text
stringlengths
146
47.7k
एक कविको कथा: रेल: जब तिमीले हामी दुइटा रेलका डिब्बाजस्ता हौँ भन्यौ, म ज्यादै प्रफुल्लित भएँ । त्यसोभए हामी अवश्य पनि एकअर्कासँगै हुन गइरहेका छौँ । मैले तिमीलाई प्रसन्नतापूर्वक भनेँ । तिमी त्यस क्षण आतङ्कित देखियौ । तिमीले मलाई हेर्यौ मानौँ मैले केही भयानक कुरा भनेकी थिएँ । तिम्रो आश्चर्यले भरिएका ठूला आँखा सुख्खा नरिवलजस्ता देखिन्थे । म त्यस किसिमको दृष्टिबाट खाली बसको पछिल्लो सिटमा आफूलाई एक्लै पाएझैँ गरी झस्किएकी थिएँ । तर तिम्रो रेल तथा हाम्रो भविष्य सम्बन्धि दृष्टिकोणले मेरो हृदयलाई हलुका बनायो । हामी समुद्री किनारमा थियौँ जहाँ म घुमिरहेको सतहझैँ छालहरूतिर दौडिएँ । मानिसहरू तिमी ठूलो कवि हौ भन्छन् । कविले समुद्रमा कसरी आनन्द लिन सक्दैन ? केही छैन । म मतलब गर्दिनँ । म तिमीलाई तिम्रो आफ्नै संसारमा छोडिदिन्छु यसबेला, तिम्रो आँखामा देखिएको भावले तिम्रो मनभित्रको भावनालाई बाहिर ल्यायो – यो महिला पागल छे झैँ गरी । कन्चना प्रियकन्ठा “रङ्ग, रङ्गनाथ, कृपया आऊ । छालहरू अद्भूत छन् ।”, म नुनिलो पानीमा रमाइलो गर्दै चिच्याएँ – “हेर, यो पानीमा कति सन्चो हुन्छ ।” तिम्रो मप्रतिको स्पष्ट इरादाले ठूलो स्वरले तिम्रो विचारलाई व्यक्त गरेझैँ लाग्थ्यो – नुनीलो पानीमा धेरै राम्रो के हुन्छ र त्यस्तो ? मैले तिमीले यही नै सोचिरहेका छौ भनेर अनुभूत गरेँ । यसले मलाई दुःखी बनायो । “ रङ्ग, कृपया तिमी आउँछौ ?” अचानक मेरो स्कर्टलाई हावाले माथि माथि उचालेर हल्लाउँदै लग्यो र स्कर्ट चङ्गाझैँ नाच्न थाल्यो । मैले यसलाई च्यापेर समातेँ । म मेरो च्यातिएको स्ल्याक्स कसैलाई पनि देखाउन चाहँदैनथेँ । मैले नयाँ स्कर्टभित्र लगाउन धेरै कपडा किन्न आवश्यक थियो । रङ्गनाथ मसँग आउन चाहँदैनथे । त्यसोभए, रङ्ग, तिमी मेरो स्कर्ट भिजेजस्तै तिम्रो प्यान्ट भिज्छ भनेर डराएको हो ? तिमी यति कायर हौ ? दिक्क भइसकेको थिएँ तर मैले आफ्नो रिसलाई दबाएर राख्न कोसिस गरेँ । “मानिसहरू तिमी ठूलो कवि हौ भन्छन् । कविले समुद्रमा कसरी आनन्द लिन सक्दैन ? केही छैन । म मतलब गर्दिनँ । म तिमीलाई तिम्रो आफ्नै संसारमा छोडिदिन्छु । म यो क्षणलाई गुमाउन चाहन्नँ । त्यसैले म चाहिँ समुद्रमा खेल्न र भरिन जान्छु ।” त्यसपछि तिम्रो बारेमा केही पनि नसोची मैले हेरेको फिल्ममा झैँ हामी सिनेमामा छौँ जस्तो अभिनय गरेँ । मैले सिनेमामा जस्तै गरी तिमी दौडँदै मतिर आउँछौ र मेरो हात समातेर मसँगै गीत गाउँछौ भन्ने मेरो इच्छालाई कल्पना गरेँ । समुद्रीकिनारमा चक्कर लगाउँदै म तिम्रो सुकेको लौरोजस्तो पातलो हातलाई कतिसम्म समाउन सक्छु । तिमीलाई केही पानी छ्यापिदिने तीव्र चाहनालाई मैले रोक्न सकिनँ । त्यसैले मैले असभ्य किसिमले तिमीलाई पानी छ्यापेँ । “तिमी पागल भयौ ? अब म भिजेको लुगामा कसरी घर जान सक्छु ? तिमी दिमाग नभएकी मूर्ख पागल आइमाई । तिमी यहाँ केवल समय बर्वाद गरिरहेकी छ्यौ । म गएँ ।” पागल मान्छेलेझैँ आफैँसँग कुरा गर्दै तिमी मबाट टाढा गयौ । तिमीलाई हाँस्य कलाकारजस्तो देखेर मैले आफ्नो हाँसोलाई नियन्त्रण गर्न सकिनँ रङ्ग । “रङ्ग, कविहरू रिसाउँदैनन् ।” म चिच्याएँ । यो चुनौतीपूर्ण खेल थियो जसको लागि प्रशस्त शिप चाहिन्थ्यो । तर यो हामीलाई मनपर्ने खेल थियो । म यो खेल प्रायजसो जित्ने गर्थेँ । यद्यपि विश्वविद्यालयको छात्रको रूपमा तिमीमा यति कुरा बुझ्ने बुद्धि पनि नभएको जस्तो देखियो ः समुद्रीकिनार केटीलाई निर्दयतापूर्वक एक्लै छोड्ने ठाउँ होइन । र, म त अहिलेसम्म महिला भएकी पनि छैनँ । तर, रङ्ग, समुद्रीकिनार वास्तवमा एक्लै छोडिएँ भनेर मैले डराउनुपर्ने ठाउँ होइन । म समुद्रसँग एकदमै नजिक भएर कसरी हुर्किएँ भन्ने कुरा तिमी जान्दैनौ । हाम्रो घर समुद्रको नजिकै बनाइएको थियो, एगोदा उयनाको ट्रेन स्टेशनसँगै । हामी समुद्र र ट्रेन स्टेशनको बीचमा हुर्कियौँ । समुद्रीकिनारलाई हामी खेल्ने ठाउँको रूपमा प्रयोग गथ्र्यौं । सबैभन्दा धेरै हल्ला गर्ने ट्रेनले समेत हामीलाई ब्यूँझाउन सक्दैनथ्यो, जबकि ऊ हाम्रो टाउकैबाट गएझैँ गरेर जान्थ्यो । हामी समुद्र र ट्रेनसँग त्यति धेरै बानी परेका थियौँ । जब समुद्रीकिनारमा खेल्दाखेल्दै दिक्क हुन्थौँ, हामी रेलवेको लिकमा खेल्न जान्थ्यौँ । जो नलडिकन रेलवेको लिकमा सबैभन्दा धेरै बेरसम्म हिँड्न सक्थ्यो ऊ बिजेता बन्दथ्यो । अरू केटाकेटीहरूले अन्य ठाउँहरूमा खेल्ने खेलको सट्टा हामी रेलका स्लिपरहरूमा फाल हाल्ने गथ्र्यौं । यो चुनौतीपूर्ण खेल थियो जसको लागि प्रशस्त शिप चाहिन्थ्यो । तर यो हामीलाई मनपर्ने खेल थियो । म यो खेल प्रायजसो जित्ने गर्थेँ । कुनै कुनै बेलामा हामी रेलको लिकमा बसेर पढ्ने पनि गथ्र्यौं । त्यसकारण जब तिमीले हामीलाई रेलका डिब्बाजस्तै हौँ भन्दा म एकदम धेरै आनन्दित भएकी थिएँ । रेलका डिब्बाहरू रेलको स्लिपरहरूसँग जोडिएका थिए । स्लिपर भनेको रेलका दुइटा डिब्बाहरूलाई जोड्ने हातहरू हुन् । जब म बच्चा थिएँ म तिनीहरूको बारेमा यसरी सोच्थेँ । एकदिन ट्रेन स्टेशनमा हिँडिरहँदा मैले दुईवटा डिब्बाहरू एकअर्काको ज्यादै नजिकै राखेको देखेँ । तिमीलाई साँचो कुरा भन्दा रङ्ग, त्यो देखेर म एकदमै धेरै खुसी भएँ जबकि रेलका डिब्बाहरू कहिलेकाहीँ त्योभन्दा पनि एकदमै नजिकै पनि आउँछन् । त्यसकारण मैले तिमी र म सधैँका लागि सँगसँगै हुनेछौँ भन्ने अनुभूति गरेँ । ती विचारहरूसँग मैले राम्रो अनुभव गरेँ । त्यसकारण, मैले त्यहाँ रमाइलो गर्ने कामलाई बन्द गरेँ र समुद्रको नजिकै रहेका रेलका डिब्बाहरूमा गएँ । यदि तिमी त्यहाँ हुन्थ्यौ भने हामी एकअर्काको हात समातेर डिब्बाभित्र हिँड्न सक्थ्यौँ । मलाई थाहा छैन तिमीलाई के ले कवि बनायो । कविहरू संवदेनशील र पे्रमिल हुन्छन् भनिन्छ । जब मैले एकदिन तिमीलाई यो कुरा भनेँ, तिमीले मलाई यसरी हेर्यौ मानौँ मैले तिम्रो टाउकोमा ट्रेनले हानेको थियो । जब मैले मेरा साथीहरूलाई तिमी कवि हौ भनेँ, उनीहरू हाँसोको रूपमा छरिए । उनीहरूले तिमीले मेरो लागि कविता लेख्नुपर्छ भने । तर रङ्ग, तिमीले त मेरो लागि एउटा पनि कविता लेखेनौ । तिमीले युद्धको बारेमा मात्रै लेख्यौ । तिमी प्रभाकरणको मृत्युबाट किन यति धेरै दुःखी भयौ भन्ने कुरा कहिल्यै बुझेकी छैनँ । तिमीले तामिल जनतामाथि भएको अन्यायको बारेमा थुप्रै कविता लेखेका छौ । चलिरहेको युद्धले सबै पक्षलाई असर पुर्याएको छैन र ? तर तिमीले मेरो प्रश्नलाई मूर्ख कुरा ठान्यौ । तिमीले मलाई लामो नबुझिने जवाफ दिएपछि मैले तिमीलाई प्रश्न सोध्नु मूर्खतापूर्ण काम थियो भनी महसुस गरेँ । मलाई पूरै विश्वास छ तिमीले के भनिरहेका थियौ त्यस बारेमा तिमीलाई राम्रो ज्ञान थिएन । त्यसपछि तिमीले मलाई जातिवादी नहुन धम्क्यायौ । ‘जातिवादी’ भनेको को हो भन्ने पनि मलाई थाहा थिएन तिमीलाई नायकको रूपमा हेर्न थालेदेखि मैले सबैलाई प्रभाक रणले गरिरहेको काम ठीक हो भनेँ । तिमीलाई थाहा छैन रङ्ग, मैले वेल्लावाटे स्टेशनमा भएको बम आक्रमणमा छोरा गुमाएका छिमेकीलाई समेत युद्धको बारेमा तिमीले जे भन्यौ त्यही भनेँ । मैले तिम्रो नाम लिइनँ तर मैले ती विचारहरू मेरा आफ्नै थिएझैँ गरेर भनेँ । त्यसपछि उनले मलाई मेरी आमाको स्मरण गराउँदै गाली गरिन् । म उग्र थिएँ, त्यसैले मैले उनलाई जातिवादी भनेर अपमान गरेँ । रङ्ग, म तिमीलाई वास्तवमै बुझदिनँ, तिमी सधैँ धेरै विरोधाभासपूर्ण कुरा गर्छौ । ‘जातिवादी’ भनेको को हो भन्ने पनि मलाई थाहा थिएन । त्यसैले मैले तिमीलाई यसको अर्थ सोधेकी थिएँ । त्यसपछि तिमीले मलाई जातिवादी भनेको त्यो हो जसले आफ्नै जातको मात्र महिमा गाउँछ भन्यौ । फेरि तिमीले कसैले उनीहरूको अरू जातहरूको आलोचना नगरी आफ्नै जातको बारेमा महिमा गाउनु ठीक हो भनेर पनि भन्यौ । मसँग तिमीलाई सोध्न अरू केही प्रश्नहरू थिए, तर तिमी चलाक थियौ र मेरा प्रश्नहरूलाई कुशलतापूर्वक वेवास्ता गथ्र्यौ । तिमी मलाई जान्दथ्यौ, मेरो कवि साथी । “तिमी यो देशको समस्याहरू बुझ्दिनौ ।”, तिमी अनुहारमा नम्रता ल्याएर भन्यौ । “तर, रङ्ग, हामीले युद्ध गरेको वास्तवमै ठीक थियो ।”, मैले खुलेर त्यसो भनेँ । “के ? यो कुन किसिमको पागल विचार हो ?” तिमीले मलाई एकनासले हेर्याै मानौँ तिमी पागल महिलालाई हेरिरहेका थियौ । “युद्धले तिमीलाई कवि बनायो ।” तिमीले मैले व्यङ्ग्यात्मक टिप्पणी गरेँ भनेर सोच्यौ । त्यसैले तिमी मसँग एक हप्तासम्म रिसायौ । मैले तिमीलाई युद्धको बारेमा मात्र नलेखेर यी रेलवेका डिब्बा र लिकहरूको बारेमा पनि लेख्न सल्लाह दिएँ । कविका लागि सुन्दर कविता सिर्जना गर्न रेलवेको स्लिपर मात्रै पनि पर्याप्त हुन्छ । मैले आफ्नो खुट्टाले रेलवेको स्लिपरबाट बालुवालाई बाहिर फ्याँक्दै यस बारेमा सोचेँ । त्यो दिन तिमी मसँग धेरै शिष्ट र दयालु भएका थियौ । मैले मेरो जीवनमा पहिलोपल्ट तिमीभित्र एउटा विनम्र कवि देखेँ । तिमी फेरि कवि भयौ । तिमीले महिलाहरूको बारेमा कविता लेख्न सुरु गर्यौ । म धेरै खुसी भएँ । तिमीले हाम्रो आत्मसम्मानको सुरक्षा कसरी हुनै पर्दछ भन्ने बारेमा धेरै कविता लेख्यौ । मलाई ती मन पर्याे, रङ्ग । तिमी मेरो ब्वाइफ्रेन्ड भएकोमा मलाई गर्व महसुस भयो । म तिम्रा कविताहरूबाट सम्मोहित भएँ । तिनीहरूले मलाई कवि बन्न प्रेरित गरे । अर्को पटक जब म तिमीलाई भेट्नेछु, म पनि तिमीलाई कवि बनेर देखाउनेछु । त्यसको केही समयपछि हामीले फेरि भेट्यौँ । त्यस दिन मैले नयाँ स्कर्ट लगाएकी थिएँ । “चारू, म तिमीसँग एक्लै कुरा गर्न चाहन्छु ।” त्यो दिन तिमी मसँग धेरै शिष्ट र दयालु भएका थियौ । मैले मेरो जीवनमा पहिलोपल्ट तिमीभित्र एउटा विनम्र कवि देखेँ । तर, तिमी मलाई एक्लै पारेर के भन्नेछौ भन्ने कुराले म आश्चर्यमा परेकी थिएँ । “हामीले भेट्दा आजसम्म हामी दुईजना बाहेक हाम्रो साथमा अरू कोही पनि रहने गरेको छैन ।” “होइन, बेबी । मेरो मतलब कतै एकान्तमा जाऔँ । त्यसकारण हामी के गर्दैछौँ वा के भन्दैछौँ भन्ने बारेमा कसैले पनि नदेखोस् वा नसुनोस् ।”, तिमीले मेरो अनुहारमा नियाल्दै भन्यौ । “हामी कुरा गरेको बेलामा लाउडस्पिकरको प्रयोग गर्दैनौँ । त्यसले हाम्रो कुरा कसैले सुन्ला भनेर चिन्ता लिनु पर्छ जस्तो मलाई लाग्दैन ।” जब तिमीले तिम्रो अनुहार मेरो अनुहारको नजिकै ल्यायौ, तिम्रो गन्हाउने स्वासप्रश्वासको कारण मैले आपूmलाई केही कदम पछि सारेँ । मलाई वाकवाकी लाग्यो र आफ्नो अनुहारलाई अर्कोतिर फर्काएँ । मलाई लाग्छ तिमीले मेरो यस प्रतिकृयालाई मैले लाज मानेँझैँ गलत किसिमले बुझ्यौ । त्यसैले तिमीले मेरो अनुहारलाई बल गरेर तिम्रो अनुहारतिर फर्कायौ । “तिमीले के भन्यौ, चारू ?” “म उल्टी गर्न चाहन्छु ।” “तिमीले ब्रेकफाष्ट खाएकी थिइनौ ?” मैले यस विषयमा दुःखी भएको अभिनय गरेँ र आफ्नो अनुहारलाई अर्कोतिर फर्काएँ । तर मेरो भित्री विचारमा तिमीले दाँत माझेका थिएनौ । “मैले कविता लेखेँ, रङ्ग । तिमी यसलाई पढ र मलाई प्रतिक्रिया देऊ भन्ने चाहन्छु । हिजो मैले रेलको लिक सम्बन्धी एउटा कविता लेखेँ ।” “तिमीले केही खाएका छैनौ भने त्यहाँ क्याफेमा जाऔँ र केही खाऔँ । मसँग पैसा छ । अस्तिको दिन हामीले तलब पायौँ ।” मैले भनेँ किनभने म तिम्रो श्वासबाट आएको भयानक गन्ध सुँघ्न चाहन्नथेँ । “र, यो सल्लाह तिमीले कहिल्यै पनि अस्वीकार गरेका छैनौ ।” “के सबै कविहरू तिमीजस्तै छन्, रङ्ग ?” “कविताहरू पनि, मानिसहरूबाटै लेखिएका छन्, चारूलथा ।” “त्यो वाक्य आपैmँमा कविताजस्तो छ रङ्ग ।” “मैले जागिर पाउनै पर्छ ।” “कहाँ ? पत्रिकामा ?” “होइन…।” “अनि ?” “जहाँसुकै भए पनि । मैले क्याम्पसको पढाइ नसकुन्जेलसम्मको लागि ।” “त्यसोभए तिमी कविता लेखनलाई निरन्तरता दिँदैनौ ?” “कविता लेख्नलाई पनि पहिला म मैले बाँच्नै पर्छ ।” “तिमी अरू नै केही विषयमा कुरा गर्दैथियौ । तिमी मलाई कहाँ जान निम्तो गर्न चाहन्छौ ?” “अँ…। तिमीले अस्ति तलब पाएकी हुनाले तिमीसँग पैसा छ भनेकी छौ ।” “अँ, मैले पनि कविता लेखेँ, रङ ।” “ऊ त्यो ठाउँमा जाऔँ । त्यस ठाउँलाई म जान्दछु । धेरै महङ्गो पनि छैन ।” “म त्यस्तो ठाउँमा जान सक्तिनँ । मैले कविता लेखेको छु भनेको कुरा तिमीले सुनेनौ ?” तिम्रो अनुहार अँध्यारो भयो । “मैले कविता लेखेँ, रङ्ग । तिमी यसलाई पढ र मलाई प्रतिक्रिया देऊ भन्ने चाहन्छु । हिजो मैले रेलको लिक सम्बन्धी एउटा कविता लेखेँ ।” “तिम्रो बकवासलाई फ्याँकिदेऊ ।” तिमीले विषालु ग्याँस मेरो अनुहारमा फ्याँक्यौ । तर अचम्म ! यसले मलाई चोट पुर्याएन । मैले जुनसुकै स्तरको होस्, तर जसरी भए पनि आफू कवि बन्नुपर्छ भन्ने निश्चय गरेँ । बरू, तिमीले गरेको काम सम्झेर भने दिक्क भएँ । म पनि रिसाउन सक्छु भन्ने कुरा त तिमीले जान्नैपर्ने हो । “तिमीले ठीक भनेका हौ, हामी रेलका लिकजस्ता हौँ ।” “चारू, आऊ । मैले तिमीलाई रिस उठाएँ हो ?” हामी क्याफेको नजिकै थियौँ । मैले सोचेँ – म तिमीलाई केही पनि खुवाउने छैनँ, रङ्ग । “म भोकाएकी छैनँ । त्यसकारण म केही पनि खान चाहन्नँ । ढिलो भइसक्यो । म जान्छु ।” “तिमी कहाँ जान्छ्यौ ?” “ट्रेन नजिक आउँदैछ । पर जाऊ ।” “चारुलथा…।” ट्रेन त्यहाँबाट गयो । त्यसपछिदेखि मैले कहिल्यै पनि रङ्गनाथसँग कुरा गरिनँ । **** #कन्चना प्रियकन्ठा #श्रीलङ्का
काठमाडौँ खाल्डोमा हराएका हामी बर्मेली: हामी काठमाडौँमा छौँ । हर्ष र विस्मृतिलाई थन्क्याएपछि, थकाइका उकाली र ओरालीलाई पछाडि नै छाडेपछि अनुहारमा एउटै रङ पोतियो, त्यो हो आनन्दताको सङ्लो रङ । हामीसँग एउटै भाव उत्पन्न भइरहेको देखिन्थ्यो, नेपाल आमाको काखमा छौँ भन्ने भावना । जतिसुकै अस्वीकार गरे पनि हामीलाई बर्मापछि माया लाग्ने देश नेपाल हो । चाहे त्यो नेपालीहरूले स्वीकार गरून् वा नगरून् । माया भन्ने कुरा कसैले सिकाएर आउने होइन रहेछ, सानैदेखि कुन भाषा बोलियो, कुन संस्कार बोकियो माया पनि त्यही अनुसार हुँदै जाने रहेछ । अहिले हामी त्यही माया बोकेर काठमाडौँका गल्ली नापिरहेका छौँ । फाल्गुन महिना, माण्डलेमा गर्मी चढिसकेको हुन्छ । तर काठमाडौँ चिसो नै थियो । ज्ञान सरले काठमाडौँमा गर्मी घटिसकेको बताउन भए पनि म कामिरहेकी थिएँ । हामीले बाटोमा सल्लाह ग¥यौँ, एकोटा ज्याकेट किन्नैपर्छ । फागुुन महिनामा भैँसी बेचेर सिरक किनेको आहान बर्मामा खुुबै प्रचलित छ । नेपालमा छ कि छैन थाहा छैन । हामीले ज्याकेट किन्ने सल्लाह गर्दैगर्दा यो आहान सम्झियौँ र हाँस्यौँ । ज्ञान सरले भन्नुभयो, “यता त झन् चलेको छ ।” हामी हिन्दू विद्यापिठबाट खाना खाएर निस्किएका थियौँ । हाम्रो उद्धेश्य निष्फिक्री काठमाडौँ घुम्नु थियो । बाटोमा कतै दरबारजस्तो देखिने घर कतै मन्दिरजस्तो देखिने दरबार, कतै काष्ठकलाको अनौठो नमूना, कतै हस्तकलाको सुन्दर प्रदर्शनी जस्तो लाग्ने ठाउँ । अनि कतै कतै कुरूप सहर । काठमाडौँको प्यागोडा शैलीको जुन कल्पना गरिएको थियो, त्यो त ठाउँ ठाउँमा संरक्षण गरेर मात्र राखिएको रहेछ । मलाई लाग्यो, नेपालको सरकारले सहर कस्तो बनाउने भन्ने योजना बनाएकै रहेनछ । हामीले देवकोटा, भानुमक्त, भिक्षु र पारिजातका पुस्तकहरूमा जुन काठमाडौँ पढेका थियौँ, त्यसलाई सरकारले सायद ध्वस्त बनाएको हुनुपर्छ । मतलब योजना नबनाएर । हामीलाई बोकेको गाडी एउटा मनोरम पुरातात्विक ठाउँमा पुगेर रोकियो । “यो ठाउँ पाटन हो, योचाहिँ ५ सय वर्षअघि बनेको दरबार । यसलाई मंगल बजार भनिन्छ ।”, ज्ञान सरले यसको बारेमा यति भनिदिँदा मैले पढेका नेपालको इतिहास झुलक्क सम्झिएँ । त्योबेला काठमाडौँभित्र विभिन्न देश थिए, त्यसमध्ये यो एउटा देशको राजधानी हो भन्नेसम्म बुझेँ । एउटा सानो देशको दरबारको यो भव्यता साच्चै नै अनौठो थियो । हाम्रो यात्राको गन्तव्य धनगढी थियो । चिन्ता उताको पनि थियो । पाटन दरबार घुम्दै गर्दा भीमजी बेला बेलामा ज्ञान सरलाई साहित्य महोत्सवका विषयमा सोध्नुहुन्थ्यो, “सर भोलि कि पर्सि जाने हो धनगढी ?” “प्लेनको टिकट मिलाउन सुविधा भएन रहेछ, बिहान आयोजक अध्यक्ष रामलाल जोशीजीसँग कुरा भाथ्यो, पर्सी मात्र धनगढीतिर लाग्न हो ।” खासमा हामी भोलि नै धनगढी लाग्न चाहन्थ्यौँ । हामी छक्क पर्यौँ । हाम्रो चिन्ता दूर गर्दै ज्ञान सरले भन्नु भयो, “केही छैन, आज हामी पाटनका सबै ठाउँ र समय रह्यो भने न्युरोड घुम्ने । भोलि सबै काठ्माडौं घुम्ने त्यसपछि पर्सी धनगढी लाग्ने । के थाहा उताबाट फर्कदा काठमाडौँ घुम्न पाइएला नपाइएला ?” “अहिले हामी काठमाडौंमै छौँ हैन ?”, सीमादी छक्क पर्नुभयो । “होइन, काठमाडौँभित्र तीनवटा सहर छन्, ठूूलो हुँदै जाँदा एकै ठाउँ जोडिएको मात्र हो । हामी अहिले तीनवटामध्ये एउटा सहरको एउटा पुरातात्विक ठाउँमा छौँ ।”, केही अघिसम्म मेरो ज्ञान सत्य हो होइन, शंका उब्जेको थियो । अहिले ज्ञान सरले त्यसलाई सत्य सावित गरिदिनुभयो । उहाँले हामीलाई कहाँ कहाँ लैजाने र कहाँ कहाँ घुमाउने योजना बनाइसक्नुभएको रहेछ । मनमनमा खुसी लाग्यो । “खासमा भोलि पनि हामी उता उड्न सक्त्थ्यौँ तर तिमेरूलाई नेपाल खाल्डौ घुमाऔँ भनेर म र अश्विनीजीले यस्तो योजना बनाएका हौँ ।”, यो नाम हामीले पहिलो पटक सुनेका थियौँ । “खासमा भोलि पनि हामी उता उड्न सक्त्थ्यौँ तर तिमेरूलाई नेपाल खाल्डौ घुमाऔँ भनेर म र अश्विनीजीले यस्तो योजना बनाएका हौँ ।”, यो नाम हामीले पहिलो पटक सुनेका थियौँ । कुनै केटीको नाम आएका कारण मात्रै मेरो चासो बढ्यो । सायद अरूले यो कुरामा ध्यान दिनुु भएन । मैले पनि अश्विनी को हो सोधिनँ । एकैछिनमा हामी पाटन दरबारका विभिन्न ठाउँमा घुम्न थाल्यौँ । एक एक कुरा दर्शनीय थिए । बर्माले पनि आफ्नैखालको सुन्दरता बोकेको छ तर नेपालको बातै अलग छ, यो देश कति हो कति पुरानो, पौराणिक कालदेखिको, रहस्यमयी पनि, यहाँका हरेक ठाउँहरूले आफ्नै इतिहासका गाथा बोकेका छन्, । नेपालका विषय धेरै पढेका कारण पनि बर्मापछि मलाई यो देश बढी ऐतिहासिक लाग्छ । त्यसमाथि यो हाम्रो पुर्खाको देश । त्यसै पनि राम्रो लागिहाल्छ । ज्ञान सरले पनि हामीलाई आफ्नो पुर्ख्यौली थलो देखाउन, यहाँका अद्वितीय संस्कृतिक र कलाले सुशोभित आकर्षक ठाउँमा लान उत्सुक हुनुहुन्थ्यो । उहाँले हामीलाई विश्वले मान्यता दिएका ऐतिहासिक जग्गासँग प्रत्यक्ष गराउँदै जानुभयो । ज्ञान सर, साँच्चै मिजासिलो हुनुभएको थियो । कहिले कडा टिचर बन्ने ज्ञान सर यतिबेला गाइड बन्नुभएको छ । कुनैबेला सँगैको दौतरी जस्तो पनि । “हेर त ! त्यहाँ कति सुन्दर ढुङ्गेधारा छ, जाओ त्यहाँ गएर पालैपालो उभ । म फोटो लिदिन्छु ।”, उहाँ सकेसम्म हामीलाई बढीभन्दा बढी ठाउँको तस्बिर र त्यसका इतिहाससँग परिचित गराउन चाहनुहुन्छ । बर्माको स्वतन्त्रता आन्दोलन गर्दागर्दै सरकारको आँखा परेर नेपाल भाग्नुपरेको थियो उहाँले । त्योबेला नेपाल आएपछि उहाँले नेपालका सबै प्रजातान्त्रिक व्यक्तित्वसँग नजिकको सम्बन्ध बढाउनु भयो । बर्माको नेपालस्थित दूतावासमा प्रदर्शन गरेर दबाब बढाउने र त्यसमा नेपाली नेताहमार्फत् नैतिक दबाब दिने काम पनि गर्नुभएको रहेछ । लामो समय नेपाल निर्वासित हुँदा उहाँले हिन्दु विद्यापिठमा पढाएर जीविकोपार्जन गर्नुभएको थियो । तर उहाँको नेपाल बसाइ बर्मामा रहेका सबै गोर्खालीहरूका लागि सुखद भइदियो । उहाँले नेपाल बसेर हाम्रा लागि नेपाली भाषाको पाठ्यक्रम तयार पारिदिनु भयो । हामी जस्ता सामान्य मान्छे नेपाल आउने वातावरण बनाइदिनु भयो । एउटा मान्छेको संघर्ष कति हुन्छ, अनुहार हेरेर थाहा हुन्न, लामो समय संगत गरेपछि थाहा हुन्छ । उहाँलाई मैले नेपाली भाषा र साहित्यमा चिन्तित व्यक्तित्व भन्ने बुझेको थिएँ तर उहाँ त बर्माको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुनुहुँदो रहेछ । पाटन दरबार घुम्दै जाँदा थोरै थोरै उहाँले आफ्नो कथा पनि चुहाउँदै जानुभयो । हामीलाई पाटन दरबारको सौन्दर्यले जति तान्यो, त्यति नै ज्ञान सरको संघर्षले वषिभूत बनायो । हामीले धनगढी र त्यहाँको साहित्यिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने योजना पनि बनाउँदै गयौँ । हामी दरबार परिसर वरपर हेर्दै, फोटो लिँदै, सरको पुराना कथाहरू पनि सुन्दै गयौँ । उहाँले आगामी दिनका योजनाहरू पनि बताउनु भयो । जसअनुसार हामीले धनगढी र त्यहाँको साहित्यिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने योजना पनि बनाउँदै गयौँ । “यहाँभित्र मल्लकालीन सामग्रीहरू छन् ।”, ज्ञान सरले भित्र छिर्ने बाटोतिर जाने इसारा गर्दै भन्नुभयो, “यहाँ आएको बेला हेरौँ है त !” उहाँको आदेश पाउनेबित्तिकै हामी छिर्याैँ । तर पालेले भित्र जान रोके । भुकम्पपछि भित्र जान मनाही छ रे । किन ? भनेर सोध्दा उनीहरूसँग उपयुक्त जवाफ थिएन । भुकम्प गएको यत्तिका वर्ष भैसक्दा पनि जानैपर्ने महत्वपूर्ण ठाउँमा जान नदिएर सकारले गल्ती गरेको महसुस भयो । त्योभन्दा पनि बढी किन भन्ने प्रश्नको जवाफ नपाउँदा भयो । “केटीहरू मङ्गलबजारमा केही नकिन्ने ?“ यी चोकहरुका परिचित भीमजीले हामीलाई भन्नुभयो, “यहाँ पाउने चिजबिज अरूतिर पाउँन्न ।” पाटनको मध्यभागमा रहेछ मङ्गलबजार । युवतीहरूको स्वभाव नै सौन्दर्यप्रति अभिमुख हुनु हो । सबैले आ–आफ्नो रुचिका कुरा हेर्न थाले । मैले चाहिँ झुम्का किनेँ । मसँग त्यो बेलासम्म नेपाली रुपैयाँ रहेनछ । “भारू चल्छ ?” मैले पसलेलाई डराइ डराइ सोधेँ । “चल्छ हजुर ।”, पसलेले सजिलै जवाफ दियो । जति सजिलोगरी उसले जवाफ दियो, त्यति नै दुख्यो मलाई । चल्दैन भनेको भए हुने । नेपालमा भारतको ठूलो प्रभाव छ भनेर बारम्बार सुन्थेँ, पसलेको जवाफले महसुस पनि गरेँ । ‘तिमेरु केही नकिन्ने ?’, महिला प्रशाधन पसलको बाहिर उभिएका पुरुषहरूलाई हेर्दै ज्ञान सरले सोध्नुभयो । “हामी चाहिँ दौरा सुरूवाल किन्ने हो सर ।” वहाँहरू तीनैजनाको एउटै भनाइ थियो । विशेष साँस्कृतिक कार्यक्रम र तिहारबाहेक बर्मामा दौरासुरूवाल, चौबन्दी, फरिया कहाँ लाउन पाउनु ? नेपाली मन भए पनि भुषामा पूर्णरूपले बर्मेलीकै अनुसरण गरिन्छ । हामीले बोलेका कतिपय कुराहरू बर्मा मिस्रित हुन्थे । खासमा बजार किनमेल गर्दा अप्ठ्यारो भइरहेको र हामी आफैँमा एउटा हाँस्यस्पद बन्न पुग्ने हुनाले पूरा वाक्य नेपालीमै बोल्ने भाषा सुधार अभियान त्यहीँबाट सुरू भयो । साथमा भुषाबाट पनि पूर्ण नेपाली बन्ने चाहना पनि बढ्यो । “हाम्रो टोली नेपाल भित्रिसकेको शुभसमाचार पाएपछि चारैतिरबाट बोलावट हुन थाल्यो, कहाँ जाने होला ? दुुई तीनवटा फोन उठाएपछि ज्ञान सरले भन्नुुभयो, ‘अरुतिर त भ्याइँदैन होला, लघुकथा समाजतिर जाउँ है ?’ खासमा यो प्रश्न औपचारिक मात्र हो भन्ने हामीलाई थाहा छ । हामी त उहाँले जहाँ लिएर जानुहुन्छ, खुरुखुरु जाने मात्र हौँ । केहीक्षणपछि हामी पाटन दरबारबाट बाहिर निस्कियौँ र गाडीमा चढ्यौँ । गाडीले कुुरूप सहरको दर्शन गराउँदै लघुकथा समाजको कार्यक्रममा पुर्यायो । जुन भवनमा कार्यक्रम थियो, त्यसको नाम सायद महिला विकास केन्द्र, यस्तै केही थियो, टिप्न बिर्सिएछु । साहित्यमा सबै कुरा सत्य कहाँ होला र भनेर मैले यस्तै लेखिँदिएँ । सोधेको भए सायद यहाँ अर्कै नाम लेखिन्थ्यो होला । आजकै दिन हामीले पढ्ने र पढाउने पाठ्यक्रमका तीनवटै सम्पादनसँग भेट हुने अवसर पाउँदा आँखा रसाउनु स्वभाविक नै थियो । कार्यक्रममा हुनुहुन्थ्यो, गोरखापत्रका सम्पादक (यो लेख्दै गर्दा उहाँ भूतपूर्व सम्पादक भइसक्नुभयो भन्ने सुन्दैछु) श्रीओम श्रेष्ठ रोदन, लक्ष्मण गौतम । यी दुुवै व्यक्तित्व मेरा लागि आमा, बुवापछिका परिचित गुरुहरूको वर्गमा पर्छन् । बर्मेली पाठ्यक्रमका सम्पादक उहाँहरू नै हुनुहुन्छ । मैले बर्मेली गोर्खाली विद्यार्थीहरूलाई पटक पटक तिम्रो पाठ्यपुस्तक कसले लेखेको हो भनेर सोधेको छु र जवाफमा उहाँहरूको नाम सुनेको छु । अझ गएको वर्ष कक्षा ५ सम्मको नयाँ पाठ्यपुस्तको शैक्षिक तालिम दिन सरहरू बर्मा आउनुभाको थियो । उहाँहरू मिचिना, यंगुन, लोखू र मोगोक गरेर नेपाली बस्ती बढी भएका प्रान्तमा नेपाली अध्यापन गराउने गुरू–गुरूमाका निम्ति शिक्षक प्रशिक्षण तालिम दिन आउनुभएको थियो । त्यहीक्रममा म्यान्माकै जेष्ठ साँस्कृतिक विद्यापीठ लोखूमा मैले सरहरूसँग भेट्ने अवसर पाएकी थिएँ । अँ, म्यान्माली नेपाली पाठ्यपुस्तक सम्पादनमा डा.चिन्तामणि योगी पनि हुनुहुन्छ । जे होस्, आजकै दिन हामीले पढ्ने र पढाउने पाठ्यक्रमका तीनवटै सम्पादनसँग भेट हुने अवसर पाउँदा आँखा रसाउनु स्वभाविक नै थियो । आज म जे लेख्ने प्रयास गर्दैछु, यो लेखनीमा कतै न कतै यी तीनजना नेपाली भूमिका पुत्रहरूको योगदान छ भन्दा मलाई गौरव लाग्छ । मलाई मात्र किन, एक लाख बर्मेली नेपालीहरूले उहाँहरूलाई सुनेको र पढेको छ । तीनजना विद्वानहरूले लगाएको गुण सायदै कुनै नेपालीहरूले बिर्सन्छ होला ! हाम्रो भावुकता भवनबाहिर एकछिन् छताछुुल्ल भएर पोखियो । हामी कहाँ उभिएका छौँ र के गर्दैछौँ भन्ने सायद हामी सबैले बिर्सियौँ । अपनत्व भनेको सायद यही होला । उहाँहरूको आँखाले पनि वर्षौँदेखि भेट्न चाहेको व्यक्तिहरूलाई भेटेको महसुस गराउँदै थियो । यो आत्मीय क्षणको भिडियो सायद खिचिएन, तर पनि मेरो मनले त्यो दृश्य जस्ताको तस्तै कैद गरेको रहेछ भन्ने कुरा यो लेख्दै गर्दा महसुस हुन्छ । ‘लौ, ढिला भयो, भित्र जाऔँ ।’ कसैले यति भनेपछि बल्ल हामी सबैको होस खुलेजस्तो भयो । सरहरू अघि लाग्नु भयो । हामी पछि लाग्यौँ । मलाई लघुुकथाको सिद्धान्त हुन्छ भन्ने थाहा थिएन । कार्यक्रम अघि बढ्दै जाँदा लघुकथा लेख्ने तरिका, यसको स्वरूप पनि थाहा हुँदै गयो । हामी त अनजानमै लघुकथा प्रशिक्षण केन्द्रमा पो आएका रहेछौँ । लघुकथा समाजले लघुकथा बारे विभिन्न कार्यक्रम गर्दोरहेछ । यसका अध्यक्ष पनि श्रीओम सर नै हुनुहुँदो रहेछ । त्यसैको एउटा कार्यक्रम यो रहेछ । मलाई लघुकथा पढ्न मन लाग्छ, लेख्ने रहर पनि जाग्छ । तर यसको पनि आफ्नै सिद्धान्त हुन्छ भन्ने थाहा पाएपछि लेख्नै डर लाग्यो । जान्नुभन्दा नजान्नु कति उत्तम ! यो संस्थाले भाद्र छ गते लघुकथा दिवस पनि मनाउँदो रहेछ । यसले कथाको क्षेत्रमा एउटा र लघुकथाको क्षेत्रमा दुईवटा गरी तीनवटा पुरस्कारको स्थापना पनि गरेको रहेछ । मञ्चमा भाषण हुँदै थियो र म नयाँ नयाँ कुरा थाहा पाउँदै थिएँ । बर्मेली समाजमा यसरी साहित्यको कार्यक्रम हुनु र नयाँ कुरा थाहा पाउनु कल्पना बाहिरको कुरा हो । म छक्क पर्दै कार्यक्रमलाई ध्यानपूर्वक मनन् गर्दै गएँ । कार्यक्रममा कवि तथा लघुकथाकार महेश प्रसाईं र कथाको क्षेत्रमा सनत रेग्मीलाई सम्मानित गरियो । रचना नामको बहुुचर्चित पत्रिकाका सम्पादक रोचक घिमिरेले त्यसको प्रमुख आतिथ्यता गरिरहनुभएको थियो । म्यान्माली अतिथिका रूपमा ज्ञान सर मञ्चमा विराजमान हुनुहुन्थ्यो । यसबाट संस्थाले हामीलाई पनि महत्व दिएको महुसुस गराएको थियो । हाम्रो आगमनमा वक्ताहरुले फूलबुट्टा भरेर हामीले भाषा र साहित्यमा गरेको योगदानको चर्चा गरेपछि त हामी मख्ख नपरी रहन सकेनौँ । अझ हाम्रो आगमनमा वक्ताहरुले फूलबुट्टा भरेर हामीले भाषा र साहित्यमा गरेको योगदानको चर्चा गरेपछि त हामी मख्ख नपरी रहन सकेनौँ । नेपाली मन कति फराकिलो हुन्छ, जहाँ बसे पनि आखिर नेपाली शैली कायम नै हुने रहेछ भन्दै हामीले कानेखुसी पनि गर्यौँ । सँगै हामी वर्षको तीन महिना त्यो पनि व्यक्तिगत प्रयासमा नेपाली पढेर आफू नेपाली हुनुुको गौरवबोध गर्ने बर्मेलीहरू जब यहाँ लघुकथादेखि उपन्यास सबैको छुट्टाछुट्टै संस्था देखेर हामीले कति धेरै गर्न बाँकी छ भन्ने कुरा पनि थाहा पायौँ । कार्यक्रममा छिर्दा हामी नेपाल घुम्न आएका यात्रुु जस्ता मात्र थियौँ, कार्यक्रमबाट निस्कँदा नेपाली भाषा र साहित्यको विश्वविद्यालयबाट पढेर निस्किए जस्तो भयौँ । नेपालमा बस्ने नेपाली साँच्चै नै भाग्यमानी ! आफ्नो भाषामा यसरी खुला छलफल त्यो पनि हरेक साना साना विषयमा, कहाँ पाउनु ? तर यो कुरा कति नेपालीले बुझेका होलान् ? प्रवासमा बस्नुको पीडा प्रवासीलाई नै थाहा हुन्छ । चाँडै यो कुरा नेपालका नेपालीले बुझून् । #बर्मादेखि नेपालसम्म
मदन पुरस्कार बिजेता रामलालको नयाँ कथा: अस्तित्वको खोजी: बा रको चौथो तला उक्लिन थाल्दा उसको सास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती । मैले सोचेँ – बिरामी रैछे । हेल्प गर्दिऊँ । पाखुरा समातेर खुरकुट्टी उकाली दिएँ । ऊ फनक्क फर्केर हाँसी – “के चाइयो साहेब ?” हाँस्दा हवास्स एक सर्को दुर्गन्ध आएर मेरो नाकमा ठोक्कियो । “रोगी जस्तो लाग्यो र पो”, मैले भनेँ – “नत्र छुन्नथेँ ।” “ए होइन, होइन ।” उसले लेघ्रो तानी – “कम्पनी मालिक फेरि फर्केर आयो कि भनेर पो ।” “सरी ।” म आफ्नै बाटो लागेँ । बारभित्र छिर्नेबेला सोचेँ – कस्ती ननसेन्स आइमाई । म बसिसक्दा ऊ भित्र छिरी । काला आफ्ना चश्मा उसले शिरमाथि सिउरी दिई । ठीक बीस हात पर मेरो सम्मुखमा आएर बसी । ऊ बेसुरा रही । म आफ्नै सुरमा ह्विस्कीको मजा लिन थालेँ । सायद तेस्रो पेग घुड्क्याउन थाल्दा मेरा आँखा उसतिर गौरगरी स्थिर भैदिए । किनकिन उसप्रति वितृष्णा जागेको थियो । तर यसपटक त्यस्तो लगेन । उसका जिज्ञासु आँखाहरू मसँग केही मागिरहे जस्ता थिए । लाग्यो, टाढैबाट ऊ केही सोध्न चाहन्छे, मसँग । हृदयको आवाज आएर उसका गलामा अडके जस्तो भैरहेको थियो । अनुहारले बताउँथ्यो, केही कुरा जरुर छ ऊसँग, भन्नलाई । हेर्दाहेर्दै मलाई लाग्यो – अरे, यो त चिरपरिचित अनुहार हो । कहाँ देखेको हुँ, यस अनुहारलाई मैले । के मेरो जीवनबाट गुज्रेको अनुहार हो यो ? देखेदेखे जस्तो लाग्ने । चिनेचिने जस्तो लाग्ने । बोलेबोले जस्तो लाग्ने । केही सम्झेसम्झे जस्तो लाग्ने । टिभीमा देखेको अनुहार हो कि ? कतै चित्रमा हेरेको अनुहार हो कि ? विस्मृतिमा गएर बसेको कसको अनुहार हो यो ? हँ ? सम्झने लाख कोसिस गरेँ, सकिनँ । स्मृति सकिने बेलामा ठोक्किन आउँछन् यस्तै अनुहारहरू । ऊ उठेर नजिक आई । हावामा उसले आफ्ना मसिना चार औंला हल्लाई – “हाई …।” गिलास टेबलमा राखेर मैले दुई औंला माथि गरेँ – “हाई ……..।” “चिनेनौ ?” कतै रेडियोमा बोलेजस्तो उसको मसिनो बोली । चिनेँ, कसरी भनुँ ? अपलक उसलाई हेरिरहेँ । “म रचना ।” ऊ मेरै सामुन्य बसी । ठुस्स गन्ध आयो । मैले नआएजस्तो गरेँ । “रचना ? उही क्याम्पस लाइफकी रचना ?” “हो । म उही रचना ।” आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई । कठै ! कसरी बिराना हुँदा रैछन्, अतीतमा छुटेका अनुहारहरू । मैले आफ्नो ध्यान कतै गुमाएँ । म तिनै दिन रामलाल जोशी हरूमा गएर घुम्न थालेँ, जहाँ चन्द्रमाको छायामुनि एउटा सुकोमल जिन्दगी मुस्कुराउँथ्यो – ती दिनहरू कैलाली क्याम्पसका थिए । एउटा निर्जन सालघारीका बीचमा अवस्थित कैलाली क्याम्पस । ऊ मेरै क्लासकी सहपाठी । लुकिछिपी दिइने प्रेमपत्र बाहेक केटाकेटीहरूको खासै उठबस र सानिध्यको जमाना थिएन । जमानालाई चुनौती दिने बहादुर प्रेमीप्रेमीकाबाहेक बाँकी केटाकेटीहरू पश्चिम नेपालका जेठी र बहुरानी जस्ता थिए । देख्न हुने तर भेट्न नहुने । बोल्न हुने तर छुन नहुने । मेरो लागि ऊ त्यस्तै थिई । ती दिनहरू उसका थिए । कम्तिमा पनि दिनमा पाँच जोर लुगा बदल्ने उसको रुमानी जमाना थियो । बिहान क्याम्पस आउँदा ऊ, जुन लुगामा हुन्थ्यी, दिउसो कौशीमा देखा पर्दा उसको शरीरमा त्यो हुन्थेन, अर्कै लुगा हुन्थ्यो । कौशीकी कली जब चन्दन टाकिजको सेकेन्ड सोमा पाकिजा हेर्न पुग्थी, त्यसबेला उसका अगाडि पर्दाकी नायिका फिका पर्थे । डिम लाइटमा जब ऊ बाल्कोनीबाट चन्द्रमाझैं मुस्कुराउँथी, युवकहरू आफ्ना सास रोकेर सिठी मार्थे । उफ ! त्यो जमानाको कुरा अर्कै थियो । सूर्यास्तको शितल पवनमा जब शैर गर्न पार्कको पछाडि तालको माछाझैं लड्िकन्थी, एउटा गज्जबको पहिरनमा ऊ शरदको आकाशझैं छयाङ्गै खुलेकी हुन्थी । कदाचित जुनेली रातमा सहेलीहरूको साथ खुल्ला सडकमा निस्किदा पवनछिद्री निलो गामनमा खुब सजिएकी लाग्थी । बदामी आँखा, बाटुलो अनुहार, चौडा निधार, कैला केश र गोरो वर्णमा ऊ धपक्क बलेकी हुन्थी । आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई । ठया्क्कै इन्द्रलोकबाट झरेकी परी जस्ती । कामत योनिका । छोऊँछोऊँ लाग्ने । हेरिरहूँ लाग्ने । मनमुटुमा टाँसिइजाने । आँखाहरूमा बसिजाने । मायालु युगकी दुर्लभ बराङ्गना । वर्षौँ अघिको सम्झनाको अतल गहिराइबाट भिजेको चराजस्तै भएर म निस्केँ । मेरो हात ह्विस्कीको गिलासमा थियो । म आश्चर्यचकित भएर तिलमिलाएँ “तिमी रचना …?” उसको निधारको छाला सिकुडियो । मैले सोचेँ, आजै सिकुडिने बेला त होइन । “हो म त्यै रचना त हो नि ।” कुरा गर्दा उसले कानका रिङहरू हल्लाउन सिकेकी रैछे । हल्लिरहेथे । “तिमी उही रचना हौ भन्ने कुरा मलाई विश्वासै लागिरहेको छैन । कहाँ बल्दो आगाको फिलिङ्गो जस्ती ऊ रचना, कहाँ निभेको कोइलाजस्ती, तिमी । कसरी पत्याऊँ म, हँ ? कसरी भयो यस्तो ? समयभन्दा अगाडि किन यसरी मुर्झायौ तिमी ? तिमी यस्ती त थिएनौ । बारमा आएर ड्रिङस, गर्ने पनि भइछौ ?” ऊ फिस्स हाँसी । हाँस्दा डिम्पल पर्ने उसको गालामा चाउरीका अस्वभाविक धर्काहरू देखापरे । “के भनौँ ? यस्तै हो जिन्दगी ।” “कस्तो ?” “कथा लामो छ ।” “केही लेऊ । हामी यस अवस्थासम्म पनि पुगेछौं है ?” “उसबेला बोल्न पनि लाज लाग्थ्यो ।” ऊ लजाउन खोजी । तर लजाएको सुहाएन । उसले गिलास मागी । मैले ह्विस्की हालिदिएँ । “तिमीले विवाह गरिनौ ? घरवार छैन तिम्रो ?” उसले गहिरो सास लिई । एक चुस्की लिएपछि ऊ भन्नथाली – “ अरु भाग्यमानी स्वास्नी मानिस जस्तै मेरो पनि घरबार थियो । आफ्नै संसार थियो । एउटा सानो स्वर्गजस्तो घर थियो । देवता जस्ता श्रीमान् थिए । न्यानो प्रेम थियो । आमाजस्ती सासु थिइन्, बाबुजस्ता ससुरा । लक्ष्मणजस्ता देवर थिए, लवकुशजस्ता छोराहरू । कपालका रौंजत्ति नै मेरा उपरमा मान्यजनहरूको आर्शीवाद थियो । खानलाई कमी थिएन । लोग्नेको जागिर थियो । घरभरी लुगा र गहनाहरू थिए । तीनतले हबेलीको अट्टालिकामा बसेर म आफ्नो स्वर्ग निहार्थेँ । कुनैबेला सोच्थेँ, मजति सुखी को होला, यस संसारमा । किन्तु त्यो सब भ्रम रहेछ । ती सब कुराहरू मेरा लागि क्षणिक सपना रहेछन् । ती मेरो आत्मा र अन्तरजगतको सुखसँग जोडिएका चिजहरू रहेनछन् । केवल बाहिरी आवरणका रमझमी भ्रम रहेछन् । पानीको फोका जस्तै फुस्केर गए । तासको घरजस्तै ढलेर गयो, त्यो स्वप्न महल । अथवा यसो भनौँ – पिँडालुका पातको पानीजस्तै ढलपलढलपल भएर खसेँ म, आफ्नो बाटोबाट । नियतिले मेरो निधारमा अर्कै कथा लेखिदिएको रैछ । जुन भूमिका मैले निर्वाह गर्न लेखिएको थियो, गरेँ ।” “अनि ?” एकपटक लामो सास लिई । अब ऊ आफ्नो कथा विस्तरमा भन्न थाली – विवाहपछि मेरो जिन्दगी प्राय घरभित्रै सीमित भएको थियो । मलाई हमेशा हेरिराख्ने एउटा मेरो श्रीमान् थिए, अर्को ऐना । बस्, यसबाहेक सितिमिति म अरुका नजरमा परेकै थिइनँ । एकदिन श्रीमान्ले भन्नुभयो – “घरमै बस्दाबस्दा दिमाग बोधो हुन्छ । कहिलेकाहीँ बाहिरतिर पनि निस्किने गर न ।” यशोदा दिदी समाजसेवामा थिइन् । म उनैसँग कहिलेकाहीँ सामाजिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुन थालेँ । एकदिन एउटा साहित्यिक कार्यक्रममा म एउटा कविका नजरमा परेँ । उसका आँखाहरू आएर टक्क ममाथि अडिए । म मुस्कुराई दिएँ । उसले परिचय लियो र दोस्रो दिन कफीको निम्ता दियो । मनभरी धेरै कौतुहल बोकेर गएँ । खप्तड क्याफेमा ऊ पर्खिबस्याथ्यो । भन्यो – “मुस्कान तपाईँको ज्यानमारा छ ।” पहिलो भेटमै उसले मेरो खुब प्रशंंसा गर्याे । भन्यो – “यो दुर्लभ सुन्दरता, घरभित्रै लुकाएर राख्नलाई ईश्वरले एकै ठाउँमा खन्याइ दिएका होइनन् । बाहिरी संसार पनि तपाईको सुन्दरताको प्रतीक्षामा छ । आफु जति सुन्दर हुनुहुन्छ, संसारलाई पनि सिंगारी दिनुस् ।” मेरो अवस्था तातो र चिसोको चेपुवामा परेको सिसाको गिलासको जस्तै भयो । सरम र संकोचले बाहिरबाट जति खुम्चिएँ । खुसी र प्रफुल्लताले भित्रैदेखि फुलेल पनि भएँ । आफ्नो प्रशंसाले खुसी को नहुँदो हो । छुट्टिएर आउँदा हावामा उडिरहेको बेलुनजस्तै भैरहेकी थिएँ, म । ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ । उसको कलमले मलाई भित्रैसम्म छोयो । महिना दिनपछि उसले फोन गरेर फेरि त्यही काफेमा भेट्ने अनुरोध गर्याे । मैले वचन राखिदिएँ । दोस्रो भेटमा पनि मेरो उस्तै तारिफमा आफ्ना शब्दहरू खर्च गर्न थाल्यो । यसपटक त्यस्तो लज्जा र सङ्कोच मनमा आएन । थोरै म ऊसँग खुल्न सकेँ । यो क्रम यस्तै चलिरह्यो । खप्तड क्याफेको तेस्रो भेटमा उसले एउटा सरप्राइज दियो । कफीको चुस्कीसँगै हातमा एउटा कागज लियो । त्यस कागजमा केही अक्षरहरू मिलेर मेरो बयान गर्दै थिए । मेरो कपाल, आँखा, ओठ, निधार, नितम्ब, मुस्कान र सौन्दर्यको वर्णनमा केन्द्रित सुन्दर कविता उसले मलाई उपहार दियो । सोचेँ – ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ । उसको कलमले मलाई भित्रैसम्म छोयो । उसको कविता मैले आफ्नो छातीमा दुई हातले च्यापेँ । एउटा गहिरो उच्छवास माथिसम्मै उडेर गयो । “थ्याङ्क यू सो मच माइ डियर कवि ।” गह्रौँ मनले उसँग बिदा मागेँ । बाटोभरी मन कताकता उडिरह्यो । सुत्न सकिन । रातभरी एउटा उथलपुथल मच्चिरह्यो मनमा । तिमीलाई थाहै छ, म उसबेलादेखि नै मोडल बन्न चाहन्थेँ । अनेकथरी फेसन गरेर आफ्नो रहर पूरा गर्नु मेरो सोख थियो । फोटो स्टुडियोमा गई अनेक भावभङ्गीका फोटो खिचाएर एल्बममा सजाउनु पनि मेरो उत्तिकै सोख थियो । भगवान्ले दिएको आफ्नो रुप र सुन्दरताप्रति म गर्व गर्थेँ । हजारचोटी ऐनामा आफैलाई हेरेर अघाउँथेन । मोडेल बनेर पत्रिकामा छापिने मेरो रहर विवाहपछि चकनाचुर भएको थियो । तथापि मनको अभिलाषाले भने छटपटी गराइ नै रह्यो । मलाई लाग्थ्यो – फूलको अस्तित्व आफै फुल्नु र झर्नुमा कहाँ छ र ? कदाचित भँमरा बसिदिए पो ऊ फुल्नुको सार्थकता हुन्छ । अझ माहुरीले रस चुसिदिए पो ऊ फुल्नको अर्थ रहन्छ । चर्कै सुगन्ध छरेर फुलेको फूललाई कसैले सुँघिदिए पो उसको अस्तित्व साकार हुन्छ । अझ भन्नुहुन्छ भने ढकमक्क फुलेको फूलको थुङ्गा कुनै शोडषी बालाको शिरमा सिउरिएन भने उसको अस्तित्व निरर्थक हुन्छ । ठीक यस्तै हो, मान्छेको अस्तित्व पनि । संसारका प्रत्येक मान्छेसँग छुट्टै र मौलिक प्रतिभा हुन्छ । त्यही प्रतिभा या निजी आकर्षणले यस संसारमा आफ्नो उपस्थिति जनाउँछ अनि निजी प्रभाव र चिनारी छोडछ । व्यक्तिको प्रतिभा भन्नु नै उसको नीजि आकर्षण त हो नि, जो संसारलाई ऊ देखाउन चाहन्छ । ईश्वर प्रदत्त प्रतिभा लुकाउने चिज हुँदै होइन, देखाउने चीज हो । यस अर्थमा मलाई लाग्थ्यो मेरो सुन्दरता नै मेरो विशेष प्रतिभा हो, जो मैले दुनियाँसामु देखाउनु पर्छ । आफ्नो प्रतिभाको प्रस्फुटन मान्छे चाहन्छ भने मेरो सुन्दरताको प्रस्फुटन रङ्गमञ्चमा हुनु आवश्यक छ । त्यसैले ईश्वर प्रदत्त विशेष प्रतिभा या आकर्षणलाई लुकाएर राख्नु निजत्वको दमन पनि हो । मेरो छट्पटी यही थियो । चौथोपटक उसँग म आफै भेट्न चाहन्थेँ । मैले नै प्रस्ताव गरेँ, खप्तड क्याफेमा । यसपटक उसले मेरै मनको कुरा गर्याे – “म केवल शब्दकवि मात्र हैन महोदया, फोटोपत्रकार पनि हुँ । तपाईँ आफ्ना केही पोज फोटोहरू मलाई खिच्न दिनुहोस् । तपाईँको आग्नेय सुन्दरतालाई म संसारसामु प्रकाशमा ल्याइदिन्छु । एउटा राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा तपाईँको ब्लोअप निकालिदिन्छु । मञ्जुरी छ ?” म चकित परेँ । उसले कसरी बुझयो मेरो उत्कट चाहना ? म खुसीले पगाल हुन आँटेकी थिएँ । तैपनि भनेँ – “एउटा गृहिणीको ब्लोअप ? त्यो पनि राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा ?” “म कुनै मोडल होइन नि, न त हिरोइन नै ।” “तपाईँ केही हुनु र नहुनुमा मेरो केही सरोकार होइन । केवल म तपाईँको सुन्दरताको पारखी हुँ, आफ्नो जीवनको अस्तित्व र मूल्य खोज्नुहोस् । त्यत्तिकै खेर जान नदिनुस् । बस् । मञ्जुरी छ ?” उसका कुराले मलाई भित्रदेखि हलचल गरिदियो । म निशब्द र नाजावाफ भएँ । मेरो वर्षौदेखिको रहरको कुरा ऊ बोलिरहेथ्यो । म के बोलौं ? त्यसै मन नलागी छुट्टिएर आएँ । घरमा आएर सल्लाह गर्दा श्रीमान्ले ‘नाईँ’ भन्नु भएन । तापनि मलाई भित्रभित्रै एक प्रकारको द्विविधा भैरह्या,े के गरौँ ? दिऊँ या नदिऊँ ? मेरो जीवनमा त्यसले केही फरक पार्ला कि ? एउटा मनले भन्यो – आखिर त्यस्तो बिघ्न सुन्दरता नै के छ र मसँग ? किन मान्छे यसरी अनुरक्त भएका होलान् मप्रति ? रातभरी यस्तै भावहरू मनमा खेलिरहे । सोचेँ – सबैले कहाँ पाउँछन् र यस्तो अवसर ? आखिर केही छ, मसँग र त मान्छेको आकर्षण छ । म दोस्रोदिन स्टार स्टुडियोमा पुगेँ । कविलाई बोलाएँ । विभिन्न पोजका सातओटा फोटो दिएर फर्केँ । एक महिनापछिको रङ्गीन पत्रिकाको मध्यपृष्ठमा मेरो ब्लोअप छापियो । मेरो खुसीको सीमा रहेन । त्यसैत्यसै मन रोमाञ्चित भयो । देश–विदेशबाट फोन र म्यासेजमा बधाइहरू आउन थाले । मान्छेहरू भेट्न घरमै पुग्न थाले । पत्रकारहरू अन्तर्वार्ता लिन थाले । अहो, लाग्यो– म कहाँबाट कहाँ पुगेछु । एउटा सेलिब्रेटी जस्तै मान्छेहरूको नजरमा म त्यत्तिकै पर्न थालेँ । भेटमा कविले बधाईका लागि हात अघि बढाए । एककदम अगाडि बढेर म उनका गला लागेँ । — “थ्याङक यू सो मच माइ डियर कवि ।” त्यसपछि मेरो दुनियाँ अर्कै भयो । जिन्दगीले कोल्टो मात्रै फेरेन, आसमान छोयो । पत्रिकामा ब्लोअप छापिएको एक महिनापछि काठमाडौँबाट फोन आयो । बहुराष्ट्रिय सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले एउटा महत्वपूर्ण विज्ञापनमा खेल्न प्रस्ताव गरेको थियो । मेरो खुसीको सीमा रहेन । घरमा अनुमति मागेँ । “आफ्नो प्रतिभा र व्यक्तित्व विकासका लागि आएको एउटा महत्वपूर्ण अवसरको सदुपयोग गर्नू, तिमीलाई मेरो शुभकामना ।” घरबाट निस्कने बेला मेरा श्रीमान्ले माथा चुम्दै यिनै शब्दद्वारा बिदाइ गर्नुभयो । म सिमलको भुवाजस्तै उडेर काठमाडौं पुगेँ । सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले मेरो कपालका केस्राकेस्रा केलायो । एकएक रौं हातमा लिएर सहलायो । र, एउटा प्रस्ताव अगाडि सार्यो – विज्ञापनमा प्रयोग गरेबापत तपाईँको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् । “तपाईँका रेश्मी कपालहरू हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । विज्ञापनमा प्रयोग गरेबापत तपाईँ आफ्ना कपालको मूल्य पचास लाख लिनुहोस् । सट्टामा आफ्ना कपालको सर्वाधिकार कम्पनीका नाममा गर्दिनुस् । मञ्जुरी छ ?” अहो ! जाबो कपालको विज्ञापन दिएवापत पचास लाख ? मेरा लागि काठमाडौंको आकाश साँघुरो भयो । म खुसीले पूरै आकाशमा उड्न चाहन्थेँ । माछा जस्तै तैरिन चाहन्थेँ । अहिलेसम्मको जिन्दगीमा मैले पचास लाख देखेकै थिएन । दायाँबायाँ कतै नहेरी फायलमा साइन गर्दिएँ । मेरो कपालहरू टिभीमा आउन थाले । पत्रिकामा छापिन थाले । अब म सामान्य महिला कहाँ थिएँ र ! एउटा गल्यामर दुनियाँमा मेरो प्रवेश भैसकेको थियो । हप्तादिन पछि बहुराष्ट्रिय बिन्दी उत्पादक कम्पनीको म्यानेजरले फोन गर्यो । म उफ्रिदै भेट्न गएँ । उसले प्रस्ताव ग¥यो — “तपाईँको निधार हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछ । विज्ञापनमा प्रयोग गरेबापत तपाईँको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् ।” म दोधारमा परेँ । एउटा मनले भन्यो– “अहो ! भावीनीले भाग्य लेख्ने निधारमै हो भन्थे । यै निधार अर्काको नाममा पास गर्दिएँ भने मेरो भाग्य कहाँ लेखिएला ?” अर्को मनले भन्यो – “ अरे लाटी, भाग्य भनेकै यै हो, चिनिनस् ? पचासपचास लाख तेरो खप्परमा कैले आथ्यो ? अलमलमा नपर् । फटाकसे पास गर्दे ।” मैले म्यानेजरको हातबाट फायल तानेँ । र, तुरुन्त साइन गर्दिएँ । टिभी र पत्रिकाहरूमा मेरो निधार देखिन थाल्यो । चिटिक्क लालबिन्दी लाएको आफ्नै गोह्रो निधार देखेर मनमनै सोच्थेँ – “आहा ! कति भाग्यमानी निधार मेरो ।” सातादिनपछि बहुराष्ट्रिय गाजल उत्पादक कम्पनीको म्यानेजरको फोन आयो । गएँ । उसले प्रस्ताव अघि सार्याे – “तपाईँका स्वप्निल आँखाहरू हाम्रो कम्पनीको विज्ञापनको लागि काममा आउने छन् । आफ्ना आँखाको मूल्य एक करोड लिनुस् । सट्टामा आफ्ना आँखा कम्पनीको नाममा पास गर्दिनुस् ।” म अन्यमनस्क भएँ । “संसार हेर्ने आँखा कसरी अर्काको नाममा पास गरुँ ? केही सपनाहरू पनि छन् यी आँखामा ।” यस्तै केके सोचेँ । तत्काल अन्तरआत्माले जवाफ दियो – “अरे बुद्धु तेरा यी आँखाले कैल्यै सपनामा पनि एक करोड देखेको छ ? एकएक करोड देख्ने सौभाग्य कैले पाउँछन् र तेरा यी रिठ्ठे आँखाले ? आफ्नो सपना ऐल्यै पूरा हुन थालेको देख्दिनस् ?” मैले दायाँबायाँ कतै हेरिन । तुरन्त फाइल लिएँ र साइन गर्दिएँ । सागरजस्ता मेरा आँखाहरू टिभीको स्क्रिनमा देखिन थाले । खुसीले म उसै उड्न थालेँ । त्यहीसाँझ बहुराष्ट्रिय टुथपेष्ट उत्पादक कम्पनीको म्यानेजरको प्रस्ताव आयो – “तपाईँका दाँतहरू हाम्रो कम्पनीको विज्ञापनको लागि काम लाग्नेछन् । एक करोड रुपैयाँ लिनुस् । सट्टामा आफ्ना दाँत कम्पनीको नाममा पास गर्दिनुस् ।” मैले आँखा चिम्लेर सही गर्दिएँ । केही दिनपछि क्रिम कम्पनीको म्यानेजरले फोन गर्यो । अब मसँग आफ्नो कार थियो । आफै हाकेर गएँ । भेटमा उसले पनि त्यस्तै प्रस्ताव गर्यो – “तपाईँको गाला हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । त्यसबापत एक करोड रुपैयाँ लिनुस् र कम्पनीका नाममा आफ्ना गाला पास गर्दिनुस् ।” मैले एक करोड बुझेँ । फायलमा सही गर्दिएँ । सातादिनभित्र अर्को फोन आयो । लिपिष्टिक उत्पादक कम्पनीको म्यानेजरको फोन थियो । भेटमा उसले प्रस्ताव ग¥यो – “तपार्इँका गुलाबी ओठहरू यस कम्पनीको विज्ञापनको लागि काममा आउने छन् । दुई करोड रुपैयाँ लिनुस् र आफ्ना ओठहरू कम्पनीका नाममा पास गर्दिनुस् ।” मैले ओठ चुच्चो पारेँ । ऊ झस्कियो । “के सोच्नु भयो ? चित्त बुझेन भने एक करोड थप लिनुस् न त ।” मैले आफ्नो ब्यागबाट कलम झिकेँ । फायलमा साइन गरेर अघि गर्दिएँ । मेरा ओठहरू प्यासी भएर टिभीको स्क्रिनमा देखिन थाले । वाह ! मेरो जिन्दगी । यो क्रम निरन्तर जारी रह्यो । त्यसपछि नङ पालिस उत्पादक कम्पनीका मानेजरले तीन करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना नङ दिएँ । मेहेन्दी उत्पादक कम्पनीले चार करोडको प्रस्ताव गर्यो, मैले आफ्ना हत्केला दिएँ । साडी उत्पादक कम्पनीले पाँच करोडको प्रस्ताव ग¥यो, मैले आफ्नो नितम्ब र नाइटो दिएँ । ब्रा उत्पादक कम्पनीले छ करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना दुबै स्तन कम्पनीका नाममा पास गर्दिएँ । पेन्टी उत्पादक कम्पनीले सात करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना जाँघ र मूलाधारचक्र कम्पनीका नाममा पास गर्दिएँ । अनि ? अनि एकदिन बहुराष्ट्रिय कण्डम उत्पादक कम्पनीको म्यानेजरले दश करोडको प्रस्ताव अगाडि सार्याे, मैले कम्पनीको नाममा आफ्नो योनि पनि पास गर्दिएँ । मेरो शरीरमाथि मबाहेक अरू कसको अधिकार थियो र ! मेरो अस्तित्वको भोक्ता केवल मै थिएँ । यसरी मैले आफ्ना शरीरका टुक्राटुक्राहरू जीवनको सुखका लागि बेचिदिएँ । अब मसँग के थिएन ? काठमाडौंमा आलिसान महल थियो । गाडी–मोटरहरू थिए । नोकर चाकरहरू थिए । बैंकमा ब्यालेन्स थियो । आफ्नो श्रीमान् र छोराहरूलाई काठमाडौँ ल्याइसकेकी थिएँ । अरुले देख्ने सपनाको जिन्दगी मसँग साकार थियो । सातौं जुनीसम्म पनि पूरा नहुने सपना मैले एक जुनीमा पूरा गरेकी थिएँ । घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी । वाह ! मेरो जिन्दगी ! वाह मेरो सपना ! परन्तु एउटा उदेक लाग्दो तनावले मेरो जिन्दगीमा पाइला राख्यो । म रातदिन विज्ञापनका काममा व्यस्त हुन थालेँ । कुनैबेला त दिन होइन, हप्ता होइन, महिनौं बाहिर हुन थालेँ । म सडकबाट आकाशको जिन्दगीमा पुगेकी थिएँ । बहुराष्ट्रिय कम्पनीका मालिकहरूले कहिले अमेरिका लिएर जान्थे, कहिले क्यानाडा । कहिले सिंगापुर लिएर जान्थे, कहिले स्वीजरल्याण्ड । लामो समयपछि घर फर्किदा बच्चाहरूले आमाको अनुहार बिर्सिसकेका हुन्थे । श्रीमान्का लागि म बिरानी भइगएकी हुन्थेँ । मसँग धनसम्पत्ति थियो । घर र गाडीहरू थिए । सुविधाका साधनहरु थिए । सबै चिज पूरा थियो परन्तु आफ्ना छोरा र श्रीमान्का लागि दिने एक घण्टा पनि समय थिएन । यहीँनेरबाट जीवनका खुसीहरू खोसिन थाल्दा रहेछन् । घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी । सम्पत्ति र सुख सँगै बस्न नसक्दा रहेछन् । मेरो जीवनमा एकातिर बेहिसाबले धन प्राप्ति हुँदै थियो भने अर्कोतिर अप्रत्याशित रुपमा सुख र शान्ति खोसिदै जान थालेको थियो । द्यौताजस्ता मेरा श्रीमान् मेरो जिन्दगी देखेर कायल भएका थिए । कहिल्यै नबोल्ने श्रीमान्को कचकच सुरु भएको थियो । बहुदा हाम्रा दिनहरू झगडा र तनावमा बित्न थाले । ममा पनि सम्पत्तिको अभिमान चढेको थियो । मभन्दा बढी श्रीमान्ले कुरा बुझ्नुपर्छ भन्ने मान्यता थियो तर श्रीमान्मा अर्कै किसिमको उराठता र उदासिनता । अन्तत एकदिन श्रीमान्ले डिभोर्स फायल अदालतमा पेश गरे । आकाशबाट खसेजस्ती त म त्यतिबेला भएँ जतिबेला मतिर हेर्दै नहेरी मेरा छोराहरू आफ्ना बाबाको हात समातेर गाउँ फर्के । जुनदिन मेरो घर रित्तो भयो, लाग्यो – मेरो जिन्दगी निरर्थक भयो । कुनैबेला सोच्थेँ, नियतिले एक्लो गर्यो त के भयो ? एक्लै पनि सङघर्ष गरेर बाँच्नु छ । मेरो अस्तित्व संघर्ष गर्नुमै छ । तर अस्तित्व भन्ने कुरा पनि खुसीसँगै जोडिएको हुँदो रैछ । खुसी खोसिदा जिन्दगी निरर्थक लाग्दो रैछ । भन त, यत्रो सम्पत्ति मैले कसका लागि कमाएँ ? कसको भरमा छोडेर गए मलाई, मेरो श्रीमान् र छोराहरूले ? अब मेरो को थियो र जीवनमा ? सानो खुसीका लागि मैले जे गरेँ, त्यसले ठूलो खुसी खोसेर लग्यो मबाट । यत्रो विशाल सम्पत्तिले के गर्छ अब मलाई ? आफ्नै सानै झुपडीमा टाउको लुकाएर बसेकी भए मेरो के चाहिँ बिग्रिन्थ्यो र ? के म मेरो त्यो जिन्दगीबाट सन्तुष्ट हुने थिएन र ? संसारमा एउटा विश्वास छ, सम्पत्ति र समृद्धि नै सुखको प्रतिक हो । तर होइन रहेछ । त्यो केवल भ्रम रहेछ । सम्पत्ति र सुख एकैसाथ सधैँ रहन नसक्ने चिज रहेछन् । सुखको साइनो आत्मासँग हुन्छ, सम्पत्तिको भौतिकतासँग । भौतिक समृद्धिले म पुरिएकी थिएँ परन्तु आत्मिक सुख खोसिएको थियो सदाका लागि मबाट । थाहा भयो, मैले रोजेको बाटो दुखको बाटो रहेछ । मनमा सुख र सन्तुष्टि हुँदा शरीर बैंशको डालीजस्तै हराभरा थियो । जब त्यो हरण भयो, मेरो शरीर पनि शिशिरको सिमलजस्तै खङरङ्ग हुँदै गयो । अब कसका लागि काम गर्नु मैले ? यसै झोक्राएर बसिरहेँ । मेरो जिन्दगीमा जस्तो पहिरो गए पनि दुनियाँलाई मतलब नै के हुन्थ्यो र ! आखिर म अनुबन्धित पनि थिए नै । अब मेरो जिन्दगी मेरो हातमा मात्रै कहाँ थियो र ! मन नलाग्दा काम गर्न सक्दिन भन्ने अधिकार मैले गुमाइ सकेकी थिएँ । मैले मेरो शरीरका एकएक अङ्गहरू बेचिसकेकी थिएँ । कपाल जसले किनेका थिए, उनैले सहलाउँथे । निधार र आँखा जसले खरिदेका थिए, उनैले चुम्थे । गाला र ओठको मूल्य जसले तिरेका थिए, उनैले टोक्थे । स्तनहरू जसले रिजर्ब गरेका थिए, उनैले निचोर्थे । नितम्ब र नाइटो जसले कबुलमा लिएका थिए, उनैले सुम्सुम्याउँथे । जाँघ र योनिको अनुबन्ध जसले गरेका थिए, उनैले काम चलाउँथे । आफ्नो जिन्दगीमा मैले के बाँकी राखेकी थिएँ र ! एकएक अङ्गको सौदा गरिसकेकी थिएँ । सर्वाङ्ग म रित्तिसकेकी थिएँ । यसरी रस निचोरिएको कागतीको खोस्टोझैँ भैसकेपछि काठमाडौँको सडकमा मिल्काइएँ म । यसबेला मसँग न मेरा श्रीमान् छन्, न छोराहरू । न मसँग मेरो कपाल सहलाउने बहुराष्ट्रिय कम्पनीका मालिक छन्, न मेरो कविता कोर्ने कवि । छौ त केवल वर्षौँपछि नियतिले भेट गराइ दिएको पुरानो जमानाको एउटा साथी । तिमी । भोग्नलाई त सबै भोगेँ । भन त, आखिर के पाएँ, मैले यस जिन्दगीबाट ? के हो मेरो जिन्दगीको उपादेयता ? कहाँ साकार भयो, मेरो अस्तित्व ? मलाई बताऊ त । वषौंपछि तिमीसँग भेट हुँदा मैले सङ्गालेका यतिका दुर्गन्धित कुराहरू सुनाउने मौका पाएँ । एकैछिनलाई भए पनि मन हलुका भयो । एक वसुभोगा आइमाई भनेर घृणा नगरिदिनू । अब जान्छु पनि ल । ××× ××× ××× ऊ उठेर गई । उसका मसिना चार ओटा औंलाहरु उसैगरी माथि उठे – “बाई ।” चोर औलाका साथमा मेरो अर्को औँला पनि उठ्यो – “बाई ।” खै किन किन मेरा आँखाहरू लोलाएर तल झरे । “उफ ।” मुखबाट एउटा सुस्केरा छुट्यो । “हैट, साला जिन्दगी !” ××× ××× ××× #मदन पुरस्कार #रामलाल जोशी
बुद्धिसागर हुनुअघिका मेरा कथा: घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानीमा हुन्थ्यो । म बा-आमाको ओछ्यानछेउमा ठडिएको ठूलो आलमारीपछाडि सुत्थेँ । घरका सबैमा चाँडै सुतेर चाँडै उठ्ने बानी थियो । म भने राति ढिला सुत्थेँ र ढिला उठ्थेँ । त्यसैले म राति खुसुक्क आउँथेँ र बाको सिरानबाट रेडियो तानेर आफ्नो सिरानमा पुर्\u200dयाउँथेँ । एकदमै मधुरो आवाजमा रेडियो सुन्थेँ । रेडियो नेपाल राति ११ बजे बन्द हुन्थ्यो, त्यसपछि म सर्टवेभमा च्यानलहरू खोज्थेँ । कति भारतीय च्यानलहरू टिपिन्थे । म १ बजेसम्म सुन्थेँ । बिहान धार्मिक कार्यक्रम सुन्न बा मेरो सिरानबाट रेडियो लैजानुहुन्थ्यो । पछिपछि त नियमजस्तै भयो । बा निद्रामा हुँदा म रेडियो तान्थेँ, म निद्रामा हुँदा बा । मौनतामै हामीबीच सहमति भएजस्तै भयो । एकदिन शनिबार राति सवा नौ बजे रेडियो सुनिरहेको थिएँ । नयाँ कार्यक्रम सुरू भएको रहेछ, त्यही दिन- ‘सम्झना कुसुम’ कार्यक्रममा हिन्दी गजल बजिरहेका थिए । कुनै गायकले मधुरो स्वरमा अल्छीलाग्दो किसिमले कन्दैकन्दै गायो भने म गजल हो भने बुद्धिसागर र बुझ्थेँ । गजलमा धेरै बाजागाजा बज्दैनथे । म कैलालीमा ‘चढ गया उपर रे, अटेरिया पे लौटन कवुतर रे’ जस्ता फिल्मी गीत सुनेर हुर्केको । मलाई त्यस्तै गीत मन पर्थे । र, नौटंकीका ‘लाउड स्पिकर’मा पनि त्यस्तै गीत बज्थे । कसैको बिहे होस् या स्कुलको सरस्वती पूजा, थारूगाउँको नौटंकी होस् या स्कुलको सांस्कृतिक कार्यक्रम मोहमद अजिज, उदितनारायण झा र कुमार सानु कुर्लिहाल्थे । प्रायः सबैलाई साथ दिने अल्का याज्ञिक । ‘दिदी तेरा देवर दिवाना ।’ मा मैले कम्मर मर्काईमर्काई नाचिसकेको थिएँ, बिहेहरूमा । यस्तै गीतसित मेरा अतीत गाँसिएका थिए । यस्ता गीत सुन्दा म आफ्नो जीवनको अतीतमा पुग्थेँ र मलाई यस्तै गीत मन पर्थे । म रेडियोमा पनि यस्तै गीत खोज्थेँ । तर, मान्ममा यस्ता गीत बज्दैनथे । क्यासेट पसलहरूमा देउडा बज्थे । म भाषाकै कारणले बझ्दिनथेँ । रेडियो नेपालमा पनि थोरै कार्यक्रममा यस्ता गीत बज्थे । लोकगीत, भाषाभाषीका गीत, आधुनिक गीतले रेडियो नेपालको समय पूरा हुन्थ्यो । ‘खाए खा नखाए घिच’, म रेडियोले बजाउने गीत सुन्न बाध्य भएँ । र, यस्तै गीतलाई आफ्नो अतीतमा पुग्ने साँघुरो चेप बनाएँ । मलाई सुरूमा ‘सम्झना कुसुम’ कार्यक्रम चलाउने उद्घोषिकाको आवाज मन पर्\u200dयो । उनी मधुरो स्वरमा बोल्थिन् । हरेक शब्दलाई प्रेमले उच्चारण गर्थिन् । उनले ‘यो मेरो पहिलो कार्यक्रम हो’ भनेपछि मैले अझै ध्यान दिएँ । किनभने, मलाई आइतबारदेखि शनिबारसम्म प्रसारण हुने सबै कार्यक्रम कण्ठ थिए । नयाँ कार्यक्रम कस्तो होला ? कस्ता-कस्ता भागहरू होलान् यसमा ? म चनाखो भएँ । त्यस दिन धेरै गजल बजे । तर, के चीजले मोहित पार्\u200dयो कुन्नि ? मैले सारा गजल सुनेँ । साढे नौ बजे सारा मान्म बजार सुतिसकेको थियो । मेरो झ्यालको बर्सादी हावाले मन्द-मन्द फर्फराइरहेको थियो । मैले झ्यालबाहिरको अग्लो पहाड हेरिरहेँ । जो चन्द्रमाको मधुर प्रकाशको सप्को ओढेर बसिरहको थियो । सप्कोमा मोतीजस्ता ताराहरू जडिएका थिए । म ‘जगजित सिंह’को मधुरो आवाजमा हराउँदै गएँ । सुन्दर प्रकृति, शून्यता र तलाउमा तप्किरहेको पानीको आवाजजस्तो गजलले लठ्याइरह्यो । मनमा गह्रुँगो ढुङ्गो भएर बसेको उदासी चराको प्वाँख बन्यो र खुला आकाशमा उड्यो । मेरा आँखाले झ्यालबाहिर हेरिरहे तर मन अतीतको यात्रामा हिँडिसकेको थियो । मेरा आँखा, हृदय र कान पहिलोपल्ट आनन्दले भरिएका थिए । मनमा गह्रुँगो ढुङ्गो भएर बसेको उदासी चराको प्वाँख बन्यो र खुला आकाशमा उड्यो । मैले पहिलोपल्ट शान्त र मधुर गजल सुन्नुको मज्जा पाएँ । मलाई कार्यक्रम मन पर्\u200dयो । कार्यक्रम सकिने बेला उद्घोषिकाले भनिन्, ‘तपाईँहरूले पनि कुनै गजल सिर्जना गर्नुभएको छ भने हाम्रो ठेगानामा पठाउनूस् । हामी वाचन गर्नेछौँ ।’ उनले ठेगाना भनिन् । मैले टर्च बालेँ । सिरानछेउको कापीको पन्ना पल्टाएँ र हतार-हतार टिपेँ । र, उद्घोषिकाले अन्तमा भनिन्, ‘म दीक्षा भट्टलाई पनि बिदा दिनूस् । शुभरात्रि ।’ त्यो मेरा लागि साँच्चीकै शुभरात्रि थियो । … बिहानै उठेँ । मैले पहिलोपल्ट लेखेको कविता खोजेँ । कुन कापीमा लेखेको थिएँ, बिर्सेछु । धुइँपताल खोजेँ र मेरो कविता विज्ञानको कापीमा भेटियो- कापीमा च्यापिँदाच्यापिँदा सुकेको गुलाबको पत्रजस्तो । एकपल्ट सरर्र कविता पढेँ, ठीकै लाग्यो । मैले यही कविता रेडियोमा पठाउने विचार गरेँ । सुन्दर अक्षरमा सफा पानामा सारेँ । रेडियोमा पठाउनुअघि कसलाई देखाउँ ? तुलसी दिदी दोकानको काउन्टरमा अडेस लागेर उभेकी थिइन् । म सुरूक्क उनको छेउमा गएँ र उनको अगाडि कापी राखिदिएँ । ‘के हो ?’ दिदीले सोधिन् । ‘मैले लेखेको कविता, पढ त !,’ म लजाएँ । दिदी मुसुमुसु हाँसिन्, ‘किन लेखिस् ?’ लौ, मन लाग्यो लेखेँ । यस्तो पनि सोध्ने हो ? तैपनि म पहिलो पाठकलाई भड्काउन चाहन्नथेँ । सुस्त भनेँ, ‘रेडियोमा पठाउँछु ।’ दिदीले ओठ चलाउँदै कविता पढिन् र हाँसिन् । ‘कस्तो लाग्यो ?’ मैले मरेको स्वरमा सोधेँ । ‘कविता त राम्रै छ ।’ दिदीले भनिन्, ‘रेडियोमा पठाउने कविताका अक्षर राम्रा र ह्रस्व-दीर्घ सप्पै मिलेको हुनुपर्छ ।’ लौ, मलाई त यो कुरा थाहा थिएन । म कागजमा डट्पेनको टुप्पो बेस्मारी गाडेर लेख्थेँ, डट्पेन चिप्लिन पाउँदैनथ्यो, त्यसैले अक्षर त राम्रै हुन्थे तर यो ह्रस्व-दीर्घ कसरी मिलाउने ? ‘तिमी मिलाइदेऊ न त ।’ मैले याचना गरेँ । ‘मलाई त आउन्न ।’ दिदीले भनिन्, ‘तर तेरा अक्षर हेर्दा ह्रस्व-दीर्घ नमिलेजस्तो लाग्छ ।’ रेडियोमा पठाउनै मिल्ने गरी ह्रस्व-दीर्घ मिलाइदिने मान्छे को होला, मान्ममा ? मैले खुब सोचेँ तर दिमागमा कसैको अनुहार आएन । म त्यत्तिकै गलेँ । रचना काठमान्डुबाहिरबाट पठाएर पनि त वाचन हुने रैछ । अर्को हप्ता फेरि त्यही कार्यक्रम सुनेँ । स्याङ्जा र चितवनबाट गजल पठाइसकेका रैछन् । दीक्षाले मीठो स्वरमा वाचन गरिन् । गजलहरू उही विछोडको भावमा लेखिएका थिए । यस्सो सुन्दा ठीकठीकै लाग्थ्यो । मेरो मन कता-कता बलियो भएर आयो । रचना काठमान्डुबाहिरबाट पठाएर पनि त वाचन हुने रैछ । र, उत्कृष्ट नभए पनि हुने रैछ । र, मैले मुठी कसेँ- ह्रस्व-दीर्घ नमिलेर पनि के भो र ? भावना ठूलो कुरा हो नि ! अब म रेडियोमा गजल पठाउँछु । कसम त खाएँ तर दुई तीन दिन बितिहाल्यो । मलाई आफ्नै नाम पनि कस्तोकस्तो लाग्थ्यो- बुद्धिराम चपाईं । ‘चपाईं’ म आफैंलाई अप्ठ्यारो लाग्थ्यो । फेरि मान्ममा जसले पनि सोधिहाल्थे, ‘यो चपाइं भनेको के हो ?’ कैलाली छँदा मैले यस्तो प्रश्न सुनेकै थिइनँ । आफूले त थाहा पाउन थालिसकेपछि ‘चपाईं’ सुन्दै आएको । बानी परिसकेको । गाउँभरि पनि चपाईं नै चपाईं । गाउँलेलाई पनि बानी परिसकेको । जब कालीकोट आयौँ- गोलोमा ढुंगा बजारिँदा उडेका अरिङ्गालझैँ प्रश्नहरूले ठुँग्न थाले । जिल्लाजिल्ला घुमेर आएका सरकारी कर्मचारी भन्थे, ‘गुरागाईं, चौलागाईँ, बजगाईँ, अम्गाईँ, चापागाईँ सुनेका थियौँ तर पहिलोपल्ट चपाईं सुन्यौं । के हो चपाईं भनेको ?’ एकपल्ट हाम्रो दोकानमा एकजना कर्मचारीले सोधेका थिए, ‘च्वाई, को दोकान यै हो ?’ च्वाई ? हामी बेस्मारी हाँस्यौँ- यस्तो पनि थर हुन्छ ? पछि पो थाहा भो- च्वाई पनि थर रैछ । पूर्वतिर बढी चल्तीमा छ रे ! म बल्ल झल्याँस भएको थिएँ- मैले त कत्ति थर सुनेकै रैनछु । चौधरी, लामिछाने, रावल, खत्री, जैसी, पौडेल, शाही, विक र खान- मैले सुनेका थर यत्ति थिए । जसरी मलाई पहिलोपल्ट ‘च्वाई’ सुन्दा मरीमरी हाँस्न मन लागेको थियो- त्यसरी अरूलाई पनि त ‘चपाईं’ सुन्दा मरीमरी हाँस्न मनलाग्दो हो । ‘यो चपाईं के हो ? कहाँबाट आएको हो ?’ मैले मात्र होइन, बा र आमाले पनि सुनिरहने प्रश्न थियो । नेपालीहरू ‘थर’मा बढी रुचि राख्छन्, बल्ल मैले थाहा पाएँ । र, ‘थर’ कत्ति महत्त्वपूर्ण रैछ, थाहा पाएँ । म स्कुल होस् या बाटो जहीँतहीँ प्रश्नहरू भेटिरहन्थेँ तर उत्तर दिन आउँदैनथ्यो । म भन्थें, ‘चपाईं छेत्री हो । सुर्खेत र कैलाली जताततै हुन्छन् ।’ तर, बाले अलि गहिरो उत्तर दिनुहुन्थ्यो, ‘चपाईं सात पुस्तादेखि चलिआएको थर हो । सुदूरपश्चिम र मध्यपश्चिमतिर बसोबास गर्छन् । एकथरी भन्छन्- काठमान्डुको चापागाउँबाट बसाइसराइ गर्दै सुर्खेत पुगेकाले ‘चापागाईं’ भन्दाभन्दै अपभ्रंश भएर ‘चपाईं’ भएको हो ।’ सुन्दा अचम्मलाग्दो थर भए पनि ‘चपाईं’ इतिहासको लामो बाटो पैदलै हिँडेर आएको थर रहेछ- त्यो पनि नाङ्गा गोडा । चराको चुल्चोजस्तो ‘च’ बाट सुरू हुने मेरो थर यस्सो हेर्दा पनि मौलिक नै देखिन्थ्यो । देवनागरीका छत्तीस अक्षरबाट छानेरै नियतबस झिकेजस्तो । स्कुलमा सरहरूले मेरो थर शुद्ध लेख्दैनथे । प्रायः सरहरू ‘चपाई’ लेख्थे । अझ अंग्रेजीमा लेख्नुपर्\u200dयो भने त के हो, के हो । बा ‘सीएचएपीएआईएन’ शुद्ध इस्पिलिङ् हो भन्नुहुन्थ्यो । सरहरू अन्तिमको ‘एन’ छुटाइदिन्थे । ‘एन’ पनि हुन्छ सर भन्दा उनीहरू नाक खुम्चाउँथे, ‘तिमी जान्ने कि म ?’ जे होस् म आफ्नो थरका पक्षमा लडिरहन्थेँ । त्यसैले ‘चपाईं’को लामो इतिहासलाई बेबास्ता गर्नु पनि भएन । ‘चपाईं’ ठीकै त छ नि ! देवनागरीका छत्तीस अक्षरबाट छानेरै नियतबस झिकेजस्तो । स्कुलमा सरहरूले मेरो थर शुद्ध लेख्दैनथे । प्रायः सरहरू ‘चपाई’ लेख्थे । अर्को मन नपर्ने शब्द ‘बुद्धि’ र ‘चपाईं’को बीचमा थियो- राम । बुद्धिराम- आफ्नो नामै कस्तोकस्तो लाग्ने । कैलालीमा धेरै नामको बीचमा ‘राम’ हुन्थ्यो तर थारूगाउँतिर । पहाडिया गाउँमा भने ‘प्रसाद’ ‘कुमार’ ‘बहादुर’ र ‘कृष्ण’ । मेरै बाको नामको बीचमा पनि ‘बहादुर’ थियो तर दाइ र मेरो नामबीच कसरी ‘राम’ आयो ? म ‘बहादुर’ किन भइनँ ? मैले सुनेका नाम प्रायः रामायाण र महाभारतबाट पैंचो लिइएका थिए । ज्योतिषीबा गाउँभरि महाभारतका योद्धाहरूको नाम छर्थे । ज्यातिषीबाका लागि नामको भण्डार रामायाण र महाभारतमात्र थिए । कसैको नाम ‘कृष्ण’ राख्थे, कसैको अर्जुन, कसैको भीष्म, कसैको लक्ष्मण, कसैको शिव, कसैको गणेश । केटीहरूलाई लक्ष्मी, पार्वती र सीता । तर, मैले पुरुषको नाम रावण र स्त्रीको नाम द्रोपदी सुनेको थिइनँ । नाम राख्ने ज्योतिषीबाको भ्रम थियो- नाम जस्तो राख्यो, मान्छे त्यस्तै हुँदै जान्छ । कैलालीमा दुई भगवान् प्रख्यात थिए, राम र कृष्ण । आफ्ना सन्तान राम र कृष्ण हुन् भन्ने सबैलाई लाग्थ्यो होला । सबैले सन्तानको नाम राम र कृष्ण राखे त गाउँभरि नै ‘राम-कृष्ण’को जुलुसै हुन्थ्यो, हुलाकीलाई पनि गाह्रो । त्यसैले बीचमा सुटुक्क ‘राम’ र कृष्ण घुसाइएको पो हो कि ? त्यसैले मेरो नाममा पनि ‘राम’ घुस्रेका हुन् कि ? रेडियोमा गजल पठाउनुअघि मैले नाममा अलिकति हेरफेर गर्ने निर्णय गरेँ । अनुरोध संगीत होस् या साहित्यिक कार्यक्रममा बज्ने नामहरू मेरो दिमागमा फनफनी घुम्न थाले । सबैले नामको पछाडि केही न केही फुर्को झुन्ड्याइरहेका हुन्थे । घायल, आँसु, आवारा, पीडित, छट्पटी, रोदन, दीनदुःखी यस्तै यस्तै । मलाई लागिरहेको थियो- रेडियोमा पठाउने नाम अलि दुःखी नै हुनुपर्दो रैछ । सिर्जना पनि दुःखी, नाम पनि दुःखी । उद्घोषकहरू पनि दुःखी आवाजमा रचना वाचन गर्थे । ०५४ सालताका रेडियो नेपालले राति नौ बजेको समाचारपछि हरेक दिन सांगीतिक कार्यक्रमहरू राखेको थियो । प्रायःमा श्रोतामा कविता, गजल र मुक्तक वाचन गरिन्थ्यो । दुःखी नाम वाचन हुन्थे । यस्सो विचार गर्दा लाग्थ्यो- मुलुक दुःखीहरूले भरिँदै गएको छ । सारा मुलुकका युवायुवती एकोहोरो प्रेमले ‘घायल’ छन् । तिनको पोल्टामा आँसु मात्रै छ । बुद्धिसागरका दुई चर्चित उपन्यास मलाई नाम फेर्न मन त थियो तर दुःखी नाम बनाउनु थिएन । मैले बाले रातो तुलले बेरेर राखेको नेपाली शब्दकोश झिकेँ । दिनभर घोत्लिएँ तर मन च्वास्स छुने शब्द भेटिए पो । मलाई लाग्यो- लाखौं शब्दले भरिएको शब्दकोशमा मैले खोजेको शब्द नै छैन । र, म पत्रिकामा घोरिन थालेँ । सरकारी अफिसमा हप्तौँपछि दैनिक पत्रिका आउँथे । हरेक दिन दिउँसो १ बजे पाइपझैँ बटारिएका दैनिक पत्रिका बोकेर हुलाकी अफिसका ढोकाढोका पुग्थ्यो । हाकिम सापहरू अफिसबाहिरपट्ट घाम ताप्दै, कुर्सीमा ढल्किएर पुराना अखबार पढ्थे । पन्ध्र दिनअघि पल्टेको बसको खबर पढेर पन्ध्र दिनपछि तर्सन्थे । सारा मान्म बजार पुराना खबर पढ्न श्रापित थियो । सरकारी रेडियोले क्रान्तिकारी स्वभावका हाकिमले खोजेको समचार फुक्दैनथ्यो । त्यसैले पनि उनीहरू ढिला गरी आएको समचार पढ्थे । कहिलेकाहीँ महिनौँ पत्रिका आउँदैनथे । त्यसबेलामा पत्रिकाको तिर्खाले छट्पटिँदै बजारमा घुमिरहन्थे । मलाई पत्रिका पढ्न मन पथ्र्यो तर सरकारी अफिसमा पुगेर पत्रिका माग्न धक लाग्थ्यो । मान्ममा एउटै पत्रिका पसल थियो । साउजी कम्न्युस्ट विचारधारका थिए, त्यसैले पार्टीका मुखपत्रजस्ता पत्रिका ल्याउँथे । तैपनि छिटफुट रूपमा नवयुवा, युवामञ्च र मधुपर्कजस्ता पत्रिका ल्याउँथे । पत्रिका ल्याएका दिन म एक एकप्रति किन्थेँ र घाममा ढाड सेकाउँदै घोप्टो परेर पढ्थेँ । तर, कहिलेकाहीँ महिनौँ पत्रिका आउँदैनथे । त्यसबेलामा पत्रिकाको तिर्खाले छट्पटिँदै बजारमा घुमिरहन्थे । मान्म अवसरको खोजीमा आएका व्यापारीले भरिएको थियो । पत्रिका पढ्ने कोही थिएन । मान्म लोकसेवा पास गरेर आएका मुखियाहरूले भरिएको थियो । तिनीहरू लोकसेवाको किताब घोक्थे तर पत्रिका पढ्दैनथे । केवल हाकिम सापहरू पढ्थे, जोसित म बोल्नै डराउँथेँ । कैयौँ दिन छट्पटिएपछि मैले थाहा पाएँ- कृषि सामग्री केन्द्रमा पत्रिकाहरू फाइलिङ गरेर राखिने रैछ । सानोतिनो लाइब्रेरीजस्तो पनि रैछ । त्यहाँ फाइल पल्टाउँदै पढ्न पाइने रैछ । कृषि सामग्री केन्द्र बजारको बीचमै थियो तर कोही आउँथेन, शान्त हुन्थ्यो । म त्यहीँ धाउन थालेँ । ढुसी गन्हाइरहेको अँध्यारो कोठामा बसेर म पुराना पत्रिका पढ्थेँ । तर, एकदिन कृषि सामग्री संस्थानका हाकिम सापले रातभरि पार्टी गरेछन् । पाँचजनाले सिलबन्दी रक्सी खाएछन् । बिहान एकजनामात्र उठेछन्, जसको आँखाको ज्योति गइसकेको रैछ । अरू त अचेत । विषादी मिसिएको रक्सी रैछ, खत्तमै पारेछ । पुलिसहरूले सुर्खेतबाट आएको हेलिकप्टरमा राखेर सबैलाई पठाए । कैयौँ दिनसम्म सारा बजारमा खासखुस खासखुस भइरह्यो । अनि, त्यस अफिसमा पत्रिका फाइलिङ हुन बन्द भो । म फेरि पत्रिकाको तलतलले ‘घायल’ भएँ । तर, मैले बुद्धि लगाएँ । बजारका धेरै व्यापारी चिनेकै थिएँ । म कोही व्यापारी सामान लिन सुर्खेत झर्न थालेको थाहा पाएपछि पैसा दिँदै पत्रिका ल्याइदिने आग्रह गर्थेँ । कसैले ‘बिर्सेछु’ भन्दै पैसा फिर्ता दिन्थे भने कसैले हतारमा भेटिएका पत्रिका बोकेर आउँथे । अधिकांशले साहित्यिक पत्रिका मधुपर्क र हिन्दी भाषाको गृहलक्ष्मी ल्याइदिन्थे । म आफूसित भएका पुराना पत्रिकाका पृष्ठ पल्टाउँदै आफूलाई सुहाउने नाम खोज्न थालेँ । मधुपर्कको पुरानो अंक हेरिरहेको थिएँ- एउटा नाम देखेँ, बुद्धिसागर पराजुली । नामको बीचमा कुम जोडेर बसेको थियो- ‘सागर’ । मैले एकपल्ट ‘सागर’ राखेर आफ्नो नाम मनमनै उच्चारण गरेँ । क्या सुन्दर लाग्यो भनें । म मुसुक्क हाँसेँ र फेरि उच्चारण गरेँ- बुद्धिसागर चपाईं । नाम त यै ठीक होलाजस्तो लाग्यो । एकपल्ट लेखी हेरूँ न ! मैले कापीमा कलमको निब दगुराएँ । लेखेको हेर्दा पनि त राम्रै देखिने रैछ । र, मैले जीवनको पहिलो र गम्भीर निर्णय लिएँ । अक्षरका इँटाहरूले बनेको नामबाट दुइटा इँटा झिकेँ र तीनवटा इँटा थपेँ । मेरो नामको जीर्णोद्धार भयो । मेरो नामको बीचमा लुकेर बसेका ‘राम’ उदास आँखा लिएर फेरि बनवास गए । बजारमा कोही पनि कवि थिएनन् । व्यापारी थिए- ती लेख्नुको नाममा उधारो खातामात्र लेख्थे । नाम तयार भयो । रेडियोले गजल पठाउनु भनेको छ । मैले लेखेको त कविता पो हो । गजल र कवितामा केही त फरक होला । अब कसलाई सोधूँ ? बजारमा कोही पनि कवि थिएनन् । व्यापारी थिए- ती लेख्नुको नाममा उधारो खातामात्र लेख्थे । कर्मचारी थिए- ती बिदाको चिठीमात्र लेख्थे । पुलिस थिए- ती घरमा श्रीमतीलाई मात्र चिठी लेख्थे । शिक्षकहरू थिए- ती कालोपाटीमा हिसाबमात्र लेख्थे । एक दुई कलाकार थिए- ती साइनबोर्ड मात्र लेख्थे । अहेबहरू थिए- ती थोत्रो कागजमा औषधीको नाम लेख्थे । नेताहरू थिए- ती जिविसमा सहयोगको निवेदनमात्र लेख्थे । कविता लेख्ने त कोही थिएन । मलाई धेरै सोचेर बस्न मन लागेन । रेडियोमा अरूको गजल सुनेका आधारमा मैले पत्तो पाइसकेको थिएँ- गजल गीतकै छेउछाउको रैछ । दुईदुई हरफको हुनुपर्ने रैछ । अन्तिमका शब्दहरू मिल्दाजुल्दा हुनुपर्ने रैछ । र, मैले कनीकुथी आफूले लेखेको कविता गीतजस्तो बनाएँ र सकेसम्म राम्रा अक्षरमा सफा पानामा सारेँ । शुक्रबार थियो । त्यसैले स्कुल गइनँ । खाम किनेर ल्याएँ । गजलको पाना मुटुझैँ पट्याएर खामभित्र हालेँ । गुँदले खामका ओठ चप्काइदिएँ । खामको बाहिरपट्टि ठेगाना लेखेँ । र जिल्ला हुलाक कार्यालयतिर दगुरेँ । बजारको पश्चिमतिर ओरालोमा थियो, हुलाक । थोत्रो घर थियो, शान्त नै रहन्थ्यो । थोरै कर्मचारी थिए । म जाँदा एकजना मात्रै थिए । उनले सोधे, ‘यो चिठी रजिस्टार गर्दिऊँ ?’ मैले बुझिनँ । ‘रजिस्टार चिठीमा अल्लि बढी पैसा लाग्छ ।’ उनले बुझाए, ‘तर, भरपर्दो यै हुन्छ । यदि चिठी सम्बन्धित ठेगानामा पुगेन भने फेरि फिर्ता आउँछ । रजिस्टार चिठीको जिम्मा हुलाकले नै लिन्छ । हरायो भने दोषी हुलाक नै हुन्छ । र, साधारण चिठीभन्दा चाँडै पुग्छ । साधारण चिठीको जिम्मा हुलाकले लिँदैन । यदि हुलाकीले ठेगाना फेला पारेनन् भने त्यत्तिकै फाल्दिन्छन् ।’ ए, बल्ल पो बुझेँ । सम्झेँ- रेडियोमा रचना वाचन गर्दा सञ्चालकले पनि भनिरहन्थे, ‘अब प्रस्तुत छ फलाना मान्छेको रचना । उहाँले रजिस्टार चिठी पठाउनुभएको हो ।’ कुरा यसो पो रैछ । मैले चिठी रजिस्टार गर्ने निर्णय गरेँ । फुच्चे चिठीको तौल तराजुमा जोख्दा पन्ध्र-सोह्र रुपियाँ पर्न आयो । मैले दिएँ । हुलाकीले भर्खरै थुक लगाएर टाँसेको टिकटमाथि ड्याम्म स्ट्याम्प बजारे । मेरो ढुकढुकी बढिरहेको थियो । मलाई बेग्लै खाले अनुभूति भइरहेको थियो । म पहिला मनखुसी रेडियो सुन्थेँ । निद्रा लाग्यो भने प्याट्ट भोलुम बन्द गर्थे । कोल्टे फर्केर सुत्थेँ । चिठी पठाएकै दिनदेखि रेडियो सुन्दा म पहिलाकोजस्तो रहिनँ । मैले चिठी पठाएको भोलिपल्टै सम्झना कुसुम आउने दिन पर्\u200dयो । सवा नौ बजे भावसुमन सुरू भयो । तर, मेरो ढुकढुकी बढिरहेको थियो । मलाई बेग्लै खाले अनुभूति भइरहेको थियो । मलाई थाहा थियो- हिजै मान्मबाट पठाएको मेरो चिठी आजै त काठमान्डु पुग्दैन । तैपनि, मेरै रचना वाचन हुन्छ कि भने जसरी छट्पटी भइरहेको थियो । सञ्चालिका दीक्षाले सुरूमै पर्वतबाट आएको रचना पढिन् । र, गजल बजाइन् । कार्यक्रममा उनले पाँचवटा रचना पढिन् । कत्ति रचना मैले पठाएको भन्दा पनि कमजोर थिए, मलाई आँट आयो, मेरो त राम्रै छ, पक्कै वाचन हुन्छ । कार्यक्रमको अन्तमा उनले खुसी हुँदै आफूले श्रोताहरूको प्रशस्त चिठी पाइरहेको जानकारी दिँदै धन्यवाद दिइन् । सबैलाई आफ्ना रचना पठाउन आग्रह गरिन् । म मुसुक्क हाँसेँ- मैले पठाइसकेँ । त्यो पनि रजिस्टार गरेर । जीवनकालको सबैभन्दा लामो हप्ता बित्यो । शनिबार आयो । भावसुमन आयो । दीक्षा आइन् । पाँच-छजनाका कविता आए तर मेरो रचना आएन । मन कटक्क दुख्यो तर सोचेँ- चिठी अझै पुगेको छैन होला । कार्यक्रम सकिएपछि ज्यान त्यसै तातो भएर आयो । छ्या, अझै एक हप्ता कुर्नुपर्ने भयो । मैले लामो सुस्केरा हाल्दै कोल्टे फेरेँ । कष्टकर दिनहरू बित्न थाले । एक हप्ता कसरी बित्ला ? मलाई बेलाबेला लाग्थ्यो- खुइय्या घडीको सुईझैँ समय पनि घुमाउन मिल्ने भए क्या जाती हुन्थ्यो । म आइतबारदेखि शुक्रबारसम्म फनक्क घुमाइदिन्थेँ । भावसुमन आइहाल्थ्यो । तर, समय त आफ्नै स्टाइलमा हिँड्थ्यो । मेरा लागि समय उकालो चढिरहेको भुँडे मानिसझैँ स्याँस्याँ गर्दै सुस्त-सुस्त हिँडिरहेको थियो । म समयलाई अगाडि हुत्ताउन खोज्थेँ, समय मोरो अटेरी बाख्रोझैँ जमिनमा खुर जोतेर तनक्क तन्किन्थ्यो, हिँड्दै हिँड्दैनथ्यो । मलाई के गरूँ के गरूँ भयो । दीक्षा मेरो गजल वाचन गरिरहेकी थिइन् । मेरो मुटु छाती च्यातेर बाहिर निस्क्यँलाझैँ गरिरहेको थियो । जेनतेन मेरो जीवनको असाध्यै कष्टकर हप्ता बित्यो । र, भावसुमनको दिन आयो । राति नौ बजे नै उत्तानो पल्टेर मैले रेडियोलाई बिरालोझैँ छातीमाथि राखेँ । सम्झना कुसुम सुरू भयो । सुरूमै चितवनतिरका श्रोताको गजल वाचन भयो । अनि हिन्दी गजल बज्यो । दोस्रो गजल वाचनमा झापाका श्रोता परे । म छट्पटिन थालेँ । मेरो त पालो आउँदैन कि के हो ? कार्यक्रम सुरू हुँदा बेस्मारी धड्केको मेरो मुटु, बिस्तारै धड्किनै बन्द होलाजस्तै भयो । कार्यक्रम अन्तिमतिर पुग्दा मूच्र्छै पर्छु कि जस्तो भयो । मेरो आत्माको बार्दली ह्वात्त तल खसिसकेको थियो । मैले आस मारेँ । हृदय भन्थ्यो- अर्को हप्ता आउला कि ? दिमाग भन्थ्यो- आउँदैन, कहिल्यै आउँदैन । कार्यक्रम सञ्चालिका दीक्षाले कार्यक्रमको अन्तिममा भनिन्, ‘हवस् त आजको कार्यक्रम यहीँ सकिन्छ । तर जाँदाजाँदै प्रस्तुत छ – ‘खाँडाचक्र, मान्म-५, कालीकोटका श्रोता बुद्धिसागर चपाईंले पठाउनुभएको गजल ।’ यसपछि मेरा कान पानी भरिएझैँ बन्द भए । सासै रोकिएलाजस्तो भो । कताकता पेट हुँडुलिएजस्तै भो । मलाई के गरूँ के गरूँ भयो । दीक्षा मेरो गजल वाचन गरिरहेकी थिइन् । मेरो मुटु छाती च्यातेर बाहिर निस्क्यँलाझैँ गरिरहेको थियो । म चेत गुमिसकेको मान्छेझैँ टोलाइरहेँ । कार्यक्रम सक्किसकेको थियो । निद्रा लागे पो ! पिसाब लागे लागेजस्तो भयो । म अँध्यारोमा एक्लै खिस्स-खिस्स हाँस्न थालेँ । बाटो परिवर्तन गर्न यसैपल, जीवनको हवाइजहाजले कोल्टे फेरिसकेको थियो । #बुद्धिसागर
गुच्चेबाजका पृथ्वीजस्ता गुच्चाहरू: चर्चित खेलाडीका अजीवोगरिब स्वभाव हुन्छन् । मेरो स्वभाव पनि कुनै समय अजीवोगरिब थियो । हो , म पनि चर्चित गुच्चेबाज थिएँ । “मैले गुच्चामा जति अभ्यास र साधना गरेँ, त्यति क्रिकेटमा गरेको भए ! सन्दीपजस्तै बन्न नसके पनि देशको टीममा त म पनि हुन्थे हुलाँ ।”, गुच्चालाई लिएर यो र यस्ता कुरो पटक पटक आउँछन् मेरो मगजमा । यो एक स्वरकल्पनाबाहेक केही होइन । म अहिले जे छु, त्यहीमात्र म हुँ । मलाई थाहा छ । तर खै किन मान्छे कल्पनामा बढी संवेदशील र गतिशील बनिदिन्छ ? मलाई थाहा छैन । प्रेमीले विछोडिएकी प्रेमिकाको नाममा हात काट्सक्छ । कसैमा समाज सेवाको भूत सवार हुन्छ । मान्छे लत बिना बाँच्न सक्दैन । मैले कुलत बिना भनेको होइन । तर मान्छे केही न केही लत बोकेरै बाँचेको हुन्छ । लत सबै कुलत हुँदैनन् । कसैले बोलिरहनुपर्ने हुनसक्छ । कसैलाई घर छोडेर एकदिन पनि बाहिर बस्नु परेमा बिमार निक्लन सक्छ । प्रेमीले विछोडिएकी प्रेमिकाको नाममा हात काट्सक्छ । कसैमा समाज सेवाको भूत सवार हुन्छ । कोही पुस्तकभन्दा टाढा बस्नै नसक्ने पनि हुन्छ । हो, लत अनेक हुन्छन् । तल्तल अनेक हुन्छन् । र, सबैमा हुन्छन् । मलाई पनि गुच्चाको लत थियो । मेरा दामले जोकोहीलाई गुच्चाको लत थियो । गाउँलाई गुच्चाको लत थियो । डेब्यूको पहिलो साल नै मैले जोरसँग साँच्चैको गुच्चा खेलेँ । कति हारेँ, कति जितेँ । दोस्रो सिजनबाट त म गुच्चाको म्यारोडोना नै भएर निस्किएँ । गुच्चा खेल्ने जक्सनहरू थिए । तावा गाउँको चौतारी । भट्टराईको होली । लिङ्देन गाउँको आँगन । र टीकारामको घर । म गुच्चाको म्यारेडोना भएर निक्लिएपछि मेरै घरअघिको तीन बाटो पनि रणसंग्राम बन्यो । अहिले त चारबाटो बनिसकेको छ । इँटा भट्टादेखि लिएर लोक्ताम गाउँ, भुतेनी खेलादेखि लिएर न्यौपाने चोकसम्मका गुच्चेहरू मसँग भिड्न आउन थाले । हो, म गुच्चाको लागि सेलिब्रेटी नै बनेको थिएँ । नत्र मसँग गुच्चा खेल्नकै लागि भनेर गुच्चा खेल्न त्यतिका केटाहरू किन पो भेला हुन्थ्यो । म अहिले अँध्यारो छु । फेरि कालो चाहिँ हैन नि ! कालोले प्रकाशलाई परावर्तन गर्दैन । विज्ञानले के भन्छ ? थाहा छैन, तर विज्ञान शिक्षकका अनुसार प्रकाशलाई परावर्तन नगर्ने वस्तु देख्न सकिदैन । जस्तो कि कालो छिद्र । तर म कमसेकम ऐनामा देखिन्छु । हो, म कालो होइन, मेरो छाला अँध्यारोचाहिँ छ । कालो विचार बोक्नेहरू नै कालो रङलाई खै किन कुरूपता मान्छन् ? मलाई थाहा छैन । कृष्ण ढुङ्गेल सानोमा म कृष्णजस्तै थिएँ रे ! नाम जस्तै । तर कृष्णजस्तो अँध्यारोचाहिँ थिइनँ रे ! म अँध्यारो हुन थालेको पनि गुच्चा खेल्न थालेपछि नै हो रे ! हिउँद भनेको गुच्चाको मात्र होइन, धूलोको पनि सिजन हो । फेरि गुच्चालाई धूलेखेल भन्दा पनि हुन्छ । यो धरातलसँग जोडिएको हुन्छ । पिक पनि त धरातलमै हुन्छ । पुस र माघका झापाको जाडो तपाईँलाई पक्कै थाहा छ । चैत र वैशाखको गर्मी पनि थाहा भइहाल्छ । र गुच्चाको सिजनले यो दुवै सिजन भेट्छ । अरूहरू सिजनको अन्त्यपछि आफूसँग भएका गुच्चाहरू सिसीहरूमा भरेर सुरक्षित राख्थे, जसरी हिउँदमा सालभरिको लागि भकारी भरिन्थ्यो । तर मैले त्यसो कहिल्यै गरिनँ । मलाई अर्को सिजनको चिन्ता थिएन । सायद चर्चित त सक्षम खेलाडीहरू यस्तै हुँदा हुन् ! मैले प्रायः गुच्चाहरू सिजनका अन्तिम भएपछि बेचेर सक्थेँ । नबिकेका के कति बाँढेर सक्थेँ, करेसामा माटोसँग प्रेम साट्थे । अक्सर अफसिजनमा खाद्यवस्तु (विशेष तरिकारी तथा फलफूल) महँगो हुन्छ, तर गुच्चा सस्तो हुन्थ्यो । भविष्य सोच्नेले किनेर राख्थेँ । तर मलाई भविष्यको चिन्ता थिएन । अर्काे सिजनमा एक रुपियाँको किन्ने न हो, त्यसपछि त बेच्ने मात्र त हो ! फेरि तिहारपछाडि आउने सिजनमा एक दुई रुपियाँको के दुःख र ? अहिले सम्झन्छु, पक्कै पृथ्वीजस्तै गुच्चाहरूसँग नजिक भएपछि हुनुपर्छ, मैले पृथ्वीलाई पनि गुच्चाझैँ गोलो बनाएर बुझ्न थालेको । मैले नौवटा ग्रहको पहिलो प्रयोग पनि गुच्चासँगै त गरेको हो नि ! अनि गुच्चाहरूकै सौर्यमण्डल बनाएको पनि गुच्चाले नै हो । एकदिन फुटबलमा कमिला हिँड्दै गरेको दृष्यमा घोत्लिएपछि बुझेको हुँ, फराकिलो भूगोल भएपछि बनोटले असर पार्दैन रहेछ । पक्कै मान्छे पृथ्वीको लागि कमिलो फुटबलको लागि भन्दा पनि सोनो अंश हो । सानो अंश ठूलोमा मिसिएपछि विलय हुन्छ । तर म गुच्चाभन्दा धेरै ठूलो भएर पनि, गुच्चामा विलाई जाँदै थिएँ । गुच्चा पृथ्वीजस्तो थियो । म कमिलाजस्तो भएको थिएँ । खै किन भौतिक आयतनभन्दा संवेदनाका आयतनहरू बृहत् हुन्छन् ? मलाई थाहा छैन । त्यो समय, स्वस्थानीले तेत्तीस कोटी देवता भनिरहँदा मेरा लागि एक बढी थिए । त्यो थियो गुच्चा । कति गुच्चाको भित्री भागमा केही रङ भरिएको हुन्थ्यो । ती पिच्चुभन्दा ठूला हुन्थे । ढोमभन्दा अलि साना । साँच्चै ती पृथ्वी नै प्रतित हुन्छ । गुच्चा र पृथ्वी एउटा कुरामा उस्तै पनि हुन्छ । खै कति कुरामा फरक छन् ? मलाई थाहा छैन । थाहा नहुँदा नहुँदै पनि धेरै कुरा अनुमान लाउन सकिँदो रहेछ । यति बुझ्न मलाई पृथ्वीजस्ता गुच्चाहरूको इतिहास कोट्याउनु पर्याे । तपाईँले कहिल्यै हिसाब गर्नुभएको छ ? पृथ्वीले मान्छेको कति पुस्ता भोगिसक्यो ? देखिसक्यो ? छोड्दिनुहोस् । मलाई पनि थाहा छैन । र, मलाई यो पनि थाहा छैन कि गुच्चाले मजस्तो कति पुस्ता भोगिसक्यो । तर थाहा नहुँदा नहुँदै पनि धेरै कुरा अनुमान लाउन सकिँदो रहेछ । यति बुझ्न मलाई पृथ्वीजस्ता गुच्चाहरूको इतिहास कोट्याउनु पर्याे । आजभन्दा तीन सय वर्षअघिका मान्छेले पृथ्वीको प्रयोग कसरी गरेका थिए ? अहिलेकाले कसरी गरेका छन् ? फरक छ । पुस्तासँगै पृथ्वीको प्रयोगमा फरक छ । ठीक त्यस्तै गुच्चाको उपयोग पनि पुस्तापछि फरक छ । अहिलेको कलिलो पुस्ता, मेरो पुस्ताले जस्तो खेल्दैन गुच्चा । बरू स्कूलमा एक दुई सिकाउन प्रयोग हुन्छन् । अहिले त मोवाइल र ल्यापटपबाहिर खेल नै के पो हुन्छन् र ? तर यतिचाहिँ हो, गुच्चाको आयु मान्छेको भन्दा लामो छ । पृथ्वीको आयु गुच्चाको भन्दा धेरै लामो छ । तर खै किन मलाई यो सब बुझेर पनि गुच्चा र पृथ्वी उस्तै लाग्छ ? मलाई थाहा छैन । #मलाई थाहा छैन
ढाडे निउरो: बाहिर झमझम पानी परिरहेको छ । आफूलाई भने के गरौँ र कसो गरौँ भा’को छ । बाहिर निस्कन पनि नमिल्ने, फेरि आफूलाई ट्वांरट्वांरेले समातेको छ । बाहिर गा’को बेला आइहाल्यो भने कसको घरमा जानू ? नचिनेकाकोमा गयो भने त मार्लान् नि ! नेपाल जस्तो हो र ? पसलतिर व्यवस्था भइहाल्छ भनेर जाउँ भने पनि कोरोना धिपतिको आदेशले ट्वाइलेट भएका पसलहरू पनि बन्दमा परेका छन् । ‘के भएर ट्वांरट्वांरेले समात्यो त ?’ भनेर न सोध्नुहोला नि ! मुखै खोल्न भा छैन। घरमात्रै होइन, छरछिमेक नै उठेर आउलान् भन्ने कत्रो त्रास छ आफूलाई । अरू कसैलाई नभन्नु ल ! तपाईँलाई मात्रै खुसुक्क भन्छु । गृह मन्त्रीलाई थाहाभयो भने त खाद्य संस्थान नै बन्द हुन बेर लाग्दैन ! कुरा के भने, हिजो निउरो र भात खाइयो । आज बिहानैदेखि हो ट्वांरट्वांरेले समातेको । छरछिमेकले थाहा पाए भने ‘हामीलाई नदिएर खाको, खुच्चिङ’ भनी हाल्छन् । क्या फसाद ? बिहानै यसो समाचारतिर नजर दौडाएको त ‘स्याङ्जामा निउरो खाएर तीन बच्चा चिलिम’ भन्ने देख्नेबित्तिकै ह्वाल्ल मुखैबाट आउलाजस्तो भयो । योबेलै निउरोमय छ । वर्षात् सुरू हुनेबित्तिकै निउरो टुसाउँछ । पूरै क्यानाडामात्रै नभएर उत्तर अमेरिका नै निउरोमय भएको छ । कतै जानु पर्दैन । यसो मुहार पुस्तिकामा बूढी औंला दौडाउन पर्छ । काँ काँ निउरो पाइयो ? कस कसले निउरो खायो ? सबै थाहा हुन्छ । क्यानाडाको पूर्वी भेगमा बस्ने एकजना मित्रले ‘साँझ पनि निउरो, बिहान पनि निउरो, अझ नपुगेर दिउँसोको स्यान्डबिचमा पनि निउरो राखेर खाको’ भनेर मुहार पुस्तिकामा राखेको देखेपछि पेट कटक्कै काटेको थियो । पोहोर साल टोरोन्टो घुम्न गाको बेलामा एकजना साथीले सधैँ पाइने ठाउँबाट तुरुन्तै निउरो टिपेर ल्याई खुवाउनु भयो। निउरो चिनेको मान्छेले टिपेर ल्याएको निउरो खाँदा मीठै हुँदो रहेछ। तर के गर्ने खाइसकेपछि आफ्नो त आँतै कुँडिएर आयो। डा. कुसुमाकर शर्मा सानो छँदा गाउँघरको खोल्सो, खोलेसो, जंगलको सेपिलो ठाउँमा निउरो पाइन्थ्यो। टिपेर घरमा ल्यायो, आमाले ‘यो ‘उनिऊ’ किन ल्याइस् ?’ भनेर फालिदिनु हुन्थ्यो। दुई चारपटक आमासँगै खोलेसोतिर गएर टिपेपछि बल्ल निउरो चिन्ने भएको थिएँ । ए कदिन त्यस्तै निउरो टिपेर ल्याएँ। आमाले पकाउनु भयो। सबैले खायौँ। भो लिपल्ट सबै बच्चाहरूलाई ट्वांरट्वांरेले समात्यो। पछि था’भो, त्यो त तीते निउरो रहेछ । खानै नहुने। त्यहाँदेखि कान समातेँ। अहिले पनि कसैले निउरो भन्यो भने मेरा कान ठाडा हुन्छन् र पेट गुँडुल्किएर आउँछ। श्रीमतीजीले ‘हामी बसेको ठाउँका नेपालीहरूकै कुनै एउटा समूह मानवनिर्मित नगरका खोल्सा-खोल्सीतिरबाट निउरो टिपेर ल्याई खाए रे !’ भन्ने बताएपछि मेरो पेटमा गोला बर्सिन थालिहाल्यो । अब भने आफ्नो शंका निवारण गर्ने उपाय सोच्न थालेँ । भाग्दै गरेको भूतको लगौंटी समात्ने उद्देश्यले दिव्यदृष्टि पाएका गूगल बाजेको शरणमा परेँ । थाहा भयो, हाम्रो गाउँघरतिर पाइने डंउडे निउरोलाई क्यानाडामा ‘फिडलहेड फर्न’ भन्दा रहेछन् । डंउडे भनेको पात नफैलिँदै घुम्रिएको निउरोको लामो टुसा हो । गूगल बाजेका अनुसार फिडेलहेड भनेको डंउडे मात्रै हो र खाने पनि यही डंउडे मात्रै हो । गूगल बाजेको भनाइ र हामी नेपालीको खुवाइमा यहीनेर फरक परिहाल्यो । हामी त डंउडे छोडेर चारआली ढाकेको निउरोको पात खोज्छौँ । जे भए पनि क्यानाडामा पाइने निउरे खान मिल्छ भन्ने थाहा पाएपछि अलिकति मन हल्का भयो । तर गूगल बाजेको भनाइमा निउरो चिन्नुपर्छ। नत्र कुनै कुनै निउरोले त क्यान्सरसम्म पनि लगाइदिन्छ भने पछि फेरि मन लुत्रुक्क भयो । अब कसलाई सोध्नु, निउरोको बारेमा ? घोरिदै थिएँ । मेरा अनन्य मित्र नै कृषि विशेषज्ञ भएको याद आयो । उनलाई सोध्ने निधो गरेँ । मैले घुमाएर ‘कृषि विशेषज्ञ भएकोले तपाईँलाई निउरोको बारेमा सोध्न लागेको’ भन्ने कुरा न सक्दै जवाफ दिई हाले ‘तरकारीका बारेमा कुरै नगरौँ ।’ म अकमक्क परेँ । रामपुर क्याम्पस हुँदै कता-कताबाट चुकन्दरमा विद्यावारिधि गरेका हुन् । मतिर फर्केर निन्याउरो अनुहार लगाउँदै भने ‘मैले चुकन्दरमा विद्यावारिधि गरेँ । काम पनि त्यसमै गर्छु । निउरो खाको छु, तर धेरै थाहा छैन ।’ मैले टाउको कन्याउन थालेँ। उनले अप्ठेरो मान्दै आफ्नो दुखेसो पोखे, “मैले कृषि पढेर कृषकलाई खाली सुझाव मात्रै दिएँ । तर काम त कृषकका हातले मात्र गरे। अहिले मलाई घरमा ‘लौ कृषि पढेकाले करेसाबारीमा साग तरकारी फलाउनुपर्यो’ भन्छन् । केही सागसब्जी करेसाबारीमा लगायो भने उम्रिनेबित्तिकै फुलिहाल्छ । त्यही भएर घरमा किनेकै तरकारी चल्छ ।” उनको पीर अझै बढाउन मन लागेन । अरू केही उपाय पत्ता लागिहाल्छ कि भनेर छिमेकी वातावरणविद्लाई खोजेँ । फोनबाटै कान फुट्नेगरी फलाकेँ, “पृथ्वीमा दस हजारभन्दा बढी जातका उनिउ छन् । निउरो पनि यही उनिउ जातभित्र पर्छ । निउरोले पनि उनिउजस्तै वातावरणमै प्रभाव पार्ने कार्बनडाइअक्साइड ग्यास सोसेर लिन्छ । त्यसैले निउरे टिप्नु हुँदैन ।” लौ, परेन बित्याँस ! कस्ता कुरा गर्या होलान् ? उनको घरमा पनि निउरोको भान्सा त हुनेगरेको छ । अब सबैले खाने निउरे टिप्न पाइँदैन भन्यो भने त टोलछिमेक नै उठेर आउलान् नि ! यी वातावरणविद्बाट पार लाग्ला जस्तो नठानेर यसो मनमीटर घुमाएको केही सुझे पो ! बरू आफू बसेको ठाउँमा निउरो पाइने खोल्सा-खोल्सी त नगर विकास योजनाभित्रका क्षेत्रहरू हुन भन्ने कता-कताबाट सुइँको आयो । यही सम्झेर अर्कै सहरमा बस्ने सहर योजनाकार मित्रलाई मनको बह पोखेँ । साथी अलि सन्की छन् । झन्की हाले, “मेरो काम कता घर बनाउन सकिन्छ भनेर सोच्दै हिँड्ने हो । कहाँ निउरो उम्रिन्छ भनेर हेर्ने हो र ?” कानले सुनेको यो खुराकबाण बनेर सिधै पेटमा पुग्यो । सगरमा चिर्को परेको जस्तो चिर्को पर्यो पेटमा । मैले इत्यादि कुराहरूको उल्टो र सुल्टो तर्क गर्दागर्दै साथीहरूको लहलहैमा लागेर हिजै श्रीमतीजीले तालतलाउको छेउछाउतिरबाट निउरो खोजेर ल्याइछन् । भनिन्, “म त निउरो खोज्दा-खोज्दा थाकेकी छु । बाउछोरा मिलेर निउरो पकाउनु ।” परेन फसाद ! बाउछोराले दुईवटा तर्क लगायौँ; पहिलो, तरकारी जति भुट्यो त्यति मीठो । दोश्रो, अण्डालाई जति उमाल्यो उति कडा । हामीले निउरो भुट्ने निर्णय गर्यौँ । निउरो त जति भुट्दै गयौँ उति कडा हुँदै गयो । छोराले भन्यो, “यो त ढाडे निउरो रै’छ । झन् कडा हुँदै आयो ।” त्यही ढाडे निउरोले होला कि भन्छु, ट्वांरट्वांरेले समातेको । जय निउरो ! जय भान्सा !! #डा. कुसुमाकर शर्मा
गाईजात्रामा लेखको प्रस्तुति: सफल भए समृद्ध देश अभियानको यात्रा बन्द हुन्थ्यो सायद वर्षैपिच्छे आउने जात्रा ।। देश हाँक्नेलाई यति धेरै घोच्नु पर्दैनथ्यो देशको हालत बारे यति सोच्नु पर्दैनथ्यो ।। भन्नलाई त भन्छ सरकार उत्रिराछौं खह्रो आगोसरी फैलिरा’छ भ्रष्टाचारको जरो ।। कोरोनामा जोगिन त बेसारपानी खाने भोको भुँडी जोगाउन भन्नुस् कता जाने ? न त हीरा न त चाँदी न सुन चिन्छ सरकार गोठ भनेर गरिबको घर जलाइदिन्छ सरकार ! सुनको बाकस पक्रिएर चाँदी बनाइदिन्छन् त्यही चाँदी नि मिलिजुली आधी बनाइदिन्छन् ।। विदेशबाट आयात हुने लाखौं बोतल रक्सी ! ब्राण्डेड किन नबनाउने हाम्रै लोकल रक्सी ? चिन्नै गाह्रो ! को हो शत्रु ? कुन चाहिँ हो मित्र ? सरकार ढाल्न कम्मर कस्छन् आफ्नै पार्टीभित्र ! कहिले खुमलटारमा बैठक कहिले भैंसेपाटी कहाँ पुग्नु छ हौ कमरेड आफ्नै खुट्टा काटी ! पुष्पकमल अध्यक्ष भा झल्नाथ राष्ट्रपति ! प्रम भए माकुनेजी, गौतम भागमा कति ? प्रमुख प्रतिपक्ष भन्ने काङ्ग्रेस पार्टी थियो । चालचुल छैन मुख टाल्नलाई सरकारले के दियो ? देउवा पौडेल चर्को लडाइँ सभापति हुने कालो मैलो भ’को काङ्ग्रेस खै त कहिले धुने ? गाईभो थारो राप्रपाको भाँचिरहन्छन् हलो । जुट्न फुट्नै व्यस्त यिनले गर्लान् देशको भलो ? हाम्रैमा छन् यति धेरै पार्टी कहीँ नभाका डाक्टर पनि हलि भाछन् हेर्नुस् जसपामा ।। ओए ! काजल जोगाएर हिंड्नु लाल कुर्ती साह्रै कोमल चित्तका छन् यहाँ न्याय मूर्ति ।। रमाईलो देश, भरिपूर्ण सुन्दरी र सुरा जति सुन्यो उति उल्का कलाकारका कुरा ।। चौध जिल्ला सेवेन्टीटु प्रदेशको देश हाम्रो मुटु जलाई गीत गाउने गायक कति राम्रो ।। अर्काको गीत तानतुन् पारी आफ्नो बनाइदिन्छन् तीन लाख पाउन छ लाख रुपैयाँ बूस्टमा खन्याइदिन्छन् ।। के का तालिम के का थिएटर केलाई चाहियो भेटी ? टिकटक बाटै जन्मिराछन् चाहिँदो सेलीब्रेटी ! म्युजिक भिडियो खेलाइदिने डिरेक्टरसाब असल दुई चार हजार हाल्न सके मुकुन्दे दाइ मोडल ।। तीजको गीत कि रत्यौली हो छुट्याउनै गाह्रो बोल्नै हुन्न बाझ्न आउँछन् तताएर पारो ! अछुतो त कहाँ छन् र साहित्यकारहरू नकाटौं त कुरा भन्यो नकाटी के गरुँ ! यौनका कुण्ठा पोखिदिन्छन् प्रणयका नाममा अश्लिल भन्यो भने भन्छन् जा देवता धाममा ।। राम्रा राम्रा तरुणीका तस्बिर देख्नै हुन्न । सेतै फुल्या बाजे पुग्छन् “सो बिउटिफुल“ भन्न ।। गुरु बाले भन्दिएसी कस्ले छेक्छ थुन्छ ? काफिया को क नभानि वाह गजल हुन्छ ! यो आर्टिकल हेरिदेउन भन्दा टाढा भाग्छन् काण्ड छ चाहिँ भन्नुपर्छ फोन गरेरै माग्छन् ।। फरक छ है युटुबे र युटुबरमा साथी युटुवे त लफङ्गा हुन् युटुबर चैं जाती ।। गरिसाध्य छैन यहाँ युटुबेका कुरा तीनका हातमा हुने त झन् माइक हैन छुरा ! सोझा सिधा मान्छे खोज्न गाउँघर तिर जान्छन् दुईचार जना भाइरल बनाई डलर आफू खान्छन् ।। ढ्याङ्रो ठोक्ने डाक्टर भए अप्रेसनमा धामी गाली खाने सरकार भै’गो बाटो मुत्ने हामी ।। गैरी खेत बेची किन्यो आइफोन एलेवेन प्रो मोज त गर्नै पर्यो हामी यस्तै त हो नि ब्रो ! हामी नाथे बिग्रे पनि दुनियाँलाई के बाल सप्रिरहोस् हाम्रो मूलुक जय जय नेपाल ।। #लेख कार्की
भन्न बाँकी कथा: ‘हुर्रे ! म राजा ।’ हातमा एक–एक मुठी निगुरो बोकेका तीन–चार जना केटामध्ये एउटाले हात माथि उठाउँदै घोषणा गर्यो । ‘कसरी ?’ बाँकीले उसलाई राजा मान्ने कि नमान्ने दोधार बोकेर उसको दाबीको कारण जान्न चाहे । ‘यो निगुरो मैले सबैभन्दा अग्लो भीरबाट टिपेर ल्याएको हुँ, त्यसैले म राजा,’ उसले भन्यो । ‘त्यसो भए मैले यो निगुरो सप्तकोसीपारिबाट ल्याएको हुँ । भीरमा जानुभन्दा कोसी तर्नु झन् गाह्रो हो । त्यसैले मैले राजा हुन पाउनुपर्छ,’ पहिलोको दाबी अस्वीकृत गर्दै दोस्रोले भन्यो । ‘मैले झन् दलदलको माझमा गएर ल्याएको, त्यसैले म राजा !’ अर्कोले अघिल्ला दुईको दाबीलाई मानेन । ‘म राजा !, म राजा !’ बाँकी अरूले पनि आफूले ज्यान जोखिममा पारेर निगुरो टिपेकाले आफू राजा हुन पाउनुपर्ने तर्क गरे । पहिलोले देख्यो, कोही उसलाई राजा मान्न तयार छैनन् । ‘जब मलाई कसैले राजा मान्दैनन् भने म अरूलाई राजा किन मान्नु ? अरूलाई राजा हुन किन दिनु ?,’ पहिलोले यस्तै सोच्यो । सबैलाई निगुरो फाल्न सहमत गराउन सकेकोमा पहिलो मुसुक्क हाँस्यो । साथीलाई राजा भन्नुपर्ने बाध्यता सकिएकोमा बाँकी केटाहरू पनि खुसी छन् । उसले जुक्ति निकाल्दै भन्यो – ‘निगुरो टिप्दैमा कोही राजा हुँदैन ।’ ‘उसो भए तिमी राजा हुन पाउँदैनौ,’ एउटाले तर्क गर्यो । ‘हो हो तिमी राजा हुन पाउँदैनौ,’ बाँकीले होस्टेमा हैँसे मिसाए । ‘त्यसो भए म यो निगुरो फालिदिन्छु,’ पहिलोले भन्यो । उसको सिको गर्दै सबैले निगुरो भुइँमा फाले । सबैलाई निगुरो फाल्न सहमत गराउन सकेकोमा पहिलो मुसुक्क हाँस्यो । साथीलाई राजा भन्नुपर्ने बाध्यता सकिएकोमा बाँकी केटाहरू पनि खुसी छन् । … ‘दाइ, तपाईको घर यतै हो ?’ साँझको बेला चौतारोमा बसेर गफ गरिरहेका गाउँलेमध्ये एक जनालाई सोधेँ । ‘हो !’ एक जनाले संक्षिप्त जवाफ दिए । ‘यसलाई के गाउँ भन्छन् ?’ साँझको बेला थियो र म त्यही गाउँमा कतै बास बस्नुपर्ला कि भन्ने सोच्दै थिएँ । ‘चेस्मिटार,’ उसले आफ्नो गाउँको नाम बतायो । त्यतिखेरै डाँडापारिबाट सर्रर हावा आयो । दिनभरि कामले लखतरान भएका गाउँलेको मुहारमा अलिकति भए पनि सन्तोषको आभा देखियो । ‘कुन पञ्चायतमा पर्छ यो ?’ मैलै सजिलोका लागि सोधेको थिएँ । मेरो प्रश्न सुनेर गाउँलेले मुखामुख गरे । प्रश्नको जवाफ दिनुको साटो एउटा जो अलि जेष्ठ नागरिकजस्तो थियो, उसले गाउँलेहरूतिर फर्केर भन्यो, ‘पञ्चायत छैन साथी हो ! पञ्चायत छैन । सहरबाट आएकाहरूको कुनै विश्वास नगर्नु अब ।’ ‘हत्तेरिका ! यात्राको क्रममा कस्ता–कस्ता मान्छेको फेला परिन्छ, कस्तो–कस्तो ठाउँमा पुगिन्छ, के भन्नु, के नभन्नु !’ मनमा यस्तै विचार आयो । तर, नयाँ ठाउँमा थप बोल्नु जोखिमपूर्ण हुने ठानी चुपचाप सुनकोसी गड्तिर लक्ष्य गर्दै ओरालो लागेँ । २०४८ माघ १८ गतेको कुरा हो । सानोमा पढेको भाँड कुकायो कथा सम्झिएँ । नदी तरेपछि सबैले पालैपालो साथीहरू गनेछन् । गन्दा एक जना साथी नपुगेपछि सबै रुन थालेछन् । खासमा उनीहरूले आफूलाई चाहिँ गन्न बिर्सिँदा रहेछन् । इतिहासमा भाँडहरू कुकाएको उही भाँड–बेँसी सेरोफेरोका गाउँलेसँग म भर्खरै साक्षात्कार भएको थिएँ । ‘ठिकै छ, तिम्रो लोग्नेलाई दर्ता फाँटबाट करमा सारिदिन्छु,’ उसलाई बिस्तारी आफूतिर तान्न चाह्यो । … अँध्यारोको एउटा टुक्रा कोठामा फैलिएको छ । ‘डार्लिङ ! अन्तर्वार्ताका दिन म छँदै छु नि !,’ उसले भन्यो । ‘होइन, मलाई जागिर चाहिएको छैन ।’ ‘त्यसो भए कति पैसा चाहिन्छ म लेखापाललाई भन्दिन्छु,’ उसले दुवै हात समायो । ‘अहँ, मसँग पैसा छ ।’ ‘अन्त ?’ कोठामा एकछिन अलमल व्याप्त भयो । ‘ठिकै छ, तिम्रो लोग्नेलाई दर्ता फाँटबाट करमा सारिदिन्छु,’ उसलाई बिस्तारी आफूतिर तान्न चाह्यो । त्यहीबेला तात्न लागेको फलाममा अचानक बाछिटा परे जस्तो भो । ऊ एक–कदम पछाडि हटी । उसलाई भुलको हल्का अनुभव भयो । ‘तिमी त्यो बूढोलाई छोडिदेऊ । मसँगै बस ।’ ‘अहँ, म त्यो बूढोलाई छोड्न सक्तिनँ । मलाई त्यसको माया लाग्छ ।’ ‘… … … … ?’ ‘… … … … !’ ‘मलाई एउटा सन्तान चाहिएको छ !’ यति भनेर ऊ चुप लागी । मौन सम्मति लक्षणम् ! बिस्तारी अँध्यारोको एउटा टुक्रामा उनीहरूको छाया मिसियो । तर, त्यसरी अँध्यारोमा एकाकार हुनुअघि उसले उसलाई एउटा कुरा चाहिँ भनेन । वा भन्न चाहेन । त्यसयता उनीहरूको भेट तीन–चार पटक भइसके पनि यो कुरा उसलाई अझै थाहा छैन । उसका दुई वटा छोरा छन् । उसले परिवार नियोजन गरेको छ । … मुखले जे भने पनि आँखाले अर्कै कुरा भनिरहेको थियो । उसलाई म सानैदेखि चिन्छु । ऊ खेतीपाती गर्न परिवारलाई सघाउने मान्छे होइन । म जागिरे भएको थाहा पाएपछि उसले मलाई बारम्बार पत्र लेख्न थाल्यो । म पनि साहित्यिक भावनाले भरिएका टुक्काहरू जोड्दै जवाफ दिइरहन्थेँ । मसँग पत्राचार गर्न पाएकोमा ऊ खुसी थियो । कहिले ऊ मेरो लेखनको प्रशंसा गथ्र्यो । कहिले अक्षरहरूको । पत्रमा बहिनीका बारेमा केही न केही प्रसङ्ग उल्लेख गरेकै हुन्थ्यो । अहिले ऊ १० कक्षामा पढ्दै छे । उसलाई राम्रा बुट्टा भएका स्वीटर–पञ्जा बुन्न आउँछ । ऊ घरको भित्री काममा सिपालु छे । उसले बनाएको अदुवा–लसुनको अचारको गाउँभरि प्रशंसा हुन्छ । आदि–इत्यादि । पत्रोत्तरमा बहिनीसँग सम्बन्धित कुराहरूमा भने कुनै प्रतिक्रिया जनाएको हुन्नथेँ । एकदिन उसले आफ्नी हिनीको बिहेको कार्ड पठायो । म कार्यालयको कामले डोरमा खटिनुपर्ने भयो । बिहेमा जान पाइनँ । त्यसपछि उसका कुनै पत्र आएनन् । दसैँमा गाउँ गएका बेला ऊसँग भेट भयो । ‘क्या हो यार ! अचेल तिमी किन पत्र लेख्दैनौ ?’ भेटमा मैले गुनासो गरेँ । ‘के गर्नु यार ! खेतीपातीको काममा व्यस्त हुनुपर्छ,’ जवाफमा उसले भन्यो, ‘पत्र लेख्न फुर्सदै हुँदैन ।’ मुखले जे भने पनि आँखाले अर्कै कुरा भनिरहेको थियो । उसलाई म सानैदेखि चिन्छु । ऊ खेतीपाती गर्न परिवारलाई सघाउने मान्छे होइन । ‘अनि बहिनीको के छ घरतिरको खबर ?’ ‘ठिक छ रे !’ उसले संक्षिप्त जवाफ दियो र कतै जान हतार भए जस्तो गर्यो । दसैँको शुभकामना दिँदै म पनि अघि बढेँ । बाटोमा मनमनै सोचेँ – बहिनीको बिहे भइसकेपछि उसले मलाई पत्र लेख्न छोड्नुको कारण फुर्सद नभएर होइन विषयवस्तु नभएर हो । … ‘देवकोटाका पालामा जस्तो गम्भीर साहित्य लेख्ने चलन रहेन अब । कविता लेख्नु त झन् जोखिमपूर्ण कुरा हो ।’ उसको बोलीमा रक्सीको हरक आइराखेको थियो । ऊ मेरो समकालीन लेखक साथी हो । प्रमाणपत्र तह पास गरेपछि ऊ राजधानी हानिएको थियो । म गाउँकै स्कुलमा पढाउन थालेँ । केही महिनापछि उसका लेख–कविता छापिएका केही पत्रिकाहरू उसले पठायो । रेडियो नेपालमा कविता, अन्तर्वार्ता सुन्न पाइने तिथिमितिको जानकारीसहित पत्र पनि लेखिरहन्थ्यो । एकपटक मलाई खिसी गर्दै ‘यता काठमाडौँले प्रतिभा खोजिरहेको छ तर विडम्बना हाम्रा धेरै देवकोटाहरू अझै गाउँमा डल्ला फुटाउँदै छन्,’ भनेर चिठीमा लेखेको थियो । ‘मोफसल भनेको मोफसलै हो,’ उसको तर्क हुन्थ्यो । थुप्रै दिनपछि आज यसरी गाउँमा भेट हुँदा उसको सोचाइ र व्यवहारमा राम्रै परिवर्तन भएको देख्न पाइयो । गाउँमा हुँदा चुरोटसम्म खान मान्दैनथ्यो । राजधानीबासी भएपछि प्रतिबन्धित कुराहरू पनि खान सिकेछ । बोल्दा–बोल्दै ऊ भुइँमा टुक्रुक्क बस्यो । र, वाक–वाक गरेर छाद्न थाल्यो – गाजरका टुक्रा, नपचेको मासुको चोक्टा, ढाडिएको चिउरा, अमिलो पानी । ‘अचेल म लेखन समसामयिक हुनुपर्छ भन्ने विशेष अभियान चलाउँदै छु । तपाई त मेरो पुरानो जिग्री हो । तपाईलाई थाहै छ । यहाँ बोल्नेको पिठो बिक्छ, नबोल्नेको केही बिक्दैन । त्यसैले हिजोआज म समसामयिक चाखलाग्दा कुरा र कृति समीक्षा लेख्छु । सम्पादकले नै यो लेखिदिनु पयो भनेर दिन्छन् । महिनामा दुई–चार हजार पारिश्रमिक टुट्दैन । कृति–समीक्षा गर्दा जसको कृति हो उसले पनि खर्च दिन्छन् । तपाईले कुनै कृति निकाल्नु भा’को छ भने भन्नुहोला । राम्रै समीक्षा लेखिदिन्छु । तर तपाईसँग पैसा लिन्नँ ।’ बोली सकेर उसले मेरा आँखामा अपेक्षित प्रतिक्रिया खोज्यो । म एकोहोरो कुरा सुनिरहेको थिएँ । अपेक्षित केही नपाएपछि उसले फेरि भन्यो, ‘साहित्यलाई अनुत्पादक बनाउनुहुँदैन, बुझ्नुभो ! सोखका लागि मात्र लेख्ने कुरा हुन्न । लेखिसकेपछि लेख्नेमान्छे बाँच्नु पनि पर्छ ।’ ‘तपाईजस्तो प्रतिभा भएको मान्छे क्षमता खुम्च्याएर बेकारमा यो गाउँमा बसिरहनुभएको छ,’ उसले थप भन्यो, ‘सम्झिँदा पनि दिक्क लाग्छ ।’ बोल्दा–बोल्दै ऊ भुइँमा टुक्रुक्क बस्यो । र, वाक–वाक गरेर छाद्न थाल्यो – गाजरका टुक्रा, नपचेको मासुको चोक्टा, ढाडिएको चिउरा, अमिलो पानी । ‘सरी है !,’ अलि सहज भएपछि उसले भन्यो, ‘आउँदा बाटोमा साथीहरूले निकै कर गरेर अलिकति खाइयो । तर, म त्यस्तो रेगुलर खाने मान्छे होइन ।’ विचरा मेरो साथी ! दुई वर्षअघि ठुलो साहित्यकार हुन राजधानी हिँडेको मान्छे, छाद्न चाहिँ गाउँमै आइपुग्यो । … घोडेटोमा उनी, एक जना युवक र भरिया नजिकै आइपुगे । बिहानको मिर्मिरे उज्यालोमा उनका र मेरा आँखा जुधे । यात्रामा म प्रायः लम्केर हिँड्ने मान्छे । तर, उनलाई भेटेपछि हतारमा स्पिड ब्रेक लाग्यो । बिस्तारी हेराहेर गर्दै हिँडियो । घरि उनले हेर्ने घरि मैले हेर्ने । केहीबेर हिँडेपछि नुनथला डाँडा आइपुग्यो । डाँडाबाट उत्तरतिर आकर्षक हिमाली दृश्य देखियो । तीमध्ये एउटालाई देखाएर उनले भनिन्, ‘आहा ! कति राम्रो हिमाल । सगरमाथा कति नजिकै !’ नुनथलाबाट सगरमाथा देखिँदैन । सर्वोच्च शिखरप्रति उनको आत्मीय अनभिज्ञता देखेर मलाई मनमनै हाँस उठ्यो । ‘खासमा त्यो कुनै हिमाल होइन, अग्लो पहाड हो । हिँउदमा सेतो देखिन्छ, बर्खामा कालो ।’ एकाएक म बोलेको सुनेर उनीहरूले मतिर हेरे । लामीडाँडाबाट भरिया लिएर आउने उनीेहरू दाजु–बहिनी रहेछन् । ‘के नाम हो यसको ?,’ बहिनीले सोधिन् । ‘दूधकुण्ड !’ मैले जानी–जानी दूधकुण्ड शब्दलाई जोड दिएर भनेँ । दाजुले मेरो मनासय बुझ्यो कि के ग¥यो, मलाई गहिरिएर हे¥यो । बहिनी लाजले राती भइन् । ‘के रे ! दूधकुण्ड ?’ उनले सहजै सोधिन् । ‘हो, दूधकुण्ड ।’ ‘कसरी थाहा पाउनुभो ?’ ‘एकपटक भैरुङ–पाती खोज्दै म त्यहाँ पनि पुगेको थिएँ,’ मैले भनेँ । मेरो भनाइ उनले कति बुझिन्, दाइले कति बुझ्यो थाहा छैन । ‘ए, ए…’ उनले भनिन् । हाम्रो बोली फुटेकोमा दाजु चाहिँ च्याँठियो । त्यसपछि दाजुको आँखा छलेर घरि उनले हेर्ने म मुसुक्क हाँस्ने, घरि मैले हेर्ने उनी मुसुक्क हाँस्ने गर्दै हामीले बाटो काट्यौँ । बाम्राङमास्तिर आइपुगेपछि बाटो मोडियो । उनी को थिइन्, कहाँकी थिइन् नाम–ठेगाना सोध्नै बिर्सिएछ । तर, दाजुको आँखा छल्दै उनले मुसुमुसु हाँसेको दृश्य आज पनि सम्झना छ । २०४७ साल पुस १० गते नुनथला डाँडामा भेटेको त्यो अपरिचित मुस्कान सम्झिँदा आज पनि सिरिङ–सिरिङ लाग्छ । सेल्फीको जमाना थिएन । नत्र दाजुको आँखा छलेर दुई–चारवटा सेल्फी त अवश्य जान्थ्यो । #सुविद गुरागाई
विद्यार्थीको कथाः त्यो मृत्युुको मुख: कथाकारः बिबेक निशानी बिनिशा अहिले कक्षा १२ मा पढ्छिन् । उनी साह्रै मिहेनती र सहयोगी छिन् । उनी ठूलालाई आदर र सानालाई माया गर्छिन् । एकदिन कक्षामा शिक्षकले ‘आफ्नो जीवनको बिर्सन नसक्ने घटना’ सुनाउने कुरा भयो । एकएक गर्दै सबैले भन्दै गए । बिनिशाको पालो आयो अगाडि गएर भन्न थालिन, ‘सबैको जीवनमा केही न केही त घटना हुन्छ नै तर मेरो घटना म बिर्सन खोज्दा पनि बिर्सन सक्दिनँ । त्यतिबेला म गाउँको विद्यालयमा कक्षा ८ मा पढ्थँे । कक्षाका सबै साथी साथी सबै रमाइला थिए कसैसँग झगडा नगर्ने, सबै साथी मिलेर बस्ने, एकअर्कालाई दुःख परेका बेला सहयोग गर्ने हाम्रो बानी थियो । म कक्षाको प्रथम छात्रा थिएँ । कक्षा ८ को अन्तिम परीक्षा जिल्ला स्तरीय भएकाले अझ धेरै मिहेनत गर्नुपर्ने भएको थियो । बाबा ममिको एक्लि छोरी मैले परिवारको इज्जत राख्नु थियो । परीक्षा पनि आयो । मेरो तयारी भइसकेको थियो । परीक्षा पनि एकदम राम्रो भयो । छुट्टीमा घुम्न गएँ । चैतमा परिक्षाफल आयो । म ढुक्क थिएँ राम्रो हुन्छ भन्ने, किनकि आफुले जस्तो रोप्यो त्यस्तै फल्ने हो । मैले पनि राम्रा अक्षर अनि पूर्णरुपमा उत्तर दिएकी थिएँ । म हतार गर्दै परिक्षाफल हेर्न विद्यालय पुगेकी थिएँ । सबै विषयमा ८५ कटेको थियो तर गणितमा ९ मात्र आएको देखेर म छक्क परेँ । म छाँगाबाट खसेको जस्तै भएँ । स्कुलमा सबै शान्त थिए । प्रिन्सिपलको कोठामा गएँ । सर चुप लागेर हातमा एउटा पेपर लिएर बस्नु भएको थियो । पक्कै त्यो रिजल्ट हुनुपर्छ भन्ने मनमा लाग्यो तर सर किन मौन ? मलाई डर लाग्यो के भएछ त ? मैले सरलाई सोधँे ‘सर’ मेरो रिजल्ट ? सरले आँखाभरि आसुँ पार्दै मलाई रिजल्ट थमाउनु भयो । सबै विषयमा ८५ कटेको थियो तर गणितमा ९ मात्र आएको देखेर म छक्क परेँ । म छाँगाबाट खसेको जस्तै भएँ । अरु केही सोच्न सकिनँ । मेरो जिन्दगी अब सकिए झैँ लाग्यो । देखिएको ठूल–ठूला सपनाहरू एकै पल्टमा बिलाए झैँ आभास भयो । अरू शिक्षकहरू रिचेक गराऊ ‘हुनै नसक्ने रिजल्ट आयो’ भन्नु हुँदै थियो । कोही मलाई सम्झाउन आउनु हुँदै थियो तर मलाई केहीको वास्ता भएन । म जिन्दगीबाट नै फेल भएँ जस्तो लाग्यो । संसार अन्धकार देख्न थालेँ । अब बाबा ममिको मुख कसरी देखाउनू ? झन् गाउँमा कसैले सोधे भने के भन्नू ? भन्ने कुरा मनमा आयो । कतै पनि नहेरी, केहीको वास्ता पनि नगरी कुदेर घर आएँ । घरमा कोही हुनुहुन्न थियो । बाबा, ममि खेतबाट आउने बेला भएको थिएन । घरमा म एक्लै, मनमा डर झन् झन बढ्दै थियो । मैले केही सोच्न सकिनँ । अब मेरो जिन्दगी सक्किए झैँ लाग्न थाल्यो बारबार । अब यो संसारबाट बिदा लिन बाहेक केही छैन भन्ने लाग्यो । मेरो यो संसारमा बसेर अब केही काम छैन जस्तो लाग्यो । अघिल्लो दिन बाबाले गाईलाई बाँध्नको लागि भनेर ल्याउनुभएको डोरी अलिपर थियो । डोरी लिएर आएँ र फेनमुनि बाँधेँ । आँखाबाट आँसु झर्दै थिए । हातले डोरी गाँठो पार्दै थिए । अब डोरी घाँटीमा लगााएर सुर्कने बनाएँ । कुर्सी लडाउन बाँकी थियो । आँखा बन्द गरेँ, तर ढोका खुल्ला थियो, बुबा आइपुग्नु भयो । यति भन्दा घण्टी बजिसकेको थियो । कक्षामा ताली र बिनिशाको ओठमा मुस्कान फैलियो । कुदेर भित्र पस्नु भयो र डोरीबाट मलाई ओराल्नु भयो । म रुँदै थिए । बाबा पनि रुन थाल्नु भयो । आमा आइपुग्ुभएको थिएन । बुबाले मलाई खाटमा बसाउनु भयो । पानी पिउन दिनुभयो । एकछिन दुवै मौन भयौँ अनि बाबा बोल्नु भयो – ‘छोरी, किन यस्तो गर्न खोज्यौ ? तँ त हाम्रो घरकि एक्ली छोरी, तैँले नै यस्तो गरिस् भने हामी कसको मुख हेरेर बाँच्नु भन त ? यस्तो गर्नु हुँदैन भन्ने थाहा छैन ? आत्महत्या कुनैपनि कुनैपनि समस्याको समाधान होइन । तँलाई म के भनौँ म ? तँ आफ्नो आँखा बन्द गर अनि आफ्नो स्मरणशक्ति लगाएर आफ्नो घरमा आफू मरिरहेको सम्झी । सेतो कपडा ओडेर जमिनमा लडेको आफ्नो लासको छेउमा बेहोस भएको तेरो बाबा, चिच्याउँदै कराउँदै राइरहेकी तेरी आमा, यदी नजर आयो भने उनीहरूको मतलब हाम्रो ओठको मुस्कान नखोसी, हाँसिरहेको हेर्न चहाने बहाना बना । तेरो जीवन आफ्नो लागि होइन्, तँ अरूको लागि बाँचेको छु भन्ने बहाना बनाएर बाँच । जिउनुको बहाना धेरै छन् । केही बहाना सोच्न यदि सकिएन भने, सरको कुटाइ खाइन्छ कि भनेर बाँच्न जुन बहाना बनाउने गर्थिस् नि ? हो यस्तै बहाना बनाउनू तर कहिल्यै नमर्नू । तेरो आत्महत्याले यहाँ केही नयाँ रङ्ग ल्याउने छैन । केही दिन पछि भुल्छन् सबैले यहाँ ।’ फेरि अर्को कुरा, सरले मलाई तँ रुँदै घर गएकि छ भनेर भन्नु भएको थियो त्यसैले आएको थिए । रिजल्ट परिवर्तन भएर आएछ ९ होइन् ९५ चाहिँ आएको रहेछ । अब ढुक्क भएर पढ्न थाल्नू । यति भनि सक्दा मेरो होस खुल्यो । अब सबैलाई सम्झन थालेँ । अनायसै फेरि रुन थालेछु । बाबाबाट मैले धेरै कुरा सिकेँ । मुख्य कुरा त हिम्मत नहार्नु रहेछ । त्यतिबेला मलाई बाबाले नसम्झाउनु भएको भए आज म यहाँ हुन्न थिएँ होला । त्यसैले, आफ्नो अभिभावकको कुरा सुन्नु अनि आफूलाई शान्त पार्न एकदम जरुरी छ । यति भन्दा घण्टी बजिसकेको थियो । कक्षामा ताली र बिनिशाको ओठमा मुस्कान फैलियो । #बिबेक निशानी
छिरिङको गजल: छिरिङ शेर्पा अविरल मालिकले दासलाई वास्ता गर्दैनन् अचेल मलामीले लासलाई वास्ता गर्दैनन् अचेल के हुँदैछ हाम्रो देशमा अहिले यो सरकार ! गाँस बाँस कपासलाई वास्ता गर्दैनन् अचेल नहुनेहरु त नहुने नै भए के दिन सकिन्छ र ? थन्किएको रासलाई वास्ता गर्दैनन् अचेल ! कृत्रिम रङहरुमा खुशी लेख्न बानी परेकाले फूलको सुवासलाई वास्ता गर्दैनन् अचेल क्षितिज हेरेर गन्तव्य कोर्नेहरुले हो सायद आफ्नै खासलाई वास्ता गर्दैनन् अचेल । टाेखा ६, धापासी #छिरिङ शेर्पा अविरल
Love & Hope: I know loss Because I have felt love and hope I know sadness Because I have understood happiness. The blue skies turned to grey No more stories, you’ve gone away But memories will never fade Like a light that guides me Your love, your beauty Will always find me. As from that day the struggles that we face are struggles that won’t seems to fade away Time will heal so they say, I watch the clock as time fades away. A thousand times we needed you A thousand times we cried If love alone could have saved you You never would have died. You always knew just what to say To anyone having a bad day I don’t know if I will ever understand but it must be part of a god’s plan I look up towards the blue sky I imagine you spreading your wings to fly. Class 10, Aksharaa School #Sushana Acharya
पापी: देबुका घरमा भीडभाड छ । देबु गाउँनेता हुन् । सबैले मान्छन् । गाउँका सानातिना मनमुटाब धोइपखाली गर्ने ठाउँको उपमा पाएको छ देबुका घरले । “अन्याय भयो न्याय पाऊँ,” बुधेले सन्नाटा भङ्ग गर्\u200dयो । “यथार्थ के हो भन्,” देबुले भने । “छोरीलाई दुई जीउकी पारियो । हामीलाई जिउँदै मारियो । अपराध गर्ने रमजान भागेको छ ।” “भन्दैमा हुन्छ ? प्रमाण चाहिन्छ । प्रमाण नभए यस्तोमा फैसला कसरी हुन्छ ?” “छोरीले नै उही हो भनी । पोलिने पनि भागेको छ ।” “हो त गोपु, तेरो छोरो भागेको हो ?” गोपु भन्छ, “हिजोदेखि घर छैन । भागेको पक्का हो । सबैले बदमासी उसैको हो भन्छन् । मलाई पनि त्यही लाग्छ हजुर । तर अरु दश केटाले पनि गाउँ छाडेका छन् हजुर ।” “तेरो छोरोले स्याहार्नुपर्छ अब । बिहे गराउने हो त ?” “छोरो माने हुन्छ हजुर ।” “मलाई क्षतिपूर्ति दिए हुन्छ भन्दैछ बुधे । ऊ गोपुका घर छोरी भित्र्याइदिनु भन्दा क्षतिपूर्तिका लागि बढी सहज भइरहेछ । “क्षतिपूर्तिले हुन्छ भने कति लिन्छस् त भन् न त ?” कुरा निथार्न खोज्दै भने देबुले । बुधेले एकछिन गम्यो र भन्यो, “पाँच हजार त चाहिन्छ । छोरी कन्ने हो ।” गोपुले भन्यो, “कहाँ सक्छु म त्यतिका पैसा तिर्न ? बाबुबाजेको छाला सपै बेच्दा नि त्यति हुन्न । बरु भित्र्याउँछु । एउटी ब्वारी भित्र्याउनै छ । एउटा जातपातको कुरो हो, भातपानी हल्ट गर्लान् सहन्छु ।” बुधेले मानेन, गोपुले सकेन तिर्न । छलफललाई बिट मारे देबुले । पच्चीस सयमा कुरो छिनियो । गोपुले एक महिनाको समय पायो । एक महिनापछि सुनियो - बुधेले पेटसहितकी छोरीलाई पच्चीस सय लिई अवनीलालको लठेब्रो छोरोको हिस्सा लायो रे ! + + कुन समयका लेखे हुनन् यो कथा रेवतीले । तर आज चालीस वर्षपछि पल्टाएर पढ्दा पढ्दै रेवतीकै छोरी रजनीले पिच्च पार्दै भनी, “थुक्क पापी !” #लक्ष्मण अर्याल
शुभकामनाभित्रको भाषिक कुरूपता: उठान शुभेच्छा राख्नु वा भलाइको चाहना राख्नुलाई हामीले शुभकामना भनेर बुझ्दै आएका छौँ । शुभकामना राख्दा हाम्रा सबै अशुभ विचारहरू हट्छन् र हामीमा राम्रा विचारहरूको उदय हुन्छ भन्ने अपेक्षा राखिन्छ । आफ्ना मान्यजनबाट आशीर्वाद स्वरूप ग्रहण गर्ने शुभेच्छालाई मात्र होइन आफ्ना समकक्षी र आफूले स्नेह गर्न अनुजहरू सबैको शुभकामना हाम्रो जीवनका लागि सदैव अपरिहार्य हुन्छ । हामीले सबैजसो व्यक्तिबाट शुभकामनाको अपेक्षा राखिरहेका हुन्छौँ तर शुभकामना राख्ताराख्तै पनि हाम्रै मनभित्र त कहिलेकाहीँ अशुभ भावनाहरूको उदय हुन्छ भने अन्य व्यक्तिहरूबाट अशुभ कामनाहरू देखापर्नु कुनै अस्वाभाविक होइन । हाम्रा मौखिक शुभकामनाभित्र जेजस्ता अशुभ भावनाहरू देखिए पनि हाम्रा लिखित सामग्रीका शुभकामनाभित्र विद्यमान अशुभ पक्षलाई निराकरण गर्न सदैव सचेत रहनुपर्छ र थोरै ख्याल गर्न सकेका खण्डमा हामीले प्रदान गर्ने र प्राप्त गर्ने शुभकामनाभित्र भाषिक कुरूपताका पक्षहरू क्रमशः निराकरण हुँदै जान सक्नेछन् । यसै सन्दर्भमा हामीले ऐतिहासिक दस्तावेजका रूपमा प्रकाशन गर्ने स्मारिका वा पुस्तिकाहरूका सुरुमै राखिने शुभकामनाहरूभित्र केकस्ता भाषिक त्रुटिहरू हुँदा रहेछन् ? भन्ने बारेमा हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ । प्रदेश प्रमुखको शुभकामनाभित्रका भाषिक त्रुटिहरू भरतपुर चितवनस्थित आदर्श नारी विकास केन्द्रको रजत स्मारिका प्रकाशनका सन्दर्भमा २०७५ जेठ ११ गते प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाद्वारा लिखित शुभकामना सन्देश दिइएको थियो । त्यस शुभकामनाभित्र १८ ठाउँमा भाषिक त्रुटिहरू देखिन्छन् । प्रदेश प्रमुखको कार्यालयबाट शुभकामना दिँदा ‘त्यस आदर्श नारी विकास केन्द्रले’ हुनुपर्नेमा ‘यस नारी विकास केन्द्रले’ उल्लेख गरिएको छ । त्यसैगरी शुभकामनामा शुभ, पाउँदा, व्याप्त, बालबालिकामाथि, उत्पीडनका, क्रियाशील, सँग, बधाइ, जब, बीच, पुरिँदैन, हरू, सार्थकता, त्यस, रूप, सकोस् र नं. शुद्ध शब्द हुनुपर्नेमा यी शब्दका स्थानमा क्रमशः सुभ, पाँउदा, ब्याप्त, बालबालिका माथि, उत्पीडनको, क्रियाशिल, संग, वधाई, जव, वीच, पुरिदैन, हरु, साथर्कता, यस, रुप, सकोस र नः त्रुटिपूर्ण शब्दहरू उल्लेख भएको पाइन्छ । नेपालका सात प्रदेशहरूमध्ये नेपालको मुख्य राजनधानीलाई समेत समेट्ने प्रदेश नं. ३ अन्य प्रदेशका तुलनामा शिक्षित व्यक्तित्वहरूको बाहुल्य भएको प्रदेश ठानिन्छ तर यसै प्रदेशका प्रमुखको शुभकामनाको भाषा यति त्रुटिपूर्ण हुनु गम्भीर चिन्ताको विषय हो । प्रदेश प्रमुखको कार्यालयमा स्वकीय सचिव र दक्ष टाइपिस्टको पनि व्यवस्था भएकै होला तर नेपाली शुद्धलेखनमा विशेष ख्याल नगरिँदा प्रदेश प्रमुखद्वारा हस्ताक्षर गरिएको शुभकामनामा अनेकौँ भाषिक त्रुटिहरू देखिएका हुन् । आगामी दिनमा स्वकीय सचिव र टाइपिस्टले थोरै सचेतता अपनाइदिए अनि हस्ताक्षर गर्ने बेलामा प्रदेश प्रमुखले पनि एकपटक पढेर भाषिक शुद्धताका बारेमा ध्यान दिएका खण्डमा निश्चय नै यस्ता त्रुटिहरूको पुनरावृत्ति हुने छैन । प्रदेश मन्त्रीको शुभकामनाभित्रका भाषिक त्रुटिहरू चितवन नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव स्मारिकालाई २०७६ मंसिर ५ मा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलालद्वारा लिखित शुभकामना मन्तव्य उपलब्ध गराइएको थियो । त्यस शुभकामना मन्तव्यमा ३१ ठाउँमा भाषिक त्रुटिहरू भेटिन्छन् । सर्वप्रथम त शुभकामना दिइएको विद्यालयको नाम नै शुद्धसँग लेखिएको छैन, ‘माध्यमिक’ हुनुपर्नेमा ‘माध्यामिक’ भएको छ भने ‘स्मारिका’लाई ‘स्मरिका’ उल्लेख गरिएको छ । यसैगरी उक्त शुभकामनामा वर्ष, महोत्सव, रूपमा, लागेकाले, खुसी, महत्त्वपूर्ण, माध्यमिक, उत्तीर्ण, त्यस, रूपमा, गरी, वर्षे/बर्से, तत्कालीन, व्यापारीलगायतका, उचाइ, ल्याई, शुभेच्छुक, धन्यवादसहित, बधाइ, गतिविधि, विद्यार्थीलगायतका, हरू, त्यस, महत्त्वपूर्ण, हरू र विश्वाससहित, शब्दहरू उल्लेख हुनुपर्नेमा बर्ष, महोत्सवको, रुपमा, लागेकोले, खुशी, महत्वपूर्ण, माध्यामिक, उत्तिर्ण, यस, रुपमा, गरि, बर्षे, तत्कालिन, व्यापारी लगायतका, उचाई, ल्याइ, सुभेच्छुक, धन्यवाद सहित, वधाई, गतिविधी, विद्यार्थी लगायतको, हरु, यस, महत्त्वपूर्ण, हरू र विश्वास सहित जस्ता वर्णविन्यासगत त्रुटिपूर्ण शब्दहरू उल्लेख गरिएको छ । प्रदेश नं. ३ अन्तर्गत समाजको विकास गर्ने सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेर बसेका माननीय मन्त्रीको एउटा शुभकामनापत्रमा यति धेरै भाषिक त्रुटिहरू विद्यमान रहनुले नेपाली भाषाको शुद्धलेखनप्रति जिम्मेवार निकायहरू नै संवेदनशील छैनन् भन्ने कुराको पुष्टि हुन्छ । विद्यालयको स्मारिका प्रत्येक विद्यार्थीका हातहातमा पुग्छ र उनीहरूले यस्तो शुभकामना पढ्दा “मन्त्रीले त शुद्ध लेख्न सक्नुहुँदो रहेनछ तर हामीले दुईचार ठाउँमा अशुद्ध लेख्यौँ भने परीक्षामा किन कम नम्बर आउँछ ?” भनेर सम्बन्धित विद्यालयका नेपाली पढाउने गुरुसँग वा प्रधानाध्यापकसँग प्रश्न गरे भने यसको उत्तर दिन निश्चय नै गाह्रो हुन्छ । तसर्थ यस्ता लिखित शुभकामना मन्तव्यहरू दिँदा भाषिक त्रुटिहरू नभइदियून् भन्ने बारेमा सम्बन्धित मन्त्रीका स्वकीय सचिवको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । महानगरप्रमुखको शुभकामनाभित्रका भाषिक त्रुटिहरू भरतपुर महानगरपालिकाअन्तर्गत नारायणढमा अवस्थित बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव स्मारिकालाई २०७६ मंसिर १९ गते भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालद्वारा लिखित शुभकामना मन्तव्य उपलब्ध गराइएको थियो । त्यस शुभकामना मन्तव्यमा ३५ ठाउँमा भाषिक त्रुटिहरू भेटिन्छन् । सम्बन्धित विद्यालयलाई सङ्केत गर्दा ‘त्यस’ हुनुपर्नेमा तीन ठाउँमा ‘यस’ शब्दको प्रयोग गरिएको छ । त्यस्तै अबस्थित, नर्सरीदेखी, आदिबासी, जनजाती, सिमान्तकृत, हरु, अँग्रेजी, अबरोहहरु, भएकाहरुको, गौरबपूर्ण, प्रतिक, रुपमा, नमूना, विद्यालय तर्फ, भएकोमा र सिमित अनुपयुक्त वर्णविन्यासयुक्त शब्दको सट्टा क्रमशः अवस्थित, नर्सरीदेखि, आदिवासी, जनजाति, सीमान्तकृत/सीमान्तीकृत, हरू, अङ्ग्रेजी, अवरोहहरू, भएकाहरूका, गौरवपूर्ण, प्रतीक, रूपमा, नमुना, विद्यालयतर्फ, भएकामा र सीमित शुद्ध शब्दको प्रयोग गरिनुपथ्र्यो । त्यसैगरी सम्बन्धीत, प्रशंसनिय, महत्वपूर्ण, भुमिका, सर्वाङ्गिण, सकृयता पूर्वक, सदैब, महोत्सब, सुअबसरमा, प्रकाशित, अनुसन्धानको, लाग्नुभएकाहरूको र महत्वपूर्ण अनुपयुक्त वर्णविन्यासगत शब्दहरूको सट्टा क्रमशः सम्बन्धित, प्रशंसनीय, महत्त्वपूर्ण, भूमिका, सर्वाङ्गीण, सक्रियतापूर्वक, सदैव, महोत्सव, सुअवसरमा, प्रकाशन, अनुसन्धानका, लाग्नुभएकाहरूका र महत्त्वपूर्ण शुद्ध शब्दको उल्लेख गर्ने विषयमा ध्यान पुर्याउनुपथ्र्यो । आफ्नै महानगरभित्र सञ्चालित विद्यालयहरूका कार्यक्रममा महानगरप्रमुख आफैँ प्रमुख अतिथि भएर धेरैपटक जानुपर्ने अवस्था हुन्छ र त्यहाँ अध्ययनरत केही विद्यार्थीले महानगरप्रमुखलाई राम्रोसँग चिनेका पनि हुन सक्छन् । ती विद्यार्थीहरूमध्ये कुनै सचेत र बोलक्कड विद्यार्थीले महानगरप्रमुखसँग नै स्मारिकामा प्रकाशित शुभकामनाको भाषाको शुद्धताका विषयमा “किन यसरी अशुद्धिहरू रहन गए ?” भनेर प्रश्न गर्यो भने महानगरप्रमुखले ससाना विद्यार्थीहरूका यस्ता किसिमका प्रश्नका सामु निरुत्तर र लज्जित पनि हुनुपर्ने अवस्था आउँछ । तसर्थ महानगरपालिका जस्ता आधिकारिक सरकारी निकायबाट जारी गरिने शुभकामनापत्रमा मात्र होइन हरेक सार्वजनिक लिखित सामग्रीमा हुने भाषिक अशुद्धिहरूको निराकरण गर्दै जाने विषयमा महानगरप्रमुखले नै विशेष ध्यान दिनुपर्ने नितान्त आवश्यक छ । नगरप्रमुखको शुभकामनाभित्रका भाषिक अशुद्धिहरू गैँडाकोट नगरपालिकाभित्र रहेको उद्योग वाणिज्य संघ गैँडाकोटद्वारा आयोजित तेस्रो गैँडाकोट महोत्सव २०७६ को स्मारिकालाई नगरप्रमुख छत्रराज पौडेलद्वारा शुभकामना उपलब्ध गराइएको थियो । त्यस शुभकामनापत्रमा ३८ ठाउँमा भाषिक त्रुटिहरू रहेका देखिन्छन् । सर्वप्रथम लेटर प्याडमा ‘गैँडाकोट’ हुनुपर्नेमा ‘गैंडाकोट’ भएको छ भने नगर कार्यपालिकाको कार्यालय’ हुनुपर्नेमा ‘नगर कार्यपालिका’ र स्टाम्पमा समेत ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)’ हुनुपर्नेमा ‘नवलपरासी’ मात्र उल्लेख गरिएको छ । संघिय, जिल्ला मध्ये, वर्दघाट, नगरपालिका अन्तर्गत, भै, पाउदा, खुसि, गैंडाकोट लगायत, क्रियाशिल, हरु, निधी, संम्वद्र्धन, पुर्याउने, वग्दै, मौलाकालीका, भै, संग, अडिक, यस, नगरपालिका अन्तर्गत, रुपमा, स्वयंम, प्रवद्धक, बोर्ड, सम्पूर्ण प्रति, रुपमा, होस, संस्कृती र पुर्याओस वर्णविन्यासगत अशुद्धिहरूको सट्टा क्रमशः सङ्घीय, जिल्लामध्ये, बर्दघाट, नगरपालिकाअन्तर्गत, भई, पाउँदा, खुसी, गैँडाकोटलगायत, क्रियाशील, हरू, निधि, संवद्र्धन, पुर्याउने, बग्दै, मौलाकालिका, भई, सँग, अडिग, यस, नगरपालिकाअन्तर्गत, रूपमा, स्वयम्, प्रवद्र्धक, बोर्ड, सम्पूर्णप्रति, रूपमा, होस, संस्कृति र पुर्याओस् शुद्ध शब्दको प्रयोग गरिनु उपयुक्त हुन्थ्यो । ‘गर्न चाहन्छु’ले आज्ञाजस्तो बुझाएकाले गर्दछु लाई उपयुक्त ठहर्याउन सकिन्छ । गैँडाकोट नगरपालिकाजस्तो आधिकारिक सरकारी निकायका नगरप्रमुखबाट व्यक्त गरिएको एउटा शुभकामनापत्रमा यति धेरै भाषिक त्रुटिहरू रहनुले गैँडाकोट नगरपालिकाले भाषिक शुद्धताप्रति विशेष ध्यान दिन नसकेको प्रमाणित हुन्छ । यस्ता शुभकामनापत्रमा रहेका भाषिक त्रुटिहरूलाई न्यूनीकरण गर्ने दक्ष कर्मचारीहरू त गैँडाकोट नगरपालिकाभित्रै अवश्य होलान् । त्यस्ता दक्ष कर्मचारीबाट यस्ता त्रुटिहरूको निराकरण गराएपछि मात्र लिखित शुभकामना मन्तव्यहरू सार्वजनिक गर्नु उपयुक्त देखिन्छ । शुभकामनाभित्रका त्रुटिहरू कसरी न्यूनीकरण गर्ने ? स्मारिका, मुखपत्र आदिमा राखिने शुभकामनापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरू सबै राजनीतिक पृष्ठभूमिबाट उच्च निकायमा पुगेका जनप्रतिनिधि हुन् । त्यस्ता अधिकांश व्यक्तिहरू आफैँले शुभकामनापत्रको मस्यौदा तयार गर्दैनन् र आफ्ना स्वकीय सचिव वा आफ्नो मातहतका कर्मचारीलाई शुभकामनापत्र तयार गरिदिन निर्देशन दिन्छन् । त्यसैले त्यस्ता स्वकीय सचिव वा सम्बद्ध कर्मचारीले नै शुभकामनाको भाषिक शुद्धताका बारेमा ख्याल गर्नुपर्छ । जनप्रतिनिधिहरू स्वयं शुभकामनापत्रमा अशुद्ध भाषाको प्रयोग गर्न हुँदैन भनेर सचेत हुने हो भने सम्बद्ध कर्मचारी पनि सचेत भएर शुद्ध भाषाकै प्रयोग गर्न अग्रसर हुन्छन् तर जनप्रतिनिधिहरू स्वयंले भाषिक शुद्धताका बारेमा ख्याल गर्न चाहेनन् र जस्तो लिखित सामग्री आयो त्यसलाई नपढेर वा पढेर पनि ख्याल नै नगरीकन हस्ताक्षर गर्न अग्रसर भए भने सम्बद्ध कर्मचारीले भाषिक शुद्धताका बारेमा विशेष चासो राख्दैनन् । आफैँले लेखेको होस् वा अरूले लेखेको होस् शुभकामनापत्रमा हस्ताक्षर गर्ने व्यक्तिलाई नै भाषिक अशुद्धिको आरोप लाग्ने भएकाले हस्ताक्षरकर्ता नै बढ्ता जिम्मेवार हुनुपर्छ । यदि आफ्ना कर्मचारीमा भाषिक दक्षता छैन भने उनीहरूलाई एकदुई हप्ताको भाषिक शुद्धलेखनसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाउनुपर्छ । स्मारिका र मुखपत्रहरूमा सबैजसो जनप्रतिनिधिहरूका शुभकामनाहरू राख्ता स्मारिका र मुखपत्रका मुख्य विषयवस्तुहरू ओझेलमा पर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । शुभकामनापत्र जारी गर्ने सरकारी वा गैरसरकारी संघसंस्थामा भाषिक दक्षता हासिल गरेका कर्मचारीको उपस्थिति छैन भने शुभकामनापत्र लिन चाहने संघसंस्थाले नै प्रकाशनका सिलसिलामा त्यस्ता शुभकामनापत्रको भाषालाई सच्याउन सक्छन् । लेटर प्याड र हस्ताक्षरबाहेकका अन्य लिखित सामग्री पुनः टाइप गरेर सच्याउन अप्ठ्यारो पनि पर्दैन भने लेटर प्याड र हस्ताक्षरलाई स्क्यानिङ गरेर जस्ताको तस्तै राख्न सकिन्छ । यस विषयमा सम्बद्ध स्मारिका वा मुखपत्रका सम्पादक मण्डलको विशेष ध्यान जान जरुरी हुन्छ । सम्पादक मण्डल चयन गर्दा पनि यदि भाषिक दक्षताभन्दा राजनीतिक भागबन्डा र पहुँचकै आधारमा चयन गरिएको छ भने त्यस्तो सम्पादक मण्डलले स्वतन्त्र रूपमा भाषिक सम्पादन गर्ने अवसर पाउँदैन र स्मारिकाका सबैजसो सामग्रीमा पर्याप्त भाषिक त्रुटिहरू रहन सक्छन् । त्यसैले सम्पादक मण्डलको चयन गर्दा राजनीतिक भागबन्डाभन्दा भाषिक दक्षतालाई विशेष ख्याल गर्नु आवश्यक हुन्छ । बैठान : स्मारिका र मुखपत्रहरूमा सबैजसो जनप्रतिनिधिहरूका शुभकामनाहरू राख्ता स्मारिका र मुखपत्रका मुख्य विषयवस्तुहरू ओझेलमा पर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । यदि यस विषयमा गम्भीर हुन सकियो भने थोरै शुभकामनापत्रमा थोरै त्रुटिहरू रहनेछन् । थोरै त्रुटिहरूलाई निराकरण गर्न पनि सम्पादक मण्डलको ध्यान जानैपर्छ । समग्र स्मारिका वा मुखपत्रको भाषिक शुद्धीकरणका लागि स्वयंसेवकका रूपमा भन्दा विशेष पारिश्रमिक नै दिएर भाषासम्पादन गर्न लगाउँदा भाषिक अशुद्धिहरू न्यून हुने सम्भावना रहन्छ । अन्यथा साझा काम ठानेर सम्पादक मण्डलका बीचमा कसैले पनि गहन जिम्मेवारी नलिँदा शुभकामनापत्रमा मात्र होइन स्मारिका र मुखपत्रभरि नै भाषिक त्रुटिहरू रहन सक्छन् भन्ने कुरामा सम्बद्ध स्मारिका वा मुखपत्र प्रकाशन समितिको विशेष ध्यान जान जरुरी देखिन्छ । #डा. मतिप्रसाद ढकाल
पेन्डाेराकाे जस्तो बाकस: एकदिन पेन्डोरालाई स्वर्गका देवता ज्युसले एउटा सुन्दर बाकस दिए र ‘यसलाई नखोल्नू’ भने । सुन्दर आकर्षक बाकस बोकेर पेन्डोरा धर्तीमा आई । धर्तीबासीहरूले पेन्डोराको बाकस देखे । त्यो बाकस अत्यन्त सुन्दर थियो । त्यस समयदेखि धर्तीमा बाकसको महत्त्व बढ्दै गएको थियो रे ! मलाई पनि एउटा बाकसको रहर लाग्न थालेको थियो । मेरो एउटा छुट्टै बाकस होस्, त्यसमा मेरा रहर लागेका समानहरू राख्न सकियोस्, आफूलाई मन लागेको बेला बाकस खोल्न सकियोस् र बन्द गर्न सकियोस् । म आठ कक्षमा पढ्थेँ त्यतिखेर । एक दिन मैले साहस बटुलेर आमासँग बाकस मागँे । ‘किन चाहियो बाकस ?’ आमाले प्रश्न गर्नुभयो । ‘सामान राख्न,’ मैले भनेँ । आमाले ‘भो पर्दैन’ भने पनि मेरो जिद्दीका अगाडि उहाँको केही लागेन । आमाले नीलो रङको सानो बाकस दिनुभयो । आफ्नो विवाहमा माइतीबाट दिइएकोे त्यो बाकसमा आमाले विवाहमा बुबाले दिएको तिलहरी, मामाघरका हजुरबुबाले दिएका ढुङ्ग्री, केही खर्त्याकखुत्रुक सामान राख्नुभएको थियो, त्योभन्दा ज्यादा राख्नुभएको थियो माइतीका यादहरू । सागर गैरे आमाको बाकसमा मैले राखेँ भारतीय नायकका पोस्टकार्डहरू, गुच्चाहरू, खोपी, भुस खेल्ने छिल्लर पैसाहरू, बुबाले ल्याइदिनुभएको सामान्य ज्ञानका पुस्तक र केही युवामञ्चका अङ्कहरू । यी नै मेरा जीवनका निजी सम्पत्ति थिए । मेरा रहरले जोडिएका नोट, कापीहरू, पुस्तकहरू, कलमहरू, मसी … । मेरा रहरहरू सुरक्षित राख्न बुबाले ताला ल्याइदिनुभयो बजारबाट । मेरो खुसीको सीमा नै रहेन । ताला खोल्छु, बन्द गर्छु । खोल्छु, बन्द गर्छु । गरिरहन्छु धित नमरुन्जेलसम्म । समयको परिवर्तनसँगै बाकसमा थपिँदै गए फर्माइस कार्डहरू, कामना, साधना, माधुरी पत्रिका, हुलाक टिकट, पत्रमित्रका चिठीहरू, नयाँ लुगा, घाँटीमा लगाउने स्टिलका पत्तीका माला, पुलिकको माला, जिब्रे टोपी, फोटाहरू … । समयसँगै थपिए साहित्य, जीवनी, इतिहास, … दर्शनका किताबहरू पनि । समय कसरी बग्यो । कपालको रङ बताउँछ । अनुहारमा मुजा पर्दैगएको छालाले बताउँछ । प्रिय पाठक ! तिमीलाई परै चिन्न नसक्नुले बताउँछ । थकानले बताउँछ । यस्ता धेरै सन्दर्भले बताउँछन् । मैले भोगेको समय नयाँ छैन । बस् समय रोकिएको छ बन्दाबन्दीमा परी । घरबन्दी परेर रोकिएको समयसँग भेट भएको छ यतिखेर मेरो । प्रिय मान्छे ! अवरोध खडा नगर मलाई । भूत, वर्तमान र भविष्यबारे धित मरुन्जेल संवाद गर्नुछ समयसँग र लेख्नुछ बन्दाबन्दीको त्रासदीपूर्ण समय पनि । घरबन्दीको फुर्सदमा म बाकस सम्झन्छु । जसले मलाई जिन्दगी बुझ्न सिकायो, सपनाहरू देख्न सिकायो, संसार बुझ्न सिकायो, कर्म गर्न सिकायो, कला बुझ्न सघायो, सिकायो अरू के के पनि । बाकसलाई जब सम्झिन्छु छुट्टैखाले तरङ्ग सल्बलाउँछ आफैँभित्र । बाकसको स्मृतिले आमाको वात्सल्य सम्झादिन्छ मलाई । ककौरामा खरको घर थियो । घर छेउमा गोठ थियो । आमा बिहानै उठ्नुहुन्थो । आगो सल्काउनुहन्थ्यो । आफ्ना भविष्यहरूलाई ब्युँझाउनुहुन्थ्यो । रहरहरू उमार्नुहुन्थ्यो । इच्छाहरू हस्तान्तरण गर्नुहुन्थ्यो । आफू भोकै बसेर आफ्ना भविष्यहरूको पेट भर्नुहुन्थ्यो । भविष्यको आँखा खोल्न विद्यालयसम्म पठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो तिम्रा आँखा खुले मेरा बन्द आँखामा पनि उज्यालो छिर्ने छ । बाकस मेरो पुस्तकालय थियो, अभिलेखालय थियो, संग्राहलय थियो, आमाको वात्सल्य प्रेम थियो । बाकससँगै आमाको याद खुल्यो । आमाले खै के सोच्नु भयो र वर्षौँ उपयोग गरेको बाकस दिनुभयो मलाई । यसैमा मेरो किशोरकालको एउटा अध्याय नै अटाएको थियो । बाकस आमाको वात्सल्यको एउटा एल्बम थियो । त्यहीँ राखिएको थियो मेरो बाल्यकाल र किशोरकालका धेरै सम्झनाहरू । त्यो बाकस मेरो निम्ति पृथक संसार थियो । जब म फुर्सदिलो हुन्थेँ आमाले बुनेको परालको न्यानो गुन्द्रीमाथि बस्थेँ र बाकस उघार्थेँ । म बाँचेको संसारभन्दा फरक थियो बाकसभित्रको संसार । बाकस मेरो पुस्तकालय थियो, अभिलेखालय थियो, संग्राहलय थियो, आमाको वात्सल्य प्रेम थियो । बाकसभित्र म घण्टौँ हराउँथे, जसरी मोबाइल हात परेपछि हिजोआजका बच्चा भोक, प्यास, निन्द्रा सबै बिर्सेर हराउँछन् । बाकसभित्रका हरेक कुरालाई निँयालेर हेर्थेँ । बाहिर निकाल्थेँ फेरि सामानहरू मिलाएर राख्थेँ । जब म बाहिरको दुनियाँ पुरै बिर्सिएर बाकसभित्रको दुनियाँमा हराउँथे तब म ध्यानको एउटा कोर्स पूरा गरिरहेको हुन्थेँ । त्यो बाकसले मेरो गोपनीयतालाई जोगाइदिएको थियो । मेरो सपनालाई बचाइदिएको थियो, मेरो दैनन्दिनलाई व्यवस्थित गरिदिएको थियो । समयक्रममा कोठामा बाकसभन्दा कैयौँ गुणा ठूला दराज आए । टेबुल र काउण्टर आए । सुत्ने पलङमै पनि सामान राख्न मिल्ने घर्रा आए । त्यसपछि त्यो बाकसलाई एउटा कुनामा थन्काइएको थियो । घरमा जति आधुनिक सुविधा सम्पन्न सामान भए पनि बाकसको छाप मेरो मनमस्तिष्कबाट अझै मेटिएको छैन । त्यो बाकसले दिएको आत्मसन्तुष्टि म सिङ्गै कोठाभित्र कतै पनि भेट्दििनँ । ठूला र सुविधा सम्पन्न सामानबाट आत्मसन्तुष्टि प्राप्त हुन्छ भन्ने भ्रमबाट म मुक्त हुन्छु । स्नेह, माया, सम्झना जोडिएको छ भने साना वस्तुबाट पनि परमआनन्द प्राप्त हुँदो रहेछ नै । सम्झन्छु त्यो कुसे औँसीको दिन । म बाबाआमा भेट्न बिहानै ककौरा पुगेको थिएँ । छोराछोरी फोन गर्थे र छिटो घर आउन भन्थे । म हतारमा घर फर्कदै थिएँ । परैबाट देखेँ मेरो घरअगाडि कवाडीया बाकसजस्तो समान साइकलमा बाँध्दै थियो । आमाले दिएको बाकसको याद आयो । पाइला छिटो चालेँ । घर छेउमा पुग्दा बाकस बोकेको मान्छे पर पुगिसकेको थियो । मैले छोरा छोरीलाई सोधेँ, ‘कवाडीले के लियो ?’ उनीहरू मौन थिए । ‘बाबा हजुरलाई पेन्डोराको जस्तै सुन्दर बाकस किनिदिएका छौँ । बिर्सनुहोस्, थोत्रो बाकस जसलाई कोठामा राख्दा पनि सुहाउँदैन ।’ पोन्डोराले बाकस खोली । बाकसबाट निक्लिए डरलाग्दा जनावर, सर्प, बिच्छी, रिस, आवेग, स्वार्थ … के के हो के के । यी सबै धर्तीभरि फिँजिए । त्यो बाकस पेन्डोराको भन्दा पनि सुन्दर थियो बाबु । जसमा मेरा रहरहरू थिए, देशका सपनाहरू थिए, आमाका माया, बुद्धका शान्ति, माक्र्सका विचार … थिए । म पेन्डोराको बाकस सम्झन्छु । बाकस नखोल्नु भनेकाले पोन्डोरालाई बाकस खोल्न हतार भयो । पोन्डोराले बाकस खोली । बाकसबाट निक्लिए डरलाग्दा जनावर, सर्प, बिच्छी, रिस, आवेग, स्वार्थ … के के हो के के । यी सबै धर्तीभरि फिँजिए । कवाडीले बाकस खोल्दा पेन्डोराका बाकसबाट फैले झैँ मेरा बाकसमा भएका कुरा फैलेलान् संसारभरि ? प्रश्नवाचक आँखाले कवाडीको साइकल हेरिरहन्छु परपरसम्म । #सागर गैरे
राजकुमार बानियाँ अब साहित्यपोस्टमा: साहित्यपोस्ट लामो समय नेपाली साहित्यमा बिताएका चर्चित साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँ साहित्यपोस्ट सँग आबद्ध भएका छन् । बानियाँले हरेक बुधबार सेरोफेरो स्तम्भअन्तर्गत् नेपाली साहित्य क्षेत्रको खोजतलास गर्ने छन् । २३ वर्षदेखि पत्रकारितामा संलग्न बानियाँले केही वर्ष नयाँ पत्रिका, केही वर्ष नागरिक दैनिकलगायतका सञ्चारमाध्यमहरूमा काम गरेका थिए । त्यसपछि उनी विगत एक दशकयता कान्तिपुर पब्लिकेसनसँग आबद्ध थिए । नेपाल साप्ताहिकमा उनले लेख्ने नेपाली साहित्यका विश्लेषणात्मक लेख तथा रिर्पाेटहरू अध्याधिक रुचाइने गरिन्थ्यो । गएको महिना कान्तिपुर पब्लिकेसन्स छाडेपछि उनी स्वतन्त्र पत्रकारिताको अभ्यास गरिरहेका छन् । ‘साहित्यपोस्टले बानियाँजस्तो निर्भीक पत्रकार पाउनु गौरवको कुरा हो’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘उनीमार्फत् आएका सामग्रीहरूले हाम्रा पाठकहरूलाई नेपाली साहित्यको वास्तविक भूगोलसँग परिचित गराइदिने विश्वास लिएकाे छु ।’ साहित्यपाेस्टमा खाेजी पत्रकारिताकाे अभाव पूर्तिका लागि राजकुमारलाई गरेकाे अनुराेध उनले स्वीकार गरेकाे कुरा काेइरालाले बताएका छन् । ‘नेपाली प्रोफाइल लेख्ने परम्परामा विशिष्ट क्षमता र शैली भएका पत्रकार हुन् राजकुुमार बानियाँ’, चर्चित आख्यानकार नारायण ढकाल ले साहित्यपोस्टसँग भने, ‘साहित्यिक पत्रकारितामा सत्य बोल्न नडराउने निर्भीक पत्रकारका रूपमा मैले उनलाई बुुझेको छु । उनीजस्तो पत्रकार पाउनुु साहित्यपोस्टको सफलताकाे संकेत हो ।’ #राजकुमार बानिया #सेरोफेरो
शिखाका चार पुस्तक बजारमा: साहित्यपोस्ट चार महिना लामो लकडाउनबाट पुस्तक बजार सहज बन्दै गरेको अवस्थामा शिखा बुक्सले चारवटा पुस्तक बजारमा ल्याएको छ । केही नयाँ पुस्तक तथा केही पुस्तकका नयाँ संस्करण शिखाले बजारमा ल्याएको हो । “हामीले दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, नरबहादुर वि.सी.को खोज–अनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ र पूर्वमन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुनाः मेरो सम्झना’ को चौथो संस्करणसमेत गरी जम्मा चार पुस्तकलाई बजारमा पढाएका छौँ ।” प्रकाशक पुष्पराज पौडेलले साहित्यपोस्टसँगको कुराकानीमा जानकारी दिए । यसका साथै शिखा बुक्सकै प्रकाशनमा भदौको पहिलो सातासम्म स्व. रत्नशमेर थापाको संस्मरण ‘घुम्तीमा नआऊ है’, टंक चौलागाईँको उपन्यास “उवडखावड” र भीष्म उप्रेतीको यात्रा संस्मण “हिमाल शेर्पा र यती” पनि तयारीमा रहेको पौडेलले जानकारी दिए ।
मदन पुरस्कारले निकाल्यो सूची: साहित्यपाेस्ट मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका लागि चुनिएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । २०७६ सालमा प्रकाशित पुस्तकहरूमध्ये १५१ वटा पुस्तक गुठीमा प्राप्त भएमध्येबाट यी पुस्तक छनोट गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताएका छन् । विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धैर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खन्ड १-३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा पुस्तक सूचीमा परेका हुन् । प्रायः १० वटाको सूची प्रकाशन गर्ने गुठीको लक्ष्य भए पनि यी सात वटा पुस्तकको सूची प्रकाशन गरिएको हो । #मदन पुरस्कार
तीजको रहर र विवादको लहर: हरेकजसो तीजतिर कुनै न कुनै विवाद आइलाग्छ । कुनै नौलो कुरामा बहस हुनु, आफ्नो विचार राख्नु राम्रो कुरो हो । तर नयाँ कुरालाई खाली नकारात्मक रूपमा मात्र लिएर बहसमा हावी हुनु पक्कै राम्रो कुरो होइनजस्तो मलाई लाग्छ । मलाई २००८ सालतिर कोमल वलीले गाउनुभएको “पोइल जान पाम” गीत ले उठाएको विवादको सम्झना छ । अलिक परिपक्वता नभएकोले होला, उक्त गीत त्यस्ताका मैले पनि राम्ररी सुन्न सक्दिन थिएँ । “पोइल” भन्ने शब्द एकदमै गाली अथवा अपशब्द जस्तो लाग्थ्यो । मलाई लाग्थ्यो “पोइल जानु” भनेको नराम्रो कुरा हो । हाम्रा गीतहरूमा सजिलै केटाले “तिमीलाई तानेर लान्छु” वा “आमा, नाइँ मलाई त्यै केटी चाहिन्छ” भन्ने गीतहरू सुन्दा आपत्ति लाग्दैन थियो । तर “पोइल” अँह त्यो त एकदम उत्ताउलो शब्द लाग्थ्यो । मेरो आमाहरू, दिदी बहिनिहरू, र वरपरका मान्छे हरूले नि त्यस गीत लाई नराम्रो नै भन्थे र सयद मैले पनि धेरै विचारै नगरी नराम्रो नै ठाने । आज भन्दा करिब दुर्इ वर्षअघि एमफिल पढाउने प्राध्यापकको कुराले मेरो सोचाइले युटर्न लियो । सरले भन्नु भयो, ” मान्छेको सबैभन्दा पहिलो अधिकार आफ्नमाथिको अधिकार हो तर नेपाको सन्दर्भमा त्यो अधिकार महिलाहरूले अहिलेसम्म पएका छैनन ।” उहाँले वलीको उक्त गीतको कुरो पनि उठाउनु भयो, कसरी हाम्रो समजले एउटा केटीले आफ्नो मन पर्ने मान्छेसँग जाने कुरा व्यक्त गरेको पचाउदैन र त्यो कुरा एउटा नकरात्मक बहसको विषय बन्छ । सरको कुरो एकदम सही थियो । र त्यसपछि मात्र मलाई किन ‘पोइल’ नराम्रो शब्द बनाइयो भन्ने कुराको बोध भयो । किन “तिमीलाई भगाइ लइजान्छु” भन्ने बोलको गीत सहज र समान्य लाग्छ तर “पोइल जना पम्” मा उच्छृंखलता भेटिन्छ ? थाहा भयो । किनकि, हाम्रो समजमा केटी मान्छेलाई छनौटको अधिकार छैन । उनीहरूको कि त दान गरिन्छ कि त भगाएर लागिन्छ । प्रज्ञा पनेरू हुन त तीजको कथामा हेर्दा पर्वतीले आफ्नो बुवाले उनको विवाह विष्णुसँग गरिदिने कुराबाट दुःखी भएर आफूले रोजेको वर शिवलाई पाउन घरबाट भागेर जंगलमा गर्इ व्रत बसेको प्रसंग छ । यो प्रसंग हेर्दा पार्वतीको व्रतमा पनि आफ्नो अभिभावकको छनौटको साटो आफ्नै रुचिको मान्छेसँग विवाह गर्न पाउँ भन्ने रहेको छ । त्यो हिसाबले पर्वतीले “पोइल जना पाम्” भनेरै व्रत बसेकी हुन्, तर पनि वलीको गीत नकारात्मक बहसको विषय बनाइन्छ, किनकि हामीलाई व्रत बसेर चमत्कारस्वरूप चाहेको वर परे त ठीक छ, तर पोइल जाने छुट छैन । यसपालीको बहसको विषय चाहिँ दुर्गेश थापाको सारी ब्लाउ र सोफिया थापाको “यसपालीको तीज नो व्रत प्लिज्” भन्ने गीततिर सोझिएको आएको । मेरो विचारमा “केटाले सारी लगाउँनु हुन्न” भन्ने मनसिकता “केटीहरूले पाइन्ट लगाउनु हुन्न” भन्ने मनसिकताको अर्को पटो हो । २०५९-२०६० तिर होला, मलाई एउटा अत्यन्तै मिल्ने केटा साथीले भनेको थियो, “प्रज्ञा, तिमी राम्री छौ तर पाइन्ट लगाउँछौ ।” अहिले हाँस्यास्पद लागे पनि यो कुराले मलाई त्यो समय निकै असर गरेको थियो र मैले केही महिनासम्म प्यान्ट लगाउन सकेको थइनँ । अहिले त्यस्तो भन्ने साथीको श्रीमती, छोरी सबै पाइन्ट लगाउछन् । उहाँलाई पनि अहिले यो कुरा सम्झदा सायद हाँसो उठ्दो हो तर त्यतिबेला काठमाडौँ परका जिल्लाहरूमा केटीहरूलाई पाइन्ट सामान्य थिएन । व्रत बस्नु र नबस्नु आ-आफ्नो इच्क्षाको विषय हो । मलार्इ लाग्छ, दुर्गेस थापाले जुनसुकै बहनामा सारी लगाए पनि त्यो पहिरन बहसको विषय बनाइनु हुन्न । अझ सकारात्मक रूप हेर्दा म त त्यसले पहिरन र लिङ्गको केही सम्बन्ध छैन भन्ने कुराको सन्देश दिन्छ । त्यस्तै, सोफिया थापाले व्रत नबस भन्ने गीत गाउँदैमा कोही व्रत नबस्ने, र व्रत बस भन्दा कोही बस्ने भन्ने जस्ता तर्क भनेका अझ पनि हाम्रा दिदी बहिनीमा आफ्नो सोच्ने, निर्णय गर्ने क्षमता छैन भनेको जस्तै हो । व्रत बस्नु र नबस्नु आ-आफ्नो इच्क्षाको विषय हो । त्यसैले व्रत नबस भन्ने गीत गाउँदैमा व्रत नबसिने अथवा संस्कृति मासिन्छ भन्नु तीललाई पहाड बनाउनुसिवाय अरू केही होइन । तीजको व्रतकथा अनुसार पनि देवी पार्वतीको शिव प्रेमप्रतीक हुन् । प्रेममा एकअर्काको निमित्त व्रत पनि बसिन्छ्, खुट्टा पनि ढोगिन्छ्, र सायद प्रेम प्रगाढ भएको खण्डमा एकअर्काको खुट्टाको पानी पनि खाइएला । यो प्रेमी र प्रेमिका बीचको आपसी समर्पण र समझादारीको विषय हो । बिनाप्रेम परम्पराको निमित्त मात्र व्रत बस्ने, वा बस्नै पर्छ भनेर बसेको व्रतको कुनै अर्थ छैन । त्यसैले सोफिया थापाको गीतलाई लिएर विरोध गर्नुको म कुनै औचित्य देख्दिनँ । नसकी नसकी व्रत बसेर अफूलाई दुःख दिनुको साटो व्रत नबस भनेको नि ठिकै हो, अनि सक्नेले वा रहर गर्नेले गीत आउँदैमा व्रत नबस्ने पनि होइन । तीज महिलाहरूको चाड हुँदाहुँदै पनि पुरुषहरू सहभगी हुनु, “बिच्च बिच्चमा” नाच्न खोज्नु खुसीको कुरा हो । कुनै पनि चाडलाई महिला र पुरुष भनेर छुट्टाउनुभन्दा महिला पुरुष दुवै सहभगी भएर रमाइलो गर्नु सकारात्मक कुरो हो । त्यसैगरी व्रत नबस भन्ने आवज एक महिलाको विचार वा आवाजलाई विभिन्न आरोप लगाई गीत बन्द गर्न लगाउनु, धम्की दिनुभनेको एक संकिर्ण सोचभन्दा बढी केही होइन । नसकी नसकी व्रत बसेर अफूलाई दुःख दिनुको साटो व्रत नबस भनेको नि ठिकै हो, अनि सक्नेले वा रहर गर्नेले गीत आउँदैमा व्रत नबस्ने पनि होइन । त्यसैले तीजको गीतलार्इ नकरात्मक बहसको विषय बनाइनुभन्दा फरक आवजको उत्सव मनाइनु बढी समयसापेक्ष हुन जान्छ । मलाई लाग्छ, गीतमा मानविय मनमा उठेका तरङहरू पोखिएका हुन्छन । गीतहरूले क्षणिक सम्वेगहरू पनि प्रस्तुत गर्छन् । गीतमा झट्टै भन्न नसकेका कुराहरू पनि व्याङ्यात्मक रूपमा व्यक्त गरिएका हुन्छन् । त्यसैले गीतहरू सुनेर हाँसिन्छ, रोइन्छ, अनि रमाइन्छ । गीतमा फरकपन हुनुभनेको स्वभाविक हो । अहिलेको प्रजातान्त्रिक समाजमा पनि फलनोले यस्तो गीत गायो, ढिस्कानोले यस्तो लुगा लगायो भन्ने कुराको बहस हुनु खेदजनक कुरो हो । #प्रज्ञा पनेरू
यात्रा संस्मरण: शिरमा इन्द्रकिल र हत्केलामा कुहिरो: नेपालको पूर्वीद्वार, भारतसँगको एउटा भौगोलिक सीमानाको आधार, हामी मेची नदी तरेर पानीटङ्की पुग्यौँ । पिजुमा सिक्किमसम्मको पूर्जी लिएर सिलिगुडी हुँदै हिमालयका हरिया पर्वत शृङ्खलाहरूका बीचमा रहेको कालोपत्रे नागबेलीहरूमा उफ्रिँदै र हल्लिँदै टिस्टाको तिरैतिर लाग्यौँ । टिस्टालाई देखाउँदै के.पी. सर भन्दै हुनुहुन्थ्यो– “यो टिस्टा नदी र तमोरको शिर एउटै हो, कञ्चनजङ्घा ।” मैले पिजुको प्वालबाट हेरेँ । त्रिशुली र टिस्टाको पानीको हिँडाइ पनि सायद एउटै रहेछ । डाँडाको काखे बाटो, कहिले तेर्सिन्थ्यो । कहिले ओरालो जस्तो कहिले उक्लिएको जस्तो लाग्ने । २०७१ साउन २२ गते रमपो खोला तरेर हामी रमपो बजारस्थित चेकपोष्ट पुग्दा विहानको लगभग ९ः३० बजेको थियो । के.पी. सर सबैका परिचय–पत्र बोकेर चेकपोष्टतिर अघिअघि लाग्नुभयो । हामी पछिपछि लाग्यौँ । चेकपोष्टको प्राङ्गडमा उभिएर बिन्दु सर, “यो कुन पहाड हो ? यसको नाम के हो ? योचाहिँ ?”, भन्दै सोधिखोजी गर्न थाल्नुभयो । रमपोको पूर्वमा पाखिम, पश्चिममा तुरुङ, उत्तरमा टुका जित्लाङ र दक्षिण–पश्चिम अलि पर इन्द्रकिल पहाड, यी पहाडको बसाइ हेर्दा मलाई लाग्यो– “पहाडै पहाडले हातेमालो गरेर हामीलाई अहिले बाँधिरहेका छन् ।” पूर्व सिक्किम र पश्चिम बङ्गालको सीमानाको रूपमा रमपो रहेछ । रमपोबाट अमरजङ्ग हाइड्रोपावर, सिन्ताङ बजार, रानीखोला हुँदै बत्तीस माइलपूर्व–उत्तर हुँदै मल्ली बजार, औषधी कारखानाबाट नौ माइल हुँदै हामी दिनको १२ः३० बजे गान्तोक बजार आइपुग्यौँ । आहा ! नगबेली साँघुरा कुइनेटा बाटाहरूकोे सहर । अनारका गुट्टीजस्तै गान्तोके घरहरू । शर्मा होटलमा खाना खाँदै मैले कविता दिदीलाई सम्पर्क गर्न थालेँ । अर्कातिर यात्राभरिको रमाइलो मान्छे नरपति सर पेम्पा लामालाई सम्पर्क गर्दै हुनुहुन्थ्यो । मैले मणिपुरका भवानी अधिकारीलाई पनि सम्पर्क गरेँ । यतिमात्र होइन, सुरेन्द्र लिम्बु, भीम राई ‘परदेशी’, बुद्घि तेम्बे ‘माइला’, हङ्कङमा रहेका भयवादी देश सुब्वा र साब्लाबुङे राजकुमार राईलाई पनि सम्पर्क गरेँ । तर कसैसँग सम्पर्क हुन सकेन । हामी नेपाली साहित्य परिषद्बाट फर्किंदा बेलुकाको सात बज्नलागेको थियो । सिमसिम पानी पर्दै थियो । पानीमा रुझ्दै हामी बसेको होटल मङ्गोमा सिक्किम विश्वविद्यालय नेपाली विभागका तत्कालीन विभागिय प्रमुख डा. कविता लामा र उपप्राध्यापक देउकुमार सुब्वा आउनुभयो । यो परिचय विस्तारको अनौपचारिक अवसर पनि थियो । मेरो भने कविता दिदीसँग भयवाद अध्ययन प्रतिष्ठानको कामले गर्दा चार वर्ष अघिदेखि कै चिनारी थियो । दीपक सुवेदी सबै साथीहरूले आ–आफ्ना योजना र उद्देश्य सुनाउनुभयो । समसामयिक साहित्यकाबारे धेरै छलफलहरू भए । सिक्किमबाट नेपाली साहित्यलाई उठाइरहेका सानु लामा (कथाकार), रुद्र पौडेल(समालोचक एवं उपन्यासकार), शान्ति क्षेत्री (नारीवादी), सुधायम राई र पुष्पाशर्मा (नारीवादी), चुन्निलाल घिमिरे (रङ्गकर्मी), थिरुप्रसाद नेपाल (हास्यव्यङ्ग्यकार), प्रविण राई ‘जुमेली’ (कवि), ध्रुव लोहागुन (नाटककार), सानुभाइ शर्मा, प्रद्युम्नलाल श्रेष्ठ, राजेन्द्र भण्डारी, पेम्पा लामा आदिका विधागत योगदानका बारे कविता दिदीले जनकारी गराउनुभयो । मलाई यस्तो लाग्यो– ‘चिन्तनशील यहाँका स्रष्टाहरू साहित्यको विधागत चिन्तनमा पनि हामीभन्दा माथि रहेछन् र साहित्यसँग समाज, संस्कृति र राजनीतिको सम्बन्धका बारेमा पनि हामीभन्दा निकै सचेत रहेछन् । तर हामीमा त भाषा र भाकाप्रति मजाक गर्नेहरूले नै निराश हुनुपर्ने प्रशस्त ठाउँहरू बनाइदिएका रहेछन् ।’ सिक्किमको अर्को नाम इन्द्रकिल पर्वत रहेछ । यहाँको जनसङ्ख्या सवा छ लाख, जसमा नेपालीहरू ६९ प्रतिशत रहेछन् । मिक्स कल्चरमा हुर्केको सिक्किम, यहीँबाट संवत् १८३८ तिर लेप्चाहरू नेपालको फिक्कलस्थित रम्फोकमा गएर बसोवास थालेका रहेछन् । सिक्किम र दार्जिलिङमा यिनीहरूको सङ्ख्या ठूलै रहेछ । नेपालमा भने लेप्चा लोपोन्मुख जाति आदिवासी समुदायमा पर्दछन् । बौद्घ धर्म मान्ने, प्रकृतिको पूजा गर्ने र कञ्चनजङ्घा हिमालप्रति अगाध आस्था राख्ने यिनीहरू नेपालमा भने राज्यको उपल्लो निकायमा पुग्न सकेका छैनन् । तर यता त सरकारी अड्डादेखि राजनीति, व्यापार, कला, संस्कृति र साहित्यमा पनि यिनीहरूको बाक्लो उपस्थिति रहेछ । साउन २३ गते, विहान ६ बजे । पानी सिमसिम परिरहेको थियो, हामीले गान्तोक सहरलाई छोड्दा । कतै कतै एकादुई मानिस फाट्टफुट्ट आङ् तान्दै थिए । गान्तोक पूरै उठेकै थिएन । उठोस् पनि कसरी, बेलुका हामी एघार बजे सुत्दा पनि गान्तोक बजार तन्नेरीझैँ थियो । अब सायद, सहरी क्षेत्र सकिएछ । पिजु लाग्यो सिङ्टाङ्गबाट पश्चिमतर्फ उकालै उकालो । नाम्चीका चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारिकानाथ) साँच्चै शोभनीय स्थल रहेछन् । ‘मेरो घडीले ल है ९ः५५ देखायो ।’, सान्दुप्चेमा पुग्दा विष्णु भन्दै हुनुहुन्थ्यो । यहाँ गौतम बुद्घको अवतार मानिने गुरू रिम्पुतेको सालिक ४ करोड ३७ लाख ४४हजार दुई रूपयाँको लगानीमा निर्माण सम्पन्न गरी दलाई लामाद्वारा सन् १९७३ मा उद्घाटन गरिएको रहेछ । नाम्चीका चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारिकानाथ) साँच्चै शोभनीय स्थल रहेछन् । हामी नाम्चीका यी धाममा रहँदा मैले मोबाइल हेरेँ, १०ः४५ भएको थियो । दार्जिलिङबाट ५५ किलोमिटर पश्चिमदक्षिणमा मिरिक पर्दोरहेछ । झापाली खेती, इलामे केटी, ताप्लेजुङको तोङ्बा र सुकुटी भन्ने लोकआहानमा रहेको इलाम र दार्जिलिङको सीमावर्ती सन्दकपुर तीन हजार ६ छैँसट्ठी मिटरको उच्चइमा पर्दोरहेछ रहेछ । एकताका सुधपाती नै दार्जिलिङमा सरकारी स्कुलका शिक्षक रहेछन् । वि.स. १९८१ मा उनीहरूद्वारा नै उद्घाटन गरिएको भानुभक्त पाठशालाको छेउमा नै रहेछ नेपाली साहित्य सम्मेलन । जहाँ नाटककार तथा कलाकार इन्दिरा ओझा ‘क्षेत्री’, गोपीचन्द्र प्रधान, डा. रूद्रराज मास्के, डा. सूर्य गिरी, धनहाङ् सुब्वा, डी.डी. गुरmङ, मेघमणि दाहाल, चन्द्रकुमार राई, चन्द्र शर्मासँगै हामी साँझ ५ः२० सम्म रह्यौँ । टाढा देखिने हिमालको सेतो फेटा, पहाडको हरियो भोटो पहिरिएर ठिङ्ग उभिएको सिक्किम सिरानमा रहेछ भने दार्जिलिङ पहाडको कम्मरमा रहेछ । घाम कलिलै थिए । हामी लेडेनला रोड हुँदै चौरस्तामा उक्लियौँ । प्रकृतिले आफ्नो सुन्दरतालाई जम्मा पारेर छप्लक्कै खन्याए जस्तो । जोनाथन वेटले आफ्नो कविता ‘द सङ अफ द अर्थ’ (धर्तीको गीत) को अन्त्यमा– “पोएटी इज द प्लेस, होयर वी सेभ द अर्थ”(कविता नै त्यो ठाउँ हो, जहाँ हामी पृथ्वीलाई सुरक्षित राख्छौँ ।) यसै ठाउँलाई हेरेर लेखेका पो हुन् कि, जस्तो लाग्ने । कञ्चनजङ्घाको शीतल छहारी तल महाभारत पर्वत श्रृङ्खलाको क्रीडाभूमि दार्जिलिङको चौरस्ता चोकैमा रम्घाको पाखामा उदाएका भानु भेटिए । आहा ! दौरा–सुरुवाल अनि बिर्खे टोपीमा ठाँटिएर रामायण बोकी कतै पाठका लागि निक्लेका बेला हामीलाई नै पर्खे जस्तो । गोर्खाल्यान्डका लागि न उठ्न न सुत्न नै सकेको पर्वतकी रानी दार्जीलिङको मुटुमा साहित्य, कला संगमलाई लिएर बिन्दु दाहाल, ओमप्रकाश गौतम, नरपति पाण्डे, विष्णु न्यौपाने, हेम अधिकारी, के.पी ढकाल र म २०७१ साउन २४ गते विहान ७ :३० बजे उभिरहेका थियौँ । मानिसहरू ओहर–दोहर गरिरहेका थिए । एक हुल फागुन्डा फूलाइरहेका केटाकेटीहरूको भीड थियो । केही विद्यार्थीहरू आ–आफ्ना विद्यालयका पोशाक लगाएर सायद स्कुलबसको पर्खाइमा थिए । मैले वरिपरि हेरेँ, बरबटे कमानको लङ्गडालाई । एकताका लैनसिंह बाङ्देलले लेखेका थिए– “यहाँ स्कुल जान सामेल भएका केटाहरूले लङ्गडालाई विरक्त पार्थे ।” मैले यताउति हेरेँ तर आज कतै यहाँ भुइँभालु थिएन । भुइँबाट उठ्दै गरेको कुहिरोले विस्तारै हामीलाई छुँदै थियो । वरपरका धूपीका सिन्केपातबाट जलबिन्दु चुहिरहेका थिए । सबै व्यस्त देखिन्थे । बाटाका छेउमा भएका फलैँचाहरूमा कोही ध्यानमा निमग्न थिए त कोही योगामा व्यस्त देखिन्थे । पसलहरू फाट्टफुट्ट खुल्दै थिए । भुइँबाट उठ्दै गरेको कुहिरोले विस्तारै हामीलाई छुँदै थियो । वरपरका धूपीका सिन्केपातबाट जलबिन्दु चुहिरहेका थिए । अलि प….र धूपीका गाछीमा अलिकति घाम अडेस लागेजस्तै देखिन्थे । नेपाली साहित्यमा बौद्घिक चिन्तनको आँटिलो प्रवेश आयामेली आन्दोलन यहीँबाट उठेको थियो । सन् १९६३ मा इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरबल्लभले नेपाली साहित्यमा विचार, शैली र भाष ापक्षमा परिवर्तन ल्याउन तेस्रो आयाम यहीँबाट उठाएका थिए । यो ठाउँ अहिले पनि त नेपाली साहित्य र स्रष्टाका लागि तीर्थस्थल नै भएको छ । चौरस्ताको मौलिक सुगन्ध र प्रकृतिको छटामाझ यसरी आफू उभिएर सम्झनाको दियो बाल्दामात्रै पनि यहाँको सौन्दर्य समीकरण भई जीवनको यो क्षणमा अलौकिकताको अनुभूति भयो । “दीपकजी, एक क्लिक ।” क्यामेरा मलाई दिँदै ओम सरले भन्नुभयो । भानुको सालिक छेउछाउमा केही तस्बिरहरू लियौँ । यहाँ हामीले करिब पन्ध्र मिनेट बितायौँ । सबै साथीहरू मेल रोडतिर लाग्नुभयो । बिन्दु सर र म पनि पछि लाग्यौँ । साँच्चै लैनसिंह, हिमालका टाकुराहरूमा भने प्रथम किरण पर्नासाथ पर्वतराजले यहाँ रमाइलो सुनको मुकुट लाएजस्तो देखियो । बाटाघाटामा पनि एकाबिहानै हिँड्ने दूधवालाहरू काँधमा दूधको ढुङ्ग्रो लिएर घरघरमा गइरहेका जस्ता पनि देखिए । हामी मेल रोड ओरालै ओरालो लाग्यौँ । रोडको छेउमा रहेको रोयल प्यालेस हुँदै बिहानको ८ः३० बज्दा हामी पश्चिम बङ्गालका राज्यपाल पद्मजा नाइडुको स्मृतिमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा सन् १९७५ नोबेम्वर २१ मा समर्पित जिओलोजिकल पार्कमा थियौँ । पार्ककै पछि रक गार्डेन तेन्जिङको समाधी स्थल । माथिबाट क्रमशः न्यूजिरल्यान्ड, बेलायत, नेपाल र भारतका अङ्कित राष्ट्रिय झण्डाहरू उठाएर सगरमाथा चढ्दै गरका तेन्जिङलाई देख्दा गर्वले मेरो छाती फूलेर आयो । सागरमाथा नेपालको पहिचानमात्रै नभएर विश्वकै शिर हो । यस शिरमा पहिलोपटक पुग्न सफल पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी हिमाल इतिहासका अमर पात्र हुन् । तर यो गर्वले धेरै समय मेरो मथिङ्गलमा फक्रन पाएन । साँच्चै कुम्भराज, इतिहासमा लेखिए जस्तै दुःखको कुरा, हामीले गर्व गरेजस्तो नेपाल र नेपालीलाई खुसी बनाएका तेन्जिङले पछि भारतीय नागरिकता लिए । आफूलाई भारतीय भने । दोस्रो नेपाली आरोही नवाङ गोम्बु र आङकामी शेर्पा पनि तेन्जिङकै बाटो हिँडे । तर, सन् १९६५ मा भारतीय सेनाका एमएस कोहलीको नेतृत्वमा २१ आरोहीसहित खुम्जुङ–१, सोलुखुम्बुकाफू दोर्जी शेर्पा भने चौथो आरोहीका रूपमा पहिलोपटक नेपाली भएरै सागरमाथा चढे । भारतले उनलाई नागरिकतासहित सरकारी सुविधा दिने प्रलोभन दियो । उनले म नेपाली नै भएर जन्मिएँ नेपाली नै भएर मर्छु भने । भारतको सबैभन्दा ठूलो खेल पुरस्कार अजुर्न पनि दियो । तर उनले नेपाली रहनुमै गर्व गरे । नेपाली भएरै मरे । तेन्जिङका नाममा त कवि तथा लोकगायक धर्मराज थापाले “हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमालचुचुरा, गम्केर बजाउ खैँजडी झम्केर नाचमुजुर…….” भनेर गीत नै गाए । तर फू दोर्जी शेर्पा, जसको इतिहास अलिखित छ । न त अहिलेसम्म उनको नाममा कुनै गीत नै गाइयो । रञ्जितले शिरको ढाकाटोपी दुवै हातले मिलाउँदै भने– “डल्लै नेपालबाट आउनुभएको रहेछ । म पनि पन्ध्र वर्षको हुँदा यहाँ आएको थ्यो । अहिले ओसी काटेँ ।” “घर नेपाल हो, हजुर…. नेपाल तीन लम्बरमा जग्गा छ, जमिन छ, खान लाउन राम्रो पुगे नेपाल छोडेर किन मुग्लान पस्नु पथ्र्यो ? आफू १६ वर्षको हुँदा दोरलिङ पसेको । तर दिनदशाले गर्दा पहाड फर्कन सकिनँ…।” यसरी आफूलाई मन परेको बेला सोध्ने मानिसलाई जीवन कहानी सुनाउने लङ्गडालाई एकताका लैनसिंह बाङ्देलले यहीँ भेटेका थिए । हामीले पनि यसरी नै आफ्नो जीवनकहानी सुनाउने झापा (चारआली) का रञ्जित गुरुङलाई लाई भेटायौँ । तर उनको जीवनकहानी लङ्गडाको जस्तो दुःखी हैन गर्विलो छ । पिजुपार्ककै छेउमा घरजम र होटल गरी आफ्ना जीवनका पचास बसन्त बिताएका रञ्जितले शिरको ढाकाटोपी दुवै हातले मिलाउँदै भने– “डल्लै नेपालबाट आउनुभएको रहेछ । म पनि पन्ध्र वर्षको हुँदा यहाँ आएको थ्यो । अहिले ओसी काटेँ ।” सडकमुनि–माथि रञ्जितका जस्तै घर, पसल, होटल, रेस्टुराँ थिए । अहिले त जहाँ लङ्गडाभन्दा पनि धेरै असल र धनी मानिसहरू रहेछन् । जहाँ ऐश्वर्यका निम्ति उनीहरूसित अनेक साधन पनि रहेछन् । यी मानिसहरूले लङ्गडाजस्तो घस्रीघस्री माग्नु पनि पर्दैन रहेछ । दार्जिलिङको यस बसाईमा मलाई लाग्यो– ‘यहाँ त बौद्घिकतालाई आफ्नो स्वार्थपूर्तिको लाइसेन्स पनि बनाउँदा रहेनछन् । तर हामी त पाइला नै मेटेर उभिन चाहाँदा रहेछौँ र बाटो नै भत्काइरहँदा रहेछौँ ।’ कुहिरो डम्म थियो । साउन २५ गते, दिनको ११ बजे, पानी परी नै रहेको थियो । रञ्जितकै होटलमा खाना खाएर हामी दार्जिलिङबाट ओरालै ओरालो, बतासे डाँडा, सुकिया पोखरी हुँदै सिमानै सिमाना फर्कियौँ । जहाँ कहिले कविता राजनीति जस्तो बनिरहेको त कहिले राजनीति कविता जस्तो बन्न नसकेर चेप्टिरहेको छ देश । #दीपक सुवेदी
अमृता प्रीतम र उनको कविता: अमृता प्रीतम पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा ‘रसीदी टिकट’ पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रतमलाई भारतको दोस्रो सबभन्दा ठूलो सम्मान पद्म विभूषण पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो । अमृता प्रीतमले लेखनयात्रा पंजाबी भाषाबाट सुरु गरेकी हुन् । अमृता जब ११ वर्षकी थिइन् त्यही समयमा नै उनी आमाको निधन भयो जसले गर्दा घरको जिम्मेवारी उनको काँधमा आइपर्यो । उनी ती कम साहित्यकारहरूमध्ये हुन् जसको पहिलो संकलन १६ वर्षको उमेरमा प्रकाशित भएको थियो । फेरि १९४७ साल भारत पाकिस्तान विभाजनको समय आयो, उनीले विभाजन अमृता प्रीतम को पीडा सहनुपर्यो, र त्यो पीडालाई उनले धेरै नजिकबाट महसुस गरेकी थिइन्, उनका केही कथाहरूमा त्यो पीडा महसूस गर्न सकिन्छ । विभाजनको समयमा उनका परिवार भारतको दिल्लीमा आएर बस्यो । अब उनले पंजाबीको साथै हिन्दीमा पनि लेख्न सुरु गरेकी थिइन् । उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो अमृताको ६ वर्षको उमेरमै विवाहको लागि कुरा छिनिएको थियो र ११ वर्षकै सानै उमेरमा उनकी आमाले उनलाई छोडिन् । उनी १६ वर्षकी हुँदा नै उनले आफ्नो पहिलो पुस्तक पुरा गरिन् र १६ वर्षकै उमेरमा उनको विवाह प्रीतम सिंह सँग भयो जो एक सम्पादक पनि थिए । अमृता बेहद भावुक थिइन्, तर त्यत्तिकै सुन्दरताका साथ उनलाई आफ्नो भावना र सम्बन्धको बीच सामंजस्य मिलाउन आउँथ्यो । आजीवन उनले साहिरसँग प्रेम गरिन् । दुइ छोराछोरीकी आमा पनि भइन् । साहिरसँगको प्रेम मनमा भएका कारण वैवाहिक जीवनबाट बाहिर निस्कन फैसला लिइन र फेरि साहिरले पनि उनको साथ छोडे तर पनि सम्मानका साथ त्यो सम्बन्धबाट उनी अलग भइन् । उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो । अमृता साहिर लुधियानवीलाई अथाह प्रेम गर्थिन् । साहिर लाहौरमा उनको घर आइरहन्थे । भेटमा उनीहरू घण्टौंसम्म चुपचाप बस्दथे । साहिरलाई सिगरेट पिउने आदत थियो, उनी एक के बाद एक लगातार सिगरेट पिउने गर्दथे । उनी हिँडेपछि सिगरेटको ठूटोलाई साहिरको ओंठको निशानलाई महसुस गर्नका लागि अमृता पुनः पिउने गर्थिन् । यसैगरी अमृतालाई सिगरेट पिउने लत साहिरबाट लागेको थियो, जुन आजीवन कायम रह्यो । सारा जीवनर अमृताले साहिरलाई भुल्न सकिनन् । साहिर पनि उनलाई प्रेम गर्दथे र दुवै एक अर्कालाई चिट्ठी लेख्ने गर्दथे । पछि साहिर मुम्बई गए तर पनि उनीहरूको प्रेम कायमै रह्यो । अमृतादेखि टाढा भएकै कारण साहिरको जीवनमा सुधा मल्होत्रा आएकी थिइन् भन्ने गरिन्छ । यद्यपि दुवैको दिलमा एक अर्काको लागि प्रेम खतम भएको भने थिएन । अमृताले साहिरले पिएका सिगरेटको ठूटोहरू सम्हालेर राखेकी थिइन् भने साहिरले पनि अमृता पिएको चियाको कप संभालेर राखेका थिए भन्ने गरिन्छ । साहिरले अमृताले पिएको चियाको कप बर्षौंसम्म नधोइ राखेका थिए । तर पछि दुवै अलग भए । भनिन्छ, प्रेममा अमृता जत्तिको समर्पण साहिरको प्रेममा थिएन । कोही कोही ता यतिसम्म भन्ने गर्थे कि उनको प्रेम एकतर्फी थियो । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ । जीवनको अन्तिम समयमा उनलाई हिँड्न डुल्न काफी तकलीफ हुन्थ्यो । त्यो समयमा उनलाई खाना खुवाउन, नुहाउन, घुमाउन जस्तो सम्पूर्ण दैनिक कार्य इमरोजले गर्ने गर्थे । बिमारीको लामो समयपछि अमृता प्रीतमले ३१ अक्टुबर, २००५ मा आफ्नो प्राण त्यागिन् । तर इमरोज भन्ने गर्थे कि अमृता उनलाई छाडेर जान सक्दिनन्, अझै पनि अमृता उनीसङ्गै छन् । उनका कविता, कथा, नज्म र संस्मरणहरू सदैव मानिसहरूका बीच हुनेछन् र उनका साहित्यहरूले मार्गदशर्न गरिरहनेछन् । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ । अमृताको एक कविता यहाँ प्रस्तुत गरिएको छ । म तिमीलाई फेरि भेट्नेछु म तिमीलाई फेरि भेट्नेछु कहाँ ? कसरी ? त्यो त थाहा छैन म तिमीलाई फेरि भेट्नेछु कहाँ ? कसरी ? त्यो त थाहा छैन सायद तिम्रो कल्पनाको झिल्का बनेर तिम्रो क्यानभासमा उत्रिनेछु वा सायद तिम्रो क्यानभासमाथि एउटा रहस्यमयी रेखा बनेर चुपचाप तिमीलाई हेरिरहनेछु वा सायद सूर्यको किरण बनेर तिम्रो रङ्गमा घोलिनेछु वा रङ्गको अँगालोमा बसेर तिम्रो क्यानभासमा उत्रिनेछु थाहा छैन कहाँ कसरी ? तर तिमीलाई पक्कै भेट्नेछु वा सायद एउटा झर्ना बनेको हुनेछु र जसरी झर्नाको पानी उड्दछ म पानीको थोपा तिम्रो शरीरमा मिसिनेछु र एउटा चिच्याहट जस्तै बनेर तिम्रो छातीमा टाँसिनेछु म अरू केही जान्दिन तर यति चैँ पक्का जान्दछु समयले जेसुकै गर्नेछ यो जन्म त मेरै साथ चल्नेछ यो शरीर रहँदा सबै कुरा समाप्त हुनेछन् तर चेतनाको धागो ब्रम्हाण्डीय कणबाट बनेको हुन्छ म तिनै कणहरूलाई रोज्नेछु धागोलाई बेर्नेछु र फेरि भेट्नेछु तिमीलाई #अमृता प्रीतम
कवितालाई नयाँ ढंगले कसरी लेख्न सकिन्छ भनेर सोच्ने कवि: प्रज्वल अधिकारी आजको शृङ्खलामा हामीले कवि मोहित जोशीको कवितामाथि कवि प्रज्वल अधिकारीको दृष्टि लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ शृङ्खला – कविताको क्षेत्रमा एकदमै लगनशील भएर कवितासँग नै उठबस गर्न मन पराउने र कविताका विभिन्न प्रतियोगितामा भाग लिँदै, आफँैले प्रतियोगिता गराउँदै, नेपाली कवितालाई विश्व स्तरमा कसरी चिनाउन सकिन्छ भनेर हरदम लागिपर्ने पछिल्लो पुस्ताको अध्ययनशील र जुझारु कवि हुन्, मोहित जोशी । कविताको स्तर उठाउन के गर्नुपर्छ, नयाँ नयाँ विषयबस्तुहरू के के हुन सक्छन् मलाई उनको पारिवारिक र व्यक्तिगत जीवनको बारेमा खासै ज्ञान छैन । मेरो उनीसँग जे जति भेट भएको छ त्यो सबै कविताकै बिषयलाई लिएर भएको छ । हरेक भेटमा उनि कविताको क्षेत्रलाई कसरी व्यापक बनाउने, नेपाली कविताको स्तर उठाउन के गर्नुपर्छ, नयाँ नयाँ विषयबस्तुहरू के के हुन सक्छन्, जस्ता विषयमा गम्भीर भएको पाउँछु म । मोहित जोशी कविता लेखनको साथसाथै अनुवाद पनि गर्ने कवि जोशी पछिल्लो पुस्ताका एक होनाहार कवि हुन् भन्न मलाई हिच्किचाउनु पर्दैन । कोरोनाले आक्रान्त पारेको यो समयमा पनि उनि हरबखत कविता नै सोचिबस्छन् । मैले यो लेख लेख्दै गर्दा उनि सायद कविता नै लेखिरहेका होलान् । यसरी हेर्दा उनको कवितासँग गहिरो प्रेम परेको छ । हारोल्ड बुमको “थेउरी अफ बिलेटेडनेस“ भन्ने सिद्धान्तले भनेझैँ, हरेक विषयबस्तुहरू हामीभन्दा अगाडिको पुस्ताले लेखिसकेको र हामीले जे लेखे पनि उनीहरूकै कपि हुन जाने यो परिप्रेक्षमा शिल्प, विषय उठान र अभिव्यक्तिले कसरी फरक लेख्न सकिन्छ भनेर उनि गम्भीर हुन्छन् । यो लेखमा म यिनै कवि मोहित जोशीका तीन कवितामा आफ्नो पाठकीय धारना राख्न गइरहेछु । मलाई के लाग्छ भने मान्छे कवि भएर लेखेको कवितालाई मान्छे भएको बेला चिरफार गर्न खुब गार्हो हुन्छ । किनकि म समालोचक होइन । फेरि आफू कवि भएर आफ्नै समयको कविको कविता समालोचना गर्न असाध्यै गार्हो काम हो । यसै हुनाले पनि म यी कविताहरूमा पाठकीय दृष्टिकोण राख्न गइरहेछु । तर एउटा कुरा कविताको अर्थ विभिन्न तरिकाले लगाउन सकिन्छ र कविताले हरेक पाठकलाई फरक फरक प्रभाव पार्न सक्छ । ओहो ! स्वतन्त्रता रोग हो भन्ने थाह रहेनछ ! कवितालाई नयाँ ढंगले कसरी लेख्न सकिन्छ भनेर सोच्ने कवि जोशी ’ स्वतन्त्रता’ शिर्षकको कवितामा भन्छन्, “ओहो ! स्वतन्त्रता रोग हो भन्ने थाह रहेनछ !” उनले एक्वेरियममा भएको माछाले आफू स्वतन्त्र हुन चाहेको र एक्वेरियमबाट उफ्रेर भाग्न खोज्दा भुइँमा पछारिएर मरेको घटनालाई लिएर यसो भनेका हुन् । उनी भन्छन् कहिलेकाहीँ परिणाम के हुन्छ थाह न पाइकन स्वतन्त्र हुन खोज्नु घातक हुन्छ । यस कवितामा मजदुरले आफूलाई त्यही एक्वेरियमको माछासँग तुलना गरेको छ र आफू मालिककोमा बसेर सम्पुर्ण सुविधा पाए पनि मालिकलाई छोडेर जान नसक्ने हिनताबोध गरेको छ । तर मजदूरले के बुझ्नु पर्छ भने स्वतन्त्र हुने चाहनालाई मर्न दिनु हुन्न र उपयुक्त समय आउनासाथ समयलाई आफू अनुकूल बनाउनु पर्छ । भुइँमा परेर मरेको माछा देखेर हतोत्साहित भएको मजदुर यस कवितामा निकै कमजोर देखिन्छ । अहिलेको सामाजिक परिवेशलाई हेर्ने हो भने पनि यस्तै देख्न सकिन्छ । मजदुरले स्वतन्त्रतालाई रोग रहेछ भनेर आत्मज्ञान भएको महसुस गर्छ तर उसले के बुझ्दैन भने एक्वेरियममा बसेको माछाले खोजेको स्वतन्त्रता कस्तो हो ? हरेक दिन मरेर बाँच्नु भन्दा एकै पटक मर्नु पनि अर्को स्वतन्त्रता हो कि ! माछाको मृत्यु हेरेर मजदूर यथास्थानमा रहन खोज्छ तर उसले यो बुझ्दैन अब यो माछा स्वतन्त्र भयो । मलाई यहाँनेर खड्केको चैं मजदूरमा आएको स्वतन्त्रताको अर्थ गलत भयो कि ! कविले मजदुरलाई किन त्यति डरपोक देखाए ? ………… अर्को कवितामा कवि कवितालाई नै विषय बनाउँछन् र कविता लेख्न नसकेको उद्घोष गर्छन् । अग्रज कविहरूलाई चुहिने छतसँग तुलना गर्दै उनी भन्छन् – “ केही दिन भयो कविता लेख्न नसकेको कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ र कविता लेख्न बस्दा कागज भिजाइदिन्छ ।” लगत्तै दोस्रो स्टान्जामा फेरि कवि आफैँ कविता लेख्न त्यति अब्बल नभएको र आफुले लेखेको कवितालाई मिलाइदिने कुनै मिस्त्री पनि नचिनेको आत्मालोचना गर्छन् । “भोलि……थाह छैन !” फेरि अर्को स्टान्जामा उनी आफूले धेरै कविलाई चिनेको तर उनीहरूले पनि मलाई सहयोग गर्न नसक्ने भन्दै माथिको आफ्नै कुरा काट्छन् । चौथो स्टान्जामा आएर माथिका तिनैवटा स्टान्जाभन्दा भिन्न कुरा गर्छन् र यहाँ आएर भने उनी मजदूरको पक्षमा उभिन्छन् र प्रश्न गर्छन् । आफूलाई ताजमहल, पिरामिड लगायत कलाकृतिहरू शासक आफैँले बनाएको लाग्थ्यो भनेर स्वीकारेका कविले प्रश्न गर्दै भन्छन् कि, “बेबिलोन बनाउन घोटिएका हात कस्का थिए ?” यहाँनेर अलि बिरोधाभाष भयो कि भन्ने पनि लाग्छ । यही कविता लेख्दै गर्दा कविलाई आफ्नै घर पनि आफुले नबनाएको ज्ञान हुन्छ र उनी मजदुरको पक्षमा उभिन्छन् । तर उनी बारम्बार कविता लेख्न कुनै बाधा नआओस् भन्छन् । बारम्बार यो कुरा भन्नुले के इङ्गित गर्नु हो जस्तो लाग्छ भने, कविमाथि कोही हावी भइरहेछ जुन कुरा कविलाई पटक्कै मन परेको छैन । फेरि उनी भन्छन्, “मैले कुनै मिस्त्री चिनेकै छैन ।” यसबाट के बुझिन्छ भने कविलाई असल गुरुको खाँचो छ । आफूभन्दा अग्रज र उनीहरूको योगदानलाई पनि बिर्सनु हुन्न र आफूमा घमण्ड भन्दा विश्वास गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ । यो कविता हेर्दा थुप्रै बिरोधाभाष देखिन्छ । यसबाट के बुझ्न सकिन्छ भने युवाहरूको मन र दिमाग पनि यही कविता जस्तो छ । अर्को अर्थबाट बुझ्दा यो कविताले कुनै पनि कवि आफू जस्तो हुन मिस्त्री पनि आफू र चालक पनि आफू बन्नु पर्ने जरुरत देखिन्छ भन्न खोजेको पनि देखिन्छ । र आफूभन्दा अग्रज र उनीहरूको योगदानलाई पनि बिर्सनु हुन्न र आफूमा घमण्ड भन्दा विश्वास गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ । ……………………. “स्वतन्त्रता“ शीर्षकको अर्को कवितामा कविले आम मानवीय स्वभावलाई छर्लङ्ग पारिदिएका छन् । चरालाई बिम्ब बनाएर आफू स्वयं स्वतन्त्रता बिरोधी बनेका छन् । ( “मैले…….छोप्नु“ ) मान्छे आफू स्वतन्त्र हुन चाहन्छ तर अन्य स्वतन्त्र प्राणीलाई आफ्नो बन्धनमा बाधेर रमाउन चाहन्छ भन्ने गतिलो व्यंग्य प्रस्तुत गरेको छ कविताले । मान्छे अरु जनावर छोप्छ र खुब माया गरेको र खान दिएको भ्रम पाल्छ तर उनीहरूको स्वतन्त्र हुने अधिकार हनन् गरेको पत्तो नै पाउदैन । आफ्नो रहरको भोक मेटाउन अरुको अधिकारलाई मारिदिन्छ मान्छे । आफूभन्दा निर्धामाथी राज गरेर हाँस्न चाहन्छ मान्छे र उनीहरूले आफ्नो अधिकार खोज्न चाहे भने उनीहरूमाथि हमला गर्छ । माथि टिप्पणी गरिएका कविता यसप्रकार छन् । १. स्वतन्त्रता एउटा मजदुरको आँखा परेको छ मालिकको अक्वेरियमको गोल्डफिसमा गोल्डफिस उफ्रियो अक्वेरियम बाहिर र मर्यो मजदुर सोचिरहेछ, “उफ् ! स्वतन्त्रता रोग हो थाहा रहेनछ !” २. चर्किएको छत केही दिन भयो कविता लेख्न नसकेको कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ र कविता लेख्न बस्दा कागज भिजाइदिन्छ । भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन तर मलाई कुनै मिस्त्रीको नाम वा सम्पर्क पनि त थाहा छैन । इतिहास र वर्तमानका सयौं दार्शनिक, शासक वा कविलाई चिन्छु म तर एउटा सत्य यो पनि हो प्लेटो, जंगबहादुर वा देवकोटा कोही पनि अहिले मेरो छत टाल्न सक्दैनन् । बेबिलोनको अनुहार पटक पटक भत्काइयोस् हरेक पटक त्यो अनुहार सुन्दर बनाउन घोटिएका हात कसका थिए ? मलाई थाहा छैन ! मलाई केवल पिरामिड थाहा छ तर इटाहरूको थुप्रोलाई पिरामिड बनाउन घनभन्दा बढी बजारिएका औँला कसका थिए ? मलाई थाहा छैन ! मलाई त आजसम्म ताजमहल शाहजहाले मुमताजका लागि बनाएका हुन् भन्ने थाहा थियो । मलाई त आजसम्म रोमको कोलोसियम सम्राट भेस्पासियनले बनाएका हुन् भन्ने थाहा थियो । मैले भर्खर मात्र थाहा पाएको छु म बसिरहेको मेरो आफ्नो घर मैले बनाएको होइन रहेछु । भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन तर मसंग कुनैपनि मिस्त्रीको न नाम छ न सम्पर्क बस छन् दुई चार थान मिस्त्री र मजदुरी बारे कविताहरू जुन स्वयम् मैले नै लेखेको हँु । सायद मेरै कविताको मिस्त्रीको आँसु हो यो छतबाट चुइरहेको पानी मलाई कविता लेख्नबाट रोकिरहेको । ३.स्वतन्त्रता मैले एउटा चरा छोपेर पिजडामा राखेको थिएँ मेरो बस सौख थियो चरा छोप्नु । उसलाई आफ्नै तरिकाले हुर्काउनेछु सोचिरहँदा चराले पिँजडाका बारहरू बंग्याउन खोज्नु, भाग्न खोज्नु, मलाई अस्हय भयो । उसले भाग्न खोज्दा, उसलाई मनपर्ने मकै, गहुँ, धान खानलाई दिए हतारमै खाएर पुनः भाग्न खोजिरह्यो । उसलाई त्यो पिँजडाबाट झिकेर, अर्को झन् भव्य पिँजडामा पनि राखी हेरेस् ऊ भाग्न चाहन्छ त्यहाँबाट पनि ! नभागोस् भनेर अब पिँजडामा अर्को चरा पनि राखिदिएँ उनीहरू सम्भोग गर्न थाले, यसपटक हतार थिएन त्यहाँ त्यो चरा यसरी लिप्त भयो, मानौ यो उसको अन्तिम सम्भोग थियो! यता म आफ्नो जीत कल्पिरहेथेँ तर जसै सम्भोग सकियो, उसलाई फेरी भाग्नुनै थियो । कुनैदिन उसले भाग्न खोज्दा पिँजडाका बारहरूमा हिर्काएँ कुनैदिन कोठामा त्यही प्रजातीको अर्को चराको मासु पकाएर खाएँ कुनैदिन कोठामा ठूलो चिल ल्याएर छोडिदिएँ कुनैदिन भोकै राखेँ, कुनैदिन टन्न खानदिएँ निकै दिन यही शृंखला चल्यो साम दाम दण्ड भेद भय केही सीप नचलेपछि मलाई वाक्क लाग्यो, र, मैले पिँजडाको ढोका खोलिदिएँ यसपटक ऊ त्यहाँबाट निस्किएन ! पिँजडा फोड्न लामो संघर्ष गरेको चरा पिँजडाको ढोका खुल्लै हुँदा पनि, त्यहँ बसिरहेको छ ! तिम्रो स्वतन्त्रताको परिभाषा के हो ? #प्रज्वल अधिकारी #मोहित जोशी
ह्याप्पी होम: शिबु ढकाल “हेलो…।” “दर्शन बुबा ! म माइकल अमेरिकाबाट ।” “आशीर्वाद छ, बाबु । सन्चै छौ तिमीहरू त्यहाँ ? मेरो बुलेट नातिले के गर्दैछ ?” “हामी सबै आराम छौँ । बुलेटले धेरै मिस् गर्छ तपाईंलाई । बुहारी सुजीले पनि मिस् गर्छे । आमासित भोलि भिडियो कलमा कुरा गर्छु है !” “हुन्छ बाबु ।” “बुबा सुन्नुस् न, अब पोखरामा एउटा घर बनाउन पर्\u200dयो । जापानमा बस्ने माइलो ज्याक्सन र अस्ट्रेलियामा बस्ने कान्छो साइमनसित पनि सल्लाह भइसक्यो । मेरो चिनजानको राम्रो इन्जिनियर नेपालमा छ । म ऊसित डिजाइनको बारेमा कुरा गर्छु । तपाईंले अरु टेन्सन लिन पर्दैन, राम्रोसित रेखदेख गर्नुहोला ।” नयाँ घर निर्माण गर्ने बारेमा जेठो छोरासित एकछिन कुरा गरेर तेज बाजे तालु मुसार्दै चर्पीतिर लागे । शुभ दिन निकालेर योजना अनुसारको घरको जग खनियो । नेपालकै अब्बल इन्जिनियरले घरको सानदार डिजाइन गर्\u200dयो । नामुद ठेकेदारले काम सुरु गर्\u200dयो । नेपालकै उत्कृष्ट र कुनै आयातित महँगा निर्माण सामग्री प्रयोग गरियो । तेज बाजेले आफ्नो भूमिका राम्रोसित निभाउँदै गए । उनले अलिक पर एउटा सानो कटेज बनाउन लगाए र त्यसैमा बसी निगरानी गरिरहे । घर बन्दै जाँदा झन्झन् सुन्दर देखिदै गयो । “बाहिर मात्रै नबस्नुस् । चिसो लाग्ला !” श्रीमतीको कुरालाई पटक्कै वास्ता गरेनन् बाजेले । घरको काम जति फिनिसिङ हुँदै गयो त्यसको सुन्दरता भित्रबाट भन्दा बाहिरबाट धेरै देखिदै गयो । गर्दागर्दै तेज बाजेले खाना पनि बाहिरै खान थाले । सुत्न पनि कटेजमै सुरु गरे हेमन्तको ठिहिरोको बाबजूद । घर तयार भयो । पाँच करोड लागतको आलिसान महल । नाम राखियो, “ह्याप्पी होम”। “बाबु, घर कम्प्लिट भयो तर मलाई बेस्सरी चिसो घुस्यो,” तेजको अन्तिम वाक्य बन्यो यो। “बुढेसकालको शरीर, त्यसमाथि निमोनियाले गालिसकेछ, सरी ।” डाक्टरको कैफियतले सबैलाई स्तब्ध तुल्यायो। पोखरा, नेपाल #पोखरा #शिबु ढकाल
१०० वर्ष अगाडिका युद्धबन्दी गोर्खालीका लोकगाथा प्रकाशन हुँदै: अलका आत्रेय चूडाल काठमाडौँ/नेपाल प्रज्ञा–प्रतिष्ठानले आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनी पुगेर युद्धबन्दी भएका गोर्खाली सेनाहरूबाट रेकर्ड गरिएका लोकसामग्रीहरू सङ्कलन गरी प्रकाशन गर्ने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको पहलमा अस्ट्रियाको भियाना विश्वविद्यालयकी प्राध्यापक डा. अलका आत्रेय चूडालद्वारा सङ्कलित सामग्रीहरू प्रकाशन गरिने भएको हो । विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले भने, ‘सन् १९१४ देखि १९१८ का बीचमा जर्मनीको बर्लिनदेखि ४० किमि टाढा रहेको बुनस्फोट सहरको हाल्बमोन्डलागर नामक क्याम्पमा बन्दी बनाइएका गोर्खाली सेनाहरूले भनेका नेपाली लोककथा, लोकगाथा, लोकगीत, लोककविता र गाउँखाने कथाहरूको रेकर्ड गरेर जर्मनीको हुम्बोल्ट विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा राखिएको रहेछ र त्यो आजसम्म पनि सुरक्षित रहेछ । यो सूचना प्राप्त हुनासाथ उक्त सामग्री नेपाल र नेपालीका लागि अत्यन्त दुर्लभ, अज्ञात र आश्चर्यलाग्दो सम्पत्ति भएको हुनाले सङ्कलन गरी प्रकाशन गर्न लागिएको हो ।’ प्राज्ञ नेपालका अनुसार ‘जर्मन शिक्षक विलहेल्म डोगेनको सल्लाहमा सन् १९१५ अक्टुबरमा स्थापना भएको ‘रोयल प्रसियन फोनेटिक्स कमिसन’ संस्थाले विश्वका भाषाहरूको ध्वनि, उच्चारण र गीतसङ्गीत आदिको ध्वन्यात्मक रेकर्ड राख्ने उद्देश्यअनुसार सङ्कलन गरिएका १६०० भन्दा बढी सामग्रीहरूमा १०० भन्दा बढी लोकसामग्रीहरू गोर्खाली सेनाका स्वरमा रहेछन् । गोर्खालीहरूको रेकर्डको जिम्मा प्रा. हाइनरिख लुडर्स (१८६९—१९४३) लाई दिइएको रहेछ । संस्कृत, बङ्गाली, पास्तो भाषाका ज्ञाता र पछि गुरुङ भाषा पनि सिकेका उनले रेकर्ड गरेका सामग्रीहरूमा २६ लोककथा, ५० भन्दा बढी लोकगीत, लोकगाथा र लोककविता तथा केही गाउँखाने कथा गरी १०० भन्दा बढी सिर्जनाहरू रहेका छन् । यिनलाई ध्वनिबाट लिपिमा उतार्ने काम भइसकेको छ, अब चाँडै नै यसलाई प्रकाशनमा ल्याइने छ ।’ प्रस्तुत ऐतिहासिक महत्त्वको सामग्री सङ्कलनको जिम्मा पाएकी डा. अलका आत्रेयका अनुसार ‘यी लोकसामग्रीहरूमा गोर्खाली सेनाका वेदना, परिवारको माया र गाउँको सम्झना जस्ता संवेदनशील कुराहरू समेटिएको हुनाले एकातिर यसको भाषिक, साहित्यिक र सामाजिक महत्त्व छ भने अर्कातिर आजभन्दा एक सय वर्ष पुरानो रेकर्ड भएको हुनाले यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्व पनि रहेको छ ।’ #नेपाल प्रज्ञा प्रतिष्ठान
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. बस छुटे झैँ (सरुभक्त) सरुभक्त आकाशमा तारा झर्ने बेला बसचालक हर्न बजाउँछ, मलाई जगाउँछ— म आफै टुक्रिन्छु बसमा— ‘आशा–निराशा, हर्ष–विस्मात विश्वास, लज्जा, हीनभावना …’ म असङ्ख्य यात्री बन्छु ! मभित्रका असङ्ख्य यात्री परस्पर बिरोधी यात्री, — यात्रा गर्छन् एउटा गन्तव्यपथमा — हरेक मोडबाट हामफाल्ने डर पेट्रोलको अन्तिम बूँद पथमै सकिने डर कुहिरे डाँडा अचानक खस्ने डर मेरो चालक हर्न बजाउँछ, म छुट्छु— बस छुटे झैँ ! २. दुर्घटित (गोविन्द गिरी प्रेरणा) गोविन्द गिरी प्रेरणा म सडकमा ओर्लिनुअघि नै बाटो दुर्घटित भो’ ! मैले तर्नुअघि नै पुल दुर्घटित भो’ ! बिहानी घाम झुल्कनुअघि नै दिन दुर्घटित भो’ ! म स्कुल पुग्नुअघि नै शिक्षा दुर्घटित भो’ ! म खुसी हुनुअघि नै सुख दुर्घटित भो’ ! अहो ! के भएको यस्तो ? मैले जीवन बाँच्नुअघि नै मृत्यु दुर्घटित भो’ ! ३. ढोका (नकुल सिलवाल) नकुल सिलवाल सुरुङबाट बाहिरिनु भित्र पस्नुजस्तो सजिलो हुँदैन, निस्कनुपर्ने ढोका प्रवेशद्वारजस्तो हुँदैन आफैले ढोका बनाउनु भनेको आफूलाई ढोका बनाउनु हो, आफू आफ्नै ढोकाबाट निस्कनु भनेको ‘मुक्ति’ पाउनु हो, जो भनेजस्तो ‘सरल’ छैन । आफूले आफ्नै हातमा किला ठोक्नु भित्तामा किला ठोक्नुजस्तो कहाँ हो र ! खोरबाट, दाम्लोबाट पशुले मुक्ति पाउनुजस्तो होइन मान्छेले मुक्ति पाउनु भनेको ! ४. कछुवा र खरायो (राजेन्द्र थापा) राजेन्द्र थापा कहानीमा कछुवालाई जिताएर मान्छेले खरायोलाई बदनाम गराइदियो, इतिहास बदल्ने सोचेर खरायोले भन्यो— ‘आइज फेरि दौडौँ’ कछुवाले पनि भन्यो— ‘हुन्छ, तर यस पटक जो पहिले पुग्छ ऊ हार्छ’ खरायोले सोच्यो, ठीकै छ, म फेरि सुत्नेछु र जितिहाल्छु, दौड सुरु भयो, यस पटक भने खरायो सुतेको देखेर कछुवा पनि सुतिदियो, आज पनि खरायो र कछुवा सुतिरहेका छन्, र सायद हाम्रो देश पनि यस दौडमा सामेल छ ! ५. आमा (राजेन्द्र शलभ) राजेन्द्र शलभ आमा सखारै सूर्यसँगै ब्यूँझिनुहुन्छ र सूर्यसँगै उज्यालो बाँड्दै हिँड्नुहुन्छ पूर्वदेखि पश्चिमसम्म बिहानदेखि बेलुकासम्म बाँड्दा–बाड्दै जब न्याना किरणहरू सकिन्छन् आमा पनि सूर्यसँगै निदाउनुहुन्छ भोलि बिहान सखारै उठ्न र उज्यालो बाँड्न । #डा. विप्लव ढकाल #सूक्ष्म कविता
साहित्यपोस्ट: पोस्टरकविता अभियान: साहित्यमा कविता विधामा कलम चलाउनेहरू अन्य विधामा भन्दा बढी देखिन्छ । कविता धेरै लेखिन्छ तर कम पढिन्छ । पाठकहरू साहित्यिक सृजना छनौट गरेर पढ़ने कुरामा अहिले सचेत बनेका छन् । पोस्टर कविता एकै पल्टमा सरर पढ़ेपछि र कवितासँग टाँसिएको पोस्टर चित्रले पाठकको ध्यानाकर्षण गर्न सक्ने कुरामा विश्वास पलाएको छ । साथै कविले आप्ना छोटो कविताबाट समाजिक सरोकारसित जोडिएको मुद्दालाई सम्प्रेषण गर्न प्रभावित भएको ठानेका छौँ । हामी राम्रा कविहरूको लामा लामा कविताहरू पनि पढ्दैछौँ । ती कविताहरूले पनि आफ्नो छुट्टै स्थान बनाएको छ । तर आजको समय जहाँ मान्छेलाई बोल्नुसम्मको फुर्सद छैन त्यहाँ यस्ता सूक्ष्म र छोटा कविताहरूलाई हतारिने पाठकलाई साहित्य र कलातिर आकर्षित गर्न सकिन्छ कि भन्ने यो एउटा प्रयास पनि हो । कविता नै नपढ़नेहरूले पनि पोस्टरको कलाले तानिएर कविता पढ़ेका कुराहरू जनाइरहेका र बताइरहेका छन् । १९ सय शताब्दीतिर पेरिसका चित्रकारहरूले एउटा आन्दोलन छेडे जुन बखत चित्रकलालाई निम्नस्तरको ठानिन्थ्यो । साहित्यको गन्तीमा चित्रकला फिका अवस्थामा थियो । क्लड मनेट, एडगर डेगास, केमाइल पिस्सारोहरूले केही नयाँ विचार बोकेर कलाको अभिव्यक्तिमाथि काम गर्ने ठानेँ । जीनव र जगतका स-साना कुराहरूलाई, गाउँ, प्राकृतिक दृश्यहरू र अँध्यारा रङको सट्टा चहकिलो रङहरूको प्रयोग गरिन थालियो । फ्रान्सको यो चित्रकलामा गरिएको यो मुभमेन्ट इम्प्रेसिनिजिन भनियो । अनि पछि क्युबिस्ट, मोर्डनिजम यस्ता अन्य प्रयोगहरूले चित्रकलालाई निकै माथि पुर्याए र साथै साहित्यमा विशेष कविता लेखनमा पनि यसको प्रभाव इमेजिजम भएर एमी पावल र एज्रा पाउन्डहरूले गरेको पाइन्छ । चित्रकलालाई साहित्यसित जोडन यो एउटा पहल पनि थियो । पोस्टरकविता पनि यसै पहलमा उभिएको छ । हिन्दी साहित्यमा पोस्टरबाट कवितालाई कवि र चित्रकारले राखेर बढी प्रभाव पारेको देखिएको छ । यता नेपालीमा फाट्ट फुट्ट मात्र भएको पाइन्छ । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन् –“यस्ता राम्रा कामहरूलाई पछिसम्म संचय गरेर राख्नु सके यो दस्तावेजीकरणको रूपमा आउँछ । फेसबुकको वालमा कविहरू हतार गरेर कविता लाउँछन् र यसले कविताको महत्त्व नहुने तर यसरी नेपाली साहित्यलाई प्रतिनिधीको रूपमा प्रकाशित हुने पत्रपत्रिकामा वा अनलाइन पोर्टेलतिर ल्याउनु राम्रो हुन्छ ।” पोस्टरकविताको उद्देश्य छोटा र छरितो र केही फरक ढङ्गमा कवितालाई प्रस्तुत गर्नेछौँ । छोटा र फरक विषयको कवितामा काम गर्न सजिलो हुन्छ साथै कविता मेल मार्फत पठाएपछि सम्पादन टोलीले हेरेपछि छनौट हुन्छ र त्यसपछि सम्पादक एंव चित्रकार रवि रोदनले चित्रमाथि काम पनि गर्न पर्ने हुन्छ । यी कुराहरू मध्य नजर राखेर कविले सहयोग गरे पोस्टर कविता अझ फस्टाएर लान सकिने कुरामा आशा गर्न सकिन्छ । यसलाई एउटा अभियानको रूपमा लिएर हामी काम गरि रहेका छौं । प्रस्तुत छ यस शृङ्खलाका कविताहरूः १. २. ३. ४. ५. ६. ७. ८. ९. १०. कविता पठाउनको लागि कविहरूले आफ्ना छोटा कविता युनिकोड फन्टको प्रयोग गरेर , आफ्नो फोटो र संक्षिप्त परिचय ravirodan88@gmail.com मा पठाइदिनुहुन विनम्र निवेदन गर्दछौँ । (पोस्टरकविता सम्पादक) #रवि रोदन #सिक्किम
“यदि” मा अल्झिएका नवराजः उत्तरमा सगरमाथाको गहिराइ: “कविले मानिसलाई कसरी चिन्छन् ? कवि भनेर भन्दा मान्छेको मस्तिष्कमा कस्तो आकृति बन्छ ? कविले के गर्न सक्छ ? कविले कति गर्न सक्छ ?”, प्रश्न सामान्य नै हुन् तर जवाफ मुस्किल छ । नेपाली कविता समाजको फेरो समाएर नेपाली कविलाई सम्झने हो भने एक कविको आकृति हाम्रो मस्तिष्कले अकै बनाउँछ वा बनाउँथ्यो । एक कविले कविता सुनाउनकै लागि विदेशसम्म पुग्छ भन्ने हामीलाई थाहा थियो कि थिएन ? कविता सुनाएको पैसा लिन्छ भन्ने हामीले सोचेका थियौँ कि थिएनौँ ? वा हामी कविता सुन्नकै लागि पैसा तिर्न तयार रहन्छौँ भन्ने हामीले कल्पना गरेको थियौँ कि थिएनौँ ? यी त प्रश्न न भए । तर पनि जवाफ हामीलाई नै थाहा छ । नवराज पराजुली अहिलेको नेपाली साहित्यिक फाँटमा कविताले विश्वास गरेको कवि हुन् । यदि कविताले उनलाई विश्वास नगरेको भए पराजुली यतिखेर जिन्दगीमा केही त जादु हुन्छ भन्ने विश्वासमा आफैँलाई पर्खिरहेका हुने थिए, सायद । कवि पराजुलीले हृदयमा नेपाल र मस्तिष्कमा कविता बोकेर थुप्रै देशमा कवितालाई नै विश्वास दिलाएका छन् । यस कवितामा भेटिने नेपाली समाजको चित्रण नै यस कविताको मियो हो । कविता भन्नेबित्तिकै अलिकति टाढै बस्न रुचाउने समाज अहिले कविताभन्दा अलि नजिक आउन थालेको छ । आफ्नो सरलता र वाचनले कविताबाट भाग्ने समाजलाई पराजुलीले तानिरहेका छन् । सत्तरीको दशकमा नेपाली कवितामा हलचल हुनुमा कवि नवराजको प्रवेश पनि एक कारण हो । नवराज पराजुलीलाई सगरमाथाको गहिराइले नेपालीमाझ कविको रूपमा चिनायो । नवराज पराजुली फाट्फुट्ट कविताका लाइन लेखिरहे पनि सगरमाथाको गहिराइ शीर्षकको कविता नै उनले पहिलोपटक पूरा लेखेको कविता हो । यस कवितामा भेटिने नेपाली समाजको चित्रण नै यस कविताको मियो हो । पहिलोपटक यही कविता नै किन लेखियो ? प्रश्न छ र जवाफ पनि । यस कवितामा हृदयविदारक बिम्ब नै किन आयो ? प्रश्न छ र जवाफ पनि । युट्युबमा भेटिने नवराज पराजुलीका कवितालाई अक्षरमा सामाजिक सञ्जाल वा छापामा एकदमै न्यून भेटिन्छ । आज हामी उनको कविता र माथि उल्लेखित प्रश्नको जवाफ प्रस्तुत गर्नेछौँ । प्रस्तुत छ कवि नवराज पराजुलीको कविता : सगरमाथाको गहिराइ यो संसारको कुनै महान् चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रङ चाहिए मेरो देशका गुराँससँग सापटी माग्नु म त गुराँसको देशको मान्छे ! तर यो कुरा पछि गरौंला कि मैले खाने चामलको रङ किन्न म आँफुचाहिँ अरब आएको छु । यो संसारको कुनै महान् परोपकारीलाई यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो देशका नदीसँग सापटी माग्नु म त नदीहरूको देशको मान्छे ! तर यो कुरा पछि गरौंला कि मेरो छोराको घिटघिट गरिरहेको घाँटीलाई चाहिने दुई थोपा औषधि किन्न म आँफुचाहिँ अरब आएको छु । बिजुली उत्पादनमा संसारको सबैभन्दा बढि क्षमता राख्ने मेरो देशले मेरो बिदाइमा आएकी मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको उर्जाले भेला गरेर नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो रे ! तर मेरो देशको आकाशमा अझै पनि काला ताराहरू चम्किरहन्छन् । मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर तर के गरौँ ? भन्दिनेले मेरो प्वाल परेको छानोबाट राती ताराहरू झर्छन भन्दिए र भन्दिए ताराका ती तीखा टुक्राले मेरो जोडिएको परिवारलाई टुक्य्राउनेछ यो सुनेर मेरो मनमा गाठो पर्यो त्यो पनि सुर्काउनीबिनाको भन्दिनेले ‘पैसामा बाआमाले पनि छहारी फेर्छन्’ भन्दिए सोचेँ तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने ? हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्यो भने ? बहिनीले ‘म तपाईँको टाउकोमा निःशुल्क ठुङ हान्दिनँ ’ भनी भने ? दिदीले ‘म तँलाई सुनकेस्रा रानीको कथा निःशुल्क सुनाउँदिन ’ भनी भने ? मलाई लाग्यो ऊ ईश..वर होइन ईश.. पर थियो तर के गरौँ ? म त बुद्धको देशको मान्छे ! त्यसैले चुपचाप शान्ति खोज्दै अरब आएको छु । मलाई जन्माउने देवता चटक्कै छोडेर म आएको यो अरबमा ‘रब’चाहिँ कहाँ छ ? यो मरुभूमिमा मरूँ भन्ने मान्छे मात्र भेट्छु म ! घडीमा बाह्र बजेको देख्दा घडीका तीनवटै काँटाहरूले सामुहिक आत्महत्या गरेझैँ लाग्छ । मेरो यो रुवाजस्तो मन बालुवासँग लड्दालड्दा यहाँ मेरो जवानी पग्लिन्छ घरमा रुँदारुँदा श्रीमतीको सिरानी पग्लिन्छ । ए देश ! सगरमाथाको शिखरमा उभिएको संसारको सबैभन्दा अग्लो मान्छे म आज खाडीमा गाडिएको छु कसैले बाहिर निकाल मलाई ! म मर्नुअघि मेरा बूढा भएका बुवाका हातका नङ नदुखाइकन काट्न चाहन्छु म मर्नुअघि मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु म मर्नुअघि मेरो घरको पश्चिमपट्टिको मेवाको बोटमा बाक्रै ताछ्न नमिल्ने गरी पाकेको मेवालाई दुई टुक्रा पारेर चम्चीले एक चम्ची आफू खाँदै अर्को चम्ची भर्खरै एउटा मात्र दाँत पलाएको मेरो छोरालाई खुवाउन चाहान्छु म मर्नुअघि मेरी छोरीले उसकी हजुरआमाले चुलेसीले तिखारिदिएको पेन्सिलले जीवनमा पहिलोपल्ट लेखेको ठूलो “क” हेर्न चाहन्छु। ए देश ! मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर म अरबबाट घर र्फकेँ भने त ठीकै हो तर त्योभन्दा ठूलो रातो काठको बाकसमा म आफैँ भरिएर र्फकेँ भने ? कहालीलाग्दो दृश्यले कविको हृदयमा प्रश्न गरेपछि जन्मेको यस कविताले आम नेपाली जनता वा आम मजदुरको भाषा बोलेको छ । प्रस्तुत कवितामा प्रयोग गरिएका बिम्बमा उनका आफन्त भेटिन्छन् । कहालीलाग्दो दृश्यले कविको हृदयमा प्रश्न गरेपछि जन्मेको यस कविताले आम नेपाली जनता वा आम मजदुरको भाषा बोलेको छ । सन् २०१० ताका कवि नवराज पराजुलीले कवि मनु मञ्जिलको गुरुकुल नाटकघरमा एकल कविता वाचन हेरिसकेपछि उनलाई “म पनि कविताको झरीमा भिज्न सक्छु ।” भन्ने विश्वासको टुसो पलाएको थियो । म पनि कविता लेख्छु भन्ने दृढ विश्वास बोकेका कविलाई कहिले कविता लेख्छु भन्ने थाहा थिएन तर थाहा चाहिँ थियो कि, म लेख्छु । थर्रर कामेको शरीरले बर्रबराउँदै निकालेको आवाजमा छोराको खुट्टामा आफ्नो टाउको राखेर निकैबेर बुवा बोले । सन् २०१२ ताकै कवि नवराज पराजुलीको अलि परेको नातामा बज्र पर्यो । कविको पर्ने मामाले आफ्नो सन्तान गुमाए, त्यो पनि विदेशमा । आफ्नो छोराको लास लिन काठमाडौँ आएका बुवाले त्रिभुवन विमानस्थलमा चौकीदार झैँ रुँघेर कहिल्यै नआउनेगरी आएको छोरालाई पशुपति आर्यघाट पुर्याए । त्यो समयमा कवि नवराज पराजुली पनि सँगै थिए । विमानस्थलमा कफनभित्रको छोराको अनुहार नदेखेका बुवाले आर्यघाटमा कफन खोलेपछि छोराको अनुहार हेरे र छोराको खुट्टा ढोगे । थर्रर कामेको शरीरले बर्रबराउँदै निकालेको आवाजमा छोराको खुट्टामा आफ्नो टाउको राखेर निकैबेर बुवा बोले । यो दृश्य देखिरहेको कविको हृदय र खुट्टा समानान्तर भएर काँप्यो । हिन्दू धर्ममा जन्मे र हुर्केका कविले बाउले छोराको खुट्टा ढोगेको देखेका थिएनन् । त्यही दृश्यले कविको हृदयमा हलचल ल्याएको थियो । छोराको खुट्टा ढोग्दै बर्रबराएका बुवाले बोलेको केही शब्द कविको कानको नेपथ्यमा बजेको धूमिल आवाज बनेर आइरहेको थियो । तेरी छोरी, दलाल, अब के होला ?, यस्तै शब्दले वातावरण मौन भएर बसेको थियो । कविले त्यस दृश्यमा देखिइरहेका बुवाले छोरालाई केही बताइरहेको सुने तर छोरो बोल्न सक्दैन । त्यसो त कवि नवराज यदि भन्ने शब्दमा अल्झन्छन् । कविले त्यस दृश्यमा देखिइरहेका बुवाले छोरालाई केही बताइरहेको सुने तर छोरो बोल्न सक्दैन । यदि उसले बोल्नसक्ने भएको भए के बोल्थे होला ? भन्ने कुरा कविको मनमा गड्यो । कवि आर्यघाटबाट फर्के । उनी फर्कदासम्म उनको हृदय कापिँरहेको थियो र प्रश्न आइरहेको थियो, “ती बितेका दाइले बोल्नसक्ने भए के भन्थे ?”, ती बितेका दाइ बनेर कविले बोलिसकेपछि सगरमाथाको गहिराइ कविताको जन्म भयो । सामाजिक सञ्जालमा उनी खासै छाएका थिएनन् । उनले स्ल्याम पोएट्रीमा सगरमाथाको गहिराइ सुनाए वा प्रतियोगितामा भाग लिए । त्यसपछि उनको चर्चा सुरु भयो । त्यसैबखत उनको कविता कवि रविन्द्र मिश्रको नजरमा पर्यो । जब कविताले मस्तिष्क र हृदय एकैपटक छुन्छ तब कविताले पाठकलाई न्याय गर्दछ । कवि नवराज पराजुलीका बारेमा कवि रविन्द्र मिश्र भन्छन् – “म बीबीसीमा कार्यरत रहँदा कवि नवराज लम्सालले मलाई पहिलोपटक सगरमाथाको गहिराइ शीर्षकको कविताबारे बताउन्ुभएको थियो । र उहाँले नै मलाई पहिलोपटक उक्त कविता देखाउनुभयो । जब मैले सगरमाथाको गहिराइ कविता पढेँ तब मेरो मस्तिष्क र हृदय एकैपटक छोएको थियो । जब कविताले मस्तिष्क र हृदय एकैपटक छुन्छ तब कविताले पाठकलाई न्याय गर्दछ । यति शसक्त कविता पढेपछि मैले आफ्नो वालमार्फत् समाजिक सञ्जालमा सेयर गरेको थिएँ ।” मिति तय नभए पनि कवि नवराज पराजुलीको अर्को कृति प्रकाशोन्मुख छ । उनको आउने कृतिलाई शुभकामना ! #नवराज पराजुली
बाआमाः घर कि वृद्धाश्रम !: लाखौँका इट्टा, बालुवा र सिमेन्टबाट उभिएको भित्ता रङ्गीन थियो, पोतिएका महङ्गा रङहरूले । तर त्यही भित्तामा टाँसिएको फोटोमा कुनै रङ थिएन । सादा थियो । धुलाम्य थियो । जति महत्त्व ती निर्जीव भित्ताले बोकेका छन् त्यति महत्त्व त त्यो फोटोले पनि बोकेको नहुँदो हो ! एक मात्र उदेश्य थियो त्यो तस्बिरको त्यहाँ, देखावटी आफ्नोपन । करोडौँमा रम्ने घरका मालिकका नजर त्यो तस्बिरमा नपुग्नु स्वभाविककै मान्, जहाँ नोकरको समेत ध्यान पुगेको छैन । मानिस लाखौँमा खेल्ने भएपछि हातैमा गन्न सकिने अनुहारको स्मृतिमा धुमिल बन्दैजान्छ सायद । हो, आफ्नो अस्तित्वलाई भुलेर नाम कमाउदै थिए घरका सदस्य या भनौँ मेट्दै थिए आफ्नो पहिचान । नाम दिनेलाई बिर्सिएर नाम कमाउने रीत कस्तो अस्वादिलो ! जति पुरानो सम्बन्ध थियो त्यो फोटो र परिवारको सम्बन्ध, ठीक त्यति नै पुरानो हो त्यो घर र आगनको पनि । तर दुवै बदलिए, उही गति र उस्तै फैलावटमा । कहीँ टाढा करोडौँको लोभमा खोलिएका “इल्डरली केयर होम” भरिभराउ छन्, वृद्धवृद्धाहरूको रेखदेखमा, र उही देखावटीको व्यापारमा । जुन बस लोभी सन्तान अर्थात सेवाग्राही र समाजसेवी अर्थात् संचालनकर्ताबीचको घर फर्किने आशमा अस्ताउनै लागेका जन्मदातालाई भने यथार्थले छोएकै रहेनछ । उनीहरू घृणामा पनि माया भेट्छन् । चियाका साथमा हातमा परेको बिस्किट मुखमै पुर्याउन लाग्दा एकछिन रोकिन्छन् र नातिनातिनालार्इ सम्झन्छन् । घरबाट रहर मारेर खुसीको श्रमसम्म गर्न नमिल्ने आश्रम पुगेर पनि सत्कार खोज्नु कतिसम्म उचित हो ? प्रत्येक दिन ती धमिला आँखाहरू मुल गेट नियाल्छन्, जहाँबाट आफ्नाहरू पनि आफ्नोपनलार्इ बाहिरै जुत्ताभन्दा पहिले खोलेर मात्र पस्छन् । कोही आफ्नो बनेर छिर्ने आसा बहुत पुरानो भइसक्यो । टेबल र खाट पुराना भए पनि त्यहाँ राखिएका तस्बिर र सम्झना पुराना भएका छैनन् । ती चाउरी परेका फुस्रा छालाभन्दा ती तस्बिर चम्किला छन् । धुलो र फोहोरसँग परिचय नै पाएका छैन् ती फोहोर भित्ताका चम्किला अनुहारहरूले । हो, फरक यत्ति हो रंगीन भित्ता र बेरंगका भित्ताहरूबीच । आकृति तिमल्सिना आशाले भरिएका सपना देख्नेमध्ये एक थिए- भरत अर्थात् डा.भरत सिंह। कुनैबेला यो नाम नै काफी थियो, उनको घर भरिभराउ हुन । पत्नी “देवी” को साथ छुटेको ४५ दिन नहुँदै उनको साथ छुट्यो आफ्नै घरबाट। जुन छोराको हात समाएर उनले “आफ्नो घर” भनी चिनाएका थिए, उही छोराले उनको हात समाएर “इल्डरली केयर होम” सँग परिचय गराइिदए । पत्नी वियोगको पीडालाई परिवारको स्नेह र ममताले साट्न खोज्ने दुस्प्रयासको फल उनले पाए। मजदुरी गरेरै भरतका बाबू-आमाले उनलाई डाक्टर बनाएका थिए । जीवनमा पहिलोपटक आफ्नै छोराबाट नै उनीहरूले ज्वरो र बिपी नापेका थिए । आफ्नी आमाले ममतारूपी धागो र स्नेहको सीयोले सिलाइदिएको उनको पहिलो सेतो कोट (एप्रोन) अझै उस्तै छ । सायद बाबू-आमाको दुःख महसुस गरेरै होला, उनलाई बाबू-आमासँग टाढा रहने सोचले समेत कहिल्यै छोएको थिएन । आफूलाई शिखर चढाएर सतहमा रम्ने बा-आमाको अन्तिम स्वाससम्म साथै रहे उनी । यदि भरत र देवीले उनीहरूलाई जस्तै आफ्ना सन्तानलाई पनि थोरै परिश्रम र असहजताको पाना पढाएको भए आज भरतले वृद्धाश्रमको गेट नै देख्नुपर्ने थिएन कि ? भरतलाई गरिबी र अँध्यारोको बालापनको पीडा राम्रोसँग थाहा थियो। नाम र दाम नभएसम्म समाजमा टिक्न नसकिने सत्यसँग पनि अवगत थिए । त्यसैले उनी एक सुखी र उल्लासमय बाल्यकाल दिन चाहान्थे आफ्ना छोराछोरीलाई । उनले आफ्नो क्षमता भन्दा पनि बढी खुसी भरिदिएका थिए उनीहरूको जिवनमा । सन्तानहरूका चाहानामा उनको जिब्रोले ‘नाइँ’ र ‘हुँदैन’ कहिल्यै फट्कारेन । जुन कुरामा उनी गर्व गर्थे; त्यहीँ परवरिशले उनलाई आज ग्लानीबोध गराइरहेको छ । सायद छोराछोरीलाई ‘कमी’ को महसुसबाट टाढा राख्नु नै उनको गल्ती थियो । यदि भरत र देवीले उनीहरूलाई जस्तै आफ्ना सन्तानलाई पनि थोरै परिश्रम र असहजताको पाना पढाएको भए आज भरतले वृद्धाश्रमको गेट नै देख्नुपर्ने थिएन कि ? आफूलाई जीवनको अन्तिम पलमा साथ दिनु त परैको कुरा बिदा लिइसकेपछि दागबत्ती पनि दिन नभ्याउने व्यस्त सन्तानबाट कस्तो आश राख्नु उत्तम हुनेछ एक अभिभावकले ? माया बटुल्ने उमेरमा चौगुना हेला बटुलेका ती बूढा आमा-बाबुलाई सत्य थाहा थिएन होला त ? उनीहरू त औँशीको रातमा बसेर पनि अझै जूनकै अपेक्षा गर्दै छन् । भरतलाई भेट्न आउने नातिनातिनाबाट झोलाका पोकाभन्दा पनि मायाको ढिक्काको प्रतीक्षा रहन्छ उनलार्इ । उनलार्इ मात्र के कुरा ? यो तमाम भरत र देवीहरूको व्याथा हो । नातिनातिनालाई रगतको नाता थाहा छैन, बस बोजको आयतन पढेका छन् परिवारबाट । उनीहरूका नजरमा उनी बाबुको बा अर्थात् ‘हजुरबुबा’ होइनन् । फगत एक बूढो फलको वृक्ष हुन्, जसमा फल लाग्ने सम्भावना नै छैन । जुन वृक्षको मनमोहक फूल र स्वादिलो फलको रस सबैले भुलिसकेका छन् । याद यतिमात्र छ, त्यो बेकामको बूढो वृक्ष जसको मेटिनुबाहेक अरू कुनै अस्तित्व छैन । आफ्नै आमा-बुबाले बुबा नमानेका हजुरबुबाप्रति उनीहरूको हृदयमा कसरी माया र सम्मान पलाओस् ? हुन पनि, आफ्नै आमा-बुबाले बुबा नमानेका हजुरबुबाप्रति उनीहरूको हृदयमा कसरी माया र सम्मान पलाओस् ? आज लर्कारेको दृश्य देखेका ती नयनले भोलि कस्तो दृश्य देखाउने छन् आफ्ना बाआमाका लागि ? यो सोच्नु के बेठीक होला र ? #आकृति तिमल्सिना
नारायणप्रसादका तीन मुक्तक: १. सिद्धान्तको हुन्न कैले राजनीति यहाँ कतै आशैआशा गराउने विषाक्त भो जताततै । पानी जति पोखे पनि बालुवामा सोसिदिने मागी खाने भाडो भयो राजनीति पेवाजस्तै ।। २. रोएका छन् जनता ती भोक प्यास भनीभनी आफ्नो माटो मलिलो भै बाली हुन्छ कैले भनी । बोलेका छन् जताततै हार गुहार भनेर नै शान्तिकामी जनता ती रोई माग्छन् पानी भनी ।। ३. देखिएन कतै पनि उज्यालोको रापजस्तो मनैदेखि सजाएर माला उनौ भनेजस्तो । सज्जनता र इमान्दारी हराएछ कि देशैभरी नगन्हाएको नेता पाउन गाह्रो भयो कस्तो ।। #नारायणप्रसाद न्यौपाने
उच्छ्वास: विसर्जनको प्रतीक्षामा तड्पिरहेछ तेरो आफ्नै अनुहार जीर्ण शिर्ण रुग्ण पुरानो घरको पर्खालझैं चर्किरहेछ अट्टाहासले निष्प्राण देहझैं लमतन्न छ बर्बराउँछ अचेतनमा फैलाउँछ हातहरू लर्बरिदै बोल्छ जिब्रो यही घडी होस् आखिरी घडी जीवन वरदान मागेको छ र ? यहाँ मर्ने श्राप सम्म छैन । युगयुगान्तर हिँडेथ्यो तेरै छाया भै तेरै मूर्ति भै तेरै काया भै तर आज के हो यो, परिस्कार ? तिरस्कार ? तर, अब आगो सल्किसकेको छ उठिसकेका छन् वैराज्ञका लप्काहरू चँुडिसकेका छन् भरोसाका धागोहरू अब जल्नेछन् ईश्वर र नश्वरहरू शेष रहनेछ त केवल शान्तिको गीत अनि फैलनेछ्न् यी हातहरू विश्वप्रेममा म, तँ जस्तो कठोर हुन्न । #सुबास बजागाइँ
बिर्खे: सहरको रोड म्याप: समय लगभग झिसमिसे एउटा ओरालो बाटो डुब्दै गरेको घाम, पहँेलिएको निलो आकाश चिसो चिसो हावा सन्ध्या कोलाज एउटा मान्छे हुत्तिएर उकालो चड्दै थियो नियालेर हेरे चिनिन पछि लाग्यो सबै मान्छे बिर्खे नै त हुन्छ निर्धक बोलाएँ ए बिर्खे कहाँ हिँडिस् ? ऊ टक्क अडियो मानौ ऊ कुनै अन्तर आवास खोजिरहेछ मेरो जवाफहरू एकैछिन है भने जसरी ऊ कोलाजमा देखिएको काठमाडाँै नियाल्न थाल्छ म हेरिरहेछु काठमाडौँ नियाल्दा उसका आँखाहरू रसाएका छन् झन् झन् पर नियाल्दा झन् झन् गहिरो भएका छन् उसको अनुहार मलिन भएका छन् तर ऊ रुन आटेको हैन ऊ भावुक भएको छ मेरो प्रश्न यति जटिल थियो र उसले जवाफ यती भेयवित खालको छ उसले काठमाडाँै नियाल्दै गर्दा उसको मलिन आँखाहरूमा मैले स्पष्ट देखेको थिए । उसको मायालु एक मुठ्ठा साग लिएर फुत्त गल्लीभित्र छिरेको छ ताजा जिन्दगी बोकेर उसको आमा सिठ्ठी लागेको प्रेसर कुकर आगोमा बसाउँदै त्यही जिन्दगी पकाउन खोज्दै छ । उसको बाबु पुरानो नयाँ कागजहरूमा त्यही जिन्दगी भेट्न खोज्दै छ अनी उसको मसिना भाई बहिनी भाडा कुटी मिलाउँदै त्यही जिन्दगी बनाउन खोज्दैछ म उसको जिन्दगीको बारेमा सोच्छु भन्दा भन्दै ऊ बोल्छ काठमाडौँ अब काठमडौँ रहेन साला काठमाडौँ अब काठमाडौँ रहेन यहाँको चोरका खन्तीहरूलाई पूजा गर्ने बानी छ तपस्या हैन । यहाँको भगवान् भनौदाहरूलाई हजुरिया चाहिएको छ सम्मान हैन यहाँको मगन्तेहरू मुर्दाहरूलाई कुलत लागेको छ आबस्त हैन यहाँको पैसा पोजेहरूलाई सँस्था चाहिएको छ सेवा हैन यहाँको मन्दीरहरूलाई भक्त चाहिएको छ देवता हैन बाग्मती बिष्णुमती र धोबी खोला देख्दा अब त रगत पनि रातो छैन जस्तो लाग्छ बन्दै गरेको सडक छेउ उभिँदा विकास हैन विनास जस्तो लाग्छ बीआइसीसी अगाडिको अग्लो घर चड्दा त्यो क्रान्ति थिएन आपराध थियो जस्तो लाग्छ । त्यो रगत लागेको बन्दुक खै कसले कहाँ पुर्यो त्यो सपना बोकेका मान्छे खै कसले कहाँ मार्यो ? घरैपिछे स्कुल कलेज छ मान्छे शिक्षित भएन । घरैपिछे मन्दिर छ मान्छे धर्मात्मा बनेन साला काठमाडौँ, काठमाडौँ रहेन । म झोलाको काठुवा झिक्छु उसको प्रसंग बदल्नलाई भन्न्ेछु तिमीलाई सहरले बिर्खे बनाएछ मलाई पहाडले बिर्खे बनायो आउ बिर्खे बिर्खे मिलेर बिर्को खोलुम । ऊ फेरि बोल्छ काठमाडौँ कुनै रक्सी भन्दा कम छ अब त मुटु पनि कडा पथ्थर जस्तै बनिसक्यो सानो तिनी बातलले कहाँ छुन्छ साला काठमाडौं कुनै रक्सी भन्दा कम छ । आनी लगा लग मेरो काठुवा ठाडो घाँटी लगाएर हुत्तिएर उकालोतिर लाग्छ म ऊ गएको बाटो हेर्छु । तिमीलाई सहरले बिर्खे बनाएछ मलाई पहाडले बिर्खे बनायो सायद तिमीले काठमाडौँ चाँडै छाड्यौ सायद मैले काठमाडौँ आउन अबेर गरे अब तिमी मेरो पहाड बुज्दै गर म तिम्रो सहर बुझ्दै गर्छु । तिमीलाई थाहा छैन सुत्केरी आमा रगत नपाएर मर्दा कस्तो महसुस हुन्छ भनेर एपेन्डीसाइटको बिरामी किड्नी बेचेर हेलीकप्टर चाटर गर्दा को बचाउनुको मार्नु भनेर पछि कुनैदिन भेटुला अनी तिम्रो सहर भन्दा भिन्न मेरो पहाड भन्दा भिन्न एउटा बिर्खे सहर बनाउन पर्छ एउटा बिर्खे सहर बनाउन पर्छ #सर्जु श्रेष्ठ
पुष्करका तीन मुक्तकहरू: १. सिकिन्छ अनुभवले र केही जमानाले पनि सिकाउँछन् बाजेबजै यी बुवाआमाले पनि जालिम छ दुनियाँ बुन्छ जालो माकुरीझैं सबै उदाङ्ग छ, छोपिन्न कुनै बहानाले पनि । २. बारम्बार काँधको बन्दुक देखाएर नथर्काऊ ! बाजेको तमसुक देखाएर किन गर्भमै ऋण बोकाउँछौ सरकार ? कोमामा देश राखी ढुकढुक देखाएर ! ३. आफ्नो आयु सन्तानलाई थपिदिन्छिन् आमा देउता भन्दा यिनकै नाम जपिदिन्छिन् आमा हजार दुःख मुटुभित्र पोको पारी राख्छिन् हाँसी–हाँसी खै कसरी ! खपिदिन्छिन् आमा ।। #पुष्कर रिजाल ‘पुष्प’
उपाध्यायले ल्याए कबाल्स एन्ड कार्टेल्स: पत्रकार, लेखक एवम् विश्व बैंकमा लामो समय काम गरेका राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक कबाल्स एन्ड कार्टेल्स सार्वजनिक भएको छ । बिहीबार आयोजित एक समारोहमा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरे । पत्रकार किशोर नेपाल मध्यस्तकर्ता रहेको कार्यक्रममा अर्थशास्त्री पौडेलले उपाध्यायको पुस्तकले नेपालले बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए । विश्व बैंकमा कर्मचारीका रुपमा काम गर्ने क्रममा उपाध्यायले देखेको समाज एवम् देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरुको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकमा चर्चा गरेको उनको भनाइ छ । पुस्तकले पछिल्लो समयको नेपालको अर्थराजनीतिक अवस्थालाई राम्रोसँग केलाएको उनको भनाइ छ । पुस्तकमा उपाध्यायले देशको बिग्रँदो अर्थतन्त्र, त्यसमा विदेशीहरुको भूमिका आदिलाई पनि सटिक रुपमा चर्चा गरिएको उनले बताए । कार्यक्रममा वुमेन लिडकी कार्यकारी निर्देशक विष्टले पुस्तकले नेपालको राजनीतिक एवम् आर्थिक परिवर्तनलाई उत्कृष्ट किसिमले वर्णन गरेको बताइन् । ‘यो पुस्तक उनीहरुले अवश्य पढ्नुपर्छ, जसले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न चाहन्छन्,’ उनले भनिन्, ‘पुस्तक अध्ययन गरेपछि मलाई एउटै शब्द बारम्बार आयो— गज्जब ।’ नेपाल आउने विदेशीहरुलाई नेपालका बारेमा बुझ्न सघाउने पुस्तक कुन दिऊँ भनेर सधैं दोधार हुने गरेको उनको भनाइ छ । तर अब उपाध्यायको पुस्तकले त्यो दोधार हटाइदिएको उनले दाबी गरिन् । विदेशी मात्र नभई नेपाललाई बुझ्न चाहने जोकसैले यो पुस्तक अध्ययन गर्नुपर्ने उनले बताइन् । कार्यक्रममा पत्रकार नेपालले उपाध्यायको यो पुस्तक समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए । ‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका पुस्तक धेरै छन्,’ उनले भने, ‘तर पनि ती पुस्तक पर्यटकीय चरित्रका छन् । राजीवले यो पुस्तकमा देशको यथार्थ अवस्था खुलाएका छन् ।’ उपाध्यायको पुस्ताले गर्न चाहेको र गरेका विषय पनि पुस्तकमा समेटिएको उनको भनाइ छ । पुस्तकको भाषा सरल एवम् सलल बगेको उनले बताए । देशको विगतलाई रि भिजिट गर्न पनि पुस्तक उपयोगी हुने उनको धारणा छ । उक्त अवसरमा लेखक उपाध्यायले पुस्तक लेख्नुका कारणबारे खुलाएका थिए । नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको उनले बताए । पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा देशमा धेरै परिवर्तन आए, विभिन्न संक्रमणको साक्षी हाम्रो पुस्ता भयो, तर परिवर्तनका लागि अहिलेको पुस्ताले उल्लेख्य काम गर्न नसकेको उनको भनाइ छ । सधैंको राजनीतिक खिचातानी, भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाए भन्ने विषयमा पाठकले थाहा पाऊन् भनेर पुस्तक लेखेको उनले बताए । अर्थराजनीतिको कटुयथार्थलाई बेवास्ता गर्दै विगतमा गरिएका राजनीतिक घटनाक्रमलाई आफूले यहाँ समेटेको उनले जानकारी दिए । पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले उपाध्यायको यो पुस्तकले नेपालको विकास एवम् अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् । #फाइन प्रिन्ट
नयाँ नियमसहित पुनः सुरू भयो मुक्तक प्रतियोगिताको चौथो चरण: सुरू भयो मुक्तक प्रतियोगिता: साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरू पुनः सुरू भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएकोमा दोस्रो प्रतियोगितास्वरूप चौथो चरणको मुक्तक आव्हान गरिएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प्रारम्भ भएयता हरेका साता मुक्तक र फोटो कविता प्रतियोगिताहरु भइरहेका छन् भने सरकारले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि निबन्ध प्रतियोगिता पनि सुरु भएको थियो । ‘लामो बाटो तय गर्न हिँडेको साहित्यपोस्टमा केही व्यवधान आएका थिए । अब हामी प्राविधिकरूपमा थप बलिया भएका छौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘केही साता प्रतियोगिता रोकिने कारण पनि भोलिका दिनमा त्यस्ता व्यवधान नआऊन् भन्ने थियो, अब ढुक्क भयौँ ।’ नयाँ नियमसहित चौथो चरणका लागि मुक्तक आव्हानः नयाँ नियमसहित साहित्यपोस्टले मुक्तक प्रतियोगिताको चौथो चरण सुरु गरेको छ । नयाँ नियम अनुसार एकपटक विजेता बनिसकेका मुक्तककारलार्इ प्रतियोगितामा पुनः सहभागी गराइने छैन । यसअघि यसका तीन चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । मुक्तक सम्पादक निसा केसीका अनुसार तीनै प्रतिस्पर्धामा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । त्यसैगरि उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ । मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनुभएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ । तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ । यो साताका तीन वटा विषय यसप्रकार रहेका छन् । पहिलो मुक्तकको विषयः प्रेम (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तकको विषयः विवाह (यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तकको विषयः सम्बन्ध (यसलाई छुने जुनसुकै विषय वा घटना) नियमहरू: — सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । – एकपटक पुरस्कृत भइसकेका मुक्तककारलार्इ प्रतियोगितामा समावेश गरिने छैन । (थप गरिएको) — यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको बिहीबार (साउन २९ गते) रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्; पहिलो मुक्तकको विषयः प्रेम (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तकको विषयः विवाह (यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तकको विषयः सम्बन्ध (यसलाई छुने जुनसुकै विषय वा घटना) यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ । #मुक्तक प्रतियोगिता
कोही आफैँभित्र जाने बाटो खोज्दै, कोही हजुरामाका कहानीमा खित्का छोडेर हाँस्दै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्नेछौँ स्वस्थानी कार्की : लगभग एक वर्ष पहिले एउटा हिन्दी चलचित्र हेरेको थिएँ, “ट्रयाप्ड” । जसमा एक जना व्यक्ति थुप्रै दिनको लागि एउटा अपार्टमेन्टमा थुनिएका थिए । त्यो फिल्म सक्किदा म निकै आत्तिएको थिएँ, र सोचेको थिएँ- ‘कोही महिनौँको लागि थुनिएर कसरी बाँच्छ होला ?’ यो लक डाउन पनि सुररूसुररूमा मेरो लागि त्यही फिल्मको सिन जस्तै भएर आएको थियो । चामल, दाल, तरकारीको अभाव नै त भएको थिएन, तर चामल, दाल, तरकारी, छत मात्र जिउनु रहेनछ । लकडाउन भएको एक महिना जति त मजै आयो । लाग्यो, क्या लाइफ छ ! न काम गर्नु परेको छ, न पढ्नु परेको छ । आनन्दले घरमा बस्यो , फेसबुक चलायो, मन परेको फिल्म, सिरिज हेर्यो, किताब पढ्यो, गीत सुन्यो, नयाँ नयाँ परिकार पकाउन सिक्यो । अझै त्यतिबेला त घरकाले पनि केही नभन्ने, जतिखेर सुत, जतिखेर उठ, काम नै के छ र ? न केही टेनसन लिनुपर्ने, न घर फर्किदा गाडीभित्र हुने ठेलमठेल सहनु पर्ने । वाह ! सँधै यस्तै भैदिराखे हुने जस्तो पनि लाग्यो । तर बिस्तारै लक डाउनको अवधि थपिदैजाँदा त्यो मजा, त्यो उत्साह पनि घट्दै जान थाल्यो । लक डाउन एक महिना, दुर्इ महिना, तीन महिना गर्दै थपिन थालेपछि सबैथोक मोनोटोनस हुँदै जान थाल्यो । कति बस्ने घरभित्र ? कति हेर्ने एउटै मान्छेहरूको मुख ? कति चलाउने फेसबुक पनि ? कति पकाउनु ? कति हेर्नु फिल्म ? सबैबाट वाक्कदि स्वस्थानी कार्की क्क लाग्न थाल्यो । न कुरा गर्नलाई केही नयाँ विषय न त पुरानै कुरा सुनाउनलाई नयाँ अनुहारहरू । बिहान दालभात र बेलुका चाहिँ भातदाल खाए जस्तै हुन थाल्यो दैनिकी । विस्तारै म फ्रस्टेट नै हुन थालेँ । समाचार सुन्यो, कोरोना केस थपिएका कुरा, सुसाइडका कुरा बाहेक केही नहुने । यस्तो परिस्थितिमा मेरो मानसिक स्थिति एकदमै मन्द हुन थाल्यो । म जे कुरा पनि बढी सोच्न थालेँ र अन्त्यमा सधैँ नकारात्मक निर्ष्कषमै पुग्न थालेँ । कतिपल्ट त आफ्नो घरपरिवारसँग निहुँ नै नभर्इ पनि झगडा गर्थेँ । उहाँहरूलाई पनि त्यस्तै भइरहेको हुँदो हो । यो सबै बढ्दै जान थालेको थियो र म आफ्नै लागि एकदम टक्सिक हुँदै थिएँ । लक डाउनको तेस्रो महिना चल्दै थियो, म दिक्क मानेर बसिरहेको थिएँ । युट्युब हेर्दै जाँदा मैले एउटा भिडियो भेट्टाएँ, जसको टाइटल थियो, “द आर्ट अफ डुइङ् नथिङ्” । मलाई टाइटल नै एकदम मन पर्यो र खोलेर हेरेँ । त्यो भिडियो मेरो लागि, गर्मीमा सीतल हावा, जाडोमा न्यानो आगो जस्तै भएर आयो । त्यहाँ सधैँ केही न केही गर्नैपर्छ भन्ने छैन, प्रकृतिले हामीलाई “तँ सँधै प्रोडक्टिभ हुनैपर्छ” भनेर जन्माएको हैन भन्ने जस्ता थुप्रै कुराहरू थिए । म त्यो हेरेर दङ्ग परेँ । सोचेँ- म किन यति प्रोडक्टिभ हुने कोसिस गर्दैछु ? त्यसैबेलादेखि मैले जबर्जस्ती केही गर्न छाडिदिएँ र त्यही छाडेकै बेलादेखि मेरो मन, मस्तिष्क र शरीरलाई आरामको अनुभूति हुन थाल्यो । भोलिपल्ट बिहानैदेखि मलाई फेरि सास फेरे जस्तो लाग्यो । मैले सोच्न कम गरिदिएँ । म छतमा गएर गहिरो, नीलो, अनन्त आकाशलाई हेरेर बस्न थालेँ । मलाई लाग्यो- म बाहिर पो जान सक्दिनँ, भित्र जान त मलाई कसैले पनि रोकेको छैन । मैले आफुभित्र जाने बाटोहरू खोज्न थालेँ । फेसबुकमा साथीहरूको पोष्ट हेर्थेँ, धेरै जस्तो हावादारी भए पनि कुनै कुनै साँच्चीकै धेरै रिलेटेबल र प्राक्टिकल हुन्थे । मलाई लाग्यो, म जस्तै आफुभित्र जान चहानेहरू पनि धेरै रहेछन् । उनीहरू मेरो प्रेरणाको स्रोत पनि बन्दैगए । मलाई फेरि पकाउन मन लाग्यो तर जबर्जस्ती कुनै नयाँ परिकार होइन । पहिला जे पकाउँथेँ त्यही नै तर मन कस्तो चङ्गा जस्तो हुन थाल्यो पकाउँदा मात्रै पनि । पहिले कहिल्यै मीठो छ नभनेकी मेरी बहिनीले समेत खाना मिठो छ भन्न थाली । यही खुसी थियो मेरा लागि । साथीहरूबाटै प्रेरित भएर मैले गार्डेनमा धनियाँ, पुदिना, खुर्सानी रोपेँ । दिनदिनै म तिनीहरूलाई हेर्थेँ र तीनै बिरुवाको हरेक पातसँगै मभित्र पनि एउटा नयाँ म पलाउँदै जान्थ्यो । सारा जगत किन प्रकृतिको गीत गाउँछ भनेर मैले तब बुजेँ जब मलाई माटो खेलाउँदा खेलाउँदै त्यही ओसिलो माटोमै समाहित हुन मन लाग्यो । र निथ्रुक्क भएर फेरि जरैबाट पलाउन मन लाग्यो । लक डाउनभरिमा मलाई बिरुवासँग एकदमै धेरै लगाव हुन थाल्यो र मैले कोसिस पनि गरेँ सासाना मिनिएचर रूखहरू बनाउन, जसलाई बोन्साई भन्छन् । मैले एउटा सानो सृष्टि बनाएँ । मलाई त्यसको माया त्यति नै लाग्छ जति कुनै आमालाई बच्चाको लाग्छ । बिरुवाहरूबाहेक मलाई रङ्गहरू पनि प्यारा लाग्न थाले । म नजानी नजानी भए पनि रङ्गहरूसँग खेल्न थालेँ । मलाई पनि मेरो जिन्दगी सबै रङ्ग मिस्सिएपछिको सेतो रङ्ग बनाउन मन लाग्यो । हरेक पेन्टिङ् सकिदा मेरो हाँसो कानसम्म पुगेको हुन्थ्यो । अहिले पनि हुन्छ । मैले आफूभित्रको ‘म’लाई चिन्न थालेँ । मैले मेरो साइकोलोजिकल स्थितिसँग पनि राम्रोसँग नजिक हुने मौका यही लक डाउनले गर्दा पाएँ । मेरा बानीव्यवहारहरू किन यस्तो छ ? म यसलाई कसरी आफ्नो अधिनमा राख्न सक्छु ? भन्ने कुरा सिकेँ । यही कुराहरू थाहा पाउने क्रममा नै मैले मभित्र भएका ट्रमा र डरहरूबारे पनि थाहा पाएँ । जसले गर्दा अहिले आफैँदेखि त्यति अचम्म लाग्दैन जति पहिले लाग्थ्यो । मैले आफ्ना ट्रमाहरूको बारे एउटा आर्टिकल पनि लेखेँ, जसलाई धेरै जनाले मन पराइदिनुभयो । मैले बुझेँ कि यी सब कुराहरू सहने म एक्लै होइन रहेछु । मैले यस्ता गीतहरू सुनेँ जुन सुनेपछि हृदयले गुनगुनाइरहन्छ । मैले मान्छेहरूलाई हेर्ने दृष्टिकोण बदल्न मात्र हैन न्यून नै गर्दिएँ । म किन हेरुँ अरूलाई ? अङ्ग्रेजीको एउटा दिव्य मन्त्र छ “माइन्डिङ वन बिज्नेस्” । म त्यसैलाई मनन् गर्न थालेँ । जज्मेन्टल मान्छेहरूबाट टाढै रहनु, र मन परेकालाई मनले पूजा गर्नु भन्ने ज्ञान, मेरो यो लक डाउनको सबैभन्दा ठूलो उपलब्धी हो । आफूभित्रको रुद्रलाई चिनेँ र आफैँभित्रको कृष्णलाई पनि चिनेँ । यसरी यो लक डाउनमा म घर भित्रैबसेँ, आफू भित्रै बसेँ र पनि योभन्दा पहिले सायदै मैले यति स्वतन्त्र, यति हलुँगो महसुस गरेँ हुँला । यति धेरै सिकेँ हुँला । स्वर्निम (किसन) कार्की: स्वर्निम (किसन) कार्की बिहान खेतबारीको काम, दिउँसो अफिस अनि बेलुका घरमा आएर समय बितिरहेको थियो । परिवारसँग भन्दा बढी बाहिर समय बित्ने गर्थ्यो । सहरको कोलाहल वातावरण अनि धुलो धुवाँसँगै लिइरहेको अक्सिजन । विभिन्न समाचारका माध्यमहरूबाट विश्वभरि फैलिएको कोरोना र त्यसले मानव जीवनमा गरेको असर सुन्दा मनमा एकप्रकारको डर नै थियो । सहकारी तथा बैंकिङ कार्यालय संचालन भइरहेको हुँदा आफ्नो कामतिर लागिरहेको थिए। चैत १० गतेसम्म बजार बजार पुगेर ग्राहकहरू समक्ष दैनिकी कारोबारहरू चलिरहेको थियो। भोलिपल्ट सरकारले लक डाउन गरेलगत्तै पूरा देशभरि नै बन्दाबन्दी भयो । लकडाउन भएको केही दिन त समय कटाउनै एकदम गार्\u200dहो हुन्थ्यो । कलेजका साथीहरू पनि आ-आफ्नो घर गइसकेका थिए। खेतबारीको काम बिहानै सकिन्थ्यो भने दिउँसो चाहिँ फिल्म हेरेर, सामाजिक संजालमा सक्रिय भएर समयहरू बित्थे । लक डाउनले गर्दा दैनिक गुजारा गरेर छाक टार्ने मान्छेहरूको पीडा तथा आफ्नो घर जाननपार्इ बीच बाटैमा अलपत्र परी दु:ख पाएको खबर सुन्दा एकदमै नरमाइलो लाग्थ्यो । अरनीको राजमार्ग हुँदै धेरै मानिसहरू आआफ्नो घर हिँडेर गएका दुई आँखाले एक चित्त भएर हेरिरहन्थ्यो । कोहीको चप्पल चुँढिएर तातो घाममा खाली खुट्टाले हिँड्न बाध्य थिए भने कोही प्यासले प्याकप्याकी हुँदै भारी बोकेर हिँड्दै थिए । यी सबै दृश्यहरू प्रत्यक्षरूपमा देख्दा मनमा च्वास्स सियोले रोपेको जस्तै भान हुन्थ्यो। त्यसपछि धुलिखेलको हस्पिटल चोकमा केही साथीहरू मिलेर बाटोमा हिँड्ने दाजुभाइ तथा दिदीबहिनीलाई पानीको व्यवस्था गर्न पाउँदा र उहाँहरूसँग कुरा गर्न पाउँदा मनमा छुट्टै प्रकारको आनन्द आउथ्यो । जुन आनन्द मैले योभन्दा अघि अनुभव गरेको थिइनँ। जेठ महिनाको आगमनसँगै धानको बीउ राख्ने र रोपाइँ सुरू हुन थाल्यो। हिलोले एकअर्कालाई छ्याप्दै, लड्दै, हाँसोठट्टा गरी गीत गाएर मेलापातमा साथीभाइसँग खुसीका पलहरू बिताउने मौका पाएँ । जुन मेरो जीवनकै एक अविस्मरणीय खुसीको पल बन्न पुगेको थियो। हजुरआमा बिगत एक वर्षदेखि प्यारालाइसेसले गर्दा थला पर्नुभएको छ। उहाँसँग भलाकुसारी गर्न पाउँदा एकदमै रमाइलो भयो। उहाँले पहिल्यै पहिल्यैको कुरा गर्दागर्दै हामी दुवै खित्का छोडेर हाँसेका थियौं। समय यसरी नै चलिरहेको थियो। बेलाबेलामा कविता र गीतहरू लेख्ने गर्थेँ । तर खासै मन भने चाहिँ लाग्ने थिएन । त्यस्तै जेठको दोश्रो साता हुनुपर्छ, म फेसबुक चलाइरहेको थिए। एउटा दाइले साहित्य क्षेत्रका आदरणीय गुरु महेश पौड्यालको कविता सेएर गर्नुभएको रहेछ। उहाँको कविता हेर्नेबित्तिकै प्रभावित भएँ । अनि उहाँको प्रोफाइल हेर्दै गएँ । उहाँसँग कुराकानी पनि गर्न थालेँ । बिस्तार बिस्तारै महेश सरसँगै कविता लेखनमा पनि मन ढल्किन पुगेछ। थाहा नै भएन, म पनि कविता लेखन र वाचनमा आकर्षक हुँदै गएछु। म कविता लेख्नेबित्तिकै महेश सरसँग सेएर गर्थेँ । मैले नजानेका कुराहरू सिकाउनु भएसँगै सुधार्नुपर्ने गल्तीहरूका बारेमा पनि बोध गराउनु हुन्थ्यो । अनि माया पनि । उहाँको माध्यमबाट साहित्य जगतका अग्रजहरूसँग समाजिक संजालमा जोडिने मौका पाएँ । जुन कुरालाई म आफ्नो उपलब्धी ठान्दछु । जसले गर्दा “कविता भनेको वास्तवमा यस्तो हुनुपर्छ, कसरी आकर्षक बनाउन सकिन्छ?” भन्ने कुरा पढ्न र बुझ्न पाएँ । आजकल म साहित्यतर्फ निकै तानिएको छु। बिगतका अविस्मरणीय घटनालाई आफ्नो कलमले उतार्न र राष्ट्रको समयसापेक्ष अनुपयुक्त रणनीति तथा निर्णयहरूलार्इ कविताका माध्यमबाट आवाज उठाइरहेको छु। दिनदिनै भइरहेको आत्महत्या, एसिड प्रहार तथा बलात्कार जस्ता समाजिक विषयमा न्याय र सुरक्षा व्यवस्थाका लागि सरकारको ढोका ढकढक्याइरहेको छु। लक डाउनअघि म पूरा खाली थिएँ, आफ्नो कुनै खुबीलाई बुझ्न सकेको थिइनँ । तर लक डाउनले गरेको खाली समयमा स्वयम् आफैँलार्इ चिन्न सकेँ । जुन मेरो लागि सबैभन्दा ठूलो उपलब्धी भएको छ । #नवपुस्ता
मन छ: डम्बर बिकेल दामी हुन मन छ मलाई नामी हुन मन छ मुटु साटी तिमीसँगै बदनामी हुन मन छ मात लागोस् तिमीलाई बात लागोस् अनि दुनियाँ छाडी तिम्रै मायामा हरामी हुन मन छ चाहे प्रेमभोगी बन चाहे प्रेमरोगी बन संसारै भुली तिम्रै मायामा बिरामी हुन मन छ #डम्बर बिकेल
न्याय: प्रवीण भट्ट श्रीमान्! सम्पूर्ण गवाह र सबुत प्रमाणलाई साँची राखी प्रतिवादी ‘क’ ले सफाई पाउनुपर्छ। प्रतिवादी ‘क’ हत्या! बलात्कार! लुटपाट! श्रीमान्! प्रतिवादी ‘क’ ले कुनै छुटकारा पाउनु हुँदैन, समाज ‘क’ देखि डराएको छ समाज ‘क’ लाई स्वीकार्न सक्दैन यी प्रतिवादी समाजको रोग हुन। श्रीमान्! कलिलै उमेरमा बिटुलिएकी मेरी बैनीको आँसुलेः उसको जन्मकैद माग गर्दछ। दुई अबोध बालकका पिताको लासलेः उसलाई थुन भन्छ। लाहुरबाट कमाएर ल्याएको मिहिनेतको फल, जसरी उसले निमिट्यान्न पार्यो, उसले पनि थुन भन्छ। सजाय होस्, जसरी भए पनि सजाय होस्, कानुन अन्धो नबनोस्। श्रीमान्! अदालत सबुत प्रमाण खोज्छ, खै सबुत? खै प्रमाण? गोहीका झुटा आँसुले कसैलाई थुन्न मिल्दैन, प्रतिवादी ‘क’ छुट्नैपर्छ, छुट्नैपर्छ। श्रीमान्! “प्रतिवादी विरुद्धका प्रमाण।” (वकिलले प्रमाण देखाउँछ) -घन्टी बज्यो, अदालत २ बजे लाग्नेछ २ बजेः विद्वानज्यू, सम्पूर्ण सबुत प्रमाण हेरेपश्चात् प्रतिवादीविरुद्ध कुनै ठोस प्रमाण नभएको ठहर्न जान्छ। प्रतिवादी ‘क’ को रिहाईको बन्दोबस्त गर्नु। #प्रवीण भट्ट
शताब्दी पुरुष जोशी निवासमा कृति विमोचन: साहित्यपोस्ट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवास ललितपुरमा दुई पुस्तक विमोचन गरेका छन् । उनले साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तका दुई कृति ‘ जयपुरदेखि पुरीसम्म ‘ (नियात्रासङ्ग्रह) र ‘ पुर्खाको बाटो ‘ (नियात्रोपन्यास) विमोचन गरेका हुन् । सो अवसरमा जोशीले नेपाली नियात्रा साहित्यमा पन्तको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै साहित्यिक पत्रकारिताको विकासमा पनि पन्तको समर्पण बिर्सन नहुने बताएका थिए । कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा. रामप्रसाद दाहाल, डा. लेखप्रसाद निरौला र यादव भट्टराईले रामप्रसाद पन्तको कृतित्व र व्यक्तित्वका बारेमा आफ्नो धारणा राखेका थिए । कृतिकार पन्तले रोग सङ्क्रमणको यस्तो विषम परिस्थितिमा पनि आफ्नो निवासमै बोलाएर कृति विमोचनको अवसर दिएकोमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति कृतज्ञता व्यक्त गरेका थिए । कृतिकारले बन्दाबन्दीको समय आफ्ना कृति प्रकाशनका निम्ति अनुकूल भएको साहित्यपोस्टसँग बताए । अठार नियात्रा विधाका कृति प्रकाशन गरिसकेका पन्तका विभिन्न विधाका बत्तीस कृति प्रकाशित छन् ।
सेता दिनहरू: दूर क्षितिजबाट सर्दै सर्दै एकनाश चलिरहेको जिन्दगी तर्साउन हाम्रो जस्तै थुप्रै सपनाहरू भत्काउन खुला आकाशमुनिको घरमा निर्भीक पस्छ सेता दिनहरू । हामी बार्न चाहान्छौँ यताउता चारैतिर बैंसले उन्मुक्त साढेहरू जुद्छन निर्बाङ्ग बारहरू भत्काउँछ छिर्छ अनि आगोको राप जस्तै ज्वरो फुटाउँछ स्वास बन्द गराउँछ ढलाउँछ र खेलाउँछ मान्छेबाट मान्छे त्रसित हुने खेल अचम्म लाग्दो उद्धेक लाग्दो गाउँ सहरमा मानवियता नै सङ्कटमा पार्छ सेता दिनहरू । कति कति मान्छेहरू बिना कसुर मसानघाट पुगे कतिका रोजिरोटी खोसिए आफ्नै देश जान आफ्नै घर जान लामा आख्यानमा अल्झदै अव्यवस्थित क्वारेन्टिनमा आँखा रातो पार्दै बिरानो देशको जस्तै निम्छरा अनुहारहरूले एक फाको चिउरामा महिनौं पाइताला गलाए तापनि आफ्नै देश आफ्नै गाउँ टेक्न पाएन सेता दिनहरूमा । अखबारको पानाभरी फेसबुक टुइटरको वालभरी भ्रष्ट शासकका कुकार्यहरू छरपस्ट सुनिन्छ र देखिन्छ ज्यानको बेपर्बाह बन्दाबन्दीमा हुलहरू घण्टाघर, माइतीघर र रत्नपार्क तताउँछ गुमनाम उनीहरू पिसिआर आरडिटीको दायरा बढाएको उद्घोष गरिरहन्छ बेसार पानीको उखानले हाँसोको फोहरा छुटाउँछ उता रोगले भन्दा भोगले डर त्राशले सङक्रमित बढिरहन्छ ढुकुटी रित्तियो चुल्हो बल्दैन के हामी अनागरिक हौँ सरकार ? सेता दिनहरूमा । #बाबुराम श्रेष्ठ
‘प्रेक्षित’ का चार पुस्तक बजारमा: साहित्यपोस्ट प्रध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ का चार पुस्तक बजारमा आएका छन् । उपाध्यायका म, माटो र मुटुु, काव्य परिशीलन, आरम्भ र आलोचनात्मक भूूमिकाहरुगरी चार पुस्तक बजारमा आएका हुन् । म, मुटु र माटो कवितासंग्रह हो । यसमा भएका कविताहरुमा देशभक्ति, माटोप्रतिको माया र समसामयिक, सामाजिक र राष्ट्रिय जीवनका अनुुभूतिहरुलाई प्रस्तुत गरिएको छ । यसमा ४० ओटा कविताहरु समावेश गरिएका छन् । आलोचनात्मक भूूमिकाहरु भूूमिकासंग्रह हो । यो पुस्तकमा विभिन्न व्यक्तिका कृतिमा समय समयमा लेखेका भूमिकाहरुलाई समावेश गरिएको छ । यसमा एक्काईस ओटा भूमिका संकलन गरिएको छ । आरम्भ हाइकु संग्रह हो । यसमा २०५० देखि आजसम्म विभिन्न समयमा लेखिएका २११ ओटा हाइकुुहरु संकलित छन् । काव्य परिशीलन समालोचना हो । यो काव्यसमीक्षामा आधारित समालोचनात्मक ग्रन्थ हो । यस समालोचनामा कविता काव्यसँग सम्बन्धित सिद्धान्त र परम्परापरक, स्रष्टापरक तथा कृतिपरक ढङ्गले अध्ययन गरिएका बाह्र ओटा लेखहरु समावेश गरिएका छन् ।
एसिडको सिड: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । प्रस्तुत लेख हामीले कान्तिपुरको शनिबारीया विशेष काेशेलीबाट साभार गरेका हाैँ । काेशेलीका लागि यो लेख श्रेयज सुवेदी ले तयार पार्नुभएको हो । तपाईँले यो सामग्री कान्तिपुर दैनिकमा पढ्न यहाँ क्लिक गर्नुहाेस् । …………………………………………… लास भएर जल्नु र सास भएर जल्नुको बीचमा एउटा ठूलो पीडाको पहाड हुन्छ । चियाले ओठ पोल्दा चम्चाले भात खानुपर्ने हामीले जसको आकारलाई अनुमान पनि गर्न सक्दैनौँ । जिउँदै जलेकाहरू जल्दै जिउँदै छन् । एउटा यस्तो जीवन, जहाँ आफैँलाइ प्रेम गर्न पनि ‘नाइँ’ भन्नुपर्छ । स्वयम्लाई स्विकार्न पनि संघर्ष गर्नुपर्छ । आफ्नै आकृतिसँग आत्तिनुपर्छ । हरेक बिहान ऐनामा अरूलाई देख्नुपर्छ र मान्नुपर्छ ‘आफू’ । आफैँसँगको लडाइँ महाभारतभन्दा ठूलो हुन्छ । आफूमा अरूलाई देखेर/लिएर जिउन सक्ने आँट सबैको आँतमा हुँदैन । एसिड एट्याकमा परेको व्यक्ति भिक्टिम हैन ‘सर्भाइभर’ हो, जो हरेक दिन परीक्षा दिन्छ र सधैँ ए प्लस ल्याएर पास हुन्छ । एसिड आक्रमण जघन्य अपराध हो । अपराधमा लैंगिकता हुँदैन । जसले गरे पनि, अपराध मात्र अपराध हो । तर… सधैँ महिला नै किन ? सधैँ अनुहार नै किन ? ८७ प्रतिशत आक्रमण महिलामाथि र ९५ प्रतिशत आक्रमण अनुहारमाथि नै किन ? एसिड आक्रमणलाई अन्य अपराधजसरी हेर्नॅ भनेको यसलाई बढावा दिनुसरह हो । के हामीले यस्ता हरेक घटनामा ‘कसरी सकेका’ भनेर कमेन्ट पास गरिरहँदा, ‘किन सकेका’ भनेर आफैँलाई प्रश्न गरेका छौं ? यदि तपाईंले आफ्नो छोरालाई ‘मर्दले रुनु हुँदैन’ भनेर सिकाउनुभएको छ भने, एसिड आक्रमण गर्न सक्ने हातहरू तपाईंकै वरिपरि पनि हुन सक्छन् । म भन्छु नि कसरी हुन सक्छन् ! बुबालाई बैठकमा रिमोटसँग र आमालाई भान्छामा डाडुसँग देखेर हामी हुर्केका हुन्छौँ । बुबालाई हरेक निर्णयमा आदेशसहित अगाडि हात हल्लाउँदै र आमालाई हरेक निर्णयमा ‘हुन्छ’ भन्दै पछाडि टाउको हल्लाउँदै गरेको देखेर हामी हुर्केका हुन्छौँ । अभिभावकको फरक भूमिका र मौन स्वीकृतिमा आमाको स्थान स्वतः तल पर्छ । बिस्तारै हुर्किंदै जाँदा बुबाले आमालाई गरेको व्यवहार हामी दिदी/बैनीलाई गर्न थाल्छौँ । यहाँसम्म आइसक्दा, हामीमा छोरा/छोरीले गर्ने काम र व्यवहार फरक हुन्छ भन्ने अज्ञान पलाइसक्छ । फरक छुट्याउन हामीले ‘कान्तिपुर’ को ‘कोपिला’ मा होइन, घरमै सिकेका हौं । स्कुलबाट भागेर खोलामा पौडी खेल्न जाँदा, घर र स्कुलको एकोहोरो बाटो, बैनी हिँडेको देखेका हुन्छौँ । ‘छोरो मान्छे बलियो हुन्छ’, ‘छोरो भएर रुनु हुन्न’, ‘छोरो मर्द हो’ जस्ता सर्वोच्चता हामीमा पसिसकेको हुन्छ । दिदीबैनीलाई ‘यो गर त्यो नगर’ भनेर छेकबार लगाउन सिपालु भैसकेका हुन्छौँ । दमन गर्न खोज्ने चरित्र मौलाइसक्छ । अपेक्षाविपरीत ‘नाइँ/हुँदैन’ सुन्दा इगोमा हर्ट हुने प्रवृत्ति विकास भइसकेको हुन्छ । मै हुँ भन्ने भाव बिस्तारै हावी हुँदै जान्छ । घरमा भएको/गरिने महिलाप्रतिको व्यवहार बिस्तारै उसले छिमेकमा पनि देख्दै–बुझ्दै जान्छ, जसलाई उसले तुलना गरेर सामान्यीकरण गर्न सक्ने भइसक्छ । र, अन्ततः उसमा महिलाभन्दा पुरुष माथि हो भन्ने भावनाको विकास हुन्छ । उसले समाजमा बोक्सीको आरोपमा महिलाहरू बहिष्कारमा पर्दा, बोक्साको आरोप खेपेको कुनै पुरुष देख्दैन । बलात्कारको घटनामा सधैँ महिलालाई नै पीडित देखेको हुन्छ । दाइजोको निहुँमा कुनै भिनाजु जलेको देखेको हुँदैन । अनि ‘महिलालाई जे गरे पनि हुन्छ’ भन्ने कन्सेप्ट उसको दिमागमा आफैँ निर्माण हुँदै जान्छ, जहाँबाट पैतृक पुरुषत्वको कीटाणुले अण्डा पार्न थालिसकेको हुन्छ । जुन अण्डा कतै ठूलो स्वर, कतै छेकबार, कतै दमन त कतै हिंसाको रूपमा फुटिरहेका हुन्छन् । जसको स्वभाव मात्र फरक देखिन्छ, डीएनए एउटै । यसरी हामीले एसिडको सिड (बीउ) ‘राजा बेटा’ नामको गमलामा आफ्नै घरमा/व्यवहारमा हुर्काइरहेका हुन्छौँ, जसमा परिवेश र घटनाक्रमले मलजल दिइरहेको हुन्छ । ब्रेकअपपछि राजीवले मलाई चोकको चिया पसलमा बोलायो । माया गर्ने मान्छे टाढा हुँदा उसमा भावुकता हुनुपर्ने तर उसमा रिस थियो । आँखामा आँसु हुनुपर्ने, बदला थियो । ‘म लाइफप्रति सिरियस भइनँ रे । बच्चाजस्तो भएँ रे । त्यसलाई म देखाइदिन्छु, यो बच्चा कसरी बाउ बन्छ । हाम्रो सेक्स भिडियो भाइरल गर्दिन्छु । जिन्दगी बर्बाद बनाइदिन्छु ।’ हामी सबै साथीले उसलाई ‘गलत हो’ भनेर नभनेको भए उसको सोचले कुनै दुर्घटना निम्त्याउँथ्यो । कसले सिकायो राजीवलाई यति ठूलो कुरा सोच्न र सार्वजनिक रूपमा बोल्न ? सायद उसको काकाले, जो सधैँ रक्सीको तालमा श्रीमतीलाई भुत्ल्याउँदै घरबाहिर निकाल्थे । ऊभित्र दुःख पनि थियो होला । तर, कसले सिकायो उसलाई दुःख दबाएर रिस देखाउन ? सायद उसको बुबाले, जो ऊ रुँदा सधैँ ‘छोरीजस्तो रुन्छन् गोरु’ भन्दै हर्कार्थे । सञ्जिताले राति फोन गरेर पुरानो दिन सम्झँदै आधा समय रोएरै कुरा गरी । कसले सिकायो उसलाई रुन ? सायद उसको आमाले, जो बुबाको हरेक थप्पडलाई बिनाप्रतिउत्तर, सारीको सप्कोसँग शेयर गर्थिन् ! किन केटीहरू भन्न सक्दैनन्– ‘भिडियो भाइरल गर्दिन्छु ।’ किन केटाहरू भन्न सक्छन्– ‘जिन्दगी बर्बाद गर्दिन्छु ।’ सबैको उत्तर एउटै होला– केटीहरू भावुक हुन्छन्, कमजोर हुन्छन् । तर, सही उत्तर यो हो कि भावुक र कमजोर बनाइन्छन् । केटीहरूलाई कमजोर देखेरै केटाहरू बलियो बन्छन् । सुवास दाइले रिजेक्सनपछि निकिता दिदीको झ्यालमा ढुङ्गा हान्दियो । दिदीको ब्वाइफ्रेन्ड छ भन्ने जानकारी पाएपछि कलेजको ट्वाइलेटमा नानाथरी अपशब्दसहित नम्बर लेख्दियो । अझ नपुगेर म्यासेन्जरमा आफ्नो लिङ्गको फोटो खिचेर हाल्दियो । फोन गरेर हैरान बनायो । दाइलाई ‘नो’ पचेन । इग्नोरले इगो मसाज गर्\u200dयो । यति धेरै हिम्मत कहाँबाट आउँछ ? इगोको सगरमाथा बनाउन कसले मद्दत गर्छ ? एसिड आक्रमणका पात्र र घटना फरक होलान् तर प्रवृत्ति एउटै हो । बदला भावको मात्रा फरक होला तर ढाँचा एउटै हो । नत्र सन् २०१० पछि भएका २६ वटा एसिड आक्रमणमा २५ वटा आक्रमणकारी पुरुष मात्र किन भए ? नत्र मुस्कान खातुनको मुस्कान खोस्ने हातहरू मात्र १५ वर्षका किन थिए ? हेटौँडाकी बिन्दबासिनीलाई व्यस्त बजारमा आफ्नै पसलमा बसिरहेको बेला एसिड छ्यापियो । अपराध थियो, केटाको प्रेमप्रस्ताव रिजेक्ट गर्नु । संगीता र सीमालाई राजधानीको वसन्तपुरमा ट्युसन सेन्टरभित्र पसेर एसिड आक्रमण गरियो । गल्ती थियो, केटालाइ इग्नोर गर्नु । चितवनकी वसन्ती परियारलाई तरकारी किन्न बजार जाँदा एसिड हानियो । भूल थियो, बिहेको प्रस्ताव अस्वीकार गर्नु । जेनी खड्कालाई घरमा बस्दा आफ्नै पतिले प्रहार गरे । अपराध थियो, लोग्नेको सबै कुरामा टाउको नहल्लाउनु । रौतहटकी सम्झना र सुस्मिता दासलाई छिमेककै मान्छेले घरमा सुतेको अवस्थामा एसिड फ्याँक्यो, जसमा सम्झनाको उपचारको क्रममा मृत्यु भयो । गल्ती थियो, भनेबमोजिमको प्रस्ताव अस्वीकार गर्नॅ । वीरगन्जकी १४ वर्षकी मुस्कान खातुन, जसलाई आफैँसँग पढ्नेले मान्छे देखेन । भूल थियो, उसको प्रेम प्रस्ताव अस्वीकार गर्नु । र, अहिले पवित्रा, जसले फेरि पनि कुनै छोरामान्छेको प्रेम प्रस्ताव लत्याएको अपराधमा सजाय भोग्नुपर्\u200dयो । हाम्रो समाजमा हत्या सामान्य हो तर प्रेम प्रस्ताव अस्वीकार गर्नु ठूलो अपराध । र, अस्वीकार गर्ने हरएक केटी अपराधी । आक्रमणमा परेका चेलीहरूले आक्रमणभन्दा चोटिलो, चारित्रिक विश्लेषकहरूको विशेषण स्वीकार गर्नॅपर्छ । मर्यादामा नबसेको अनुमानित कारण खोली आक्रमणलाई जायज हो भन्ने बहस पनि चल्ने गर्छन् । अपराध जायज हुने हाम्रो समाजमा केटी हुनुचैँ नाजायज मानिन्छ । हरेक अपराधको उद्देश्य हुन्छ । हत्यामा अपराधी महिला/पुरुष दुवै देखिएका छन् । के एसिड आक्रमणमा पनि अपराधी दुवै देखिएका छन् त ? सबै अपराधलाई एउटै ठाउँमा राखेर पीडक र पीडितको मेजोरिटी विश्लेषण गरिएन भने समस्या र समाधानसम्म के हामी पुग्न सक्छौँ ? यदि होइन भने, एसिड आक्रमण अनुहारमा मात्र किन भैरहेको छ ? अनुहार बिगार्नॅपछाडिको अपराधीको उद्देश्य के हो ? बदला भाव किन अनुहारमै पोखिएको छ ? एसिड आक्रमणमा पारिवारिक/सामाजिक पक्षको वास्तिविकता भयावह छ, जुन हामी सबैले बुझ्न, पहिचान गर्न र स्विकार्न जरुरी छ । र, प्रश्न गर्न जरुरी छ— एसिड आक्रमण, ‘मात्र अपराध’ कि ‘पैतृक पुरुषत्वको उपज’ ? *** म करिब १२ वर्षको थिएँ होला । मेरो सानो बैनी २ वर्षकी । किचेन र्\u200dयाकमा राखिएको कपको चियामा हात परेर छातीभरि चिया पोखियो । सानी चिच्याएर रोएको अझै सम्झन्छु । छाला केहीछिनमा रातो हुँदै गयो । केही घण्टापछि घाउमा पानीका फोकाहरू आउन थाले । फोका फुट्दै गए । छाला सेतो हुँदै गयो । प्रायः सानीले मलाई डर सुनाउँछे, त्यो चिया अनुहारमा पोखिएको भए ? घाउको घोचाइ एक ठाउँमा होला तर दुखाइ थुप्रै ठाउँमा हुन्छ । अनि म एसिडसँग जुधेका अनुहार सम्झन्छु । ऐनाअगाडि कपाल कोर्दा कुन आत्मविश्वासले ती ओठहरू गुनगुनाउँदा हुन् ! घाउको दाग भौतिक रूपमा सेतो हुन्छ, मनोवैज्ञानिक रूपमा कालो । एसिडसँगको लडाइँ जितेको अनुहारले समाज जित्न पनि ठूलो लडाइँ लड्नुपर्छ । बच्चाहरू डराउने डरले कोठा नदिने घरदेखि क्षमताको बाबजुद पनि अवसर नदिने प्ल्याटफर्महरू हाम्रै समाजमा सामाजिक छन् । मुखमा मास्क बोक्दा गाह्रो हुने हामीले, दागको मास्क बोकेर हिँड्ने उनीहरूको गाह्रो अन्दाज पनि गर्न सक्दैनौँ । म सधैँ सोच्ने गर्छॅ, बाटोमा जलेको अनुहार भएको एक जना भाइ देख्दा मेरो पैतालादेखि शिरसम्म काम छुटेको । मैले अरूको अनुहार स्विकार्न सकिनँ, उनीहरू आफ्नै अनुहार स्विकार्न, कुन मुटुबाट हिम्मत जुटाउँछन् होला ! पक्कै ती मुटुहरूमा आँटको महासागर हुनुपर्छ । *** मलाई अचम्म लाग्छ, बनाउने मान्छेले कुन नुन खाएर कानुन बनायो ! न्यायका लागि बनाइएको कानुनले आफैँलाई न्याय गर्न सकेको छैन । नेपालको कानुनमा एसिड छ्याप्नेलाई भएको क्षतिको आधारमा ५ देखि ८ वर्षसम्मको कैद सजाय लेखिएको छ, जहाँ एसिड बिक्री गर्नेलाई १० वर्ष कैद सजाय तोकिएको छ । एसिड बिक्री गरेर जेल सजाय काटेको अनुहार, मैले कुनै पत्रिकाको कटिङमा देखेको छैन । भएका घटनाहरू हेर्दा अपराधी टोलछिमेक र आफन्त नै देखिन्छन् । ८ वर्षको सजाय काटेपछि आफूलाई पीडा दिने अनुहार एउटै टोल/गल्ली कोठामा भेटिँदा, देखिँदा र सँगै जीवन बिताउनुपर्दा, सर्भाइभरले कुन मानसिक अवस्थामा सास लिने र छोड्ने गर्ला ! सजाय भोगेर आएको मान्छेले फेरि पीडा नदेला भन्ने के आधार छ ! फेरि पनि पीडा दिन सक्ने छुट हाम्रै कानुनले दिइरहेको छैन र ? एसिड आक्रमणबाट गुज्रिएका हरेक व्यक्तिको एउटै आवाज छ, ‘अपराधीलाई जन्मकैद’ । कानुन बलियो हुँदा अपराधको निवारण हुन नसके पनि न्यूनीकरण अवश्य हुन्छ । घटनापछि मानसिक र सामाजिक रूपमा स्वतन्त्र र विश्वस्त भएर बाँच्न पाउने सर्भाइभरको अधिकारको पनि रक्षा गर्छ । र, सजाय तोकिरहँदा क्षतिको मात्रा नाप्नु कत्ति पनि उचित होइन । किनकि कानुनको तराजु त्यति बलियो छैन, जसले एसिड सर्भाइभरको क्षतिको मात्रा जोख्न सकोस् ।
बुद्ध ! तिमी यता फर्किदेऊ: देशमा आक्रान्त छ अशान्ति फैलिदै छ हत्या, हिंसाको जोड घटाउ चलिरहेकै बेला धनी, गरिबको दूरी बढेको बेला तछाड मछाडको होड चलेको समय, ए ! बुद्ध तिमी किन घरी यता घरी उता फर्कन्छौ । विन्ती छ बुद्ध तिमी यता फर्किदेऊ । न्यायको तराजु पनि भाँचियो शक्तिको लागि चाकडी बढ्दै गर्दा गरिबको महल कता हरायो कता दिनदिनै दन्केको आगोको रापले तिम्रा आँखाहरू पनि रसाउन पो थालेकी त्यसैले बुद्ध तिमी चिम्लेर उताको उतै नफर्क बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ । महामारीले विश्वनै हल्लिदा कमिसनको खेलमा रुमलिँदा रुमलिँदै गरिबले झुपडीमा पनि निद्रा नपाउँदा महलभित्र कुर्सी तानातान हुन्छ बेरोजगार युवाले रोजगार खोज्दै आवाज उठाउँदा भिजिलान्तेको उपमाले पुजिन्छ । कोलाहललाई सुन्न नसकेर हो ? वा किन हो ? त्यसो नगरीकन बिन्ती छ बुद्ध, तिमी यता फर्किदेउ । शक्तिको भक्ति गाउनेहरू महलमाथि महल थपिरहेका छन् । झुपडीमा महलको सपना देख्नेहरू त्यही झुपडीमा पनि मज्जाले निदाउँन पाएका छैनन् मान्छे मान्छेबीचको किनमेल चलेको बेला शान्ति, न्याय, सुशासन विलीन हुने नै भयो अन्यायको विरुद्ध बोल्ने बेला भो त्यसैले बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ । न्याय, अन्याय छुट्याउन तिम्रा आँखाहरू बन्द रहँदा शान्तिको धुन सुन्ने कानहरू कोलाहलले दबिएर बैरो भएको बेला घरी घरी उता फर्किरहने तिम्रा निष्पक्ष मनहरु भो, अब अति भयो बुद्ध त्यसैले, बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ । #जीवन लामा यात्रा
मार्गदर्शन: उम्रन्न टुसा कुनै पनि, नरोपी बीउ खाली जमिनमा पलाउन्न मूना त्यसै, नभिजाई सुख्खा जर्जर भूमिमा हुर्कन्न बिरुवा पनि कसै, मल नमिलाई कन मट्टिमा फस्टाउन्न माटो बिना, रोपे बिरुवा पनि यो धरतीमा । नमौलाइकन मुना त्यसै, लाग्दैन कोपिला टुसामा नलागि कोपिला पनि, फूल्दैन फूल सुन्दर बृक्षमा घुम्दैन भमरा वरिपरी त्यसै, नभए सुगन्ध फूलमा आउँदैन सुगन्ध पनि मीठो, राम्रो फूल बिना पातमा । फुल्नैपर्छ फूल पनि झनै, मीठो फल्न फल बोटमा फल्नै पर्छ फल मिठो यसै, झुल्न बोट जसै हाँगामा काचो माटो हुन शिशु पनि, आउन्न चेत जन्मदैमा दिनैपर्दछ मार्गदर्शन उनलाई, हिनाउन सही मार्गमा । पुग्दैन मानव पनि कुनै, बिना मिहेनत उच्च लक्ष्यमा बन्दैन बाटो पुग्ने कसै, लगनशील नभइ शिखरमा बन्लान सब्य तब मात्र, राम्रो संस्कार दिए उनमा काचो माटो हुन उनी, फरक हुन्न कत्ति आकारमा । माने उपदेश फूल्छ सपना, फूलनै फूलेझैँ तिमीमा फल्छ कल्पना फलझैँ, लगनशिलता भए बालकमा ज्ञानि हुन्छौ त तिमी, मजबूत बन्छ बाटो भविष्यमा गर्छौ मिहेनत दृढभइ, तेजले बन्नेछौ पिलर देशमा । #सञ्जु सुवेदी
विमान मोह: आकाशमा तन र धरतीमा मन राखेर खाने जागिर मलाई औधी मन पथ्र्यो । हुन त आजकाल पनि मन पर्छ । तर म अब त्यो जागिर खाने ल्याकत राख्न सक्दिनँ । यो संसारमा रहर बोकेकाहरू र रहर पूरा नभएकाहरू सँगै बाँच्छन् । बाँच्नलाई रहर चाहिन्छ । यदि रहर पूरा भएन भने मान्छे कुन रहर बोकेर भोलिलाई बाँच्छ ? एक समय थियो । आकाशमा उडेको विमानको आवाज र दृश्य मेरा लागि सबैथोक थियो । “प्लेनभित्रको मान्छेले मलाई देख्छ कि देख्दैन ?”, मैले मेरा बालाई बाल्यकाल सोधेको धेरै प्रश्नमध्येको एक हो । आजकाल देख्दैन भन्ने बुझेँ । तर बाको जवाफमा “देख्छ, किन नदेख्नू ?” ले मलाई विमान उडुञ्जेल हात हल्लाइरहन प्रेरित गरेको थियो । मैले जीवनका धेरै समय आकाशमा उडेको विमानलाई हेर्दै हात हल्लाएको छु । मैले विमान देखे पनि विमानले मलाई देख्दैन । यो कुरा बुझेको लगभग पन्ध्र वर्ष भयो । तँलाई प्लेनले देख्छ भनिरहँदा मेरा बा झूटा हुन् । प्लेनले देख्दैन भन्यो भने निराश होला भनेर झूट बोल्ने मेरा बा महान् हुन् । हामी महानताको खोल ओडेर घरबाहिर निस्कन्छौँ । तर उदाहरण त घरभित्र हुन्छ । जुन हामीलाई थाहा हँुदैन । थाहा भएको दिन हामीसँग पश्चताप गर्ने समय रहन्न । मान्छे संसारको व्यस्त जीव हो । हामीलाई यो थाहा छ ? मेरो जीवनको धेरै समय राजधानीको आकाश हेरेर बितेको छ । मेरो आँखामा विमानको आकृति निजी सपना बनेर सजिएको छ । जब विमान उडाउन मेरो ल्याकत पुग्दैन भन्ने बुझेँ तब मैले विमानलाई बिम्ब बनाउन थालेको छु । आजकाल आकाशमा उड्ने विमान मेरो लागि फगत बिम्ब मात्र हो । मलाई संसार एकैपटक हेर्न मन थियो । टुक्रा टुक्रा गरेर होइन । अलिकति भक्तपुर, अलिकति काठमाडौँ वा अलिकति झापा गरेर होइन । मलाई संसारको अन्तिम बिन्दु हेर्ने रहर थियो । म पृथ्वी समथल छ सोच्थेँ । कुनै कुरा देखियो भने त्यसको अन्तिम बिन्दु हुन्छ । मैले बुझेको थिएँ । अग्लो ठाउँबाट सबै कुरा देखिन्छ, मलाई थाहा थियो । चन्द्रमा छ तर के हो मलाई थाहा थिएन । तर विमानबाट संसारको अन्तिम बिन्दु देखिन्छ भन्ने विश्वासले मेरा बाल्यकाल आकाशका विमान हेरेर बित्यो । विमानबाट के देखिन्छ ? मलाई थाहा थिएन । विमानबाट कहाँसम्म देखिन्छ ? मैले बुझेको थिइनँ । तर यति थाहा थियो अग्लो ठाउँबाट तल देखिन्छ । र मलाई पृथ्वीको अन्तिम बिन्दु हेर्ने रहर थियो । आजकाल सोच्छु, संसारकै अग्लो ठाउँ सगरमाथाबाट संसारकै होचो ठाउँ मारियाना ट्रेन्च पनि त देखिँदैन । लाग्छ, अग्ला ठाउँ सबैका लागि सपना पूरा हुने गन्तव्य होइन् रहेछ । रहरका पनि विकल्प बन्ने रहेछन् । र विकल्प भनेको घरमा बनाइएको अचारजस्तै हो । मलाई विमान उडाउने रहर थियो र छ । सायद अब रहरलाई मैले तिलाञ्जली दिनुपर्छ । तर मलाई विमानको गति मापन गर्न आउँछ । विमानको उपचार गर्न आउँछ । विमानमा चड्ने यात्रुको सत्कार गर्न आउँछ । विमानका आकस्मिक कक्षबारे थाहा छ । बाल्यकालमा आकाशको विमान पढ्ने र मैले विमानको जमिन पढेर रहर पूरा गरेँ । रहरका पनि विकल्प बन्ने रहेछन् । र विकल्प भनेको घरमा बनाइएको अचारजस्तै हो । जुन आफूलाई मन नपरेको तरकारी पाकेको दिन प्रयोग गरिन्छ । म स्वतन्त्रवादी हुँ । मलाई स्वतन्त्रता मनपर्छ । मैले बुझेको यही थियो कि आकाश भनेको स्वतन्त्र छ । मैले यही बुझेको थिएँ । जब कक्षामा विमानको बाटो हुन्छ, ऊ आफ्नै रुटमा हिँड्नुपर्छ भन्ने बुझेँ तब मलाई स्वतन्त्रताको नियम आकाशले पनि दिन सक्दैन भन्ने लाग्यो । आकाशमा उड्ने विमान वा चरा पनि स्वतन्त्रताको घेरामा बाँचेका होइनन् भन्ने लाग्यो । मेरो स्वतन्त्रताको नियम आजकाल मौन छ र कसैले बुझाइरहेको छ । मामाघर जाँदा भद्रपुर विमानस्थलको बाटो मामाघरको आकाशबाट हुने भएकाले घण्टा घण्टामा विमानको आवाज मेरो कानमा पर्दथ्यो । चैतको बिदामा मेरो बास प्रायः आधा घरमा र आधा मामाघरमा हुने भएकाले मेरो विमान मोह मामाघरको आकाशले उब्जाएको हो । मलाई चैतको चर्को घामले आकाशतिर हेर्न कसैगरे रोक्दैन थियो । नरिवलको छहारीमा बसेर आकाशमा उड्ने विमानलाई हेर्नु मेरो बेतलबी जागिर बन्दथ्यो । राजधानीमा नजिकैबाट मैले विमान देखे पनि गाउँमा साथीहरूले नजिकैबाट विमान देखेका थिएनन् । घर गएको बेला मैले उनीहरूलाई प्लेनको चाहिनेभन्दा बढी गफ दिएँ । उनीहरुले पत्याए । पत्याउनु उनीहरुको बाध्यता थियो । विमान उडाउन जति संवेदनशील हुन्छ उसको उपचार गर्नु पनि उति नै हुन्छ भन्ने नर्थन लाइटले नै मलाई बुझाएको हो । मैले भद्रपुरमा प्लेन हुन्छ भनिदिएँ । घरबाट अठार किलोमिटरको बाटो उनीहरु साइकल पेलेरै जाने सोच बनाए । उनीहरु गए तर म गइनँ किनकि भद्रपुरमा आउने प्लेनभन्दा ठूलो प्लेन मैले काठमाडौँमा देखेको थिएँ । उनीहरुसँग प्लेन हेर्न जाने हैसियत मिल्दैन जस्तो लाग्यो । तर अठार किलोमिटर साइकल पेलेर प्लेन हेर्न जाने साथी आजकाल मभन्दा धेरै प्लेन चडेको छ । उसले हैसियत खाजेको भए कथा अर्कै हुने थियो । तर समय न हो । कहाँ बच्चा, कहाँ पक्का । नर्थन लाइट एभिएसन एकेडेमीमा मैले विमानलाई अझ नजिकबाट बुझेको हुँ । विमान उडाउन जति संवेदनशील हुन्छ उसको उपचार गर्नु पनि उति नै हुन्छ भन्ने नर्थन लाइटले नै मलाई बुझाएको हो । राजधानीको आकाशमा नजिकैबाट आजकाल विमान उड्दा कुन मोडलको रहेछ भनेर हेर्न मन लाग्छ । पहिला विमान हेर्न मन लागेर आकाश हेर्थेँ । आजकाल विमान बुझेर आकाश हेर्छु । कुनै भीडमा कसैलाई एकोहोरो माथि हेरेको देख्नुभयो भने बुझ्नुहोला, त्यो म हुनेछु । हरि ॐ #गाउँतिर #निरज दाहाल
गोपालका तीन मुक्तकहरू: १. एकदिन होइन देशमा लाग्छ सधैँ गाईजात्रा छ शान्ति , न्याय तर्सी भाग्छ सधै गाईजात्रा छ छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो औंला दिदा हातै माग्छ सधै गाईजात्रा छ ।। २. लकडाउनले कयौलाई माग्ने बनायो थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।। आत्महत्या समस्याको समाधान त हैन तनावले जीवनबाटै भाग्ने बनायो ।। ३. कोरोना यो खै कहिले पार लाग्नी होला ? निदाएको सरकार अब कहिले जाग्नी होला हिंसा, अनि प्रकृतिको दोहन गरि रमाउँदै बुझ पचाई अझै मान्छे कता भाग्नी होला ? #गोपाल खनाल
रमेशको गजल: के भनूँ जिन्दगी बडो मुस्किल छ, मुटुमै गडेको अनौठो एक खिल छ । केवल मान्छे भेटिन्न यो सहरमा, सिनो कुर्दै बस्ने त्यही यौटा चिल छ । उज्यालो अँध्यारो दुबै दर्द दिन्छन्, अकालमै मरेको शिशुको दिल छ। पुरै बस्ती रित्तो भएको छ अहिले, विकासको कस्तो खाले मञ्जिल छ ? शान्ति मात्रै जप्छौ तिमी जता गए नि, तिमीसँग नयाँ के कुनै अपिल छ ? #रमेश
मौलिक बाजाको पाठ्यसामग्री तयार: अशोक राई काठमाडौँ/नेपालमा परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी अहिलेसम्म कुनै आधिकारिक पाठ्यसामग्री तयार हुन सकेका थिएनन् । अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी यस्तो पाठ्य पुस्तक तयार पार्ने भएको हो । नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यससम्बन्धी सैद्धान्तिक, परिचायत्मक र व्यावहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको अभाव महसुस गरी यही वर्षभित्र सोसम्बन्धी पाठ्य पुस्तक तयार गरी प्रकाशन गर्ने योजना रहेको प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले बताए । प्राज्ञ राईले भने, “टुङ्ना, सारङ्गी, सहनाई, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरूसम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्य पुस्तकले पूरा गर्नेछ ।” सो पाठ्य पुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको प्राज्ञ राईले बताए । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्याउने उनको भनाइ छ । #प्राज्ञ अशोक राई
क्वारेन्टिनबाट पहिरैपहिरोबीचको कष्टकर यात्राको स्मरण: लामो यात्रामा रमाउने, प्रकृतिको काखमा निदाउन खोज्ने लाखौँको भीडमा म पनि एक पात्र हुँ । पेशाले शिक्षक भएको हुनाले लक डाउन खुलेलगतै शिक्षा मन्त्रालयको विद्यालयका शिक्षकहरू अनिवार्य उपस्थित हुने निर्देशनबमोजिम जानुपर्ने भयो । म काठमाण्डौमा दिदीको घरमा अडकिएकी थिएँ । चैत्रको १० गते, केही दिनको लागि दिदीको सात वर्षे प्यारो छोरालाई भेट्छु र १० दिनपछि बुटवल फर्कन्छु भनेर गएकी थिएँ तर कोरोनाको माहामारीले लकडाउन बढ्दै गएपछि त्यहीँ बिताएँ करिब चार महिना । शिक्षा मन्त्रालयको आदेशअनुरूप हामीलाई जानैपर्ने भयो । लामो यात्रा, हिमाली जिल्ला मनाङको बाटो, त्यहीँमाथि बर्षात्को समय भएकाले मनमा करिब १५ दिनअघि देखि नै त्रास बढिरहेको थियो कसरी पुग्ने भनेर । हिउँदमा गाडी गुड्दा डरले मन काप्ने ठाउँ भए तापनि साँगुरो र भीरैभीरले भरिएको तर प्राकृतिक सुन्दरताले ढाकेको अनि झरनाका छटाले मन लोभ्याउने दृश्यले जहिले पनि म आनन्दित हुन्छु । तर बर्षात्को बेलामा धेरै ठाउँमा पहिरो गएको र माथिबाट डुङ्गा झर्ने हुँदा सबैको मन अत्तालिनु स्वभाविक थियो। एउटा मन आफ्नो कर्म ठाँउमा जान पाउँदा खुसी थियो भने अर्को मन बाटाको अवस्थाले आतिएको थियो । परिस्थिती सहज पकै थिएन, किनकि लामो रुटको गाडी चलेका थिएनन् र कोरोनाको भए यथावत् थियो । सँगसँगै पहिरोले गाडी हिँड्न पनि नसक्नेगरी बिग्रिएको सडकको खबरले कति घण्टा हिँड्नुपर्ने भन्ने कुरामा अन्योलता । अन्जान हुँदाहुँदै पनि जस्तो परिस्थिीति आइपरे पनि सामना गरौँला भनी अठोठका साथ जाने योजना बनायौँ । काठमाण्डुबाट तीन जना, चितवनबाट सात जना, पोखराबाट पाँच जना, लमजुङमा रहनुभएका अन्य साथीहरू, बुटवल , कपिलवस्तु , प्युठान र सप्तरीका साथीहरूसमेत लमजुङको बेसी सहरमा भेट्ने भयौँ । र दुःख सुख गरी जाने भनेर योजना बनाउँदाबनाउँदै निर्णयले १४ गते, बुधबारलार्इ रोज्यो । यशोदा गैरे योजनाअनुरूप १४ गते बिहान हामी ४:३० मा प्रेम सर, अन्जु म्याम र म बसुन्धराचोकबाट डुम्रेसम्म रिर्जब गरेको गाडीमा हिँड्यौँ । यात्रा कुन साथी कतिखेर कहाँ आइपुग्नु भयो भन्दै फोन गर्दै अगाडि बढ्यो। झिस्मिसे बिहानीको चिसो बताससँगै सुनसान सडकमा गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो भने मेरो मनमा अनेक ज्वारभाटा निस्कँदै थिए । हिँड्ने बेलामा पानी परिहेको थियो । लाग्यो, प्रकृतिले खतराको संकेत दिइरहेछ । आजको दिन नै हाम्रो लागि अन्तिम पो हो कि ? अब मेरो प्यारो छोरो आकु अर्थात् आकर्षणलाई ( दिदीको छोरा) देख्नै पो पाउँदिनँ कि ? चसक्क मन दुख्यो। प्रेमलार्इ परिभाषित गर्न असर्मथ भए पनि आफ्नो मुटुभन्दा माया छ उसको । स्वार्थबिहिन, छलकपटबिहिन र पवित्र मायाले भरिएको हृदयको अनुभूती छ ऊसँगको । ऊ जन्मेको दिन डाक्टरले बाबुलाई मेरो हातमा दिएको मीठो स्मृति मेरो मानसपटलमा अमिट बनेर बसेका छन् । संसारमा उसको जति माया कसैको लाग्दैन भनेर भन्न सक्छु । मन अमिलो भयो । पानी केहीबेर रोकिएपछि मन पनि केही हलुङगो भयो । “हे प्रभु ! जसरी हुन्छ हामीलार्इ सकुशल पुर्याईदिनु”, भनेर प्राथना गर्नुको बिकल्प थिएन हामीसँग । म अरू साथीहरूभन्दा बढी डराएकी थिए किनकि म अरूजस्तो गरी भीरपाखामा हिँड्न सक्दिनँ । जन्म, हुर्काइ इण्डिया, पछिल्लो समय बुटवल बिताएकी र पहिरोकै कारण मेरो अमुल्य मान्छे जन्मदातालाई गुमाएको हुनाले भीरपाखा देख्दामात्र पनि मेरा मुटु र खुट्टा काप्छन् । आँखा रसाउछन्। मैले कहिल्यै सोचेकी थिइनँ, यसरी घनघोर चट्टान र भीरपाखालाई प्रेम गर्दै यहाँसम्म आइपुग्छु भनेर । प्राकिृतिक छटाले भरिपूर्ण छ मनाङ । यही सुन्दरता र मनमोहक दृष्यले बर्षातका भेललाई बिर्साएर तानेर ल्यायो मलाई । भनिन्छ, सुन्दरताभित्र एउटा डरलाग्दो कथा लुकेको हुन्छ । बाटोमा खानाको लागि एक र्थमस चिया र अलिकति चना बोकिकी थिएँ, तर खानेभन्दा पनि पुग्ने हतारोले थियो। हामी करिब आठ बजे डुम्रे पुग्यौँ। हाम्रा अन्य साथीहरू पनि चितवन र पोखराको गाडीमा सगँसँगै आइरहनुभएको थियो । अब कसरी बेसीसहर पुग्ने भन्दाभन्दै प्रेम सरले आफू चीतवनको गाडीमा जाने र हामी दुई जना पोखराबाट आउँदै गर्नुभएका साथीको गाडीमा बेसिसहरसम्म पुग्ने कुरा जनाउनुभयो। बेसीसहर पुगेपछि पाँच मिनेटको पर्खाईपछि दुबै गाडी आइपुगे, र आआफ्ना गाडिमा चढ्यो । चार महिनापछि साथीहरूलाई भेट्दा खुसी लाग्नु स्वाभिक थियो भने सबैको अनुहार बाटोको चिन्ताले अँध्यारो बनाएको थियो । ठाउँ ठाउँमा चेकिङ थियो । कहाँबाट आउनुभएको, कति जना र कहाँ जाने ? प्रश्नहरू आइरहन्थे । हामीसगँ हाम्रो पालिकाले पठाएको पास थियो । त्यही देखाउँदै आफूलार्इ स्कुलको स्टाफ बताउँदै हामी अघि बढ्यौँ बेसीसहर पुगेपछि कहाँ कहाँ पहिरो गएको छ ? गाडी जान्छ कि जाँदैन ? कति हिँडनुपर्छ ? भन्ने बुझदै धेरै ठाउँमा अफ्ठ्यारो भएको र च्याम्चे र मयार्दी भीरमा नसकिने भन्ने उत्तर पाएपछि मैले मेरा सम्पुर्ण सामानहरू बेसीसहरमै छाड्ने भएँ । एक जोड कपडा र र्थमस मात्र बोकी सानो झोला कसेँ । हामी सबैले सेरा बजारको न्युकटेज होटेलमा खाना खाने भयौँ। गन्तव्यमा पुग्ने चिन्ता हुँदाहुँदै पनि भोक लागेकोले खाना खाएरमात्र गाडीको बन्दोबस्त गर्ने निर्णयका साथ कालो दाल, मुलाको अचार र काउलीको सब्जीसगँ खाना खायौँ । र गाडीको बन्दोबस्त गर्नतिर सरहरू फोन घुमाउन थाल्नुभयो । करिब आधा घण्टाको अन्तरालमा तीन वटा गाडी जान तयार भए । जहाँसम्म गाडी जान्छ त्यहीँसम्म जाने निधो गरी हिँड्यौँ हामी । गाडी हिँडिसकेपछि खहरेमा पहिरो पन्छाउदै छ भन्ने सुन्यौँ । त्यहाँ पुग्दा काम भइरहेको थियो । पन्ध्र मिनेटको पर्खाईपछि खहरेबाट निस्कियौँ । सामाजिक दूरी, कारोनाको डर केही थिएन मनमा । किनकि बाटोकै कारणाले ज्यान कतिखेर जाने हो भन्ने ठेगान थिएन । हाम्रो गाडीको अगाडि इन्द्रेणीका कलाकार कृष्ण कँडेलज्यूको टिम रहेछ। लमजुङको मस्र्याङदी गाउँपालिकामा पहिरोले तेर्इस घर बगाएको ठाउँमा सहयोगको लागि जाँदैगरेका रहेछन्। प्रत्यक्ष चिनजान नभए पनि सहयोग गर्न जाँदैगरेको देखेर मनबाट धन्यवाद दिएँ । ठाउँ ठाउँमा माथिबाट पहिरो खसिरहेकै थियो भने हाम्रो गाडी तलबाट गुडिरहेको थियो । सबैको मनमा त्रास थियो, अब के हुने हो ? पुनः करिब २५ मिनेटपछि अर्खलेमा र्भखर डोजरले पहिरो हटाएर फकिर्दै गर्दा चार वटा गाडी मात्र गएछन्, तर हामी पुग्नसाथ पुनः पहिरो खस्यो र गाडी रोकियो । हिँड्नुपर्ने भयो । सबैले गडीभाडा तिर्यौँ र हिँड्ने शुर कस्यौँ। प्रेम सर, टोलप्रसाद, त्रिलोचन र पार्वती म्यामको पछाडि थिएँ म । मसिना ढुङगा पानीको भेलसँगै आइरहेको थियो । मेरो झोला भने प्रेम सरले लिनुभएको थियो । ठ्याक्कै बीचमा पुग्दा माथिबाट ढुङ्गा खस्दै रहेछ, पारिबाट मान्छेहरूले देखेर चिच्याइरहेका थिए । हामीले केही बुझेनौँ । तर बीचमा पुग्दा ड्याङडुङको आवाज आयो । प्रेम सरले छिटो छिटो भन्दै इसारा गर्नुभयो। मेरा खुट्टा कामे र म चिप्लिए छेउमै घनराज सर हुनुदोरहेछ । समाउनु भयो । र हामी छिटो छिटो तर्यौँ। पछाडिका अरू साथीहरूलाई फर्क भन्ने इसाराले पारि नै रादख्यौँ । हामी तर्नसाथ दुइटा ठूला ढुङ्गा खसे । मन जिरिङ्ग भयो । एकछिन पछि संगीता , प्रकाश, अलका, श्याम, शुशीलालगायत बाँकी सर र म्यामहरू त्राससहित आइपुग्नुभयो । मर्न कति डर हुने, बाच्ने कति रहर ! जिवनको मूल्य र आफूलाई कति प्रेम गर्छौँ हामी भन्ने मृत्युको मुखमा पुग्दा मात्र थाहा हुँदो रहेछ । अब त्यहाँ बस्नु ठीक थिएन । अलिक माथिसम्म हिँडेपछि दुइटा गाडी देखिए। हामी पुन तीन वटा गाडीका मानिस दुइटामा जसोतसो गरेर चढ्यौँ। कति अनिश्चित छ जिन्दगी ! एक सेकेण्डले बाचेकोमा भगवानलाई धन्यवाद दियौँ । आखिर अदृश्य भए पनि भगवान् हुनुहुन्छ भन्नेमा विश्वास लाग्यो । प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । विपत्ति कतिखेर आइपर्छ थाहा हुँदैन । केही मिनेटअघि अतालिएको मन केहि शान्त भयो । मन अचम्मको हुँदो रहेछ ! छिनछिनमा परिर्वतन हुने । केहीक्षण मर्ने रहर, केहीक्षण बाँच्ने रहर । मर्ने रहर गरियो भने केही पलमै जिन्दगी सकिन्छ । दुःखपछि सुख पक्कै आउँछ भनेर मन दरिलो बनाउन सक्यौँ भने जिन्दगीले नयाँ सुरुवात गर्छ । झन् अर्को डरलाग्दो पहिरो थियो च्यामचेको । मुटु ढुक् ढुक् गर्न सुरु गरिसकेको थियो । गाडी जति अगाडि बढ्थ्यो त्यति मुटु कमजोर बन्दै गइरहेको थियो। गत वर्ष पनि म यही पहिरोको कारणले एक घण्टा जङ्गलको साँगुरो ,चिप्लो र अफ्ठयारो बाटो हिँड्नु परेकोले त्यो सम्झेर झनै आतिएकी थिएँ। हामी पुग्यौँ पहिरो नजिकै, हिलोमा खुट्टा गड्ने र माथिबाट पनि ढुङ्गा माटो खसिरहेकोले बाटो काट्न नसकिने भएपछि जङ्गलको साँघुरो र उकालो बाटो समायौँ । छेउछाउ केही समाउन सकिने बुटा पनि नभएको बाटो थियो त्यो । केही मित्रहररू अलिक सजिलो गरी जाँदै हुनुहुन्थ्यो भने म , शुशीला र तोयानाथ सरलाई भने हम्मेहम्मे परिरहेको थियो । ठाडो अकालोमा एकछिन त पाइला नै सार्न सकिनँ, तर जसरी भए पनि जानु त छँदै थियो। सबै लाइनबद्घ भई पहिरोलाई छिचोल्दै उकलिँदै गयौँ । म सगं एउटा लट्टी थियो । जसले धेरै सहज बनाएको थियो मेरो कष्टपुर्ण यात्रालाई भने झोला बोकिदिएर पावर्ती म्यामले पनि यात्रामा थप सहजता थपिदिनुभएको थियो । माथि आएपछि मेरो थरमसमा भएको तातो चिया खायौँ । केही शक्ति आएजस्तो भयो । झोलामा भएको खाजा र पानी त्यहीँ फालेर झोलालाई हलुङ्गो बनायौँ र फेरि बाटो समायौँ । बाटो राम्रो भएको अवस्थामा तलबाट जादाँ पन्ध्र मिनेट मात्र लाग्थ्यो भने अहिले करिब एक घण्टा तीस मिनेटको यात्रापछि मात्र थकाइ मार्न पायौँ । त्यहाँ एउटा मात्र गाडी थियो । सबै एउटै गाडीमा नअट्ने भएपछि हामीमध्येको एउटा ग्रुपले गाडी समायो । उहाँहररूलाई लमजुङ र मनाङको सिमाना म्यार्दी खोलासम्म छोडेर हामीलार्इ लिन फर्किने भयो । हाम्रै विद्यार्थीको घर नजिकै रहेछ । बिस्ना र सन्तोषको आमाले चिया र काक्रोले सत्कार गर्नुभयो । एकैछिनमा शरीर चङगा भयो । मेरो मोबाइल स्विच अफ थियो । शुशीला म्यामको मोबाइलबाट दिदीलाई सकुशल रहेको जानकारि दिएँ । र अनुरोध गरेँ, दाइ र बाआमालाई साँझसम्म केही नभन्न । मैले घरमा कसैलाई जाँदैछु भनेर जानकारी दिएकी थिएनँ । मलार्इ थाहा छ, उहाँहरू आतिनुहुन्छ । तारका तार फोन गर्नुहुन्छ । करिब तीस मिनेटमा गाडी फर्कियो । बाँकी दश जना म्यार्दीको पुलमा पुग्यौँ । जुन लमजुङ र मनाङको सिमाना पर्दछ । सोच्नु भयोहोला, यिनीहरू पुगेछन । होइन, कथा अझै बाँकी छ। अर्को डरलाग्दो पहिरो थियो, म्यार्दिको भीर । हे प्रभु ! यो पहिरो यसरी गएको छ कि माथि ठूला ठूला ढुङगा कति खेर खसुम् भनेर बसेका छन् । तल मसिना चिप्ला ढुङगा अनि म्यार्दि खोला जुन दूधपोखरी हुँदै आई लमजुङग र मनाङको सिमानामा तिलिचो तालदेखि बग्दै आएको मर्स्याङ्दी खोलामा मिसिएर ठूलो वेग सँगै बगिरहेका छन् । खोलामा पानीको वेग बढिरहेको छ । मेरो मुटुको चाल रोकिएला जस्तो भएको छ । अनुहार रातो भएको छ। त्यहाँ एउटा बाहेक अर्को खुट्टा राखने ठाउँ थिएन । साँगुरो बाटो माथि उक्लेर फेरि तल झर्नु पर्ने । दुर्भाग्यवश एकपलका लागि खुट्टा चिप्लिए सीधा मर्स्याङ्दी खोलामा बगेर कहाँ पुगिन्छ ? थाहा थिएन। वरिपरिका ठूला ठूला चट्टान र पहाडलाई एकचोटि हेरेँ, तिनै चट्टानले मुटु थिचेजस्तो भयो । एकछिन अलमलिए बाटो नदेखेर, तर त्यहाँ एक सेकेण्ड पनि उभिनुभनेको खतरा मोल्नु हो । लाग्यो, यिनै कठोर र शक्तिशालि चट्टान जस्तै मेरो मन र तन भइदिएको भए जिन्दगीका हरेक उतारचढावलाई सजिलै पार गर्न सक्थेँ। हिँड्नुको बिकल्प थिएन । झोला बोकी हातमा लट्टी लिएर निस्किएँ । अफ्ठयारो भए पनि दुई चार वटा दृश्यलाई मोबाइलको क्यामेरामा कैद गरिदिन प्रकाश ढकाल सरलाई अनुरोध गरेँ । थोरै माथि पुगेपछि अलिक गाह्रो भयो । स्थिरनाथ सरले मेरो झोला समाइदिनुभयो । म विस्तारै पहिरोलाई पछाडि पारेँ । जसोतसो सबै जनाले पार गर्यौँ । मन हल्का भयो । बाँचियो अर्थात् मर्न लेखेको रहेनछ। मर्ने दिन आउँदा यस्तो पहिरो आउँनै पर्दैन होला ! दिन नआइकन केही नहुँदो रहेछ। कसैले यो मरे हुन्थ्यो भने पनि जाँदैन प्राण दिन नआएसम्म । हो, मृत्यु निश्चित छ । तर मृत्युको समय भने अनिश्चित रहेछ । मनमा डर त्रास सबै हराइसकेको थियो । सबैको मन खुसी थियो । डरलाग्दा भीर र पहरा थिएनन् बाँकी दुई घण्टाको यात्रामा । तालको डाँडामाथि पनि पहिरो गएको रहेछ, तर त्यो सामान्य थियो । एक घण्टा जति पैदल हिँडी तालको डाँडामा पनि थकाइ मार्दै पार गर्यौँ । गन्तव्यमा पुग्न लागेकाले मनमा साहस र उत्साह बढिरहेको थियो । केहीबेरको पर्खाइपछि दुइटा बोलेरो गाडी देख्यौँ, तर सहजै जान तयार थिएन । अलि बढी भाडा दिन्छौँ भनेपछि जान तयार भएँ । करिब तीस मिनेट गुडेपछि हामी हाम्रो गन्तव्य अर्थात् माथिल्लो धारापानी पुग्दै थियौँ । मसँग भएको लट्टीले दुःखमा साथ दिएको थियो । दुःखमा साथ दिनेलाई सधैँ सम्मान गर्नु पर्छ, चाहे त्यो मानिस होस् या निर्जीव वस्तु । तीस मिनेट गाडीको गुडाइ र पाँच मिनेटको हिडाइ पछि हाम्रो घर अर्थात् स्कुलमा पुग्यौँ । जहाँ हामीहररूलाई बस्नको लागि सेल्फ क्वारेन्टिनको व्यवस्था थियो । स्कुलको गेटभित्र होस्टेलको भवनमा हामी चौध दिनका लागि बस्नुपर्ने भयो । साँझको सात बजिसकेको थियो गेटभित्र पुग्दा चीसो बतास र सिमसिमे पानी परिरहेको थियो । लाग्यो, हिँड्ने बेलामा पनि यसैगरी पानी परेको र पुग्दा पनि पानी परिरहेको, शुभयात्रा र स्वागतको संकेत दिएको रहेछ प्रकुतिले । स्कुलमा हुनुभएकी मनकुमारी दिदीले हामी सबैको बिस्तारा ल्याइदिनुभयो । गाउँपालिका र स्कुलले खानाको व्यवस्था गरिदिनुएको रहेछ । सबैलाई थकाइ लागेकोले खाना खाई आराम गर्न आफ्नो क्वारेन्टिनको न्यानो बिस्तारातिर लाग्यौँ । बर्षातको मौसममा यात्रा तय गर्नु पकै पनि कष्टकर थियो, तर मौसमको साथ र भगवान्को कृपाले हामीहरू सकुशल आइपुगेकोमा खुसी हुँदै क्वारेन्टिनको अनुभव बटुल्दै छौँ । #यशोदा गैरे
साथीहरू, गफ कार्यान्वयन गर्ने हैन ?: सुरु पो कहाँबाट पो गरौँ ! साथीहरू हुन् भनेर जहाँबाट जसरी पनि सुरु गरेर भएन ! उनीहरूलाई पहिले जस्तो व्यवहार गर्न पनि त मिलेन ! पहिले पो कलेजको प्राङ्गणमा भेट्दा पछाडिबाट गएर पहिले ढाडमा धाप मारेर तर्साइन्थ्यो र पछि मात्रै हात मिलाउने, अंगालो मार्ने गरिन्थ्यो । तर समय बद्लियो । अब त ढोकामा पुगेर आदरसाथ, ‘के म भित्र आउन सक्छु ?’ भन्नुपर्छ, र भित्र पुग्नासाथ ‘नमस्ते !’ को सम्बोधन गर्नुपर्छ । साथी त हो नि भनेर औपचारिक ठाउँमा मजाक गर्न कहाँ मिल्छ ! साथी त हो भनेर तँ, तिमीजस्ता सम्बोधन गर्न त झन् मिल्दै मिल्दैन । त्यसैले मेरा सम्पूर्ण साथीहरूमा हार्दिक नमस्कार । आज छुटेको यत्तिका वर्षपछि तपाईँहरूलाई सम्झिदैछु । जहाँ हुनुहुन्छ स्वस्थ, व्यस्त र मस्त रहनुहोला । आउनुहोस्, केहीबेर कलेजका ती दिनतिर फर्किऊँ ! त्रिभुवन विश्वविद्यालय, मानवीकी संकायको अंग्रेजी विभागमा पढ्दाका ती दिन सम्झिऔँ । कति रमाईला थिए ती क्षणहरू । एमए पढ्ने हुँदा पनि हामीहरूलाई किताब खोल्न सर नै कक्षामा छिर्नु पर्थ्यो । सर नआउन्जेल क्याम्पसको आँगनमा हामी सबै सेक्सनका साथीहरू भेला भएर निष्फिक्री बात मार्थ्यौँ । देश, जनता, फिल्म, जागिर, राजनीतिलगायत सबै क्षेत्रहरू हाम्रा गफले छुन्थे । हामीहरू यी सबै क्षेत्रको आलोचना गरेर यो भएन र त्यो भएन भन्थ्यौँ । कति समय त हामी आफूले पढेकै विभागको अस्तव्यस्ततामाथि नै बात मारिरहेका हुन्थ्यौँ । “यो देशको राजनीति खत्तम छ । नेताहरू आफ्नो पेट भर्ने काममा मात्र तल्लीन छन् । पहिला आफू, आफ्नो परिवार, इस्टमित्र, नातागोता आदिको पेट भर्दाभर्दै समय सकिन्छ, हामीले राम्रो व्यवस्था कहाँबाट पाउनु ?”, यसो भनेर गफ गर्दागर्दै एउटा साथी कड्केर बोल्थ्यो, ” पख् ! म त्यो ठाउँमा पुगेपछि सबैभन्दा पहिला देश र जनताको हितमा काम गरेर देखाउछु !” उसले यो भन्दै गर्दा हामी उसलाई उडाउथ्यौँ । प्रज्वल अधिकारी “यो देशको कर्मचारीतन्त्र नै ठिक छैन । हदभन्दा हद भ्रष्टचारीको अखडा बन्दै गइरहेको छ ।”, अर्को साथी बोल्थ्यो, “म लोकसेवा आयोग लड्दै छु, त्यो क्षेत्रमा पुगेर उदाहरणीय बनेर देखाइदिन्छु ।” यसरी गरिने गफमा हामी हरेक क्षेत्रको गफ गर्थ्यौँ र हरेक क्षेत्र राम्रो बनाउने कसम खान्थ्यौँ । यो देश सफा भएन, राजनीति फोहोरी भयो, शिक्षक ट्यालेन्ट भएनन्, हरेक क्षेत्रमा भ्रष्टचार भयो, जनतामा चेतना पलाएन, मानवीयता घट्दै गयो, विदेशिनेको सङ्ख्या व्यापक भयो आदि इत्यादि विषयमा गफ हुन्थ्यो हाम्रो र हामी सबैले यो सबै बेथितिबाट देशलाई मुक्त बनाउने कसम खान्थ्यौँ । त्यतिबेला, हामी सबैको आँखामा एउटै सपना थियो, देशको मुहार हँसाउने । हाम्रो ब्याचमा एक हजार जनाभन्दा ज्यादा थियौँ। र, हामी सबैको इच्छाहरू फरक-फरक थिए । यसरी हेर्दा सायद हामीहरू हरेक क्षेत्रमा उदाहरणीय बन्न सक्थ्यौँ । दिनहरू बित्दै गए । धेरै गफ र थोरै पढाइ गर्दागर्दै एमएको पढाइ सकियो र हामीहरू तितरबितर भयौँ । थेसिस लेख्दासम्म अलिअलि भेट भयो त्यसपछि भेट शून्यप्रायः भयो । आज तपाईँ साथीहरू कतिपय विदेशिनु भएको छ, कति साथीहरू गाउँ फर्केर कृषि गरिरहनुभएको छ, कति साथीहरू लोकसेवामा नाम निकाल्न सफल हुनुभएको छ, कतिले शिक्षक सेवा आयोगमा नाम निकाल्नुभएको छ, कति खेलाडी, कति हिरो/ हिरोइन, कति कलाकार, अझ भनौँ सम्पूर्ण क्षेत्रमा प्रभुत्व जमाइसक्नुभएको छ । तर अहिलेसम्म हाम्रो उबेलाको गफलार्इ कार्यन्वयन गर्दै कोही पनि कुनै पनि क्षेत्रमा उदाहरणीय सायदै बन्न सक्नुभएको छ । कहिलेकाहीँ प्रशासनिक कामले आउँदा बाहिरै सुन्न नपरोस्, “त्यो हाकिम जे कामको लागि पनि एक रुपैया नै किन नहोस्, घुसबिना काम गर्दैन ।” मेरा प्रिय साथीहरू ! अब एकपटक हामीले एमए पढ्दैगर्दा गरेको गफ सम्झिने बेला आएको छ । हामीले कति मज्जाले भनेका थियौँ, “म त्यो ठाउँमा पुगेपछि उदाहरणीय बनेर देखाइदिन्छु ।” आज तपाईँहरू वडा सचिव, अधिकृत, मालपोतको हाकिम, योजनाकार, शिक्षक, प्रहरी, नेता, उद्दमीलगायत के के हो के के बनिसक्नुभएको छ । यो सुन्दा/देख्दा अत्यन्तै खुसी लाग्छ । हर्षले मन भरिन्छ र लाग्छ, अब देश बन्ने भयो । मेरा साथीहरू, जो हामीले देश बनाउनु पर्छ भन्थे, आज उनीहरू त्यो स्थानमा छन् । अब केही मनको कुरा गर्छु । मेरो बिहे भएर बच्चा पनि भइसक्यो । तपाईँहरूमध्ये पनि कतिको भइसके होलान्, कतिको बिहेसम्म पनि भएको छैन होला । कतिका नानीबाबु त स्कुल जाने पनि त भैसक्यो होलान् ! यसरी हेर्दा, हामीहरू हरेक स्थानमा जिम्मेवार बन्ने बेला आइसकेको छ । मेरो बाबुलाई स्कुल खोज्दै जाँदा म तपाईँको स्कुलमा पुग्न सक्छु, योबेला मलाई नठग्नुहोला र मैले कसैबाट सुन्न नपरोस्, “त्यो स्कुलले ठग्छ ।” मेरो सन्तानलाई कपडा किन्न म तपाईँको पसल आउन सक्छु र मैले दिएको पैसाबाट कर तिर्नुहोला । कहिलेकाहीँ प्रशासनिक कामले आउँदा बाहिरै सुन्न नपरोस्, “त्यो हाकिम जे कामको लागि पनि एक रुपैया नै किन नहोस्, घुसबिना काम गर्दैन ।”, र सुन्नु नपरोस्, “प्रहरीको ठूलो मान्छे भनेर क्यार्नु ? हाम्रा छोरीचेलीलाई कत्ति सुरक्षा छैन !” मलाई कहिल्लै पनि यो नलागोस् कि मेरो साथी सचिव छ । र यही बेला मैले अलिअलि कमाइहाल्नु पर्छ । हामी साथी भए पनि मलाई तपाईँसँग डर लागोस् । तपाईँलाई देख्दा म अझ बढी अनुशासित बनूँ । तपाईँको स्कुलले मेरो छोराको ज्ञान नै नहेरी उच्च अंक नदियोस् । र मेरो छोराले यो नभनोस् कि, “बाबा त्यो सरले राम्रो पढाउनुहुन्न ।” लोकसेवा आयोग पास गरेर जागिरे भएका ए मेरा साथीहरू ! मलाई तपाईँको नाम लिँदा गर्व महसुस भएर आओस् । सांसद बन्नुभएका मेरा साथीहरू, तपाईँको सादगी देखेर मेरो शिर ननिहुरियोस् । प्रधानाध्यापक हुनुभएका मेरो साथीहरू, म खुल्ला रूपले हिम्मत र विश्वासका साथ कसैलाई निशङ्कोच भन्न सकूँ, “त्यो स्कुलमा आफ्ना नानीबाबु भर्ना गर्नुहोस् ।” लाग्छ, मलाई मेरा साथीहरू आफ्नो नैतिक कर्मले सम्मानित होऊन्, साँच्चै हामीले गफमा बनाउन चाहेको जस्तै देश बनोस्, र मैले सगर्व भन्न पाऊँ, “यी हरेक निकायका उच्च पदमा आशिन मेरा साथीहरू हुन् ।” तर त्यो दिन आयो भने के होला, कि टिभीमा तपाईँहरूले जुत्ताको माला लगाएर टोल घुम्दै गरेको दृश्य, तपाईँले देश बेचेको समाचार, सुरक्षाको नाममा बलात्कारीलाई प्रश्रय दिएको खबर, घुस खाएको आरोपमा जेल परेको खबर, र कतै बाहिर निस्कदा तपाईँको नाम लिएर छि: छि: भन्दै गरेको गफ ! हाम्रा गफहरू कार्यान्वयनमा आऊन् र हाम्रै पालामा देशको मुहारमा खुसी छाओस् । त्यो दिन कहिल्लै नआओस् कि हाम्रा सन्तानले हाम्रो कुकर्म टिभीमा हेरेर हामीतिर फर्केर भनुन्, “पख्नुस् बाबा/ममी ! म ठूलो बनेर यो देश बनाउछु ।” र सन्तानको त्यो कसम हामीलाई गफ नलागोस् । बरु हामीले चिनाउन सकूँ हाम्रा सन्तानलाई, “उ त्यो टिभीमा देखिएको अनुहार मेरो साथी को हो !” र हाम्रा सन्तानहरू हामीबाट प्रेरित होऊन् । लौ त साथीहरू, यो लेख लेखेर मैले तपाईँहरू सबैलाई हामीले गरेका गफ सम्झेको छु । हाम्रा गफहरू कार्यान्वयनमा आऊन् र हाम्रै पालामा देशको मुहारमा खुसी छाओस् । अँ साँच्ची, म चाहिँ हामीले कहिल्लै गफ नगरेको र कोही हुन नचाएको कवि हुन खोजिरहेछु । यसमा मैले देश र जनताको लागि के गरिदियोस् जस्तो लागेको छ, यो लेख पढेपछि भनिदिनु ल । #प्रज्वल अधिकारी
धुँवा धुलो त के कुरा: डा. वीरेन्द्र केसी धुवाँ धुलो त के कुरा, गोली बारुद चले पनि । मलाई मेरै नेपाल प्यारो, रोग र भोकले ढले पनि ।। नसामा नदी कोशी र काली, जन्मेको माटो मुटुमा सधैँ । सधैँ धरहरा शिरमा मेरो, दरबार त्यो नौ तले पनि ।। खुसी खोज्ने लहरमा पर, ओसियान युरोप पुगे पनि । मन भन्छ बेस जन्मेकै देश, निधारमा भाविले छले पनि ।। कसरी भुलुँ डाँफे र मुनाल, अपि, सैपाल र सगरमाथा । सुगन्ध आहा श्रीखण्ड कपुर, मरेर चितामा जले पनि ।। दाङ, हालः न्युजिल्यान्ड #डा. वीरेन्द्र केसी
तक्दिरको भकुण्डो: अभावले हानेको ऋणको भकुन्डो आज हवाई मैदानमा तैनाथ खाडीमा गोल हुँदैछ सुन्दर सपनाहरूले लपेटिएको गह्रुँगो ऋणको भारीको सकस बोकेर खाडीको घाममा चर्किएको छ, त्यो पर्देश थोपाथोपा रिमिट्यान्स तुप्लुक तुप्लुक खसेका छन् चिउँडाबाट समृध्दिको बिकुलभरि देश गुन्जेको छ चिल्ला गाडी र सुकिला कोटहरूमा शृङ्गारिएका छन् नेताहरू अख्तियारको कालो चस्मा अगाडि धमिलिएका छन् टेबल मुनिका कट्कटेहरु सयौँ वर्षसम्म शुध्द पानीको मेलम्चीमा महामारीको तिर्खा बोकेर, बिना टिकट परलोक उडेका छन् भोटहरू रिमिट्यान्सको टालो भिजाएर भिजाउँदै छ आफ्नो सिमेन्टको जङ्गल, यो सरकार स्विटजरल्यान्ड र न्यूयोर्कको तस्बिर टाँसिएको भित्तामुनि बसेको स्व-रोजगारको बैठक आज पनि बिना निष्कर्ष टुङ्गिएको छ तर, यता हवाई जहाजको फिरफिरेमा झुन्डिएर फेरि उडेको छ, देशको विकास अनसन बसेका छन् खेतका पाटाहरू मलखादमा थिचिएका छन् उर्वर बिऊबिजनहरू चुहिएर मकिएको सुनसान कटेरोमा हारेको युद्ध सुनाउँदैछ हलो आफ्ना मित्र जुवा, फाली र नाइरोलाई मञ्चबाट छादिएको समृध्दिले बस्ती बस्ती दुर्गन्ध फैलाएको छ नेताहरु संविधानमा गणतन्त्र खोकिरहेका छन् एउटी आमा बाकसमा सपना थुनेर उत्रेको छोरो खोज्न लाइन बसेकी छन्, हवाई मैदानमा यता फेरि अर्की आमा आफ्नो छोरालाई आकाशमा उडेको जहाजमा उस्को भविष्य देखाउँदै छन् । बस्टन, अमेरिका #महेश्वर पन्त
धर्म: निरञ्जन भट्टराई सबेरै, धर्म गर्ने निहुँमा एक जोर हात सल्बलाउँछन् मेरो फूलबारीमा निमोठ्छन् ती निर्दयी हातले मेरा सुन्दर, सुगन्धित सयपत्री फक्रक्क फुलेका गुलाब झुकेर नमस्कार टक्र्याइरहेका लालुपाते उसलाई मेरा फूलमा, फूलको सुन्दरता, सुगन्धमा कुनै चासो छैन मात्र मतलब छ त धर्मको कुँदिएको ढुङ्गामा मेरा ती अबोध फूल चढाई ऊ शङ्खनाद गर्छ र माग्छ अनेकन वरदानहरु मेरा फक्रँदै गरेका कलिला फूलको शव अर्पेर दीर्घायु, सफलता र शौर्य माग्दछ भक्तिभावले प्रशन्न भएर उसका मनोकामना सुन्न त भगवान् होलान् तर मेरा ती अबोध फूलको चित्कार सुनिदिने कोही छ? उसका इच्छा पूरा गर्न त भगवान होलान् निमोठिएका फूलका बिरुवा हेर्दै चिच्याउँदै दिएका मेरा सराप पूरा गरिदिने कोही छ? खोज्दै छु म यस्ता भगवान जसलाई मेरा फूलको जीवनसँग, सुन्दरता र सुगन्धसँग प्रेम होस् । #निरञ्जन भट्टराई
डिरामका दृष्यचित्रहरू: वरिष्ठ कलाकार डिराम पाल्पालीलाई नेपाली ललितकला क्षेत्रमा नचिन्ने शायद कमै होलान्। ५१ वर्षअघि पाल्पामा जन्मिनुभएका डिरामको कलाकारिताको चर्चा जति गरे पनि कम नै हुन्छ । विभिन्न मिडियाहरूमा छाइरहने डिराम ललितकला क्षेत्रका सशक्त हस्ताक्षर भएको हुनाले उनका बारे चर्चा गरिरहन उति आवश्यक पनि देखिँदैन। लामो समयदेखि चित्रकारितामा अहोरात्र खटिइरहेका पाल्पाली धेरै कलाकारहरूका आदर्श गुरू र पथ प्रदर्शक पनि हुन् । कला क्षेत्रमा धेरै खटिनुहुने र थोरै बोल्ने स्वभावका उहाँलाई सम्मान गरी “डिराम दाइ”का रूपमा सम्बोधन गर्ने कलाकारहरू धेरै छन् । मुहार र दृष्यचित्र उतार्न माहिर पाल्पालीको कलामा एक किसिमको बेग्लै रङ संयोजन र मिठासपन पाइने हुनाले उहाँका कलाकृतिहरू पृथक् र उत्कृष्ट देखिन्छन् । कला यात्राका क्रममा हालसम्म थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका पुरस्कार र अवार्डहरूबाट सम्मानित भइसकेका पाल्पालीले नेपाली कलालाई व्यावसायिक र वृहत् आकार दिलाउनसमेत महत्त्वपूर्ण योगदान दिएका छन् । जल रङ, एक्रेलिक र तैलरङ यी तीनै माध्यममा पोख्त कलाकार डिराम पाल्पाली हाल अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरका उपाध्यक्ष पनि छन् । यिनै अब्बल र अग्रज कलाकार डिराम पाल्पालीका उम्दा सिर्जना यस पटक अवलोकन गरौँ न त ! #डिराम पाल्पाली
वी.पी. साहित्य सम्मान नेपाल र सेनानी सम्मान दाहाललाई: साहित्यपोस्ट जननायक वी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष वी.पी. जयन्तीका अवसरमा दिँदै आएको वी.पी. साहित्य सम्मान प्रदान गर्ने भएको छ । एक लाख एक हजारको यस वर्षको वी.पी. साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई र एकाउन्न हजार पुरस्कार राशीको वी.पी. सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्\u200dयाउने होमनाथ दाहाललाई दिनेभएको हो। ट्रष्टका कोषाध्यक्ष श्री पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरू डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ट्रष्टका निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । यी पुरस्कारहरू आगामी भदौ २४ गते वी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।
जिज्ञासा बढाउने, सिर्जनशीलता हुर्काउने आवरण: नेपालमा बालबालिकाका लागि लक्षित पुस्तकको प्रकाशन दिनानुदिन बढिरहेको छ । आवश्यकताअनुसारका पुस्तक खोज्ने हो भने भेट्न सकिन्छ । तर विभिन्न कारणाले स्तरीय पुस्तकहरूको प्रकाशन भने हुन सकेको छैन । नेपाली बालबालिकालाई त्यस्ता पुस्तकको आवश्यकता छ, जसले उनीहरूलाई थप पुस्तक पढ्न हौसला प्रदान गरोस् । उनीहरूको कल्पनाशीलता बढाउन भूमिका खेलोस् । मनमा लागेका जिज्ञासा उनीहरूले निर्धक्क सोध्न सकून् । पुस्तक भनेको आफैँसँग वा अरूसँग अन्तरक्रिया गर्ने गराउने गतिलो माध्यम पनि हो । यो एउटा इमान्दार साथी पनि हो, जसले कहिल्यै धोका दिँदैन । सचित्र किताबकाे उद्देश्य भन्नु नै बालबालिकामा भएको सिर्जनाशीलतालाई अझ बढी प्रस्फुटित गर्न सहयोग गर्नु हो । बालबालिकाका रचिमा रहेका विषय छनोट, उत्कृष्ट चित्रकारिता तथा आकर्षक साजसज्जालाई हामीले प्राथमिकतामा राखेका छौँ । पुस्तकमा प्रयुक्त विषय, भाषा, शैली तथा चित्रमा नवीन स्वरूप स्थापित गरी बालबालिकाका लागि उत्कृष्ट सिर्जना उत्पादन गरी नेपाली बालसाहित्यलाई विस्तार गर्ने ध्येय सचित्र किताबका सञ्चालक दीपक गौतम बताउँछन् । #पुस्तकका आवरण
नाटक यात्राः मर्नु छ एक दिन, सधैं बाँचिरहने को छ ?: ‘जल्नेको मन जलिरहन्छ ६७१ चलिरहन्छ ।’ नाटक यात्रामा मोरङको उर्लाबारी कट्ने बित्तिकै ६७१ नम्बरको एउटा सार्वजानिक गाडीको पछाडि टल्कियो माथिको कोटेशन । लामो यात्रामा सवारी साधनमा लेखिएका यस्ता यात्रा साहित्यका कोटेशनहरू मात्र पछ्याउन सके पनि जीवनका केही पाटाहरूका गहिराइलाई सहजै बुझ्न सकिँदो हो । यो कोटेशनसँंगै म विश्वकवि रविन्द्रनाथ टैगोरलाई सम्झन्छु । टैगोर भन्छन्, ‘समाजमा स–साना कुराहरू कति छन् कति । तर मानिसहरू ठुल–ठूला सपनाहरूकै पछाडि दौडिरहेछ । र, निरासाको भूमरीबीचमा जकडिन्छ ।’ नाटक यात्रामा जहाँ–जहाँ पुगियो, सडक र बजारका चोकहरूमा, भित्री गल्लीहरूमा फोहरका डङ्गुरहरू थुप्रिएका छन् । सहरबजारहरू अस्तव्यस्त छन् । ट्राफिक नियमको कमैलाई चासो छ । ठूलो सपना देख्नेहरूका निम्ति यी सब बिकृतिप्रति चासो नै छैन । सायद यी ठूलो सपनाभित्र पर्दैनन् । राजनीति गर्नु र देश हाक्नु या ठुल–ठूला प्रोजेक्ट चलाउनु नै तिनका लागि ठूलो सपना होला । फोहर उठाउनु सायद तुच्छ सपना होला, त्यसैले त हाम्रो यात्राको ३३ औं जिल्ला झापा टेक्दै गर्दा पनि थोरै ठाउँ बाहेक फोहररहित बजार, चोक, गल्ली प्रायः देख्न, टेक्न पाइएको छैन । बेलुका ८ बजे काँकडभिट्टा बसपार्क टेक्दै गर्दा छरपष्ट छरिएको फोहरले नै हाम्रो स्वागत गरेझैं लाग्छ । जल्नेको मन जलिरहन्छ, फोहरबाजी चलिरहन्छ । सायद उक्त गाडीको कोटेशनभित्र कतै व्यग्ंय पनि बोलिरहेको हो कि ? यस्तै मानसिक वैचारिक द्वन्द्वहरूबीच हामी बसबाट ओर्लिन्छौँ । हाम्रो स्वागतार्थ आइपुगेका छन् । परिवर्तन थिएटरकी संयोजक कविता नेपाल र कान्तिपुरका स्थानीय पत्रकार पर्वत पोर्तेल । भोलिपल्ट साढे ११ बजे काँकडभिट्टा माविमा मञ्चन हुन लागेको हाम्रो नाटकको प्रोमो स्थानीय एफएममा घन्किन थालेका थिए । बिहानीको उभ्रिएको समयलाई सदुपयोग गर्न हामी लाग्छाैँ मेची पारीको नक्सलवादी आन्दोलनको बीज खसेको स्थान तर्फ । टैगोरकै जन्मभूमि पश्चिम बंगालमा पाइला राख्दै गर्दा पुनः फोहरहरूकै डंगुरले हाम्रो स्वागत गरिरहेकै छन् । टैगोरले भनेका स–साना कुराहरूले सायद उनकै माटोमा पनि स्थान पाएका छैनन् । सबैलाई ठूलै कुरा भेट्नु छ । फोहर हटाउनु सायद विकास योजनामा पर्दैनन् । मेची पारी हाम्रै सामुमा एशियन राजमार्गका ठुल–ठूला पिल्लरहरू, फराकिला सडक र पुलहरू बनिरहेकै छन् । तिनै विकासका खम्बाहरूमा काँध जोड्न फोहरका डंगुरहरू एकपछि अर्को चाङमाथि चाङ खाप्टिएकै छन् । मोहनप्रकाश नक्सलमा सडकमै टाँसिएका रहेछन् विश्व कम्युनिष्ट नेताहरूका सालिकहरू । तिनै शालिकहरूमा काँधमा काँध मिलाइरहेका थिए नक्सलवादी आन्दोलनका अगुवा चारु मजुम्दार । यहाँ आइपुग्दा पुनः मैले माओवादी जनयुद्धको बीज खसेको थबाङलाई सम्झिएँ । रोल्पा तत्कालीन समयमा माओवादी जनयुद्धको केन्द्र मानिन्थ्यो । आज एकान्तमा टोलाइरहेको थबाङजस्तै सडकतर्फ हेरेर टोलाइरहेकै थिए नक्सालमा चारु मजुम्दार । एउटा स्मरणीय र ताज्जुब लाग्दो कुरा माइक्रो यात्रामा चालकले सुनाए, ‘सर्वजननिक स्थानमे सिगरेट पिना मना हे, नक्सालमे मत सिगरेट पिना ।’ तर नक्साल पुग्नेबित्तिकै तिनै चालकले झरेर सिगरेट सल्काए । पुनः मैले टैगोरको भूमिमा टैगोरलाई सम्झिएँ, ‘उपदेश दिन सजिलोे हुन्छ, उपाय बताउन कठिन ।’ नक्सलका भित्री गल्लीहरू चहार्दै गर्दा भेटिए बिर्खे टोपी र दौरासुरुवालमा सजिएका भानुभक्त । एउटा नेपाली भाषीलाई यो गौरवको विषय नै थियो । साथीहरूले आदीकविको शालिकसँग फोटो खिचे । केहीबेर हामीले भित्री गल्लीहरू चाहार्यौँ। नकसलबाट फर्किएर सिधै हामी होटलतर्फ हानियौँ । र, नाट्य सामग्री सहित हाम्रो बस छिर्यो काँकडभिट्टा माविको विशाल चउरभित्र । यहाँ हाम्रो यात्राको अन्तिम अर्थात ३५ औँ नाटक मञ्चन हुँदै थियो । विद्यालयमा परिक्षा चल्दै रहेछ । विद्यालय प्राङ्गण सुनसान थियो । तर हाम्रो मञ्च तयार भइसक्दा परिक्षा सिध्याएर फाट्टफुट्ट विधार्थीहरू निस्कन थाले । सायद परिवर्तन थिएटरका साथीहरूले यही कुरा मध्यनजर राखेर समय निक्र्योल गरेका रहेछन् । नाटकले गति लिनै लाग्दा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय अगुवा सहित करिब ४ सय दर्शकको भीड उपस्थित भैसकेको थियो । नाटक यात्राकै क्रममा दैलेखको तल्लो डुङगेश्वरमा पुग्दा कक्षा ४ मा पढ्दै गरेका ११ वर्षीय बालक नविन वादीले हामीलाई एउटा गीत सुनाएका थिए । मर्नुछ एकदिन सधैँ बाँचिरहने को छ कोही गरिब हन् सक्छन्, कोही धनी हुन् सक्छन् गरिब हुँ भन्दैमा कोही रुनु पर्दैन धनी हुँ भन्दैमा हाँस्नु पर्दैन । सुर्खेतबाट प्रारम्भ भएको हाम्रो नाट्य प्रस्तुति दैलेख, जाजरकोट, बर्दिया, कञ्चनपुर, रोल्पा, मोरङ, सुनसरी हुँदै झापा आइपुगेको थियो । नौ वटा जिल्लामा प्रस्तुती जुर्यो भने २८ दिनको यात्रामा ३३ वटा जिल्लाहरू टेकिएछ । थोरै तीता तर असंख्य सुन्दर अनुभुतिका चाङहरू खप्टिएर बसिरहेकै छन् मस्तिष्कभित्र । ती सबै अनुभूति र भावहरूलाई कागजका खेस्राहरूमा कहाँ टक्टक्याउन सकिंदो रहेछ र ? अनुभूतिका ५/१० प्रतिशत शब्दहरू यी आलेखहरूमा झर्नसके पनि सायद म आफूलाई धन्य नै मान्नेछु । मनभित्रको सागर यति गहिरो रहेछ, कतिपय भोगाइहरू मनभित्रकै तलाउमा बिलाउँदा रहेछन् । र, कतिपय भाव शब्दमा पोख्नै सकिंदो रहेनछ । जाजरकोटको एैरेलीमा ११ वर्षमा विवाह भएर १८ वर्षमा पुनः दोस्रो बिहा गर्नपुगेकी कस्तुरा थापाका जीवन भोगाइका अनुभूतिहरू कसरी शब्दमा कोर्न सक्नु ? नवीन वादीका माथि उल्लेखित गीतका भाका कसरी शब्दमा सुनाउन सक्नु ? जाजरकोटको मोर्क बजारका दृश्यहरू कसरी यहाँ अटाउन सक्नु । दैलेखको सदरमुकाम खंलगा बजारका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका जोशहरू कसरी पानामा पोख्न सक्नु । कञ्चनपुरको सालघारीमा हात खुट्टा कमाउँदै बोलेकी निर्मला भट्टका आवाजहरू कसरी समाउन सक्नु । सिंहपुरका १६ वर्षीय भाइ विजय राणाका उत्साहपूर्ण विचार कसरी टिप्न सक्नु । कञ्चनपुरकै जोनापुरकी घरकी दुलही सीतादेवी डङ्गोराका कञ्चन आवाजहरू कसरी कोर्न सक्नु । यात्राकी सहयोगी मित्र बालिका चौधरीको योगदानलाई कसरी शब्दमा अटाउन सक्नु ? यात्रा, प्रत्यक्ष अनुुभूति र भोगाइभन्दा टाढाको निरस विषय रहेछ– लेखन र शब्दजाल । शब्दजाल बुन्नमा जतिसुकै संघर्ष गरे पनि आखिर आउने त्यही ५/१० प्रतिशत मात्र रहेछ । कनिकनि कोरेका यी शब्दजालमा अनुभूतिका कनिका बराबरको अंश भएपनि सायद प्रयाप्त नै हुनेछ । माफ गर्नुहोला मैले तपाईंहरूलाई काँकडभिट्टा माविकै प्राङ्गणमा छोडेको छु । पिपलको रुखमुनिको चौतारामा ४ जना जुवाडेहरू रक्सी पिउँदै तासमा जमेका छन् । मास्टर तासमा अलिच्छिना लागेको कुरा साथीहरूलाई सुनाउँदै गौरव गर्दैछ, ‘छ नि आज घरबाट निस्कन लाग्दा अलच्छिनी पड्किहाली, फेरी कता तास खेल्न पो भन्छे । मेरो पालो घुमाएर एक झापड दिएको थिएँ । कुना पसेर सुँक्क सुँक्क गर्दै थिई । म यता लागेँ । ल..ल.., तासमा पनि उही अलिच्छिना लागी हाल्यो । साइत राम्रो परे पो तास पर्नु ।’ उसको कुरा सुनेर तीन साथी गलल्ल हाँस्न थाले । चारै जनाको एउटै गुनासो छ बूढीलाई कसरी तह लगाउने । र, बूढी कुटेर मर्द बन्ने । यता एउटा खसी बेचेर तास खेल्न बसेको छ । अर्को कुखुरा बेचेर आएको छ । मास्टरसाब आफ्नो तलब जुवामा चडाउँदै छन् । घरमा बूढी छोराछोरीलाई एकसरो बेर्न र छाक जुटाउन धौ–धौ । यस्तै समाजको चित्रण छ कचहरी नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’मा । भ्यागुताहरू उफ्रंदै मञ्चमा पस्दा दर्शक एकैक्षणमा खित्का छोड्छन् । पुनः क्षणमा गम्भिर हुन्छन् । क्षणभरमै दर्शकका आखामा आँशु टिल्पिलाउँछन् । यो नै निर्देशक घिमिरे युवराजको शक्तिशाली निर्देशकीय पक्ष हो । चौधजना कलाकार र म्युजिक कम्पोजर शेख अम्जद प्रवेजको लगनशीलता र मेहनतको प्रतिफल बन्यो नाटक । नाटकको पृष्ठभूमिमा बसेर काम गर्ने फोटोग्राफर जीवन आले र बसचालक द्वय राज कपाली र रोजित कपालीको त्यत्तिकै योगदान थियो । विदेश गएको श्रीमान्को शंकाकै भरमा कल्पनालाई सासूससुराले घरबाट निकाल्छन्, तर कस्तो संयोग या भनु बिडम्बना आफ्नै छोरी शारीरिक र मानसिक हिंशाबीच कलिलै उमेरमा गर्भवति हुन्छे । र, बच्चा जन्माउन नसकेर प्राण त्याग्छे । अनि घरबाट बुहारी निकालिनु र छोरीको लाश त्यही बाटो लिएर मलामी अगी बढ्नु । यिनै हुन् नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकको केन्द्रवस्तु । नाटकको अन्त्यमा उपस्थित करिब ४ सय दर्शकका आँखाका डिलबाट हृदयको पानी छचल्किएर पोखिँदै छ । उर्मिलाको लाशसँगैको अगिल्लो पाइलो कलाकारका रूपमा मेरा पैतालाले धर्तीमा टेक्दैछन् । दर्शकहरू उफ ! भन्दै शीर निहुर्याउँछन् । दिउँसोको टन्टलापुर घाममा पनि सन्नाटा छाउँछ मञ्चमा । मेरो मुटुको धड्कन अचानक बढ्न थाल्छ । मानौं म मञ्चमा हैन कुनै घाटमा मेरै बहिनीको लाश बोकेर जाँदैछु । नवीन वादीका उही गीतका बोलहरू घन्किए झैँ लाग्छ वरिपरि– मर्नु छ एक दिन सधैँ बाँचिरहने को छ… ?’ कोही गरिब हन् सक्छन्, कोही धनी हुन् सक्छन् गरिब हुँ भन्दैमा कोही रुनु पर्दैन धनी हुँ भन्दैमा हाँस्नु पर्दैन । #मोहनप्रकाश
संसारका अद्भूत चित्रकला ३: शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । तीन सातायता हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्टबारे हरेक शनिबार जानकारी गराइरहेका छौँ । विभिन्न पुस्तकहरूमा आधारित रहेर संसारकै प्रख्यात कलाहरूबारे जानकारी दिने हाम्रो उद्देश्य हो । यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूलाई पस्किने गरेका छौँ । यसै मेसोमा आज हामीले जिसस क्राइस्टको पछुतो शीर्षकको चित्रकलाबारे चर्चा गर्न लागेका छौँ । १८३ बाई २०० सेमीको यो चित्र इटालीको पाडुआस्थति स्कोभेग्नी चापेलमा हेर्न सकिन्छ । यो चित्रको सबैभन्दा प्रभावशाली पक्ष भनेको अनुहारको विषादलाई प्रभावशाली तरिकाले पस्कन सक्नु नै हो । जब जिसस क्राइस्टलाई क्रुसमा टाँगियो र उनको मृत्यु भयो, जिससका केही साथीहरूले उनलाई क्रुसबाट निकाल्छन् । निकाल्दै गर्दाको दुःख, पीडा, विषाद यो चित्रमा अंकित गरिएको छ । पश्चिमा समाजमा जिसस क्राइस्टको जीवनमाथि विभिन्न चर्चहरूमा चित्र बनाउनु संस्कृतिकै एक अंग थियो । सन् १३०५ ताका त्यस बेलाका चर्चित चित्रकार गिओट्टो बोन्डनले यो चित्र बनाएका थिए । यसको ख्यातिका कारण यसको नक्कल गरेर अनेकन् चित्रहरू बनेका छन् । सन् १२६७ मा जन्मिएका गिओट्टो कलाको इतिहासमा अति प्रभावशाली चित्रकारका रूपमा चिनिन्छ । उनलाई आधुनिक चित्रकलाको आधारपुरूषका मानिन्छ । फ्लोरेन्स नजिकको कोली डि भेस्पिग्नानोमा जन्मिएका उनले सिमाबुको सामीप्यमा रहेर चित्रकला सिकेका थिए । उनले जीवनकालमा कयौँ चित्र बनाए पनि तिनको संरक्षण हुन सकेन । यो चित्र मात्र संरक्षण गर्न सकिएको छ । यो चित्रमा पात्रहरूबीचको दुरी, तिनको अनुहारको विषाद र दुःख, तिनको झुकाइ आदिले चित्रलाई प्रभावशाली बनाएको हो । उनको यो शैलीलाई उनीपछिका कयौँ कलाकारले पछ्याएका छन् । गोडा समाएर रोइरहेकी मेरी म्याग्डेलिन, जिससकी आमा भर्जिन मेरीले मृत छोरालाई काखमा राख्दाको भाव, छेउछाउका मानिसहरूको भाव यी सबैले चित्रलाई निकै प्रभावशाली बनाएको हो । यति मात्र होइन, आकाशका देवदूतहरूसमेत रोइरहेको दृश्यले यसलाई अझ बढी प्रभावशाली बनाएको छ । चित्रकारले भित्तामा कोरेको यो चित्र कलाकारिताका विद्यार्थीका लागि मात्र होइन, जिज्ञासुका लागि पनि उत्ति नै प्रेरणादायी छ । #संसारका अद्भूत चित्रकला
स्कुले विद्यार्थीले कविता पढ्न नपर्ने !: कोरोनाभाइरसका कारण संसारभरिका विद्यालय बन्द छन् । ६ महिनाभन्दा बढी समय स्कुले पढाइ बन्द भएपछि बेलायती सरकारी विद्यालयका विद्यार्थीले कविता विधा नपढे पनि हुने निर्णय शिक्षा मन्त्रालयले गरेपछि त्यसले तीव्र प्रतिक्रिया जन्माएको छ । विद्यालयले पढाउने पाठहरूमध्ये विद्यार्थीले नचाहेको खण्डमा कविताका पाठहरू नपढे पनि हुने नियम बनाइएको हो । २०२१ को वार्षिक परीक्षामा कविताका प्रश्नहरू छाडे पनि हुने निर्णयपछि शिक्षकहरूले अन्य विधा पढाउन बढी समय पाउने अपेक्षाका साथ कवितालाई हटाइएको बताइएको छ । त्यसो त यसअघि इतिहासको कक्षामा पनि प्राचीन इतिहास यसरी नै कटौतीमा परेको थियो । यसबाट बेलायतका एक लाख ३८ हजार विद्यार्थीलाई सहयोग पुग्ने परीक्षा नियन्त्रक कार्यालयको भनाइ छ । तर यस निर्णयसँगै कवितामाथि अन्याय भएको र यतिबेला कविता अझ बढी प्रभावशाली तरिकाले पढाइनुपर्ने धारणा विज्ञहरूको छ । विज्ञहरूले कविता हटाउँदा विविध आवाजमा प्रतिबन्ध लाग्ने धारणा राखेका छन् । द पोएट्री सोसाइटीले यस कुराको विरोध गरेको छ । सोसाइटीका निर्देशक जुडिथ पाल्मरले भनिन्, ‘अहिलेसम्म काला जातिदेखि एसियाली लेखकसम्मका कविता विद्यार्थीले पढिरहेका छन् । जोन अगार्ड, इम्तियाज धारकर, रेमन्ड एन्ट्रोबस र जाफर कुनैल जस्ता कविको विविधतामा प्रतिबन्ध लाग्ने छ । यसो गर्नु हुँदैन ।’ कविताले चुनौतीपूर्ण विषयलाई सहज छलफल गराउन सक्ने भएकाले विद्यार्थीमा यो क्षमता कमजोर हुनसक्ने चेतावनी पाल्मर दिन्छिन् । ‘कोभिड १९ रोगले मानिसमा जुन मानसिक समस्या ल्याइरहेको छ, कविताले त्यसलाई सहज रूपमा अभिव्यक्तिको बाटो दिन्छ । विद्यार्थीलाई यतिबेला यसको बढी आवश्यकता छ । कविताले उत्तर दिँदैन, यसले प्रश्न गर्न सिकाउँछ, अप्ठेरासँग जुझ्न सिकाउँछ । यो निर्णय सुन्नेबित्तिकै स्कटल्यान्डकी कवि तथा शिक्षक केट क्लान्चीले युवा मनले बढी कविता कथ्ने हुनाले ती सबै युवाको भावनामा चोट पुर्याउने धारणा ट्वीटरमार्फत् व्यक्त गरेकी छन् । आफ्ना विद्यार्थीका लागि ट्वीटरमै कविता पोस्ट गरिरहने उनले भनेकी छन्, प्रत्येक वर्ष किशोरकिशोरीहरूले अन्य भन्दा बढी कविता नै लेख्छन् । यो ती युवाहरूको भाषा हो । त्यसैले युवाभाषालाई प्रतिबन्ध लगाइनु हुँदैन ।’ केटको भनाइ छ, ‘विद्यार्थीलाई भार कम गराउने अरू नै बाटा अवलम्बन गरिनु जरूरी छ, कविताको हत्या गरेर होइन ।’ अन्य विधाभन्दा कविता सशक्त विधा भएकाले यस्तो सशक्त विधा प्रतिबन्धित हुन नहुने कवि तथा लेखक एन्थोनी एनाक्सगोरोले टिप्पणी गरेका छन् । यसैगरी कविता पपुलर कल्चरको एउटा भाग भएकाले युवापुस्तालाई त्यो संस्कृतिबाट अलग गर्न नहुने केहीको धारणा छ । कविताले कोविद १९ बाट निम्तिने समस्यालाई न्यून गर्न भूमिका खेल्ने हुनाले पनि यसलाई अन्याय नगर्न केही कवि लेखकले आग्रह गरेका छन् । बेलायती स्कुले शिक्षामा कवितालाई सन् १७८९ बाट समावेश गर्न थालिएको हो । #बिबिसी
कवि मोहन कोइराला: कारिन्दादेखि कुलपतिसम्म: नेपाली आधुनिक कविताका खम्बा मानिनुहुने, कतिपयले नेपाली टिएस इलियटका उपाधि दिइएका कवि मोहन कोइराला पञ्चायतकालमा राजा महेन्द्रले यातायात संस्थानको कारिन्दा हुँदा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा भित्र्याए, बहुदलकालमा उनी पुन: प्राज्ञ बने र काँग्रेसी नातामा कुलपति पदमा समेत पुगे । यौटा कविको जीवनको यो यात्रा निःसन्देह रोमाञ्चक र अविश्वसनीय हो । मैले मोहन कोइरालासँग २०३६ सालको ऐतिहासिक जनमत सङ्ग्रहको बेला भएको सडक कविता क्रान्तिमा बसउठ गर्ने मौका पाएको हुँ, झण्डै एक महिना । सादा, सरल, विनम्र देखिने र वास्तवमै देखिए अनुसारकै व्यवहार पाइने खालको व्यक्तित्व थियो उनको। बोल्न पनि कम बोल्ने यिनको स्वभाव थियो । सडक कविता क्रान्तिमा भाग लिएपछि उनको सहभागितालाई लिएर विवाद पनि उठेको थियो । कतिपय साहित्यकारहरू भन्ने गर्थे, उनी आफ्नो प्राज्ञ पदको निरन्तरता नभएको झोकमा सडक कविता क्रान्तिमा होमिएका हुन् । कारण जे भए पनि उनी सडक कविता क्रान्तिमा सहभागी भएका थिए सकृय रूपमा । उनको सहभागिताले सडक कविता क्रान्तिको उचाइ बढेको थियो । मानिसहरू “ए मोहन कोइराला पनि छन् ?” भनेर आकर्षित हुन्थे । झण्डै एक महिना काठमाडौँ, भक्तपुर, ललितपुर र बनेपामा सडक कविता क्रान्ति सम्पन्न भएपछि कविको टोली भानु जयन्तीका लागि चुँदी जाने र त्यहाँ तनहुँमा पनि सडक कविता क्रान्ति गर्दै पोखरासम्म पुग्ने कार्यक्रम बन्यो । यसरी काठमाडौँबाहिर जान कति विद्यार्थी थिए- पढाइले रोक्यो । कति जागिरे थिए-जागिरले रोक्यो । कति पढाइ र जागिर दुवैलाई मतलब नगरी हिँडे, जस्तो म आफैँ । मोहन कोइरालाले भने अन्तिम समयमा जान मन गरेनन् । “कहाँ भवानी घिमिरेको नेतृत्वमा जानु” भन्ने उनको भनाइ थियो रे ! हामी केही कवि लेखक छक्क पर्यौँ । काठमाडौँमा एक महिनासम्म भवानी घिमिरेको नेतृत्व चल्ने, तर एक महिनापछि काठमाडौँ बाहिर उनको नेतृत्व अस्वीकार हुने, यो अलि उदेकलाग्दो कुरा नै थियो । जे होस्, उनी गएनन्, कुरै सकियो । काठमाडौँ घट्टेकुलोमा उनको साधारण घर थियो । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदबाट बाहिर निस्केपछि उनको आयश्रोत थिएन । तर सरल, सोझो रूपरङ र सधैँ दौरा, सुरुवाल, कोट, टोपीमा उनी नयाँ सडकमा साँझपख बसन्तपुरबाट नियमित रूपले फर्किरहँदा म आफ्नो जागिरे समय सकेर न्यूरोड पीपलबोटमा केहीबेर टहलिएर डेरा फर्कदा उनलाई भेट्ने गर्थेँ । क्षेम कुशलका कुरा हुन्थे । बस् त्यत्ती मात्र । गोविन्द गिरी प्रेरणा मोहन कोइराला नबुझिने कविताका पर्याय मानिन्थे । त्यतिबेला नबुझिने कविका रूपमा दुई खम्बा थिए नेपाली कविताको संसारमा- मोहन कोइराला र ईश्वरबल्लभ । बामपन्थी लाइनका साहित्यकारहरू ईश्वरबल्लभको कविता नबुझिने भए पनि बौद्धिक छ, उनी विद्वान छन् भन्ने मत राख्थे भने प्रजातनत्रवादीहरू मोहन कोइरालाको कविताको उचाइ अग्लो छ, उनी नेपाली टिएस इलियट हुन् भनेर व्याख्या विश्लेषण गर्थे । २०३६ सालपछि मोहन कोइरालाले केही कथा लेखे । तर कथामा उनी जम्न सकेनन् । उनले नाटक एकाङ्की पनि लेखे । त्यो पनि उपलब्धिमूलक हुन सकेन । यद्यपि ती रचनाहरू प्रकाशित भए फूटकर रूपमा । प्रज्ञा प्रतिष्ठानमा सुरूमा हरेक प्राज्ञले आफ्नो विभागको विषय अनुरूपको प्रवचन दिनु अनिवार्य थियो तीन तीन महिनामा । मोहन कोइरालाले दिएका त्यस्ता प्रवचनको पुस्तक पनि प्रकाशित भयो । त्यस पुस्तकमा उनको काव्य धारणा बुझ्न सकिन्छ । तर मोहन कोइराला भन्नेबित्तिकै उनको “फर्सीको जरा” कविता सम्झन्छन् सबैले । त्यो कविता नै मिथक बन्यो । मोहन कोइरालाको पर्यायवाची भयो । नबुझिने कविताको बिम्ब बन्यो, प्रतीक बन्यो । अहिले पनि मान्छेहरू मोहन कोइराला भन्नेबित्तिकै फर्सीको जरा याद गर्छन्, फर्सीको जरा भन्नेबित्तिकै मोहन कोइराला सम्झिन्छन् । डा. ईश्वर बरालको सम्पादनमा “मोहन कोइरालाका कविता” प्रकाशित नहुन्जेल मोहन कोइराला कृतिकार बनेका थिएनन् । यो संग्रह उनको कविता लेखन यात्राको कोसेढुङ्गा सावित भयो । यसको प्रकाशनले मोहन कोइरालाको कवि व्यक्तित्व टड्कारो भयो र सबै विद्वानहरूले बाध्य भएर उनका कवितामाथि चर्चा गर्नुपर्ने अवस्था आयो । मोहन कोइरालालाई कविका रूपमा स्थापित गराउने ठूलो श्रेय रूपरेखालाई जान्छ । रूपरेखाले उनका कवितालाई सधैँ उच्च महत्वका साथ स्थान दिएको थियो । लेक, नूनका शिखरहरू जस्ता लामा कविताहरूलाई रूपरेखाले पूरै अङ्कमा प्रकाशित गरेर तथा त्यसको अफ प्रिन्ट किताबसमेत निकालेर मोहन कोइरालाको कवित्वलाई स्थापित गरिदिएको थियो । २०३८ सालमा साहित्यिक पत्रकार संघले एउटा आयोजक समिति बनाएर नेपालमै पहिलोचोटि साहित्य सङ्गोष्ठी गरेको थियो । त्यो तीन दिनसम्म पद्मकन्या क्याम्पसमा चलेको थियो । सो सङ्गोष्ठीमा परोक्षरूपले मदन पुरस्कारको आलोचना पनि भएको थियो, कमल दीक्षितकै सामुन्ने । सङ्गोष्ठीको दोश्रो दिनको सत्र चलिरहँदा अचानक हलमा कमल दीक्षित प्रवेश गरेका थिए र दर्शकदीर्घामा गएर उनी बसेका थिए अनि अचानक उनी उठेर बोलेका थिए, “म भर्खर मदन पुरस्कार गुठीको बैठकबाट फर्केको हुँ । गुठीको बैठकले कवि मोहन कोइरालाको “नदी किनारका माझी” कृतिका लागि यस वर्षको मदन पुरस्कार दिने निर्णय गरेको छ ।” त्यसपछि हलमा ताली गुञ्जिएको थियो । मोहन कोइराला मोहन कोइराला दोश्रोपल्ट एकेडेमी जानु अघि २०४४ सालको राजाको हेटौंडा सवारी शिविरमा भएको कवि गोष्ठीमा हामी साथै हुने मौका जुरेको थियो । हेटौंडामा हामी एकदिन बिहान सँगै चिया पिउँदै थियौँ । उनले भने, “तपाईंसँग यौटा सल्लाह गर्नु छ, मेरो कोठामा जाउँ ।” मैले हुन्छ भनेँ र हामी उनको कोठामा गयौँ । अनि उनले सल्लाह गर्न खोजेको कुरा भने, “गोविन्दजी, हामी सवारी शिविरमा आएका छौँ । यस्तो सवारीको बेला राजालाई बिन्तीपत्र हालेर राम्रो योजना फुत्काउन सकिन्छ । हामी कवि लेखकका लागि लेखकग्राम बनाउने भनेर योजना बनाऊँ । तपाईं त्यसमा लाग्नुस् । अनि बिन्तीपत्र हालौँ ।” मेरो कल्पनाशील विचारले भोलिपल्टै हेटौंडाको पायक पर्ने ठाउँमा लेखक ग्राम बनाउने र त्यसमा लेखकहरूको लागि आवास पनि व्यवस्था गर्ने गरी योजना बनाएँ । अनि हामी दुवै मिलेर लेखक ग्राममा को को लेखकलाई आवास दिने त्यसको पनि सूची बनायौँ र अर्को दिन हामीले संयुक्त हस्ताक्षर गरेर राजाको सवारी शिविरमा बिन्तीपत्र दर्ता गरायौँ । मोहन कोइराला यो योजनामा आशावादी थिए । म पनि गजबले आशावादी भएँ । तर हामीले यो योजना गोप्य राखेका थियौँ । मोहन कोइरालाको हेटौंडाको दक्षिणपट्टि पदमपोखरीमा केही जग्गा थियो । त्यो उनले राजा महेन्द्रबाट पाएका थिए । त्यसबाट शिक्षा लिएर यसपाली राजा वीरेन्द्रबाट पनि निगाह हुन्छ कि भन्ने उनको आशा थियो । तर त्यो आशा आशामै सीमित भयो । बिन्तीपत्रले काम गरेन । तर हामी भने यो प्रकरणले बढी नजिकियौँ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईश्वर बरालले “सम्पादकलाई व्यक्तिगत रूपमा मन परेका कविताहरूको सङ्कलन” भनेर भूमिकामै लेखिदिए । २०४६ सालको सफल जनआन्दोलनपछि देशमा व्यापक परिवर्तन देखा पर्यो । साहित्य त्यसबाट अछूतो रहने कुरा थिएन । प्रज्ञाप्रतिष्ठानको हलमै पञ्चायतकालीन प्राज्ञपरिषद् विघटन गर्न तथा ती पदाधिकारीहरूलाई राजीनामा गर्न बाध्य तुल्याउने हेतुले सभा गरियो । त्यसपछि नयराज पन्तबाहेक सबैले राजीनामा गरे र ईश्वर बरालको नेतृत्वमा प्रज्ञाप्रतिष्ठानको पुनर्गठन भयो र मोहन कोइराला काव्य विभागका प्राज्ञ बने । यसरी दोश्रोपल्ट उनी प्रज्ञाको कुर्सीमा पुगे । तर योपल्टको उनको प्राज्ञको कार्यकाल सर्वाधिक विवादास्पद बन्न पुग्यो, उनकै कामले । उनले यौटा कविता सङ्कलन र सम्पादन गरे, “आजका नेपाली कविता” । त्यो सङ्ग्रह प्रकाशनले मोहन कोइरालालाई सर्वाधिक अपजस मात्र दिलाएन नेपाली साहित्यको सबैभन्दा विवादास्पद र विरोध भएको पुस्तकको रूप लियो । डा. केशवप्रसाद उपाध्याय जस्ता सरल विद्वान, कालिप्रसाद रिजाल जस्ता कवि, मैँजस्तो युवासमेतले धुवाँधार विरोधमा लेखहरू लेख्यौँ, प्रकाशित गर्यौँ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईश्वर बरालले “सम्पादकलाई व्यक्तिगत रूपमा मन परेका कविताहरूको सङ्कलन” भनेर भूमिकामै लेखिदिए । यस्तो भूमिका आफ्नै प्रकाशनका लागि यसअघि कहिल्यै कुनै प्रज्ञाको प्रकाशनमा लेखिएको थिएन । विरोधका क्रम प्रकाशनको सुरूमा प्रज्ञामै सुरू भएर विरोधमा लेखहरू प्रकाशनमा मात्र पुगेर थामिएन । यो पुस्तक जलाउने हल्ला चल्यो । जुन दिन एकेडेमीको मूलगेटमा पुस्तक जलाउने हल्ला चल्यो, त्यो दिन प्रज्ञाका सारा प्राज्ञहरू दिउँसै भागाभाग गरेर आधा दिनसम्ममा प्रज्ञा प्रतिष्ठान आतङ्कित भएर रित्तिएको थियो । पुस्तक त जलेन, तर यसले ल्याएको आतङ्क भने जलेको भन्दा कम थिएन । यो विवाद र विरोधको केन्द्रबिन्दुमा मोहन कोइराला थिए, उनका खोकिलामा भने केही उग्रकाँग्रेसी कविहरू थिए । यो प्रकरणले उनको प्रतिष्ठाको ठूलो अंश सती गएको थियो । २०३६ सालपछिको समयमा उनको प्रतिष्ठाको ग्राफ जसरी माथि उक्लिएको थियो, यो प्रकरणले उनलाई निकै नराम्रो धक्का पर्यो । उनी बिरामी हुँदा राजावादी कवि तथा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य क्षेत्रप्रताप अधिकारीले संसदमा उनको उपचारको लागि रोष्टमबाट आवाज निकालेका थिए । नयाँ सडकमा ट्वाक थाप्दा पनि राम्रै सहयोग जुटेको थियो र हरि अधिकारीले उपचारका लागि दिल्लीसम्म साथ दिन पुगेका थिए । पछिल्लो चरणमा मोहन कोइरालाको आर्थिक हैसितमा पनि राम्रो सुधार भएको थियो । उनको भक्तपुर जिल्लामा पर्ने स्थानमा हराइरहेको पुर्ख्यौली जग्गा कवि हरि अधिकारीले भक्तपुरको स्थानीय विकास अधिकारी छँदा खोजेर सघाएका थिए र उनको साधारण घरको ठाउँमा आलिशान भवन बनेको थियो डिल्ली बजारमा । पछि काँग्रेस पूर्ण सत्तामा छँदा उनी एकेडेमीको नेतृत्वमा पनि पुगे । उनलाई काँग्रेसीहरूले निर्विकल्प रूपमा प्रस्तुत गरेका थिए । काँग्रेस हुनु र कोइराला हुनुले राम्रै काम गरेको थियो उनलाई त्यो स्थानमा पुर्याउन । तर यो बिडम्बना नै मान्नु पर्छ, पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्रले कविको रूपमा एकेडेमीमा प्रवेश गराएका थिए भने उपकुलपति हुन काँग्रेसीको बुइ चड्नु पर्यो । उनको कार्यकाल कुनै नयाँ र उपलब्धिमूलक कामबिना नै सकियो । उनी आफैँले निर्माण गरेको आधुनिक काव्य लेखनको टाकुरामा एक्लै थिए । त्यो टाकुरा मोहन कोइराला हुन् । तर मोहन कोइरालाको पुँजी भनेको काव्य सिर्जना नै थियो । उनले त्यो धर्मको पालना भने आजीवन नै गरिरहे । विशेषत: लामा गद्य कविता उनको काव्य सिर्जनशीलताको विशेष पक्ष थियो । उनका लामा कविताहरू नै उनको परिचय हो, पहिचान हो, विशेषता हो । चाहे मदन पुरस्कारप्राप्त “नदी किनारका माझी” होस् या उनको देहावसानपछि प्रकाशित “सिमसारको राजदूत” नै किन नहोस्, त्यो नै मोहन कोइरालाको विशेषता हो, काव्यिक परम्परा हो । उनले त्यो बाटो कहिल्यै त्यागेनन् । नबुझिने कविता भन्दा पनि उनी त्यही बाटोमा हिँडिरहे । नेपाली टिएस ईलियट भन्दा पनि निरन्तर लागिरहे सिर्जनामा । सडक कविता क्रान्तिताका अलिक बुझिने जस्ता कविता लेखे पनि आफ्नो पुरानो परम्पराबाट उनी टाढिएनन् । हुन त उनको फर्सीको जराबारे उनले लेखेको रचना गर्भ पढ्दा विद्वानहरूले गरेको व्याख्या र उनको विचारले कहीँ कतै मेल खाएको देखिदैन । काँग्रसी भएर एकेडेमी पस्दा पनि “श्री ५ महाराजाधिराजकी जय जय ! श्री ५ बडामहारानी की जय जय !” कविता प्रकाशित गर्नुले पनि उनको काँग्रेसी चिन्तनसँग मेल खाँदैन । तर उनका सारा अन्य पक्षहरू एकातिर राख्दा पनि उनको काव्य लेखनमा भएको लगाव, निरन्तरता, आफैँले बनाएको निर्दिष्ट बाटोमा हिँडिरहने एकलव्य यात्रालाई कुनै हानी गरेको भने देखिदैन । उनी आफैँले निर्माण गरेको आधुनिक काव्य लेखनको टाकुरामा एक्लै थिए । त्यो टाकुरा मोहन कोइराला हुन् । त्यो टाकुरामा ठडिएका पनि मोहन कोइराला नै हुन् । बृन्दावन, भारत । #गोविन्द गिरी प्रेरणा
मर्यादाको विनिर्माण: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । प्रस्तुत लेख हामीले यो लेख हामीले नयाँ पत्रिका को शनिबार अंक झन् नयाँ बाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख सावित्री गौतम ले तयार पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिका मै पढ्न पनि सक्नुहुने छ । हालसालै एउटा सरकारी कार्यालयकी कर्मचारी महिला छुट्टीमा भएको र सार्वजनिक यातायात नचलेका वेला अलिकति ढाड देखिने लुगा लगाएर सरकारी मोटरसाइकल चढेको फोटो सार्वजनिक भयो । सार्वजनिक गर्ने नेपालको प्रशासनिक सेवामा लामो समय बिताएका व्यक्ति हुन् । तर, उक्त फोटोसम्बन्धी जति पनि समाचार आए, तिनमा ती व्यक्तिलाई ‘कसैको व्यक्तिगत फोटो सार्वजनिक गर्नेजस्तो तुच्छ काम किन ग\u200dर्\u200dयौ ?’ भनेर सोध्ने व्यक्तिहरू नगण्य छन् । बरु उनै महिलालाई ‘मर्यादित’ लुगा लगाउनुपर्ने अर्ती दिनेहरू नै ‘महिलाका मुद्दालाई मूल प्रवाहीकरण गर्ने’ नारा भएका संस्थामा लामो समय हर्ताकर्ता बनिसकेकाहरू छन् । सामाजिक सञ्जालमा गरिने गालीगलोजको त सीमा नै भएन, उनी कार्यरत गाउँपालिका अध्यक्षले समेत उनको लुगा कति तलसम्म काटिएको थियो, गहिरिएर हेरीकन कति सजिलै आफूलाई असीमित अधिकारधारी ठानेर घोषणा गरे, ‘म स्पष्टीकरण सोध्नेछु ।’ महिलाका सबै लुगामा राजनीति छ । कुनै समय जनावरको हड्डीले सिलाइने र त्यो अपवित्र हुने भन्ने (अन्ध)विश्वासअनुसार भारतवर्षका पुरुष-महिला दुवैले नसिलाइएका लुगा लगाएकै हुन् । तर, पुँजीमाथि पुरुषको स्वामित्व हुन थालेपछि उनीहरूले आफ्ना लुगालाई सयौँपटक पुनः डिजाइन गरिसके । आज पुरुषका हरेकजसो लुगामा लुगामै टाँस्सिएका बडेमानका खल्ती हुन्छन् । तर, महिलाका लुगालाई सुन्दरता र ‘मर्यादा’सँग जोड्न छोडिएको छैन । त्यसैले त हामी आजसम्म पनि ‘सारी ट्विटर’ ट्रेन्ड चलाएर बस्छौँ । ‘परम्परागत’ मात्र किन ? पातलो शरीर राम्रो भन्ने मान्यताका कारण ‘पश्चिमा’ भनेर चिनिने पाइन्ट वा अरू विनाखल्तीका वा भए पनि ड्राइभिङ लाइसेन्ससमेत नअट्ने गरी ताछिएका खल्ती भएका लुगा व्यहोरेर बस्न बाध्य छौँ । यो राजनीति बुझेका महिलाले त ‘पश्चिमी’ लुगाबारे पनि बहस गरेकै छन् । संसद्मा भिडन्त भए सारीचोलो लगाएका महिला मर्यादापालकले संसद्को मर्यादा कसरी जोगाउन सक्लान्, वा परिचयपत्रसमेत मुस्किलले अट्ने बेकम्मा खल्ती भएका जिन्स हामी किन लगाउने भन्ने बहस अर्काे पाटो हो । तर, कुनै विशेष प्रकारको लुगा लगाइदिएर महिलाले परिवार र समाजको मर्यादा बोक्नुपर्छ भन्ने मानसिकताचाहिँ आफूलाई महिलाको शरीरको मालिक ठान्ने प्रवृत्ति हो । ष्ठभाग प्रदर्शनको पृष्ठभूमि महिलाको लुगा र शरीरले अब समाजको मर्यादा धान्न सक्दैन भन्ने हुंकार गर्दै यसपटक धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता महिलाले कडा प्रतिरोध गरे । कतिपयले शब्दमार्फत मात्रै र कतिपयले भिजुअल इमेज अर्थात् फोटोमार्फत पनि । कुनै सार्वभौम महिलाको मर्यादालाई चंगा बनाएर उडाउने मान्छेमाथि कुनै टिप्पणी नगरीकन उल्टो मर्यादित लुगाको अर्ती दिने ‘गन्यमान्य’हरू देखेपछि म आफैँले ढाड देखिएको फोटो खिचाएर विरोध जनाएँ । किनभने आफ्नो शरीर र लुगामार्फत मर्यादाको ठेक्का लिने जनसंख्याको ठूलो हिस्सामध्ये म पनि एक हुँ । एक त मलाई ती कर्मचारी महिला एक्लैले यो भोगेकी होइनन्, म पनि हुँ भनेर उनीसम्म यो सन्देश पु\u200d-याउनु थियो । दोस्रो, यो मेरा लागि कुनै स्टन्टबाजी नै थियो भने पनि यो स्टन्टको लामो पृष्ठभूमि छ । उक्त फोटो खिचाउँदै गर्दा, सामाजिक सञ्जालमा राख्दै गर्दा मभित्र आफ्नो शरीर, लुगा, कपाल, हिँडाइ, लवज अर्थात् मेरो समग्र व्यक्तित्वमाथि मैले सुनेका टिप्पणी, लगाइएका प्रतिबन्ध, भोगेका दुव्र्यवहार र दबाएको आक्रोश उम्लिरहेको थियो । ती अनगिन्ती यादमध्ये केही यसप्रकार छन् । ००० सानोमा भाडामा बस्दा घरबेटीकी छोरीलाई निनी (अर्थात् नेवारीमा फुपू) भनेर बोलाउँथ्यौँ । निनी आइए पढ्थिन् । म दश पुगेर एघारमा हिँड्दै थिएँ । निनीले कहिलेकाहीँ एक्लै भएको वेला मलाई धम्क्याउँथिन्, ‘तेरो ‘दूध’ हेर्ने हो एक दिन ।’ निनीले मलाई एक्लै कतै नभेटून् भनेर डराउँथेँ । तर, एक दिन कलेजबाट आएर भर्\u200dयाङ चढ्दै गर्दा उनले मलाई दोस्रो तलामा भएको आफ्नो कोठाभित्र एक्लै देखिन् । मेरो कोठाभित्र छिरिन् र मेरो टिसर्ट उचाल्न खोजिन् । मैले सकेको बलले टिसर्ट तल तान्ने र उनले सकेको बलले माथि तान्ने चलिरह्यो । तर, बलियी निनीले मलाई भुइँमा पछारिन् । बजारका धारामा माथिल्लो हर खुलै राखेर नुहाउने बालिकाका स्तन कत्रा थिए होलान् ? तर, हेरिसकेपछि उनी खुन खाएको बाघजस्तो विजयीभावसहित मेरो कोठाबाट गइन् । नयाँ–नयाँ फेसनका लुगा लगाएर कलेज जाने निनी मलाई निकै आकर्षक लाग्थिन् । त्यो हरकतपछि मलाई निनी ‘राम्री’ लागिनन् । पछि थाहा भयो, निनीले मेरी बहिनी र मेरो सम्पर्कमा भएका अरू बालिकालाई पनि त्यस्तै गरेकी रहिछन् । महिलाको शरीरलाई यौनिकीकरण गरिने मानसिकता महिलाले पनि सर्लक्कै निलेका हुन्छन् भन्ने कुरा निनीको त्यो हरकतले स्पष्ट पार्छ । निनीले गरेको दुव्र्यवहार त केही महिनापछि बिर्सें । तर, अर्काे वर्ष अर्काे ठाउँमा सरेपछि केटीहरूका स्तनबारेमा मान्छेले गरेका टिप्पणी सुन्न, आफैँलाई हेरेर ‘ए तरुनी भइछिन्’ भन्ने मान्छे भेट्न लागिसकेकी थिएँ । त्यसैले हुन सक्छ, म ‘बालिका’ नै देखिने कोसिसमा आफ्ना स्तन पलाएका सुरुका वर्षमा कुप्रिएर हिँडेँ । नुहाउने वेला आमाले ‘तैँले मैलो निखार्दिनस्’ भनेर नुहाइदिन नआइदिएहुन्थ्यो जस्तो लाग्थ्यो । आमा मलाई विनाकुनै अप्ठ्यारो नुहाउन सघाउनुहुन्थ्यो, किन कुप्रेर हिँड्छेस् भनेर गाली पनि गर्नुहुन्थ्यो । तर, छोरीसँग स्तन पलाउने उमेर नै यही हो र यसमा तैँले हिचकिचाउनुपर्दैन भनेर छलफल गर्ने खुलापन आमामा पनि त्यतिन्जेल आइसकेको थिएन सायद । सत्र वर्षको उमेरमा मेरो दाहिने स्तनमा घाउ भएर पाकेको थियो । कलेज पढ्दा सारी लगाएर जान्थेँ । घर आएपछि ‘समिज’ भनिने गन्जीजस्तो चीजसँग अरू नै लुगा लगाउँथेँ । कलेजबाट आएर सारी–ब्लाउज फुकाल्दा घाउमा टाँस्सिएको ब्रा उप्काउँदा हुने सकसले एक्लै रुन्थेँ । तर पनि शरीर र त्यसमाथि पनि महिलाको शरीर लुकाउने चिज हो भन्ने कुराले दिमागमा यति शासन गरेको थियो कि मैले त्यो घाउबारे आफ्नै घनिष्ठ साथीहरूलाई पनि बताउन सकिनँ । संयोगवश त्यो घाउ केही दिनमा आफैँ ठीक भयो । निनीकै सहरमा हुँदाको कुरा, हामी सहरमा नयाँ थियौँ । सहरका मुख्य धाराहरूको भिड छिचोलेर नुहाउने, लुगा धुने हाम्रो पहुँच पुग्दैनथ्यो । त्यसैले धेरैजसो शनिबार म, बहिनी र भाइ बजार एरियाभन्दा परका धाराहरू खोज्दै हिँड्थ्यौँ, जहाँ भिड कम हुन्थ्यो । एकपटक बहिनी र मैले खोज्दै जाँदा सहरको अलि तल खेतैखेत झरेर गएपछि दुई–तीनवटा धारा देख्यौँ । दुई–तीन कान्ला माथिको धारामा एकजना वयस्क व्यक्ति आफ्नो लिंग निकालेर भिजाउने र खेलाउने गर्दै थियो । दश वर्षकी म र साढे आठ वर्षकी बहिनीलाई उसले के गरेको थाहा हुने कुरै भएन, हामीले आफ्नो सुरले नुहायौँ । ऊ भएको धारा हुँदै घर जाने आली पथ्र्याे, हामी उक्लियौँ । हामी हिँड्दै गर्दा उसले हामीतिर हेरेर ‘मैया, मैया’ भनेर बोलायो, वास्ता नगरी गयौँ । आज सोच्दा सिरिंग हुन्छ, धन्न उसले तल्लो धारामा झरेर हामी दुई बालिकाहरूलाई केही गरेन । माथि नै उभिएर हस्तमैथुन (आज आएर बुझ्दा उसले त्यही गरेको थियो भन्ने लाग्छ) गरिरह्यो । केही वर्षअघि पोखरामै एउटा स्कुल पढाउँदा सो स्कुलनजिकै साथीको होस्टेल थियो । होस्टेलअगाडि स्कुले छात्राहरू हिँड्ने समय र बाटो पारेर एउटा युवक दिनदिनै आउने, पाइन्टको जिपर खोलेर ठिक्क परेर बस्ने, छात्राहरू मात्र त्यो बाटो हिँडेको देखेपछि उनीहरूको अगाडि गएर आफ्नो लिंग देखाउने खेलाउने गर्दाे रहेछ । एक दिन म गएको वेला साथीले त्यो केटालाई देखाइन् । मैले पुलिस बोलाउनुपर्छ भन्दा भोलि होस्टेलका केटीहरूलाई ‘केही’ गरे के गर्ने भन्ने डरले त्यो दृश्य देख्न लागेको धेरै दिन हुँदा पनि पुलिस बोलाउन सकेको छैन भनिन् । मैले उनलाई हप्काएर पुलिस बोलाइदिएँ । तर, ऊ टाढैबाट पुलिसको भ्यान देखेपछि भाग्यो । एक–डेढ महिनापछि अर्काे बाटोमा म आफैँ स्कुल पढाएर फर्कंदै थिएँ, अर्काे कुनै मान्छेले ठ्याक्कै त्यस्तै गर्दै थियो, ऊ पनि म नजिक पुगेपछि मेरो अगाडि आयो । बडेमानको ढुंगा टिपेर ऊतिर झटारो हानेँ, ढुंगा छलाउँदै ऊ भाग्यो । त्यति मात्र होइन, नारायणी नदीमा एक्लै नुहाउँदै गर्दा नजिकै आएर लगातार हेरेर बसिदिने केटाहरूबाट भाग्न ज्यान नचोपली कपाल मात्र नुहाएर, बाँधेको पेटीकोटमाथि नै स्कर्ट टिसर्ट उनेर घर फर्केको याद छ । स्कुल वा कलेजबाट नारायणीको पुल हुँदै फर्कंदै गर्दा हावा चल्यो भने कुन वेला यिनीहरूको स्कर्ट उडाउला भनेर बीस मिटर परबाट कुरेर बस्ने आँखाहरूबाट त्रसित भएको, उडाए पनि ती मान्छेहरू बसेको ठाउँ कटेपछि उडाओस् भनेर प्रार्थना गरेको याद छ । एकाबिहानै कपाल नुहाएर बाटोमा केही कामले निस्केकी मेरी आमालाई ‘ए भाउजू कपाल बाँधेर आउनुस्’ भनेर नियन्त्रण गर्ने गाउँले ‘देवर’को अनुहार आजसम्म पनि मलाई टड्कारो याद छ । छोरीले, बुहारीले, कथित मान्यजनका अगाडि उपरखुट्टी लगाएर, खुट्टा फैलाएर बस्दैनन्, उत्तानो परेर सुत्दैनन् भनिएको सयौँपटक सुनेको र भोगेकोसमेत छु । मेरा आमा र काकी आजसम्म पनि जेठाजुका अगाडि कपाल देखाएर बस्न नसकेको, अब नछोप्नुस् भनेर कैयौँपटक भनिसक्दा पनि उनीहरूको दकस नगएको देखेको छु । सिंगो मानवलाई आफ्नो शरीरमा बोकेर हिँडेकी गर्भवती महिलाले आफ्नो पेट छोपेर हिँडेको म दिनदिनै देख्छु । बच्चालाई भ\u200d-याङमा बसेर दूध खुवाएकी बुहारीलाई ससुराले हकारेको देखेको छु । ‘हिपलाई टिसर्टले नछोप्ने पाइन्ट लगाएर घुम्न जाँदा नातेदारको अगाडि बेइज्जत गरिस्’ भनेर बहिनीलाई हकारेका दाइ देखेको छु । आफ्नो मनपरेको डिजाइनमा कपाल काट्न, बाट्नसमेत नपाएकी छोरी र बिहेपछि मूल घर जाँदा ‘कुर्ता होइन, सारी नै लगाऊ’ भन्ने उर्दी सुनेकी ‘बुहारी’को रूपमा हारेको समय पार गरेर यहाँसम्म आइपुगेको छु । अर्थात् आफ्नो लिंग पनि सार्वजनिक ठाउँमा निर्धक्क देखाउन, खेलाउन नहिचकिचाउने मैमत्त लोग्नेमान्छे र यति धेरै प्रतिबन्ध भोगेकी स्त्रीलिंगीको रूपमा आफ्नो उपस्थिति एउटै समाजमा देख्दा कैयौँपटक आक्रोशित भएकी छु । स्त्रिलिंगी शरीरको सीमाहीन यौनिकीकरण कतिपय घरमा नवजात शिशुको नांगो फोटो खिचाउने चलन छ । छोरा र छोरीको नांगो फोटोको अनुपात कति होला ? कसैकहाँ जाँदा ५–६ वर्षको बालक नांगै यताउता दौडिरहेको छ भने तपाईं–हामीलाई त्यो दृश्य कत्तिको असहज लाग्छ ? त्यसको दाँजोमा त्यति नै उमेरकी बालिकालाई त्यस्तै रूपमा देख्दा कत्तिको सहज लाग्छ ? तपाईं–हाम्रो बाह्र वर्षको छोरा छ र उसले आँगन वा पिँढीसम्म कपडा फेर्दै ज्यानमा आधा कपडा लगाएर आइपुगे हामीलाई कत्तिको अस्वाभाविक लाग्छ ? त्यसको दाँजोमा त्यति नै उमेरकी छोरीलाई त्यही रूपमा देख्दा कत्तिको स्वाभाविक लाग्छ ? ‘बिकिनी बडी’बारे हामीले सुनेका छौँ । अर्थात् पातलो शरीर जुन शरीरले बिकिनीकै ‘शोभा’ बढाउनुपर्छ । समुद्र किनारमा वा पौडी पोखरीमा लगाउने लुगाका लागि महिलाको पातलो शरीर हुनुपर्छ भन्ने सोचका कारण भोगिने असहज हेराइका कारण यस्ता ठाउँमा गएर रमाइलो गर्नबाट रोकिएका महिलाको हिसाबकिताब खोइ ? खुट्टामा फित्ता लिएर नाप्दै स्कर्टलाई घुँडाबाट कति तल बनाउने भनेर तोकेर उर्दी दिइने स्कुल पढ्ने साना छात्राको मनस्थितिको तथ्यांक खोइ ? उनीहरूको त कपालसमेत स्कुल प्रशासन र शिक्षकको नियन्त्रणमा हुन्छ । कि पूरै छोट्याएर आउनुपर्ने कि घाँटीसम्मको लामो भए रिबन लगाएर आउनुपर्ने आदेश सुनाइन्छ । कतिपय बैंक, स्कुल र सरकारी कार्यालयमा वर्षभरि महिला–पुरुषले सर्टपाइन्ट लगाउँछन्, तर वार्षिकोत्सव वा अरू विशेष कार्यक्रम परे महिलाले सारी–चोलो लगाएर संस्थाको ‘मर्यादा’ धानिदिने चलन अझै छ । जबकि पुरुषले ती दिनमा पनि आफ्ना नियमित लुगा नै लगाउँछन्, बढीमा माथि कोट थप्लान् । चाडबाड वा बिहे–व्रतबन्धमा पुरुषले काम गर्न छरितो लुगा चाहियो भनेर भेस्ट र हाफपाइन्ट मात्र लगाउँछन्, तर महिलाले गह्रुंगा र अल्झाउने सारीचोलो लगाएर भान्सामा घन्टौँ खटिएर ‘मर्यादा’ धान्नुपर्छ । पोखरामा भएको एउटा ‘देशकै ठूलो’ कलेज पृथ्वीनारायण क्याम्पसभित्र महिलालाई हाफपाइन्टको कुरा छोडौँ, गोलीगाँठासम्मै आउने वन पिस लुगा वा लेगिंग्ज भनिने एक प्रकारको सुरुवाल लगाएर छिर्न मनाही छ । यही नियम क्याम्पसमा दौडन, खेल्न–कुद्न, दिनमा बीसौँपटक हाफपाइन्ट लगाएर ओहोरदोहोर गर्ने पुलिंगी खुट्टाका लागि अनिवार्य छैन । देशको कुनै कुनाबाट उक्त कलेजमा प्रवेश परीक्षाका लागि आएकी, कलेजले तोकेको पोसाक सिलाउन भ्याउनु त परको कुरा, पोसाक छ भन्ने पनि थाहा नभएकी युवतीलाई गेटैमा रोकिएको छ र ऊ प्रवेश परीक्षाको आधा समय छुटेर रोएकी छ । कलेज सकिइसकेको र जाँच आउने वेला प्रवेशपत्र लिन हिँडेकी केटीलाई त्यसैगरी रोकिएको छ । कलेजकी विद्यार्थी नै होइन, तर त्यहाँ हुने कुनै कार्यक्रममा सहभागी हुन आफ्नो सुविधाअनुसारको लामो नै पोसाक लगाएर गएकी युवती रोकिएकी छ । त्यति मात्र होइन, कलेज बन्द भएको समय र सिजनमा क्वार्टरमा बस्ने साथी भेट्न क्वार्टर पाइन्ट नै लगाएर आएकी बच्चाकी आमासमेत रोकिएकी छ । ढाडेहरूलाई देखाइएको ढाड महिलाले शरीरको कति भाग देखाउने र कसका अगाडि देखाउने भन्ने सोचको परिधि उनीहरूले आफ्नो स्तन, योनी र पाठेघरमा संक्रमण भएर अस्पताल जाँदा पनि पुरुष डाक्टर त नपरेहुन्थ्यो भनेर प्रार्थना गरिने स्थितिसम्म तन्किएको छ । तर, अब आफूले धान्नुपरेको ‘मर्यादा’को विनिर्माण विश्वभरका महिलाले आफैँ र आफ्नै तरिकाले गर्दै छन् । कतिपय देशमा सार्वजनिक स्थानमा महिलाले आफ्ना बच्चालाई स्तनपान गराउन नपाउने घोषित-अघोषित नियम नै छन् । स्तनमाथिको यो स्त्रीद्वेषी हेराइको अन्त्य गरौँ भन्दै पश्चिममा ‘फ्री द निप्पल’ अभियान विगत केही वर्षयता चल्दै आएको छ । ‘पश्चिमको कुरा नगर’ भन्नेहरूलाई ०६४ सालमा नेपालका बादी महिलाले शरीरको माथिल्लो हरमा भित्री वस्त्र मात्र लगाएर सिंहदरबारको पर्खाल नाघ्ने गरी गरेको प्रदर्शनबारे थाहै होला । ढाड देखाउने प्रतिरोधपछि हाम्रा ढाडहरूलाई फल्याकजस्ता, घिरौँले ढाड आदि भनेर खिसी गरिएको छ । ‘पुँजीवादबाट शासित छौँ भनेर नबुझ्ने, क्रान्तिको ‘सही’ तरिका नजानेर स्वेरकल्पनामा हराएकाहरू’ भनेर कटाक्ष गरिएको छ । अर्थात् यी दुवैथरी मान्छेहरूले कसैको शरीर र त्यसलाई कति देखाउने वा कस्ता लुगा लगाउने, कसरी विरोध गर्ने आदि भनेर हाम्रो शरीर र प्रतिरोधका तरिकामाथि आफ्नो नियन्त्रण छ भन्ने भ्रम नै ओकलिरहेका छन् । ढाड देखिएकी महिलालाई छाडा गाली गर्नेहरू र ढाड देखाएर प्रतिरोध गर्नेहरूका आवाजलाई कटाक्ष गर्नेहरूका शब्द फरक होलान्, तर प्रवृत्ति दुरुस्तै एउटै हो । आज ढाड देखाउनेले भोलि बलात्कारको विरोधमा योनी देखाउलान् त ? पनि भनिएको छ । सन् २००४ मा भारतको मणिपुरमा मनोरमा नामक युवतीलाई सेनाले बलात्कारपछि योनीमा बीसौँपटक गोली हानेर हत्या गरेको विरोधमा त्यहाँका आमाहरूले ‘भारतीय सेना हामीलाई बलात्कार गर्’ भन्दै नग्न प्रदर्शन गरिसकेकै हुन् । विनाकुनै योजना बाह्रजना आमाहरूले परिवारका सदस्यलाई समेत थाहै नदिई गरिएको स्वस्फूर्त प्रदर्शन थियो त्यो । उनीहरूले हाम्रो यो विरोध कुन वादभित्र अटाउँछ भनेर वा यो मुद्दा उठाएपछि भारतभरि सधैँलाई बलात्कार रोक्न सक्छौँ भनेर उठाएका पनि थिएनन् । ढाड देखाएर गरेको प्रतिरोधले पनि महिलाका सबै मुद्दालाई आजको आजै समाधान गर्ने होइन । एउटै वा एकैथरी आन्दोलन, अभियान वा क्रान्तिले सधैँभरिका सबै मुद्दा सम्बोधन गर्दाे हो त संसारमा एउटै देशमा केही समयको अन्तरालमा बारम्बार विभिन्न क्रान्ति किन हुन्थे ? त्यसैले ढाड देखाउनेहरू महिलाको अन्य मुद्दाप्रति उदासीन छन् वा महिलामाथिको ऐतिहासिक दलनबारे उनीहरूलाई जानकारी नै छैन, उनीहरू स्टन्टबाज मात्र हुन् भनिनु उनीहरूको आवाजलाई खारेज गर्नु हो । शब्दमार्फत जनाइएको विरोध ‘शुद्ध’ हुने र दृश्यमार्फत जनाइएको नहुने भन्ने कुनै तर्क नै होइन । यो त आफैँमा ‘कन्डेन्सेन्डिङ’ अर्थात् आफूलाई अरूको ‘तरिका’को परिभाषा के हो भनेर खुट्याउन, घोषणा मात्र होइन, खारेज नै गरिदिन सक्ने सामर्थ्य भएको सर्वेसर्वाको रूपमा देख्ने प्रवृत्ति हो । ढाड देखाएर प्रतिरोध गर्नु पुँजीवादबाट शासित हुनु हो भने खाना पकाउँदा चोलो फुकाल्न बाध्य पारिनु वा मृत्यु संस्कारको नाममा ब्लाउज, पेटीकोट मात्र होइन, ब्रा र अन्डरवेयरसमेत नलगाईकन एकसरो सारीमा आधा ढाड देखाएर कपाल नकोरी, दाँत नमाझी तेह्र दिन किरिया बस्न बाध्य भइनु पनि सामन्तवाद वा रुढीवादबाट शासित हुनु हो । ढाड देखाउने सबै ‘पुँजीवाद’ नामक ‘वाद’का समर्थक नहुन पनि सक्छन् वा हुन पनि पाउँछन् । बहुलवादी समाजमा तँ यो हुन पाउने, यो हुन नपाउने भनेर तोकिदिने अधिकार कसैलाई छैन । त्योभन्दा मुख्य कुरा मैले ढाड प्रदर्शन कुनै ‘वाद’भित्र अटाउला कि नअटाउला भनेर गरेकी थिइनँ । यो मेरा लागि महिलाको शरीरमाथि पुरुषवाद, पुँजीवाद, सामन्तवाद वा रुढीवाद, जुनसुकै ‘वाद’ले अधिकार जमाएको प्रवृत्तिविरुद्धको स्वस्फूर्त विरोध हो । तर, यसपटक महिलाको शरीरको यौनिकीकरण गर्ने र त्यसको प्रतिरोधको तरिकालाई नानाथरी नामले न्वारन गर्ने दुवैथरी ढाडेहरूलाई नेपाली महिलाको अलिकति संख्याले मज्जाले ढाड देखाइदियो । पहिरन होस् वा प्रतिरोध, कसैको वैयक्तिकतालाई खारेज गर्न तम्सिनेहरूसँग अब नयाँ पुस्ताका महिलाले आफूलाई ढाड देखाएको हेरेर बस्नेबाहेकको विकल्प बाँकी नहोला ।
व्यक्ति एक व्यक्तित्व अनेकः राहुल राई ‘बोगिको’को मितोप: राहुल भाइ र मेरो सम्बन्ध सुत्र हुन् लगनशील साहित्यकार सुकराज दियाली । राहुल भाइको अघिल्लो कृति ‘कालो अक्षर’को विमोचनमा मुख्य अतिथि बनेर पुगेथेँ सुदूर मणिपुर । ‘कालो अक्षर’माथि लेखेँ, बोलेँ अनि हिमालय दर्पणमा छापियो पनि । साहित्यिक साइनो अझ दरिलो बन्यो । राहुल भाइको ममाथिको विश्वासले यो कृतिको भूमिका लेखनसँगै अरू दायित्व पनि लिएर पाठकहरू समक्ष छु । कथाहरूको सफ्टकपी मेरो हातसम्म आइपुग्यो । विस्तारै काम शुरु भयो । एकदमै विस्तारै । “हतार नगर्नू भाइ, हतारले काम बिग्रन्छ” भन्दै उनको ताकेता टार्दै गएँ । मलाई थाह छ, उनको धैर्य अब टुट्नै लागेको छ । मानसिक अत्याचारै पो गरेँ कि भन्ने पनि लागिरहेछ । तर काम सकियो । कृतिको नाम के राख्ने भन्ने सल्लाह हुँदै थियो । मैले कथा–सङ्ग्रहबाटै एक कथाको शीर्षकलाई चुनेँ । उनले एकदिन “सर, कृतिको नाम ‘मितोप’ राख्नुप¥यो” भनेर फोन गरे । नाम मीठो लाग्यो । मितोपको अर्थ सोधेँ । “मणिपुरी भाषामा मितोप भनेको विदेशी वा मणिपुरभन्दा बाहिरको मान्छे भन्ने हो सर” राहुलले अर्थ खुलाए, “हामीलाई धेरैजसोले यसै भनेर हेला गर्छन् यहाँ ।” मैले कथा ‘लाञ्छना’लाई सम्झेँ । कथाको पृष्ठभूमि, भाव र तीव्र संवेदना छाम्न पुगेँ । मणिपुरमा मात्र होइन कि भारतका हरेक साना–ठूला सहर, गाउँ–बस्ती र नागरीय जीवन धान्ने भारतीय गोर्खाहरूका साझा पीडाबोधको विषयमा छ कथा लाञ्छना । यता दार्जिलिङमा हामी जमीनसितै भारतमा आएको तथ्यहरू पेश नगर्दा हजारौँ हाम्रा सन्तानहरू मेचीपारि पु¥याइए । आज आसाममा लागू भइरहेको एन.आर.सी.का कारण हजारौँ हाम्रा भूमिपुत्र आफन्तहरूले कतिपय तथ्य र मानक जोहो गर्न नसक्दा ‘मितोप’को लाञ्छना झेल्नु परिरहेको सत्य आँखासामुन्ने छ । त्यही प्रक्रिया अरू राज्यमा पनि लागू हुँदा हामी राजनैतिक शिकार बनी फेरि घरको न घाटको बन्ने अवस्था आउने निश्चित छ । मलाई लाग्यो, राहुलको यस सङ्ग्रहका कथाहरू पूर्वोत्तर भारतको मात्र नभएर समग्र भारतीय गोर्खाको साझा कथा हो । जय क्याक्टस हामी भारतमा छौँ । हामी भारतीय हुनुमा गर्वबोध गर्छाैँ । हामीमा राष्ट्रबोधको चेतना पनि छ । तर, हामी नै राष्ट्रिय मूलधाराबाट सधैँ किनाराकृत छौँ । हामी भारतभित्रै पनि उत्तर औपनिवेशिक चिन्तनाको साङ्गलोभित्र छौँ । हाम्रो राष्ट्रियता मात्र होइन कि शैक्षिक, आर्थिक तथा सांस्कृतिक सम्पदासमेत जनबाहुलता र राजनैतिक बहुसङ्ख्यकहरूको थिचोमिचोमा परेको इतिहास कसैबाट लुकेको छैन । हाम्रो शताब्दीय सपना बेलाबेला तुहुने गरेकोले, हाम्रो आफ्नै अस्थिर मानसिकताले हामी आत्मपराजित भएर बाँचिरहेका छौँ । यदि यस्तै स्थिति निरन्तर बनिरहे वर्तमानमा कतिपय अफ्रिकन आदिम जनजातिहरू विलुप्त बनेजस्तै हामी पनि भारतको मानचित्रबाट विलुप्त हुने स्थितिमा छौँ । यस्तै अनेकन प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् यसै कृतिका कथाहरू ‘याद’, ‘लक्ष्य’ र ‘थिए’ले । यी कथाहरूमा मणिपुरको माटोको मगमग वासना आउँछ । उनको कल्पना वायुपंखी घोडाजस्तै जताततै विचरण गर्नेखालको छैन । अलिकति कल्पना र अलिकति यथार्थको यौगिक रसायनले कथाको समिरकरण पूरा गरिएको छ । हरेक कथाले मणिपुरको विगत र वर्तमान उधिन्ने प्रयत्न गरेका छन् । राजनैतिक चलखेलइतर जाति र गोष्ठी माझको द्वन्द्व, युद्ध, आतङ्क आदिले आधा–मासु बनेको पूर्वोत्तर राज्यहरूमध्येको एक पीडित राज्य मणिपुरको यथार्थ दर्साउन कथाहरू सक्षम छन् । हाम्रा गोर्खा समाजले झेल्नुपर्ने मात्र नभएर त्यहाँको भूगोल, इतिहास र हावापनीसँग मिल्नुपर्ने, सम्झौता गर्नुपर्ने र आफ्नो अस्तित्व बनाइराख्न गर्नुपर्ने सङ्घर्षका यथार्थ झिल्काहरू पनि कथामा टिपिएका छन् । यसैले राहुलका कथाहरूलाई मात्र कथा भन्न मिल्दैन । यसमा केही जातीय इतिहासका, संस्कार–संस्कृतिका, भाषा–साहित्यका अर्थात संक्षेपमा भन्दा स्वःपहिचानका हरेक बिन्दुलाई कथाका अवयवमा घोलिएका छन् । हल्काफुल्का विषयजस्तो लागे पनि पुनर्पठन र पुनर्चिन्तनमा यी कथाहरूले धेरै गम्भीर कुराहरूलाई सङ्केत गरेको पाउँछौँ । नोवल पुरस्कार विजेता, अस्तित्ववादी तथा विसङ्गतिवादी चिन्तक अल्वेयर कामुले आफ्नो पुस्तक ‘मिथ अफ सिसिपस’मा भनेका छन्, “हामी इष्र्या, स्वार्थ, घृणा, महङ्खवकाङ्क्षा आदिको ब्रह्माण्डमा छौँ । अर्को शब्दमा भन्ने हो भने आध्यात्म वा मानसिक अवस्थाको ब्रह्माण्ड हो त्यो ।” यस्तोमा कथाकार राहुल उनको युवा उमेरमा देखेका र भोगेका केही संवेदन र संवेगलाई पनि आफ्ना पात्रमार्फत् साझा गर्छन् । जीवनमा निकै उतारचढाव भोगेका कथाकारको प्रच्छाया दोहोरिएर आउँछ कथामा । कथाकै स्वरूपमा । विसङ्गति र समाजको मनोविज्ञान बुझेका कथाकार पाठकलाई ती नकारात्मकता र निरासाका गह्रौँ भारी बोकाउन चाहँदैनन् । अलिकति हलुका हाँस्य, केही व्यङ्ग्य र आइरनी आख्यानांशसित पाठकलाई कथाको केन्द्रतिर हुल्छन् । प्रेमका कुरामा होस् या मित्रता र मानवताका सार्विक विषयमा, उनले कथामा सङ्गति–विसङ्गति, मिलन–विछोड, हर्ष–पीडा, शत्रु–मित्र, यी सबै जीवनगत अनुभूति र अनुभवलाई आफ्नै उमेर, भूगोल, इतिहास, वर्तमान सापेक्षित चिन्तन र ज्ञानको परिसीमाभित्र पर्गेल्ने कार्य गरेका छन् । त्यसैले हल्काफुल्का विषयजस्तो लागे पनि पुनर्पठन र पुनर्चिन्तनमा यी कथाहरूले धेरै गम्भीर कुराहरूलाई सङ्केत गरेको पाउँछौँ । कथा बनोट र परिवेश निर्माण स्थायी र एकैनासे छैनन् । कतै वर्णानात्मक त कतै इतिवृत्तात्मक, कतै संवादात्मक त कतै नाटकीय, कतै संस्मरणात्मक त कतै निबन्धात्मक । प्रथम पुरुषवाची कथा–वाचनको आधिक्यले कथाको विश्वसनीयतामा र लेखक–पाठकको मैत्रीचेतनालाई सहज सम्प्रेषणीयता मिलेको छ । कति कथामा प्रयुक्त संवाद शैलीगत प्रस्तुतिकरण नै कथाकारको शक्ति हो कि झैँ पनि लाग्छ । उनले स्थानिय भाषा, लवज र जनबोली कतिपय ठाउँमा जस्ताको तस्तै टिपे पनि कथाको व्याकरणीय स्तर र भाषाको मानकमा सम्पादकको कैँची परेको तथ्य पनि यहाँ खुलाउँछु । तर आवश्यकता अनुसार छाडिएका यस्ता जनबोली र सामयिक पदहरूका चयन हेर्दा मात्रै पनि कथाकारको कथा सिर्जनको सचेततालाई मान्नैपर्ने हुन्छ । समयलाई कथामा हुल्न विद्युतीय तथा सञ्चार उपकरण र परिभाषिक पदावलीको प्रयोग निक्कै सोचेर गरेका छन् । कथामा समयान्तर दर्साउन पनि यसलाई एक माध्यमको रूपमा प्रयोग भएको मान्न सकिन्छ । यसबाट कथाकार राहुलका पूर्व कृतिहरूका कथा निर्माण र सिर्जनामा निक्कै ठूलो पार्थक्य र उध्र्वगतिरूपको परिपक्वता र परिमार्जन देख्न सकिन्छ । कथाकार राहुलबारे श्रीमान् जङ्गबहादुर राई र स्व. सोमलक्ष्मी राईको कोखबाट सन् १९८४ मा मणिपुरको इराङमा जन्मिएका हुन् राहुल राई । ‘काला अक्षरहरू’सित स्वःप्रयास र स्वःअध्ययनको सङ्घर्षमा विजयी बनेका राहुल राई ‘बोगिको’को भाषा–साहित्यप्रतिको जुन स्नेह, लगाव, झुकाव र समर्पण छ, त्यसको मात्रै कदर गर्दा पनि उनका सिर्जनाहरूप्रति पाठकको आकर्षण बढेर आउँछ । सिक्नुपर्ने कुरामा उनी सधैँ विनम्रता जनाउँछन् र नजानेको कुरा सहजताका साथ स्वीकार गर्दै सिक्ने उपक्रममा लाग्छन् । उनी पढेरभन्दा पनि परेर साहित्यको जोखिमपूर्ण यात्रा तय गरिरहेका छन् । उनलाई यति थाह छ, साहित्य सिर्जनको यो यात्रामा निष्ठापूर्वक लेखिरहनुपर्छ, सक्दो पढिरहनुपर्छ र सकेसम्म सिकिरहनुपर्छ । सिक्नुपर्ने कुरामा उनी सधैँ विनम्रता जनाउँछन् र नजानेको कुरा सहजताका साथ स्वीकार गर्दै सिक्ने उपक्रममा लाग्छन् । यसो गर्दागर्दै आज उनी धेरै थोक सिकाउने र सिक्न चाहनेहरूलाई बाटो देखाउन समर्थ बनेका छन् । साहित्य सिर्जनको रूपमा उनी कविता र कथा सराबरी लेख्छन् । उनका पूर्व कृतिहरू यसप्रकार छन्ः १. एक जोडी परेवा (कथा सङ्ग्रह– २०११) २. एक मुठी कविताहरू (कविता सङ्ग्रह– २०१३) ३. मेरा अनुभूतिहरू (कथा सङ्ग्रह– २०१४) ४. कालो अक्षर (कविताहरूका सङ्ग्रह) पाचौँ कृतिको रूपमा ‘मितोप’ (९ वटा कथाहरूको सङ्ग्रह– २०१९) अरूका जस्तै उनका पनि हरेक सिर्जना मास्टरपिस नहोलान्, तर केही राम्रा कविता र कथा उनले लेखिसकेका छन् । उनी पुरस्कृत र सम्मानित पनि भइसकेका छन् । आशा छ, उनको यो ‘मितोप’ कथा सङ्ग्रहले उनलाई फरक पहिचान दिलाउनेछ । यो पनि विश्वास छ, उनले अझै योभन्दा उत्कृष्ट रचनाहरू सिर्जना गर्न निरन्तर प्रयत्न गरिरहनेछन् । जीवन धान्न अरूका घरमा गोठालो बसेको तीतो अनुभव बोकेका राहुल गाडी चलाउन सिकेर चालकदेखि आफँै गाडी मालिकसम्म बनेका हुन् । गाडी हाँक्नुदेखि गाडीको प्राविधिक ज्ञानसम्म राख्ने यी सर्जक व्यापारी पनि हुन् । समयको माग–पूर्ति र आयस्रोत निर्माणको निम्ति आफ्नै ‘कम्प्यूटर प्रशिक्षण केन्द्र’ खोलेर अरूलाई समेत आयस्रोतको बाटो खुलाइदिएका छन् । आफ्नै आधुनिक छापाखाना अर्थात् सर्वसुलभ प्रेस खोलेर सेवा दिँदै आय–आर्जन गर्छन् । मणिपुरको गोर्खाली समाजको एक उद्यमी युवाबाट हुने हरेक कार्य गर्न उनी अघि सर्छन् । त्यहाँको साहित्यिक, सामाजिक, सांस्कृतिक, धार्मिकलगायतका क्षेत्रमा उनको सहभागिता राम्रो रहेको देखिन्छ । मणिपुरको प्रत्येक घरले उनलाई चिन्छ, किनकि आफू मात्र चिनिने काम गर्दैनन् उनी । काम गर्नकै निम्ति उनी आफ्नै सम्पादनमा ‘सिरोई सिर्जना’ पत्रिका नियमित प्रकाशन गर्छन् । मणिपुरको स्तरीय तथा उल्लेखनीय साहित्यिक पत्रिका ‘गोर्खा ज्योति’को सह–सम्पादकको भार थेग्न पनि भ्याउँछन् । वरिष्ठ साहित्यकार र सम्पादक डा. सीताराम अधिकारीसित काँधमा काँध मिलाएर साहित्य कर्ममा निरन्तर योगदानरत छन् । साहित्यिक गोष्ठी र सांस्कृतिक कार्यक्रमहरू आफैँ आयोजन गर्छन् । नभए अरूले आयोजन गरेका यस्ता कार्यक्रममा तन, मन र धनले काँध दिन अघि सर्छन् । यस्ता कार्यक्रममा मणिपुर बाहिरबाट आएका मात्र होइन, आफैँ निम्त्याएर हरेक साना–ठूला अतिथि साहित्यकारहरूलाई खुला हृदयले सत्कार र सम्मान गर्छन् । नेपाली साहित्य परिषद् मणिपुर, भारतीय गोर्खा परिसङ्घको मणिपुर शाखा जस्ता ठूला सङ्घ–संस्थामा आबद्ध उनले जातिहितका काम गरेको देख्दा हामी अवाक् बन्छौँ । मणिपुरको प्रत्येक घरले उनलाई चिन्छ, किनकि आफू मात्र चिनिने काम गर्दैनन् उनी । उता म्यान्मारदेखि यता मणिपुरका अधिकजसो सिर्जनशील अग्रज, अनुज र समकालीन सबैलाई चिनाउने उपक्रममा पनि उनी निःस्वार्थ लागि पर्दछन् । राहुल गीत पनि लेख्छन् । गीतका शब्दलाई सङ्गीतको माध्यमले जीवन्त बनाउने प्रयास गर्छन् । गायन पनि उनको रुची भित्र पर्छ । यति मात्र नभएर उनले आफ्नै खर्चमा गीतका म्युजिक भिडियो पनि निकाल्छन् । अभिनय उनको अर्को प्यासन हो । स–साना भिडियो, फिल्म बनाउने र अभिनय गर्ने मात्र होइन, नेपालका चर्चित चलचित्रकर्मीहरूसँगको सहकार्यमा ठूलै लगानी गरी ‘सायाबुङ’ जस्तो ठूलो पर्दाका चलचित्र निर्माण र अभिनयमा समेत आफूलाई प्रस्तुत गरिसकेका छन् । राष्ट्रियस्तरको पहिलो भारतीय नेपाली सेटलाइट टेलिभिजन ‘एबीएन’को संवाददाता बनी धेरै समाचार र सन्देशमूलक डकुमेन्ट्री पनि राहुलले बनाएका छन् । उनी आफू कडा मिहेनत गर्छन्, कमाउँछन् र यस्तै कार्यहरूमा फेरि लगानी गर्छन् । डुब्छन् केही, अनि तैरिँदै फेरि उक्सिने अर्को मेलो समाउछन् । उनको गतिशील जीवन हेर्दा उनी परिस्थितिलाई जस्तै समयलाई पनि हाँक दिन जन्मिएका हुन् कि झैँ लाग्छ । यी सबै कर्म, व्यवहार र सिर्जनाले उनलाई ‘व्यक्ति एक व्यक्तित्व अनेक’ भएका मणिपुरे सर्जक बनाएको छ । यस्ता व्यक्तिको कृतित्वको कीर्ति समयले चिन्ने छ र पुज्ने छ । यो निश्चितताबारे म ढुक्क छु । ‘मितोप’को सफलताको कामनासहित । रोङ्गो, भारत #जय क्याक्टस #राहुल राई ‘बोगिको’
भारतीय नेपाली साहित्यः इतिहास लेखनका केही आधार (भाग दुई): (घ) ओझेलमा परेका साहित्यकारहरू भारतका अरू पनि धेरै लेखकहरू जस्तै दार्जीलिङका कृष्णदास प्रधान, शेषमणि प्रधान, शिलाङका मणिसिंह गुरूङ, कवि पद्मप्रसाद ढुङ्गाना, सिक्किमका रश्मिप्रसाद आले, आसामका जगनाथ गुरागाईं, नित्यानन्द उपाध्याय, देहरादुनका ठाकुरचन्दन सिंह, भाग्सू (धर्मशाला) का बहादुरसिंह बराल, मित्रसेन थापा, मगन पथिक इत्यादि हुन् । दार्जीलिङ, कालेबुङकाअच्छा राई रसिक, युवा कवि नरेन्द्रप्रसाद कुमाई, विकाश गोतामे, सिक्किमका जीवन थिङ इत्यादि समेत धेरैको उल्लेख कतै पाइदैन । यिनीहरू सबैको युवा अवस्थामै निधन भएको हो । कृष्णदास प्रधानको सम्पादनमा प्रकाशित “नेबुला” परिवर्तित नाउँ ‘परिवर्तन’(१९३६-३७) अनि शेषमणि प्रधानको सम्पादनमा ‘गाउँ सुधार पत्रिका’(१९३९) र ‘आदर्श’ (१९३०) मा प्रकाशित भएका हुन् । उनीहरूका केही फुटकर रचना सन् १९१८ को ‘चन्द्रिका’र सन् १९४३ को ‘गोर्खा’ मा पनि पाइन्छन् । कवि नरेन्द्रप्रसाद कुमाई रोगग्रस्त भएर २२ वर्षको कलिलो उमेरमा सन् १९४८ मा दिवंगत भएका हुन् । साहित्य अकादमीले भारतीय साहित्यका निर्माता श्रृंखलामा उनको पनि जीवनी प्रकाशित गरेको छ । भारतमा ‘गोर्खेखबर कागत्’बाट सुरू भएको पत्रकारिताको आफ्नै एउटा गौरवमय इतिहास छ । भारतबाट प्रकाशित अन्य पत्रपत्रिकाहरूको ऐतिहासिक विवरण हीरा छेत्रीले आफ्नो कृतिमा सविस्तार दिएका छन् । (३) ( ङ) भारतमा नेपाली सन्तकवि परम्परा भारतेली सन्त परम्पराका कवि ज्ञानदिल दास र अञ्जना देवी हुन् । यिनिहरूका बारेमा विभिन्न पत्रपत्रिकाहरूमा केही लेखहरू प्रकाशित भएका छन् । ज्ञानदिल दासको बारेमा डा.कुमार प्रधानले एउटा परिचयात्मक लेख लेख्नुभएको छ (४) भने अञ्जना देवीको बारेमा इन्द्र सुन्दासले पनि उनको जीवनी लेखेर धेरै तथ्यहरू प्रकाश पार्नुभएको छ ।(५) साथै डा.कवीर बस्नेतले लेख्नुभएको अञ्जना देवी र मीराबाईको तुलनात्मक अध्ययन निक्कै खोजपूर्ण छ ।(६) भारतमा अरू पनि विभिन्न धार्मिक सम्प्रदाय र सन्तहरू छन् । कति कबीरपन्थी, जोसमनि र प्रणामीहरू छन् उनीहरूमध्ये पनि कति सन्त कविहरू होलान् । यस दिशामा अझ राम्ररी खोजी हुन आवश्यक छ । (च) अवधारणा र काव्यिक प्रयोग नरबहादुर दाहाल आयामिक साहित्य र लीला लेखनपछि भारतीय नेपाली साहित्यमा देखा परेका काव्यिक प्रयोग र कतिपय अवधारणाहरू पनि छन् । यस्ता काव्यिक प्रयोगहरूमध्ये कवि कालूसिंह रनपहेंलीको दुइ हरफे कविताको ‘युग्मक’पनि एउटा हो । यो भारतेली नेपाली साहित्यको मौलिक सृजना हो । यो आफ्नो अलग चिनारी र परिभाषा लिएर देखा परेको छ । यसको साहित्य सिद्धान्तबारेमा दिपक सुवेदी ‘युग्मक लेखनको २५ वर्ष’मा भन्नुहुन्छ, “साहित्यका विभिन्न विधाहरूमध्ये कविताको एउटा नवीन स्वरूप युग्मक हो । युग्मकलाई प्रतिपादन गर्ने काम प्रयोगवादी स्रष्टा कालूसिंह रनपहेंली (२ मई सन् १९५४) ले गरेका हुन् । एउटा युग्मकमा दुई हरफ हुन्छन् । दुई हरफ एकाअर्कामा सम्बन्धित रहेका हुन्छन् । त्यसैले दुई हरफमा एउटा युग्मक रहे पनि यी आफैँमा पूर्ण हुन्छन्। यी दुई हरफका विषयवस्तुमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। संरचना युग्मकलाई अस्तित्वमा ल्याउने वा निश्चित संरचना प्रदान गर्ने कारक वा अवयवलाई युग्मकका संरचनात्मक तत्व भनिन्छ । संरचनात्मक तत्वहरूको योगहरूबाट नै सिङ्गो संरचना निर्माण हुन्छ । युग्मक पनि एउटा सिङ्गो संरचना भएकोले यसका पनि आफ्नै प्रकारका संरचक घटकहरू रहेका छन्। यिनै संरचक तत्व वा घटकबाट युग्मकको निर्माण हुन्छ । कालूसिंह रनपहेंलीका ६०० भन्दा अधिक युग्मकहरू एउटै कृतिका रूपमा पनि प्रकाशित छन् (७)। नेपाल बाहिरका साहित्यका पाठकहरूमा यो खुबै जनप्रिय भएर गइरहेको छ । युग्मकका अनुयायी तथा युग्मक लेख्नेहरूको संख्यामा पनि दिनदिनै वृद्धि भइरहेको छ । सिक्किमबाट पनि युग्मकका केही कृतिहरू प्रकाशमा आएका छन् ।(८)। योबाहेक ‘धमारी’पनि हालमा देखा परेको एउटा काव्यिक प्रयोग हो । यसलाई नेपाली साहित्य संस्थानले केही वर्षदेखि सञ्चालन गर्दैआएको छ। सिलिगढीको नेपाली साहित्य संस्थान डा.कुमार प्रधान, डा.घनश्याम नेपाल, डा.रेमिका थापा, प्रा.वासुदेव पुलामी, प्रा.देवचन्द्र सुब्बा, बिर्ख खडगा डुवर्सेली इत्यादिद्वारा स्थापित संस्था हो । प्रतियोगिताको रूपमा प्रतिवर्ष हुने ‘धमारी’को कार्यक्रममा विश्वविद्यालय र महाविद्यालयका छात्र छात्राहरूमा धेरै उत्साहपूर्ण सहभागिता देखिएको छ । यो कविता वाचनसँगै कवितालाई अझ प्रभावशाली र सम्प्रेषणीय बनाउन अभिनय र संगीतको प्रयोग गरिने एउटा नौलो प्रयोग हो। यसलाई व्यवहारिक रूपमा कवि पवित्रा लामाले धेरै निरन्तरता दिइरहेकी छन् । समावेशी सन् १९१५ देखि सुरू भएको अवधारणा हो । यो पनि केही युवा जमातद्वारा प्रवर्तन गरिएको अवधारणा हो । सिलगढीको नेपाली साहित्य संस्थानले गत वर्षदेखि आफ्नो स्थापना दिवसमा कवि अगमसिंह गिरी जयन्ती पालन गर्दै दीर्घकालीन साहित्य सेवाको निम्ति एक जना साहित्यकारलाई ’दान खालिङ पुरस्कार’ परिवारको सहयोगमा प्रदान गर्दैआइरहेको छ । यीबाहेक किनारीकृत, समावेशी, सल्वर्टन, विचलन, हस्तक्षेप, सिर्जनावृत्त, संक्रमण इत्यादि यस्तै अरू पनि कति काव्यिक प्रयोग र अवधारणाहरू प्रचलनमा आएका छन् । हस्तक्षेप ,सिर्जनावृत्त ,विचलन र समावेशीहरूले आफ्ना आफ्ना मुखपत्रहरूमा यसका सिद्धान्तहरूलाई स्प्रष्ट पारेका छन् । हस्तक्षेप दार्जीलिङ, कालेबुङ,सिलिगुडी इत्यादि ठाँउका युवाहरूका एउटा समूहद्वारा प्रतिष्ठापित साथै सञ्चालित अवधारणा हो। यसले आफ्नो मुखपत्र ’हस्तक्षेप’को ’मोटो’ (motto) मा भनेको छ, “समाजको, समाजबाट, समाजलाई ।” यस समूहमा आजका अत्यन्त उर्जाशील केही कवि लेखकहरू पर्छन् । यसमध्ये राजा पुनियानी, मनोज बोगटी, टीका भाइ, भूपेन्द्र सुब्बा, निमा शेर्पा, लेखनाथ छेत्री इत्यादि। ती युवाहरूको जमात हो, जसद्वारा यो सञ्चालित भइरहेको छ। यसले आफ्नो मुखपत्र ’हस्तक्षेप’ को पहिलो अंकमा घोषणा गरे अनुसार हस्तक्षेप लेखनले अभिव्यक्तिको नयाँ भाषा, नयाँ वाग्धारा, नयाँ मुडको प्रस्तावना गरेको छ। यसमा लोकलवज मुख्य तत्व मानिएको छ । त्यसपछि यथार्थीय एप्रोच, वस्तुवादी आदर्श, ऐतिहासिक चैतन्य,व्यवहारिक दार्शनिकता, घुलनशील दार्शनिकता, प्रस्तुतिको काँचोपन, लचिलो संरचना, उत्पीडित सौन्दर्यमान, वाञ्छित तत्व मानिएको छ। यसले अझ भनेको छ, ’हस्तक्षेप लेखन भनेको कालबोध विहीन इतिहास चेतविहीन शब्द, उक्ति चातुर्य, समाज अस्पृश्य बिम्बजालले आजसम्म लेखिएका वा भोलिपर्सि लेखिने साहित्यको प्रतिध्रुवमा उभिने प्रतिलेखन हो ।’(९) नाटककार डा.इन्द्रमान राई समावेशी सन् १९१५ देखि सुरू भएको अवधारणा हो । यो पनि केही युवा जमातद्वारा प्रवर्तन गरिएको अवधारणा हो । यसमा मुख्य रूपमा बासुदेव पुलामी, ज्ञानेन्द्र याक्सो, प्रवीण खालिङ, सदीप प्रधान, सूरज धडकन, निरज थापा, योगेश पन्थ, सपन प्रधान, डा.रेमिका थापा इत्यादि सामेल छन् । यसले ’समावेशी’को प्रवेश अंक समावेशी प्रस्तावकमा भनेको छ, ’हाम्रा साहित्य, कला र चिन्तनमा अब हाम्रै लोकदर्शन, मिथक, प्रतीक र बिम्बहरूको समावेशीकरण आवश्यक छ । यसले नेपाली साहित्यमा विविध सौन्दर्यका रूपकहरू निर्माण गर्नेछ ।’(१०) ’सिर्जनावृत्त’ सन् २०१५ देखि आफ्नो अस्तित्व प्रकाशमा आएको यसको मुखपत्र ’स्याही’बाट थाहा लाग्दछ । यसमा पनि केही युवाहरूको जमात देखा परेका छन् । मुख्य रूपमा राजा पुनियानी, लक्ष्मण दाहाल, सूरज रोसूरी यसमा देखा पर्छन् । यसले सिर्जनाको प्रक्रियालाई हरसम्भव गति दिने अनि गतिशील साहित्य, कला, संस्कृति, ज्ञान विज्ञान आदिको प्रचार प्रक्रियालाई पृष्ठपोषण गर्ने कुरामा जोडदिएको छ । आफ्नो उद्देश्य प्राप्तिको निम्ति यसले विचारको आदान प्रदान, अन्तर्क्रिरया , कृति विमोचन, कर्मशाला आदि अयोजन गर्ने योजनाहरूलाईअघि राखेको छ । अहिलेसम्म सिर्जनावृत्तले दार्जीलिङका युवाकवि केवलचन्द्र लामामाथि ’कविता र चित्रमा केवल’,युग पाठकको चर्चित उपन्यास ’उर्गेनको घोडा’माथि अन्तर्क्रिरया, दीपा राई र लेखनाथको चित्र र कवितामा जुगलबन्दी, कवि भूपिनको कविता संग्रह ’सुप्लाको हवाईजहाज’ को भारत लोकार्पण र साहित्यिक यात्रामा अर्द्धशताब्दी पार गरेका अथक साहित्यसेवी नरबहादुर दाहाललाई सम्मान कार्यक्रम गरिसकेको छ ।(११) प्राज्ञहरूको सम्मति र सिस्नु पानी, सर्जकहरूको सिर्जना सचेतता र सहचर्य अनि पाठकीय अभिरूचिको उपस्थितिले ’विचलन’ क्रमिक रूपले प्रचलन बन्न गइरहेको सत्य सबै सामु खुइलिँदै गइरहेछ ।’ भारतीय नेपाली साहित्यमा ’विचलन’ पनि एउटा साहित्यिक समूहद्वारा अवतरित अवधारणा हो। यो २००७ देखि प्रचलनमा आएको हो । विचलनको यस समूहमा सुधीर छेत्री, उज्जवल बमजन, जय क्याक्टस इत्यादि देखापर्छन्। यसको मुखपत्र ’विचलन’का लगभग आठ वटा अंकहरू प्रकाशमा आइसकेका छन् । विचलन बारेको एउटा लेखमा समालोचक जय ’क्याकट्स’ ले लेखेका छन्, ’१ अप्रेल२००७ को दिन विमोचन पत्रिकाको विमोचनसँगै एउटा विचार विस्फोटन हुन्छ, समावेशी र अभिष्टहरूसितै। अनाम हुर्किरहेको नयाँ कविता वा अत्याधुनिक कविता वा नव्य कविताले न्वारानको नाम पाउककछ, ’विचलन’। समकालीन अथवा उत्तरआधुनिक कविता भनिनु भारतेली नेपाली कविताको निम्ति अतिरञ्जना जस्तो भइरहेको र अलिक असुहाउँदिलो भइराखेको समयमा ठ्याक्क जुर्यो- नाम, विचलन। नाम अनुसारको काम लिएर सात अंकसम्म आइपुग्दा विचलन, खिच्यो कविताको अर्को स्वरूपको धाम । अहिले यो काव्यधाममा झलमल्ल लागेकोछ घाम।यही घाम ताप्दै हिँड्ने तीर्थयात्रीको निक्कै बढेको छ, लाम । कविताको उच्चता उक्लन नसकी आधा बाटोबाटै फर्कने कविता पाठक, कविता आदर्श छुनै नसकिने रापिलो रवाफदेखि तर्सिएका पाठक र कवितालाई हाउगुजी बनाउने कवि समालोचकदेखि विरक्तिएका पाठक,सबै उत्सुकताले विचलनको सरलता,समायोजना, समीकरण र सन्तुलनलाई नियालिरहेका छन्। प्राज्ञहरूको सम्मति र सिस्नु पानी, सर्जकहरूको सिर्जना सचेतता र सहचर्य अनि पाठकीय अभिरूचिको उपस्थितिले ’विचलन’ क्रमिक रूपले प्रचलन बन्न गइरहेको सत्य सबै सामु खुइलिँदै गइरहेछ ।’(१२) यस लेखमा लेखकले त्यस समयसम्म प्रकाशित ’विचलन’ का रचनाहरू अध्ययन गरेर विचलन के हो भन्नु भन्दा के होइन, भन्ने स्पष्ट पारेका छन् ।(१३) किनारीकृत रेमिका थापा र मनप्रसाद सुब्बाबाट प्रवर्तन गरिएको अवधारणा हो। यसका सैद्धान्तिक पक्षलाई’किनारा विमर्श’ कृतिमा भएका सम्पादक द्वयको विमर्श १ का विचार, विमर्श २ (क) का १५ वटा नेपाली, अंग्रेजी, हिन्दी लेखहरूसाथै सिर्जना, पठन र सिर्जनाले स्पष्ट पारेका छन् ।(१४) संक्रमण कविता आन्दोलन सन् १९९३ मा काशी हिन्दू विश्वविद्यालयका युवा विद्यार्थीहरूद्वारा सुरू गरिएको आन्दोलन हो। संक्रमणकालीन समयमा दिशाबोध हुन आवश्यक छ, भन्दै यो आन्दोलन आरम्भ भएको पाइन्छ । आसामको ’कोलाज’ आन्दोलन एक समय त्यहाँ खुबै लोकप्रिय भएको थियो। यसलाई अविनाश श्रेष्ठले मुख्य रूपमा नेतृत्व दिएका थिए । यस समूहको मुखपत्र ’संक्रमण’ पत्रिका प्रकाशित छ । यस समूहद्वारा आफ्नो आन्दोलनको तथ्यलाई प्रष्ट पार्दै भनिएको छ, ’क्रमिकता, एकपछि अर्को दिशा र प्रवृत्ति उठ्दछ । सम्बद्धहरू एकै ती समयरूपमा क्रमिकताको विभाजन हुन सक्दैन। त्यसको व्याप्ति अखण्ड हुन्छ। समयको प्रयोगशील परिस्थितिमा कविताको क्रमिक विकाश हुन सकेको अथवा हुन नसकेको हेर्ने कार्य यो वर्तमान पिंढीको हो।(१५) यस समूहमा संक्रमण समयबाट मुक्त हुन काव्यिक आन्दोलन गर्ने कविहरूमा सञ्जय वान्तवा, सञ्जय विष्ट, परशुराम पौड्याल, कविता लामा र सरिता लामा मुख्य रूपमा रहेका छन्।(१६) यस बारेमा डा.घनश्याम नेपाल भन्नुहुन्छ, ’वर्ग विशेषको वर्ग स्वार्थको साहित्यलेखन सभ्यता अब थोत्रो भइसक्यो। आज वर्ग निरपेक्ष , सार्वभौम जीवन सापेक्ष लेखनको आग्रह छ। हरियाली कविता,पर्यावरण कविता,आशा, आस्था,वैषम्य, भातृत्व कविता त्यस्तै हाम्रा अध्ययनशील तन्हेरी कविहरूका यी संक्रमण कविता।’(१७) यीबाहेक भारतीय काव्य लेखनमा गजल, बिम्ब कविता, तीहक, काव्याणु इत्यादि र जापानी हाइकू, ताङ्का इत्यादि समेत प्रचलनमा आएका छन् । आसामको ’कोलाज’ आन्दोलन एक समय त्यहाँ खुबै लोकप्रिय भएको थियो। यसलाई अविनाश श्रेष्ठले मुख्य रूपमा नेतृत्व दिएका थिए । अहिले यो आन्दोलन निस्कृय छ । #नरबहादुर दाहाल
कसले हात पार्ला त मदन पुरस्कार ?\xa0: भरतपुरको एउटा केफेमा कफी पिउँदै गर्दा कवि आख्यानकार सुमन घिमिरेले सोधे, ‘सर गतवर्ष तपाईँले मदन पुरस्कार पाउने पुस्तकको नाम नै घोषणा गर्नुभएको थियो महेश थापाको ‘मरिचिका’ | त्यस पुस्तकले मदन पुरस्कार त पाएन तर बहुचर्चित रह्यो | यसपटक सात वटा पुस्तक छानिएका छन्, तपाईँको विचारमा कसले पाउला यो नेपालको नोबेल पुरस्कार भनिने मदन पुरस्कार ?’ मैले भने, ‘यसपटक म कुनै एक पुस्तकको नाम लिन्न सुमन | यसपटक छनोटमा तीन थान कविता संग्रह, दुई थान उपन्यास, एउटा कथा संग्रह र तीन भागमा विभाजित एउटा भीमकाय आयुर्वेद औषधि इन्साइक्लोपेडिया परेका छन् | सबैभन्दा ठूलो तीन भागमा विभाजित इन्साइक्लापेडिया र सबै भन्दा पातलो आत्मकथानकतामा आधारित १ सय षृष्ठको भुवन ढुंगानाको संस्मरणात्मक उपन्यास ‘परित्यक्ता’ | यो सबै पुस्तकलाई विगत एक साताबाट पढ्दै छु, हेर्दैछु भन्नुपर्यो | मलाई निकै रोचक लागेको पुस्तक परित्यक्ता बनिरहेको छ | एक एक पंक्ति र प्रत्येक अनुच्छेदलाई आनन्द लिँदै पढ्दै छु परित्यक्ता | कसैले भन्लान, राम्रो पुस्तक त झन् छिटै पढ्नु पर्ने होइन र ? म राम्रो पुस्तक वा कुनै पनि पुस्तक हतारमा खेतालाले मेलो भ्याउने गरी पढ्दिनँ | महिला अस्तित्वबारे बोलिएको धेरै राम्रो संमरणात्मक उपन्यास हो यो जसमा कता कता गीतिशैली प्रयोग गर्दै प्रतिकात्मकतामा जोड दिनुभएको छ आख्यानकार भुवन ढुंगानाले | पुस्तकका प्रत्येक पानामा दर्शनसँग भेट हुन्छ र गम्भीर पाठकले निकै आनन्द लिनेछन् । केहीले मन नपराउलान पनि । किन कि विषयको गाम्भीर्यतामा पौडी खेल्न अल्छी मान्छन्, कमसल पाठक | “माया तिमीले यो घर संसार शून्यबाट सुरु गर्नु पर्छ “… तिमीले भनेको कुरामा धेरै अर्थ रहेछन्, पछि बुझें | नारी अस्तित्वको सानो झिल्कोमा कस्तो दर्शन ? नेपालको निकै चर्चित र उत्कृष्ट पुरस्कार कतै ‘परित्यक्ता’ले लान सक्छ कि ? ३ सय ६७ पृष्ठको चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ को पहिलो च्याप्टर पढ्दा नै मन्त्रमुग्ध भएँ | यो बाईसी-चौबीसी राज्यकालको कथा रहेछ अर्थात् नेपालको इतिहासमा आधारित एउटा अनौठो उपन्यास | यो उपन्यास बजारमा आउनसाथ बढीभन्दा बढी पाठक बनाउन सफल भएको थियो र अझै पनि यसका पाठक भन्छन्, धेरै राम्रो र पढ्नै पर्ने कृति | कारण, यसले नेपालको इतिहास बोलिरहेको छ | भन्न सकिन्न ‘महारानी’ को सम्भावना निकै प्रबल छ | पुरस्कारको सुचीमा परेको एकमात्र कथासङ्ग्रह ललित विष्टको ‘मोह्पथ’ को पहिलो १२ पृष्ठको कथा ‘अनुहार’ पढ्दा म रन्थनिएकै हो | म आफैँ कथा लेख्छु र ललित बिष्टको कथाको पटकथा लेख्ने शैली र चरित्र चित्रण गर्ने शैलीको म हृदयदेखि नै प्रसंसा गर्छु | सम्भावना त यसको पनि उत्तिकै प्रबल छ सुमन | अब कविताको पालो | तीन कविका तीन उत्कृष्ट कविता संग्रह छनोटमा परेका छन् | तीनै कवि मेरा प्रिय कवि हुन् | शारदा शर्माको ‘यात्रामा’ सङ्ग्रह भित्रको कविता ‘कर्ण’ कविडाँडा साहित्य समाजको मूक पत्र ‘चरैवेती’का लागि प्राप्त हुँदा पटक पटक पढ्दा पनि मन भरिएको थिएन | उहाँको कविताको शक्ति ‘यात्रामा’ सङ्ग्रहभित्रका प्रत्येक सिर्जनामा देखिन्छ | कवितालाई माध्यम बनाएर प्रश्न त धेरै कवि लेखकहरूले गर्छन् तर उहाँको ‘प्रश्न’ कविताभित्रका प्रश्न नारी अस्तित्व अध्यनका लागि निकै अर्थपूर्ण छन् | “सेता पानाहरू रङ्ग्याएर मैले सधैँ उतार्न खोजेको तस्बिर मेरी थियो तृप्त नहुन्जेल समयका रङ्गसंग खेलिसकेपछि जब लाग्यो दुरुस्त भयो मैले थाहा पाएँ त्यहाँ मेरो आकृति त थियो हुबहु तर म थिइनँ |” सभ्य तरिकाले प्रस्तुत नारी अस्तित्व पीडाको यस्तै क्रन्दन भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’मा पनि पाठकले अनुभूति गर्न सक्छन् | भन्न सकिन्न है, शारदा शर्मा नेपाली साहित्यकी मुर्धन्य व्यक्तित्व हुनुहुन्छ, यसपटकको मदन पुरस्कार उहाँको आंचलमा पर्न सक्छ | पोखराका मुर्धन्य कवि तीर्थ श्रेष्ठको कविता सङ्ग्रह ‘धर्सै धर्साको चक्रव्यूह’ ले बजारमा आउनसाथ चर्चा पाएको थियो | यसभित्रका धेरै कविता उनका प्रिय पाठकहरूले फेसबुकमा सेयर गरेका थिए | प्राकृतिक सौन्दर्यको सहर पोखरामा बसेर कविताको सुन्दरतामा रमाउने कवि तिर्थ श्रेष्ठ नेपालका स्थापित कवि हुनुहुन्छ र व्यंग चित्रणसहित वस्तुनिष्ठा र प्रयोग उहाँको विशेषता हो | “यस पटकको हिउँदमा चुनाव भयो जाडो पनि डरलाग्दो थियो पार्टीहरूका घोषणापत्रहरूको ओच्छ्यान बनाइयो पोस्टरहरूको सिरक ओडियो पर्चाहरू बालेर आगो तापियो साह्रै सजिलोसँग हिउँद कटाइयो | “ कति सजिलै नेपाली राजनीतिप्रति घृणा व्यक्त गर्न सफल हुनुहुन्छ उहाँ उपरोक्त पङ्क्तिहरूमा | के थाहा यसपटक यो पुरस्कार कवि तिर्थ श्रेष्ठसँगै मदन पुरस्कार विजेता सरुभक्त श्रेष्ठको प्रिय गाउँ पोखरा पुग्ने हो कि ? एक जना अर्का बहुचर्चित कवि विमल निभाको कविता सङ्ग्रह ‘जोकरको बन्दूक’ निकै शक्तिशाली कविताहरूको सङ्ग्रह हो | उहाँले कवितामा प्रयोग गरेका बिम्ब निकैले मायने राख्छन् | भनिन्छ ‘कविताका लागि विमल निभा र विमल निभाका लागि कविता |’ कविताकै माध्यमबाट उहाँ आफ्नो असन्तुष्टि र आक्रोश बोल्नुहुन्छ | ‘इतिहासको पाठ’ शीर्षक कवितामा विमल निभाको कलाकारिताको प्रसंशा गर्नु पर्छ | मात्र केही पंक्तिमा उहाँ विश्व विजयको मनसाय बोकी हिँड्ने अलेक्जेन्डर दी ग्रेटको विजय यात्रा भ्याइदिन्छन् अनि मात्र आठ शब्दमा सबै टुंग्याइदिन्छन उसको विजय यात्रा र जीवन यात्रा दुवै | अन्त्यमा मर्यो एउटा लामखुट्टेको टोकाईले अलेक्जेन्डर दी ग्रेट सातौँ नाम हो ‘महारसनिघन्टू’ | यो आयुर्वेद स्वास्थ्यको इन्साइक्लोपेडिया हो | तीन खण्डमा विभाजित यस पुस्तकको आकार विशाल छ | महँगो पनि छ | मैले सरर हेरेँ मात्र | के थाहा यसपटकको मदन पुरस्कार साहित्य पक्षलाई ससम्मान विदा दिँदै ‘महारसनिघन्टू’ ले प्राप्त गर्ने हो कि ? स्थापनाकालदेखि नै मदन पुरस्कार विवादमा न रहेको होइन, सुमन | मदन र जगदम्बाको सम्बन्ध, केदारमणि दीक्षितको जगदम्बा खेमामा प्रवेश आदि आदि धेरै पढियो पनि र भन्नेले यो एउटा जड्याको नाममा स्थापित गरेको पुरस्कारलाई खासै महत्व दिनु पर्दैन समेत भनेको मैले पढेको छु | साथै मुलुकमा गणतन्त्र आइसकेको परिपेक्ष्यमा एउटा जहानियाँ शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छ र ? भन्ने प्रश्न पनि पढियो | तर, गुनासो पनि गर्छन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, माधव घिमिरे जस्ता नेपाली साहित्यका महारथीहरूले मदन पुरस्कार पाएनन् भनेर | मेरो विचारमा त नेपाली साहित्यका यी महारथीहरू कुनै पनि पुरस्कारभन्दा धेरै माथि उक्लिसक्नुभएको छ । यसर्थ यो प्रसंग नै अर्थहीन लाग्छ मलाई | मदन पुरस्कार नेपाली साहित्यको एउटा प्रतिष्ठित पुरस्कार हो । सर्जक र सृजना दुवैको स्वतन्त्र अस्तित्व भए झैँ यस पुरस्कारको पनि स्वतन्त्र अस्तित्व थियो र छ | पुरस्कार वितरण गर्ने संस्था र छनोट समितिले पुरस्कारको अस्तित्व र यसको महत्व कायम राख्न व्यक्ति होइन सृजनालाई पुरस्कृत गर्नु पर्छ | अन्त्यमा, मदन पुरस्कारका लागि छनौटमा परेका सबै पुस्तक पूरै पढेर मैले यो लेख तयार पारेको वा मेरो विचार राखेको होइन | एक नम्बरमा यो नै पर्छ भन्ने मेरो भनाइ पनि छैन | मैले सरसर्ती हेर्दा यी पुस्तकका विशेषताबारे मलाई लागेको मात्र भनेको हो | आयुर्वेद इन्साइक्लोपेडिया पुस्तकबाहेक अन्य छ पुस्तकलाई छनौट समितिले पुनः दोहोर्याई तेहेर्याई पढेर एक नम्बरमा पर्ने पुस्तकको छनोट गर्नु पर्छ | अब यस वर्षको मदन पुरस्कार कसले पाउँछ ? म भन्न सक्दिनँ सुमन | बरू शायर प्रदीप पालका यी दुई पङ्क्ति भन्छु- दुनियाँ का तमाशा देख लिया गमगीन सी है बेताब सी है उम्मिद यहाँ इक वहम सी है तस्कीन यहाँ इक ख्याब सी है यहाँ मेरो नितान्त निजी विचार पेखिएको छ । तैपनि सार्वजनिक हुने विषय भएकाले यसलार्इ सकेसम्म निजी मात्र हुँन दिएको छैन, पाठक धर्म पनि यही हो । #एलबी क्षेत्री #मदन पुरस्कार
नेम्वाङको ७९ औँ जन्मजयन्तीमा तीन स्रष्टा सम्मानित: साहित्यपोस्ट पाँचथरका मुर्धन्य साहित्यकार (पर्यावरण साहित्यका अभियन्ता) अमर कुमार नेम्वाङको ७९ औं जन्मजयन्तीको अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ । सम्मान प्राप्त गर्ने स्रष्टाहरुमा प्रा. डा. भीम खतिवडा, मधुराज केरुङ र मञ्जु नेम्वाङ रहेका छन् । अमर नेम्वाङ स्रष्टा पुरस्कार धरानका स्रष्टा प्रा. डा. खतिवडाले पाएका छन् । फाल्गुनन्द गाउँपालिकाद्वारा स्थापित उक्त पुरस्कार तथा सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, पाँचथरको सहआयोजनामा रु. ५०,००० राशिको पुरस्कार प्रा. डा. खतिवडाले पाएका हुन् । त्यस्तै, ४०,००० राशिको युुवा स्रष्टा पुरस्कार पाँचथरका मधुराज केरुङ र रु. १०,००० राशिको नवप्रतिभा प्रोत्साहन पुरस्कार फाल्गुन्द गा.पा. २ कि मञ्जु नेम्वाङलाई प्रदान गरिएको छ । सेहोनाम्लाङ साहित्य समाजका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर मुन्धुमविद् अर्जुनबाबु मावुहाङको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, विशिष्ट अतिथिको रुपमा संविधानसभा सदस्य एवं पूर्वमन्त्री साहित्यकार श्रीप्रसाद जवेगु रहनुुभएको उक्त समारोहमा गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्राकुमारी आङ्देम्वे, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका सर्जकहरुको समेत उपस्थिति रहेको थियो । उक्त समारोहमा सहभागी स्रष्टाहरुले आफ्ना रचनाहरु वाचन समेत गरेका थिए ।
निबन्धः ४ + १ = ४ ?: केही दिनअघि कसैले फेसबुकमा एउटा तस्बिर पोस्ट गरेको थियो, जहाँ एकजना शिक्षकले ब्ल्याकबोर्डमा “२ + ० = २०” अनि “६ + ६ = ६६” लेखेर ससाना नानीहरूलाई पढाइरहेको दृश्य देखाइएको थियो। त्यसरी व्यक्तिगत विधि र नियमहरूले गणित (अनि गणितका अन्य विषयहरू) पढाइएमा देशका नानीहरू भविष्यमा गएर कस्ता प्रकारका नागरिकह बन्लान् भन्ने कल्पना गर्दा मात्र पनि डर लागेर आउँदो रहेछ । त्यही तस्बिर हेरेर धेरै महिनाअघि युट्युबमा हेरेको एउटा भिडियोको याद मेरो मस्तिष्कमा ताजा भएर आयो। त्यस भिडियोको शीर्षक ‘४ + १ = ४’ थियो। जहाँ एउटा गणित पढाउने शिक्षकले आफ्ना विद्यार्थीहरूलार्इ “४ + १ = ४” भनेर पढाउँछ साथै व्याख्याहरू दिएर बुझाउने कोसिस गर्छ। ‘४ + १ = ४’ लाई अंकगणितको सत्य वचन अथवा प्रस्तावको रूपमा पढाइसकेपछि शिक्षकले एक विद्मार्थीलाई चार योग एक बराबर कति (४ + १ = ?) भनेर प्रश्न गर्दा विद्यार्थीले पाँच (५) भनेर उत्तर दिन्छ। उत्तर सुनेर शिक्षक त्यस विद्यार्थीसित पूरा रिसाउँछ। विद्यार्थीले “४ + १ = ५” को सर्वमानित बौद्धिक (तार्किक) निष्पक्षता अनि व्यवहारिक वैधता आफ्नै प्रकारले बुझाउने कोसिस गर्छ तर शिक्षकले मानिलिन नै चाहँदैन। सबैले मानेका कुरा नै हो कि विद्यार्थीको तुलनामा विषय पढाउने शिक्षकको ज्ञान ज्यादै हुन्छ। विषय पढाउने शिक्षकलाई कक्षामा पढाइने बिषयको विशेषज्ञ (अधिकारी) मान्नैपर्ने हुन्छ। विश्वासबिना कति ज्ञानहरू आर्जन गर्न सकिँदैन। तर त्यसो भन्दैमा अन्धो विद्यार्थी (अनुयायी) पनि त बन्न सकिँदैन। जुन असत्य छ त्यसलाई वहिष्कार गर्न सक्नुपर्छ। त्यो एउटा ज्ञानी मानिसको गुण पनि हो। जहाँ शंका लाग्छ त्यहाँ प्रश्न गर्नुपर्छ किनकि प्रश्न नै ज्ञान प्राप्तिको पहिलो सिँढी हो। वास्तवमा त्यस विद्यार्थीको उत्तर प्रशंसनीय साथै प्रेरणात्मक छ। कहिलेकाहीँ विद्यार्थीहरूले कति बुझेका रहेछन् भन्ने कुरा जान्नलाई शिक्षकहरूले यसरी गणितका कतिपय सम्भावित नियमहरूलाई वैकल्पिक तरिकाले प्रयोग गरेर असत्य (भूल) उत्तरलाई पनि सत्य (सही) देखाउन सक्छन्। कतिले चलाकी र कौशलताको प्रयोग गरेर असत्य वचनहरूलाई सत्य देखाउँछन्। तिनीहरू वास्तवमा सत्य हुँदैनन्। त्यस्ता वचनहरूलाई समय लगाएर राम्ररीसित अध्ययन गरेमा तिनीहरूका गणितीय सत्यता, वैधता र मान्यता सहजै खुट्याउन सकिन्छ। तर हाम्रो मनमा एउटा प्रश्न आउन सक्छ कि उनीहरू कसरी ती असत्य वचनहरूलाई सत्य देखाउन सक्षम हुन्छन्। त्यो चाहिँ उनीहरूले गणितका कतिपय मौलिक नियमहरूलाई गणितकै प्रक्रियाले तोडेर गर्नेगर्दछन्। तर वास्तवमा गणितका निश्चित अनि सर्वमानित मौलिक वचनहरूका (यहाँ “४ + १ = ५”) नियमहरूलाई तोड्न कदाचित् सकिँदैन। त्यो कसरी हुन्छ भनेर म संक्षिप्तमा तल कुरा गरिरहेको छु। ईगम खालिङ हाम्रो मनमा एउटा प्रश्न उठ्न सक्छ कि कसरी वचन (अथवा प्रस्ताव) “४ + १ = ४” अथवा “१ + ४ = ४” सठीक (सही) हुनसक्छ भनेर; कारण अङ्कगणितको प्रतीकात्मक वर्तमान प्रणालीमा यस प्रकारको वचनको निषेध स्व-विरोधाभासी हुन्छ। यसकारण वचन “४ + १ = ४” आफैँ-आफमा विरोधाभासी छ। यदि हामीले अंकगणितीय प्रतीकवादको नयाँ प्रणाली बनायौँ जसमा ४ लाई ‘४ + १’ को अर्को नाम हो भन्ने परिभाषित नियमको रूपमा मानिलिँन्छौ। यसरी यस प्रणालीमा ‘४ + १’ र ४ का मूल्य समान बन्दछ। एउटा प्रतीकात्मक तार्किक वचनजस्तो मात्र बन्दछ। जसको वैधता तार्किक प्रणालीअन्तर्गत मात्रै सीमित रहन्छ। त्यसलाई अङ्कगणितका अन्य वचनहरूलाई जस्तो भौतिक संसारका वस्तुहरूसित प्रयोग गर्न सकिँदैन। त्यसको विश्लेषणात्मक अनुसरण पनि हुनसक्दैन । कारण, अङ्कगणितका नियमहरूअनुसार प्रस्तुत वचन “४ + १ = ४” आफैँमा विरोधाभासी अनि गलत छ। हामी प्राथमिक कक्षाको उदाहरण लिन सक्छौँ। कुनै एउटा नानीले १० सम्मका अङ्कहरू (संख्याहरू) मात्र सिकेको छ भने उसलाई ११ र १२ के हुन् र कसरी हुन्छन् भन्ने थाहा हुँदैन। उसलाई सिकाउनुपर्ने हुन्छ कि अङ्क ११ वास्तवमा १० देखि माथिको अर्को एउटा ‘अङ्कहरूको एकाइ’-को नाम हो भन्ने । १० (दश) (+) योग १ (एक) को अर्को नाम ‘एघार’ हो। त्यसरी नै ११ (एघार) योग (+) १ (एक) को अर्को नाम ‘बाह्र’ हो। यसलाई हामी भौतिक वस्तुहरू (चकलेट, पेन्सिल आदि) प्रयोग गरेर पनि सिकाउन सक्छौँ। यसको मतलब यो हुन्छ कि ‘४ + १’ विश्लेषण गरेर कहिल्यै पनि ४ पाइँदैन साथै ५ पनि पाइँदैन कारण ५ चाहिँ ‘४ + १’ को संश्लेषणात्मक एकाइ हो। बरू ५ वटा चकलेटहरू लिएर ४ र १ लाई अलगै राखेर सबैलाई गन्ती गरेमा जम्मा ५ वटा चकलेटहरू पाइन्छ तर ४ र १ लाई जति नै विश्लेषण गरे तापनि तिनीहरूभित्र ५ पाइँदैन तर ५ चकलेटहरूभित्र ४ र १ पाइन्छ। फेरि जम्मा ४ वटा चकलेटहरूबाट कुनै पनि संश्लेषण अनि विश्लेषण विधिले ४ र १ चकलेटहरु पाइँदैन । त्यसैले संश्लेषणबिना विश्लेषण सम्भव हुँदैन। वास्तवमा अङ्कगणितका अङ्क अनि प्रतीक चिन्हहरूले यथार्थका (जगतका) वस्तुहरूलाई प्रतिनिधित्व गर्दछन्। यसैकारण अङ्कगणितमा प्रतीकात्मक प्रणाली संरचना गर्नुभनेको यस्तै प्रकारका सङ्केतहरूलाई अथवा प्रतिनिधित्व गर्ने प्रतीकहरूलाई संश्लेषित गर्नु पनि हो। तर यसको अर्थ यो होइन कि त्यो उल्लेखित भिडियोमा देखाइको वचन “ ४ + १ = ४” लाई अङ्कगणितको सत्य सूत्र मान्न सकिन्छ। यदि मानिन्छ भने अङ्गणितको सूत्र नभएर प्रतिकात्मक तर्कशास्त्रको पुनरूक्तिको प्रयोग मान्नुपर्छ। वचन “४ + १ = ५” अनिवार्य, सार्वभौम (सर्वमान्य) अनि वस्तुगत वैधता हुन्छ। यहाँ ‘अनिवार्य’ भन्नाले शुद्ध विवेकबाट आर्जित बौद्धिक वस्तुको सत्ता बुझिन्छ जसको विपरीत असम्भव हुन्छ। जस्तै: “४ + १ =” को परिणाम ५ बाहेक अरू कुनै विपरीत सम्भव नै छैन। कुनै पनि स्थितिमा त्यो “४ + १ = ४” अथवा “४ + १ = ६” हुनै सक्दैन। यदि अङ्गणितको नियम तोडेर गणितको कुनै पनि विशेष परिभाषित क्षेत्रमा सम्भव भए तापनि त्यो अनिवार्य, सार्वभौम अनि वस्तुगत वैधताको स्तरमा हुनसक्दैन। “४ + १ = ५” को अनिवार्य विश्वैभरि समानरूपमा मान्य हुन्छ। भारतमा मानिलिएको “४ + १ = ५” जपानमा गएर “४ + १ = ४” हुनसक्दैन, फेरि त्यसरी नै अमेरिकामा गएर “ ४ + १ = ६” हुनसक्दैन। त्यसैले “४ + १ = ५” को अनिवार्यको मान्यता सार्वभौम हुन्छ । त्यस्ता अनिवार्य अनि सार्वभौमको स्रोत हाम्रो मस्तिष्कको शुद्ध विवेकमा (बुद्धिमा) पाउँदछौँ। त्यस्ता अनिवार्य अनि सार्वभौम वचनहरूलाई भौतिक वस्तुहरूसित प्रयोग गर्न सकिन्छ। जब त्यस्ता वचनहरूलाई व्यवहारिकतामा (यथार्थमा) प्रयोग गरिँदा वस्तुगत वैधता सही पाइएमा साँचो वचनहरू (प्रस्तावहरू) मान्न सकिन्छ। उदाहरणको निम्ति दाहिने हातमा दुइटा अनि देब्रे हातमा अर्को दुइटा चकलेटहरू लिएर दुवै हातहरूका चकलेटहरूलाई मिसाएर (जोडेर) टेबलमा राखी गन्ती गर्यौ भने जम्मा (कुल) चारवटा चकलेटहरू पाइन्छ। फेरि ती चकलेटहरूलाई दुई भाग गरेर एक-एक हातमा लियौँ भने एउटा हातमा दुइटा चकलेटहरू अनि अर्को हातमा पनि दुइटा चकलेटहरू पाउँछौँ। यसरी अङ्गणितको यस्तो वचन “४ + १ = ५” का व्यवहारिक अर्थ र मूल्यहरू अङ्कहरूको (यहाँ ४, १ अनि ५) मात्र नभएर प्रतीकहरूका (यहाँ + अनि =) पनि परिचलन (सञ्चालन) अर्थ र मूल्यहरू हुन्छन्। माथिका विश्लेषणहरूबाट के बुझिन्छ भने गणितका मौलिक वचन अनि सूत्रहरूका नियमहरूलाई तोडेर अन्य मौलिक वचन र सूत्रहरू निर्माण गर्न सकिँदैन। त्यस्तै प्रकारले अङ्कगणितको प्रतीकात्मक प्रणालीअनुसार “२ + २ = २” अनि “४ + १ = ४” जस्ता वचनहरूलाई मौलिक अनि साँचो वचनहरू मान्न सकिँदैन। त्यसरी नै “२ + ० = २०” अनि “६ + ६ = ६६” जस्ता वचनहरू त झन पूर्णरूपले गलत अनि वहिष्कृत वचनहरू हुन्। दार्जीलिङ, भारत #ईगम खालिङ
पशुपतिनाथबाट बौद्धनाथको दर्शन: रिमरिम गर्दै पूर्वी भाग उज्यालियो । सँगै काठमाडौँको सौन्दर्य आँखाभरि उदायो । मन परेको ठाउँमा उभिएर हेर्दा हरेक कुरा मन पर्दै जाँदा रहेछन् । म एकाविहानै शुुभ्र काठमाडौँ नियाल्दै थिएँ, हिन्दू विद्यापिठको माथिल्लो तल्लाबाट । मैले देखेँ, क्षितिज कालोबाट पहेंलो हुँदै केही समयमै सेतो हुनेक्रममा थियो । एकपछि अर्को गर्दै रङ बदल्न व्यस्त ऊ, यसो भनौं, आफ्नो रूपलाई सिङ्गार्नमा मग्न, म पनि बेफुर्सद भएर हेरिरहेकी थिएंँ । मान्डलेको बेसरी गर्मी खाएको शरीर भएर होला मलाई खुब चिसो लागेको थियो मिरमिरे काठमाडौँको त्यो विहानमा । लुगलुुग काम्दै भए पनि यो सुन्दर दृश्य छोडेर जाने मन भएन । खुला छतमा म एक्लै थिएँ सायद । राति राम्रै निद्रा परे पनि अँध्यारोमै खुले आँखा, यसो घडी हेरेँ पाँच बजेछ । सुतिरहन मन लागेन । साथीहरू ढुक्कसँग निदाइरहनुभएको थियो, जगाउन पनि मन लागेन । उहाँहरूलाई पनि आफूलाई झैँ आनन्द भएको होला जस्तो लाग्यो, नहोस् पनि कसरी ? तैपनि उहाँहरूलाई एक्लै छाडेर काठमाडौँको खाल्डो एक एक नियाल्दैछु । घाम लागेपछि नजिकैको हिमाल पहेँलो भएको स्पष्ट देखियो । त्यो हिमाल हो भन्ने कुरा घाम नलागुन्जेलसम्म थाहा थिएन । अचानक चिच्याउन मन लाग्यो । हिमाल–हिमाल । तर मेरो कुरा सुनिदिन कोही उठेको थिएन । नेपालमा हिमाल छ भन्ने कुरा यो बेलासम्म बिर्सेको रहेछु । मधुरो भए पनि काठमाडौँबाट हिमाल देखिन्छ भन्ने कुरा याद नै नभएको । खुसीले एकाविहानै बुुरुक्क उफ्रिएँ । हिजो राति परिवारका सबैसँग आफू सुुरक्षितरूपमा नेपाल पुुगेको कुरा परिवारलाई बताएको थिएँ । खासमा बर्माबाट भारतको सिमानामा पुगेपछि मैले नेपाल पुग्नेबित्तिकै कुुरा गर्छु भनेको थिएँ तर प्राविधिक कारण, व्यस्तता र नेटवर्कका कारणले आइपुुगेको कुरा खबर गर्न पाएको थिइनँ । चार दिन भइसकेछ, कुरा नभएको । यसले उहाँहरूको चिन्ता बढाएको रहेछ । आफूू भनेँ नेपाल पुगिसकेपछि सबै कुरा बिर्सिएर मग्न पो भइरहेको रहेछु । ‘स्वार्थी भइछौ छोरी, हामीलाई कति चिन्ता लाग्यो ।’ आमाले यसो भन्दा बल्ल आफूले समयमै खबर नगरेकोमा पश्चताप लाग्यो । मैले हाँसेर भने, ‘सिम थिएन अामा । फेरि फोन गर्दा नयाँ केही सुनाऊँ भनेर नि, आमा !’ ‘के के देखिस् त ?’ मैले बेलिबिस्तार लगाएँ । पाटन दरबार, काठमाडौँ सहर र न्युरोड बजार । खासमा मैले आमाका लागि केही ढाकाको चोलो र धागोको पसल देखेको थिएँ । मेरी आमालाई तिलहरी लगाएर संगीनी नाचेको असाध्यै सुहाएको मैले देखेकी थिएँ । अरूबेला बर्मेली पहिरनमै देखिने मेरी अामालाइ नेपालबाट लैजान सक्ने त्यही सामग्री हो । यी समाग्री किन्न लाग्दा ज्ञान सरले फर्कदा किन्न सुझाव दिनुभएको थियो । तर मैले ती सामग्री किनिसकेको भनेर उहाँलाई खुसी बनाउन भनेँ । नभन्दै उहाँ निकै खुसी हुनुुभयो । कहिलेकाहीँ आफन्तलाई खुसी बनाउन झुुटो बोल्नुपर्छ । आखिर यो झुुटो पनि त होइन नि ! फर्कने बेलामा त किनिहाल्छु भन्ने लाग्यो । ‘पशुपतिनाथ पुगिस् ?’ आमाले सोध्नुभएको थियो । ‘भोलि जाने योजना छ ।’ मैले साँचो कुरा बताइदिएँ । तर भन्न बिर्सिएको कुरा चाहीँ काठमाडौँको चिसो र अहिले देखिएको हिमाल थियो । आज पशुपतिनाथ पुुगेर फर्केपछि आमाले सुनाउने कुरामा यी कुरा पनि थपिनेछन् । नाकले मगमग चियाको बासना थाहा पायो । नजिकै भान्सा छ भन्ने कुरा हिजो थाहा पाएकी थिएँ । भान्सामा विष्णु डाँगी सरको मिसेजले भान्साकी दिदीलाई सघाउँदै हुनुहुँदो रहेछ । हिजो मात्रै मेमसँग परिचय भएको थियो । मेरो भाषा–साहित्यका गुरु ज्ञान सर बर्माबाट नेपाल आउँदा साथ दिने व्यक्ति कोही हुनुहुन्थ्यो भने विष्णु सर नै हुनुहुन्छ भन्ने कुरा पनि थाहा पाएको थिएँ । यही कारण मेमसँग मेरो विशेष अनुराग हुनु स्वभाविक नै हो । हामीले पढेका, सुनेका सबै ऐतिहासिक कुराहरू भत्केर नजाऊन्, बर्माका नेपालीहरू जहिले नेपाल आए पनि यी कुरा देख्न पाउन भन्ने मेरो चाहाना छ । तर म उहाँलाई बोलाउन भान्सामा छिरिनँ । तर उहाँले म छतमा बसेर काठमाडौँलाई नियाली रहेको थाहा पाइसक्नुभएको रहेछ । म भान्साबाहिरै अलमल गरिरहेको बेला उहाँले गिलासमा चिया बोकेर आउँदाआउँदै भन्नुुभयो, ‘यति जाडोमा अघिदेखि बसिरहनुभएको छ, जाडो भएको छैन ?’ ‘काठमाडौँको जाडोभन्दा यसको सौन्दर्य मनप¥यो ।’ मैले हाँस्दै भने, ‘अब त बानी भइसक्यो ।’ ‘लौ चिया लिनुुस्, जाडो भाग्छ ।’ उहाँले चियाको कप अघि बढाउँदै भन्नुुभयो । ‘आज पशुपति जाने भन्नुभएको छ, ज्ञान सरले । खान मिल्दैन ।’ ‘अहो, कति धार्मीक !’ ‘तीन पुस्तापछि बल्ल नेपाल टेकेकी छु । विश्वप्रसिद्ध मन्दिर जाँदा कसरी केही खानु ?’ मेरो हाउभाउबाट चिया नखाने कुरा बुुझेपछि मलाई धेरै कर पनि गर्नुभएन । सायद पशुपतिप्रतिको हाम्रो आस्था उहाँले महसुस गर्नुभयो होला । ‘कस्तो रह्यो हिजोको यात्रा ? खुुब रमाइलो गर्नुभएछ, ज्ञान सरले मलाइ भन्दै हुनुहुन्थ्यो ।’ उहाँ मसँग कुुरा गर्न उत्सुक देखिनुभयो । मधुरो घाम लाग्न थालेको थियो । त्यही घाम ताप्दै मैले भनेँ, ‘हजुुर मेम, लुघुकथाको मञ्चबाट छुटेपछि हिँडेरै न्युरोटतिर लाग्यौँ । सिहंदरबारको बाटो कति ठूलो है ?’ “अरू के के हेर्नुभयो ?” उहाँ मेरो कुरामा अझै उत्सुक देखिनुभयो । ‘बाटोमा दरबार हाइस्कुल देख्यौँ । लक्ष्मीप्रसाद देवकोटा पढेको त्रिचन्द्र कलेज पनि देख्यौँ । दरबार हाइस्कुल भुकम्पले भत्काएको देख्दा नराम्रो लाग्यो । त्यो ऐतिहासिक स्कुल बन्छ कि बन्दैन मेम ?’ ‘खै, बनाउनु पर्ने हो ।’ उहाँले आश्वासन दिनुभयो । हामीले पढेका, सुनेका सबै ऐतिहासिक कुराहरू भत्केर नजाऊन्, बर्माका नेपालीहरू जहिले नेपाल आए पनि यी कुरा देख्न पाउन भन्ने मेरो चाहाना छ । सायद हरकोही यस्तै सोच्छन् होला । हाम्रो मनको कुरा नेपालको सरकारले कसरी बुुझोस् ? ‘अरू के के हेर्नुभयो ?’ उहाँ अझै उत्कुुक देखिनुभयो । ‘टुँडिखेल हेर्याैँ । त्यसपछि न्युरोड बजार, सके जति सबै घुम्यौँ । रात नपरेको भए अझै घुम्ने थियौँ । अझै धीत मरेको छैन ।’ मैले हाँस्दै भनेँ । उहाँ पनि हाँस्नुुभयो । उहाँको बोली, हाँसो, व्यवहार अहिले पनि आँखामा टाँसिरहेको छ । केही क्षणमै केही तातेको घामको कारणले हुनसक्छ, सीमादी र मधुदीहरू आउनुभयो । र हामी दुुईलाई देखेर छक्क पर्नुुभयो । ‘लौ तिमी यता पो ?’ उहाँहरू छेउमा आइपुुग्दा नपुुग्दै मेमले कुर्सीहरू ल्याइदिनु भयो । भान्साबाट उहाँहरूका चिया आयो । तर उहाँहरू पनि पशुुपतिनाथको दर्शन गर्न जाने भन्दै त्यसलाई अस्वीकार गर्नुभयो । ‘रातिको खाना अझै बाँकी छ कि के हो ?’ चिया अस्वीकृत भएपछि मेमले हामीलाई जिस्क्याउनु भयो । खासमा हिजो न्युरोडको सपिङपछि लाजिम्पाटको एउटा संस्कृतिक रेस्टुराँमा गएका थियौँ । आफ्नो निम्तोमा खाना खुवाउने जोड यादव गाैतम सरले गर्नुभएको थियो । उहाँले त्यहाँका अनेक परिकारहरू चखाउनु भयो । त्यसमा पनि सांस्कृतिक विशेष थियो । यिनै पहाडमध्ये एक पहाडबाट कसैले मेरो हजुरबालाई १३ वर्षको हुँदा बर्मामा लगेर पढाउँछु भनेर लिएर गएका थिए रे ! कुरै कुरामा कसैले म¥याङ्दी आलु सम्झनु भयो । बर्मामा इन्सेँइ अालुकाे स्व्ाद यस्तै हुन्छ । मलाइ त्यसकाे सम्झना भयाे । कसैले क्वाटींको झोल सम्झनु भयो । खासमा नेपाली खाना त हामीले खाएकै हौँ तर रेस्टुराँमा त्यसरी नेपाली खाना खान पाइन्छ भन्ने हामीलाई थाहा थिएन । परिकार पस्कने शैली, थालहरू र नृत्य ठ्याक्कै कुनै चाडपर्वमा भेला भएका मानिसलाई गरिने सत्कार जस्तै थियो । यसरी संस्कृतिलाई पनि व्यवसाय गर्न सकिने रहेछ भनेर मलाई रमाइलोे लागेको थियो । हामीले घाम ताप्दै केहीक्षण यिनै कुरा ग¥यौँ । एकछिनअघि देखिएको हिमाल अहिले हराएछ । हिमाल भएपतिर हेर्दा नीला पहाडहरू देखिए ।ती पहाडहरू हेर्दै सीमादीले अाफ्नाे हजुरबुबाकाे कथा सुनाउनु भयाे । ‘यिनै पहाडमध्ये एक पहाडबाट कसैले मेरो हजुरबालाई १३ वर्षको हुँदा बर्मामा लगेर पढाउँछु भनेर लिएर गएका थिए रे ! ती मान्छेले बर्मामा पुर्याएर अलपत्र छाडिदिनु भएछ । धेरै दुःख पाएपछि कसैले हुलाकमा काम लगाइदिए छन् । सानो उमेरमा उहाँ गोर्खाली सेनाको चिठ्ठी ओसारपसार गर्ने काममा लाग्नुु भएछ । त्यसपछि उतै बिहेबारी भएछ । मेरी आमा जन्मनु भएछ । आमाको पनि उतै विहे भएपछि म जन्मिएँ ।’ हामी सबै छक्क परेर सीमादीका कथा सुन्न थाल्याैँ । ‘उता मेरा घरको हजुरबुुवा पनि त्यसैगरी केही कारणले उता जानुुभयो । उतै विवाह गर्नुभयो र बाबा जन्मनु भयो । यसरी उतै म पनि जन्मिएँ । यी नीलो पहाड अहिले हेर्दा लाग्यो, मेरा हजुरबुवाहरू उता नलाग्नु भएको भए म पनि यतै जन्मन्थेँ हुुँली । बसाइँसराइ कस्तो अचम्मलाग्दो कुरा रहेछ ।’ कथा सीमादीका थियाे तर ती कतै न कतै हाम्रा पनि थिए । उहाँले हाम्राे कुरा गरिरहँदा म भने अामा र हजुरबुबाले भनेका त्यस्तै खालका घरेलु कथा सम्झिरहेकी थिएँ । सायद, सरगम र मधुदीका कथा पनि यी भन्दा फरक थिएनन् । ‘लौ पशुपति जानका लागि तयार हौँ । ड्राइभर आउन लागे रे !’ हाम्रा लागि हिन्दू विद्यापिठले सिंगै गाडी दिएर आजको दिन काठमाडौँ घुमाउने तयारी गर्दै रहेछ । आज उता धनगढीको साहित्यिक महोत्सवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कुरा थियो । मलाई नजिकबाट नेपालकी राष्ट्रपति हेर्ने रहर थियो । तर धेरै यात्रु काठमाडौँबाट जाने भएका कारण टिकट नमिलेको कुुरा थाहा भयो । यही कारण यो एकदिनको समयलाई काठमाडौँ घुम्ने अवसरमा परिणत गरिएको रहेछ । उताबाट फर्कदा ढिलो हुने भएकाले पनि आजै काठमाडौँ घुमिसक्नु बाध्यता थियो । आखिर १५ दिनको मात्र भिसा पाएका कारण पनि हामीले सबै महत्वपूर्ण कुरा हेरिसक्नु पर्ने बाध्यता थियो । हामी गाडी चढ्दा बल्ल घाम केही तातिए । फागुनको महिनामा तातो घाम पाउन काठमाडौँमा मुुस्किल पर्छ भन्ने मलाई कल्पना थिएन । योबेला आमाहरू पसिना चुहाउँदै पसलमा खटिरहनुभएको होला । आखिर काम गर्ने बानी भएकालाई पसिना बगेको थाहा हुन्न । ‘उ त्यही हो पशुुपतिनाथ ।’ ज्ञान सरले रोडबाटै पशुपति नाथको गजुुर देखाउनु भयो । पाटनको बालकुमारीबाट २० मिनेट पनि नबित्दै पशुपतिनाथ फेला पर्नुहुुन्छ भन्ने मैले कल्पना गरेको रहेनछु । मैले त पशुपतिनाथ टाढा बस्नुहुुन्छ होला भन्ने ठानेको थिएँ, नजिकै हुनुहुँदो रहेछ । मैले आँखा तन्काउँदै पशुपतिको गजुर, वरपरका जंगलको दृश्य र नजिकैको बागमति नदी हेरेँ । एकैछिनमा गाडी एउटा खाली ठाउँमा रोकियो । त्यहाँबाट मार्बलको बाटो हुँदै पशुपतिनाथ मन्दिर पुग्यौँ । खासै भीड थिएन । पशुपतिनाथ पनि भीड नभएको देख्दा मलाई अचम्म लाग्यो । ‘भर्खरै शिवरात्री गएकाले मानिस कम आउँछन् ।’ ज्ञान सरले भन्नुुभयो, ‘नत्र यहाँ खुुट्टा राख्ने ठाउँ हुन्न ।’ बाबाकै पूजाको फल हो कि आज म दर्शन गर्न पाएंँ भनी सबैभन्दा पहिले मैले बाबालाई सम्झिएँ । पशुपतिनाथ मन्दिर अघिल्तिर पुुगेपछि म भावुक भएँ । यो त्यही मन्दिर हो जुन मेरो घरमा बाबाले पूजाघरकै छेउमा फोटो फ्रेम गराएर राख्नुभएको छ । हर साँझविहान प्रथना सकेपछि नतमस्तक फोटोमा पनि गर्नु हुन्छ । बाबाकै पूजाको फल हो कि आज म दर्शन गर्न पाएंँ भनी सबैभन्दा पहिले मैले बाबालाई सम्झिएँ । ‘चार धाम जान नसके पनि पशुपति धाम जाने मेरो ठूलो इच्छा छ,’ बाबाले भनिरहने बात हो यो । आफ्नो जीवनको ६५ वर्ष घर–परिवार र छोरीहरूमा समर्पण गर्नुभएको बुबाको यो सपना मैले जसरी भए पनि पूरा गर्छु । यही कुरा बारबार मनमा आइरहन्थ्यो । जुन अहिले पूरा भइरहेको थियो । म पशुपति परिसर पुुगेपछि पुनः बच्चा जस्तै भएँ । मेरो मन पशुपति परिसर, बागमति नदी, आर्यघाट हुुँदै त्यहाँका गाई, बांदरहरूसमेतमा सहजै रमाइलो मानिरहेको थियो । मैले त्यहाँका रहेक दृश्यलाई बढीभन्दा बढी कैद गरेँ । भित्र जाँदा मोबाइल लैजान नपाउने नियम थाहा पाएपछि मोबाइल बुुझाउनुुअघि त्यहाँका दृश्य भागिजान्छन् जस्तै गरेर म बढीभन्दा बढी फोटो खिचिरहेकी थिएँ । मलाई कुन दृश्य कसलाई बढी मन पर्छ भन्ने कल्पना आइरहेको थियो । आमा, बाबा र बैनीलाई मन पर्ने दृश्यहरू खोजी गरिरहँदा अरू साथीहरू भने मलाई कराउँदै पशुुपतिनाथतिर लाग्नुभयो । म पनि हतारिएर मोबाइललाई नदेख्नेगरी लुकाएर अघि बढेँ । शिवरात्रीको सजावटले प्रवेशद्वार र मूलद्वारसहित अझै केही ठाउँ रंगीचङ्गी नै थिए । सबै मित्रहरूले लाइन लागेर पूजा गर्नु भयो । मैले पनि पहिले आमाको नाममा, त्यसपछि बाबाको नाममा, त्यसपछि बैनीको नाममा र त्यसपछि सम्झे जति सबैको नाममा पशुपतिको परिक्रमा गरेँ । ज्ञान सर बाहिर हामीलाई कुरेर बस्नुभएको थियो । हामीलाई पशुपतिनाथको दर्शन गर्ने समय केवल आधा घन्टा मात्र दिनुभएको थियो । त्यसैले हाम्रो यो झटपटे घुमाइ थियो । सुरूमा त आधा घन्टाको समय धेरै लागेको थियो तर पशुपति परिसरका हरेक कुरा पूरातात्विक महत्वले भरपूर रहेछन् । “यूनेस्कोले विश्व सम्पदामा सूचिकृत गरेको छ यो मन्दिर ।“ सरले मन्दिरबारे अघि नै बताउनुभएको थियो । बल्ल यसलाई किन यूनेस्कोले सुचिकृत ग¥यो भन्ने कुरा मन्दिर परिषरका कुराहरू हेर्दा थाहा पाएँ । आधा घन्टा त एकैछिनमा बितिगयो । हामी गाह्राे मान्दै पशुपतिनाथ बाहिर निस्कियौँ । बाहिरतिर बागमति नदी बगिरहनु भएको थियो । मैले कल्पना गरेभन्दा यो निकै सानो नदी रहेछ । त्यो पनि केही फोहोर । मलाई ननिको लाग्यो । नेपालका अरू नदी कलकल गरेर सङ्लो बग्छन्, यो नदी मात्रै किन यति सानो र फोहोर भएको होला, मलाई अचम्म लाग्यो । यति धेरै महत्व बोकेको मन्दिर र नदीलाई त कृत्रिम पानी ल्याएर भए पनि सङ्लो बनाउनु पर्ने हो । आखिर नेपालमा पानीको कमी कहाँ छ र ? मनमा यस्तो कुरा आए । बागमति नदीपछि मेरो आँखा आर्यघाटमा गयो । बर्मामा धेरै जसो मृतकलाई माटोमा गाड्ने चलन छ । हामी गोर्खालीहरूलाई मात्र मृत्युपछि जलाउने गरिन्छ । यही कारण मलाई त्यहाँको मृत्यु संस्कारले तान्यो । नजिकै दुुई तीन लासहरू जलिरहेका थिए । नेपाल र बर्मामा शव जलाउने विधिविधान भए पनि बर्मामा कति धनी मान्छे म¥यो भनेर मलामी हेरिन्छ । सरगमलाई पनि मेरोजस्तै भावना आइरहेको रहेछ । सरगमले भनिन्, “बरू बर्मेली तरिका ठिकै, दाउरा किन्न नसकेर चिन्ता पनि भएन । धनाढ्य हूँ भनी भएभरका फूल सजाएर फूलैको महल बनाएर पनि भएन । सबै मृतकलाई विधिअनुसार माटामा गाड्छन् । हामी नेपाली मात्रै धनी र गरिब ठ्याक्कै छुुट्टिन्छ । परम्पराबाटै यही तरिकाले चलिआएको यो स्थितिलाई हामीले आफूआफैँमा बहस गरिरहँदा पनि केही हुनेवाला थिएन । खिन्न मन लिएर उकालो सिँडीतिर उक्ल्यौँ । ज्ञान सर भन्दै जानुहुुन्थ्यो, ‘यो श्लेषमान्तक वन हो । यहाँ शिवपार्वती घुुम्न आउनुहुुन्थ्यो ।’ ज्ञान सरले प्लास्टिकमा हालेका पोकाहरू बाहिर नदेखाउनु भन्नु भाको थियो । यो कुरा हामीले बिर्सिएका रहेछौँ । अचानक एउटा बाँदरले आक्रमण गरेर हाम्रो प्लास्टिक खोस्यो । झन्नै खाने चीज नहुनाले फिर्ता गरिदियो । बाँदरको यो चाल देखेर हामी मज्जाले हाँस्यौँ । नदी पार गरेपछि हामी उकालो लाग्यौँ । ज्ञान सरले स्वस्थानी व्रतकथामा उल्लेख भएको सतिदेवीको अङ्पतन भएको गुुहेश्वरी मन्दिर लैजाँदै हुनुुहुन्थ्यो । हर बर्मेली नेपालीलाई स्वस्थानीको कथा कण्ठ छ । हरेकको घरमा स्वास्थानीको किताब हुनु अनिवार्य छ । यस्तो अवस्थामा गुहेश्वरी पनि पशुुपतिनाथ जस्तै हेर्ने पर्ने ठाउँ थियो । हामी स्वाँ स्वाँ गर्दै उकालो लाग्दै गयौँ । बाटोमा ज्ञान सर भन्दै जानुहुुन्थ्यो, ‘यो श्लेषमान्तक वन हो । यहाँ शिवपार्वती घुुम्न आउनुहुुन्थ्यो ।’ कुरा सुन्दा पनि स्वर्गमा पुुगेको अनुुवभ भइरहेको थियो हामीलाई । माथि चढेपछि हामीले बागमति नदी र त्यसको पर बौद्धनाथ मन्दिर देख्यौँ । बर्मामा हिन्दू मन्दिर कमै छन् । जति छन्, गोर्खालीहरूले बनाएका छन् । केही हिन्दुस्तानीहरूले पनि बनाएका होलान् तर धेरै त गोर्खालीहरूकै छन् । तर गुम्बा जताततै छन् । नेपालमा भने बल्ल एउटा राम्रो गुम्बा देखियो । पशुपतिनाथबाट टाढै भए पनि त्यो गुुम्बालाई नमस्कार गरेर हामी तल गुहेश्वरीतिर लाग्यौँ । घर गएर भन्नुु छ, सतीदेवीको अङ्ग पतन भएको ठाउँमा पुुगेर आएको भनेर । यो खबर कुन बेला बर्मा पुुगेर सुनाऊँ जस्तो हुन थालिसक्यो मेरो मन । #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की
नेपाली भाषा बचाऊ अभियानका पनि अगुवाः दाहाल यज्ञनिधि: दाहाल यज्ञनिधि धन्यवाद प्रकाश सर । कार्यक्रम अनौपचारिक रूपमै पनि औपचारिक जस्तो लागिरहेको छ । यहाँ हामी आदरणीय सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिका चिन्तनका एक दर्जन अनुयायीहरू भेला भएर उहाँलाई सम्झिरहेका छौँ । सुधा म्याम, कृष्ण सुवेदी सर, चेतनाथ धमला सर, निलम कार्की निहारिकाज्यू, यशोदा अधिकारीज्यू । यहाँ उपस्थित सबै अग्रज, सहकर्मी र सहभागीहरूमा अभिवादन । आज हामी दाहाल यज्ञनिधिलाई सम्झिएर मौनधारण गरिरहेका छौँ । उहाँका स्मृतिका विविध पक्षलाई बाहिर ल्याइरहेका छौँ । यो उहाँकै कर्मको, सिर्जनाको,साधनाको र समर्पणको देन हो । मलाई उहाँका विषयमा बोल्न भनिएको छ । हामी सबै उहाँलाई बुझ्ने मानिस नै उपस्थित छौँ उहाँको जन्म २०१० साल साउन ४ गते, बिहीवाबर तत्कालीन खाल्ले–८, धारापानी, खोटाङ, सगरमाथा अञ्चलमा भएको हो । उहाँको जीवन छोटो रह्यो तर सार्थक रह्यो । उहाँले पैसठ्ठी वर्षको आयु गुनासो गर्नुपर्ने ठाउँ नराखी बिताउनु भयो । हामीले उहाँबाट जति असी नब्बे सय जति बर्षसम्म उहाँको मार्गदर्शन, आशीर्वाद पाउन सक्थ्यौँ त्यो पाएनौँ । हामीले पनि जीवन बाँच्दा त्यस्तै जीवन बाँच्ने प्रयत्न गर्ने हो । उहाँ नेपाली समाजका धेरैका अभिप्रेरक रोलमोडल व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका कक्षामा नपढे पनि उहाँ हाम्रो गुरु हुनुहुन्थ्यो । सर्वप्रथम त म उहाँप्रति मेरो व्यक्तिगत तर्फबाट र दाहाल यज्ञनिधि स्मृति सभाका पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँ नेपाली समाजको एउटा विद्रोही परिवर्तन पक्षधर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले संस्कृत पढ्नु भयो तर कर्मकाण्डको विश्वास गर्नुभएन । उहाँलाई मानंच दुर्योधने भनेर दिइने आशीर्वादहरूको पनि उति विश्वास थिएन । आफ्नी बहिनीको स्मृतिमा तिहारलाई पनि एक किसिम स्थगनको चाड बनाउनुभयो । उहाँ भन्नुुहुन्थ्यो गरिब बुढाबुढीको गाँस खोसेर दक्षिणा दिइने र भोकाहरूको गाँस खोसेर निधार रंग्याइने दशैँ म किन मानिरहूँ । मेरी बहिनीको मृत्युको न्याय पाउन नसकिने तिहार म किन मानिरहूँ । यासे भने पनि उहाँ परिवारका सदस्यहरूसँग भेला हुने पर्वअनुसारको रमाइलो गर्ने क्रममा कति पनि कमी हुन दिनुहुन्न थियो । उहाँ आफ्ना पिता तारानाथ दाहालदेखिको पैतृक रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले आफ्नै शरीर र रोगका माध्यमबाट पनि नेपाली समाजमा चेतना फैल्याउने प्रयास गर्नुभएको छ । उहाँले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रयास गर्नुभएन । त्यसमा देशमै मृगौला प्रत्यारोपण गर्न पाउनुपर्छ भन्ने विद्रोहलाई वा मागलाई अगाडि सार्नुभएको थियो । राज्यले त्यो कानुन अझै पनि पूर्णतः लागू गरिसकेको छैन । उहाँले मानव शरीर जलाएर वा गाडेर नष्ट गर्नुभन्दा शरीर दान दिनुपर्छ भन्ने चेतनालाई जीवनकालमा व्यक्त गर्नुभयो र त्यही विचारका आधारमा उहाँको शव हामीले टिचिङ हस्पिटललाई दान गर्न सफल भयौँ । यो चेतना पनि नेपाली समाजको चेतना भन्दा अग्रगामी चेतना थियो । दाहाल परिवारभित्रका पनि समाजका पनि र राज्यका पनि विविध पक्षमा विद्रोही हुनुहुन्थ्यो । उहाँका कतिपय विद्रोहका पक्ष आफ्नै माता कृष्णाकुमारी दाहालसँग पनि देखिन्थे तर बाँचुन्जेल आमाको रेखदेख गर्ने र आमालाई सबभन्दा बढी आदर गर्ने छोरो उहाँ नै हुनुहुन्थ्यो । उहाँ जति विद्रोही हुनुहुन्थ्यो व्यवहारिक जीवनमा त्यति नै कोमल, हार्दिक र मायालु हुनुहुन्थ्यो । उहाँको विवाह सुधा आचार्य (दाहाल) सँग भयो । उहाँहरू २०३७ असार १० गते विवाह बन्धनमा बाँधिएर सहकार्य र सम्झौतामा जीवन बिताउनु भयो । उहाँहरूबिच खटपटको अवस्था कहिल्यै आएन । उहाँका भतिजा भतिजीहरूले पनि उहाँबाट बुबाबाट पाउने भन्दा कम माया पाएनन् सायद । मलाई हिजो प्रकाशजीले पाँच सात मिनेटमा कुरा राख्ने भन्नुभएको छ । त्यसरी पाँच सात मिनेटमा बाँध्न सकिने व्यक्ति उहाँ होइन तर म केही उहाँका सम्झनै पर्ने पक्षलाई यहाँ राख्ने प्रयत्न गर्दैछु । उहाँ साहित्यकार हो । उहाँ सञ्चारकर्मी हो । यो विषयमा सबैलाई थाहा छ । हामी उहाँको साहित्यिक योगदानबाट परिचित छौँ । उहाँ निबन्धकार हुनुहुन्छ । उहाँ कवि हुनुहुन्छ , उहाँ गीतकार हुनुहुन्छ, उहाँ आवाजका वादशाह हुनुहुन्थ्यो भन्ने हामी सबैलाई थाहा छ । म यी सबैले थाहा पाएका भन्दा अलि फरक पक्षलाई मात्र आज उजागर गर्दैछु । दाहाल यज्ञनिधि उहाँको मूल योगदान रेडियो नेपालको साहित्यिक कार्यक्रमसँग जोडिएको छ । हामी साहित्य संसारका माध्यमबाट उहाँलाई सम्झन्छौँ । उहाँका माध्यमबाट नेपाली साहित्यमा पुगेको योगदानलाई मैले उहाँको विषयमा लेखेको पुस्तकमा मदन पुरस्कार स्थापना र मदन पुरस्कार पुस्तकालय स्थापनाबाट कमल दीक्षितको योगदान र त्रिभुवन विश्वाविद्यालयको नेपाली विभागमार्फत वासुदेव त्रिपाठीले पुर्याएको योगदानसँग तुल्य रहेको पक्ष उठाएको थिएँ । आज पनि त्यस मूल्यांकनलाई मैले यथावत राखेको छु । उहाँका माध्यमबाट धेरै स्रष्टाको पहिलो रचना सार्वजनिक भएको पक्ष हामीले बिर्सनुहुँदैन । मायाठकुरीलगायत पहिलोपुस्ताका धेरै लेखकले उहाँले रेडियो नेपालमा रचना वाचन गरेर र त्यसको पारिश्रमिक दिएर सहयोग गरेको पक्षलाई सार्वजनिक ठाउँहरूमा बोल्नुभएको छ । उहाँले नेपाली शुद्ध उचारण, ठेट उच्चारण र यसको ओजपूर्ण उच्चारणका माध्यमबाट र वास्तविक स्रष्टाहरूको उजागरबाट नेपाली साहित्यलाई अग्रगामी मार्ग प्रशस्त गर्नुभएको छ । रेडियोनेपालसँग जोडेर उहाँलाई सम्झने अर्को कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा हो । त्यस कार्यक्रमबाट उहाँले धेरै नेपाली मौलिक संस्कृति, परम्परा र मूलतः नेपाली लोकसंस्कृतिका नेपाली लोकवार्ताका बहुमुखी पक्षहरू उजागर गर्नुभएको छ । ती सामग्रीहरूलाई प्रकाशन गर्न सक्ने हो भने उहाँ प्रायः लोकसंस्कृति र लोकसाहित्यका अध्ययनहरूका आधार सामग्री बन्न सक्ने पक्ष पनि छ । उहाँ नेपाली लोकसांस्कृतिक संरक्षक संबद्र्धक र प्रशारक पनि हुनुहुन्थ्यो । नेपाली मौलिक दर्शनहरूको प्रतिपादन र तिनको विकासमा पनि दाहालको योगदान छ । उहाँले नेपाली समाजमा कथित दलित मनिने गरेका जातले कथित उच्च जात र वर्गलाई अभिवादनका क्रममा भन्ने गरेको जदौ शब्दलाई नेपाली सञ्चार माध्यममा प्रवेश गराई समान आदरको चिन्तनलाई अगाडि सार्नुभयो । उहाँले वर्णव्यवस्था अनुसारको आदरार्थीहरूको विनिर्माण गरी समतामूलक समाज निर्माणका पक्षमा आवाज उगाउनुभयो । यस आधारमा उहाँलाई नेपाली नव दार्शनिकहरूले पनि बिर्सन मिल्दैन । दाहाल यज्ञनितिको शैक्षिक योगदानको पाटो पनि छँदैछ । उहाँले कक्षामा पढाएका विद्यार्थीहरूले आज गरेको उन्नति र उहाँका माध्यमबाट समाजमा फैल्याएको चेतनाको पाटो छँदैछ । उहाँले शित्तला मा.वि. (हाल) खोटाङबाहेक पूर्वमध्यमासम्म चन्द्र संस्कृत विद्यालय, धरानमा र साहित्यशास्त्री वाल्मीकि विद्यापीठ, काठमाडौँबाट गर्नुभयो । उहाँले संस्कृत पृष्ठभूमिबाटै पढे पनि उहाँमा संस्कृतका कर्मकाण्डीय एवम् पाष्ण्त्यिपूर्ण जीवनशेली र पद्धतिप्रति आस्था रहेन । उहाँ आधुनिक वैज्ञानिक चिन्तनअनुसार चल्ने प्रतिभाका रूपमा देखिनुभयो । उहाँले शिक्षण पेसालाई पनि त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्री बनेर मनोवैज्ञानिक र वैज्ञानिक चेतनासम्पन्न शिक्षकका रूपमा यो । उहाँको जीवनको अधिकांश समय निष्ठापूर्वक भानु माध्यमिक विद्यालय, काठमाडौँमा शिक्षण सेवा गरेर बित्यो । त्यो विद्यालय पुरानो दरवार हाइस्कुल हो । त्यस विद्यालयको विकासमा पनि उहाँको प्रत्यक्ष योगदान छ । सञ्चार सेवा कै कुरा गर्दा उहाँले रेडियो नेपाल र एचवीसी एफ.एम. रेडियो अन्नपूर्ण नेपाल जस्ता रेडियोबाट गरेको योगदान र प्रतिभा उजागर र साहित्यका बहुमुखी पाटाको जति कुरा गरे पनि गर्न सकिन्छ । त्यसका साथै उहाँले उन्नयन त्रैमासिक पत्रिकाबाट पुर्याएको साहित्यिक पत्रकारिता क्षेत्रको योगदानलाई पनि बिर्सन सकिँदैन । उहाँ जागार्जुनलगायत विभिन्न पत्रिकाका सम्पादन सल्लाहकार हुनुहुन्थ्यो त्यस पाटोलाई पनि हामीले बिर्सनु हुँदैन । उहाँ संलग्न पत्रिकाका सम्बन्धित अंक पल्टायो भने उहाँका योगदानका विविध पक्ष बाहिर ल्याउन सकिने अवस्था छ । उहाँको राजनीतिक र साङ्गठानिक योगदानलाई पनि हामीले बिर्सनु हुँदैन । उहाँले राजनीतिसापेक्ष गरेको समाजसेवाको पक्ष पनिछँदैछ । राजनीतिक निरपेक्ष रूपमा गरेको सामाजिक सेवाका बहुमुखी पक्षहरू पनि स्मरणीय छन् । उहाँले विद्यार्थी छँदै वैदिक छात्र पुस्तकालयमा बसेर काम गर्नुभयो । संस्कृत छात्रावास सञ्चालक समितिमा रहेर काम गर्नुभयो । अनामनगर सेवा समाजमा रहेर काम गर्नुभयो । त्यस अनाम नगर क्षेत्रको नामकरण पनि उहाँले नै गरेको पक्ष पनि छ । उहाँ स्वास्थ्यका कारण अलि एकान्त ठाउँमा बस्ने गरी बरफेदी पुगेपछि बरफेदी उपभोक्ता समितिमा रहेर पनि काम गर्नुभएको छ । सामाजिक विकास समाज अनामनगरमा रहेर पनि काम गर्नुभएको छ । उहाँले अहिले क्रियाशील साहित्यिक पत्रकार संघमा रहेर पनि काम गर्नुभएको छ । यस संस्थाको प्रतिनिधि चेतनाथ धमला यहाँ उपस्थित हुनुहुन्छ । उहाँले नागार्जुन साहित्यिक प्रतिष्ठान, रावासावा प्राज्ञिक समाजजस्ता समाजमा रहेर र यी संस्थालाई आफ्नै घरमा संरक्षण दिएर पुर्याएको योगदान पनि उल्लेख्य छ । आज उहाँका स्मृतिमा यी सबै संस्थाले स्मृतिसभा गर्दा हुन्छ । रेडियो नेपाल, रेडियो अन्नपूर्ण आदिले पनि स्मृति सभा गर्दा हुन्छ । उहाँ यी संस्थाका उद्देश्य अनुसार र सिंगो नेपालको लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनसम्बद्ध संस्थाहरूले सम्झनुपर्ने व्यक्तित्व हो । नेपालले गणतन्त्र स्थापनामा पदक बाँड्ने पर्वमा पनि निस्वार्थ रूपमा सम्झँदा हुने पात्र हो उहाँ । उहाँका कविता, गीत, निबन्ध, संस्मरण पढ्दा तिनमा उहाँको जीवनको चोखो चेतना पाइन्छ । उहाँले जस्तो जीवन बाँच्नुभयो त्यस्तै सिर्जना गर्नुभएको छ । उहाँले कसैलाई रुझाउन वा खुसी पार्न नभई नेपालीका कथाव्यथा र समस्याका पक्षमा कलम चलाउनुभयो । उहाँले सममन पुरस्कार, अभिनन्दन आदिलाई त्यति महत्व दिनुभएन । यद्यपि जीवनकालमा राष्ट्रिय कविता महोत्सवमा दुई पटक पुरस्कृत हुनुभयो (द्वितीय (२०३५) र तृतीय(२०३७)) । उहाँ दाहाल प्रतिष्ठानद्वारा जानकी वल्लभ सम्मान, बुद्ध शान्ति फाउन्डेसनलगायत विविध संस्थाबाट सम्मान तथा पुरस्कार पाउनुभयो तर त्यो पैसा आफूसँग राख्नुभएन समस्यामा परेका अपाङ्ग र सीमान्तकृत समुदायका मानिसहरूलाई बाँडिदिनुभयो । हामीले एक पटक उहाँको अभिनन्दन गर्छौ भन्दा उहाँले मेरो अभिनन्दन गरेर के फाइदा भनेर एक पटक त्यसै तर्काउन खोज्नुभयो । सामूहिक रूपमा यहाँको जीजीविषा बढाउन मात्र खोजेका हौँ भनेपछि स्वीकार गर्नु भयो । कार्यक्रम तय भयो । अन्तिममा प्रमुख अतिथि को बनाउने भन्ने कुरा भयो । साथीहरू मन्त्री, संसद्, कुलपति केके भन्दै हुनुहुन्थ्यो उहाँले कोही दलित समुदायबाट एम ए पिएच.डी गरेकी नारीका हातबाट गराउनु भन्नुभयो । आज राजनीतिक परिवर्तनले जन्माएका धर्मनिरपेक्षता, समावेशीकरण, लैड्गिक समानता, मानवताका बहुआयामका सबै चेतनाहरू उहाँसँग थिए र तिनको विकासमा लागिपर्न व्यवहारतः लागिपर्नु भएको थियो । हामीले उहाँले खोजे जस्तै पात्र नन्दमाया नकर्मी हुन सक्ने ठानेर खोजी गरेका थियौँ । उहाँ त्यस बेला नेपालमा हुनुहुन्न रहेछ । पछि नारी प्रतिभा माया ठकुरीलाई प्रमुख अथिति बनायौँ । त्यस समारोहमा तत्कालीन एकेडेमीका कुलपति बैरागी काइँला र अरु प्राज्ञहरू अतिथि भएर उपस्थित हुनुभयो । उहाँले सत्ताको, शक्तिको अहंकारलाई महत्व दिनुभएन सबैप्रति समान दृष्टि राख्नुभयो । रेडियो नेपालमा त्यहाँका हाकिमहरू रानीका कविता लिएर आएर आज वाचन हुनै पर्छ भन्थे अरे । दरबार र मन्त्रीका शक्तिका कविता लिएर आउँथे अरे । उहाँ ती कवितालाई फायलमुनि हाल्दै हाल्दै गायव बनाइदिनुहुन्थ्योरे । यस समबन्धमा उहाँका विषयमा मभन्दा निलम कार्कीज्यू जनकार हुनुहुन्छ । उहाँले पदका कवि कवयित्रीलाई भन्दा प्रतिभा भएको कविकवयित्रीलाई महत्व दिनुभयो । उहाँ काङ्ग्रेसभित्रको माक्र्सवादी वक्ता र लेखक हुनुहुन्थ्यो । मसिनो गरी हेर्दा वी.पीले विकास गरेको प्रजातान्त्रिक समाजवादको मूल आधार पनि माक्र्सवाद नै देखिन्छ । उहाँका रचनामा सीमान्तकृत समुदाय छ र वर्ग पनि केन्द्रमा छ । यो पक्षले उहाँलाई सबै लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएर मात्र सामन्तवादको जरो फाल्न सकिन्छ भन्ने चेतनाका वहाकका रूपमा पनि हामी सम्झन सक्छौँ । आज कम्युनिस्टहरू एक ठाउँमा उभिने चेतना, कांग्रेसमा अरु प्रजातान्त्रिक सक्ति ध्रुवीकरण हुने चेतना पनि यही चेतना हो । उहाँ नेपाली सांस्कृतिक रूपान्तरणका अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले पढाइका क्रममा विश्वविद्यालय टेक्नुभएन, स्नातकोत्तर गर्नुभएन तर उहाँ समकालीन स्नतकोत्तर र विद्यावारिधिभन्दा चेतनामा अगाडि हुनुहुन्थ्यो । उहाँले गणतात्रिक सांस्कृतिक आन्दोलनमा अग्र मोर्चामा उभिएर नेपाली चेतनाको विस्तारमा विश्वाविद्यालयका प्राङ्गणमा गएर गरेको भाषण मेरो स्मृतिमा ताजा छ । यही नागार्जुन प्रतिष्ठानलाई पनि गणतन्त्रपूर्व नै गणतन्त्रको मुद्दालाई मूल मुद्दा बनाउन अभिप्रेरित गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । उहाँले लोक्तान्त्रिक स्रष्टाहरूका आन्दोलनमा अग्रमोर्चामा रहेर सघाउनुभयो । उहाँ काड्ग्रेसकै सत्ता हुँदा पनि त्यसको प्रतिपक्ष जस्तो हुनुहुन्थ्यो । स्रष्टा र सञ्चारकर्मी वा चेतना जगन् राज्यको प्रतिपक्षमा हुन्छ भन्ने पक्षलाई उहाँले व्यवहारतः पुष्टि गर्नुभएको थियो । अब उहाँलाई कसरी सम्झने त ? उहाँलाई कसरी सम्झने भन्ने विषयमा हामीले परिवारसँग बसेर थुप्रै छलफल गरेका छौँ । मैले सुधा गुरुआमालाई उहाँको पुस्तकालयलाई सुरक्षित राख्न आग्रह गरेको छु । त्यहाँ महत्त्वपूर्ण कृति र चिठीपत्रहरू रहेका छन् । ती सामग्रीलाई उहाँ बसेको टोलमा वा उहाँको जन्मभूमिमा कतै पुस्तकालयका रूपमा स्थापना गर्न सकिने सम्भावना पनि छँदैछ । दाहाललाई पुरस्कार र सम्मानमा उति विश्वास थिएन । उहाँले आफ्नो सम्मान र पुरस्कारका लागि कुनै प्रयत्न, आशा केही लिनुभएन । उहाँले नमान्दा नमान्दै भानु प्रतिष्ठानले उहाँलाई रथारोहण गरायो । उहाँले त्यो स्वीकार यस यर्थमा गर्नुभयो कि उहाँ भानुभक्त मार्गकै अनुयायी हुनुहुन्थ्यो । उहाँले पञ्चायती कालमा कुनै विदेशी सपनामा विकेर नोपाली राष्ट्रभाषा भंग हुन लागेका बेला मुद्दा खेलेर नेपालको राष्ट्र भाषा वा साझा भाषा नेपाली हो भन्ने पक्षलाई कानुनतः हक दिलाउनुभएको थियो । उहाँ नेपाली भाषा बचाऊ अभियानका पनि अगुवा कानुनतः विशिष्ट योद्धा पनि हुनुहुन्थ्यो । उहाँ नेपाल एकीकरण परम्परामा भाषाका माध्यमबाट उभिने मान्छे पनि हो । यी पक्षलाई सम्झने अनेक आधार हुन सक्छन् । परिवारसँग सरसल्लाह पनि भइरहेको छ । हामीले अलि अफ्ठारोमा परेका, अपाङ्ग, उपचारको समस्यामा परेका वा यस्तै सीमातकृत एक पुरुष र एक नारीलाई सहयोग स्वरूप उहाँको स्मृति दिवसमा सम्मान गर्ने चलन बसाएका छौँ । यस वर्ष हामीले वी.के पाल्पाली, सरिता कोइराला र सीता सिंखडालाई सम्मान गर्यौँ । उहाँका दुई वटा कृति प्रकाशनमा ल्याउने पहल गर्यौँ । कवितासंग्रह तयार भएर रहेको छ । एउटा गीति एल्बम निकाल्यौँ । अब स्मृति ग्रन्थको सूचना सञ्चार भइसकेको छ । त्यसका लागि केही सामग्री प्राप्त पनि भएका छन् । हामीले त्यसलाई पूर्ण बनाउन यहाँहरूको सबैको सहयोगको आवश्यक छ । कुनै संस्मरण, लेख रचना भए उपलब्ध गराइदिनुहोला । उहाँका नाममा हामी निस्वाार्थ भएर उहाँका विचारलाई र आदर्शलाई जोगाउने जे जे काम गर्न सक्छौँ ती ती काममा उहाँको सम्मान हुनेछ । उहाँ सम्माननीय, आदरणीय र अभिप्रेरक अग्रज हुनुहुन्छ । उहाँले समाजका पुरातन मन्थी चिन्तनमाथि सोझो प्रहार गरे पनि वैज्ञानिक आधार लिएर मात्र प्रहार गर्नुभएको छ । त्यस्ता सांस्कृतिक अगुवालाई जदौ गर्ने अनेक आधार हुन सक्छन् । अहिलेलाई उहाँप्रति अनेक सम्झना अनेक श्रद्धाञ्जली । यी शब्द राख्ने अवसरका लागि नागार्जुन प्रतिष्ठानलाई अनेक धन्यवाद । #दाहाल यज्ञनिधि #रमेश शुभेच्छु
एकाङ्कीः यस्तो नगरोस्: स्थानः अस्पतालभित्र समयः विहानको दस (एक जना महिलालाई बोकेर बलेको प्रवेश) बलेः (काउनटरको झ्याल अगाडि पैसा गन्दै ) सर नमस्कार ! म बले, रानीलाई लिएर आको । महिना पुग्यो तर नानी पैदा भएन । अनि यहाँ आएका कति लाग्छ जन्मा खर्च हजुर ? धनेः (यसो बलेलाई पिलिक्कै हेर्दै ) तँ रानीको लोग्ने हो ? बलेः होइन हजुर ! मेरी दिदी हो । भेना त अमेरिकामा हुनुहुन्छ अरे ! दिदीले भन्नुभएको । धनेः बीस हजार लाग्छ । बलेः (छक्क पर्दै) बीस हजार त छैन हजुर ! उन्नाइस हजार नौ सय पचास मात्र छन् । हुन्छ हजुर ? धनेः हुँदैन, बीस हजार मैले घटाएर भनेको हो । तीन पावा मासु जोखेर चार पावाको पैसा लिए जस्तो लाग्यो ? अस्पतालमा त्यस्तो चल्दैन । बलेः अहिले यतिचाहिँ समाइराख्नु न ! पचास रूपैयाँ केहीछिन पछि म मिलाइदिन्छु । हुन्न र ? दिदीलाई निकै साह्रो पारिसकेको छ । तीन दिन भो बिमारले समाएको, पाँच जना ढाकरे दाइहरूलाई एक माउ गाई दिइकन सहयोग मागेर आका हजुर ! धनेः हुँदैन । चुनावमा पाटी-पाटी लरे जस्तो होइन । मेरो खुसीले हुँदैन । के मेरो खल्तीबाट पचासचाहिँ थपिदिनु भनेको हो तैँले ? भोटमा पो जति खर्च गर्न सक्यो उति आफूलाई फाइदा मिल्छ । तर यो त त्यस्तो होइन त ……. बलेः त्यसो भन्न खोजेको होइन हजुर ! छ भने लगाइदिनुहोस् । मपछि तिर्नेछु । मेरी दिदीको ज्यान पचास रूपेँको मात्र हो त हजुर ? धनेः हुँदैन भनेपछि हुँदैन । आजभोलि ज्यानभन्दा पनि पैसा ठूलो भएको छ । मान्छे मार्दा आठ हजार, भाले मार्दा दस हजार, बुझिस ! ( धने झ्याल थुनेर निस्कन्छ ) बलेः (आँखाभरि आँसु पर्दै, दिदीलाई छाम्दै ) दिदी ! दिदी ! ! रानी दिदी !!! रानीः ( झसङ्गै भएर व्यूँझदै ) के अब भित्र जानु भाइ ? सबै मिलाई सक्यो काउन्टरमा ? बलेः के भित्र जानु भन्नु हुन्छ दिदी ! पचास रूपैयाFमा कुरा नमिल्दा झ्यालै थुनेर जानुभयो मालिक । भेनालाई फोन गर्नुहोस् दिदी ! कतै उठाई पो हाल्नुहुन्छ कि !” रानीः (रुदै) भाइ ! मैले कति लगाएँ कल, उठाउनु भएन । सात महिनासम्म त बेलाबेला गफ हुँदैथ्यो, त्यसपछि त ……छैन । चार हजार सकेँ फोन गर्दा कार्ड किनेर । त्यो पनि बाँकी गरेर । भेनाको भाइको नम्बरचाहिँ छ मसँग, त्यसमा चाहिँ फोन गरेकी छैन । जाने बेलामा मलाई दिनुभएको थियो, मेरोमा लागेन भने यसमा गर्नु है भनेर । भेनाकोमा त नलगा भाइ ! खर्च मात्रै हुन्छ होला । यो नम्बर चाहिँ मेरो भाइको हो भन्नुभएको थियो, यसमा चाहिँ लगा त कतै भगवान् मिली पो हाल्छ कि ! बलेः खै दिनु त ! रानीः ई ला त ! बलेः (नम्बर डायल गर्दै ) ल म कोसिस गर्छु । जाँदैछ कल दिदी । रानीः ( हर्षित हुँदै ) हो र…….. ! बलेः हल्लो ! यो मेचिगन अमेरिका हो ? क्याभीनः (आँखा मिच्दै) यो एरिजोना अमेरिका हो । कस्लाई खोज्नुभएको ? बलेः भेनालाई खोजेका हजुर ! क्याभीनः कुन भेना ? फेरि मलाई त्यति राम्रो नेपाली बोल्न पनि आउँदैन । बलेः मेरी दिदी रानी लाने भेना हजुर ! क्याभीनः मलाई थाहा भएन । भोलि मेरो काम पनि छ, त्यसैले म छिटो सुत्नुपर्छ । बलेः किन नेपाली बोल्न आउँदैन हजुर ? मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ । क्याभीनः बाआमाले नेपाली नबोल, नेपालीको मार्केट छैन भन्नुभयो । अनि बानी लाग्यो अंग्रेजीतिर । मेरो नाम राकेश हो तर यताको नागरिकतामा परिवर्तन गराएर क्याभीन राखिदिएँ । घरमा बोल्दा पनि अंग्रेजी, काममा बोल्दा पनि अंग्रेजी, आजभोलि त नेपाली विरानो लाग्न थाल्यो । बलेः भाषा भनेका ठूला साना हुँदैनन् हजुर ! बाआमा जस्तै बराबर हुन्छन्, कमिलोदेखि हात्तीसम्मका । त्यसैले त्यो कुरा गर्नु ठूलो भूल हो । ए, अँ, भेनाले नेपालबाट अमेरिका आउँदा यो तपाईँको नम्बर दिदीलाई दिनुभएको रहेछ हजुर ! अनि कल गरेको नि ! आज मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ । कसरी हुन्छ सहयोग गरिदिनुहोस् हजुर ! क्याभीनः म यहाँको भेना चिन्दिनँ । फेरि यहाँ आएपछि नाम पनि परिवर्तन, थर पनि परिवर्तन, ठाउँ पनि परिवर्तन गरेका छन् सबैले । बाँसघारीमा ढुङ्गा हान्दा बाँसलाई लागे जस्तै मेरो नम्बर तपाईँको भेनालाई परेको हो । मेरो सुत्ने समय पनि भयो, केही छन् कि भन्नु सोध्नुपर्ने कुराहरू ? बलेः अनि हजुर ! मेचीगन चाहिँ कता पर्छ नि ? क्याभीनः निकै टाढो पर्छ । अनि भेनाको नाम चाहिँ के हो ? बलेः एकछिन है म दिदीलाई सोध्नुपर्यो । दिदी ! भेनाको नाम के हो ? रानीः खै ! खालि जिस्किनुहुन्थ्यो । कहिले रामे, कहिले कामे, कहिले दामे, कहिले हर्के, कहिले फर्के, कहिले सर्के भन्नुहुन्थ्यो । म अमेरिका पुगेपछि साँचिक्कै मेरो आइडी कार्ड पठाउँछु भन्नुभएको थियो । बलेः हेल्लो हजुर ! क्याभीनः अँ, मैले सबै सुने दिदीका कुराहरू । त्यसरी सत्र वटा नाममा अब कुन सठीक भन्ने ? अनि फोन नम्बर छैन अरे भेनाका ? रानीः छ नि हजुर भाइ ! म हजुरको नम्बरमा ट्याक्स गरिदिन्छु नि ल अहिले नै । क्याभीनः छिटो ल दिदी ! समयले नेटो काटिसक्यो । रानीः बले, यो नम्बर पठाई दे दे । बलेः हुन्छ । एकछिन है हजुर ! हेल्लो ….. आयो हजुर ! क्याभीनः आयो हजुर ! ए…..यो नम्बर त कुनै पनि मोबाइलको होइनन् त ! यो त बाटोमा राखेका फोनबाट गरेका रहेछन् । म पनि यसमा त सहयोग गर्न सक्दिनँ । बाटोमा अभर पर्दा फोन नहुनेले केही पैसा छिराएर वा कार्ड नम्बर लगाएर गर्ने गर्छन्, त्यहीँबाट पो गरेका रहेछन् । अब यो नम्बरबाट कसै गरी पनि भेनालाई भेटाउँन सकिदैन है हजुर ! फेरि नाम पनि के हो के हो, फोन राख्नुहोला, म पनि सुत्छु अब । बलेः ए……ए… एकछिन हजुर ! हेल्लो…..हेल्लो ….फोन राख्नुभएछ । अब कसो गरौँ दिदी ? रात पर्न लाग्यो । बास कता हो ? अस्पतालमा भर्ना लिएन । हजुरको अवस्था यस्तो छ । नौ तलामाथि कृत्रिम एपल फलाएकै काम गर्नुभएछ तपाईँले । ए, एकैछिन है दिदी, बुहारीले कल गरे जस्तो छ । हल्लो….हल्लो…… कुमारीः (झोकिँदै) यता मर्छस कि त्यहीँ गाड्न आऊँ तँलाई ! सुत्नेबेलामा आँखा देखेन तेरो दिदीले अहिले सिनो भएर गाउँमा हिड्ने ? कि तेरो हो त्यो पापी सुत्लो ? हो भने फर्किनुपर्दैन । होइन भने आज बेलुकासम्ममा आइपुग्नुपर्छ नि ! बुझिस् ? मर्न पछाका चिहाने गधा ! बलेः हल्लो….हल् ..लो…….. कस्ता कस्ता हुन्छन् नि ! दसा लागेपछि फूलले पनि झुक्याउँछन् भन्थे, हो रहेछ। रानीः के भन्न खोज्नुभएको रहेछ बुहारीले भाइ ? बलेः ( रातो मुहार पार्दै ) अँ, खासै केही होइन रहेछ दिदी ! अनि दिदी यो घटना कसरी घट्यो ? भन्नुहोस् त मलाई नडराइकन, नलुकाइकन । नानी पेटमा आएको खबर सुनाएँ, ‘राम्रो हो, नफाल्नु है, पाप लाग्छ’ भन्नुभयो । रानीः (पेट मसार्दै, ऐय्या…ऐय्या भन्दै) गोठालो जाँदाआउँदा फेसबुक हेर्दै हिँडेँ, केही दिनपछि एक जनासँग जो आज तेरो भेना, उहाँलाई जोडे फेसबुकमा । त्यसपछि कुरा चल्दै गयो । महिनौँ बितेपछि संखुवासभातिर पनि डुल्ने, यता पनि आउने कुरा गर्नुभयो । नभन्दै आउनुभयो । दुई चार महिना बस्नुभयो । तँ कतारमा थिइस् त्यतिखेर । तैँले कराउँछस् भनेर बुबाआमाले फोन गर्न दिनुभएन । विवाह गर्नु छिटै आउँछु अमेरिकामा मेलोमेसो मिलाएर भनेर हिँडेका तेरो भेना पुनः फर्केर आउनुभएन । नानी पेटमा आएको खबर सुनाएँ, ‘राम्रो हो, नफाल्नु है, पाप लाग्छ’ भन्नुभयो । छ, सात महिनासम्म त यस्तै खाले फोनहरू आइरहे, गफ गर्दै गयौँ तर मैले लगाउँदा चाहिँ पटक्कै नलाग्ले त्यतिखेर पनि, के जान्नु र फोनका विधिविधानहरू पनि । बिजी होला भनिठान्थेँ, कामको बेला होला भन्थेँ । फोन गर्दा उठाउनुहुन्न त भन्दा कामले भन्नुहुन्थ्यो । अरे,भाइ ! भाइ ! छैन त, अघि यहीँ थिइस् त । म त सुनिरहेकै होला भनेर आँखा चिम्लेर बोलिरहेँ । हे भगवान ! कसैले रातो सट, सेतो प्यान्ट लगाएको पुरूष देख्नुभएन हजुर ? ए हजुर ! हजुर ! मनुमायाः (सफा गर्ने महिला, रिसाउँदै ) ए…..बौलाही आइमाई ! जा, किन कराइरहेकी ? रात पर्यो । यहाँ राति बस्न मिल्दैन । उठ, म यहाँ सफा गर्ने । रानीः ए बहिनी ! तिमीले एक जना सेतो प्यान्ट, रातो सट लगाएका पुरूष देख्नुभएन ? मनुमायाः छैन, हेर्न राखेकी थिइस् ? उठ्, जा यहाँ नबस । (घिसार्दै कार पार्किङमा निकाली दिन्छन् ) पर्दा खस्छ । न्यूयोर्क, अमेरिका #नैनसिंह सारूमगर
'गेम अफ थ्रोन्स'का लेखक विवादमा: गएको साता साइन्स फेन्टासी लेखकहरूको उत्सवका रूपमा लिइने ह्युगो अवार्ड सम्पन्न भयो । साइन्स फेन्टासी विधाका उपन्यास तथा उपन्यासकारहरूका उच्च कोटीका सिर्जनालाई हरेक वर्ष पुरस्कार दिइने कार्यक्रममा निम्त्याइएका बहुचर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’का लेखक जर्ज आरआर मार्टिन विवादमा परेका हुन् । उनले भर्चुअल अवार्ड कार्यक्रममा पटक पटक समलैंगिक सम्बन्धमाथि ठट्टा गरेका र थिए र सो कुराको यतिबेला विरोध भइरहेको छ । लेखक मार्टिनको अ सङ अफ आइस एन्ड फायर उपन्यासमाथि बनेको गेम अफ थ्रोन्स, त्यसै पनि यौन हिंसा र महिला हिंसाका अनेक किस्सा थपेर बिदा भइसकेको छ । तर उनका आलोचक र प्रशंसक दुवै भने टेलिभिजन वा वेबमा देखिएका ती हिंसा किताबमा अभिव्यक्त भएका हिंसाको पाँच गुणा कम मात्र हो । आफ्ना पाँच पुस्तकमा मार्टिनले जति हिंसा लेखेका छन्, त्यति त पछिल्ला कुनै कृतिमा पनि छैनन् भन्ने केही समीक्षकको आरोप छ । ह्युगो अवार्डमा उनले अभिव्यक्त गरेका धारणा लैंगिक अल्पसंख्यक समुदायविरोधी मात्र होइन, श्वेत जातिको प्रशंसकका रूपमा उनी बढी देखिएका पत्रकार ग्याब्रियली ब्रुनीले एस्क्वायर म्यागेजिनमा लेखेकी छन् । कार्यक्रममा मार्टिनले नामांकनमा परेका लेखकहरूमाथि समीक्षा तथा टिप्पणी गर्नुको साटो उनले विभेदका पुरानै कुरा दोहोर्याएका थिए, जुन कार्यक्रमका आयोजकहरू स्वयंलाई रूचेको थिएन । सन् १९५३ मा पहिलो पटक ह्युगो अवार्ड प्रदान गरिएको थियो । २०१६ मा मात्र बल्ल एन के जेमिसिनलाई यो अवार्ड दिएर काला जातिका लेखक पनि प्रतिभासम्पन्न हुन्छन् भन्ने मान्यता दिएको थियो । पछि त लगातार अर्को दुई वर्ष जेमिसिनले उत्कृष्ट उपन्यासको विधाबाट पुरस्कार हात पारेकी थिइन् । तर मार्टिनले जेमिसिनको लगातारको जितलाई कुनै भाउ दिएनन् तर नौ वर्षको अन्तरालमा पुरस्कार जित्ने श्वेत पुरूषहरूको प्रशंसामा आफ्नो अधिकांश समय व्यतित गरिदिए । जसका कारण उनी विवादमा परेका हुन् । यति मात्र होइन, कार्यक्रममा उनले दुई लेखकको नाम लिएका थिए, एचपी लभक्राफ्ट र जोन डब्लु. क्याम्पबेल । यी दुवै लेखकको निधन भइसकेको छ । ती दुवै लेखक काला जातिका लेखकलाई देखिसहँदैन थिए । उनले सो कार्यक्रममा अस्कर अवार्डमा दिइने लेडीलाई लिंग नछुट्टिएकी स्त्री भन्दै ठट्टा गरेका थिए । पछिल्लो समय ह्युगो अवार्ड यस्तै यस्तै संवेदनाहीन टिप्पणीकर्ताका कारण विवादित बन्दै गइरहेको केहीको चिन्ता छ । वर्ल्ड साइन्स फिक्सन कन्भेन्सनले यो पुरस्कार दिने गर्छ । यो पुरस्कार बढी नै श्वेतप्रेमी भएको आलोचना भएपछि सन् २०१० को दशकमा यसलाई सुधार गर्न थालिएको थियो । खासमा अवार्डप्रेमीहरूले एउटा अभियान नै चलाएका थिए र सो अभियानको चर्को विरोधीका रूपमा मार्टिनसमेत थिए । उनको भनाइ थियो, अवार्डमा प्रतिभालाई पुरस्कृत गर्नुस्, रङलाई होइन । उनले यस पटकको पुरस्कारमा काला जातिका लेखक जो नामांकित भएका थिए, तिनको नाम पनि बिगारेर उच्चारण गरेका थिए । उनको सो कृत्यको पनि आलोचना भएको थियो । अवार्डलगत्तै ट्वीटरमा बबन्डर मच्चिएपछि उनले आफ्नो निजी ब्लगमा नाम बिगारेर उच्चारण गरेकामा क्षमासमेत मागेका थिए । त्यसमा आफ्नो कुनै गलत मनशाय नरहेको समेत बताएका थिए । उनले सो ब्लगमा आफ्नो भागमा पुराना कुराहरू सम्झने विषय दिइएको र सोहीअनुसार भाषण गरेको, कसैको योगदानलाई कम आँक्ने कुनै मनशाय नरहेको समेत प्रस्ट्याएका थिए । उनी विवादमा आएपछि उनले आफ्ना उपन्यासमा कसरी हिंसालाई ठाउँ दिएका छन् भनी केही आलोचकहरूले उधिन्न थालेका थिए । जस्तो कि उनको बहुचर्चित उपन्यास आइस एन्ड फायरमा विवाहकै रात कसरी एउटी दुलही बलात्कृत भएको दृश्य सम्झाउनेबित्तिकै मार्टिन भन्छन्, ‘युद्धको पृष्ठभूमिमा लेखिएको सो दृश्य केहीलाई नराम्रो लागेको भए पनि यस्ता घटनाहरू युद्धका बेला स्वाभाविक हुन पुग्छन् । हामीले यस्ता घटना घट्दैनन् भन्नु आँखा चिम्लनु हो । युद्धका बेला हामीले कल्पनै गर्न नसक्ने विभत्स घटना घटेका छन्, घट्छन् ।’ मार्टिनले भने केही प्रश्नको जवाफ अझै दिएका छैनन् र समलैंगिकताप्रति उनको अझै पनि उति राम्रो धारणा छैन । यस वर्ष ह्युगो अवार्ड कसले पायो त ? तल सूची हेर्नुस्ः 2020 Hugo Awards Best Novel A Memory Called Empire by Arkady Martine (Tor; Tor UK) Best Novella This Is How You Lose the Time War by Amal El-Mohtar and Max Gladstone (Saga Press; Jo Fletcher Books) Best Novelette Emergency Skin by N.K. Jemisin ( Forward Collection (Amazon)) Best Short Story “As the Last I May Know”,by S.L. Huang (Tor.com, 23 October 2019) Best Series The Expanse by James S. A. Corey (Orbit US; Orbit UK) Best Related Work “2019 John W. Campbell Award Acceptance Speech”, by Jeannette Ng Best Graphic Story or Comic LaGuardia , written by Nnedi Okorafor, art by Tana Ford, colours by James Devlin (Berger Books; Dark Horse) Best Dramatic Presentation, Long Form Good Omens , written by Neil Gaiman, directed by Douglas Mackinnon (Amazon Studios/BBC Studios/Narrativia/The Blank Corporation) Best Dramatic Presentation, Short Form The Good Place : “The Answer”, written by Daniel Schofield, directed by Valeria Migliassi Collins (Fremulon/3 Arts Entertainment/Universal Television) Best Editor, Short Form Ellen Datlow Best Editor, Long Form Navah Wolfe Best Professional Artist John Picacio Best Semiprozine Uncanny Magazine , editors-in-chief Lynne M. Thomas and Michael Damian Thomas, nonfiction/managing editor Michi Trota, managing editor Chimedum Ohaegbu, podcast producers Erika Ensign and Steven Schapansky Best Fanzine The Book Smugglers, editors Ana Grilo and Thea James Best Fancast Our Opinions Are Correct , presented by Annalee Newitz and Charlie Jane Anders Best Fan Writer Bogi Takács Best Fan Artist Elise Matthesen Lodestar Award for Best Young Adult Book (not a Hugo) Catfishing on CatNet by Naomi Kritzer (Tor Teen) Astounding Award for Best New Writer, sponsored by Dell Magazines (not a Hugo) R.F. Kuang (2nd year of eligibility) #गेम अफ थ्रोन्स #जे आर आर मार्टिन #ह्युगो अवार्ड
बिहेको कथा : साँघु: विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिग्रिए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा नदेखिएकोले आउने जानेहरू मुखामुख गरेर हेर्थे । विवाह राजीखुसीले नभएको अड्कल काट्थे । हुन पनि त्यति लामो विवाहमा उसले एकपटक पनि बेहुलाको मुहार हेरिन । ऊ मौन रहेर एकोहोरो भएकी थिई । त्यसैले नजिकै बसेकी साथीले साउती गरेझैँ भनी, “ शान्ता के भो ? के गति बनाकी ? के भन्लान मान्छेले ?”, उसको कुरामा शान्ताले केही भनिन । बरु उल्टै पीडा भरिएको आँखाले उसलाई एकपटक हेरेर फेरि पहिलेकै मुद्रामा बसी । “मैले जीवनको एउटा युद्ध हारेँ । त्यसैले बन्धक बनेर जाँदैछु ।” उसको कुराले साथीको मनमा चस्स छोयो । बिदाइको बेला आयो । शान्ताका आँखाहरू बिस्तारै रसाए । जीवनको बाइस बसन्तहरू बिताएको प्यारो घरको आँगन छाड्नुपर्दाको दुःख उसको रुवाइसँगै गुञ्जियो । वातावरण स्तब्ध भयो । बाबाको पिठ्यूँमा बुई चढेर जग्गेमा बिदाईको अन्तिम अभिमन्यु निरवी फन्को घुमिरहँदा उसले सिँगै बालापन सम्झिई । त्यतिबेला उसले ठानेकी थिई यो घर मेरो हो, म कैले कतै जान नपर्ला तर त्यो भएन, सोचाइहरू उल्टो भए । सदाको लागि घरलाई माइत बनाएर पराइ घरलाई आफ्नो भन्न जाने दिन आयो । ऊ सम्झीसम्झी रोइ, घर, आँगन, बा, आमा अनि दिललाई । उसको आँसु भेल बनेर गालाबाट तल बगे र भुइँमा झरे । उसले बाचा तोडेकी थिई । सँगै जिउने, सँगै मर्ने वाचा । यो बिदाइको अन्तिम घडीमा उसको पूरै शरीर काम्दै थियो । उसले दिललाई सम्झेर आँखा चिम्म गरी । दिलको प्यारो तस्बिरहरू उसको मानसपटलमा यताउता घुमिरहृयो । सँगै हिँडेका, सँगै बिताएका मीठा क्षणहरूले शान्ता रोमान्चित भई तर पलमै ऊ कल्पनाबाट यथार्थमा उत्री । रुवाइहरू फेरि विस्तारै बढ्यो । बाजाका धुनहरू ऊसँगै रुँदै थियो । त्यो क्षण विरक्त लाग्दो, दुःखदायी र पीडादायी बनेको थियो । अन्तिम बिदाईमा उसको साथीले घुम्टो खोलेर बिस्तारै भनी “राम्ररी जा, नरोइकन जा ”, रुँदारुँदै शान्ताले भावुक भएर भनी, “मैले जीवनको एउटा युद्ध हारेँ । त्यसैले बन्धक बनेर जाँदैछु ।” उसको कुराले साथीको मनमा चस्स छोयो । ऊ रुन पनि सकिन र हाँस्न पनि । “जिन्दगी एउटा सम्झौता हो, सम्झौता गरेरै बाँच्छु ।” विवाहको पहिलो रात उसले रोएर बिताइ । बाआमाको करले उसले एउटा अपरिचितसँग विवाह गरेकी थिई । उसले न त बाआमासँग झगडा नै गर्न सकी, न त कुनै स्पष्ट निर्णय नै । बाहिर पढिरहेकी उसलाई एक्कासी घरमा बोलाएर केही दिनको कुराकानीमै उसको विवाह भएको थियो । न त उसले दिललाई भन्न भ्याई न त धेरै साथीहरूलाई । उसले आफूले आफैँलाई धोकेबाज ठानी । हुन त ऊसले घरमा दिलको बारे कुरा गरेकी थिई तर परिवारको अगाडि ऊ टिक्न सकिन । जातीयताको पर्खालले उसको सारा सपनाहरू तुहायो । उसले तर्कबितर्क गर्न सकिन । फलस्वरूप जिन्दगीले उसलाई यो नमिठो घाउ दियो जुन अझै आलै थियो । तथापि उसले कसैलाई दोष दिइन । उसले जिन्दगीको त्यो निर्णयलाई स्वीकारेर सोची “जिन्दगी एउटा सम्झौता हो, सम्झौता गरेरै बाँच्छु ।” केही दिनमा ऊ बिस्तारै सम्हालिएकी थिई । उसको जीवनको नाटक चरमोत्कर्षबाट बिस्तारै सामान्य बन्दै गइरहेको थियो । त्यतिबेला उसले रवि अर्थात् उसको श्रीमान्को बारेमा धेरै कुरा थाहा पाइसकेकी थिई । बाबाआमा थिएनन् रविको । आन्टीसँग बसिरहेको ऊ विवाहको कुरा चलेपछि मात्रै कोठा सरेको रहेछ । अहिले यतिबेला ऊ विदेश जाने तयारीमा जुट्दै रहेछ । पढाइ आइ.एसम्म मात्रै । यो सब कुरा बुझेर पनि शान्ताले रविको बारेमा कुनै प्रतिक्रिया जनाइन । न त उसलाई यी कुराहरूले कुनै असर नै पारे । उसको मनमा त अझै उही थियो, उसको प्रिय दिल । जसको स्पर्शविहीन प्रेमको ऊ कल्पना गर्थी । जसको आकाशसरी फराकिलो प्रेमको ऊ महसुस गर्थी र एकोहोरो हुन्थी । किन यति सारो सताइएकी थिई ऊ दिलको यादहरूले उसैलाई थाहा थिएन । रविसँगको हर सामीप्यहरूमा ऊ बेहोसी बनिदिन्थी । शरीरलाई त्यहाँ छाडेर मन कतै उडाइदिन्थी । त्यसैले ती दुईको बीचमा न प्रेम थियो न कुनै सन्तुष्टि नै । थियो त केवल औपचारिकता । एउटासँग हुँदाहुँदै कुनै अर्को पुरुषको कल्पना गर्ने अस्थिर स्त्रीको दर्जामा राखी आफूलाई र सोधी आफैँलाई, “किन तँ रविको भएर पनि हुन सकिनस् ?” शान्ता केही दुब्लाएकी थिई । उसको जीवनको गतिहरू हिँड्दाहिँड्दै रोकिएको थियो । बिहेपछि आजको दिनसम्म पनि उसले किताब हेरेकी थिइन । हेरोस् पनि किन ? कसको लागि ? ऊ त आफ्नै नजरमा गिरेकी थिई । सम्पूर्णरूपमा सकिएकी थिई । यद्यपि कताकता मनभित्र एउटा रहर थियो उसको, दिलले जस्तै पढ्ने तर ऊसँग जाँगर थिएन र पढ्ने खालको वातावरण पनि । बिहान, दिउँसो, साँझ, रात चौबीसै घण्टाको हरएकक्षण ऊ त्यही चारभित्ताको बन्द कोठाभित्र हुन्थी । बाहिर कतै निक्लने मन थिएन । निक्ले पनि कहाँ जाओस्, के गरोस् र ? यस्तै अन्योलमा ऊ कोठाकी बन्दी भएकी थिई । हेरे पनि नहेरे पनि त्यही एउटा टिभी थियो । यद्यपि ऊ टिभीकी पारखी थिइन् । रवि एकछिन ऊसँग बस्दैनथ्यो । सायद बिहे भएको यो एक महिनाको अवधिमा पनि दिउँसोको एकपल उसले शान्तासँग बिताएन । त्यसैले एक्लो हुँदाको शान्ताको साथी दिलको याद नै थियो । सम्पूर्णरूपमा चोखो याद । आज पनि उसले दिनभर आफ्नो अतीतलाई नै सम्झीरही । दिलले मायाले चुमेर उपहार दिएको हाते घडीलाई हेरिरही र मनमनै भनी, “दिल मलाई माफ गर्देउ, जहाँ भएनि खुसी रहू ।” उसको निधारमा चिटचिट पसिना आयो । पसिना हत्केलाले पुछ्दै उसले हत्केलालाई हेरी । बिहेमा लगाएको औँठीमा उसको आँखा ठोकियो र एक्कासि झस्की ऊ । उसलाई लाज र सरमले एकैचोटि छोप्यो । हीनताबोध भयो । एउटासँग हुँदाहुँदै कुनै अर्को पुरुषको कल्पना गर्ने अस्थिर स्त्रीको दर्जामा राखी आफूलाई र सोधी आफैँलाई, “किन तँ रविको भएर पनि हुन सकिनस् ?” ऊ पलङ्गबाट उठी र एकछिन गलैँचामाथि उभिई । उसले कोठाको चारैतिर नजर लगाइ । बल्ल देखी उसले, कोठा अस्तव्यस्त थियो । सामानहरू यताउता छरिएको थियो । झ्यालका पर्दाहरू मैला थिए । भ्यान्टिलेसन ढप्प लागेको थियो । त्यसैले ऊभित्रको मरेको नारित्व फेरि पलायो । उसले छिनको छिनमै मन फेरि र सबै सामानहरू मिलाएर राख्न थाली । रविको छरपस्ट भएको सामानहरू मिलाउँदामिलाउँदै आधा दिन बित्यो । धेरै सामान त साथीहरूले उपहार दिएका रहेछन् । शान्ताले बल्ल ती सब कुराहरू थाहा पाई र पनि उसको मुहारमा कुनै परिवर्तन देखिएन । उसले ती सबलाई सामान्य मानी । कोठाको काम सकेर ऊ भान्सातिर पसी । धेरै दिनपछि आज उसलाई चिया खाने रहर भयो । भान्सामा गएर आफँैले चिया बनाई र कुर्सीमा बसेर फुर्तीसाथ पिई । यस्तो लाग्थ्यो कि बिस्तारै ऊ ती अतीतका यादहरू भुल्दैछे र वर्तमानसँग घुलमिल हुँदैछे । समय बित्यो । दिन ढलेर साँझ बन्यो । शान्ताले बेलुकीको खाना बनाई । उसले रविलाई कुरिरही । उसलाई कुर्ने बानी लागेको छ । सात बजेसम्ममा घरमा आइपुग्ने रवि आठ बजेसम्म पनि नआउँदा ऊ आत्तिई । उसलाई छट्पटी भयो । उसले तल पसलमा ओर्लेर फोन गरी र भनी ,“काँ हो ? किन अबेला गर्नु भा ?” रविले हाँसेर भन्यो, “तिम्ले त्यसै भन्छौ भनेर । ” “नजिस्किई भन्नु न, म कुरिराछु ।” उसले पर्खाइको भावले भनी । “म आइसकेँ, आँगननिर छु ।” यति भनेर रविले फोन काट्यो । शान्ताले कस्तो कस्तो मानिरही । यस्तै बहाव र उतारचढावसँगै उसले रविसँगको वैवाहिक जीवनलाई अगाडि बढाइरही । ऊ खुसी देखिन्थी तर खुसी थिइन । ऊ चुपचाप थिई तर भित्र मनमा उकुसमुकुस थियो । धेरै कुराहरू मनभित्र गुम्सेर ऊ फुटुँलाझैँ भएकी थिई । उसको मानसपटलमा दिलको सम्झनाहरू यताउता सलबलाइरहेका थिए । उसले कुनै दिन त ठानी कहीँ म पागल नबनुँ । त्यसैले मनमा हिम्मत राखेर उसले एकदिन राति रविसँग भनी, “बिहेमा मेरो मिल्ने साथीलाई बोलाउन पाइन । “को ? ” रविले सोध्यो । “दिल, मेरो बालापनदेखि अहिलेसम्मको साथी”, उसले नडराइ भनी । “सबै कुरामा यति जान्ने कि, म ऊसँग सारै प्रभावित थिएँ ।” ऊ बहकिन खोज्दै थिई तर फेरि सम्हालिई । रविले उसको कुरा सुनेर फिस्स हाँस्यो मात्रै । केही भनेन । उसलाई दिलको कुराले केही प्रभाव पारेन । शान्ताले अनौठो मानी । केही दिनपछि शान्ताले रविको बारेमा एउटा नयाँ कुरा थाहा पाई । ऊ रीसले आगो भई । बिहानको कलिलो सूर्य जसरी छिप्पिँदै गएर तातो हुन्छ, त्यस्तै ऊ पनि बिस्तारै तातो हुँदै गई । रविको आगमनसँगै ऊ कडा भएर बोली, “कहाँ गएर आउनु भा ?” , “काममा” रविले भन्यो । “होला काममा, त्यही नकचरीलाई भेटेर आ हैन मैले था नपा हो र ? ” “नचाइया कुरा नगर । कल्ले भन्यो तँलाई ?” “हैन भने हैन भनन, बस्ने बेलाँ उसँगै टाँसिएर बसेर आयो, ऐले भने , मैले बल्ल बुझेँ कुरा ।” ऊ रुन थाली । रविले नरोसम्म पनि भनेन । रविले उसलाई र उसको कुरालाई वास्ता नगर्नुको कारण उसले बल्ल बुुझी । आन्टीको सानी छोरीले रविको र त्यो केटीको बारेमा केही बताएकी थिई शान्तालाई । त्यसपछि शान्ताले धेरै कुरा सोधपुछ गरेकी थिई । सानैदेखिको केटी साथीलाई रविले माया गर्छ भन्ने कुरा उसले दिएको उपहार हेरेर शान्ताले चाल पाई । त्यो केटीको धेरै वर्षअघि बिहे भएर अहिले श्रीमान्सँग छुटिएर बसेकी थिई र एउटा छोरो पनि थियो उसको । यही निउँमा शान्ता र रविको झगडा बिस्तारै बढ्दै गयो । प्रत्येक दिनको झगडाले कोठा युद्धमैदान जस्तो बन्यो । उनीहरू तँ तँ र म म गरेर झगडा गरेको देखेर वरिपरिकाहरू छक्क परे । रविले कतिपटक शान्तालाई सम्झाउने कोसिस गर्यो तर शान्ताले रविको कुरा सुनिन । दिन प्रतिदिन रविप्रति शान्ताको शङ्का बढ्दै गयो । घरबाट निक्लने बित्तीकै ऊ ठान्थी, भेट्न गयो कहीँ नभाकी त्यसको साथीलाई । यति हुँदाहुँदै पनि रवि बाहिर निक्लन छाडेन । बरु उल्टै भन्ने गथ्र्यो, “अतीत जेसुकैहोस् अब राम्रो गरम न ।” उसको कुराप्रति शान्ताको कुनै विश्वास थिएन । उसको लागि त अतीत बिर्सने भन्ने कुरा त खोक्रो आदर्श मात्र हो । बिर्सन खोजेर नि सकिँदैन अतीत । त्यो त काँडा हो मृत्युपर्यन्त घोचिरहने । ऊसलाई अझै पनि दिलको मायाले सताइरहन्छ । ऊ चाहान्थी रविले उसलाई दिलको माया भुलाउने गरेर पे्रम गरोस् तर सब उल्टो भयो । त्यसैले ऊ दिन प्रतिदिन बौलाहा बन्दै थिई । सम्बन्ध झन् झन् धरासयी बन्दै गयो । आफन्तहरूले थुप्रै कोसिस गरे मिलाउन तर सम्भव भएन । सुख्खा वनमा एक झिल्कोबाट लागेको आगोझैँ उनीहरूको जीवनमा अविश्वासको आगो बढ्दै गयो र छोडपत्रको अवस्था आयो तर सँयोग त्यतिबेलै रविको विदेश जाने भिसा आयो र जाने मिति पनि तय भयो । रवि विदेश गएको केही दिनमा शान्ताले आफू आमा बन्न लागेको थाहा पाई । हर्ष र विस्मात् दुवैले उसलाई एकैचोटि छोयो । भोलिको सानो संसारको कल्पनामा डुबी ऊ । उसले रमाइलो मानी तर के यो सम्भव छ ? के रविसँग उसको सम्बन्ध राम्रो होला ? यस्तै कुरा सम्झेर ऊ फुङ्ग उडेजस्ती भई । उसले बच्चा फाल्ने सुर पनि गरी तर उसको मातृहृदयले त्यसो गर्न दिएन । दुई महिनापछि रविले विदेशबाट शान्ताको नाममा पैसा पठायो साथमा मोबाइल पनि । प्रत्येक हप्ता उनीहरूको कुराकानी हुन्थ्यो । तैपनि शान्ताले आमा बन्न लागेको कुरा भनिन । फोनमा बोल्दा ऊ ठान्थी, म केवल कसैको श्रीमती हुनुको दायित्व मात्र निर्वाह गरिरहेको छु । ऊ चाहेर पनि खुसी हुन सकिन । उसले कैलेकाहीँ त आफूलाई निकम्मा ठानी । हुन पनि श्रीमान्को कमाइमा ऊ खर्च गरेर बसेकी थिई । ऊ सोच्थी आखिर के छ हामीबीच ? किन ऊ मलाई पैसा पठाउँछ र म यहाँ बसीबसी खाइरहेछु ? नानाभाँती सोचाइहरूले ऊ लज्जित हुन्थी । उसका आँखाहरू रसाए । नजिकै गएर बस्दै शान्ताले छोरीलाई सुम्सुम्याई । दुवैका हातहरू छोरीको खुसीको लागि मिले । कति छिट्टै नौ महिना बितेछ । शान्ताले छोरी जन्माई । बल्ल रविले आफू बाउ बनेको थाहा पायो । ऊ उडेर आएर छोरीको अनुहार हेर्न चाहान्थ्यो तर अहिले नै सम्भव थिएन । इच्छाहरूलाई मनमै राखेर बस्यो । शान्ताले पनि आउ भनेर भनिन । हुन त शान्ताले आमा बनेका क्षणहरूमा आफूलाई एक्लो महसुस नगरेकी हैन । तैपनि उसले कहिले पनि त्यो एक्लोपन देखाइन । अब त झन् उसको सुख दुःखको साथी बनेकी थिई उसकी छोरी । त्यसैले कसैको साथको जरुरी ठानिन उसले । उसले छोरीलाई ममताले सुम्सुम्याउँदै हुर्काउँदै गई । शान्ताले एकपल पनि छोरीलाई आफूबाट अलग राखिन । एउटा आमाले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्दै रही । ऊ छोरीसँग हाँस्थी, जिस्किन्थी, चल्थी र खुसी महसुस गर्थी । यस्तो लाग्थ्यो कि शान्ताको जीवनमा महिनौपछि नयाँ खुसी आएको छ । रवि केही दिनको लागि विदेशबाट फक्र्यो । ऊ निकै खुसी थियो । पैलोपटक छोरीको अनुहार देखेर उसलाई आफ्नै अनुहार ऐनामा हेरेझैँ लाग्यो । उसले शान्तालाई भन्यो, “थ्याङ्क्यु ।” शान्ता मुुसुक्क हाँसी मात्रै । यसपाला दिउँसोको धेरै समय रवि घरमै बस्यो । ऊ शान्तासँग मन लागुन्जेल बोल्यो पनि । शान्ताले पनि उसको हरकुराहरूको जवाफ दिई । तैपनि रवि बाहिर निस्क्यो मात्रै भने पनि शान्ताको मनमा चिसो पस्थ्यो । ऊसको रविप्रतिको अविश्वास अझै कायम थियो । शान्ताले कतिपटक त्यो अविश्वास हटाउने कोसिस गरी तर सकिन । किन हो उसको मन मान्दै मानेन । नमानेको मनले जब उसले एकपटक उसको छोरीलाई हेर्थी । एक्कासि मन बुझेर आउँथ्यो । ऊ पनि छोरीमा आफ्नो अनुहार देख्थी । रविले छोरीलाई गरेको अपार माया देखेर शान्ता दङ्ग पर्थी । आज पनि रविले छोरीलाई खेलाइरहृयो । लाडे पल्टेर दुई चार कुराहरू गरिरहृयो । शान्ताले त्यो सब हेरेर रविसँग अतीतमा गरेको सबै झगडा बिर्सी । उसका आँखाहरू रसाए । नजिकै गएर बस्दै शान्ताले छोरीलाई सुम्सुम्याई । दुवैका हातहरू छोरीको खुसीको लागि मिले । वारि र पारिका दुई किनाराहरू सुस्तरी सुस्तरी एउटा साँघुले जोडिँदै गयो । #अभिमन्यु निरवी
रहेनन् झापाका अग्रज साहित्यकार अमृतलाल: साहित्यपोस्ट झापाका अग्रज साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । धेरै समयदेखि मृगैलासम्बन्धी रोगबाट थलिएका श्रेष्ठको हिजो अपरान्ह ५ बजे निधन भएको हो । भक्तपुरको इनाचो टोलमा वि.सं. २०१३ सालमा जन्मिएका श्रेष्ठका ढुङ्गामाथि तरेलिएका फूल र पातहरू (कविता, २०४८), अन्तहीन यात्रा (कवितासङ्ग्रह, २०५२), हुट्टिट्याउँले आकाश थामेको देश (कविता, २०५६), क्यातुके फूल (कथासङ्ग्रह, २०६८), स्मृतिका ती दिनहरू (संस्मरण सँगालो, २०७१) गरी पाँच कृति प्रकाशित छन् । श्रेष्ठले लामो समय राससका लागि पत्रकारिता गरेका थिए । #अमृतलाल श्रेष्ठ
युद्धको कथा: ती दुई निर्दोष आँखाहरू: तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे अर्फ बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे । बिर्खबहादुरको उमेर घर्किइनसकेकाले, केही गर्ने हिम्मत अझै थियो उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान लाउन पुर्याएर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिन सकेको छ । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही रमेश विकल आर्जन गर्छे । यसपल्ट बिर्खेले ठेकेदारबाट झण्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्यारइ गरिरहेको छ । “आमा भात किन नपका – हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।” साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याँठिन्छे, “भोक लागे म के गरौँ त ? बा पैसा उठाउन जानुभा’छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउँला ।” तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, “यति मात्रै – दुई तीन दिनलाई पुग्दैन ।” के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपियाँ फालिदियो । पैसा बाँकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ । अनि पाँच सयको सामल ल्याएँ, दुई चार दिनलाई भए नि पुग्छ भनेर । पाँचोटा सयचैँ पैसै ल्याएको छु । केही परिहाल्ला भनेर “लौ ला, राख ।”, बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो । “आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।”, सानो भुन्टे रोड्याइ गरेको गर्यौ थियो । बिर्खबहादुरले ठीटलाग्दो गरी उसको मुख हेरेर भन्यो, “ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा’ छ ।” यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझैँ रेटेर टाउको छुट्याइसकेको थियो । दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्याक्क खोलेर दुई जना बन्दुके भित्र पसे । चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेस्र्यायो, “तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो ?” “होइन के गरेको तिमरुले – को हौ तिमरु ”,दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिएर रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो । “पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्दैछौ – “मर्द हौ भने आओ मसँग जुध्न ।”, दिलमाया नजिकैको खुर्पा उझाउँदै रणाचण्डीझैँ गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्यो । खुर्पा भुइँमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझैँ रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो । दोस्रो चाहिँले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, “कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि – दिऊ यसलाई मर्द ?” “ठीकै छ । यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ ।”, पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो । आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हाँसो हास्दै अश्लील पाराले पहिलोले भने, “भाइ, यो बराठ आइमाइसँग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।” “हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्या होइन हेर न यसो केही पाइन्छ कि !”, दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्यो । उसले खुसीको स्वरमा भन्यो, “भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर” दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्यो अनि चहकिदै भन्यो, “रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहाँ तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।” र्दुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, “यसलाई के गर्ने – यतिकै छोडिदिने ?” “किन छोड्ने त्यसै बोल्ने जोखिमलाई – पुर्याइदिने उसको लोग्ने गएको ठाउँमा,” पहिलोले क्रुर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए । अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो । अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ । भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, “ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधैँ हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्छौ । मरेपछि ओखती भन्याजस्तो ।” “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुईचार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।” “गर्ने के त यार आदेश नै ढिलो गरी पाउँछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझैँ सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, “लौ फलानो ठाउँमा हमला हुँदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो,” दोस्रोले भन्यो । “त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्स परोस् भनिन्छ ।” “हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।” अर्कोले भन्यो, “घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् – यस्ताले कसैको के बिगार गरे होलान् र ?” “होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।”, दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती (र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपताल गर्न थाल्यो । “ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैँले के भेटिस् त्यहाभित्र ?”, पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, “त्यहाँ त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।” “यहाँ अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊँ आइज । एउटा आन्द्रेँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ र घाँटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुईचार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।” अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धकरसङ्कोच नमानी ती सुनहरू झिकेर हिँड्न तरखराए । तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्यो । उसले खसखसिएर त्यो गाँठो फोएर हेर्यो्, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, “जोडा ! यहाँ एउटा पाच सयको नोट पनि रहेछ ।” “खोइखोइ ?”, अर्कोले त्यो नोट उसबाट झण्डैझण्डै खोसेझै गरी लिए भन्यो, “वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।” अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो । “जोडा भात त तातै थियो । हत्याराहरू भर्खरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिँड झट्टै ।”, एउटाले हतार लगायो । अर्कोका आखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझैँ आँखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, “जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने ?” “के गर्नु अब । घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड ।”, अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए । “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।” यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका र्दुइ निरीह निर्दोष आँखाहरू मात्र थिए । दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउँथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।” यस स्वरले भने त्यहाँ गाउँ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्यामढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, “गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजुरी गरेर खाने दुई लोग्ने स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन चारवर्षे बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भीडन्तमा लुटेराहरूमध्ये दुईजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाताले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मीलाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछौँ । नमस्कार जय नेपाल ।” यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि ? #रमेश विकल
सुरु भयो फोटो कविता प्रतियोगिता: साहित्यपोस्ट साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरु पुनः सुरु भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प्रारम्भ भएयता हरेका साता मुक्तक र फोटो कविता प्रतियोगिताहरु भइरहेका छन् भने सरकारले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि निबन्ध प्रतियोगिता पनि सुरु भएको थियो । ती सबै प्रतियोगिताकाका उत्कृष्ट रचनाहरु पुस्तककारका रुपमा प्रकाशन हुने जनाइएको छ । ती पुस्तकहरु शिखा बुक्स र साहित्यपोस्टको संयुक्त लगानीमा प्रकाशन हुनेछन् । पुस्तकको डिजिटल भर्सन साहित्यपोस्टमा र छपाइ भर्सन शिखा बुक्सले प्रकाशन गर्ने सहमति भएको छ । ‘लामो बाटो तय गर्न हिँडेको साहित्यपोस्टमा केही व्यवधान आएका थिए । अब हामी प्राविधिकरुपमा थप बलिया भएका छौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘केही साता प्रतियोगिता रोकिने कारण पनि भोलिका दिनमा त्यस्ता व्यवधान नआऊन् भन्ने थियो, अब ढुक्क भयौँ ।’ फोटो कविता प्रतियोगिता ९ का लागि कविता आव्हानः साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको आठौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ । विमल नेपाल अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाईनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका सातवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आठौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ । प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितास\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात श्रावण २४ गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाई विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूको रहोबरमा भोलिपल्ट २५ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटकको फोटो र कविताको विषय रहेको छः ‘बालबालिका’ अथवा ‘निश्छलता’ यी दुवै विषयमध्ये तल दिइएको तस्बिरमा रहेर एक, जुन कुराले कविको मन छुन्छ, त्यही विषयमा रचना पोस्ट गर्न सक्नुहुनेछ । हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः #फोटो कविता प्रतियोगिता
पीपलबोट अर्थात् ‘फुटपाथ एकेडेमी’: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । प्रस्तुत लेख हामीले यो लेख हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख मनाेज खतिवडा ले तयार पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिका मै पढ्न पनि सक्नुहुने छ । न्युरोड पीपलबोट वर्षौंदेखि कवि–लेखकहरू जम्मा हुने अखडाका रूपमा परिचित छ । त्यहाँ जम्मा हुने कवि–लेखकले यो अखडालाई ‘फुटपाथ एकेडेमी’ भन्न थाले । विमल निभालाई कुलपति र पुरुषोत्तम सुवेदीलाई उपकुलपति भनेर जिस्क्याउन थाले । ‘फुटपाथ एकेडेमी’को प्रसंग सुनाउँदै लेखक अविनाश श्रेष्ठले एउटा रोचक प्रसंग सुनाइहाले । एकपटक श्रेष्ठले प्रज्ञा प्रतिष्ठानकै एक प्राज्ञका छेउमा ‘फुटपाथ एकेडेमी’को प्रसंग झिकेछन् । प्रसंग सुनिसकेपछि रिसले चुर हुँदै प्राज्ञले श्रेष्ठसँग भनेछन्–‘तपाईंले एकेडेमीलाई अपमान गर्ने ?’ प्रज्ञा प्रतिष्ठानका केही प्राज्ञ रिसाए पनि उनीहरूले आपसमा आफ्नो अखडालाई ‘फुटपाथ एकेडेमी’ भन्न छाडेका छैनन् । न्युरोडको पीपलबोट कसरी समानान्तर प्रज्ञा प्रतिष्ठानझैँ भयो त ? पीपलबोटको जमघटलाई बुझ्न सञ्चार र सूचनादेखि विच्छेद काठमाडौंको इतिहासम्म पुग्नुपर्छ । ०३२/०३४ सालतिर काठमाडौंमा फोनको सहज पहुँच थिएन । काठमाडौंबाहिरबाट आएकाहरू नियमित रूपमा न्युरोड पीपलबोट वरपर जम्मा हुन्थे । सयौँको भिड जम्मा हुन्थ्यो । आफन्त, छरछिमेक र गाउँलेसँग भेट गर्ने प्रख्यात स्थल थियो, पीपलबोट । ‘गाउँमा को बिरामी भयो, नयाँ मान्छे को काठमाडौं आएको छ भनेर खबर आदान–प्रदान गर्ने, सरसामान र पैसा लेनदेन गर्ने ठाउँ थियो पीपलबोट, हजार–दुई हजारको संख्यामा मान्छेहरू जम्मा हुन्थे,’ त्यसवेलाको समय सम्झिँदै कवि तथा समालोचक पुरुषोत्तम सुवेदी भन्छन् । साँझपख भिन्न–भिन्न भूगोलका मान्छेहरू झुन्ड–झुन्डमा भेटिन्थे । मान्छेको बाक्लो आवागमन हुने त्यसवेलाको न्युरोडलाई मान्छेहरू ‘नयाँ सडक’ भन्थे । २००६/०७ सालतिरै काठमाडौंबाहिरबाट आएकाहरूले न्युरोड पीपलबोट रहेको स्थल वरपरलाई जमघटस्थल बनाइसकेका थिए । सूचना र खबर आदानप्रदानका लागि ठूलो भिड जम्मा हुने न्युरोड पीपलबोट साहित्यकारको पनि भेटघाट र छलफलको केन्द्रमा परिणत हुँदै थियो । यसको सिलसिला सुरु हुन्छ पीपलबोटको साहित्यिक जमघट कहिलेदेखि सुरु भयो ? ठ्याक्कै जवाफ कोहीसँग पनि छैन । तैपनि बालकृष्ण सम, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालहरू पीपलबोटमा जम्मा हुने पहिलो पुस्ताका साहित्यकार थिए । मल्ल दाजुभाइ र श्रेष्ठको त घर पनि पीपलबोटनजिकै थियो । संस्कृत प्रभावमा हुर्किएका र आधुनिक साहित्य चेत बोकेका साहित्यकारबीच त्यसवेला तीव्र वैचारिक घर्षण थियो । वैचारिक प्रतिद्वन्द्विताले व्यक्तिगत सम्बन्धलाई समेत नराम्ररी प्रभाव पारेको थियो । लामो समय चलेको त्यही द्वन्द्वका कारण पीपलबोट वरपर र पीपलबोटबाहिरसमेत साहित्यकारका झुन्ड फरक–फरक थिए । भिन्न विचारका साहित्यकार एक ठाउँ बसेर छलफल र बहस गर्ने संस्कृति नै थिएन । माधव घिमिरे र गोपालप्रसाद रिमालका झुन्ड फरक–फरक थिए । भूपी शेरचन र मोहन कोइरालाको संगत र समूह एउटै थिएनन् । ‘नेपाली साहित्यमा संस्कृतको प्रभावमा हुर्किएका साहित्यकार र आधुनिक साहित्यिक चेत राख्ने साहित्यकारबीचको द्वन्द्व अहिलेसम्म पनि सुषुप्त अवस्थामा छ, त्यसवेला यो द्वन्द्व बलशाली थियो,’ लेखक अविनाश श्रेष्ठ भन्छन् । साहित्यकारमाझ हुने थुप्रै द्वन्द्व श्रेष्ठले देखे, भोगे । ०५५ सालमा विजय मल्ल बिरामले थलिएका थिए । उनको घर न्युरोडस्थित पाखो पोखलड्याङनजिकै साहित्यकारहरू भेला हुन्थे । मल्लको घरनजिकै भेला भए पनि श्रेष्ठको सरसंगतका धेरै साहित्यकार मल्ललाई भेट्न गएनन् । ‘पञ्चायतकालमा एकेडेमीको सदस्य सचिव र उपकुलपति भएकाले हाम्रा धेरै साथीहरू मल्ललाई भेट्नै जाँदैनथे,’ उनी भन्छन् । पीपलबोटको ‘स्वर्णयुग’ भने पञ्चायतकाल नै थियो । समालोचक पुरुषोत्तम सुवेदी लेखक र विद्यार्थीका फोरमले नै पञ्चायतको सशक्त प्रतिरोध गरेको बताउँछन् । ‘विद्यार्थीले सशक्त सडक आन्दोलनमार्फत पञ्चायतको प्रतिरोध गरेका थिए भने लेखकहरूले सिर्जनात्मक रूपले प्रतिरोध गरेका थिए, लेखकलाई साहित्य सिर्जना गरेकै कारण समाइहाल्न सक्ने अवस्था थिएन, त्यसैले उनीहरूले त्यसवेला पञ्चायतसँग ठूलो संघर्ष गरेका थिए,’ उनी भन्छन् । पीपलबोट वरपर राज्यका सिआइडी छ्यापछ्याप हुन्थे । तैपनि प्रशासकबाट सेन्सर नगरिएका पञ्चायतविरोधी कविता वाचन हुन्थे । राज्यमा दर्तै नभएका तर भरमार व्यवस्थाविरोधी सामग्रीले भरिएका पत्रिका निस्किन्थे । कवि र श्रोतामाझ अञ्चलाधीशबाट सेन्सर हुनुअघिका ‘फ्रेस’ कविता पत्रिका निस्किनुअघि नै पुगिसक्थे । पीपलबोटमा पञ्चायतका ‘गसिप’ खुबै चल्थे । कुन मन्त्री बर्खास्त हुँदै छ ? कसले के गर्दै छ ? किसिम–किसिमका हल्ला छिनछिनमा आइरहन्थे । सिकारु साहित्यकारका लागि भने पीपलबोटका भेटघाट र जमघट नै परिचयका आधार थिए । साहित्यिक सिर्जना छापिनु नवप्रवेशीका लागि ठूलो संघर्षको विषय थियो । त्यहीँको चिनजान परिचय निर्माणको पहिलो खुड्किला थियो । नागरिकको अभिव्यक्ति अधिकार हरण भएको समय पीपलबोटबाटै साहित्यकारले जागरण र प्रतिरोधका आवाज दिए । साहित्यिक आन्दोलन चलाए । त्यहीँबाट पत्रिका निस्किए । पीपलबोटको आधा शताब्दीभन्दा लामो जमघट परम्परालाई अहिले पनि केही साहित्यकारले निरन्तरता दिइरहेकै छन् । तर, पीपलबोटमा त्यसवेला हुने लेखकको विशाल जमघटजस्तो अहिले कहाँ हुनु ? केही साहित्यकार भने नियमित आउँछन्, चिया पिउँछन्, वाद–प्रतिवाद गर्छन्, पत्रपत्रिका पढ्छन् र छलफल गर्छन् । पीपलबोटको ‘लिगेसी’ सम्हालिरहेका तिनै साहित्यकारलाई भेट्न बिहीबार पीपलबोटछेउ पुग्दा जम्माजम्मी दुईजना लेखक भेटिए । कथाकार अविनाश श्रेष्ठ र कवि तथा समालोचक पुरुषोत्तम सुवेदी । अरू दिन नियमित आउने लेखक पनि काठमाडौंको आकाश धुम्मिएको त्यस दिन भेटिएनन् । श्रेष्ठ र सुवेदीले पीपलबोटसँगका पुराना सम्झना सुनाए । पीपलबोट वरपर घटित लेखकका किस्सा र ‘लीला’ सुनाए । केही प्रसंग ‘अफ द रेकर्ड’ भनेरै सुनाए । पीपलबोट सँगसँगै जोडिन आइपुग्छन् साहित्यकारका मदिरा प्रसंग । पीपलबोट वरपरका इन्द्रेणी, इन्दिरा, डाँफे, मोतीमहल साहित्यकार जमघट गर्ने प्रख्यात रेस्टुरेन्ट थिए । खुवाउने, पिलाउने मामिलामा सम्भ्रान्त परिवारका भूपी शेरचन उदार थिए । काठमाडौंबाहिरबाट आउने साहित्यकारले त सहरमा बाँच्नकै लागि भीषण संघर्ष गर्नुपथ्र्यो । टिक्नै मुस्किल थियो । तर, भूपीलाई त्यो समस्या थिएन । त्यसमाथि पाँच रुपैयाँमा पाँचैजना मात्ने गरी लोकल रक्सी पाइने समय थियो त्यो । भूपी र हरिभक्त कटुवालसहित ८–१० जना पियक्कडको टोली पीपलबोट वरपरका रेस्टुरेन्टमा मध्यरातसम्म मदिरामा मस्त हुन्थे । मदिरा नपिउने रोचक घिमिरेलाई समेत उनीहरू जबर्जस्ती आफैँसँग बसाउँथे । त्यसवेला पारिजात बहिनी सुकन्यासँग पुतलीसडक बस्थिन् । राति अबेरसम्मको खानपानपछि कहिलेकाहीँ उनीहरू पारिजातको डेरा पुग्थे । सुतिसकेका पारिजातका दिदी–बहिनीलाई उठाउने जिम्मा रोचक घिमिरेले लिनुपथ्र्यो । मदिराको तालमा आएका उनीहरूलाई धेरै रात सुकन्याले चिया पकाएर खुवाएकी छिन् । कहिलेकाहीँ पारिजातकै कोठामा अबेरसम्म नाचगान र गफ गरेर फर्किन्थे । हरिभक्त कहिलेकाहीँ पिएर सडकमै ढल्थे । ईश्वर वल्लभ र मनु ब्राजाकीका मदिरा अखडा पनि पीपलबोट वरपरै थिए । नेपाली साहित्यमा विशेष अर्थ राख्ने दुईवटा आन्दोलन पीपलबोटमै उठेका थिए, सडक कविता क्रान्ति र बुटपालिस आन्दोलन । ०३६ सालमा जनमतसंग्रह घोषणा भएपछि बहुदलीय व्यवस्थाका समर्थक कविद्वारा छेडिएको आन्दोलन थियो, सडक कविता क्रान्ति । लेखकहरू पञ्चायतको विरोध र बहुदलीय व्यवस्थाको समर्थनमा कविता बोकेर सडकमा निस्किएका थिए । भवानी घिमिरे, अशेष मल्ल, हरिभक्त कटुवाल, मोहन कोइराला, दिनेश अधिकारीलगायत कविले सडकमै कविता वाचन गरेर प्रजातन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए । पीपलबोटबाट उठेको पञ्चायतविरोधी र स्वतन्त्रता पक्षधर आवाज गाउँगाउँसम्म पुग्यो । ०३१ सालमा सरकारले सामयिक संकलमाथि प्रतिबन्ध लगायो । त्यही कारण दर्ताविनै चलिरहेका पत्रिका बन्द भए । अभिव्यक्ति अधिकारलाई कुण्ठित गरिएको थियो । युवाले पाउँदै आएका अभिव्यक्तिका माध्यम खोसिए । देशमा उकुसमुकुसको वातावरण रहेको त्यस समय साहित्यकारको एउटा समूह प्रतीकात्मक विरोधमा उत्रियो, ब्रस र पालिस बोकेर । शैलेन्द्र साकार, भाउपन्थी, प्रेम कैदी, नारायण ढकाल, कविताराम, धु्रव सापकोटा, भवानी घिमिरेलगायत साहित्यकारको समूहले सडकमा युवा लेखकका रचना प्रकाशनका लागि भन्ने आशयको तुलमुनि जुत्ता पालिस गरे । तीन दिनसम्म नयाँ सडकमा चलेको त्यो अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो । पीपलबोटको जमघटबाटै साहित्यिक समूह बन्थे र भत्किन्थे । त्यहीको परिचयले साहित्यकारहरू लामो समय नजिकको छलफल र बहसमा रहन्थे । विमल निभा, नारायण ढकाल, श्यामल, राजव, पुरुषोत्तम सुवेदीहरूको समूह पीपलबोटकै संगतलाई निरन्तरता दिइरहेका छन् । यो पुस्ताका साहित्यकारहरूमा अघिल्लो पुस्ताको जस्तो फरक विचारप्रति हेयको भावना नरहेको बताउँछन् सुवेदी । ‘म ०४० साल वरपरबाट पीपलबोट जान थालेको हुँ, त्यहाँ कम्तीमा पनि २ सयको हाराहारीमा साहित्यकार भेट हुन्थे, हाम्रो पुस्तामा भने फरक मतका सर्जकहरू पनि एक ठाउँ बसेर छलफल गर्ने संस्कृति थियो, पहिलो पुस्तामा जस्तो एक ठाउमै नबस्ने भएन हामीबीच,’ उनी भन्छन् । ०४६ सालको जनआन्दोलनमा पनि पीपलबोटले आफ्नो भूमिका निभायो । आन्दोलनको सफलतासँगै लुटिएका अभिव्यक्तिका अधिकार फिर्ता भए । पत्रिकाको संख्या बढ्न थाल्यो । अभिव्यक्तिको अवसर फैलिँदै गयो । कति साहित्यकार पार्टी ‘कोटा’मा एकेडेमी छिरे । सञ्चारको दु्रत विकासले फड्को मारेसँगै्र पीपलबोटको ओज र प्रभावसमेत कमजोर बन्दै गयो । तैपनि साहित्यकारको एउटा समूह नियमित पीपलबोट वरपरका अखडामा जम्मा भइरहेकै छ । पछिल्लो आठ–दश वर्षको दौरान उनीहरूले जम्मा हुने ठाउँ मात्रै सात–आठपटक परिवर्तन गरिसके । धेरै गल्ली परिवर्तन गरिसकेका उनीहरू अहिले भूगोलपार्क छेउको चियापसलमा जम्मा हुन्छन् । नारायण ढकाल, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी, विमल निभा, बुद्धिसागर, नयनराज पाण्डे, सीताराम उप्रेती प्रायः पीपलबोट पुगिरहन्छन् । ३ वर्षअघि मुटुको अप्रेसन गराएका अविनाश श्रेष्ठ नियमित नभए पनि पीपलबोट पुगिरहन्छन् । नेपाल आएको समय राजव दैनिक पुग्छन् । रघु पन्त, झलक सुवेदी, अभय श्रेष्ठ र राजेन्द्र पराजुली पनि फाट्टफुट्ट पुगिरहन्छन् । त्यहाँ पुग्ने साहित्यकारमा छलफलका विषयको कुनै सीमा छैन । साहित्यिक विशेष सामग्री, दैनिक पत्रिकाका लेखको समीक्षा त्यहीँ गर्छन् । भारतीय समाचारपत्रमा आएका विषयमा पनि बहस गर्छन् । एकअर्कालाई उडाउने, व्यंग्य गर्ने, आलोचना गर्ने, बाझाबाझ गर्ने सबै हुन्छ । पीपलबोटबाहिर त्यहाँ जम्मा हुने लेखकलाई लिएर एउटा ठट्टा चर्चित रहेछ । ‘छलफल गर्दागर्दै कसैलाई पिसाब लाग्यो र बाहिर निस्कियो भने त्यसैको आलोचना गर्न थाल्छन् भनेर हामीलाई बाहिर उडाउँछन्,’ सुवेदी आफूहरूबारे बाहिर चलेको किस्सा सुनाउँछन् । कसैको किताब छापिए भोज खुवाउने अखडा छन् । मदिरा पनि खुब चल्छ उनीहरूबीच । बुद्धिसागर र नयनराज पाण्डेबाहेक अरूले बाहिर पुस्तक विमोचन गर्दैनन् रे ! उनीहरू पीपलबोटकै अखडामा पुस्तक विमोचन गर्छन् । पुरुषोत्तम सुवेदीले आफ्ना सबै पुस्तक त्यहीँ विमोचन गरे । नारायण ढकाल प्रकाशकले पुस्तक बाहिर विमोचन गरे पनि पीपलबोटमा समेत जमघट जुटाउँछन् । उनीहरूको सम्बन्ध पीपलबोटबाहिर परिवारसम्मै फैलिएको छ । पैसाको सरसापट चलिरहन्छ । अहिले पीपलबोटको महत्व त्यही रूपमा छैन । पीपलबोटबाहिर पनि साहित्यकारका जमघट हुने अखडा बनिसकेका छन् । तैपनि उनीहरू नियमित रूपमा किन आउँछन् त पीपलबोट ? आफ्ना स्मृति पुनर्ताजगी गर्न आउँछन् कि अहिले पनि पीपलबोट आसपासका जमघटको कुनै अर्थ छ ? ‘हामी रुढि धान्नलाई आएका होइनौँ, पीपलबोटप्रति ऋणी पनि छैनौँ, व्यक्तिगत फाइदाका लागि पनि आउने होइन,’ सुवेदी भन्छन्, ‘छलफल र बहसका लागि आउँछौँ, यो हाम्रो भेटघाटको उपयुक्त केन्द्र पनि हो ।’ उनी पीपलबोटको जमघटले लेख्ने र बाँच्ने ऊर्जा दिएको तर्क गर्छन् । यस्तै, कथाकार श्रेष्ठ भने नियमित जमघटले पीपलबोटको ‘लिगेसी’लाई अक्षुण्ण राखेको बताउँछन् । ‘यसले नेपाली साहित्यको गौरवशाली लिगेसीलाई जिउँदो राखेको छ, हामी अब नयाँ पुस्ताले यसलाई जोगाइदेओस् भन्ने चाहन्छौँ ।’
‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगिता सम्पन्न: साहित्यपोस्ट गैरआवासिय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगीता सम्पन्न गरेको छ । अनलाईन जुममार्फत १९ वर्षमुनीका नेपालबाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच प्रतियोगीता भएको थियो । प्रतियोगीतामा २९ देशका ६१ जना प्रतियोगी सहभागि थिए । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगीता गरिएको थियो । ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’मा म्यानमारबाट प्रतिनिधित्व गरेकी अभिलाषा खतिवडा प्रथम भएकी छन् । उनले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छन । त्यस्तै, रसियाबाट प्रतिनिधित्व गरेकी समरिया केसी दोस्रो र यूकेबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेस्रो स्थान हाँसिल गरे । केसीले ६० हजार र आचार्यले ४० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तैगरी, अस्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहरालले ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिव्या ढकालले प्राप्त गर्न सफल भए । उनीहरु दुवैले तीस /तीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै, नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेका जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल भए । थाइल्याण्डबाट प्रतिनिधित्व गर्ने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गरे । सान्त्वना हुने सुहिम, जस्मिन र दंग तीनै जनाले बीस/बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन । गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो । प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए । यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता जनाएका थिए । कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियोस्थित एक हलबाट एकसाथ प्रत्यक्ष प्रसार गरिएको थियो । प्रतियोगताका विजेतालाई सम्बन्धित एनसिसीमार्फत एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने कार्यक्रम तथा एसिया प्याशिफिक युवा कमिटीका संयोजक दीपक कँडेलले जानकारी दिएका छन् ।
फोटो कविता प्रतियोगिता ९ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यो साता आचार्य प्रभाको ‘निश्छलता’, एचवी सरोवरको ‘नौलो उदय’ र विजय संग्रौलाको ‘मलाई फेरि बालक हुन मन छ’ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १७ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत समय कटेर बैजयन्ती पोख्रेल र चित्रा कोइराला (पौड्याल) का २, इमेलमार्फत् ७ र साहित्यपोस्टकाे फेसबुक मेसेजमा ३ गरी जम्मा १२ वटा सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका तप् १२ वटा सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाई सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ । फोटो कविता प्रतियोगिताको दशौँ शृंखला भोलिदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरूः #फोटो कविता प्रतियोगिता
नेपाली विषयमा अमेरिकाको अध्ययन: म आठ कक्षामा पढ्थेँ । पहिलो कक्षा १० बजे सुरू हुन्थ्यो । १० बजे नेपाली पढाउनु हुने प्रभा मिस नेपाली कम अमेरिका धेरै पढाउनु हुन्थ्यो । कुनैबेला उहाँ अमेरिका जानुभएको रहेछ । हरेक दिन अमेरिकामा यस्तो र उस्तो भन्ने कुरो नै धेरै सुन्न पथ्र्यो । अमेरिकाका बारेमा अमेरिका नै नगइकन धेरै थोरै जानकारी हामी पनि राख्थ्यौँ । त्यतिबेला अहिले जस्तो औँलाको टुप्पोमा सूचना त थिएन नै, तर अमेरिकी सूचना केन्द्र जो नजिकै न्युरोडमा थियो । अहिले एभरेष्ट बैंक बसेको घर अमेरिकी सूचना केन्द्रले सायद लामो अवधिको लागी भाडामा लिएको थियो । अहिलेको भन्दा धेरै सफा, सुग्घर थियो । भुइँतल्लामा नै अमेरिकन लाइब्रेरी थियो । म काठमाडौँको काठबाट सहरमा पढ्न आउनेलाई न्युरोड ने चौँकाधौँक थियो । त्यसमाथि अमेरिकन लाइब्रेरीको भवनको त के बयान गर्नु ? ठूलो सिसाको ढोका खोलेर भित्र पस्ने अनि फेरि दाहिनेतिरको ढोका खोलेर पुस्तकालय । पुरै एअरकण्डिशन । जाडोको बेला न्यानो, गर्मीको बेला शीतल । हामी त त्यहाँको भौेतिक व्यवस्थाले नै अचम्भित थियौँ । तर यी सब कुरा विस्तारै साधारण लाग्न थालिसकेको थियो । दिनमा एकपटक पुस्तकालय जाने त्यहाँ रहेका पत्रपत्रिकाको शीर्षक पढ्ने, मिलाएर राखिएका अंग्रेजी पुस्तक तानेर हेर्ने बानी लागिसकेको थियो । त्योभन्दा महत्त्वपूर्ण कुरा त त्यहाँबाट प्रकाशित हुने चिल्लो कागजमा छापिएको स्वतन्त्र विश्व नामक अति सुन्दर म्यागाजिन सित्तैमा लिने लोभ थियो । स्वतन्त्र विश्वको दुईवटा प्रयोग थियो, पहिलो पुस्तकको जिल्दा हाल्नुभन्दा अगाडि के रहेछ भनेर पढ्ने । जिल्दा हाल्नको लागि उबेला राम्रो र साइज मिलेको कागज पाउन नै मुस्किल थियो । मैले घरको पसलबाट चुरोटको बट्टा प्याक भएर आएको चुरोटको पेटी खाली गरेर किताबमा जिल्दा लगाउँथे । चुरोटको पेटीको कागज अति नै बलियो हुन्थ्यो , तर त्यसको एउटा दुर्गुण थियो । पसिनाले विस्तारै त्यो कालो हुन्थ्यो र त्यो कालो अलकत्रे रंग किताबमा पनि सथ्र्यो । त्यो कालो सायद अलकत्राको एउटा स्वरूप थियो । जुन चुरोटमा सर्दी नजावोस् भनेर भित्रपट्टि राखिएको हुन्थ्यो । स्नेह सायमि यस्तो जिल्दाको अभावमा स्वतन्त्र विश्वको जिल्दा हाल्नपाउनु ठूलै मौका थियो । त्यतिखेर किताब पढे पनि नपढे पनि राम्रोसँग जिल्दा हाल्ने एक किसिमको परम्परा नै थियो । कारण के पनि होला भने किताब, कापी र कलम अहिले जस्तो झोलामा हालेर जाने चलन थिएन । किताब र कापी हातैले च्यापेर लैजाने र कलम फोन्टेन पेन भने सर्टको खल्तीमा हाल्ने चलन थियो । बेला बेला मसी राख्नुपर्ने, त्यो मसी पनि चुहिने हुँदा विद्यार्थीहरूको सर्टको खल्तीमा नीलो मसीको ढब्बा हुनु, औैलाहरूमा नीलो मसी लाग्नु स्वाभाविक मानिन्थ्यो । अँ, म नेपाली कक्षाको बारेमा र पहिलो घण्टीमा पढाउनु हुने प्रभा मिसको बारेमा भनिरहेको थिएँ । उहाँ नेपाली र नेपाली व्याकारणभन्दा अमेरिका पढाउन आउनुहुन्थ्यो । पहिलो घण्टी भएको हुनाले राष्टिय गान गाउन लगाउनु हुन्थ्यो । अनि मेचमा बसेरै सबथोक भन्नुहुन्थ्यो । कुनै कुनैबेला हामीलाइ ह्रस्व दीर्घ आयो कि आएन भनेर जाँच लिनुहुन्थ्यो । जाँच लिने उहाँको आफ्नै तरिका थियो । एक विद्यार्थीलाई एक म्याराग्राफ कालोपाटीमा लेख्न लगाउने र अर्को विद्यार्थीलाई करेक्सन गर्न लगाउने । हामीहरू धेरैले व्याकरणको त के कुरा ह्रस्व र दीर्घ पनि जानेका थिएनौँ । कालोपाटीमा ह्रस्व दीर्घ सच्याउनु परेपछि एकजनाले ह्रस्व ह्रस्व बनाउँदै लैजाने अर्कोले सबै शब्दहरूलाई दीर्घ दीर्घ बनाउने गथ्र्यौ । त्यो देखेर प्रभा मिस रिसाउनु हुन्थ्यो र हामीलाइ लट्ठीले चुट्नु हुन्थ्यो । तर चुटेर हामीले सिक्न सक्दैनथ्यौँ । प्रभा मिसको नेपाली कक्षामा अमेरिकाको बयानले नेपाली व्याकरणको जग राम्रो भएन । अहिले देख्छु, नेपालीहरूको चरित्र । उबेलाका हामी व्याकरणका अन्जान विद्यार्थीहरूजस्तै । आफ्नो मान्छे, आफ्नो साथी, आफ्नो नेता, आफ्नो दलका कुरा सबै शतप्रतिशत राम्रो भनिदिनुपर्ने र नभनेको दिन शत्रु हुने । विवेक प्रयोग गरेर यो राम्रो, यसमा अरू सुधार गर्नुपर्ला कि भन्नै नहुने । उसका सबै कुरा राम्रो भनुन्जेल उसका मान्छे, अलिकति स्वतन्त्र विचार राख्यो कि उसका विरोधी । उबेला त अन्जानले सबै ह्रस्व र सबै दीर्घ लेखियो । अहिले देख्छु, एकसेएक विद्वानहरू पनि अन्जान भएको अभिनय गरिरहेका छन् । के जीवन यसरी नै बाँच्न सकिएला र ? अस्तु #जीवनको रङ
पुस्तकालयका कारण प्रेमप्रस्तावदेखि बिहेप्रस्तावसम्म: किताब प्रेमीको यो संसारमा कुनै कमी छैन ! भारतको नयाँ दिल्लीस्थित एक व्यक्तिले जब आफ्नो किताबप्रेम ट्वीटरमा पोखे, उनको वालमा बिहेका प्रस्तावदेखि त्यो किताब कुनोमा म आफू बस्न पाए भाग्यमानी हुने थिएँ भन्नेसम्मका जवाफ पाएका छन् । ट्वीटरमा सौमिक नामका भारतीय एक व्यक्तिले लेखेका थिए, ”जसलाई थाहा छैन, बताइहालूँ, म पुस्तकालयमा बस्ने गर्छु ।” उनको निजी संग्रहमा करिब आठ हजार पुस्तक भएको खुलासा पनि ट्वीटरमा गरेका छन् । ७५ प्रतिशत पुस्तक किनेर नै ल्याएको र बाँकी भने उपहारका रूपमा पाएको उनले बताएका छन् । यो तस्बिर भारतमा भाइरल भएपछि कतिले उनको पुस्तकालय घुम्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गरेका छन् भने कतिले बिहेकै प्रस्ताव राखेका छन् । सारा काजीले त एउटै कुनामा हप्तौँसम्म बस्न सक्ने भनी जवाफ फर्काएकी छन् । अर्की एक महिलाले तिम्रो बिहेको कुरा चलाइदिउँसमेत भन्न भ्याएकी छन् । #इन्डियन एक्सप्रेस #पुस्तकालय
ठेट लोकनृत्यका एक साँचो कलाकारः राजेन गुरूङ: राजेन गुरूङ समाजमा कोही व्यक्ति आफ्नो अधिकांश जीवनमा आफ्नो जातिलाई योगदान दिएका हुन्छन्। आफ्नो काम कुरो एकातिर सेवाकार्य अर्कातिर राखेर समाज र जातिलाई आफ्नो पक्षबाट योगदान दिइरहेका हुन्छन्। यस्तै एक समाजसेवी व्यक्ति कालिम्पोङमा छन्, जसले नेपाली लोकनृत्यलाई गत अडतीस वर्षअघिदेखि निःशुल्क सिकाइरहेका छन्, परम्पराको हस्तारण गरिरहेका छन्, नयाँ पुस्तालाई लोककलाकार बनाइरहेका छन्। उनी उनी हुन्, राजेन गुरूङ। गुरूङको जन्म सन् १९५८ मा कालेबुङको डुङ्ग्रा बस्तीमा भएको हो। उनका बाबु स्व. एस पी गुरूङ र आमा नन्दकुमारी थिए। उनले स्थानीय एस.यु.एम.आइ. पढेर सन् १९७५ मा पुरानो हायर सेकेन्डरी (माध्यमिक परीक्षाको चलन थिएन, एकैचोटि हायर सेकेन्डरी दिनुपर्थ्यो) उत्तीर्ण भएका हुन्। त्यसपछि उनी एक वर्ष जति मात्र कलेज पढेर छोडिदिए। उनले १९७७ मा पञ्चायती विभागमा सरकारी जागिरे जीवन शुरू गरेका हुन्। त्यति बेला नै काठमाडौंबाट नारायण गोपालले आफू राष्ट्रिय नाचघरका महाप्रबन्धक रहँदा राजेन गुरुङलाई त्यस नाचघरमा हास्यकलाकारको जागिरका निम्ति निम्तो दिएका थिए तर घरमा बाबुले सरकारी नोकरी छोडेर काठमाडौं जानैपर्दैन भनेर जान दिएनन्। आफ्नो हास्य अभिनय कलालाई काठमाडौंमा चम्काउन नपाए पनि चुप लागेर बसेनन्। उनले सन् १९७६ देखि नाट्यभिनय शुरू गरेका हुन्। उनले दीपक सुनाम, दार्जिलिङको ‘तर बिहानी हुँदैन’, प्रकाश कोविदको उपन्यासमा आधारित ‘अर्को जन्म’ नाटक, प्रशान्त धमला दोषीका ‘मान्छे अमान्छेको बजार’, ‘रून्छन् यहाँ सिउँदोहरू’, मधुसूदन लामाका ‘बाटो छेउको घर’, ‘नलेखेका इतिहासहरू’, सि के श्रेष्ठका ‘अनि भालेमुङ्गो रून्छ’, ‘स्याल पस्ला है शहरमा’ आदि जस्ता नाटकहरूमा हास्य अभिनेता भएर अभिनय गरेका थिए। नेपाली साहित्य अध्ययन समितिको रजत वर्ष समारोह १९९३ मा एकल अभिनय (मोनोएक्ट) प्रतियोगितामा दोस्रो भएका थिए। उनले १९८४-८५ मा अशोक राईहरूले खोलेको संस्था ‘बागीना’मा जोडिएर लोकगीत गाउन थाले। सिके श्रेष्ठको ‘लालुपाते रेलिमाइ’ सांस्कृतिक केन्द्रमा हास्य कलाकार भएर काम पनि गरेका थिए। यसका साथै उनले धेरै वर्ष स्कुल-स्कुलमा गएर स्वतन्त्र दिवसका निम्ति विद्यार्थीहरूलाऊ सामुहिक ड्रिल सिकाएका हुन्। आफ्नो सरकारी सेवाका अतिरिक्त आफूले जानेको नेपाली लोकनृत्यकला सिकाउन थाले। हप्ताभरि आफ्नो जागिरमा हाजिर भएर शनिबार र आइतबार भने नेपाली लोकनृत्य प्रशिक्षण दिन थाले। सन् १९८१ कुमुदिनी स्कुलको एउटा बाहिरी कोठामा चारजना विद्यार्थी लिएर आफ्नो सेवा शुरू गरेका उनले त्यसपछि प्रशिक्षणलाई संस्थागत रूप दिए । १९८२ मा आफूले जानेको लोकनृत्यकलालाई समाजोपयोगी बनाउँदै ‘लोक सांस्कृतिक संस्थान’को स्थापना गरे। त्यसलाई अघि बढाउन भने निकै सङ्घर्ष गर्नुपर्\u200dयो। कहिले कालिम्पोङ टाउन हलमा, कहिले सिड फार्मको गोदाममा, कहिले प्रणामी स्कुलमा, कहिले त्रिपाइको सामुदायिक भवनमा, कहिले चेस्ट क्लिनिकको सामुदायिक भवनमा गरी सरिहिँड्नु परेको थियो। त्यसैगरी १९८३ देखि २०१० सम्म एस. यु. एम. आइ.को जिम हलमा तथा २०१० देखि भने कुमुदिनी स्कुलको धर्महलमा शनिबार र आइतबार दिनको ठीक एक बजेदेखि तीन तीस बजेसम्म प्रशिक्षण दिने गरेका छन्। प्रशिक्षण दिनलाई हलको टुङ्गो थिएन, घुमी घुमी यसका निम्ति अनुनय विनय गर्नुपर्थ्यो। विभिन्न स्कुलतिर कोठा माग्दा कहिले त खप्की पनि खानुपरेको थियो। उनी आफैं बिहान विभिन्न स्कुलको प्रार्थना सभामा गएर आफूले निःशुल्क लोकनृत्य प्रशिक्षण दिने कुरा विद्यार्थी समुदायमाझ उदघोषणा गरेर आह्वान गर्नुपरेको थियो। संस्थान खोलेपछि यसका चिजबीज राख्ने दुई तीनवटा बाकस राख्ने ठाउँ पाएनन्। कहिले नै विद्यार्थीको घरमा, कहिले कहाँ राख्नु पर्दथ्यो। सन् १९९६ मा भने गोर्खा सांस्कृतिक संस्थानका सभापति भरत थापा हुँदा उनले मेलाटार छेउको एउटा कोठामा सामान राख्न दिएका हुन्। जो अद्यपि छँदैछ। राजेन गुरूङले सन् १९८२ देखि हालसम्म लगातार अड्तीस वर्ष जति दस हजारभन्दा बढीलाई ठेट लोकनृत्य निःशुल्क प्रशिक्षण दिएका छन्। आमाले सिकेर अहिले तिनकै छोरी पनि सिक्न आएको पाइनाले उनले दुई पुस्तालाई लोक नृत्य सिकाइसकेका छन्। उनले आफ्नो प्रशिक्षणमा आउने प्रशिक्षणार्थीहरूलाई हाम्रा सबै जातगोष्टीका ठेट लोकनृत्य सिकाउने गर्छन्। कोही नयाँ आउने केटी विद्यार्थी छ भने सङ्गिनी र केटा छ भने सेलोबाट शुरू गराउँछन्। एउटा विद्यार्थीले सबैभन्दा थोरैमा तीन वर्षदेखि अधिकतम आठ नौ वर्षसम्म प्रशिक्षण लिनेगरेका छन्। तीनचार वर्षमा प्रशिक्षणार्थीहरूले रोइला, कौरा, चण्डी, पश्चिमे, चाँचरी, चुड्का, झ्याउरे, पालम, रोदीघर, सोरठी, संगिनी, तीजगीत, रोपाइँगीत, खुकुरी नृत्य, जुवारी नृत्य, खैँजडी, रूमाले, सेलो, बाह्रमासे घाटु, ट्याङ्कुली, असारे, शेर्पानाच, लेप्चानाच, लहरी लालीमाइ आदि सिक्न पाउँछन्। उनले विद्यार्थीहरूलाई यी नृत्यहरूको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि बताएर तिनको व्युत्पत्तिगत अर्थ, नृत्य पद्धति, नियम, महत्त्व र उपयोगिताबारे सबै सैद्धान्तिक कुरा लेखाउँदै-बुझाउँदै सिकाउँछन्। यसका साथै ती-ती नृत्यहरूसित सम्बन्धित स्त्री पुरूषका गर-गहना, वस्त्र र बाजा-गाजा सबै चिनाउने गर्छन्। संस्थानको तर्फबाट वर्षमा एकचोटि परीक्षा पनि लिनेगरेका छन्। आफ्ना प्रशिक्षणार्थीहरूले कालिम्पोङमा आयोजित धेरै सांस्कृतिक कार्यक्रमा लोकनृत्य प्रस्तुतिका निम्ति निम्त्याइन्छ र नृत्य प्रस्तुत गर्छन्। संस्थानलाई कोलकाताको सांस्कृति महोत्सव, कुचविहारको कृषि मेलामा बर्सेनी लाने गरेका थिए। पछि आन्दोलनकालदेखि टुट्यो। यसैगरी आफ्ना विद्यार्थीहरूको टोली लिएर दिल्ली, काठमाडौं, भुटान, नागाल्याण्ड, वीरभूम, बानरहाट, लाटागुडी, सिक्किम आदि ठाउँ गएका हुन्। यसरी लाँदा आयोजकहरूले टोलीलाई खाने बस्ने, घुम्ने व्यवस्था गरिदिन्छन् तर ती ती ठाउँमा कार्यक्रम प्रस्तुत गरेबापत आर्थिक लाभ लिनेगरेका छैनन्। विद्यार्थीहरूले शुरूमा आफ्नो नाम संस्थानमा पंजीकरण गरेपछि कुनै शुल्क दिन पर्दैन। संस्थानलाई कालिम्पोङका केही सहयोगीहरूबाट नगद र जिन्सी भने सहयोग प्राप्त भएका छन्। मणि ट्रस्ट कालिम्पोङले चालिस हजार नगद सहयोग गरेको थियो जसबाट संस्थानलाई चाहिने लोक भेषभूषा किनेका थिए। कसैले दौरा सुरूवालहरू, कसैले पश्चिमे मादल, कसैले डम्फू, कसैले के दिएर संस्थानलाई टेवा दिएका छन्। उनको प्रशिक्षणबाट कतिपय विद्यार्थीले आफ्नै लोकनृत्य प्रशिक्षण केन्द्र पनि खोलेका छन्। समाजमा उनको योगदानको कदरस्वरूप उनलाई कालिम्पोङ विभिन्न सङ्घ-संगठन र प्रतिष्ठानहरूले सम्वर्द्धित-अभिनन्दित, सम्मानित गरेका छन्। संस्थानले अहिले आफ्नो लोकभेषभूषा निकै जोडेको छ। यसमा गुरूङको वेतनको पचास प्रतिशत संस्थानको उन्नतिका निम्ति हाल्नुपरेको छ। संस्थान उनका निम्ति साधन होइन, साध्य हो। आफू सरकारी नोकरी गर्दै सन् १९८२ देखि अनवरत रूपमा शनिबार र आइतबार हप्ताको दुई दिन भए पनि हुद्दाका हुद्दा स्कुल कलेज पढ्ने विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण दिइरहनु लरतरो योगदान होइन। अहिलेका नानीहरूको रूचि अन्यत्र मोडिएर नानीहरू कम आउन थालेको, आफूले दशनंग्री खियाएर खुट्टामा उभ्याएको संस्थानको संरक्षणको चिन्ता गर्छन्। अहिले आफू सरकारी सेवाबाट निवृत्त भएपछि उनको दिनचर्या संस्थानमा केन्द्रित देखिन्छ। उनको सुस्वस्थ्य र दीर्घायुको कामना छ। #कालिम्पाेङ #नवीन पौड्याल #राजेन गुरूङ #लाेकनृत्य
डोरेमन: सञ्जीवन प्रधान छोराले “डोरेमन” साह्रै मन पराउने गर्थ्यो । लामो समयसम्म एकोहोरो “डोरेमन” हेरिरहने हुँदा, उसकी आमाले रिमोट खोसेर टिभी बन्द गर्थिन् प्राय:। “गधा, तेरो आँखा बिग्रिन्छ,” तिनी भन्ने गर्थिन्। मन परेको कुरो धित मरुन्जेल हेर्न नपाउँदा, उसको बाल हृदयमा आघात हुन्थ्यो होला । मलाई एकदि न छोरोले सोध्यो, “बाबा म ठूलो हुँदासम्म पनि यो सिरियल आउँछ ?” पछि ठूलो भएपछि बरु ठूलो टिभी किनेर ठूलो कोठामा बसेर, एक्लै सबै हेर्छु। उसको कुरा सुनेर म मनमनै मुस्काएँ। त्यति मात्रले मलाई पुगेन। म हाँस्न पनि थालेँ। हाँसोले मात्र पुगेन मलाई । उसलाई हाँसोको पात्र पनि बनाइदिएँ। एकछिनपछि उसलाई के सुर चल्यो कुन्नी, फेरि भन्यो, “बाबा, त्यतिबेलासम्म त म मरिसक्छु होला !” एकैछिन अघि मुस्कुराइरहेको मलाई धेरैबेरसम्म निष्पट्ट अँध्यारोले छोप्यो। मेरो घाँटी नराम्रोसँग अँठ्याएजस्तो भयो, त्यो निष्पट्ट अँध्यारोले। त्यसपछि म रन्थनिएँ। त्यही रन्थनिएकै रनाहामा मैले उसलाई अँगालो हालेँ। #सञ्जीवन प्रधान
सधैँ नेपाली भएर बाँच्नेछौँ: प्राप्ति थापा को चुप लागेर बस्न सक्छ आफ्नो अस्तित्वमाथि प्रश्न उठे को मौन रहेर बस्न सक्छ आफ्नो अखण्डतामाथि औंला उठे ? सधैँ स्वतन्त्रताको झण्डा फर्फराएका हामी कसै सामु घुँडा टेक्ने त कुरै भएन सधैँ शिर उठाएर हिँडेका हामी कोही सामु झुक्ने त कुरै भएन भौगोलिकतामा सानो होला हाम्रो मुलुक तर वीरताका गाथा भने ठूला छन् सुगौली सन्धिमा कुनै भू-भाग गुम्यो होला हाम्रो तर उपनिवेश कहिले कसैको नभएको कथा छ हाम्रो कसैमाथी जाइलाग्ने बानी छैन हाम्रो तर आइलाग्नेलाई भने छाड्दैनौँ कसैलाई हेला र हेप्ने चलन छैन हाम्रो तर कसैको हेपाइ भने सहदैनौँ हामी कसैको अधीनमा बस्ने अभ्यास छैन हाम्रो त्यसैले, देशको गरिमालाई कदापि गिर्न दिन्नौँ हामी लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो कसैको लागि छाड्ने छैनौँ अरुको भूमिमा आँखा गाड्ने बानी नराम्रो अतिक्रमणकर्तालाई कदापि छाड्ने छैनौँ मातृभूमिको लागि ज्यान दिन पछि हट्ने छैनौँ अखण्डता कायम राख्न पाइला पछि सार्ने छैनौँ नेपाली हौँ सधैँ नेपाली भएर बाच्नेछौँ देशका लागि बलिदान दिन हरदम तयार छौँ नेपाली भएर जन्मेकोमा सधैँ गर्व गर्छौँ #प्राप्ति थापा
भ्युज र ट्रेन्डिङ: सन्तोष समीप ‘आज कति गयो हँ ?’ विपिनले सोध्यो । ‘फाइभ के, मात्र !’ रमेशको जवाफ आयो । ‘लु डुबियो अब…, यो तालले के काम काट्ला र ?’ विपिनको चिन्तित स्वर सुनियो । ‘तैँले गर्दा त हो नि, मैले भनेको मानिनस् त !’ रमेशले जवाफ फर्कायो । ‘अरे यसमा मेरो के गल्ती यार, मेरो काम भिडियो अपलोड गर्ने हो । सबैलाई हेर कि हेर भन्न त सक्दिन नि !’ विपिन बोल्यो ‘टाइम हेर न टाइम, आइतबार पनि अपलोड गर्छन् ? त्यो पनि राति ९ बजे ? शुक्रबार गर् भनेको के सुन्थ्यो ?’ निरोजले भन्यो । मोबाइलको घन्टी बज्छ । ‘हेल्लो, अँ शिखा भन…,’ निरोजले फोन उठायो । ‘कति गयो मेरो भिडियो ?’ शिखाले सोधिन् । ‘अँ हामी तिम्रै भिडियोको कुरा गर्दै थियौँ, आज गजब भयो ५ के गयो भनेर । ल बधाई छ तिमीलाई,’ निरोजले भन्यो । ‘ह्या, जम्मा ५ के ? अहिलेसम्मकै मिहिनेत गरेको भिडियो हो यो,’ गन्गनाउँदै शिखाले भनिन्, ‘मैले त झन् सबै साथीहरुलाई फेसबुकमा लिंक पनि पठाएँ, हेर्नु है मेरो नयाँ भिडियो भनेर । कतिलाई पठाएँ थाहै भएन । अघि बिहान पो बाबाले के पठाएकी तैँले भन्दा पो थाहा पाएँ ! हि हि… अनि सुन न, ओइ, खतरा गरिस् त भनेर साथीहरुले जिस्क्याउँदा पनि अलि हटके हो हेरेपछि दामी भन्छौ भन्दिएँ । अब के गर्ने हो ?’ फोन स्पिकरमा थियो, शिखाको चिन्ता सबैले सुने । ‘यसको आइडिया मसँग छ। अब हामी आफ्नै गीतको भिडियो बनाउने । बुझ्यौ ?’ विपिनले भन्यो । ‘ओ क्या दामी ! म त खेल्छु खेल्छु,’ शिखाले भनिन् । ‘नो डाउट, यु विल,’ विपिनले सही जनायो । ‘ल फोन राखेँ , हल्का टेन्समा छु,’ रमेशले भन्यो, ‘कसलाई केको धन्दा कसलाई खानको पीर !’ रमेश आफैँसँग बोल्दै फोन राख्छ । ‘मलाई त भिडियो नै त्यति मन नपरेको,’ दर्पणले भन्यो, ‘कम बजेटमा तयार गरेको भिडियो पनि के जान्थ्यो र !’ विपिनले भन्यो, ‘यसमा कम बजेट र यो त्यो लोकेसन भन्ने कुरो हुँदैन । अस्ति नीता र प्रवीनको भिडियो देखिस् होला नि ! त्यो एउटा आँगनमा सुट गरेको भए पनि तीन दिनमा २० के हान्यो, कुरा गर्छ !’ ‘ए भाइ ती चलेका मोडल हुन्, राम्रै दाम पेल्यो प्रविनले । जताततै बुस्ट गर्यो । नत्र गीत हेर न, कुन एंगलबाट त्यो गीत जस्तो छ हेर त ! त्यो गीतबाट भिडियो हटाएर अडियो मात्र सुन् त,अझ लिरिक्स हेर न, चिया पनि खाइन, खाजा पनि खाइन, भात पनि खाइन,राति निद्रै लागेन रे ! त्यस्तो पनि गीत हुन्छ ?’ विपिनले अनुहार बिगार्दै भन्यो । ‘अनि के ले तान्यो त भ्यूज ?’ निहुँ खोजुँलाझैँ गरेर रमेशले भन्यो । ‘कसको भिडियो कस्तो, कसको लिरिक्स कस्तो, को-को मोडल, बजेट कति, लोकेसन कहाँ तथा अन्य कुरामा दोष दिएर अरुलाई आक्षेप लगाउनु ठीक होइन भाइ बुझिस् !’ विपिनले सानोतिनो भाषणै दियो, भन्यो, ‘सबैलाई आफ्नो काम उत्कृष्ट नै लाग्छ र राम्रो काम नै गरेको छु जस्तो लाग्छ । नाम चलेका र वरिष्ठ अग्रजका गीतमा बनेका सबै भिडियोका भ्युज अरुले गणना गरेजस्तो हन्ड्रेड के र त्यो भन्दा बढी छैनन् तर पनि वहाँहरु सधैं सम्मानित र वरिष्ठ नै हुनुहुन्छ र रहिरहनु हुनेछ। वहाँहरुको साधना,अध्ययन र मिहिनेतको कदर सबैतिर भएको छ र हुने नै छ । वहाँहरुका आफ्नै दर्शक र स्रोताहरु हुनुहुन्छ । तसर्थ युट्युबमा भ्यूज बढी भएमा ती रचना र कलाकार मात्र उत्कृष्ट हुने भन्ने कम्जोर मान्यताबाट आजको समाज आक्रान्त छ, बुझ्यौ ?’ ‘अरुका हेर्यो युट्युबमा ट्रेन्डिङका कुरा । यति नम्बरमा र उति नम्बरमा… ह्या छोड यस्ता कुरा,’ रमेशले दिक्क मान्दै भन्यो, ‘दर्शक स्रोताको मनमा बस्ने पो वास्तविक सिर्जना हुन् त ! थोरै दर्शकले हेरून् या सुनून् त्यसको महत्त्व अर्कै छ । मिडियाका ट्रेन्डिङ त दुई दिने हुन् । आज एउटा भोलि अर्कै । रचना, सिर्जना पो कालजयी हुनु पर्छ हमेशा मनमा बसिरहने !’ रमेशले चित्त बुझाउने शैलीमा भन्यो । ‘हो नि ! हामी आपसमा झगडा गरेर मात्र समस्या समाधान हुने त होइन ! न त भ्यूज नै बढ्ने हो,’ विपिनले थप्यो । ‘युट्युबमा कतिपटक र कतिले हेरे भनेर भनर हात धोएर लाग्नुभन्दा आफ्नो कला हो, सिर्जना हो, काम हो, यसैमा मिहिनेत गरिरहने हो भने परिश्रमीहरुले सफलता अवश्य नै चुम्ने छन् बुझ्यौ,’ ज्यादै कम बोल्ने मनीषले बोलेपछि लगभग कुरा नै टुंगियो । यसपछि सबैले चित्त बुझाए र आफ्नो बाटो तताए । #सन्तोष समीप
गरिबीको कथाः तिर्न नसकेको ऋण: सहन गाह्रो भएछ, हरिले मुख खोल्यो । “दाइ ! मैले तपाईँको पैसा छोरीसँग साट्न ल्याएको हैन, मेरो छोरी तपाईँकी पनि छोरी कसरी तपाईँले यस्तो बोल्न सकेको ?”, हरिका आँखा राता थिए । अनुहार निलो थियो र दुबैहात कस्सेर मुठ्ठी पारेको थियो । गरिबले आफ्नो श्रम बेच्छ, स्वाभिमान सायदै बेच्ला । हरिका आफ्ना समस्या थिए, घर व्यवहारका, समाजका यस्तै यस्तै । घरखर्च चलाउन् हरि कैले साहु माहाजनको हली जान्थो । कहिले गोठाला गएको छ । कतिका त गोठको मल पनि बोक्छ । यति गर्दा पनि उसको जीवन सामान्य अवस्थामा फर्केको छैन । दैबलाई सराप्न मन उसलाई नभएको हैन, दैब रिसाएर यो भन्दा अझ कठिन दुःखमा धकेल्दिए भने ! भन्ने सोचेर सराप्न सकेको छैन । एकदिन बिहानै कसैलाई थाहा नदिइ घर छोड्ने मन बनाएको थियो । यसो गर्नुमा अरु कारण केही थिएन । घर भोजराज घोडासैनी परिवारमा गरिबी भएपनि खुसी नै थियो, सुख त उसको पोल्टामा छँदै थिएन । भोकै कहिल्यै राखेन उसले आफ्ना जहानलाई । मीठो खुवाउन सकेन होला । सन्तोषले स–परिवारसँग खाँदा अन्न त्यसै पनि मीठो लाग्थ्यो उसको परिवारलाई । यति हुँदाहुदै पनि बेखबर घर छोड्ने कुचेष्टा आए एकदिन । किन ? किनकि साहु कृष्ण प्रसादको अत्याचारले । कसरी हो कसरी उसको मन फर्कियो । त्यस बिहान उसले घर छोडेन । आज सोच्छ, यदि मैले घर छोडेको भए के गर्ने थि पुतलीकी आमा ? कसरी थाम्ने थिई कृष्णको ऋण ? घरमा ५ जनाको परिवार, एकहल गोरु, ३ भैंसी र गोटा ५ बाख्रा छन् । कुखुरा त हरिको घरमा कहिल्यै खाली भएनन् । कुखुरा खाली नहुनाले गाँउलेले उसलाई भन्थे यसलाई कुखुरा फापेका छन् । त्यही पालेर व्यापार गर । उसलाई गाँउलेका कुरा सुन्दा त्यस्तै गरौँ जस्तो पनि हुन्थ्यो । किन हो किन उसलाई कुखुरा माथिमात्रै निर्भर हुन मन लाग्दैन थियो । अचेल हरिलाई कृष्ण प्रसादको नियतमाथि शंका लाग्न थालेको थियो । त्यही शंकाले गर्दा उसले आफू बेलामा अक्षर चिन्ने हुन नसकेकोमा पछुतो मानिरहेको छ । २२ वर्षको हुँदा हरिले बिहे गर्यो । बिहे गर्दा सबै खुसी थिए । केबल हरि बाहेक । सबैभन्दा खुसी त झन् हरि पो हुनु पर्ने हो ! तर हरि खुसी थिएन । बेखुसी हुनुमा एउटै कारण थियो । जीवनमा एक पटक गरिने बिहेमा पनि ऋण काड्नु परेको थियो । अरुबेला यदि ऋण लिएको भए सायद उसलाई यति दुःख लाग्ने थिएन कि ? भन्न त अरुले भन्छन् “जग्गा किन्दा घर बनाउदा र बिहे गर्दा नलागेको ऋण कहिले लाग्छ ?”, भनेर । हरि भने बिहे ऋण काडेर गर्ने पक्षमा थिएन । सबैकुरा आफूले चाहे अनुसारको नहुने रहेछ । समयले हरिले जे चाहँदैन थियो आखिरी त्यही गराएर छाड्यो । उसले यही नगर्नका लागि गाँउका अरु भन्दा ढिलो गरि बिहे गर्यो । हुन त घरका समस्या अरु पनि हुँदा हुन् तर बिहेकै लागि भनेर वर्ष दुई दिन परदेशमा बस्यो । अन्ततः कृष्ण प्रसादसँग तीनहजार तीन सय सापटी नगरी बिहे फत्ते नहुने भयो । आफूले बेलामा पढ्न नसकेकोमा हरिलाई पछुतो छ । घरधन्दा दुईजना लोग्नेस्वास्नी मिली गर्छन् । छोराछोरीले सघाउँछन् । साहूको ऋण हरि हुँदा हरिको स्वास्नीलाई कसैले भन्दैनन्, न छोराछोरीलाई नै भन्छन् । उसलाई छोडेर अरुलाई भन्ने कुरा पनि भएन । घरको मूली जो ऊ थियो । हरिकी स्वास्नीले हरि देश गएको बेला उसमाथि हुने अन्याय सुनाउँछे । कृष्णप्रसादले गरेको दुव्र्यवहार सुनाउँछे । साहूको ज्यादतीका विरुद्ध हरिले गाउँका ठूलाबडालाई नगुहारेको पनि हैन । भेला नगराएको हो । गराउन नसकेको हो । गराउन सक्ने हैसियत नभएको हो । जाबो साँझबिहान छाक टार्न नसक्नेले गाउँ भरिकालाई कसरी भेला गराउन सकोस् । सबैले लिएको पैसा पहिले फिर्ता गर अनि अरु कुरा गरौंला भन्छन् । आजभन्दा १७ वर्ष अगाडि बिहे गर्दा हरिले कृष्णप्रसाद सँग जम्मा ३३ सय लिएको थियो । फिर्ता गर्दा धेरै पटक त्यो भन्दा धेरै फिर्ता गर्ने गरेको छ । कृष्णप्रसादको ऋण भने अझ सकिएको छैन् । अचेल हरिलाई कृष्ण प्रसादको नियतमाथि शंका लाग्न थालेको थियो । त्यही शंकाले गर्दा उसले आफू बेलामा अक्षर चिन्ने हुन नसकेकोमा पछुतो मानिरहेको छ । “दुनियाँमे आकर सब कुछ कमाया, क्या हिरे क्या मोती मगर याद राखो यारो कफनमे गोजी नहि होती” कृष्णप्रसादसँग ऋण लिएको ६ महिनामा हो क्यारे, उसले खेतको एक टुक्रा बेचेर ४ हजार जति फिर्ता गरेको जस्तो लाग्छ । १७ वर्ष अगाडिको कुरा अहिले ठ्याक्कै सम्झना छैन । यदी लेख्न जान्ने भए लेखेर राख्ने थियो होला । हरिको हिसाबमा कृष्ण प्रसादको ऋण त्यहीँ चुक्ता भएको छ । कृष्णको हिसाबमा भने ब्याज पनि नपुगेको भनेको थियो । बेलाबखतमा आपत विपत्का बेला हात थाप्नु पर्ने त्यसै सँग भएकाले हरिले उबेला मुख फर्काएन । मुख नपर्काए पनि मनमा लागि रहेको थियो । यति पैसा दिँदा पनि कसरी ब्याज पुगेन ? भन्न केही सकेन । त्यो भन्दा पछि धेरै पटक १,२,४,६ र १० हजार सम्म गरेर कृष्ण प्रसादलाई दिँदै आएको छ । जति गर्दा पनि उसको सावाँ त परको कुरा भैगो, ब्याज पनि चुक्ता भयो भनेको छैन् । हिन्दीमा एउटा भनाइ छ “दुनियाँमे आकर सब कुछ कमाया, क्या हिरे क्या मोती मगर याद राखो यारो कफनमे गोजी नहि होती”, हरिलाई यति कुरा कृष्ण प्रसादलाई सम्झाउने मन छ । सम्झाउन चाहान्छ । मनमनै यही भनाइलाई कृष्णका अगाडि हुँदा खुब दोहोर्याएको छ । मुख खोल्न सक्दैन् । जेठी छोरी १५ वर्षकि पुगेकी छे । बिहे गरेको दुईवर्ष नपुग्दै जन्मिएकी थिई । अहिले ९ कक्षामा पढ्छे । कहिलेकाहीँ कृष्णप्रसादले हरिसँग पैसाको किचलो गरेको सुन्दा उसलाई लाग्छ, “बुवाले ३३ सय मात्रै लिएको कपाली तमसुकमा कति लेखेको रहेछ ? हेर्न पाएको भए ।”, हरिलाई यो कुरा धेरै पटक भनेकी छे । भोलि कुनै आपत् आइलाग्यो भने कृष्ण प्रसादले सहयोग नगर्ने हुन् कि सोचेर कृष्णसँग यो कुरा राख्नै सकेको छैन । हरिकी जेठी छोरी बुझ्ने भएकी छे, उसले कृष्ण घरमा ऋण उठाउन आएको बेला गरेको ज्यादती देखेकी, भोगेकी छे । भन्न केही सकि रहेकी छैन । भन्न सक्ने आँट पनि छैन । ऊसँग लिएको ऋण भोलि कुनै समस्या पर्दा उसले सहयोग नगर्ला कि भन्ने पीर पाँच महिना अगाडिको कुरा हो । पुतली पानी ल्याएर आउदै थिई, फर्कदा कृष्ण प्रसादलाई घरको आँगनमा देखी । कृष्णले बाख्रा खोरबाट सबभन्दा ठूलो खसी निकाल्दै थियो । हरिले के भनेको थियो खै ? उसले सुनेकी छैन । कृष्णले हरिलाई भन्दै थियो, “यो खसी त के १७ वर्षसम्म तैँले लिएको ब्याज मात्रै जोड्ने हो भने तेरो सात पुस्ताले तिर्न सक्दैन । मैले त गाँउको केटो इमान्दार छ, भनेको काम गर्दिन्छ भनेर तेरो उठिबास लाएको छैन ।”, यति भन्दाभन्दै कृष्णले हरिलाई तेरी छोरी खै हलक्क बढेकी छ । बिचार गर है । बढेकी छोरीको भर हुँदैन । बाहिरबाहिर हिन्न नदे भनेको पनि सुनी । यति भन्दै खसी डोर्याएर हिँडेको थियो कृष्णप्रसाद । हरिकी स्वास्नी यसैको प्रन्ध दिनपछि भैँसीलाई घाँस हाल्दै हुन्छे । हरि घरमा हँुदैन् । कान्छो छोरो आँगनमा खेल्दै गरेको हुन्छ । पुतली खाना बनाउँदै हुन्छे । यसैबेला कृष्णप्रसाद हरिको घरमा पुग्छ । कृष्णलाई देखेपछि हरिकी जेठी छोरी पुतलीले पानी ल्याएर दिन्छे । पानी समाउँदा उसले अलि अशोभनीय हर्कत गर्छ । हरिकी स्वास्नीले देखेकी हुन्छे । त्यसपछि कृष्णले गरेको व्यवहारको कुरा घरमा हरि र उसकी स्वास्नीबीच हुने गरेका छन् । यसलाई लिएर उनीहरू चिन्तित र गम्भीर पनि देखिन्थे । कृष्ण प्रसादलाई भन्न केही सक्दैन थिए । भन्न नसक्नुको एउटै कारण थियो । उसँग लिएको ऋण भोलि कुनै समस्या पर्दा उसले सहयोग नगर्ला कि भन्ने पीर । बाख्रालाई जङ्गलमा लिएर चराउनु पर्छ । धेरै जसो त यो काम केही वर्ष यता हरि आफँैले गर्दै आएको छ । छोराछोरीलाई स्कुल पठाएर । स्कुल बिदाको समय पर्यो भने पुतलीले सघाउँछे । हरि गोठाला गएको दिन कृष्णप्रसाद उसैसँग बाख्रा लगाई दिन्छ । पुतली जाँदा ऊ पनि जान्छ । हरिले सुरुमा यसलाई जति सकारात्मक रुपमा लिएको थियो अहिले त्यसै रुपले बुझेको छैन । कृष्णको व्यवहार उसले फरक किसिमले बुझ्न थालेको छ । दाइ, तपाईँसँग ऋण छोरीको जवानी सँग साट्नलाई लिएको हैन । मान्छेलाई भोलिले कति सताउने रहेछ । भोलि तिर्न सकि हालिन्छ भनेर लिएको ऋण हरिका लागि त्यो भोलि अझै आएको छैन । तिरेर नसकिने भोलि कस्तो भोलि रहेछ । आज हरिका परिवार माथि त्यही ऋणलाई देखाएर कृष्ण प्रसादले अन्याय गरिरहेको छ । अझ पनि त्यही भोलि जुन भोलि उसलाई घर न घाटको बनायो । हरिले त्यसैमाथि चिन्ता गर्नु परेको छ । साँझको समय थियो । दोकानमा नुन लिन भनेर गएकी पुतलीलाई कृष्णले साहुको रवाफ देखायो । रक्सीले मात्तिएको रहेछ । छेउमा हरि बसेको थियो । हरिकै अगाडि उसले पुतलीको वक्षस्थलमा हात पुर्यायो र भन्यो “हरि, आज रात मसँग पठाइ दे तेरो ऋण चुक्ता”, आजसम्म दयाको सागर, सहयोगी हृदयको मालिक भनेर मान्दै आएको कृष्णबाट हरिले अहिले के सुन्नु पर्यो । कुन बुवाले गर्न सक्ला ऋण चुकाउन छोरीलाई देहव्यापारमा संङ्लग्नता ? हरिलाई त्यस बखत के गर्ने के गर्ने भो । उसले आँखा देख्न छोड्यो । आँखा अगाडि एक किसिमको कालो बादल डम्म छायो । त्यसै बखत पुतलिले रुन्चे स्वरमा “बा“ भनेर बोलाई । पुतलीको आवाजले उसका आँखा खोलिदियो । हरिका मनमा धेरै ठूलो हलचल नभएको हैन । यति हुँदा पनि उसले धेरै भन्न सकेन । केबल यत्ती भन्यो । “दाइ , तपाईँसँग ऋण छोरीको जवानी सँग साट्नलाई लिएको हैन ।” कृष्ण प्रसादले यति सुने पछि पुतलीलाई छोडेर हरितिर हेर्यो । हरिले भुइँतिर । #भोजराज घोडासैनी
नेपालको 'गोदान' बजारमा: साहित्यपोस्ट लघुकथाकार विनोद नेपालको लघुकथा संग्रह “गोदान”को सामूहिक विमोचन गरिएको छ । लघुकथाकार विनोद नेपालले ४० को दशकदेखि लघुकथाहरू लेख्दै आएका छन् । उनको “गोदान”मा ५६ थान लघुकथाहरू संग्रहित छन् । लघुकथा संग्रहभित्र स्रष्टा विधान आचार्यको भूमिका र दीपक लोहनीको लघुसमीक्षा रहेको छ । प्रमुख अतिथिका रूपमा नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको उपस्थिति रहेको विमोचन कार्यक्रममा विशेष अतिथिका रूपमा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नियात्राकार पवन आलोक, स्रष्टाहरू दीपक लोहनी, प्रकाश घायल र जानू धिताल रहेका थिए । भूगोल साहित्य समाजका उपाध्यक्ष दिनेश विक्रम थापाको सभापतित्त्व रहेको उक्त कार्यक्रमको सञ्चालन शैलेन्द्रकुमार शाहले गरेका थियो । संग्रहलाई भूगोल साहित्य समाजले प्रकाशन गरी बिमोचन गराएको हो । कार्यक्रम दरवारमार्गस्थित भूगोल साहित्य समाजको सभाहलमा भएको थियो ।
समाजले हेपेको पेसाको कथाः लम्फु: – नाम के हो नि ? “मेरो आफ्नो नाम छैन ।” – नाम भन्न डर लाग्छ ? “ साँच्चै के , मेरो नामै छैन ।” – के भनेर बोलाऊँ त ? “जे मन लाग्छ त्यै !” – उसो भए सुन्तली है त ! “म सुन्तला जस्ती छु र ?” – हेर्दा तेस्तै देखिन्छ । चाखेपछि थाहा हुन्छ । “ चाख्नेले त खुर्सानी जस्तो छु भन्छन् ।” –भन्नाले तिमी जुठो खुर्सानी पो हौ ? “किन ? जुठो चल्दैन र तपाईंलाई ?” –चोखो खानुको छुट्टै मजा हुन्छ नि ! हाहा । “ यो ठाउँ नै यस्तो । अनि घरको नि जुठै त होला नि !” – त्यही भएर त यता आको नि ! “ ल ल , अब गफ मात्र हो कि काम पनि ? तपाईंको त गफ मात्र त हो ! हाहा ।” “आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?” सुन्तलीको पछिल्लो प्रश्नले एकछिन अप्ठ्यारोमा पार्यो मलाई । झ्वाट्ट जवाफ फुरेन । म अल्मलिएँ । बसेको दस मिनेट नहुँदै उनी हतारिइन् । बीस दिन पहिला आउँदा नि गफ मात्र भएको थियो । सुन्तला जस्तै मीठो गफ ! त्यसपछि त मोहनी लागेझैँ भयो । त्यतै मात्र तानिने मन ! मन बलियो हुँदै गए पछि शरिर कमजोर हुने रहेछ । मनले शरीरलाई डोर्याउने रहेछ र आज फेरि मेरो त्यही शक्तिशाली मनले शरीरलाई बसपार्क नजिकको “ रिफ्रेश होटल एण्ड लज” सम्म तानेर ल्याएको छ । म अल्मलिएको देखेर उनले नारायणीको प्रशोधित पानी जसलाई “ टुबोर्ग” नाम दिएको छ , टेबलमा भएको दुई रित्तो गिलासमा भरिदिइन् र मादकताले भरिएको नजरले हेर्यो मलाई । “कति वर्ष भयो? “ उनलाई हेर्दै प्रसङ्गविहीन एउटा प्रश्न राखेँ । “के ? म ?” पहिलाको जसरी नै हेर्दै मेरो प्रश्नको उत्तर प्रश्नमै भनिन् । अनि हाम्रो प्रश्नोत्तर सुरु भयो । हैन , यो पेशा अङ्गालेको ! “तीन वर्ष जति ! एसएलसी दिएपछि हो ।” दिक्क लाग्दैन ? “आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?” अँ , भैसक्यो ! –कति वर्ष भयो ? तीन वर्ष ! –दिक्क लाग्दैन ? त्यो मेरो पेशा हैन । आफ्नो पेशादेखी सन्तुष्ट छु । –के गर्नु हुन्छ नि , तपाईं ? उनले मलाई फेरि थुनामा पारिन् । अघिसम्म जे जति भनेँ , सबै सत्य भनेँ । पेशाको कुरा ! भनौ कि नभनौ भयो । भनेँ भने हाम्रो बसाई यो भन्दा अघि बढ्दैन , यो थाहा छ । मैले प्रसङ्ग मोड्न चाहेँ । – कति पढेकी छौ ? “बाह्रको जाँच देर बसेको ।” – कुरा मीठो गर्छौ नि ! “ कुरा मात्रै ? म मान्छे नि मीठो छु ।” खुर्सानी त पिरो पो हुन्छ । “ खुर्सानी जति पिरो , उत्ति मीठो । हाहा ।” उनले मलाई फेरि अलमलमा पारिन् । हुन पनि हो , पिरो नहुने खुर्सानी के खुर्सानी ? खुर्सानीको आफ्नो धर्म भन्नू नै पिरो हुनु न हो ! के भनौं के भएँ , म । यतिबेला सम्ममा हामीले दुई बोतल बियर रित्याई सकेका थियौँ । त्यसपछि मेरो आँखा हो कि मन हो अलि अलि घुम्न थाल्यो । रमरम , झमझम भयो मन । म उनलाई एक तमास हेर्न थालेँ । उनी बेडबाट जुरुक्क उठिन् र लगाइरहेको जिन्सको निलो ज्याकेट खोलिन् र म नजिकको चेयरलाई लगाई दिइन् । जिन्सको बाक्लो आवरण फालेपछि उनी देखा परिन् ( भित्री पातलो सेतो आवरणमा ! देखेपछि उनको त्यो रुप एक झट्का सानो विद्युतीय तरङ्ग मभित्र सल्बलायो । मलाई चलाएर गयो । एक्कासी वैशालीकी नगर वधु आम्रपालीको याद आयो । लाग्यो, उनी पनि यस्तै त थिइन् होला , जसले देख्यो मन र शरीरमाथि नियन्त्रण लिन नसक्ने भयो ! म झनै हेर्न थालेँ उनलाई । हेरिरहेँ , उनलाई । उनी अर्को बेडमा गएर बसिन् । म एक्लो भएँ । अघि सम्म सङ्गै थियौँ, एउटै बेडमा । बस्ने बित्तिकै उनी फेरि उठिन् र ज्याकेट भएको ठाउँमा आइन् , पकेटबाट चुरोट निकालिन् , एस्ट्रे नजिकको लाइटर उठाइन् र बालिन् सूर्य चुरोट । मलाई चूरोट मन पर्दैन । चुरोट तान्ने मान्छे त झनै मन पर्दैन । उनले चुरोट स्वाट्ट तानिन् र “ तान्नु न तपाईं नि !”, भन्दै म तिर चुरोट बढाइन् । “ भो चुरोट त कैले नि खान्नँ !”, यो भन्दै म झ्यालतिर गएँ । उनी पुनः पल्लो बेडमा बसिन् । झ्या लको पर्दा हल्लेको हो कि मन ? मन हल्लेको हो कि तन ? तन हल्लेको हो कि मात्तेको ? झ्यालको नजिक पुगेर बिस्तारै हल्लेको पर्दा एक कुनामा जम्मा पारेर बाहिर हेरेँ । बस , ट्याक्सी , बाइकको चाप बिस्तारै कम हुँदै रहेछ । यति बेलासम्ममा म कोठा बाहिरको वातावरणदेखि अनविज्ञ थिएँ , यद्यपि ट्याक्सी , बाइक तथा बसहरूको आवाज भने सुनिरहेकै थिएँ । छेउछाउका पसल र दोहोरी साँझमा बजेका विभिन्न हिन्दी र नेपाली गीतहरू पनि मसम्म आउँदै थिए । कोठा बाहिरबाट मैले आफूलाई कोठाभित्र ल्याएँ । कोठा अनि आफैलाई नियालेँ । म , उनी , रित्तो बियरका बोतल , रित्तो प्लेट , एस्ट्रे , चुरोटको ठूटो , दुईवटा रित्तो बेड, भित्ताको एक कुनामा चुपचाप सङ्ग बसेको टिभी सेट अनि भित्तामा विपाशा र जोन अब्राहमको एउट ठूलो आकर्षक अनि कामुक तस्बिर ! तस्बिर हेर्न थालेँ । हेरिरहेँ ,एकछिनसम्म । “ तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?” “ तपार्इँ घरमा नि यस्तै स्लो हो ?”, एक्कासि प्रश्न गरिन् उनले । म उनीतिर फर्केँ । जुस पिउँदै रहेछ । यो पटक त झन् घाँटी मै समाते जस्तो लाग्यो । म केही बोलिनँ । म फेरि भाग्न चाहेँ । “ तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?”, म उनको नजिकै गएर सोधेँ । “ अघि नै भनिसकेँ नि ! “ निर्धक्क हुँदै भनिन् । “बरु एउटा यो मगाम् है !” मीट आइटमको माग गरिन् , त्यसपछि उनले । मैले “हुन्छ” भनेँ । “ तर ,समाजले त तिम्रो पेशालाई घृणा गर्छन् नि !”, यो पटक उनलाई भित्रबाटै चलाउन खोजेँ । “ साला यो समाज नि अचम्म कै छ । मलाई स्वीकार्छ , मेरो पेशालाई स्वीकार्दैन । मलाई उपभोग गर्छ , आनन्द र सन्तुष्टि लिन्छ तर यो पेशालाई घृणा गर्छ । पाखण्डी समाज भनेको यही त हो । ह्या, “छोड्दे यस्ता समाज ! गोली मार ! माई लाईफ माई च्वाईस !”, उनी रुष्ट देखिइन् । समाज प्रति । “ अनि , कस्ता कस्ता मान्छे आउँछ त तिमीलाई भेट्न ?”, यो प्रश्नको उत्तर पाउने आशा थिएन तर उनले मलाई गलत बनाइदिइन् । उनले भनिन् ,“ कस्तो मान्छे चाहियो तपाईँलाई ? सबै खाले आउँछन् । व्यापारी , विद्यार्थी , सभासद , मन्त्री , डाक्टर , पत्रकार सबै आउँछन् । साला, अस्ति एउटा सभासद रातभर बसेर भोलिपल्ट यही पेशाबारे नाना थरी भन्दै थियो । पत्रपत्रिका , एफ एम , सामाजिक सञ्जाल सबैतिर त्यसकै चर्चा ! उनलाई उक्त सभासददेखि अलि बढी नै रीस उठेको रहेछ । करिब पाँच मिनेट जति लाग्यो , त्यो टपिकबाट बाहिर आउन । त्यसपछि उनी बेडबाट उठिन् । नजिकैको टावल कम्मरमा बेरिन् र पेन्ट खोलिन् । म चाहिँ देखे नि नदेखे झँै गरि बसेँ । एक्कासी पछाडिबाट उनको हात मेरो कपालमा सल्बलाउन आइपुग्यो । कस्तो अप्ठ्यारो लाग्यो । थाहा छैन किन ! सायद म शारीरिक अनि मानसिक रुपले तयार थिइनँ । म तात्न सकिरहेको थिइनँ । उनी भने मलाई उक्साइरहेकी थिइन् । एकपटक मेरो नजर फेरि भित्ताको विपाशा ,जोनमा गएर अडियो । दुबैले मलाई गिज्याएको जस्तो लाग्यो । आफ्नो यस्तो अवस्था देखेर आफैलाई लाज लाग्न थाल्यो । पहिलो पटक हुँदै थियो यस्तो । “ नट नाऊ !” एक्कासि मेरो मुखबाट यो शब्द हामफाल्यो । “ देन ह्वेन ?“ उनको प्रश्न आयो । “ ह्वेन द होल सिटी स्लीप्स !” मेरो उत्तर । “ यु आर अ कोल्ड गाय ?” उनको प्रतिक्रिया । थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीरमाथि ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिलेसम्म उठ्छ शारीरिक तृष्णाको छाल ? उनको पछिल्लो लाइनले मलाई फेरि हान्यो भित्र कतै ड्याम्म ! मैले आफैंलाई चिमोटेर हेरेँ । दाहिने हात छातीको देब्रे कुनामा थुपुक्क राखेर हेरेँ । म ठिकै भएको थाहा पाएँ । मैले घर सम्झेँ । घरको रातहरू सम्झेँ । हिजोसम्म बिताएका यस्तै होटलका रातहरू सम्झेँ । तैपनी तात्न सकिनँ । त्यसपछि म फेरि उनलाई अन्तै डुलाउन चाहेँ र भनेँ , “ घर कहाँ हो नि ? अनि घरमा को को छ त ?” “ तपाईं पत्रकार हो कि ग्राहक ? कति केरकार हो ?”, उनी झर्केजस्तो लाग्यो मलाई यो पटक । “ ह्या , यस्तै हो भने जान्छु म !” यति भनेर उनी अर्को बेडतिर लागिन् । अनि मलाई हेर्न थालिन् । उनले जान्छु भने पनि उनी जाँदैन । यो मलाई थाहा थियो । किनभने यो उनको धन्दा हो र धन्दामा बेइमानी गर्दैनन् उनीहरू र अर्को कुरा उनले ५ जनाबाट पाउने रकम म एक्लैले लगानी गरेको थिएँ ! थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीरमाथि ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिलेसम्म उठ्छ शारीरिक तृष्णाको छाल ? विगत ५ वर्षदेखि यसरी नै म मेट्न खोज्दैछु थुप्रै थुप्रै सुन्तलीहरूसँग , साटेर मेरो शरीर ! खै त तृष्णाको यो छाल कम भएको ? “ म दुबै हुँ !” म अचानक चिप्लिएँ । चिप्लिए पछि थाहा भयो भन्न नहुने कुरा भनेछु भनेर । अघि सम्म मलाई हेरेर बसेको मान्छे मेरो उत्तर सुनेपछि घोप्टो पर्यो । केही बोलेन । एघार क्लासको बीच तिर हो , द्वन्दकालको कुरालाई लिएर बुवाको झगडा भएछ । अनि बुवाको कम्मर भन्दा तलको भाग नचल्ने भएछ । करीब पाँच मिनेट पछि उनी बिस्तारै बोल्न थाली, “ तपाईं केलाई घर भन्नुहुन्छ ? ढुङ्गा , सिमेन्ट , रड , बालुवा , काठले बनेको भौतिक संरचनालाई घर भन्नुहुन्छ भने त्यो घर मेरो पनि छ । त्यो घरमा बा छ । आमा छ । भाइ पनि छ । बहिनी पनि छ । तर घर भएर पनि घर विहीन मान्छे हुँ । सबै भएर पनि एक्लो मान्छे हुँ । अचेल घर भन्न पनि मलाई डर लाग्छ । बुवा भन्न पनि घृणा लाग्छ । आठ कक्षामा पढ्दै थिएँ , म आफ्नै बुवाबाट यौन हिंसाको सिकार भएको , आफ्नै घरमा । बुवाले मलाई पहिला त कुरा बाहिर ल्याइस् भने मार्छु भनेर डर देखाउनु भो , पछि चाहिँ मैले जे भन्यो त्यही पूरा गर्दिनु भो । बिस्तारै ममा पनि लत बस्यो । एसएलसी दिने बित्तिकै मेरो विवाह भयो तर बुवाको लत छुटेन । एक न एक बहाना बनाएर हरेक महिना मलाई लिन आउनु हुन्थ्यो । यही बीचमा बस दुर्घटनामा बूढाको मृत्यु भयो । त्यसपछि माइतमै बास धेरै भयो । घरसङ्गको नाता तोडिदिएँ । छुट्न छुट्न लागेको पढाइ सुरु गर्छु भनेँ । बुवाले मान्नु भो । अनि म काठमाडौँमा कोठा लिएर पढ्न थालेँ । एघार क्लासको बीच तिर हो , द्वन्दकालको कुरालाई लिएर बुवाको झगडा भएछ । अनि बुवाको कम्मर भन्दा तलको भाग नचल्ने भएछ । त्यसपछि …. “ सुन्तली ! “ म अचानक बोल्न पुगेछु । “ सुन्तली हैन , नवीना हो , मेरो नाम !” भुइँतिर हेर्दै उनले आफ्नो नाम बताइन् । केही बेर अघिसम्म प्यार प्यार बोलिरहने , जिस्की रहने मान्छे एकाएक शान्त र गम्भीर भयो । “ म नवीन , सिटी एक्स्प्रेस दैनिकको सम्पादक । तर विश्वास गर , म तिम्रो जीवनको यो पाटो सभासदले जस्तो बाहिर ल्याउने छैन तर एउटा शर्त छ !”, म नि अलि भावुक भएर भनेँ । मलाई थाहा छैन , नविनाको कथा कति साँचो हो , कति झुठो हो । उनी मेरो लागि नविना होला । अरुको लागि रविना अनि अर्कै अर्कोहरूको लागि सुविना , कविना आदि आदि तर पनि पत्याएँ , मैले उनको कथा । “ कस्तो शर्त हो ?” ,मलाई हेर्दै बोली नविना । “ आजबाट तिमी कसैको लागि यहाँ आउने छैनौ । ” म निक्कै भावुक हुँदै भनेँ । केही घन्टा अघि नविनाको शरीर किन्न आएको मान्छे म ! मैले त्यो कुरा भुलेछु । उसकै शरीरसङ्ग खेल्न आको मान्छे अब “नखेल यो घिन लाग्दो खेल ” भन्न थालेछु । विचारको कस्तो खेल हो यो ? विचारको यो तरलता ! विचारको यो द्वैधता ! विचारको यो परिवर्तनशीलता ! “ तर पेट मेरो मात्र छैन । बुवा प्यारालाइज भए पछी सबै लथालिङ्ग भयो । घरको पेट नि मैले नै हो हेर्ने ! यो पेशाबाट राम्ररी चल्दैछ , पेटहरू ! ” म फेरि के भनुम के भयो । नविनाको कथा र व्यथा मैले हटाउन पनि त सक्दिनथेँ । म चुप लागेँ । बोल्ने कुरा नभए पछि मान्छे असाह्य हुने रहेछ । म नविनाको अगाडि त्यही बनेँ । “ हुन्छ , म प्रयास गर्छु ! आज कसैले यति भन्यो । सधैँको फलाम जस्तो गरुङ्गो मन आज कपास भयो ।”, नविनाको मधूरो आवाज सुनेँ । पुलुक्क हेरेँ उनलाई । कस्तो अप्ठ्यारो लाग्यो । उनले पनि मैले जसरी नै हेरिन् मलाई र बसेको ठाउँबाट उठेर आइन , हग गरिन् र भनिन् , “ सुत्ने हैन अब ?” “ सुत्ने ?”, म आफैंसङ्ग कुरा गरेँ । “ हुन्छ ,सुतौ न त अब !”, मैले स्वीकृति दिएँ । “ यता कि उता ?“ दुबै बेड देखाउदै सोधिन् नविनाले । म एकछिन अक्मकिएँ । दुबै बेड हेरेँ र भने , “जता सुते नि हुन्छ । ठिकै छ ,तिमी यहाँ सुत ,म चाहिँ झ्यालतिरको बेडमा सुत्छु !”, यति भनेर म लागेँ पल्लो छेउको बेडमा र पल्टेँ । पल्टिएरै उनलाई हेरेँ । अचम्म मानेर हेर्न थालिन् । खै किन हो , मैले उनलाई हेर्न सकिनँ वा भनौं हेर्न चाहिनँ । त्यसपछि सिरक घम्लाङ्ग ओढेँ । सिरक ओढेपछि मैले नविना देखिनँ अनि नविनाले मलाई । सिरकभित्र पसेपछि ममा अर्को विचार आयो । मलाई लाग्यो नविनाको कथा फेक कथा हो । नविना आफ्नो वास्तविक जीवनलाई वनावटी कथाको आवरणले ढाक्दै छन् अनि सिरक भित्रबाट सायद भन्दै छिन् , “ क्या लम्फु पत्रकार रैछ यार ! गफ गरेको भरमा नि ५० हजार फाल्छ । हे प्रभू ! यस्तै ग्राहक दिनदिनै मिलाऊ ! ” #हीरा लामा
अनेसासका प्रकाशन हेर्ने गरी थापा र सुवेदी नियुक्त: बेलुकाजी थापा तथा लालगोपाल सुवेदी अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले आफ्ना दुई प्रकाशनका लागि नयाँ प्रधानसम्पादकहरू नियुक्त गरेको छ । आइतबार बसेको समाजको बैठकले ‘अन्तर्दृष्टि’ र ‘दर्पण’का लागि क्रमशः बेलुकाजी थापा र लालगोपाल सुवेदीलाई नियुक्त गरेको हो । यी दुई प्रकाशनमध्ये ‘अन्तर्दृष्टि’ छापा त्रैमासिक पत्रिका हो भने ‘दर्पण’ अनलाइन प्रकाशन हो । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाद्वारा राखिएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको थियो । यसअघि ‘अन्तर्दृष्टि’का प्रधानसम्पादक दीप पाठक थिए भने ‘दर्पण’का प्रधानसम्पादक लालगोपाल सुवेदी थिए । सुवेदी भने यस पटक पनि दोहोरिएका हुन् । दुवैको कार्यकाल दुई वर्षको रहने छ । #अनेसास #बेलुकाजी थापा #लालगोपाल सुवेदी
अनेसासको कोरोना संस्मरण प्रतियोगितामा तमु प्रथम: साहित्यपोस्ट अनेसास, नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् । प्रतियोगितामा वीएस निरबले द्वितीय र तारानाथ पराजुलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै प्रतियोगितामा कान्ति पौडेल, डा. कालु शर्मा सुवेदी, कुशुमकेशव पराजुली, गगन थापा मगर, गोपाल खनाल, तीलक पौडेल, दिलिप दोषी, लिलि अधिकारी त्रिपाठी, सन्दीप खत्री र सुमन श्रापित उत्कृष्ट १० मा पर्न सफल भएका छन् । अनेसास, गण्डकीले २०७७ वैशाख १७ गते पहिलोपटक संस्मरण आह्वानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचनानुसार थप ३५ दिन समयावधि थप गरेर २०७७ साउन ३ गतेसम्म संस्मरण आह्वान गरेकोमा ३७ संस्मरण संकलित भएको गण्डकीका महासचिव असफल गौतमले बताए । कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश संयोजक सरिता अर्याल, गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा र महासचिव असफल गौतमको तीन सदस्यीय प्रारम्भिक छनौट समितिबाट चयन गरिएका १३ संस्मरण अन्तिम नतिजाका लागि अकारादि क्रममा लेखकको नाम नराखीकन अनेसास गण्डकी जनाउने समितिको कोडमा मूल्याङ्कन समिति समक्ष पेश गरिएको थियो । अन्तिम निर्णयका लागि साहित्यकार प्रतीक ढकाल, विधान आचार्य र प्रभा बरालको तीन सदस्यीय समितिले INLSG-F कोड नम्बरको ‘लकडाउनमा मेरो अनुभूति’ शीर्षकको संस्मरण प्रथम, INLSG-J कोड नम्बरको संस्मरण ‘कोरोना म कुन देशको शरणार्थी’ शीर्षकको संस्मरण द्वितीय र INLSG-G कोड नम्बरको ‘कोरोना कहरसित भविष्यको रहर’ शीर्षकको संस्मरणले तृतीय स्थान प्राप्त गरेको नतिजा आयोजक समितिलाई प्रदान गरेको थियो । प्रतियोगितामा प्रथम हुनेले ११ हजार एक सय ११, द्वितीयले पाँच हजार पाँच सय ५५ र तृतीयले तीन हजार तीन सय ३३ रुपैयाँ नगदसहितको सम्मान र उत्कृष्ट १० ले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले साहित्यपोस्टलाई जानकारी दिए । कार्यक्रम संयोजक अर्यालले विजयी प्रतियोगीलाई बधाई र प्रतियोगितामा सहकार्य गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै पुरस्कार वितरण कार्यक्रम कोरोना कहरको महामारी कम भएपछि पोखरामा औपचारिक कार्यक्रमबीच अर्पण गरिने बताइन् । उपाध्यक्ष घायलश्रीले प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै निकट भविष्यमा उत्कृष्ट संस्मरणसहितको कृति प्रकाशन गर्ने अभियानमा प्रदेश समिति रहेको बताए ।
नयाँ नियमसहित फोटो कविता प्रतियोगिता १० का लागि कविता आव्हान: साहित्यपोस्ट साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको दशौँ संस्करणका लागि नयाँ नियमसहित कविता आह्वान गरिएको छ। नयाँ नियम अनुहार एकपटक पुरस्कृत भइसकेका कविलाई पुनः प्रतियोगितामा समावेश नगरिने कुरा निर्णाक मण्डलले जनाएको छ । यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाईनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका नौवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । दशौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ । एकै कविलाई पटक पटक पुरस्कृत गर्नुपर्ने अवस्था आउन सक्ने अवस्थालाई ध्यानमा राखेर एकपटक उत्कृष्ट तीनमा पर्न सफल कविलाई पुनः प्रतियोगितामा समावेश नगर्ने निर्णय गरिएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालले बताएका छन् । प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरू प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितास\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो सोमबार अर्थात भदौ १ गते राति १२ बजेसम्म रहेको छ । प्राप्त कविताहरूबाट विज्ञ एवं स्वतन्त्र कवि तथा समीक्षकहरूको रहोबरमा भोलिपल्ट भदौ २ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटकको फोटो र कविताको विषय रहेको छः ‘ अन्तर्दृष्टि’ वा ‘भाैतिकता’ यी दुवै विषयमध्ये तल दिइएको तस्बिरमा रहेर एक, जुन कुराले कविको मन छुन्छ, त्यही विषयमा रचना पोस्ट गर्न सक्नुहुनेछ । हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः #फोटो कविता प्रतियोगिता
नेपालको नक्सामा अब कहिल्यै नभेटिने एउटा गाउँ: फाँटिलो ठाउँ रहेछ लाङटाङ गाउँ । पूरै दक्षिण फर्केको एकदमै घमाइलो पाटोमा बसेको रहेछ यो ठाउँ । आज राम्ररी घाम नलागेको दिन हो, तैपनि धेरै जाडो हुन पाएको छैन । यतातिर पाइने वनस्पतिहरू अब एकदमै ससाना पोथ्रापोथ्रीहरूमा वामनावतारित भइसकेका छन् । तर लाङटाङ खोलापारि चाहिँ अझै पनि सल्लाको कोणधारी वन देखिदैछ । खोलावारि र खोलापारिको वनस्पति जगतमा किन यति धेरै फरक परेको रहेछ भनेर यसो ध्यान दिएर हेरेको त खोलापारिको डाँडाको शिरमा हिउँ भए पनि त्यो स्थायी हिमाल हो जस्तो लागेन । तर यतापट्टिको पाखो जहाँ हामी हिँडिरहेका छौँ— यो त पूरै लाङटाङ लिरुङको दक्षिणी पाटो पो हो रहेछ । सधैँ हिउँको टोकसो खप्नु पर्ने भएकाले यतापट्टि त बिरुवाले हुर्कने सामथ्र्य नै नराख्दा रहेछन् । लाङटाङ लिरुङ आफैँ पनि अलि तल झरेर सुत्छ कि क्या हो राति राति ? तल पहराको बीचमा त डबल बेड साइजको हिउँको ओछ्यान पो देखिदैछ त । हुन पनि प्रकृतिले विचित्र विचित्र लीला गर्छ । यो हिउँको ओछ्यान किन बनाउनु परेको होला यो पहराको मध्य भागमा ? आप्mनो ग्लेसियर अर्कोतिरबाट खसाले पनि यो टर्बाइन मात्र चलाउने पानी किन खसाल्न परेको होला यतातिर ? माथितिर लाङटाङ लिरुङको ७२३४ मिटर अग्लो शिखर भए पनि बीचमा यो कालो चट्टानको डाँडो निकालीकन यो बस्ती बस्ने यस्तो फराकिलो ठाउँ किन निकाल्नु परेको होला ? एक त यस्तो पारिलो ठाउँ छ, फेरि त्यसैलाई किन सिमसारको जस्तो गजगजे पानीले भिजाउनु परेको होला ? हिमाल सुत्ने हिउँकै ओछ्यान प्रकृतिको रचना विचित्रको छ— किनकि प्रकृति स्वयं नै विचित्र छ । भिलेजभ्यू होटल एण्ड लजमा भारी बिसाएपछि म फुक्काफाल भएको छु । एड्भान्स माउण्टेनियरिङ तालिमका प्रशिक्षार्थी र गुरुहरू आफ्नै धन्दामा लागिसकेका छन् । उनीहरू डोरी गाँठो पार्छन्, ठाउँ ठाउँमा क्याराविनरहरू झुण्ड्याउँछन्, कम्मरमा विभिन्न औजार र उपकरणहरू भिरेका माला (हार्नेस) बाँधेर नाच्न ठिक्क परेका धामीझैं देखिन्छन्— बेला बेलामा । पूरै जामा पगरी लगाएर ढोल ढ्याङ्ग्रो ठोक्दै, घुङ्रिङ खेलाउँदै हिँडेको धामी जस्तै देखिन्छन्— यिनीहरू पनि कति कति बेला त । म पनि झुक्किन्छु कि जस्तो लाग्छ । कतै– “हेरीऽऽऽ परमेश्वर” भन्दै मा ग पो तेस्र्याउने हूँ कि जस्तो पनि लाग्छ । फेरि अर्को मनले सोच्छु— नेपालका परमेश्वर त यिनै हुन् वास्तवमै । आपा एउटा परमेश्वर । छेवाङ ङिमा अर्को परमेश्वर । आङरिता, सुङ्दरे, काजी, टेण्डी, पेम्बा, लाक्पारिता, ल्हाक्पा, लाक्पागेलु, बाबुछिरी, दा गोम्बु, लाम्बाबु र तेञ्जिङहरू— सबै सबै नै हाम्रा परमेश्वर । अरूले गर्नै नसक्ने दुःसाध्य कर्महरू जसले गर्छ त्यही नै होइन त परमेश्वर ? अनि जसले त्यस्तै कर्महरूको इतिहास रच्छ, त्यही होइन त परमेश्वर ? वास्तवमै हाम्रा हिमाली सन्दर्भको कुरो गर्ने हो भने त यिनै हुन् हाम्रा परमेश्वर । यिनीहरूले जति गरेका छन् त्यति त अरू कसैले गरेकै छैन । गर्ने कल्पना पनि गर्न सक्दैन । मुकं करोति वाचालम् अर्थात् जसले लाटालाई पनि बोल्ने बनाउन सक्छ भनेर मात्र चित्त नबुझेपछि भगवान्को अद्भूत शक्तिको प्रशंसा गर्दै पछिल्लो पंक्ति थपियो— पंगुम् लङ्घयते गिरिम् ……… अर्थात् जसले लंगडालाई पनि पहाड नघाउन सक्छ । अब भन्नोस् त, जसका कृपाले एउटा खुट्टै नभएका थोमस ह्विट्याकर सगरमाथाको शिखरमा पुगेर सकुशल फर्कन सके, जसले दृष्टिविहिन एरिक वाइनमेयरलाई सगरमाथाको शिखरमा पुर्याएर सजिलैसँग फर्काए— ती ‘परमानन्द माधवम्’ नभएर को हुन् त ? अनि अब तपाईँ नै भन्नोस्, यस्ता शक्तिशाली मान्छेहरूलाई यत्कृपा तमहम् वन्दे भन्दै नहिँडेर के गर्ने त ? कतिपयलाई लाग्दो हो, यो पर्तिकेले जहिले पनि शेर्पालाई अनावश्यक रूपमा उचाल्छ, अरू केही कुरो नपाएर यी भोटेलाई भगवान् बनाउँछ । तपाईं आफ्नो विचारमा सत्य नै हुनुहुन्छ होला— त्यो म पनि मान्दछु । तर मेरो एक मात्र प्रार्थना छ— एकपटक सगरमाथाको आधारशिविरसम्म पुग्ने कष्ट गरिहेर्नोस् । यदि तपाईं बिनाअप्ठेरो त्यहाँ पुगेर आउनुभयो भने म आफूले गरेका शेर्पासम्बन्धी यी सबै सम्मानसूचक अभिव्यक्तिहरू फिर्ता लिन्छु । तर तपाईंलाई आधारशिविरसम्म पुग्नै यदि साँच्चीकै अप्ठेरो पर्यो भने अनि बल्ल मान्नु होला— वास्तवमै शेर्पाले कसरी नेपाललाई चिनाएका छन् भन्ने कुरा । कति कठिन कार्यले गर्दा उनीहरू विश्वप्रसिद्घ भएका छन् भन्ने कुरा । विश्वास लाग्दैन भने डा. खेम कोइराला बन्धुद्वारा सम्पादित नेपाली पर्वतीय साहित्य : सृष्टिमाथि दृष्टि नामको किताब पढ्नोस् अनि त हाम्रा गौरव आपा शेर्पाले के भनेका रहेछन् भन्ने कुरो त आफैं थाहा पाइहाल्नु हुनेछ नि ! डा. पिली पियरले कक्षा लिन थालेका छन्— रेस्क्यू टोलीलाई यहीँ चिम्नीकै वरिपरि राखेर । यसो हेरेँ— समय त अझै बाँकी छ । मैले त लाङटाङ सहर घुम्नै बाँकी छ । किन प्रयोग नगर्ने यही समयलाई ? यो तामाङहरूको बस्ती हो— कानुनी रूपमा । तर यी तामाङहरू प्रायः शेर्पा भाषा बोल्छन् । हिजोका दिनमा तिब्बतबाट छिर्दा मुस्ताङतिरबाट छिर्नेहरूले गुरुङ लेखाए, पूर्वतिरबाट छिर्नेहरूले शेर्पा लेखाए, तर केरुङतिरबाट छिरेकाहरूले आफूलाई तामाङ लेखाए र त्यही व्यहोराबाट नागरिकता लिए । त्यसैले कानुनी रूपमा तामाङ र व्यवहारिक रूपमा शेर्पा यहाँका बासिन्दाहरू घोडा पालनका पनि शौखिन देखिन्छन् । प्रत्येक होटल, लज, बार, रेष्टुरेण्टहरूमा घोडचढीको सुविधा उपलब्ध छ भनेर सूचना राखेका छन्— अंग्रेजीमा । अलि अग्लो ठाउँमा आइपुगेको छु । पच्चीस/तीसवटा घरहरूको सहरलाई यहाँबाट बडो मग्न भएर नियालिरहेको छु म । साथीहरूको भनाइ अनुसार पुरानो लाङटाङ गाउँ अलि परतिर छ रे जसलाई भोलि बिहानको बाटोले देखाउँनेछ । उनीहरूको भनाइ छ— सबैतिरका गरेर २०० जति घरहरू हुन सक्छन् । लाङटाङ गाउँको रूप घरहरूमा एक किसिमको काष्ठकला पनि देखिदैछ । यो कला काठमाडौँ, ललितपुर वा भक्तपुरको जस्तो उत्कृष्ट त नहोला— तर ठाउँ अनुसार घनघोरै राम्रो छ । प्रयोग गरिएको काठको गुणस्तर, ‘औजार र उपकरणहरू’ तथा शिल्पीले कतै गएर तालीम पाएको कि नपाएको भन्ने आधारमा मूल्यांकन गर्ने हो भने— यहाँको कलालाई तल देखाउनै मिल्दैन । लाङटाङको काष्ठकला निकै धेरै घरहरूमा यस्तै कला देखें । पर्दा सहितको झ्यालमा देखिएको यो कलाले मेलवादेवीको अजम्मरी गलालाई संझायो— “आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।” पानीले माने घुमाइरहेका दृश्यहरू त नेपालको हिमाली भेगको यात्रामा जतासुकै पनि देख्न सकिन्छ । पहिलो पटक ‘शे गुम्बा’ क्षेत्रमा यस्तो देख्दा म अवाक् भएको थिएँ । त्यो धार्मिक भावनालाई पोख्न निकै शब्द खेलाएको थिएँ— हिमालपारि पुगेपछिमा । पछि त खुम्बुतिर, मनाङतिर जता गए पनि यस्तै दृश्यहरू देखिन थाले र म पनि सहज हुँदै गएँ । तर ती सबै ठाउँमा एउटा कुटीभित्र एउटा मात्र माने राखिएको हुन्थ्यो— तर यहाँ त एउटै कुटीभित्र ६ वटा माने घुम्दै गरेको पवित्र दृश्य देखियो । कुटीमा पनि पवित्र तोरण टाँगेको पाइयो । कसो कसो ‘पेनफुल्ली’ रमाइलो लाग्यो । मेरालागि यो नयाँ दृश्य थियो । र, किन किन यसले मनको छेउमा लडाएको पहिरोको घाउ पनि नयाँ नै थियो । एउटै कुटीभित्र ६ वटा माने घुम्दै गरेको ग्लेशियर डकुमुण्टेसन सेन्टर रे । बोर्ड देखेर हेर्न गएँ । यो सानो बन्द घर रहेछ । यो पश्चिमा जगतकै कुनै खेल हुनुपर्छ । होटलकै ठीक पछाडिपट्टि छ एउटा सानो माने जस्तो ठाउँ र टाँगिएका छन् केही लुङता र छोत्तरहरू । अवश्य पनि कुनै सम्मानित स्थल हुनुपर्छ यो— जस्तो कि कसैको समाधिस्थल वा पूजा गर्ने सार्वजनिक ठाउँ । श्रद्धापूर्वक एक फन्को घुमेर फेरि बाटो लागेको छु । बाटो पनि के भन्ने— चारैतिर गज्गजी हिलो छ । पानी होइन; हिउँ जमेको छ सबैतिर । फड्किनका लागि ठाउँ ठाउँमा टेकाइएका ढुंगाहरूमा टेक्दै बाटो लाग्दैछु । वास्तवमै पूरै सिमसार क्षेत्र जस्तै रहेछ— यो लाङटाङ गाउँ त । माथि हिमालतिरबाट झरेका अनेकौं सोता र खोल्सीहरूले पूरै गाउँलाई नै हिलाम्य बनाएको देखिन्छ । एक घरबाट अर्को घरतिर जानु पर्दा पनि ढुंगा ओछ्याएर बनाएको बाटोबाट हिँड्नु पर्ने रहेछ । अझ ठाउँ ठाउँमा त त्यत्तिले पनि नपुगेर सिमेण्टेड स्ल्याबहरू नै हालिएका छन्— बाटो तर्न । सिमसार क्षेत्र हेर्दैछु र देख्दैछु लाङटाङ भ्याली क्लिनिकको चम्किलो साइनबोर्ड । साथमै चम्केको छ लाङटाङ स्वास्थ्य चौकीको फ्लेक्स बोर्ड पनि । खुसी लाग्यो दु–दुइटा स्वास्थ्य संस्थाहरू एकसाथ कार्यरत देखेर । यति भएपछि सिटामोलसम्म त पक्कै पनि पाइएला । जे भए पनि बागमती अञ्चल हो— अझै धेरै सुविधा पो पाइन्छ कि मलाई के थाहा ? मनमा लाग्यो— यहाँ मैले अनुमान गरेको कुरा एउटा पनि नमिलोस् र जनताले धेरै धेरै स्वास्थ्य सुविधा पाइरहेको स्थिति होस् । त्यस्तो भयो भने मलाई सबभन्दा धेरै खुसी लाग्नेछ । प्रहरी चौकी र यसले ओगटेका दुइटा बन्द ढोकाहरूलाई पनि देखें । यो राज्यको उपस्थितिको प्रतीक मात्रै हो । राज्य यहाँसम्म आउन सक्ने भएछ— अहिलेको सन्दर्भमा यही नै ठूलो कुरो हो । यी शान्त गाउँहरूमा सकेसम्म प्रहरीको काम नपरेकै राम्रो । प्रहरी त आखिर ‘ नेसेसरी इभिल ’ न हो । अनि प्रहरी चाहिँ खोई त ? नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन रे— यो सुन्दर संरचना । पर टाँगिएको बोर्डले यसै भन्दैछ । ‘कम्युनिटी एक्सन नेपाल’ले बनाएको रे यसलाई । यो पनि त्यही बोर्डले नै भन्दैछ । एउटा सानो तर राम्रो पुस्तकालय समेत भएको यो सुन्दर विद्यालयभित्रको एउटा करुण कथा चाहिँ यो बोर्डले भन्दै छैन । त्यो चाहिँ आफ्ना प्रिय पाठकहरूका लागि अब म भन्दैछु । त्यो करुण कथा हो— यस्तो सुन्दर विद्यालयमा पनि विद्यार्थी चाहिँ जम्मा १५ जना मात्रै छन् । १ देखि ५ कक्षासम्मको कुल विद्यार्थी संख्या यही हो । शिक्षकहरू जम्मा दुई जना छन् रे । अब भन्नोस् त यो विद्यालयको निर्माण र संचालन लागतलाई १५ जनामा भाग लगाउँदा प्रति विद्यार्थी कति रकम पर्न आउला ? तिनीहरूले पनि पढे त हुन्थ्यो नि ! तर पढ्दैनन् र बीचैमा पढाइ छोडिदिन्छन् । अनि कसरी घट्छ नेपालको ‘ड्रप आउट’ रेसियो ? विद्यार्थी बिनाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय यसो हुनुका पछाडि पनि कारण रहेछ । खास कारण के रहेछ भने यहाँका हुनेखाने र सक्नेहरूले आफ्ना छोराछोरीहरूलाई सकेसम्म काठमाण्डौं वा भारततिर लगेर पढाउँदा रहेछन् । तीभन्दा कम सक्षमले पनि साधारण स्कूलको पढाइ राम्रो हुँदैन भनेर धुन्चेतिर बोर्डसर् राखेर पढाउँदा रहेछन् । अझ धेरै जसोका नानीहरूलाई त विदेशीहरूको ‘स्पोन्सरसीप’मा पढाउन अन्यत्रै लगिने रहेछ । त्यसैले यहाँ पढ्ने नानीहरू भनेका त ‘स्पोन्सर’ भेटिन बाँकी रहेका ‘हुँदा खाने’हरूका सन्तान मात्र रहेछन् । अनि किन नहोस् त स्कूल खाली र सुनसान ? पर एउटा अनौठो घर देख्दैछु । घर अत्याधुनिक छ । छानामा डिस्क एन्टेना देखिदैछ । तर बनाइएको छ— सिधै पहरो कोपेर त्यो मुनि निकालिएको खाल्डो ठाउँमा । पूरै पहरोकै आड, भरोसा र सुरक्षामा निर्मित घर । पहरामै घुसेको त्यो घर फेरि देखें— लाङटाङ मध्यवर्ती उपभोक्ता समितिको कार्यालय । अनि छेउमै त्यही समितिद्वारा गठित ‘लाङटाङ हिउँ चितुवा संरक्षण समूह’को कार्यालय पनि । एउटै घरमा रहेका यी कार्यालयहरूको आँगनबाट नयाँ लाङटाङ गाउँको झण्डै झण्डै पूरै रूप देखिंदैछ । झण्डै झण्डै ७० प्रतिशत जति अटाउँदैछ क्यामेराको लेन्समा । घाम नलागेको साँझमा पनि दृश्य बडो स्पष्ट छ । घाम लागेको भए त झन के के पो हुन्थ्यो होला ? निकै माथिबाट पाइपमा पानी ल्याएर चलाइएको रहेछ एउटा माइक्रो हाइड्रो । पेनस्टक पाइप र पावर हाउस दुवैलाई नजिकै गएर हेरें । तर नचलेको बेला हुनाले त्यसमा जीवनको अनुभूति हुनै पाएन । लाङटाङको उज्यालोः यो सानो माइक्रो हाइड्रो माथि पहरामाथि बाक्लो हिउँको एउटा छहरा देखिंदैछ । आकार यस्तो छ— मानौं कि त्यसलाई भर्खरै मात्र कसैले सभापतिको उच्च आसन ग्रहण गराएको होस् । गाउँको पूर्वी किनाराबाट धेरै पर देखिने क्षितिजमा गाङछेम्पो (६३८७ मि.) हिमाल धमिलो गरी मुस्कुराइरहेछ— त्यो तुँवालोमय हिम काँधभन्दा माथि उठेर । त्योभन्दा अलि सानो च्यार्खुरी अझ धमिलो देखिएको छ अहिले । च्यार्खुरी अर्थात् खोङ्मा पाइने हिमाल रे यो । अहिले त खोङ्मालाई पनि सायद जाडै भएको होला । यी दुईका बीचमा लाङसिसाखर्कको एरिया छ । तर अहिले धमिलो देखिएकोछ— हलुका तुँवालोले गर्दा । कागहरू अझै पनि सानै छन् । चुच्चो पनि कालै छ । तर, ‘गोरोक् गोरोक्’ गरेर कराइरहेका छन् । लाङटाङकै पाखामा डुल्दै गाउँको पूर्वी किनारातिर आउँदैछु । ठाउँठाउँमा खानेपानीका पाइपहरू फुटेका छन् वा पाइपको जोर्नी परेका ठाउँहरूबाट पानीका सिर्काहरू निस्केर जमिनमा परेका छन् । पाइपबाट बाहिर निस्केका पानीका यी मसिना मसिना सिर्काहरूले भुँइभरि नै विचित्रको जादुगरी देखाउन भ्याएका छन् । कँही हिउँको मोती भएर झुलेका छन् त कँही अचम्मका हिउँफूल भएर फुलेका छन् । सिसाका गोला गोला ग्रानुअल जस्ता लाग्ने यी पारदर्शी बुट्टाहरूबाट छिरेको पातलो उज्यालोका धर्साहरूले ठाउँ ठाउँमा इन्द्रेनीहरूको रचना गरेका छन् । सुकेको घाँसको एउटा त्यान्द्रो मात्र भेट्टाए पनि छोडेको छैन प्रकृतिले— त्यसैमा हिउँको फूल फुलाएको छ । झट्ट हेर्दा काँचको रंगीन पेपरवेट वा गुच्चा जस्ता देखिने यी बुट्टाहरू वर्णनातीत छन् । घाँसको त्यही त्यान्द्रो जसको आधारमा यो सिंगै फूलको रचना भएको छ, हेर्दा लाग्छ— यो सृष्टिमा कुनै पनि चिज कम महत्वको छैन । त्यही त्यान्द्राका आधारमा यति सुन्दर फूलहरू फुलाएको छ यो चिसो प्रकृतिले; अनि यही प्राणकै आधारमा यति सुन्दर जीवनको रचना गरेको छ परमेश्वरले । मैले त यिनै फूलहरूभित्रै मृण्मयदेखि चिन्मयसम्मको यात्रा देखें । खै किन किन बुद्ध, शिव र महावीर मात्र होइन, यहीँभित्र मैले त लाहिडी महाशय, स्वामी विवेकानन्द, तैलंग स्वामी, नानक, कबीर, मीराबाई र ओशोलाई समेत देखें । मैले टल्किरहेका यी हिमकणका पुष्पाकृतिहरूमा जीवनको निःसारता र शंकराचार्यलाई मात्र होइन जीवनको सौन्दर्य र रजनीशलाई पनि भेटें । ‘आर्ट अफ लिभिङ’ त थियो थियो— मैले त यी सानै फूलहरूमा ‘आर्ट अफ लभिङ’ र ‘आर्ट अफ डाइङ’ पनि देखें । प्रकृति, तिम्रो जादुगरीलाई यो अकिञ्चनको नमस्कार छ ! हिउँका फू लहरू साँझ पर्दैछ । म घुम्दै घुम्दै यो गाउँको पूर्वी किनारतिर आइपुगेको छु । यो पनि आखिर ढुंगाकै सहर रहेछ एउटा । एकातिर लाङटाङ लिरुङको तल्लोपट्टिको खण्डको विशाल चट्टान अनि अर्कोतर्फ यी ढुंगाकै गल्ली, बाटा, घर र पर्खालहरू । आखिर यो पनि ढुंगाकै साम्राज्य रहेछ । तर राजधानी होइन । यदि यसैलाई ढुंगाको राजधानी मानियो भने फेरि ‘मनाङ’लाई के दर्जा दिने नि ? हाम्रो शब्द भण्डार नै सकिन्छ । त्यसैले यो गाउँलाई ढुंगाको सहर मात्र भनेर छोडौं । यसो गर्दा सबैको इज्जत रहन्छ । फर्केर आउँदैछु । एउटा घरमा झ्याम्टा र ढ्याङ्ग्रो बजेको आवाज सुन्दैछु । ती बीचमा मानिसले थपडी बजाएको आवाज पनि मिसिदैछ त्यहाँ । के रहेछ मलाई उत्सुकता लाग्यो र आँगनमा पुगेर उभिएँ । झट्ट ढोका खोलेर भित्र चियाउने दुस्साहस गर्न सकिनँ र अरगच्च परेर आँगनमै उभिन पुगें । एक जना व्यक्तिले देखे र मलाई भित्र लिएर गए । याञ्जीर गुम्बाको राष्ट्रपूजा देखेदेखि यस्तो उत्सवमा जान म आकर्षित हुने गरेको छु । ती व्यक्तिले मलाई प्लाष्टिकको कुर्सीमा बसाले र अथ्र्याए— मूल लामाले यी तीनजना तन्नेरीहरूलाई कर्मकाण्ड विधिको अभ्यास गराउँदै हुनुहुन्छ । मैले यसो हेरें बूढालामा स्वयं चाहिँ भुइँमा बसेका थिए र आफ्ना चेलाहरूलाई त्यहींबाटै नबुझ्ने भाषामा के के निर्देशित गरिरहेका थिए । मैले आदरपूर्वक उठेर भनेँ— “टाशिदेले ।” सबै खुसी भए । मलाई पुनः बस्नका लागि भने र पुनः उनको निर्देशन चालु रह्यो । नयाँ पुस्तामा जिम्मेवारी सार्दै बूढा लामा तीनजना चेलाहरूले छुट्टाछुट्टै पाना भएको एउटा किताब एउटै स्वरमा भट्याउँथे । एउटा अत्याधुनिक मोकवाला कपालले त्यसैको तालमा ढ्याङ्ग्रो र अर्को साधारण कपालले झ्याम्टा बजाउथे । एउटालाई चाहिँ हातमा के के घुमाउदै किताबको पाना पल्टाउनमै भ्याई नभ्याई थियो । बीच बीचमा ती तालवाद्यहरू रोकिन्थे पनि । कति कति बेला बीच बीचमा थपडी पनि थपिन्थे । एकछिन त परिस्थिति हेरेर मैले पनि थपडी बजाएँ । पुरातन विद्याको अभ्यास गर्दै आधुनिक विद्यार्थी यी लामाले आफ्ना चेलाहरूलाई के सिकाउदै छन् भन्ने विषयमा मैले केही पनि अनुमान गर्न सकिनँ । मैले बुझ्न सक्ने कुरो पनि आएन । तर यो विश्वास, यो समर्पण र आस्थाको यो तहले हाम्रो समुन्नत संस्कृतिको मूल जरोतर्फ संकेत गर्दथ्यो । र, यिनै ठाउँहरूमा जस्तापाताको उपलब्धतासँगै सौदाबाजी गरिएको धर्मले हामीलाई नै गिज्याउँथ्यो र मनको भित्तामा एक किसिमको अनौठो घाउ लगाउँथ्यो । मनले नभनेका कुराहरू प्नि म सुन्दै थिएँ । ऊ भन्न चाहन्थ्यो— तिम्रो पहिचान भनेको यही समुन्नत संस्कृति नै हो— कुनै जस्तापाताको बण्डल होइन । मेरा मनका बुद्घ मनमै ध्यानस्थ थिए । शान्त, करुणामय र निर्विकार ! मेरा कृष्ण अझै पनि ‘परधर्मो भयावहः’ भित्रै थिए । मेरा मनमा बाइवलका दुइटा वचन तरंगिए— एक, “जसले तरवार उठाउँछ त्यसको नास तरवारबाटै हुनेछ ।” र दुई, “शत्रुलाई जित्नेभन्दा आफ्नो मनलाई जित्ने शक्तिशाली हुन्छ ।” मेरो मनले कहिल्यै नहारोस् । सबै ईश्वरहरूसँग मैले माँगेको ‘वर’ एउटै थियो । जतिसुकै आगो लगाउन खोजे पनि नसल्किने मेरो हिमाली ‘घर’ एउटै थियो । र, सामाजिक सद्भाव नामको एउटा अभेद्य पर्खाल— मेरो ‘भर’ पनि एउटै थियो । लेखकीय टिप्पणी : माथि वर्णित यही लाङटाङ गाउँ चाहिँ नेपालको नक्सामा अब कहिल्यै पनि भेटिने छैन । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले त्यही पहरोमा घुसेको एउटा घरबाहेक यो सिंगै गाउँलाई बढारिसकेको छ । अब लाङटाङ फेरि उठ्नेछ, उठ्दैछ पनि, तैपनि यिनै कुराहरू त्यहाँ हुने छैनन् । मैले लेखेको यो लाङटाङको कथा मेरै लागि पनि अन्तिम चित्र बन्यो । #प्रतीक ढकाल
सेवोटेज किरातेश्वर !: अहिलेसम्म कति हजार किलोमिटर यात्रा सम्पन्न भयो, रेकर्ड राखेको छैन । जाडो छल्न फेरि एकपटक हजारौं किलोमिटर नाघेर यायावर श्लेषमान्तक माथि आयो । बर्ड–साइट एङ्गललाई जुम इन गर्दा देखियो छेउमै डङ्गर गिद्ध उग्राइरहेको । छेउमै खान नपाएको बालक । पुलिट्जर पुरस्कारको नियति । कसैले बुझे पनि नबुझे पनि पङ्खबिनाको पन्छी भएर उड्नुको मजा बेग्लै छ । उड्दा–उड्दै थाकेर झरे पनि डर थिएन । सङ्गीतको समुद्रमा चौबीस घण्टा पौडी खेल्ने विश्वको पहिलो मान्छेको नयाँ रेकर्ड संस्थागत हुने थियो । ‘प्रभु तिमी मेरो माया गर स्वीकार ! तिमीबिना केही छैन जीवनको सार । ज्ञान छैन भक्ति छैन अनाथ छु नाथ, चिन्नु मैले कहिले तिम्रा रूप हजार ? निरपेक्ष के गरेको लीला तिमीले ? अधर्म छ शिवजीलाई मार्न तयार !’ सोच्दा–सोच्दै मैले झल्याँस्स सम्झिएँ, म को हुँ ? यो के सोचिरहको छु ? कसले मार्न सक्छ शिवजीलाई ? त्यतिबेलासम्म भीडभित्र भीडबाट अलग्गिसकेको थिएँ म । मोबाइल आफैं सुइझ्याप । पाश्र्वमा भक्ति–सङ्गीत गुञ्जिरहेको थियो । ‘जे गर्छन् उनै गरुन्, छ लीला उनैको । जान्दिनँ अरू त केही म, छ कृपा उनैको ।’ नन्दी, भृङ्गी, नाङ्गा–बाबा, गणहरू मस्त थिए, आफ्नो संसार सजाउँदै । नजाने कुन ध्येय थियो ? सायद चिन्नुथियो उज्यालो । खोज्नुथियो देउता । बुझ्नुथियो शिव । गहिरिनुथियो, आफूभित्र । सोध्नुथियो, त्योभन्दा उता के छ ? कथाले मागेपछि म एकोहोरिएँ । पात्रहरू बढ्न थाले । अध्यात्म र भोगी मन फ्युजन भयो । भीडमा नचिनिएपछि मुखुन्डोको आवश्यकता रहेन । एक्लो हुनुको मजा बेग्लै छ । जे बोले पनि भयो । जे सोधे पनि भयो । जे लेखे पनि भयो । जे गरे पनि भयो । जे खाए पनि भयो । जता थुके पनि भयो । कति आनन्द ! राणा शासनकै बेला । ‘मैले गरिखाएको देख्न नसक्ने यहाँका मान्छेहरू, थुक्क ! भन्दै धनकुटाको भीरगाउँलाई थुकेर हिँडनुभएको थियो रे मेरो हजुरबुबा,’ आमाले भन्नुभएको । त्यही अभिशप्त भीरगाउँसँग जोडिएको मेरो कार्मिक सम्बन्ध सम्झाउने पनि कोही थिएन छेउछाउमा । अपाङ्ग सबलाङ्ग विचारहरू भाङले लठ्ठ भए । असक्षम होइन, अक्षम हो भनेर प्रुफ मिलाउन पनि झ्याउ लाग्न थाल्यो । अश्लील भनिएका शब्दहरू भोगिने सघन खतरा छेउमै थियो । ‘गाँजा खाए राजा, सिगरेट खाए चोर । खैनी खाए चुतिया, थुके सारा ओर,’ लाइभ क्यामेराअगाडि गेरुवस्त्र बेरेका नाङ्गा–बाबा सिकारु भक्तलाई सम्झाउँदै थिए । छेउमा मान्छे डढेको धूँवाको उकसमुकुस साक्षी थियो । … धिरज बाबा साक्षात अगाडि थिए । मैले चिनें, उनले चिनेनन् । केहीबेर सुफी सिद्धान्त, रुमीले गरेको व्याख्या, सुनें । रुमीले गरेको व्याख्या, (गीता–मिथकसँग मिल्दोजुल्दो) हजार पानाको किताबमा समेटिएको व्याख्या, जसको सबै पाना खाली । आफूखुसी जे लेखे पनि हुने । जे व्याख्या गरे पनि हुने । जे अनुभव गरे पनि बिन्दास । नेपालको प्रजातन्त्रको जेरोक्स कपि । सुफी सुन्दा–सुन्दै साफीको झोल सम्झिएँ । चिराइतो दबाइ, रगतका भाइरसहरू सफा गर्ने चूक । मन चेक–अप गराउन बाँकी छ, कुनै ठुलै रोग लागेको पो छ कि ? थाहा भयो भने के गर्ने ? किन थाहा पाउने ? आफूलाई मभित्र समाहित गरिसकेपछि । बेलामा खानु पनि परेन । सुत्नु पनि परेन । बोल्नु, लेख्नु, नुहाउनु, ढाँट्नु केही गर्नुपरेन । कुतर्कहरूको सहारा पनि चाहिएन । साक्षी राख्नुपरेन । अन्तर्मनको यात्रा जति गरे पनि भयो । लेख्नकै लागि सञ्जीव उप्रेती खरानीका पछि लागेको प्रसङ्ग सुन्दै–सुनाउँदै आयो । बिरुपाक्षभन्दा निकैमाथि सामान्य विशेषता भएको मान्छे, नजिकै कहिले यता कहिले उता, फेरि यता फेरि उता गरिरहेको रहेछ । घण्टौं । त्यसरी ऊ कहाँ जान हिँडिरहेको थियो ? कसले त्यसरी घुमिफिरी रुम्जाटार हुन आदेश दिएको थियो । के ऊ साँच्चिकै पागल थियो ? कि कोही प्रेमी थियो ? आखिर के थियो यो घनचक्करको रहस्य ? कि ऊ पनि कसैद्वारा श्रापित थियो ? नाजवाफ घनचक्करको कथा सुनियो केहीबेर । … गौरीघाटतिरबाट उल्लु कराएको आवाज आइरहेको बेला माथि किरातेश्वरमा नौ बजेको थियो । ‘माथि जाने बाटो यताबाट,’ कोही शिवभक्त अनुग्रहित भयो । ‘ए, यताबाट रहेछ, उकालो लाग्ने ठाउँ !, ढिलो–चाँडो मात्र हो, आखिर सबै जाने बाटो उही हो,’ तत्काल मनले केही बुझ–बुझे जस्तो गयो । तर, यहाँबाट माथि जाने कि तल जाने कि कता जाने ? म अलमलमा परेको बुझिदिने त्यहाँ कोही थिएन । मजा आइरहेको थियो । ‘दोधारैमा अल्झाइराख एक–दुई दिन अरू । खुल्नुभन्दा रहस्यमै मजा हुन्छ बरु,’ वातावरण मायालु, सङ्गीतमय छ । ‘वासना बाधा छन् जीवनमा, मन लागोस् प्रभु चरणमा । दर्शन प्रभुको म पाउँ हर्दम्, घरमा बसुँ या वनमा ।’ मन लागेर होइन, निद्रा नलागेर फिलिङ मिल्यो । केहीबेर पत्रकार विशाल खत्री जोगी भएको, बहुलाएको र चिर निद्रामा परेको चर्चा चल्यो । अच्युतम् भट्टराई ‘ज्ञानमित्र’ बनेको र साथीभाइले त्यस्तो नाम नराख्न आग्रह गर्दा नमानेको, बरु ऊ झन् रहस्यमय हुँदै गएको सन्दर्भ आयो । किरातेश्वरबाट ज्ञानमित्र यो वर्ष चाँडै फर्किए पनि बीचमा साथीहरूसँग टाढिँदै र परमात्मासँग नजिकिँदै गएको सुखानुभूति थियो । रहस्यमय लीला चलिरहेको छ । ‘जय शम्भो !’ छेउमै मैले नचिनेको एउटा करायो । ‘गाँजा कम भो !’ अर्कोले उल्यायो । ‘धर्म निरपेक्षता मूर्दावाद !’ जोडले फेरि त्यही चिच्यायो । ‘हा हा हा हा !’ साथीले खिल्ली उडायो । ‘पागल भइसकेछ, जे पनि बोल्न थाल्यो अब,’ आर्यघाट छेउमा धुनी ताप्दै, आँखा राता पारेको अर्को भलाद्मी बोल्यो । पृष्ठभूमिमा तीन दिनको निरन्तरता सम्झाउँदै सुफी भजन चलिरहेको थियो । तु माने या ना माने भगवान्, मै तो तेरा भक्त बन गया । ‘कहाँबाट आयौं हामी कहाँ जानुपर्छ ? कसलाई सोध्ने, कसलाई बुझ्ने, कसले भन्न सक्छ ?’ … शिवजीका अनेक रूप छन् । कतै तान्डव कतै चुप छन् । धर्ममा के हुँदै छ अचेल ? कुप्रचार चलेका खुब छन् । भक्तहरू पनि कस्ता–कस्ता ? कोही धूर्त कोही बेकुफ छन् । जीवनभर केही छैन शिव ! मरेपछि सम्मान र धूप छन् । तानपुरा बज्दाबज्दै शिवभक्तले लुकाएको आनन्दको शक्ति निस्तेज पार्ने राज्यको कथित दायित्व सम्झने बेला भएछ । बेलैमा किरातेश्वर सेवोटेज गर्न तानाबाना बुन्न थालियो । ‘दिन ढल्दै आयो, रात बढ्दै आयो । हेर घाम अस्तायो, रात पर्दै आयो ।’ ‘वाह ! वाह ! क्या बात !’ बुझे पनि, नबुझे पनि, साँच्चिकै हिप्पीहरूको मन छोयो । भाषाको बन्धन थिएन । दुई जोडी जर्मनी मलेवाहरू पनि कृतज्ञ भए । ‘बाँके बिहारीलालको ?’ जय होस् ! ‘सनातन हिन्दू राष्ट्रको ? जय होस् !’ जय गान गर्दै गरेका भारतीय लेखक कृष्णमुरारी सिंह चिनिए । कान्तिपुर एफएमले डायरी अपडेट गरिरहेको थियो, सधैंको वर्ष झैं पशुपतिको जात्रा, सिद्राको व्यापार गर्नेहरू निकै आएका छन् । ‘मलाई यो ठाउँ विदेश जस्तो लागेन !’ ‘किन ?’ म विस्मित भएँ । ‘कसरी विदेश भन्नु ! हाम्रो त्यहाँ जुन भाषा छ, त्यो यहाँ पनि चल्छ । जुन पैसा छ, त्यो पनि चल्छ । टाटा गाडीकै राज रहेछ । अक्षरहरू पनि उस्तै छन्, सिटी सफारीसमेत देवनागरी लिपिमा लेखेको !’ लेखकले एकेक अनुभव सुनाए । फिर्ररर ! फिर्ररर ! एक–एक गर्दै कप्सहरू नजिक हुन थाले । अँध्यारो बढाइँदै थियो । नजरबन्द बाक्लिँदै थियो । चारैतिरबाट शिवभक्तहरू धपाइँदै थिए । मृगस्थलीमा बाँदरहरू सुत्ने बेला हुँदै थियो । ‘सुनिनस् ! तल ओर्ली भनेको !’ म डराउँदै तल ओर्लें, पवित्र पाशुपत खाल्डोमा । सम्पूर्णभक्त सम्झाउँदै थिए, ‘शिवरात्रिमा पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए, बराबरी भए । चिन्ता किन गर्नु ?’ bisnuprasad.bg@gmail.com #सुविद गुरागाई
तिमी त्यति राम्री नहुनु पर्ने: तिम्रो रूपको वर्णन गरी म आफूलाई कञ्जुस सावित गर्न चाहन्नँ । तिमी राम्री छ्यौ- सायद यति नै काफी छ। नारी रूपको वर्णनमा विश्व-साहित्यको अनगिन्ती पृष्ठ खर्च भएका छन् । म पुनरावृत्ति गर्न चाहन्नँ। अँ, आजकल नारी रूपको मात्र वर्णन गर्दा अन्य क्षमताको अनदेखा गरियो भन्ने पनि सुनिन्छ । संक्षिप्तमा भन्दा तिम्रो रूपलावण्यले म जस्तो कमलो मनकाहरूले धैर्यता गुमाउन सक्छन्। त्यसैले तिमीसित एक्कासि भेट हुँदा हेर्न नसकी मन तिमीतिर नै भए पनि नजर अन्तै लान्छु तर चुम्बकले फलाम झैँ तानिएको हुन्छु । निद्रा नपरेको रात तिम्रै कल्पना गर्दागर्दै निदाउँछु । अल्लारे युवक हुन्छु र औपन्यासिक प्रेम प्रारम्भ गर्छु । सत्य, तिम्रो र मेरो वन, पाखा, पखेरा, खोलानाला, झरना, पार्क, रेष्टुरेण्ट तथा एकान्त वन्य-प्रान्त कैयौं ठाउँमा भेट भएको छ । तिमीलाई मैले थरिथरिका उपहार दिएको छु। तिमीले मलाई भएभरको अर्थात् एउटी नारीले पुरुषलाई दिन सम्भव माया दिएकी छौ । म सैनिक बनी युद्धभूमिमा जाँदा, उच्च शिक्षाको लागि बेलायत, अमेरिका वा रुस जाँदा, राजनीतिक बन्दीको रूपमा जेल पर्दा अथवा म पैसा कमाउन खाडी देश जाँदा तिमीले वर्षौँवर्ष प्रतीक्षा गरेकी हुन्छ्यौ । कहिलेकहिले त म रोगले ग्रसित भई (बाँच्ने आसा कम र मर्ने सम्भावना बढी) महिनौँ हस्पिलाइज्ड हुँदा अहोरात्र मेरो सेवा गरेकी हुन्छ्यौ । यसो हेर्दा मैले बेहोरेको पीडा तिम्रो मुहारमा प्रतिबिम्बित भइरहेको हुन्छ । कुनै रात त तिम्रो परपुरुषसँग विवाह हुँदैगर्दा तिमीले मण्डपबाट नै विद्रोह गरेकी हुन्छ्यौ । अनि कुनै रात त जब भ्रष्टाचारी वा दुई नम्बरी गुन्डो छोरो हरतरहले तिमीलाई छोप्न राक्षसी पञ्जा फैलाउँछ, मैले बडो मुश्किलले उसको पञ्जाबाट छुटाएको हुन्छु । हो, तिमीलाई मैले कैयौँ पटक भगाएको छु । भागेर हामी कहिले पोखरा, कहिले सुर्खेत, कहिले धरान त कहिले धनकुटा पुगेका छौँ। कैयौँ पटक त हामी मनाङ, मुस्ताङ, रोल्पा, डोल्पामा शिक्षक बनेका हुन्छौँ । कुनै रात त तिमीलाई भगाउने चाँजोपाँजो मिलाउँदा मिलाउँदै निदाउँछु र रातभर सपनामा हामी भागिरहेका हुन्छौँ। तिमीलाई लिएर हिँड्नु पनि कम खतरा छैन। एक इतिहासकारले भनेका छन्-विश्वविख्यात सुन्दरी क्लियोपेट्राको नाक अलिकता मात्र लामो भएको भए आजको विश्वको राजनीतिक भूगोल नै अर्कै हुन्थ्यो। त्यसैले म हरबखत चनाखो हुन्छु। गुन्डा त के तिम्रो सुरक्षार्थ म कुनै पनि भौतिक वा अभौतिक शक्तिसँग लड्न तयार छु। मसँग त्यो आत्मबल छ र त्यसको श्रोत तिमी नै है। रामबाबु घिमिरे म प्राय:अनिदो झैँ देखिइन्छु । कारण तिमीले रिसाएको वाहाना गर्दा तिमीलाई फकाउँदा फकाउँदै रात बितिसकेको हुन्छ । मनमा फगत तिमी हुनाले म भ्रमित भइसकेको छु सायद । त्यसैले लाग्छ, म यथार्थ र कल्पना विभेद गर्न असक्षम भइसकेको छु । थाहा छ, तिमी मेरो प्राप्ति भन्दा धेरै पर छौ । आफ्नो सीमा बुझेर नै म कहिल्यै तिम्रो सामु अभिव्यक्त हुन सकिनँ । मलाई यो पनि थाहा छ, तिम्रो कल्पना गर्नु वा स्वर्गकी कुनै अप्सरा अथवा चलचित्रकी कुनै नायिकाको कल्पना गर्नु उस्तैउस्तै हो । तर अहँ होइन, स्वर्गकी अप्सरा कोरा वर्णनमात्र, चलचित्रकी नायिका मात्र छायाङ्कन तर तिमी प्रत्यक्ष सजीव सग्लो नारीसुन्दरताको जीवन्त प्रतिमूर्ति । यथार्थमा तिमीसँग मेरो मनोवाद भए पनि सम्वाद भएको छैन। सम्वाद नै भए पनि म अभिव्यक्त भएको छैन। यस्तो सोचे पनि हुन्छ- म वर्षौँदेखि तिमी वाचाल हुनुको प्रतीक्षामा छु। यसको अर्थ हामी टाढा छौँ भन्ने होइन। यति मात्र कि हाम्रो प्रेमले भाषिक सहुलियत प्राप्त गरेको छैन। तिम्रो स्वनिर्णयको सम्मान गर्दै म हाम्रो प्रेमलाई मौन प्रेम भन्न रुचाउँछु । आत्मीयताका लागि शारीरिक निकटता नै हुनुपर्छ भन्ने हुँदैन। धर्तीको मान्छेले स्वर्गका देवताको उपासना गर्छ भने हामी त एउटै गाउँका एउटै ठाउँका । तिमी हिँडेको बाटो म पनि हिँडेको छु, तिमी रुझेको झरीमा म पनि रुझेको छु । अनि तिमीले चुल्ठोमा सिउरेको सयपत्रीको सुगन्ध मैले पनि अनुभव गरेको छु। भनिन्छ – पागल, प्रेमी र कवि अनिंदा हुन्छन् । यतिखेर अर्थात् यो कालरात्रीमा म तिम्रो उपासना गर्दै छु। थाहा भएन किन देवीको उपासना कालरात्रीमा गरिन्छ। जुनेली रात आउने आशा र भरोसा भएपछि कालरात्रीको कहर पनि केही झैँ लाग्दो रहेनछ । सम्भवत: यतिबेला तिमी मस्त निद्रामा हौली । तिम्रो निद्रामा मैले आफ्नो सपना देख्ने गरेको छु। विपनामा हाम्रो दुरत्व भए पनि सपनामा हामी साथ-साथ हुन्छौँ, आसपास हुन्छौँ। मेरा लागि मोक्ष प्राप्ति भनेको नै तिमी हौ। तिमी नै विषय वासना हौ भने म कल्प-कल्पान्तर विषयवासनामा रुमलिन तयार छु। म लामो गन्थन गरेर तिमीलाई दिग्दार पार्न चाहन्नँ । कति सुनाऊँ- आत्मपलायनका कुरा । म अब हिम्मतिलो, आँटिलो र साहसिलो बन्ने तरखरमा छु। गोपालप्रसाद रिमालको अनुयायी हुँ म । अबको भेटमा रिमालको निर्देशानुसार प्रष्ट प्रस्ताव राख्ने छु – म तिमीलाई गर्भाधान गर्छु । एउटा जिउँदो पुत्रप्राप्तिको चाहना तिमीमा पनि होला । सम्भवत: यस्तै क्रान्तिकारी कुराले रिमाल बौलाए, बौलाएको आक्षेप लाग्यो। मलाई पनि आक्षेप लाग्नसक्छ तर मलाई किन्चित पर्वाह छैन । किनकि तिम्रो प्रेममा मलाई बौलाउन मञ्जुर छ। मलाई तिम्रो प्रेम रक्सीजस्तै वा गाँजाजस्तै लागोस् र मलाई तिमीबाहेक कुनै कुराको हेका नरहोस्। म तिम्रो प्रेममा उत्सर्गित हुन चाहन्छु, आफ्नो अस्तित्व तिमीमै समाहित गर्न चाहन्छु। शिवजीले जस्तै अर्धनारेश्वरको रूप धारण गर्न तयार छु। तर प्रिय ! म मिलनको लागि आतुर छैन। म वर्षौँवर्ष प्रतीक्षा गर्न प्रतिबद्ध छु, युगयुग प्रतीक्षा गर्न प्रतिबद्ध छु। यदि तिमीलाई पुनर्जन्ममा विश्वास छ भने म पटक पटक जन्मन तयार छु। जब कि तिमीलाई थाहा छ, हिन्दूहरू सांसारिक विषय वासनाबाट मुक्त हुन पुनर्जन्मबाट मुक्ति चाहन्छन् । मेरा लागि मोक्ष प्राप्ति भनेको नै तिमी हौ। तिमी नै विषय वासना हौ भने म कल्प-कल्पान्तर विषयवासनामा रुमलिन तयार छु। होइन, तिमीलाई आत्माको अमरतामा विश्वास छैन भन्ने यो नश्वर चोला कुनै पनि बेला त्याग्न तयार छु, यति मात्र कि त्यो तिम्रो खुसीको लागि हुनुपर्छ। तर प्रिय ! तिमीलाई किन ढाटूँ- अथाह यातनामा छु । कमसेकम मेरो मानसिक सन्तुलनका लागि तिमी त्यति राम्री नहुनुपर्ने। #रामबाबु घिमिरे
डा. केशव शर्मा अनेसास बालसाहित्य समितिका संयोजक: डा. केशव शर्मा नेपाली भाषा र साहित्यलाई डायस्पोराको दोस्रो पुस्तामाझ पुर्याउने अभियानका साथ गठित अनेसास बालसाहित्य समितिको संयोजकमा डा. केशव शर्मा चयन भएका छन् । डा. शर्माको भागमा अब बालसाहित्यको क्षेत्रमा देखिएका सम्भावना र चुनौती पार गर्नुपर्नेछ । अस्ट्रेलियानिवासी डा. शर्माको समितिले आगामी दिनमा बालबालिकालाई नेपाली भाषा बोल्न, लेख्न तथा साहित्य सिर्जना गर्ने वातावरण मिलाउनेछ । यसैगरी यस समितिले बालबालिकाका रचना प्रकाशन र वितरणका लागि पुलको काम पनि गर्नेछ । अनेसास अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको बैठकले संयोजक चयनको निर्णय गरेको हो । समितिको कार्यकाल दुई वर्षको रहने छ । #अनेसास #डा. केशव शर्मा
अशेषको कवितामाथि धरावासीको विचार: बिम्बात्मक रूपले कवितालाई खेलाउने अनौठो कलमले अशेषलाई पाठक बीच लोकप्रिय गरायो । समकालीन पुस्ताहरूका बीच अलग्गै चिनिने गरी उनी उभिए यही कवित्व विशेषताले । तीसको दशकका कविका रूपमा स्थापित नामहरूमा अशेषको नाम ‘अ’ कै रूपमा आएको छ । बीसको दशकको कविताले भत्काउन नसकेको पद्यमोह तीसको दशकमा आइपुग्दा भताभुङ्ग भएको छ । यसमा अशेषको कविपुस्ताको योगदान उल्लेख्य छ । २०३५ साल अघि यस पुस्ताले आफ्रनो उपस्थितिलाई सामान्य रूपमा प्रस्तुत गर्दै आएका थिए । २०३६ सालको सडक कविताक्रान्तिले यिनीहरू मध्ये धेरैलाई एकाएक एकैचोटी चर्चामा ल्याएको थियो । नेपालको प्रजातान्त्रिक इतिहासमा त्यस आन्दोलनका लेखकहरूले कृष्ण धराबासी खेलेको भूमिकाको महत्व विशेष रूपमा रहेको छ । अशेषका कविता अरूकाभन्दा फरक लाग्छन् बिम्ब र प्रस्तुतिको प्रयोगले । उनका कविताको मुल्याङ्कन गर्दै डा. तारानाथ शर्मा लेख्छन्–‘उनी पुराकथाको प्रतीकलाई नयाँ अर्थ प्रदान गर्छन् । उनी नयाँ काव्यात्मक आयामको सगर्व आविष्कार गर्छन र नयाँ सम्भावनाका क्षितिजहरू उघार्छन् ।’ वास्तवमै अशेषका कविता उनकै पुस्ता बीच पनि अलग्गै चिनिन्छन् । उनका कवितामा अरूका कवितामा भन्दा बेग्लै प्रकारका शव्दविन्यास र वाक्य संयोजनहरू छन् । नाटकीय प्रस्तुतिले कविता स्वयं नै कुनै रङ्गमञ्चमा अभिनय गरिरहे झैं लाग्छन् । अशेषका कविताको शक्ति नै नाट्यमयता हो । उनी कालान्तरमा गएर एक सशक्त नाटककार र निर्देशक पनि भइसकेकै छन् । नाटकलाई सडकमा ल्याएर बन्द मञ्चबाट मुक्त गर्ने आन्दोलनको अगुवाई पनि उनैले गरे । कविताको सडक आन्दोलन अर्थात सडक कविताक्रान्तिबाट नाटकतिर फड्केका उनले नेपाली नाटकलाई रङ्गमञ्चीय प्रविधिहरूको बन्धनबाट मुक्त गरे । सर्वनाम नाट्य मण्डलीको नामबाट सुरु भएको त्यो नाट्य आन्दोलनले नेपाली दर्शकहरू बीच अनौठो तरङ्ग ल्याएको थियो । कवि बिष्णुविभु घिमिरे निर्देशक रहेको त्यस समुहमा अन्य धेरै समकालीन युवाहरू सक्रिय थिए जो आज पनि नाटकलाई नै आफ्रनो जीवनको प्रथम र अन्तिम यात्राका रूपमा लिएर काम गरिरहेका छन् । कवि बिष्णुविभु घिमिरे निर्देशक रहेको त्यस समुहमा अन्य धेरै समकालीन युवाहरू सक्रिय थिए जो आज पनि नाटकलाई नै आफ्रनो जीवनको प्रथम र अन्तिम यात्राका रूपमा लिएर काम गरिरहेका छन् । कवितामा समकालीन चेतना तीसको दशकको साझा विशेषता थियो । अधिकांश कविहरूले आफ्ना कवितामा राजनीतिक दवावका बिरूद्धमा आवाज उठाएका छन् । अशेषका कविताको लेखन मार्ग पनि त्यही हो । तर अरू कविहरूको लस्करमा उनलाई अलग देखाउने पनि उनकै कविताको शैली हो । विद्रोहलाई पनि शान्त प्रकारले उठाएर अशान्त प्रकारले प्रहार गर्ने उनको शैली नै उनी हुन् । उनका कवितामा अहिंसात्मक विद्रोह छ । क्रान्तिलाई पनि क्षेतिविहीन रूपमा सफल गराउने सपना देख्छन् उनी । उनका कविताले गाउँले जनजीवन, परिवेश, आर्थिक पारिवारिक स्थितिहरूको चित्रण र त्यहाँ भित्र दबिएर रहेको कुण्ठा र समस्यालाई ब्युँझाउँछन् । भावुकता उनका कविताको सबैभन्दा सफल पक्ष हो । उनका कवितामा बुद्धिपक्षभन्दा हृदयपक्ष बढी सक्रिय रहेको भेटिन्छ । उनी कवितालाई प्रेम र प्रणयको रुमानी संसारबाट निकालेर राजनीतिक र सामाजिक परिर्वतनको ध्वनी बनाउने कोसिस गर्छन । त्यसबेलाका अविवाहित युवक मन, मायाप्रेमका, ओठआँखाका, कम्मरनितम्बका रुमानी चित्रणहरूमा पनि हराउन सक्थे होला तर बौद्धिकताले थिचेको सचेत मानसिकताले हृदयको बाटोलाई पनि सामाजिक जीवनपद्दतिको खोजीमा नै समावेश गरेको बुझिन्छ । जोसिला र कडा शव्द र वाक्यसंगठनभन्दा सरल र बिम्बात्मक वाक्य रचनामा अशेषको सीप सजिएको देखिन्छ । कुनै विषयलाई सम्बोधन गर्नुपर्दा उनले त्यसलाई हेर्ने अाँखा अलग्गै टल्काउँछन् । जस्तैः – कविता लेख्न बिर्से के होला कहाँ पोख्ने आँसु दुख्ने घाउ अझ दुख्दो हो एकदम, हर्दम, मन कतै बिरानो जङ्गलमा पुग्दो हो र चिर्थोदो हो बाघका पञ्जाहरूले कविता छ र त आँसु पिइदिने कोही छ कविता छ र त मन बिसाउने चौतारी कहीं छ । (…………………) कवितालाई आमाको काख, प्रेमीको अङ्गालो वा अभिभावकको माया देखेका छन् उनले । जति दुःख, पीडा र व्यथाहरू छन् ती सबैलाई बिसाउने र मन हलुका बनाउने माध्यम नै कविता हो भन्छन् । कविताले नै जीवनको हार्दिक धरातलको प अशेष मल्ल हिचान गराउँछ भन्छन् । उनका कवितामा आउने पात्रहरू ठूलाठूला राजा महाराजा, धनीमानी सामन्त वा पुँजीपतिहरू छैनन् । बरू एकदम नै साधारण नागरिकहरू छन् । ‘तिनीहरूलाई’ शीर्षक कवितामा उनले सम्बोधन गरेका साना नानीहरूको चित्रणले मनलाई भित्रसम्म झसङ्ग हुने गरी छुन्छ । आँगनमा उफ्रिदै खेलिरहनु पर्ने, पुस्तक च्यापेर स्कूल जाँदै वा फर्किदै गर्नुपर्ने, केही सानातिना चकचक वा बिगार गरेर घर वा टोलछिमेकमा अभिभावकहरू बीच क्षेणिक तनाव उत्पन्न गराउनु पर्ने, तर उनीहरू गम्भीर छन् । किन गम्भीर छन् ? किन बूढाबूढी झैँ थोरै बोल्ने र धेरै गम्ने भएका छन् ? किन प्रकृति देखेर रमाउँदैनन् ? र व्यावहारले थिचिएका ऋणी पिताझैं झोक्राएका छन् ? भुराभुरीमै यसरी उनीहरू बूढाबूढी भएभने जीवनको रस फेरि समाजले कता खोज्नु होला ! ‘तिनीहरूलाई’ देखेर अशेष गम्भीर भएका छन् ।– किन यी एकतमासका नानीहरू पीडाजस्तै चुपचाप आवाज आँखाभरि बोक्दै मनमनका मौन स्वरहरू चिच्याइरहेछन् कि पैतालाका घाउ अझै निको भएका छैनन् तिनीहरूका कि कतै विश्वास खोज्दै अझै बस्ती पसेका बा आमाहरू फर्केका छैनन् तिनीहरूका ! बालकहरू अभिभावकको संरक्षणमा हुर्किन्छन् । अभिभावकका पीडाहरू नै उनीहरूका पनि पीडाहरू हुन् । जब अभिभावक नै विस्थापित छन्, बालकहरू कसरी खुसी हुन सक्छन् ? यहाँ यी ‘बालकहरू’ ले नेपाली जनताको बिम्बको काम गरेका छन् । नेपाली जनताको राजनीतिक, शैक्षिक, आर्थिक, बौद्धिक र सामाजिक स्तर एउटा बालकको जस्तै असहाय र परापेक्षी छ । आफैं केही गर्न नसक्ने अवस्थामा रहेको नेपाली जीवनको यो एक बिम्ब हो । अभिभावकको रूपमा रहेका परिवर्तनकामी शक्ति र चिन्तनहरू परदेश लागेका, भूमिगत भएका वा निर्वासन भोगिरहेका बेला जनताको स्वर असहाय रोगग्रस्त बालकको जस्तै हुन्छ नै । देशभित्र नृत्य गरिरहेको एकाधिकारबादी राज्यसत्ताको तानासाहीका अघि ‘निगुरमुन्टी’ भइरहेको आम जनता नै हुन् ‘तिनीहरू’ कविताको बालपात्र । टाढाबाट देखिएको राजधानी नजिक पुगेर हेर्दा त्यो त एउटा शताब्दी पुरानो प्रयोगहीन इनार मात्र थियो, जहाँ प्रशस्त पुरातात्विक महत्त्वका बस्तुहरू त थिए तर जीवन बाँच्नका लागि चाहिने अक्सिजन चाहिँ थिएन । ‘विश्वास खाुज्दै अर्कै बस्ती पसेका बाआमाहरू’ त राजधानी पो पुगेछन् । राजधानी जो उनीहरूले सुनेका हुन्, सोचेका हुन् । राजधानी जुन उनीहरूले बुझेका हुन् , कल्पना गरेका हुन् –के त्यही रहेछ त ? जब उनीहरू राजधानी पुगे– त्यो संरक्षक थिएन, राज्यसंचालक थिएन, जनता चिन्ने र बुझ्ने थिएन । राजधानी त आफैंमा एक महाअन्धकार पालेर गजधम्म बसेको थियो । जो यसभित्र पस्थ्यो कुनै ब्लाक होलमा पसेझैं हराउँथ्यो । राजधानी त चिसो र ठिहिर्याउँदो थियो । प्रत्येक व्यक्ति एक्लो र असहाय थियो । टाढाबाट देखिएको राजधानी नजिक पुगेर हेर्दा त्यो त एउटा शताब्दी पुरानो प्रयोगहीन इनार मात्र थियो, जहाँ प्रशस्त पुरातात्विक महत्त्वका बस्तुहरू त थिए तर जीवन बाँच्नका लागि चाहिने अक्सिजन चाहिँ थिएन । शीत ओच्छ्याएर, लौरो हराएको, काम्दै हातहरू, बिना आवाज ओठ चलाएर, उहिल्यै लिलाम भइसकेको, जस्ता शव्दावलीको चित्रणले राजधानीको स्वरुप आँखामा बिझाउन आउँछ । राजधानीको यो चित्रण राज्य संचालन गर्न बसेको सत्ताको यथार्थ अनुहार हो । जो आफैं यति विषक्त छ, त्यसले देशका कुनाकुनामा के अमृत छर्दो हो ! उनी लेख्छन्– ० यसपालि कुनै चिज महङ्गो भएको छैन किनभने बजारमा अभावबाहेक अरुथोक छैन त्यही अभाव खल्ती र झोलाभरि भरेर आऊ अनि अलिकति उसलाई देऊ अलिकति तिमी लेऊ । यो वर्ष तिमीहरू माया चपाएर बाँच ० छैनबाहेक ऊसंग अरू केही छैन केही र कोही नहुनुको अर्थ ऊ हो जसको केही नाम, थर र ठेगाना छैन ऊ त्यो हो यदि नामाकरण गर्नुपर्ने हो भने उसको नाम सायद अभाव हो । (अभाव) उनले कवितामा भनेको ‘यो वर्ष’ भनेको कुन वर्ष हो कविजी ? भनेर सोध्न मन लाग्छ । किनभने मायाबाहेक अरूथोक चपाएर बाँच्ने दिन नै आजसम्म कहिले आएको छ र ! प्रत्येक वर्ष, प्रत्येक दिन, महङ्गाइ र अभावले थिचिएर होचिंदो जीवनस्तर बानी परेको छ हामीलाई । हरेक दिनको युद्ध, अभाव र महङ्गीकै बिरुद्धको त हो । तर यो विरोधको आवाज जहिले पनि खोलाको गीत मात्र भएको छ । तीसको दशकतिर लेखिएको यो कविताले आज सत्तरीको दशकमा पनि उत्तिकै अर्थ पाएको छ, अभाव र गरिबीको आँगनमा उभिएर । दुःख पीडा र आँसुसंग मात्र आफूलाई सजिलो गरी भेट्छन् कवि । खास गरी बालक, बुढाबुढी, नारी र गाउँ उनका कविताले देखेका समस्याका केन्द्र रहेछन् । जस्तै– ‘मेरी आमाको आँखा ’ कवितामा लेख्छन् – त्यो आँखा जहाँ हरदिन वर्षादले छाइरहेको हुन्छ त्यसैमा पौडेर मैले धेरैपटक किनार भेट्ने गरेको छु त्यो आँखा मेरो विश्वासको सबभन्दा ठूलो आकास त्यो आँखा मेरो स्वतन्त्रताको आँखा मेरी आमाको आँखा मेरी वृद्ध आमाको वृद्ध आँखा । आँखासंग दृश्य र दृष्टि सम्बन्धित छन् । आँखै त हो जसबाट मानिसले जीवनका सबै चित्रहरू देख्दछ । खुसी, रमाइलो, हर्ष, उन्माद, जो मनपर्छ मान्छेलाई ती सबै भावहरू आँखैमा त हुन्छन् । आँखैबाट देखिन्छ संसारलाई पनि र आफूलाई पनि । तर कवि ती आँखा हराएको र तिनका ठाउँमा संवेदनहीन दृश्यपट जडिएको अनुभव गर्छन् । आमाका आँखा नै सबैभन्दा सुन्दर र प्यारा हुन्छन् । आमाकै आँखाले संसार हेर्ने कोसिस गर्छन संतान पनि । तर अव्यवस्ता र बिकृतिको–‘सूर्यको हजार किरणले भ्याउन नसक्ने कालो छायाँ’ का अघि आमा आँखाहरू सदा बगिरहन्छन्, पग्लिरहन्छन्, रोइरहन्छन् । हाम्रो समाज आमाका आँखाका आँसुले भिजेको समाज हो । भिजिरहेको समाज हो । ००० अशेषका कवितामा पाइने विद्रोह उनका समकालीन कविहरूको भन्दा भिन्दै पाराको देखिन्छ । देशभित्र रहेको वेथिति, विकृतिका विरुद्ध परिवर्तनकामी शक्तिको प्रतिक्षा गरिरहेको छ उनको एउटा कविता ‘एउटा कृष्णको आगमन पर्सिरहेछु ’ । युद्ध भनेको कुनैपनि परिर्वतनका लागि उठ्ने कुनैपनि आवाज हो । आवाजले परिवर्तन ल्याउन नसके कहिलेकाहिँ हतियार पनि उठ्छन् । युद्ध– मनको, बुद्धिको, हतियारको जेको पनि हुनसक्छ । तर युद्ध जुनसुकै होस्, त्यसले यथास्थितिलाई जित्नसक्नु पर्छ । अशेषले पर्खेको कृष्ण कुरुक्षेत्रको निष्ठुर र युद्धोचारी कृष्ण होइन । उनी त रक्तहीन क्रान्तिको संवाहक वा मानवतावादी परिवर्तनकामी शक्तिको बिम्ब बोकेको कृष्णको प्रतीक्षामा छन् । परिवर्तनका नाममा हुने हत्या, हिंसा र आतङ्कमाथि उनको विश्वास छैन । उनी भन्छन्– युद्धका लागि उसले तयार हुनुपर्छ युद्ध रगत पोखिएरै किन हुनुपर्यो युद्धमा गोली र बारुद नै किन पड्किनुपर्यो गान्धीयुद्ध पनि हुनसक्छ बुद्धयुद्ध पनि त हुनसक्छ विश्वास नथाकेर जुर्मुराउने युद्ध हो त्यो युद्ध हुनुपर्छ त्यो युद्ध उठ्नुपर्छ । मानवतामाथि नै विश्वास हराइसकेको युद्धले मानवताको संरक्षण गर्न सक्दैन । बाँच्नुकै विरुद्धको युद्धले जीवनको पक्षमा विजय गर्न सक्दैन । बाँच्न पाउने हकसहितको गान्धी वा बुद्धको जस्तो शान्तिपूर्ण युद्धले पनि त समाज परिवर्तन गर्न सकिन्छ । त्यस्तो युद्धले पनि त अधिनायक र तानासाहीलाई विस्थापित गर्न सकिन्छ । युद्ध त मानिसलाई बाँच्न र बँचाउन पो लडिन्छ । तर शान्तियुद्धको प्रस्ताव असफल हुँदै जाँदा कविभित्र पनि एकप्रकारको शक्तिविद्रोह जाग्न थालेको बुझिन्छ । उनी अर्काे कविता ‘अँध्यारोसंगको युद्ध’ मा भन्छन्– कमसेकम मेरो कोठामा अँध्यारा भित्तासम्म पनि उज्यालो आइदेवस् जसलाई म दृष्टिसंग साँट्न सकूँ हुन नसक्ने भए के म कोठाको भित्ता फोरुँ ? आफैंभित्र प्रश्न र विद्रोद उभिएको छ अलल्लिएर । युद्ध शान्तिपूर्ण ठीक कि सशस्त्र ! कविता अन्यौलमा छ । कविताको अन्यौलपक्ष कविभित्रको अनिर्णित स्थिति पनि हो । जे भए पनि युद्धको अनिवार्यता कविको मनले स्विकारी सकेको छ । विश्वास त्यसबेलासम्म सुरक्षित रहन्छ, जबसम्म त्यसको बाटो भएर अघि बढ्न सकिने आसा बाँकी रहन्छ । जब सबै आसाहरू निस्कृय हुन्छन् अनि पुर्वस्थापित कुनै आस्थाहरू पनि मानिसलाई आश्वासन दिइरहने आधार बन्न सक्दैनन् । ईश्वर मानिसको धेरै पुरानो साथी हो । हरेक आपतमा, एकलासमा, असहाय अवस्थामा आफ्नो अघि ठिङ्ग उभिएर उद्धार गर्ने मित्र हो त्यो विश्वास । हरेक समाज र सभ्यताले आ–आफ्नो ईश्वर बनाएको छ । तर जब कुनै प्रविधि वा शासनसत्ताको अत्याचारले मानवतालाई जित्न थाल्छ र त्यसबेला ईश्वर बोल्दैन अनि त्यो विश्वासले विदा लिन्छ । कवि देशको यस्तो अवस्था हुँदासम्म पनि नबोल्ने ईश्वरलाई निदाएको देखेर त्यस्तो ईश्वरप्रतिको अन्ध आस्थाबाट समाजलाई मुक्त गर्नुपर्ने आव्हान गर्छन् । ० भो, अब घर फर्क अबेर भइसक्यो कतिन्जेल भजन गाएर समय फालिरहन्छौ कतिन्जेल यो ढुङ्गालाई झकझकाएर ब्युँझाउन खोजिरहन्छौ । ० बुढीआमाले भाकल गर्ने चौतारीको ढुङ्गा ईश्वर हो भने अहिले ईश्वरको घरमा पहिरो गएको छ आमाले धुपअक्षता छर्किने पूजाकोठाको तस्वीर ईश्वर हो भने अहिले ईश्वरको छातीमा धमिरो लागेको छ (ईश्वर) मुल ईश्वरमाथि नै विश्वास हटिसकेपछि त्यसको बिम्बका अघि आराधना गर्नुको कुनै औचित्य नभएको अभिव्यक्ति छ यहाँ । कविमा आफूभित्र आध्यात्मिक आस्था मर्दै गएको अनुभूति उभिएको देखिन्छ । यथार्थामा यो अनुभूति समग्र नेपाली जीवनको अनुभूति हो । नेपाली समाजले राजालाई ईश्वरको अवतार मान्थ्यो । एउटा त्यस्तो विश्वास थियो तर जब राजाले देशमा भएको अन्याय अत्याचारको जिम्मेवारी लिन मानेन र आफूसमेत अत्याचारीको समूहमा गएर मिसियो अनि त्यो ईश्वर नभएर ढुङ्गोमा परिणत भयो । आज देशमा गणतन्त्र घोषणा भएको छ । ईश्वरको अवतार भनिएको राजसत्ता समाप्त भएको छ । आस्था टुटेपछि हरेक मानिसको मूर्ति ढुङ्गा मात्रै हुन्छ । अशेषको यो कविताले उसैबेला गणतन्त्रको सङ्केत गरिसकेको रहेछ । यति धेरै अव्यवस्था, अन्याय अत्याचार र निरङ्कुशताका बिरुद्ध उठिसक्नु पर्ने तर हामी कता हरायौं ! किन उठेनौं र निदाइरहयौं भनी पाठकलाई तिखो व्यङ्ग्यवाण हानेर झकझकाउने काम उनका कविताले बारम्बार गरेका छन् । २०३६ सालको जनमतसंग्रहको परिणामपछि प्रजातन्त्रवादीमा आएको जुन निरासा हो, त्यही प्रतिबिम्बित छ यो कवितामा– हामी निदाउने क्रममा थियौं र निदाउने बेलामा सबैले भनेका थियौं भोलि बिहानै उठौंला बादल हुरी बतास नलागे फेरि बाँकी बाटाहरू हिंडौला हामी हिंड्न छाडेर त्यस रात पिंडीमा सुतिरह्यौं थाहै भएन हामी कहिले उठ्यौं वा उठ्दै उठेनौं । सारै मार्मिक कविता छ यो । यसले हरेक पाठक मनलाई एकपल्ट पिरो गरी हान्छ । आफ्नो निरिहता, कमजोरी र दासतालाई सम्झाउँछ । भविष्यप्रति वेखबर रहेको र उत्तरदायित्वबाट पन्छिएको पशुत्वको बोध गराउँछ । हामीले उठ्नु र ब्युँझनुपर्ने कहिले हो, केका लागि हो र किन हो ? यसको यथार्थ अनुभूति गर्न जहिले पनि बाँकी नै देखिन्छ । आज गणतन्त्र स्थापना भइसक्दा पनि के हामी साँच्चै उठेका छौं त ? प्रश्न छ । यात्रा, हिंड्नु वा गतिमा विश्वास गर्छन अशेषका कविता । उनका अधिकाँश कवितामा गति छ । कतै पुग्ने चाहना, इच्छा र छटपटी छ । वास वा स्थगन उनलाई स्वीकार छैन ।’ थाहै भएन हामी कहिले उठ्यौं वा उठ्दै उठेनौं ।’ कवितामा सुतेकाहरूलाई ब्युँझाउँछन् अर्को कविता लेखेर– ० धेरै लामो भयो हाम्रो विश्राम उठेर हिंड्नुपर्ने थियो हिजो नै । हामीलाई छोडेर गएको बतास धेरै टाडा पुगिसकेको हुनुपर्छ हामीलाई हेरेर गएका पन्छीहरू धेरै टाडा सायद टाडा पुगेको हुनुपर्छ । ०हामी हिंड्नु पथ्यो हिजो नै र पुग्नु पथ्यो टुङ्गोमा धेरै लामो भयो हाम्रो विश्राम धेरै लामो भयो । (धेरै लामो भयो) वास्तवमा हामी जुन अवस्था र स्थितिमा छौं, हामी धेरै पछि छुटेका छौं । एक्काइसौं शताब्दिको यस प्रतिस्पर्धामा हामी कहाँ छौं ? केवल खाने र लगाउने मात्र युद्धमा छौं हामी । हामीले खानु र लाउनुभन्दा पर्तिर सोच्नै सकेका छैनौं तर यसबाटको मुक्ति पनि त हाम्रै प्रयत्नबाट मात्र संभव छ, होइन र ? उनका कवितामा भेटिएको विद्रोहको सबैभन्दा कडा स्वर यस्तो छ ।– ० ए ! काला सालिकहरू अब बन्द गर वंशावलीहरू बक्सिसका तक्मा र लालमोहरहरू अझै पनि सालिकका दृष्टिहरू क्षतविक्षत हुनै बाँकी छ सजग ! आवाजहरू सजग होऊ बन्दुकको सिरानी हालेर कोही ढुक्कले निदाउन सक्दैन । (मुक्तिका मुरलीहरू) त्यसो त अशेषका कवितामा आमा, पत्नी र छोरीहरू पनि छन् । प्रेम र प्रणयको कामना पनि छ तर, रुमानी प्रेम र प्रणय देखिदैन त्यहाँ । त्यो प्रेम र प्रणयमा पनि सामाजिक र राष्ट्रिय दायित्व सिधा उँभिएको भेटिन्छ । उनको भावुकतामा पनि एउटा जिम्मेदारी संधै पाले भएर उँभिएको हुन्छ । ‘सुहागरात’ कवितामा भन्छन् – तिमीलाई दुलही बनाएर भित्र्याउँदा एक्लै आउँछ्यौ भन्ने लागेको थियो तर तिमी एक्लै आइनौं एउटा जुलुस पनि बोकेर आयौ हातमा ल्पेकार्ड लिएको लामो जुलुस धेरै मूर्दाबाद र थोरै जिन्दाबादका ल्पेकार्ड धेरै बिरोध र थोरै समर्थनका ल्पेकार्ड के जुलुस मसंगै बस्छ ? विवाहको पहिलो सुहागरातमै अभाव र समस्याहरूको स्मृतिले मानसिकतालाई आक्रान्त पारेको छ । गरिबीले थिचेको हाम्रो अवस्थाको यो पीडादायी चित्रण हो । सबै थोक बिर्सिएर जीवनको पहिलो प्रणयको रातमा पनि मनभरी समस्या बोकेर एकअर्कालाई अँगाल्नुपर्ने स्थिति कति निरासाजनक छ ! प्रेम गर्न, माया गर्न पनि फुर्सद छैन । केही युद्धका केही शान्तिका राष्ट्रिय, अलिकति अन्तराष्ट्रिय भूगोल र केही इतिहास अखवार, रेडियो, चर्चा–विचर्चाका कुरा गरेर केही समय उब्रेछ भने तिमीलाई माया गरुँला केही क्रान्तिका टिप्पणी लेख्दै, पढ्दै, मेट्दै भैगो, यो पनि किन र ! प्रेमिकासंग वा पत्नीसंग माया गर्न पनि फुर्सद चाहिएको छ । हामीलाई गाँजेर ल्याएको सामाजिक र राष्ट्रिय चेतनाले निजात्मकतालाई समेत नियोजित गरेको छ । पत्नीलाई सम्झिदाको चित्रण पनि भावुकताले भरिएकै छ । जस्तै– तिमी नभएपछि कोठामा केही पनि हुँदैन भित्ता, दराज, पुस्तक, तस्वीर केही पनि हुँदैन तिमी नभएपछि कोठामा कोठा स्वयं पनि हुँदैन । (तिमी नभएपछि) घरमा पत्नीको अर्थ र उपस्थिति खोज्छन् उनी । आफूभित्रै हुन्छ तिनको उपस्थिति । भित्रकै लागि बाहिर खोजिएको त्यसरी । अशेषले आफ्ना कवितामा नारीको जीवनलाई सारै मार्मिक पाराले खिचेका छन् । ग्रामीण महिलाको जीवनको यथार्थ रूप यो कविता हो । आज पनि हाम्रा नारीहरू यस अवस्थाबाट मुक्त छैनन् । उनी लेख्छन्– घाँसको पहाड पिठ्युमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकीछे उकालो नाम सोध्दा थाहा छैन भन्छे । ० चुला, जङ्गल, कुवा र गोठका स्कुलमा कसौडी, गाग्री, घाँस र दाउराका अक्षरहरू पढ्दै जीवनको परीक्षामा हाम फालेर सँधै अनुत्तीर्ण, आफैंलाई बिर्सेकी थकित् अविश्रान्त यात्रामा हिडेकी नाम सोध्दा थाहा छैन भन्छे । (नाम सोध्दा थाहा छैन भन्छे) नामबिनै, परिचयबिनै सारा जिन्दगी बाँचिरहेका हाम्रा आमा, दिदीबहिनीहरूको जिन्दगीको तस्वीर हो यो । अनाम जिन्दगीको सशक्त चित्र । पत्नी, प्रेमिका, छोरी र नारीका बारेमा उठेको उनको कलमले रुमानी भावुकता र प्रणयचेतको हैन जीवनको कारुणिक पक्षकै प्रतिनिधित्व गरेका छन् । उनका कुनै कविताले पनि हाँसो, रमाइलो र उज्यालो पोख्न सकेका छैनन् । गम्भीरता अशेषका कविताका विशेषता हुन् । उनका अरू समकालीन कविहरूका जस्ता कडा विद्रोहका नारा र स्वर पनि सुनिदैन । विध्वंश र विनासका प्रस्ताव पनि देखिदैनन् । सन्तुष्टिका सानातिना बिसौनीहरू पनि छैनन् । मसिनो र भलाद्मी स्वरमा यथास्थितिका बिरुद्ध निरन्तर यात्राको डेगिलो पाइला उचाल्छन् उनका कविताले । कविताका अधिकाँश भावनाहरू मानवअधिकार प्राप्ति र गरिबीबाट मुक्तिका निम्ति सशक्त भएर उभिएका छन् । अधिकांश कवितामा मुक्तिको चेतना प्रवल छ । प्रायः सबै कविताले यथास्थिति र गतिहिनताका विरुद्ध यात्राको प्रस्ताव गरेका छन् । हिंड्नु पर्ने र हिंडिहाल्नुपर्ने हतारो बोकेका छन् मनमा । तर मनमा मात्र छ–यात्रामा छैन । बास बसेको, अल्छी गरेको, निदाएको, प्रवृत्तिको चित्रणमा धेरै पृष्ठ खर्च भएका छन् । प्रायः सबै कविता देशप्रति चिन्तित छन् । राष्ट्रियता र प्रजातन्त्रका लागि छटपटाएका छन् । कविताका अधिकाँश भावनाहरू मानवअधिकार प्राप्ति र गरिबीबाट मुक्तिका निम्ति सशक्त भएर उभिएका छन् । सन्देशमुलक र उर्जाशील भए पनि उनका कवितामा एकरसताको कमजोरी देखिन्छ । प्रत्येक कविताले उस्तैउस्तै खाले विचारहरू सम्प्रेषित गरेकाले पढ्ने रुचीमा बाधा पनि उत्पन्न भएको आभाष हुन्छ । यस्तो हुनुमा उनका यी कविताहरूको काललाई फेरि एकपल्ट सम्झेर हेर्नुपर्छ । त्यो काल भनेको प्रजातन्त्रले हारेको निराशाजनक काल थियो । त्यसकालका अधिकांश कविहरूका कविताको धार नै यही थियो । #कृष्ण धरावासी
नेपाली गुरुहरूको भाषा शुद्ध हुनुपर्छ कि पर्दैन ?: उठानः नेपालमा सबैभन्दा बढ्ता बोलिने, लेखिने, पढिने र प्रकाशन गरिने भाषा नेपाली नै हो । यही भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ । अन्तरराष्ट्रिय ठानिएको अङ्ग्रेजी भाषासँगै नेपाली भाषा पनि प्रारम्भिक कक्षादेखि माध्यमिक तहसम्म अनिवार्य विषयका रूपमा सबैले पढ्दै आएका छन् तर अन्य धेरैजसो विषय अङ्ग्रेजी माध्यमबाट पढाइने र नेपाली विषय मात्र नेपाली माध्यमबाट पढाइने गरिएकाले हाम्रा विद्यार्थीहरू नेपाली विषयमा विद्यालय तहदेखि नै कमजोर हुँदै गएका हुन् । त्यसका अतिरिक्त कतिपय संस्थागत विद्यालयहरूले नेपाली विषयको कक्षाबाहेक अरू बेला विद्यालयभित्र नेपाली बोलेमा जरिवाना तिराउने दुष्प्रवृत्तिले गर्दा पनि विद्यार्थीका मनमा नेपाली भाषाप्रति बाल्यकालदेखि नै वितृष्णा पैदा भइरहेको हुन्छ । त्यसका साथै हामी धेरैजसो अभिभावकले पनि आफ्ना बालबच्चाले अङ्ग्रेजी राम्रोसँग बोल्न र लेख्न सकून् भन्ने चाहना राख्छौँ । जसका कारण पनि हाम्रा विद्यार्थी नेपालीमा कमजोर हुँदै गएका हुन् । तिनै कमजोर विद्यार्थीले जसोतसो गरेर उच्च शिक्षा हासिल गरी नेपाली विषय शिक्षकको जिम्मेवारी पनि सम्हाल्न पुग्छन् तर उनीहरूका मनमा नेपाली भाषाप्रति सच्चा सम्मानभावको उदय नै हुन सकिरहेको हुँदैन । यस परिस्थितिमा हामी र हामीजस्ता नेपाली गुरुहरूको भाषा शुद्ध हुन नसक्नु स्वाभाविक हो तापनि हामी आफैले आफ्ना गुरु र आफ्नो समेत आलोचना गर्दै भाषिक शुद्धताका बारेमा सचेत भइरहनु आवश्यक छ । प्रा. मोहनराज शर्माको अनुनासिक लेखिने त्रुटिपूर्ण नियमको पुनरावृत्ति: भाषाविज्ञानका दृष्टिले नेपाली भाषा र व्याकरणलाई नयाँ पद्धतिमा डोऱ्याउनका लागि प्रा. मोहनराज शर्माले दिएको योगदान महत्त्वपूर्ण र अविस्मरणीय छ । उनको ‘शब्दरचना र वर्णविन्यास’ नामक पुस्तक २०३६ सालदेखि दुई दशकभन्दा बढ्ता आदर्श र मानक नेपाली व्याकरण मानेर पछ्याउने शिक्षक र विद्यार्थीहरू धेरै भए । त्यसमा उल्लिखित अनुनासिक वा चन्द्रविन्दु लेखिने ठाउँहरूको विवरण नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०७१ मा प्रकाशित ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ नामक पुस्तकको पृष्ठ ५१५ मा पुनरावृत्ति भएको छ । त्यसमा विशेष गरी डिकामाथि ई, ए, ओ र औ मात्रा नभएमा अनुनासिक वा चन्द्रविन्दु लगाउने र डिकामाथि ई, ए, ओ र औ मात्रा लागेमा शिरविन्दुको प्रयोग गर्नुपर्छ भन्ने आशयको नियम उल्लेख गरिएको छ । तदनुसार अँगार, हाँडी, सुँगुर, आएँ, हेरुँला, गाउँछ जस्ता शब्दमा मात्र चन्द्रविन्दु लगाउने र ढिंडो, गैंडा, छामें, गयौं, समातौंला, छौं आदिमा शिरविन्दु लगाउन निर्देश गरिएको छ । शीर्षकमा ‘अनुनासिक लेखिने ठाउँ’ भनेर उदाहरणमा अनुस्वारसमेत लेखिने शब्दहरू दिनु युक्तिसङ्गत देखिँदैन । तसर्थ डिकामाथि मात्रा लागे पनि गैँडा, छौँ जस्ता शब्दमा चन्द्रविन्दुको प्रयोग गर्नु युक्तिसङ्गत देखिन्छ । अपवादका रूपमा ‘तपाईं’ शब्दमा दीर्घ ईकारसँग चन्द्रविन्दु स्पष्ट नदेखिने भएकाले शिरविन्दु लगाउन सकिन्छ भने अन्य मात्रा लागेका शब्दमा मात्रा नदेखिने फन्टको प्रयोगबाट बचेर मात्रा देखिने फन्टको प्रयोग गर्नु उपयुक्त हुन्छ । उक्त पुस्तकमा अनुनासिक लाग्ने शब्दकै चर्चा गर्ने क्रममा ‘देखाउँनेछ, देखाउँनेछौ, देखाउँनेछु, देखाउँनेछौं, देखाउँनेछस्’ जस्ता शब्दमा समेत उकारमाथि चन्द्रविन्दु लगाइएको छ । वास्तवमा नेपालीमा छ, थ र द आदिमा हुने प्रत्यय पछाडि भएमा मात्र धात्वन्त उकारका ठाउँमा चन्द्रविन्दुको आगम हुन्छ । त्यसैले गाउँछ, गाउँथ्यो, गाउँदै जस्ता शब्दमा चन्द्रविन्दु स्वाभाविक भए पनि ‘न’ आदिमा हुने प्रत्यय पछाडि भएमा चन्द्रविन्दुको आगम अस्वाभाविक भएकाले उपर्युक्त ‘देखाउँनेछ’ जस्ता उदाहरणहरू अनुपयुक्त ठहरिन्छन् । मोहनराज शर्मा गुरुकै त्रुटिपूर्ण नियमको हुबहु अनुकरण गर्दै जाँदा केही नेपाली गुरु र लेखकका लेखहरूमा समेत ‘देखाउँनेछ’ जस्ता अनुपयुक्त शब्दहरूको पुनरावृत्ति भइरहेको देख्न सकिन्छ । प्रा.डा. हेमाङ्गराज अधिकारीको लेखमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू: प्रा.डा. हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणका क्षेत्रमा सक्रिय भाषाविशेषज्ञ हुन् । जसले बढ्ता काम गर्छ त्यसको बढ्ता आलोचना हुनु पनि अस्वाभाविक होइन । नेपाली वर्णविन्यासका क्षेत्रमा नयाँ धारको नेतृत्व गर्दै आएका कारण उनको बढ्ता आलोचना पनि हुँदै आएको छ । उनले आफ्नै मान्यताका आधारमा आफ्नो नामलाई ‘हेमाङ्ग राज अधिकारी’ भनी पदवियोग गरेर लेख्न रुचाउँछन् । ‘हेमाङ्गराज’ तत्सम शब्द हो र तत्सम शब्दको वर्णविन्यास संस्कृतकै नियमानुसार हुन्छ भन्ने कुरामा पनि उनको विमति देखिँदैन तर ‘हेमाङ्गराज’ शब्दलाई पदवियोग गरी लेख्नुको आधार भने पाठकहरूले प्राप्त गर्न सकेका छैनन् । यसरी पदवियोग गरेर लेख्ता ‘राज’ शब्दको अर्थ पनि समन्वय हुन सक्तैन । उनले लेखेको ‘भाषा शिक्षणका लागि रचनामुखी व्याकरणको खोजी’ शीर्षकको लेख शत्रुघ्नप्रसाद गुप्ताले फेसबुकमा राखेका छन् । उक्त लेखमा ‘भाषाका बारेमा’ तिर्यक् कारकको प्रयाग हुनुपर्नेमा ‘भाषाको बारेमा’ भएको छ । त्यसैगरी मद्दत, हरू, भर्खर, बिस्तार बिस्तार, छुट्ट्याउने र आवाज हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः मदत, हरु, भरखर, विस्तार विस्तार, छुट्याउने र आबाज शब्दहरूको प्रयोग गरिएको छ । सर्वसाधारण लेखकका लेखमा यस किसिमका भाषिक कसरहरू रहनु सामान्य ठान्न सकिएला तर नेपाली भाषाका विशेषज्ञ अग्रज गुरुका लेखमा यस्ता भाषिक त्रुटिहरू रहनुलाई सामान्य कमजोरी मान्न सकिँदैन । यस लेखमा नयाँ धारको वर्णविन्यास प्रयोग गरिएका कारण पुराना धारका पाठकलाई अप्ठ्यारो लाग्नु अस्वाभाविक होइन तर उपर्युक्त भाषिक कमजोरीहरू भने नयाँ र पुराना दुवै धारका दृष्टिमा कमजोरी नै ठानिन्छन् । प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको निबन्धमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू: ‘बृहत् नेपाली शब्दकोश’ (२०६०) को सम्पादन सहयोगीदेखि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्षमा रहेर त्रुटिपूर्ण ‘बृहत् नेपाली शब्दकोश’ (२०७२) को खारेजी र पाठ्यपुस्तकहरूमा अन्योल रहेको वर्णविन्यासलाई निराकरण गर्ने दिशामा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले पुऱ्याएको नेतृत्वदायी भाषिक योगदान स्मरणीय छ । यसरी भाषिक शुद्धताको नेतृत्व वहन गरिरहेका भाषाविशेषज्ञ अग्रज गुरुहरूका लेखरचनामा पाठकहरूले भाषिक त्रुटिहरू नरहिदिऊन् भन्ने अपेक्षा राख्नु अस्वाभाविक होइन तर २०७७ श्रावण १६ गते ‘बिआरटी नेपाल डट कम’ नामक अनलाइन पत्रिकामा प्रकाशित ‘खामरण अनसन’ शीर्षकको व्यङ्ग्य निबन्धको शीर्षकमै त्रुटिपूर्ण शब्दको प्रयोग भएको देखिन्छ । शीर्षकमै मात्र गल्ती भएको रहेनछ, निबन्धभरि ५७ ठाउँमा प्रयोग गरिएको ‘अनसन’ शब्दको अर्थ कुनै शब्दकोशमा भेटिँदैन । अनलाइन पत्रिकामा युनिकोडमा प्रकाशन हुँदा फन्ट नै बदलिएर ‘अनसन’ भएको पो हो कि भन्न पनि सकिँदैन र लेखक स्वयंद्वारा फेसबुकमा सेयर गर्दा पनि ‘अनसन’ शब्दको प्रयोग गरिएको छ । ११६ ओटा टिप्पणीहरू आउँदा एकजनाद्वारा मात्र ‘अनशन’ शब्दको प्रयोग गरिएको र १२ जनाले सेयर गर्दा पनि एकजनाद्वारा मात्र ‘अनशन’ शब्दको प्रयोग भएको देखिन्छ तर ‘हार्दिक धन्यवाद’को प्रत्युत्तर दिइरहँदा ती दुई जनाद्वारा प्रयुक्त ‘अनशन’ शब्दले लेखकको ध्यान आकृष्ट गर्न सकेको देखिँदैन । यसका आधारमा आहारत्याग वा उपवासका सन्दर्भमा लेखकले ‘अनशन’ शब्दको सट्टा अनुपयुक्त ‘अनसन’ शब्दको प्रयोग गर्न रुचाएको बुझिन्छ । संस्कृत पृष्ठभूमिको अध्ययनबाट विमुख हुँदा यस किसिमको असावधानी हुनु स्वाभाविक मानिए पनि वरिष्ठ भाषाविशेषज्ञले सार्थक ‘अनशन’ शब्दको सट्टा निरर्थक ‘अनसन’ शब्दको प्रयोगबाट बच्न प्रयास गर्नु आवश्यक छ । ‘अनशन’ शब्दका साथै सोही लेखमा हुन त हुनुपर्नेमा हुनत, भइहाल्छ र भइहाल्थ्यो हुनुपर्नेमा भैहाल्छ र भैहाल्थ्यो, नित्यक्रियामा समेत हुनुपर्नेमा नियत्यक्रियामासमेत, हिँडे हुनुपर्नेमा हिंडे, जान पाऊँ हुनुपर्नेमा जानपाऊँ, वर्षौं हुनुपर्नेमा वर्षौ, पार्टी कार्यालय हुनुपर्नेमा पाटी कार्यालय, आफू हुनुपर्नेमा आफु, एकवर्ष, एकदिन र एकसूत्रीय हुनुपर्नेमा एक वर्ष, एक दिन र एक सूत्रीय, निर्लज्ज हुनुपर्नेमा निर्र्लज्ज, क्यारे हुनुपर्नेमा क्या रे, होइन हुनुपर्नेमा हैन, सांसद हुनुपर्नेमा सांसद्, बूढीकन्या हुनुपर्नेमा बुढीकन्या, करङ हुनुपर्नेमा करङ् र राति हुनुपर्नेमा राती शब्दको प्रयोग गरिएको छ । ‘दो’ कृत् प्रत्यय लागेका शब्दका साथमा ‘छ’ क्रियापदको पदवियोग हुनुपर्नेमा हुँदोछ, बढ्दोछ जस्ता शब्दको समेत प्रयोग गरिएको छ । सामान्य लेखकका लेखमा यस किसिमका त्रुटिहरू रहनु आश्चर्यको कुरा नभए पनि नेपाली भाषाविशेषज्ञकै लेखमा यस किसिमका त्रुटिहरू पाठकका लागि क्षम्य मानिँदैनन् । फेसबुकमा राखिएको लेख पढ्ने र टिप्पणी गर्नेमध्येमा नेपाली विषयकै प्राध्यापकहरूसमेत भए पनि उनीहरूको ध्यान व्यङ्ग्यतिर गयो तर भाषिक त्रुटिहरूतिर जान सकेन । यसरी भाषाविद्का लेखनमा विद्यमान त्रुटिहरूप्रति आँखा चिम्लिँदै जाने हो भने यस्तै लेखमा प्रयोग गरिएका शब्दलाई मानक वा शुद्ध शब्द ठानेर सर्वसाधारण प्रयोक्ताहरूले अनुकरण गर्दै जाँदा नेपाली भाषामा शुद्धता कायम गर्न निकै कठिनाइ उत्पन्न हुनेछ । तसर्थ यस्ता लेखहरूमा विद्यमान त्रुटिहरू निराकरण गर्दै जाने दिशामा लेखक स्वयं र प्रबुद्ध पाठकहरूको समेत बेलैमा ध्यान जानु आवश्यक देखिन्छ । सहप्रा. डा. धनप्रसाद सुवेदीको लेखमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू: पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत सहप्राध्यापक डा. धनप्रसाद सुवेदीको पनि नेपाली भाषा–व्याकरणका क्षेत्रमा विशेष योगदान रहेको छ । भाषाविशेषज्ञ र पाठ्यपुस्तक लेखकका रूपमा सुपरिचित उनका लेखरचनाहरूमा पनि भाषिक त्रुटिहरू हुँदैनन् भन्ने अपेक्षा पाठकहरूले राखिरहेका हुन्छन् तर यस्ता लेखकका लेखरचनामा पनि भाषिक त्रुटिहरू हुन्छन् भनेर पाठकहरू सचेत हुनु आवश्यक छ । घनश्याम ढकाल स्मृतिग्रन्थमा प्रकाशित ‘घनश्याम ढकालका उपन्यासमा जनयुद्ध’ शीर्षकको उनको ‘लेख नेपाली समालोचना डट कम’ नामक अनलाइन पत्रिकामा समेत सन् २०२० जुलाई ३० मा प्रकाशित भएको छ । लेखको प्रारम्भमै लेखकको पद ‘सहप्राध्यापक’ हुनुपर्नेमा ‘सह प्राध्यायपक’ भएको छ भने ‘मार्क्सवादी’ हुनुपर्नेमा ‘माक्र्सवादी’ पनि उल्लेख गरिएको छ । नामको वर्णविन्यास जसरी गरे पनि हुन्छ भन्ने बेथिति बढेकै कारण ‘वसन्त’ हुनुपर्नेमा बसन्त भएको छ । षड्यन्त्र, विस्तार, अन्याय, न्युटन, दशक, महत्त्व, रणनीतिक, भन्डाफोर, उपन्यासले, महान्, राष्ट्रियताको, नउठाई, एक ठाउँमा, तत्त्व, सुरु, स्थापनाका लागि, दुष्प्रचार, खतरा, अरू, युगयुगसम्म, हो तर, नाङ्गो, उत्रँदैछौँ, शोषित, सिकार, जनपरिषद्, शोषणका, चित्रण, छ तर, ग्रामीण र वन्दना उल्लेख हुनुपर्नेमा यिनको सट्टा क्रमशः षडयन्त्र, बिस्तार, अत्याय, न्यूटन, दसक, महत्व, रणनैतिक, भण्डाफोर, उपन्यासमले, महान, राष्ट्रियताकोद्ध, नउठाइ, एक ठाउँ, तत्व, शुरु, स्थापनाको लागि, दुस्प्रचार, खतारा, अरु, युगयुग सम्म, हो, तर, नांगो, उत्रदैछौं, शिोषत, शिकार, जनपरिषद, शोषणको, चित्रण, छ, तर, ग्रामाीण र बन्दना वर्णविन्यासगत त्रुटिपूर्ण शब्दको प्रयोग गरिएको छ । नेपाली पाठ्यपुस्तकका लेखक र नेपाली भाषाकै क्षेत्रमा बढ्ता योगदान दिइरहेका अग्रज गुरुका लेखमा यस किसिमका भाषिक त्रुटिहरू रहँदै जाँदा पाठकहरूमा पर्ने नकारात्मक प्रभावका बारेमा लेखकले विचार पुऱ्याउनु जरुरी छ । जन्मवंशको जस्तो विद्यावंशको पनि उन्नति र विस्तारका लागि चेलाचेलीले आफूभन्दा बढ्ता जानून् भन्ने चाहना राख्ने गुरुहरू नै सदैव जीवन्त रहन्छन् र उनीहरूको विद्यावंश पनि सदैव जीवन्त रहन सक्छ । के गुरुहरूका भाषिक त्रुटिहरू औँल्याउनु अपराध हो ? विद्यार्थीरूले मात्र होइन गुरुहरूले पनि सदैव विद्यार्थीले जस्तै सिकिरहने चाहना राख्नुपर्छ किनभने आफ्नो ज्ञानरूपी फलाममा खिया लाग्न नदिन र आफ्नो ज्ञानरूपी हतियारको धार तीखो बनाइरहनका लागि गुरुहरू सदैव अध्ययनशील बन्नुपर्छ । ‘शिष्यादिच्छेत् पराजयम्’ अर्थात् हरेक गुरुले आफ्ना चेलाचेलीबाट पराजित हुने आकाङ्क्षा राख्नुपर्छ । जन्मवंशको जस्तो विद्यावंशको पनि उन्नति र विस्तारका लागि चेलाचेलीले आफूभन्दा बढ्ता जानून् भन्ने चाहना राख्ने गुरुहरू नै सदैव जीवन्त रहन्छन् र उनीहरूको विद्यावंश पनि सदैव जीवन्त रहन सक्छ । त्यस्तै चेलाचेलीले आफ्ना गुरुहरूका त्रुटिहरू औँल्याउने हिम्मत गर्छन् र त्यस्ता गुरुहरू नै आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्न चाहन्छन् । ‘दोषा वाच्या गुरोरपि’ अर्थात् गुरुका दोष वा त्रुटिहरू पनि बताउनुपर्छ भन्ने कुरा उल्लेख गर्दा ‘संस्कृतका जडसूत्रवादीहरूलाई नेपाली भाषाको मर्म के थाहा ?’ भनेर औँला ठड्याउनेहरू पनि नेपाली भाषाका क्षेत्रमा नभेटिएलान् भन्न सकिन्न । आज कुनै आफ्ना चेलाचेलीले र सहकर्मी साथीहरूले गुरुका दोषहरू ढाकछोप गरिदिँदै गए भने लिखित सामग्रीका त्रुटिपूर्ण प्रयोगहरूलाई भोलि कुनै न कुनै सचेत प्रयोक्ताले अवश्य पनि औँल्याउनेछ भन्ने कुराको गम्भीर चिन्तन र मनन गर्न सकेका खण्डमा हाम्रा गुरुहरूले आफ्ना त्रुटिहरू औँल्याइदिने चेलाचेलीहरूलाई अपराधी ठान्ने छैनन् र चेलाचेलीहरू पनि गुरुका त्रुटिहरू औँल्याउनु अपराध होइन, कर्तव्य हो भन्ने ठानेर भाषाको चिन्तनमा अग्रसर हुन सक्नेछन् । बैठानः मुहानको पानी सङ्लिए धाराको पानी सङ्लिने कुरालाई हृदयङ्गम गरी हाम्रा वरिष्ठ भाषाविशेषज्ञ गुरुहरूको भाषा त्रुटिरहित हुन सक्यो र समयसमयमा नियमका नाममा जारी गरिने निर्देशनहरू आधारहीन अवस्थाबाट मुक्त हुन सके भने हामीजस्ता कनिष्ठ गुरुहरूको भाषा पनि त्रुटिरहित हुन सम्भव छ । साथै हामी कनिष्ठ गुरुहरूले पनि आफूलाई शङ्का लागेका ठाउँमा आफ्नै सहकर्मी साथीलाई र आफ्ना वरिष्ठ गुरुहरूलाई सोध्न अनि आफै त्यस्ता शङ्काको समाधान गर्नका लागि अध्ययन–अनुसन्धानमा प्रवृत्त हुन सक्यौँ भने ‘नेपाली गुरुहरूकै भाषा त्रुटिपूर्ण छ भने हाम्रो भाषा कसरी त्रुटिरहित हुन सक्छ र ?’ भनेर नेपाली भाषाका प्रयोक्ताहरूले गुनासो गर्ने नै थिएनन् । #डा. मतिप्रसाद ढकाल
मैले चिनेको रूपचन्द्र बिष्टः एक दार्शनिक: १. विक्रम संवत् २०३० सालमा मैले एस. एल. सी. परीक्षा दिएको थिएँ । एस. एल. सी. परीक्षापछि परीक्षाफल कुर्नुबाहेक केही काम हुँदैनथ्यो । त्यो बिदाको समयमा अहिले कम्प्युटर सिक्न गए जस्तै टाइपराटरमा टाइप गर्ने, अंग्रजी भाषा सिक्ने, वा आफूलाई मन परेको गीत गाउन सिक्ने, आदि चलन थियो । म पनि यस्तै यस्तै सिकाइमा थिएँ । मेरो छिमेकमा एक जना दाजु काठमाडौं वीरगञ्ज चल्ने मालगाडी चलाउनु हुन्थ्यो । उहाँले वीरगंज घुम्न जाने हो भनेर सोध्नु भयो, मैले खुसी हुँदै स्वीकारें । उहाँले चलाउने गाडीको अगाडि सिटमा राखेर बाइरोडको बाटो अर्थात् थानकोट, खानीखोला, सातघुम्ती , टिस्टुंग, पालुंग, दामन, सिम भन्ज्यांग, अघोर, महावीर, हेटौंडा, अमलेखगञ्ज, सिमरा, परवानीपुर वीरगञ्ज, रक्सौल ठाउँ ठाउँमा रोक्दै देखाउँदै लैजानु भयो । त्यो मेरो जीवनको पहिलो यात्रा मात्र नभई रक्सौलसम्म पुगेको हुनाले पहिलो विदेश यात्रा पनि थियो । यताबाट प्रायः गाडीहरू खाली जान्थे भने उताबाट सामानको भारीसहित आउथे । ती दाजुले फर्केर आउँदा मलाई दामन टावर देखाउन लैजानु भयो । दामन चिसो ठाउँ त थियो नै ,हुस्सु लागेको थियो । एक जना अग्लो मान्छेले हातमा टिकट थमाइदिए , त्यही लिएर दामन टावर चढियो । त्यतिखेरै मलाई लैजाने दाइले भन्नुभयो- यही हो रूपचन्द्र बिष्ट । यसरी पहिलोपल्ट रूपचन्द्र बिष्ट को हुन् भन्ने नबुझ्दै यसरी चिनेको थिएँ । २. नैकाप घर थियो, कुनै न कुनै कामले थानकोट गइरहनु पथ्र्यो । कालिमाटी, सुन्धारा त हाम्रो सहर आउने मूलबाटो नै थियो । सुन्धारा हाल सिभिल मल भएतर्फ बाइरोड जाने बस पाइन्थ्यो, बसको टिकट काउन्टर पनि त्यहीँ नै थियो । सबैजसो बस काउण्टरमा एउटा चित्रसहितको साइन बोर्ड हुन्थ्यो । त्यो चित्र हुन्थ्यो दामनको सडक र भ्यूटावरको । सबैले लामो दूरीको बस चढ्न जाने ठाउँ नै सुन्धारा थियो । त्यतिखेर ती भारतीय गाडीमा टाटा होइन मर्सिडीज कम्पनीको लोगो हुन्थ्यो । एकताका ती लामो दूरीको सबैजसो बसको निधारमा ‘थाहा’ लेखियो । किन लेखियो ‘थाहा’ के हो त थाहा थिएन । तर जताततै ‘थाहा’ले आतंकित पारेको थियो । थाहाको त्यो प्रचार अहिलेको कुनै बहुरार्ष्ट्रिय कम्पनीको विज्ञापनभन्दा कम थिएन । साधारण मानिसहरू ‘के हो थाहा ?’ भनेर सोध्थे । बुझ्नेले अर्थ बुझ्थे होलान् । नबुझ्नेले यही रूपचन रूपचन्द्रलाई मान्छेहरूले बोलाउने सजिलो नाम होला भन्थे । समय यति खुकुलो थिएन । हाम्रो टोल छिमेकमा हामीभन्दा उमेरदार दाजुहरू प्रतिबन्धित राजनीतिका कुरा गर्न नै डराउँथे । पुलिसको दबदबा चर्को थियो । एउटा पासपोर्ट लिन छ महिना लाग्थ्यो । त्यसका लागि पुलिसको गोप्य रिपोर्ट सम्बन्धित ठाउँमा पुगेपछि मात्र पाइन्थ्यो । त्यतिबेला यो थाहामय बसहरू मेरा लागि एक अनौठो रोमान्चकारी जानकारी मात्र थियो । ३. नैकापमा कार्की थरका छिमेकी काकाको घरमा बिहेको भोज थियो । पहिले बिहे भोज अहिले जस्तो पार्टी पालेसमा हुने होइन । सकेसम्म आफ्नो आँगन र सँगै जोडिएको बारीका पाटामा हुन्थ्यो । अहिले जस्तो, किसिम किसिमका खानाका प्रकार पनि हुँदैनथ्यो । साधारण खाना नै हुन्थ्यो । काकाले मेरो राजनैतिक र अक्षर चिनाउने गुरु पनि उहाँ नै हुनुहुन्छ भनेर सबैलाइ चिनाउनु भयो । रूपचन्द्र बिष्ट आफ्ना चेलाको घरमा आउनुभएको रहेछ । उहाँले कुनै बेला नैकापको मंगल प्राथमिक विद्यालयमा पढाउनुभएको रहेछ । ती काका त्यतिबेलैका चेला हुनुहुँदो रहेछ । स्नेह सायमि ४. रुदानेले राष्टिय पञ्चायतमा फलानो फलानो कुरामा थाहा चाहियो भने रे भनेर खुब सुनियो । के थाहा के थाहा । तर हामीले पनि बोलीचालीमा थाहा चाहियो भनेर भन्थ्यौँ । थाहा चाहियो भन्नु एउटा थेगो जस्तो भएको थियो । ५. रुदानेलाइ मैले चिन्न थालेँ, मैले पो चिनेँ उनले चिन्ने सम्भावना त थिएन । रुदानेलाई थाहा लेखिएको स्कूटरमा देखिन थाले । सबैलाई तँ भन्थे । भाते भन्थे । नेपालीमा भाते भनेर गाली गर्ने पनि चलन थियो त्यतिबेला , तर उनको भातेको अर्थ हुन्थ्यो भातै खानका लागि जिउने र दास हुने मान्छे । के गरी खान्छस्, दालभात भन्दा माथि उठ भन्ने उनको आक्रोशपूर्ण सन्देश हुन्थ्यो । सम्भवतः मानिसहरूको सोच एक्लै खाउँ पिउँ भन्ने भयो, आफैँ खान लाउन त पशुले मात्रै गर्छ, त्योभन्दा माथि उठ भन्ने उनको भनाइ थियो । ६. मैले रूपचन्द्र बिष्टलाई एकअर्कालाई चिन्ने गरी भेटेको वि. सं. २०५२ सालतिर हो । त्यतिखेर कालीमाटीतिर हाम्रो एउटा अफिस थियो । त्यो अफिसमा हामी चार जना संचालक थियौँ तर दैनिक रूपमा हेर्ने जिम्मेवारी मेरो थियो । उनी त्यो अफिसमा आइरहन्थे । एक दुई घण्टा बस्थे । मेरो दैनिक कार्यमा बाधा दिँदैनथे । अफिसमा कालो जडीबुटीको चियाको व्यवस्था थियो । तातोपानीमा चियापत्ती हाल्यो, बिस्तारै भिज्थ्यो र पिउने गथ्र्यौ । उहाँ आउनु भए पछि हामीले दिने त्यही हर्बल चिया थियो । त्योबेला उहाँ सबै किसिमले निष्क्रिय, निरास हुनुहुन्थ्यो । एक्लै जीवन बिताइरहनु भएको थियो । उहाँ हाम्रो अफिसमा आउने भएपछि म पनि उहाँको घरमा जान थालेँ । उहाँको घर लथालिङ्ग थियो । घर चारतल्लाको थियो, छेउमा एउटा जस्ताको टहरा थियो । घर खाली नै थियो तर उनी बस्थे जस्ताको टहरामा । आँगनभरि विभिन्न सामानहरू थियो । मैले देख्दा अलि मूल्य पर्ने भनेका अगराठका काठ थियो । अरू यति धेरै सामान थियो कि त्यसको उपयोगिता हुनै सक्दैनथ्यो जस्तो लाग्थ्यो मलाई । धाराबाट आएको पानी आल्मोनियमको पुरानो बाटा र डेक्चीमा थियो । एउटा मट्टीतेलको स्टोभ थियो । खाना पकाउने त्यस्तै पुरानो डेक्ची थियो । मिनरल वाटरको बोतल आधा काटेर पिँधपट्टिको भागले पानी उभाउने गर्थे । मैलो लुगा लगाउँथे , दारी काट्दैनथे । मनपरी खान्थे पिउँथे । स्वास्थ्यको पटक्कै ख्याल गरेको देखिनँ । त्योबेला मैले उनलाइ भेट्न आउने कोही मान्छे देखिनँ । उनी स्वस्थ हुन भनेर उनलाई सहयोग गर्न चाहने पनि कोही देखिनँ । मैले जिद्दी गरेर नजिकै बाफल गाइबाच्छापाटीमा डा. अरुण सायमिकहाँ लगेँ । उनलाई खकार यति धेरै थियो कि खकार आउनासाथ हाक् थु गर्न आँगनमा जान्थे । एकदिन उहाँको घर गएको थिएँ, उहाँलाई ज्वरो आएको रहेछ । चिसोले खकार पनि जमेको थियो । मैले अस्पताल जाउँ भनेको मान्नु भएन । कालिमाटीकै कुनै औषधी पसलबाट काम चलाउनु हुँदो रहेछ । मैले जिद्दी गरेर नजिकै बाफल गाइबाच्छापाटीमा डा. अरुण सायमिकहाँ लगेँ । उनलाई खकार यति धेरै थियो कि खकार आउनासाथ हाक् थु गर्न आँगनमा जान्थे । पहिलोपटक लैजाँदा उनको त्यो व्यवहार देखेर अरुणले भने, ‘कस्तो सोमत नभएको मान्छे लिएर आएको तिमीले । थुक्न त बाथरुममा जानु नि ।’ मैले भनेँ, ‘तिमीले खकारै नआउने औषधी लेखिदेउ न अनि थुक्दै थुक्दैनन् नि ।’ उनले सोधे, ुको मान्छे हो यो ? कहाँबाट लिएर आएको ?’ मैले कानैमा गएर भनेँ, ‘रुपचन्द्र बिष्ट ।’ उनी झल्यांस्स भए । कस्तो रूप भएछ त । त्यो दिनदेखि डा. अरुणले नियमित निःशूल्क सेवा दिए । उनी स्वस्थ हुँदै गए । उनीसँग औषधी किन्ने पनि पैसा हुँदैनथ्यो । हामी साथीहरू मिलेर व्यहोर्थ्यौ । लामो समय यो प्रक्रिया चल्यो । त्यहीताका उहाँको बसाई अलि व्यवस्थित गर्ने बारेमा मेरा नजिकका साथीहरूसँग छलफल गरेँ । त्यस्तो नयाँ कुरा गर्नु पर्ने थिएन । उहाँको घर भाडामा लाइदिनु, पुराना सामान बेचिदिनु, उहाँको बसाईका लागि केही फर्निचर ल्याएर राखिदिनु । मेरा नजिकका मित्रहरू मेरा यी कुरा सुनेर मुखामुख गरे । उनीहरूले भने- तपाईँले कोसिस गरेर हेर्नुस् न । त्यसपछि मैले सबैभन्दा पहिले काम नलाग्ने सामान थन्क्याउन प्रयत्न गरेँ । भनेँ, ‘दाइ, यो नचाहिने सामान कवाडीलाई बेचौँ ।’ उनले भने, ‘यो त कवाडीबाट नै किनेर ल्याएको हो । तिमीले चिन्छौ यो के को सामान हो ? यो त हवाइजहाजको फलानो पुर्जा हो, यो हेलिकप्टरको सामान । यो सामानको यति बलियो हुन्छ ।’, उनी ती कवाडी सामान हटाउन तयार नै भएनन् । अर्को भाषामा भन्दाखेरी मैले उनको विश्वास नै जित्न सकिनँ । मैले उनको मिनरल वाटरको आधा पिँध फालेर पानी उभाउने अर्को भाँडो राखिदिएँ । उनी रिसाए । मैले उनको सामान व्यवस्थित गर्ने काम गर्न सकिनँ । मैले किन सकिनँ भनेँ म उनको सेवाको लागि मन जितेर लाग्न सकिनँ । त्यो समय उहाँलाई अनुभूत हुनेगरी माया गर्ने मानिसहरूको खाँचो थियो । उनका चेलाहरू कुरा उनका जस्ता गर्ने काम कुराको विपरित गर्न थालिसकेका थिए । वास्तवमा उनकै शब्द प्रयोग गर्ने हो भने भाते भइसकेका थिए । मैले उनको सामान व्यवस्थित गर्ने काम गर्न सकिनँ । मैले किन सकिनँ भनेँ म उनको सेवाको लागि मन जितेर लाग्न सकिनँ । विचार निर्माण र सोको लागि भौतिक र मानसिक पुर्वाधारका लागि उनले जीवन दिए तर त्यो अनुरूपको न समूह बन्यो न परिवर्तन भयो । त्यसैले सम्भवतः उनी जीवनसँग थाकेका थिए । उनलाई कमसेकम एक जना उनलाई र उनको विचारलाई माया गर्ने, उनका केही कुरा सहन गर्नसक्ने मानिसको खाँचो थियो । त्यो खालको साथ नपाएकै कारण उनको जीवनको असमयमै अन्त्य भयो । उनी ठूला दार्शनिक थिए, उनका कुरा बुझ्न नै समय लाग्थ्यो । उनका बारेमा धेरै संस्मरण र मिथकहरू छन् । जो फेरि फेरि लेख्ने नै छु । #जीवनकाे रङ #स्नेह सायमि
बेस्ट सेलर हुने भाग्य: कोरोनाभाइरसका कारण संसारभर यतिबेला बन्दाबन्दीको अवस्थामा छ । यस्तो अवस्थामा पुस्तकको व्यापार चौपट रहेको केही व्यवसायीहरूको भनाइ रहे पनि केहीका लागि भने यो गज्जबको अवसर बन्न पुगेको छ । यो मामिलामा भाग्यमानी बन्न पुगेकी छन्, भारतीय मूलकी अमेरिकी लेखक अल्का जोशी । उनको नयाँ उपन्यास द हेन्ना आर्टिस्ट यतिबेला बेस्ट सेलर सूचीमा पर्न गएको छ । सन् १९५० को दशकको भारतीय भावभूमिमा तयार पारिएको यो उपन्यासलाई निस्कनेबित्तिकै कसैले पनि उति चासो दिएका थिएनन् । तर जब हलिउडकी प्रख्यात अभिनेत्री तथा अस्कर अवार्ड विजेता रिजी विदरस्पुनले व्यक्तिगत रूपमा यो पुस्तकका बारेमा खुलेर बोलिन्, अल्काको भाग्य उदय भयो । अहिले यो पुस्तक बेस्ट सेलर सूचीमा उक्लन सफल भएको छ । अल्का जोशी १७ वर्षको उमेरमा पारम्परिक रूपमा बिहे भएपछि गाउँको पीडादायी वैवाहिक जीवन बेहोर्न नसकेपछि जयपुर शहर भागेकी लक्ष्मी कसरी मेहन्दी लगाउने कलाकार बन्न पुगिन् र उनले आफ्नो भाग्य कसरी आफैँ सिर्जन गरिन् भन्ने उपन्यास यति हिट होला भनेर स्वयं अल्काले पनि कल्पेकी थिइनन् । अस्कर अवार्ड विजेता अभिनेत्री रिजी विदरस्पुन एकाएक रेस्टुराँमा बसेर पढ्ने संस्कृति ढल्यो, किताब पठन कार्यक्रम रद्द हुन थाले, प्रकाशकले आयोजन गर्ने हाई टी, पत्रकार सम्मेलनजस्ता कार्यक्रम नै बन्द भए । त्यो भन्दा पनि लेखिका अल्का जोशीले दिवंगत आमाको स्मृतिदिन पारेर १५० जना जति भेला गरेर आफ्नो किताब विमोचनको कार्यक्रम पनि बनाएकी थिइन् । त्यो पनि गर्न पाइनन् । उनलाई आफ्नो किताबको भाग्यमाथि दया लागिरहेको थियो र त्यो भन्दा बढी प्रकाशक माइरा बुक्सको ठूलो रकम फँसेकामा चिन्तित थिइन् । उनले भग इन्डिया म्यागेजिन सँग भनेकी छन्, ‘जुन उत्साहका साथ उनीहरूले किताब निकालेका थिए, ती सबै खेर गएको देख्दा मलाई दुःख लागेको थियो ।’ तर अचानक हलिउडकी प्रख्यात नायिका रिजी विदरस्पुनले चलाइरहेको महिलाकेन्द्रित पुस्तकहरूको पठन कार्यक्रममा मे महिनामा द हेन्ना आर्टिस्ट छानिएको खबर सार्वजनिक भएपछि भने किताब बिक्री उकालो लाग्न थाल्यो । ‘यस्तो त मैले कल्पनै गरेकी थिइनँ,’ अल्काले म्यागेजिनलाई भनेकी छन्, ‘मेरी आमाले भन्नुहुन्थ्यो- हरेक मान्छेले आफ्नो भाग्य आफैँ बनाउँछ । रिजीको घोषणापछि मलाई पनि केही गरौँ भन्ने जाँगर चलेर आयो । त्यसपछि उपन्यासका लागि आफूले गरेका शोधहरू, उपन्यासकी पात्र लक्ष्मीसँग मिल्ने मेरी आमा लगायतका चिजबिजहरू फेसबुकमा पोस्ट गर्न थालेँ । तिनै चिजबिजका आधारमा मिडियामा रिपोर्ट आउन थाले र क्रमशः किताबको चर्चा उक्लिन थाल्यो ।’ यसपछि उनको किताब उपन्यासको विधामा बेस्ट सेलरको सूचीमा द न्युयोर्क टाइम्स, लस एञ्जल्स टाइम्स, युएसए टुडे, टोरन्टो स्टार र द ग्लोब एन्ड मेलजस्ता पत्रिकामा पर्न थाल्यो । बेस्ट सेलर भएपछि त अल्कालाई यति उत्साह जाग्यो कि बन्दाबन्दीकै अवस्थामा उनले यसको अर्को भाग पनि लेखिसिध्याइन् । सो पुस्तकलाई पनि प्रकाशकले अर्को वर्ष निकाल्ने भनेर किनिसकेको छ । पहिलो उपन्यासबाट पाएको यो सफलताबाट खुसी हुँदै लेखिका अल्का भन्छिन्, ‘चमत्कार घट्छ, भलै बाहिर महामारी किन नहोस् !’ #अल्का जोशी #द हेन्ना आर्टिस्ट #रिजी विदरस्पुन
अरबका कवि सादी यूसुफ: सन् १९३४ मा इराकको बसरामा जन्मिएका सादी यूसुफ समकालीन अरबी कविताका जगतका अग्रणी कवि हुन् । कविता एवं गद्यको उनको ४० भन्दा बढी संग्रह प्रकाशित छन् । धर्मनिरपेक्षतावादी र क्रान्तिकारी कविको रुपमा आफ्नो परिचय बनाएका यूसुफ पश्चिमी दुनियाँको बाहेक इराकमा सद्दाम हुसेनको शासनकालमा सत्ताको सख्त विरोध गरेका कारण पनि लोकप्रिय छन् ।गलतका विरुद्ध हरहमेशा विरोधको आवाज उठाएकै कारण यूसुफ आफ्नो जीवनकालको अधिकतम समय निर्वासनमा बिताउन बाध्य भए । यस समय उनी लण्डनमा वसोबास गरिरहेका छन् । अरबी भाषामा लिखित उनका रचनाहरूलाई खालिद मुत्तावाद्वारा अंगेजीमा गरिएको अनुवादसंग्रह ‘ विथआउट एन अल्फाबेट, विथवाउट अ फेस २००२’ नामक संग्रह अत्याधिक सफल र चर्चित पुस्तक हो । उनका दुई कविता यहाँ प्रस्तुत छः धन्यवाद इमरू उल कैस आखिर आफ्नो ओठमा शान्तिको संदेश लिएर तिमी आयौ त सही निकोसियाको नजिकै रहेको यस आधाअधुरो अँध्यारो कोठामा ! अब गएर पाँच हजार माइल पर खोजी सकेका हौँ तिम्ले शब्दहरू ? सादी यूसुफ जबकी लेउ लागिसकेको छ तिम्रो घरमा ! र, समुन्द्रमा टुटेफुटेका छन्, छरपष्ट छन्, सबैसबै तीरवाणहरू ! शान्ति बनिरहोस जैतूनको बगैँचामा ! शान्ति बनिरहोस् यस अन्धकारमा ! शान्ति बनिरहोस् त्यो एकलौटी समुन्द्र किनारमा जसले दबदबे निन्द्रामा लुकाएर राखेको छ हाम्रो रगत ! शान्ति बनिरहोस् यस खण्डहरमा ! दुब्ला पातला हातहरूमा कुनै स्प्रिंग जसरी बिस्तारै बिस्तारै पर्दाफास गरिरहेछन् मलाई जसरी एक किसान झारिरहन्छ खुबानीको खस्रा कणहरू ! के यो तिमी हो ? जो चाँदी समान चम्किरहेका छौ जबकी संसार सीसाजडित भइसकेको छ ! मेरो चारैतिर सिर्फ सागरतट छ ! अब के सुरु गरौँ ? सहर जसको उनीहरू कुरा गर्छन्, ती रहुन् ! झोपडी, गाउँ, राजधानीहरू ! हाम्रो बाटो मिल्दछ र छुट्टिरहन्छ ! त, प्रस्थान गरौं ती सबै ठाउँहरूमा एकैपटक, यहाँदेखि ? के पुग्नु उचित हुन्छ सबै ठाउँमा ? पर छ हाम्रो सहर, र, पर छ हाम्रो पालकीभित्रको घायल अमरता ! मलाई तिम्रो दुब्ला पातला हातहरू चाहिन्छ ! म धेरै दिन जिउँदो रहन्न्, ए स्त्री ! पीउ मलाई म धेरै दिन जिउँदो रहन्न् मलाई मारी हाल ! सफेद मुलायम माटोको पहाड जसरी स्थिर छ बादल ! आकाश छुउलाछुउला झैँ गरि दगुर्छ एक बकुल्ला दगुर्छ छिमेकीको सीमासम्म पनि ! गिर्जाघरको मिनारसम्म पनि पुगिरहन्छ ऊ ! त्यहाँ तीन रुखहरू छन् र, एकदिन म तिनको चित्र कोर्नेछु त्यतिबेला मेरो एस्ट्रे भरिएको हुनेछ शंकेकिराहरूले ! सफा छ यति अबेला गरेर टप्किएको यो बिहान र, काँपिरहेका छन् बिरुवाहरू र, कापीरहेको छ टेबल ! के यो त्यही कर्कश ध्वनि हो ? के यो त्यही रगत हो, जो घुंडादेखि पिडुलातर्फ दौडिरहेछ ? मनमा शान्ति रहिहोस् यस माहुरीको, जो एकाबिहानै मसँग मिल्न आएकी छे ! जब हामी सडकहरूलाई नाप्न आएका थियौं, हामीले सोचेका थियौं कि रात इब्न खाल्दुनको ‘मुगादीमा’ भन्दा पनि छोटो हुन्छ ! र, हाम्ले भनेका थियौं ‘उत्तरी अफ्रीका हाम्रो द्वीप हो यसले हामीलाई बचाउनेछ चिडचिडाउँदो गर्मी र कठ्यांग्रिदो ठण्डीबाट !’ हामी युवा थियौं ! सायद हामी त्यो टर्रो अंगुर चाख्न आएका थियौं ! जसबाट हाम्रो पूर्वज बन्चित रहेका थिए ! यसप्रकारको बकबासको के अर्थ हुन सक्छ ? कुन मृत्यु ज्यादा सहज हुने गर्छ ? (ध्यान दिनुहोस्, हामीले यहाँ यो भनेका छैनौं, “कुन चाहि मृत्यु ज्यादा सुन्दर हुने गर्छ ?”) बन्दरगाह र समेराको रुख अर्धमुर्छित छ, अर्धचेत छ, यसैकारण त खुम्चिएका हौँ हामी एक कुनामा भाग्य गुमाएर । हातहतियारको बक्साहरूबाट आफ्नो हिस्सा पाउँनको लागि नौजवान साथीहरू लड्न मर्न तयार छन् ! यसप्रकार त हामी फेरी त्यस्तै बनिरहेका छौं, जस्तो हामी थियौं ! हामीले सिक्यौं तर यो अब त्यसको के अर्थ ? धन्यवाद इमरू उल किस, जो तिमी हत्याको शिकार भयौं ! बिहानको गौरेया अनारको दानामा छोड्छ आफ्नो एउटा प्वाँख ! एक बकुल्ला उड्छ गल्लीहरूमा आफ्नो हिस्साको सेन्टीमिटरका लागि ! र, तमाम झुण्ड बार्दलीमा खडा रहन्छन् अनन्त एकाकीपनमा बिहान आएको थियो, गइहाल्यो ! त, अब को आउँछ ? र, अब को आउँछ ? र, को रंगाउला च्यादरको किनार अब ? को मनाउला उसको औंलाको स्पर्शको उत्सव अब ? को मनाउला बिहानको उदेकपनको उत्सव अब ? भित्ताको सफेदमा चार नाउ चार नाउ समुन्द्रको किनारमा पनि ! बाटो रोकिरहने गर्छ ऐना ! मैले चाहेको थिए एक आवाज, जो नहोस् कोही अरूको जस्तो । र, अब म पनि जान्छु ऐनाहरूले भरिएको कोठामास के अब मैले मेरो आँखाहरू बन्द गर्ने बेला आएको हो ? के अब म त्यो सब कुरालाई अन्देखा गरौँ, जसतर्फ म हरहमेशा अन्देखा गर्दथे ? यति परसम्म तन्किदै गएको छ यो सडक तर ऐना अझ पनि बाटो रोक्न खोजिरहन्छ ! कहिलेकाही म लड्खडाएर गायब हुन्छु छोटा छोटा हिल्लामे खाडलमा भरिएका पानीमा ! बासपोरसको खाडी चम्किएको छ मेरो सामुन्ने ! मन्थनपश्चात मेरा हातहरूमा घाँस र एक सीपी ! चक्कर काटीरहन्छ माछो, झम्टीरहन्छ पुतलीहरूमाथि, गोहीहरूमाथि, ताराहरूमाथि र आँसुले डुबेका मानिसहरूको आँखाहरूमाथि ! अन्नत एकाकीपनले मारिरहेको छ मलाई कहाँदेखि आइरहेको छ यो आवाज ? ऐनाहरूले भरिएको भित्ताहरूबीच केहीबेरमा म फेरी सुरु गरौंला लड्खडाउन ! शब्दार्थ निकोसियाः साइप्रसको राजधानी जैतून ः एक वनस्पति, तेल निकाल्नको लागि प्रयोग गरिन्छ खुबानीः आरु र आरुबखडाकै प्रजाति इब्न खाल्दुनः अन्तिम अरबीयन भूगोलवीद, प्रथम पर्यावरणीय नियतवादी मुगादीमाः इब्न खाल्दुनद्वारा लिखित ग्रन्थ गौरेयाः घर भँगेरा बासपोरसको खाडीः इस्तानबुल नजिकको खाडी सीपीः सामुन्द्रिक जिवाशेष एक रोमन उपनिवेश हामी युनानी थियौँ अरबी रेगिस्तानको किनारमा हाम्रा घरहरू थिए तर हामीसँग दुई नदी थिए र थिए केही गाउँहरू र, खेत थियो, जसलाई तिनै नदीहरूले भरपुर सिचाइँ गरिरहन्थे हामीसँग केही कविगण थिए, जो छन्द रचना गर्थे कहिले स्त्री त कहिले फूलहरूको कुरा गर्दथे । र, ‘किनेसरीन’मा हामीले दर्शनशास्त्रको विश्वविद्यालय स्थापना गर्यौं विचित्र कुरा यो थियो कि त्यहाँ अक्सर अरस्तुका छात्रहरू आउजाउ गरिरहन्थे उनीहरू हामीलाई एथेन्समा लेखिरहिएको नवीनतम ग्रन्थहरूको बारेमा बताउने गर्दथे तर हामी यूनानी थियौ, र किसान पनि । हामीले कुनै हतियार बनाएनौं न हामीलाई आफ्ना छोरोनातीलाई फौजीमा ढाल्न आउथ्यो (अरस्तुको छात्रहरूले हामीलाई यो बताएनन् कि उनीहरूको अध्यापक मकदुनियाई फिलिपको छोरोलाई शहर जित्ने प्रशिक्षण दिइरहेको थियो ।) ‘दुनियाँ बदलिन्छ’, उनीहरूले यहाँसम्म भनेका थिए कि ‘सूर्य पनि एक दिन पश्चिमबाट उदाउनेछ’, यतिखेर म लड्खडाउदै बोलिरहेको छु दिवास्वप्न देखिरहेको, नितान्त एक्लो सिदोनको किरियाकोसको शराबखाना भित्र । माटोको मेरो प्याला गाढा कालो छ र, छ मेरो कपाल सफेद सेतो । म जान्दछु, पूरा विश्वास छ मलाई अब मलाई कसैले बताउनु पर्दैन कि रोमनीहरूले हाम्रो हुक्कापानी तब बन्द गरिदिएका थिए जब हामी एक उपनिवेश बनिसकेका थियौं । तर मलाई एक शंका छ किरियाकोस यो सत्यतासँग स्पष्ट थिए भनेर ! ‘दुनियाँ बदलिन्छ’, उनीहरूले भनेका थिए । भावार्थ १. ‘किनेसरीन’ : अरबको सुरुवाती खलीफाहरूले सिरियाको पाँच र छ सामारिक प्रान्तमा विभाजित गरेका थिए । किनेसरीन उत्तरी सिरियाई प्रान्त थियो । २. ‘सिदोन’ : लेबनानको तेस्रो ठूलो नगर ३. ‘किरियाकोस ’: इस्वी सम्वत ४४८मा सन्त किरियाकोस युनानको कोरिन्थ नगरमा जन्मिएका थिए । रोमन साम्राज्यको समयमा एक शहीदको नाम पनि किरियाकोस थियो । कवि तथा पत्रकार राजु झल्लुप्रसादले यी कवितालाई नेपाली भाषमा भावार्थ अनुवाद गरेका हुन् । #सादी यूसुफ
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. सङ्घर्ष केदार व्यथित (केदारमान व्यथित) तिम्रो र हाम्रो बीच बढ्दै गइरहेको यस सङ्घर्षमा हामीले नजिती भएको छैन । यस कारण कि हामी हा¥यौँ भने करोडौँ मानिसको पहिचान सधैँका लागि समाप्त हुनेछ । तर हामीले जित्यौँ भने पराजय कसैले पनि भोग्नुपर्ने छैन । किनकि हाम्रो जीतबाट लाभान्वित हुने मानिसहरूको लामो पङ्क्तिमा सममानवीय गर्वका साथ उभिइरहने मानिसहरूमध्ये एक जना स्वयम् तिमी पनि हुनेछौ । २. कुनै निश्चितता छैन (विजय मल्ल) विजय मल्ल कुनै निश्चितता छैन भनेरै शङ्कामा आफूलाई राख्न खोज्दछु, तर मलाई थाहा छ— म यस पृथ्वीमा जन्मनुपथ्र्यो, जन्मेँ । जेसुकै आइपर्छ, बोक्नुपर्दथ्यो, बोकेँ आकाशको शून्य रिक्ततामा मलाई धानिराख्ने सामथ्र्य थिएन यसैले म यहाँ आएँ । अब रित्तो आकाशलाई म किन हेरुँ ? मलाई शङ्का छैन— म यहाँ, यस अलमलमा जन्मनुपथ्र्यो, जन्मेँ । ३. मेरो देशको पुस्तक (वासु शशी) वासु शशी मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ ठाउँमा च्यातिएका छन् ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त भएन बा !’ भन्नेछन् यसका पन्नाहरूको अक्षर नै मेटिने गरी ठाउँ ठाउँमा कालो मसी पोखिएको छ ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त नराम्रो भो बा !’ भन्नेछन् अनि म बाँझोले बादललाई झैँ हेरिरहुँला— तिनीहरूले ती टुक्रिएका चौटाहरु ल्याएर जोडिरहेको दागहरू माझेर पुस्तक सफा गरेको ! हो, मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ ठाउँमा च्यातिएका छन् ! ४. त्रिकोण (पोषण पाण्डे) पोषण पाण्डे कसले निमोठ्छ मनको रहर कसले पार्छ नदीलाई बगर कसको चुम्बनमा अमृत हुन्छ कसको चुम्बनमा जहर ? आँसु त नुनिलो पानी हो पिउन लायकको छैन यो तर के पिउने पानीले मात्र दिलको गहिराइको प्यास मेट्छ र ? मानिसलाई कुकुरले टोक्दैन मानिसलाई मानिसले टोक्छ जनावर त यो हो भनेर था’ हुन्छ मानिस ! यो नै हो भनेर था’ हुँदैन । ५. नील आकाशको तारालाई (भीमदर्शन रोका) भीमदर्शन रोका नील आकाशको तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको तारालाई ! हामी जति टाढा भए पनि दिउँसो दूर दूर गए पनि सन्ध्या–समय फर्कन्छु सधैँ बलिरहने उज्यालो किनारालाई नील आकाशको तारालाई ! हाम्रो मिलनस्थल कति अग्लो र महान् छ कति मौन, कति गम्भीर, निश्चल छ कि आउँदैन केही आवाज कहिले तर बुझ्दछु म आँखा र इशारालाई नील आकाशको तारालाई ! #डा. विप्लव ढकाल
'चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार' पराजुली र लाठलाई: गणेशप्रसाद लाठ साहित्यपोस्ट चितवन साहित्य परिषद्ले स्थापना गरेको ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार २०७६’ आख्यानकारद्वय वसन्त पराजुली र गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ र वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषद्ले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ । परिषदका अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा परिषद् भवनमा बुधबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’ , सुमन सौरभको लघुकथासङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूक\u200dो ‘मेरो घाम’ लाई अर्पण गरिएको थियो । उक्त पुरस्कार मोती जयन्तीमा प्रदान गरिने नियमित कार्यक्रम भए पनि कोरना महामारीका कारण अहिले पुरस्कार घोषणा मात्र गरिएको र अवस्था अनुकूल हुनेबित्तिकै विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार समर्पण गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिएका छन् । वसन्त पराजुली
विचारः बग्रेल्ती किताबहरू, बिग्रिएको मानसिकता: हाम्रा वरिपरि जति धेरै व्यक्ति छन् मस्तिष्कमा त्यति नै धेरै तिनका विचारहरू पनि छन्। आदिकालदेखि नै विचारहरू विभिन्न तरिकाले व्यक्त हुँदै आइरहेका छन् । बितेका हरेक कालखण्डमा व्यक्त भएका विचारहरू लिपिबद्ध हुन थालेदेखि नै विचारहरूमाथि अनेकौँ प्रकारले घनिभूत छलफल र विमर्श पनि हुँदै आइरहेका छन् । विचारहरूमाथि विमर्श हुनु नै यसको सुन्दर पक्ष हो । कुण्ड पानी मुण्ड बुद्धि भने झैँ हरेक व्यक्तिमा आफूवरिपरि रहेका विषय र वस्तुमाथि भिन्न दृष्टिकोण उत्पन्न भइरहेका हुन्छन् र ती समय-समयमा परिमार्जन हुँदै पनि जान्छन्। यसै कारण हुनुपर्छ हरेक व्यक्तिले आफ्नो जीवनकालमा देखेका र भोगेका अनेकौँ विषयवस्तुहरूमाथि छुट्टै रहेको आफ्ना धारणाहरू व्यक्त गर्न ती विषयवस्तु सम्बन्धी आफ्ना विचार लिपिबद्ध गर्न लालयित हुन्छन्। विचारहरू साहित्यिक वा गैरसाहित्यिक रूपमा लेखिदै आएका छन्। शब्दहरूसँग खेल्न सक्नेहरू आफैँ लेख्न अघि सर्छन् भने शब्दहरूसँग घुलमिल हुन नसक्नेहरू अरू सक्षम व्यक्तिहरूलाई लेखाउन अघि सार्छन्। यस हिसाबले वर्तमान समयसम्म आइपुग्दा संसारभर लाखौँ व्यक्तिहरूले करोडौँ विषयवस्तुमा आधारित अरबौँ पुस्तकहरू लेखेर छपाइसकेका छन्। पुस्तक छपाउनु र त्यसले निर्दिष्ट पाठक पाउनु दुई भिन्न कुराहरू हुन्। प्रकाशित हरेक पुस्तकले पाठक नपाउन सक्छ। विषय र सन्दर्भले नतानेसम्म कुनै पनि व्यक्ति पुस्तकप्रति आकर्षित हुँदैन। आकर्षित भइहाले पनि दत्तचित्तले पठन गर्छ भन्ने पनि छैन। त्यसैले प्रश्नहरू उठ्नु स्वभाविक हो; के पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशित भइरहेका पो छन् कि ? के प्रकाशित सबै पुस्तकहरू पढिएका छन् त ? पढिए पछि ती विषयवस्तुहरू उपर चाहिने मात्रामा छलफल र विमर्श गरिएका छन् त ? यस्ता प्रश्नहरूका जवाफका रूपमा हामी यति मात्र भन्न सक्छौँ कि हालसम्म प्रकाशित अनगिन्ति पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशन भएका छन्। एकै विषयमा अनेकौँ पुस्तकहरू प्रकाशित भएका छन् र ती सम्पुर्ण पुस्तकहरूको सही रूपमा पठन हुन सकेको देखिदैन। पुस्तकहरू सिर्फ पुस्तकालयका र्याकमा सजिने वस्तु भएका छन्, चाहे ती व्यक्तिगत हुन् चाहे सार्वजनिक । दीपक श्रेष्ठ म मेरा साथीभाइहरूको घर जाँदा सुन्दर र्याकहरूमा लहरबद्ध मिलाएर राखिएका पुस्तकहरू देख्छु। ती पुस्तकहरूले बैठक कोठाको शोभा बढाउनेगरी स्थान पाउनेबाहेक तिनले उचित मूल्य पाउन नसकेको आभाष हुन्छ। साथीहरू पुस्तक थुपारेर आफ्ना खै कुन अभिलाषाहरू पूरा गर्दैछन् भन्ने प्रश्न मेरा सामु आइरहन्छ बारम्बार। साथीहरूसँग भएका किताबहरूको सङ्ख्याको कुरा भुइँमा झर्न नपाउँदै पुस्तक लगेर नफर्काउनेहरूको सूची अघि सार्छन्। अनि खै के विद्वता छ भनूँ पुस्तक संगालेर राख्नेहरूसँग । ती साथीहरूले के पढे होलान् र के सिकाए होलान् आफ्ना आफन्त अनि साथीभाइहरूलाई ? त्यसैले पनि मलाई के लागेको हो भनेँ पुस्तकहरू चाहिनेभन्दा बढी छापिए। ती देखाउने सस्ता वस्तुमा रूपान्तरण भए। पुस्तकहरू त त्यति मात्र छापिनुपर्छ जति मात्रामा त्यस पुस्तकले आफ्नो छुट्टै अस्तित्व दावी गर्न सक्छ । अर्थात् भनौं जति पाठकहरूको माग बढ्छ त्यही अनुसार मात्र छापिनुपर्छ । तर यहाँ त जो पनि लेखक, जेसुकै विषयवस्तुमा पनि पुस्तक ! घुम्न गयो, पुस्तक लेख्यो। जीवन अलि ढल्किदै गयो, संस्मरण निकाल्यो पुस्तकाकारमा । आफूले जानेका सानोतिनो विज्ञतामाथि वरपरका साथीभाइले पुस्तककै ठेली निकाल्न सकिन्छ नि ! भनेर उचालेको आधारमा साधारण व्यक्तिले ठूलै मूल्य चुकाएर पुस्तक छपाउँछन् र घरमा नभएको ठाउँ ओगटेर राख्छन् आफ्ना पुस्तकहरू। अनि सबैलाई आफ्ना सपनाहरू जिन्दगीभरि बाँड्दै बस्छन्। व्यापारमा भएको घाटा पूर्ति गर्न रहर गरेर पुस्तक निकाल्ने धुनमा लागेकाहरूलाई मुर्गा बनाई सस्ता पुस्तकहरूको थप सङ्ख्या बढाउन लागिपरेकै छन् प्रकाशक तथा वितरकहरू। वास्तवमा कसले कुन विषयमा कति थान पुस्तक निकाल्नुपर्छ भन्ने त्यस्तो कुनै कँसी छैन। तर पनि मनमा जे आयो त्यही विषयमा अक्षरको खेती गर्नु त्यति जायज काम होइन भन्ने लाग्छ। केही थान साहित्यिक रचनाहरू र गोजीमा केही थान हजारका नोटहरूले बजारमा नाम बिकाउँछु भनेर लागिपर्नेहरूकै कारण जस्तोसुकै पुस्तकहरू छापिइरहेका छन्। यस किसिमको पुस्तक निकाल्ने हुटहुटीले आफ्नो मात्र होइन अरूको समेत अमूल्य समय बर्बाद गरिरहेको हुन्छ। यो एउटा आधुनिक कालका पठितहरूको पाखण्डपन हो भन्छु म। त्यो पाखण्डपनले गर्दा असफलताका अनेकन आयामहरू खुल्दैछन्। लेखकहरू डिप्रेसनमा छन्। प्रकाशक तथा वितरकहरू ऋणमा डुबेका छन्। पुस्तक पसलेहरू वर्षौँ पुराना पुस्तकहरू कौडीको भाउमा कवाडीलाई बेच्न विवश छन्। रहर गरेर पुस्तकको दर्जा पनि पाउन नसक्ने पुस्तकहरू प्रकाशन गर्न लागिपरेका कलमका दुश्मनहरू बग्रेल्ती छन अझै । व्यापारमा भएको घाटा पूर्ति गर्न रहर गरेर पुस्तक निकाल्ने धुनमा लागेकाहरूलाई मुर्गा बनाई सस्ता पुस्तकहरूको थप सङ्ख्या बढाउन लागिपरेकै छन् प्रकाशक तथा वितरकहरू। यो समग्र पुस्तक संसारलाई विकृत तुल्याउँदै गइरहेको कटु यथार्थ हो। पुस्तकालयमा उत्कृष्ट पुस्तकहरूको सङ्कलन हुन्छ भन्ने मान्यता रहिआएको छ। हाम्रो परिवेशको कुरा गर्ने हो भने यथेष्ठ मात्रामा पुस्तकालयहरू नखुल्नु, विद्यालय तथा विश्वविद्यालयमा स्थापना गरिएका पुस्तकालयहरूमा पनि गुणस्तरीय एवं उल्लेख्य सङ्ख्यामा पुस्तकहरू अधावधिक नगर्नु एउटा ठूलो समस्या हो। यही समस्यामाथि टेकेर लेखक प्रकाशकहरू बजारमा नयाँ पुस्तकहरू छपाएर पठाउन उद्दत छन्। यदि पुस्तकालयहरूमा चाहिने मात्रामा पुस्तक राखिन्थे भने जे पायो त्यही पुस्तक किन्ने पाठकको सङ्ख्या खुम्चिन्थ्यो र यसरी जथाभावी रूपमा पुस्तकहरू कम छापिन्थे। त्यसैगरी पुस्तकमा प्रयोग भएको कागजको मूल्य मात्र लिनेगरी पुस्तकको मूल्य अंकित गर्नु बौद्धिक सम्पतिमाथि भएको अर्को ठूलो खेलबाड हो। यदि पुस्तकको मूल्य उच्च राखिदिने हो भने यसको महत्व सुन, चाँदी, हिरा, मोतीभन्दा पनि बहुमूल्य हुन जान्थ्यो र जसले पायो त्यसले छपाउने हिम्मत नै गर्दैनथे। यसले सङ्ख्याका हिसाबले कम तर गुणस्तरीय विषयवस्तुमा आधारित पुस्तकहरू मात्र छापिन्थे र पाठकहरू पनि सही हिसाबले डोरिन्थे। पाठकका निम्ति सस्तो मनोरञ्जन र लेखकका निम्ति खोक्रो आडम्बर दिलाउने नभई ज्ञानको भण्डार भरिदिने हेतुले किताब छापिने वातावरण बनाउनु आजको आवश्यकता हो। पुस्तकहरू छापिएको सङ्ख्याद्वारा होइन छापिएका विचारद्वारा सम्झिन लायक बनाउनु एकमात्र उद्देश्य हुनुपर्दछ। प्राज्ञिक विषयवस्तुमा आधारीत पुस्तकहरूका निश्चित पाठक हुन्छन् र ती चाहिने सङ्ख्यामा मात्र छापिन्छन्। तिनीहरूका लेखक पनि निश्चित हुन्छन्। त्यस्ता पुस्तक पढ्नेहरू त्यस विषयमा निखारिएर अझ बढी प्राज्ञिक भएर निस्कन्छन्। त्यसैले पुस्तकहरूको सङ्ख्या पनि प्राज्ञिक जगतले नै निर्धारण गर्छन्। तर सामान्य विषय वस्तुमा आधारीत पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशन भइरहेका छन् भन्ने लाग्छ। विषयवस्तुहरू समेत दोहोरिएका छन्। पढ्नेहरूलाई पनि सकस छ। के मात्र पढ्ने? कति मात्र पढ्ने? अनि पढेपछि कोसँग बाँड्ने पुस्तकका गुदी कुराहरू? हामी लेख्छौँ विश्वका सारा व्यक्तिले उस्तै बुझून् अनि उति नै पढून् भनेर। तर मेरो विचारमा हामीले लेखेका पुस्तकहरू केही हजार पाठकहरूले मात्र भए पनि विषयवस्तुको गहिराई बुझेर पढिदिएमा त्यो नै काफी हुन्छ। त्यो बुझाई समयको बहावसँगै अझ बढी प्रसार हुने हुँदा पुस्तकको महत्व थपिदै जानेछ। पढिसकेपछि त्यस पुस्तकका बारेमा बोल्ने स्थान उपलब्ध हुनुपर्ने अर्को सबैभन्दा महत्वपुर्ण कुरा हो। तर किताब हेर्नै मन नलगाउनेहरूको सङ्ख्या दिनदिनै बढ्दो छ। यो ठूलो चिन्ताको विषय हो। यदि हामीले पुस्तक पढ्ने संस्कृतिलाई जोगाइ राख्न सकेनौँ भने एकदिन पुस्तकहरू छापिन बन्द हुनेछन् र यसको मुख्य कारण हाल बेहिसाब अनि बेरोकटोक चलिरहेको पुस्तक छाप्ने, छपाउने कार्य नै जिम्मेवार ठहरिनेछ। हामीले अहिले एकमात्र कुरामा विचार पुर्याउनु अत्यन्त आवश्यक भइसकेको छ। त्यसका निम्ति गहन विषयवस्तु, ओजपूर्ण विचारहरू एवं गुणस्तरीय लेखनले भरिएको खँदिलो पुस्तक छपाउन लेखक तथा प्रकाशकहरू लागिपर्नु पर्छ । पुस्तकहरू छापिएको सङ्ख्याद्वारा होइन छापिएका विचारद्वारा सम्झिन लायक बनाउनु एकमात्र उद्देश्य हुनुपर्दछ। #दीपक श्रेष्ठ
सीमाहरूको विनिर्माणमा साहित्य: सन् २०११ मा काठमाडौँमा भएको एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीको विषय थियो— सीमाबिनाको संसार, र प्रमुख वक्ता थिइन् सुप्रसिद्ध सिद्धान्तकार गायत्री चक्रवर्ती स्पिभाक । गोष्ठीमा उनले राज्य–राष्ट्रहरूका कृत्रिम राजनैतिक सीमारेखाको अबका दिनमा खास अर्थ नहुने बताइरहँदा श्रोतादीर्घामा एक प्रकारको अन्योल विद्यमान थियो । हामी नेपालको, भारतको, चीनको अथवा अमेरिकाको साहित्य अथवा संस्कृति भनेर सिमानहरूको सापेक्षता सिर्जनालाई पढ्दै व व्याख्या गर्दै आएकाहरूलाई यस अवधारणाले अन्योलग्रस्थ तुल्यानु पनि स्वाभाविकै थियो । हुन त स्पिभाकले कल्पना गरेको सीमाविहीन संसार राजनैतिक अथवा सांस्कृतिकभन्दा पनि एउटा आर्थिक अवधारणा हो । विश्व एउटा बजारमा परिणत हुँदै जाने र देश–देशबीचका आर्थिक सीमाहरू विघटित हुँदै गइरहेको बेला क्षेत्रीय “इकोनोमिक जोन” विकसित हुँदै जाने पछिल्ला घटनाक्रमले उनी त्यसरी सोच्न अभिप्रेरित भएकी हुनुपर्छ । युरोपमा दुई दर्जन देशमा एउटै भिसा र मुद्रा चल्ने, अमेरिकको पासपोर्टले विश्वका कइयन मुलुकमा प्रवेश पाइने, अष्ट्रेलियन पासपोर्टधारी धेरै कमनवेल्थ मुलुक र आर्थिक शक्ति जापानजस्ता देश प्रवेश गर्न पाउने, अधिकांश सार्क देशभित्र एकअर्काका नागरिकलाई लेन्डिङ भिसाको व्यवस्था हुने जस्ता तथ्याङ्कले आर्थिक सीमारहीत विश्वको कल्पना सजिलो नभए पनि असम्भव चाहिँ होइन जस्तो देखाएको छ । नेशन–स्टेट्स अर्थात् राष्ट्र–राज्यको अवधाणा त्यति पुरानो होइन । हुन त, ईशापूर्व ७५० सालतिरै ग्रिसका सहरहरू नै राज्य थिए, जसमा आआफ्नै सरकार थियो । तर, पछि साम्राज्यवादको विकाससँग यी राज्य ठूलो राज्यका अवयव भए, र स्वतन्त्र अस्तित्व गुमाउन पुगे । यो दौर धेरै लामो समयसम्म रह्यो । आज हामीले बुझ्ने अर्थमा, राष्ट्र–राज्यको अवधारणा सत्रौँ शताब्दीमा युरोपमा देखिएको हो । यसै अवधारणाका आधारमा आजको फ्रान्स र बेलायत अस्तित्वमा आएको हुन् । साम्राज्यवादको अन्त्यपछि भने यसको विस्फोटै भयो संसारभरि, र सानासाना सिमानाभित्रका भूगोल आफैँमा राष्ट्र बने, राज्य बने । यसै अवधारणका आधारमा नागरिकता, नागरिक अधिकार, भूमिअधिकार, सम्पदामाथिको एकाधिकारजस्ता यसअघि बिरलै अनुभव गरिएका अवधारणाहरू क्रियाशील भएर आए । यसपछि नै हो यता र उता, पूर्व र पश्चिम, देश र विदेश, स्वदेशी र विदेशी जस्ता द्विचरका आधारमा एउटै सांस्कृतिक भूगोलभित्रका मान्छे पनि विभक्त हुन पगे । महेश पाैड्याल सिमानाको आर्थिक–राजनैतिक अवधारणालाई सधैँ चुनौती दिने र अस्थिर तुल्याउने अर्को पाटो छ— संस्कृतिको । संस्कृतिभित्र भाषा, साहित्य र कला पनि पर्छन् । साम्राज्यबाट राष्ट्रमा–राज्यमा परिणत भइरहँदा विश्वका धेरै मुलुक दुई, तीन वा धेरै राष्ट्रमा विभक्त भए, र तिनीहरूका बीच एकएक राजनैतिक सीमा कायम भए । यी सिमानाहरूको उद्भवसँगै छुट्टाछुट्टै आर्थिक, सामजिक र साहित्यक अवयवहरू कायम भए । राजनैतिक र आर्थिक सिमानाहरू क्रियाशील छन्, यद्यपि आर्थिक सीमाहरूको विघटनको कुरा विश्वव्यापीकरण र आर्थिक उदरीकरण जस्ता अवधारणाको आगमनसँग अस्थिर भएका छन् । पचाउन त गाह्रो होला, तर एउटा सर्वकालीक सत्य के छ भने, भाषा, साहित्य र संस्कृतिले, कहिल्यै पनि, राजनीति र अर्थनीतिले खिँचेका सीमारेखालाई स्वीकार गरेको थिएन, र कहिल्यै गर्दैन पनि । यस तर्कलाई पृष्ठपोषण गर्ने अनेकन उदाहरण दक्षिण एसियामा, आज छुट्टाछुट्टै देश बनेर रहेका मुलुकका सीमावर्ती प्राप्तहरूमा पाइन्छन्, जहाँ राजनीतिक सिमानाहरूलाई सास्ंकृतिक प्रवाहका नदीहरूले निरन्तर तोडिरहेका छन् र अमानक सिद्ध गरी नै रहेका छन् । राजनीतिको वक्र आँखालाई हटाइदिने हो भने यहाँ बस्नेहरूलाई कहाँ पर्यो पश्चिम, कहाँ पर्यो पूर्व, खासै मतलब रहँदैन । उदाहरणका लागि, भारतको बङ्गाल प्रान्त र यसको पूर्वमा रहेका बङ्लादेश नाम गरेको छुट्टै राष्ट्रमा हेरौँ । बीचमा एउटा सम्पादकीय त्रुटिजस्तो अन्तर्राष्ट्रिय सीमा रेखा विद्यमान छ, राजनैतिक विभाजनका नाममा । आम जीवनमा, यसै कृत्रिम सीमारेखाले थोपरेका बाहेक कुनै पनि प्रकारका व्यवाहारिक विभाजन देखिँदैन । भाषा उही, लोक र दन्त्य कथा उनी, कविता उही, गीत उही । आजको “भारत” का कवि रवीन्द्रनाथ ठाकुरका कविता र गीत बङ्लादेशमा आज पनि “घरघरकी कहानी” हुन् । घर होस्, स्कुल होस्, कुनै साहित्यक अनुष्ठान होस् वा ट्याक्सी होस् — रवीन्द्र सङ्गीतको गुञ्जन सर्वत्र छ । “कवि गुरुको” अर्चना सर्वत्र छ । रवीन्द्रमात्रै होइन, वङ्किमचन्द्र चटोपाध्याय र सरदचन्द्र चटर्जीको शान कम छैन । र सीमावारि आजको पश्चिम बङ्गालमा काजी नजरुल इस्लामको सम्मान र प्रभाव रवीन्द्रनाथको भन्दा कम छैन । यस स्थितिमा, पूर्वी र पश्चिमी बङ्गालबीचको सांस्कृतिक ऐक्यले यहाँ विद्यमान राजनैतिक सीमारेखालाई अमानक सिद्धि गरिरहन्छ । राजनीतिको वक्र आँखालाई हटाइदिने हो भने यहाँ बस्नेहरूलाई कहाँ पर्यो पश्चिम, कहाँ पर्यो पूर्व, खासै मतलब रहँदैन । साहित्यमा के कति छ आकलन होला, तर पश्चिम बङ्गालको उत्तरी भेगमा पर्ने नेपालीबहुल क्षेत्र दार्जिलिङ, र यससँग जोडिएका सिक्किम र नेपालमा निर्मित आधुनिक सङ्गीतमा बङ्गाली सङ्गीतको प्रभाव ठूलो छ । यहाँसम्म कि, अम्बर गुरुङले निर्माण गरेको सङ्गीतमा रवीन्द्र सङ्गीतको प्रभाव छ भनेर शङ्कर लामिछानेले आफ्ना निबन्धहरूमा उल्लेख पनि गरेका छन्, जुन कुराको खण्डन अम्बर गुरुङले कहिल्यै पनि गरेनन् । यो बङ्गाली संस्कृतिको प्रभाव पश्चिममा मात्रै सीमित छैन । पूर्वमा असम र मणिपुर तथा दक्षिणमा उडिसाको भाषा, साहित्य, संस्कृति र सङ्गीतमा यसको प्रभाव प्रस्टै देख्न सकिन्छ । यहाँसम्म कि असम र मणिपुरमा आज चलन चल्तीमा रहेको लिपि बङ्गाली हो, यहाँको सांस्कृतिक पहिरन बङ्गाली निकट हो । स्मरण रहोस्, मणिपुर कुनै बेला छुट्टै राष्ट्र थियो । धेरै पछि सन् १९४९ मा गएर भारतमा गाभिएको हो । के बङ्लादेश, के पश्चिम बङ्गाल ! सम्पूर्ण बङ्गाली, असमी र उडिया जगतमा सर्वाधिक लोकिप्रय प्राचीत गीति–काव्यग्रन्थ “चर्यापद” काठमाण्डूस्थित शाही दरबारको एक पुस्तकालयमा हरिप्रसाद शास्त्रीले सन् १९०७ मा भेटे । यसले यी क्षेत्रका राजनैतिक सीमालाई दरकिनार गर्दै कहिलेदेखि सांस्कृतिक सम्पदाहरू एकअर्काको मुलुकमा विचरण गर्थे भन्ने कुरा प्रस्ट हुन्छ । पाकिस्तनमा, बाल्टी भाषाका विशेषज्ञ खालिद मसूद खानले उनको हालैको नेपाल भ्रमणमा भने— नेपालमा शेर्पासँग भेटेर कुराकानी गरेपछि मैले सोचेको भन्दा पनि धेरै समानता पाएँ बाल्टी र शेर्पा भाषाबीच । यस्ता अरू पनि “लिमिनल स्पेस” छन् दक्षिण एसियामा । नेपालको सोलुखुम्बुमा गढ भए पनि शेर्पाहरू हिमालयको फेरो समातेर पश्चिममा पाकिस्तानको सिमानासम्म पुगेका छन् भने पूर्वमा उत्तरी–सिक्किमसम्म फैलिएका छन् । पश्चिमतिर, पूर्वी पाकिस्तानी प्रान्त बाल्टिस्थानमा बोलिने बाल्टी भाषाका अधिकांश शब्द शेर्पााहरूले बोल्ने भाषासँग मिल्छ । अर्थात्, यस क्षेत्रमा विद्यमान भाषाले राजनैतिक विभाजन रेखालाई अस्थितर तुल्याएको छ । पाकिस्तनमा, बाल्टी भाषाका विशेषज्ञ खालिद मसूद खानले उनको हालैको नेपाल भ्रमणमा भने— नेपालमा शेर्पासँग भेटेर कुराकानी गरेपछि मैले सोचेको भन्दा पनि धेरै समानता पाएँ बाल्टी र शेर्पा भाषाबीच । राजनीतिक सीमाले कहिल्यै अनुमोदन नगरेको सांस्कृतिक यथार्थ हो यो । नेपालको उत्तरी हिमाली क्षेत्रमा बोलिने अधिकांश ससाना भाषाहरू र तिब्बती भाषाको बीच बाक्लो सम्बन्ध रहेको भाषाशास्त्रीहरू बताउँछन् । संस्कृतिकै कुरा गर्ने हो भने पनि तिब्बतको लामा संस्कृति र शेर्पा संस्कृतिबीच जुन समानता छ, त्यो शेर्पा संस्कृति र आज नेपाली भनिने “खस–आर्य” संस्कृतिको बीचमा पनि छैन । यस्तै भाषिक र सांस्कृतिक समानता नेपालका पश्चिमी पहाडी सिमानामा अवस्थित अछाम र दार्चुला जिल्ला, र उतापट्टि भारतको उत्ताराखण्डका पूर्वीय सीमावर्ती जिल्लाहरूबीच पनि पाइन्छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको तराई–मधेस र उत्तरी भारतका बिहार र उत्तरप्रदेशका अवधी, भोजपुरी र मैथिली भाषी क्षेत्रबीचको भाषिक र सास्ंकृतिक भूगोलबीच कसैले पनि कुनै सीमारेखा तान्नै सक्दैन । यहाँ फगत एउटा राजनैतिक सिमाना विद्यामान छ जङ्गे पिल्लर, दश गजा र भन्सारका लागि बनाइएका चेकपोस्टको रूपमा । त्यसको त्यति ठूलो अर्थ कला, साहित्य र संस्कृतिको फाँटमा देखिदैन । भारतको पश्चिमी प्रान्त पञ्जाब र पकिस्तानको पूर्वी प्रान्त पञ्जाबबीच कुनै पनि सांस्कृतिक सीमारेखा छैन । उता र उताको समाजिक अवचेतनको श्रोत एकै हो । दक्षिणी प्रान्त तामिलनाडु र उत्तरी श्रीलङ्काको जाफ्नाबीच भाषिक–सांस्कृतिक सीमा बनाउनु कसैका लागि असम्भव छ । फेरि श्रीलङ्का र माल्दिभ्स तथा आण्डमान द्वीपसमूचबीच कुनै पनि प्रकारको अर्थपूर्ण सीमारेखाको कल्पना गर्नु कुनै पनि अध्येताका लागि असम्भव छ । संसारैभरि छन् यस्ता सास्ंकृतिक ओभरलेप्सहरू । युरोप, अमेरिका, पूर्वी एसिया र लेटिन अमेरिको पनि यो एउटा वास्तविकता हो । कसरी निर्माण हुन्छ यो विरोधाभासपूर्ण भूगोल, जहाँ कुनै पनि सांस्कृतिक विभाजन रेखा हुँदैन, तर बीचमा खडा भएर आइदिन्छ राजनैतिक सिमाना, जसले मान्छेको सांस्कृतिक–अध्यात्मिक जीवनलाई प्रशासनका नाममा कयौँ गुणा अप्ठ्यारो बनाइदिन्छ ? र मान्छे, नचाहँदा नचाहँदै पनि यताको र उताको हुन अभीशप्त हुन्छ ? यस कुराको सम्बन्ध बसाइँ सराइसँग छ । आसाममा बसेर लीलबाहदुर क्षेत्रीले लेखेको “बसाइँ” को अनुवादलाई भारतकै केरल प्रान्तका प्रकाशन नायरले भन्दा नेपालको उदयपुरका प्रदिप बस्नेतले बढी निकटताका साथ किन बुझ्न सक्छन् ? मानवशास्त्रीहरू भन्छन्, मान्छेको बसाइँ सर्ने बानी प्राग्ऐतिहासिक हो । एउटै सांस्कृतिक पुल र भूगोलमा रहेका मान्छे, सकेसम्म त्यसै पुल र भूगोलभित्र बसाइँ सरे । मूलतः पशुपालन तथा खोरिया प्रणालीमा आधारित कृषिका कारण यिनीहरू एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्दै गए । यो त्यस बेलाकाको कुरा हो, जुन बेला आज बुझिने अर्थमा राज्य–राष्ट्रहरूबीच कुनै अर्थपूर्ण सिमाना थिएन । अथवा, सरकारको दृष्टि त्यहाँसम्म थिएन र बसाइँ सराइमा कुनै रोटटोक थिएन । उदाहरणका लागि, नेपालको पहाडी भेगका बासिन्दा गाईगोरु चराउँदै, पहाडैपहाड पूर्वतिर गए । कुनै रोकटोक भएन । जाँदा जाँदा नेपालको सिमाना काटेर सिक्किम, भुटान, डुवर्स हुँदै आसामका पहाडी जिल्ला, नागालैन्ड, मणिपुर हुँदै बर्मासम्म पुगे । पछि, धेरैपछि यी भूगलमा व्यवस्थाले राष्ट्रिय अथवा अन्तर्राष्टिय« सिमाना बनायो, र बेरोकटोक पूर्व हान्निएका नेपाली भिन्नाभिन्नै राष्ट्रका नागरिक बने । हिमालयको पश्चिमतिर, उच्च हिमाली क्षेत्रका शेर्पाको भारतको लद्दाख र पाकिस्तानको बाल्टिस्थानसम्मको विस्तारको व्याख्या पनि यही हो । नेपालको दक्षिणका मधेसीहरूको बसाइँ सराइ पूर्व–पश्चिम अथवा दक्षिणतिर हुनु, तर उत्तरतिर हुनु पनि यसै सिद्धान्तद्वारा व्याख्यातित छ । र तराइका थारुहरूको उत्तरदक्षिणभन्दा पनि पूर्वपश्चिम विस्तार यसै गरी व्याख्यातित छ । उता सिलिगुडीदेखि मध्यबङ्गाल हुँदै बङ्लादेशको नवाबगञ्ज बोर्डर ढाका, गोपालगञ्ज, सिल्हेट मायमेनसिंह हुँदै पञ्चगढसम्म फैलिएको बङ्गाली सभ्यता यसै प्रकृतिको बसाइँ सराइको उपज हो । धेरैपछि आएका राजनैतिक सीमाले उनीहरूलाई पूर्व र पश्चिमका बनाइदियो । यो सीमाको अवधारणा, यिनै समुदायमा बाँचिरहका बृद्धबृद्धाले त बुझ्दा पनि बुझ्दैनन् । यसरी, विभिन्न मुलुकमा बसेर पनि एउटै सांस्कृतिक जगबाट उठेका समुदायहरूको साहित्य र संस्कृतिको अध्ययनमा कुनै पनि राष्ट्रिय मापदण्ड अमानक हुन सक्छ । अथवा, यिनलाई राष्ट्रिय मापदण्डको सीमाभित्र राखेर अध्ययन गर्नु त्रुटिपूर्ण हुन्छ । कारण, राष्ट्रका “राजनैतिक” मानविन्दुभन्दा पृथक यिनलाई सांस्कृतिक मानविन्दुले जोडेको हुन्छ । यिनको संस्कृतिमा साझा सांस्कृतिक अवचेतनको जपल भेटिन्छ । उस्तै मिथक, एउटै साङ्गीतिक झङ्कार, एकै लोक अनुभव र समान सामाजिक संस्कारहरूले यिनलाई राजनीतिले भन्दा बढी जोडेको हून्छ । उदाहरणका लागि आसाममा बसेर लीलबाहदुर क्षेत्रीले लेखेको “बसाइँ” को अनुवादलाई भारतकै केरल प्रान्तका प्रकाशन नायरले भन्दा नेपालको उदयपुरका प्रदिप बस्नेतले बढी निकटताका साथ किन बुझ्न सक्छन् ? सिक्किमका पाठकलाई “चर्यापद” भन्दा प्रिय भानुभक्तको “रामायण” किन छ ? नेपालका मैथिली भाषीहरूबीच टुकारामको “अभङ्ग गाथा” भन्दा तुलसीदासको “रामचरितमानस” किन बढी लोकप्रिय छ ? नेपालको दक्षिणका मधेसीहरूको बसाइँ सराइ पूर्व–पश्चिम अथवा दक्षिणतिर हुनु, तर उत्तरतिर हुनु पनि यसै सिद्धान्तद्वारा व्याख्यातित छ । यी प्रश्नको उत्तर चाहिँ राजनैतिक सीमाभन्दा माथि, पृथक र पुराना सांस्कृतिक भूगोलको विस्तारको इतिहासमा खोज्नु जरुरी छ । राजनैतिक सीमाभन्दा माथि संस्कृतिको छुट्टै भूगोल हुन्छ । त्यस भूगोलको पहिचान गर्नु जरुरी हुन्छ र त्यसका समान मानविन्दुहरूको आधारमा त्यहाँको कला, साहित्य र संस्कृतिको अध्ययन गर्नु जरुरी हुन्छ । यो सीमा–अध्ययनका सांस्कृतिक पाटोको एउटा सैद्धान्तिक आधार हुन सक्छ । #महेश पौड्याल