्रमण गरेको भूभाग समेटिएको नेपाली नक्सा जारी काठमाडौं। सीमा बचाऔं अभियानले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको सबै भूभाग नेपालभित्रै समेटिएको नेपालको नक्सा जारी गरेको छ । आज रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् । नयाँ नक्सा जारी गर्दै समितिका संयोजक भैरव रिसालले यो नक्सा सुगौली सन्धिले निर्धारण गरेको आधिकारिक नक्सा भएको बताए । अर्का अभियन्ता हिरण्यलाल श्रेष्ठले यो नक्सा भारतले जारी गरेको नक्साको काउन्टर भएको बताए । उनले सबै नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे । नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पेश गरेको जानकारी दिए । समितिका सहसंयोजक द्वारिकानाथ ढुंगेलले यो मुद्दा अहिले उठाउँदा कसैले सरकारलाई धम्की दिएको समेत आफूले जानकारी पाएको बताए ।
न्युजिल्याण्डमा ५.९ म्याग्नीच्युडको भूकम्प, हजारौ विस्थापित न्युजिल्याण्ड । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए। भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । स्थानीय समयानुसार आइतबार विहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ। सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सवै भन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन्। सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ।
बानेश्वरमा गाडीको ठक्करबाट मर्निङवाकमा हिँडेका डाक्टरको मृत्यु काठमाडौँ । आज बिहान ५ः३० बजेतिर बानेश्वरमा गाडीको ठक्करबाट एक डाक्टरको ज्यान गएको छ। बसुन्धारामा रहेका इशान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षीय डाक्टर प्रभु जोशीको मर्निङवाक हिँडेका बेला बानेश्वरमा गाडीको ठक्करबाट ज्यान गएको हो । संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । डाक्टर जोशीलाई ठक्कर दिएर फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।
प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो। भारतीय बजारतर्फबाट स१०प ६१९ नंको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। यसैगरी अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सिरहा प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टाबाट चार पशुचौपाया बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका चार गोरु बरामद गरेको हो। त्यसैगरी सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा करीब तीन हजार गाँजा बोट नष्ट गरेको छ। प्रहरी चौकी सन्हैठाले सिरहा नगरपालिका–२२ सन्हैठामा स्थानीयवासीले लगाएको दुई हजार ५०० बोट तथा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–२२ डाँडाटोलमा १०० बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ। रासस
दासढुङ्गामा ट्रकको ठक्करबाट एक अपरिचित व्यक्तिको मृत्यु चितवन । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो। पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ। दुर्घटना बिहान ५ः५४ बजे भएको हो।
कर्तव्य ज्यान मुद्दामा फरार ४ जना साढे ८ वर्षपछि पक्राउ रुकुमपूर्व । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो। साविकको सिङ्गो रुकुम जिल्ला हुँदा रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो। रुकुम जिल्ला अदालतले समर्पनलाई पाँच महिना २१ दिन, ओमप्रकाश र आकाशलाई पाँच महिना २२ दिन र दीपकलाई पाँच महिना २४ दिन कैद र जनही रु २०÷२० जरिवाना तोकेको थियो। त्यतिबेला फरार भएका उनीहरुलाई लामो समयपछि प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले बताए । उनका अनुसार शुक्रबार पक्राउ परेका उनीहरुमध्ये श्रीमान् भनिने समर्पन बुढालाई शुक्रबार रुकुमपश्चिम कारागारमा पठाइएको छ। समय अभाव र शनिबार परेकाले बाँकी तीन जनालाई आज कारागार चलानका लागि जिल्ला कारागार रुकुमपश्चिममा पठाइने बताइएको छ।
कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते बाँके । बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए। उनका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते भएका छन्। उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
नेपाल पुलिस क्लब सेमिफाइनलमा काठमाडौं । नेपाल पुलिस क्लब चन्द्रागिरि मेयर गोल्ड कप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भ्याली च्यासल युथ क्लबलाई १–० गोलले हराउँदै पुलिस क्लबले अन्तिम चारमा स्थान बनाएको हो । चन्द्रागिरि खेल मैदानमा आज भएको खेलमा पुलिस क्लबका लागि पहिलो हाफमा सुमन लामाले गरेको गोल नै निर्णायक सावित भयो । खेलको १७औँ मिनेटमा लामाले गोल गरेका थिए । लामा खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले रु पाँच हजार पुरस्कार प्रदान गरे । आइतबार एपीएफ क्लब र सरस्वती क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ । रासस
बीडीसीए कप क्रिकेटमा दीपकको नयाँ रेकर्ड काठमाडौं । दीपक बोहराले यहाँ जारी बीडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने रेकर्ड कायम गरेका छन् । निङ्गलाशैनी क्रिकेट क्लब, देहिमाडौँंको टोलीबाट १९औँ संस्करण खेल्दै उनले व्यक्तिगत १४५ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् । घरेलु मैदानमा बोहराले ५६ बल खेल्दै सात छक्का र २० चौका प्रहार गरे । उनले ४१ बलमा शतक बनाए । यसअघि बीडीसीए कपमा सर्वाधिक रन बनाउने रेडर्क निङ्गलाशैनी क्रिकेट क्लबकै गजेन्द्र बोहराको नाममा थियो । गजेन्द्रले बीडीसीए कपको १७औँं संस्करणमा ५५ बलमा १४३ रन बनाएका थिए । जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टका अनुसार दीपकले विद्यालयस्तरीय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता खेलिसकेका छन् । उनी तीन वर्षदेखि काठमाडौंँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध छन् । पन्ध्र वषीय दीपक दाँया हाते ब्याट्सम्यान हुन् । आज सुम्पन्न खेलमा निङ्गलाशैनीले ६ विकेटको क्षतिमा २० ओभरमा ३०६ रन बनायो । उसका लागि प्रकाश नाथ र खडक बोहराले ४०/४० रन तथा वीरेन्द्र नाथले २९ रन बनाए । तीन सय सात रनको लक्ष्य पछ्याएको जनसेवा क्रिकेट क्लबले १८ दशमलव चार ओभरमा ११६ रन मात्र बनायो । दीपकले बनाएको रेकर्डले यहाँका अन्य खेलाडीसमेत उत्साहित भएको क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । जिल्ला क्रिकेट सङ्घले २०५८ सालदेखि निरन्तर बीडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ । रासस
बंगलादेशमा ‘सामुद्रिक डाँकू’द्वारा आत्मसमर्पण बंगलादेश (रासस/एएफपी) । बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जीउने प्रतिवद्धतासहित शनिबार आत्मसमर्पण गरेका यहाँको प्रहरीले जनाएको छ । उनीहरूले १५५ थान घरेलु बन्दूकसहित त्यसका लागि प्रयोग हुने ३०० राउण्ड गोली र बन्दूक बनाउने उपकरणसहित प्रहरी प्रशासनसँग आत्मसमर्पण गरेका बताइएको छ । ‘आत्मसमर्पणपछि प्रहरीले उनीहरूलाई नयाँ जीवन सुरू गर्न पुनःवास कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति ५० हजार टाका (५९० अमेरिकी डलर) उपलब्ध गराएका छौँ,’ प्रहरी प्रमुख मसुद होसैनले भने । सामुद्रिक डाँकूहरूले बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा हत्या, अपहरण, बलात्कार, जहाज तथा डुङ्गा अपहरण गरी यात्रुहरूलाई लुट्ने गरेका प्रहरीले जनाएको छ । उनीहरूलाई आम माफी नहुने तर सजायमा केही छुट हुनसक्ने होसैनले बताए । आत्मसमर्पणका लागि प्रशासनले गरेको कार्यक्रममा उनीहरूले आफूहरूलाई दुःख दिने गरेको स्थानीय माझीहरूले बताएका थिए । आत्मसमर्पण गरेका उनीहरूले सार्वजनिक कार्यक्रममा पूरानो काममा नफर्किने वाचा गरेका थिए ।
सिरियामा विस्फाेटमा परी १० को मृत्यु, कैयौँ घाइते दमास्कस, सिरिया (रासस/सिन्ह्वा) : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विस्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विस्फाेटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ । राकाको ग्रामीण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोग प्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो । सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र पाँच विद्रोही रहेको बताइएको छ । उक्त घटनामा २२ जना सख्त घाइते भएका छन् । केहीलाई सामान्य चोट लागेको बताइएको छ । घाइतेमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतकको संख्या थप वृद्धि हुनसक्ने बेलायतस्थित उक्त संस्थाले जनाएको छ । गत महिना टर्कीले आफ्नो सीमा क्षेत्रमा रहेका कुर्दिस नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि उनीहरू (विद्रोही लडाकू) तेल अब्यादमा प्रवेश गरेका थिए ।
जब ‘चिनियाँ जासुस’ले मागे अस्ट्रेलियामा शरण बिबिसी । आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएको विवरण सार्वजनिक भएका छन् । वाङ ‘विलियम’ लिकिआङले हङ्‌कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी ‘व्यक्तिगत रूपमा’ संलग्न भएको बताइएको छ । अहिले उनी आफ्ना बच्चा र श्रीमतीसहित सिड्नीमा छन् । घर फर्किए मारिन सक्ने उनलाई डर छ । वाङको पहिचान र उनले लगाएका आरोपहरूको पुष्टि हुन सकेको छैन । जासुसीको डरले चिनियाँ कम्पनीलाई प्रतिबन्ध तर अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडनबर्गले वाङको विषय अहिले ‘कानुन कार्यान्वयन गराउने उपयुक्त निकायहरूको हातमा परेको’ पत्रकारहरूलाई बताए । उनले लगाएका आरोपहरू ‘चिन्ताको विषय’ भएको फ्राइडनबर्गको भनाइ थियो । विपक्षी लेबर पार्टीका नेता एन्थोनी एल्बानिजले शरणका लागि वाङको दाबी ‘जायज हुन सक्ने’ बताएका छन्। नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ अधिकारीले गुप्तचर निकायहरूले अनुसन्धान गर्दा ‘तथ्यलाई कल्पनाबाट अलग गर्नुपर्ने’ अस्ट्रेलियाली प्रसारक एबीसीलाई बताएका छन् । को हुन् वाङ लिकिआङ ? वाङका असाधारण खाले आरोपहरू अस्ट्रेलियाली सञ्चारमाध्यममा शनिवार पहिलो पटक आएका हुन् । ‘सिक्स्टी मिनट्स’ नामक कार्यक्रममा उनको अन्तर्वार्ता आइतवार राति टेलिभिजनमा प्रसारण गरिनेछ । अस्ट्रेलियाको गुप्तचर निकाय एएसआईओलाई उनले अक्टोबर महिनामा १७ पृष्ठ लामो बयान दिएको बताइएको छ । त्यसमा उनले गरेका काम र वरिष्ठ गुप्तचर अधिकारीहरूले गर्ने कामकारबाहीबारे उल्लेख गरिएको बताइएको छ । बढ्दो चिन्ताका माझ उनी आफ्नी श्रीमती अध्ययन गर्दै गरेको देश अस्ट्रेलिया गए जहाँ उनीहरू हालसालै जन्मेका आफ्ना छोरासँग बसिरहेका छन् । ‘घर गएँ भने म मर्छु’, अन्तर्वार्तामा उनले भनेका छन् । वाङका दाबी के छन् ? द सिड्नी मर्निङ हेराल्डका अनुसार सन् २०१५ मा अपहरण र पाँचजना पुस्तक विक्रेताको पक्राउ गर्ने काममा आफैँ संलग्न रहेको उनले बताएका छन् ।मानिसहरूलाई अपहरण गराएको भन्ने दाबी चीनले अस्वीकार गरेको छ । कानुन कार्यान्वयन गराउने चिनियाँ निकायको क्षेत्राधिकार हङ्‌कङमा पर्दैन । गत वर्षको सन्दिग्ध अपराधीलाई चीन पठाउन अनुमति दिने एउटा विधेयक हङ्‌कङमा ल्याइएपछि त्यसले व्यापक विरोध निम्त्यायो । त्यसयता हङ्‌कङमा पूर्ण प्रजातन्त्रको मागसहित व्यापक प्रदर्शन हुँदै आएका छन् । चीनले हङ्‌कङको प्रदर्शनमा ‘विदेशी शक्तिहरूको हात रहेको आरोप लगाउँदै आएको छ । हङ्‌कङ चीनकै एउटा हिस्सा भए पनि त्यहाँका नागरिकले चीनमा भन्दा बढी र फरक अधिकारको उपभोग गर्दै आएका छन्।
पुजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक (भिडियोसहित) काठमाडौं । गायिका पूजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक भएको छ । राजधानीमा गत शुक्रबार एक कार्यक्रमबीच संगीतकार तथा संगीतकार संघ नेपालका (पूर्व) अध्यक्ष लक्ष्मण शेषलगायतले एल्बम सार्वजनिक गरे । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र ‘नामसेवाइ’ बोलका गीत छन् । गीतमा दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द छ भने दीपक शर्मा, शंकर थापा स्माइल, अनिष श्रेष्ठ, शिव साम्पाङ र पुष्कर सुनुवारको संगीत छ । एल्बमको ‘हुन्छ भनन’ मा गायक डेभिड शंकर र ‘यो मौसम’मा गायक राजेशपायल राईको स्वर पनि सुन्न सकिन्छ । कार्यक्रममा ‘हुन्छ भनन’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय हेर्न पाइन्छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । नेपाली बाहेक, नेपाल भाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, संगीत तथा देउडालगायत विभिन्न भाषा भाषिकाका २ सय गीतमा स्वर दिइसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनिक भएको थियो । भिडियो
सिके राउतको काठमाडौंमा शक्ति प्रदर्शन (फाेटाेफिचर) काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवसको नाममा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो । प्रत्येक वर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेदविरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस वर्ष ७ गते नै मनाएको जनमत पार्टीले जनाएको छ । अगाडी राजधानीका विभिन्न स्थान गौशाला, महाराजगञ्ज, कीर्तिपुरलगायतका स्थानबाट झाँक्री सहितको र्‍याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. सिके राउतले मधेसी, थारु, आदिबासी जनजातिसँग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताए । उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने बताए ।
समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक : गृहमन्त्री थापा काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजना गरिएको अन्तर्राष्ट्रिय बाैद्ध एकता सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्व देखिए पनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको बताएका हुन् । नेपाली जनताको एकतालाई अझ सुदृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई टुंग्याउने गरी काम गरिरहेको गृहमन्त्री थापाले बताएका छन् ।  उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए । सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरूले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए । दुइ दिनसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न देशबाट बौद्ध भिच्छु लामाहरूको सहभागिता रहेको छ ।
अफगानिस्तानमा दश आइएस लडाकुद्वारा आत्मसमर्पण अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्म समर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् । नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् । अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ । महिला र बालबालिकाहरू लगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले पछिल्लो हप्तायता सुरक्षा बलसमक्ष आत्म समर्पण गरेका छन् ।
चिलीमा हिंसात्मक प्रदर्शन : ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो, २ हजार घाइते सान्टियागो । (रासस /एएफपी) । चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् । चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै आएका छन् । चिलीमा लोकतन्त्रको तीन दशकमा भएका संकटहरुमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा २३ व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार व्यक्ति घाइते भएका छन् । चिलीमा जारी यस हिसात्मक प्रदर्शनका क्रममा भएको पछिल्लो घटनाको रुपमा १३ वर्षीय एक केटोको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीहरुले जानकारी दिएका छन् । सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस फेरि भेला भएर प्रदर्शन शुरु गरेका जनाइएको छ । प्रदर्शनकारी मध्येका एक युवती क्लाउडिया ओर्टोलानीले एएफपीलाई भनिन् ‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं किनभने दमन जारी छ । सरकारले शान्ति सम्झौता जस्तै नक्कली सम्झौताहरूमा हस्ताक्षर गरिरहेको छ।’ चिलीमा मेट्रो टिकटको मूल्य वृद्धि भएको विरोधमा करिब पाँच हप्ता अघिबाट हिंसात्मक आन्दोलन शुरु भएको थियो । मानिसहरु पुनः सडकमा भेला हुन थालेपछि चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गरेका छन् । त्यसैगरी सबै गृहमन्त्री गोन्जालो ब्लुमेलले अशान्ति अन्त्य गर्न सवै राजनितिक शक्तिहरुलाई अपिल गरेका छन् ।
‘मानिस सफल र सवल हुन तनावरहित हुनुपर्छ’ काठमाडौं । राष्ट्रिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले मानिस सफल र सवल हुनको लागि तनाब रहित जिउनुपर्ने बताएकी छन् । आज बालकुमारी माद्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सवको अवसरमा तनाव व्यवस्थापन विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन् । योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माद्यमिक विद्यालयले गरेको योगदान अविस्मरणीय रहेको रावलको भनाई रहेको छ । तनाव लिएर हिड्ने व्यक्तिले सिकाउन र सिक्न नसक्ने भएकाले शिक्षक र विद्यार्थी दुवै तनावमुक्त हुनुपर्ने बताइन् । कार्यक्रममा ब्रह्मकुमार विजयराज सिग्देलले विद्यालयका शिक्षक व्यवस्थापन समिति अभिभावक तथा विद्यार्थीहरुलाई जीवन जिउने सजिलो तरिकाबारे सिकाएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, नरेन्द्र केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया, वालमाविद् अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधानलगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक विश्वराज अर्यालले सहजिकरण गरेका थिए ।
‘साप्ताहिक सञ्जाल’ चितवनको अध्यक्षमा तिमिल्सिना निर्वाचित चितवन । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा टीकादत्त तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । आज (शनिबार) भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा भएको सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा राजेन्द्र आचार्य, सूर्य बराल, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दीपक पौडेल र नविनबाबु मरहठ्ठा रहेका छन् । सञ्जालको नयाँ कार्यसमितिले आजको २५ दिन भित्र पहिलो बैठक बसी कार्यसमितिको कार्यविभाजन गर्ने निवर्तमान महासचिव राजेन्द्र आचार्यले जानकारी दिए । त्यस्तै, अबको २५ दिनभित्र सञ्जाल दर्ता गर्ने, आज सम्मान गरिएका अग्रज पत्रकार गणशेखर शर्मा र युवा पत्रकार आनन्द पोखरेललाई भव्य समारोहका बीच सम्मान पत्र सहित विशेष सम्मान गर्ने निर्णय भएको आचार्यले जानकारी दिए । अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले साप्ताहिक पत्रिकाहरु समयसँगै परिवर्तनशील हुनुपर्ने बताए । पहिले मिसन पत्रकारिताको रुपमा सुरुआत भएको साप्ताहिक पत्रिका अबको दिनमा समृद्धि र विकास निर्माणसँग जोडिनुपर्ने बताए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य कोमचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षद्वय नारायण अधिकारी, शान्ता अधिकारी, प्रेस संगठन चितवनका नेता प्रकाशमणी ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपाने, नारायणी आवासीय घर जग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवबहादुर थापा, स्याउली बजार टोल सुधार समितिका अध्यक्ष राकेशमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा महासचिव राजेन्द्र आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरि कार्कीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवराज ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष टीकादत्त तिमिल्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष सूर्य बरालले स्वागत मन्तव्य राखेका थिए ।
दुर्घटनामा एक जनाको मृत्यु ललितपुर । ललितपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठोकिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा९१प १३०१ नंको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस
लागुऔषधसहित तीन जना पक्राउ काठमाडौं। नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले पाँच हजार १९४ एम्पुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा लागऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ गरेका शिवशक्तिबाट डाइजेपाम १९४ एम्पुल, नुर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम एक हजार ४८७ एम्पुल, नुर्फिन एक हजार ५६४ एम्पुल, फेनारगन एक हजार ५७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम पाँच हजार ५५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका शिवभक्ति र वाइवा यसअघि लागऔषध कारोबारमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताए।
लिम्पियाधुरादेखि कालापानी र लिपुलेकमा सुरक्षा चौकी स्थापनाको गर्न माग काठमाडौं । नागरिक समाजका अगुवाले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि तत्काल कदम चाल्न आग्रह गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नागरिक समाजका २६ जना अगुवाहरुले सीमा रक्षार्थ सजग र सचेत रहन भन्दै १० बुँदे सार्वजनिक आव्हान समेत गरेका छन् । ‘सार्वजनिक आव्हानमा भनिएको छ, लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रस्ट देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकिहरु तत्काल स्थापना गरियोस ।’ भारतबाट नेपालबाट भूमि अतिक्रमित भएको भन्दै भारत सरकारका तर्फबाट प्रस्तुत नक्साको कारणबाट उत्पन्न समस्या समाधान नहुन्जेल आम नेपाली जनतालाई एकतावद्ध भई समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहन समेत भनिएको छ । पत्रकार सम्मेलनमा सरकारलाई भारतसँग वार्ता गर्नका लागि सहायोग पु¥याउन सर्वपक्षीय प्रतिनिधित्व रहेको विज्ञ टोली अविलम्व गठन गर्न माग गरिएको छ । प्रधानमन्त्रीको पहलमा द्विपक्षीय वार्ता गराई या समस्या समाधानका लगत्तै नेपाल–भारत–चीन बीच त्रिपक्षीय वार्ता गरेर त्रिविन्दु समेत निर्धारण गर्न भनिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित रहेको बताए । उनले २०१८ सालमा आफै त्यस क्षेत्रमा पुगेर जनगणना गरेको खुलाए । लिम्पियाधुरादेखि कालापानी र लिपुलेक सम्मको क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन तत्काल कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे । पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेलले जलाधार, नक्शा र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा नै काली नदीको मुहान रहेको र नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको बताए । नेपाल सरकारले उक्त क्षेत्रसम्मको आधिकारिक नक्शा सार्वजनिक गरी भारतलाई जवाफ दिनुपर्ने बताए । भूगोलविद् प्राध्यापक डा. नरेन्द्रराज खनालले १८५६ भन्दा अगाडिका सबै नक्शाहरुमा लिम्पियाधुराबाट आउने नदीलाई नै महाकाली नदी देखाइएकाले त्यही नक्शाका आधारमा सरकारले भारतसँग सप्रमाण वार्ता अगाडि बढाउनुपर्ने बताए । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अलमोडा गजेटमा ब्रिटिशहरुले नेपालको सीमाना लिम्पियाधुरासम्म रहेको स्वीकारेकाले त्यसलाई आधार मानेर तत्काल भारत सरकारसँग वार्ता अगाडि बढाउन आग्रह गरे । जलाधार विज्ञ जगत भुषालले नदीको तीनवटा मूल सिद्धान्तका आधारमा सबैभन्दा लामो, धेरै शाखा मिसिएको र जलाधार धेरै भएको नदी नै सीमा नदी उल्लेख गरिएकाले लिम्पियाधुराबाट आउने नदी नै काली नदीको मुहान भएकोले सीमाको व्याख्या अनुसार सोही क्षेत्र नेपालको भूभागमा पर्ने बताए । सार्वजनिक आव्हान गर्नेहरुमा राष्ट्रकवि माधवप्रसाद माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्य मोहन जोशी, डा. गौरीशंकर लाल दास, पूर्व गर्भनर हिमालय शम्शेर ज.ब.रा, भैरव रिसाल, प्राध्यापक उपेन्द्रमान मल्ल, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश गौरी बहादुर कार्की, कृष्णराज बर्मा, सामाजिक चिन्तक डा. चैतन्य मिश्र, डा. तुलसीराम वैद्य, पूर्व सचिव, द्वारिकानाथ ढुंगेल, प्रा.डा. नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काँईला, शान्ता श्रेष्ठ, सन्त बहादुर पुन, स्वनाम साथी, हिरण्य लाल श्रेष्ठ, प्रा.डा. त्रिरत्न मानन्धर, राजेन्द्र सुवेदी, शान्ता मानवी, पूर्व प्रधानन्याधीश सुशिला कार्की, सीमाविद् बुद्धि नारायण श्रेष्ठ, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र डा. जगत कुमार भुषाल रहेका छन् । यसैगरी, नागरिक समाजका तर्फबाट सीमा बचाऊ अभियान, नक्शा समितिले सीमाविद् कोमल चन्द्र बरालले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारी विश्वव्यापी रुपमा उक्त नक्शा सार्वजनिक गर्ने जानकारी दिइएको छ ।
राप्रपा अध्यक्ष थापासँग अमेरिकाका विभिन्न सहरमा अन्तरक्रिया हुने वाशिंगटन डिसी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा यतिखेर अमेरिका भ्रमणमा छन् । अमेरिकाको राजधानी वाशिंटन डिसीमा हुन गईरहेको ईन्टरनेशनल डेमोक्रेटिक युनियनको राजनैतिक सम्मेलनमा सहभागी हुन आएका राप्रपा अध्यक्ष थापासँग अमेरिकाका बिभिन्न सहरहरुमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना हुने भएको छ। राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाजको डिसेम्बर १ तारिखमा बाल्टिमोरमा हुन गईरहेको अधिवेशनको अध्यक्ष थापाले उद्घाटन गर्नेछन् । डिसेम्बर २ तारिखमा टेक्सासको डल्लासमा अध्यक्ष थापासँग अन्तरक्रिया कार्यक्रममा राखिएको छ । डिसेम्बर ४ र ५ तारिख दुई दिन वाशिंगटन डिसीमा हुने ईन्टरनेशनल डेमोक्रेटिक युनियनको राजनैतिक संमेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी भएर अन्तर्राष्ट्रिय सम्मेलनलाई थापाले सम्बोधन गर्नेछन् । प्रतिनिधि मण्डलमा राप्रपाका सहायक महामन्त्री तथा प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष लोकनाथ तिवारी समाबेस छन् । अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुनकुमार कार्कीले पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापालाई वाशिंगटन डिसी स्थित राजदुत निवासमा सुटुक्क स्वागत गर्ने योजना रहेको कुरा दुतावास श्रोतले सुटुक्कै बतायो । यस अघि, वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बेथेस्दा शहरको पाँचतारे होटलमा आयोजित एक भव्य समारोहमा राप्रपाको प्रवास संगठन तत्कालिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नै उद्घाटन गरेका थिए र सम्मेलनले लोकनाथ तिवारीलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको थियो ।
हजारौं जनसमुदायको बीचमा भ्रमण वर्षको शुभारम्भ गर्ने मन्त्री भट्टराईको घोषणा काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन् । सो भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि सो भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्नेगरी तयारी भईरहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दे मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर सो भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पारे । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको पनि बताए । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।
टी–१०ः सुपर लिगको अन्तिम खेलमा आज पारस र सन्दीपको टिम भिड्दै काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ । आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टस्कर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रँदा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकी सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहदै आएको छ । सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रबल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् । यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना रहेको छ ।
पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद ओखलढुङ्गा । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनलाई हत्या गरेका थिए । कार्कीको खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ साल भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुङ्गा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । प्रहरीले क्रूर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजीवन कारावासको सजाय माग दाबी गरे पनि क्रूर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए ।
जनताको सेवक बन्छु : विद्या भट्टराई पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा उनले जनताको सुख दुःखसँगै रहने बताइन् । समाजका पिछडिएका वर्गलाई आर्थिकरुपमा सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने उनको भनाइ थियो । स्व. रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइन् । राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरिन् । उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गरिन् । सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहीनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने बताए । कास्की–२ मा पोखरा–४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडामा भूमिहिनको बसोबास रहेको नेकपा कास्कीका सदस्य ओम पौडेलले जानकारी दिए । रासस
गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार डोल्पा । उपल्लो डोल्पाबाट गर्भवतीको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्धार गरिएको हो । सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए । तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी रोकायाको बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको उनका श्रीमान् पूर्वातुण्डुप बैजीले बताए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो । यस साता फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवतीको उद्धार गरिएको थियो । रासस
अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रधानमन्त्री ओली काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उनले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताए । ‘अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठेका छन्’, उनले भने, ‘त्यो हाम्रो भूमि हो । तथ्य प्रमाणले हाम्रो भूमि भनेर देखाउँछ ।’ उनले सयौँ वर्षदेखि त्यसमा ध्यान नजाँदा नेपालको त्यो भूमि भारतले दाबी गरेको बताए । ‘हामी कहिले सिमानामा चिप्लियौँ । हामी आफैँ पनि चिप्लियौं, कहिले हामी आफैँ पनि नक्सामा चिप्लियौँ । कहिले बोल्न नसक्ने हीनगन्थ्रीबाट ग्रस्त भयौँ । यस्ता अवस्थाबाट अहिले देश माथि उठेको छ’, उनले भने, ‘अब यसलाई गम्भीर वार्ताको माध्यमबाट हामी हाम्रा छिमेकीसँग कुरा गरेर हामीले हाम्रो अधिकार स्थापना गर्छौं । हामी हाम्रो भूमि फिर्ता लिन सक्छौँ ।’ उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तासम्बन्धी विवादको समाधानबाट नेपाल र भारतजस्ता दुई पुराना ऐतिहासिक छिमेकीको सम्बन्ध सुमधुर र राम्रो हुने भनाइ राखे । उनले न्यायसंगत र न्यायको स्वीकारोक्तिसँग सम्बन्धित भएकाले पनि उक्त भूमि नेपालको रहेकाले पाइने बताए । ‘यो विवाद समाधान गरेर दुवै देशको इज्जत, प्रतिष्ठा माथि उठ्ने छ, भारत ठूलो देश भएकाले सानो देशलाई मिच्यो हेप्यो भन्ने अफवाहबाट मुक्त हुने छ, भारत साँच्चिकै महान् रहेछ भन्ने देखाउने छ’, उनले भने, ‘हामीले साँच्चै आफ्नो भूमि फिर्ता पायौँ भने हामी पनि खुशी हुने छौँ । मलाई विश्वास छ हामीले संवादको माध्यमबाट भूमि फिर्ता लिन सक्छौँ ।’ उनले नयाँ शिराबाट सीमा विवाद उठेकाले राम्रो भएको भन्दै लिम्पियाधुराबाट निस्केको महाकाली नदी नै वास्तविक सीमा रहेको बताए । उनले भने, ‘महाकालीको उद्गम लिम्पियाधुरा हो । पानी र सम्बन्धित सिद्धान्तले त्यही भन्छ । हामीले विगतमा गरेको जनगणना र जग्गाको नापजाँच पासले पनि त्यो भू–भाग हाम्रो हो । बीचमा हाम्रो भू–भाग छुटेको मात्र हो ।’ उनले छुटेको उक्त भूमि वार्ताका माध्यमबाट र तथ्यका आधारमा फिर्ता लिनका लागि कूटनीतिक प्रयास अगाडि बढाइएको समेत बताए । चार दिनभित्र प्रतिवेदन माग उनले विकास निर्माणका काममा मन्त्रालयबीच समन्वय र सहकार्य हुनुपर्छ भन्दै मन्त्रीमन्त्रीबीच झगडा नभई राम्रो सम्बन्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयलाई आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र प्रतिवेदनसमेत तयार गर्न निर्देशन दिए । ‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्ने, अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने, अब यस्तो चल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइ सक्छ, स्पष्ट योजना बनाउनुपर्‍यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनुपर्‍यो ।’ उनले मन्त्री र सचिवबीचको तालमेलसमेत नमिलेकाले मिलाउन आग्रह गरे । अब विकासका निम्ति व्यवधान भएका पद्धति अन्त्य भएको उल्लेख गर्दै उनले आफूहरुले अनुगमन गरिरहेकोले तलमाथि भए कारवाहीसमेत गर्ने जानकारी दिए । उनले पहिलो चौमासिकको पूँजीगत खर्चमा गत वर्षभन्दा राम्रो प्रगति नभएकाले सुधार गर्नुपर्ने बताए । ‘हामी गत वर्षको अनुभवबाट अझ अगाडि बढ्नुपर्नेमा पहिलो चौमासिक खर्च हेर्दा झन् पछाडि धकेलिएका छौँ’, उनले भने, अब दोस्रो चौमासिकमा पहिलो जस्तो हुनुहुँदैन । दोस्रो चौमासिक लक्ष्य, योजनालाई हेरेर पहिलो चौमासिकले पूरा गर्न नसकेका काम पूरा गर्नुपर्छ ।’ उनले आगामी फागुनमा गरिने दोस्रो चौमासिकमा पहिलो चौमासिकका कमजोरीलाई हटाउँदै न्यूनतम ५० प्रतिशत पूँजीगत खर्च हुने गरी अगाडि बढ्न जरुरी रहेको धारणा राखे । ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौँ उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’, उनको भनाइ थियो, ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन ।’ विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्ने प्रधानमन्त्रीको भनाइ थियो । निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैँ धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ तर जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’ उनले हाम्रा देशभक्ति र गरिमाको रक्षा, हाम्रा लोकतन्त्रसम्बन्धी प्रयास, सामाजिक न्याय र समानताका पक्षका नीति, दृष्टिकोण, भावी योजना र विकासका प्रतिबद्धता हामीले लिएको बाटाले गर्दा हामीले अन्तर्राष्ट्रियस्तरमा पहिचान र प्रतिष्ठान वृद्धि गरेको बताए । उनले मुलुकलाई आधुनिक र विकसित स्थितिमा पुर्‍र्याउन जरुरी रहेको औँल्याउँदै जनताका काम अविलम्ब रुपमा पूरा गर्नुपर्नेमा जोड दिए । हामी जनताका सेवक भएकाले सेवा प्रवाहलाई प्रभावकारी रुपमा लैजानुपर्ने उनले बताए । जनतामा भ्रम फिँजाउँदा र सरकारका कामप्रति जनतालाई जानकारी नगराउँदा असन्तुष्टि जन्मिएको हो भन्दै त्यस्ता भ्रम र अन्योललाई मन्त्रीहरुले चिर्नुपर्नेमा जोड दिए । रासस
सिरहामा दुई थान पेस्तोलसहित पक्राउ सिरहा । कल्याणपुर नगरपालिका २ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका ३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
नेपाली भू-भाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्छ : बिजुक्छे काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कुनै पनि हालतमा नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्ने बेला आएको बताएका छन् । नेमकिपाले मङ्सिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसारको क्रममा आज चाँगुनारायण नगरपालिका–३ न्यौपाने गाउँ झौखेलमा आयोजना गरेको चुनावीसभामा उनले नेपाली भूमि फिर्ता गर्न सरकार गम्भीर हुनुपर्ने बताए । आगामी उपनिर्वाचनमा देशद्रोहीलाई परास्त गर्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेले नेपाललाई टुक्र्याउन भारतले विगतमा माओवादीलाई ‘ट्रोजनहर्स’को रूपमा तयार पारेकोसमेत आरोप लगाए । नेमकिपालाई दिएको मत कहिल्यै खेर जाँदैन भन्दै उनले प्रमुख प्रतिपक्षको भूमिका फितलो रहेका कारण देश अप्ठ्यारो स्थितिमा पुगेको जिकिर गरे । कार्यक्रममा नेमकिपा केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सुगौली सन्धिबाट नेपालको सीमा लिम्पियाधुरासम्म स्पष्टरूपमा कायम भएको बताउँदै देशको ९६१ ठाउँमा सीमा अतिक्रमण भएको बताए । नेमकिपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद अनुराधा थापामगर, प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईं र सिर्जना सैंजूले झुटको पुलिन्दा बोकेर तथा आश्वासनका पोका बाँडेर चुनाव जित्ने सोच बनाइरहेकालाई मतदानबाट जनताले परास्त गर्नुपर्ने धारणा राखे । नेमकिपाको तर्फबाट भक्तपुर प्रदेश १ ‘क’ का उम्मेदवार नीरज लवजूले निर्वाचनमा बाँड्ने झुटो आश्वासन र प्रलोभनमा भन्दा पनि वास्तविकता बुझेर जनताले मतदान गर्नुपर्ने बताए । रासस
महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा, बाल विवाहजस्ता सामाजिक विकृतिका अन्त्यका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले महिला हिंसा र बालविवाह रोक्न सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना ल्याउने बताए । उनले पदभार सम्हालेलगत्तै बालविवाह अन्त्य हुने गरी दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्वीकृत गरे । महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव स्वीकृत गरेका हुन् । मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानूनको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्‍याएर बिसाउँछु : खेमराज पौडेल पोखरा । कास्की क्षेत्र नं २ का नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी उचित ठाउँमा पुर्‍याएर बिसाउने बताएका हुन् । पोखरा–१६ मा आज आयोजित सभामा जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने दाबी गरे । आफूलाई लोभ, लालसा र मोह केही नभएको भन्दै उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए । उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जतमा बढोत्तरी हुने धारणा प्रकट गरे । यसैबीच, उम्मेदवार पौडेल, नेता गुरुङलगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुनबहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका हुन् । रासस
पीडितलाई न्याय दिन ढिलाइ गर्ने पक्षमा छैन : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई छिटै निष्कर्षमा पुर्याउने बताएका छन् । द्वन्द्वपीडित साझा चौतारीले आज विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियाको अन्तिम चरणको काम छिटै नै टुङ्ग्याउने स्पष्ट पारे । ‘जनयुद्वको नेतृत्व मैले नै गरेको हुँ, राम्रो काम र नराम्रो कामको जिम्मा मैले नै लिनुपर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘द्वन्द्वमा गम्भीर प्रकृतिका अपराध गर्नेलाई कारवाही गर्नुपर्छ, म पनि त्यो जिम्मेवारीबाट पन्छिन पाउँदिन, पीडितले मलाई मरेपछि पनि छाड्ने छैनन् ।’ उनले शान्ति प्र्रक्रियालाई लम्ब्याइरहन आफूलाई पनि मन नभएको उल्लेख गर्दै विस्तृत शान्ति सम्झौतामा छ महिनामा निष्कर्षमा पुर्याउने भनिए पनि संविधान लेखन र तत्कालीन माओवादीका सेना समायोजन कार्य मुख्य भएर आउदा पीडितलाई न्याय दिने काममा ढिलाइ भएको स्वीकार गरे । अध्यक्ष प्रचण्डले नेपालमा काम गर्दा काम गर्न ढिलाइ भए पनि कामहरु पूर्णरूपमा सम्पन्न गर्ने गरी गरेको र द्वन्द्वको एउटा काम पीडितलाई न्याय दिनेमा ढिलाइ नहुने बताए । ‘शान्ति प्रक्रियाको अन्तिम कामलाई लम्ब्याउनुपर्छ भन्ने लागेको छैन, त्यो सोचेको पनि छैन’, उनले भने, ‘यो कुराले मलाई घोचेको छ, चिमोटेको छ, तन्काउने रहर छैन, अबको मुख्य काम यही हो ।’ अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको आदेशानुसार ऐन संशोधन गर्ने र ऐन संशोधन गर्दा सातै प्रदेशमा गएर पीडितहरुसँग सुझाव लिने तयारी रहेको सुनाए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले छ महिनाभित्र काम सक्ने प्रतिवेदन बुझाएको हुनाले केही पदाधिकारी दोहोरिन सक्ने भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूरै नयाँ पदाधिकारी ल्याउने वचन दिए । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्ने बताए । नेकपाका अध्यक्ष प्रचण्डलाई देखाउँदै नेता नेपालले भने, ‘यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन तपाईँ ताप्के हो, तात्नुस्, म सहयोग गर्न तयार छु ।’ उनले द्वन्द्वको अन्तिम चरणको कामलाई छिटो टुङ्ग्याउँदा नै मुलुकको हित हुने उल्लेख गरे । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले द्वन्द्वकालीन समस्या समाधान गर्नु दलहरुको मात्र नभई राष्ट्रको सामूहिक दायित्व भएको हुँदा सामूहिक प्रयास र प्रयत्नबाट निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले मुलुकमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि दलहरु क्रियाशील र एकजुट भएजस्तै सबैले मिलेर द्वन्द्वको पीडा समाधान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मानवअधिकारवादी तथा द्वन्द्वपीडितहरुले द्वन्द्वको घाउले लामो समयसम्म पिरोलिरहेको हुँदा चाँडो न्याय दिन दलहरु तत्पर रहनुपर्नेमा जोड दिएका थिए । रासस
जिल्ला समन्वय समितिका प्रमुखको निधन पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज निधन भएको छ । उनको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहेका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मेका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश कमिटी सदस्यसमेत रहेका बामपन्थी नेता बस्याल नेकपा जिल्ला कमिटीका प्रमुख र किसान सङ्घका केन्द्रीय सदस्यसमेत बनेका थिए । बस्यालको शुक्रबार पाल्पामा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् । रासस
सरकार जनताभन्दा कम्युनिष्टका कार्यकर्ताप्रति वफादार देखियो : महर काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेबिसंघका पूर्व अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार आम जनताका भन्दा पनि कम्युनिष्ट पार्टीका संगठित सदस्यहरुप्रति वफादार भएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै महरले भने, ‘जनताका दैनिक उपभोग्य सामग्रीहरुमा तीन सय प्रतिशत बढी मूल्य बृद्धि भएर जनता आजित भैसकेका छन् ।’ महरले सुन काण्ड, निर्मला काण्ड, सिण्डिकेट काण्ड, वाईडवडी जहाज काण्ड, वालुवाटार जग्गा काण्ड हुँदै सभामुख काण्डसम्ममा नेकपा पार्टी र ओली नेतृत्वको सरकार निर्लज्ज तरिकाले संलग्न भएको आरोप लगाए । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत थुप्रै स्थानमा दुवै छिमेकी राष्ट्रले भूमि मिच्दा समेत कम्युनिस्ट सरकारले ठोस कदम नचाली मुक दर्शक देखिनु राष्ट्रिय अस्मितामाथिको खेलबाड भएको बताए ।
मतदाताको भावनाअनुसार काम गर्छु : रजनी केसी कास्की । कास्की क्षेत्र नं २ का साझा पार्टीका उम्मेदवार रजनी केसीले मतदाताको भावनाअनुसार आफूले काम गर्ने बताएकी छन् । बुधबारदेखि पोखरा–१५ मा उपनिर्वाचनलाई लक्षित गर्दै भइरहेको घरदैलो कार्यक्रममा ‘मत बदलौँ, मन बदलौँ’ भन्दै केसीले जनभावनाअनुरूप आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थपेको उनको भनाइ थियो । परिवर्तनको संवाहक बनेर देशका लागि अब वैकल्पिक शक्तिको रूपमा साझा पार्टी रहेको उनले बताइन् । पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनताले विकल्प खोजेको भन्दै अब साझा पार्टीबाट देश विकास सम्भव हुने धारणा राखे । उनले साझा पार्टी भ्रष्टाचारविरुद्ध देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको प्रष्ट पारे । चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनको आग्रह थियो । आज पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।
सरकारद्वारा भारत–चीन दुवै मुलुकमा सीमा निरीक्षण समिति गठन काठमाडौं । सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै मुलकमा रहेका सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । त्यसैगरी सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाहरुको सुरुङ मार्गको फ्लाईओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्वीकृति पनि दिएको सरकारका प्रवक्ता बास्कोटाले बताए । त्यसैगरी मंसिर ३ गते बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकार र रुसी महासंघबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।
उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने चितवन । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो । सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समयावधि निर्धाण गरेको हो । प्रमुख जिल्ला अधिकारी बस्नेतले उपनिर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहितालाई सबै पक्षले पूर्णरूपमा परिपालना गर्ने र गराउने निर्णय भएको बताए । यस्तै बैठकले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रजिअ अधिकारी बस्नेतले जानकारी दिए । जिल्ला सुरक्षा समितिले निर्वाचन सम्पन्न हुने वडाहरुको उम्मेदवार, मतदानस्थल, मतदान सामग्रीको सुरक्षा एवं मतदाताको मताधिकार सुरक्षणका लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा व्यवस्था मिलाई भयरहित वातावरण निर्माण गर्ने जनाएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिका वडा नंं ४ र ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा पाँच राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । रासस
समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिए । उनले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगतरूपमा जानकारी लिने जानकारीसमेत दिए । यसअघि उनी कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए । बुधबार मन्त्रिपरिषद् पुनर्गठित हुँदा यसअघिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्राललयको जिम्मेवारी पाएका छन् । आज नै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आफ्नो पदभार ग्रहण गरे । सो अवसरमा मन्त्रालयका सचिव खगराज बरालले नवनियुक्त मन्त्री ढकाल र राज्यमन्त्री रावतलाई स्वागत गर्दै मन्त्रालयको समग्र नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिएका थिए ।
दिगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव काठमाडौं । समयमै र गुणस्तरीय निर्माण हुन नसकेकोमा आक्रोश बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको छ । स्क्याफले तीन दिनसम्म काठमाडौंमा आयोजना गरेको उज्जवल भवियका लागि उत्थानशिल निर्माण विषयक सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् । उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउनसके उत्थानशील संरचना निर्माण हुनसक्ने दावी गरेका छन् । नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पुर्याउन आवश्यक रहेको सम्मेलनका सहभागिहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले धरहरा पुर्ननिर्माणसँगै भूकम्प संग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिए । उनले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापना समेत गर्न लागिएको बताए । तीन दिनको सम्मेलन उत्थानशिल संरचना निर्माण, यसका चुनौति, जारी प्रयत्न, नविनतम प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञहरुका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । स्क्याफको २९ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनियरहरुको संस्था र सिईएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुर प्रसाद शर्माले जानकारी दिए । सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गरे । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गरेका थिए ।
निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या छ : मन्त्री त्रिपाठी काठमाडौं । नवनियुक्त सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने बताएका छन् । आफ्नो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताउनुभयो । मन्त्री त्रिपाठीले भने, ‘निजामती ऐन विचाराधीन छ, त्यो टुङ्गिएपछि धेरै कुरालाई निर्धारण गर्छ, विशेष गरी तीन तहको सरकारको बीचको अन्तरसम्बन्धका केही विषय जोडिएको छ, केही कानूनी झमेला छ र केही कानून संशोधन गर्नुपर्ने छ, सबैलाई तारतम्य मिलाएर अगाडि बढ्नुपर्छ ।’ सहमतिमा विश्वास गर्ने भएकाले आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उचित निर्णय लिने मन्त्री त्रिपाठीले बताए । उनले एउटै सरकारको निरन्तरता भएकाले मन्त्री परिवर्तन भएर केही फरक नपर्ने विचार व्यक्त गर्दै विगतदेखि सांसदको हैसियतमा पनि मन्त्रालयका गतिविधि नियालिरहेको बताए । आर्थिक अनुशासनसँग जोडिएको महत्वपूर्ण पक्ष स्थानीय तहका महालेखाको प्रतिवेदन कसरी निकाल्ने भन्ने व्यवधान रहेको उनको भनाइ थियो । स्थानीय सरकारमा जनप्रतिनिधि नयाँ भएका र कार्यालय सञ्चालनमा पनि अनुभव कम भएका कर्मचारी रहेकाले केही समस्या देखिएको जिकिर गर्दै उनले जबरर्जस्ती गएका आधा मनले काम गर्ने अवस्था रहँदा अनुशासन अनुकूल काम नभएको बताए । ‘यसमा कोही पनि दोषी चाही छैन, पारदर्शीतालाई संस्थागत र संरचना रुपमा लैजानुपर्छ, केन्द्रले स्थानीय तहलाई थिच्न खोज्यो भन्ने होइन’, मन्त्री त्रिपाठीले थपे । हाल उक्त मन्त्रालयले ७५३ वटै पालिका भवन निर्माणका लागि कार्यविधि बनाएको र पालिकाबाट पालिका जोड्ने सडक योजनासमेत अघि सारेको जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चार हजार किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था रहेको मन्त्री त्रिपाठीलाई जानकारी दिएका थिए । कर्मचारीको समायोजन पूर्ण नभएको, पालिकामा कर्मचारी सबै स्थानमा नगइसकेकाले त्यो चुनौती कायम रहेकाले त्यसलाई हल गर्न सकिए मन्त्रालय सहज रुपमा अघि बढ्ने सचिव कोइरालाले बताए । रासस
मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् । आजदेखि कार्यभार सम्हालेका मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए । मन्त्रालयमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे । उनले भने, ‘जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेको छन् । राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ ।’ मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरु सुधार आएको दाबी गर्दै त्यसलाई अझै तीब्रता दिने बताए । मन्त्रालयले धेरै रेकर्ड तोडेको छ : महासेठ मन्त्रालयमा आज आयोजित कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे । विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४/७५ मा ८६ वटा बनेको जानकारी दिँदै उनले गत २०७५/७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिए । महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताए । उनले मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे । पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४/७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए । उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे । पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए । यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए । रासस
आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए । जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिए । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उहाँको भनाइ थियो । सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्ने विचार व्यक्त गरे । रासस
चैत्र तेस्रो साता काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम हुने काठमाडौं । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पारे । सो संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारण बनाउन सहयोग पुग्ने पनि सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीको भनाई छ । सरकारले सो संवाद कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को पनि बुधबार नै स्थापना गरेको छ । सो संवाद कार्यक्रमलाई सफल बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले संवाद आयोजनाका लागि सगरमाथा संवाद विशेष कार्य दल पनि गठन गरिएको बताए ।
‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्रामा २०४ जना सहभागी हुने काठमाडौं । काठमाडौंबाट शुक्रबार सुरु हुने ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राको तयारी पूरा भएको छ । साइकल यात्राको शुक्रबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गर्ने कार्यक्रम छ । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता हुने भएको छ । राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी हुने भएका छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना हुनेछन् । यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी हुने उनले बताइन् । यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकल यात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको उनले बताइन् । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लिलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न चार वर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकल यात्रासँग जोडिएका छन् । आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष घिमिरेले भने, ‘हाम्रो साइकल यात्राले अन्तर्राष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो । संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको उनले बताए । यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सह–आयोजक रहनेछन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रवद्र्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको व्यवस्था गरेर भव्य स्वागत गर्ने तयारी गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । बास बसेको ठाउँमा सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ । त्यहाँ प्रदेश नम्बर ३ का पर्यटनमन्त्री अरुण नेपालले साइकल यात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकल यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् । अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भावनात्मक रुपले जोड्ने विश्वास लिएको छ । तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रवद्र्धन गर्ने अभियानको योजना छ ।
ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए । तामाङको शब परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा रहेको विमान नजिकै चट्याङ परेपछि… बीबीसी । न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्। एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपराह्ण ३ः३० बजे खिचेका थिए। उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ। उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो। न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो।  क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीय सांसद एन्ड्र्यू फ्यालूनले आफ्नो कार्यलयबाहिर परेको असिनाको भिडिओ खिचेकाट्विटरमा प्रेषित गरेका छन्। न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ। तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन्।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु राजापुर । बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
गोदावरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु गोदावरी । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ। कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताए। रासस
कपडा धोइरहेकी महिलाको दुवै स्तन काटेर फरार भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटेर भागेको प्रहरी जनाएको छ । कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताएका छन् । नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) का प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमूना दिने प्रयास थालेको बताए । डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उनले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई सङ्घीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत उनले बताए । नेकपा र जर्मनीको कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याएका थिए । जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) ले त्यहाँको संसद्मा रहेका ७०९ सदस्यमध्ये ६९ सिट जितेको छ । जर्मनीको छ वटा पार्टीमध्ये यसको स्थान पाँचौँ रहेको रिजालले जानकारी दिए । उसले चुनावमा नौ प्रतिशत मत हासिल गरेको जनाइएको छ । रासस
१६ महिनादेखि बेपत्ता भएका पत्रकार खड्काको सामान भेटियो बाजुरा । गत वर्ष बाजुराको बुढीनन्दा दर्शन गर्न गएको बेला बेपत्ता भएका पत्रकार तेजु खड्काको केही सामान भेटिएको छ । गत वर्षको भदौ ९ देखि बेपत्ता भएका खड्काको १४ महिनापछि पर्स, झोला, जकेट, मोबायल लगायतका सामानहरु भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीको टोली सो ठाउँमा खोजी कार्यका लागि गएको थियो । सामान भेटिएको ठाउँमा मानव कंकाल भेटिएकाले खड्काको मृत्यु भएको आशंका गरिएको स्थानीयले बताएका छन् । भेटिएको पर्समा पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको थियो । अवशेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरी टोली सोमबार नै घटनास्थलतर्फ गएका थिए ।
कपडा पसलमा आगलागी, ४० लाख बराबरको क्षति धम्बोजी । आज बिहान जिल्ला बर्दिया मोतीपुरबाँसगढी नगरपालिका वडा नं ५ बाँसगढी बजारको पुण्यप्रसाद बजगाईँको कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ । रु ४० लाखभन्दा बढीको कपडा नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । इलाका प्रहरी, स्थानीयवासी सहयोगमा आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
विकास निर्माणमा राजनीतिक गर्नुहुँदैन : मन्त्री महासेठ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणमा राजनीति नगर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकाको बलम्बु–दहचोक जोड्ने पुलको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणमा सबै दल हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । ‘विकास भयो भने जनता आर्थिक वृद्धिदरतर्फ जानेछन्, देशलाई समृद्धितर्फ लान सबैको भूमिका आवश्यक छ’, उनले भने । मन्त्री महासेठले आफू मन्त्री भएपछि सरकारले दुई आर्थिक वर्षमा दुई हजार किलोमिटर सडक कालोपत्र र २४३ वटा पुल निर्माण गरिसकेको बताए । सरकारले रेलमार्ग तथा जलमार्गलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले विकास र समृद्धिका लागि जनाताको हितका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले दिगो विकासमा सबैको हातेमालो हुनु आवश्यक रहेको उल्लेख गरे । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले दहचोक–बलम्बु जोड्ने पुल बाढीका कारण क्षति पुगेकाले आवतजावतमा निकै समस्या परेको बताउनुभयो । उक्त पुल निमार्णका लागि नगरपालिकाबाट रु १५ लाख आर्थिक सहयोग गरेको थियो । रासस
प्रधानमन्त्री निवास भत्काउन शुरु काठमाडौं । प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायी रुपमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सो भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।
कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताएकी छन् । कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उनले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा सरकारले भूमिहीन र सुकुम्बासीलाई जमीन उपलब्ध गराउने स्पष्ट पारिन् । संविधानले नै सबै नागरिकलाई आवासको हकको व्यवस्था गरेकाले वर्तमान सरकारको पाँचवर्षे कार्यकालभित्रमा नै सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन समाधान गरेर उनीहरुलाई जमीनको मालिक बनाउने मन्त्री अर्यालले उल्लेख गरिन् । उनले भनिन्, ‘सुकुम्बासी व्यवस्थापन देशको वर्षौंदेखिको समस्या हो, यसको समाधानबिना समृद्ध नेपालको सपना पूरा हुन सक्दैन । त्यसका लागि सरकारले कानून निर्माण गरी प्राथमिकतामा राखेको छ ।’ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले कम्युनिष्ट सरकारले मात्र आम जनताका चाहना पूरा गर्ने भएकाले सबै समस्याको समाधान गर्ने बताए । अखिल नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय सचिव अर्जुन मल्लले आफ्नो नाममा जमीन नभएका तथा १० वर्षदेखि बसोबास गर्दै आएकालाई सरकारले सोही ठाउँमा उनीहरुको श्रेस्ता कायम गर्नुपर्ने माग गरे । उपसमिति संयोजक लक्ष्मीप्रसाद अधिकारी र सहसंयोजक ओमबहादुर पौडेलले सहभागीलाई कम्युनिष्ट सरकारप्रति भरोसा गर्न आग्रह गरेका थिए । रासस
प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै भत्केको पाटी नगरकोट सिपाघाट सडकको अनुगमन गरिएको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वमा उपसचिव आनन्द काफ्लेसहित सडक आयोजना प्रमुख जगत प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले उक्त सडकको आज अनुगमन एवं निरीक्षण गरेको हो । टोलीले भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको काम कहाँ पुग्यो, के के काम भएका छन्, के के बाँकी छ भन्नेबारेमा यथार्थ रुपमा अवलोकन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए । सडक निर्माणका क्रममा आइपरेका समस्या, ठेकेदारको कमजोरी, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको खम्बा हटाउने कार्यको अवस्था, रूख कटानको अवस्थादेखि यहाँका सम्पूर्ण अवस्थाबारे टोलीले जानकारी लिएको उनले बताए । टोलीले सडकको निरीक्षणसँगै स्थानीय बासिन्दा, सङ्घर्ष समितिका व्यक्तिहरु र सरोकारवालाहरुबीच छलफल गरेको, समस्याको पहिचान गरेको, समस्या समाधानका लागि आएको सुझावहरुसमेत सङ्कलन गरेको उहाँले जानकारी दिए । भक्तपुरको भत्केको पाटी नगरकोट सडकको अनुगमन निरीक्षणमा देखिएका विषयलाई रिपोर्ट बनाएर प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने अनुगमनका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालले जानकारी दिए । रासस
भरतपुरमा नेटफ्रेस हस्पिटल सञ्चालनमा चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ सृष्टि चोकमा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । माटो, पानी, जडिबुटीसहितका प्राकृतिक तत्वबाट बिरामीको उपचार गर्ने उद्देश्यले नेटफ्रेस हस्पिटल प्राली सञ्चालनमा आएको हो । हस्पिटलले बुधबार पत्रकार सम्मेलन गर्दै सेवा शुभारम्भ गरिएको जानकारी दिएको छ । दुई करोड रुपैयाँको लागतमा नेपालमा नै नभएका प्रविधि भित्र्याएर बिरामीको उपचार गर्न सुरु गरिएको हस्पिटलका प्रमुख गोविन्द हुमागाईले बताए । १० शैयाको अस्पताल सञ्चालनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग अनुमति मागिएको हुमागाईले बताए । गरिब तथा असहाय बिरामीको लागि ऐनअनुसार निशुल्क गर्ने उल्लेख गर्दै हुमागाईले बिरामीहरु आवासीय रुपमा नै बसेर उपचार गर्न सक्ने व्यवस्था गरिएको बताए । चार सय रुपैयाँको टिकट काटेर चिकित्सकसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ । डाक्टर सङ्ग्राम पुरीकाअनुसार पञ्चकर्म विधि तथा विभिन्न थेरापीको माध्यमबाट उपचार गरिनेछ । अस्पतालमा जनरल बेड, क्याबिन तथा विशिष्ट व्यक्तिका लागि समेत दुई वटा बेड छुट्याइएको पुरीले बताए । अन्य प्राकृतिक चिकित्सालयको भन्दा न्यून शुल्कमा बिरामीको उपचार गरिने उल्लेख गर्दै पुरीले बिरामीलाई चिकित्सकको निर्देशन अनुसार शुद्ध अर्गानिक खाद्यान्न खुवाइने बताए । ११ जना सञ्चालकहरु रहेको सो अस्पतालमा तीन जना चिकित्सक कार्यरत छन् । नेपालको नमूना अस्पताल बनाउने तयारीका साथ सञ्चालन गरिएको नेटफ्रेस अस्पतालले करिब तीन बिघा क्षेत्रफलमा एक सय ६७ प्रकारको जडिबुटी समेत लगाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा भगवानचन्द्र ज्ञवालीले अस्पतालमा मानसिक र दीर्घ रोगका बिरामीहरु बढी आउने गरेको बताए । अस्पतालले बिरामीलाई परामर्शका साथै योग शिक्षा समेत प्रदान गर्ने ज्ञवालीले बताए । बिरामीहरुको अप्रेशन विना नै प्राकृतिक तथा अन्य विविधबाट उपचार, दीर्घ रोगीको उपचार, चर्मरोगहरुको उपचार सुरु गरिएको ज्ञवालीको भनाइ छ । अस्पतालले प्राकृतिक आहारसहितको अन्तरंग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक चिकित्सा, अकुपंचर अकुप्रेसर थेरापी, तनाव व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।
बैतडीमा वडाध्यक्षको शव फेला बैतडी । बैतडीमा एक वडा अध्यक्षको रहस्यमय मृत्यु भएको छ । हिजो मंगलबार राती जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राजबहादुर चन्दको रहस्यमय मृत्यु भएको बताइएको छ । मंगलबार राती करिब १० बजेतिर पसलबाट आफ्नो घर जानेबलामा घरभन्दा करिब २ किलोमिटर अगाडि नै बाटोभन्दा तल भिरालो ठाउँमा उनको शव बुधबार फेला परेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्द मंगलबार स्थानीय कैलपाल मन्दिरमा धुरामेला हेर्न गएका थिए । मेला हेरी घर फर्किने क्रममा भिरबाट लडेर वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ। अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
बिहीबारदेखि एयर ट्राफिक कन्ट्रोलर सम्मेलन हुने काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६औं एसिया प्यासिफिक रिजनल सम्मेलन भोली बिहीबारदेखि राजधानी काठमाडौंमा हुने भएको छ । नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी जानकारी गराएको हो । इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन उड्डयन पेशेवर र एयर ट्राफिक कन्ट्रोलरहरुको लागि अन्तरक्रिया गर्न उपयुक्त हुने बताइएको छ । नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सम्मेलनमा मानव र प्रविधिबीचको सम्बन्धका प्रचलित अभ्यासहरुका विषयमा ट्राफिक कन्ट्रोलरहरुले आफ्ना चासोहरुमाथि छलफल गर्ने बताए । सम्मेलनमा उड्डयन क्षेत्रका चुनौती र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुने छ । सम्मेलन ३ दिन सम्म चल्ने छ ।
प्रहरीमा भनसुन चल्दैन : सर्वेन्द्र खनाल काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे । बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए । उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन हुनेछ ।
सर्लाही र पर्सामा आगलागी हुँदा ६ लाख बराबरको क्षति काठमाडौं । सर्लाही र पर्सामा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ बस्ने किरण घिमिरेको घरको भान्सा कोठामा बुधबार बिहान करेण्ट सर्ट भई आगलागी हुँदा फ्रिज, सोफा, वासिङ्ग मेशिन, टेलिभिजन लगायतका समान जलेर करिब ३ लाख ९४ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै पर्साको बहुदरमाई नगरपालिका २ बैरिया बस्ने बिनोद साहको घरमा बुधबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा कच्ची घर, घरभित्र रहेको अन्नपात लगायत जलेर करिब २ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
दोलखामा बसले किचेर एक बृद्धाको मृत्यु दोलखा । भिमेश्वर नगरपालिका ८ चरंगेखोलास्थित सडकमा बा.३ ख २९९७ नम्बरको बसले किच्दा बैतेश्वर गाउँपालिका २ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस रोकी राखेको अवस्थामा अचानक पछाडि गुड्न जाँदा बसमा सवारमध्ये उनको भाग्ने क्रममा बसले किचेर मृत्यु भएको हो । बसमा सवार सोही ठाउँ बस्ने मिरा तामाङ बसबाट हामफाली भाग्ने क्रममा उनको छोरा २ महिनाका छिरिङ लामा घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट पठाइएको छ । हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उपनिर्वाचन २०७६ : दाङमा एक्लो महिला उम्मेदवार राससदाङ । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समय पहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ । सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् । तुलसीपुर बजारका चिया पसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ । प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका १४ जनामध्ये एक महिलाले मात्र उम्मेदवारी दिएकी छिन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र महिलालाई उम्मेदवार बनाएको छ । नेकपाले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि खाली रहेको सो स्थानमा उनकी पत्नी विमला वलीलाई उम्मेदवार बनाएको छ । पार्टीबाट उम्मेदवारको रुपमा टिकट पाएलगत्तै अहिले विमला नेकपाका नेता कार्यकर्ताको साथमा बिहानदेखि साँझसम्म चुनावी अभियानमा व्यस्त भएकी छन् । चुनावअघिको समयमा कोही कसैको अगाडि बोल्दा पनि आफ्नो पतिको नाम आउने बित्तिकै आँसु झार्ने विमला अहिले क्रमशः बलियो बन्दै गएको उनको भनाइबाट पनि प्रष्ट हुन्छ । विकासप्रेमी नेताको पत्नी भएको नाताले पति कै कामलाई निरन्तरता दिने उनको सोच छ । ‘अरु नेताजस्ता महिला बोलक्ड नहोलान्, ठूलाठूला सपना देखाउन नजानेका होलान् तर इमान्दार भएर काम गर्न जानेका छन्’, उनले भनिन्, ‘महिलाले जनताको भावना बुझ्न जानेका हुन्छन् तर भ्रष्टाचार गर्न जान्दैनन् ।’ आफ्नो श्रीमानको अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै उनले आफू विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरिन् । नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार भएका केशव आचार्यले आफूले विगत ३० वर्षदेखि यही क्षेत्रमा पार्टीको भूमिका निर्वाह गर्दै यहाँका जनताको दुःख सुखमा साथ दिएकाले आफ्नो जित सुनिश्चित रहेको बताए । उनले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुट–उपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको बताए । यसैगरी राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी पनि चुनावी मैदानमा छन् । त्यस्तै नेपाली काँग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा हुनुहुन्छ भने स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वली र नेपाली काँग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजय भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गरेका थिए । दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । तीमध्ये पुरुष ३३ हजार ७७८ र महिला ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् । यहाँ हुने उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ। वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताए । वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले बताए। पछिल्लो एक हप्ताको अवधिमा पाँच सयका चार वटा र एक हजारको एउटा गरी पाँचवटा नक्कली नोट भेटिएको प्रमुख आचार्यले बताए । “गएको सोमबारबारदेखि बिहीबारसम्मको अवधिमा निरन्तर एक/एक वटाको दरले नक्कली नोट जम्मा गर्न ल्याएको पाइएको थियो”, शाखा प्रमुख आचार्यले भने, “चार/पाँच दिन निरन्तर नक्कली नोट भेटिएको तर अहिले देखिएको छैन, फेरि आउनसक्ने भएकाले सचेत हुन आवश्यक रहेको छ।” राष्ट्रिय सहकारी बैंकमा जम्मा भएको शङ्कास्पद नोटलाई मेसिनबाट परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको र वालिङस्थित अन्य बैंकमा पनि उक्त नोटलाई मेसिनमा राखेर परीक्षण गर्दा नक्कली भएको खुलेको थियो। सहकारी संस्थामा नक्कली नोट परीक्षण गर्ने मेसिन नभएको हुँदा नक्कली नोटको कारोबार हुनसक्ने भएकाले यसप्रकारको मेसिन राख्न पनि शाखा प्रमुख आचार्यले सुझाव दिएका छन् ।
वडा सदस्यलाई साइकल वितरण सप्तरी । विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ। जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताए । गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उनले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको मर्यादा बढाउन वडा सदस्यलाई आग्रह गरे । तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको थियो। अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषप्रसाद मण्डल, वडा नं ७ का वडाध्यक्ष विन्देश्वर साहलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वडा नं ६ का वडाध्यक्ष बहादुर सदा एवं वडा सदस्यहरुको सहभागिता थियो। रासस
इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चाँसो व्यक्त जेनेभा (रासस/एएफपी) । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चाँसो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ । स्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य २०० प्रतिशतले वृद्धि भएको घोषणा गरेपछि नागरिकहरू आन्दोलित भएका हुन् । इरानमा अमेरिकी नाकावन्दीका कारण आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । पेट्रोलका लागि धनी मानिने इरानले सोही वस्तुमा गरेको मूल्यवृद्धिपछि नागरिकहरू आन्दोलित बनेका हुन् । ‘खासगरी तेलको मूल्य वृद्धिप्रति असन्तुष्टि प्रकट गर्दै विरोधमा उत्रिएका नागरिकमाथि सरकारी सुरक्षाकर्मीले गरेको दमन र यसका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय गम्भीर बनेको छ,’ प्रवक्ता रूपर्ट कोलभिलले पत्रकारलाई बताए । इरानमा प्रदर्शन शुरू भएपछि इन्टरनेट सेवा प्रयोगमा कडाई गरिएको छ जसका कारण यहाँका गतिविधि बाहिर आउन कठिनाई भएको छ ।कोलभिलले इन्टरनेट सेवामा गरिएको नियन्त्रणका कारण प्रदर्शनमा भएका मानवीय क्षतिलाई पुष्टि गर्न कठिनाई भइरहेको बताए । उनले भने, ‘केही इरानी सञ्चारमाध्यम र अन्य स्रोतहरूले दिएको जानकारी अनुसार दर्जनौँ व्यक्ति मारिएका र एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।’ ‘हामीले इरानी अधिकारी तथा सुरक्षाकर्मीलाई शान्तिपूर्ण विरोधमा बल प्रयोग नगर्न आग्रह गर्छौ ।’ प्रदर्शनकारीले पेट्रोलको मूल्यवृद्धि फिर्ता गर्न भन्दै गरेका विरोध कार्यक्रमका शिलशिलामा कैयौँ पेट्रोल स्टेसन, बैङ्क तथा सार्वजनिक कार्यालय तथा तीनका सम्पत्तिलाई तोडफोड गरेका समाचारहरू बाहिरिएका छन् । कोलभिलले प्रदर्शनकारीलाई आफ्ना विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरेका छन् ।
मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने इस्लामावाद (रासस/एएनआई) । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ । इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही नोभेम्बर २८ मा हुने बताइएको छ । उच्च अदालतका न्यायाधीश वाकर अहमद सेठको नेतृत्वमा बसेको तीन सदस्यीय वेन्चले मुशर्रफका कानूनी परामर्शदाताहरूलाई मुद्दाबारे मुशर्रफका धारणा (तर्क) हरूलाई लिखितरूपमा नोभेम्बर २६ मा पेश गर्न निर्देशन दिएको पाकिस्तानी पत्रिका ‘डन’ले उल्लेख गरेको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को सरकारले सन् २०१३ मा मुशर्रफविरूद्द उच्च देशद्रोहको मुद्दा दाखिल गरेको थियो । पूर्व सैनिक प्रमुखसमेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानूनी रूपमा निलम्बन गरी सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ । मुशर्रफलाई सन् २०१४ को मार्च ३१ मा ‘देशद्रोह’ को अभियोग लगाई अभियोजनकर्ताहरूले सोही बर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । तर सन् २०१६ मा उपचारका लागि मुशर्रफ दुबई गएपछि उक्त मुद्दामाथिको सुनुवाई रोकिएको थियो ।
समाजसेवामा रोटरी इन्टरनेशनलको भूमिका महत्वपूर्ण : मन्त्री ज्ञवाली काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजसेवामा रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले आज यहाँ आयोजना गरेको कुटनीतिक नियोगका प्रमुखको छलफलमा उनले रोटरी इन्टरनेशनलले सरकार र निजी क्षेत्रको आँखा नपुगेको ठाउँमा सामाजिक संस्थाको रुपमा काम गरेको उल्लेख गरे । ‘विद्यालय, अस्पताल, भूकम्पपछिको पुनःनिर्माण, ब्लड बैंक स्थापनालगायत क्षेत्रमा काम गरेको छ,’ उनले भने । रोटरी इन्टरनेशनललाई नेपालमा काम गर्ने वातावरण सरकारले तयार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो । विभिन्न देशका राजदूत स्वयं रोटरीमा आवद्ध भएका कारण पनि रोटरीमार्फत राजदूतावासबाट नेपालमा धेरै काम भएको उहाँले उल्लेख गरे । डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले नेपालको विकासका लागि रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले रोटरी इन्टरनेशनलले भूकम्पले क्षति पुर्याएको २७ विद्यालय पुनःनिर्माण गरेको बताए । नेपाल सरकारका पूर्वमुख्यसचिव रोटरीयन तीर्थमान शाक्यले विश्वभर ३५ हजार ८९३ क्लबमा झण्डै १२ लाख रोटरीयन आवद्ध रहेको उल्लेख गरे । रोटरी इन्टरनेशनलले ट्राफिक जनचेतना, सडक सुरक्षा, बालबालिकाको स्वास्थ्यलगायतका क्षेत्रमा समेत काम गरेको उनको भनाइ छ । नेपाल सरकारका पूर्वसचिव रोटरीयन केदारभक्त श्रेष्ठले रोटरी इन्टरनेशनलले दिगो विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । नेपालमा सन् १९५९ देखि रोटरी इन्टरनेशनलले शाखा स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । रासस
मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढ्ने विश्वास दिलाए । पूर्वप्रधानमन्त्री प्रचण्डले अब देश आर्थिकसहित सबै क्षेत्रमा समृद्धितर्फ अघि बढिरहेको दाबी गरे । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा देश आर्थिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताए । उनले निजी क्षेत्रसँग हातेमाले गर्न सरकार तत्पर रहेको बताए । महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रविधि अटोमोबाइल्यस गरी विभिन्न २०० वटा कक्ष रहनेछन् । यही मंसिर १५ गतेसम्म चल्ने महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक करोवार हुने लक्ष्य लिएको आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीले जनाएको छ । रासस
नेकपा सचिवालय बैठक बुधबार बिहान ९ बजे बस्दै काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उनले जानकारी दिए । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । रासस
महागढीमाई नगरपालिकामा १० दिनसम्म विद्यालय बन्द हुने कलैया । महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए । समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मेला मङ्सिर ३० गतेसम्म चल्नेछ । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताए । मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताए । सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ । रासस
मतदातालाई कम्बल वितरण गरेको भन्दै काँग्रेसको आपत्ति कास्की । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कास्कीले आज विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने बताए । ‘निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ । निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारवाही गर्न काङ्ग्रेसले माग गरेको छ । यसैबीच निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै नेपाली काँग्रेस कास्कीले आज निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारवाहीको मागसहित उजुरी दिइएको काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । रासस
नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताएका छन् । उनले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताए । प्रदेश सरकारअन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रङ्गशालाको शिलान्यास गर्न आउनु भएका मुख्यमन्त्री राईले बजेटका कारण कुनै पनि विकासका काम प्रभावित नहुने उल्लेख गरे । ‘गुणस्तरीय ढङ्गले काम सञ्चालन गर्न आवश्यक छ, यसमा जनताको खबरदारीको आवश्यक छ’, उनले भने । विकास निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठनको तयारी भइरहेको बताउँदै उनले कमिसन र भष्ट्रचारमा शून्य सहनशीलता कायम गर्ने बताए । मुख्यमन्त्री राईले भने, ‘कमिसन र भष्टाचारमा मैले शून्य सहनशीलताको नीति लिएको छु ।’ सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भन्दै उनले सबै जनतालाई राज्यको सुविधामा जोड्ने बताए । रासस
अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ काठमाडौं । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन आएका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका रेशम बस्नेत, पर्साका सुमन भन्ने जयराम श्रेष्ठ र कैलालीका कर्णबहादुर विक रहेका छन् । पक्राउ परेका बस्नेतले गुल्मीका थमन बस्नेत, श्रेष्ठले रामेछापका रमेश थापा र विकले लमजुङका चन्द्रबहादुर गुरुङको लाइसेन्सका लागि ट्रायल दिन आएका थिए । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भक्तपुर, सुकेधारा र एकान्तकुना ट्रायल सेन्टरबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
दिगो र सुरक्षित संरचना समयमै बनाऊँ : उपराष्ट्रपति पुन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताएका छन् । इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरुको सङ्गठन (स्क्याफ)ले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील पूर्वाधार’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनीयर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘निर्माण सम्पन्न भएको केही दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुसी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनर्निर्माणले लक्षित गति लिन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुनर्निर्माणका लागि विदेशी सहयोग कतिको उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गरे । तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘रेजिलियन्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राखेका थिए । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले विभिन्न कठिन परिस्थितिका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुनर्निर्माणमा सन्तोषजनक प्रगति गरेको दाबी गरेका छन् । उनले अझै सिक्न अर्को विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए । स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनीकरण र पुनर्लाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताए । उनले दिगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नवीनतम् प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे । सम्मेलनमा नेपालसहित भारत, चीन, कोरिया, श्रीलङ्कालगायत १० देशका इन्जिनीयर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए । रासस
कर्णालीको पर्यटन विकासमा पूर्वाधार मुख्य बाधक सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन तथा विकास हुन नसक्नुमा पूर्वाधार मुख्य बाधक भएको औँल्याइएको छ । कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको अध्यक्षतामा आज बसेको बैठकमा समितिका सदस्यहरुले यहाँको पर्यटन विकासले अपेक्षित गति लिन नसक्नुमा पूर्वाधार प्रमुख चुनौती भएको बताए । ‘कर्णालीमा न सडक राम्रो छ नत हवाईसेवा नै नियमित’ समितिका सदस्य तथा होटेल व्यवसायी नुर्वु लामाले भने । उनले भने, ‘कर्णाली राजमार्गको अवस्था अहिले पनि विकराल छ । सरकार हवाई यातायात सेवा सुचारु गर्नै सक्दैन । गरिबले बिरामी हुँदा अकालमै ज्यान गुमाउनु पर्छ ।’ सडक तथा हवाई यात्रा निकै कठिन हुने भएकाले एक पटक कर्णाली आएको पर्यटक फेरी फर्कने अवस्था नरहेको उनको तर्क थियो । प्रदेश पर्यटन प्रवद्र्धन समितिका सह–संयोजक राजु कार्कीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट यहाँका कुनै पनि जिल्लामा नेपाल एयर लाइन्सको सिधा सेवा नभएको बताए । ‘निजी एयर लाइन्सले पनि सुर्खेतबाट सधैँ नियमित उडान भर्छन भन्ने छैन,’ उनले भने । मन्त्री बुढाले नेपाल एयर लाइन्सका लागि पटकपटक सङ्घीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा धाउँदा पनि सुनुवाइ नभएको बताए । अब प्रधानमन्त्रीसम्म पुगेर राजधानी सुर्खेतबाट यस प्रदेशका विभिन्न जिल्लामा सिधा हवाई यातायात सेवा सुचारु गर्न आग्रह गर्ने उहाँले उल्लेख गरे । मन्त्री बुढाले भने, ‘नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र कर्णालीमा अधिकतम पर्यटक भित्र्याउन यातायात, होटल, उद्योग, पर्यटन व्यवसायीले आगन्तुकलाई सहुलियत दिएर सहयोग गर्नुहोस् । यसका लागि सरकार तपाई सम्पूर्ण निजी क्षेत्रलाई अपिल गर्दछ ।’ मूलतः प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भलाई भव्य बनाउन प्रचारप्रसार, व्यवस्थापन, समन्वय तथा सरसफाइ, आर्थिक, मानव संसाधन तथा सांस्कृतिक समिति गठन गरेर आजैदेखि क्षेत्रगत कार्यका लागि निर्देश गरेको छ । कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समितिका सम्पूर्ण सदस्यलाई मन्त्री बुढाले आजै मनोनयनपत्र प्रदान गरे । बैठकमा पर्यटन विज्ञ रामचन्द्र सेडाईँले कर्णालीको पाँचवर्षे कार्ययोजनासहितको १० वर्षे दूरदृष्टि समावेश गरिएको पर्यटन गुरुयोजना प्रस्तुत गरे । उक्त गुरुयोजनाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने उल्लेख छ । रासस
सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर छैन् : डा. महत काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्। यसमा सरकारकै कमजोरी मुख्य कारण भएको आफूहरुको ठहर रहेको सुनाए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले भने, ‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । तर, वर्तमान सरकारले गर्न नसकेको कुरा घामजस्तै छर्लङ छ । उहाँहरु कामभन्दा बढि कुरा गर्नुहुन्छ । काम गर्नुहुन्न । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ राख्नुहुन्न । बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गर्नुहुन्छ । त्यसले गर्दा यो सम्बन्धहरुमा अहिले जटिलता थपिएका छन् ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कालापानी, महाकालीको विषय पूरानो भएको सुनाए । उनले भने, ‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशील कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्योअनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’ महतले वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी गरे । उनले भने,‘तर, सत्तामा आएपछि उहाँहरुले यी विषय उठाएको हामीले पाएका छैनौं । सत्तामा आएपछि द्धिपक्षीय पटक–पटक बैठकहरु भए, भेटवार्ता भए, कहीँकतै यी विषय उठाएको हामीले पाएनौं । यो सरकार हाम्रो राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर नभएको स्पष्टनै छ ।’ उनले नेपालको जमिन चीनले पनि अतिक्रमण गरेको भन्ने कुरा पत्रपत्रिकामा आएको उल्लेख गर्दै भने, ‘चिनियाँ सरकारको जहाँसम्म सवाल छ, अहिले पत्रपत्रिकामा धेरै ठाउँमा अतिक्रमण भयो भन्ने छ, त्यही महाकालीको सम्बन्धमा पनि भारतसँग सम्झौता गरेको अवस्था छ, यस विषयमा पनि सरकार पटक्कै बोल्दैन् । बरु ढुङो बोल्ला तर सरकार बोल्दैन् । त्यसकारण हामी के भन्छौं भने भारतसँगपनि यो महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्छ ।’ त्यस्तै उनले नेपाल र चीनको सीमा विवादको सवालमा पनि सरकारले सत्य, तथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले भने, ‘नेपाल र चीनको सीमा छ, त्यहाँपनि धेरै ठाउँमा अतिक्रमण भएको छ भन्ने कुरा पत्रपत्रिकामा आएको छ । हामीलाई थाहा छैन् । चिनियाँ सरकारले होईन भनिरहेको छ । यो विषयमा पनि छानबिन गरी सरकारले सत्थ–तथ्य बाहिर ल्याउनुपर्छ । र, अतिक्रमण भएको छ भने त्यो विषयमा चिनियाँ सरकारसँग कुरा उठाउनुपर्छ । तर, वर्तमान सरकार गम्भिर छैन् । गम्भिरताका साथ यी कुराहरु सम्बन्धित ठाउँमा नउठाउनाले यी जटिलताहरु थपिरहेको हामीले महशुस गरिराखेका छौं । यो जमिन नेपालकै रहनुपर्छ । तथ्य र प्रमाणलेपनि यही भन्छ ।’ महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताए । उनले थपे, ‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’ उनले मुलुकमा यतिवेला मुल्यवृद्धि संस्थागत भइरहेको बताए । कर बढिरहेको र आस्थाका आधारमा सेवासुविधामा भेदभाव भैरहेको पनि उनको टिप्पणी छ । उनले भने, ‘जनताका पिर मार्काप्रति सरकार पुरै उदासिन छ । राज्य संयन्त्र, संवैधानिक निकायलाई र पुलिस प्रशासनलाई सरकारले आफ्नो छायाँमा राख्ने कोशिस गरिरहेको छ । त्यतिमात्रै होईन, यही उपनिर्वाचनमा पनि निर्वाचन घोषणा भएर आचारसंहिता लागु भैसकेपछि पनि आफूअनुरुप काम गराउनको लागि सुरुवा बढुवादेखि ठूलो चलखेल भैरहेको छ । जुकसुकै मूल्यमा पनि चुनाव जित्नुपर्छ सरकारले साम, दाम, दण्डभेद प्रयोग गर्ने मनशायमा छ ।’ तर, सरकार पक्षका उम्मेद्धवारलाई पराजित गर्नुपर्छ भन्ने जनभावना आफूहरुले पाएको उनको दाबी छ । उनले भने, ‘यो उपनिर्वाचनको परीणाम हाम्रो पक्षमा आउँछ । वडा सदस्यदेखि केन्द्रिय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह छ । समर्थन छ । हामी सबै एकतावद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भएपनि आफ्नो पक्षमा परीणाम ल्याउने कोशिसमा छ । सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्छ । यो निर्वाचनमा परिवर्तनको पक्षमा परीणाम आउदा सरकारलाई सशक्त सन्देश जान्छ ।’ महतले वर्तमान सरकार पुरै असफल भएको दाबी गरे । ‘यो हामीले भनिरहेको होईन, आम जनता सबै निराश छन् । जनताको कुरा छोडौं, कम्युनिष्ट पार्टीकै स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले नै असन्तुष्ट छन् । उहाँहरु यही उपनिर्वाचनको क्रममा नेपाली कांग्रेसको पक्षमा र समर्थनमा उत्रिनुभएको छ । सबै मोर्चामा यो सरकार असफल छ। भ्रष्टाचार संस्थागत भैरहेको छ । राजश्वको व्यापक दुरुपयोग भैरहेको छ । सरकारले आफैं उपभोक्ता समिति बनाउने अनि आफ्नो मान्छेमार्फत बजेट प्रवाह गर्ने काम भैरहेको छ । समग्र रुपमा सरकार ठीक बाटोमा छैन् । परराष्ट्र सम्बन्धमा पनि सरकारको विश्वसनियता एकदमै कमजोर भैरहेको छ । लगानी आउन सकेको छैन् । हाम्रा छिमेकी राष्ट्रहरुदेखि अरु राष्ट्रहरुसँग हामीले हाम्रो स्वार्थलाई केन्द्रमा राखेर सम्बन्ध विकसित गर्न सकेका छैनौं ।’ उनले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्् यसमा सरकारकै कमजोरीको कारणले भएको आफूहरुको ठहर रहेको सुनाए ।
लागुऔषध मुद्दाका फरार प्रतिवादी २ महिला पक्राउ धादिङ । धादिङमा लागुऔषध मुद्दाका फरार प्रतिवादी २ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अदालतबाट १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएकी ५० वर्षीया सरिता भन्ने दूर्गा तामाङ र १ वर्ष ६ महिना कैद र १० हजार जरिवाना तोकिएकी गल्छी गाउँपालिका ७ की ३२ वर्षीया गंगा श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद भुक्तानको लागि मंगलबार नै कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।
शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा बिपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन् । बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिएका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैर सरकारी संघ संस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ । चिसो हिमपात तथा शीतलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो । गत वर्ष सरकारले चिसो हिमपात तथा शीतलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्वल बाडेको थियो । कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँरटोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ ।
बझाङको पौवागढीमा केन्द्र बनाएर गयाे शक्तिशाली भूकम्प काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका पौवागढीमा केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार साँझ ७ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’ विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्ने धारणा आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् । राष्ट्रिय मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका विभिन्न बुँदाबारे छलफल गर्न यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । संयुक्त राष्ट्रसङ्घको स्थापनापछि मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नका लागि संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार कानून र सो सम्बन्धी विभिन्न प्रकारका संयन्त्रहरुको विकास गर्दै आइरहेको छ । सो सन्दर्भमा सदस्य राष्ट्रहरुलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने एवं मानव अधिकारप्रतिको प्रतिबद्धताको पालना गराउने उद्देश्यसाथ स्थापना भएको मानव अधिकार परिषद्को अगामी सन् २०२० मा नेपालले गरेको प्रगतिका विषयमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सर्वसम्मत बनेको नेपालको संविधान २०७२ ले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए । उनले महिला, बालबालिका र फरक क्षमता भएका मानिसहरुको अधिकारलाई रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयनको आवश्यकता औँल्याए । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको पहिलो रक्षक राज्य भएकाले यसतर्फ राज्यको पूर्ण ध्यान जानुपर्नेमा जोड दिए । प्रदेशका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले मानव अधिकारको क्षेत्रमा नेपालको संविधान, कानून र जागरणको हिसाबले अगाडि छ भने । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव, पृथ्वी, समुन्नति, सुरक्षा र सुशासनलाई बलियो बनाउन सकियो भने मानव अधिकारमा प्रश्न उठ्न नसक्ने दाबी गरे । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले मानव अधिकारका क्षेत्रमा शाक्तिशाली राष्ट्रहरु पनि कमजोर देखिएकाले यसको समीक्षा हुनु जरुरी भएको बताए । प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले मानव अधिकार संरक्षणको सन्दर्भमा नेपाल प्रहरीले कानुनअनुसार काम गरिरहेको चर्चा गरे । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले राज्य संयन्त्र मानव अधिकारको क्षेत्रमा कमजोर भएको महसुस भइरहेको चर्चा गरे । कार्यक्रममा सुनसरी, मोरङ र झापाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानव अधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो । रासस
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सम्हाले कार्यभार काठमाडौं । प्रधानमन्त्री केपी शर्माका प्रेस सल्लाहकार सूर्य थापाले कार्यभार सम्हालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार दिउँसो पत्रकारहरु भेला पारेर कार्यभार सम्हालेका हुन् । त्यस अवसरमा उनले प्रधानमन्त्री कार्यालयबाट प्राप्त हुने सबै सूचनामा पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस नोटमार्फत् अन्य मन्त्रालयका लोकप्रिय कार्यक्रमबारे पनि आफूले समाचार माध्यामहरुलाई जानकारी दिन पहल गर्ने पनि बताए । तर संचार माध्यामहरुले अनुमानको आधारमा समाचार भने बनाउन नहुने पनि उनले पटकपटक दोहोर्याए । आफू सूचना लुकाउने संस्कृतिबाट नआएको थापाको भनाई थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनताबीच सरकारको सत्य, तथ्य र यथार्थपरक जानकारी मिडियामार्फत सार्वजनिक गराउन आफू सदा तत्पर हुने पनि बताए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका उनले आफूले सूचना लुकाउन दिनु हुँदैन भन्ने मान्यताको आधारमा प्रेस नोट जारी गर्ने प्रचलन सुरु गरेको दावी समेत गरे ।
विश्व बैंकको आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने काठमाडौं । विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ । विप्रेषणलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिए । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ । बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताए । प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एसियामा भने आर्थिक वृद्धिदर केही घट्न गएको पनि स्पष्ट पारिएको छ ।
वर्षेनी बालअधिकार हननका घटना बढ्दै, हराए २३ सय ३० बालबालिका काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पारिन् । ‘नेपालमा हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको हाम्रो अध्ययनले देखाएको छ,’ मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘तर यसबारे सरकार पूरै बेखवर छ ।’ यसबारे गैर सरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ । आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्र्याएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताइन् ।
निर्मला हत्याकाण्ड : पत्रकार भण्डारी १ घण्टा जेल बसेर छुटे काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई दिएको ‘तुच्छ सजाय’ अन्तर्गत कारगार पठाएको छ । मगलवार अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना सहित एक घण्टा कारागार पठाएको हो । पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा छन् । जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको थियो । मुद्दामा जिल्ला अदालतले भण्डारीविरुद्ध एक घण्टा जेल र एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । गत साउनमा न्यायाधीश डाक्टर राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो। त्यसमा केही सर्तहरू राखिएका थिए । सर्त पूरा नगरेको खण्डमा मात्र अदालतले दिएको सजाय भोग्नु पर्ने हुन्छ । त्यति मात्र होइन, सर्त पूरा गर्न तीन दिनको समय समेत छुट्ट्याइएको थियो । विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी समाचार लेखेको भन्दै कञ्चनपुर जिल्ला बारले मुद्दा दायर गरेको थियो । निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणमा जोडिएका आठ प्रहरी विरुद्धको मुद्दामा हद म्याद लगायतका प्राविधिक विषयमा अदालतले एमिकस क्यूरी गठन गरेको थियो । सो विषयलाई मानस खण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले ‘निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन !’ शीर्षकमा समाचार छापेका थिए । समाचारमा ‘एमीकसका रूपमा पठाइएका अधिवक्ता हरेन्द्रराज विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दाबी गरिएको थियो । न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दाबी गरिए पनि समाचारमा ‘दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन’ लेखिएको थियो । पत्रकार भण्डारीले फेसबुक तथा पत्रिकामा अदालतको मानहानी हुने गरी लेखेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको थियो । अदालतको फैसलामा पत्रकार खेम भण्डारीलाई ‘तुच्छ सजाय’ दिनुको कारण समेत स्पष्ट खुलाइएको थियो । फैसलामा लेखिएको थियो । ‘यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ । यस्तो अवस्था कहिलेकाहीँ क्षतिपूर्ति भराउने सम्बन्धमा पनि देखा पर्दछ। वादीले मुद्दा नगरेको भए हुने थियो तर गरिहाल्यो भनेर यस्तो प्रकृतिको क्षतिपूर्ति पनि भराउने हुन्छ । यस्तो क्षतिपूर्ति पायो भने दावीकर्तालाई संदेश प्रवाह हुन्छ कि (अधिकार भन्दैमा सस्तो लोकप्रियताका लागि दावी गर्ने भन्ने हुँदैन । विचार गर । त्यसैगरी सजाय पाउनेलाई तेरो लागि सजायको प्रकृति पनि शोभनीय छैनस् । तँ त्यति तुच्छ होस् भन्ने हुन्छ ।’ भण्डारीको फैसलामा भनिएको थियो । ‘यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ । बरु १ वर्ष कैद बस्न उपयुक्त हुन्छ । सहि, सद्धे मानिसलाई १ मिनेटको कैद वा १ दामको जरिवाना सामाजिक एवम् मानसिक रूपमा पीडादायक हुन्छ ।’
छुट्टाछुट्टै ठाउँमा ४ जना मृत अवस्थामा फेला काठमाडौं । मंगलबार देशका विभिन्न ठाउँमा ४ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका ८ गोलखडास्थित भिरमा सल्यान कपुरकोट गाउँपालिका १ उनबाङ बस्ने २२ वर्षीय गोपाल राना मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ६ स्थित ईन्द्रावती खोलामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ गंगोरटोल बस्ने २८ वर्षीय लाक्पा तामाङ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोटको विदुर नगरपालिका १ पाण्डे गाउँ बस्ने ४० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित खोल्सामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । धादिङको गजुरी गाउँपालिका २ फुर्केखोलास्थित त्रिशुली नदीको किनारमा भक्तपुर सूर्यबिनायक नगरपालिका ५ बस्ने ३८ वर्षीय विकल श्रेष्ठ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक ३० गते गजुरी गाउँपालिका २ चम्बासस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सागका लागि राष्ट्रिय टिमको तयारी पूरा काठमाडौं । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरे मंसिर १५ देखी २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ । संयोजक रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताए । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिबेला १२ खेल समावेश गरिएको थियो । रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कुल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले थपे । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटीले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । साग तयारीका लािग वैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ छुट्याएको बताए । प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ । त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका हुनेछ ।
नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवापुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङ शुवडीपल नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका छन् । प्रहरी चौकी ईनरुवा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनुषा, धनौजी गाउँपालिका–४ भडहरीयाबाट नियन्त्रित लागूऔषध नाईट्रोभ्याट १ हजार ५ सय ट्यावलेट सहित जनकपुर उपमहानगरपालिका–२ कदमचोक बस्ने धनुषाधाम नगरपालिका–५ घर भएका २३ वर्षीय चन्देश्वर महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त ट्यावलेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भ्रमण वर्ष २०२० को स्टिकर टाँस्न सबै सवारी साधनलाई अनुरोध काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधन टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरे । उनले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्त संहारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका सञ्चालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराए । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो । महाशाखाले सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिए दुर्घटना न्यूनिकरणमा पनि सघाउने पुग्ने तर्फ पनि यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर सबै सवारी साधनमा टाँस गरेर सो भ्रमण वर्षलाई सफल बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । साथै महासचिव सिटौलाले सरकारले सडकको उचित व्यवस्थापन गर्नुपर्ने आग्रह गरे । सडकमा खाल्डाखुल्डी भएकाले सवारी साधनको जति सफाई गरे पनि नहुने अवस्था भएकाले सरकारले सडकको उचित व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाले बताए । महासंघले यस अघि पनि पटक पटक सडकको खाल्डाखुल्डी पुरेर सवारी साधानको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सरकारसँग माग गर्दै आएको छ ।
सेनाका जवान मृत्यु प्रकरण : ढकाललाई पाँच दिन हिरासतमा राखिने चितवन। नेपाली सेनाका एक जवानको मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले सोमबार पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो । मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा आइतबार उजूरी दर्ता गराएको थियो । ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो । ईच्छकामना–५ निवासी २८ वर्षीय फिस्लिङमा रहेको अस्थायी प्रहरीचौकीमा राखिएका समयमा आइतबार बिहान बरण्डाबाट हामफालेर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कँडेल नेपालीको बर्दबहादुर गणमा कार्यरत जवान हुन । उनको हत्या भएको भन्दै परिवार स्थानीयवासीले हिजो र आज पृथ्वी राजमार्ग बन्द गराएका थिए । घटना शङ्कास्पद भएपछि उनको शव परीक्षणका लागि काठमाडौंँ लगिएको छ । रासस
गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार दमक । झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्। बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४/५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको र खुकुरी प्रहारमा संलग्न मेचीनगर–९ का १७ वर्षीय सुमन सुन्दास, सोही स्थानका १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सञ्जु तामाङ, २२ वर्षीय हर्कराज राई, २० वर्षीय दिप्सन नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। खुकुरी प्रहार गर्ने दीपक तामाङ र सुरज तामाङ हाल फरार रहेका छन् । उनीहरुको खोजी कार्य तीव्र बनाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
८४ पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान अर्घाखाँची । अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गरेका छन् । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गरेका हुन् । उनले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद रु पाँच हजार पाणिनी–२ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गरे । चौरासी पूजामा खर्च नगरी जग्गानै विद्यालयलाई दिएको र उक्त जग्गाले विद्यालयको श्रीवृद्धिमा काम गर्ने भएकाले उक्त जग्गादान गरेको ८४ वर्षीय वृद्ध सार्कीले बताए । आफूले गरेको काम सबैका लागि प्रेरणा हुने सार्कीको भनाइ छ। विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपुर्जा वृद्ध सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गरे । “एक दलित परिवारको वृद्ध भएर पनि मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरी समाजकै उदाहरणीय काम गरेका छन् । यसबाट हामी सबैले सिक्न जरुरी छ”, वडाध्यक्ष भट्टराईले भने । विद्यालयको विकासमा यो जग्गादानले उल्लेखनीय भूमिका खेल्नेछ । कार्यक्रममा शिक्षक अविभावक सङ्घका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनालले दाता सार्कीको कार्यको प्रसंशा गरेका थिए।
धौलागिरि हिमालको आधार शिविरमा सूचना केन्द्र म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ। धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो। गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए । भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उनले बताए। “मुस्ताङ र म्याग्दी भएर धौलागिरि आधार शिविरमा आउने जाने पर्यटकको तथ्याङ्क राख्न लागिएको हो”, अध्यक्ष पुनले भने, “आधार शिविरमा पुगेका पर्यटक र सहयोगीलाई प्राथमिक उपचार सेवा उपलब्ध गराउँछौँ।” सूचना केन्द्रमा एक जना स्वास्थ्यकर्मी खटाइने छ । चिसोका कारण आधार शिविरमा बिरामी हुन्छन् । उनीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधोपचार उपलब्ध गराउने योजना छ। पर्यटक तथा पर्यटन व्यवसायी र स्थानीयवासीको मागको आधारमा चेकपोष्ट राख्न लागिएको हो । आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पुर्याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्ने स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलीजाले बताए। धौलागिरि हिमाल आरोहण र पदयात्राका लागि वार्षिक करिब ३०० जना पर्यटक आउने गरेका छन् । यसैगरी आधार शिविरसम्म मोबाइल सेवा विस्तारको तयारी भएको छ । नेपाल टेलिकमसँगको साझेदारीमा बगर गाउँदेखि चार घण्टा पैदल उकालो हिँडेर पुगिने देउरालीमा बिटिएस टावर स्थापना गर्न लागिएको वडासदस्य बमबहादुर पुनले बताए । गाउँपालिकाले बिटिएस टावर स्थापना गर्न भवन बनाउन बजेट विनियोजन गरेको छ। गुर्जा र आधार शिविरलाई लक्षित गरेर बगरको देउरालीमा टावर राख्न लागिएको हो। यस्तै बगर तातोपानी कुण्डको पानीलाई पदमार्गअन्तर्गत जेल्तुङमा ल्याएर स्नानगृह सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए । रासस
करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार सुर्खेत । यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ । स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार छन् । गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।