content
stringlengths
31
27.4k
छतिस हजार नगद सहित एक जना पक्राउ धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सहकारी संस्थाको र बैंकका सटर फुटाइ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ति नगरपालिका ३ लोथर घर भई हाल बेनिघाट गाउपालिका ५ बस्ने १८ बर्षका निरज चेपाङ रहेको धादिङ प्रहरीले जनाएको छ । मंसिर ८ गते कषि सहकारी संस्था लि.को काउन्टरबाट ८९ हजार ७ सय ५ चोरी गरेका उनलाई ३६ हजार सात सय चालिस रुपैयाँको साथमा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई हिरासतमा लिई म्याद थप गरेर अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ ।
मुआब्जा पुनःविचार गर्न माग गर्दै आन्दोलन काठमाडौं । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मुल्य निर्धारण भएको बताएका छन् । यो भन्दा पहिले सहमति गरेर मुल्य निर्धारण गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मुल्य निर्धारण गरिएको उनले बताए । पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । प्रदर्शनका क्रममा सरोकारवालाहरुले ‘अव्यवहारिक मुअब्जा निर्धारण मुल्य मान्दैनौं, घोषित मुआब्जा चाँहिदैन, घरजग्गाको एकमुष्ट मुल्याङ्कन गर’ लगायतका नारा लगाएका थिए ।
चोरीका घटना बढ्दै गएपछि पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा गस्ती काठमाडौँ । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ। पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो। पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक गस्ती गर्ने व्यवस्था गरेको हो। “नगरले बजार क्षेत्रमा सुरक्षा–गस्तीको माग गरेकाले सोहीअनुसार दैनिक रातको समयमा दुईपटक गस्तीको व्यवस्था मिलाएका छौँ”, सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टर प्रमुख प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले भने । उनका अनुसार पाँचखालको सुरक्षाका लागि १० देखि १२ जनासम्मको सशस्त्र प्रहरीको टोलीले दैनिक गस्ती गर्नेछ। पाँचखालमा सुरक्षा चुनौती थपिएपछि सशस्त्र प्रहरीको सहयोग मागिएको नगरप्रमुख महेश खरेलले बताए। “पाँचखालमा जनपद प्रहरीको सङ्ख्या न्यून भएकाले रातको समयमा सशस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको हो”, खरेलले भने । उनले पाँचखालमा रहेको दमकल पनि सशस्त्र प्रहरीको सुरक्षामा राखिएको र उनीहरुकै जनशक्तिद्वारा आगलागी जस्ता दैवीप्रकोपमा सञ्चालन गरिने बताए । पाँचखालको सुरक्षा थप मजबुत बनाउन हाल १० स्थानमा सिसी क्यामेरा राखिएको र थप सातवटा क्यामेरा थपिने ४ नं वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए । यसैबीच, कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको बजेटमध्ये रु ५० लाख ५० हजारमा खरिद गरिएको दमकल सञ्चालनका लागि मङ्गलबारदेखि सशस्त्र प्रहरीलाई दुईदिने तालीमको आयोजना गरिएको छ। युकेस्थित डेभोन एन्ड सोमर्सेट फायर एन्ड रेस्क्युद्वारा सञ्चालित तालीममा सशस्त्र प्रहरीका २४ जनालाई विशेष तालीम दिइएको हो। तालीमका अवसरमा वारुण नियन्त्रणका क्रममा आवश्यक पर्ने थप उपकरण, लाइफ ज्याकेट तथा वारुण नियन्त्रक पोसाक रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको छ।
‘बीओपी‘ स्थापनाका लागि जग्गा खोज्दै सशस्त्र प्रहरी बल काठमाडौं । भारतीय भूमि नजिक रहेको कैलाली जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (सीमा सुरक्षा कार्यालय) स्थापनाका लागि जग्गा खोजी गर्न थालिएको छ । सीमा क्षेत्रको बङ्गारा कटान, जुगेडा, खोनापुर, भुँइयाफाँटा, हिक्मतपुर र श्रीलङ्का टापुमा गरी छ ठाउँमा बीओपी कार्यालय स्थापनाका लागि जग्गाको खोजी भइरहेको धनगढीस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख प्रहरी उपरीक्षक कमल तिउसिनाले बताए । ‘सीमा क्षेत्रमा तत्कालका लागि १० किलोमिटरको दूरीमा एउटा बीओपी राख्न सकिने गरी योजना बनाएका छौँ’, प्रहरी उपरीक्षक तिउसिनाले भने, ‘यसका लागि जग्गा खोज्ने काम भइरहेको छ ।’ सीमा क्षेत्रको भुँइयाफाँटाको हकमा त्यहाँ रहेको एक माध्यमिक विद्यालय नजिकको खाली रहेको पुरानो भवनमा स्थानीय पालिका र जनतासँगको समन्वय र सहयोगमा बीओपी कार्यालय स्थापनाको प्रयास गरिएको छ । छ वटा नयाँ ठाउँमा सरकारी ऐलानी पर्ती जग्गा खोजेर बीओपी कार्यालय स्थापना गर्ने प्रयासमा स्थानीय पालिकाले सहमति दिइसकेको जनाइएको छ । सीमामा तीन वटा सीमा कार्यालय कैलाली जिल्लाको भारतसँग सीमा जोडिएको १ सय १ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको फूलबारी, लालबोझी र खक्रौलामा गरी जम्मा तीन वटा मात्र सीमा कार्यालय सञ्चालनमा छन् । फूलबारी र लालबोझीमा पहिल्यैदेखि कार्यालय रहेकामा खक्रौलामा गत वर्षदेखि सशस्त्र प्रहरी बलको सीमा कार्यालय स्थापना गरिएको हो । यही दूरीमा सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २१ ठाउँमा कार्यालय रहेको बताइएको छ । सीमा सुरक्षाका साथै आपराधिक गतिविधि नियन्त्रणको काम गर्दै आएको सशस्त्र प्रहरी बलको सीमा कार्यालयमा पर्याप्त साधन स्रोतको भने अभाव रहेको छ । दुई देशको सीमा क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीले कतिपय ठाउँका सीमा स्तम्भ पुरेको, वर्षायामको समयमा दुवैतर्फको भूमि बाढीले कटान गर्ने गरेको जस्ता समस्या पहिले देखिनै रहेको छ । ६७ सीमा स्तम्भ फेला पर्न सकेनन् कैलालीको पूर्वश्रीलङ्का टापुदेखि पश्चिम डोकेबजारसम्मको १ सय १ किमी लामो अन्तर्राष्ट्रिय सीमाको दूरीमा मुख्य ५३ र सहायक २ सय २९ सीमास्तम्भ रहेकामा यीमध्ये मुख्य १३ र सहायक ५४ वटा सीमास्तम्भ फेला नपरेको तथ्याङ्क रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ । मुख्य ३९ वटा सीमास्तम्भ सबुत अवस्थामा रहेकोमा एक सीमा स्तम्भ मर्मत गर्नुपर्ने देखिएको छ । नेपाल—भारतको संयुक्त सीमा सर्भे नापी टोली नं ४ ले गत वर्ष मुख्य सीमास्तम्भ सात वटाको निर्माण र नौ वटा स्तम्भको मर्मत गरेको थियो । यस्तै, सहायक स्तम्भमध्ये २५ वटाको मर्मत र ४१ वटा नयाँ निर्माण गरिएको थियो । सबुत अवस्थामा १ सय ७१ सीमास्तम्भ रहेकामा थप चार वटाको मर्मत गर्नुपर्ने देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक कैलालीको सीमा क्षेत्रमा एक ‘रिफरेन्स’ सीमा स्तम्भसमेत रहेको छ । भारतले हालै आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेको घटनापछि बढेको चिन्ता र जनचासोसँगै नेपाल भारतका सीमामा थप ठाउँमा सशस्त्र प्रहरी बलका बीओपी स्थापना गर्ने प्रयास थालिएको बताइएको छ । प्रदेश सरकारको पहल भारतले आफ्नो नक्सामा दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको घटनाका विषयमा प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले नेपालको भारतसँग दार्चुलालगायतका अन्य भू–भागमा देखिएको अन्तर्राष्ट्रिय सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट यथाशीघ्र समाधान खोज्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गएको कात्तिकमा नै गरेको थियो । दार्चुलाको व्यास गाउँपालिका–२ को तुम्लिङदेखि टिङ्कर र साङ्ग्रु भन्ने गाउँसम्म नेपाली गाउँबस्ती भएर आवागमन गर्ने घोरेटो बाटो प्रदेश सरकारले नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने र सुदूरपश्चिम प्रदेशको कालापानीसहित भारतसँग सीमा जोडिएको सिमाना र सीमा नाकामा आवश्यकतानुसार प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो ।
पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण हस्तान्तरण काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष मंगलबार हस्तान्तरण गरेको हो । नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक कार्ल ए रिशिमले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । नेपाल प्रहरीलाई पोलिग्राफ प्रविधिको शुरुआतदेखि नै यसको विकासका लागि अमेरिकी राजदूतावासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदैआएको छ । अहिलेसम्म अमेरिकी राजदूतावासले पोलिग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ प्रहरी अधिकृतलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधासम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नाका साथै पोलिग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको छ । यसैगरी, अमेरिकी राजदूतावासले नेटवर्किङ उपकरण हस्तान्तरणसमेत गरेको छ । दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पूर्व), जुम्ला, कालीकोट, डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरण सहयोग गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक रिशिमले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुनिलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो गलकोट । बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने स्थानीयवासीले जनाएका छन् । घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का आठ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको बुर्तिवाङ स्वास्थ्य केन्द्रका डा मनोज मल्लले बताए । दुर्घटनास्थलमा लडेर घाइते भएका एक बालकलाई समेत सोही हेलिकोप्टरमा काठमाडाँै लगिएको छ । उद्धारका लागि सेनाको हेलिकोप्टरमा गुल्मीका पूर्वमन्त्री गोकर्ण विष्टसमेत आएका थिए । घाइतेलाई उद्धार गरी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिए पनि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडाँै लगिएको हो । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई जीप बडिगाड खोलामा दुर्घटना भएको थियो । जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो । जीप क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी इस्मा गाउँपालिका–७ गुल्मीका देवीराम कार्कीले जानकारी दिए । रासस
विकासोन्मुख देशहरुमा नारीशोषण बढी काठमाडौं । धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् । महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउँमा महिला हिंसा बढ्दै गएको बताएका हुन् । सन १८७० देखि संयुक्त राष्ट्रसँघले महिला हिंसा विरुद्धको अभियान चलाएको भएपनि विकासोन्मुख मुलुकहरुमा अझैपनि धर्मको नाउँमा कुनै न कुनै हिंसा हुने गरेको उनीहरुको भनाई छ । धार्मिक अगुवाहरुले महिलामाथि हुने गरेको पीडा, क्षति, अपहेलना, ठगी, अपमान र दुव्र्यवहार नै हिंसा भएको बताउँदै ती सबै कामहरु धर्मकै नाउँमा हुने गरेको बताएका छन् । उनीहरुले यसबाहेक महिलाले परिश्रम गरेबापत पाउने मूल्य, व्यक्तिगत स्वतन्त्रता, शिक्षा, घरेलु कामको विभाजन, अर्थ व्यवस्थाको जिम्मेवारी, पारिवारिक विषयप्रतिको रायसुझाव र निर्णय लगायतका काममा समेत हुने विभेद नै महिला हिंसा भएको बताएका छन् । उनीहरुले धर्म जीवन शैली भएको तर त्यसको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको बताएका छन् । हरेक वर्ष नोवेम्बर २५ मा ‘महिला हिंसा विरुद्ध अन्र्तराष्ट्रिय दिवस’ मनाउने गरिन्छ । सोही अनुसार नेपालमा पनि २५ नोवेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान देशैभर सञ्चालन गरिने भएको छ ।
‘अवसर पाए सपाङ्गसरह गर्न सक्छौँ’ भरतपुर । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा किराना व्यवसाय गर्दै आउनुभएका न्यून दृष्टियुक्त पर्शुराम पौडेलले राज्यले अवसर नदिए पनि आफैँ व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउछन् । उनले विसं २०६० देखि भाडामा सटर लिएर व्यवसाय गर्दै आएको आएका हुन्। सानो व्यवसायबाट शुरु गरेका उनले अहिले त्यसलाई विस्तार गर्दै परिवारको पालनपोषण र शिक्षादीक्षा सहजरुपमा गर्दै आएका छन् । छरछिमेकमा रहेका साङ्गको भन्दा सहज जीवनस्तर चल्दै आएको छ उनको । २८ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा भरतपुरमा भेला भएका अपाङ्ता भएका व्यक्तिका प्रतिनिधिले आफ्नो धारणा सुनाउने क्रममा उनले भने, ‘राज्यले अवसर दिए अरु धेरै गर्न सकिन्छ ।’ भरतपुरको धर्मचोकका मनबहादुर पुनको एउटा खुट्टै चल्दैन तर, उनले धर्मचोकमै प्रोभिजनल स्टोर सञ्चालन गर्दै आएका छन् । उनले भने ‘अपाङ्गता भएको व्यक्ति भन्दैमा यसै बसेर हुँदैन । केही त गर्नै पर्छ । ग¥यो भने सकिन्छ ।’ करिब २५ वर्ष अघि दुर्घटनामा परेपछि उनको एउटा खुट्टा चल्दैन । पुनले सात वर्षयता व्यवसाय गर्दै आएका हुन । यही व्यवसायबाट उनको परिवार धानिएको छ । लगानी बढाउन नसक्दा सोचे जति प्रतिफल नपाएको गुनासो गर्दै उनले भने, ‘बैले मुखले सहयोग गर्छु भन्छन् तर कसैले गर्दैनन् । अपाङ्गता भएकाले गर्न सक्दैन भन्ने धेरैको सोचाइ छ ।’ सबैले आआफ्नो क्षमताअनुसार काम गर्नसक्ने भएकाले अपाङ्गता भएका व्यक्तिले पनि आत्मविश्वासका साथ काम गरेमा सफल हुने उनको भनाई छ । माडी नगरपालिका–७ कल्याणपुरका यमनाथ सुवेदीको पोलियो रोगका कारण एउटा खुट्टा चल्दैन तर पनि यसै बसेका छैनन् । उनी माडीकै जनकल्याण माविको सहायक प्रधानाध्यापक भएर काम गर्दै आएका छन् । नेपाली र सामाजिक विषय अध्यापन गराउने उनले भने, ‘समाजको नजरमा मात्रै फरक हो । तर अपाङ्गता भएका व्यक्तिले सपाङ्गसरह काम गर्न सक्छन् ।’ समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने भन्दै उनले अवसर पाएमा ध्यानचित्त लगाएर अपाङ्गता भएकाले काम गर्ने भएकाले सङ्गको भन्दा प्रतिफल आउने सुवेदीले बताए । समाज र अभिभावकले अपाङ्गताको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनुपर्ने बताउँदै उनले राज्यले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए । गोरखा घर भई भरतपुर महानगरपालिका–१६ मा एक प्राथमिक विद्यालयमा पढाउँदै आउनुभएकी लीला दवाडी आफुले सपाङ्गसरह पढाउन सक्ने बताउछन्। अपाङ्गमैत्री संरचना नहुँदा सबै ठाउँमा समस्या हुने गरेको भन्दै उनले सरकारी र सार्वजनिक निर्माण संरचना अपाङ्गतामैत्री हुनुपर्ने बताइन् । सडकमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावत गर्न अप्ठ्यारो हुने गरेको भन्दै उनले भने, ‘अपाङ्गतामैत्री सडक निर्माणमा राज्यले ध्यान दिनुपर्छ ।’ पछिल्ला वर्षहरुमा मुख्य शहरी क्षेत्रमा निर्माण हुने सडकमा अपाङ्गमैत्री बन्ने क्रम भने शुरु भएको छ । सरकारी कार्यालयमा पनि त्यस्तै संरचना बन्ने गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पछिल्ला वर्षहरुमा बन्ने संरचना अपाङ्गमैत्री बनाउने गरेको बताए । स्थानीय तहले उनीहरुको क्षमताअनुसारका अवसर दिनका लागि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । उनले भने, ‘राज्य अपाङ्गता भएकाको लागि अवसर प्रदान गर्न सकारात्मक रुपमा लागिपरेको छ ।’ सरकारले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्तासमेत दिँदै आएको छ । यद्यपि अवसरका कुरामा प्राथमिकतामा नपारिएको उनीहरुको गुनासो हुने गरेको छ ।
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो कलैया । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट‍‍्र, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेको मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए । मेलामा आउने करीब ९ बाटामा गाडी र पैदल हिँड्ने भक्तजनकाे उत्तिकै भीड रहेको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले बताए । भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको भारत मोतहारीका अच्छेलाल सहनीले बताए। यसैबीच, सोमबार राति साढै १ः०० बजे तान्त्रिक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३ः०० बजे करीब दुई घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि आज ७ः१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले बताए। करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ । मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताए। मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका बारागढी गाउँपालिका– ४ का श्रीचन्द्र साहले बताए । पाकेटमारले मोबाइल, सुन–चाँदीका गहना, नगदसमेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए । यसैबीच, मन्दिरका पूजारी मङ्गल चौधरीले बोका बलि बुधबार मात्र गरिने बताए। बिहान ४ः०० बजेदेखि बलि शुरु हुने पूजारी चौधरीले जानकारी दिए। रासस
लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बागलुङको कोप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका–७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान ९:४५ बजे बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) झविन्द भट्टराईले जानकारी दिए। दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको ज्यान गएको हो । उक्त दुर्घटनामा परी अन्य एक जना बालक बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रनाउ भट्टराईले बताए। ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी ।
बसले हानेर युवतीको ज्यान लिने चालक ३ वर्षपछि पक्राउ दमौली । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । भुजेलले चलाएको ना४ख ४०१८ नंको बसको ठक्करबाट ग४प ८८६६ नंको स्कुटरमा सवार व्यास नगरपालिका–११ बस्ने २९ वर्षीय ममता दुलालको मृत्यु भएको थियो। दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भीम दुलाल घाइते भएका थिए । घटनालगत्तै भुजेल फरार थिए । जिल्ला अदालतले भुजेललाई एक वर्ष ११ महिना आठ दिनको कैद ठहर गरेको थियो। दोषी भुजेललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
हस्तकलाले मौलिक परम्परालाई जगेर्ना गर्ने काठमाडौं । सरकारले उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकमा उद्यमशीलताको विकास गर्न व्यवसायीलाई सहुलियत ऋणमा कर्जा, भन्सारमा छुटको व्यवस्था गरी औद्योगिक वातावरण कायम गरिने बताएका छन्। उनले नेपालमा अमूल्य कला कृति निर्माण गर्न सक्ने सीप रहेकाले यस क्षेत्रमा निर्भर भई व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । देशको विकास र समृद्धिका लागि निजी क्षेत्रको ठूलो महत्व रहेको उल्लेख गर्दै उनले उद्यमीलाई उद्योग स्थापना गर्न विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने झन्झट रहेकाले सोको सञ्चालनका लागि सरकारले सबै काम एउटै निकायबाट पूरा हुने गरी व्यवसायीलाई सहजता प्रदान गर्ने गृहकार्य भइरहेको जानकारी दिए । महासंघ प्रदेश नं. ३ का सदस्य शोभा शाक्यले हस्तकलाको व्यवसायले हाम्रा मौलिक परम्परालाई जगेर्ना गरेकाले सरकारले त्यसको संरक्षण नीति अवलम्बन गर्नुपर्ने बताइन। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले अन्तरराष्ट्रिय बजारको माग अनुरुप गुणस्तरीय वस्तु उत्पादन गर्नुपर्ने र यसका लागि सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलन, बाँसका वस्तु राखिएका थिए । मेलामा सात प्याभिलियनसहित करिब २ सय कक्ष थिए । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको बिक्रीकक्ष राखिएका थिए । स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ । आन्तरिक बजारमा करिब १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेको बताइएको छ । यस क्षेत्रले देशभर करिब ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ । हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ । उक्त कार्यक्रममा हस्तकला प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा व्यक्तिलाई पुरस्कृतसमेत गरिएको थियो । रासस
अनुमतिपत्र लिन जाँदैनन् चालक काठमाडौं । सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ । लामो समयसम्म चालक अनुमतिपत्र लिन नआउँदा कार्यालयलाई त्यसको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए । उनका अनुसार कार्यालयमा अहिले ट्राफिक प्रहरी कार्यालयबाटै आएका झण्डै २५ हजार चालक अनुमतिपत्र छन् । लामो समयदेखिका अनुमतिपत्र वितरणका लागि त्यतिबेलाको फाइल खोजेर मात्रै दिने गरिएको छ । यहाँ रहेका अनुमतिपत्र वितरणका लागि समेत जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले बताए । “एकातिर यहाँ जनशक्ति नै कम छन् त्यसमा भएका जनशक्ति पनि यी काममा लाग्नुपर्ने अवस्था छ ।” ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गरेको भनी चिट काटेका सवारी चालकलाई सोही वर्षभित्र सेवाग्राही जाँदा सम्बन्धित कार्यालयबाटै चालक अनुमतिपत्र दिन्छ । ती कार्यालयले चिट काटेकै आवमा राजश्व बुझाउने र ट्राफिक नियमसम्बन्धी कक्षा लिएपछि चालक अनुमतिपत्र दिने गरेको छ । एक आवभरमा समेत चालक अनुमतिपत्र लिन नजाने चालकको भने अनुमतिपत्र यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्रका चार कार्यालय भए पनि ट्राफिक प्रहरीले भने कारवाही गरेका चालकको अनुमतिपत्र एकान्तकुना कार्यालयमा नै पठाउँदै आएको छ ।
बौद्धिक अपाङ्ग सम्मेलन काठमाडौँमा काठमाडौं । एशियाली बौद्धिक अपाङ्ग महासंघको २४औँ सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन्। सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए। उनले सुस्त मनःस्थितिको अवस्था जटिल भएका कारणले महासंघमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधिहरु नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलन आयोजना गरिएको बताए । यही मङ्सिर २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा ३ सय ५० जनाको सहभागिता हुनेछ । सम्मेलनमा १४ देशका प्रतिनिधिले आफ्नो देशमा सुस्त मनःस्थितिबारे भइरहेका जानकारीबारे प्रतिवेदन प्रस्तुत गर्ने उहाँले जानकारी दिए। सम्मेलनको अवसरमा पाँच विषयमा ३२ विषय विज्ञसमेतले कार्यपत्र प्रस्तुत हुनुको साथै दुई वटा महासंघका बैठकसमेत हुनेछ । बैठकले महासंघका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो ।
घरेलु तथा साना उद्योगको प्रवर्धन सरकारको प्राथमिकतामा : मन्त्री भट्ट काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आइतबार भएको भेटमा उनले भने, ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु ।’ उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन, समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह गर्दै समेत गरे । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेको बताए। ‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन, यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ’, उनले भने, ‘यसका पछाडि दुई–तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौँ, ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरु । त्यसैगरी, प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।’ रासस
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन्। सो घटना गए राति भएको थियो । चौधरी मृत फेला सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा आज एक मृतावस्थामा फेला परेका छन् । कपिलवस्तुका वाणगङ्गा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ।
‘पुरानै पदाधिकारीबाट न्याय पाउने आशा छैन’ काठमाडौं । द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा पुरानै पदाधिकारीलाई पुनः नियुक्ति गर्न नहुने जनाएको छ । चौतारीले सभामुखको सचिवालय सिंहदरबार, कानून, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र आज दर्ता गरेको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, “पीडितको भावनालाई कुल्चिएर पुरानै पदाधिकारीको पुनर्नियुक्ति संसद्को समेत अपमान र ऐनको भावना विपरीत हुन्छ ।” सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा गत चैत मसान्तदेखि पदाधिकारीको म्याद सकिएको थियो । अहिले नयाँ पदाधिकारीमा पनि पुनः पुरानै पदाधिकारीको नाम सार्वजनिक भएको छ । पुराना पदाधिकारीबाट न्याय पाउने आशा नभएकाले नयाँ पदाधिकारी ल्याउनुपर्ने चौतारीको माग छ । ध्यानाकर्षणपत्रमा हाल सिफारिस समितिले आयोगका पदाधिकारी सिफारिस गर्ने क्रममा यही मङ्सिर २ गते प्रकाशित गरेको सूचनामा पुराना र पदच्युत भएका व्यक्तिको नाम समावेश गरी प्रकाशित गरेकोप्रति आपत्ति व्यक्त गरिएको छ । रासस
उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु गाईघाट । जिल्ला अस्पताल उदयपुरमा आइतबार उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताए । बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान् प्रेमले लिएर आएका थिए । बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो । श्रीमान् रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ । रासस
ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहेकी छन् । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपतिद्वारा १३ औं सागको औपचारिक उद्घाटन काठमाडौँ । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी हुन्। उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्द बहादर पुन, खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा लगायत तथा अन्य मन्त्रीहरुको उपस्थित रहेको थियो। सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने बताएका छन्। सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ। सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ। १३औँ सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ।
अनुदानको सोलारमा ठगिएको रकम फिर्ता जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १ सय ८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् । ‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए। सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको बताए । दलित र जनजातिबाट मल्लले १ हजार ५ सय प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले १ हजार सोलार वितरणबाट १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो । जुम्लामा २ हजार २ सय १ वटा अनुदानका सोलार ल्याइएकामा नगरपालिकामा १ हजार, गुठीचौर गाउँपालिकामा १ सय ५० र तातोपानी गाउँपालिकामा ४ सय ७० सोलार वितरण भएको थियो । रासस
प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर बेझाड । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपर्थ्याे । समय फेरिएको छ, अब त्यो पिरलो छैन । पछिल्लो समय प्राविधिक धार अन्तर्गत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि रामपुर अध्ययनको थलो भएको छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ । रामपुर नगरपालिकाभित्र चार वटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ । सिटिइभिटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन् । आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ । यहाँ पढ्न आउने अधिकाँश विद्यार्थी बाहिरी जिल्लाका छन् । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाइने भएका कारण सिभिल इन्जिनीयरिङ अध्ययनका लागि हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताइन्। उनले हुम्लाबाट नेपालगञ्जसम्म १२ हजार रुपैयाँ हवाइ टिकट, नेपालगञ्जबाट रामपुरमा आउन गाडीमा ३ हजार खर्च लाग्छ, तै पनि कम शुल्कमा पढ्न पाइने भएपछि रामपुरमै आएको बताइन्। गुणस्तरीय शिक्षासँगै सस्तो शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइने भएपछि रामपुरमै आएको इलामकी अनिता खड्का बताउछीन्। ‘इलाममा पनि प्राविधिक शिक्षा पढ्न पाइन्छ तर, शुल्क धेरै महङ्गो पर्छ, यहाँ पढाइ राम्रो छ,’ उनले भनिन्। सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आएका छन् । शाही, खड्का र विक प्रतिनिधि पात्र मात्रै हुन् । उनिहरु जस्ता अधिकाँश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आई आफ्नो भविष्य बनाइरहेका छन् । सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नम्बर ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो । विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरु गरेको हो । विद्यालयले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेकाले पनि आकर्षण बढ्दो छ । डिप्लोमा तह सञ्चालन भएको वर्ष २०७४ मा ३९, २०७५ मा ४४ र यो वर्ष ३७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए । पढाइ सकेसँगै रोजगार पाउन सक्ने भएकाले पछिल्लो समय यहाँ प्राविधिक शिक्षाप्रति विद्यार्थी आकर्षित भएको प्रअ देवकोटाको भनाइ छ । पूर्वी पाल्पाकै शैक्षिक धरोहर मानिएको रामपुर नगरपालिका ५ बेझाड बजारस्थित रामतुलसी माविमा विसं २०७१ देखि तीनवर्षे डिप्लोमा तहसम्मका लागि कृषिबाली विज्ञान पठनपाठन भइरहेको छ । हाल यहाँ ६३ विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक बालकृष्ण लम्सालले भने, ‘कृषिबाली विज्ञानका लागि आवश्यक पर्ने सबै प्रयोगात्मक सामग्रीको बन्दोबस्त विद्यालयले गरेको छ ।’ गंगा माविमा तीनवर्षे पशुविज्ञान शिक्षाको कक्षा सञ्चालित छ । विसं २०७५ मा विद्यालयमा पशुविज्ञान शिक्षा शुरु भएपछि यस क्षेत्रका विद्यार्थीलाई धेरै सहज भएको प्रधानाध्यापक देवराज देवकोटाले बताए। रामपुरकै आधारभुत माविमा कक्षा ९ देखि १२ सम्म पशुविज्ञान पठनपाठन भइरहेको छ । विसं २०७४ देखि शुरु भएको यो विषयमा हाल कक्षा ९ मा २२, कक्षा १० मा १८ र कक्षा ११ मा २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रुपनाथ गौतमले जानकारी दिए । उनका अनुसार प्रयोगात्मक शुल्क मात्र लिएर कक्षा सञ्चालन गर्ने गरिएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको अवसर जुटेपछि विद्यार्थीलाई भौँतारिन नपरेको अभिभावक सरस्वती सोमै बताउछिन्। रामपुरबाट बुटवल, पोखरा, काठमाडौँ अध्ययनका लागि जाने क्रम अहिले न्यून छ भने अन्यत्रबाट रामपुर आउने क्रम बढ्दो छ । जिल्ला सदरमुकामदेखि करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिकामा वस्ती बढ्दै गएसँगै यहाँका नागरिकमा चेतना बढेको छ । पाल्पामा २२ वटा विद्यालयमा प्राविधिक विषयको अध्ययन अध्यापन भइरहेको छ । सिटिइभिटी मार्फत मान्यता पाएका दश विद्यालय र शिक्षा विभागबाट अनुमति पाएका ११ र काठमाडौँ युनिभर्सिटी मार्फत एउटा विद्यालय सञ्चालनमा रहेको शिक्षा समन्वय तथा कार्यान्वयन इकाई प्रमुख रमेशराज पौडेलले बताए।
चितवनको खैरहनी ५ मा कांग्रेसकी प्रतिमा कार्की विजयी चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्। कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
लमजुङमा उपनिर्वाचन : नेकपाका श्रेष्ठ विजयी लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाका अनुसार दुई हजार २९७ मतदाता रहेको सो वडामा ६६ दशमलव ३ प्रतिशत अर्थात एक हजार ५२३ मत खसेको थियो । खसेको मतमध्ये १२ मत बदर भएको उनले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।
बाजुरामा उपनिर्वाचन : त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार खकेन्द्रबहादुर चदारा ४७३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले जम्मा २९७ मत ल्याएर पराजित भएका छन् ।
उपनिर्वाचन बैतडी : सुर्नया गाउँपालिका १ मा कांग्रेस विजयी बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ४ अन्तरले विजयी भएका हुन् । उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट सात थुनुवा फरार लहान । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट आज साँझ सात जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६ः ३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रजिअ अधिकारीले बताए। इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए । सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान प्रहरीको छ । ठूलो सङ्ख्यामा एकै पटक थुनुवाहरु फरार भएकाले घटना बारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाइ छ । यता घटना बारे सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीसँग थप जानकारी लिन खोज्दा उनले कुरा गर्न चाहेनन् ।
उपनिर्वाचन २०७६ : कुमाखमा नेकपाका बुढाथोकी विजयी कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् । उनी ७९२ मत प्राप्त गरी विजयी भएका हुन् । बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे । यस्तै राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरे भने ६० मत बदर भएको थियो । कूल एक हजार ८३९ मतदाता रहेकामा एक हजार १२४ मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए । निर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो । तत्कालीन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो ।
उपनिर्वाचन : पुनर्वास नगरपालिका–३ मा नेकपा विजयी कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे । त्यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो ।
क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ । शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्कलीको युसी थिएटरमा प्रदर्शनी हुन गईरहेको आयोजकले जनाएको छ । यस कार्यक्रममा नेपाली चलचित्र समाज, गोल्डेन स्टेट चलचित्र मेकर, हिमालयन फाउन्डेसन कर्पोरेशनलगायतका संस्थाहरूको संयुक्त आयोजनामा नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकारको साथमा प्रदर्शनमा आएको हो । ‘आफ्नै नाम, शान र पहिचान’ भन्ने नारासहित आयोजना हुन गईरहेको अवार्ड नेली कलाकारहरु जमघट कुम्भमेलाको रुपमा हेरिएको छ । कार्यक्रममा नेपालदेखि अमेरिकामा रहेका कलाकारहरुको अभुतपूर्व जमघट हुदैछ । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतूले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका यज्ञलाल श्रेष्ठ बताउँछन्। यसै सन्दर्भमा नेपाली फिल्म अवार्ड–२०१९ को ऐतिहासिक क्षणमा ‘राईज अप’ वृतचित्र को पनि प्रदर्शनी हुने भएको छ । मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया Beverly Hills मा २ वर्षे अभिनय कोर्स पूरा गरि केही अन्तराष्ट्रय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् । जसमा एस राज प्रोडक्शनका शंकरराज वाग्ले र सन्जय कार्कीको छांयाकन रहेको छ भने यस वृतचित्रमा शंकरराज वाग्लेले निर्देशन गरेका हुन् ।
थवाङमा उपनिर्वाचन :  नेकपाका जनकबहादुर बुढा विजयी रोल्पा । रोल्पाको थबाङमा गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकालाई १४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेकपाका बुढाले एक सय ७४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका रोकाले २६ मत ल्याए । २०९ मत खसेकोमा ९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
दिनभर काम गरेर पनि रात परेपछि सडकमा सुत्नुपर्ने बाध्यता काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछि भन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडकको दायाँबायाँका सटरहरू बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैँ बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौँ कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देख्यौँ । बत्तीको उज्यालो र मानिसको चहलपहल बढेपछि बोराबाट मुन्टो निस्कियो । तब थाहा भयो, बोरामा त मान्छे रहेछन् । फेरि त्यही बोराबाट अर्को पनि मुन्टो निस्कियो । तातो हुने भएर होला एउटै बोरामा दुईजना पसेका । चिसो सडकपेटीमा सामान्य थोत्रा कपडा लगाएका उनीहरूको आश्रयस्थल, ओढ्ने ओच्छ्याउने सबै त्यही बोरा रहेछ । अघि देखिएका सबै बोरामा यसैगरी मानिसभित्र पसेर सुतिरहेको रहस्य केही क्षणमै खुल्यो । कोही कार्टुन त कोही पातलो मजेत्रोको सहारा लिएर जाडो छल्दै निद्रा पर्खंदै थिए । कोही एक्लै बरबराउँदै थिए । सडकपेटीको चिसो भुल्न धेरै मदिरामा लट्ठ थिए । ‘कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त ?’ उनीहरूकै भनाइमा दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षाैंदेखिको दैनिकी हो । गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए । उदयपुरका किरण र हिमाल मगर एउटै बोराभित्र थिए। नजीकै सिसा पसलमा काम गर्ने हिमालले यसरी सुत्नुको कारण खोल्दै भने, ‘कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त ?’ यति भनेपछि उनले मुन्टो बोराभित्र छिराए। उनका अनुसार यसरी सडक पेटीमा सुतेको वर्षौं भयो । हिमालसँगै एउटै बोरामा सुत्ने किरण कालीमाटी तरकारी मण्डीमा मजदुरी गर्छन । झण्डै १८ महिनादेखि किरणको दैनिकी पनि यसरी बितिरहेको छ । काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमका प्रतिनिधिमार्फत सडकमा यसरी बस्न नपाइने जानकारी पाएपछि किरणले सोधे, ‘के हामीलाई अब लान्छ ?, हामी काम गरेर खाने मान्छेलाई यसरी उठाएर लान कहाँ पाइन्छ, यो कसैको सडक होइन, हामी सुत्न पाउँछौँ ।’ आफ्नो कुरा सकेर किरणले पनि मुन्टो बोराभित्र छिराए। जब यहाँका सटर लाग्छन् तब मजदुर, मगन्तेको चहलपहल बढ्ने गरेको डिउटीमा रहेका ट्राफिक एक प्रहरीले जानकारी दिए। काठमाडौँको सोह्रखुट्टेमा पनि यस्तै दृश्य थियो । इलाम पशुपतिनगरका राजु तामाङ चोकको सडकपेटीमा एक महिलासँग लुट्पुटिएर सुतिरहेका थिए। हालसालै विदेशीले दिएको सुकिलो त्रिपालको ओत लागेर प्रतीक्षालयको कुनामा च्यातिएको मैलो मजेत्रो ओढेर सुतेका उनको निद्रा हामी पुग्ने वित्तिकै भङ्ग भयो । श्रीमती भनिएकी महिला भने गुट्मुटिएरै बसिन्। उनको काम कवाडी र कार्टुन टिप्ने तथा बेच्ने हो । सुतेकी महिला आफ्नै श्रीमती बताउने तामाङले यो आसपासमा १५/२० जना यसरी नै सुत्ने गरेका बताए । ‘आज हामी जानकारी गराउन आएको, अब भोलिदेखि यसरी सडकमा सुत्न हुँदैन, भोलिदेखि नबस्नुस् हैन’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइमा उनले मुन्टो हल्लाउँदै सहमति जनाए । यस्तै दृश्य शुक्रबार राति शोभा भगवतीको मन्दिरमा समेत देखिन्थ्यो । मदिरामा मस्त भएका व्यक्ति मन्दिर परिसरमा पनि लस्करै थिए । अत्यधिक मदिरा खाएकाहरू सिँढीमा त्यसै लडिरहेका थिए । नयाँ बसपार्क गोङ्गबु क्षेत्रमा माग्दै हिँड्ने भारतीय नागरिक बसपार्क छेउमा सानासाना टेन्ट लगाएर बसेका छन् । शुरुशुरुमा नेपाली नै भएको बताउने उनीहरूले पछि भारतीय भएको स्वीकारे । भारत रुपौडियाका मणिराम पत्थरकटले भने, ‘हामी केहीले बाटा बेच्ने गरे पनि महिला र बच्चा सडकमा माग्छन्, उनीहरूलाई लैजानुस्, हामीलाई केही नगर्नुस्, हामी बाटा बेचेर कमाउँछौँ ।’ बसपार्कमा झण्डै ५० जनाले यसैगरी माग्ने पेशा अङ्गालेका छन् । महिला र बच्चाले खुट्टै समाएर माग्दा यात्रु तथा पर्यटकले दिक्क मान्ने गरेका छन् । यसअघि उनीहरू नजीकै रहेको शिवमन्दिर क्षेत्रमा थिए । त्यहाँबाट हटाएपछि बसपार्कलाई आश्रयस्थल बनाए । बिहान बसपार्कमा आएका यात्रुसँग खुट्टा समाएर झुण्डिने गरेका नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदीले बताए। दुई हप्ताअघि उनीहरूलाई प्रहरीले भारत पठाएको भए पनि पुनः फर्केर आएको उनिहरु स्वीकार्छन्। नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । चालू आवको बजेट वक्तव्यमा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायलाई राज्यबाट संरक्षणको अनुभूति हुने गरी सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । कानून व्यवहारमा कार्यान्वयन हुन नसकिरहेका बेला मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरपालिकाले यहाँका मगन्तेलाई व्यवस्थापन गर्दै बेसहारालाई आश्रय दिएर पालनपोषण गरी परिवार पत्ता लगाएर पुनः मिलन गराउने अभियान थालेको छ । यही मंसिर २९ गते घोषणा गरी भोक मेट्नकै लागि सडकमा आउनु नपर्ने अवस्था सिर्जना गर्न लागिएको महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले बताए। त्यही घोषणाको पूर्वसन्ध्यामा आश्रम र महानगरले सडकमा असहाय, बेसहारा, मगन्ते, मदिरा खाएर बस्नेको अवस्थाको अध्ययन थालेको छ । केही दिनबाट उनीहरूको व्यवस्थापनको अभियानको थालनी हुने बताउँदै उक्त घोषणा अभियानको उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि आन्तरिक तयारी करिब ९० प्रतिशत सकिएको बताउछिन् ।
देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारसाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन् । यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको उक्त प्रतियोगितामा आउने अतिथिहरुको आगमन अवस्थामा गरिने सुरक्षा व्यवस्था निरीक्षण तथा अवलोकनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरुलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताए । प्रहरी महानिरीक्षक खनालले नेपाल आउने पाहुनाहरुलाई विना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटो छरितो सेवा प्रदान गर्ने बताए । अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता र विशिष्ट पाउनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न उनले निर्देशन दिए । प्रहरी महानिरीक्षक खनालले बिमानस्थलमा हुन सक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने समेत बताए।निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधन स्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी समेत लिए ।
‘महिनावारीको बेला हुने भेदभाव बिरुद्ध’ सुन्दरीहरुको अभियान काठमाडौं । महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ । शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् । महिनावारीको समयमा परिवार समाजमा हुने भेदभाव, विद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पूर्व नेपाल सुन्दरी सुगारिका केसीले बताइन् । कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका विद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र व्यवस्थित शौचालय बनाउने पनि केसीले बताइन् । पूर्व नेपाल सुन्दरीहरुको समूहले मितिनी नामको गैर–सरकारी संस्थासँग मिलेर देशभरी अभियान सञ्चालन पनि गर्ने भएको छ । अभियानमा स्थानीय क्लब तथा आमा समूहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पूर्व नेपाल सुन्दरी माल्विका सुब्बाले जानकारी दिइन् ।
भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ हेर्नेको घुँइचो काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको घुँईचो लागेको छ । हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबारसम्ममा एक लाख भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ । नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य गरिएको आयोजित मेलामा एक सय रुपैयाँदेखि १५ लाख रुपैयाँ सम्मका हस्तकलाका सामग्रीहरु उपलब्ध छन् । महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले मेला अवधिभर ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र १० करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा रहेको बताए । मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको छ । महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघका स्टलहरु पनि मेलामा छन् । मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामग्रीहरुमा उपभोक्ताहरुको आकर्षण देखिएको छ । यसबाहेक विदेश निर्यात हुने हस्तकलाका सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको उपाध्यक्ष शाक्यले बताए । मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय वटा स्टल रहेका छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा स्टल रहेका छन् । मेला मंसिर १६ गते सम्म चल्ने छ ।
सामाजिक सुरक्षामा जान मजदुरको जोड काठमाडौं । मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९औं स्थापना दिवसको अवसरमा मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि आफूले काम गर्ने संस्थालाई दावाव दिन आग्रह गरे । उनले होटल सञ्चालकहरुले मजदुरको पैसा चलाउन नपाउने भएकाले सामाजिक सुरक्षामा आवद्ध हुन नचाहेको आरोपसमेत लगाए । कार्यक्रममा जिफन्ट अनुसन्धान निरीक्षण आयोगका अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षामा सहभागी भएमा श्रमिकहरुको भविष्य सुरक्षित हुने बताउँदै तत्काल कोषमा आवद्ध हुन आग्रह गरे । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका वरिष्ठ उपाध्यक्ष बंशी भट्टराईले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा राम्रो जानकारी नहुँदा दवाव दिन नसकेको बताउँदै उनले श्रमिकहरुले लिंदै आएको उपदानलाई यथावत राख्ने सम्झौता गरेर सामाजिक सुरक्षामा सहभागी हुन आफूहरु तयार रहेकोसमेत जानकारी दिए । त्यस्तै होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले सामाजिक सुक्षामा जाने विषयमा श्रमिक र व्यवसायीहरुबीच छलफल गरी समस्या समाधान गर्न सकिने बताएका छन् । समाजिक सुरक्षामा आवद्ध हुँदा दुईवर्षमा चार किस्ता तिर्नु पर्ने व्यवस्थाले समस्या आएको उनको भनाई थियो । मजदुरहरुले होटल सञ्चालकहरुले ऐनमा दोहोरो कर बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै समाजिक सुरक्षा कोषमा नगएको आरोपसमेत लगाएका छन् ।
नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए। रासस
उपनिर्वाचन कास्की : साझाकी रजनी केसीले गरिन् मतदान, पौडेलले आफैँलाई भोट हाल्न पाएनन् पोखरा । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य पदकी उमेदवार रजनी केसीले कास्की २ मा रहेको पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन्। नेकपाकी उम्मेद्वार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविबाट मतदान गरेकी छिन् । त्यस्तै कास्की –२ प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेसबाट उम्मेद्वार बनेका खेमराज पौडेलले भने आफैँलाई मतदान गर्न नपाउने भएका छन् । पौडेलको सो क्षेत्रमा मतदाता नामावली नरहेकाले मतदान गर्न नपाउने भएका हुन् ।
प्यूठानमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, ४ घाईते प्यूठान । शुक्रबार प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएका छन्। ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खसी दुर्घटना भएको हो। गम्भीर घाइते भएका ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ।
२ केजी चरेससहित ३ जना पक्राउ सुर्खेत । लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो। चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ जाजरकोटका ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । “शुक्रबार मध्याह्नतिर प्रहरीले होटल छापा मारेको थियो”, प्रहरी उपरीक्षक पन्तले भने, “त्यही क्रममा उनीहरु तीनैलाई होटलमा चरेस खरीद बिक्री गर्ने अवस्थामा पक्राउ गरिएको हो।” पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
नक्कली ‘रत्न’ बिक्री गर्ने पक्राउ धनगढी । नक्कली रत्न (पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ मूल्य पर्ने भनी झुक्याएर कारोवार गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाका टोलीले उनीहरुलाई काभ्रेको पनौतीबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । पक्राउ पर्नेमा काभ्रे पनौती बस्ने नवराज खड्का, झापाका हरि खापुङ र यमकुमार गिरी, मोरङका लोकबहादुर सार्की र रौतहटका भीमबहादुर लामा रहेका छन् । उनीहरुको कोठाबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमन्डजस्तो देखिने पत्थर, एलवी डायमन्डजस्तो पत्थर, फेन्सी डायमन्डजस्तो देखिने स्टोन, पुष्पराज, निलम, लसुनिया, रुवि तथा पहेँलो धातुमा जडित औँठी बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको महाशाखाले जनाएको छ ।
नेकपाका अध्यक्षद्वयको गृह जिल्लामा जेष्ठ नागरिकको प्रदर्शन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेलामा चुनाव लड्ने’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डविरुद्ध जेष्ठ नागरिकले प्रदर्शन थालेका हुन् । शुक्रबार प्रचण्डकै गृह जिल्ला चितवनमा पनि उनीविरुद्ध प्रदर्शन भएको छ । जेष्ठ नागरिक समाजले गरेको प्रदर्शनमा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । ‘बोल्न नजाने बोल्न सिक्नु हामी बृद्धको आशिर्वाद छ, बृद्धबृद्धाको अपमान किन ?’ लगायतका नारा लेखेएका प्लेकार्ड र व्यानरसहित जेष्ठ नागरिकले प्रदर्शन गरेका हुन् । ‘प्रचण्डको अभिव्यक्ति खेदजनक छ, जेष्ठ नागरिकको मत नपाइ उहाँले जित्नु भएको हो र!,’ भरतपुर नगरपालिका–७ का प्रकाशमणि दाहालले भने, ‘जेष्ठ नागरिकको अपमान गर्ने हक कसैलाई छैन, उहाँले माफी माग्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको गृह जिल्लामा प्रदर्शन यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि प्रचण्डको अभिव्यक्तिविरुद्ध प्रदर्शन भएको छ। जेष्ठ समूहले काँकरभिट्टामा आयोजना गरेको प्रदर्शनका सहभागीले ‘तपाई पनि एकदिन बृद्ध हुनुहुनेछ, एकदिन सबै बृद्ध हुन्छन्, बृद्धको नगर अपमान’ आदि लेखिएका पोस्टर बोकेका थिए ।
स्काउटले देशप्रेमको भावना बढाउँछ : प्रदेश प्रमुख अधिकारी प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको बताएका छन् । ‘देश विकासका लागि स्काउट’ भन्ने नाराका साथ स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु गरेको तीनदिने स्काउट फ्रेन्डशिप क्याम्प–२०७६ को उद्घाटन गर्दै उनले यसले युवाको क्षमता वृद्धि, धैर्यता र चरित्र निर्माण गर्न ठूलो योगदान पुर्‍याएको धारणा व्यक्त गरे । राष्ट्रको संविधान, विधिविधान अँगालेको यो संस्थाले सुख, दुःख र विपद्हरुमा समाजलाई ठूलो सहयोग पुर्‍याएको उनले बताए । प्रदेश प्रमुख अधिकारीले स्काउट अटल र अडिग संस्था भएको हो भन्दै यसको सदस्य हुनु गौरवको कुरा हो भने । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राष्ट्र निर्माण र जीवनोपयोगी सीप विद्यार्थीहरुलाई प्रदान गरिने बताए । प्रदेशसभा सदस्यहरु केदार कार्की, जयराम यादव, लीलावल्लभ अधिकारी, सावित्री रेग्मी र यशोदा अधिकारीले युवाहरुलाई स्वावलम्बन, अनुशासित, सदाचारी, समाजप्रेमी बनाई समाज र देश विकासको योगदानमा सफलता प्राप्त गरेको धारणा राखे । जिल्ला स्काउट कार्यालय मोरङका प्रमुख प्रदीपकुमार विश्वास, क्याम्पसका संयोजक डा. उद्धव पोखरेल, प्याब्सन केन्द्रीय महासचिव राजेशकुमार दासलगायतले क्याम्पमा सहभागी युवायुवतीमा रहेको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्याम्पमा ३५ सामुदायिक र निजी विद्यालयका एक हजार २५ विद्यार्थीको सहभागिता रहेको छ । सो अवसरमा स्काउटमा आबद्ध विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस
शहीदपार्क त्याग र लगनशीलताको उपज हो : मुख्यमन्त्री पौडेल प्रदेश ५ को पाल्पामा बन्न लागेको पर्यटकीय पार्क निर्माण समितिका पदाधिकारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज भेट गरेका छन् । मुख्यमन्त्री कार्यालय, हेटौँडामा आज भएको साक्षत्कारमा मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारक पार्क ठूलो लगनशीलता र त्यागको उपज भएको बताए । रु ९० हजारको लगानीबाट निर्माण शुरु भएको पार्कले अहिले वार्षिक दुई करोडको आम्दानी गर्ने गरेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले योजना सम्पन्न गर्न दृढ इच्छाशक्ति र बलियो आत्मविश्वास आवश्यक पर्ने उल्लेख गरे । मुख्यमन्त्री पौडेलले कुनै पहिचान, स्थानीयता झल्काउने महत्वपूर्ण वस्तु, ऐतिहासिकता वा महत्वपूर्ण व्यक्तित्वको स्मृति आदि पार्क निर्माणको पहिलो आधारस्तम्भ हुने उल्लेख गरे । भौगोलिकताका आधारमा पार्कमा निर्माण गरिने भौतिक संरचनाहरु फरक पर्ने भन्दै मुख्यमन्त्री पौडेलले हरियाली जोगाउँदै काम गर्न सुझाव दिए । कार्यक्रममा रामपुर नगरपालिका, पाल्पाका प्रवक्ता हुमनाथ न्यौपानेले हेटौँडाको शहीद स्मारक पार्क धेरैपटक भ्रमण गरेको र पाल्पाको रामपुरमा पनि यस्तै मनोरम पार्क निर्माण गर्ने योजना रहेको बताए । पार्क विकास समितिका सदस्य वासु ढकालले मुख्यमन्त्री पौडेलसँगको भेट निक्कै नै फलदायी भएको बताए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे मिडियामा अतिरञ्जित कुरा आए : प्रेस सल्लाहकार थापा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो । अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ । तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तोगरि, बढो खोज गरेजस्तोगरि जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन् ।’ उनले प्रधानमन्त्री ओली जेलमा हुँदा पनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । थापाले थपे, ‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होईन् । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । वितेका १२ वर्ष यता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आईपुग्नुभएको छ । उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो । यस बीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन् ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने, ‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’ एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो । ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो । एपेन्डिसाईटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरि प्रचार गरिन्छ । जुन गलत हो । अतिरञ्जना हो । ट्विस्ट हो । यसरी चाहीँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न । जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’ त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भने, ‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब विरामीको अन्तिम अवस्था भैसक्यो झैं गरि, यो त सामान्य कुरा हो । विरामीलाई रिस्क नहोस भनेर ‘ब्याक–अप’को रुपमा भेन्टिलेटर प्रयोग गरिँदै आएको छ ।’ त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ । उनले भने, ‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाईएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो । जनताको शुभेच्छाले उहाँ अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आउनुभएको छ । उहाँ अहिलेपनि सघन उपचार कक्षमा हुनुहुन्छ । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ ।’ उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए । उनले भने, ‘नेपालमा एउटा कानुन छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ । त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ । के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ । नेपालको सञ्चार क्षेत्रले सायद त्यो कानुनलाई पढेको छैन् । त्यो संसदबाट पारित भएको छ । प्रमाािण्त भएको छ । कानूनको रुपमा क्रियाशिल छ । कार्यान्वयन भैसकेको छ । त्यसमा भनिएका कुराहरु प्रस्तावनादेखि दण्डसजायसम्मका कुराहरुलाई उत्तरदायी पत्रकारिताका निम्ति आमसञ्चार क्षेत्रले पढ्नु र हेक्का राख्न जरुरी छ । मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु ।’ थापाले व्यक्तिको मेडिकल प्राईभेसीको पनि उल्लेख गरे । उनले भने, ‘मेडिकल प्राईभेसीले व्यक्तिको स्वास्थ्योपचार र औषधी के के लिने ? भन्ने गोपनियताको हकलाई सुरक्षा गरेको छ । संसारमा यो अभ्यास छ । हामी कहाँ तथ्यमा आधारित नभई स्रोतको हवला दिएर जथाभावी लेख्ने चलन छ । यस्तो गर्न मिल्दैन् । स्रोतको हवला दिएर आफ्नो जे मिशन हो र आफूलाई जे लाग्यो त्यही लेख्न र राख्न पाईदैन् ।’ उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे । उनले भने, ‘डायलासिस गरिँदा पनि आतंक, एपेन्डिसाईटिसको शल्यक्रिया हुँदा पनि आतंक । नाम चलेका अखवारहरुको प्याकेज नै मानौं यो अन्तिम अवस्था हो जस्तोगरि प्रस्तुत गर्ने, यो कुन तरिका हो ? यो चाहीँ चित्तबुझ्दो भएन ।’ उनले नेपालका सञ्चारमाध्यम जति उत्तरदायी हुनुपर्ने हो त्यति नभएको गुनासो पोखे । उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे । उनले भने, ‘हामीले मिडिया एक्सेस दिएका छौं । केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं । मिडियाले समिक्षा बैठकपनि लाईभ खिच्न पाएका छन् । प्रवन्ध गरिएको छ । गोप्य बैठक भए भने पनि मिडियालाई ब्रिफ गरिएको छ ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन विहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ति निकालेर मिडियामार्फत जनतालाई जानकारी गराएको स्पष्ट पारे । तर, उक्त विज्ञप्तिमार्फत् समाचार नछापिएको उनको गुनासो छ । ‘भोलिपल्ट अन्यथा ढंगले नियोजित साथ सम्प्रेषण गरिएको छ । डायलासिस गरिनु कुन ठूलो कुरा हो ? भेन्टिलेटरको आतंक किन मच्चाउनुपर्यो ।’–थापाले प्रश्न गरे । उनले अनावश्यक आतंक फैलाउनेहरुलाई कानूनको दायरामा ल्याउने चेतावनी दिए । उनले भने, ‘अहिले त के भएको छ भने तपाई, हामी सबै पब्लिक अडिटमा छौं । तपाईले गरिरहेको कर्मपनि पब्लिट अडिटमा छ । मैले गरिरहेको कामपनि पब्लिक अडिटमा छ । सञ्चारक्षेत्र पनि जनताको निगरानीमा छन् । महालेखाले देशका आर्थिक गतिविधिहरुको परीक्षण गरेजस्तो जनताले हामी सबैको परीक्षण गरेका छन् नि । को ? कहाँ ? र कसरी उभिरहेको छ ? भन्ने कुराको परीक्षण चलिरहेको छ ।’ थापाले थप भनेका छन्, ‘जस्तालाई त्यस्तै भनेझैं हुँदैन नि । विधि, कानुन र प्रक्रिया छ । मैले त्यो कानुन पढेर किन सम्झाईरहेको छु । तीन वर्ष कैद र तीस हजार वा तीन लाख जरिवाना छ । नेपालका प्रेसले बनेका कानूनको पनि हेक्का राख्नुपर्छ । जिम्मेवार पत्रकारिताले झनैं यसको हेक्का राख्नुपर्छ ।’ उनले कानुनी राजभन्दा ठूलो कोही पनि नभएको स्पष्ट पारे । उनले भने, ‘सबैले यो कुराको हेक्का राख्नुपर्छ । अहिले देखापरेका कुरा हाम्रानिम्ति शिक्षा हुन् । सहज सूचना सम्प्रेषणका लागि हामी तयार छौं । अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे आएका कुरा म्यानरलेस कुरा हो । कहिले के भन्ने ? हरेक काम, पेशाका मर्यादा र सीमा छन् । हामी सबै मर्यादा र सीमामा बस्नुपर्छ ।’ प्रधानमन्त्रीको स्वास्थ्य र संक्रमणको खतरालाई अलिक बढी केन्द्रित गरेर आफूहरुले भेटघाटलाई कम गरेको उनले सुनाए । उनले भने, ‘मेडिकल टिम, परिवारका सदस्य, सचिवालयका पनि छानिएका व्यक्तिबाहेक उहाँलाई हिजो सम्माननीय राष्ट्रपतिज्यूले भेट्नुभयो । उहाँले प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्नुभयो । थप सुधारको लागि हरसम्भव कोशिस गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो । राष्ट्र प्रमुखबाहेक अरुले उहाँलाई भेट्न पाउनुभएको छैन । संक्रमणको समस्या नहोस भनेर हामीले यस्तो प्रवन्ध गरेका हौं ।’ प्रधानमन्त्रीले समिक्षा बैठक र कान्तिपुर टिभीबाट प्रशारित फायरसाईडमा लिम्पियाधुरा नेपालको हो भनेर विगतमा कसैले पनि पाठ्यपुस्तकमा नपढाईएको कुरा गरेको स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले त आजसम्मका नक्साहरुमा हाम्रो हो यो भनिएन । त्यो पढाइएन भन्नुभएको हो ।’ कालापानी, लिपुलेकको सीमा विवादको समस्या प्रेमसिंह धामी सांसद बनेर आएपछि चर्चामा आएको उनले सुनाए । केपी ओलीको नेतृत्वमा बनेको महाकाली सन्धि अध्ययन कार्यदल बनेपछि पहिलोपटक कालापानी समस्या उजागर भएको उनको दाबी थियो । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामी कसैको एक ईन्च पनि भूमी लिँदैनौं, र हाम्रो एक ईन्चपनि दिँदैनौं भन्नुभएको छ । अरुले अतिक्रमण गरेको छ भने त्यो भूमी फिर्ता गरिछाड्छौं भन्नुभएको छ ।’ प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तथ्यहीन र गलत भएको थापाले टिप्पणी गरे । उनले भने,‘यो उहाँको चुनावी सनक हो । सन् १९९६, १९९७ मा देउवा प्रधानमन्त्री हुँदा भारतले यस्तै नक्शा सार्वजनिक गरेको थियो । त्यो बेला उहाँ बोल्नुभएन । के हामीले तपाईको सहमतिमा भएको रहेछ ? भनौं । प्रधानमन्त्रीले सर्वपक्षीय/सर्वदलीय बैठकमा बजारमा यस्ता धेरै कागजहरु आउँछन्, त्यसको कुनै अर्थ छैन भन्नुभयो । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती निकालेर एकतर्फी नक्शा मान्दैनौं भनिसकेको छ । त्यो केवल कागजको खोस्टो हो । यसको खण्डन, मण्डन गर्न जरुरी छैन् । यसको पूर्णतः खारेज गर्नुपर्छ ।’ उनले सीमा विवादबारे भारतसँग नेपाल सरकारले मन्त्रालय तहमा, सचिवस्तरीय र प्रधानमन्त्रीको तहमा पनि छलफल गर्ने तयारी गरेको जनाए । उनले भने,‘नेपालले आफ्नो तर्फबाट कुटनीतिक नोट पनि पठाईसकेको छ । हाम्रो राजदुतले उक्त नोट भारत सरकारलाइ बुझाईसक्नुभएको छ । अब देउवाजी अपडेट हुन आवश्यक छ । थापाले पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्री ओलीले अपेक्षा गरेअनुसार नतिजा नआएको भन्दै यसलाई स्पिड–अप गर्न निर्देशन दिएको स्पष्ट पारे । आफूले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको कामको थालनी गरेपछि महत्वपूर्ण दुई बैठकमा भाग लिएको सुनाउँदै उनले भने, ‘मन्त्रिपरिषदको हेरफेरपछि नवनियुक्त मन्त्रीहरु र बहालवाला सचिवहरुसहितको मंसिर ५ गतेको बैठकमा प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्देशन दिनुभएको छ । दोस्रो बैठक मंसिर ९ गते पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्रीको कुरा सुन्दा उहाँले स्वयम भन्नुभएको छ, पहिलो चौमासिक कार्यसमिक्षा अपेक्षा गरेरअनुसार छैन भन्नुभएको छ । गति दिनुपर्यो भन्नुभएको छ । लक्ष्यअनुसारको परीणाम निकाल्नुपर्यो भन्नुभएको छ ।’ दोस्रो चौमासिक समिक्षा बैठकमा कार्यप्रगति राम्रो हुनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिएको पनि उनले सुनाए । उनले भने, ‘दोस्रो चौमासिक फागुनमा बस्छ । त्यो बैठकमा मूल्यांकन गर्दा पुँजीगत खर्च खर्च गर्ने गतिमा अहिलेको गतिले पुग्दैन् भन्ने कुरा उहाँले जोड दिनुभएको छ । मन्त्रीहरुको कार्यप्रगतिको परीणामको मूल्यांकन आफू सल्लाहकारहरुले नगर्नेपनि उनले स्पष्ट पारे । उनले भने,‘उहाँहरुको कार्य समिक्षा, प्रगतिको मूल्यांकन चाहीँ विभिन्न रुपमा हुने कुरा हो । काममा र मन्त्रालयमा हुने कुरा हो ।’ मन्त्रीहरुको बारेमा यो सफल र त्यो असफल भनेर आफूहरुले नभन्ने पनि उनले स्पष्ट पारे । ‘हाम्रो काम भनेको प्रधानमन्त्रीज्यूलाई आफ्नो सल्लाह र सुझाव दिने हो’–उनले थपे, ‘मन्त्रीहरुले आफ्नो फूल क्यापासिटीअनुसार काम गर्नुहुन्छ । त्यसकानिम्ति प्रधानमन्त्रीको निर्देशन मार्गनिर्देशक हुनसक्छन् ।’ उनले विद्यार्थीसँग बढि शूल्क असुल्नेगरि मेडिकल कलेजहरुबाट भएका प्रयास र अभिभावकलाई दोहन गर्ने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे । थापाले भने, ‘विद्यार्थीहरुलाई शोषण गर्ने कुरा सरकारलाई मान्य छैन् । प्रधानमन्त्रीले सार्वजनिक रुपमै हामी कुनैपनि हिसाबले पछि पर्दैनौं भनेपछि अहिले दुई बुँदे सहमति भएको छ । सरकार पछाडि हट्दैन् । अनुचित शूल्क लिने कुरा सरकारले सह्य गर्दैन् । मेडिकल कलेजहरु पछाडि हटेका छन् । यसैगरि जनताको पक्षमा काम गर्दै सरकार अघि बढ्छ ।’
दुर्घटनाको छानबिन समिति गठन अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य रहनेछन । त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारेमा विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ । बैठकमा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार विक, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज लगायतका प्रतिनिधिको उपस्थिति रहेको प्रजिअ पौडेलले बताए।
सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट काठमाडौं । यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट सुरु हुने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट ‘ड्र’ सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् । दोस्रो खेल भने मंसिर २९ गते सिएमजी क्लब संकटा र च्यासल युथ क्लब बीच हुनेछ भने सोहि दिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ । मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मस्र्याङदी क्लब र एपिएफ क्लब बीच हुनेछ । त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ । जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लब बीच प्रतिस्पर्धा हुनेछ । लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई बैकल्पिक मैदानको रुपमा राखिएको छ । लिगको खेल सँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ । भुकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिए पछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कानूनले नै वैदेशिक लगानीलाई संरक्षण गरेको भन्दै निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ लगानीकर्ताले संयुक्तरूपमा आयोजना गरेको ‘नेपाल–चीन लगानी प्रवद्र्धन तथा उपयुक्त परियोजना छनोट’ विषयको सम्मेलनमा उनले वैदेशिक लगानी प्रवद्र्धन र संरक्षण गर्न कानूनी सुधार गरिएको बताए। “बाह्य लगानी भित्रयाउन तथा लगानीको संरक्षण गर्न ऐन, कानून तथा नीतिगत सुधार गरिएको छ, निजी सम्पत्तिलाई पनि राज्यले संरक्षण गर्छ” उनले भने, “निजी सम्पत्ति राष्ट्रियकरण हुदैँन” । आर्थिक वृद्धिको आधारस्तम्भ वैदेशिक लगानी भएको प्रष्टयाउँदै उनले नेपालमा लागनीको राम्रो सम्भावना रहेको र लगानीकर्ताले उचित प्रतिफल लैजान सक्ने बताएका छन्। नेपालको भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले भने, “शहरी पूर्वाधार, रेलमार्ग, विमानस्थल, औद्योगिक क्षेत्र, पर्यटन, सेवा क्षेत्रलगायतमा लगानीको सम्भावना छ, यी क्षेत्रबाट उच्च प्रतिफल हासिल गर्न सकिन्छ ।” अर्थमन्त्री खतिवडाले साहसिक पर्यटन र तुलनात्मक लाभको क्षेत्रमा लगानी गरेर पर्याप्त प्रतिफल लैजाने सम्भावना औँल्याए। लगानीकर्तालाई सहजीकरण गर्न सरकारले एकल बिन्दु सेवा केन्द्र स्थापना गरेको छ भन्दै उनले कर प्रणालीलाई पारदर्शी बनाइएको बताए। मन्त्री खतिवडाले विश्व बैङ्कले जारी गरेको व्यावसायिक वातावरणको सूचकाङ्क ‘डुइङ विजनेश इन्डेक्स’मा नेपाल १६ स्थान माथि उक्लिएकाले आगामी दिनमा नेपालको स्थानलाई अझ सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। कूल १ सय ९० देश समेटिएको डुइङ¬ विजनेश इन्डेक्समा नेपाल यस वर्ष ९४ औँ स्थानमा पुगेको छ । गत वर्ष नेपाल १ सय १० औँ स्थानमा थियो । अर्थमन्त्री खतिवडाले अर्को वर्ष व्यावसायिक वातावरणको सूचकाङ्कमा नेपाल ८० औँ स्थानमा पुग्ने लक्ष्य राखिएको बताए । नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा चिनयाँ सहयोग प्रति मन्त्री खतिवडाले आभार समेत व्यक्त गरे। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाह्य लगानीका लागि प्रक्रियागत सहजीकरण गरिएको र लगानीकर्ताले कुनै व्यवधान व्यहोर्नु नपर्ने बताए। सम्मेलनमा चीनका लगानीकर्ता तथा नेपाली लगानीकर्ताको सहभागिता रहेको छ । सम्मेलनकै क्रममा ‘लगानी सहकार्य तथा वित्तीय सहायता’, ‘ऊर्जा सहकार्य’ र “स्मार्ट सिटी तथा पूर्वाधार निर्माणमा सहकार्य’ विषयमा चिनियाँ र नेपाली लगानीकर्ताले छलफल गर्नेछन् ।
सरकारी कागज कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालक पक्राउ काठमाडौं । सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालकहरु पक्राउ परेका छन् । शुक्रबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीबार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले ओखलढुंगा जिल्ला रानीवन ७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका ९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर १६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेतीलाई पक्राउ गरेको जनाएको छ । पत्रकार सम्मेलनमा व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका ३ जनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको बताएका छन् । पक्राउ परेकाहरुले कक्षा १२ का एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्र्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु बनाउने गरेका पाइएको व्युरोले बताएको छ । पक्राउ परेकाहरुबाट महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगुम कुँवरको समेत कीर्ते हस्ताक्षरसहितको लेटर प्याड पनि बरामद गरेको छ । पक्राउ परेकाहरुसँग अरु किर्तेकाम गर्ने गिरोहसँग सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गहन बनाएको प्रहरीले बताएको छ ।
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते रुकुमपूर्व । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउँपालिका–३ को जीतखोलास्थित सडकमा पल्टिएको हो । घाइते हुनेमा सिस्ने गाउँपालिका–७ की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका–२ की ४० वर्षीया मनकुमारी पुन, भूमे–२ की ३३ वर्षीया कुमारी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्णसिंह पुन, सोही गाउँपालिका–१२ का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका–७ गुनामका ३९ वर्षीय मुलमान विक रहेका छन्।
‘भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोज्यो’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताएका हुन् । चीन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने उनले बताए । २ जोड १ को अर्थ दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफूलाई चित्त नबुझेको बताए । कार्यक्रममा अध्यक्ष दाहालले नेपालको द्रुततर विकासमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याए । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई विकास साझेदार रहेको बताए । अध्यक्ष दाहलले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताए । यस्तै नेपाल भारत र चीन बीचको सम्बन्ध जनस्तर सम्म लान आवश्यक रहेको पनि बताए । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नुपर्ने उनले बताए । कार्यक्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन नहुने बताए ।
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते करीब चार वर्ष उमेर र ३८ केजी तौल भएको ‘जेदोराङ’ नामको वयस्क भाले हिउँ चितुवामा ‘सेटलाइट कलार’ जडान गरेको थियो । यसैगरी, यही मङ्सिर २ गते करीब पाँच वर्ष उमेर र ३३ केजी तौल भएको ‘स्यामिङ’ नामको वयस्क भाले हिउँ चितुवामा सेटलाइट कलार जडान गरिएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जडान गरिएका हिउँ चितुवाको अवस्थितिसम्बन्धी सूचनाको जानकारी नियमितरुपमा आउन थालेको विभागले जनाएको छ । स्थानीय पहिचानका आधारमा ती हिउँ चितुवाको नाम राखिएको हो । सेटलाइट कलार जडानअघि अनुभवी प्राविधिक टोलीले हिउँ चितुवालाई पासोमा पारेर बेहोस् बनाई स्वास्थ्य जाँचपछि कलरिङ गर्ने गर्दछन् । गत भदौ १५ गतेको वनमन्त्रीस्तरीय निर्णयअनुसार विभागले पाँच वर्षभित्र १२ हिउँ चितुवालाई सेटलाइट कलार लगाई अध्ययन गर्ने उद्देश्यबमोजिम शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सेटलाइट कलार जडान गरी शुरुवातको थालनी गरिएको हो । सो निर्णअनुसार विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक तथा प्राविधिक सहयोगबाट अन्नपूर्ण–मनास्लु संरक्षण क्षेत्रमा आठ र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा चार हिउँ चितुवामा सेटलाइट कलार जडान गरिनेछ । सो योजनाअनुसार यसवर्ष हिउँ सेटलाइटसम्बन्धी निर्देशिका तयार गर्ने, स्थलगत कार्ययोजना तयार गर्नेलगायत कार्य गरिएको छ । आगामी पाँच वर्षभित्र स्वीकृत प्रस्तावअनुसार क्रमशः बाँकी हिउँ चितुवामा पनि सेटलाइट कलार जडान गर्दे जाने प्रवक्ता श्रेष्ठले बताए। विभागले यसअघि पूर्वमा अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका चार हिउँ चितुवामा सेटलाइट कलार जडान गरी नियमित सूचना लिइरहेको छ । हिउँ चितुवाको घाँटीमा जडान गरिएको सेटलाइट कलारले दिने आवतजावत, बासस्थान, व्यवहारसम्बन्धी नियमित सूचनाले सङ्कटापन्न अवस्थामा रहेको हिउँ चितुवा संरक्षण व्यवस्थापन योजना निर्माणमा सहयोग पुुग्ने विभागको विश्वास छ । जडान गरिएका सेटलाइट कलारले प्रदान गरेको सूचना आधारमा हिउँ चितुवाले आहारा खोजी क्रममा करीब १० किमी भन्दा बढी दुरी आवतजावत गर्ने र उत्तरी सिमाना तिब्बत्तर्फ तथा पूर्वमा भारतमा समेत आवतजावत गर्ने गरेको देखिएको छ । हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय समन्वय गर्न पनि सेटलाइट कलारले प्रदान गर्ने सूचनाले महत्वपूर्ण हुने विभागको भनाइ छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करीब ३ सय देखि ४ सय र विश्वमा करीब ३ हजार ५ सय देखि ७ हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । मन्त्रालयले हिउँ चितुवा पाइने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धौलागिरि हिमालसम्म र कालीगण्डकी नदीदेखि अपि नगरपालिका संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।रासस
बैंकका कर्मचारीमाथि आक्रमण कन्चनपुर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहिबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् । दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुवै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । रासस
माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु काठमाडौं । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिए। मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस
सरकारले दियो मेलम्चीका पीडित कामदारलाई भुक्तानी काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो । उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी भएको थिएन । कम्पनी गएदेखि नै कामदारले आफू पीडित भएको भनी सरकारसँग ज्याला भुक्तानीको माग गरेको मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्यले बताए। मन्त्रालयले अहिले झण्डै ७ सय कामदारलाई भुक्तानी दिएको छ । भुक्तानी लिनेमध्ये अधिकांश त्यहीँका स्थानीयवासी छन् । उनले भने, “उनीहरुले माग गरेकै आधारमा भुक्तानी दिइएको हो ।” कम्पनी निर्माण छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी रहेको शाक्यले बताए । उनले भने, “कागजातका आधारमा नै उनीहरुको पनि भुक्तानी गर्न लागिएको छ ।”रासस
भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा बिहिबार पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ । भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेको र अस्पतालको डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नपा–७ नगदेश बस्ने २८ वर्षका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले बताए ।
जनताले महसुस गर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन काठमाडौं । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे पहिलो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा बिहीबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए । बैठकको अध्यक्षता गर्दै खानेपानी मन्त्री मगरले निर्धारण गरी तोकिएका न्युनतम लक्ष्यहरु हासिल गर्ने दिशामा भन्दा पनि द्रुत गतिमा जनताले महसुस गर्ने गरी उपलब्धि हासिल गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिए । जनताको आधारभूत आवश्यकता पुरा गर्ने गरी काम रफ्तारमा अघि बढाउन उनले सबै प्रमुखहरुलाई निर्देशन दिए । ‘अघिल्लो आर्थिक वर्ष समृद्धिको आधार वर्ष थियो । तर अब यो वर्ष उपलब्धिको वर्ष हुनुपर्छ, उनले भने, ‘जनताका आवश्यकता धेरै छन्, सँगसँगै चुनौति र समस्या पनि उत्तिकै छन् । आवश्यकता र जनताको मौलिक अधिकारलाई ध्यान दिएर हामीले कार्य अघि बढाउनु पर्नेछ ।’ थप जोड मन्त्री मगरले भनिन्, ‘आधार वर्ष मात्रै भनेर सधैंभरि यो छुट हामीलाई छैन । कामको प्रगति हिसाबमा भन्दा पनि जनताले महसुस गर्ने गरी काम अघि बढाउनुस् ।’ उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याए । मन्त्री मगरले भने, ‘मन्त्रालयको यो पहिलो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । आयोजना अगाडि बढाउने सवालमा खानेपानीको क्षेत्रमा धेरै समस्या छन् । एकातिर सामाजिक समस्या छन् अर्कोतिर जनशक्तिको अभाव छ । अभावका बीच जनताले प्रत्यक्ष लाभ पाउने महसुस गर्ने गरी काम गर्नुपर्ने छ ।’ समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी आयोजनाका कामहरु दु्रत गतिमा अघि बढाउन आग्रह गरे । सदस्य डा. गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अझ बढी केन्द्रित रहन सुझाव दिए । निर्माणाधीन मात्रै नभई सम्पन्न भईसकेका आयोजनाहरुको अवस्था के कस्तो छ भनेर ध्यान दिन उनले आग्रह गरे । नेपाल खुला दिसामुक्त देश घोषणा भईसकेकाले अब पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत देशैभरि सार्वजनिक शौचालयहरु निर्माण गर्ने गरी कार्य अघि बढाउन डा. गुरुङले जोड दिए । मन्त्रालयका सचिव माधव बेल्बासेले देशैभरिको खानेपानीको समस्या समाधान गर्न आयोजनाहरु अघि बढेपनि जनशक्तिको ठूलो अभावले समस्या आईरहेको बताए । सचिव बेल्बासेले खानेपानीको क्षेत्रमा प्राविधिक जनशक्तिको अभावले आयोजनाहरुको काममा ढिलाई भईरहेको समस्या औंल्याए । त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनाको काममा काम गर्ने वातावरण बनाईरहन सम्बन्धित सबै पक्षसँग आग्रह गरे । समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक अवधिमा भौतिक प्रगति ७६ र वित्तीय प्रगति २० प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले दिए । खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको फिनिसिङ कार्यको काम धमाधम अगाडि बढिरहेको जानकारी दिए । चालु आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको बताउँदै कार्यकारी निर्देशक खत्रीले भोलिका दिनमा काम गर्ने वातावरण नबिग्रने गरी अघि बढ्न सरकारका सबै निकायहरुबीच समन्वय जरुरी रहेको बताए । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरि नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिए । सहसचिव दुवाडीले उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यो संख्या बढेर २५ प्रतिशत पुग्ने उल्लेख गरे । पहिलो चौमासिक अवधिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराइयो । बोर्डका कार्यकारी निर्देशक डा.संजीव विक्रम राणाले काठमाडौं उपत्यकामा जमिन मुनिको पानीको अवस्था के कस्तो छ भन्ने कुरा पत्ता लगाउन नयाँ प्रविधिको मद्दतले काम अगाडि बढाइएको बताए ।
दक्षिण चीनमा भूकम्प : १ मृत्यु, २ हजार प्रभावित नानिङ (रासस/सिन्ह्वा) । चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ । भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ । स्थानीय प्रशासनले ३०० भन्दा बढी घरमा नराम्रोसँग क्षति पुगेको र करिब १० लाख अमेरिकी डलर बराबरको धनमाल क्षति भएको जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नंको यात्रुवाहक बस बुधबार अपराह्न सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् । बढ्दो दुर्घटनालाई न्यूनीकरण र रोकथाम गर्ने प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै मुख्यमन्त्री पोखरेलले यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुरलगायत सबै सरोकारवाला निकायलाई अपिल गरे । मुख्यमन्त्री पोखरेलले दुर्घटनालगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको उच्च प्रशंसा गर्दै आभार व्यक्त गरेका छन् । रासस
अर्घाखाँची बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १९ पुग्यो (अपडेट) काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा गाडी धनी सितगंगा–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। उक्त बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा, ७ जनाको चौहारा अस्पताल बुटवलमा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ ।
अदालतको आदेश विपरित इँटा उत्पादन बनेपा । अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ। उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्री वितरण थालेको हो। उच्च अदालतको आदेशको अवज्ञा गर्दै सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा पार्न र मौज्दात इँटा बिक्री वितरण गर्न थालेको नमोबुद्ध नपा–२ का वडाध्यक्ष एवं नगरका प्रवक्ता सञ्जीव ढकालले बताए । उनका अनुसार उक्त उद्योगले केही दिनदेखि इँटा पार्ने र बिक्री वितरण गर्न थालेको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतले गत कात्तिक अन्तिम साता ‘नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न’ गरेको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका नमोबुद्धका इँटा व्यवसायीको मुद्दामा यही मङ्सिर ८ गते न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले यही मङ्सिर १५ गते ‘अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकास दिन उपयुक्त देखिएकाले’ दुवै पक्षलाई छलफलमा राख्नुपर्ने जनाउँदै दुवै पक्षलाई इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्नेलगायतको कुनै पनि कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। नगर कार्यालयले ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊँ’ भनी जिल्ला अदालतमा दर्ता जाहेरीमा न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले नमोबुद्धका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न आदेश जारी गरेको थियो। अदालतको अवज्ञाविरुद्ध नगर कार्यालयले पुनः अदालतमा जाने तयारी गरिरहेको नगरका प्रवक्ता ढकालले बताए । गत वर्ष पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठ बुँदे सहमति भएको थियो। उक्त सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिए पनि नहटाएका कारण नगर कार्यालयले गत भदौ ८ गते वडा नं २ र ३ मा सञ्चालन हुँदै आएका आठ इँटा उद्योगको भट्टाचिम्नी मेसिन (क्रेन)को प्रयोग गरी भत्काएको थियो। सहमतिमा उल्लेखित बमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊँ’ भनी अदालतमार्फत माग गरेको थियो। इँटा वयवसायी र नगरबीच २०७६ असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नविनतम् वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, तोकिएको समयसीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै व्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिशमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा रु तीन छुट दिनुपर्नेलगायत सम्झौता गरिएको थियो। साथै, उल्लेखित बुँदा सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुनेसमेत उल्लेख छ। काभ्रेपलाञ्चोकमा रहेका २० मध्ये नमोबुद्धमा आठ इँटा उद्योग सञ्चालन हुँदै आएका थिए। रासस
हुम्ला : टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुग्यो (अपडेट) काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ भएको टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुगेको छ । दुर्घटनामा परेका १३ घाईने मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो। नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसँगै यात्रु बोकेर नाम्खाको सल्लीबाट सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ ख ३२६९ नम्बरको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी अन्य १२ जना घाईते भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा नाम्खा गाउँपालिका–१, हेप्काका छिरिङकर्मा तामाङ, नरी लामा, खार्पुनाथ गाउँपालिका–१ का बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका–६ का बक्त रोकाया रहेका छन् । प्रहरीका अनुसार टिपर चालकले अत्यधिक मदिरा सेवन गरेको पाईएको छ ।
नेपाल–भारत पारवहन बैठक : जलमार्गदेखि पानीजहाज सञ्चालनसम्मको विषय समावेश काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ । नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार सम्पन्न वाणिज्य सहसचिवस्तरीय दुई दिने बैठकमा उक्त सहमति भएको हो । त्यस्तै रेल मार्फत बल्क कार्गो ढुवानीका लागि वीरगञ्ज–रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगबनी र भैरहवा–सुनौली नाका समेत खुल्ला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । भारतका २ बन्दरगाहहरु धाम्रा र मुन्द्रा नेपालका लागि खुल्ला गर्न गरेको प्रस्तावमा भारतले आन्तरिक छलफल गरी जवाफ पठाउने सहमति भएको पनि ढकालले बताए । त्यस्तै तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने विषयमा पनि भारतले आन्तरिक छलफल गरी धारणा पठाउने सहमति भएको छ । त्यस्तै नेपाल–भारत पारवहन सन्धिको म्याद २०२० जनवरी ५ देखि लागू हुनेगरी स्वतः नविकरण हुने र दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी प्रोटोकलमा थयासीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।
सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प काठमाडौं । सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । बुधबार राती १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्टिङ्गकाेटमा केन्द्र बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पकाे धक्का काठमाडाैंलगायतका क्षेत्रमा महसुस भएकाे जनाएकाे छ । विसं २०७२ सालपछिकाे विनासकारी भूकम्पपछि हजाराैं पटक नेपालमा भूकम्प गइसकेकाे छ ।
नेपाल प्रहरी र टेलिकमबीच फुटबल क्षेत्रको विकासमा सहयोग गर्ने सम्झौता काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामाग्री सहयोग गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै टेलिकमको लोगो अंकित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता अवधि एक वर्षको हुनेछ । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने बताए । सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यवसायीकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उनको भनाई थियो । प्रहरी र नेपाल टेलिकमबीच विस २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ । सुरुको दिनमा पुरुष फुटबल खेलाडीका लागिमात्र प्रायोजन गर्दै आएको टेलिकमले विस २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ । सुरुका दिनमा वार्षिक १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।
भोको पेट र थकित शरीरमा विद्यार्थीकाे अध्ययन बनेपा । बिहान झिसमिसमा नै उठेर घरधन्दा गरी किताब काखी च्यापेर विद्यालय जाने र बेलुका फर्केपछि भ्याइञ्जेल घरको काममा सघाउने सुशीला ग्लानको दैनिकी छ । खानीखोला गाउँपालिका–३ जुरे देखि डेढघण्टाको ओरालो हिँडेर कुपिन्टारको विद्यालय जाने र बेलुका उकालो चढेर घर फर्कनुपर्ने बाध्यता रहेको बताउने उनी गृहकार्यसमेत गर्न भ्याउदिनन्। “हिँड्दा हिँड्दै थकित हुन्छु, कहिले त गृहकार्य गर्न पनि भ्याउँदैन”, उनले भनिन्, “इच्छा हुँदाहुँदै पनि राम्रोसँग पढ्न पाउने अवसर नै छैन ।” कैयौँ पटक त गृहकार्यविना नै किताब बोकेर विद्यालय आउने जानेमा नै गर्नुपर्ने अवस्था व्यहोरेको उनले बताइन। सुशीला मात्रै होइन, छिमेकी गाउँपालिका महाभारत वडा नं २ रातमाटेका ल्होङसाल तामाङ गाउँको विद्यालयमा प्राथमिक तहको पढाइ सकेपछि कक्षा ६ देखि घरबाट एक घण्टाको पैदल हिँढेर पढ्न थालेको चार वर्ष भयो । उनी शुरुमा बाल उज्ज्वल प्राथमिक विद्यालयमा अध्ययन गरी हाल माध्यमिक तह अध्ययनका लागि कालीदेवी मावि कुपिन्टारमा कक्षा १० मा अध्ययनरत छन् । गाउँ नजीकै विद्यालय नभएका कारण त्यसरी पढ्न बाध्य भएको उनको भनाइ छ । सोही वडाका जोरसाँगा घर भएका अर्का विद्यार्थी मुना वाइबा बिहान घरको काम सघाएर विद्यालय जान्छिन । घरदेखि विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्ने उनि जस्तै गाउँका छसात जनालाई दैनिकी त्यसरी नै पढाइका लागि दिन गुजार्नुपर्ने बाध्यता छ । “बिहान उठेर घरको काममा सघाएपछि बेलुका फर्कँदा भने घरको काम गर्नुपर्दैन”, कक्षा १० मा अध्ययनरत वाइबाले भनिन्। सोही ठाउँका कक्षा १० मा अध्ययनरत विनेक वाइबाले भने गाउँबाट विद्यालय आउन धेरै टाढा भएका कारण यसै शैक्षिक सत्रदेखि विद्यालय नजिकै कोठा लिएर बस्दै आएको बताउनछन् । “घरबाट हिँडेर आउन पौने दुई घण्टा लाग्छ, त्यसैले यसपालिदेखि विद्यालय नजीकै कोठा लिएर बसेको छु”, उनले भने, “तरकारी यतै गाउँतिर पाइन्छ, भातको लागि कहिले घरबाट ल्याउने, कहिले किन्ने गरेर पढिरहेको छु ।” “यस पटक पसलबाट चामल मगाएको छु ”, उनले भने। प्र्राथमिक तह गाउँकै जोरसाँगामा अध्ययन गरेका उनले कक्षा ६ देखि सो विद्यालयमा अध्ययन गर्दै आइरहेका छन्। “गाउँमा अहिले पनि मावि तह चलेको छैन, त्यहाँका सबै बालबालिका पढ्न आउने यही हो ”, उनले भने, “गाउँको गोरेटो बाटो, अचेल गाउँमा मोटरबाटो खनेका कारण पानी पर्दा माथिबाट ढुङ्गा झर्ने गरेकाले हिँड्डुल गर्न जोखिम छ ।” अर्का विद्यार्थी मानध्वज वाईबाले विद्यालय आउने वेलामा खाजा बोकेर नै आउने गरेको बताए। “आजभोलि कोचिङ कक्षा चलिरहेको छ, त्यसैले विहान साँढे चार÷पाँच बजे उठेर खाना पकाएर खाई हिड्नुपर्छ”, उनले भने, “बिहानै घरबाट निस्केदेखि बेलुका साढे ६ बजेतिर मात्रै पुग्ने भएकाले खाजा बोकेर आउने गरेको छु । ” जिल्लाकै विकट डाँडापारिको महाभारत र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने कुपिन्टार उक्त भेगमै एक मात्र मावि तहको विद्यालय हो । त्यसैले पनि गाउँ नजीकै भएको प्राथमिक तह सकेपछि कि त विद्यालय छाड्ने कि त घण्टौँको बाटो हिँडेर भोकै पढ्नुको विकल्प छैन । सरकारले स्वास्थ्य, शिक्षा र रोजगार मौलिक अधिकारभित्र रहेको उल्लेख गरे पनि विकट डाँडापारिका बालबालिकाको पढ्ने पाउने अधिकारलाई सहज र सुलभ ढङ्गले उपलब्ध गराउन सकेको छैन । कुपिन्टारका जनकबहादुर मोक्तानले भएको विद्यालयको भौतिक संरचना जीर्ण भएको र नजीकका घर पनि पर्याप्त नभएका कारण विद्यार्थीलाई पढ्न र बस्न समस्या भइरहेको बताए। “विद्यालयमा छात्रावासको व्यवस्था गरेको खण्डमा यहाँका विद्यार्थीको धेरै राम्रो हुनेछ”, उनले भने, “हिँडेर आउँदा प्रेसर बढ्ने, तिर्खा लाग्ने र गर्मीमा तापाक्रम बढ्ने भएर बेहोश भएर ढल्ने तथा थकित हुने भएर पढाइमा भन्दा पनि आरामको लागि बढी ध्यान जाने अवस्था देखेको छु, त्यसको लागि स्थानीय सरकारले सोचेर आवश्यक व्यवस्थापन गरेमा राम्रो हुनेछ ।” गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने छात्रावासको व्यवस्था गर्नका लागि स्थानीय सरकारले मात्रै सम्भव नहुने बताउछन्। “विषय अत्यन्तै महत्वपूर्ण भएकाले हामीले मात्रै सोचेर सम्भव छैन, यसको लागि प्रदेश र सङ्घ सरकारले पनि यहाँका बालबालिकाको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न बृहत्तर योजना तयार गर्न आवश्यक छ”, गाउँपालिका अध्यक्ष जिम्बाले भने । गाउँको विकट क्षेत्र बस्ती छरिएर रहेका कारण सबै बालबालिकाको पहुँचसम्म माध्यमिक तहको शिक्षा प्रदान गर्न निकै कठिन भएको छ । विद्यार्थी दुई तीन घण्टासम्मको बाटो हिँडेर पढ्न बाध्य छन् । स्थानीय सरकारको पहलमा मात्रै ती सबै समस्या समाधन गर्न नसकिने जिम्बाको भनाइ छ । प्रदेशसभा सदस्य रत्न ढकालले विकासको अभावबाट निकै पीडामा रहेका जनताका लागि बिजुली, सडक र स्वास्थ्य क्षेत्रमा धेरै काम अघि बढिसकेको बताए। गुणस्तरीय शिक्षामार्फत शैक्षिक जनशक्ति उत्पदान गर्ने अभियानमा सरकार लागिरहेको उनको जिकिर छ । ‘एक विद्यालय एक नर्स’ राख्ने अभियान सञ्चालन गर्न खोजिरहेको र त्यसमा पनि टाढाटाढाका विद्यार्थीका लागि व्यवस्थित गर्न सबै तहका सरकार उत्तिकै जिम्मेवार भएर लागिरहेको उनको भनाइ छ । रासस
अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १८ पुग्यो अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १५ पुग्यो काठमाडौं । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका ६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको हाे । दुर्घटनामा अन्य १४ जना घाइतेलाई अस्पताल पठाएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको बताइएको छ । मृत्यु भएकाहरुको सनाखत भएको छैन । घटनाबारे उद्धार तथा अनुसन्धान भैरहेको छ ।
अर्घाखाँचीमा बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए। घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । रासस
सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान दिँदैन : अर्थमन्त्री खतिवडा काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन् । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारिता नभएको बताएका हुन् । उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिँदा कुनै उपलब्धि नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताए । त्यसका लागि सरकारले अनुदान सम्बन्धि नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिए । अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गरे । प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्न उनको आग्रह थियो । कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका छन् । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारिता बढ्ने बताए । यसअघि सरकारले विभिन्न ७ शीर्षकका कर्जामा ५ देखि ६ प्रतिशतसम्म अनुदान दिने व्यवास्था गरेको थियो । तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (कार्यविधि, २०७६) को दोश्रो संशोधनमा थप २ शीर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ ।
लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छन् । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको सन्र्दभमा सरकार कटिबद्ध रहेको बताएकी हुन् । लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको र लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको बताएका हुन् । प्रधानमन्त्रीले आव्हान गरेको सवैपक्षीय सर्वदलीय विज्ञहरुको बैठकमा सीमा सुरक्षाको सन्र्दभमा सबैको एकमत कायम भएको उल्लेख गर्दे उनले त्यसले सरकारलाई थप बल प्रदान गरेको बताए । लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने सवालमा सरकारलाई सहयोग गर्न पनि उनले नागरिक समाजलाई आग्रह गरे । समय समयमा प्रकाशित नक्साहरुमा एकरुपता नदेखिएबाट नै सीमा सुरक्षा सुगौली सन्धिदेखिकै भएको स्पष्ट भएको भन्दै उनले सरकार यथेष्ट प्रमाण जुटाउने क्रममा रहेको बताए । लिम्पियाधुरा सम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानका अगुवाहरुले मन्त्रीलाई ज्ञापनपत्र सहित नक्सा पनि हस्तान्तरण गरेका थिए । उनीहरुले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहितको तत्काल नक्सा सहित श्वेत पत्र जारी गर्न मन्त्रीको ध्यानाकर्षण गराए । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सबै भन्दा पहिला सीमा अकुपाई गरेर नेपालले आफ्नो प्रभुत्व देखाउनुपर्ने बताए । सीमा बचाऊ अभियान, नक्सा समितिका सदस्य सीमा विज्ञ कोमल चन्द्र बरालले सीमा विवाद समाधान गर्न सर्वपक्षीय प्रतिनिधित्व हुने गरि विज्ञहरुको टोली गठन गर्न, लिम्पियाधुरा देखि कालापानी, लिपुलेक सम्मकमा क्षेत्रमा राज्यको उपस्थिति देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकीहरु स्थापना गर्न माग गरिन् । सीमा बचाऊ अभियानका तर्फबाट बुद्धिजिवी तथा विज्ञहरुको समुहले मन्त्री अर्याललाई ९ बुँदे सार्वजनिक अपिल बुझाएको थियो ।
कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो बीबीसी। पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ। लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो। अमेरिकाको संसारभर २७३ त्यस्ता कार्यालय छन् भने त्यसपछि क्रमश: फ्रान्स, जापान र रुस छन्। यूके एघारौँ स्थानमा छ। सो प्रतिवेदनमा राजदूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू गणना गरिएका छन् र यसका अध्ययनकर्ताहरूले यो अङ्कले भूराजनीतिक पहुँचको शक्ति र कमजोरी देखाउने बताएका छन्। चीनको कूटनीतिक उपस्थिति हालैका वर्षहरूमा तीव्र गतिमा बढेको हो। सन् २०१६ मा अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको चीन सन् २०१७ मा दोस्रो स्थानमा पुगेको थियो। अमेरिकाको पनि सन् २०१६ यता दुई स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ। यूकेको भने यो अवधिमा कूटनीतिक उपस्थिति कम भएको छ। सन् २०१६ मा २१६ स्थानमा रहेको यूकेको उपस्थिति अहिले २०५ स्थानमा मात्रै छ। दक्षिण एशियाली मुलुकहरूमा भने सबैभन्दा बढी कूटनीतिक उपस्थिति भारतको छ, जसको विश्वमा १८६ स्थानमा कुटनीति कार्यालय छन्। पाकिस्तानको ११७ स्थानमा, बाङ्ग्लादेशको ७५ र श्रीलङ्काको ६७ स्थानमा कूटनीतिक उपस्थिति छ। प्रतिवेदनका अनुसार नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ जुन सन् २०१६ भन्दा तीनवटा बढी हो।
चुनाव प्रचारको अन्तिम दिन भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपाको चुनावी प्रचारप्रसार (फोटो फिचर) काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिएसँगै देशैभरको राजनैतिक माहोल गरमागरम भएको छ। देशभर ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ। प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क) मा हुने उपनिर्वाचनमा १९ जनाले उम्मेद्वारी दर्ता गराएको भएपनि मूख्य प्रतिस्पर्धाभने नेकपाका देवी प्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भंडेल र नेमकिपाका निरज लवजुबीच प्रतिस्पर्धा हुने देखिन्छ । निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी प्रचारपनि तिब्र पारेका छन् । आज राति मध्यान्ह १२ बजेबाट मौन अबधी सुरु हुँदैछ । भक्तपुर उपनिर्वाचन : १९ जना चुनाबी मैदानमा, नेकपा, कांग्रेस र नेमकिपाबीच कडा टक्कर
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु काठमाडौं । दाङ, गुल्मी, म्याग्दी र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। दाङ, बंगलाचुली गाउँपालिका–६ बचेनीस्थित सडकमा घोराहीदेखी प्युठानको ढिकावाङतर्फ जाँदै गरेको ना.३ ख ६५४२ नम्बरको बस सडकदेखी अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार प्युठान माण्डवि गाउँपालिका–२ बस्ने १६ वर्षीया नेहा ओलीको घट्नास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। गुल्मी, सत्यवती गाउँपालिका–३ ठुलो लुम्पेकस्थित सडकमा लु.१ ज २७८४ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा जिपमा सवार सत्यवती गाउँपालिका–२ थुम्का बस्ने ६८ वर्षीया ललिती देवी सिंजालीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ। म्याग्दी, बेनी नगरपालिका–६ स्थित सडकमा ध.१ च २३५ नम्बरको बोलेरो जिप र ध.१ प ३५४९ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक–आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रघुगंगा गाउँपालिका–६ पाखापानी बस्ने २३ वर्षीय सन्तोष थजालीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँके, कोहलपुर नगरपालिका–८ बाबानगरस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ राजविराज । बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले मंगलबार राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुभ्mने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी समेत दिए। प्रहरी नायब उपरीक्षक भारतीका अनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन् वा वास्तवमै बच्चा चोरी गर्ने काम गर्छभन्नेबारे यकिन गर्न अनुसन्धान भइरहेको बताए । प्रहरीले उनका साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घण्टीसमेत बरामद गरेको छ । आज बिहान राजविराजस्थित पब्लिक बिन्देश्वरी माविमा कक्षा ३ मा पढ्ने ५ वर्षीय बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयवासीलाई शङ्का लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए । सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले जानकारी दिए। यता हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । बालिकालाई आजै पविमाविका प्रधानाध्यापक अरुणकुमार झाको रोहवरमा उनको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । यसअघि गत कात्तिक १४ गते पनि हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित आफ्नो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ वर्षीया बालिकालाई चकलेट र बिस्कुटको प्रलोभन दिई साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० वर्षीय आनन्द गोश्वामी र २२ वर्षीय अमीर झा अहिले पनि अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ । रासस
पारवहन सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि पुनरावलोकनका विषयमा दुई पक्षबीच छलफल भएको बताए। ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिन भारतीय पक्ष सकारात्मक भएको उनले जानकारी दिए। त्यस्तै जल यातायातका लागि केही नाका थप गरिएको छ । कलकता–कालुघाट–रक्सौल, कलकता–साहिवगञ्ज–रक्सौल, कलकता–साहिवगञ्ज–विराटनगर र कलकता–वणारसी–सुनौली नाका हुँदै जल यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक ढङ्गबाट छलफल भएको उनले जानकारी दिए। दुई दिनसम्म चल्ने बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव ढकाल र भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिज्य विभागका अतिरिक्त सचिव भूपिन्द्रर सिंह भल्लाले गरेका छन्।रासस
तटस्थता र विश्वसनीयतामा बस्ने आयोगको निर्णय काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्न बनाइएका दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिमा तटस्थता र विश्वसनीयतासहित बसेर काम गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी काम गर्न सकिने निर्णय गरेको आयोगका प्रवक्ता वेद भट्टराइले जानकारी दिए। “सङ्क्रमणकालीन न्यायका सम्बन्धमा आयोगको २०७६ साल भदौ ५ गतेको प्रेस विज्ञप्तिलाई स्मरण गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यताअनुरूप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी मात्र सिफारिस समितिअन्तर्गत रही कार्य गर्ने आयोगको धारणा रहेको सार्वजनिक गर्ने निर्णय गरेको छ” आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नाम सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति बनेको थियो । सो समितिले यही मङ्सिर २ गते दुई आयोगका पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम सार्वजनिक गरेको थियो । त्यसमा पुरानै पदाधिकारीको नाम दोहोरिएको छ । सार्वजनिक भएका नामहरुप्रति प्रतिक्रियाका लागि छ दिनका लागि प्रतिक्रिया दिन सूचनामा भनिएको थियो । त्यसमा दुई जनाको निवेदन परेको थियो ।रासस
महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही होइन : मन्त्री गुरुङ काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको बताएका छन् । मंगलबार राष्ट्रिय बाल अधिकार परिषद अध्यक्षको पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन् । मन्त्री गुरुङले सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्न पनि सो परिषदको पुनसंरचना गर्न आफू लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका नदेखिने, नभेटिने व्यवस्था गर्ने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्न परिषदका कर्मचारीहरुलाई सचेत पनि गराए । मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गर्व गर्न लायक मन्त्रालय बनाउने पनि दोहो¥याए ।
खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीको दाबी काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा सम्मान गर्दै उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि उचित बजेट विनियोजन गरिएको दावी पनि गरे । मन्त्री खतिवडाले सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम छिट्टै सम्पन्न गर्ने तथा सबै स्थानीय तहमा खेल ग्रामको स्थापनाका लागि आवश्यक बजेटको विनियोजना गरिएको उल्लेख गर्दै सो कामलाई तीव्रता दिन पनि सम्बन्धित निकायलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले खेलकुद अर्थशास्त्रको माध्यमबाट देशको अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले खेल पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक भएको पनि बताए ।
प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : सघन कक्षमा उपचार, अवस्था स्थिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सघन कक्षमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था स्थिर छ । मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेका साँझ साढे ७ बजे अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताए । उनले संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उनको स्वास्थ्यमा अरु पुराना कुनै पनि रोगको समस्या नभएको पनि स्पष्ट पारे । अहिले प्रधानमन्त्री ओली सघन उपचार कक्षमा चिकित्सकहरुको निगरानी छन् । मंगलबार विहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल पुर्याइएको थियो । प्रधानमन्त्री ओलीको चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए ।
‘रसुवागढी–काठमाडौं रेलवे’ अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति काठमाडौं । चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो । सो रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पु¥याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अव रेल वे निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताए । यस अघि चिनिया राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणको क्रममा सो रेल वे निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो ।
रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न सिकन्छ : परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपसी विश्वास, राजनीतिक समझदारी विस्तार, आर्थिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध प्रवद्र्धनका साथै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा रसियासँग सुदृढ सहकार्य गर्न आफू मस्को पुगेको बताएका छन्। रुसी महासंघको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले मंगलबार मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशन्समा प्रवचन दिँदै बहुआयामिक नेपाल–रसिया सम्बन्धका विविध पक्षबारे चर्चा गरे। परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपाल–रसिया सम्बन्ध, परिवर्तित सन्दर्भमा नेपालको परराष्ट्र नीति, नेपालको विकास प्रयास र भावी योजना तथा प्राथमिकता, नेपालको शान्ति प्रक्रिया र त्यसपछिका अवधिमा प्राप्त राजनीतिक उपलब्धि, सामाजिक–आर्थिक रुपान्तरणका प्रयत्नबारे विस्तृत रुपमा जानकारी गराएका छन्। नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३औँ वार्षिकोत्सवको सन्दर्भमा भएको आफ्नो रसिया भ्रमणले दुई देशबीच विद्यमान राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको उनको विश्वास छ। नेपाल र रुसी महासंघबीच व्यापार–वाणिज्यका क्षेत्रमा उल्लेख्य साझेदारी हुन नसकेको यथार्थ औँल्याउँदै मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध लगानीका अवसरको भरपूर उपयोग गर्न रुसी महासंघलाई आग्रह समेत गरे। उनले भने,“दुवै देशका सरकार, निजी क्षेत्र, विद्वत् वर्ग, सबै तह र तप्काका जनताले व्यापार, लगानी र पर्यटन प्रवद्र्धनलगायत सबै क्षेत्रमा अर्थपूर्ण साझेदारीका निम्ति अब विलम्ब नगरौँ ।” मन्त्री ज्ञवालीले कृषि, पर्यटन, खनिज पदार्थ उत्खनन, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी गर्न सकिने र त्यसमा उच्च प्रतिफल प्राप्त हुने जानकारी दिए । जलस्रोतका क्षेत्रमा गरिने लगानीले अझ उच्च प्रतिफल दिने भएकाले ढुक्क भएर लगानी गर्न समेत मन्त्री ज्ञवालीले आग्रह गरे। नेपालमा उत्पादित ऊर्जा बिक्रीका निम्ति बजारको समस्या नभएको पनि उहाँले स्पष्ट पार्दै उनले लगानी र व्यवसायको वातावरण बनाउन नेपाल सरकारले नीतिगत एवं संरचनागत सुधार गरेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, विशेष आर्थिक क्षेत्र, एकद्वार सेवा प्रवाह प्रणाली कार्यान्वयनमा ल्याएको बताए। सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा रुसी महासंघका मित्रहरुबाट हुने नेपाल भ्रमणले नेपाल भ्रमण वर्षको हाम्रो अभियानमा टेवा पुग्ने बताउँदै परराष्ट्रमन्त्रीले आकर्षक प्रतिफल प्रदान गर्ने पर्यटकीय पूर्वाधारमा रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुग्ने बताएका छन्। नेपाल भ्रमण वर्षलाई सफल पार्न मस्कोस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली सङ्गठन, द्विदेशीय उद्योग–वाणिज्य तथा मैत्री संघसंस्थाहरुसँग निकट सम्पर्कमा रहेर काम गर्ने बताउँदै उनले अनुकूल रुपमा सन् २०२० मा नेपालको भ्रमण गर्न कार्यक्रममा उपस्थित सबै रुसी नागरिकलाई निमन्त्रणा पनि गरेका छन् ।
बानेश्वरमा डाँक्टरलाइ ठक्कर दिएको बस रामेछापमा भेटियाे काठमाडौं । नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग क्रस भएको बा४ख ६१४ नम्बरको बस रोमछापबाट चालक सहित नियन्त्रणमा लिएको जनाएको छ। आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा अज्ञात सवारी साधनको ठक्करबाट जोशीको मृत्यु भएको थियो ।
राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष कसजूको निधन काठमाडौँ । राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ । निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।
शुल्क विवाद : मेडिकल कलेज सञ्चालकले बुझाए शिक्षामन्त्रीलाई प्रतिवद्धता काठमाडौं । सरकारले अतिरित्तल शुल्क फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा मंगलबार साँझ विस्तारै शुल्क समायोजन गर्दै जाने बताएका छन्। निजी मेडिकल कलेज सञ्चालकहरुको मंगलबार भएको बैठकले सरकारले तोकेको भन्दा बढ लिएको शुल्क समायोजन गर्ने प्रतिवद्धता गरेका हुन् । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक सुरेशकुमार कनौडियाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘एकैचोटी सबै फिर्ता गर्न सक्दैनौं, विस्तारै फिर्ता गर्छौँ।’ उनले कलेज पनि बन्द नहुने र सरकारलाई पनि सजिलो हुनेगरी काम हुनुपर्ने बताए । उनले भने, ‘संस्था पनि मर्नु भएन, विद्यार्थीले पनि पढ्न पाउनु पर्यो, सरकारलाई पनि ओनर्सिप हुनु पर्यो।’ उनले अन्तिम निर्णय भने भइनसकेको बताए। उनले अझै छलफल जारी रहेको बताए। सकारले एमबीबीएस अध्ययनका लागि राजधानी बाहिर साढे ४२ लाख र राजधानीमा साढे ३८ लाख रुपैयाँ शुल्क तोकेको थियो। त्यतिबेला कलेज सञ्चालकहरुले पनि सरकारी शुल्कमा सहमति जनाएका थिए । तर, घुमाउरो ढंगले विद्यार्थीलाई चेपुवामा पारेर ६० लाख रुपैयाँसम्म अशुलेको सार्वजनिक भएको छ। विद्यार्थीहरुले सरकारले तोकेको भन्दौ अधिक शुल्क फिर्ता गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्। यही बीचमा सोमबार सरकारले २४ घण्टा भित्र शुल्क फिर्ता गर्न अल्टिमेटम दिएको थियो। सरकारले अधिक शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनीसमेत दिएको थियो। सरकारले चेतावनी दिएपछि मंगलबार निजी मेडिकल कलेज सञ्चालकहरुको बैठक बसेको हो। बैठकले विस्तारै शुल्क समायोजन गर्ने निश्कर्ष निकालेको हो।
महिनावारीलाई पाप-धर्मको रुपमा लिनु हुदैन : मन्त्री मगर काठमाडौं । खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताएकी छन् । मन्त्री मगरले महिनावारीलाई धर्मसँग जोडने दृष्टिकोणलाई परिवर्तन गर्न महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । महिनावारीलाई पाप र अछुतो भन्दा पनि सम्मानसँग जोडेर हेर्नुपर्ने मन्त्री मगरको भनाई छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले सार्वजनिक विद्यालयहरुमा सेनेटेरी प्याड वितरण गर्ने सरकारको कार्यक्रमले महिनावारीलाई हेयको दृष्टिकोणले हेर्न नहुने सन्देश दिएको पनि स्पष्ट पारिन् । मन्त्री मगरले महिनावारी बार्ने चलन सामाजिक कुरितीको रुपमा रहेको उल्लेख गर्दै त्यसमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने पनि बताइन् ।
तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं : उद्योगमन्त्री भट्ट काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउने गरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउने पनि उनको दाबी छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने, ‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् । मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ मुलुक औद्योगीकरणको बाटोमा गैसकेको उनको भनाई छ । उनले भने, ‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’ काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’–उनले भने । त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । उनले भने, ‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भैरहेको छु । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’ आफू भर्खरै मन्त्रालयमा आएकोले अहिले छलफलको क्रममा नै रहेको पनि उनले सुनाए । उनले भने, ‘अब सुस्त गतिमा हिँडेर काम छैन्, हामी गतिमा काम गर्नेगरि अघि बढ्छौं ।’ पछिल्लो समय मुलुकको व्यापार घाटा कम भैरहेको सुनाउँदै यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको उनको भनाई छ । उनले भने, ‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँगपनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाह्य मुलुकसँगको व्यापारको लागि काम गर्छ ।’ उनले मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउनको लागि आफ्नो पहिलो काम हुनेपनि विश्वास दिलाए । उनले भने, ‘औद्योगिकमैत्री वातावरण बनाउन सकियो भने मुलुकमा आन्तरिक र बाहृय पुँजी आकर्षण हुन्छ । म त्यो काममा लागिरहेको छु । पछिल्लो समय बाहृय पुँजीपनि देशमा आकर्षण भैरहेको छ ।’ उनले स्थानीय तहमा छरिएर रहेका ग्रामोद्योगलाई अब एकै ठाउँमा ल्याएर व्यवस्थित् गर्ने आफ्नो योजना रहेको पनि सुनाए । त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको सुनाए । उनले भने, ‘केही क्षेत्रहरु घोषणा भैसकेका छन् । कतिपयहरु घोषणा हुने क्रममा छन् । कतिपयको डिपिआर र आई.ई.ए. भैरहेको छ ।’ मन्त्री भट्टले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने काम पनि भएको सुनाए । उनले भने, ‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामूहिक छलफल र निर्णयमा जान्छौं । हिजोमात्रै पनि मैले उहाँसँग छलफल गरेको छु ।’ उनले जनताका चाहना पूरा गर्नतर्फ आफ्नो मन्त्रालय दत्तचित्त भएर अघि बढ्नेपनि विश्वास दिलाए । उनले भने, ‘सरकारले लिएको लक्ष्य पूरा गर्न हामी गम्भिर छौं । प्रधानमन्त्रीज्यूको उद्देश्यअनुसार नै हामी अघि बढ्छौं । जनताका सबै आकांक्षा र सपना पूरा गर्नेतर्फ हाम्रो सक्रिय सहभागिता र प्रभावकारी काम हुनेछ ।’ राज्यमन्त्री मोतिलाल दुगडको बारेमा आएका कुरा आफूलाई त्यति ठूलो नलागेको पनि उनको प्रतिक्रिया छ । उनले भने, ‘उहाँसँग मैले दुई तीन पटक छलफल गरेको छु । हामी सहकार्य गरेर जान्छौं । उहाँको बारेमा आएका कुरा धेरै ठूलो हो भन्ने मलाई लाग्दैन् । अब मैले नबुझेको कुरामा टिप्पणी गर्नुपनि राम्रो हुँदैन् ।’ उनले आफू धेरै कुरा गर्नेभन्दा पनि काम गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘अरुले जस्तै म ठूलो कुरा गर्ने मान्छे होईन् । म त काम गर्ने मान्छे हुँ । म मेरो क्षमता र तागदअनुसार यो देशलाई समृद्ध बनाउने दिशातर्फ अघि बढ्छु । म पूरा ईमानदारीपूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छु ।’ उनले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारे पनि आफूहरुले अध्ययन तथा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘निजी क्षेत्रको व्यवस्थापन चुस्तदुरुस्त छ । सरकारी उद्योगहरु हाम्रो हो भन्ने भावना नै भएन् । व्यवस्थापनमा बसेकाहरुको व्यक्तिगत स्वार्थ लुकेको देखियो । अब त्यस्तो हुँदैन् । व्यवस्थापनमा बसेकाहरुले सरकारी उद्योगपनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ । यसको लागि योग्य व्यवस्थापक दिनुपर्छ । काम गर्ने कार्यशैली र सोचन बदल्नुपर्छ । सरकारले त्यसतर्फ पर्याप्त ध्यान पुर्याउँछ ।’ नेपाललाई कृषिलगायत अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउनको लागि पर्याप्त पहल भैरहेको पनि उनले सुनाए । उनले भने, ‘कृषि मन्त्रालयले कृषि उत्पादनमा आत्मनिर्भर बन्नको लागि आफ्नो रणनीति र योजनाहरु सार्वजनिक गरिसकेको छ । अहिले हामीले चामल धेरै आयात गरेका छौं । चामलमा आत्मनिर्भर हुनको लागि धान जोन अघि सारिएको छ । यो कुरा प्रदेशका कृषि मन्त्रालयहरुले पनि प्रभावकारी रुपमा कार्यान्वयनमा लागेका छन् । धानजस्तै मकै, आलु, प्याजलगायतमा पनि आत्मनिर्भर हुने योजना छ । अब हामी यी वस्तु निर्यात गर्ने अवस्थामा पुग्नुपर्छ भन्ने पक्षमा छौं । सोहीअनुसार काम गर्नेछौं ।’ उनले तरकारीमा धेरैजसो आत्मनिर्भर भैसकेको पनि दाबी गरे । उनले भने, ‘अहिले डडेलधुराबाट भारतको नयाँ दिल्ली तरकार निर्यात हुन्छ । सल्यानबाट काठमाडौं र भारतसम्म तरकारी निर्यात भैरहेको छ ।’ नेपालमा केही पनि हुँदैन् भन्ने मनोविज्ञान अब बदल्न जरुरी रहेको उनको टिप्पणी छ । उनले भने, ‘त्यो चिन्तन बदल्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउनेगरि काम गर्नुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।’ यद्धपी कतिपयले विदेशमा सिकेका सपी र अनुभवलाई स्वदेशमा लगाई देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको पनि उनले सुनाए । मन्त्री भट्टले आफूले घरमा भैंसी पालेको सुनाए । उनले भने, ‘मेरो घरमा मैले भैंसी पालेको छु । घरमा दुध किन्नुपर्दैन् । सबैले गाई, भैंसी पाल्नुपर्छ । यसो गर्न सकियो भने दुद्यमा हामी आत्मनिर्भर हुनेछौं ।’ उनकाअनुसार नेपाल अहिलेपनि सिमेन्ट, विजुली, माछा, मासु र छडमा आत्मनिर्भर भैसकेको छ । नेपालमै फलामी खानी रहेको कुरामा अनुशन्धान भैरहेको र यसको गुणस्तर परीक्षणको लागि चीन पठाईएको पनि उनले सुनाए । उनले भने, ‘हामी फलामी खानीको उत्खननको लागि संयन्त्र बनाउनेतर्फ छलफल गरिरहेका छौं ।’ केही वस्तुमा आत्मनिर्भर हुनासाथ मुलुकको अर्थतन्त्रमा ठूलो र सकारात्मक योगदान पुग्ने उनको विश्वास छ । उनले भने, ‘म त निमित्त मात्रै हुँ, सबैले सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’ उनले बजार अनुगमनको लागि पनि आफूले कडा कदम चाल्ने विश्वास दिलाए । उनले भने, ‘बजार अनुगमन गर्ने हो । तर, अनुशासन स्थापित गर्ने कुरामा सबैले ईमानदारीपूर्वक लाग्नुपर्छ । स्व–अनुशासनको पनि कुरा हुन्छ । राज्यले सधैं अनुगमन गरेरमात्रै पुग्दैन् । हामी व्यवसायीहरुलाई जनता र देशप्रति उत्तरदायी बनाउने दिशामा लाग्नेछौं ।’ आफूले समस्या समाधानको लागि कडा कानुन ल्याउने तयारी गर्न लागेको पनि उनको भनाई छ । अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने भन्नेबारे आफू अहिले छलफलमा केन्द्रित रहेको पनि उनले सुनाए । उनले भने, ‘बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्ने काममा हामी सफल हुनेछौं । तर, कमि कमजोरी सच्याउनको लागि हामी आग्रह गर्दछौं ।’ उनले आफ्नो कार्यकालमा उद्योगको क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा बढि र ठूलो योगदान पुर्याउने पनि दाबी गरे । अहिले अत्यावाश्यक वस्तुमा मृल्य वृद्धि हुनुको कारण भने उत्पादनमै कमी भएको पनि उनले सुनाए । उनले भने, ‘अहिले प्याज लगाउने सिजन छ । प्याजमा आत्मनिर्भर हुनको लागि हामी सबैले आफूलाई पुग्ने उत्पादन गरौं ।’ किसानहरुको उत्पादनलाई उचित मूल्य दिनेगरि आफूहरु छलफलमा जुटेको र सोहीअनुसारको संयन्त्र बनाउने पनि उनको भनाई छ । उनले भने, ‘किसानको उत्पादनलाई उचित मूल्य दिनेगरी नीति र योजना ल्याउँछौं ।’ उनले आगामी तीन वर्षसम्म नेपालमा चीनबाट पाईपलाईनमा तेल ल्याउने पनि दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रुपमा रहन्छु, चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं । यो सपना हामी पूरा गरेर छोड्छौं । यसको लागि हामी सबै सामूहिक दायित्वबाट जानुपर्छ ।’ उनले आफू उभिनु भनेको नै कालाबजारीहरु सतर्क हुनु भएको टिप्पणी गरे ।
सहकारी मार्फत् गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ : मन्त्री अर्याल काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताएकी छन् । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताएकी हुन् । ‘हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढ्न सक्ने भएकी छन्’ मन्त्री अर्यालले भनिन्, ‘यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।’ उनले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोबार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानुन निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै भनिन्, ‘सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत सुरु गर्ने तयारीमा सरकार रहेको छ ।’ रासस
बाजुरामा हेलिकप्टर नमगाउँदा सुत्केरीको मृत्यु बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए। घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्याइएको स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्य सहायक अमर बुढाले बताए। “एकाइमा पुर्याउँदा बेहोस नै हुनुहुन्थ्यो, साल निकालेपछि रगत पनि रोकियो, घाम ताप्दै बिस्कुट र चिया खानुभएको थियो, तरपछि एक्कासि मृत्यु भयो”, स्वास्थ्य सहायक बुढाले भने । हेलिकप्टरको लागि प्रयास गर्ने क्रममा सुत्केरीको अवस्था सुध्रेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सूचना पठाइएपनि एकाएक उनको मृत्यु भएको डा. विश्वकर्माको भनाइ थियो। बाजुरामा यसअघि पाँच सुत्केरीको हेलिकप्टरमार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रमबाट उद्धार गरिएको थिया।
मोटरसाइकल दुर्घटनामा परी नेकपा नेताको मृत्यु सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । उनका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो। गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुन् ।
सवारी दुर्घटनामा एक जनाकाे मृत्यु काठमाडाैं । गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा३क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए ।
२ वर्षको कैद सजाय पाएका फरार अभियुक्त पक्राउ धादिङ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाइ धादिङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङले २ बर्षको कैद हुनेगरी फैसला सुनाइएका गजुरी गाउँपालिका ५ बस्ने ३७ बर्षिया रामेश्वर सुवेदीलाइ पक्राउ गरिएको प्रहरी निरिक्षक सरोज राइले जानकारी दिए । फरार अभियुक्तलाइ धादिङ प्रहरीले मंसिर ८ गते पक्राउ गरी जिल्ला अदालत धादिङमा पेस गरेको र अदालतले कारागार चलान गरिसकेको धादिङ प्रहरीले जनाएको छ ।
बालबालिकालाई सचेतनालेमात्र बचाउन सकिन्छ : प्रदेश प्रमुख विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बालबालिकालाई दूरगामी असरबाट बचाउन  सचेत गराउँदै लैजानुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै उनले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र बताएका हुन् । प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गरे । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर बालबालिका संरक्षण ऐन ल्याउन लागेको जानकारी दिँदै बाल संरचनाहरु विद्यालयमा मात्र होइन समुदायमा पनि केन्द्रित हुनुपर्ने बताएका छन्। कार्यक्रममा उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको अधिकारका लागि स्थापना भएको संघसंस्थाले सरकारसँग हातेमालो गरेर हिँड्नुपर्ने बताइन् । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना आयोगले विसं २०८१ भित्रमा बालश्रममुक्त प्रदेश बनाउन विभिन्न योजना बनाएको जानकारी दिए नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले संविधानले बालअधिकारको पूर्ण रक्षा गरेकाले यसको व्याख्या स्थानीय तहसम्म हुनुपर्ने बताएका छन् । मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले बालबालिकाको उच्चतम हित र संरक्षणमा नेपाल प्रहरी सदैव तयार रहेको जानकारी दिए। सिविनका अध्यक्ष माधव मानन्धर र कार्यकारी निर्देशक सुम्निामा तुलाधरले यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको हित र संरक्षणमा लागि गरेको बताएका छन्। कार्यक्रममा पूर्वाञ्चल अनाथ आश्रमका सीता पोखरेल, बाल संरक्षण समूह बूढीगङ्गाका सुस्मिता क्रृषिदेव र सिविनका सदस्य डा गोविन्द सुवेदीले बालबालिका अधिकार स्थापित नहुन्जेल मुलुकमा समृद्धि नआउने धारणा राखेका थिए।रासस
धुलिखेलबाट ९ लाख रुपैयाँसहित २३ जुवाडे पक्राउ काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा–३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा–२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा–३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा–४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका–७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा–११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका–५ का ३७ वर्षीय रामप्रसाद चौलागाईँ, पाँचखाल नपा–७ का अच्युत चौलागार्इं, महाभारत गाउँपालिका–३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा–६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका–७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका–१ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका–३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका–४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका–५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा–२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा–६ का २८ वर्षीय भुवन बलामी र सोही नपा–७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको राती नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । उनका अनुसार उनीहरुलाई आजै म्याद थप गरी थप अनुसन्धान गरिनेछ । अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारवाही थालिन जनाइएको छ । यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा–८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिई रु एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा–६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट रु एक लाख ४७ हजार बरामद गरेको थियो ।
नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार काठमाडौँ । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता ९नाम परिवर्तन० र झापाका २५ वर्षीया सविना ९नाम परिवर्तन०को उद्धार गरिएको हो। माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो। उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए । चोरीमा संलग्न चार जना पक्राउ नेपाल प्रहरीले रु १२ लाख मूल्य बराबरको ह्याण्डी क्राफ्ट ९काँस तथा पित्तल० का सामाग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेपलाञ्चोका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई पक्राउ गरिएको जानकारी दिए । “चोरी गरिएका सामग्री वनस्थलीस्थित रोशन लामाको कोठामा लुकाएर राखेको भेटियो”, उनले भने । वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५ थान, काँस र पित्तलजस्तो देखिने नौ सिङ्गे दोर्जे १५० थान, चारसिङ्गे एण्डी ११५ थान र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ।
प्रहरीले पक्राउ गरेका व्यक्तिको रहस्यमय मृत्यु दिपायल । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरी चौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन् । पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीप लगी बाटो छेकेको र बाटो छेकेको जानकारी प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त पालीले आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको दुई क्याप्सुल औषधि खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उठाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले गैरा क्षेत्रमा मृतकका आफन्तले घटना रहस्यमय तरिकाले भएको भन्दै नाराबाजी गरिरहेका छन् । त्यहाँको स्थिति नियन्त्रण गर्नका लागि प्रहरीको सङ्ख्या थप गरिएको बताइएको छ । पालीले कुन औषधि खाएका हुन् भन्ने विषयमा उनको शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख देउवाले जानकारी दिए । शव परीक्षणका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । रासस
पाटे बाघको छालासहित ६ जना धादिङबाट पक्राउ धादिङ । पाटे बाघको छालासहित ६ जना धादिङबाट पक्राउ परेका छन् । जिल्लाको गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँमा (पृथ्वीलोकमार्गबाट अं ८०० मिटर माथि दक्षिण) पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ३ बस्ने ३८ वर्षीय भाईराम प्रजा, सोही ठाउँका ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका २ का ५७ वर्षीय सन्त तामाङ र सोही ठाउँका २१ वर्षीय राजकुमार तामाङ रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले वालसिंङ भन्ने ठाउँबाट हाईवे तर्फ बोकी ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो । ३ वटा मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाईकल चालक भाईराम प्रजा र सो मोटरसाइकलको पछाडि सवार राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाई छिपाई राखेको अवस्थामा ७ फिट २ ईन्च लम्बाई‚ १ फिट ३ ईन्च चौडाई भएको पाटे बाघको छाला थान १ फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । राईका अनुसार अन्य ग ७ प ५९६३ र ग ६ प १६४५ नं को मोटरसाइकलमा सवार ४ जना व्यक्तिहरु समेतको मिलेमतोमा बेचबिखन गर्न हिडेको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा बुझिन आएको हुँदा उनीहरुलाई पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाईएको छ ।
अपाङ्गमैत्री ऐन बनाएर समस्या समाधान गर्छौँः मन्त्री गुरुङ काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गमैत्री ऐन बनाएर अपाङ्गता भएका समुदायको समस्या समाधान गरिने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घले आइतबार भृकुटीमण्डपस्थित कार्यालय परिसरमा आयोजना गरेको शुभकामना तथा बधाईकार्यक्रममा उनले समाजको संवेदनशील क्षेत्र अपाङ्गता समुदायको समस्याको समाधान तथा उनीहरुको हकहितका पक्षमा मन्त्रालय हातेमालोका साथ अघि बढ्ने वचन दिएका हुन । संस्था जन्मनु र हकअधिकारका पक्षमा वकालत गर्नु राम्रो कुरा भए पनि गाउँ कुनासम्म पुगेर पीडितको पहिचान र अधिकारका पक्षमा आवाज उठ्छन कि उठ्दैनन् भन्ने महत्वपूर्ण कुरा हो भन्दै मन्त्री गुरुङले संस्था र मन्त्रालय दुवै इमान्दार र जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए। मन्त्री गुरुङ्गले भने, “सामाजिक संस्थामा कहिलेकाहीँ केही विकृति र अवसरवादी चरित्रले सरकारलाई पनि भुक्याउने र अलमल्याउने गरेका छन् । संस्था र मन्त्रालय दुवैले भुक्याउने छैनन् इमान्दारिता र नैतिकता देखाएर सामाजिक सेवाको भावना दर्शाउन मन्त्रालय प्रतिबद्ध छ ।” मन्त्री गुरुङले मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको गुनासो सुन्न र सेवा प्रवाहमा कुनै पनि कर्मचारीले अटेरी र असहयोग गरे गोप्यरुपमा आफूलाई जानकारी दिन आग्रह गर्दै यदि त्यस्तो कमीकमजोरी पाइएको खण्डमा तत्कालै सुधार गरेर लैजाने वचन समेत दिएकाछन् । महासंघका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता अधिकार ऐन, २०७४ जारी भएको लामो समय बितिसक्दा पनि नियमावली जारी हुन नसकेको र त्यसका लागि मन्त्रालय धाइरहनुपरेको गुनासो सुनाए । उनले समग्र अपाङ्ग समुदायको हकहित र भावनालाई कदर गर्दै राष्ट्रिय निर्देशक समिति गठन गर्न मन्त्रीसमक्ष माग गरे । महासंघले २०५० सालमा समाजकल्याण परिषद्सँग सम्झौता गरी भाडामा बस्दै आएको हालसम्म कार्यालयको भाडा ५६ लाख पुगेको र उक्त रकम तिर्न नसकेकाले अनुदान उपलब्ध गराउन तथा संस्थाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पहल गरिदिन पनि मन्त्रीसमक्ष आग्रह गरेको छ । सो अवसरमा मन्त्री गुरुङले भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपाङ्ग कोष, अपाङ्गता पुनःस्थापना केन्द्रको अवलोकन गरी त्यहाँको अवस्था र समस्याबारे कर्मचारीसँग जानकारी लिएका थिए । कोषका सदस्य सचिव यामनाथ मैनालीसहितका पदाधिकारी र कर्मचारीले मन्त्रीसमक्ष आफ्ना समस्या राखेका थिए । मन्त्री गुरुङले कोषको समस्याप्रति आफ्नो सक्दो सहयोग रहने भन्दै जिम्मेवार भएर काम गर्न आग्रह समेत गरे। रासस
निर्माण व्यवसायी आन्दोलित : प्रधानमन्त्री निवास अगाडी धर्ना बस्ने काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले सोमबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्ने, आफ्नो कार्यालय र सबै निर्माण उपकरणमा कालो झण्डा राख्ने र कालोपट्टी बाँधेर काम गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको हो । आइतबार पत्रकार सममेलन गर्दै महासंघले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग राखी सरकारलाई दवाव दिन आन्दोलन गर्नुपरेको जनाएको छ । महासंघका अध्यक्ष रबी सिंहले सरकारले २ खर्ब रुपैयाँ बराबरको २ सय भन्दा बढी आयोजनाहरुको म्याद थप नगरेको आरोप समेत लगाए । अध्यक्ष सिंहले टेण्डर प्रकृयामा भाग लिंदा बैंक क्रेडिट लाइन राख्नुपर्ने व्यवस्था गर्दा बैंकलाई बढी शुल्क तिर्नुपरेको भन्दै त्यसलाई हटाउन समेत माग गरे । व्यवसायीहरुका माग सम्बोधन नभए कुनै पनि निर्माण प्रक्रियामा भाग लिन नसक्ने अध्यक्ष सिंहले बताए । व्यवसायीहरुले सरकारको टेण्डर प्रकृयामा सहभागि हुन नसक्ने गरी नियमावली संशोधन भएकाले त्यसलाई सच्याउन माग गरेका हुन् । महासंघले दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजत पत्र सरकारलाई बुझाउने, ठूला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्ण रुपमा ठप्प पार्नेलगायतका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।