text
stringlengths
146
47.7k
लेखक बन्न चाहनेलाई बुद्धिसागरका दश सुझाव: बुद्धिसागर नेपाली साहित्य जगतका एक चम्किला नक्षत्र हुन् | उनले नेपाली साहित्यमा दर्बिलो उपस्थिति जनाएका दुई उपन्यास ‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’ लेखिसकेका छन् | त्यस्तै उपन्यासकारभन्दा पहिले उनी कवि हुन् | उनको कविताकृति पनि प्रकाशित छ | प्रस्तुत छ, उनै चर्चित लेखक बुद्धिसागरले लेखक बन्न चाहनेका लागि दिएका दश सुझावः १ . सबैभन्दा पहिला ‘लेख्नू किन परेको ?’ भनेर सोच्नुस् ! कुनै लेखक र कृतिको चर्चाले यस्तो मनोभाव आएको हो भने यसले दुःखबाहेक अर्को केही दिँदैन । यदि साँच्चिकै मनैदेखि लेख्न मन लागेको हो भने चिन्ताको कुनै बिषय छैन । पाउलो कोएलो भन्छन्- “हरेक मानिससित आफ्नो छिमेकीलाई भए पनि सुनाउँने एउटा सान्दार कथा हुन्छ । आफूसित पनि त्यस्तो कुनै कथा छ भने सुरुवात गरिहाल्नुस् ।” २ . प्रा. डा. डिपी भन्डारी भन्नुहुन्छ- “लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ, तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।’’ शैली श्रमले बन्दैन । आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्न थाल्नुस् । आफूभित्रको सर्जकलाई पागलपन दिनुस् । लेख्दै जाँदा आफूले पढेका लेखक र कृतिभन्दा एकदमै फरक हुन थाल्यो भने नआत्तिनुस्, खुशी हुनुस्, तपाईँ आफ्नो शैली निर्माण गर्दै हुनुहुन्छ । ३. पुस्तकको पहिलो अध्याय नै महान लेख्छु भनेर सोच्न थाल्नु भयो भने सोच्दासोच्दै समय घर्किन सक्छ । मार्खेज भन्छन्- “पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ ।” तर, मलाई लाग्छ- प्रायः पुस्तकले पहिलो हरफ बीचतिरबाट पाउँछ । लेख्दै गएपछि, जब पुस्तकले एउटा आकार पाउँछ, त्यति नै बेला, पहिलो अध्याय पनि पाउँछ । धेरै लेखकहरू पहिलो खण्ड पुस्तकको बीचतिरबाट निकालेर अगाडि राख्छन् । त्यसैले शक्तिशाली सुरुवातको चिन्ता सुरुमै नगर्नुहोला । ४. लेखिरहेका बेला आफ्नो लेखनीलाई कहिल्यै पनि अरू लेखकका प्रकाशित भइसकेका कृतिसित नदाज्नुस् । किनभने, पहिलो ड्राफ्ट कमजोर नै हुन्छ । हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्छन् । ड्राफ्टलाई अनेकपल्ट पुर्नलेखन गरेर प्रकाशित गरिन्छ । त्यसैले अनेकपल्ट पुर्नलेखक गरेर छापिएका कृतिका अगाडि आफ्नो पहिलो लेखनी कमजोर नै लाग्छ । ५. आफूले लेखिरहेका कुरा धेरैलाई सुनाउँदै नहिँड्नुस् । धेरैपल्ट सुनाउँदा सुनाउँदा त्यो विषय नै आफैँलाई पनि दिक्क लाग्दो लाग्न थाल्छ । र, कहिलेकाही सुन्ने मान्छेको मुहारमा तपाईँले खाजेको उत्साह पनि नभेटिन सक्छ, जसले तपाईँलाई निरास बनाउँन सक्छ । लेखिरहेको कुरा सुनाउँदै हिँड्नु भनेको प्रेसरकुकरबाट बाफ लिक हुनुजस्तै हो, जसले सिटी बज्दैन । ६. लेख्न सुरु गरेपछि, कहिले सकिएला भनेर नआत्तिनुस् । र, छोटो समयमै सक्छु भनेर कस्सिनु भयो भने केही हप्ता जाँगर त आउँला, तर थकान र दिक्क लाग्ने हुनुथाल्छ । जब रफ्तार रोकिन्छ, फेरि सुरुवात गर्न असाध्यै गाह्रो हुन्छ, गाडीको इन्जिन झ्याप्प बन्द भएर मेसिन जाम भएजस्तो । त्यसैले हरेक दिन लेख्नुस् तर थोरै थोरै लेख्नुस् । प्रायः लेखकहरू दिनमा २५० शब्ददेखि १ हजार शब्द लेख्छन् । कापीमा हो भने एकदुई अनुच्छेददेखि टीन पन्नासम्म । हारुकी मुराकामी हजार शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तीन पन्ना । सगरमाथा चढ्नेहरू दर्गुदैनन् तर एक-एक कदम गरेर चुचुरोमा पुग्छन् । ७. लेखनमा सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासन बिनाको प्रतिभा फक्रिन सक्दैनन । हरेक दिन लेख्छु भनेर वाचा गर्नुस् र त्यो वाचालाई पूरा गर्नुस् । चौबीस घन्टामा आफूलाई पायक पर्ने कुनै एक घन्टा छुट्याउनुस् । र, त्यो समयमा मूड चलोस्, या नचलोस्, लेखिरहनुस् । केही पनि फुरेन भने आफ्नै नाम नै भए पनि लेखिरहनुस् । बिस्तारै तपाईँले छुट्टयाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ । ८. किताब एक तिहाईसम्म लेख्दा आफैँलाई पनि बारम्बार लागिरहन्छ, म के सही कथा र शैलीमा हिँडिरहेको छु ? मलाई लाग्छ– “हरेक पुस्तकले आधाआधि भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ । र, प्रायः लेखकहरू बीचतिरबाट निस्केको भाषा र शैलीलाई फेरि अगाडिबाट मिलाउँदै ल्याउँछन् ।” ९. दिनदिनै लेख्दा आउँने समस्या के हो भने अघिल्लो दिनकोजस्तो भावना र ऊर्जा अर्को दिन नहुनसक्छ । आज के बाट सुरु गरौँ भनेर लामो समय टोलाउँनु पर्ने हुन्छ । त्यसैले अघिल्लो दिन मनमा आए जतिका कुरा सबै नलेख्नुस् । अलिकति भोलिपल्टलाई बाँकी राख्नुस् । भोलिपल्ट मनको बाँकी कुरा लेख्नु भयो भने अरू आफैँ थपिँदै जाने सम्भावना हुन्छ । संगीतको शौखिन हुनुहुन्छ भने एउटा संगीतको फोल्डर बनाउनुस् । हरेक दिन त्यही फोल्डर सुन्दै लेख्ने गर्नुस् । मलाई लाग्छ— तपाईँले सधैँ सुनिरहेको संगीत पुस्तकको ब्याकग्राउन्ड म्यूजिकजस्तो हुँदै जान्छ । जब संगीत सुन्नुहुन्छ- संगीतले नै कथाको संसारमा पुर्याइदिने सम्भावना पनि हुन्छ । १०. स्वास्थ्य सबैका लागि महत्त्वपूर्ण हुन्छ नै, लेखनमा पनि झन् महत्त्व नै हुन्छ । खानपिन र हिँडडुलमा ख्याल राख्नुस् । खानाको गड्बडी र कम शारीरिक अध्यासले ग्यास्टिकजस्ता रोग निम्त्याउँछन् । पोलिरहेको छाति वा पेटले अक्षर गोडमेल गर्न गाह्रै हुन्छ । सकेसम्म हिँडाइलाई महत्त्व दिनुस् । हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाहीँ अनेकपल्ट घोरिँदा पनि नआएका कुरा हिँडाइका क्रममा आउँछन् । पैतलाको रफ्तारले दिमागका बन्द चेपहरू खुल्छन् भन्ने मलाई लाग्छ । ह्याप्पी राइटिङ #बुद्धिसागर
पानीको सहर यात्रा: सुदेश पन्त विकट गाउँमा एउटा खोल्सो थियो। हुन त गाउँमा अरु धेरै खहरे र नदीहरू पनि थिए; जो गतिवान् थिए, स्वच्छन्द बहन्थे अनि सङ्लिन्थे। त्यो खोल्सो गहिरो थियो, पानी तालिएर बस्थ्यो। यद्यपि स्वच्छ प्रकृतिका कारण पानी सफा, स्वच्छ र निर्मल थियो। त्यो खोल्साको पानीको सहर घुम्ने अनौठो इच्छा थियो। गहिरो र जङ्गल बीचमा भएकाले पानी तातिन पाउँदैनथ्यो। त्यो पानीले सूर्यदेवको कठोर उपासना गर्\u200dयो र खुसी पार्\u200dयो। सूर्यदेवले प्रशन्न भएर उसलाई सोधे, ‘के चाहियो ?’ पानीले भन्यो, ‘मलाई कृपा गरेर बाफ बनाइदिनुहोस्।’ सूर्यदेवले तुरुन्तै बाफ बनाइदिए। अब त्यो पानी बाफ भएर त्यही गाउँको आकाशमाथि रुमलिइरह्यो। हावाको साथ पाएर बहँदै सहरमाथि आइपुग्यो। अब त्यो पानीले आकाशबाटै सहरको सौन्दर्य निहार्न थाल्यो। अब सहरमै ओर्लेर सहरिया आनन्द लिने तीव्र लालसा उसमा जागृत भयो। उसले बादल बन्न फेरि सङ्घर्ष गर्\u200dयो। बादल बनिसकेपछि इन्द्रदेवको असीम निगाह प्राप्त भएर वर्षा बनी सहरमा दर्कन थाल्यो। सहरका कौसी र अट्टालिका एवम् चिल्ला सडकमा चिप्लिँदै बग्न थाल्यो। उसलाई जीवनले पूर्णता पाएकामा स्वर्गीय आनन्दानुभूति भइरहेको थियो। ऊ बग्दै जाँदा शौचालय, नाली अनि ढलमा मिसियो। अब ऊ निस्सासियो। दुर्गन्धै दुर्गन्ध त थियो नै, उसले आफू पानी हुँ या रछान पत्तो पाएन। यसबाट मुक्तिको ऊ कल्पना पनि गर्न सक्दैनथ्यो किनभने सूर्यदेवसँग वचनबद्ध थियो कि म फेरि अर्को वरदानका निम्ति उपासना गर्ने छैन । #सुदेश पन्त
नवपुस्ता: कसैलाई छोरासँग हुनुको खुसी, कसैले अस्तव्यस्ततासँग फेरि रुमलिनु पर्नेमा चिन्ता: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: केशु खण्डलुक मगर : “परिवारसँगसमय बिताउन पाउनु नै लकडाउनको उपलब्धि” केशु खण्डलुक मगर कसैले भनेका छन्- “भाग्य चम्काउन धेरैले सक्छन्, तर परिवार चम्काउन कमैले मात्र।” लकडाउन हुनु अघिसम्म म कार्यालयमै थिएँ। जब सरकारले लकडाउन गर्ने घोषणा गर्यो, सबैभन्दा पहिले मैले आफ्नो परिवार सम्झिएँ। अनि सबैभन्दा बढी आफ्नो बालक छोरालाई सम्झिएँ।थाहा छैन मान्छेहरू आफ्नो परिवारको साथको लागि किन यति स्वार्थी बन्छन् ? छोराले फोनबाट,’बाबा, घर आउनूस्। सँगै बसौं’,भनिसकेको थियो। सोचें- यस्तो विपतको समयलाई आफ्नो परिवारसँगै बसेर सामना गर्नुपर्छ। अबोध छोराको त्यो निश्चल अनुरोधमा यति ताकत थियो कि मैले ऐन, नियम, कानुन, कार्बाही केही सोचिनँ। स्वार्थी बनेरै सही, लकडाउनको तेस्रो दिन म कसोकसो घर पुगें। मलाई केवल परिवारलाई भेट्नु थियो। भेटेँ। ‘विपत्तिको बेला आफ्नो सन्तान आफ्नो अघि उभिदिँदा मात्रै पनि परिवार मानसिक रूपमा कति धेरै मजबुत बन्छ !’ – घर पुगेपछि आमाको आँखाबाट खसेको आँसुले पढाएको थियो मलाई। त्यसपछिको बाँकी समय परिवारसँगै बिताएँ। सायद जागिरे जीवनकै सबैभन्दा बढी परिवारसँग बितेको समय यही होला ! कहिलेकाहीं हामीलाई नजिककै कुराहरू चिन्न सबैभन्दा बढी समय लाग्छ।पहिलोपटक मैले परिवारलाई नजिकैबाट चिन्न पाएँ।मनैबाट नियालेँ। थाहा पाएँ, ग्यारेन्टी नभएको जिन्दगीमा आमाले कानमा लगाउनुभएको मुन्द्री भने ग्यारेन्टीवाला रहेछ। हामो भविष्य चम्कियोस् भनेर आमाले चम्किलो सुन बेच्नुभएको रहेछ। थाहा पाएँ, जिन्दगीको बाटोमा अगाडि बढ्दै जाँदा काँडाले नबिझोस् भनेर जुत्ता किनिदिने बा’ले लगाउने चप्पलका फित्ता भने फरक फरक रङका रहेछन्। मैले साँझ-बिहान पानी धेरै हालेर फारु गरी खाने गेडागुडी हुर्काउन मेरी श्रीमतीले धेरै पसिना बनाउने रहिछन्। आफ्नो ड्याडीको नाम आफ्नो कापीमा राम्रो अक्षरले लेख्न सक्ने होस् भनेर मेरो छोराले केशुको ‘के..’ लेख्दै मेट्दै गर्दोरहेछ। मैले यो लकडाउनमा मेरो समाजलाई पनि आफ्नै अगाडिबाट चिन्न पाएँ। जस्तो, बारीको घाँस चोरेको निहुँमा झगडा गर्ने मेरो छिमेकीहरू विपतको बेला भने एकजुट बन्दा रहेछन्। जस्तो, बारीको साँध मिचेको निहुँ पारेर एकाअर्कासँग नबोल्ने अनवीर काका र मनवीर काका देशको सिमाना मिचिँदा भने एकै स्वरमा बोल्दारहेछन्। एकता देखाउँदा रहेछन्। मैले लकडाउनमा सबैभन्दा बढी समय छोरासँगै बिताएँ। उसले ‘मपछि ठूलो भएर डाक्टर बन्छु’ भनिरह्यो। मैले एउटा पिताको कर्तव्य पूरा गर्छु भन्ने प्रतिज्ञा गरिरहें। गरिरहेको छु। सायद मेरो कानले सबैभन्दा बढी उसकै बोली सुनेको हुनुपर्छ। मेरो मनलाई सबैभन्दा बढी उसकै शब्दहरूले छोएको हुनुपर्छ। उसको ‘ए फर एप्पल’ले मेरो कयौं भोक मेटायो। उसको नजानिँदो अंग्रेजी क्रियापद ‘स्लिपिङ माने सुत्नु’ ले मलाई आनन्दको निद्रा दिलायो। उसले ‘एस – इ – भी – इ – एन – सेभेन’ भनिरहँदा मेरो हरेक पल सप्तरंगी रङले रङ्गियो। जब उसले बाह्रखरी पढ्दै गर्दा ‘क, का, कि, की हुँदै के’ मा गएर रोकिन्थ्यो र लजालु हेराई हेर्थ्यो किनभने उसले बुझेको थियो उसको ड्याडीको नाम ‘के’ बाट सुरु हुनेछ भन्ने। उसको यस्तो क्रियाकलापबाट मैले जिन्दगीकै सर्वाधिक खुसी प्राप्त गरेँ। लकडाउनको समयमा धेरै पुस्तकहरू पढें। धेरै पुस्तक त धेरैपटक पढेँ। कुनै कुनै पुस्तक चुइँगमजस्तै हुँदोरहेछ, जति चपाइरहे पनि झर्को नलाग्ने। धेरै पुस्तकहरू अनलाइनबाट किनेर पढें। तर छापाको पुस्तकमा पाइने वास्नामय शब्दहरू डिजिटल पुस्तकमा भेटिनँ। यो समयमा सबैभन्दा बढी गैरआख्यान पढ्ने कोसिस गरेँ। त्यसमा पनि इतिहास मुख्य रुचिको विधा बन्यो। कुनै पनि देशको वर्तमान अवस्थाबारे विश्लेषण गर्न इतिहास पढ्नैपर्ने रहेछ। लभ, एक्सन, कमेडी, रोमान्सभन्दा पर बनेको ड्रामाटिक मुभीहरूले खुब मन लुट्यो। लकडाउनको अर्को उपलब्धि भनेको धेरैभन्दा धेरै मुभी, सिरिजहरू हेरेँ। त्यसमा पनि प्राचीन/मिथमा आधारित मुभी बढी हेरें। लभ, एक्सन, कमेडी, रोमान्सभन्दा पर बनेको ड्रामाटिक मुभीहरूले खुब मन लुट्यो। त्यस्ता मुभीहरू हेरेर मैले आफ्नै जीवनमा जानीजानी परिवर्तन आएको महसुस गरिरहेको छ। पिता र पुत्रबीचको कथामा आधारित भेटिएसम्म मुभीहरू हेरें। बाउ-छोराको सम्बन्ध मजबुत गराउन त्यस्ता फिल्मले धेरै सहयोग पनि गरेको छ। गरिरहेको छ। लकडाउन बिस्तारै खुकुलो हुँदै जाँदा सामाजिक कामतर्फ पनि सक्रिय भएँ। धेरै विकास कार्यहरूमा श्रमदान दिएँ। हरेक खराब समयले सकारात्मक समय बोकेर आएको हुन्छ। लकडाउनमा आफ्नो परिवारसँग समय बिताउन पाउनु नै यसको मुख्य उपलब्धि बन्यो। सुष्मा तिमल्सिना: “देशको अस्तव्यस्ततासँग फेरि रुमलिनु छ” सुष्मा तिमल्सिना बिहानै कलेज, दिउँसो अफिस, बेलुकी कोठामा आउथेँ । खाना बनाउथेँ । पाकिसकेको खानालाई एकैछिन सेलाउन दिएर झ्यालबाट आकाश हेर्थें । म हरेक दिन आकाश हेर्छु, कुरा गर्छु र रुन्छु । खुसी पनि उसैसँग बाँड्छु । उसलाई हेर्दा बा, आमाको अनुहार सम्झन्छु। आकाश मेरो लागि भरपर्दो नजिकको साथी बनिसकेको थियो । एउटै रुटिङमा चल्दाचल्दा आफ्ना रहरहरू, सपनाहरू खै कता पुगिसकेछन् ! मैले त आफैंलाई चिन्न छोडिसकेकी रहेछु। लकडाउनको दुईदिन अघि हजुरबाको बर्खान्त परेकोले म घर गइसकेकी थिएँ । सेतै फुलेको कपाल, चाउरिएका गाला, हरियो साडी, हरियो चौबन्दी चोलो, पुग्नासाथ पहिलो नजर हजुरआमामा पुगेर ठोक्कियो । म हजुरआमाको काखमा टाउको राखेर घन्टौं रोएँ । हजुरआमाको आँखा समाजको नियतिसँग प्रश्न गर्दागर्दै थाकिसकेका थिएँ । लकडाउनको दिनहरू अरू दिनभन्दा लामो नै लागिरहेको थियो । पढ्न किताब थिएनन् । कहिले डोको नाम्लो बोकेर हातमा हँसिया खेलाउँदै जंगल पुग्थें । कहिले बाख्रापाठाको पछिपछि दौडिन्थें । उनीहरूको कपाल कोरिदिन्थें, बाटिदिन्थें । हरेक साँझ आमा बाती काढ्दै आफ्ना विगत सम्झनुहुन्थ्यो, आफ्ना भोगाइहरू सुनाइरहनुहुन्थ्यो । म उसरी नै आमाको काखमा टाउको राख्थें । आमाका आँखा जति आँसुले भरिन्थे,त्यति म रितिदै गइरहेकी हुन्थें । गाउँ पूरै सील गरिइसकिएको थियो।यस घटनापछि गाउँका मानिसहरू थप सर्तक हुन थालेका थिए । कोराना भाइसरको त्रास दिनानुदिन बढिरहँदा हाम्रै नजिक घर भएकी २९ वर्षिय सुत्केरी दिदीको २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा निधन भयो । स्वास्थ्य मन्त्रालयले उक्त मृत्युको कारण कोरोना हो भनी आधिकारिक पृष्टि गर्नुपूर्व नै सामाजिक सञ्जालमा फोटोसहित श्रद्धाञ्जली दिनेहरूको लर्को लागिसकेको थियो । जब मृत्युको कारण कोरोना भन्ने पुष्टि भयो त्यसपछि गाउँमा एक किसिमको डरले आसन जमाउन थाल्यो । गाउँ पूरै सील गरिइसकिएको थियो। यस घटनापछि गाउँका मानिसहरू थप सर्तक हुन थालेका थिए । घरबाट बाहिर निस्कँदा मास्क लगाएर हिँड्ने, जाथाभावी घुमफिर नगर्ने, घुलमिल नहुनेजस्ता नियम अरू कठोरताका साथ पालना हुन थाल्यो । मृत्युको घटनापछि मानिसहरू छिमेकमा जान छाडेँ। कति घरले त पानी-पँधेरोसमेत बन्द गरेको देख्न थालिएको थियो । यसबाट थप सर्तकता पनि झल्किरहेको थियो भने कोरोनाबारे जनचेतनाको अभाव पनि महसुस गरिरहेकी थिएँ ।कन्ट्याक ट्रेसिङमा लिइएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि अनेकौं शंका उपशंका पनि मनमा खेलिरहेको थियो, जस्तो कि सबैको रिपोर्ट नेगेटिभ आउँदा उनमा मात्र किन कोरोना देखियो ? के सरकारको परीक्षण नै त्रुटिपूर्ण छ ? ती सुत्केरी महिलाले काखमा राखेर दूध चुसाएको बालकलाई किन आमाबाट कोरोना सरेन ? यी घटना बिस्तारै सामान्य हुँदै गएपछि गाउँ फेरि पुरानै दैनिकीमा फर्किन थालिसकेको थियो । एकदिन बाको मैलिएको टोपी हेदै भनेँ– “बा टोपी दिनूस्, म धोइदिन्छु ।” बाले हाँस्दै भन्नुभयो– “छोरी, गाउँमा बसेर दुःख गर्ने मान्छेको यस्तै हुन्छ।” मैले फेरिभनेँ– “बा, यो हाम्रो पहिचान हो। यसलाई मैलिन दिनुहुन्न।” त्यसपछि छोरी बुझ्ने भएको देखेर हो कि किन हो ! बा खुसी हुनुभयो। अर्कोदिन आमालाई भनें– “आमा म भैंसीको दूध दुहुन सिक्न चाहन्छु।” आमाले छेउमा बसेर सिकाइरहनु भएको थियो । भैंसी चूपचाप मलाई आमा सम्झेर दूध दिइरहेको थियो । आमाले खुसी हुँदै आफ्नो रातो धोती र आफूले लगाएको चौबन्दी चोलो मलाई फुकालेर दिनुभयो । मैले उहाँलाई आफ्नो कपडा दिएँ । त्यो दिन भैंसीको अघि म आमा जस्तै देखिएकी थिएँ अनि आमा म जस्तै । आमाले छेउमा बसेर सिकाइरहनु भएको थियो । भैंसी चूपचाप मलाई आमा सम्झेर दूध दिइरहेको थियो । लकडाउनका दिनहरू मेरा लागि पृथक छन् । हरेक सानो-सानो कुरामा लुकेको खुसी भेट्टाउँदा झन् कति हो कति खुसी! बाआमाको माया, हजुरआमाको काख संसारकै प्रिय ठाउँ रहेछ । आफू जन्मेको ठाउँ, ती खेतका गह्राहरू, हुर्कंदै गरेका मकैका बोट, यहाँबाट देखिने खुल्ला आकाश; लाग्छ, योभन्दा पर कुनै अर्को संसार छैन । तर, डर यही हुन्थ्यो म यी सबै कुराहरूबाट टाढिनु छ । देशको अस्तव्यस्ततासँग फेरि रुमलिनु छ । अनि बिताएर बाँच्नु छ त्यही जिन्दगी, जसलाई छोड्दा मैले आफूलाई चिन्ने गर्छु । दीपक ढकाल: दीपक ढकाल “मैले यो समयमा आफैँलाई चिन्न सकें” नसोचेकै अकल्पनीय घटनाक्रम तथा उतारचढावले नै मान्छेलाई धेरै सिकाउँदोरहेछ ।या भनौं भोग्दै जाने समयले नै मान्छेलाई मान्छे बनाउँदो रहेछ ।कहीँ कहीँ मानव जीवनमा यस्तो समय पनि आउँदो रहेछ कि मान्छे नचिनेको आफूलाई चिन्नु सार्थकता महसुस गर्दो रहेछ । समय चक्र न हो ! परिवर्तन भइराख्नु नै यसको धर्म हो । समयले नै आफ्नो धर्म बिर्सियो भने यसैसँग सम्बन्ध भएकाहरूको बाँच्नुको के अर्थ हुनसक्छ र ? समयले ल्याएको उल्झन झेल्दै जानु नै जीवन हो । बिना मोड, बिना ब्रेक एकनासले एकोहोरो बग्दै जाने हो भने पनि यसले अन्तिम गन्तव्य पक्कै भेट्छ तर कोर्न सक्दैन जीवनको कुनै अर्थपूर्ण आकृति । भोगाइ नै जीवन हो कि जीवन भोगाइ ? मान्छे जन्मिन्छ, यो एक सत्य हो । अर्को सत्य यो पनि हो, मान्छे मर्छ पनि तर यी दुई सत्य बीचको समयलाई जसले सजिलैसँग बुझ्न सक्दछ उसैले वास्तविक जीवनको मूल्य बुझेको हुन्छ । यही समय कालखण्डमा भोगेका भोगाइ नै जीवनका कमाइ हुन् । खासमा यो समयमा बाँचिरहेका मान्छेहरूका लागि विश्वव्यापी महामारी कोरोनाले ल्याइदिएको लकडाउनले आत्मसमीक्षा गर्ने समय दिएको छ । यसलाई सौभाग्य वा दुर्भाग्य जेसुकै सम्झिनुहोस् । मैले यो समयमा आफैँलाई चिन्न सकेँ जस्तो लाग्छ । म को हुँ? केका लागि हुँ? किन हुँ? जस्ता अनेकौं प्रश्नको उत्तर पाउनु नै आफ्नो गन्तव्य भेटाउनु रहेछ । मान्छे यति धेरै पर पुगिसकेको रहेछ कि उसले आफ्नो बारेमा सोच्न नै पनि बिर्सिसकेको रहेछ । कुनै न कुनै ठाउँमा आफूलाई मेसिनजस्तो बनाइसकेको रहेछ ।म पनि अछुतो रहेनछु यस्तो प्रवृत्तिबाट । मेरो लागि यो समय आवश्यक रहेछ भन्ने लाग्छ मलाई । तर मैले यसोभन्दा अलि विरोधाभाष लाग्नसक्छ, दुनियाँ महामारीले आक्रान्त बनिरहेको बेला । मैले यही समयमा बुझें, सबैभन्दा ठूलो सुख नै आत्मसन्तुष्टि रहेछ । मानव भइसकेपछि सन्तुष्टिको घेरा खिचेर भए पनि बाँच्ने आधार खोज्नुपर्नेहुन्छ, मृत्यु समधान होइन। यस समयलाई मैले व्यक्तिगत सकारात्मक रूपमा नै लिएको छु तर दु:ख लाग्छ, कोरोना र लकडाउनको असरले हरेक दिन मृत्यु हुनेको सङ्ख्याले छलाङ मारिरहेको छ । कैयौं नेपाली दाजुभाइ अलपत्र परिरहेका छन् । कैयौँ गरिब किसानको घरमा आगो बल्न सकेको छैन ।ज्यालादारी तथा दैनिक मजदुरी गरेर पेट पाल्नेहरूका लागि महामारी भन्दा ठूलो समस्या भोको पेट बनेको छ । समयले घुम्न छोड्दैन। साँझदेखि बिहानको अन्तर एकदमै छोटो लाग्दो हो पक्कै ! कति छिट्टै आइपुदोरहेछ हात-मुखको भेट गराउने समय जसको घरमा रिक्तताबाहेक केही हुँदैन । घरभित्र थुनिएको दिनहरूमा मैले धेरै समय किताबहरूका सथा बिताएँ। योभन्दा पहिले यसरी पढ्ने नै भनेर साहित्यिक किताबहरू उति पढेको थिइनँ । सायद समय नमिलेर पनि हुनसक्छ । लकडाउनका सुरुवाती दिनहरूमा प्रायः उपन्यासहरू पढेँ, केही पहिले नै पढिसकेका त केही नयाँ । पहिले नै पढिसकेका भए पनि फेरि दोहोर्याएर पढ्दा अत्यन्तै आनन्द भेटिँदोरहेछ । जस्तो कि ‘पल्पसा क्याफे’ । यसमा भएका हरेक पात्रलाई मैले मेरै गाउँघरमा आजसम्म जीवित देखेको छु । तिनीहरूका अनुहार सधैं देखिरहेकै भए पनि वास्तविक कथा मैले आजकालको एकान्त समयमा आफ्नै मस्तिष्कले सोचिरहेको छु या सोच्ने समय प्रशस्तै छ मलाई । केही लेख्दै पनि छु । समय लाग्ला तर पक्कै बाहिर त आउने नै छ । कवितातिर पनि अलिअलि ध्यान गएछ । लेख्दैछु । त्यस्तै सामाजिक संजालमै भए पनि केही अग्रज साहित्यकार तथा कविहरूसँग परिचय मात्र भएन, मजस्तै धेरै साहित्यप्रेमीसँग नि जोडिन पुगिएछ । खास उपलब्धि त के भएछ भने, यो समयमा धेरै जना कविका कविता पढ्न पाइयो भने केही अग्रज त केही साथीहरूका । तैपनि नौलो बिहानीको स्वागत गर्ने चराचुरुङ्गीले भने आफ्नो धर्म बचाइराखेका रहेछन् भन्ने भान गराइदियो कानसम्म ठोकिन आइपुगेको चिर्बिर आवाजले । सहरको भिडभाड र कोलाहलसँगै गाडीको झर्कोलाग्दो हर्नको आवाजले झक्झकाउने प्रत्येक बिहानी प्रतिलिपि बन्न पाएनन्, गाउँ फर्केपछि ।सबेरै सुनिने आमाको जाँतो र ढिकीको आवाजले स्वागत पनि गरेनन्, तिनीहरूलाई विस्थापन गरिसकेछ समयले । तैपनि नौलो बिहानीको स्वागत गर्ने चराचुरुङ्गीले भने आफ्नो धर्म बचाइराखेका रहेछन् भन्ने भान गराइदियो कानसम्म ठोकिन आइपुगेको चिर्बिर आवाजले । बिर्सेको रहेनछन्, अग्ला पहाडलाई राताम्य पारिदिने राता गुराँसले आफ्नो धर्म, फुलिरहेका छन् ढाकेर जम्मै पहाडलाई । नाकसम्म सुगन्ध, आँखासम्म आइपुग्ने दृश्य उस्तै छ; जस्तो मेरा हजुरबाको पालामा हुन्थ्यो । कुनै चलचित्रका दृश्य बनी खेलिरहे आँखामा बाल्यकालीन घटनाक्रम । आमाका मिहिनेती हातले आफ्नै बारीमा फलाएको तरकारीको स्वादले भुलाइदियो शहरी खानालाई । काम नै गर्न नपाए पनि नाम नै बिर्सिसकेका हलो, जुवा, कूटो र कोदालोसम्मको दर्शन गर्न पाइयो ।यसमा म आफूलाई भाग्यमानी ठान्छु किनभने कति युवा होलान् बाआमाका चाउरिएका गाला र पटपटी फुटेका हत्केला र पाउको दर्शन पाउनकै लागि कुन कुनामा आँसु चुहाउन बाध्य छन् । गाउँको जीवन, एक-दुई दिन मेलोतिर पनि जान भ्याएँ । दुनियाँलाई कोरोनाको डर तर किसानलाई भने असारले नठगोस्, माटोले दुश्मनी नगरिदेओस् भन्ने हुँदोरहेछ । बिर्सेको रहेनछ गाउँले आलोपालो र अर्मपर्मको चलन । साँच्चै भन्दा यो लकडाउनको अवधि मैले गाउँ भएर बिताएँ । आफ्नै बाल्यकालको उत्खनन् गरेँ । पारिवारिक प्रेम मन लागे जति पाएँ। हरेक बिहान आलर्मको धुनले ब्युँझने म आमाको बोलीले ब्युँझन पाएँ । यो समयमा म आफ्नै भएर बाचेँ आफ्ना लागि बाचेँ, आफैँलाई चिनेर बाचेँ आफ्नै इच्छानुसार बाचेँ। #केशु खण्डलुक मगर #दीपक ढकाल #नवपुस्ता #सुष्मा तिमल्सिना
अतिवादबाट ग्रसित नारीवाद: अहिले नारीवाद पक्कै पनि अतिवादबाट ग्रसित छ । यो शब्द (नारीवाद) १९ औं शताब्दीबाट प्रयोगमा आएको हो, जब आधिकारिक रूपमा नेदरल्याण्ड्स, ग्रेट ब्रिटेनबाट संयुक्त राज्य अमेरिकामा स्वीकृत भयो । धेरैजसो पश्चिमी इतिहासकारहरूको तर्क छ कि महिला अधिकार प्राप्त गर्न काम गर्ने सबै आन्दोलनलाई नारीवादी आन्दोलन मान्नुपर्दछ । तर वर्ष बित्दै जाँदा यसको उद्देश्य भनेको पुरुष र महिला हुनु भनेको के हो भन्ने कुरा मेटाउने र केवल युनिसेक्स विश्व बनाउने रूपमा अघि बढेको देखिन्छ । यो परिभाषाले फेमिनिस्टहरूविरुद्ध पुरुषहरूमा धेरै क्रोध र घृणा ल्याएको छ । तर नेपालको सन्दर्भमा नारीवादको विकास बिना यसप्रतिको घृणा बढेको छ । अमेरिका, जर्मनी, ब्रिटेनजस्ता विकसित देशहरूले यस विभेद निर्मूल गर्न १०० वर्षभन्दा बढी समय लिए र अहिले पनि प्रक्रियामा छन् । सेलिना प्राची २०१७ मा विश्वभरिमा ५० हजार घरेलु हिंसामा महिलाले ज्यान गुमाएको आकँडा छ । अर्थात् दैनिक १३७ जना । विश्वमा ६५ करोड बालविवाह हुनेगरेको तथ्यांक छ । २० प्रतिशत देशमा महिलाललाई सम्पतिमा समान अधिकार छैन । त्यसैले पक्कै पनि नेपालजस्ता अविकसित देशले केही वर्षमा यस्तो ठूलो परिवर्तन ल्याउन अपेक्षा गर्न सक्दैनौँ, अवश्य केही समय लाग्नेछ । वि.स. २००७ मा महिला आन्दोलनको साथ नेपालमा फेमिनिज्मको शुरुआत भयो जहाँ महिलाहरूले आफ्नो भोटको अधिकारका लागि आन्दोलन गरे । नेपालको प्रजातान्त्रिक इतिहासमा करिब ३० वर्ष निरंकुश पञ्चायती र ४० वर्ष बहुदलीय व्यवस्थामा महिला उपेक्षितजस्तै रहेका छन् । तर अहिले महिलाहरुमा चेतनाको स्तर निकै बढेको छ । नेपालको संविधान २०७२ जारी भएपछि देशको राजनीतिको उच्च तहदेखि स्थानीय तहसम्म महिला सहभागिता उल्लेख्य छ । मुलुकको राष्ट्राध्यक्ष महिला नै रहेको अवस्था छ । पुरुषसरह समान नागरिक पहिचान, कामको अवसर र सेवा सुविधामा समानता, गर्भपतनको अधिकार, आमाको नाममा नागरिकता, पैतृक सम्पतिमा अधिकार, राज्यको प्रत्येक निकायमा समावेशिता, राष्ट्रपति, उपराष्ट्रपतिदेखि लिएर स्थानीय तहको कार्यकारी प्रमुख अध्यक्ष/उपाध्यक्षसम्म एउटा पदमा महिलाको अनिवार्यताले महिलाको राजनीतिक दृष्टिलार्ई सबल बनाएको छ । भन्न मिल्छ– नेपालको नयाँ संविधानबाट महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आएको छ । संविधान प्रदत्त व्यवस्था अनुसार अहिले देशका सरकारको तीनै तहमा महिलाहरुको उपस्थिति राम्रै छ । संघीय संसद्को प्रतिनिधि सभामा प्रतिशतको हिसाबले यो ३२.७३ प्रतिशत हुन्छ जबकि राष्ट्रिय सभाममा महिलाको प्रतिशत ३७.२९ प्रतिशत हुन आउँछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी जम्मा ११२ जना महिला सदस्यहरुको संघीय संसद्मा प्रतिनिधित्व रहेको छ । यसप्रकार संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३.५३ प्रतिशत रहेको छ । छ महानगरपालिकामध्ये एक भरतपुर महानगरपालिकामा महिला मेयर निर्वाचित भइन् । नेपालको संविधान २०७२ बाट स्थानीय तहको पुनःसंरचना गरी ७४४ को संख्या निर्धारित गर्\u200dयो । स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित गरेको छ । अहिले ७५३ स्थानीय तहमा प्रमुख पदमा १८ महिला निर्वाचित छन् । स्थानीय प्रमुख/उपप्रमुख र वडाध्यक्षसहित कार्यकारी पदमा ७७८ महिलाहरु निर्वाचित रहेका छन् । छ महानगरपालिकामध्ये एक भरतपुर महानगरपालिकामा महिला मेयर निर्वाचित भइन् । स्थानीय तहमा पुरुषसँग खुल्ला प्रतिस्पर्धामा २६२ महिलाहरु विजयी भए । ६ हजार ४२४ दलित महिला निर्वाचित भएका छन् तर यो संवैधानिक व्यवस्थाअन्तर्गत छ । यो आंकडा हेरेपछि लाग्छ नेपालमा महिलाको अवस्था राजनीति तहमा धेरै बलियो छ तर वास्तविकतामा त्यस्तो छैन । किनकि मन्त्रीपरिषद् र निर्णायक तहमा अहिले पनि महिला उपेक्षित छन् । २५ जनाको संसदीय मन्त्रीपरिषद्मा मात्र तीन महिला मन्त्री छन् । यस्तै प्रदेशको मन्त्रीपरिषद्मा पनि महिलाहरुको उपस्थिति ११ प्रतिशत छ । संविधानको प्रावधान अनुसार प्रत्येक राजनीतिक दलको ३३ प्रतिशत महिलाको अनिवार्य रुपले सहभागिता गराउनुपर्दछ । देशका सबै राजनीतिक दल आफ्नो घोषणापत्र र विधानमा महिलाको उचित समावेश र सहभागिताका सम्बन्धमा प्रतिबद्धता जनाएका छन्, तर एउटा दलले पनि महिलाप्रति उचित र उदार व्यवहार देखाएका छैन्न । १३ संवैधानिक आयोगमा एउटा पनि महिलाको नेतृत्व छैन । स्पष्ट छ, नेपालको राजनीतिक क्षेत्रमा देश ठूलो फड्को मारिसकेको छ, जसमा पुरुषसँगै महिलाहरुले पनि राम्रै योगदान दिएका छन् । तर महिलाको स्थिति अझै पनि पुरुषको पछाडि हिँड्नेमै सीमित छ । अधिकांश महिलाहरू पितृसत्तात्मक समाजमा आफ्ना पति र बुबाभन्दा तल मानिन्छन् । नेपालका अधिकांश महिलाहरू पितृसत्तात्मक समाजमा आफ्ना पति र बुबाभन्दा तल मानिन्छन् । त्यस्तो देश जसको संविधानले धारा १२ मा समानताको हक र अनुच्छेद २० मा स्वास्थ्यको हक सुनिश्चित गरेको छ, जसमा कुनै पनि रीति, परम्परा र कुनै पनि हिसाबले कुनै पनि शोषण गर्न पाइने छैन । मुलुकमा महिलाको जीवनको उत्थान गर्ने कार्यमा ठूलो परिवर्तन ल्याइएको छ, तर यसलाई पूर्ण रूपले लागु गर्न सकिएको छैन । आर्थिक क्षेत्रमा पनि महिलाहरुको स्थिति अझै पनि राम्रौ छैन । २०१७ को नेपाल श्रम सर्वेक्षण अनुसार २२ प्रतिशत महिला श्रम बजारमा सक्रिय छन् । सामाजिक दृष्टिले नेपाली महिला हिमाल, पहाड र तराईमा सदियौंदेखि अहिलेसम्म बलात्कार, घरेलु हिंसा, बेचबिखन, सार्वजनिक वा कार्यस्थलमा हिंसा, बालविवाह, बोक्सी, दाइजो, छाउपडी, मानसिक तथा शारीरिक यातना र विभेदकारी नीति र कानुनको शिकार बनिरहेका छन् । एक तथ्यांकअनुसार प्रतिदिन १० महिला हिंसाको सिकार हुने गरेका छन् । प्रत्येक महिना सरदर २५० भन्दा बढी हिंसाका घटना हुन्छन् । जसमा २६–५० उमेर समूहका २६ प्रतिशत महिला हिंसाको सिकार बनिरहेका छन् । हाम्रो देश महिलाको जनसंखया ५१ प्रतिशत छ । जसको स्थिति अहिले पनि दयननीय छ । महिलाविरुद्ध हुने हिंसाका ७७ प्रतिशत घटनाहरू परिवार भित्रबाट हुन्छन् । १५ वर्ष उमेरसम्मका महिलाहरूको २२ प्रतिशतले कम्तिमा एकपटक शारीरिक हिंसाको अनुभव गरेका छन् । ४३ प्रतिशत महिलाहरूले कार्यस्थलमा यौन उत्पीडनको अनुभव गरेका छन् । प्रत्येक वर्ष ५,००० देखि १२,००० केटीहरू र महिलाहरू बेचबिखन पर्दछन् । ५७ प्रतिशत महिला मात्र साक्षर छन् । प्रदेश २ को छोरी बीमा कार्यक्रम, जसमा प्रत्येक छोरीको जन्मनेबित्तिकै ३ लाखको बीमा गर्ने र २० वर्षपुगेपछि रकम प्राप्त हुने व्यवस्था छ । तर मलाई लाग्छ, मुख्यमन्त्रीले यो बीमा रकम छोरीको पढाइका लागि नभई विवाहमा दाइजोको लागि दिएका छन् । दाइजो प्रथा मधेसी महिलाका लागि एउटा अभिशाप जस्तै बनेको छ, उच्च र निम्न सबै परिवारमा दाइजोलाई लिएर महिलाहरुको जीवन नारकीय बनेको छ । छोरी जति उच्च शिक्षित छन्, ज्वाइँ उस्तै उच्च नोकरीवाला चाहिन्छ र दाइजो पनि त्यहीअनुसार उच्च नै दिनुपर्छ भन्ने मान्यता कायमै छ । महिला अधिकार र महिला सशक्तिकरणको कुरा मात्र भाषण र नारामा सीमित छन् । प्रदेश २ का मुख्यमन्त्रीले ‘बेटी पढाऊँ, बेटी बचाऊँ’, ‘छोरी बिमा’ जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याएर प्रदेशको महिला र छोरीको सुरक्षा र उत्थानको दावा गर्नुहुन्छ, तर प्रहरी कार्यालय जनकपुरका अनुसार २०७४/७५ मा विगतको तुलनामा महिला हिंसा दोब्बर भएको छ । जसमा ४९९ महिला हिंसाका मुद्दा दर्ता भएका छन् । तर यसका लागि पुरुषको सँगसँगै महिलाहरु पनि दोषी छन् । उनीहरु महिला अधिकार र महिला सशक्तीकरणको कुरा मात्र भाषण र नारामा सीमित छन् । महिलाहरुको लागि एकता र संगठित सहभागिताको अहिले पनि अभाव छ । तर हामीले यो पनि बुझ्नुपर्छ, पितृसत्तात्मक समाजले विदेशी समाजको संस्कृति र मानसिकताको आधारमा नारीवादको अर्थलाई न्याय गर्न सक्दैन । नेपाल अझै पनि नारीवादको प्रयोग गर्ने र पुरुषप्रधान समाजमा घन्टी बजाउने प्रक्रियामा छ । यस्तै खतरनाक अवस्थाको साथ हामी कसरी विश्वासका साथ सन्तुष्ट हुन सक्छौँ कि यो केवल हामीले पाउनुपर्ने कुरा हो ? यी अवसर प्रदान गर्नु उनीहरूको अवस्था सुधार गर्नको लागि प्रमुख कारक हो, जुन वर्षौंको प्रकृति र पुरुषको श्रेष्ठताको परिणाम हो । यी अवसरहरू कुनै पनि रूपमा हुन सक्छन्, जस्तैः सार्वजनिक बसमा महिलाहरूका लागि छुट्याइएका कोटा सीटहरू । पुरुषदेखि महिलासम्म सबैले यसलाई परिवर्तनको अवसरको रूपमा हेर्नुपर्दछ । यसलाई कुनै प्रकारको प्रतिस्पर्धा वा आफ्नो अहंको सन्तुष्टिकेन्द्र बनाउनु हुँदैन । #सेलिना प्राची
बलात्कृत\xa0निद्रा: गालाबाट आँसुको नदी कतिखेर बगेको हो, अत्तोपत्तो छैन। देब्रेपट्टिको गाला भिजेको चाल पाएँ आँखा मिचेको समय यी हातले पनि नचिनेको अनुभूति गऱ्यो । निद्रा नपुगेरै होला भनेर त्यस्तो चासो राखिनँ। झ्यालबाट खटियासम्म आइपुगेको घामलाई मुस्कुराएर दिनको सुरूवात गरेँ। उसलाई पनि बादलले छेकिदियो । उसले मेरो सम्बोधन नस्वीकारेको हो या देखेन। निरासले सुरू भएको यो दिन कसरी उज्यालो होला… , र पनि मान्छे आसमा बाँच्ने जात न हो । तिलक पोखरेल शौचालय मान्छेको पहिलो आनन्द स्थल हो ।जसले मान्छेको घृणामा सहानुभूति हुँदै त्यहीँ मान्छेलाई आनन्दको उपहार दिन्छ । बिहान उठ्नेबित्तिकै र सुत्नुअघि शौचालयको दर्शन नगरी दिनको सुरूवात र स्थगित हुन सम्भव छैन । म पनि तीमध्येको एक हुँ । आलस्यले भरिएका यी भारी एकहल आँखा बोकेर जान्छु । मोबाइललाई कोट्याउँदै आफ्नो मन भुलाउँदै बस्छु । केही मिनेटपछि बाथरूमको काम सिद्धिएर मुख धुन ऐनामा जान्छु । ऐना…. मान्छेले सिर्जना गरेको विषयहरूमध्ये मलाई ऐना एकदम मन पर्छ । ऐना सत्यको उपनाम हो । पर्याय हो । जसले कहिले झुटो देखाउँदैन, अनि हेर्दैन पनि । सत्य लुकाउँदैन अनि असत्यलाई साथ दिँदैन पनि । श्रृंगारबाट मुक्त भएको अनुहारहरू हामी कम मात्राले देख्छौं । बाहिरी मेकप र पोतेकोअनुहारलाई यथार्थ सम्झेर पचाइरहेका छौँ । तर ऐना… उसले सक्कलबाट नक्कल नहुन्जेल र नक्कलबाट सक्कल नहुन्जेलसम्मको सबै जानकारी लिएको हुन्छ । मानौँ ऐना देवता नै हो । जसले देख्छ, सुन्छ र बोल्दैन । हो…. ऐना देवता नै हो ।म ऐना हेरेर रूने गर्छु, ऊ मौन, म ऐना हेरेर हाँस्ने गर्छु, ऊ मौन, म ऐना हेरेर रिस पोख्ने गर्छु, ऊ मौन, कहिलेकाहीँ आवेशमा आएर त्यो ऐना फुटालिदिन्छु ऊ चकनाचुर हुन्छ तर पनि मौन । ऐनामा आफ्नो अनुहार हेर्छु, आँसुका धाराले रेखा कोरेको छ । लक्ष्मणरेखा जस्तो ।ऊ गालाको फेदसम्म बग्न नसकी थाकेर त्यहीँ सहिद भएको होला। हैन भने सिरानीले उसको व्यथा पुछिदियो होला। कुनै कुराको किटेरै भन्न नसके पनि एउटा कुरा पक्का छ । आँसुले मेरो मुटु छोडेको पक्का हो । गाला मसारेर हेर्छु, अहँ केही प्रमाण छोडेको छैन, त्यसो भए यो आँसुले मुटुबाट प्रस्थान किन गऱ्यो त ? प्रश्नै प्रश्नले मुछिएको यो गाला हेरेर म झन् भन्दा झन् निरीह हुँदै जान्छु । भो….. म साबुन लगाएर मुख पखालि दिएँ… दाग हरायो, मान्छेको अस्तुखोलामा बग्दै हराएको जस्तो तर यसलाई कुनै सम्झौताको कोठा दिन किन मनमा । दाँत माझ्छु । कोठामा छरिएका कविताका पानाहरू दयनीय रूपले मलाई हेरिरहेका छन्, लाग्छ म उनीहरूको भ्रुण हत्या गरेको छु।अधकोल्चो जीवन दिएर उनीहरूको परिचयलाई आकार नदिई राखेको छु । शब्द र शब्द बोल्ने भए मेरोबारे के भन्थे होला, वाक्य र वाक्य बाेलो मेरो बारे के भन्थे होला ! मलाई डर लाग्यो, कतै यी आँसुहरू ती कविताको निम्ति त हैन ? ती बलात्कृत कागजका टुकुराहरूको प्रतिनिधि त हैन ?अपांग भएका ती रचनाका वीर्यहरूको निम्ति त हैन ? झोला खोज्छु हत्तपत्त, स्कुलका सबै कुरा परे कि परेनन् हेर्न पनि भ्याउँदिनँ, आफैँमा व्यस्त छु, निस्सासिएको छु यी अपरिचित आँशुको कारण, घरबाट बाहिर निस्किसक्दा मात्र वायुमण्डलको स्पर्शले मन शान्त हुन्छ, चलायमन हुन्छ नयाँ जोश र जाँगरहरू, पलाएर आउँछन् नयाँ सिर्जनाका कोपिलाहरू, फूल्दै जान्छन् शब्दका फूलहरू… यी छोटो आयु बोकेका रहरको कारागारका कैदीहरू भोलि बिहान आँसुले लत्पतिएर गालामा फेरि आफ्नो आत्महत्या गर्नेछन्, अहिलेलाई बिर्सिदिन्छु, साँझ घर पुग्नासाथ सिरानी तल छुरी एउटा राखेर सुत्नु पर्छ, सपना ताजा मिल्छ, सपना बलात्कृत हुँदैन… #तिलक पोखरेल
धर्म निरपेक्षताको उपहार: मलाई अचम्म लाग्छ, भएको ‘हिन्दू राष्ट्र’लाई हटाएर संविधानमा किन धर्म निरपेक्षता ल्याइयो? नेपाल हिन्दू राष्ट्र हुँदा इस्लामदेखि क्रिश्चियनसम्म नेपालभित्रै अटाएका थिए। नेपाल हिन्दू राष्ट्र हुँदाखेरि नै हो काठमाडौंको घण्टाघर नजिकै इस्लामहरूले मस्जिद बनाएको पनि। अनि क्रिश्चियनहरूले चर्च पनि नेपाल हिन्दू राष्ट्र हुँदाखेरि नै बनाएका हुन् । नेपालमा २०६२/६३ सालमा चलेको दोस्रो जनआन्दोलको गलत व्याख्या गरेर केही विदेशी संस्थाहरूको स्वार्थमा परेर नेपालका राजनैतिक दलका अधिकांश नेताहरूले नेपालको संविधानबाट ‘सनातन हिन्दू राज्य’लाई हटाएर धर्म निरपेक्षता व्यवस्था गरेर विधिवत रूपमा नेपालमा धर्म निरपेक्षता ल्याइयो। अनुराग शाह धर्म निरपेक्षताको माग नेपाल ‘हिन्दूराष्ट्र’ हुँदा बनेका इस्लाम र क्रिश्चियनहरूको पक्कै पनि थिएन । युरोपियन युनियन र केही पश्चिमा मुलुकका पैसा खाएर जो क्रिश्चियन बने, केही पैसाको लालचमा धर्म परिवर्तन गरेर जो कट्टर हिन्दूविरोधी बने, तिनीहरूलाई चाहिएको हो नेपालमा धर्म निरपेक्षता। धर्म निरपेक्षताका पक्षपातीहरू नेपालमा यति शक्तिशाली बनेका छन् कि उनीहरूले देशका सांसददेखि प्रधानमन्त्रीसम्मलाई प्रत्यक्ष रूपमा आफ्नो प्रभावमा पारेका छन् । जसको पछिल्लो उदाहरण हो होली वाइन प्रकरण हो । बहुसंख्याक हिन्दू भएको समाजमा आएर एउटा विवादित एवम् अराजक क्रिश्चियनहरूको झुन्डले नेपालका जनप्रतिनिधिहरूलाई होली वाइनको रसपान गरायो। नेपालले हिन्दू राज्यलाई हटाएर धर्म निरपेक्षता बनाएपछिको यो सबैभन्दा ठूलो उपहार हो- नेपालका लागि । संविधानमा हिन्दू राज्य हुँदा, चिया पसलमा धर्मको बारे विवाद गरेको देखेको थिइन। कुनैपनि इस्लामिक मित्रले त हिन्दू, कुनैपनि क्रिश्चियन मित्रले त हिन्दू भनेर फरक व्यवहार गरेको अनुभव मैले गरेको थिइनँ । धर्म निरपेक्षाता हुनुभन्दा अगाडि मसँगै मन्दिर जाने मेरा क्रिश्चियन मित्रले अहिले मन्दिराको म उच्चारण गरेको सुने भने रिसार हिंड्छन् । म पनि चर्चमा निर्वाद रूपमा जान्थ्ये मुलुक धर्म निरपेक्षता हुनुभन्दा अगाडि। वर्षौँ अगाडि गएको चर्चमा आज जान म किन हिच्किचाउँछु,अनिवर्षौँअघि मेरा मित्रसँग बकर ईद मनाउन मस्जिद छिरेको म आज किन मस्जिदभित्र छिर्न डराउछु? के यही हो धर्म निरपेक्षताको उपहार? यदि यिनै उपहार हुन भने हामीले यो धर्म निरपेक्षतालाई हटाउन ढिला गर्नु हुँदैन। नेपालका अधिकांश रितिरिवाज र संस्कृतिहरू धर्मसँग जोडिएका छन् । हामीले नेपाल भ्रमणवर्ष भनेर घोषणा गर्दै मनाउँदै आएकाछौँ । नेपाल हिन्दू राज्य हुँदा जति पर्यटक नेपालमा घुम्न आउँथे र नेपालमादशैँ-तिहार जसरी हर्षोउल्लासका साथ रमाउँथे, त्यसरी के अहिले पर्यटकहरू आएर रमाइरहेका छन् ? यो प्रश्नको उत्तरमा सरकार र सरकारका प्रतिनिधिहरू मौन छन् । हामी बच्चा हुँदा दशैँ आउँदा जतिखुसीहुन्थ्यौं,त्यतिखुसी अहिलेका बच्चा दशैँमा हुँदैन नत त्यतिखुसी अहिलेका बच्चाहरू क्रिसमस मनाउदा हुन्छन् । अर्को कुरा, नेपालमा घुम्न आउने पर्यटक के हेर्न आउने भन्ने मुख्य कुरा हो। पर्यटकहरू नेपालमा चर्च हेर्न आउँदैनन् । चर्च हेर्नलाई त पश्चिमा मुलकका देशहरू नै प्रयाप्त छन् । त्यही छन्ठूला चर्च त्यही छन्,ठूला पादरीहरूतिनीहरूलाई बेवास्ता गर्दै नेपालमा पैसाको लालचमा फैलेको धर्मलाई हेर्न नेपालमा पर्यटक आउँलान् त? नेपाललाई संस्कृतिकै धनी र धार्मिक महत्वको एउटा गन्तव्य बनाउने हो भने नेपालको संविधानमा व्यवस्था भएको धर्म निरपेक्षतालाई तत्काल खारेज गर्नुपर्छ। हामीले आफ्नो परिचय बनाउने हो। विश्वमा नेपाललाई कसरी चिनाउने हो भन्ने अहिलेको मुख्य विषय हो। हामीलाई सगरमाथा र हिन्दू राज्यको देश भनेर विश्वमा चिन्दैआएका थियो, विश्व समुदायले। त्योमध्ये एउटा पहिचान हिन्दू राज्य हामीले समाप्त पारिसकेकाछौ, बाँकी सगरमाथा मात्रै छ | त्यो पनि कुन दिन चाइनाले हाम्रो हो भनिदिन्छ, त्यसपछि हाम्रो चिनाउने सबै कुरा सकिन्छ र हामी विश्व समुदायले चाइना र भारतमध्ये एउटा देशको प्रान्तको भनेर व्याख्या गर्ने छ। हामीलाई त्यो दिनमात्र थाहा हुने छ हिन्दू राज्यको महत्त्व जुन दिन हाम्रो राष्ट्रियता संकटमा पर्ने छ। #अनुराग शाह
विवाहेत्तर सम्बन्ध अपराध होइन, कला हो: गाँस, बास, कपासजस्तै यौन पनि नैसर्गिक मानवीय आवश्यकता हो भनी रटान लाएर कैयौं वर्षहरू बितिसकेका छन् । नाटक, कथा, उपन्यास र लेखहरूमा अनि चलचित्रका पर्दाहरूमा धैरैपटक यौनका यस्ता विषयवस्तुहरू मुखरित भएका छन्- जसमा नायक विदेशिएको हुन्छ नवविवाहित नायिकालाई घरमा छोडी, जो कुनै खलनायकसँग रसरङमा रमाउन विवश हुन्छे(शब्द ख्याल गर्नूस्- विवश)। यो प्रेमको परिणामले परिवारको संरचना ध्वस्त हुन्छ । सामाजिक थितिमा भाँडभैलो । अझ वर्तमान युट्युबकारिताको जमानामा यस्ता चटपटे खबरहरूलाई सनसनी बनाएर हेर्नसमेत नसकिने गरी प्रस्तुत गरिएको छ्यासछ्यास्ती पाइन्छ । विशालबाबू बस्नेत पछिल्लो समयमा प्रकाशित केही उपन्यास तथा कथाहरूमा मूलतः वैदेशिक रोजगारीसँग यौन भोगाइको अनुभूति, खल्लो सम्बन्धलाई उजागर गरिएको देखिन्छ । जस्तो कि विदेशिने पुरुष वा स्त्रीको विदेशमै सम्बन्ध रहने अनि घरमा रहने स्त्री वा पुरुषको पनि यस्तै खालको गैर-वैवाहिक सम्बन्धमा गिजोलिने । गैर-वैवाहिक सम्बन्धलाई रोजगारीको खोजीमा विदेशिने बाध्यताको कारण सिर्जिएको सामाजिक समस्याको उपज मात्रै ठानियो भने गम्भीर गल्ती हुन्छ । यस्ता अधिकांश घटनाहरू वैदेशिक रोजगारीमा रहेका महिला वा पुरुषहरूका जीवनमा घटित भएकोले यस्तो सोचिएको हो । दुई कुरा भनिहालूँ, यो वैदेशिक रोजगारीमा जाने सबैको जीवनमा हुने अनिवार्य घटना होइन र नजानेहरूका लागि हाइसञ्चोको विषय झन् होइन । इतिहासको अध्ययनले के देखाउँछ भने युगौंदेखि बहुपत्नीप्रथा विभिन्न राजा-महाराजाहरूमा मात्र नभई साहु-महाजन र अन्य रैतीहरूमा पनि रहिआएको थियो । यस्तै कुनै समुदायमा बहुपतिप्रथा पनि कायम रहेको पाइन्छ । वैदेशिक रोजगारीको परिकल्पना नै नभएको समयमा पनि यस्ता सम्बन्धहरू हुन्थे, जसलाई सोझै अनैतिक भन्ने गरिन्छ । बरू अहिलेको जस्तो सार्वजनिक सञ्चारमा सर्वसाधारणको पहुँच नभएका कारण यस्ता कुराहरू यत्तिकै सेलाएका वा एकदमै सानो स्थानको परिधिभित्रै सीमित भएर हराएका हुन्थे । अर्कोतिर कानुनी तथा सामाजिक समस्या नमानिएका कारण यस्ता सम्बन्धहरूलाई सहजै स्वीकारेर आएइएको पनि हो । गैर-वैवाहिक सम्बन्ध यसैले पनि युगौंदेखि भइआएको मानव व्यवहार हो भन्दा अत्युक्ति नहोला । रुसी लेखक एन्टोन चेखभका कथाहरू र टोल्स्टोयका उपन्यासमा अभिव्यक्त रोमाञ्चक र हृदयस्पर्शी परस्त्री वा परपुरुषसँग निकट भएका वर्णनहरू काल्पनिक भए तापनि मानवीय स्वभावेत्तर रचना होइनन् । गैर-वैवाहिक सम्बन्ध यसैले पनि युगौंदेखि भइआएको मानव व्यवहार हो भन्दा अत्युक्ति नहोला । विवाहको परिकल्पना सृष्टिको निरन्तर सञ्चालनका लागि गरिएको हो । यसैले एक पुरुष र एक स्त्री सामाजिक र सांस्कृतिक चलनहरूको आवरणमा मूलतः समागमको लागि राजी हुने र सन्तानोत्पादनमा सरिक हुने परिपाटीलाई समाजले ‘विवाह’ नाम दिएको हो । पुरुष र स्त्रीबीचमा असमानता रहेको कारणले खासगरी स्त्रीजातिलाई पनि भोग्य साधनका रूपमा अथवा श्रीसम्पत्तिको रूपमा केवल आफ्नो कायम गर्न विवाहलाई नैतिक बन्धनका रूपमा व्याख्या गरियो । सबभन्दा पवित्र नाता भनियो । विवाहलाई सिन्दूरको परिमाण, अग्निको सात फन्को, खुट्टाको पानी,चुरापोतेमा निहित साधवी स्वरूप, सतित्वको निशानीजस्ता अनेकौं विशेषण र पदावलीहरूसँग गाँसेर यस्तो बनाइयो ताकि कुनै नारीले विवाहेत्तर सम्बन्धबारे सोच्दा पाप-भयले उसको हृदय नै छियाछिया होस् ।(हिन्दूधर्म र संस्कारबाहेक अन्य मानवसमुदायमा पनि समानार्थी प्रचलन र पदावलीहरू अवश्य छन् ।) तर यस्तै प्रपञ्चहरू पुरुषको लागि सोच्नु बान्छनीय ठानिएन, किनभने यी सारा धार्मिक-सांस्कृतिक-सामाजिक नियमहरूको निर्माता नै स्वयम् पुरुष थिए । यदि विवाहको प्राकृतिक सिद्धान्तकेवल सृष्टिसञ्चालन हो भने एउटै छानामुनि पुरुष र स्त्री जीवनभरि रहनु किन आवश्यक छ त? यही प्रश्नको जवाफ खोज्नेक्रममा विवाहेत्तर सम्बन्धहरूले जन्म लिएका हुन्छन् । जतिसुकै पत्नीव्रत पुरुष भए पनि यदि कुनै नारीको निकट हुने र लाभ उठाउनेअवसर पाउने हो भने वेदका मन्त्रहरू उच्चारण गर्दै सुइँकुच्चा ठोक्दैनन् । घरमा अत्यन्तै नारीवादी र पत्नीप्रेमी पुरुषहरूले भाग्यवश आर्जन गरेका यौनवासनाका सफल कथाहरू पुरुष-जमघटमा गौरवको विषयका रूपमा चर्चा गर्न रुचाउँछन् । अनि पतिव्रता नारी? गुलियो कुरा गरेर हृदयलाई काउकुती लाउने कार्यालय, बजार वा कुनै यात्रादौरान भेटिएको परपुरुषसँग मधुर समय गुजारेको दिवास्वप्न देख्दैनन्? पतिव्रता नारीहरू पनि मौका पाउँदा सफल कथा निर्माण गर्छन् कि मन मारेर पछि हट्छन्? के ती व्यभिचारीहरू मात्रै हुन्, जो विवाहेत्तर सम्बन्ध राख्दछन्? के पतिको सेवामा अन्मन्यस्क समर्पित हुने नारीहरू बलिष्ठ हातपाउ र गठिलो ज्यान भएको टिभीमा देखिने नायकको नग्न देह हेरेर रोमाञ्चित हुँदैनन्? गुलियो कुरा गरेर हृदयलाई काउकुती लाउने कार्यालय, बजार वा कुनै यात्रादौरान भेटिएको परपुरुषसँग मधुर समय गुजारेको दिवास्वप्न देख्दैनन्? यी प्रश्नको उत्तर कुनै महिला लेखिकाले मात्रै प्रस्तुत गर्न सक्नुहुन्छ(यस विषयमा पंक्तिकार बोल्न चाहँदैन) । जतिसुकै महिलाहरूसँग साक्षात्कार गरे पनि अथवा पुस्तक-रचना पढे पनि अथवा मनोवैज्ञानिक चिरफार गरे पनि एउटा पुरुषले महिला विषयमा आभ्यान्तरिक लेख लेख्न सक्दैन । अपितु विभिन्न अनुभवहरू र अध्ययनहरूले यति ठोकुवा गर्न भने हिचकिचाउन मन लाग्दैन कि विवाहेत्तर सम्बन्ध अपराध कदापि होइन, बरू कला हो । विवाहेत्तर सम्बन्ध फगत यौनको परिपूर्ति नभएको झोंकमा घटित घटना होइन । जस्तो कि आफ्नो पति वा पत्नीसँग लामो समय टाढिंदाको दुष्परिणाम । त्यसरी सिर्जित घटना एउटा क्षणिक आवेगसम्म मात्र सीमित हुन्छ । सदैव साथमा रहँदा नै पनि, अझ भनूँ हरबखत कुम जोडेर हिंडेकै दम्पतीहरूमा पनि विवाहेत्तर सम्बन्धको गुञ्जाइस पाइनुले यसलाई मानवीय सामान्य स्वभाव मान्नुपर्दछ । जसरी हरेक दिन दाल, भात, रोटी र रायोको साग खाइरहन सकिन्न, अनि निरन्तरतालाई तोड्न आकस्मिकताका रूपमा झट्ट गुन्द्रुक र ढिंडो वा मासु-पुलाउको अपेक्षा गरिन्छ, जसरी सँधै हिंडिरहेको एकोहोरो बाटो छोडेर ‘आज यताबाट हिडौं’ भनेर नयाँ बस्ती हुँदै हिंडिन्छ, जसरी जति नै मन परे पनि सँधै एउटै गाना सुन्न नसकेर नयाँ सीडी किन्न खोजिन्छ वा युट्युबतिर सर्च हानिन्छ, त्यसैगरी एउटै छानामुनि एउटै अनुहारसँग लगातार साक्षात्कार भइरहँदा पति-पत्नीमा पनि अलिकति टर्रोपन र एकाकीपनको उदय हुन्छ । यो समस्या टार्नको लागि मूल हतियारको रूपमा धार्मिक, सामाजिक र सांस्कृतिक हतियारको उपयोग गरिएको त हो, तर त्यस्तो खिया लागेको हतियार सँधै काम लाग्छ भन्ने छैन । तिनै पौराणिक कथाहरूमा पनि विवाहेत्तर सम्बन्ध अपनाउनका लागि रूप फेर्ने वा यस्तो सम्बन्ध ढाकछोप गर्न कानबाट सन्तान जन्माएका प्रसङ्गहरूमार्फत् बिम्बात्मक ढङ्गले विवाहेत्तर सम्बन्धलाई कलाको रूपमा व्याख्या गरिएको पाइन्छ । मनोवेत्ताहरू पति-पत्नीबीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि एकअर्कालाई बुझ्ने,कुराहरू ध्यान दिएर सुन्ने, घरायसी काममा सघाउने,मन बहलाउने कुराहरू गर्ने,संगीत सुन्ने आदि विधिहरू सुझाउँछन् । यी कर्महरूले स्थायी आदतहरूमा हठात् परिवर्तन गरेर,रुचिहरूमा फेरबदल ल्याएर र व्यक्ति उही भए पनि व्यक्तित्वमा नवीनता ल्याएर परस्पर छाएको एकाकीपनलाई हटाउन सकिन्छ । तर यस दृष्टान्तले पनि क्षणिक रूपमा फरक व्यक्तिको रूपमा आफ्नो पति वा पत्नीलाई ग्रहण गरेको देखिन्छ, जुन भौतिक तवरले वैवाहिक देखिए पनि संवेगात्मक दृष्टिले गैरवैवाहिक सम्बन्ध हो । यस्ता विधिहरूको अभावमा हृदयको कैयौं खातहरूमुनि च्यापिएर रहेको अत्यासलाग्दो दिक्दारीले प्रस्फुटन हुने सम्भावना राख्दछ । यो लेखको ध्येय कदापि विवाहेत्तर सम्बन्धलाई बढावा दिनु होइन, न त विवाहेत्तर सम्बन्धको विरोध गर्नु हो । विवाहेत्तर सम्बन्धका कारण समाजमा विभिन्न खालका दुर्घटनाहरू भएका कारण यसलाई एउटा गलत अभ्यास मान्ने गरिएको छ । यो लेखको ध्येय कदापि विवाहेत्तर सम्बन्धलाई बढावा दिनु होइन, न त विवाहेत्तर सम्बन्धको विरोध गर्नु हो । यो एउटा परिस्थितिको चरा-दृष्टि-चराको जस्तो अवलोकन) मात्रै हो । वैवाहिक सम्बन्धमा आबद्ध पुरुष तथा स्त्रीहरूले विवाहेत्तर सम्बन्धलाई दीर्घकालीन सम्बन्धका रूपमा सोच्दा अधिकांश घटनाहरू घट्न पुगेका हुन्छन् । यो फगत निरन्तरताहरूमा आएको आकस्मिकताको रूपमा ग्रहण गरियो भने त्यस्ता संकटहरू टार्न सकिन्छ । यसरी सिर्जित सम्बन्धलाई कला ठान्नेहरू यसमा सदा सफल हुन्छन् र पारिवारिक संरचनालाई नबिगारी प्रेममा निर्लिप्त हुन्छन्। सफल विवाहेत्तर सम्बन्ध त्यो हो जसमा प्रेमी वा प्रेमिकासँगको सम्बन्धको बारे आफ्नो पति वा पत्नीलाई कति पनि जानकारी हुन दिँदैन र त्यस सम्बन्धको कुनै छाया परिवारको घेरामा पर्न पाउँदैन । तब पो रोमाञ्चक र सुखद हुन्छ प्रेम ! अनि यस मामिलामा सबैभन्दा महत्वपूर्ण तर जटिल संकल्प के हो भने यदि तपाईं एकजना पुरुषको रूपमा विवाहेत्तर सम्बन्धमा रुचि राख्नुहुन्छ र खुसुक्क दुई-चारजना प्रेमिका बनाउन सफल हुनुहुन्छ भने तपाईंकी पत्नीलाई पनि त्यो अधिकार प्रदान गर्न हिच्किचाउनुहुँदैन । त्यसो त कलामा पोख्त छिन् भने तपाईंकी पत्नीले पनि त तपाईंले उनलाई गुमराहमा राखेजसरी नै तपाईंलाई अलमल्याएर सफल विवाहेत्तर सम्बन्ध राखिरहेकी हुन सक्छिन् । #विशालबाबू बस्नेत
सम्झनाहरू ', "तिम्रो नै माया लाउदछ साइली सम्झन्छु छिन् छिन ……. तिमीले माया नगरे पनि गर्छु म दिन् दिन ….. नेपथ्यमा झलकमान गन्दर्वको कालजयी गीत मन्द आवाजमा गुनगुनाइरहेको छ | संगीतले मानिसको भावना बोकिदिन्छ, भन्न नसकेका कुरा सुनाइदिन्छ, र त मलाई संगीत तिमी जत्तिकै प्रिय लाग्छन् । यतिखेर म तिमीलाई सम्झिरहेछु । हुन त मैले तिमीलाई नसम्झिएको पल नै हुँदैन | तिमी जस्तो देखिने हरेक आकृतिमा म तिमीलाई सम्झिरहेको हुन्छु | प्रशान्त उप्रेती ‘सुरुवात’ तर आज विशेष याद आइरहेको छ | किनकि म यतिखेर तिमीलाई मन पर्ने स्थानमा आइपुगेको छु | तिमी भन्थ्यौ, “म यहाँ आएसी सबै कुराहरू भुल्छु |” तर म भने तिमीलाई सम्झिरहेको छु | सबैभन्दा कठिन कार्य भनेकै आफूले प्रेम गर्ने मान्छेलाई भुल्नु हो । धमिलो पानीमा बगेको समय सम्झिरहेको छु | खोला आफ्नै गतिमा बगिरहेको छ, आफूमा समेटिन आएकोहरूलाई समेट्दै, तिमीले मलाई एकदिन भनेको थियौ, “हामी जिन्दगीमा आएका सबै कुरा सहर्ष स्वीकार गर्दैनौँ र दुखी हुन्छौं | नदी त्यस्तो गर्दैन, आफूतर्फ आएका सबथोक सहर्ष स्वीकार्दै अघि बढ्छ, कहीँ रोकिदैन, र त गन्तब्य मा पुग्छ ।” ठुलो ढुङ्गोमा पल्टेर आकाशतर्फ हेरिरहेको छु । बादलहरू मडारिदै अघि बढिरहेका छन् | रोक्किएको त म मात्र छु, तिम्रो यादमा । अँ, फेरि यो गुनासोचाहिँ हैन है ! गुनासो गर्न सजिलो छ, तर धन्यवाद भन्नलाई गार्हो | तिमीलाई पाएदेखि गार्\u200dहो गार्\u200dहो काम मन पर्न थालेको छ । आज एक्लै बसेर गार्\u200dहो काम गरूँ गरूँ लागेको छ | म तिमीलाई सुरुमा भेट्दाका दिनहरू सम्झिरहेको छु | पहिलोपल्ट भेट्दा तिमी मलाई “ओहो अपुरो जिन्दगी पूरा भयो”, भन्ने जस्ता फिल्मी ख्याल आएको चाहिँ हैन, तिम्रो सुन्दरताले आकर्षण गरेको हो | तर बोल्दै गएपछि तिम्रो चिन्तनहरूले झनै लोभ्यायो | म कहिलेकाही तिमीसँग बोल्दा जानाजान गल्ती गरिदिन्छु | उल्टा कुरा भनिरहन्छु | ताकि तिमी मलाई सच्याऊ, आफ्नो विचार म समक्ष राख | यसो गर्दा मलाई असिम आनन्द आउँछ | हेर त, म कति स्वार्थी छु । मानिसहरू स्वार्थसहितको प्रेम नि के प्रेम भन्छन्, तर होइन रहेछ | निस्वार्थ प्रेमले मानिसलाई कही पुर्याउदैन । तिमीलाई भेट्नु पहिले लाग्थ्यो, मलाई धेरै कुरा थाहा छ | तर आजकल तिम्रो प्रश्नहरूले मलाई निशब्द बनाएसी लाग्छ, मलाई केही थाहा छैन । मलाई आफू चिनाउन नि तिमीले सहयोग गरेको छौ | मोबाइल गीत फेरिएर देव आनन्द साहेबको, “याद किया दिल ने कहाँ हो तुम”, बजिरहेको छ | दिलले तिमीलाई याद गरेको सत्य हो | तर तिमी कहाँ छौ भन्ने चाहिँ मलाई थाहा छ | मडारिएर अघि बढिरहेका बादलहरू रोकिएर वर्षिन थाले, वरपर ओत लाग्ने ठाउँ छैन | एक्लै भौतारिएर हिँड्दा त तिमीले दिलमा ओत लाग्न दिएको थियौ | तर यो किनार निष्ठुरी छ | यी छिट्टाहरू तिम्रो प्रेम झैँ ममाथि वर्षिरहेका छन् | मानिसहरू प्रेमले चोट दिन्छ भनिरहन्छन्, तर प्रेमले चोट दिन्छ भन्नेहरूले प्रेमलाई अन्तरमनबाट नियालेका छैनन् | प्रेम गर्न जानेका छैनन्| महसुस गरेका छैनन् | “प्रेम वास्तवमै सुन्दर चिज हो | जसले जीवनका मार्ग सरल बनाइदिन्छन् | भन्नलाई हामी माया गर्छु नभनेरै माया गरिरहनेहरू, जीवनभरि साथ दिन्छु भनेर कसम नखाएरै साथ दिइरहनेहरू गज्जब हुन् भनेर भन्छौं, तर त्यस्तो हैन | प्रेम गरेपछि प्रेम गर्छु भनेर भावनाहरू सुनाउनु पर्छ | प्रेम पाउनेले नि अनुभव गर्न सकोस् र थाहा पावोस् कि ऊसम्म त्यत्रो प्रेम कहाँबाट आइराखेको छ |”, तिमीले एकदिन आफ्नो टाउको मेरो कुममा राख्दै गर्दा यसो भनेदेखि मलाई नि आँट आएको हो, भन्नलाई कि म तिमीलाई भव्य प्रेम गर्छु | त्योभन्दा अगाडि प्रेम नगरेको हैन, भन्न मात्र नसकेको | आफूलाई प्रेम गर्छ भन्ने थाहा पाएसी मानिसमा विश्वास पैदा हुदो रहेछ | त्यसपछिका दिनहरू सम्झिरहेको छु, माघको मुटु ठियाउने जाडोमा तिम्रो आवाज सुन्न पाउने लोभले मैले तय गरेका यात्राहरू, त्यसपछि मेरो मोबाइलमा आएका तिम्रा प्रेमिल पत्रहरू | प्रिय मिमी ! मलाई प्रेम गर्न नआउँदा मलाई सहेर प्रेम गर्न सिकाएकोमा धेरै धन्यवाद ! नजिक हुन्थ्यौ भने तिमीलाई गज्जब मन पर्ने न्युरोडको छोयला खुवाएर धन्यवाद भन्थें ! बाहिर जाने एकदिन अगाडि तिम्ले मलाई फोन गरेर भेट्न आउभन्दा मन खिन्न भएको थियो | लाग्यो, यस्तो प्रिय मान्छेलाई कसरी बिदा गरुला| तिमीसँग बस्दा एक शब्द बोल्न सकिनं | लाग्यो, बोल्न त म तिमीबाहिर गए नि पाउछु | तर यति नजिकबाट फेरि तिमीलाई हेर्न पाउँदिन | तिमीसँग अर्कोपटक भेट नभैइन्जेलको लागि तिम्रो तस्विर राख्नुथियो | तेसैले हेरिमात्र रहे | तिमीलाई केही भन्नू थियो होला ! मैले त्यो नि सुन्न चाहिनँ | त्यसको लागि माफ गर है ! तिमीलाई जाने बेला कस्सिएर अँगालो हाल्न मन थियो | मेरो हृदयको आवाज सुनाउन मन थियो, तर आटै आएन | सायद मलाई त्यसको पछुतो हाम्रो अर्को भेट नभएसम्म भैइरहनेछ | सम्झिदा सम्झिदै सम्झिरहेछु, तिम्रो पाइतलाले तय गरेका दुरीहरू | भौतिक दूरी मात्र नाप्न मिल्दो रहेछ , भावनात्मक दूरी नाप्न मिल्दैन रहेछ | मानिसहरू ठूलाठूला कुरामा खुसी खोजेर हिंड्छन्, तर खुसीहरू सासाना कुराले दिन्छन् | जस्तो कि हरेक बिहान आउने तिम्रो म्यासेज, साँझ परेसि आउने तिम्रो कल र कलसँगै थुप्रै कहानीहरू | मिमी ! मलाई सधै यत्तिकै खुसी बनाइराख है ! मेरो के छ र म त सम्झिरहने मान्छे तिमीलाई सम्झिरहन्छु । तिम्रो ओठको हाँसो सम्झन्छु । सम्झन्छु – प्रेम पत्रहरू सम्झन्छु – वाचा कसम र असंख्य भेट्घाटहरू | तिम्रो उपस्थितिको रोमाञ्च सम्झन्छु | तिम्रो अनुपस्थितिको उदासी सम्झन्छु । तिम्रो प्रेममा लेखेका कविताहरू सम्झन्छु । तिमीले सुधारेका मेरा बानी सम्झन्छु । तिम्रो मप्रतिको प्रेम सम्झन्छु । प्रिय मान्छे – तिमीलाई म यसरी नि सम्झन्छु | #प्रशान्त उप्रेती #प्रशान्त उप्रेती 'सुरुवात'
मान्छेका दुःख ', "बुद्ध भन्नु हुन्थ्यो, “संसारमा दुःख छ, दुःखको कारण छ र दुःखको निवारण पनि छ । अनि निवारणका लागि अष्टांगिक मार्ग छन् ।” मानिसको जीवनमा उसले कति दुःख भोग्यो, त्यसले माने राख्दैन रहेछ । भोगेका दुःखका कुरा थाहा पाउन ऊ कहलिनु पर्छ , होइन भने यहाँ भुइँमान्छेहरूको जीवन धेरै कष्टकर छ । झन बढी उल्झनमा बाँधिएको छ । मानिस दुःखबाट मुक्ति पाउने आशमा झनै दुःखतर्फ अग्रसर हुन्छ । मान्छेलाई कर्म गर्नलाई आशाको सानो किरण भए नि हुन्छ । मैले सानो छँदैदेखि चिनेको, उसले कसैको अगाडि हात फैलाएको थाहा छैन । जहिल्यै दुःखको आहालबाट निस्कन झिनो आशाका साथ सङ्घर्षको मैदानमा आफुलाई होमिरहिन । छैठीमा भावीले निदारमा नलेखिदिएको भाग्य-कर्मको जोडतोडले मात्र कहाँ प्राप्तो हुने हो र ? न सन्तान छन् उसका, जन्मिएको पनि थियो- सानामै बितिगयो । तथपश्चात् किन अरू सन्तानको रहर गरिरनन् ? त्यो ऊनैलाई थाहा होला । जीवनको उत्तरार्धमा आएर उसले मलाई यो ओत लाग्ने झुपडीमा आफ्नो प्यारो मान्छे सम्झी सुनाउदै छे, वेदनाहरू । अब जीवनमा पाउन बाँकी दुःख के छ ? मृत्यु ! मृत्युलाई के दुःख भन्ने ! मर्नुमा त एकचोटि फ्याट्ट सास गएसी ढुक्क, तर संघर्ष गरिरहन गाह्रो, बारबार हथौडाले ढुङ्गामा हानेको जस्तो पीडा ! प्रशान्त उप्रेती ‘सुरुवात’ अहिल्या कुनै कथाकार होइन, आफ्नो कथा भन्न । ऊ त स्यंवम कथा हो, जिन्दगी हो । जिन्दगी भनेको के हो ? जिन्दगी भनेको अनुभव हो । सुख र दुःखको समिश्रण हो । तर अहिल्याको लागि जिन्दगी भनेको एक गाँस खानको लागि गर्नुपर्ने संघर्ष हो। दुःखको भेल हो । ऊ यो भेलमा बग्दैबग्दै यहाँसम्म आइपुगी, सायद यो भेलले एकदिन सुखको किनारमा छोड्देला कि भन्ने आशाले । ऊ जन्मेको सात वर्ष नहुँदै ऊसकी आमा एक महिना थला परेर आँखै अगाडि अन्तिम सास फेरिन । आमा बितेको एक वर्ष नहुँदै बहिनी र दाइ पनि बिते । घरमा बुवा र ऊ मात्र बाँकी रहे । सानैमा चुलोचौको, घाँस दाउरा सबै उसको थाप्लोमा आइपुग्यो । सामान्य मान्छेले भोग्ने, देख्ने कयौँ कुरा नदेखी उसका जीवनका पन्ध्र बसन्त बिते । एकदिन घट्टबाट फर्किदै गर्दा उसले घरमा दुई चार मान्छे देखी । घरमा पस्न नपाई बुवाले छोरीको जात सधैं घरमा बसेर वृद्धि हुँदैन भन्दै उसलाई भर्खरै आएका नौलो मानिसलाई जिम्मा लगाइदिए । उसले मनमनै सोची, “हरे, यो कस्तो परम बिसङ्गती ! जस्ले जन्मायो ऊसँग छोटो समय बिताउने अनि आजसम्म कहिल्यै नदेखेको मान्छेसँग यति लामो जिन्दगी कटाउनु पर्ने ? नयाँ सम्बन्ध बनाउनु, विश्वासको संचार गर्नु, प्रेम गर्नु र फेरि एउटा नयाँ जीवनलाई मूर्त रूप दिनु, तर सङ्गती त यस्मै छ कि उसले यो सब स्वीकार्नु पर्नेछ र जति चाँडो स्वीकार गर्यो जीवन त्यति सहज हुन्छ ।” उसले भनिरहँदा मेरो मनमा लाग्यो, हामी कहिलेकाहीँ स्थितिहरू स्वीकार्दैनौँ । विद्रोह गरिरहन्छौँ । सत्यलाई भ्रम ठानी बस्छौँ । र कहीँ पुग्दैनौँ । अहिल्याले न कुनै दर्शन पढी न कुनै गुरूलाई सुनी, तर पनि उसको चेतस्थर गज्जब को छ । विवाहको पहिलो रातमा उसले देखी उसको दुलहाको घरमा सुत्नलाई ओछ्यान छैन । खानको लागि अन्न छैन र मनको वह पोख्नलाई वरपर आफ्नो मान्छे नि कोही छैन । तर उसले आफ्नो भाग्यलाई स्वीकार गरी र जसोतसो रात कटाई । भोलिपल्ट उसको लोग्नेले अन्जान मान्छेको बीचमा उसलाई घरमा छोडेर निस्कियो । घर छोडेको सत्र वर्षपछि उसको लोग्ने फर्केर आयो उही हात भरी गरिबी र निराशा बोकेर । उसले जीवनको सत्रौँ बसन्त कसका लागि भनेर बाँची ? केको आशामा बाँची ? त्यो प्रेम थियो, विश्वास थियो या मजबुरी ? ऊ आफैँ पनि यकिनका साथ भन्न सक्दिन । ऊ यसो भनिरहँदा म आजकलको जोडी सम्झिरहेको छु, जो एकआपसमा दुई चारदिन कुरा नहुँदा दुःखी हुन्छन् । शंका गर्छन् । प्रेमको कसम खुवाइरहन्छन् । ती सत्र वर्षसम्म न कुनै चिट्ठी आयो न कुनै खबर । सत्र वर्षको अन्तरालमा उसले सब भोगी । घरभित्रका र समाजका वचन, उत्पिडनलाई प्रतिवाद गरेर बाँचीरही । घाँस काट्न जादा भीरबाट हाम्फालौहाम्फालौ सोच नआएको हैन, अति भएसी गएर भोटेकोशीमा दुःखसँगै आफूलाई पनि बगाउने सोच नआएको पनि हैन, तर मन मानेन । उसलाई लाग्यो- एकदिन यो सब ठीक हुनेछ, र यो समय पनि बितेर जानेछ । हो, समय बितेर गयो तर नियति गएन । उसले दुःख छ थाहा पाई, तर दुःखको कारण पत्ता लगाउन सकिन । के दुई गाँस खान आश गर्नु, एकसरो लुगा लगाउन पाउने चाहा राख्नु दुःखको कारण हो ? यदि यो दुःखको कारण हो भने संसारमा कोही सुखी छैन । सब दुःखमै रुमलिरहेका छन् फरक फरक ढङ्गले । उसले यी सब दुःखको निवारणदेखि मधेस । ऊसलाई लाग्यो यो बंजर पहाडमा बसेर पानी को निम्ति दुई घन्टा हिँड्नुभन्दा मधेशमा सजिलो होला । हात चलाए दुई गाँसको लागि सोच्न नपर्ला ! यसो सोचेर ऊ मधेस झरी । ठाउँले अलिअलि भूमिका खेल्छ बाँकी सब त कर्मको भरोसा ! दुःखहरू ऊसँग रमाइसकेका छन् । ऊसलाई छोडेर अन्त जान मान्दैनन् । जसको निम्ति जिन्दगी अर्पिइ ऊ त कामै लागेन । मन बुझाऊने बाटो पनि हुँदो हो, तर लोग्ने सधैं रक्सी,गाँजामा लठ्ठ । त्यसैले ऊ आफ्नो लोग्ने आफैँ बनेकी छ । सुत्केरी हुँदा उसलाई कसैले पाँच रूपियाँ नपत्याएको कारणले आफ्नो छोरोलाई सामान्य झाडापखला लाग्दा गुमाई । ऊ यति चरम गरिबीमा बाँची कि आठ वर्षसम्म एउटै फरिया टाल्दै लगार्इ । मानिसलाई आफ्नै दुःख ठूलो लाग्छ, उसले भन्दा बढी दुःख पाउने मानिस नभएको हैन । उसले आफ्नो वरपर नदेखेकी मात्र हो । आफू जस्तो दुःख अरूले नपाएको देखेसी मानिस झन् दुःखी हुन्छ । उसले सुन्नलाई राणाकाल सुनी, पन्चायतदेखि र गणतन्त्र पनि भोगी । बरु मन्त्रले काम गरे होलान्, तर तन्त्रले भुइँ मान्छेलाई छुँदैन रहेछ । ऊसलाई अब देशकालसँग मतलब छैन । मात्र छ त आफ्नै पेटको “पेटकाल” सँग । तर उसले गुनासो गर्न छोडिसकेकी छे । यत्रो दुःख दिने जिन्दगीदेखि त गुनासो छैन, नाथे अरूसँग के गुनासो ? उसले गुनासो गर्न छोडेको धेरै भएको चाहिँ छैन । एकदिन मन्दिरमा बसिरहँदा एउटा सम्पन्न घरको स्त्रीलाई भेटी र उसका कुरा सुनेपस्चात् थाहा पाई दुःख भौतिक मात्र हुँदैन रहेछ । भावनात्मक र आध्यात्मिक पनि हुँदो रहेछ । स्वतन्त्र नहुनु, स्वचिन्तन गर्न नसक्नु पनि त दुःखै रहेछ । कसैलाई प्रेम गरेर उसले प्रेम नफर्काएको पनि नि त दुःखै त रहेछ । तर यो सब दुःख पाउनको निम्ति पहिला भौतिक दुःखबाट पार पाउनु त पर्छ । पेट भर्नका लागि मरिहत्ते गर्न परेपछि केको भावना ? केको प्रेम ? ऊसले भनी, तर कम्तिमा गुनासो गर्न त छोड्न सकिन्छ । र त्यही दिनबाट गुनासो गर्न छोडिदिई । गुनासो गर्न छोडेपछि आधा दुःख त्यसै हराएर जाँदा रहेछन् । पूजा गर्न जानूअगाडि भित्रबाट अस्ति वृद्ध भत्ताबाट आएको पैसाले किनेको बिस्कुट मेरो हातमा राख्दै उसले भनी- “अब बूढी भएँ , सब रंग गयो । अनि आगंन भयो परदेशी ।” म सोचिरहेको छु- मैले के भोगेको छु र ? के देखेको छु र ? उसलाई नि मनमनै लागेको हो- नाथे फुच्चे केटोलाई भनेर के हुन्छ र ? तर म बुझ्छु, कसैले सुनिदिए मात्र नि आनन्द आउछ । सुनाउने धेरै भइसके, सुन्नेहरूको कमी छ । सायद म त्यही कमि पूरा गरिदिन्छु र त मलाई एकदम औधी प्रेम गर्छे अहिल्या …. #प्रशान्त उप्रेती #प्रशान्त उप्रेती 'सुरुवात'
लेखन र पठनमा रहेका द्विविधा: मैले विधार्थी जीवनकालमा नै साहित्यका धेरै जसो विधाहरू पढेँ । यथार्थ, काल्पनिक, स्वैरकाल्पनिक, धार्मिक, आध्यात्मिक विषयका अनेकन पुस्तकहरू पढेँ । ती विषयहरूमा आधारित भएर लेखिएका थुप्रै कथा, कविता र निबन्धहरू बढी पढेँ। नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएका साहित्यहरू पढेँ । लय मिलाएर, सस्वर वाचन गरेर धेरै कविताहरू कण्ठस्थ पनि गर्थेँ । कथाहरू पढेपछि हरेक कथाका घटना, परिवेश तथा पात्रहरू पनि दिमागमा मज्जाले बस्थे । निबन्धहरू पढेपछि भने लेखकले कुनै एउटै विषयमा पनि कति धेरै जानकारी राख्दारहेछन् भनेर अचम्ममा पर्थेँ । मेरा नेपाली र अङग्रेजी विषयका गुरूहरूले बुझाउनुभएका दुवै विषयका व्याकरणका नियमहरू पनि मज्जैले म कण्ठस्थ गर्थेँ । बुझेरै पढ्थेँ र तिनीहरूको प्रयोग गर्ने अवसरहरूका बारेमा जिज्ञासा राखेपछि गुरूहरूले केही सिर्जनात्मक रचनाहरू रचेर देखाउन भन्नुहुन्थ्यो । त्यसैबेलादेखि हो मैले पढ्ने र लेख्ने कामलाई बराबर समय दिन थालेको । ती दुवै कार्यले मेरो लेखन र पठन सीपको विकास गर्यो। उहाँहरूले समालोचनात्मक दृष्टिकोणअघि सारेर पढ्ने र लेख्ने बानीको विकास सँगसँगै गर्नाले नै एउटा व्यक्ति सफल सामाजिक व्यक्ति हुनसक्छ भन्नुभएको मेरा कानमा अझै गुञ्जिरहन्छ। विधालय तह सकेर विश्वविधालयमा पुगेपछि मलाई साथीभाइहरूबाट लेख्न र पढ्न थप हौसला मिल्यो । विश्वविधालयका गुरूहरूले पनि हामीलाई औपचारिक अध्ययन गरेर साहित्य सिर्जना र तिनीहरूको पठनमा लाग्न हौसला दिनुभयो । त्यसका साथसाथै उहाँहरूले समालोचनात्मक दृष्टिकोणअघि सारेर पढ्ने र लेख्ने बानीको विकास सँगसँगै गर्नाले नै एउटा व्यक्ति सफल सामाजिक व्यक्ति हुनसक्छ भन्नुभएको मेरा कानमा अझै गुञ्जिरहन्छ। दीपक श्रेष्ठ हो, हामीले पढ्दा र लेख्दा हरेक रचनामा समाजको चित्र खोज्नुपर्ने हुन्छ, समाजको चित्र उतार्नुपर्ने हुन्छ। यथार्थ विषयवस्तुमा लेखिएका साहित्यिक रचनाहरू पढ्दा समाजको चित्र छर्लङ्ग हुन्छ । काल्पनिक रचना पढ्दा भने समाजसँग जोडेर हेर्नुपर्छ र लेख्दा समाजलाई केन्द्रविन्दुमा राखेर लेख्नुपर्छ । मैले पढेकाका साहित्यिक एवं गैरसाहित्यिक लेख रचनाहरूले मलाई सधैं सन्तुष्टि दिने गरेका छन् । मैले साहित्यका विविध विधाहरूमा लेख्ने गरेका रचनाहरूले पनि केहीहदसम्म सन्तुष्टि दिइरहेका छन् । सन्तुष्टि मिल्दामिल्दै पनि मलाई भने एउटा समस्याले सधैं पिरोलिरहेको हुन्छ । म पाठकको रूपमा कुन विधा पढूँ ?, अनि लेखकको भूमिकामा आफूलाई कुन विधामा अघि बढाउँफ ?, मैले त मेरा वरिपरि रहनुभएका सारा विद्वानहरूले साहित्यिक, गैरसाहित्यिक, आध्यात्मिक सबै विषयका पुस्तकहरू पढ्नुभएको देखेको छु । सामाजिक, आर्थिक, राजनितिक हरेक क्षेत्रका समसामयिक विषयमा वहस गर्नुभएको देखेको छु । त्यसैगरी धेरैभन्दा धेरै लेखकहरूले साहित्यको वहुविधामा कलम चलाइरहनुभएको पनि देखेको छु । के उहाँहरू सबै क्षेत्र र विषयमा सक्षम भएकैले यसरी अघि बढिरहनुभएको हो त ? पढ्नेले जति पढे पनि, लेख्नेले जति लेखे पनि आखिर खपत हुने भनेको यही समाजमा हो । यही समाजका स्रोता, पाठकहरूले सुन्ने र पढ्ने हुन् । तर फेरि अर्को प्रश्न उब्जिन्छ, के मैले हरेक विषयमा बोल्न सक्ने कुनै एक व्यक्तिको नाम लिन सक्छु ? साहित्यको बहुविधामा कलम चलाएर ख्याती कमाएका कुनै एकजनाको नाम सहजै लिन सक्छु ?, गारो हुन्छ मलाई । मलाई मात्र होइन धेरैलाई त्यसरी कुनै एक व्यक्तिको मात्र नाम लिन मुस्किल नै हुन्छ । ज्ञानविज्ञानको क्षेत्रदेखि खेलकुद, कलाकारिता, व्यापार वा कुनै पनि पेशा, व्यवसायमा आधारित क्षेत्र नै किन नहोस, हरेक व्यक्ति एउटा विषयमा मात्रै लागिपरेको देखिआएका छौं। उदाहरणको रूपमा हामी डाक्टरलाई लिन सक्छौं । मष्तिस्कको शल्यक्रिया गर्ने चिकित्सकले मुटुको शल्यक्रिया गर्ने दक्षता हासिल गरेको हुँदैन । एउटा डाक्टरले एउटामात्र विषयमा विशेषज्ञता हासिल गरेको हुन्छ र अन्य विषयमा सामान्य जानकारीमात्र राखेको हुन्छ । यति कुरा प्रष्ट भइसकेपछि म फेरि आफैँलाई अनेकन प्रश्न गर्छु । पढ्ने र लेख्ने विषय के खुला विषय होइनन् र ? के पढ्न र लेख्न पनि दक्षता हासिल गर्नै पर्छ र ? पढ्ने लेख्ने बाटोमा कसैले तगारो हालेका हुन्छन् र ? म कसरी लेख्दैछु त कविता ? कसरी पढ्दै छु त म कविता ? के म कविता बुझ्छु ? के म कविता लेख्न सक्छु ? मैले लेखेको कविता कविताका असली पाठकहरूसम्म नपुगेसम्म म आफूलाई कसरी कुन कोटीको कवि भनेर मान्नु ? केही समय अघिमात्र मैले मेरा मित्रलाई एउटा कविता पढेर सुनाएको सम्झन्छु। कविता सुनिसकेपछि उनी ट्वाल्ल परेर बसेका थिए। केही बुझिनँ भनेका थिए। कवितामा प्रयुक्त शब्दहरू इंगीत गर्दै के आगो पनि बोल्छ ? पानी पनि झम्टन्छ ? के हावाले आफैँ छुन आउँछ ? अनि कोपिला चुँड्दा बोटलाई पनि पीडा हुन्छ ? यी सबै वाहियात तर्कहरू हुन् भन्दै मैले सुनाएको कविताको धज्जी उडाएका थिए । अनि मेरो मष्तिस्कमा विल्कुलै नयाँ कुरा संचार भएको थियो त्यसबखत । वास्तवमा धेरैले कविता लेख्ने भए पनि त्योभन्दा धेरै पाठकहरूले कविता बुझ्दैनन् । अनि धेरैले कविता जस्तो कविता लेख्नै सक्दैनन् । यथार्थमा, कविता थोरैले मात्र बुझ्न सक्छन् भन्ने कुरा मेरो सामु छर्लङ्ग भएर आयो । तर म कसरी लेख्दैछु त कविता ? कसरी पढ्दै छु त म कविता ? के म कविता बुझ्छु ? के म कविता लेख्न सक्छु ? मैले लेखेको कविता कविताका असली पाठकहरूसम्म नपुगेसम्म म आफूलाई कसरी कुन कोटीको कवि भनेर मान्नु ? नाम चलेका कविहरूले लेखेका कविताहरू हेर्ने हो भने ती सरल र सामान्य हुँदाहुँदै पनि चर्चित छन् । मैले त्यही कोटीका कविता लेखेँ भने म कसरी म रहन्छु त ? अनि मैले विल्कुलै भिन्न तरिकाले लेखेँ भने सबै पाठक स्रोता मेरा मित्रझैं निक्लिए भने ? यी तमाम प्रश्नहरूले मलाई कहिल्यै सुखपूर्वक कवि हुन दिएन । अनि म अनेकन विधामा कलम चलाउन बाध्य बन्छु । म अलमलमै हुन्छु मेरा निम्ति कुन विधा उपयुक्त हो भनेर । एउटा सर्जकले साहित्यका हरेक विधामा कलम चलाएर अघि बढ्नु आफैँले जानाजान दुर्घटना निम्त्याउनु हो भनिन्छ । दुर्घटनामा नपरौं, यसमा सबैको सदिच्छा हुन्छ । तर म के लेखौं त अब ? यही प्रश्न नाम चलेका लेखक सर्जकहरूको मस्तिष्कमा पनि उठ्ने गरेको पाउँछु । दुर्इचारवटा कथा, कविता, अख्यानसँगै चर्चित भएर सधैं त्यही रचनाहरूको ब्याज खाइरहने र नाम बेचिरहने होइन भन्ने उहाँहरूलाई प्रष्टरूपमा थाहा छ। विधा परिवर्तन गर्दाको खतरा सधैं रहिरहेकै हुन्छ। हिजोअस्तिसम्म कवि भनेर चिनिएका सर्जक आज कथाकार अनि भोलि सफल आख्यानकार नबन्न सक्छ। आज सीधै आख्यानकारमा दरिएका सर्जकलाई भोलि आख्यानकारको पल्ला भारी हुनसक्छ। मलाई यस्तै लाग्छ, एउटा मात्र विधा समाएर लेख्नाले लेखकलाई सधैं असजिलो महसुस हुन्छ । प्रश्न तेर्सिएकै छ सामुन्ने, एउटा सर्जक किन बहुविधामा लेख्न तम्सिन्छ ? आफूले कुन विधालाई अघि बढाउँदा धेरैभन्दा धेरै पाठकमाझ आफ्ना विचार र सिर्जनाहरू लिएर सधैं जान सकिन्छ भन्ने त हो नि मुख्य कुरा ! यतिका प्रश्नहरू सामु हुँदाहुँदै पनि म लेख्छु जे जे आउँछ अहिले । भोलिका दिन कसले देखेको छ र ? सोच्छु, पाठकले जुन विधामा आफूलाई रूचाउँछन् त्यहीबमोजिम स्वीकार गर्नेछन्। तर अन्तर्मनमा फेरि थप कुराहरू आइरहेछन् । लेखकका पनि आँखा उघारिदिने पाठकहरू हुन्छन् । ‘तपाईँ यो होइन त्यो विधा समाउनुहोस्, त्यसमा भन्दा यसमा दख्खल राख्नुहुन्छ’, भनेर उत्साहित बनाउनुहुन्छ । त्यसैगरी विभिन्न साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाहरूका दिग्गज सम्पादकहरू पनि त हुन्छन् लेखकलाई डोर्याउने । लेखकहरू डोरिएर हिँडे भने न उनीहरूले आफूलाई स्थापित गर्न सक्षम हुने हो । आफूले कुन विधालाई अघि बढाउँदा धेरैभन्दा धेरै पाठकमाझ आफ्ना विचार र सिर्जनाहरू लिएर सधैं जान सकिन्छ भन्ने त हो नि मुख्य कुरा ! मेरा निम्ति लेखन जस्तै पठनमा पनि केही समस्या त अवश्य छन् । के मात्र पढ्ने भन्ने प्रश्न बहुतअहं प्रश्न हो ? मेरा लागि मैले कुन विधा पढेर समाज बुझ्न सक्छु अनि कुन विधा पढ्दा आफूलाई आनन्द प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । कलिलो उमेरमा अनेक विधाका पुस्तकहरू पढे पनि अहिले आएर समाजको निम्ति सशक्त विचार बोकेका पुस्तकहरू नै पहिलो रोजाईमा आउँछन् । लेखकहरूले कुन विधामार्फत् आफूले खोजेका ती तमाम अब्बल स्तरका पठन सामाग्री पस्किएका होलान् भनेर खोजी गर्नु मेरो सुख हो । सबैमा यो बानी लागू नहुन सक्छ, तर पनि पढ्दा फेरि उस्तै भावना सल्बलाउँछन् । पाठकको मन पठनमा नअडिनुमा एकैपटक बहुविधा पठनमा लाग्नाले नै हो भन्ने मेरो ठहर रहेको छ । मेरा मित्र भन्नुहुन्छ, ‘एउटा उपन्यास पढ्न थालेको कस्तो झ्याउ लाग्दो लाग्यो सुरूमै, बरू छोटामीठा कथा, कविता पढ्न पाए हुन्थ्यो ।’, खुरूखुरू पढ्ने भन्दा नि समस्याको चाङ तेर्स्याउनुहुन्छ उहाँ, र उहाँजस्ता अरू पाठकहरू । अनि कसरी पठन अघि बढ्छ त ? अर्की दिदी भन्नुहुन्छ, ‘बाबु ! मैले त त्यो लेखकको यो यो पुस्तक पढेँ, तर उहाँका केही पुस्तकहरू बुझे पनि अरू पुस्तकहरू केही बुझिनँ ।’, यस्तो पठन स्थिति छ हाम्रासामु । लेखकको कुन विधामा आधारित पुस्तक पढ्ने भन्ने कुरा पाठकको बजारले निर्धारण गर्दै आइरहेको हुन्छ । एउटा प्रख्यात कविले लेखेको नयाँ आख्यान काव्यिक होला तर आख्यानका दृष्टिकोणबाट हेर्दा कमजोर लाग्न सक्छ । एउटा आख्यानकारले लेखेको कविता कविता नबनेर आख्यानमा सिमित भएको हुन सक्छ । अनि कसले पढ्लान र त्यस्ता रचनाहरू ? कवितामा मन बसेमा पाठकले समाजका अति सूक्ष्मरूप पनि मिहिन ढंगले केलाउन सक्ने हुन्छन् जुन दृष्टिकोण आख्यान पढ्ने पाठकमा विकसित नभएको हुन सक्छ । ममा पनि समाज र यसका अवयवहरूमाथि सूक्ष्म दृष्टिकोण राख्ने क्षमता विकास नभएको हुन सक्छ । ममा पनि त्यो पनि समस्या रहेछ । मैले जुनसुकै विधा पढ्न नहुने रहेछ। पाठकको रूपमा मैलै आफूलाई कुनै एउटा विधामा केन्द्रित राखेर अघि बढ्नुपर्ने रहेछ । आख्यान मन पराउने हो भने लघुकथा, लामा-छोटा कथाहरू अनि उपन्यासहरू पढ्नुपर्ने रहेछ । हाइकु, मुक्तक, गीत, गजलहरूलाई एउटा कोटीमा राखेर कवितालाई भने छुट्टै दर्जा दिएर पढ्दा उपयुक्त हुनेरहेछ । कवितामा मन बसेमा पाठकले समाजका अति सूक्ष्मरूप पनि मिहिन ढंगले केलाउन सक्ने हुन्छन् जुन दृष्टिकोण आख्यान पढ्ने पाठकमा विकसित नभएको हुन सक्छ । ममा पनि समाज र यसका अवयवहरूमाथि सूक्ष्म दृष्टिकोण राख्ने क्षमता विकास नभएको हुन सक्छ । यसर्थ म आख्यान पढ्दा जुन आनन्द प्राप्त गर्छु त्यो कविता पढ्दा गुमाउन सक्छु । छट्पटी बढ्छ कविता पढ्दा, के लेख्यो कविले ? यस्तो मानसिक स्थितिले पठन रुचीमै पूर्णविराम पो लगाउने हो कि भनेर म रन्थनिन्छु कहिलेकाहीँ। लेखन र पठनकार्य बिशुद्ध रूपमा मन र मस्तिष्कका कसरत हुन् । मन र मस्तिष्कदेखि जुन विधामा रुची राख्छौँ, हामीहरूले त्यही विधामा कलम चलाउने गर्यौं भने हाम्रो लेखक मन पनि सन्तुष्ट हुने र हाम्रा पाठकहरू पनि खुसी हुने रहेछन् । त्यसैगरी हामीले आफूलाई सहज लाग्ने र आफूले खोजेको खुसी र आनन्द पाइने विधामात्र पढ्नुपर्ने रहेछ । यसो गर्दा पाठकले कहिल्यै धैर्यता नगुमाउने रहेछौं । लेखक र पाठकको मन सदैव प्रसन्न अवस्थामा रहनु महत्वपूर्ण अवस्था हो। यस्तो अवस्थालाई हामी सबैले सधैँका निम्ति अनुकूल बनाइराख्नु पर्दछ । यसरी समयले एउटा रफ्तारमा हिँडाउने छ र भोलि लेखक-पाठक सबैले आ-आफ्नो गन्तव्य अवश्य भेट्नेछन् भनेर आशावादी हुनुपर्ने आजको आवश्यकता हो। #दीपक श्रेष्ठ
मलाई तीन कक्षाको त्यो परीक्षा दिन मन छ: पहिलो बेन्चमा बस्ने सबै विद्यार्थी टपर हुँदैनन् । त्यसको उदाहरण म हुँ । बेन्च रोटेसन नभएको कक्षाबाहेक प्रायः सबै कक्षामा पहिलो बेन्चमा बसेर मैले विद्यालयको कार्यकाल समाप्त गरेको हुँ । विद्यालयको गिन्तीको लागि मैले दुवै हातका औँलालाई सहयोग माग्नु पर्दछ । फिरन्ते विद्यार्थी रहेर अक्षराम्भबाट प्रेविशिका उतिर्ण गर्दासम्म मबाट कतिवटा विद्यालय फेरिए भन्नेकुरा पत्ता लगाउन मेरो एक हातको औँलाले भ्याउँदैनन्, विद्यालयको गिन्तीको लागि मैले दुवै हातका औँलालाई सहयोग माग्नु पर्दछ । काठमाडौँ, ललितपुर, मोरङ वा झापा, मैले यी जिल्लाहरूमा आफ्नो विद्यार्थी जीवनको धेरै हिस्सा र किस्सा, कुनै बैंककी कर्मचारीले बहुमुल्य वस्तु लकरमा राखेजस्तै मस्तिष्कमा लुकाएको छु । लुकाएको कुरा आफूलाई मात्र थाहा छ भन्ने लाग्यो भने औधी मजा आउँदो रहेछ । लुकाएको कुरा सबैलाई सुनाउँदा हराउने डर हुन्छ । त्यसैले नै होला मान्छेको जीवनमा विश्वासको भूमिका पानी पर्नुमा बादलको भूमिका जति रहन्छ सायद त्यति नै रहन्छ कि ? मैले बुझेको यति नै हो । म सम्बन्ध जोगाउन जान्दिनँ । तर सिक्दैछु । कुनै दिन जान्ने भएँ भने सायद …………….. । कहिले कता कहिले कता भएकाले मसँग थुप्रै साथीहरू हुनुपर्ने हो, तर छैनन् । एकदम नजिकका साथीहरू सायद मेरा औँलामा अट्छन् । तर इच्छाचाहिँ छ मेरा साथीहरू मेरा औँलामा गन्न नअटेर उसैको औँला गन्नको लागि सापटी मागौँ र उसलाई पनि गनौँ । म कति जनाको औँलामा अटाउँछु त्यो त मलाई थाहा छैन तर मेरो चाहना छ मेरा औँलामा धेरैजना अटाऊन् । निरज दाहाल विद्यालय सबैथोक हो । तर शिक्षाको प्रणालीलाई हेर्दा विद्यालय केही होइन भन्ने पनि जमात नभएको होइन । बीबीसीको समाचारमा अमेरिकाको १७ वर्षको विद्यार्थीले ग्रह पत्ता लगायो भन्ने समाचार पढ्दै मैले यो ब्लग लेखेको हुँ । जबसम्म प्रविधि र प्रयोग सँगसँगै अगाडि बढ्दैन, तबसम्म हाम्रो शिक्षा १७ वर्षको उमेरमा सूत्र रटाउनमा नै व्यस्त हुन्छ । सूत्र कहाँ प्रयोग हुन्छ परीक्षा कापीमा बाहेक भन्ने कुरा बुझ्न हामीलाई प्रविधि र प्रयोग चाहिन्छ । यसको लागि समय चाहिन्छ । तर कति ? फिरन्ते विद्यार्थी हुँदै पढ्दै जाँदा म कति शिक्षकको प्रिय भएँ, कतिको नजरमा सम्म परिनँ होला ! यस कुनै लेखाजोखा मसँग छैन । म कसैको प्रिय किन बनिनँ भन्ने प्रश्न आफ्नै हृदयलाई गर्दा त्यसबेला प्रिय बनिनुको गुण पनि खोज्नुपर्छ । भर्खर थाहा पाउँदैछु र अचेल सिक्दैछु । हुन त मैले बाँचेको जीवनमा मैले बाँच्नुपर्ने जीवनको मध्यान्तर पनि भएको छैन, (औसत आयुको केन्द्रमा टेकेर बोल्ने हो भने, नभए त मृत्युको भर हुन्न) । जीवनमा प्रश्नहरू धेरै हुन्छन् । कुनैको जवाफ दिन मन लाग्दैन त कति प्रश्नको जवाफ आउँदैन । तर जवाफबिनाका प्रश्नहरू मैले आजसम्म सुनेको छैन । सायद छैन पनि होला । जवाफ नै नभएका प्रश्न तपाईँलाई थाहा छ भने कृपया मलाई भन्दिनू होला । हिँड्नेलाई कसले रोक्छ ? पुग्नेलाई कसलाई छेक्छ ? मलाई लाग्छ विद्यालय प्रश्नहरूको कारखाना हो । त्यहाँ प्रश्न तयार गरिन्छ र सोधिन्छ । कतिले जवाफ मिलाउँछन् र अगाडि बढ्छन् । कतिले जवाफ मिलाउँदैनन्, तापनि अगाडि बढ्छन् । अगाडि बढ्नलाई प्रश्नको कुनै तह होला, तर बाध्यता होइन । हिँड्नेलाई कसले रोक्छ ? पुग्नेलाई कसलाई छेक्छ ? संसारमा जादु भनेका कुराहरू कति सत्य हुन् ? सबै जादु सबैलाई मनपर्छ ? सबैले विश्वास गर्छन् ? के हो जादु भनेको ? अकस्मात् केही हुनु हो ? म आजकाल यस्ता कुरामा अल्झन्न, तर विश्वास गर्छु । सोच्दै नसोचेका कुराहरू मेरो जीवनमा बारबार भएका छन् भने म कसरी जादु छैन भनौँ ? म कसरी भाग्य केही पनि होइन भनौँ ? केही त छ, पक्कै छ । म बहुत सपना देख्ने मान्छे हुँ, निदाएर होस् वा आँखा खोलेर, तर पूरा कति हुन्छन् भन्ने चाहिँ मलाई थाहा छैन । यति थाहा छ, हेर्न छाड्दिनँ, देख्न छाड्दिनँ । मलाई जादुमा र भाग्यमा विश्वास छ । तर यो सबै भ्रम हो, त्यो पनि थाहा छ । सपनामा कसैले तपाईँलाई तपाईँको एउटा इच्छा सोधेको छ ? मलाई भने छ । प्रश्न थियो – “भगवान् आएर केही माग भनेको बेला तँ के माग्छस् ?”, यो सोध्ने मान्छेलाई म कुनै दिन भेट्छु, किनकि मैले देखेको घट्नाहरू अक्सर मेरो जीवनसँग मेल खाइरहन्छन् । कहिल्यै नदेखेको मान्छेलाई मैले सपनामा देखेको हुन्छु र ऊ कुनै समयमा मेरो सामुन्ने पर्छ वा उसको सामुन्ने म पर्छु । त्यसैले मलाई जादुमा र भाग्यमा विश्वास छ । तर यो सबै भ्रम हो, त्यो पनि थाहा छ । मलाई सपनामा प्रश्न गर्नेलाई उत्तर विपनामा दिएको थिएँ । म सपना हुबहु सम्झन सक्छु । मैले विपनामा भनेको थिएँ– “मलाई तीनकक्षाको त्यो परीक्षा दिन मन छ ।” जवाफ त यहीँ छ अब कारण भन्नेछु । कक्षा तीन, उमेर बिर्सिएँ । मलाई आजकाल उमेर भन्न मन लाग्दैन । उमेरमै हुनुपर्ने कुराहरू (पढाइको निरन्तरता) र उमेरको एक कालखण्डमा हुनुपर्ने कुराहरू (…………….), यस्ता कुराको म उदाहरण हुँ । त्यसैले पनि मलाई आफ्नै उमेरसँग डर लाग्छ । विषयको नाम बिर्सेँ तर पाठको नाम भने याद छ । अभिभावक शीर्षकको पाठले मलाई जीवनभर भनिरहन्छ –“ त्यो परीक्षामा जवाफ साँच्चै आएन ?”, वास्तवमा मलाई ती प्रश्नको जवाफ हृदयमा कहिल्यै आएन । तर आजकाल आउँछ । उमेरले खेल खोजे पनि जीवनले प्रश्नहरूको जवाफ मागिरह्यो । जानेर होस् वा नजानेर मैले हरबखत जवाफ दिने प्रयास गरेँ । जिन्दगीले लिएको परीक्षाको नतिजाको प्रमाणपत्र कोसँग हुन्छ ? सायद तपाईँले पनि जिन्दगीले सोधेको बहुत धेरै प्रश्नको जवाफ दिनुभएको छ होला । यस्तै भावना त हृदयमा पक्कै आए होलान् नि ? परीक्षाको नतिजा थाहा नहुञ्जेल बहुत छटपटी हुँदोरहेछ । जीवनका प्रश्नहरूका लागि मैले बारबार जवाफ दिएँ । तर नतिजा ?अहँ, अहिलेसम्म थाहा छैन । खैर ! समय छ, म छु र जीवन छ, कुनैदिन देला । परीक्षामा सोधेको प्रश्नले मलाई धेरै सताएको छ । त्योबेला सताएको थिएन । जब प्रश्न बुझ्ने भएँ तब सताएको हो । त्योबेला त जे सोधेको थियो र मैले जे जानेको थिएँ त्यही लेखेँ । आजकाल त्यही प्रश्न थियो र मलाई जवाफ थाहा थिएन भने पक्कै अङ्कको लोभमा म अन्य कुनै जवाफ लेख्ने थिएँ होला । तर आजकाल प्रश्न नै बुझ्ने हुन्छन् । प्रश्न थियो –“अभिभावकको माया भनेको के हो ?”, र मेरो जवाफ तीनवटै परीक्षामा एकै थियो –“मलाई थाहा छैन ।” वार्षिक परीक्षामा अङ्क जोडिन्थ्यो र पास भइन्थ्यो । एउटै पाठको बारबार प्रश्न दोहोरिएर आउँछ भन्ने हेक्का मलाई भएन र मजस्तै अरूलाई पनि भएन । तर उनीहरूले लेखेको उत्तर मिल्यो, मैले लेखेको प्रश्नको जवाफ तीनवटै परीक्षामा कहिल्यै मिलेन । प्रश्न थियो –“अभिभावकको माया भनेको के हो ?”, र मेरो जवाफ तीनवटै परीक्षामा एकै थियो –“मलाई थाहा छैन ।” आर्थिक अभावले होस् वा बाआमाको वैदेशिक रोजगारले होस् । अभिभावकको सामिप्यतामा मेरो बाल्यकाल बित्न सकेन र मेरो किशोरपना भिज्न सकेन । हजुरबुवाको छत्रछायामा होस् वा आफन्तको बिचरामा झल्किएको प्रेममा, मेरा दुई दशकका बसन्तहरू मौन भएर गए । र मलाई प्रश्न सोधियो– अभिभावकबारे । अभिभावक नै नभएको पनि त होइन, प्रेम नै नभएको पनि त होइन । हप्तामा एकपटक आउने फोन वा वर्षमा एकदिन भेटिने परिवारमा प्रेम त पक्कै थियो । तर मलाई परीक्षामा सोधिएको प्रश्नको जवाफ थाहा थिएन । वा मैले अभिभावकको अर्थ बुझेकै थिइनँ । खैर ! उमेर बढ्यो, जिम्मेवारी थपियो, घर छाडियो तर केही कुराको अभाव खड्किरह्यो, सायद यो अभाव आजन्म हो । स्कूलको गेटमा साथीलाई उसकी आमाले खाजा पुर्याउन आएको सम्झना म खुलेरै मेरो साथीका लागि लेख्दिन सक्छु । मैले त्यही कुरालाई बिम्ब बनाउनु पर्यो भने म कल्पना गर्न सक्छु, तर भावनामा लेख्न सक्दिनँ । सायद अभाव खड्किनु यही त हो । मेरो उत्तर पुस्तिका जाँच्ने शिक्षकले रातो घेरामा मलाई जिरो नम्बर दिँदैगर्दा परीक्षा सकिएपछि विद्यालय लागेको बेला मेरो आँखा हेरे कि हेरेनन् ? उनलाई आफ्नो काखमा मलाई राखेर प्रेमको पाठ पढाइदिऊँ भन्ने लाग्यो कि लागेन ? अब भेट हुँदा म उनलाई सोध्नेछु । रूखले पातलाई छाडिदिए पनि आफ्नै समीपमा छाड्दछ । हावा बैगुनी भयो भनेमात्र छुटिएको पात र रूखको मिलन हुँदैन । त्यसैले त मलाई ठिमीको घर मेरो आफ्नै घरजस्तो लाग्छ । त्यसैले त मेरा औँलाहरू अमेरिका भिडियो कल गर्न डराउँदैनन् । मलाई बच्चा बहुत मनपर्छ, बच्चा भयो भने घुक्र्याउन पाइन्छ । यो मलाई थाहा छ, तर अनुभव छैन । आजकाल मेरा बाआमासँग प्रायः भिडियो कल हुन्छ र बच्चा बनिदिन्छु । मलाई कसैले छोराभन्दा मलाई बच्चा बनिदिन मन लाग्छ । त्यसैले त मलाई ठिमीको घर मेरो आफ्नै घरजस्तो लाग्छ । त्यसैले त मेरा औँलाहरू अमेरिका भिडियो कल गर्न डराउँदैनन् । परिवारको जिम्मेवारी उठाउन खोज्दा आफ्ना रहरहरूलाई तिलाञ्जली दिएर मैदानमा उत्रनु छोरो बन्नसिक्नु हो जस्तो लाग्छ आजकाल, र म सिक्दैछु । जिन्दगी पढाइदिने महेश पौड्याललाई मैले बा भनेर बोलाउँदा, समय सिकाइदिने रमा अधिकारीलाई मैले आमा भन्दै गर्दा वा गन्तव्य देखाइदिने निरा शर्मालाई मैले आमा भन्दै गर्दा हरबखत वहाँहरूको आँखामा म गीता दाहाल र गङ्गा दाहाल किन भेट्छु । अभिभावकको सम्बन्ध यस्तै हुन्छ हो ? यो सम्बन्ध धेरैपछि बुझेको छु, त्यसैले भगवान आएर एउटा इच्छा पूरा गर्दिने शर्त राखे भने मेरो इच्छा त्यही तीन कक्षाको प्रश्नको जवाफ लेख्ने रहर हुनेछ । हरी ॐ #निरज दाहाल
जनयुद्धको एउटा घाउः बिर्खबहादुर: शिलिङमा पङ्खा घुमिरहेछ । रातको १२ बजिसके छ । भोलि बिहान ड्युटीमा जानु छ । खै किन ? बिर्खबहादुरलाई निद्रा छैन । बिर्खबहादुर घुमिरहेको पङ्खातिर आँखा लगाउँछ र सोच्छ जीवन पनि यस्तै त रहेछ घुमिरहने पङ्खाजस्तै । नचाहादा नचाहादै समयले घुमाइरहेको छ । कृष्ण कञ्चन बिर्खबहादुर निद्रा नआएपछि मोबाइल खोल्छ । मोबाइलमा बाआमाको धूमिल तस्बिर देखापर्छ । पुराना अतितहरू आँखामा नाँच्न थाल्छन् । २०६२\\६३ को शसस्त्र जनयुद्धमा बेपत्ता पारिएका थिए बिर्ख बहादुरका बा । ऊ सम्झन्छ त्यो साँझ बाआमासँगै बिर्खबहादुरको २ बर्षको छोरो र श्रीमतीसँगै थिएँ । बिर्खबहादुर कि श्रीमती आशाले भान्साको सबै काम सकिसकेकी थिइन् । बिर्खबहादुरले गाई, भैँसी र बाख्रालाई गोठमा सारिसकेको थियो । आमाले कुखुरालाई खोरमा थुन्दै थिइन् । बा आँगनको डिलमा बसेर नातिलाई काखमा राखेर रमाइरहेका थिए । बाँस भञ्ज्याङ्गमा चराहरू कराउँदै बाँस बस्ने सुरसार गरिरहेका थिए । साँझ बिस्तारै ढल्दै थियो । गाउँमा कहिले सैनिकले गस्ती गर्थे । कहिले माओवादी लुकेर गाउँ पस्थे । चरम सन्त्रासमय वातावरणमा गुज्रिरहेको थियो गाउँ । …….. एउटाले भन्यो “भद्रवीरको घर यहीँ हो ।”, सानो आवाजमा बा’ले ‘को हो ?’ सङ्केतमा टाउको हल्लाउनु भयो । साँझ झमक्क परिसेकेको थियो । टाढाको मान्छे चिन्न आँखालाई गाह्रो भइसकेको थियो । घरभित्र दियालो बालेर उज्यालो छाएको थियो । त्यति नै बेला ५ जना मान्छेको छाया आँगनमा देखियो छुट्याउन गाह्रो थियो, तिनीहरूको हुन् भनेर । गाउँमा माओवादीको सन्त्रास बोकेर बाँच्नु परेको थियो । ऊनीहरू हाम्रो घरतिर अगाडि बढिरहेका थिए । बाले सबैलाई भित्र जान आग्रह गर्नुभयो, नातिलाई आशाको काखमा दिनुभयो । बा र म पिँढीमा बसिरह्यौँ । एकैछिनमा बुटको आवाज आँगनमा पर्यौ । अँध्यारो भएकाले अनुहार चिन्न गाह्रो भयो । एउटाले भन्यो “भद्रवीरको घर यहीँ हो ।”, सानो आवाजमा बा’ले ‘को हो ?’ सङ्केतमा टाउको हल्लाउनु भयो । “तपाईँ हामीसँग हिँड्नु पर्यो ।”, त्यो मान्छेले बा’लाई आग्रह गर्यो । बा’ले ‘कहाँ ? किन ?’ भन्दै सोध्नु भयो । “यहीँ परसम्म हो ।” उसले जवाफ फर्कायो । बा चुपचाप हिँड्न विवश हुनु भयो । उनीहरूले राइफल बोकेका थिए । बा हिँड्दैगर्दा म पनि जान्छु भनेर मैले पनि अडान लिएँ तर ऊनीहरूले “सानो कुरा भएकाले एकछिनमा फर्किहाल्नुहुन्छ, तपाईँ जान जरूरी छैन ।” त्यतिखेर आमा पनि घरभित्रबाट बाहिर निस्किनुभयो र भन्नुभयो, “अहिले कहाँ जाने रात परिसक्यो ? भोलि आउनु । दिउँसो कुरा गर्नु । जहाँ जानु छ दिउँसो जानु !” आमाको प्रश्नको जवाफ दिन उनीहरूले उचित ठानेन् होला सायद ! चुपचाप बा’लाई हाँमीसँग हिँड्नु भनेर भनिरहेका थिए । बा’ले एकटक आमाको अनुहारसँगै मेरो अनुहार हेर्नुभयो आशाका आमा छोराभित्रै थिए । बा उनीहरूसँग बाटो लाग्नुभयो । आमा र मैले बा गएको हेरिरह्यौँ । बा’ले विवश भएर एकटक घरतिर फर्किएर हेर्नुभयो। साँच्चै त्यो रात मुटु पनि जोड जोडले धड्किरहेको थियो । सानो छोराबाहेक हामी कोही निदाउँन सकेनौँ, र त्यो रात अनिँदो नै बित्यो । रात छिप्पिन लाग्दा पनि बा फर्किनु भएन । मेरो मनमा चिसो पस्यो आमा आतिनु भयो । आशा पनि आतिइन् । सानो छोरा सुतिसकेको थियो । हामी बा’लाई खोज्न राँको बोकेर सबैतिर गयौँ, तर बा भेटिनु भएन । ऊनीहरू कोही भेटिएनन् । हतास हुँदै निराश हुँदै आमा र म घर फर्कियौँ । त्यो रात काट्न साह्रै सकस भएको थियो हामीलाई । कहिले उज्यालो होला भन्ने पर्खाइमा थियौ हामी । घडीको सेकेन्ड सुई पनि घण्\u200dटा सुई जस्तै ढिलो चलेको महसुस भयो । मैले मिनेट मिनेटमा घडी हेरेँ । साँच्चै त्यो रात मुटु पनि जोड जोडले धड्किरहेको थियो । सानो छोराबाहेक हामी कोही निदाउँन सकेनौँ, र त्यो रात अनिँदो नै बित्यो । पूर्वमा सूर्यले लाली नपोत्दै बिहानै खोरबाट भाले बास्यो । अनिँदा आँखा बोकेर आमा उठ्नुभयो र गाई भैँसीलाई कुँडो पकाउनुभयो । आशाले दैलो पोतिन र आँगन बडारिन म पनि उठेर चूल्हो नजिकै बसेँ । मान्छेहरू पानी पँधेरो गर्न थालेका थिए । हामीले बा’लाई पर्खिरहेका थियौँ । बा’लाई पर्खिँदा पर्खिँदा पनि नआएपछि गाउँमा चारैतिर हल्लाखल्ला भयो बा’को खोजी कार्य भयो, तैपनि बा भेटिनु भएन । त्यो दिन पनि बा घर नफर्किएपछि अर्को दिन डराउँदै डराउँदै हामी प्रहरी चौकीमा उजुरी गर्न पुग्यौँ । न्याय खोज्ने भनेको ठाउँ नै त्यहीँ थियो । प्रहरीचौकी पुगेको माओवादिले थाहा पाए झन् अनिष्ट हुने देखिन्थ्यो । बा’लाई माओवादिले गिरफ्तार गरेको खोजी पाउँ भनी उजुरी गर्यौँ । चौकीमा सामान्य केरकार गरेपछि उनीहरूले, ‘पिर गर्नु पर्दैन हामी खोजी कार्य अगाडि बढाउँछौ, उहाँ छिट्टै भेटिनुहुन्छ’, भनेर हामीलाई सान्त्वना दिएर घर फर्काए । दिन ढल्यो ! हप्ता बित्यो । महिना बित्यो । वर्ष पनि बित्यो बा’घर फर्किनु भएन । प्रहरी प्रशासनले पनि बा’लाई भेट्न सकेन । हामीले बा फर्किनु हुन्छ कि भनेर मूलबाटो हेरिरह्यौँ । आँखा थाके, आँसु सुके, तर बा फर्किनु भएन । आमा बा’को चिन्ताले खाना खान छोड्नु भयो । आमाको शरीर बा’को पिरले कमजोर हुँदै गयो आमा पनि बिरामी हुनु भयो । पिरैपिरले आमाले पनि एकदिन हामीलाई छोडेर जानुभयो । त्यसपछि सुरू भए मेरो जीवनमा दु:खका दिनहरू । कोही बाटोमा हिँडे पनि बा आउनुभयो कि भनेर आँखाहरूले हेर्न हतार गर्छन् । यसरी कैयन् वर्ष बितिसकेका छन्, हाम्रा बा’लाई कुर्दाकुर्दै । निम्न वर्गको परिवारमा जन्मेको म बा बेपत्ता पारिएपछि आमाले संसार छोडेँ पछि घरमा सानो छोरा आशा र म मात्र भयौँ । देशमा शान्ति आयो, युद्धविराम घोषणा भयो । आमा फर्किने त कुरा थिएन बा फर्किनु हुन्छ कि भन्ने मनमा झिनो आशा बाँकी नै छ । बा फर्किनु हुन्छ कि भनेर हामी अझै पनि मूलबाटो हेरिरहन्छौँ । कोही बाटोमा हिँडे पनि बा आउनुभयो कि भनेर आँखाहरूले हेर्न हतार गर्छन् । यसरी कैयन् वर्ष बितिसकेका छन्, हाम्रा बा’लाई कुर्दाकुर्दै । हाम्रो कुनै आयश्रोत थिएन् । बा बेपत्ता पारिएपछि पाखोबारीमा पनि माओवादीले कब्जा गरेका थिए । हामीले पेट पाल्ने भनेको बारीमा नै उनीहरूले झन्डा गाड्दा पनि हामी चुपचाप बस्न बाध्य थियौँ । आशालाई पनि डर थियो, मलाई पनि बालाई छ जस्तै माओवादीले लग्छन् भनेर त्यसैले पनि उनी मलाई बोल्न दिँदैन थिइन। हामी विवश भएर बाँच्नुसिवाय अर्को कुनै बिकल्प थिएन । बोले आफैँ निरर्थक मारिनुपर्ने, बलि चढ्नुपर्ने डर थियो । नबोले अभावले मर्नुपर्ने डर थियो । घरमा भएको अन्नपात पनि माओवादीले लुटेरा छापामार शैलीमा लाने गर्थे । सानो छोरा दिनहुँ हुर्केदै थियो । बा’आमाले आफूले पूरा गर्न नसकेका सपनाहरू छोराछोरीले पुरा गर्छन् भन्ने आशा हुन्छ । मैले मेरा बा’आमाका सपना कति पूरा गरेँ कुन्नि ? तर उहाँहरूका केही सपना पूरा गर्न नपाउँदै नियतिले बा’आमालाई नै टाढा बनाइदियो । अब बा’आमाका सपना पूरा गर्ने जिम्मेबारी मेरो छोराले बोकेको थियो । तर मैले पनि आफ्नो जिम्बेबारी र कर्तव्य त पूरा गर्नु छँदै थियो। तर छोराको आवश्यक्ता पूरा गर्न म परदेशिनु पर्ने बाध्यता भयो । आफूले भन्दा धेरै प्रगति गरोस् सन्तानले भन्ने चाहाना बाआमामा मात्र हुन्छ । जहाँ कुनै लोभ, ईष्याको भावना हुँदैन । निम्न वर्गीय परिवारमा बाँचिरहेका सन्तानलाई अभावबाट मुक्त गर्न भए पनि म परदेशिनु पर्ने भयो । गाउँमा केही सरसापाट, केही ऋण गरेरै भए पनि म परदेशिएँ, आशालाई र सानो छोरालाई सम्झाई बुझाई गरेर । मर्नुभन्दा बौलाउनु वेश भनेझैँ म आशाको काखमा सानो छोरोलाई घरमा एक्लै छोडेर लाचार बनेर, आँसु लुखाएर, मन दुखाएर परदेशिन विवश भएँ। मलेसिया आएको केही सयमसम्म जीवन पीडादायी र कष्टकर रूपमा बित्यो । भनेको जस्तो काम पाउन सकिएन । कम्पनीले ८ घण्टा भने पनि १२\\१३ घण्टा निरन्तर काम गर्नुपार्यो। बारम्बार राजदुतावासमा जानकारी गराएपछि बल्लतल्ल काम मिल्यो, त्यसपछि म आफ्ना बाआमालाई सुरक्षा दिन नसकेको मान्छे मलेसियामा सुन पसलको सुरक्षा गार्डको काम गर्न थालेँ । सुन देख्दा आमाको याद आउँछ । आमाले मलाई नाक, कान बुच्चो बनाएर पढाउनु भयो, केही बचेको पनि मेरो विवाहमा आशाको लागि नै दिनुभयो । भन्नुहुन्थ्यो, “छोरो पढेर भोलिपर्सि योभन्दा धेरै सुन लगाउँन दिने छ ।”, आमाको सपना पूरा गर्न नपाउँदै आमाले छोडेर जानुभयो । सबैले भन्छन्, ‘देशले मुहार फेरिसक्य’, तर मैले सम्झिने मेरा बाआमाको अनुहार फेरिएको छैन । सबैले भन्छन्, ‘देशले मुहार फेरिसक्य’, तर मैले सम्झिने मेरा बाआमाको अनुहार फेरिएको छैन । कहिलेकाहीँ सोच्छु मेरा बा’का गाला चाउरी परिसके होलान् ! हात खुट्टा कमजोर भइसके होलान् ? त्यो दिन रातमा को हो ? भनेर छुट्याउन नसकेका आँखाले आजभोलि दिनमा पनि छुट्याउन सक्दैनन् होला ? गला अवरूद्ध हुन्छ होला ! कानले सुन्न पनि छाड्न थाले होलान् ! अब भेटिएपछि मेरा बा’ले मलाई चिन्न सक्छन् कि सक्दैनन् होला ! बूढा कानले मैले ‘बा !’ भनेर बोलाउदा सुन्छन् कि सुन्दैनन् होला ! मरेर जाने मान्छेको भन्दा हराएर जाने मान्छेको याद धेरै आउँदो रहेछ, फर्किन्छ कि भन्ने झिनो आशा मनमा जीवनभर बाँचिरहने रहेछ । ………………… मोबाइलको फोटो हेर्दाहेर्दै मन मस्तिष्क विगतमा पुगेछ । मुखबाट हिक्क हिक्क आवाज आएपछि तल्लो बेडको साथीले, ‘के भयो बिजय ?’ भनेपछि झसङ्ग हुन्छ बिर्खबहादुर । अहो ! १ बजिसके छ । भोलि बिहानै सुरक्षाको लागि तैनाथ हुनुपर्ने छ बिर्खबहादुरलार्इ । ८ घण्टा त उभिनु नै पर्छ । खुट्टा दुखेर गाह्रो हुन्छ । अनिँदो बसेर कसरी काम गरोस् बिचरा ! भोलि झनै गाह्रो हुन्छ । काम गर्न नसके साहुले गाली गर्नेछ । यस्तै यस्तै सम्झिएर मुटु फेरि ढुकढुक गर्न थाल्छ उसको, त्यसपछि जबर्जस्ती आँखा बन्द गर्छ । #कृष्ण कञ्चन
गोर्खाभाषा कसरी नेपाली भाषामा परिणत भयो?: १. विषय प्रवेश नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन र मरणोप्रान्त सम्झनामा रहेका छन्। उनको सम्झना मात्र गर्नु पनि उनले गरेको सेवाप्रति कृतज्ञता प्रकट गर्नु हो। प्रस्तुत प्रस्तुतिमा उनका अन्य योगदानका कुरा छोडेर उनले गरेको नेपाली भाषाको सेवाको मात्र चर्चा गरिन्छ। नवीन पौड्याल २. भाषासेवीका रूपमा पारसमणि प्रधान नेपाली भाषाको सन्दर्भमा पारसमणि प्रधानको प्रत्यक्ष र परोक्ष गरी दुई प्रकारको सेवा देखिन्छ – प्रत्यक्ष र परोक्ष। उनको प्रत्यक्ष सेवाका रूपमा अनुवाद, सम्पादन, व्याकरण लेखन, प्रकाशन, मुद्रण आदिका रूपमा रहेको छ भने परोक्ष सेवाका रूपमा भने सरकारी निकायसमक्ष भाषाको निम्ति लेखापढी, भाषा शुद्धिका निम्ति अहोरात्र खट्ने एक भाषा संशोधक, भाषा मान्यताका निम्ति एक भाषाकर्मी, एक साहित्यिक संगठक हुन्। पारसमणि प्रधानको बहुमुखी साहित्यक प्रतिभा भएतापनि उनी मूल रूपमा भाषाशास्त्री नै हुन्। यसैले उनका संस्मरणहरूमा उनले नेपाली भाषाको निम्ति गर्नुपरेको संघर्ष नै मुख्यरूपमा देखापर्छन्। यी संस्मरणहरू आज केवल उनको निजी संस्मरण मात्र नभएर नेपाली भाषा साहित्यको इतिहास पनि बन्नपुगेको छ। पारसमणि प्रधानका संस्मरणात्मक अभिव्यक्तिहरू मुख्यतः भारतीको प्रकाशनदेखि नै देखा पर्न थालेका हुन्। केही न केही संस्मरणात्मक झलक दिने अभिव्यक्तिहरू टिपन-टापन, आफ्नो बारे, काठमाण्डौंमा दश दिन, रमाइलो सम्झना खरसाङको, काठे झांक्री, क्वाँटी जस्ता कृतिहरूमा पनि देख्न पाइन्छ। २.१ परोक्ष सेवा पारसमणि प्रधान पारसमणि प्रधानले भाषाको पर्दाको पछाडि बसेर परोक्ष रूपमा कति धेरै सेवा गरेका छन्, जसको सही जानकारी नभएको हुन सक्छ। कतिपय अदृश्य सेवा गरेको मानिसले नजानेको हुन सक्छ। उनी आफुले विद्यालयी शिक्षा लिँदा हिन्दीमा लिनुपरेकाले आफ्नै नेपाली भाषामा लिन पाए हुन्थ्यो भन्ने भावना जागेको थियो। यस चेतनाले जोहोरिएर उनले सर्वप्रथम कलकत्ता विश्वविद्यासयसमक्ष माध्यमिक तहसम्म नेपाली भाषाको माध्यममा पढ्नु पाउनु पर्छ भन्ने सरकारसमक्ष अर्जी पत्र लेखेका हुन्। त्यसै फलस्वरूप सन् १९१८ मा कलकत्ता विश्वविद्यालयले माध्यमिक तहसम्म नेपाली भाषालाई मान्यता प्रदान गरेको थियो। यसै गरि उच्च माध्यमिक तहमा पनि एक विषय नेपाली र यसको माध्यममा पढ्ने व्यवस्था हुनुपर्छ भन्ने मागमा आवेदन चडाएका हुन्। यसैगरि उनले उच्च शिक्षा क्षेत्रमा पनि धेरै काम गरेका छन्। सन् १९६२ सालमा स्थापित उत्तर बङ्गाल विद्यालयसमक्ष पनि नेपाली भाषाको पठन पाठनको व्यवस्थाको निम्ति उनको आफ्नो पक्षबाट पनि धेरै काम भएको छ। उनले लेखापढी गरेर नेपाली पठन-पाठनको सुविधा प्राप्त भएका १. प्राथमिक तह – उनी आफूले हिन्दी माध्यमबाट पढ्दा नेपालीभाषी शिशु विद्यार्थीहरूले भोग्नुपरेको भाषिक समस्या, पाठगत सम्प्रेषणात्मक समस्या आदि सुल्झाउनलाई उनी अघि सरेर नेपाली माध्यममा पढाइको निम्ति सरकारसमक्ष माग राखेको हुन्। २. माध्यमिक तह – तत्त्कालीन कलकत्ता विश्वविद्यालयद्वारा सञ्चालित माध्यमिक र उच्चत्तर माध्यमिक तहमा नेपाली माध्यम बनाउनु उनले धेरै सङ्घर्ष गर्नुपरेको थियो। त्यहाँ रजिस्टार महोदयबाट नेपालीमा चाहिने पुस्तक सामाग्री छैनन् भन्ने सुनेपछि आफैंले लेखेर भए पनि त्यसको पूर्ताल गरी माध्यमिक तहसम्म एक विषय मातृभाषाको रूपमा नेपाली भाषा र अन्य विषयमा पनि नेपाली माध्यमका निम्ति आवश्यक र समयोचित लिखित आवेदन दिएर उपलब्धि हासिल गराएका हुन्। ३. स्नातक तह – पहाडका तीन महकुमामा सञ्चालित रहेका थोरै कलेजहरूमा पनि नेपाली विषय निम्ति उनले सङ्घर्ष गरेको छुट्टै इतिहास छ। पछिबाट सन् १९६२ देखि उत्तरबङ्गाल विश्वविद्यालय स्थापना भएदेखि पारसमणि प्रधानले शुरूदेखि नै लेखापढी गरी स्नातक तहमा अनर्सको निम्ति सङ्घर्ष गरेका हुन्। यसको फलस्वरूप सर्वप्रथम सन् १९६८ मा दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली अनर्स विषय खोलिएको हो। ४. स्नातकोत्तर तह – उत्तर बङ्गाल विश्वविद्यालयले नेपाली भाषालाई स्नातक तहमा अनर्स र सामान्य नेपाली दिए पनि यतिमा मात्र सन्तोक नमानी स्नातकोत्तर तहमा पनि नेपाली हुनुपर्छ भनेर फेरि आवाज उठाउने पारसमणि प्रधान नै हुन्। उनले लगातार लिखित र मौखिक सम्पर्क र ताकिता गरेर उत्तर बङ्गाल विश्वविद्यालयले सन् १९७५ देखि नेपालीमा एम. ए. सम्मको मान्यता दिएको हो र सन् १९७७ सालेदेखि भने पहिलो ब्याचका नेपाली विद्यार्थीको पढाइ शुरू भएको थियो। २.२. प्रत्यक्ष सेवा नेपाली भाषाको उन्नयनका निम्ति पारसमणि प्रधानको योगदान अतुल्य छ। यस सम्बन्धमा चर्चा गरिनेछ। २.२.१. अनुवाद सेवा नेपाली भाषा सेवाका क्रममा उनी सर्वप्रथम अनुवाद कार्यमा जुटेका हुन्। जब नेपाली साहित्यमा नै उपन्यास सङ्ख्या अत्यन्त कम थियो त्यस समयमा उनी अनुवादको काम लिएर अघि आएका हुन्। आफ्नो उमेरको सत्र वर्षमा नै उनले बङ्किमचन्द्रको बाङ्ला उपन्यास युगलाङ्गुरीयलाई हिरण्मयी चरित्र नाम लिएर अनुवादमा उत्रेका सन् १९१५ सालमा प्रकाशित यस अनूदित उपन्यासमा भाषाको मोह देखिन्छ। यसपछि राधारानी उपन्यास पनि नेपाली अनुवाद गरेका हुन्। ती दुई उपन्यासले पनि आजभन्दा एकसय वर्ष अघिको नेपाली भाषाको मानक नमूना देखाइदिएका छन्। उनी आफुले औपचारिक रूपमा नेपाली पढ्न नपाए पनि दशौं श्रेणी पढ्दाताका उनीभित्र रहेको भाषाप्रेमका कारण बंगलाबाट नेपाली उपन्यासलाई नेपाली अनुवाद गर्ने हुटहुटी चल्यो। २.२.१. सम्पादन सेवा भाषा सेवाले जुर्मुराएर उनले ‘चन्द्रिका’, ‘भारती’ जस्ता सफल साहित्यिक पत्रिकाको सम्पादन गरेका हुन्। उनले ‘चन्द्रिका’ पत्रिकाको सम्पादन गरेर भारतमा नेपाली साहित्यिक पत्रिकाको थालनी गरेका हुन्। यस पत्रिकालाई उनले केही वर्षसम्म सम्पादन गरेका हुन्। अर्को पत्रिका ‘भारती’ पनि नेपाली साहित्यिक पत्रिकाको इतिहासमा ठूलो योगदान भएको पत्रिका हो। उनले सम्पादन गरेका दुवै पत्रिकाले नेपाली साहित्यमा ठूलो छाप छोडेका हुन्। अज विशेष गरी ‘भारती’ पत्रिकाले नेपाली साहित्यमा कथा साहित्यको ठूलो ढोका खोलिदिएका हुन्। भारतमा कथा साहित्यको समवर्द्धनमा ‘भारती’ पत्रिकाको ठूलो योगदान छ। जम्मा एकसय आठ अङ्कसम्म प्रकाशित ‘भारती’ पत्रिकाले धेरै नेपाली कथाकार जन्माएको छ। २.२.२. व्याकरण लेखन नेपाली व्याकरण लेखनको परम्परामा पारसमणि प्रधानको नाम उच्च छ। नेपाली भाषाको व्याकरण लेखनमा उनको नाम अति आदरका साथ लिइन्छ। सन् १९२० मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित नेपाली व्याकरण विशेषगरी अँग्रेजी व्याकरण र भाषा-भाष्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको छ। पारसमणि प्रधान एक्लैले र सहलेखनमा तयार पारेका व्याकरण पुस्तकहरूमा सजिलो नेपाली व्याकरण (१९३५), नेपाली रचना कुसुम (भाग १, नगेन्द्रमणि प्रधानको सहलेखन), नेपाली रचना भारती (भाग १ र २, अमरमणि प्रधानको सहलेखन,१९५४), नेपाली व्याकरणको परिवर्द्धित र वर्तमान रूप (१९७०), व्याकरणको दन्त्य कथा (१९७०), नेपाली व्याकरण भारती, नगेन्द्रमणि प्रधानको सहलेखन, १९५४), प्राथमिक नेपाली व्याकरण (१९५४), प्रवेशिका व्याकरण र रचना (१९५५, टीकाराम शर्माको सहलेखन) नेपाली व्याकरण (पहिलो भाग, १९७०), माध्यमिक नेपाली व्याकरण र रचना, १९८२)। यद्यपि उनको सन् १९२० मा प्रकाशित व्याकरणकै कहिले सजिलो नेपाली व्याकरण, कहिले व्याकरण भारती अनि कहिले प्रवेशिका नेपाली व्याकरण र रचना जस्ता विभिन्न नामहरू लिएर देखा पर्छन्। पारसमणि प्रधानका अनुसार भाषाको व्याकरणमा समयोचित हेरफेर हुनु जीवित भाषाको लक्षण हो। नेपाली भाषाको व्याकरणका नियममा पनि समय समयमा धेरथोर हेरफेर भइरहनु पर्छ। उनका आफ्नो जीवनकालभरि भाषाको एकरूपताका लागि संघर्ष गरिरहे। नेपाली भाषालाई अघोरै माया गर्ने पारसमणिले जीवनकालभरि नै नेपाली भाषा-साहित्यको सेवामा आफूलाई समर्पित गरे। नेपाली भाषालाई नेपाली समाजको एकता र अखण्डताको सूत्र मान्ने पारसमणि लेख्छन्- नेपाली भाषा कुनै निश्चित जातको पेवा भाषा होइन- न यो बाहुन छेत्रीको पेवा भाषा हो, न गुरूङ-मगरको सूर्यविक्रम ज्ञवालीको एउटा नकारात्मक टिप्पणीले आहत पारसमणिलाई जीवनभरि नै त्यो कुराले झस्काइरहेको देखिन्छ। उनी अझ लेख्छन्, “नेपाली भाषा खस-बाहुनहरूको मात्र भाषा होइन, यो कामी, दमाई र सार्कीको मात्र भाषा पनि होइन। यो त एँगल्स र जुटहरूका बोलीको संमिश्रणले इंगलिस (अङ्ग्रेजी) भाषाको उत्पत्ति भएझैं समय समयमा सयकडौं वर्षमा धेरै बोलीहरूको संमिश्रणले बनेको एउटा नयाँ भाषा हो। यो नेपाली भाषा कुनै निश्चित जातको पेवा भाषा होइन, यो त समस्त नेपाली जातिको नेपाली मातृभाषा हो।“ ईश्वीको बीसौं शताब्दीको प्रथम चरणसम्म आइपुग्दा पनि हाम्रो भाषाको नाम स्पष्ट भइसकेको थिएन। कसैले यसलाई गोर्खा भाषा भन्थे, कसैले पर्वतीया, कसैले यसलाई खसकुरा भन्थे भने कसैले यसलाई नेपाली पनि भनिहाल्थे। यसरी एउटै भाषाको अने नामले अनेक समस्याहरू झेल्न पर्थ्यो। पारसमणिहरूले यस समस्याको समाधान गर्ने अठोट गरे। यसबारे उनी आफ्नो संस्मरणमा लेख्छन्- “परीक्षा सिद्धिएपछि हामी दुई जना (पारसमणि प्रधान अनि धरणीधर कोइराला)ले डिपुटी कमिश्नरमार्फत बंगाल सरकारमा एउटा बिन्तिपत्र च़ढायौं । त्यसमा यो पहाडिया खसकुरा वा गोरखाली वा पर्वतीया भन्ने शब्द झिकिउन किनभने हाम्रो भाषाको चोखो नाउँ नेपाली नै हो, बुद्धिजीवी जनतालाई रूचेको नाउँ नेपाली हो औ भाषा शास्त्रीहरूले रूचाएको नाउँ पनि नेपाली नै हो। वाडेल साहेबलाई हामीले यो कुरा राम्ररी बुझायौं। उनले सिफारिस गरिदिने वचन दिए। नेपाली भाषा नामको निम्ति पारसमणि प्रधानले आफ्नो मासिक पत्रिका ‘चन्द्रिका’को माध्यमबाट पनि धेरै प्रयास गरे। ‘चन्द्रिका’को प्रकाशनदेखि नै हाम्रो भाषाको नाम नेपालीको रूपमा अधिक चल्न थालेको नगेन्द्रमणि प्रधानले आफ्नो विचार प्रकट गरेका छन्। यसअघि नेपाली भाषाको सर्वमान्य एउटै नाम थिएन। नेपालमा समेत भाषाको नाम गोर्खा रहेको गोर्खा भाषा प्रचारिणी समिति नामक संस्थाले प्रमाणित गर्छ। उनले आफ्नो पढाइको प्राथमिक तहदेखि नै हिन्दी भाषामा पढ्नु परे तापनि उनमा नेपाली भाषाप्रति रूचि रहेकाले बनारसबाट प्रकाशित हुने नेपाली पत्र-पत्रिका पढ्ने गर्थे। सन् 1916 तिर दार्जिलिङ सरकारी उच्च विद्यालय पढ्दै गर्दा उनले गोर्खा साहित्य समाज नामक पुस्तकालय स्थापित गरेका थिए। २.२.३. पाठ्य पुस्तक निर्माण भारतमा नेपालीभाषी विद्यार्थीका निम्ति आवश्यकता परेका बेला नेपाली पाठ्य पुस्तक निर्माण गर्ने महत् कार्य उनले शुरू गरेका हुन्। यस क्षेत्रमा उनको अद्वितीय देन छ। उनले शिशु श्रेणीदेखि लिएर उच्च श्रेणीसम्मका निम्ति पाठ्यपुस्तक निर्माण गरेका हुन्। नेपालीको सरल पाठ मात्र नभई व्याकरण, बीजगणित, अङ्कगणित, इतिहास, भूगोल, विज्ञान, रेखागणित जस्ता सबै विषयमा पाठ्य पुस्तक लेखेर तत्कालीन आवश्यकता पूर्ति गरेका हुन्। सबै विषयको एकमुष्ठ पाठ्यपुस्तक किशलय नामक एउटा निर्माण गरेका हुन्। कोलकाताको नामी प्रकाशक म्याकमिलन कम्पनीसित मिलेर उनले प्रायः सबै तहका पाठ्यपुस्तक लेखेका हुन्। उनले तयार पारेका पाठ्य पुस्तक पढ्ने विद्यार्थीले सठिक विषय ज्ञान र भाषा ज्ञान हासिल गर्न सक्थे। पहिलेका तेस्रो श्रेणी वा पाँचौं श्रेणी पढ्नेसम्मले पनि नेपाली फटाफट पढ्न र लेख्न सक्छन्। अहिलेका दशौं श्रेणी पढ्ने विद्यार्थीभन्दा उहिले चौथो-पाँचौं श्रेणी पढ्नेको भाषा र साहित्य ज्ञान बढी हुन्थ्यो। यस्तो हुनुमा पारसमणि प्रधानले तयार पारेको पाठ्यपुस्तकको भूमिका थियो। उनले नेपाली पाठ्यपुस्तकको आवश्यकता मात्र पूर्ति गरेनन् बरू यसको भण्डार पनि भरिदिए। २.२.४. कोश लेखन नेपाली शब्दकोश निर्माण क्षेत्रमा पनि पारसमणि प्रधानकै ठूलो योगदान छ। नेपाली शब्दको खोइ भनी कलकत्ता विश्वविद्यालयका रजिस्टारले सोध्दा उनलाई ग्लानि बोध भएपछि उनी यसतर्फ लागेका हुन्। उनले नेपाली शब्दकोशलाई विभिन्न तहका विद्यार्थीको निम्ति शब्दकोश तयार पारिदिएका हुन्। यसका साथै अङ्गेजी–नेपाली, नेपाली अङ्गेजी जस्ता बहुभाषिक गरी लगभग आठवटा जति शब्दकोश तयारी पारेका हुन्। २.३.परोक्ष सेवा यसअन्तर्गत पारसमणि प्रधानका केही कार्यहरू हेर्न सकिन्छ- २.३.१. संगठन सेवा- पारसमणि प्रधान भाषा र साहित्य सेवा गर्ने क्रममा एकजना कुशल संगठक पनि थिए। उनी र उनका अन्य दुई जना सहकर्मी सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइरालालगायत अन्यान्य मिलेर नेपाली साहित्य सम्मेलन, दार्जिलिङ स्थापना गरेका हुन्। यसका उनी संस्थापत सचिव रही धेरै काम गरेका थिए। उनले नेपाली साहित्य सम्मेलन पत्रिकाको केही अङ्कको कुशल सम्पादन पनि गरेका थिए। २.३.२. मुद्रण सेवा– भारतको नेपाली मुद्रणको इतिहासमा पनि पारसमणि प्रधानको स्थान अग्रिम पंक्तिमा छ। उनले दार्जिलिङ, कालिम्पोङमा प्रेस खोलेका थिए। पछिबाट सिलगडीमा पनि उनले आफ्नो प्रेस खोलेका हुन्। मनमा सधैँ नेपाली भाषाप्रति सच्चा सेवाको भाव लिएको हुनाले उनको प्रेसबाट जति नेपाली किताब प्रकाशित हुन्थे, जम्मै विशुद्ध, सही हिज्जेयुक्त, सठिक प्रुफ संशोधित हुन्थे। सेवाभाव लिएर व्यावसाय गरिएको हुनाले उनका प्रेसहरूबाट नेपाली साहित्यले धेरै उपलब्धि हासिल गर्न सक्यो। पारसमणि प्रधानको भाषा सेवालाई अझ दुईवटा वर्गमा वर्गीकरण गर्न सकिन्छ- नेपाली भाषाको स्तरगत सेवा र संरचनात्मक सेवा। भाषाको स्तरगत सेवाअन्तर्गत नेपाली भाषालाई सरकारी तवरमा विभिन्न तहमा पठन-पाठनको निम्ति मान्यताको निम्ति आवेदन आदि गरी उपलब्धि हासिल गराएका हुन्। उनको एक्लो र सामूहिक प्रयासले गर्दा समग्र नेपाली समाजले नै सफलता हासिल गरेका थियो। सन् १९१८ मा नै हाइस्कूल तहमा मान्यता पाएको नेपाली भाषालाई दार्जिलिङ सरकारी विद्यालयमा एक विषयसम्म पढाइ नहुँदा उनले दुःख प्रकट गरी त्यसका हेडमास्टरलाई पत्र लेखी आवेदन गरेका थिए। सन् 1973 मा साहित्य अकादमी, नयाँ दिल्लीको विशेषज्ञ समितिका सदस्य रहेका थिए। कलकत्ता विश्वविद्यालयबाट नेपाली भाषाको मान्यताका निम्ति डम्बरसिंह गुरूङसित गएर विश्वविद्यालयको रजिस्ट्रारबाट खप्की खानुपरे तापनि यसलाई चुनौतीस्वरूपमा नेपाली पाठ्यपुस्तक लेखेर तयारी पार्ने महत काम गरेका हुन्। नेपाली भाषालाई साहित्य अकादमीको परिधिमा ल्याउन उनले थुप्रै काम गरेका थिए। उनले आफ्नो उत्तर बंगाल विश्वविद्यालयमा नेपाली अकादमी र पश्चिम बंगाल सरकारको नेपाली अकादमी खोल्न ठूलो भूमिका निभाएका थिए। यसै गरी सिक्किम विधानसभामा नेपाली भाषालाई राज्यभाषा घोषित गराउन उनको अदृश्य योगदान थियो भनिन्छ। यसै गरी उनले नेपाली भाषाको संरचनात्मक सेवा पनि गरेका छन्। नेपाली भाषाको स्वरूप निर्धारण, एकीकरण, मानकीकरणसम्बन्धमा धेरै काम गरेका छन्। अझ एकीकरण सम्बन्धमा त आजीवन लागिपरिरहे। उनको विचारमा जहाँको भए पनि नेपाली भाषा एउटै हो र यसको स्वरूप र मानक रूप एउटै हुन्छ र हुनुपर्छ भन्ने राय थियो। कथ्य भाषाको विभिन्न स्वरूप भए पनि यसको मूल स्वरूप एउटा हुन्छ भन्ने विचार थियो। नेपाली भाषाको मूल स्वरूप संस्कृतबाट आएको सत्यता आफ्नो ठाउँमा, अर्कापट्टि अङ्ग्रेजी भाषाको बढ्दो प्रभाव तथा हिन्दी व्याकरणको पनि बोलबाला भएको समयमा पारसमणि प्रधानले मध्यमार्ग अपनाई नेपाली व्याकरण लेखेका हुन्। एकापट्टि हेमराज पाण्डेको चन्द्रिका व्याकरणको मूल आधार समाएर नेपाली व्याकरणको बोलबाला थियो भने अर्कापट्टि राममणि आदीको हलन्त वहिष्कार आन्दोलनबाट प्रभावित विश्वमणि आदीको गोर्खा व्याकरण बोध प्रकाशन। यी दुवै पक्षको बीचबाट पारसमणि प्रधानले व्याकरण लेखेका हुन्। यद्यपि उनले चन्द्रिकालाई श्रेष्ठ व्याकरण ठहर्\u200dयाएका छन्। गोर्खा व्याकरण बोध व्याकरणमा हलन्त वहिष्कार र अन्य दुई-चार दोषलाई छोडेर हेर्दा वेशै छ भन्ने उल्लेख गरेका छन्। उनको विचारमा नेपालीले लेख्नुअघि अङ्ग्रेजहरूले लेखेको व्याकरण सही र मानक हुँदैनन्, अर्कालाई सोधेको भरमा जबर्जस्ती व्याकरण लेखिएका हुन्छन्। ती व्याकरणले भाषा बिगार्छन्। जसले नेपाली भाषाको सही परिपाटी जानेको हुन्छ, उसैले मात्र सही व्याकरण लेख्न सक्छ। यसका निम्ति नेपाली विद्वानहरूले नै जुर्मुराएर अघि बढ्नु पर्छ भन्ने उनको सद्विचार थियो। यसबाहेक उनले नेपाली व्याकरणको इतिहास, नेपाली भाषाको पठन पाठनको इतिहास, नेपाली भाषाको उत्पत्ति र विकास, नेपाली भाषाको विकास र अध्ययनका क्षेत्रमा अनेपाली विद्यानहरूको योगदानको चर्चा, इत्यादि विषयमा पनि कलम चलाएर नेपाली भाषा साहित्यमा अनुसन्धान गर्ने इच्छुकहरूलाई पनि ठूलो सहयोग पुर्\u200dयाएका छन्। यसबाहेक भानुभक्त, देवकोटा, बालकृष्ण सम र लेखनाथ पौड्यालका विषयमा अङ्ग्रेजीमा पनि किताब लेखेर अनेपाली अध्येताहरूलाई पनि नेपाली महान् साहित्यकारहरूको परिचय दिएका हुन्। समग्रमा उनले नेपाली भाषाको सेवा गरेको कुराहरूको लेखाजोखा यी बुँदाहरूमा लिन सकिन्छः १. नेपाली भाषाको उद्भव र विकाससम्बन्धी चिन्तन गर्ने एक चिन्तक। २. नेपाली भाषालाई विभिन्न तह पठन पाठनका निम्ति सरकारसमक्ष माग राख्ने एक कलमवीर। ३. भारतीय संविधानमा नेपाली भाषालाई मान्यताको निम्ति लडिएको संग्रामका एक सङ्ग्रामी। ४. नेपाली साहित्य लेखेर भाषाको आजीवन सेवासाधना गर्ने एक साधक। ५. समयअनुसार नेपाली भाषाको स्वरूपमा पनि परिवर्तन हुँदै जानुपर्छ भन्ने एक सचेतक। ६. नेपाली व्याकरण लेखेर नेपाली भाषालाई समृद्ध तुल्याउने एक वैयाकरण। ७. एक सफल कवि, कथाकार, निबन्धकार। ८. एक सफल मुद्रक, प्रकाशक। ९. चन्द्रिका, नेपाली साहित्य सम्मेलन पत्रिका र भारती जस्ता नेपाली पत्रिकाको इतिहासमा गुरूत्वपूर्ण पत्रिकाका सम्पादक। प्रमुख सन्दर्भ ग्रन्थ – १. पारसमणि प्रधान, टिपन-टापन, कालिम्पोङ, भाग्यलक्ष्मी प्रकाशन,१९६९। २. सम्पा. शिव प्रधान, डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थ, गान्तोक, गान्तोक प्रकाशन, १९८४। ३. सम्पा. शिव प्रधान, डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थ परिशिष्टाङ्क, गान्तोक, गान्तोक प्रकाशन, १९८५। #नवीन पाैड्याल
असमयमै अस्ताएका जीवन्त कवि जीवन आचार्य: जीवन आचार्यसँग चिनाजानी कहिले, कसरी, कोमार्फत् र कुन सन्दर्भमा भएको थियो भन्ने पनि अव सन्दर्भहीन भएको लाग्दैछ मलाई । कताकता धमिलो सम्झना आउँछ, टेवहालको गल्लीभित्रको उनको डेरा जहाँ जान एउटा होचो सुरुङ जस्तो पुरानो घरमुनिबाट जानु पर्थ्यो । त्यो डेरामा २०३६ सालकै आसपास अनेकपल्ट पुगिन्थ्यो । उनी कविता लेख्थे । कथा लेख्थे । र आफूले लेखेको रचना अरूले किनेर उसको नाउँमा छपाउन चाहने मान्छे भएको कुरा उनीसँग परिचय भएको सुरुतिरको बेला उनले गरेको पनि धुमिल याद आउँछ । उनले अलिअलि चित्रकारिता पनि सुरु गरेको सम्झन्छु । गोविन्द गिरी प्रेरणा हो, उनको त्यही डेराबाट फर्केर आउने क्रममा एकदिन फणिन्द्र नेपाल र म सँगै भएको र फणिन्द्रले आयामेली त्रिमुर्तीले झैं ‘केही नयाँ गरौं’ तीन जना मिलेर भन्ने प्रस्ताव गरेको पनि हेक्का छ मलाई । तर म त्यसमा आकर्षित भइनं । पछि फणिन्द्रले तीर्थ श्रेष्ठ र विनय रावलको साथमा आफ्नो मनसुवा पूरा गरे तरलवादी आन्दालेन गरेर जुन पछि तरलवादबाट तरलतावाद भयो र छोटै समयको अन्तरालमा त्यो आन्दोलनले विश्राम लियो । सायद फणिन्द्रले मसँग जस्तै जीवनसँग पनि यही प्रस्ताव गरेका थिए कि ? उनी वास्तवमा एउटा नयाँ केही गरिहालौं भनेर अत्यन्त आतुरताका साथ सहयात्रीको खोजीमा थिए । जीवनले टेवहालको डेरामै छँदा साहित्यिक पत्रकारिता सुरु गरे । उनले “आस्था” नामक साहित्यिक पत्रिकाको सम्पादन प्रकाशन गरे । त्यस पत्रिकाको माध्यमबाट उनको पहुँच धेरै साहित्यकारहरूसँग भयो । उनी अलि कडा लेख्न मन पराउँथे । अलि निर्भिक हुन मन पराउँथे । आस्थामा त्यस्ता कडा कुराहरू प्रकाशित हुन्थे । तर आस्था पत्रिका केही अङ्कको प्रकाशनपछि बन्द भयो । आर्थिक सुकेनास नेपाली साहित्यिक पत्रकारिताको दीर्घरोगले आस्थालाई पछ्यायो । पछि उनी सम्पादक र रामेश्वर डंगोल प्रकाशक भएर एउटा नयाँ साहित्यिक पत्रिकाको प्रकाशन आरम्भ गरे । त्यो पत्रिकाको नाम “आकुञ्चन” थियो। यो पत्रिका जम्मा ३ अङ्कमात्र प्रकाशित भयो । हामीले पनि एउटा साहित्यिक संस्थाको परिकल्पना गर्यौं । २०३६ सालको आन्दोलनपछि नेपाली समाजमा धेरै तरुण साहित्यकारहरू जुर्मुराएका थिए । नयाँ देखा परेका थिए । सुसुप्तहरू ब्युँतेका थिए । ब्युँतेकाहरू झस्केर आँखा टाठो पार्न थालेका थिए । हामीले पनि एउटा साहित्यिक संस्थाको परिकल्पना गर्यौं । त्यो संस्थामा अध्यक्ष कोही थिएन । हामीले विभिन्न योजना बनायौं र ज-जस्ले त्यो योजनाको जिम्मा लिएको छ, ऊ त्यसको संयोजक, प्रमुख, अध्यक्ष जे भने पनि हुने समझ्दारी थियो । त्यसमा जीवन आचार्य थिए, अवि राई थिए, दिनेश सत्याल थिए (अहिले सौरभ नामले चिनिने), म थिएँ, पछि दिनेश अधिकारी पनि सामेल भएका थिए । त्यो संस्थाको नाम युसास अर्थात् युवा साहित्यिक समाज थियो । हामीले रत्नपार्कको खुल्ला चउरमा संस्थाको बैठक गर्थ्यौं, मैले सेतो पानाको नोट वुक बनाएर माइन्युट र उपस्थितिको अभिलेख पनि राख्ने गरेको थिएँ युसासको । त्यो संस्थाबाट केही काम गर्ने हामीले योजना बनायौं: १. जीवन आचार्यको कला प्रदर्शनी गर्ने । त्यसको संयोजक दिनेश सत्याल रहने । २. युसासको मुखपत्रको रूपमा गोजीका पत्रिका निकाल्ने । त्यसको संयोजक अवि राई रहने । ३. देशव्यापी मुक्तक प्रदर्शनी गर्ने । त्यसको संयोजक गोविन्द गिरी प्रेरणा रहने । यसै बीच अचानक दिनेश सत्यालले दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह प्रकाशनको प्रस्ताव ल्याए । सबैले सहमति जनायौं र दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह “अन्तरका छिटाहरू” युसास प्रकाशनबाट भयो । विमोचन पनि भयो पद्मकन्या क्याम्पसमा । अनि जीवन आचार्यको पहिलो कला प्रदर्शनी नेपाल भारत पुस्तकालयको सभाकक्षमा सम्पन्न गरियो । यो प्रदर्शनी एक हप्तासम्म चलेको थियो । अवि राईले प्रजिअ कार्यालयमा युसासको मुखपत्र “पूर्वार्ध” दर्ता गराए र त्यो नेपाली साहित्यको पहिलो गोजीका पत्रिका बान्कीको साइजमा प्रकाशित भयो । हामी युसासका सबैको रचना र अन्यको पनि प्रकाशन गर्ने हाम्रो नीति थियो र युसासबाट जम्मा प्रकाशित दुई अङ्क पूर्वार्ध गोजीमा जीवन आचार्यको रचना पनि प्रकाशित थिए । युसासबाट यति काम भएपछि संलग्न हामी बीच विग्रहको अवस्था आयो र युसास अघोषित रूपमा बन्द भयो । जीवन आचार्यले मदर टेरेसासँग भेट्दा आफू पत्रकारसहित कलाकार पनि भएको बताएका रहेछन् र आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्न काठमाडौं आउन निम्तो गर्न पनि भ्याएछन् । जीवन एकपल्ट कुन्नि के सिलसिलामा हो कलकत्ता पुगेछन् । उनी आस्था पत्रिकाका सम्पादक त थिए नै, कुनै अखबारमा पनि स्तम्भ लेख्थे कि, तर जे भए पनि पत्रकारको पहिचानका कारण कलकत्तामा उनले नोवेल शान्ति पुरस्कार विजेता मदर टेरेसासँग भेट गर्ने अवसर पाएछन् । जीवन आचार्यले मदर टेरेसासँग भेट्दा आफू पत्रकारसहित कलाकार पनि भएको बताएका रहेछन् र आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्न काठमाडौं आउन निम्तो गर्न पनि भ्याएछन् । उनी नेपाल आउने कुरा पनि समाचारमा पढिएको थियो, धरानमा गएको विनासकारी भूकम्पका पीडितहरूलाई राहत वितरण गर्न । तर पञ्चायतको जगजगीको बेला क्रिश्चियन धर्मावलम्वी मदर टेरेसालाई ल्याए क्रिश्चियन धर्मको प्रचार हुन्छ भनेर उनलाई नेपालमा आएर राहत वितरण गर्न तत्कालीन नेपाल सरकारले अनुमति दिएन । उनी आइनन् । जीवनले त्यतिखेर नेपाली साहित्यकारका विभिन्न कृतिहरूलाई थिम बनाएर सो अनुसारका कला सिर्जना गरेका थिए । साहित्यिक कृतिहरूमा आधारित कला सिर्जना भएकाले साहित्यकारहरूमा त्यसबारे चासो हुनु स्वाभाविक नै थियो । अझ जजस्को कृतिमाथि कला सिर्जना गरियो, तिनीहरूले झन् वढी चासो राख्नु अस्वाभाविक थिएन । तर उनको कला प्रदर्शनीको उद्घाटन गर्न मदर टेरेसा आउने हल्ला भने मत्थर हुँदै गएको थियो । कतिले ठट्टा पनि गर्दथे, मदर टेरेसा नआए के भो त फादर टेरेसाले गर्लान् नि । मैले जीवनलाई जवाफ दिनुस् भन्नुपर्ने थियो, तर मलाई थाहा भएको कुरा हुनाले मैले जवाफ दिएँ । कुरा यहीं बिग्रियो । वास्तवमा त्यो ठट्टा चरितार्थ भयो । उनको कला प्रदर्शनी त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. महेन्द्रप्रसादबाट हुने भयो । स्थान उही नेपाल भारत साँस्कृतिक केन्द्रको पुस्तकालय थियो । डा. महेन्द्रप्रसाद कला प्रदर्शनीको उद्घाटनका लागि आए । म त्रिवि केन्द्रिय कार्यालयमा काम गर्ने कर्मचारी थिएँ । उनलाई प्रदर्शनीस्थलमा सो बताएपछि उनले मेरो हात समाते र प्रदर्शन गरिएका चित्रहरूबारे सोधे । मैले जानेको बताइदिएँ । जीवनचाहिँ पछिपछि थिए । कार्यक्रम सकिएपछि डा. महेन्द्रप्रसाद फर्किए अनि त जीवन आगो भएर ममाथि खनिए । डा. महेन्द्रप्रसादले मेरो हात समातेर उनको कलाको बारेमा मैले बताएकोमा उनी रिसले चूर भएका रहेछन् । वास्तवमा मेरो जीवनलाई उपेक्षा गर्ने मनशाय थिएन । न म कलाकारिताको क्षेत्रको थिएँ । तर उनले कुनकुन साहित्यकारको कुन कृतिमा आधारित चित्रकला हो त्यो थाहा भएकोले भन्दिएँ । यो वास्तवमा जीवनलाई सोधिनुपथ्र्यो र जवाफ उनैले दिनुपथ्र्यो । तर उपकुलपतिले मलाई सोधे । मैले जीवनलाई जवाफ दिनुस् भन्नुपर्ने थियो, तर मलाई थाहा भएको कुरा हुनाले मैले जवाफ दिएँ । कुरा यहीं बिग्रियो । उनी साह्रै रिसाए मात्र होइनन् । मलाई तथानाम नै गाली गरे । यो नसोचेको कुरा भएको थियो । तर उनको रिस थामिएन र म प्रदर्शनीस्थलबाट घरतिर हिंडें । त्यसपछि त्यो प्रदर्शनीमा दोहार्याएर पाइला टेक्ने मेरो हिम्मत भएन । ज-जस्को कृतिमाथि उनले चित्र बनाएका थिए, सक्नेले, मन हुनेले उनका कृति किनेछन् । तर सुतेको समुद्र शीर्षकको मेरो कथा र सोही नामको कथा सङ्ग्रहमा आधारित चित्रचाहिँ उनले प्रदर्शनी उद्घाटन भएको साँझ प्रदर्शनीस्थलबाट हटाएछन् । त्यसपछि हामी बीच पानी बाराबार भयो । बोलचाल बन्द भयो । आवतजावत बन्द भयो । मित्रताको तार चुँडिएर हामी नदीको दुई किनारा भयौं । राजेन्द्र शलभसँग साइनो जोडिदिने काम “दूवो’’ गोजीकाले गरेको थियो । उनले दूवोको सम्पादक बनाइहाले । छिटै हामी नजिक भयौं । तिमीबाट तँसम्मको मीठो मित्रताको त्यान्द्रोमा हामी बाँधियौं । दूवोका विभिन्न अङ्कहरू हामीले विशेषाङ्कको रूपमा निकाल्यौं । भलै ती अङ्कहरू, विशेषाङ्कहरू निकाल्न भारतीय पाक्षिक सारिका पत्रिकाले प्रेरित गरेको किन नहोस् । एक दिन मेरो कालिमाटीको डेरामा यिनै शलभले जीवन आचार्यलाई डोर्याएर ल्याए र जीवन र म बीच पुनः मित्रताको साइनो अगाडि बढाइदिए । मैले सिलावरको सानो डेक्चीमा कालो चिया बनाएँ, अनि हामीले त्यसलाई चुस्की लगाउँदै मीठा मीठा कुरा गरेर मित्रताको नयाँ अध्याय सुरु गर्यौं । यो गोष्ठीलाई चीरकालसम्म सम्झना गराउन आज पढेका कविताहरू संकलन गर्नोस् र किताब छाप्नोस् । म मेरो तर्फबाट ५०० दिन्छु, बाँकी तपाईंहरू जुटाउनुहोस् । एक दिन हामी तीनजनाले सल्लाह गर्यौं, एउटा साहित्यिक संस्था किन नखोल्ने भनेर । संस्थाको नाम गोष्ठी राख्ने निधो भयो, एक शब्दको । शलभको भनाई थियो, मात्र शब्द लेख्ने अरू क्यै नलेख्ने । म चाहन्थें, गोष्ठी, काठमाडौं, नेपाल । शलभले ढिपी गरेर मानेनन् र अन्तमा हामी गोष्ठी, नेपाल राख्न सहमत भयौं र विभिन्न कार्यक्रमहरू गर्यौं । यसबीच जीवन आचार्यको केदारमान व्यथितसँग राम्रो हिमचिम बढेको थियो । राम्रो भन्दा पनि अति प्रिय सम्बन्ध भन्नु पर्ला । केदारमान व्यथितले उनलाई पुत्रवत् नै भन्दथे । अनि जीवन आचार्यकै पहलमा एक साँझ केदारमान व्यथितको निवासमा एउटा कविता वाचनको कार्यक्रम गर्ने तय भयो । यो जीवन आचार्यकै कारणले सम्भव भएको थियो । त्यसो त लहडी कवि केदारमान व्यथित बेलाबेलामा खानपानसहित कवि गोष्ठीहरू गरिरहन्थे । तर उनले बोलाउने कविहरू हामीभन्दा अघिल्ला पुस्ताका र उनका प्रियजनहरू नै हुन्थे । हामीले त्यो कार्यक्रमको नाम काव्य सन्ध्या राखेका थियौं । सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । जोडदार कविताहरू वाचन भए । त्यही कार्यक्रममा केदारमान व्यथितले आफ्नो लहडी स्वभाव देखाइहाले, “लौ तपाईंहरूले यति राम्रो कवि गोष्ठीको आयोजना गर्नुभयो । तपाईंहरू सरस्वतीका वरदपुत्रहरू धन्य हुनुहुन्छ । अब यो गोष्ठीलाई चीरकालसम्म सम्झना गराउन आज पढेका कविताहरू संकलन गर्नोस् र किताब छाप्नोस् । म मेरो तर्फबाट ५०० दिन्छु, बाँकी तपाईंहरू जुटाउनुहोस् ।” सबैले ताली बजायौं । तर जीवनले आफ्ना जुत्ताका खुर पूरै खियाउन्जेल केदारमान व्यथितको घरको चक्कर लाए, तर व्यथितले दिन्छु भनेको ५०० दिएनन् र बरु शर्मा प्रेस अर्थात् राजेन्द्र शलभका पिताले योगदान पुर्याए र काव्य सन्ध्या निस्कियो । जीवन आचार्यको पहिलो कविता सङ्ग्रह डेभिड नामका अमेरिकनले प्रकाशन गरिदिएका थिए र त्यसको विमोचन गोष्ठीका प्रमुख अतिथि सूर्यबहादुर थापा थिए । ती डेभिड इन्द्रेनी सोया मिल्क कम्पनीका संस्थापक थिए, जुन नेपालका पत्रकारहरूले र हावापानीले मिलिजुली फ्लप गराइदिएका थिए । प्रधानमन्त्रीले म हेर्छु भने, तर केही गरेनन् । उनको जागिर गएको गयै भयो । जीवन आचार्य र इश्वरवल्लभ एकैसाथ एकपल्ट राष्ट्रिय योजना आयोगमा जागिरे भएका थिए । अनि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि दुवैले एकसाथ जागिर गुमाएका थिए । संयोगवश त्यसबखत नेपाली साहित्यमा निकै धेरै गतिविधि गरेर चर्चामा रहेको सिसास अर्थात् सिर्जनशील साहित्य समाजले लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकोमा साहित्यकार भएको नाताले उनको सम्मानमा एउटा कार्यक्रम कृषि आयोजना सेवा केन्द्रमा आयोजना गरेको थियो । सो कार्यक्रममा कविता वाचनको पनि कार्यक्रम थियो । जीवन पनि त्यस कार्यक्रममा उपस्थित थिए । उनलाई कविता वाचनका लागि उद्घोषकले डाकेपछि उनी माइकमा गएर प्रधानमन्त्रीको अन्तरगत रहेको राष्ट्रिय योजना आयोगले जागिरबाट हटाएको योबेलामा म कविता पढ्न सक्ने अवस्थामा छैन, मैले जागिर समाप्त भएको पत्र पाएको छु, म उहाँलाई यही दिन चाहन्छु भनेर जागिरबाट हटाएको चिट्ठी प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरे । उनले त्यो हस्तान्तरण गर्दा आक्रोश र क्षोभ जुन उनको अनुहारमा देखिएको थियो, त्यो म अद्यापि बिर्सन सकेको छैन । प्रधानमन्त्रीले म हेर्छु भने, तर केही गरेनन् । उनको जागिर गएको गयै भयो । जीवनको खुट्टामा समस्या थियो । उनी राम्ररी लामो हिंड्न सक्दैनथे । कतै कुनै प्रोग्रामबाट हिंड्दै आउँदा म आधा पैसा हाल्छु, ट्याक्सीमा जाउँ भन्दा उनको अनुहार मायालाग्दो देखिन्थ्यो । उनको कविता “लेउ, च्याउ र खिया’’ उनको कविता लेखनको एउटा उत्कर्ष थियो । कविता बेजोडको थियो र उनले वाचन पनि प्रभावकारी किसिमले गर्थे । लामै समय त्यो कविताले बजार लियो, कृष्णभूषण बलको “काठमाडौं एक्लैले काठमाडौं बोक्न सक्दैन’’ जस्तै । उनको कलम र कुची साथै चल्दथ्यो । उनले मेरो उत्खनन् उपन्यास, जुन २०४५ सालमा साझा प्रकाशनबाट छापिएको थियो, त्यसको कभर बनाएका थिए । त्यस उपन्यासको तीन खण्ड “उत्खनन काठामाडौं’’, “उत्खनन हेटौंडा’’ तथा “उत्खनन भैरहवा’’ का लागि रेखाचित्र पनि बनाएका थिए । उनले नेपालका लागि भारतका राजदूत कवि नरेन्द्र जैनको पुस्तकको पनि कभर बनाएका थिए । उनले बागबजारमा डिजाइनर कार्यालय पनि खोलेका थिए । त्यहाँ राजेन्द्र शलभ र विधान आचार्य विशेष पुग्दथे । त्यतिबेला एउटा साप्ताहिकमा उनी अर्थात् शीर्षकमा कोलम पनि लेख्थे । निडर र निर्भिक अभिव्यक्ति उनको विशेषता थियो । उनले पछिल्लो चरणमा लेखेको “कृष्णे’’ कविता विशिष्ट कविता थियो । त्यसले निकै ख्याति कमायो । मलाई लाग्छ जीवनका दुई कविता लेउ , च्याउ र खिया अनि कृष्णे दुई मास्टरपीस कविता हुन्, उनको कविता यात्राको र नेपाली कविता यात्राको पनि । नाम जीवन भए पनि उनको जीवन लामो रहेन । सम्भवत उनको मुटुको समस्या थियो । उनलाई त्यसैले चुँडेर लग्यो । नाम जीवन भए पनि उनको जीवन लामो रहेन । सम्भवत उनको मुटुको समस्या थियो । उनलाई त्यसैले चुँडेर लग्यो । एउटा सशक्त कलमकार र कुचिकार, प्रिय मित्र जीवन जीवनबाट विदा भएका थिए । अनपेक्षित र अप्रत्यासित रूपमा । कवि पिता कमल जङ्गलीलाई कस्तो पीडा भएको हुँदो हो, कल्पनासम्म गर्न सकिन्छ । उनको जीवनको पहिलो कला प्रदर्शनीमा उनको अनुहारमा उदाएको मुस्कान मेरो मानसमा अझ पनि ताजा र जीवन्त छ । पुनश्चः (अचम्मको कुराः जीवनले रिसको झोंकमा प्रदशर्नी स्थलबाट मेरो कथा “सुतेको समुद्र’’माथि सिर्जना गरेको चित्र हटाए पनि सुरक्षित नै राखेका रहेछन् । आफ्नो सन्तान कसलाई प्यारो हुँदैन ? यही संस्मरण लेख्ने क्रममा मित्र कृष्ण धरावासीले त्यो चित्रको फोटो पठाइदिए । अहो, त्यो चित्र त हालै बनाइएको जस्तो जीवन्त छ । यसले जीवनको जीवन्ततालाई पुनः पुष्टि गर्यो र मैले तत्कालै अठोट गरें, साझा प्रकाशनबाट २०४० सालमा प्रकाशित “सुतेको समुद्र’’ बजारमा उपलब्ध छैन । यसको दोश्रो संस्करणको आवरण यही चित्रलाई नै राख्नेछु !) १९ सेप्टेम्वर २०१९, भर्जिनिया, अमेरिका #गोविन्द गिरी प्रेरणा
\xa0‘अनुहारमा भूगोल’ सङ्ग्रहभित्रका कविताहरूको अनुहार: प्रवेश: प्रा.योगेश खाती भारतीय सन्दर्भमा नेपाली कविताहरूको स्थान विशिष्ट छ। विभिन्न भाषिक समुदायहरुले साहित्यको माध्यमद्वारा अभिव्यक्ति दिने परम्परा गणतान्त्रिक देश भारतमा एउटा मनपर्दो विषय हो। विश्व साहित्यमा कविताले दिन सकेको अभिव्यक्ति एउटा ठूलो पक्षको रुपमा हेर्न सकिन्छ। यसै अभिव्यक्तिभित्र भारतीय नेपाली कविताहरूका प्रवृत्तिहरू पनि एक पछि अर्को गर्दै विविध छन्। भाषिक समुदायहरूमा देखिएका अभिव्यक्तिका विविध पक्षहरू वास्तवमा साहित्य निर्माणका उत्प्रेरक थोकहरू हुन्। यसै सन्दर्भमा भारतीय नेपाली साहित्यका कविता विधाभित्र पनि यस्ता पक्ष अनि उत्प्रेरक विषयहरू प्रसस्तै भेट्न सकिन्छ। भारतीय नेपाली साहित्यको विशेष साधना स्थल दार्जिलिङ, यहाँका कवि अनि कविताहरू यस विषयभित्र उल्लेखनीय भेटिन्छन्। भारतीय प्रसङ्गमा दार्जिलिङका कवि अनि कविताहरुले यहाँका माटो, माया, मन, मृगतृष्णा, जातीयता, चिनारी, आक्रोस आदि जस्ता कुराहरुलाई समेटेर भिन्नै साहित्यिक स्वाद प्रस्तुत गरिरहेका छुट्टै अनि विशिष्ट स्थिति छ। यसै सन्दर्भमा सुकराज दियाली पनि एक उद्यमी साहित्य सेवकको रुपमा देखा पर्छन्। दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहभित्र पनि यस्तै धेरै साहित्यिक अभिव्यक्तिका सम्भावनाहरू पाइने हुनाले उनका यस कविता सङ्ग्रहभित्र विचरण गर्ने यहाँ प्रयास गरिन्छ। कवि सुकराज दियाली अनि कविता सङ्ग्रह अनुहारमा भूगोल परिचय : दार्जिलिङ जिल्लाको सिलगडी महकुमा अन्तर्गत एउटा उच्चतर माध्यमिक पाठशालाका सह-शिक्षकका रुपमा कार्यरत सुकराज दियाली जीवनका घाम पानी सहँदै साहित्य सेवामा लागेका एक समर्पित सेवक, स्रष्टा र सिर्जनात्मक विचारका संयोजक हुन्। उनले कविता सङ्ग्रह, लेख सङ्ग्रह, समीक्षा सङ्ग्रह, व्यक्ति-कृति अध्ययन जस्ता विशेष कृतिहरू गर्दै अहिलेसम्म झन्डै एक दर्जन पुस्तक निकाली सकेका छन् भने झन्डै डेढ दर्जन जस्ता साहित्यिक एवम् विविध पत्रिकाहरू सम्पादन गरिसकेका छन्। भारतीय नेपाली साहित्य मूलतः साहित्य सेवा मात्र नभएर यत्रो बहुभाषिक देशभित्र हाम्रो निम्ति आत्म-प्रकाशनको ठूलो अवसर अनि प्रयास पनि हो। देशका विभिन्न समस्याहरू लगायत हाम्रा आफ्नै समस्याहरूको सामना र चुनौती गर्दै अघि बढ्न पर्ने स्थितिहरू यहाँ यथेष्ट छन्। यस्तो वस्तुस्थितिमा अनवरत् परिश्रम, जन-सम्पर्क, अध्ययन र केही गरूँ भन्ने औडाहा लिएर साहित्य सिर्जनामा लागेका सुकराज दियालीले धेरै अरु जस्तै आफैलाई पनि एक साहित्यकारका रुपमा स्थापना गरिसकेका छन्। वर्तमान समय प्रोपोगान्डा र मुद्दाको समय छ जहाँ साहित्य सिर्जना एउटा उर्वर शौकको रुपमा रहेको छ। यसैले साहित्यभित्र आफै साहित्यकार बनिने अनि आफ्ना कोठरीले साहित्यिक बनाइएका केही जन्मजात् आलोचकहरूका मुख सुकराज दियालीले आफ्ना कर्मद्वारा बन्द गरिदिएका छन्। हाल सुकराज दियाली अनवरत् रुपमा साहित्यको मलजल गर्न उद्यमी भइ, उद्देश्य सफा लिइ, भारतीय नेपाली साहित्य संसारमा सक्रिय देखिन्छन्। अनुहारमा भूगोल कविता सङ्ग्रह : अनुहारमा भूगोल कविता सङ्ग्रह सन् २०१४ सालमा नई इन्डिया पब्लिकेशन दुर्गागडी, सिलगडीबाट प्रकाशित उनको पछिल्लो कविता सङ्ग्रह हो। यस कविता सङ्ग्रहमा लामा छोटा गरेर जम्मा ६४ वटा कविताहरू रहेका छन्। यी कविताहरूमा सामाजिक समस्या, राजनैतिक समस्या, चिनारी समस्या, मानव सम्बन्ध विषयक उद्वेग, कल्पना र दर्शन भेटिन्छ भने धेरैपल्ट आफ्नै पीडा र व्यथा पक्षहरू पनि समेटिएको देखिन्छ। यस सङ्ग्रहभित्र उनका सबै भन्दा छोटा कविताहरू ‘ फेरि आशा’ , ‘ जीवन ’ आदि छन् भने सबै भन्दा लामो कविता ‘ सम्झनाको पोस्टर’ -लाई लिन सकिन्छ। अनुहारमा भूगोल – सङ्ग्रहभित्रका कविताहरूको अध्ययन: भारतीय नेपाली आधुनिक कविताको विकास परम्परा विषयमा एकरूपता भेटिन्न। विभिन्न विद्वानहरुले आआफ्नै विचार एवम् कालखण्ड तयार पारेका छन्। असीत राईले आफ्ना पुस्तक- भारतेली नेपाली साहित्यको इतिहास -भित्र आधुनिक भारतेली नेपाली कविता साहित्यको अवधि सन् १९४७ देखि सन् १९८७ सम्म देखाएका छन्। [1] अर्का विद्वान देवी पन्थीले आफ्ना पुस्तक भारतेली नेपाली साहित्य र संस्कृतिको झलक- मा सन् १९४७ देखि यताको समयलाई उल्लेख गरेका छन्। [2] अध्ययनको क्रममा भारतीय इतिहासभित्र सन् १९४७ साल महत्त्वपूर्ण काल मानिन्छ। यद्यपि वैधानिक रुपमा देश, सिङ्गो भारत हुन अघि पनि यहाँ नेपाली भाषामा साहित्य सिर्जना भइरहेका स्थितिहरू थिए। राजनैतिक रुपमा सिङ्गो राष्ट्र भारत बनिन अघिनै भारतीय लेखन परम्पराभित्र भारतीय साहित्य नामकरण भित्रिसकेको हो। स्वतन्त्र भारतको निर्माण पश्चात् सामाजिक, राजनैतिक, अर्थनैतिक, शैक्षिक अनि साहित्यिक क्षेत्रहरूमा धेरै परिवर्तन साथै दृष्टिकोणहरू देखा पर्दै आएका हुन्। यस अवधिपछि विविध साहित्यिक मोड अनि धारणाहरू देखा परे। साहित्यिक विचार, अभिव्यक्ति अनि प्रयोगमा बृहत्तर दिशाहरू निर्माण हुँदै गए। अतः यिनै बृहत्तर दिशाका धेरै साहित्यिक कार्यहरूको लहरमा राख्दै एक साहित्यिक अभिव्यक्तिकै रुपमा सुकराज दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहलाई पनि राखेर हेर्न सकिन्छ। यहाँ विचार, अभिव्यक्ति अनि दृष्टिकोण बृहत् अनि समसामयिक छन् जो नितान्त आधुनिक विमर्शका प्रकृति हुन्। यसर्थ, सुकराज दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहलाई भारतीय नेपाली आधुनिक कविताको परम्परामा एउटा उपलब्धिको रुपमा स्वीकार्दै यसभित्रका कविताहरूको अध्ययन यहाँ प्रस्तुत गरिन्छ। कवि सुकराज दियालीका कविता सङ्ग्रह अनुहारमा भूगोल -भित्र सङ्ग्रहित कविताहरूका भाषा सरल र सहज भेटिन्छ। शुरुदेखि अन्त्यसम्म नै पाठकलाई विषयसँग तानेर राख्न सक्ने उनको काव्यात्मक मोहनी धेरै हदसम्म सफल भेटिन्छ। एकाध केही सामान्य प्राविधिक दोषहरूबाहेक भाषा लयात्मक अनि सरल नै भेटिन्छ। यस सङ्ग्रहभित्र ‘ गुगलको संसारमा सुनमाया’ -बाट सुरु भएको कविता अन्त्यमा ‘ क्रान्ति’ कवितामा पुगेर टुङ्गिएको छ। समग्रमा हेर्दा उनका कविताहरूभित्र देशका सन्दर्भहरूजडित प्रसस्त भावाभिव्यक्ति भेटिन्छ। उनका कविताहरूमा जातीय चिनारी, राष्ट्रियता, कल्पना, चियाबारीको मर्म, राजनीति, सामाजिक-राजनैतिक स्थितिहरूप्रति प्रहार, क्रोध-क्षोभ, जीवनका कुण्ठाहरू, आशावादी सोँच, यथार्थ चित्रण, स्थानीयताको स्वर, व्यङ्ग्य जस्ता पक्षहरू यथेष्ट पाइन्छन्। उनका कविताले आधुनिकता अनि आधुनिक शिक्षा प्रणाली, चिनारीको सङ्घर्ष, क्षेत्रीयता, राष्ट्रियता, देशभक्ति, विविध फराकिलो दृष्टिकोण अनि विचार, सामाजिक विचलनप्रति व्यङ्ग्य, व्यवस्थाप्रति क्रोध अनि क्षोभ इत्यादिलाई सम्बोधन गरेको देख्न सकिन्छ। जस्तै- देशले अनुहार खोज्छ, मान्छेलाई होइन, देशले पाखुरा रोज्छ, भाग्यलाई होइन । ( देशको अनुहार ) भारतीय राजनैतिक इतिहासमा नेपाली भाषी जनमानसको सयवर्ष भन्दा लामो सङ्घर्षको तीतो परिणति नै भारतीय संविधानभित्र एउटा छुट्टै घर वा राज्य हो। यसै मुद्दाको वरिपरी दार्जिलिङको राजनीति परिक्रमा गर्दछ। यसै मुद्दाको भावनाहरुलाई लिएर विचार, सोँच अनि अभिव्यक्ति निर्मित हुन्छन्। यो क्रम जारी छ, यथावत् छ। कविले भारतीय मूलधारामा बग्न चाहने एक विशेष भाषिक अनि जातीय समूहका दीर्घकालीन सङ्घर्षको निचोड यसरी व्यक्त गरेका छन्। जस्तै- आफ्नो देशको मानचित्रभित्र एउटा घर नहुनु चेप्टिएर बाँचिरहनु पर्ने थिचिएर हाँसिरहनु पर्ने (आफ्नो घर) विषय साधारण, आफ्नो गाउँ –घर र चियाबारी । उनलाई यी सन्दर्भप्रतिका माया, विरह, मिलन बिछोड जस्ता कुराहरूआफ्नो लाग्दछ। कतिपय कविताहरू जस्तै-‘ चियाबारीभित्र मेरो आमा’, ‘हामी बाँचिरहेछौँ’, ‘परिवर्तन’, ‘तिम्रो आकाशमुनि मेरो गाउँ भेटिन ’ आदिभित्र पनि यी विषयहरू पाउन सकिन्छ। उनको यस्तै एउटा कविताभित्र यस्तो भावोद्गार देखिन्छ। जस्तै- सम्झनाको एउटा टालो टाली राखेको छ, साङ्गेटारमा मैले मायाहरू पनि छाडराखेको छु त्यहींको हरियो धुप्पीका रुखहरूमा पल्लो भित्ताको चाँप र गुँरासका फूलहरूमा । जीवनका विविध परिस्थिति र समयमा मानिस उत्साहित र हतास बन्छ। तर कवि सुकराज आफ्ना अभिव्यक्तिमा स्पष्ट छन्, धीर हुँदै आफ्ना विचार यसरी राख्दछन् – हावा चलिरहन्छ नथामीकन समय हिँ\u200cडिरहन्छ नथामीकन बस् यति बेला सम्झिनु छ पृथ्वीको गतिलाई । भारतीय नेपाली साहित्य सिर्जनको एउटा ठूलो पाटा दार्जिलिङको चियाबारी र यसका जनजीवन हुन्। यसभित्र समाज, राजनीति, अर्थनीति, शैक्षिक वातावरण, सङ्घर्ष आदि जस्ता भरपूर साहित्य लेखनले समेटेका कुराहरू भेटिन्छन्। साहित्यले यिनै कुराहरुलाई समेटेर अघि बढ्दा समाजकै समस्या अनि समाधानका बाटामा जनमानसका अभिव्यक्ति पनि स्वत: बढेको भेटिन्छ। उनका कविताले यस्तै प्रसङ्गलाई तानेको छ । जस्तै- सुनको फूल टिप्ने-सुनमायाको माया र छायाँ गहिरो पोखरीको पानीमा टल्किंदैछ । त्यतिबेला जून हाँसेन बादलभित्र जून हाँसेन बादलभित्र लुकाचोरी खेल्ने घामले सुनमायाको जिन्दगानी देखेन …। (गुगलको संसारमा सुनमाया ) चियाबारी अङ्ग्रेजले रोपेर गए। विदेशी मालिकहरुले यो चियाबारी स्वदेशी मालिकहरूको हातमा छोडेर गए। तथापि, चियाबारी जन-जीवनभित्र असन्तुष्टि, अभाव अनि अन्याय, धेरै बुझ्न सकिने तर थोरै देख्न सकिने यथार्थ भएर रह्यो। युग-युगदेखि चियाबारीको जन-जीवनभित्र देखिएको सपना, वास्तविक जीवनभित्रका मर्म, व्यथा आदि चियाबारीसँगै रहेको छ। राजनैतिक सत्ता र परिवर्तनको रहर समाजमा पटकपटक सुन्नमा आए तापनि चियाबारीमा यसको प्रभाव कुनै ठोस् हुण्डरी भएर आएको भेटिन्न। बरू चियाबारीभित्र अभाव, अन्याय, असमानता जस्ता स्थितिका हावा हुण्डरी चलिनैरहेको वास्तविक स्थितिहरू छन् अनि राजनीति र सामाजिक व्यवस्थाले दिन-रात एउटा सङ्घर्षको ढोकामा यसलाई उभ्याएको भेटिन्छ। कवि दियालीका अभिव्यक्तिले यी कुराहरुलाई बुझेर अनि देखेर आफ्ना अभिव्यक्तिहरूमा अँटाएका छन्, दह्रो भएर उनले बोलेका छन्। जस्तै- सुनमायाको यो जिन्दगानी गम्बुट र टोकरी घुम र बर्साती भित्र पार्सल भएको छ सुनमायाको रगत र पसिना गुगलभित्र रातो रङ्ग चियासँग खाँदिएको छ । (गुगलको संसारमा सुनमाया ) अर्को – हरियो चियाका वोटहरुले फुलेको माया कसले पो बिर्सन्छ र ? डाँडा-काँडाको सम्झना खोलानालाको गीत रमाइलो बनी मनमा छाउँदा कठै ! यो पीर कसले कहन्छ र ! (चियाबारीभित्र मेरी आमा) साहित्यिक अभिव्यक्तिको मिठासपूर्ण पक्ष नै कविताभित्र प्रयुक्त बिम्ब अनि प्रतीकहरूको सफल समायोजन हो। कविले गाउँका समस्या अनि युगौंदेखि आइरहने सम्वृद्धिको प्रश्नलाई घामको प्रतीकात्मक प्रसङ्ग झिकेर यसरी सम्बोधन गर्ने प्रयास गरेका छन् । जस्तै- घाम लाग्छ कि लाग्दैन गाउँले घाम सोचिरहन्छ …. घाम पनि कति लुकिरहन सकेको … गाउँ लाई धुम्मो बादलले कालो कुइरोले ढाकिराख्छ । … (गाउँको भूगोलमा घाम ) कविले समसामयिक विषयभित्र देखिएको बढ्दो शैक्षिक प्रतियोगिता अनि यसका अन्य पक्षलाई यसरी स्पर्श गरेका छन् । जस्तै- ब्यागभरि भारी बोकेर अक्षर सिक्न जाँदैछ ! मेरो नानी, …. नानीलाई थाहा छैन अक्षरहरू बोल्छन् भनेर अक्षरहरू जोडिएर भाग्य बनिन्छ भनेर । अक्षरहरू घटेर भाग्य तुयाइन्छ भनेर । (मेरो नानीले अक्षर सिक्दैछ) मानव समाजभित्र आन्दोलन एउटा समाधान पहलको माध्यम हो। समाज विज्ञानभित्र आन्दोलन, क्रान्ति, सङ्ग्राम मानव प्रकृतिको अभिव्यक्ति हो। तर यस्ता सामूहिक प्रयासभित्र व्यक्तिगत स्वार्थ र उद्देश्य भित्रिएपछि यसको रुप पनि मन नपर्ने हुन्छ। यसको चर्चा कविले यसरी गरेका छन् – बुझ्दिन आजकल, गाउँको आन्दोलन मान्छेको भीडले पसिना बोकेर हिँडेको रङ्ग –विरङ्गका छालाहरूमा कोत्रा परेको विचारहरू साटेर पर्खिरहन्छ एउटा ठूलो जनसभा । (आन्दोलन) आँखा अघिको समाजमा भोलिको जीवन जीउन कस्तो भविष्य चाहिन्छ? कविले आज देखेका समयलाई भोलिको दिनमा सामना गर्न आफ्नो सन्तान कस्तो चाहिन्छ भन्ने बारेमा कविको इच्छा यस्तो भेटिन्छ- तर्क होइन वितर्क गर्न सकोस् भूगोलको मानचित्रभित्र हामीलाई खोज्न सकोस् हामीलाई सोध्न सकोस् । (छोरो) कवि सुकराजका कविताहरूभित्र बारम्बार आइबस्ने नामहरू सुनमाया, रामबहादुर, बुड़ो रामबहादुर आदि हुन्। स्थानीय मानिसहरूका नामसँगै उनीहरूका समस्या र पीडासँग कवि परिचित छन्। कविले यस कुरामाथि समवेदना राख्दछन्। जस्तै- फिका चियासित आफ्नै विवशता पिउँदै। तिर्खा मेटाउँदै छ आज थाकेको छ- रामबहादुर एउटा ठूलो बोझ बोकेर … । (रामबहादुर) पहाड समतलमा रहेका नेपाली भाषी समूहले आ-आफ्नै समस्या र पीडाहरू महसुस गर्दछन् तर अन्तर्समूहबीच देखापरेका आपसी मतभेद अनि अफ्ठ्यारा पक्षहरू कहिल्ले नसकिने तथ्य पनि हो। आफ्नो जनसङ्ख्येकी परिवर्तन र वर्तमान समयमा यसको राजनैतिक चाप अनि विवशताप्रति कवि चिन्तित भेटिन्छन्। जस्तै- यसरी हाम्रा खून चुस्नेहरू माथि पनि रहेछन् तल पनि रहेछन् टोकाईदेखि बाँच्न हामी सकेनौं । (शोषण) कवि सुकराजका कवितामा देख्न सकिने सबै भन्दा दह्रो पक्ष नै देशप्रति भएको कविको आस्था, विश्वास अनि समर्पण हो। उनले देशको सामु आफुले सोंच्न, मान्न अनि गर्न सक्ने सबै भन्दा ठूलो त्याग र तपस्या नै हो देश प्रतिको समर्पण मानेका छन्। देशको महानता अनि ठूलो छहारीमा उनलाई विश्वास लाग्छ साथै आफ्ना राष्ट्रवादी विचार पनि यसरी व्यक्त गरिएको भेटिन्छ । जस्तै- देशले अनुहार खोज्छ मान्छेलाई होइन देशले पाखुरा रोज्छ भाग्यलाई होइन। उनका कविता सङ्ग्रह अनुहारमा भूगोल -भित्रका केही विषयहरू र कविताहरू यसरी पनि राखेर हेर्न सकिन्छ। कविताभित्रका केही विषयहरु देश सन्दर्भका कविताहरु गाउँको मोह चियाबारी विशेष चिनारी प्रसङ्ग समसामयिक मुद्दा व्यङ्ग्य यथार्थ सामाजिक कविताहरू देश, देशभित्र देश, मेरो देश आदि । गुगलको संसारमा सुनमाया, गाउँको भूगोलमा घाम, हाम्रो गाउँ, घर, आफ्नो घर, त्यो गाउँ आदि । चियाबारीभित्र मेरी आमा, गुगलको संसारमा सुनमाया, रामबहादुर, बुढो रामबहादुर-१, बुढो रामबहादुर-२ आदि । मधेशतिर, सोँच, हामी बाँचिरहन्छौँ, झण्डा, आरुको फूल, शोषण आदि । रङ्गिएको इस्केच, स्वार्थी, विश्वास, फेरि आशा, तिमी, जीवन चित्र आदि । शोषण, कोर्न नसकेको चित्र, युद्ध कहिले अन्तिम हुँदैन, जिन्दगी आदि । मान्छे, छोरो, आन्दोलन, टेन्सन, मेरो नानी स्कूल जाँदैछ, जीवन समारोहमा बुढा, ह्यापी बर्थ डे आदि । सम्झनाको पोस्टर, भाका, सिपाही, फ्रेमभित्रका नक्शाहरूआदि । निष्कर्ष: भारतीय नेपाली आधुनिक कविताले आफ्नो विषयको परिधि व्यापक अनि फराकिलो बनाएर अघि बढीरहेको स्थितिहरू अनि विषय र अभिव्यक्तिका बेजोड प्रकाशनबीच कवि सुकराज दियालीका कविताहरू नरम भावका छन्, पाठकका मनमा बस्न सक्ने सौम्य प्रकारका छन्। विचार, प्रस्तुति र अभिव्यक्तिका नयाँपनमा उत्ताउलोपन देखाउने महत्त्वकाङ्क्षी विचारले उनी मातिएका छैनन्। कविता साधारण अभिव्यक्तिमा नै मीठो भेटिन्छ। विषयलाई बुझाउनु अनि समस्यालाई सही हिर्काउनु, कविताको साधारण रुप र प्रस्तुतिले प्रभावकारी बनाउँछ। यद्यपि क्लिष्ट, प्रयोगवादी र महत्त्वकाङ्क्षी कविताहरूमा यस्तो अवसर कम नै हुन्छ, कारण सर्जक र पाठकबीचको सहजता नै सम्प्रेषण हो अनि सम्प्रेषणद्वारा नै पाठकभित्र प्रभाव निर्माण हुन्छ। यसैले सम्प्रेषण सरल राखेर पाठकभित्र प्रभाव छोड्न सक्ने कविहरुमध्ये कवि सुकराज दियाली पनि एक हुन्। विषयको व्यापकता र महत्त्वकाङ्क्षी उडानबाट अनियन्त्रित बनेर सिर्जना र पाठकको सम्मिलन असम्भव बनाउने स्वेच्छाधारी स्रष्टा बन्ने सोँचदेखि उनी टाडा देखिन्छन्। उनका यस सङ्ग्रहभित्र रहेका कविताहरुले वैयक्तिक, सामुदायिक अनि फराकिलो दृष्टिकोणको परिधिभित्र नै रहेर पाठकलाई स्पर्श गरेका छन्। उनका कविता लेखन अझ खारिएर अघि बढ्दै जाने सम्भावना प्रशस्तै देखिन्छ साथै भारतीय नेपाली साहित्य जगतमा एक इमान्दार साहित्य सर्जकका रुपमा कवि दियालीले आफ्नो यात्रा कायम राख्नेछन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ। [1] राई, असीत, सन् २००४, भारतीय नेपाली साहित्यको इतिहास, दार्जिलिङ : साझा पुस्तक प्रकाशन, पृष्ठ-२१-२२ [2] पन्थी, देवी, सन् २००४, भारतीय नेपाली साहित्य र संस्कृतिको झलक, काठमाडौँ: आँखा स्वयम् सेवी प्रकाशन सङ्घ, पृष्ठ- ५६-६६ #प्रा.योगेश खाती
भक्तबहादुरका चित्रहरू: हिउँको सिरकभित्र सुतिरहेको हिमाल सबेरै घामको किरणसँगै उठ्दछ । र, घामसित घामकै आँगनमा खेलिरहेको हिमाललाई हरबिहान उसले बार्दलीबाट हेरिरहेको हुन्छ । यसरी नै हिमालभन्दा वारिवारि देखिने पहाडहरू, रूखजंगल र जंगलसित गीत गाउँदै बगिरहेको नदीलाई र कल्पना गर्छ नदीको पानीमा बगिरहेको आफ्नै जिन्दगीलाई । “म पनि दूर पहराबाट रसाएर आएको हुँ ! कहीँ पैतालामुनि टेकिएर, कहीँ पैतालाहरूलाई पछ्याउँदै ।” यत्तिकैमा स्मरण गर्छ उसले, अग्लो भीरबाट हाम्फालेको र भीरको फेदीमा पछारिएको कुरा । कहीँ समतल मैदानमा सललल बगिरहेको, कहीँ बालुवैबालुवामा भासिएको कुरा । अहो, यसरी सिर्जनाको नदीमा बगिरहेको पनि झन्डै तीन दसक पो भैसकेको रहेछ । ठूलो जंगलमा रूखजस्तो ठूलै रूख मात्र देखिन्छ । छोटा थुम्काहरू, थुम्काहरूमै हराउँछन् । कुनै अग्लो पहाड, मात्र पहाडजस्तो देखिन्छ । जस्तो मानिसहरूको भीडहरूमा पनि मानिसजस्तो प्रष्ट अनुहार चिनिनलाई भीडभन्दा फरक हुनैपर्छ, यही बुझेर ऊ भीडभन्दा फरक बन्न चाहन्छ । उसलाई थाहा छ, जतिसुकै भीडमा होस् शशि शाहका कलाहरू भीडमै प्रष्ट चिनिन्छ । जतिसुकै भीडमा होस् कृष्ण मानन्धर, लक्ष्मण श्रेष्ठ, वत्सगोपाल या रमेश खनालहरूका कलाहरूले तिनीहरुको परिचय दिइरहेको हुन्छ । ऊ यही कल्पना गरिरहन्छ र आफ्ना सिर्जनाहरूमा कसरी फरकपना दिन सकिन्छ भनेर लागिरहन्छ । उसका सिर्जनाहरूले माटोको सुवास बोल्छन् । धर्म-संस्कृति र गाउँले जीवनको परिभाषा बोल्छन् । कुनै अर्ध अमूर्तजस्तो क्यानभासमा आफ्ना सिर्जनाहरूलाई आफ्नै ढंगले प्रस्तुत गर्दछ उसले । यही भएर उसको पेन्टिङ उसकै जस्तो छ । ऊ अर्थात्, भक्तबहादुर थापा मगर । मलेसियाको कुलाङ भन्ने ठाउँमा जन्मेको हो भक्तबहादुर तर ऊ मलेसियन नागरिक भने होइन । उसको बाबा तनहुँ जिल्लाबाट ब्रिटिस आर्मी भएर सपरिवार मलेसिया रहेका बेला भक्तबहादुरको जन्म भएको रहेछ । पछि ऊ बच्चै हुँदै बुबा रिटायर्ड भएछन् । सपरिवार नेपाल फर्केपछि उसको कलायात्रा आफ्नै गाउँठाउँबाटै शुरु हुन्छ । त्यसो त भक्तबहादुरको बाबा पनि चित्रकार रहेछन् । पल्टनमा उनले बेलाबखत साहेबहरूका चित्र बनाउने रहेछन् । त्यो कुरा भक्तबहादुरलाई थाहा थियो । त्यसैले भक्तबहादुरले प्रारम्भिक कला आफ्नै बाबासितै सिकेछन् । सात कक्षा पास नगरून्जेल जति सिके उनले उनकै बुबासित सिके । त्यसपछि माध्यमिक विद्यालय पढ्न गाउँदेखि टाढा दमौली माध्यमिक विद्यालय पुग्नुपर्ने रहेछ । माध्यमिक शिक्षा पढ्दैगर्दा उनको बसाइँ उतै बजारतिर भयो तर त्यहाँ चित्रकला पढाउने कुनै शिक्षकहरू थिएनन् । आफैँ अभ्यास गरिरहन्थे भक्तबहादुर । उनलाई अझै याद छ, नौ-दस पढ्दाताका बालदिवसको उपलक्ष्यमा सरकारले अधिराज्यव्यापी चित्रकला प्रतियोगिताको आयोजना गरेको रहेछ । जसमा उनले सान्त्वना पुरस्कार पाएछन् । यद्यपि, भक्तबहादुर भन्छन्, ” उतिबेला मैले विद्यालय स्तरमा थुप्रै पटक चित्रकला प्रतियोगिताहरूमा भाग लिएँ । पुरस्कारहरू पनि पाएँ । यद्यपि, अहिले मलाई लाग्छ प्रतिस्पर्धा आफ्नै मिहिनेतसँग गर्नुपर्छ । आफूले आफैँलाई मूल्यांकन गरेर आफैँसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नु नै कलाकारको असली परीक्षा हो भन्ठान्छु ।” हाइस्कूल पास गरेपछि ललितकलामा चित्रकला पढ्न पुगेका भक्तबहादुर उच्च अध्ययन पूरा नगरी बीचमै छाडिदिएछन् तर स्वअध्ययन गर्दै चित्रहरू बनाउन छाडेनछन् । चित्र बिक्री गर्ने क्रममा ठमेलका गल्लीहरू, पाटन-भक्तपुरका चोकहरू सयौंपटक ओहोरदोहोर गरे, कति जुत्ता फटाले, उनैलाई थाहा छैन । त्यही बखत थुप्रै कलाकार साथीहरूसित उनको संगत बढ्यो । चित्रको लत लाग्यो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा उनले एकल र सामूहिक गरेर थुप्रै पटक चित्रकला प्रदर्शनी पनि गरिसकेका छन् । चित्रकर्ममै समर्पित भएर उनले काठमाडौँमा सपरिवार सम्पन्न जीवन बाँचिरहेका छन् । अब हेरौं उनका केही चित्रकलाः #भक्तबहादुर थापा
छोरी जन्मदा म किन रोएँ ?: डा. वीरेन्द्र केसी सबै भाइ अट्ने बाबाको आँगनमा अट्न नसक्ने म जस्तै मेरी छोरी जब जन्मिइन् मैले नारी हुनुकै कारण सहनु पर्ने हर हेय र हीनता सम्झेँ मेरो भर्खरको प्रशव पीडा सम्झेँ हर महिना बेहोर्नु पर्ने रजश्वला सम्झेँ असुरक्षित ती सहर, समाज र संस्कार सम्झेँ असन्तुलित ती विधि, विधान र संविधान सम्झेँ पुरुष भन्दा तुलनात्मक रुपले कमजोर मेरा शरीरका अंग सम्झेँ एक दिन माइती घर छोड्नै पर्ने रीति र तिथि सम्झेँ आफ्नै बाबाको घर आफ्नो नहुने आफ्नै आमाको थर आफ्नो नहुने यो छोरी जातिको नियति जन्मेको घरमा मर्न नहुने जन्म दिने आमालाई रुवाउँदै परको पुरुषको वर भएर अञ्जान सहरको अनिश्चित गोरेटोमा अनिच्छुक पाइला टेक्नु पर्ने त्यसैले आफ्नो पुरुष बाबासँग मात्र अनुहार मिल्ने म जस्तै मेरी छोरी जब जन्मिइन् मैले उनीतिर एक टकले हेरिरहेँ नारी हुनुकै कारण उनले गुज्रनु पर्ने हर कठिनाई, एक एक सम्झिरहेँ अनि आफैँलाई सम्हाल्न नसकी अनन्त रोइरहेँ । डा. वीरेन्द्र केसी दाङ हालः न्युजिल्यान्ड
तिमी डराउनुपर्छ: एनबी घिमिरे तिमी कविसँग डराउनुपर्छ किनकि कवि मान्छे हो। तिमी कवितासँग डराउनुपर्छ किनकि कविता मान्छेको आवाज हो। कविको कवितामा जब आदिवासी जङ्गलको जैविक गन्ध आउन थाल्छ, तिमी डराउनुपर्छ उसको कवितामा जब खडेरी लागेको भुइँले पनि विद्रोहको गीत गाउन थाल्छ, तिमी डराउनुपर्छ। तिमी डराउनुपर्छ, जब कसैले जीवनको गतिशीलतालाई लेख्न थाल्छ तिमी डराउनुपर्छ, जब उसले तिम्रो ‘स्टिल प्लान्ट’मा पनि मान्छेको मुटु खोज्न थाल्छ। तिम्रो मेसिन सपनाको निम्ति जब कुनै आदिम बस्ती युगौं युगदेखि बस्दै आएको आफ्नो माटोबाट रगतमा लत्पत्तिएर विस्थापित बन्नुपर्छ र कविले लेख्छ त्यो घटनालाई, तिमी डराउनुपर्छ। तिमी डराउनुपर्छ, जब कविले दलित र शोषितसँग सम्बन्ध गास्नु थाल्छ तिमी डराउनुपर्छ, जब उसले कवितासँगै पोस्टर पनि टाँस्नु थाल्छ तिमी डराउनुपर्छ, जब कविले कविताबाट मान्छेको निम्ति लड्न थाल्छ तिमी डराउनुपर्छ, जब उसले तिम्रो प्रत्येक पाइलामा प्रश्न गर्न थाल्छ । भ्रममा नपर, तिमी न त ‘वरवर’लाई यातना दिन सक्छौ न त ‘वरवर’लाई मार्नै सक्छौ तिमीले थुनेको व्यक्ति ‘वरवर’ होइन ऊ त तिमीले सोच्नु अघि नै बस्ती-बस्तीमा, जङ्गल जङ्गलमा, खेत-बारी सबैतिर जीवनको गीत बनेर बज्नु थालिसकेको छ। जीवनको गीतलाई कुनै अत्याधुनिक हतियारले पनि रोक्न सक्दैन जबसम्म एकजना मान्छे पनि जीवित रहन्छ यो बजिरहन्छ। तिमी कलमलाई भाँच्न सक्छौ तर कविलाई मार्न सक्दैनौ किनकि कवि मान्छे हो र तिम्रोमा नभएको संवेदनाको नदी चौबीसै घण्टा उसको छातीमा बग्छ। ******* भारतीय वाम आन्दोलनका प्रखर व्यक्तित्व, अभियन्ता, कवि तथा शिक्षकको परिचय बोकेका ८० वर्षीय वरवर राव पछिल्लो 22 महिनादेखि भारतीय जेलमा छन् । एल्गार परिषद मामलाको आरोपमा कवि राव गिरफ्तार भएका हुन्। जेलमा उनलाई कोभिड १९ रोग लाग्यो। उनी यतिखेर सिकिस्त बिरामी छन् भन्ने समाचारहरू हामीले पढ्न पाइरहेका छौँ। मेडिकल आधारमा उनलाई जमानतको माग उठिरहेको बेला एनआइएले लगातार यसको विरोध गरिरहेको समाचारहरू सार्वजनिक भइरहेका छन्। उनै विद्रोही कवि वरवर रावलाई समर्पित यो कविता। #एनबी घिमिरे #वरवर राव
बाबु साइँलाका कलाकारिताः झरीको सौन्दर्य: कलाक्षेत्रमा सानैदेखिको रूचि थियो । घरपारि मनास्लु हिमाल ऐनाजस्तै छर्लँग टल्किन्थ्यो । त्यही हिमाललाई मुहान बनाएर बग्ने नागबेली नादी खोला अत्यन्त सुन्दर र मनोरम लाग्दथ्यो । यस्तै बिछट्ट प्रकृतिको आँचलमा हुर्के बढेर होला म सानैदेखि रङहरूसंग खेल्न रूचाउदथेँ । समयसँगै रूची बिस्तारै पेशामा परिवर्तन हुन थाल्यो । अचेल कला मेरो बाँच्ने आधार पनि बनेको छ । समय र मुड अनुसार मागबाहेक आफ्नो रूची लागेको विषयवस्तुमाथि पनि ब्रस खेलाउने गर्दछु । जुन कलाप्रेमीहरूले मन पराएर किनेर लैजाने पनि गरेका छन् । अहिलेसम्म तैल, एक्रेलिक र जलरङ माध्यममा थुप्रै कलाहरू सिर्जना गरिसकेको छु । अहिले साहित्यपोस्ट मा आएका जलरङ माध्यमका कलाहरू हुन् । हरियो साउन थिममा आधरित यी चित्रहरू हालसालै बनाइएका कलाअन्तर्गत पर्दछन् । बर्षात् र झरी युवापुस्तालाई मन पर्ने मौसम हो । अझ भनौँ हरियो साउनलार्इ धेरैले प्रेमको मौसमको रूपमा पनि व्याख्या गरेको पाइन्छ । झरीमा रूझ्नुको बेग्लै मज्जा छ । बर्षात् र झरीको बारे अनेकन् कविता र गीतहरू लेखिएका र गाइएका छन् । यसपाली मेरो कलामा पनि केही रोमान्चक जोडी र कर्कलाको पातमा अडिएको झरीको थोपा, झरी थामिएपछि चराचुरूंगीको भावभंगीहरू उतार्ने प्रयास गरेको छु । थोपा थोपा, बूंद बूंद, कण कण बाछिटाहरूमा झरीको सौन्दर्य देख्ने पारखीहरूलाई हरियो साउनको शुभकामना !!! भीम सुब्बा तामा ङ, बाबु साइँला #बाबु साइँला
भाइरल बनेकी न्यायकी देवी: हालैका दिनमा दुइ बेग्लाबेग्लै हत्या प्रकरणमा नेपालको न्यायपालिकाद्वारा गरिएका निर्णयमाथि सर्वसाधारणमा आक्रोश मात्र होइन, सिर्जनात्मकता पनि फक्रेर आएकाे छ । त्यसैले त सामाजिक सञ्जालमा न्यायालयको विकृति दर्शाउने चित्रकला अचानक भाइरल हुन थालेका छन् । यहाँ हामीले त्यस्तै केही भाइरल न्यायकी देवीका मुद्रा प्रस्तुत गरेका छाैँ । यी सामग्री हामीले सामाजिक सञ्जालबाट लिएका हाैँ ।
जाजरकोटदेखि रोल्पासम्मः कचहरी नाटक यात्रा: मोहनप्रकाश भर्खरै धान काटेको खेतको गह्रामा कचहरी नाटक सिध्याएर जाजरकोटको मोर्कबजार छोड्न लाग्दा स्थानीयवासीहरू मिलेर हाम्रो बिदाइमा जुटेका छन् । वडाअध्यक्ष मानबहादुर पुन हामीलाई अबिरको टीका लगाइदिंदै हात–हातमा फूलका थुङ्गा राखिदिन्छन् । हामी सम्मान पाएर गद्गद् हुँदै बस चढ्छौं । स्थानीयको आत्मियता हृदयभरि साँचेर नाटक मञ्चनका लागि पुनः जाजरकोटकै ऐरेलीतर्फ अगि बढ्छौं । बाटोमा ४/५ घरहरू भएको एउटा सानो बस्ती भेटिन्छ । गाउँलेहरू आ–आफ्नो कर्ममा जुटेका देखिन्छन् । कोही धान छाँट्न व्यस्त छन्, कोही पराल ओसार्न । तल खोला बगेको छ । बारीमा हरियै सागसब्जी देखिन्छन् । गाईबाख्राहरू बगरमा रमाउँदै छन् । “मेरो ११ वर्षमा पहिलो बिहा भएको । त्यो बिहा टुटेर फेरि १८ वर्षमा दोस्रो बिहा गर्नुपर्यो । धेरै दुःख खेप्नु पर्यो । सुखमा त धेरै आउँछन् । दुःख पर्दा कोही आउँदैनन्, तर्किएर भाग्छन् ।” जाजरकोटको ऐरेलीमा नाटकपछि कस्तुरा थापाले व्यक्त गरेका अभिव्यक्ति हुन् यी । हाम्रो नाटकमा कल्पनाको भूमिकामा उनले आएर अभिनय पनि गरिन् । नाटकका ससुरा मनबहादुरलाई उनले एकपछि अर्को प्रश्नहरू गरिन्, “म घरबाट किन निस्किने ? मेरो के गल्ती छ ? मेरो माइतबाट फोन आएको हुन सक्छ । जो पायो त्योसँग फोनमा कुरा गरी भनेर मलाई शंका मात्र गर्ने ? तपाईंको छोराले विदेशबाट शंका गरेर फोन गर्यो भनेर हुन्छ ? यो मेरो पनि घर हो । म निस्किन्नँ ।” कस्तुराका प्रश्नहरू सुनेर नाटकका ससुरा मनबहादुर खिस्रिक्क परे । दर्शकहरूले थप्पडी बजाए । कानुन व्यवसायी इमान सुनारले महिला हिंसा, बालविवाह र जुवातास खेल्दा हुने कानुनी सजाय र जरिवानाका बारेमा स्पष्ट पारे । प्रहरी नायब उपरीक्षक बिबी सुनारले गाउँघरमा यस्तो कार्य गर्नेलाई नछोड्ने प्रतिबद्धता जाहेर गरे । हामीले हाम्रो नाटकले स्थानीयहरूमा प्रभाव पारेको महसूस गर्यौं । र, नाटक समापनसँगै लाग्यौं हामी जाजरकोटको खलंगा बजारतर्फ । खलंगाा बजारमा पनि नाटकले सोचेभन्दा राम्रै छाप छोडेको अनुभूत गर्यौं हामीले । त्यसपछिको प्रस्तुतिका लागि बसमा जाजरकोटकै उत्तरी भेग रिम्ना पुग्दा करिब दिउँसोको २ बजेको थियो । रिम्नामा तिहारको मेला भर्नेहरूको घुइँचो थियो । भेरी नदीपारि पश्चिम रुकुम पर्थ्यो । वारिपट्टिको रिम्ना बजार जाजरकोटमा पर्थ्यो । नाटक समापनसँगै हामी पश्चिम रुकुम टेक्न दौडँदै झोलुङ्गे पुलतर्फ लाग्यौं । र, पश्चिम रुकुम टेकेर पक्की पुलबाट पुनः जाजरकोट छिर्यौं । भेरी नदीसँगै उत्तरतर्फ देखिने हिमालका दृश्यले सबैलाई लोभ्यायो । जति–जति उत्तरतर्फ लाग्यो, झन्–झन् सुन्दरता थपिएझैं लाग्थ्यो । प्राकृतिक दृश्यपानपछि जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक श्यामबहादुर खत्री सहितको प्रहरी टोलीसँगै बसेर सबैले रिम्नाको चिया पियौं । प्रनाउ श्यामबहादुर खत्री हामीसँगै हाम्रो बसमा नाटकमा सहभागी हुन रिम्ना आएका थिए । र, पुनः हामीसँगै खलंगा फर्कियौं । भोलिपल्ट बिहान हामी बर्दियातर्फ लाग्दै थियौं । डाँडाको टुप्पोमा अवस्थित खलंगा बजारबाट तल क्षितिजसम्म बादलले ढाकेको थियो । यो दृश्य यात्राको अर्को अविस्मरणीय तस्बिर बनेर छातिमा टाँसिइरह्यो । बिहान छेडा बजारमा पुगेर चिया, खाजा खाँदा घडीले ९ बजाएको थियो । दिउँसो सुर्खेतको मेहलकुनामा खाना खाने अवसर मिल्यो । खानापछि हामी बर्दियातर्फ लाग्यौं । हाम्रो बसको एक हप्ताको ‘रुट पर्मिट’ म्याद सिद्धिएको थियो । नेपालगञ्जमा झरेर ‘रुट पर्मिट’ लिंदा घडीले ४ बजाएको थियो । हाम्रो यात्राकी सहयात्री बालिका चौधरीले नेपालगञ्जमै थारु खाजा सेट फोनबाटै अर्डर गरिसकेकी थिइन् । सिद्रामाछाको अचारसहित स्थानीय थारु परिकार ‘ढिक्री’ थपी-थपी खायौं हामीले । उब्रिएको थोरै समयलाई सदुपयोग गर्दै हाम्रो नाटकका ससुरा बा अर्थात मानहाङ लावतीले मोबाइलमा खिचेर भिडियो तयार गरे । एकछिन राम्रै ठट्टा चल्यो । हामीले उक्त भिडियोमा अभिनय गर्दैगर्दा बाँकी साथीहरू पेट मिचिमिची हाँस्दै थिए । होटलकी बहिनी लजाउँदै मुस्कुराउँदै थिइन् । एकैछिनको ठट्टाले पनि शरीरलाई हलुको बनाएको महसूस गर्दै पुनः हामी लाग्यौं गुलरियातर्फ । गुलरिया पुग्दा झमक्क रात परेको थियो । भोलिपल्टको नाट्य प्रस्तुतिमा वडाध्यक्ष गीता बस्नेतले नाटकको बहसमा उपस्थित सबैलाई चित्तबुझ्दो जवाफ दिइन् । नाटकमा आफैं अभिनय गर्दै मनबहादुरलाई ठेगान लगाइन् । हैकमवादी स्वभावका मनबहादुर पहिलोचोटि अक्क न बक्क परे । दर्शकले खुशीले ताली पिटे । खाना खाने बेलामा यहाँ एउटा समस्या झेल्नुपर्यो । मैले हामी बसेकै होटलमा बिहान ११ बजेका लागि हाम्रो टोलीलाई खाना अर्डर गरेर आएको थिएँ । बालिकाजीले पनि अर्को होटलमा खानाको अर्डर गर्नु भएछ । कामको व्यस्तताले एकअर्कालाई सोध्न पनि भुलिएछ । समस्याको समाधान खोज्नै पर्यो । हामीले समूहबाट आधा–आधा दुईतिर बाँडिएर जाने निर्णय गर्यौं । त्यसमा फेरि अर्को समस्या आई पर्यो । ३ जना कलाकारले फोनमा भनेको कुरा नबुझेर त्यही होटलमा खाना खान सुरु गरिसकेछन् । उताको होटलमा १९ जनालाई खानाको अर्डर गरेकोमा जम्मा ६ जना मात्र पुगियो । होटल साहूलाई सम्झाउन खोजियो तर उनी त सुरुमै जङ्गिदै बोले, “तिम्मेरलाई म खानै सर्भ गर्दिनँ ।” उनी जङ्गीनु पनि स्वभाविक थियो । पुनः बालिकाजी डराउँदै गएर गल्ती भएको स्वीकार्दै बाँकी सबै खानाको पैसा तिर्ने सर्तमा ६ जनालाई खाना ‘सर्भ’ गर्न अनुरोध गरिन् । एकैछिन अगि बम जस्तै पड्केका होटल मालिक त्यसपछि मृदु मुस्कानका साथ हामीसँग कुरा गर्न थाले । खानापछि सबैको पैसा तिरेर उनीसँग पुनः माफी माग्दै त्यहाँबाट अलप भयौं । गुलरियाबाट करिब दिउँसोको १ बजेतिर हामी महेन्द्रनगरतर्फ हान्नियौं । बालिकाजीले २ दिनका लागि राणा थारु होमस्टेमा बासस्थान पक्का गरिसकेकी थिइन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षणको ठीक पछाडि रहेछ हाम्रो होमस्टे स्थल । सामुदायिक भवनमा राखेर होमस्टेका अध्यक्षले होमस्टेको बारेमा जानकारी दिए । र, संख्या विभाजन गरे । एउटा घरमा ४ जनासम्म बस्ने व्यवस्था रहेछ । त्यस मध्येमा हाम्रो ४ जनाको समूहले होमस्टे पुगेपछि आफूलाई भाग्यमानी ठान्यौं । यो होमस्टेमा पहिलो पाइला हाम्रै रहेछ । हामीले नै त्यहाँको पहिलो पाहुना बन्ने सौभाग्य पायौं । हाम्रो समूहमा मसहित नाटक निर्देशक घिमिरे युवराज, म्युजिक कम्पोजर शेख अमजद प्रवेज र फोटोग्राफर जीवन आले थियौं, मेरो भूमिका व्यवस्थापक र फिल्ड रिपोर्टरको थियो । मेरालागि होमस्टेको पहिलो अनुभव थियो यो । व्यावसायिक होटलमा बस्दा–बस्दा दिक्क बनेका हामीलाई यो स्थान टेक्दैमा अर्ग्यानिक लाग्यो । होमस्टे संचालक श्याम राणा, भाउजू, बुहारी र सानो बाबूले हामीलाई घर बिर्साइदिए । उनीहरूको निश्चल व्यवहार र इमान्दारिताको प्रभावले होला आफ्नो मनभित्र बढ्दै गरेको कुटिलता र ढोंग निखारिंदै गएको महसूस गरें मैले । भोलिपल्ट बिहानको नाट्य प्रस्तुतिका लागि हामी पुग्यौं महेन्द्रनगरको दक्षिणी भागमा अवस्थित सालघारीको सुकुम्बासी बस्ती । यता सालघारीमा हाम्रो नाटकमा ‘कल्पना’ र ‘उर्मिला’ न्यायका निम्ति चिच्याउँदै थिए । त्यहींबाट केही दूरीमा रहेको उखुबारीमा सायद निर्मला पन्तको आत्मा न्यायको लागि भौतारिंदै थियो होला । नाटकको अभिनयमा आएकी निर्मला भट्टले पनि यही घटनाको सेरोफेरोमा आफ्ना संवाद नाटकमा पोखिन् । उनी बोल्दा हात खुट्टा लग्लग कामिरहेका थिए । सायद आज पनि सार्वजनिक रूपमा बोल्दा निर्मलाहरू आफूलाई सुरक्षित ठान्दैनन् । महिलाभित्र लुकेका हिंसाका डर भगाउने अभियानमा छ हाम्रो नाट्य यात्रा । हामी कुदिरहेकै छौं । अर्को प्रस्तुतिका लागि पुग्यौं महेन्द्रनगरको उत्तरी भेग हल्दुखाल । महाकाली जनसेवा माविको प्राङ्गणमा हल्दुखालबासी जम्मा भैसकेका छन् । नाटककी कल्पनालाई सहयोग गर्न मञ्चमा आइपुगिन्, सीता बोहोरा । प्रत्येक कार्यक्रममा नाटकमा सक्रिय रूपमा भाग लिन दिदी बहिनीहरू आइरहेकै छन् । बोलिरहेकै छन् । दाजुभाइले उनीहरूलाई समर्थन र साथ दिइरहेकै देखिन्छन् । तर, यथार्थ जीवनमा महिलामाथि हिंसा घटेका पनि देखिन्नन् । भित्रभित्रै कति दबिएर बसेका छन् । छटपटाएकै छन् । अनौठो छ समाज । बाहिर सभ्य देखिन्छ । भित्री रूप अर्कै छ । सायद शिक्षा, चेतना र स्वज्ञानले नै अज्ञानलाई पखाल्दो हो । दिनभरिको थकान मेट्न पुनः पुगियो श्याम दाइको होमस्टेको छानोमुनि । दाजुभाउजूको अर्ग्यानिक स्वागत सत्कारको दुई गाँस टिपेर लडियो उही पलङमा, जहाँ हिजो आनन्दले निदाइएको थियो । महेन्द्रनगरमा बस्दा जुरेको थियो अर्को सौभाग्य । टनकपुर बाँध, चाँधनीदोधारा जोडने झोलुङ्गे पुलसहित कालीपारिको अर्को भूभाग निहार्यौं । यहाँ पुग्दा जो कोही नेपालीलाई भारतीय दबदबाले सायद खिन्न बनाउँदो हो जस्तो लाग्यो हामीलाई । कञ्चनपुरमा हाम्रा अझ दुई प्रस्तुतिहरू बाँकी थिए थारु बस्ती सिंहपुर र जोनापुरमा । तराईका मध्य भागमा अवस्थित यी बस्तीहरू हाम्रालागि नौलो रङ्गमञ्च बनेर प्रकट भए । यी दुवै स्थलमा घरका फराकिला आँगनहरू हाम्रा मञ्च बने । र, रात पनि यही फराकिला रङ्गस्थलकै सेरोफेरोका घरहरूमा होमस्टे पाहुनाको रूपमा बिताइयो । यसपछिका चार प्रस्तुतिहरू थिए रोल्पामा । बिहानको ८ बजे हाम्रो बसले पूर्व–पश्चिम राजमार्ग समात्यो र पूर्वतर्फ रफ्तार लियो । रातको १० बजे दाङको तुल्सीपुर पुग्दा बजार पूरै देउसी–भैलोमा रमेको थियो । भोलिपल्ट भाइटीकाको दिन थियो । बिहान सबैले एक अर्कामा शुभकामना बाँडेर लाग्यौं हामी रोल्पाको जुगारतर्फ । बेलुका जुगारमा पनि देउसी भैलो चल्न थाल्यो । साथीहरू पनि स्थानीयबासीका देउसीभैलोमा नाच्न थाले । बेलुका होटलमै हाम्रो नियमित ‘मिटिङ’ भयो । अर्को दिनको कार्यक्रमको खाका बन्यो । बैठकमा अघिल्लो प्रस्तुतिको समीक्षा र अनुभवहरू साटासाट पनि हुन्थे । यहाँको बैठकमा सबैले आ–आफ्ना अनुभव बाँडे । भोलिपल्ट अर्थात ‘शिल्पी नाट्य यात्रा–२०७६’ को कार्तिक १३ गतेको दिन हाम्रो ‘रेस्ट डे’ थियो । उक्त दिन बिहान हामी जुगार माथिको डाँडो चड्यौं । त्यहाँ महादेवको मन्दिर रहेछ । र, दिउँसो हामी गुफा हेर्न गयौं । गुफामा ताल्चा मारिएको थियो । तर, त्यो ताल्चाले हाम्रो बाटो छेकेन । बरु एउटा नयाँ अनुभूतिको मौका मिल्यो । गुफा बाहिर भीरको साँघुरो बाटोमा लाइनै बसेर गरेको १५ मिनेटको सामूहिक मौन ध्यानले यात्राभरिको थकान मेटाइदिए जस्तो लाग्यो । उक्त ध्यानमा बस्दै गर्दा टाढाका बस्तीहरूमा कतै मादल घन्कँदै गरेको आवाज हाम्रा कानमा ठोक्किदै थिए । #कचहरी नाटक यात्रा #मोहनप्रकाश
तैँ चुप्, मैँ चुप्\xa0 : भाइरस या संस्कार ?: गणतन्त्र घोषणा भयो, खोपाको ढाकाटोपी तानेर बा दौडनुभयो । पार्टी मिटिङ् बस्न बिर्से पनि भर्खर किनेको नोकियाको एघार सय मोडल गोजीमा राख्न नबिर्सने बाले, मोबाइल खोपामै छोड्नुभयो । त्यतिखेरको गणतन्त्र झिनोमसिनो सिन्को थिएन । दाइले मोबाइल च्याप समाएर बाटो हेर्यो । बा नाराबाजीको भीडमा बिलीन हुनुभयो । ‘‘यो जीत कसको ? जनताको ।’’ भीड कनिरहेको थियो । हामी दाजुभाइले एकअर्कालाई हे¥यौँ । नोकियाको ठाँडो किनेदेखि छुन त के हेर्न पनि पाएका थिएनौँ । पालैपालो धित मर्नेगरी ठाँडोलाई भर्खरै जन्मेको पाठो जसरी माया गर्दै थियौँ । जाँ….लाई माया बढी भएछ क्या हो ! पिनकोड माग्यो । माग्दैमा के भो र दे भनेँ मैले नि, फेरि एकछिनमा पुककोड माग्यो, लौ न त त्यो नि दे भनेँ । आकाश बराल दाइले दसचोटि पुककोड दिएपछि, ठाँडोले लेख्यो ‘‘सिम रिजेक्टेड !!’’ अंग्रेजी त्यति फर्र…. नभए पनि सिम भनेको थाहा थियो, रिजेक्टेड भनेको राम्रो कुरा हैन भन्ने पनि थाहा थियो । दाइले मोबाइल खोपामै राख्यो र मलाई हेरेर हत्केलाले मुख छोप्दै चुपलाग्ने इसारा गर्यो मैले आजसम्म नदेखेको त्यो इसाराको भाव सिधै बुझेँ, ‘‘तैँ चुप्, मैँ चुप् ।’’ त्यो इसारा बुझ्नु र गणतन्त्र घोषणा एकै दिनहुनुले हो अथवा संयोग मात्रै थियो, त्यो दिनपछि देशमा ‘‘तैँ चुप्, मैँ चुप्’’ भाइरस र मोबाइलको विकास तीव्र गतिमा भएको देखेको छु । एस्.एल्.सी.पछि मैले पनि नोकिया ‘‘एक्तीस दस’’ पाएँ, त्यहीँ मोबाइलमा साथीले फोन गरेर भन्दै थियो ‘‘माथ्लाघरे नारन दाइले, तल्लाघरे साइलीको ब्लाउजमा हात हालेछ । चौकी आइज ।’’ रमितेको गाउँ, हेर्न गएँ रमिता । गाउँलेले चौकी घेरेका थिए । म भीडको भुँडी र कम्मरबाट पिस्सिँदै चौकीको कोठामा पुगेँ । तल्लाघरे सुर्मीबा केश हाल्ने कुरा गर्दै थिए । बर्दीमै भएको एउटा मान्छेले मुख छोप्दै इसारा गर्दियो, ‘‘तैँ चुप, मै चुप !’’ सबै एकअर्कालाई हेर्न थाले, सबैले त्यहीँ इसारा गरे । इसारा टेबलमाथिबाटै साटासाट भए पनि टेबलमुनिबाट सगरमाथा र लालीगुरासका फोटाहरु साटासाट भइरहेको थियो । इसारामा मुख हेराहेर, पैसाको लेनदेन अनि बाटो फेराफेर !! पीडक र पीडितले चौकीबाहिर निस्केर सारा गाउँलेलाई त्यही इसारा गरिदियो । गाउँलेहरु पनि एक आपसमा उही इसारा गर्दै आआफ्नो घरतिर हिँडे । जुन हातले लालसलाम, जय नेपाल र नमस्कार गथ्र्यो त्यहीहातहरु मुख छोप्दै इसारा गरिरहेका थिए । गाउँलेलाई ‘‘तैँ चुप्, मै चुप् !’’को भाइरसले छोइसकेपछि त्यसको प्रभावले नगरपालिका हुँदै जिल्ला र जिल्ला हुँदै पूरै देशलाई समात्यो । यसरी देशै ‘‘तैँ चुप्, मै चुप् !’’भएपछि बोल्ने को? तर म बोलेको थिएँ एउटा दाइको श्रिमतीलाई अर्कैसँग लागेको देखेर । मैले दाइलाई भिडियो कल गरेको थिएँ, ‘‘दाइ, भाउजूको चालामाला ठीक छैन है !’’, दाइ त भिडियो कलमै ‘‘तैँ चुप्, मै चुप् !’’इसारा गर्दै भन्छन्, ‘‘म नि अर्काको श्रीमती हेर्दै छु भाइ, आफ्नो काम गर ।’’ लौ जे मरे मरुन् भनेर फोन काटेँ । देशको मात्रै आवाज बन्द भयो होला भनेको त देश बाहिर गएकाहरुको पनि हालत उही रहेछ । आवाज बन्द भएको देशमा अर्को देशको प्रधानमन्त्री आएर, ‘‘भारतके लिए जिनेमर्नेवाले, उन् बहादुर नेपालीयोँको मे आज नमन कर्ना चाहता हूँ’’, भनिदिएपछि जनताले नेतासँग देशै थर्कने गरी तालीपिटे । बाहिरको मान्छे आएर नेपालीलाई बहादुर जो भनेको थियो । देशप्रेमले ओतप्रोत, मैले पनि गर्वको आँसुसहित ताली पिटेको थिएँ । देशले ‘‘तैँ चुप्, मै चुप् !’’को संस्कार अविलम्वन गरिरहँदा अर्को देशले ‘‘बहादुर नेपाली’’ भनिदिएपछि, उसको हक लाग्ने नै भयो । अनि सिमा मिच्यो भनेर किन रुनू ? नाका बन्दी भयो भनेर किन कुर्लनू ? फेरि यो संस्कारको सबै भन्दा कडा अनुयायी भनेका हाम्रा नेताज्युहरु । विदेशी नाकाबन्दी होस् वा बाख्राको घेराबन्दी होस्, सिमा मिचिँदा होस् वा कुखुरा किचिँदा होस्, वाइडबडीमा होस् वा नाइटगाडीमा होस्, धनराजको कर होस् वा मनराजको खर होस्, सुन होस् वा लसुन, महँगो होस्, तर गायब नहोस् । खाने पानीमा लेउ होस्, मकै फल्ने बारीमा केराउ होस्, माफियाको राजनैतिक गुट होस् या सोफिया ए.आइ. रोबट बनोस् वहाँहरु सधै एकअर्कालाई इसारामै भन्नुहुन्छ, ‘‘तैँ चुप्, मै चुप् !’’ अझ वहाँहरुले त इसारा पनि गर्नु पर्दैन, आँखाकै भाषा हुन्छ । न पत्याए नेताहरुले एकअर्कालाई हेर्ने तरिका हेर्नूस् त, हो जस्तो लाग्दैन ? नेताहरु मात्रै हैन, यसका अनुयायी शिक्षकदेखि विद्यार्थी, प्रहरीदेखि गुन्डा, कर्मचारीदेखि व्यापारी, पियुनदेखि हाकिम, नातीदेखि हजुरबा, मामादेखि भान्जा, उत्तरदेखि दक्षिण, पुर्वदेखि पश्चिमसम्म लटरम्मै छन् । हजुरबाले नातिनीलाई गरेको दुव्र्यवहार आमालाई भन्न जाँदा होस् या सोझो केटाले सार्वजनिक बसमा बिना गल्ती पिटाइ खाँदा होस्, सबै उहीइसारा गर्छन्, ‘‘तैँ चुप्, मै चुप् !’’ । यी जमातको फरक उपस्थिति देखिन्छ सामाजिक सन्जाल र चियापसलमा । चिच्याउँदै भन्छन्, ‘‘त्यस्ता नेतालाई हाम्ले भोट नदिए कोट नि लाउन पाउन्नन् ।’’, तर चुनावमा एकअर्कालाई त्यही इसारा गरेर इसारा गर्नेहरुलाई नै जिताउँछन् । अनि त्यही इसारा गर्नेहरुले कोट लाएर इसारामै सपथ खान्छन्, ‘‘तैँ चुप्, मै चुप् !’’ यही संस्कारले होला हामीलाई प्रश्न गर्ने स्वभावको पनि बनाएन । देशले ‘‘नाममा के छ र ?’’ भन्ने सेक्सपियर जन्माएन । हुन त देवकोटाले भनेका थिए, सेक्सपियर त यहाँ हलो जोत्दै होलान् । किनकि हलो जोत्दा गोरुसँग त बोल्न पाइन्छ ‘‘ह ह, हट् हट्, उता जा’’ । यहाँ मान्छे मान्छेसँग बोल्न डराउँछ । यो संस्कारबाट बिरक्तिएर विदेशी संस्थामा जागिर लगाइदिन बाले चिनेको ठूलै नेताकोमा सिफारिस लिन गएको थिएँ । उहाँ कुकुरलाई खाना खुवाउदै हुनुहुन्थ्यो । मैले बातैबातमा जिज्ञासा राखेको थिएँ, ‘‘नेताज्यू ! अस्ति भष्टाचारको केशमा पर्नुभको मन्त्री छुट्नुभएछ नि !” उहाँ निरास हुँदै हातले मुख छोपेर इसारा गर्दै कुकुरतिर फर्कनुभयो, ‘‘टमी, मीठो भइराछ ? हड्डी खान्छस् ?’’ नेताज्यूको फुस्केटचाला देखेर त्यहाँबाट निस्केँ । निस्कँदा पालेले भन्दै थियो, नेताज्यू पनि करोडकै भष्टाचारमा पर्नुभएको रहेछ । त्यही तनावमा कुकुरसँग बोल्न थाल्नुभएछ । केही आवाजहरुले देशलाई यो भाइरसबाट छुट्कारा दिलाउन प्रयास नगरेका होइनन् । तर रोगले ग्रस्त संस्कारीहरु उनीहरुको कलम भाँच्छन् । धन्न आवाजहरु पेन्सिल लिएर हिँड्छन्, भाँचियो भने फेरि तिखारेर यसको विरोध गरिरहन्छन् । हुन त संयोग नै होला, तर कहिलेकाहीँ सोच्छु– त्यो दिन गणतन्त्र घोषणा नभएको भए बाले मोबाइल छोड्नु हुन्थेन होला ! हामीले मोबाइल चलाउँने थिएनौँ होला ! दाइले ‘‘तैँ चुप्, मैँ चुप् !” को इसारा गर्थेन होला, र देशमा यो संस्कार नै भित्रिने थिएन होला ! #आकाश बराल
जिन्दगी: रामशरण गैरे निर्दयीको यादमा जल्दैछ जिन्दगी पलपल गर्दै यहाँ, ढल्दैछ जिन्दगी । सकिएन भुल्न अतितका दिनहरू सुस्त सुस्त पवन झैँ, चल्दैछ जिन्दगी ।। वियोगले यो छाती, चिरिएकै छ दर्द अनि पीडाले, गल्दैछ जिन्दगी । निष्ठुरीको यादले पोल्छ यो छाती बितेका पल सम्झी, बल्दैछ जिन्दगी ।। अझ पनि छन् नयन, तिम्रै बाटो हेर्दै मिलनको आशले, छल्दैछ जिन्दगी । भरतपुर-१९, चितवन #रामशरण गैरे
'कुमाता'माथि पाठक अन्तर्क्रिया: पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथा संग्रहमाथि शनिबार चितवनको भरतपुरमा एक कार्यक्रम गरी पाठक समीक्षा गरियो । कार्यक्रममा वक्ताहरुले कृतिमाथि समीक्षा गर्दै ‘कुमाता’ कथासंग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु उजागर गरेको धारणा व्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित यस कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रहेको वक्ताहरुले औँल्याए । कार्यक्रममा बोल्दै साहित्यकार तथा चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउँदै संग्रह भित्रका कथाहरु भाषागत रूपमा सरल, नारी संवेदनशीलताको पक्षमा जोडका साथ उठेको बताइन् । महिला अधिकारकर्मी मीना खरेलले पछिल्लो समय समाजमा देखिएका विकृति-विसंगतिलाई कथाका रुपमा आएको बताइन् । चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आन्चलिकताले कथा मार्मिक र सुन्दर बनेको बताए । यस्तै समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिए भने समीक्षक प्राध्यापक शान्ति शर्मा तथा प्राध्यापक कपिल अज्ञात, साहित्यकार केदार खनाल लगायतले कथाभित्र नाटकीय तत्त्व थप्नुपर्नेमा जोड दिए । रामेश्वर पुस्तकालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा कुमाताका सर्जक वसन्त पराजुलीले कुमाता कुनै पनि कथाका सिद्धान्त, मान्यता र कुनै पनि दर्शनलाई नपच्छाएकाले मौलिक बनेको धारणा राखे । कथा संग्रहलाई काठमाडौँस्थित भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो । कार्यक्रम पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । #वसन्त पराजुली
नेपालका प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती: नेपालका प्रथम साहित्यिक सहिद हुन् कृष्णलाल अधिकारी । उनको जन्म वि.स. १९४४ माघ १४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो । राणाकालीन समयमा मकैको खेती नामक पुस्तक लेखेका कारण उनलाई सन् १९७७ श्रावण ११ मा पक्राउ गरी कारागार चलान गरियो, नौ वर्षको कारवास तोकियो । वि.स. १९८० मा उनको जेलमै निधन भयो । कृष्णलाल अधिकारी एक दशकअघि अनिल शर्माले लेखेर पहिला ‘नेपालका प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ पुस्तकमा प्रकाशित भएको र हाल ‘समकालीन साहित्य र संस्कृति’ पुस्तकमा समेटिएको यो लेख समसामियक हुने ठानेर यहाँ साभार गरिएको हो – सम्पादक । ======================== प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको चर्चित कृति ‘मकैको खेती’ को खास प्रति हालसम्म पनि प्राप्त भएको छैन । उनको एक थान कृति हराएका कारण त्यो कतै छ वा नष्ट भएर गयो भन्ने सन्दर्भमा पनि एकरूपता देखिन्न । इतिहासमा त्यही पुस्तकसम्बन्धी घटनालाई ‘मकै पर्व’ भनिन्छ । राणाहरूले पुस्तकमा उल्लिखित मकै भनेको जनता र मकैमा लाग्ने रोग वा कीरा भनेको राणा शासकलाई भनेको हो भन्ने ठहर गरे । त्यसैले छापिएका एक हजार थान पुस्तकमध्ये ९९९ थान पुस्तक उनका विरुद्ध देशद्रोहको मुद्दा फैसला भएकै दिन जलाइयो भनिन्छ । लेखक कृष्णलाल अधिकारीलाई पुस्तक लेखेवापत ६ वर्ष र एक थान पुस्तक हराएका कारण थप तीन वर्ष गरी ९ वर्ष जेलसजाय दिइयो । कृष्णलालको जेलमै मृत्यु भयो । सातजनाको सरकारी जागिर खोसियो भने एकजनालाई ५० रूपैयाँ जरिबाना तोकियो । कृष्णलालले मकैको खेतीका नाममा विशुद्ध प्राविधिक पुस्तक लेखेका थिए भन्नेहरू पनि छन् । मकैको खेती पुस्तकलाई विद्रोही चेतद्वारा योजनाबद्ध रूपमा लेखिएको विश्लेषण अर्कोतिर रहेको छ । त्यसैले मकै पर्व निकै विवादास्पद बन्न गएको छ । मकै पर्व त्यसअर्थमा नेपाली समाजको अध्ययन गर्ने आपूर्ण सामग्री बन्न गएको छ । मकैको खेती पुस्तक प्राविधिक विषयमै भए पनि जनताका दैनिक जीवनयापनका समस्या साहित्यमार्फत् समाधान गर्ने प्रयास गर्नु सामान्य प्रश्न थिएन । हिन्दीमा ‘मक्का की खेती’ शीर्षक पुस्तक लेखेर एकजनाले ख्याती कमाएका थिए । त्यसको प्रभाव नेपालका लेखक कृष्णलाललाई पर्नु स्वाभाविक थियो । उनले नेपाली भाषामा नै त्यस्तै प्रकारको पुस्तक लेखे । त्यसबेला राणाहरूले लेख्ने त के आम नागरिकका लागि पढ्ने हकसमेत खोसेका थिए । लेखपढ गर्नु अपराध ठानिन्थ्यो । त्यस्तो समाजमा मकैखेतीको रोग निदानका लागि पुस्तक लेख्नु भनेको अहिलेको समाजमा कुनै कृषि विश्वविद्यालय बनाउनुभन्दा सानो काम थिएन । हुकुमी राणाहरूको नीति विरोधी त्यसप्रकारको योजना राणाहरूका लागि उसै पनि मानहानी थियो । जनताका विरुद्ध समानान्तर शक्तिकेन्द्र पैदा हुने खतरा पनि थियो । त्यसप्रकारको पुस्तकबाट प्रेरित भएर शिक्षाको प्रभाव बढ्दै जाने प्रबल सम्भावना थियो । राजनीतिक विषयमा लेख्ने प्रचलन बढ्न सक्थ्यो, जसका कारण कलमको शक्ति उदय हुनुपूर्व नै कलम भाँच्नु, निमोठ्नु र समाजमा जनचेतनाको दियो निभाएर अँध्यारो शासनमा आयु लम्ब्याउनु राणाहरूका लागि आवश्यक थियो । त्यस अर्थमा ‘मकैको खेती’ पुस्तकको लेखन र त्यसभित्रका बिम्ब र प्रतीकहरूलाई राजद्रोही मानियो । राणाहरूका नारदहरूले, चुक्लीबाजहरूले त्यसरी राणाहरूसमक्ष चुक्ली लगाए । मकैको खेती पुस्तक प्राविधिक विषयमै भए पनि जनताका दैनिक जीवनयापनका समस्या साहित्यमार्फत् समाधान गर्ने प्रयास गर्नु सामान्य प्रश्न थिएन । जनताको जीवनप्रतिको दायित्वबोध साहित्यको मुख्य उपादेयता नै हो । प्रथम लोकसाहित्य मानिने ‘लोरी गीत’ आमाहरूले बच्चाहरू निदाउनका लागि गाएका थिए । खेती तथा कृषिकर्ममा सहायता ल्याउन, जीवनका पीडा र खुसीहरूको सम्बोधन गर्नेक्रममा लोकसाहित्यको जन्म भएको देखिन्छ । त्यसैले उपादेयताका दृष्टिले साहित्य प्राविधिक विषयसँग अन्तर्सम्बन्धित विषय नै हो । धाननाच, असारे गीत, सबै श्रमको सहजीकरणकै प्रक्रियामा सिर्जना भएका थिए । ‘मकैको खेती’ कृति मकैखेतीकै विषयमा लेखिएको थियो भने पनि त्यो साहित्य र सिर्जनाको ऐतिहासिक परम्पराको प्रतिकूल रहेको छैन । कलम र सिर्जनाद्वारा जनताका दैनिक जीवनमा भूमिका निर्वाह गर्नु राणाहरूका लागि खतराको घन्टी थियो । त्यस्तो कार्य अझ राणाहरूको निर्देशन र योजनाबाहिरबाट गर्नु अर्को आपत्तिको विषय थियो । त्यसकारण मकै पर्वले कलम र सिर्जनालाई नराम्ररी निरुत्साहित गर्यो । त्यस घटनाले राणा विरोधी चेतना बढायो । त्यसैले मकै पर्वलाई नेपाली समाजको नयाँ चेतना र सिर्जनाका लागि महत्वपूर्ण घटना मान्न सकिन्छ । राणाहरू कलमलाई तर्साउने गौँडो कुरेर बसेका थिए । त्यसैले मकै पर्वमार्फत् सबै सर्जकहरूलाई तर्साइएको थियो । १९७० को दशकयता नेपाली भाषामा साहित्य लेख्नेहरू देखापर्न थालेका थिए । त्यसले राणा विरोधी भावना जागृत गराउन सक्थ्यो । राणाहरू कलमलाई तर्साउने गौँडो कुरेर बसेका थिए । त्यसैले मकै पर्वमार्फत् सबै सर्जकहरूलाई तर्साइएको थियो । उक्त पुस्तकमा ‘नेपाली कुकुर’ र ‘बेलायती कुकुर’ को तुलना हुनु, चन्द्रशमशेरले रातो फरेज टोपी लगाउने र भीमशमसेरले कालो फरेज टोपी लगाउने भएकाले ‘रातो टाउके’ र ‘कालो टाउके कीरा’ शब्दावली प्रयोग भएका कारण प्रकृतिलाई मानवीकरण गरेर लेखिएको विद्रोही सिर्जना मान्नेहरूको पनि कमी छैन । चन्द्रशमशेरले योजनाबद्ध र सुझबुझसहित मकैपर्व घटना गराएका थिए । त्यो घटना कुनै आवेग र उत्तेजना मात्र थिएन । मकै पर्वले जनतामा राणाहरूप्रति नकारात्मक प्रभाव विस्तार भएको थियो । कृष्णलाल आदर्श बिम्बका रूपमा र चन्द्रशमशेर कुरूप बिम्बका रूपमा जनमनमा स्थापित भएको देखिन्छ । त्यसैले कृष्णलालको कद घटाउन, राणा विरोधी लहर घटाउन र चन्द्रशमशेरलाई विवेकशील देखाउन सोही ‘मकैको खेती’ पुस्तकको महत्वपूर्ण अंश फालेर राममणि आदीका नाममा नेपाली कृषि शिक्षावली नामको नक्कली पुस्तक छापिएको तर्क बलियो देखिन्छ । राणाहरूको स्वभाव, कार्यशैली र चेतनाका कारण पनि चन्द्रशमशेर प्रायश्चित गर्ने गर्दैनथे । हराएको एक थान ‘मकैको खेती’ कृतिको प्रामाणिकता पनि देखिन्न । ‘मकैको खेती’ मा प्रयोग भएको आञ्चलिकताका कारण नक्कली मकैको खेती हिन्दी भाषामा त्यसपूर्व प्रकाशित कृतिको नेपाली अनुवाद हो भन्ने भनाइ पनि सही देखिन्न । हिन्दी भाषाको कृतिमा नेपाली आञ्चलिकता प्रयोग हुने कुरा सही देखिन्न । तसर्थ, चन्द्रशमशेरको निर्देशनमा कृषि शिक्षावली नामको नक्कली ‘मकैको खेती’ कृति बजारमा ल्याइएको तर्क बलियो ठहर्छ । निरङ्कुश राणा शासकहरूले निर्ममतापूर्वक हत्या गरेका साहित्यक सहिद कृष्णलाल अधिकारी र उनको कृति ‘मकैको खेती’ लाई होच्याउनु र उक्त पुस्तकको असली रचनाकार अरू कुनै नक्कली पात्रलाई देखाउनु भनेको शासकको संस्कृतिको पक्षधरता र विद्रोही चेतनाका विरुद्ध उभिनु हो । शासकहरूले जनताका आवाजहरूलाई दबाउने गर्छन् । राणाकालका विरुद्ध प्रतीकात्मक रूपमा लेखेको ठहर गरी चन्द्रशमशेरले त्यसका लेखक कृष्णलाल अधिकारीलाई जेल हालेका थिए । जेलको कठोर यातनाका कारण जेलमै उनको मृत्यु भएको थियो । १९७७ साउन १० गते गिरफ्तार गरिएका कृष्णलाललाई काठमाडौँस्थित भद्रगोल जेलमा राखिएको थियो । उनलाई नेल र हत्कडीसहित राखिएको थियो । अहिलेको युगमा त भद्रगोल जेल त्यस्तो नारकीय अवस्थामा छ भने राणाकालमा जेलको खाना, यातना, अपमान, बस्ने स्थान कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । उस बेलाको हिउँ पर्ने काठमाडौँमा चिसो भुइँमा नेल र हत्कडीसहित कैद गरिएका कृष्णलालले १९८० मङ्सिरमै जेलमा मृत्युवरण गरेका थिए । कृष्णलाल स्वाभिमान भएका र छोटो उमेरमा उच्च ओहोदामा पुगेको देखिन्छ । नबिराउनू/नडराउनू भनेझैँ चुक्लीबाजहरूका कारण क्रुद्ध चन्द्रशमशेरका सामु माफी माग्न आओस् भन्ने ठानेका चन्द्रशमशेरसामु माफी नमागेका कारण चन्द्रशमशेर कृष्णलालका विरुद्ध थिए भन्ने ठान्नेहरू पनि कम छैनन् । जेलमै पनि कृष्णलालले सिर्जनाकर्म जारी राखेको देखिन्छ । जेलमा रहेका बेला माफी मागेमा क्षमा दिई रिहा गर्ने भनी चन्द्रशमशेरले पठाएको खबरलाई समेत कृष्णलालले स्वाभिमानपूर्वक अस्वीकार गरेको देखिन्छ । उच्च घरानामा हुर्किएका कृष्णलालले जेलमा पौष्टिक आहारा पाएनन् । पत्नीबिछोडको पीडा, सहयोगीको अभाव र क्षयरोगको सङ्क्रमणका कारण थलिएर उनको मृत्यु भएको थियो । माफी माग्नुभन्दा मृत्यु रोज्ने कृष्णलाल स्वतन्त्रताको लडाइँमा युगयुगसम्म आदर्श बिम्बका रूपमा रहिरहनेछन् । राणाशासनका विरुद्ध मात्र नभएर जनसेवामै केन्द्रित भएर उनले ‘मकैको खेती’ कृति लेखेको भए पनि त्यो निरङ्कुशताका विरुद्ध र जनताका पक्षमा हुन आउँछ । नेपालमा राणाशासनको अन्त्य भएपछि लेखकहरूले कृष्णलालाई प्रथम साहित्यिक सहिद घोषणा गर्दै राणा विरोधी लेखकका रूपमा स्थापित गरे । त्यसपूर्व शासकहरूले कृष्णलालको योगदानलाई न्यूनीकरण गर्ने षड्यन्त्र गरेको देखिन्छ । पुस्तक लेखेवापत मृत्युवरण गर्नुपर्ने सजाय पाउने कवि कृष्णलाल प्रथम स्रष्टा हुन् । उनले मृत्युवरण गरे तर आफ्नो अडान छोडेनन् । राणाशासनका विरुद्ध मात्र नभएर जनसेवामै केन्द्रित भएर उनले ‘मकैको खेती’ कृति लेखेको भए पनि त्यो निरङ्कुशताका विरुद्ध र जनताका पक्षमा हुन आउँछ । तसर्थ, कृष्णलाल एक आदर्श व्यक्तित्व हुन् । ‘मकैको खेती’ पुस्तकको प्रामाणिकता नभएका कारण जनश्रुतिलाई स्रोत मान्नुपर्ने बाध्यता छ । समकालीनहरूले जति पढे, सम्झे, देखे, उनीहरूमार्फत् नयाँ पुस्तामा हस्तान्तरण भएको हो । त्यतिबेला उनका पुस्तकका विषयमा लेख्नु र बोल्नु भनेको कृष्णलालको नियति भोग्नुहुन्थ्यो । जति बोले, त्यसको न्यूनीकरण गरेर बोले । चन्द्रशमशेरकै अपेक्षाअनुसार बोले/लेखे । नक्कली ‘मकैको खेती’ पुस्तक त्यसको निरन्तरतामा आएको देखिन्छ । त्यो पुस्तकको भूमिकामा केवल हामी अझै विदेशी कुकुरहरूको धेरै मान गर्दछौँ तर चोर र डाँकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुरहरू नै काम लाग्छन् भन्ने उल्लेख भएको बताइन्छ । त्यसैगरी ‘मकै खाने रातो टाउके र कालो टाउके’ कीराको उल्लेख गरिएको उक्त पुस्तकका अनेक स्थानमा ‘बालकलाई आमाको दूधले जस्तो चन्द्रोदयले फाइदा गर्दैन’ र ‘१९०३ सालदेखि राक्षसहरूको प्रवेशले नेपालमा अनिकालै अनिकाल परेको’ भनिएको पनि बताइन्छ । यी भनाइहरू सिधै विद्रोही वाणी देखिन्छन् । राणाहरू र अङ्ग्रेजहरूका विरुद्ध विद्रोही स्वरका रूपमा आएका कारण राणाशासक चन्द्रशमशेर आक्रोशित भए । कृष्णलाललाई जेलमा औषधि र खाना नदिई तड्पाएर मारे । १९७७ साउन ११ गते गिरफ्तार गरिएका कृष्णलाललाई मुख्तियार भीमशमशेरको दरबार टङ्गालको गारतमा कैद गरियो । छापिएका एक हजार थानमध्ये ९९९ थान जलाइयो । एक थान पुस्तक नभेटिएवापत थप ३ वर्ष सजाय भयो । प्रकाशनकार्यमा सहयोग गरेको भनेर शम्भुप्रसाद ढुङ्गेल, ऋषिभक्त उपाध्याय, दुर्गानाथ अधिकारी, कृष्णचन्द्र अर्यालसहित ९ जनाको रोजगार खोसियो । मुद्दा १९७७ साउन ११ गतेदेखि ७ दिनसम्म चलेको थियो । कृष्णलाललाई ९ वर्ष कैद सजाय भएको थियो । सो घटनाका सन्दर्भमा डा. राजेश गौतम भन्छन्, “चन्द्रशमशेर लेखक र कविहरूले जागरण दिने, राष्ट्रिय भावना प्रचार गर्ने र राणा विरोधी भावना ल्याउनेजस्ता लेखहरू प्रस्ट र अप्रस्ट रूपले नलेखून् भनी उनीहरूलाई तर्साउन र आफ्नो मुट्ठीमा उनीहरूको विचार कैद गर्न चाहन्थे । कारण त्यतिखेर शिक्षा–आर्जनका निमित्त भारत गएका केही युवकहरूले त्यहाँ चलेको अङ्ग्रेज विरोधी भावनाको प्रभाव पनि साथमा बोकेर ल्याए । केही पत्रिकाहरू प्रकाशित गरी सामाजिक र धार्मिक चेतना ल्याउने प्रयास पनि उनीहरूबाट हुँदै थियो तर चन्द्रशमशेर यस किसिमको परिस्थिति सिर्जना हुन दिने पक्षमा थिएनन् । अझ उनले आफ्नो निहीत स्वार्थ र उद्देश्य पूरा गर्न ‘मकैपर्व’ को घटना घटाए । जनचेतनाको गला रेट्नु नै ‘मकैपर्व’ को उपादेयता थियो भन्ने स्पष्ट हुन आउँछ । त्यस घटनाका कारण सिर्जनात्मक काम र लेखनकार्य निरुत्साहित भएर गयो । चेतनाको गला रेटेर राणाहरूले आफ्नो आयु लम्ब्याउने सपना देखे । त्यसो गर्न र आतङ्कको प्रचार गरेर राज्यको प्रभाव कायम गर्नकै लागि नियोजित रूपमा ‘मकैपर्व’ गराइएको देखिन्छ । कृष्णलाल नेपाली प्रगतिशील चेतना प्रवाह गर्ने कार्यमा संलग्न एकजना देशभक्त, समाजसेवी र प्रगतिशील स्रष्टा थिए । लेखक तथा कवि कृष्णलाल प्रगतिशील सोचाइ भएका सर्जक थिए भन्न सकिन्छ किनकि त्यसबेलाको अन्धकार युगमा सबैको भलो चाहनु र त्यसका लागि त्यस्तो जोखिम मोल्नु सामान्य विषय थिएन । त्यसबेलाको सङ्कीर्ण सामन्ती समाजमा अर्काका लागि, देशका लागि केही गर्ने भावना जागृत हुनु आफैँमा प्रगतिशील चिन्तनको परिणाम हो । एकातिर कृष्णलालको महिमाबाट तर्सिएका शासक चन्द्रशमशेरले घटनालगत्तै नक्कली ‘मकैको खेती’ प्रकाशित गरेर त्यसको न्यूनीकरण गर्न खोजे । २००७ सालपछि कृष्णलालका सकारात्मक पक्षहरू प्रकाशमा आउन थाले तर कतिपय लेखकहरूको धारणा हेर्दा उनलाई अलौकिकता प्रदान गर्न खोजेको पनि देखिन्छ । त्यसो गर्र्दा पनि प्रकारान्तरले कृष्णलालको व्यक्तित्व र कृतित्वप्रति विभ्रम उत्पन्न हुन जान्छ । त्यसैले, यथार्थको सही प्रकटीकरण आवश्यक छ । कृष्णलाल नेपाली प्रगतिशील चेतना प्रवाह गर्ने कार्यमा संलग्न एकजना देशभक्त, समाजसेवी र प्रगतिशील स्रष्टा थिए । त्यसअर्थमा उनले प्रथम साहित्यिक सहिदको गौरव प्राप्त गरेका छन् । #अनिल शर्मा #कृष्णलाल अधिकारी #मकैको खेती
बर्माको कथैकथाको गाउँ, भाग दुई: चार दिन म नाउछोमा बस्छु । हुन त केही दिन अगाडि नै मैले नाउछो छोड्नुपर्ने थियो । तर म रोकिन्छु । नेपाली समाजले आफ्नो समाजमा रहेका जेष्ठ नागरिकलाई अभिनन्दन गर्ने र नगद स्वरूप उपहार दिने कार्यक्रम राखेको रहेछ । त्यो कार्यक्रमको लागि म केही पर्खेर बस्नपर्ने हुन्छ । एकातिर जेष्ठ नागरिकहरूसँग भेट हुने अर्कोतिर समारोहको रौनक पनि देख्न पाइने । मेरो बसाई लम्बिन्छ । हुन त यो काम मेरो लागि नौलो होइन, साथै खासै यसमा चाख पनि नहुने । किनकि नेपाल सरकारले नै प्रत्येक जेष्ठ नागरिकलाई महिनौपिच्छे रकम दिइआएको छ, तर बर्मामा भने बर्मेली सरकारलाई चुनौति दिँदै नेपाली समाजले आफ्ना नागरिकलाई आफैँले नगद स्वरूप १०,०००।– (दश हजार) च्याट दिनु निकै गौरवको विषय हो, मेरो चाख बढ्नु स्वाभाविक नै छ । दुर्गा मन्दिरको लामो सभाहल, हलको दायाँ–बायाँ लहरै जेष्ठ नागरिकहरू । एकतिर महिला, अर्कोतिर पुरुष । अग्रभागमा भाषण गर्न तयार भएका पदाधिकारीहरू । भाषणपछि नगद बाँड्ने काम हुन्छ, त्यस्तै नगद बाँडिसकेपछि खानेकुरा । म पनि खानाको लागि तयार हुन्छु । स्वाभावतः खानापछि भेटघाट र गफ चलिरहन्छ । आफ्नो लट्ठी चिउँडोमा अठ्याएर कुर्सीमा बसिरहेका एक जना जेष्ठ नागरिकमा मेरो नजर पर्छ । म उनको नजिकै जान्छु र प्रश्न गर्छु– “खाना खानुभयो ?” “खाएँ बाबु ।” टाउकोमा पाताला सेता कपालहरू, चाउरी परेको अनुहार । अनि बुढ्यौली पाराका हात–गोडाहरू तर पनि उनको बोली स्पष्ट छ । आँखा, कान, नाक टाढा छन्, उनी दुरुस्त देखिन्छन् । सामान्यतयाः जेष्ठ नागरिकसँग मेरो भेट हुनासाथ सोधिने प्रश्न एउटै छ– “तपाईँको जन्म नेपालमा भएको कि बर्मामा ?” उनलाई पनि यही प्रश्न गर्छु । तर उनले उत्तर फर्किएलान् उल्टै प्रश्न पो गर्छन्– “बाबुको घर नेपाल कुन ठाउँमा हो ? कहिले आउनुभयो ? कति बस्नुहुन्छ बर्मा ?” उनको प्रश्नले म केहीबेर ट्वाल्ल परेर हेरिरहन्छु । मलाई अनौठो लाग्छ । अनि ठट्यौली पारमा उत्तर दिन्छु– “मेरो घर यही बर्मामा हो । केको नेपालबाट आउनु । म यहीँ बस्छु ।” तर उनी मेरो कुरामा विश्वास गर्दैनन् । उनी केही शान्त भएर बोल्छन्– “पहिलो कुरो बर्माका मान्छेले बर्मेलीलाई ‘तपाईँको जन्म नेपालमा भएको कि बर्मामा ?’ भनेर सोध्दै सोध्दैनन्, दोस्रो कुरो तपाईँको बोलीमा बर्मेली भाषा मिसिएकै छैन ।– शुद्ध नेपाली । बर्मामा बस्ने हरेक गोर्खालीले बर्मेली भाषा मिसाएकै हुन्छ ।” उनको भनाइमा मलाई रमाइलो मात्र लाग्दैन, मीठो पनि लाग्छ । वास्तवमा उनी गहिरो सोचाइका छन् । उनलाई नेपाल र बर्माको मात्र होइन पूरै भारत वर्षको ज्ञान छ । मलाई प्रश्न गर्ने हौसला मिल्छ । म विषयवस्तुलाई अर्कोतिर मोड्दै पुनः पहिलाकै प्रश्न गर्छु, “नेपालबाट तपाईँको बुबा आउनुभएको कि हजुरबुबा ?” “मेरो हजुरबा ।” “अहो ! धेरै भएछ हगि तपाईँहरू बर्मा पसेको ।” उनी टाउको मात्र हल्लाउँछन्, केही बोल्दैनन् । हुन त म पहिल्यैदेखि खुल्दुलीमा थिएँ । नेपालीहरूले बर्मामा आएर गरेको गल्तीबारे जिज्ञासु थिएँ । उनीहरू सहरमा नबसी किन हप्तौँ लगाएर गाउँतिर गए । त्यो अनकन्टार ठाउँ दुःख बेसाउन जंगलतिर किन पसे । बरु त्यतिबेला सहर नजिकै बस्ती बसाएको भए जीवन यतिको कष्टकर हुन्थेन होला ! यो खुल्दुली मेटाउने मौका यही हो । म उनलाई सोध्छु– “तपाईँको बाजे धेरै पहिला बर्मा आउनुभएको रहेछ । रंगुन भएर नै आउनुभयो होला । त्यतिबेला रंगुनको जग्गा पनि सस्तो थियो । बरु रंगुनतिर नै बसेको भए जीवन सजिलोसँग चल्थ्यो होला नि ! यस्तो अनकन्टार ठाउँमा किन आउनुभयो ?” उनी लामो सास फेर्छन् र बोल्छन्– “बाबु मैले पनि त्यही सोचेको छु– तर ढुङ्गा, माटो र गाई–गोबरसँग बानी परेको मान्छेलाई शहरी जीवन गाह्रो भएर होला’ उनी बोल्दै जान्छन्– ‘ठेकी–मदानी नै नेपालबाट ल्याउने मान्छे कसरी शहरमा बस्न सक्छ ! शहरमा ठेकी–मदानी के काम ? उनीहरूलाई भैंसी र खेती किसान नै प्यारो भयो ।” नगेन्द्र न्यौपाने “तपाईँलाई नेपाल फर्कौ भन्ने कहिल्यै भएन ? त्यो सोच आएन ?” म सोध्छु । “हामी त अड्केर पो बसेको ! नत्र हामीहरू नेपाल पसिसकेका थियौँ।” “कसरी के भयो ?” मेरो चासो बढ्छ । उनी आफ्नो कथा तल–माथि पार्दै सुनाउन थाल्छन् । “त्यतिबेला बर्मामा जापान पसिसकेको थियो । एकातिर ब्रिटिश अर्कोतिर जापान । चेपुवामा परेको बर्मा दिनका दिन बम र बारुदको आउथ्यो । एकदिन हाम्रै घर नजिक बम खस्यो । धेरै भारतीय र नेपाली मरे । सत्य नारायणको पूजाको लागि मान्छेहरू भेला भएका थिए । ब्रिटिश सेनाले त्यसलाई जापानी सेना जम्मा भएको ठानेछ र आकाशबाट बम खसालिदियो । धेरै मान्छेहरू मरे । घाइते पनि भए । अब बर्मामा बस्न सकिँदैन भनेर हाम्रो परिवार नेपालतिर लाग्यो । गाई–भैँसी, लत्ता कपडा बोकेर राता–रात हिँडेर भारतको सीमासम्म आइपुग्यो तर त्यहीँबेला अमेरिकाले जापानमा बम खसालिदियो । अमेरिकाले बम खसालेको भोलिपल्टदेखि नै बर्माका जापानीहरू भागाभाग गरेर बर्मा छोडे । जापानले हार्यो तर हामीलाई भारतले भारत पस्न दिएन । भारत नपसी नेपाल आउने कुरै भएन । हामीहरू वर्मा नै अड्कियौ । – बर्माको टमुमा बस्यौँ ।” उनी केही सन्तोष गर्दै बोल्छन्– “अहिले छोराहरूले राम्रै गरेका छन् । दूधको व्यापार छ । आम्दानी राम्रै छ ।” म पनि उनको कुरालाई समर्थन गर्दै बोल्छु– “ए, अड्केर झन् राम्रो भएछ ।” आफूले आफूलाई राम्रो भने पनि मेरो कुरालाई भने उनले राम्रो भनेनन् । उनको मुखबाट दिग्दारको स्वर फुत्त बाहिर आयो– “त्यतिबेला फुत्केर भए पनि नेपाल गएर यो उद्योग गरेका भए ! पौरख गर्ने त आफ्नै देशमा पो रहेछ ।” उनको बोलीमा कताकता असन्तोषका आभासहरू आइरहेका हुन्छन् । संघर्ष र विद्रोहको गाँठो भुट्भुटिएको हुन्छ । उनीहरूको नेपालसँगको भावनात्मक प्रेम कहिल्यै मरेका हुँदैन । नेपाल नगएकोमा पछुतो छ । हाम्रो कुराकानी भइरहेको नजिकै अर्को कुर्सीमा अर्का एकजना जेष्ठ नागरिक बसेका छन् । उनको ध्यान हाम्रो गफतिर छ । उनी हाम्रो गफ निकै अधैर्यपूर्वक सुनिरहेका छन् । उनलाई आफ्नो गफ मलाई सुनाउन निकै हतार भइरहेको छ । म त्यही बुझेर पहिलो जेष्ठ नागरिकको गफलाई बिट मार्दै दोस्रो जेष्ठ नागरिकतिर जान्छु र पुरानो प्रश्न पुनः उनीतिर तेर्याइहाल्छु । “तपाईँको जन्म यही भएको हो कि नेपालमा ?” “म त बर्मामा नै जन्मेको ।” “त्यसो भए तपाईँको बुबा आउनुभएको ?” “होइन, मेरो हजुरबा आउनुभएको ।” उनी आफ्नो कुरा भन्दै जान्छन्– “त्यतिबेला नेपालमा राजा महेन्द्र थिए । यता यू नेउइनले बर्मामा सैनिक शासन लगाए । बर्मामा सैनिक शासन लगाए पनि हामीलाई खासै अप्ठयारो थिएन । गोर्खाली भनेर माया मानेको थियो तर मेरा ठूलो बुबाले बर्मामा बस्न मान्नुभएन । उहाँ आफ्नो माइला भाइलाई लिएर नेपाल फर्कनु भयो । हुन त हजुरलाई पनि बस्न मन थिएन अरे । उहाँले नै नेपाल गएर केही गर्दै गर्नु म यता वर्माको बेचबिखन गरेर आउँछु’ भनेर नै ठूलो बुबा र माइलो बुबालाई पठाउनु भएको थियो । ठूलो बुबा र माइलो बुबा गाई–भैँसी, बाख्रा र केही लत्ता–कपडा लिएर बर्माबाट हिँड्नुभयो । मेरो बुबा र हजुरआमा बर्मामा नै बस्नुभयो । तर बर्मा र इण्डियाको सिमानामा आइपुग्दा माइला बुबालाई हैजाले समातेछ, उहाँ बित्नुभयो । ठूलो बुबालाई पनि हैजा कहाँ नलागेको हो र ! तर उहाँ बच्नुभएछ । बचेर पो के गर्ने ! नेपालतिर जाने कि घर फर्कने ! त्यही अन्योलमा एक वर्ष बितेछ । एक वर्षपछि गाई–बाख्रा बेचेर नेपालतिर नै लाग्नुभएछ ।” “एक वर्ष ? एक वर्षसम्म गाई–बाख्रा कसरी अठ्याएर राख्नुभयो त !” म बीचैमा प्रश्न गर्छु । “त्यतिबेला पूरै जमीन खाली थियो । गाई–भैँसी दिनभरि जंगलमा गर्थे, साँझ परेपछि आफ्नै गोठमा आउँथे । गाह्रो थिएन ।” उनी बोल्दै जान्छन्– “गाई–बाख्रा बेचेर उहाँ नेपाल जानुभयो । महेन्द्र सरकारले राम्रै गरेछन् । दुःख पाएर आएको भनेर चितवनमा जग्गा मिलाइदिएछन् ।” “अनि तपाईँको बुबा किन नेपाल जानुभएन छ त !” म प्रश्न गर्छु । “नेपालमा हैजा फैलिएको छ । मरिन्छ भनेर डर देखाएपछि कसरी जानु ! नत्र हामीहरू पनि पोको पुन्तुरो बोकेर हिँडिसकेका थियौँ । हैजा सुनेपछि बाटैबाट फर्किएको ।” “अहिले पनि ठूलोबुबासँग आउने–जाने छ त नेपालतिर ?” म प्रश्न गर्छु । “ठूलोबुबाको सास भइन्जेल थियो, आजकाल छोराहरूसँग छैन ।” उनले आफ्नो पारिवारिक कथा भनिरहँदा केहीबेर रोकिन्छन् । म अनुमान लगाउछु– उनको कथा सकियो । तर सकिएको रहेनछ । उनी केही भावुक हुँदै बोल्छन्– “सुरुमा बर्माको सैनिक सरकारले खुकुलो गरे पनि पछि नागरिकता ऐन लगाएर दुःख दिन थाल्यो । एउटा गाउँबाट अर्को गाउँमा जान पनि पास माग्न थाल्यो । हामीहरू घर आँगन, खेतीबारीबाहेक सहर बजार गर्न पाएनौँ । धेरै वर्षपछि थाहा भयो, ठूलो बुवाले चितवनमा नै अर्को घरजम गर्नुभएछ । यता बर्मेलीले पनि हामीलाई सहेनन् । चारपल्ट त हाम्रो घर लुटियो । गाई–बाख्रा नहराएको दिनै हुन्थेन । तैपनि सहेर बसियो । पछुतो छैन ।” केहीबेर अघिसम्म निकै हँसौली पारामा बोलिरहेका ती व्यक्ति एकाएक भावुक बन्दै गएपछि मलाई नरमाइलो लाग्छ । उनको परिवारले सहेको अप्ठयारो परिस्थितिले म पनि भावुक बन्छु । वास्तवमा बर्मामा हरेक नेपालीको आफ्ना–आफ्ना कथा छन्, आफ्ना–आफ्ना विवशता छन् । तर सुनिदिने कोही छैन । न बर्मा सरकारले सुन्छ न नेपाल सरकारले । छन त ! उनीहरूकै आफ्नो साहस, हिम्मत अनि पुरुषार्थ ! सायद त्यही साहस, हिम्मत र पुरुषार्थ भएर होला उनीहरूले सरकारको मुख हेरेर बस्दैनन् । बरु बर्मेली सरकारलाई चुनौति दिँदै आफ्नो समाजमा रहेका जेष्ठ नागरिकलाई आफैँले बृद्ध भत्ता दिएका छन्, सम्मान गर्छन्, अनि दोसल्ला ओढाउँछन् । हरेक वर्ष सबैलाई भोजन गराउँछन् । हुन त सबैका आ–आफ्ना कथा छन्, आ–आफ्ना व्यथा छन् । कोही व्यक्ति आफ्ना कथा अरूलाई सुनाउन चाहन्छन् कोही आफूभित्र गुटमुटाएर राख्छन् । म बर्माका धेरै कथा सुन्छु । धेरै इतिहास सुन्छु । तर आजलाई यति नै । #नगेन्द्र न्यौपाने
सांस्कृतिक लेखनका धरोहर चिनुवा अचेबे: आमा, कोलाको रूखको हाँगा र लेखन चेत चिनुवा अचेबेका पिता पेशाले एक शिक्षक थिए । आफ्नै घरमा ठेलीका ठेली किताबहरू थुपारेर आफ्नो सुसम्पन्न पुस्तकालयमा बसेर घण्टौँ किताब पढिरहन्थे। आमाजस्तै उनी कम बोल्थे तर उनी चाहन्थे, उनलाई मनपर्ने सारा किताब उनका नानीहरूले पढून् । बाइबलका पदहरू पढ़ेर सुनाउँथे उनी । आइतबार गाउँका सारा भुराभुरीलाई भेला पारेर दया र न्यायको पाठ सिकाउँथे उनका पिता। कठिन अङ्ग्रेजीलाई इग्बो भाषामा अनुवाद गरी बुझाउँथे उनी। गरिबका नानीहरूलाई आफ्नै खर्चमा शिक्षा दिलाउँथे। शिक्षाले मान्छेमा समझ र चेतना जगाउँछ भन्ने कुरामा उनका पिता विश्वस्त थिए। रवि रोदन एउटा घटनाले पछि अचेबेलाई लेखनमा ज्यादै प्रेरित गरेको कुरा आफ्नो आत्मकथामा बताएका छन्। आमा गम्भीर, शालिन र मौन प्रवृत्तिकी थिइन्। देख्दा सबै सहेर चुपचाप बस्ने जस्तो देखिन्थ्यो उनलाई । गम्भीर र विचारशील थिइन् । चुपचाप बस्ने आमाको वास्तविक रूप र त्यसपछिको सामर्थ्यलाई उनले गाउँमा घटेको एउटा घटनाबाट देखे र बुझे । ईसाई भए पनि गाउँमा यिनका आफन्तहरू इग्बो परम्परालाई मान्ने गर्थे । समाजिक परम्पराले सृजना गरेको जटिल कुराको सामना गरिने स्थिति भइरहन्थ्यो। एक प्रहर उनकी आमाले आँगनमा भएको कोलाको रूखको हाँगा तोडेर त्यसबाट पाकेको केही फल टिपिन्। यो तोड़दै गरेको फल छिमेकमा बस्ने एउटा पुरूषले देख्यो। रूखको फल तोड्नु सहज मानिए र सुनिए पनि इग्बो स्त्रीले त्यसरी फल टिप्नु परम्परागत तरिकाले घोर अपराध थियो। कोलाको फल रूखको हाँगामा आफैँ पाकेर भुइँमा झरेपछि त्यसलाई पुरूषले मात्र उठाउने चलन थियो र स्त्रीलाई टिप्न बटुल्न पाबन्दी थियो। इग्बो समाजमा कोलालाई पवित्र फल मानिन्थ्यो, जो त्यस समयको इग्बो परम्परा, जीवन शैली र संस्कृतिसित जोड़िएको थियो। अचेबेकी आमाले यस परम्पराविरूद्ध बडो निडरताका साथ कोलाको रूखको हाँगाहरूबाट फल तोडेकी थिइन् । यो कुरा जब गाउँका मुखियाको कानमा पुग्यो, यस घटनाले गाउँमा भाँड़भैलो नै मच्चियो । परम्परा र धर्मको अपमान हो भन्ने हल्लाखल्ला भयो। गाउँका सबै पुरूष भेला भए यस दुस्साहसका निम्ति सजाय तोकिने तय गरियो । लामो बहस चल्यो तर चिनुवा अचेबेकी आमा निडरतासाथ आफ्नो कुरामा अडिग रहिन् । उनले भनिन्, “एउटा मान्छे भएको नाताले म कोलाको फल रूखबाट सोझै तोड़ने मलाई पुरा अधिकार छ। फेरि यो फल अर्काको बारीको पनि त होइन ! मेरै आँगनमा फलेको फल टिप्न मैले किन नपाउनु ?” आमाको तर्क र विचार सुनेर गाउँभरिका पुरूषहरूले हारे र शिर निहुराएर बाटो लागे । एउटी पटक्कै नबोल्ने स्त्रीले वास्तवमा समाजिक कुरीतिविरूद्ध आफ्नो मौनता तोड़ेर एक य़ोद्धा जस्तो आफ्नो निर्णयमा अडिग भएर त्यस समय नारी हकसित जोडिएको लडाईं जितेकी थिइन्। आफ्नै आँखाले यस घटनालाई देखेका चिनुवा अचेबेमा त्यसपछि ठूलो परिवर्तन ल्यायो कि एउटा अडिग विचार र सत्य कुराको पैरवीले सामाजिक विसंगतिविरूद्ध कसरी लड्न सकिँदोरहछ ! जब जब अचेबेले केही लेख्न बसे, उनले साहित्यमा सत्य र न्यायप्रति आफ्नो आमाको दृढता पस्किए। उपनिवेशवादी समयको विरोधाभासिक ऐना र उपन्यास लेखन चिनुवा अचेबेका दुई किताबहरूको शीर्षक ‘थिंग्स फल अपार्ट’ र ‘नो लंगर एट इज’ आइरिस र अमेरिकी कविहरूको कविताका पंक्तिहरूबाट नै प्रभावित भएर यिनले राखेका थिए । यसो गर्नु एक प्रकारले अरूको ध्यान आफूतिर खिँच्नु औं आफू अङ्ग्रेजीको विद्वान भनी देखाउनु थियो भनी स्विकार्छन् उनी। ती कविहरूको कविताबाट भाषाप्रतिको माया राम्रो लाग्थ्यो उनलाई। उनले अङ्ग्रेजीमा जनरल डिग्री लिएका थिए। साहित्यमा आफ्नो अभिरूचि देखाउनुअघि चिनुवा इबादन विश्वविद्यालयमा चिकित्साशास्त्रको अध्ययन गर्दै थिए। क्याम्ब्रिज विश्वविद्यालयबाट यिनलाई स्नातक गर्ने अनुमति दिइएन। इबादन विश्वविद्यालयमा अचेबेले जायस कैटीको एउटा नश्लवादी कथाकृतिको विरोध जनाउँदै त्यसविरुद्ध गुनासो दर्ता गरेका थिए। यस घटनामा एक अङ्ग्रेज प्राध्यापक मि. जोन्सनले मुर्मुरिँदै अचेबेलाई भनेका थिए, “तिमी आफैँ आफ्नो उपन्यास किन लेख्दैनौं ?” पछि गएर अचेबेले त्यही गरे। यसअघि लामो समयसम्म अचेबेले बुझेका कुरा थियो गोराहरू सुन्दर, सभ्य, शक्तिशाली र बुद्धिमान हुन्छन् अनि अफ्रिकीहरू असभ्य, मुर्ख, कुरूप छन् । त्यसो हो भने हाम्रो आफ्नै अस्तित्वको कुनै कथा छैन त ? आफ्नो अस्तित्वमाथिको यस्तो खतरा देखेपछि उनले आफ्ना लेखनीमार्फत् तिनै कुरा पस्कन थाले। एउटा गज्जबको भनाइ छ, “जबसम्म सिंहको पक्षबाट इतिहास लेख्ने कोही हुँदैनन्, तबसम्म शिकारको इतिहासमा शिकारीकै वर्चस्व रहन्छ।” अचेबे बाँचेको समय यस्तै थियो जहाँ अश्वेत (काला)हरूलाई असभ्य, जंगलीहरूलाई श्वेत (गोरा) हरूको शान्ति खलबलाउनेहरू भनिन्थ्यो। यस्ता घटनाहरूले अचेबेलाई ब्युँझायो र उनलाई लाग्यो उनी लेखक बन्नुपर्छ। यी कुराको बोध अचेबेलाई निकै पछिबाट भयो। यो उपनिवेशवादी समयको विरोधभासको ऐना थियो। अचेबे मान्थे कि जोसेफ कानराडले जस्तो अन्य कुनै लेखकले पनि पश्चिमी दृष्टिकोणलाई अपनाएनन्। सन् 1975 मा आफूले लेखेको एउटा निबन्ध ‘एन इमेज अफ अफ्रिका’मा अचेबेले भनेका छन् ‘हार्ट अफ डार्कनेस’ उपन्यासमा अफ्रिकाको छविलाई युरोपको ठीक विपरीत असभ्य भनेर अपमानजनक रूपमा देखाइएको छ। ‘अफ्रिकाज टारनिश्ड नेम’ शीर्षकमा निबन्ध लेखेर अचेबेले त्यसको प्रतिदवाद गरे। दासप्रथालाई कायम राख्दै र औपनिवेशीकरणलाई जायज ठहराउँदै कुनै जाति, संस्कृति र परम्परालाई अपमानित गर्न गोराहरूले कुनै कसर छोड़ेनन्। अफ्रिकालाई लिएर बनाएको हजार वर्ष पुराना भयानक र अपमानजनक भ्रमात्मकताले एउटा अलग रूप लिई सकेको थियो। सिनेमादेखि पत्रिकारिता, मानवशास्त्र र मिसनरीसम्मले यी मनगड़न्ते भ्रमलाई पालेर अफ्रिकाको तस्बिर अर्कै बनाइदिएका थिए। 2000 ईस्वीमा प्रकाशित इक्नोमिस्ट पत्रिकाले आफ्नो मुख पृष्ठमा अफ्रिकालाई एउटा निराशजनक महादेश भनेर लेख्यो। अफ्रिकी हुनुको अर्थ कुनै पोस्टरमा दुर्दशाग्रस्त कंगाल बच्चाहरूको तस्बिरजस्तो देखिनु थियो। त्यसैले असभ्य अश्वेतहरूको जुन मानक पश्चिमाले बनाएका छन्, त्यसविरूद्ध उभिन उनी लेखक नै बन्नुपर्छ भन्ने अचेबेले ठाने। उनलाई बोध भयो, अब उनलाई इतिहासकार बन्नु छ र यो एक्लै सम्भव छैन तर सामूहिक रूपमा यसको प्रतिवाद गरिनु आवश्यक छ। शिकारको इतिहासमा सिंहको पीड़ा र साहसलाई झल्काउन उनले जरूरी सम्झे। जातीय अस्मितामाथि सचेत भएर लेख्ने लेखकहरू कम नै छन्। धेरै नामी लेखकहरूले पनि बढ़ी पश्चिमा साहित्यको प्रभाव र प्रयोगमा आफ्नो लेखनको बाटो बनाउँदै गए। चिनुवा आफ्नो जाति र संस्कृतिलाई लिएर चाँडै सचेत भए। यिनलाई थाहा भयो, आफ्ना जातिहरूलाई सचेत बनाउन लेख्नु आवश्यक छ। चिनुवा अचेबे अचेबेको उपन्यास ‘थिंग्स फल अपार्ट’को पाण्डुलिपिको पनि एउटा लामै कथा छ। यो लगभग हराइसकेको थियो। 1957 तिर स्कलरसिप पाएर अचेबे लन्डन गएको बेला यिनले आफूसित यही उपन्यासको पहिलो ड्राफ्ट लिएर गएका थिए। त्यहाँ पुगेर उनले त्यो ड्राफ्ट आफ्ना नाइजेरियन मित्रले भनेअनुसार बीबीसीका इन्सट्रक्टर औ उपन्यासकार गिलबर्ट फेल्फ्सलाई दिए। पाण्डुलिपि हात पारेपछि गिलबर्टले पढ्न कुनै उत्सुकता देखाएनन्। निकैपछि मात्र उनले त्यो ड्राफ्ट हेरेपछि गिलबर्ट प्रभावित बने र उनलाई खोज्दै आइपुगे। यसपछि गिलबर्टले प्रकाशनको निम्ति उनले जानेको प्रकाशकलाई दिने कुरा बताए तर अचेबे सो उपन्यासलाई अझ सुधार गर्न चाहन्थे। उनलाई अझै पनि लागिरहेको थियो- उपन्यासको फर्म ठीक छैन। अझै त्यसमा तीन परिवारको गाथा समेट्न जरूरी छ। उपन्यासमा केही रोचक र फरक कलेवर दिन सकिने उनलाई लागिरहेको थियो। यसपछि उनी नाइजेरिया फर्किए। स्वदेश फिर्तीका बेला उनले मज्जाले उपन्यासलाई सुधार गरे। ड्राफ्ट सुधारका कामहरू गरिसकेपछि उनले हस्तलिखित ड्राफ्टलाई टाइपिङ गर्न लगाए र त्यो बेलाको ३२ पाउन्ड लाग्यो। एक महिना बितेपछि उनले प्रकाशकलाई चिट्ठी लेखे तर जवाफ आएन। आफ्नो उपन्यासको ड्राफ्टलाई लिएर अचेबे सुर्ताएर दिनदिनै कमजोर र दुब्लो हुँदै गए। भाग्यवश त्यही बेला बिबिसीका नाइजेरियास्थित हाकिम (बोस) बिदामा लन्डन जाने भए। उनले प्रकाशक हिनम्यानसँग कुराकानी गरे। हिनमैनले यसअघि कुनै अफ्रिकी उपन्यास देखेका थिएनन्। छाप्नु कि नछाप्नु भन्ने दोधारमा परे उनी। उनले यो ड्राफ्टलाई लन्डन स्कुल अफ इक्नोमिक्सका एक जना प्राध्यापकलाई पठाएर प्रकाशनका लागि उचित भए नभएकोबारे सल्लाह लिए। प्रकाशकका अनुसार ती प्राध्यापकले उपन्यासलाई लिएर सबैभन्दा छोटो टिप्पणी गरेका थिए- “विश्वयुद्धपछिको सर्वश्रेष्ठ उपन्यास।” यसरी अफ्रिकी राइटर सिरिज अस्तित्वमा आयो। उपन्यासको शीर्षक विलियम बटलर यिट्सको कृति ‘द सेकेन्ड कमिङ’बाट टिपिएको थियो। त्यस कृतिमा कविताको पङ्क्ति ‘थिंग्स फल अपार्ट; द सेन्टर क्यान नट होल्ड’ निकै प्रचलित बनेको थियो। अचेबे आफ्ना कथाहरूलाई दुखान्त दृश्यबाट अन्त्य गर्थे। उनी भन्थे, ‘हाम्रा भावि पिँढ़ीलाई हाम्रै कथाहरूले बचाउने हो, कथाले हाम्रो बाटो बचाएर राख्ने हो, कथाबिना हामी अन्धो हुन्छौं ।’ सांस्कृतिक अंहकार र निरकुंशताबाट उत्पन्न अमानवीयताको आधुनिक त्रासदिलाई अचेबेले गहिरो रूपमा चिनेका थिए। उपनेशविरोधी अफ्रिकी साहित्य लेखेर संसारलाई अचेबेले अफ्रिकालाई चिनाए। त्यसैले त उनलाई अफ्रिकी साहित्यको जनक मानिन्छ। अफ्रिकी संस्कृति र समाजमा औपनिवेशिकरणको विनासकारी प्रभावलाई देखाउन यिनले तीन कृतिहरू लेखे, ‘थिंग्स फल अपार्ट’ (1958), ‘नो लंगर एट इज’ (1960) र ‘ऐरो अफ गड’ (1964)। ‘थिंग्स फल अपार्ट’का मुख्य पात्र आकोनक्वो त्यस महादेशमा औपनिवेशिकरणको मारले त्यसबाट उब्जेका चुनौतीहरूको प्रतिनिधित्व गर्न जुर्मुरिन्छ। नाइजेरिया स्वतन्त्र हुनुअघि 1960 को दशकमा ‘नो लंगर एट इज’ लेखिन्छ। त्यस समय आकोनक्वोको नाति ब्रिटेनमा शिक्षा पूरा गरेर आइपुग्छ । ऊ सत्ता समर्थक छ। मुख्य पात्र औपनिवेशिक सिविल सेवामा एउटा उच्च पदमा तैनाथ छ । उसले त्यस जागिरबाट पाएको तनखा उसको परिवारको निम्ति कम भएको सोच्छ र ऊ घुस लिन थाल्छ र पक्राउ पर्छ। त्यसपछि उसले दण्ड पाउँछ। तेस्रो उपन्यास ‘ऐरो अफ गड’मा परम्परावादी एक इमान्दार पुरोहितको जीवनमाथि आधारित छ, जो औपनिवेशीकरणको सहयोगलाई इन्कार गर्छ। युरोपवासीको आक्रमणले अफ्रिकालाई उपनिवेश बन्नुको प्रतिरोध देखाउँछ यस उपन्यासले। वैचारिक रूपले युरो-केन्द्रवादसित अलग हुनु थियो। पश्चिमको वर्चस्ववादी विचारको र राजनीतिको शिकार हुनु भाषा साहित्य र सांस्कृतिक कुराहरूमा दास बन्दै जानु, आर्थिक अवस्थामा पिछडिँदै आत्मनिर्भरताको बाटो जोखिम बनाउनु हो। अचेबेले नाइजेरियाको निम्ति विशेष रूपले सत्ताको दुरूपयोगविरूद्ध संघर्ष गरी रहे। उनले औपनिवेशिकवादको शिकार भएकाहरू त्यसविरूद्ध उभिन र आफूमाथि गर्व गर्न सिकाए अनि आधुनिकतावादमाथि प्रश्न गर्न सिकाए। यो नै मुक्ति पाउने सबैभन्दा ठूलो मन्त्र साबित भयो। सन् 1958 मा प्रकाशित अचेबेको ‘थिंग्स फल अपार्ट’ अफ्रिकी साहित्यको इतिहासमा सबैभन्दा बढ़ी लोकप्रिय कृति साबित बन्यो। संसारभरि यो उपन्यास आठ मिलियन प्रति बिक्री भयो भने पचासभन्दा बढ़ी भाषाहरूमा यसको अनुवाद गरियो। अचेबेले अफ्रिकालाई लिएर पाश्चात्य देशमा लेखिएका साहित्यको जोडतोडले आलोचना गरे। जोसेफ कोनराडको ‘हार्ट अफ डार्कनेस’को य़िनले कड़ा आलोचना गरे। भाषा साहित्य र संस्कृतिमाथि उठेका प्रश्नहरू लिएर निरन्तर विचारोत्तेजक कथा, कविता र निबन्ध लेखिरहे। अचेबे भन्छन्, लेखक लेखक मात्र होइन ऊ नागरिक पनि हो। राम्रा लेखक र साहित्य अस्तित्वमा तब आउँछन्, जब मानवताको हितमा भएर लेखिन्छ। अचेबेको अन्तिम कथाकृति ‘एन्थिल्स अफ द सवाना’ (1987) हो । उनले अन्य कृतिमा ‘द मोनुमेन्टलएरो अफ गड’ (1964), ‘ए मेन अफ दि पिपल’ (1966) , ‘नो लंगर एट इज’ (1960) , ‘द मेजिस्ट्रियल होप्स एण्ड इपिडिमेंट्स’ (1988) , ‘द ट्राबल विथ नाइजेरियो’(1983), ‘द एजुकेशन आफ द ब्रिटिश प्रोटेक्टेड चाइल्ड’ (2009), ‘देयर वाज अ कन्ट्री’ (2012) लेखे। यीमध्ये अचेवेले लेखेको कृति ‘थिंग्स फल अपार्ट’ले त नोबेल पुरस्कार नै पाउनु पर्ने हो तर दुःखलाग्दो कुरा उनले पाएनन्। सन् 2007 मा म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार भने पाए। #चिनुवा अचेबे #रवि रोदन
चर्चामा चर्चिलकी प्रथम प्रेमिका: बेलायती प्रधानमन्त्री तथा दर्जनौँ पुस्तकका लेखक विन्स्टन चर्चिल २१ वर्षको उमेरमा भारतमा हुँदा एउटा गम्भीर प्रेममा परेको हालै खुलासा भएको छ । भारतमा सन् १८९६ ताका जुनियर अफिसरका रूपमा काम गर्दै रहँदा त्यहीँका एक उच्च अधिकारीकी छोरीसँग गम्भीर प्रेममा परेको हालै प्राप्त पत्रहरूले खुलासा गरेको हो । भारतको हैदराबादस्थित बेलायती प्रतिनिधिकी छोरीलाई देख्नेबित्तिकै मन पराएको र उनीसँग बिहे गर्न आफू व्यग्र भएको उनले लेखेका कयौँ पत्रहरू फेला पारिएको छ । उनले ती पत्रहरू बेलायतस्थित आफ्नी आमालाई लेखेका थिए । उनले मन पराएकी युवती पामेला प्लोडेन थिइन् । उनलाई चर्चिलले पहिलो पटक सिकन्दराबादस्थित एउटा खेलकुदको कार्यक्रममा देखेका थिए । त्यसपछि दुवैबीच परिचय आदानप्रदान भयो भने दुवैले सँगै बसेर पोलो प्रतियोगिता हेरेका थिए । चर्चिलले आमालाई लेखेका थिए, ‘मैले भन्नै पर्छ, उनी मैले अहिलेसम्म देखेका सर्वोत्तम सुन्दरीहरूमध्ये पहिलो नम्बरमा पर्छिन् ।’ चर्चिलकी आमाले पामेलाको परिवारलाई पनि चिन्थिन् । त्यसैले पनि यस कुराको जानकारी दिन चर्चिल लालायित थिए । शुरूशुरूमा भारत पुग्नेबित्तिकै उनले पामेलालाई भेटेको मात्र होइन, केही ठाउँमा हात्तीमा चढाएर घुमाएकी पनि थिइन् । पामेलाले उनलाई पैदल गाउँगाउँ नडुल्न सुझाएकी थिइन्, ‘तिमी पैदल कतै पनि नजानू किनभने भारतीयहरू युरोपेलीलाई घृणा गर्छन्, थुक्छन् । यस्तो अवस्थामा कहिलेकाहीँ झडपको अवस्था आउँछ र झडपले दंगा फैलिने सम्भावना हुन्छ ।’ पछि पामेलाले चर्चिलका निजी सचिवसँग कुनै समय भनेकी थिइन् रे, ‘जब पनि कोही विन्स्टन चर्चिललाई देख्छ, शुरूमा उसका सारा दोष मात्र देख्छ । संगत गर्दै जाँदा जीवनभर उसले सारा गुणहरू मात्रै फेला पारिरहन्छ ।’ पछि चर्चिलले पामेलालाई बिहेको प्रस्ताव राख्दा उनले अस्वीकार गरेकी थिइन् । तथापि यी दुवै जीवनभर साथी भने रहिरहे । पहिलो भेटपछिका ६० वर्षसम्म पनि उनीहरू साथी रहिरहेको प्रमाण हालै फेला परेका चिठ्ठीहरूमा देखिने एक संकलक बताउँछन् । पछिल्लो पटक १९५७ मा लेखिएको एउटा चिठ्ठीमा चर्चिलले पामेलालाई माई डियर पामेला भनेर सम्बोधन गरेका छन् । चर्चिलका प्रमुख विज्ञान सल्लाहकारको निधन भोजमा पामेला र चर्चिलको भेटको अन्तिम चिठ्ठी आदानप्रदान भएको देखिन्छ । सो पत्रमा चर्चिलले पामेलालाई माई डियर पामेला भनी सम्बोधन गरेका हुन् । उनले सो कार्यक्रममा आफूसँग जान सहमत भएकामा पामेलालाई धन्यवाद दिएका छन् । एक जना संकलकले आफ्नो नाम नखुलाउने शर्तमा स्पेनको मालागास्थित अन्तर्राष्ट्रिय अटोग्राम अक्सन्समा बिक्रीका लागि यी निजी चिठ्ठीहरू राखेका छन् । प्रत्येक चिठ्ठीको मूल्य पन्ध्र सय पाउन्ड राखिएको छ । पामेलाले चर्चिलको प्रस्ताव त्यागेर भेक्टर वुलवेर लिटनसँग सन् १९०२ मा विवाह गरेकी थिइन् । उनको निधन १९७१ मा भएको थियो । #प्रेमपत्र #लिलामी #विन्स्टन चर्चिल
लेखिका पार्करका सामग्री न्युयोर्कबाहिर नलैजान आग्रह: डोरोथी पार्कर सन् १९६७ सम्म आइपुग्दा साहित्यकार तथा समालोचक डोरोथी पार्करले पुस्तक लेखेर कुस्त कमाइन् । उनका नाममा केही कविता संग्रह, आख्यान र केही समालोचना पनि थिए । साहित्यको त्यो खजाना उनले मृत्युअघि त्यस समयका मानव अधिकारवादी अभियन्ता मार्टिन लुथर किङ जुनियरका नाममा गरिदिएकी थिइन् । तर पार्करको निधनको ठीक १० महिनामा किङ जुनियरलाई गोली हानी हत्या गरियो । त्यसपछि डोरोथीले मार्टिनको नाममा गरिदिएको सम्पत्ति त्यत्तिकै रहिरहेको थियो । किङ जुनियरको नाममा एउटी साहित्यकारले गरिदिएको सम्पत्तिनामालाई लिएर सोधिँदा उनले भनेका थिए, ‘म कुनै डोरोथीलाई चिन्दिनँ, हामीबीच सायदै भेट भएको थियो होला !’ एकातिर डोरोथी सन्तानविहीन थिइन् र जसको नाममा सम्पत्ति गरिदिएकी थिइन्, उनको पनि हत्या भएपछि किङ जुनियरको नाममा भएका सारा सम्पत्ति सिभिल राइट्स अर्गनाइजेसनका नाममा संरक्षण गरियो । यसरी डोरोथीको सम्पत्ति पनि सो संस्थामा संरक्षित रहन पुग्यो । यतिबेला सो संस्थालाई सबैभन्दा ठूलो समस्या डोरोथीका सारा चिजबिज कहाँ राख्ने भन्ने छ । किनभने हालै सिभिल राइट्स अर्गनाइजेसनको कार्यालय न्युयोर्क सहरबाट राजधानी वासिङ्टन डिसी सार्ने तयारी हुँदै गर्दा डोरोथी समर्थक केहीले भने उनी पक्का न्युयोर्कर भएका कारण उनका सारा सामग्री वासिङ्टन डिसी पुरयाइनु नहुने तर्क गरिरहेका छन् । उनका पक्षधरको भनाइ छ, ‘उनले त आफ्ना सबै चिजबिजको संरक्षण यही सहरमा होस् भनेर संस्थालाई जिम्मा लगाएकी थिइन् तर ती सामान वासिङ्टन डिसी पुर्याइन्छ भन्ने उनलाई लागेको भए जिम्मा नदिन पनि सक्थिन्।’ खासगरी एक समय हिट हुँदा उनलाई हलिउडबाट पटकथा लेखनका लागि अनुरोध गरिँदा उनले त्यस्ता प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । डोरोथीका जीवनी लेखक जोन किट्स भन्छन्, ‘न्युयोर्क उनको पहिलो र अन्तिम प्रेम थियो । उनी त्यहीँ जन्मिइन् र त्यहीँ बितिन् । उनलाई अन्त कतै जान मन पनि भएन र कसैले प्रस्ताव राख्दा पूरै गाली खाएर फर्कन्थ्यो ।’ ‘त्यसैले उनका सरसामग्रीलाई तलमाथि गर्नु उनको इच्छाविपरीत हुन जान्छ,’ किट्सको भनाइ छ । यस विषयमा भने अझै कुनै निर्णय नगरिसकेको संस्थाले जनाएको छ । #डोरोथी पार्कर #द टाइम्स
विविधीकरणमा प्रवेश गर्दै अमेरिकी पुस्तक प्रकाशक: एक पटक प्रकाशन उद्योगमा कोही सर्वोच्च पदमा पुग्यो भने त्यहाँबाट झर्ने सम्भावना कमै हुन्थ्यो । अल्फ्रेड ए. नफ प्रकाशन संस्थाको १०५ वर्षे इतिहासमा सर्वोच्च पदमा जम्मा चार जना प्रकाशक परिवर्तन भए । जोन सी. फेरर, रोजर डब्लु. स्ट्राउस र रोबर्ट गिरौक्स अनि अहिले यसको प्रमुख रिगन अर्थर छन्। पछिल्लो समय कयौँ प्रतिभाशाली उच्च पदस्थ अधिकारीको निधन, रिटायरमेन्ट, कार्यकारी प्रमुखहरूको पदस्थापन तथा प्रतिस्थापनका कारण नयाँ उच्च अधिकारीहरू नियुक्त हुने क्रम बढेको छ र यसले पहिलेको भन्दा विविधीकरण लिएर आएको छ । नयाँ पुस्ताका हाकिमहरू बढी व्यवसायिक मात्र होइन, कतिपय त प्रकाशन उद्योगमा कहिल्यै काम नगरेका व्यक्ति पनि छिरेका छन् । यस किसिमको परिवर्तनले अब प्रकाशन उद्योगमा परिवर्तन आउने केहीको अपेक्षा छ । गएको बुधबार मात्र प्यान्थिअन एन्ड सोकेन बुक्सले प्रकाशकका रूपमा लिसा लुकासलाई नियुक्त गरेको छ । यसअघि उनी नेसनल बुक फाउन्डेसनको कार्यकारी निर्देशक थिइन् । गएको जनवरीमा नफको प्रकाशकका रूपमा रिगन अर्थर चुनिइन् । उनले आउनेबित्तिकै घोषणा गरेकी थिइन्, “अबका दस वर्षमा पुस्तक उद्योग अहिलेदेखिजस्तो रत्तिभर हुने छैन ।” हालैका दिनमा प्रकाशन उद्योगका सर्वोच्च नामहरू सिमोन एन्ड सुस्टरको प्रमुख कार्यकारी क्यारोलिन रेइडी, नफकी प्रमुख कार्यकारी सुसन कामिल, सिमोन एन्ड सुस्टरकी सम्पादक एलिस मेह्युजस्ता व्यक्तिको निधनले अमेरिकी घगडान प्रकाशन उद्योगले साँच्चिकै राम्रा व्यक्तिहरू गुमाएको छ । तिनले समकालीन साहित्यलाई परिभाषित मात्र गरेका थिएनन्, डिजिटल क्रान्तिमा पनि आफ्नो अस्तित्वलाई कायम राखेका थिए । अमेजनको खुद्रे व्यापार, २००८ को आर्थिक मन्दी, बर्न्स एन्ड नोबलको उत्थान र पतन, स्वतन्त्र खुत्रे पसलेहरूको टिकाउपन तथा पतनसँगै अडियो बुकको विष्फोटक बिक्रीलाई यिनले नजिकबाट नियालेका थिए। सन्नी मेहताजस्ता दिग्गज प्रकाशकले काजुओ इशिगुरो, जोन अप्डिक र सल्मान रूस्दीजस्ता प्रतिभालाई विश्वमञ्च उपलब्ध गराएका थिए। गएको फेब्रुअरीमा निधन भएकी मेह्युले सिमोन एन्ड सुस्टरमा ५० वर्ष मात्र बिताइनन्, बब वुडवार्ड, वाल्टर इसाक्सन, डोरिस कियर्न्स गुडविन तथा स्टेफन ए. एम्ब्रोसलाई चर्चामा ल्याउने काम गरिन्। प्रकाशन उद्योगका आइकनको निधन तथा खाली ठाउँपछि एउटा रिक्ततापूर्ण अवस्था सिर्जना भएको थियो । यस्तो अवस्थामा गएको साता डबलडे प्रकाशन संस्थाकी नान तेलिसले आउँदो डिसेम्बरबाट ६ दशक लामो कामबाट बिदा लिने घोषणा गरिन्। उनले मार्गरेट एटवुड र इयान म्याकइवानजस्ता प्रतिभालाई खार्ने काम गरेकी थिइन् । यसका अतिरिक्त पछिल्लो समय ठूला प्रकाशन संस्थाको मर्जरका कारण कयौँ उच्च अधिकारीले बिदा लिए । नफकी आर्थर मात्र होइन, हेनरी हल्ट प्रकाशनकी एमी इन्हर्नजस्ता उच्च अधिकारीमा सशक्त व्यवसायिक सुझबुझ थियो। तिनमा के बिक्री हुन्छ भन्ने त ज्ञान थियो नै महिलाहरूको पठन रूचिमा पनि विशेष रूझान थियो। गएको साता सिमोन एन्ड सुस्टरमा डाना कनेडी आइन्। पुलित्जर पुरस्कारकी व्यवस्थापक तथा न्ययोर्क टाइम्सकी पत्रकारको सिमोन एन्ड सुस्टरमा प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ५५ वर्षीया कनेडी ठूलो प्रकाशन गृहको प्रथम काला जातिकी उच्च अधिकारी भइन्। उनी आउनेबित्तिकै आफूले चलनचल्तीको भन्दा बेग्लै पुस्तकलाई प्राथमिकता दिने घोषणा नै गरिन् । पहिलो त उनी काला जातिकी महिला भइन्, त्यसमाथि अमेरिकाको केन्टुकी राज्यको ग्रामीण परिवेशबाट उठेर आएकी सैन्य बाबुकी छोरी अनि त्यसमाथि एकल महिला भएका कारण पनि उनबाट बढी नै अपेक्षा गरिएको छ । अपेक्षाअनुसार काम गर्ने उत्साह रहेको उनले बताइसकेकी छन् । लुकास र कनेडी दुवै काला जातिका महिला भएका कारण यिनीहरूबाट प्रकाशन उद्योगमा नयाँ पुस्ताका बेग्लै लेखकहरूले ठाउँ पाउने अपेक्षा धेरैको छ । नयाँ सम्भावनाका लेखक, प्रतिभाशाली सम्पादक, लेखक र सम्पादक पनि विविधीकृत क्षमता भएका र विभिन्न जातजातिका आउने अपेक्षा उनीहरूबाट गरेको छ । प्रायः प्रकाशन संस्थाले कम्पनीमा लामो समय सहायक सम्पादक अथवा कार्यकारी सहायकहरूबाट संस्थाको प्रमुख चुन्ने गरेको थियो । यस पटक त्यो क्रम अवरूद्ध भएको छ । सिमोन एन्ड सुस्टर तथा नफले प्रकाशन उद्योगमा पहिले अनुभव नभएका बिल्कुलै नयाँ अनुहारलाई चयन गरेर पुरानो प्रकृतिको हाकिम चुन्ने परम्परालाई चुनौती मात्र दिएका छैनन्, दशकौँ अवसर कुर्नेहरूका दिन खतरापूर्ण रहेको सन्देश पनि दिएका छन्। प्रकाशन उद्योगमा दशकौँदेखि काला जातिका कार्यकारीको अभावले लामो समयदेखि राम्रा कुराको अभाव झेलिरहेको थियो। लेखनी र लेखकमा पनि उति विविधीकरण हुन छाडेको थियो। अन्य कम्पनीमा भने त्यस्तो थिएन । समावेशीकरण तथा विविधीकरण अहिलेको वास्तविकता हो, त्यसलाई दशकौँदेखि उपेक्षा गरिएको थियो। पछिल्लो समय भने यसमा परिवर्तन देखिन थालेको छ । पेइङ्गुन रेन्डम हाउसमा मेडलिन म्याकिन्टोस, नफकी आर्थर, हेनरी हल्टकी एनहर्न, फेरर स्ट्रउस एन्ड गिरक्सकी मित्जी एन्जलको उपस्थितिले महिला कार्यकारीबिनाको प्रकाशन उद्योगमा नयाँ आशा सञ्चार गरेका छन्। प्रकाशन उद्योगमा ७५ प्रतिशत कामदारहरू अझै पनि श्वेत छन्। त्यसैले पनि देशभरि प्रकाशन उद्योगमा श्वेत इतरका प्रमुख कार्यकारीहरू देखिनुपर्ने माग बढ्दै जान थालेको थियो। गएको महिना त अझ काला जाति र एसियाली मूलका लेखक लेखिकामाथि दिइने पारिश्रमिकमा पनि ठूलो अन्तर हुने खुलासा भएको थियो। पब्लिसिङपेडमी भन्ने ह्यासट्याग निकै चल्तीमा पनि आयो। प्रकाशन उद्योगको प्रणाली यस्तो छ कि त्यहाँ श्वेतबाहेकका इतर जातिको प्रवेश निकै दुर्लभ हुने गरेको छ। सो विरूद्ध प्रदर्शनी मात्र भएन यस्तो प्रणाली नै परिवर्तन गर्नुपर्ने आवाजसमेत उठ्यो। इतर जातिका लेखकबाट कुस्त कमाउने तर कमाएजति पैसा नदिने समस्यातर्फ पनि धेरैले ध्यानाकर्षण गराएका थिए। यसलगत्तै पेन्गुइन रेन्डम हाउसले जातीय रूपमा जुन खालीपन देखिएको छ, त्यसलाई क्रमशः सुधार गर्दै लैजाने वचनबद्धता प्रकट गरेको थियो। यस्तै ह्याचेट बुक ग्रुपले पनि विविधीकृत कर्मचारीको लक्ष्यलाई आगामी दिनमा पूरा गर्दै जाने बताएको थियो। पछिल्लो समय लुकासले पनि ठूलो पद पाउनुका पछाडि उनको ठूलो संघर्ष थियो। कलेज पढ्दाकै अवस्थामा उनी प्रकाशन गृहसँग जोडिन चाहन्थिन् तर उनी काला जातिकी भएकीले सोचेजस्तो काम पाउन सकिनन्। यसपछि उनले ड्रामा तथा फिल्म कम्पनीमा काम गरिन्, म्यागेजिनमा काम गरिन्। सन् २०१६ मा आएपछि बल्ल उनी नेसनल बुक फाउन्डेसनको निर्देशक बनिन् । त्यो बेला उनले १४ लाखभन्दा बढी पुस्तक बालबालिकाका पुस्तकालयलाई बाँढ्ने अभियानलाई सफल मात्र तुल्याइनन्, काला जातिका लेखकलाई विभिन्न ठाउँमा पुर्याउन भूमिका खेलेकी थिइन्। अर्थात्, अमेरिकाका प्रकाशन गृहमा बल्ल विविधीकरणको आवाज उठिरहेको छ र त्यसमा कार्यान्वयन पनि हुँदैछ । #द न्युयोर्क टाइम्स #प्रकाशक
तस्बिरका कृष्णलाल भनिरहेछन्– म सफल भएँ: नेपालका प्रथम साहित्यिक सहिद हुन् कृष्णलाल अधिकारी । उनको जन्म वि.स. १९४४ माघ १४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो । उनले राणाकालीन समयमा मकैको खेती नामक पुस्तक लेखेका कारण उनलाई सन् १९७७ श्रावण ११ मा पक्राउ गरी कारागार चलान गरियो, नौ वर्षको कारवास तोकियो । वि.स. १९८० मा उनको जेलमै निधन भयो । यसैकारण अधिकारलाई नेपालका प्रथम साहित्यिक/भाषिक सहिद भनेर चिनिन्छ । कृष्णलालको तस्बिरको आवाजः कृष्णलाल अधिकारी २० काे शताब्दीमा खिचिएको प्रस्तुत ब्ल्याक एण्ड वाइट तस्बिर हो, कृष्णलाल अधिकारीको । अरू नै केही लेखौँ भनेर लेख्न सुरु गरेको भए तापनि यो तस्बिर नेटमा भेटेपछि थोरै यसैका बारेमा नलेखी कसरी अघि बढूँ ? तस्बिरमा देख्न सक्नुहुन्छ, मध्यम कद, न दुब्लो न मोटो शरीर, अनुहारमा कुनै अंग्रेजको जस्तो जुँघा र दारी, लङकोटसहितको पहिरन पनि कुनै अंग्रेजको बिम्ब प्रस्तुत गर्नेखालकै छ । अझ ध्यान दिएर हेर्न सक्नुहुन्छ, उनका हात र खुट्टामा नेल ठोकिएका छन् (साङ्लीले बाँधिएका छन्) । तर उनको अनुहारमा न कुनै डरको छाया छ न त पश्चतापको कुनै प्रतिबिम्ब नै । न आँखामा कुनै ग्लानीको झल्को छ न त शिरलाई अपराध बोध नै । जसका लागि तस्बिरमा प्रमाण पेश गरिरहेका छन् दिप्त अनुहार र कति पनि नझुकेका आँखा र शिरले । खैर, तस्बिर खिच्दाको माहोल के थियो ? उनको स्वभाव कस्तो थियो ? र फोटो खिच्नुको मतलब के थियो त्यो समय ? तर मात्र तस्बिरका कृष्णलालले मलाई भनिरहेछन्– मकैको खेती एउटा क्रान्ति थियो, शासकविरुद्ध । म सफल भएँ, शासक मेरो कलमसँग डराए । कृष्णलाल र मकैको खेतीः कृष्णलाल अधिकारी राणा शासनसत्ताकै नायब सुब्बा थिए । प्रमाणिक अभिलेखका अनुसार उनले १९७७ सालमा ६० पृष्ठको मकैको खेती शीर्षकको किताब पूरा गरी नक्सालस्थित पशुपति छापाखानाबाट १००० प्रति छपाएका थिए । उक्त कृति मकैमा लाग्ने रोग तथा किराहरूका समस्या समधानका लागि लेखिए पनि यसलाई राणाहरूका चाप्लुसीहरूले शासनमाथिको व्यंग्यको रूपमा व्याख्य गरे । उक्त व्याख्यालाई थप दर्बिलो बनाउने केही पंक्तिहरू यस्ता थिए; “मकै खाने रातो टाउको र कालो टाउको भएको किरा” , चन्द्रशम्शेर रातो र भीम शम्शेर कालो फ्रेस क्याप (टोपी) लगाउने गर्थे । त्यसैकारण रातो टाउको भनेर चन्द्र शम्शेर र कालो टाउको भनेर भीम शम्शेरलाई इंगित गरिएको भनेर बुझाउनेले व्याख्या गरेपछि उनीहरूलाई विश्वास गर्न गाह्रो भएन । “बालकलाई आमाको दूध बराबर चन्द्रोदयले फाइदा गर्दैन” , यस पंक्तिलाई चन्द्र शम्शेरप्रतिको ठाडो प्रहारको रूपमा व्याख्या गरियो । बालकलाई जनता र चन्द्रोदयलाई चन्द्र शम्शेरको उदय भनेर बुझियो । “हामी अझै विदेशी कुकुरहरूको धेरै मान गर्दछौँ तर चोर र डाकाहरूबाट हाम्रो रक्षा गर्नेबखत गद्दीमा सुत्ने वि कृष्ण ढुङ्गेल देशी कुकुर काम नलागी स्वदेशी कुकुरहरू नै काम लाग्छन्” , यस पंक्तिलाई पनि राणाहरूले आफूमाथिको व्यांग्य भनेर बुझे । त्योबेला एक त राणाहरू विदेशी कुकुरका सोखिन थिए भने अर्कोतिर उनीहरूले भारतलगायत देशमा सम्पत्ति सञ्चित गरिरहेको कुरा सुब्बाजस्ता उच्च ओहोदाका कर्मचारीलाई थाहा न हुने कुरै भएन । राणाहरूले विदेशी कुकुर भनेर आफूहरूलाई भनिएको भनेर बुझे । त्यस्तै पुस्तकमा, “१९०३ सालदेखि राक्षसहरूको प्रवेशले नेपालमा अनिकालै अनिकाल परेको” भन्ने वाक्य पनि रहेको बताइन्छ । अब यसले त राणाहरूलाई पोल्ने नै भयो । डा. भूपहरि पौडेलको अनुसन्धनात्मक पुस्तक “कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व”को विमोचन गर्दै तत्कालीन नेपाल काँग्रेसका प्रवक्ता विश्वप्रका शर्माले भनेका थिए, “कुनै एकदिएका कारणले मात्र राणा शासन ढलेको होइन, एउटा घटनाले मात्र स्वाधीन भएका होइनौँ । एउटा साहदतले मात्र यो परिवर्तन आएको होइन, एउटा नेतृत्वको मात्र देन पनि होइन । मकैको खेती क्रान्तिको सुरुवाती झिल्को थियो, सुब्बा कृष्णलाल अधिकारीले सुरू गरेको रूपान्तरण अभियानलाई हामीले सम्झनुपर्छ ।” धेरैतिर मकैको खेती कृषीसम्बन्धि पुस्तक थियो भनेर व्याख्या गरिए तापनि त्यसमा चेतना, रूपान्तरण तथा व्यांग्य साहित्यको झिल्को भएको कुरा माथि उल्लेखित वाक्यांशहरू तथा विश्वप्रकाश शर्माको शब्दलाई आधार मान्ने हो भने नकारिहाल्न सकिन्न । मकैको खेती १००० प्रति छपाइकोमा ९९९ प्रति जलाइएको थियो । एक प्रति संकलन गरेर राणासामु बुझाउन नसकेका कारण ४ वर्षको सजायमा थप ५ वर्ष गरी कृष्णलाललाई ९ वर्षको जेल सजाए सुनाइएको थियो । पछि उनले जेलमै देह त्याग गरे । उनी कालगतिले मरे वा हत्या गरिए, त्यो खोजको अर्कोपाटो हुनसक्ला ! मकैको खेतीको वास्तविकताः मकैको अर्को खेती कृतिका लेखक डा. सञ्जिव उप्रेती का अनुसार हाल उपलब्ध मकैको खेतीलाई आधार मान्दा कृष्णलालले नितान्त कृषिमाथि वा सत्ताविरुद्ध व्यांग्य, के लेखेका थिए भनेर ठ्याक्कै भन्नसकिदैन । उनी भन्छन्– “यसका दुई पाटा छन् । पहिलो, उनले कृषिमाथि नै लेखेका पनि हुनसक्छन् । तर त्यसको गलत व्याख्या तथा विश्लेषणले उनले सजाय भोग्नु पर्यो । दोस्रो भनेको चाहिँ त्यो समयको परिवेशले पनि प्रभाव पार्न सक्छ । हुनसक्छ, एन्टीराणा अभियानहरू सुरू भएका थिए होला ! सीधारूपमा भन्न नपाइने हुँदा उनले आफ्नो चेतना र क्रान्तिलाई संकेतको रूपमा पनि लेखेका हुनसक्छन् ।” मकैको खेतीको दास्रो संस्करण २०६८ सालमा जगदिश घिमिरेको सम्पादनका प्रकाशित छ । यद्यपि यसमा दोस्रो संस्करण लेखिएको छैन । तर त्योबेला एक हजारमा ९९९ प्रति जलाउदा नभेटिएकै एक प्रतिको पुनः प्रकाशन गरिएको बताइन्छ । खैर, त्यसको आधिकारिकता अर्को विषय होला ! जगदिश घिमिरेको सम्पादनमा जगदम्बा प्रकाशनले बजारमा ल्याएको मकैको खेतीमा ७२ पेज छन् । जसमा परिशिष्ठले ३० पृष्ठ थपेको छ । परिशिष्ठ एकमा कलम दीक्षितको दश पेज लामो ऐतिहासिक खेती शीर्षकको लेख छ भने परिशिष्ठ दुईमा कृष्णलालका साला सम्वाभक्त शर्मा सुवेदीको लेख छ । उक्त पुस्तकमा पैँतालीस शीर्षकमा कृष्णलालकृत मकैको खेतीलाई प्रस्तुत गरिएको छ । भलै, ९९९ प्रति जलाइदा बँचेको एक प्रति कहाँ छ र त्यसमा के लेखिएको छ ? कसैलाई थाहा छैन । #कृष्ण ढुङ्गेल #कृष्णलाल अधिकारी #मकैको खेती
काठमाडौँ टेक्नुअघि, काठमाडौँ टेकेपछि ...: घर छाडेको पाँचौ दिन । बिहानको समय । बर्मादेखि भारत हुँदै नेपालको पूर्वी सिमानाबाट यतिखेर नेपाल खाल्डोमा प्रवेश गर्दै रहेछौँ । थकाइले चुर भएर निदाएका हामी कुनै कारणले आँखा खुल्यो । कुनै अनजान ठाउँमा गाडी चलिरहेको थियो । मोबाइलमा समय हेरेँ बिहानको सात बजेको छ । हामी कुन ठाउँमा आइपुगेका छौँ, थाहा छैन । यत्ति मात्रै थाहा छ, हामी काठमाडौँको यात्रामा छौँ । झ्यालबाट हेर्दा अजंगको पहाड देखियो । त्यो पहाडका टुप्पोमा फाट्टफुट्ट घर देखिए । केही तल खेतबारी र बालीनाली । यस्ता दृश्यहरू परबाट निकै सुन्दर देखिन्छ । चिसो हावा र लोभ्याउने दृश्यले मलाई आफ्नो गाउँघरको सम्झना दिलायो । घर छाडेका जम्मा पाँच दिन मात्रै हो र ? मनले प्रश्न गर्यो । यत्तिका घटना, यत्तिका ठाउँ र यत्तिका अनुभव जम्मा पाँच दिनमा कसरी सम्भव छ र ? यात्रामा यो सबै हुँदो रहेछ । एउटा यात्राले १० पुस्तकको अनुभव दिन्छ, त्यसै भनिएको होइन रहेछ । पहाड अझै अग्लिँदै गयो । ठाउँ ठाउँमा बाक्ला गाउँहरू पनि देखिए । घरको याद झन् घनिभूत भयो । मान्डलेमा बसाइँ सरेदेखि यहाँको व्यस्ततामा अल्झेर म मोगोक नपुगेको निकै समय भएको छ । यो वातावरणमा मैले आफ्नो गाउँ पाए जस्तो लाग्यो । उस्तै चिसो लगलग कमाउने, अग्ला पहाड र चिटिक्क परेका घर । गाडी रोकिएसँगै कुनै युवाले निद्रा बिथोल्ने गरी कराए, “लौ एकैछिन रोकिन्छ । छिटो छिटो हात मुख धुनुहोस् र फ्रेस हुनुहोस् ।’ छेउका साथीहरू निदाइरहनुभएको थियो । आल्हादित हुँदै ती दृश्यहरू देखाउन मन लाग्यो । तर आँखाअघि आइपुग्यो, सिमेन्ट, बैङ्क र अनेक परिकारका विज्ञापनले घरका भित्ता सिंगारेको दृश्य । यति सुन्दर ठाउँका यति सुन्दर घर बनाउने मानिसले केही रकमको लोभमा किन यी विज्ञापन पोत्न स्वीकार गरेका होलान् ? मलाई ती घरहरू कुनै आकर्षक पुरुषको अनुहारमा देखापरेको बिफरका खाल्डा जस्तै महसुस भयो । गाडी फनक्क घुम्यो र रोड छेउमा रोकियो । गाडी रोकिएसँगै कुनै युवाले निद्रा बिथोल्ने गरी कराए, “लौ एकैछिन रोकिन्छ । छिटो छिटो हात मुख धुनुहोस् र फ्रेस हुनुहोस् ।’ कुनै अभिभावकले भनेजस्तो यति राम्रो कुरा पनि किन कर्कश आवाजले निदाइरहेका व्यक्तिहरूलाइ रिस उठ्ने गरी भनेका होलान् ? कुरा बुझिनँ । सबैको निद्रा खुल्यो । पाण्डेजीले ध्यान दिएर बाहिर हेर्नुभयो र भन्नुभयो, ‘धार्के आइपुगेछौँ ।’ ‘धार्के मतलब कहाँ ?’ मैले सोधेँ । ‘काठमाडौँ आइपुग्यौँ ?’ उत्तर आउनुअघि सरगमले सोधिन् । ‘होइन, अब एक दुई घण्टामा पुगिन्छ ।’ पाण्डेजीको उत्तरले म खुसी भएँ । ‘कहाँ पुगियो रे ?’ सीमा दिदीले मलाई सोध्नुभयो । ‘धार्के आइपुग्यौँ । अब यहाँबाट काठमाडौँ नजिकै छ ।’ मैले पुरानो यात्रुजस्तै भएर जवाफ दिएँ । केही सूचना केही सेकेण्डअघि पाउँदा पनि मानिस अरूभन्दा जान्ने सुन्ने हुनसक्छ भन्ने लागेर आफैँ खुसी भएँ । फ्रेस हुन उत्रिएका थियौँ, तर त्यो त खाजापानी खाने ठाउँ रहेछ । त्यो पनि एकान्तजस्तो ठाउँमा । फ्रेस हुने बाहानामा हामीलाई चियानास्ता खान पो बोलाइएको रहेछ । व्यापार बढाउने यो राम्रो काइदा थियो । बल्ल पो कुरा बुझ्यौँ । चिसो असाध्यै थियो । पानी त छुनै नसकिने । छिटो छिटो हातमुख धोएर हामी चिया पसलमा छिर्यौँ । सेल रोटी खाऊँ खाऊँ लाग्नेगरी सजाइएका थिए । जाडोमा तातो सेल नखाई मन कसरी मान्थ्यो र ? बर्मामा सेल खान तिहार नै आउनुपर्छ । हामीलाई तिहार आइदियो । हामीले सेलरोटी मगाउनुअघि नै पैसा दिँदै भन्यौँ, ‘सबैलाई पेटभरि तातो सेल दिनुहोला ।’ ‘पहिले खाइसक्नु, अनि पैसा दिनुहोला । नत्र कसरी थाहा हुन्छ, कति पैसा लिने ?’ पसलेको कुराले हामी छक्क पर्यौँ । हिजो रातीभन्दा ठीक उल्टो कुरा सुन्नु पर्यो । हिजो मध्यरातमा भोकले आत्तिँदै हामी गाडीबाट ओर्लिएका थियौँ । त्यो पनि यसैगरी गाडीले खाना खाने ठाउँमा रोकिदिएपछि । अध्यागमनअघि खुसीले केही खाएका थिएनौँ । कर्मचारीको व्यवहारले दुःखी भएर केही खान मन लागेको थिएन । गाडीले एकैपटक खाना खान रोकेपछि हामी नेपाली भूमिमा पहिलोपटक खान खान कुनै होटलमा छिरेका थियौँ । होटेलमा कसरी खाना मगाउनुपर्छ थाहा थिएन । टोली नेता भीमजीलाई जानकारी छ । तर उहाँ ‘मेरो व्रत छ’ भनेर दोकान छिर्नुभएन । हामी सबै नयाँ, छ जना मज्जाले टेबल ओगटेर बस्यौँ । हामीभन्दा पछि आएका मान्छे खान थालिसके, हामीलाई वास्ता नै छैन । त्यही पनि कुरेर बस्यौँ । १० मिनेट, २० मिनेट गर्दागर्दै समय घर्किदै गयो । गाडीका सबै पेसिन्जरहरू एकैपटक दोकानमा छिर्दा भीड भयो । हामी छिर्नुअघि नै त्यहाँ खाना खानेहरू थिए । कोही उठ्दै, कोही खान बस्दै गर्न थाले । यात्रुहरू आउने, धमाधम खाने र निस्कने गर्न थाले । हामीलाई खाना आएन । अब आउँछ भन्दै पर्खदै गर्यो, आउँदैन । हामीभन्दा पछि आएका मान्छे खान थालिसके, हामीलाई वास्ता नै छैन । त्यही पनि कुरेर बस्यौँ । १० मिनेट, २० मिनेट गर्दागर्दै समय घर्किदै गयो । अरू खाना खाँदै उठ्दै गरे, हामीलाई खाना नै आएन । निकैबेरपछि एकजना भाइ आएर सोधेका थिए, ‘टोकन दिनूस् त ।’ ‘केको टोकन ?’ हामीले एकसाथ जवाफ दियौँ । ‘खाना नखाने ?’ रेस्टुराँको भाइले उल्टै प्रश्न गरे । भोकले हैरान भएका हामीलाई यो प्रश्नले रिस उठ्नु स्वभाविक थियो । रिसाएर केही हुनेवाला थिएन । पछि थाहा भयो, सिटमा बस्नुअघि नै पैसा तिरेर, कुपन लिनुपर्छ र त्यो काम गर्ने भाइहरूलाई बुझाउनु पर्छ । तब मात्र खाना आउँछ । हाम्रो समस्या बुझेपछि वेटर भाइले त्यहीँबाट आवाज दिए, ‘छ ठाउँ भात ।’ ‘अहो कति महंगो ।’ हामी तर्सियौँ । ‘किन कति ठाउँ खाने र ?’ वेटरले सोध्यो । हामीले त्यति महंगो होला भन्ने कल्पना नै गरेका थिएनौँ । हाम्रो अलमल देखेर वेटर अर्कोतिर लागे । बर्मेली भाषामा ठाउँको अर्थ हजार हो । वेटरले छ ठाउँ भातभन्दा हामीलाई लाग्यो, एक प्लेट खानाको ६ हजार रूपैयाँ पर्दो रहेछ । ६ हजारमा एक प्लेट खाना खाने प्रश्न नै थिएन । पछि पो थाहा भयो, वेटरले छ ठाउँ भन्नुको अर्थ छ प्लेट खाना भनेका रहेछन् । हामीले कानेखुसी गर्दै भन्यौ, ‘नेपाली व्यवहार मात्र होइन, बोली बुझ्न पनि अप्ठ्यारो रहेछ । हाम्लाई नेपाली बोल्न आउँदैन होला हगि ।’ तर धार्केमा कुनै पनि समस्या भएन । सेल रोटीलाई सेल रोटी नै भन्न पाइयो । चायलाई चाय नै भनियो । थपी थपी खाएको सेल रोटी र चियाको खर्च पनि धेरै लागेन । जाडोमा तातो सेल र चियाले न्यानो बनाइदियो । त्यसमाथि पसलेहरूले पनि त्यति निरास हुने व्यवहार गरेनन् । कतिपय बाटोघाटोहरूले बर्माको याद दिलाउँथ्यो मलाई । एउटै आकाशको छानो भएका र एउटै धर्तीको भुइँमा उभिएका दुई देश । काठमाडौँतिर लाग्दा बिहानको साढे सात बजेको थियो । त्यो चौबीस तारिखको दिन थियो । कतिपय बाटोघाटोहरूले बर्माको याद दिलाउँथ्यो मलाई । एउटै आकाशको छानो भएका र एउटै धर्तीको भुइँमा उभिएका दुई देश । त्यसमाथि भू–बनोट अलिअलि भा’पनि मिलिजान्छ । त्यसमाथि नेपाली भाषामा कुरा गर्न पाएपछि धेरै कुरा आफ्नै गाउँघर जस्तो लाग्ने । पर क्षितिजसम्म देखिए जति नेपाल हेर्न लागेँ म । गाउँघर र वनजङ्गल पार गर्दै गाडीले ठूलो नेटो काट्यो । त्यहाँबाट सहर देखियो । ‘यहाँदेखि काठमाडौँ सुरू भयो ।’ पाण्डेजीले जानकारी गराउनुभयो । सुरूमा काठमाडौँ सानो जस्तो लागेको थियो । गाडी अगाडि बढ्दै जाँदा यो ठूलो ठूलो हुँदै गयो । गाडीहरू बाक्लिदै गए । भीडभाड बढ्दै गयो । अहो, संसारका सबै सहर उस्तै हुँदा रहेछन् । मैले टेलिभिजनमा देखेको काठमाडौँ, किताबमा पढेको काठमाडौँ त धेरै सफा र आकर्षक थियो । यो त धेरै नै भीड रहेछ । बसपार्क आउनुअघि भीमजीले स्पेयर भाइसँग एकछिक मोबाइल मागेर ज्ञान सरलाई फोन गर्नुभयो । ज्ञान सरको सूचना अनुसार हामी गंगबुमा उत्रियौँ । सायद कुनै ठाउँ तोकिएको थियो । त्यही तोकिएको ठाउँमा टोली नेता उभिएपछि उहाँकै अनुसरण गर्दै हामी पनि उभियौँ । एकैछिनमा एकजना मध्यकद काँठीका युवा हाम्रो सामु आए र भने, ‘तपाईँहरू बर्माबाट आउनुभएको हो ?’ हामीले मुन्टो हल्लायौँ । ‘मेरो नाम यादब गौतम । म पनि बर्माबाटै आएको हुँ तर १६ वर्षअघि ।’ एकै वाक्यमा उनको व्यहारले हामीमा अपनत्वको महसुस गरायो । ‘तपाईँहरूलाई लिन भनेर आएको, ज्ञान सरले पठाउनुभएको ।’ यति भनेर उनले हाम्रो परिचय लिए । सबैको परिचय लिएपछि उनले भने, ‘म ट्राभल एजेन्सी चलाउँछु ।’ उनलाई हामी के जान्न चाहन्छौँ, सबै थाहा छ भन्ने महसुस गराउने गरी हाम्रो जिज्ञासा शान्त पार्दै अगाडि बढे । अघिदेखि हँसिलो अनुहार र सजिलो बनाइदिने व्यहारबाट हामी प्रभावित भइसकेका थियौँ । पर्यटन क्षेत्रमा लाग्नेहरूलाई थाहा हुन्छ, पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ । त्यसमाथि उनको व्यवहार हामीसँग मिल्ने थियो । उनी बर्मेली नेपाली भएका कारण पनि अझ अपनत्व महसुस भएको हुनसक्छ । जे होस्, उनले हाम्रो मन सुरूमै जितेको महसुस भयो । हामी केही पर रोकिएको गाडीमा चढ्यौँ । उनी आफैँले गाडी चलाए । त्यसपछि काठमाडौँ, काठमाडौँका चोकहरूको जानकारी गराउन थाले । उनलाई हामी के जान्न चाहन्छौँ, सबै थाहा छ भन्ने महसुस गराउने गरी हाम्रो जिज्ञासा शान्त पार्दै अगाडि बढे । ‘हामी अहिले काठमाडौँमा छौँ । यो रिङ्रोड हो । यो रोडले काठमाडौँ र ललितपुरलाई चक्कर लगाउँछ । २७ किलोमिटर गोलो सेल रोटी जस्तो छ यो सडक । यही रोड हुँदै हामी ललितपुरको बालकुमारी पुग्छौँ । यादबले सजिलै बुझ्नेगरी हाम्रो यात्राका बारेमा बताए । ‘अझै टाढा छ ? यादबको कुरा सुनेर मधुदी आत्तिनुभयो । उहाँले हाम्रो यात्रा अझै २७ किलोमिटर टाढा छ भन्ने बुझ्नु भएछ । ‘हामी कलंकी हुँदै अगाडि बढ्यौँ । बाटोमा त्रिभुवन विश्वविद्यालयको सिमाना आयो । यादबजीले त्यसको बारेमा बताए । खासमा यो मैले नाम धेरै सुनेकाले चिहाइ चिहाइ त्रिभुवन विश्वविद्यालय हेरेँ, तर त्यो भवन देखिँन । केही दक्षिणतिर जंगल जस्तो ठाउँमा त्रिभुवन विश्वविद्यालय ठूलो क्षेत्रफल ओगटेर बसेको छ भन्ने बुझेपछि मन शान्त भयो । हामी जाने ठाउँ हिन्दू विद्यापिठ स्कूल हो भन्ने थाहा पाएको थिएँ । ज्ञान सर नेपाल आएपछि पहिलोपटक बसेको स्कुल त्यही हिन्दू विद्यापिठ हो । उहाँले पढाएको र धेरै विद्यार्थी उत्पादन गरेको विद्यालय पनि त्यही हो । बर्माबाट जब ज्ञान सर नेपाल आउनुहुन्छ, उहाँको बसोबास यहीँ हुन्छ भन्ने कुरा पनि थाहा भयो । अहिले उहाँ बर्मेली बच्चाहरूका लागि नेपाली पाठ्यक्रम यहीँ बसेर तयार गरिरहनुभएको छ भन्ने कुरा पनि जानकारी भयो । हिन्दू विद्यापिठका बारेमा थाहा नपाउने गोर्खाली बर्मामा कमै छन् । मैले पनि यसका विषयमा धेरथोर सुनेको छु । अहिले हामीलाई आश्रय दिने ठाउँ पनि त्यही नै हो भन्ने कुरा मैले थाहा पाएको छु । त्यो स्कूल पुग्न मलाई मन मनमा हतार भइरहेको छ । ‘उ त्यो हो हिन्दु विद्यापिठ ।’ हामी मात्र यस्ता भाग्यमानी थियौँ, जुन एउटा स्कूलले हामीलाई आतिथ्य प्रदान गर्दै थियो । यादबजी ले हाइवेबाट गाडी मोड्दामोड्दै एउटा रङ नलगाएको ईँटाको तीन–चार तल्ले भवनतिर संकेत गर्नुभयो । बर्मामा यस्ता आश्रय स्थल निकै अग्ला र फराकिला हुन्छन् । हिन्दू होस् या बौद्ध, त्यहाँ पाहुना बस्ने ठूला भवन हुन्छन् । तर नेपालमा त्यस्ता खालका आश्रय स्थल धेरै नभएकोले होटेलहरूमा बस्नुपर्ने कुरा यादबजीले बताइसक्नुभएको थियो । हामी मात्र यस्ता भाग्यमानी थियौँ, जुन एउटा स्कूलले हामीलाई आतिथ्य प्रदान गर्दै थियो । गाडी रोकिनेबित्तिकै विद्यार्थीको ठूलो समूहले हामीलाई स्वागत गरे । विद्यापिठका सरहरूले मन्त्रोच्चारण गरेर हामीलाई करतल ध्वनीका साथ स्वागत गर्नुभयो । एकाएक ठूलो भीडले हामी घेरियौँ । त्यही भीडमा देखिनुभयो, हाम्रा अभिभावक ज्ञान सर । उहाँलाई देख्नेबित्तिकै हामी भावुक भयौँ । उहाँ नै हुनुुहुन्थ्यो, हामीलाई नेपाली भाषा सिकाउने गुरु । साहित्यमा कलम चलाउनुपर्छ भन्ने हौसला दिने अभिभावक र नेपाल ल्याउन प्रमुख भूमिका खेल्ने मार्गनिर्देशक । बाटो हराएको नानीलाई आफ्नो अविभावक पाउँदा जुन किसिमको अनुभव हुन्छ त्यही ज्ञान सरलाई भेटेपछि भयो । खुसीले हात फैलाएर स्वागत गर्नुभएका सरलाई आफू् अगाडी पाउँदै सबैका आँखा रसाए । त्यहाँ ज्ञान सरसहित डा.चिन्तामणि योगी पनि हुनुहुँदो रहेछ । चिन्तामणि सर, जसले हिन्दू विद्यापिठलाई आजको अवस्थामा ल्याउनुभएको छ । उहाँलाई र हिन्दू विद्यापिठलाई नचिन्ने वा यी दुई संस्थाका बारेमा नसुन्ने गोर्खाली नेपाली कमै होलान् । उहाँ पटक पटक नेपाली भाषा र हिन्दू धर्म संस्कृतिको प्रवद्र्धनका लागि बर्मा पुग्नुभएको छ । मैले उहाँलाई प्रत्यक्ष नभेटे पनि उहाँले लेखेको “म्यान्माको माया“ नामक किताब पटक पटक पढेकी छु । किताबका शब्द र त्यहाँ राखिएका तस्बिरका कारण उहाँ मेरा लागि एकदमै नजिकको अभिभावक हुनुहुन्छ भन्ने कुरा देख्नेबित्तिकै महसुस भयो । म मात्रै किन, धेरै म्यान्मालीहरू उहाँले सम्पादन गरेका पाठ्यपुस्तक र नेपालसँग जोड्ने पुलका काम गरेबापत कृतार्थ छौँ । हामीलाई पालैपालो भव्य स्वागत भयो । यति ठूलो स्वागत होला भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । हामीलाई स्वागत गर्नेहरूमा विद्यार्थीहरूको झुण्डमा विष्णु डाँगी र सुमन पोख्रेल सर पनि हुनुहुन्थ्यो । उहाँहरूले बर्षौँ बिछोडिएका आफ्ना सन्तानलाई भेटेसरह माया गर्नुभयो । बाटोमा कुनै दुःख त भएन भनेर पटक पटक सोध्नुभयो । हामीले बाटोमा पाएको दुःख र थकान उहाँहरूको व्यवहारले मज्जाले बिर्सिएछौँ । हामी ताजा, भर्खरै निद्राबाट उठेर बिहानी सीतल हावाको स्वाद लिदै यात्रारत कुनै युवाजस्तै अनुभव गर्न थाल्यौँ । यो देश बनाउन हाम्रा पितापुर्खाले पनि योगदान गरेका थिए । पसिना बगाएका थिए । एकैछिनमा विद्यार्थीहरूको स्वागत गान सुरू भयो । बर्मामा नेपाली भाषा पाठशालामा हुने स्वागतको याद दिलायो । सबै नेपाली बोलिरहेका थिए र मलाई उतैको याद आइरहेको थियो । म आफैँ पनि साना नानीहरूलाई नेपाली भाषा पढाउँछु र नेपाली बोल्न प्रोत्साहन गर्छु । यहाँ त सबै नेपालीमै स्वागत गरिरहेका थिए र सबै कुरा हामी प्रस्ट बुझिरहेका थियौँ । त्योबेला मलाई लाग्यो, म आफ्नो घर आइपुगेँ । कुनै बिरानो देशबाट आफ्ना पितापुर्खाको खेतबारी हेर्न आइपुगेँ । यो देश बनाउन हाम्रा पितापुर्खाले पनि योगदान गरेका थिए । पसिना बगाएका थिए । योबेला आफू प्रवासी नेपाली हुँ भन्नेमा अप्ठ्यारो लाग्यो । यतैकतै हाम्रो घर हुनुपर्छ । यतैकतैबाट हाम्रा हजुरबाहरू बर्मा बसेको हुनुपर्छ । तर त्यो ठाउँ कहाँ हो ? कसले भनिदिने ? #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की
अध्यागमनमा गोर्खालीकै अपमान: हाम्राअघि अध्यागमन कार्यालय थियो । अध्यागमन कार्यालयको बोर्डमा लेखिएको नेपाली अक्षर आफ्नै लाग्यो । त्यहाँका नेपाली भाषा बोल्ने कर्मचारी र नेपाली सीमाका गतिविधिहरु पनि आफ्नै लाग्यो । सबै नेपाली बोलिरहेका थिए । नेपाली बोल्ने मान्छे सबै नातेदार हुन्, हाम्रा लागि । अध्यागमन कार्यालयमा उभिएर बोर्डका अक्षर पढिरहँदा मेरो मन उस्तै फुरुङ्ग थियो । बर्मेली अक्षर नेपाली अक्षरभन्दा धेरै फरक हुन्छ । सानैदेखि नेपाली अक्षर आफ्नो घरको अक्षर, धार्मिक कामको अक्षर ठान्छौँ हामी गोर्खालीहरु । दसैँ, तिहार, भैलो, पुराण, सबै कार्यक्रमहरुमा केही लेख्नु परे यही देवनागरी अक्षर चल्छ । बर्मेली अक्षर हाम्रा लागि स्कुल, कलेज र सरकारी कार्यालयका अक्षर हुन् । सानैदेखि बेर्मेली अक्षरमा बानी बसे पनि सरकारी कामको अक्षर भएकाले अनिवार्य त हो तर देवनागरी जस्तो धार्मिक र अपनत्व महसुस नहुने । यस्तोमा मलाई काँकडभिट्टा प्रवेश गरे यता नै यी अक्षरहरुले अपनत्व महसुस गराइरहेको थियो । बजारमा जताततै बोर्डमा लेखिएका नेपाली अक्षर पढ्न पनि रमाइलो लाग्ने । यही बोर्ड हेर्ने क्रममा मैले ध्यानपूर्वक नेपाल सरकारको परराष्ट्र मन्त्रालय, अध्यागमन विभागका बोर्ड र त्यहाँ लेखिएका नेपाली र अंग्रेजी दुबै अक्षरहरु पढेँ । ‘कहाँबाट आउनुभयो ?’, भवनभित्र पसेपछि पश्चिमतिरको काउन्टरकै छेउमा एकजनाले सोधे । प्रश्नकर्ताको प्रश्न केही खरो महसुस भयो । प्रश्नबाटै महसुस गरेँ, उनी अध्यागमनका कर्मचारी हुनुपर्छ । ‘हजुर, हामी म्यान्माबाट ।’ हाम्रा टिम लिडर भीमजीले सकेसम्म नम्र भएर जवाफ दिनुभयो । त्यसपछि ती कर्मचारी भित्र गए । निकै ैबेरसम्म देखापरेनन् । साँझ पर्दैथियो । त्यहाँको अफिसियल काम सकेर रात्री बसमा काठमाडौं चढ्ने योजना थियो । गाडी नछुटोस् भनेर ड्राइभरको सहयोगमा केही पैसा बढी तिरेर हामीले गाडीको टिकट मगाएका थियौँ । काठमाडौं जाने यात्रु भेटिएपछि रात्रीबस काउन्टरका मानिस पनि हामीलाई पर्खिपसकेका थिए । यस अर्थमा हामी हतारमा पनि थियौँ । तर कर्मचारीहरुमा हतार थिएन । ‘हजुर अहिलेको टिकटमा काठमाडौँ जानुपर्ने थियो, के गर्ने होला ?’ टिम लिडर पाण्डेले केही आत्तिएको श्वरमा सोधखोज गर्नुभयो । ‘यता लाइनमा आएर बस्नू ।’ काउन्टर भित्रबाट एउटा आदेश जस्तो वाक्य आयो । हामी लाइनमा बस्यौँ । हाम्राअघि एउटा युरोप–अमेरिकी जस्ता लाग्ने सेता छाला भएका जोडी धमाधम अफिसियल काम गरिरेका थिए । उनीहरुलाई कर्मचारीहरु सहयोग गरिरहेका थिए । उनीहरुसँग कर्मचारी नम्र र मिठो श्वरमा कुरा गरिरहेका थिए । तर हामी प्रति उनीहरुको खासै ध्यान थिएन । लाइनमा लागेपछि पो थाहा भयो, एउटा फर्म भर्नु पर्ने रहेछ । यत्तिका समय नष्ट भयो । हामीले हतारमा फर्म भ¥यौँ र काउन्टरमा बुझायौँ । ‘ढिला भैसक्यो । तपाईँहरुका लागि मात्रै यसरी गाडी रोक्न सक्दैन ।’ अध्यागम कार्यालयकै छेउमा गाडीवाला मान्छे कराउन आइपुग्यो । उसको हतारोले हामीलाई झन् हतार भयो । हामीले छिटो गरिदिन अनुरोध ग¥यौँ । ‘एकै छिन् हो, धेरै बेर लाग्दैन ।’ अर्का कर्मचारीले आश्वासनका शब्द बोले । यो वाक्यले हामीलाई राहत दियो । अफिसियल काम सुरु भएपछि मैले अध्यागमन कार्यालयको भित्तामा आँखा पु¥याएँ । त्यहाँ नेपालका सुन्दर र पर्यटकीय स्थालको जानकारी थियो । त्यसमध्ये एकठाउँ लेखिएको थियो, ‘नेपालमा मात्र पाइने काँडेभ्याकुर ।’ मैले ध्यानपूर्वक चरालाई हेरेँ । उडीरहने यस्तो चरा, जसले यति सानो देश छाडेको रहेनछ । कस्तो अनौठो । हामी भने कहाँ कहाँ पुगेका छौँ । ‘कसैसँग सम्पर्क हुन सकेन ।’ भीमजी चिन्तित देखिनु भयो । उहाँको मोबाइलमा भारतीय सिम थियो । त्यसमा केही पैसा बाँकी थियो । त्यही पैसाले उहाँ डेटा खोलेर बर्मा र नेपालमा सम्पर्क राख्न चाहनु हुन्थ्यो । आफूहरु अध्यागम कार्यालयमा आइपुगेको सुचना दिन जरुरी थियो । यसरी सुचना दिँदा केही ढिला भएको खण्डमा कतैबाट फोन लगाउन सकिन्छ कि भन्ने आशाय पनि थियो होला सायद । तर हामी नेपाली सीमामा आइसकेको हुनाले भारतीय सिमले काम गर्न सकेन । हामीसँग नेपाली सिम थिएन । त्यसैले सम्पर्क गर्न गाह«ो थियो । यता गाडीवालाले छिटो गर्न अनुरोध गरिरहेकोे थियो । हुन त अध्यागम कार्यालयमा फ्रि वाइफाइ लेखिएको थियो । हामीले प्रयास पनि ग¥यौँ, तर त्यो प्रयास असफल भैसकेको थियो । त्यहाँ उभिएका कर्मचारीलाई सोध्दा खै चल्नुपर्ने हो भने । तर हाम्रो चिन्ता प्रति खासै चासो देखाएनन् । नेपाली बोल्ने मान्छेबाट पहिलो पटक असहयोग भएको महसुस भयो । भित्र हाम्रो कागजातमाथि गुनगुन कुरा हुन थाल्यो । समय घर्किँदै गएको महसुस भयो । ‘तपाईँहरु यो भिसाबाट नेपाल प्रवेश गर्न सक्नुहुन्न ।’ ‘के रे ?’ हामी सबैको मुखबाट अनायसै यस्ताखालका शब्दहरु निस्किए । हाम्राअघि हाकिमजस्ता देखिने अध्यागमनका कर्मचारी थिए । “किन ? के भयो र हजुर ?’ हामीभन्दा एक पाइला अघि सरेर भीम सरले सोध्नुभयो, ‘हामीले रंगुनमा नेपाली दूताबासबाटै प्रवेश छाप लगाएका हौँ । भीम उदासज्यू साहित्यकार पनि हुनुहुन्छ । उहाँले नै हामीलाई नेपालको विशेष भिसा लगाइदिनुभएको ।’ भीमजीले निकै नम्र भएर आफ्नो कुरा राख्नुभयो । ‘भिसा नै नभएपछि केको प्रवेश छाप ? भिसा पनि विशेष र नविशेष हुन्छ र ? कसले भन्यो तपाईँलाई ?’ हाकिमजस्ता ती कर्मचारीले असहमतिको स्वरमा भने । ‘अब राजदूतले नै लगाएपछि होला नि होइन र सर ? एक महिनाको फ्रि–ग्रेटेस्ट भिसा लगाइदिनुभएको छ भन्ने खबरसहित हामीले यो कागज पाएका हौँ ।’ पाण्डेजीलाई पनि अलि चित्त नबुझेपछि केही कडा स्वरमा बोल्नुभयो । सायद हाम्रा टिम लिडरको स्वरका कारण ती कर्मचारीले अपमान महसुस गरे । उनले भने, ‘कुन पार्टीको झोला बोकेको अनपढ व्यक्तिलाई राजदूत बनाएर पठाए होला । उसले एउटा हस्ताक्षर गरेको कागज हुनेबित्तिकै तपाईँहरु नेपाल छिर्न पाउनुहुन्छ र ? कानुन, नीति–नियम भन्ने हुन्न ?’ हाम्रा लागि कर्मचारीको यो भाषा उनको स्तरभन्दा निकै तल लाग्यो । बर्मामा भीम उदासजीको नाम हामी बर्मेली नेपालीहरुबीच निकै चर्चामा छ । उहाँ नेपाली भाषा र साहित्यका लागि मरिमेट्ने मान्छे हुनुहुन्छ भन्ने सुनेका थियौँ । हाम्रो मनमा उहाँप्रति अपार श्रद्धा छ । यस्ता व्यक्तिलाई ती कर्मचारीले पार्टीको झण्डा बोकेर राजदूत बनेको आरोप लगाइदिँदा अनौठो लाग्यो । हाम्रो बर्मामा माथिल्लो ओहदामा बसेको मानिसले तल्लो तहका कर्मचारीले यस्तो अपशब्द बोल्न पाउँदैन । सिधैँ कारवाही हुन्छ । तर यिनी त हाकाहाकी हाम्राअघि महामहिमको अपमान गरिरहेका थिए । यो मेरा लागि साँच्चै अपत्यारिलो र झसङ्गै पार्ने क्षण बन्न पुग्यो । ‘यो कागजका भरमा म नेपाल छिर्न दिन्न ।’ ती हाकिमजस्ता लाग्ने कर्मचारीले सगर्व घोषणा गरेर काउन्टरबाट अर्को कोठामा छिरे । छेउमा हामीलाई रुँगेर बसेको गाडीको ड्राइभर छ । अर्को छेउमा हामीलाई काठमाडौँ लैजानका लागि ठीक पर्ने सायद टिकट काउन्टरको मान्छे छ । ट्याक्सीवालाले काठमाडौँको गाडीमा चढाएपछि उसलाई पैसा दिएर बिदाबारी गर्नुपर्ने कारणले रोकेका छौँ । यी सबैको हतारोमा हामी चेपिएका थियौँ । यस्तोबेलामा नेपाल नै छिर्न नदिने हाकिमसाबको उद्घोषले हामी कालानीला भयौँ । मधुदी, सीमा र सरगमको अनुहार हेरेँ, सबैजनाको आँखा डम्म आँसु भरिएको देखेँ । मैले पनि आँसु थाम्न सकिनँ । ‘मैले अघि नै भनेको, यस्तो लफडामा पर्नुहुन्न । सिधै बोर्डर कट्दा कसले तपाईंहरुलाई चिन्छ, लौ भन्नु त ?’ यो क्षेत्रमा हुने गतिविधिप्रति जानकार रहेका हाम्रा ड्राइभरले भने, ‘यहाँ धेरै मान्छेलाई यिनीहरुले दुःख दिन्छन् ।’ हुन त पानीटंकीमै उनले भारतको इमिग्रेसन नछिर्नु भनेका थिए । हामी लिगल भिसामा बर्माबाट भारत छिरेका थियौँ, त्यसैले लिगल्ली भारतबाहिर निस्किएको देखिनु पर्दथ्यो । त्यहीँ कारण हामीले उनको कुरा सुनेनौँ । तर योबेला उनले त्यो कुरा झिकेर गनगन गर्न थाले । उनको गनगनले हामीलाई थप तनाव दिन थाल्यो । हाकिम बेपत्ता भएपछि भीमजीले पुनः वाइफाइ नेटवर्कमार्फत् फोन लगाउने प्रयास गर्नुभयो । नेपालमा ज्ञान सर हामीलाई पर्खेर बस्नुभएको छ । उहाँसँग सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष एवं मदन पुरस्कार विजेता रामलाल जोशीको नम्बर पनि छ । त्यही संस्थाले हामीलाई बोलाएका कारण त्यो संस्थामा खबर गर्न पाए हामी नेपाल प्रवेश गर्न पाउँथ्यौँ कि भन्ने उहाँको चाहाना रहेछ । तर त्यहाँको नाममात्रको फ्रि वाइफाइ लाग्ने कुरा छँदै थिएन । त्यो फ्रि वाइफाइ लेखेको देख्दा नै रिस उठेर आयो । त्यसपछि भारतीय सिममार्फत् पनि प्रयास गर्नुभयो । त्यसले पनि काम गरेन । एकछिनसम्म हामीले गरेका सबै प्रयास बिफल भयो । ‘केही त उपाय होला नी, हजुर ?’ करिब करिब रुन्चे श्वरमा भीमजीले एकजना कर्मचारीलार्ई गुहार लगाउनु भयो । ‘हुन्छ म बुझ्छु नि ।’, ती कर्मचारी केही उत्सुक देखिए । उनी यताउता हेर्न थाले । सायद उनी कतै हाकिम देखिन्छन् कि भनेर चासो राखिरहेका थिए । ‘पैलापैला पनि म नेपाल आएको हुँ । म आउँदा कहिले पनि भिसा लगाइनँ । न भारतमा लगाएँ, न नेपालमा । दुबैतिर आफन्त हुनुहुन्छ । उहाँहरुले पनि भिसा लगाउनु पर्दैन भन्नुहुन्थ्यो । कहिल्यै दुःख पाएको थिईंन । आज लिगल्ली प्रवेश गर्छु भन्दा किन दुःख दिएका होलान् ?’ भीमजी एकछिन् सबैले सुन्नेगरी भुटभुटिनु भयो । ‘अब यहाँ आएर फेरि फर्कने त ?’ भीमजीले हामी सबैलाई हेर्दै सोध्नुभयो । सबैको अनुहार कालो निलो थियो । कसैले जबाफ दिएनन् । ‘म त फर्कने । नेपाल टेकिहाल्यो, देखिहालियो ।’ सीमा दिदीले फर्कने आँट गर्नुभयो । ‘अरु ?’ भीमजी हामीतिर फर्कनुभयो । बाँकी हामी सबै चुप लाग्यौँ । यहाँ आइसकेपछि कसरी फर्कने ? के भनेर फर्कने ? बर्मा फर्किएर नेपाल कस्तो लाग्यो भनेर सोधे के जवाफ दिने ? ‘वापस त कसरी जाने ? नजाने । तर यत्रो बाटोमा कहीँ दुःख भएन । यहीँ आएपछि लफडा भयो । तर म जसरी पनि नेपाल छिराउँछु, चिन्ता नगर ।’ अघिसम्म भिजेको मुसोजस्तो हुनुभएको भीमजी, साँच्चै नै महाभारतको भीमले जस्तै शक्तिशाली हुँकार लगाउनुभयो । उहाँको जोशिलो आवाजले हामीलाई पनि थोरै आँट आयो । “तपाईहरूले नयाँ भिसा लिनुपर्ने भो ।’ अघि हाकिम खोजिरहेका कर्मचारीले हामीलाई आएर भने, ‘त्यो कागजलाई हाकिमसाबले मान्यता दिनुभएन । १५ दिनको नयाँ भिसा दिनुहुनेछ तर एक जनाको तीस डलर बुझाउनु पर्नेछ । “एक जनाको तीस डलर ?’ हामीले फेरि मुखामुख गर्यौँ । हुन त पैसाको खेल हुन्छ भन्ने अनुमान गरेरै भीमजीमा नेपाल छिराउने आँट आएको हुनुुपर्छ । तर ३० डलर तिर्नुपर्ला भन्ने अनुमान गरेका थिएनौँ । हामी कसैसँग पनि डलर थिएन । हामीसँग भारु थियो । बर्मेली क्याट थियो । तर डलरको कुरा हाम्रालागि परको कुरा थियो । तर पाण्डेजी भित्र जानुभयो । पाण्डेजीले के पर्ला कसो पर्ला भनेर डलर बोक्नु भएको रहेछ । उहाँले हामी सात जनाको २ सय १० लडर तिरेपछि बल्ल हाम्रो कागज बन्यो र पासपोर्टमा छाप लाग्यो । तर यति बेलासम्म हाम्रो ओठमुख सुकिसकेको थियो । अघिसम्म हामी नेपालको विशेष निम्तोमा साहित्यकारका रुमपा विश्व नेपाली साहित्य सम्मेलनमा भाग लिन आएका हौँ भन्ने जुन गौरवबोध गर्दैथियौँ त्यो तिमिट्यान्न भएको थियो । नेपाल टेक्दाका अनुभूति जुन प्रत्येक भावमा आँशु बग्ने खालका थिए, ती हराइसकेका थिए । जति सुकै आफ्नो भने पनि यो पराइ भूमि थिए । हाम्रा पुर्खा यहिँबाट गएका हुन्, हामीले बोल्ने भाषा यहीँको हो, हामी नेपाली भाषा बोलकै कारण यहाँ सम्मानित हुन आएका हौँ भन्ने भावना वाफ जस्तै उडेर टाढा गएका थिए । नेपाली बोल्नेहरुले पनि यति पराइको व्यवहार गर्छन् भन्ने कुरा पहिलो पटक अनुभव भएको थियो । एक महिनासम्म नेपालका सबै मुख्य ठाउँ घुम्ने र त्सलाई एउटा सुन्दर किताब बनाउने योजना धुलो र माटो भएको थियो । अब हामीसँग जम्मा १५ दिनको भिसा थियो । ७ दिन त सम्मेलनमै बित्छ, बाँकी ७ दिन आउँदा र जाँदा नै सकिन्छ । यस्तोमा नेपाल हेर्ने समय थिएन । मानौँ समय भए पनि यहाँ गरिएको व्यवहारले नेपाल र नेपाली भन्ने शब्दप्रति नै एकप्रकारको वितृष्णाको भाव उत्पन्न भएको थियो । जुन देशका कर्मचारीले आफ्नो राजदूतलाई पार्टीको झोला बोकेर बर्मा गएको आरोप लगाउँछ भने हामीलाई कसरी कसले इज्ज्जत दिन्छ ? सिमाना मै हामीले नेपालको दर्शन पाएका थियौँ । यहि चोट बोकेर हामी अध्यागमन कार्यालयबाट निस्कियौँ । हाम्रो ब्यागेज चेक भइसकेको थियो । त्यही ब्यागेज बोकेर हामीलाई हाम्रो ट्याक्सी ड्राइभरले रात्री बसमा पु¥याइदियो । पश्चिमममा घाम डुब्दै थियो र अँध्यारो हुँदै थियो । त्यस्तै अध्यारो हाम्रो मन पनि थियो । एक घन्टाअघिको उल्लास पूर्णरुपमा बिलाएको थियो । नेपाली बोल्नेहरुको बोली पनि नक्कली लाग्दै थियो । हामी चुपचाप रात्री बसमा तोकिएको सिटमा बस्यौँ । बिहानदेखि हामीले खाना खाएका थिएनौँ । थकान, भोक, निरासा मात्र होइन, हामी अपमानको भारी बोकेर सिटमा ढल्कियौँ । काँकडभिट्टाबाट बस हिँड्यो तर अब काठमाडौँका विषयमा जुन उत्साह थियो, अब त्यो पूरै मरेको थियो । सिमानामा त त्यो गति भयो, त्यो अनजान सहरमा हाम्रो अवस्था के होला, अब हामी कल्पना पनि गर्न पनि चाहन्नथ्यौैँ । हामी एक अर्कामा गफ पनि नगरि गीत सुन्न थाल्यौँ । रात्री बसमा बज्दैथियो, ‘परदेशी परदेशी जाना नहीँ, मुझे छोडके…’ #रिता लामाकार्की
उमेरको कथा: आमाको डायरी: “मलाई च्याप्प समात्यो । आफूतिर तान्यो र गम्लङ्ग अंगालोमा बेर्याे । उसलाई यसो गर्न रात कुर्नै पर्दैन । अब त म पनि बानी परिसकेँ । अफिस जाँदा होस् वा फर्कदा ऊ प्रायः यसै गर्छ । गर्मी होस वा जाडो रातभर अङ्गालोमा बेरिएर सुत्न मन पराउँछ ।” डायरीको पहिलो अनुच्छेदमा लेखिएको थियो । “प्रिय लाग्छ उसको अङ्गालो । आनन्द मान्छ मनले उसको स्पर्शलाई । हरेक पल स्वादिला र रमाइला लाग्छन् । पुरै रात उसितै निदाइदिन्छु म पनि । उज्यालो हुँदै नहोस् भन्ने पनि लाग्छ कहिले काँही । न त चिन्ता, न त छट्पटी । न त सुर्ता, न त कुनै हुटहुटी । एकनाशको खुसी । मगमग पुरुष वासना । अचम्मको सन्तोष । टाँसिएरै युगौं बिताइदिऊँ जस्तो लाग्ने ।” दोस्रो अनुच्छेद पढ्दै गर्दा कुनै उपन्यास पढिरहेको जस्तो लाग्यो । “उसको अनुहार सधैँ हँसिलो देख्छु । दुई वर्ष यसरी नै बितेका छन् । जब नजिक पर्छ, ममा स्वचालित मुस्कान उत्पन्न हुन्छ । जिउमा छुट्टै किसिमको तरंग पैदा हुन्छ । उसका आँखा सधैं तेजिला र प्यासी देखिन्छन् । हेर्दा पनि प्यार झल्काउन सक्छ ऊ । कर्के आँखा पारेर तीर मतिर चलाइरहन्छ । म हेर्दैमा पानी पानी भैदिन्छु । सशक्त प्रेम गर्ने शक्ति छ उसमा । म त्यही शक्तिको वरिपरि चुम्बक जस्तै टाँसिइरहन्छु ।” मलाई निकै चाख लागिरहेको थियो । मभन्दा पुराना डायरीका पानाहरूले मलाई आकर्षित गरिरहेका थिए । आमाको डायरी पहिलो पटक पढ्दै थिएँ । निकै सुरक्षित तरिकाले राखेको यो डायरी बिस्तारामाथि थियो । मेरो उमेर र आमाले डायरी लेख्दाको उमेर एउटै छ । मैले अहिले बिताइरहेको रोमाञ्चक वैवाहिक जीवन र आमाले डायरी लेख्दै गर्दा बिताएको वैवाहिक जीवनमा तात्विक भिन्नता देखिँदैन । त्यसैले पनि यो डायरी मेरो आफ्नै डायरी जस्तै लाग्दै थियो । सुमित्रा न्यौपाने “ऊ जतिबेला पनि नजिकिन्छ । टाँसिएरै बस्न मन पराउँछ । यौनिक संकेत गर्छ । कति धेरै कामुक बनेको ? विवाह पूर्व कस्तो थियो होला ? कतै ऊ जिगालो त होइन ? मलाई बनावटी माया गरेको त छैन ? डर पो लाग्छ कहिलेकाहीँ । किन यति उत्ताउलो बनेको ? काखमा राखेर घण्टौं माया गर्छ ऊ । अङ्ग अङ्गमा करेन्ट प्रवाह गरिदिन्छ । मलाई लठ्ठ पार्छ र कब्जामा पार्दै जान्छ । उसको स्पर्शमा जादु छ । म आँखा बन्द नगरी बस्नै सक्दिन ।” ‘ बिन्दु, म जुम्ला जाने भएँ नि ।’ आमाको डायरी पढ्दै गर्दा बिदुरलाई सम्झिरहेकी थिएँ मैले । मेरो बाको स्वभाव र मेरो लोग्नेको स्वभाव उस्तै लाग्दै थियो मलाई । बाको अर्को रूप बिदुर नै हो जस्तो लाग्यो । बिदुर आँखा वरिपरि नाच्न थाल्यो । वैवाहिक जीवनको दुई वर्षको अवधिमा बाले आमालाई गरेका हरेक क्रियाकलाप म र बिदुरसँग हुबहु मिलिरहेका थिए । ‘ बिन्दु, म जुम्ला जाने भएँ नि ।’ कोट फुकाल्दै बोल्यो मधु । उसको अनुहारमा निरासा थिएन । म भने एकाएक निरास भएँ । ऊ मलाई छोडर कतै नजाओस् भन्ने लागिरहन्छ । म आत्तिन्छु । ‘ किन जाने फेरि जुम्ला ?’ ‘ अफिसको कामले । किन पठाउन मन लागेन ?’ ‘अहँ, लागेन ।’ मुस्कुराउँछ ऊ । ‘म पनि त जुम्ला गएकी छैन ।’ बिस्तारै बोल्छु । ऊ केही बोल्दैन । केही सोचेजस्तो गर्छ । म पर्खिरहन्छु । तर ऊ बोल्ने छाँटकाँट नै देखाउँदैन । मेरो धैर्यताको बाँध भत्किन खोज्छ । ‘मलाई पनि लैजान मिल्दैन भनेको ?’ म चिच्याएर सोध्छु । ऊ हाँस्छ । ‘अफिसको काममा कसरी लैजानु र तिमीलाई ?’ ‘म पनि जान्छु ।’ म जिद्धी गर्छु । ऊ मेरो नजिकै आउँछ । मलाई फकाउन खोज्छ । मेरो चिउडो समातेर आफूतिर तान्छ र निधारमा चुम्बन गर्छ । फकाउनु पर्दा ऊ सधैं यस्तै गर्छ । म नमानेको अभिनय गरिरहन्छु । एकछिन पछि पकेटबाट दुईवटा प्लेन टिकट निकाल्छ । मुसुक्क हाँस्छ अनि मेरो हातमा थमाउँछ । म संसार जितेको महसुस गर्छु । आमाको होइन म मेरो डायरी पढिरहेकी छु । आमाका कथा होइनन् मेरै कथा हुन् यी । बिदुर पनि त मलाई छाडेर हिँड्न कहाँ चाहान्छ र ? मार्केटिङ म्यानेजर हो । हिँड्न परिरहन्छ । भनेकै बेलामा निस्किनुपर्छ । तर सकेसम्म ऊ मलाई नछाड्ने बहाना खोजिरहन्छ । मिलेसम्म खुसी बनाइरहन खोज्छ ऊ । ऊ आफू भन्छ ‘मेरो आदत फेरिएको छ । अस्ति धनगढी जाँदा कस्तो न्यास्रो लाग्यो । निद्रा नै लागेन । तिम्रो मात्र याद आयो ।’ निद्रा त मलाई पनि ऊ बिना लाग्न छोडेको छ । तर म उसले जसरी खुलेर भन्न कहाँ सक्छु र ? मेरी आमा सधैँ भन्ने गर्थिन् । ‘ तिम्रा बा मलाई छाडेर कही जाँदैनथे । रातको बिस्तारा घरकै प्यारो हुन्छ भन्थे र मुसुक्क हाँस्थे ।’ अहिले मलाई लाग्छ ऊ मेरो बा कै अवतार हो । पेन्टी र ब्राको साइज समेत कण्ठ छ उसलाई । रङ्गिन ब्रा र रङ्गिन पेन्टी खुब मन पर्छ रे । बाहिर हेर्छु । बाटोमा मानिसहरुको भीड थियो । उसो त नेपालगञ्जको बागेश्वरी लाइन सधैं भीडभाड भैरहन्छ । ‘बस्दै गर म आइहाल्छु ।’ भनेकी आमा फर्किसकेकी थिइनन् । आमाको प्रतीक्षा गरेको पनि दुई घण्टा भइसकेको थियो । हरेक चीज छिमेकमा पाउँदा पाउँदै पनि रुपेडिहा जानै पर्ने बाँके बासीको पुरानो आदत हटिसकेको थिएन । आमा कतै रुपेडिया त पुगिनन् ? हतार भएकोले बिदुर पनि छोडेर फर्की हाले । डायरी नभएको भए त बिदुरलाई किन पठाएँछु भन्ने लाग्ने रहेछ । धन्न आमाको डायरी साथी बनेर मसँग कुरा गरिरहेको छ । मेरा आँखा डायरीका पानाहरूमा दौडिरहेका थिए । “मेरा साना साना खुसीहरूमा ध्यान दिइरहन्छ ऊ । मलाई मन पर्ने नपर्ने सबै कुरा उसलाई थाहा छ । पेन्टी र ब्रा पनि मलाई टिमिक्कै मिल्ने गरी ल्याउँछ । पेन्टी र ब्राको साइज समेत कण्ठ छ उसलाई । रङ्गिन ब्रा र रङ्गिन पेन्टी खुब मन पर्छ रे । ‘किन्न लाज मान्नु भएन ?’ मुसुक्क हाँसेर उत्तर दिन्छ ‘बेच्ने पुरुष हुन्छन् भने किन्ने पुरुष हुन किन नहुने ? पसलेका श्रीमतीले पनि त लगाउँछन् । फेरि पैसा तिरेर ल्याउन के को लाज ?’ ‘रङ्गिन ब्रा र रङ्गिन पेन्टी त सबैले लगाउँदैनन् त ?’ ‘सबैले लगाउनु र नलगाउनुमा के सम्बन्ध ? तिमीलाई मनपर्छ, मलाई मन पर्छ त भैहाल्यो नि ।’ मधुसँग जोडिएपछि हो मलाई पनि रङ्गिन ब्रा र रङ्गिन पेन्टी सँगसँगै रङ्गिन दुनियाँ मन पर्न थालेको । स्कुल पढ्दा केटाहरू पटक्कै मन नपर्ने । उनीहरूको कपडा गन्हाएको कि शरीर ? थाहै नहुने । नजिक पर्ने बित्तिकै ह्वाल्ल आउँला हुन्थ्यो । सकेसम्म टाढै बस्थेँ म । ‘बोकाहरू कति गन्हाएका ?’ मेरो यस्तो कुरामा साथीहरू हाँस्थे । केटाहरू गाली गर्थे । तर अहिले मधुको वास्नाले लठ्टै पार्छ । उसको शरीरले चुम्बकले जस्तै तान्छ । बानी परेपछि गन्ध पनि वास्नामा परिणत हुँदोरहेछ ।” डायरीका पानाहरू एकएक गर्दै अगाडि पल्टिरहेका थिए । मेरा स्मृतिका पानाहरू एकएक गर्दै पछाडि । बिहेपूर्व आमालाई सोधेको प्रश्नको याद आयो । ‘आमा केटाहरू किन गन्हाउँछन् ?’ ‘पुरुष वासना हो छोरी । मन परेपछि मीठो लाग्छ । सबैको शरीरबाट बास्ना निस्कन्छ ।’ आमाको उत्तर सहज थियो । मैले गन्ध भनेको कुरालाई आमाले बास्ना भन्थिन् । मैले घृणा गर्ने पुरुष प्रवृतिलाई सम्मान गर्थिन् । हरेक लोग्ने मानिसको प्रशंसा गर्थिन् । सभा सम्मेलनमा खुलेर कुरा गर्थिन् । आमासङ्ग गुलाबी कलरको कार थियो । कतिपय स्थानमा आफ्नै कारमा राखेर पुरुषहरूलाई सभा सम्मेलन पुर्याउँथिन् । ‘हाम्रो शरीरबाट निस्कने बास्नाको पछि लागेर पुरुषहरू वरिपरि झुम्मिन्छन् । जसरी फूलको वासनाका लागि मौरी फूलमा झुम्मिन्छन् । तिम्रो बाको शरीरमा अचम्मको वासना थियो ।’ आमा आँखीभौँ उचाल्दै भन्थिन् । मानौं उनी बाको वासना अहिले पनि सजिलै महसुस गर्दैछिन् । बाको कुरा गर्दा आमाको अनुहारमा चमकता देखिन्थ्यो । कसरी काटिन् होला आमाले ती दिन ? पहाड जस्तो जिन्दगी ? उन्मादिलो यौवन ? यो स्वार्थी समाज ? म प्रतिको जिम्मेवारी ? कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ । हुन पनि हो आजभोलि विदुरको बास्ना मनपर्छ मलाई पनि । मेरो वास्नाले ऊ लठ्ठिन्छ कि उसको वास्नाले म ? अनुत्तरित छु म पनि । ‘तिम्रो हातमा जादु छ । तिमी कति मिठो पकाउँछ्यौं ?’ ऊ मलाई मख्ख पार्न खोज्छ । चम्चामा खाना उठाउँछ र मुखमा टपक्क राखिदिन्छ । भन्छ ‘चाखी हेर त । साँच्चै मीठो छ के ।’ मख्ख पार्न कति सिपालु छ मधु । माया गर्न पनि कति जानेको ? हुन पनि खाना मीठो बनाउँछु म । तन मन लगाएर खाना बनाउनुपर्छ अनि प्यार मिसाउनुपर्छ । खुसी भएर बनाएको खाना खुब मीठो हुन्छ । ‘बसाइ टाढा भएपछि मन टाढा हुन्छ । जागिर कि म ?’ रोजायो । जागिरलाई महत्व दिएन मधुले । मेरो पढाइ र जागिर देखेर बिहे गरेको हो उसले । जागिर उतै खोजौंला भन्यो । मान्दै मानेन । ठाँउ फेरिएपछि सबै कुरा फेरिदो रहेछ । हो ठाँउ फेरिएपछि सबै कुरा फेरिदो रहेछ । बिदुरले पनि मलाई जागिर छोड्न कर गरिरहेको छ । मेरो जिद्धीले रोकिएको छ जागिर । अब त हरेस खान थालिसकेकी छु । बासङ्ग बिदुरको कतिका कुरा मिलेको ? अचम्म लाग्दैछ । कसैकसैसँग त कसैकसैको आनीबानी ठ्याक्कै मिल्ने पो रहेछ । आमा आइसकेकी थिइनन् । आँखा यताउता डुलाउँछु । भित्तामा बाको फोटो झुण्डाइएको थियो । भर्खरै बोल्ला जस्तो । अठार वर्ष भएछ फोटो भित्तामा झुण्डाएको पनि । झण्डै मेरै उमेरमा आमा विधवा बनिन् । चौबिस् वर्षमा विधवा भएकी हुन् आमा । मेरो वर्तमानसँग तौलिन्छु आमाको अतित । कसरी काटिन् होला आमाले ती दिन ? पहाड जस्तो जिन्दगी ? उन्मादिलो यौवन ? यो स्वार्थी समाज ? म प्रतिको जिम्मेवारी ? कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ । आमा कुरा गरिरहन्छिन् । ‘तिम्रो बाले धेरै माया गर्थे । के गर्नु ? अभागी रै’छु । बैंसमा छाडिदिए । सँगै बाँच्ने र सँगै मर्ने कसम खाए तर पूरा गरेनन् । न मलाई लान सके न त म नै जान सके ? बानी मात्रै बिगारेर छोडे । अधर्मी । असत्ती ।’ रिसाउँछिन् घरिघरि । बिदुर पनि बा जस्तै छ । उही स्वभाव देखाउँछ । आमाले भनेजस्तै व्यवहार गर्छ । मलाई डर लाग्छ कतै ऊ पनि बाजस्तै अल्पायु त छैन । शरीरभरि काँडा उम्रन्छ । मन सिरिङ्ग हुन्छ । सोच्दा पनि कहाली लाग्छ । कहिले त लाग्छ बिदुरले बाले जस्तो व्यवहार नगरोस् । बाले आमालाई बैँसमै छाडिदिए । ऊ मलाई कहिल्यै नछोडोस् । डायरीका पानाहरू पल्टिन कन्जुसाइँ गर्दै थिए । पढाइमा भन्दा सोचाइमा अल्मलिदै थिएँ म । मेरी आमा कसरी बसिहोलिन् ? मनभरि हजार प्रश्नहरू तेर्सिन्छन् ।आमा र म हेर्दा उस्तै देखिन्छौं । कत्ति पनि बिग्रेको छैन उनको शरीर । सधैंकी चिटिक्क । सरल र सुन्दरी । आफूलाई मिल्ने कपडा लगाउँछिन् । फेरि जे लगाएपनि सुहाउँछ आमालाई । ठूलो ऐना अगाडि बसेर कपडा फेर्छिन् उनी । शरीरका हरेक अङ्गहरूमा आँखा पुर्याउँछिन् । हँसिलो अनुहार बनाइरहन्छिन् । आँखामा सधै गाजलको धार देखिन्छ । हेर्दै चम्किला, तेजिला आँखा । कुनै युवतीभन्दा कम सुन्दर देखिन्नन् मेरी आमा । सबैलाई लठ्ठ पार्न सक्ने । श्रृङ्गार गर्न पनि कति जानेकी ? उनी स्थान अनुसार कपडा लगाउँछिन् । शरीरमा टिमिक्क मिलेका कपडामात्र मन पर्छ उनलाई । पाइन्ट लगाउन् या सारी । उनलाई जे लगाए पनि सुहाउँछ । जालीदार ब्लाउजमा पारदर्शी सारी । कानमा झुम्का । सेट मिल्ने गहना । ब्रान्डेड लिपिस्टिक । हिल स्यान्डल । स्टेट कपाल । घाँटीमा थरिथरिका माला । उत्तेजक देखिन्छिन् कहिलेकाहीं । उनको सुन्दरता सबैका आँखामा ठोकिन्छ । बाको मृत्यु आमाको लागि अकल्पनीय थियो । चानचुन एक वर्ष पुरै वरखी बारिन । सामाजिक संस्कार र आफ्नो जिम्मेवारी अक्षरस पालाना गरिन् । वरखी सकिएकै भोलिपल्टदेखि आफूलाई सामान्य जीवनमा फर्काउने कोशिस गरिन् । विधवाको पहिरनमा बसेर बिचरा र अवलाको जीवन जिउन उनको मनले मानेन । समाजका हरेक विधवाहरू अवला र विचरा थिए । शिर ठाडो बनाएर हिँड्ने र बोल्ने आँट गर्दैनथे । आमाको नजरमा यस्तो जीवन प्राणबिनाको जीवन जस्तो लाग्यो । जिउँदो लासले संघर्ष गर्न नसक्ने निचोडमा पुगेकी मेरी आमाले आपूmलाई कहिल्यै बिचरा बन्न दिइनन् । समाजको अगाडि आफ्नो स्वाभिमान कहिल्यै झुक्न दिइनन् । “केटाहरूप्रतिको धारणा पूरै परिवर्तन गराइदियो मधुले । वास्तविक जीवन बिहेपछि मात्रै सुरु हुने रहेछ । बिहे गर्दिन भन्नेहरू त जीवन नबुझ्नेहरू हुन् । श्रीमान र श्रीमती एउटा पैसाका दुई पाटा जस्तै रहेछन् । एउटाको अभावमा अर्को अपूर्ण । स्वर्गीय आनन्द विवाह पूर्व कहाँ भेट्टिएला ? चरम आनन्द यौनिकतामा भेटिन्छ । मलाई खुलेर जिउन मधुले सिकायो । यौवन जोगाउन र यौनमा रमाउन मधुले नै सिकायो । जीवनको रहस्यप्रति सजग बनायो । बिगत र भविष्यले चिन्ता निम्ताउँछ । यी दुबै हाम्रा होइनन् । वर्तमान हाम्रो हो । वर्तमानमा रमाऊ भन्छ ऊ । कति राम्रो दर्शन छ मधुको । यही दर्शनमा रमाइरहेकी छु म । लोग्ने स्वास्नी बीचको झगडाको मुख्य कारण यौन नै हो भनेर ठोकुवा गर्छ मधु । हो जस्तो पनि लाग्छ मलाई । दिनभरिको थकान र तनाव एक अर्काको अङ्गालोले सजिलै पूरा गरेको अनुभव छ मसँग । ‘सब चिज बेलैमा गर्नु पर्छ । चालिस कटेपछि रमाउँला भनेर कहाँ हुन्छ ?’ मधुको यो कुरा खुब मन पर्छ मलाई ।” आमा निकै रोमान्टिक थिइन् । डायरीका पानाहरूले प्रमाण दिइरहेका थिए । रमाउने बेलामा नै विधवा भइन् । अहिले आपैmले लेखेका यी शब्दहरूले भतभती पोल्छन् होला । छब्बीस वर्षमा बाले आमालाई छोडे । चौबीस वर्षकी मात्रै थिइन् आमा । दुर्घटना सँगसँगै बाले दिएका चुरा, पोते, सिन्दुर, हाँसो, खुसी, प्यार र यौन सबै छरपस्ट छिरलिए । यत्रतत्र छिरलिएका कतिपय खुसीहरू बटुलबाटुल गरेकी छन् जस्तो लाग्छ अहिलेसम्म । आँट र साहसले जिएकी छन् आमा । अरूभन्दा उनी केही फरक रहिछन् । शोकमा समेत शक्ति बटुलेर केही बिद्रोह गरेकी रहिछन् उबेला पनि । सामाजिक संस्कार पूरा गरिछन् फरक तरिकाले । चुरा, पोते, सिन्दुर श्रीमानले श्रीमतीलाई बिहेमा दिएका उपहार हुन् । उपहार फुटालेर फालिदैन बरु सजाएर राखिन्छ भन्ने विचार आमाको रहेछ । त्यसैले पनि चुरा फुटाएर लासमाथि राख्न लगाउँदा चुरा फुटाइनन् । बिस्तारै खोलेर बाको छातीमा राखिदिइछन् । सिन्दुर पखालेर चढाउँनुभन्दा बट्टाको सिन्दुर चढाइछन् । सिउँदो पखाल्न मानिनछन् । पोते चुडाएर चढाउन लगाउँदा फुकाएर चढाइछन् । जे जे समाजले गर्न लगायो आमाले सबै गरिछन् तर फरक तरिकाले । यो पनि बिद्रोह एउटा रुप थियो । त्यो बेला त्यस्तो गर्न सक्नु चानेचुने कुरा छँदै थिएन । समाजले शंकाले हेर्यो । शंकालाई लंका पुर्याइदिइन् । चट्टान बनेर उभिएकी आमालाई समाजको कुरीति, कुसंस्कार र कुविचारको हुरीले हल्लाउन सकेन । दुर्घटना सँगसँगै छरपस्ट छिरलिएका चुरा, पोते, सिन्दुर, हाँसो, खुसी, प्यार एक एक गर्दै बटुल्दै गइन् । सजाउँदै गइन् र उपयोग गर्दै गइन् । आमाले राता चुरा लगाउँदा घरमा हंगामा मच्चियो । गाजल, पाउडर र लिपिष्टिक लगाउँदा भूँइचालो गयो । थाइकट र पाइन्टले सुनामी ल्यायो । सभा र सम्मेलनको सहभागिताले हुण्डरी मच्चायो । आमाले सबै सामना गर्दै गइन् । इट्टाको जवाफ पत्थरले दिँदै गइन् । कहिलेकाहीँ यस्तो लाग्छ उनले आफ्नो पहिलो बैंस बासँग बिताइन् जुन छोटो समय मात्र रह्यो । दोस्रो बैंस शब्दहरुसँग खेलेर बिताइरहेकी छिन् । आजभोलि आमा प्रायः सर्ट र पाइन्ट हुन्छिन् । कालो चस्मा हर्दम टाउकोमै हुन्छ । गाजल लिपिष्टिक र परफ्युम नलगाई गेट बाहिर पनि निस्किदिनन् । पुरानो बेचेर नयाँ कारमा हुइँकिन्छन् । वास्तवमा आमाको जीवन लोभलाग्दो छ । कुनै कुराको कमीे छ जस्तो देखिँदैन । न त एक्ली महिला जस्ती देखिन्छिन् न त एकल महिला नै । रुप र यौवन हेर्ने हो भने छब्बीस सत्ताइस वर्षभन्दा माथि कसैले भन्दैन । अहिले पनि बाटोमा सिठ्ठी फुक्ने र चुइगम पट्काउनेहरू भेटिन्छन् । आमा उनीहरूलाई हेरेर मुस्कुराइदिन्छिन् । आमाले कहिल्यै हरेस खाएको अनुभव भएन मलाई । जीवन जिउने तरिका जान्नुपर्छ भन्छिन् आमा । वर्तमानमा रमाउन सल्लाह दिन्छिन् । सधैं सकारात्मक सोच्नु पर्छ भन्ने मान्यता छ आमाको । समयको आवश्यकता नै हाम्रो आवश्यकता हो भन्ने उनको विचार छ । हरेक रात आमाले केही न केही लेख्थिन् । सामाजिक सञ्जालमा होस् वा स्थानीय पत्रपत्रिकामा उनका लेख रचनाले चर्चा पाइरहन्छन् । कथा र उपन्यासका कृतिहरू पनि बजारमा आइसकेका छन् । उनको गज्जवको लेखनशैली छ । अक्सर उनको लेखन यौन मनोविज्ञानको वरिपरि घुमिरहन्छ । उनका कथामा खुला यौन भेटिन्छ । अतृप्त रहरहरू भेटिन्छन् । असरल्ल परेका तथा पूरा हुन नसकेका यौन उत्कण्ठा भेटिन्छन् । उनका हरेक कथाहरूका पात्र र परिवेश उत्ताउला हुन्छन् । धेरैले उनका कथाहरू चाख लिएर पढ्छन् । युवाहरु उनका ड्राइहर्ट फ्यान छन् । कहिलेकाहीँ यस्तो लाग्छ उनले आफ्नो पहिलो बैंस बासँग बिताइन् जुन छोटो समय मात्र रह्यो । दोस्रो बैंस शब्दहरुसँग खेलेर बिताइरहेकी छिन् । उनी आफ्ना यौन उन्मादहरू कथामा समेट्छिन् । सायद यौन कथावस्तुहरू लेखेर नै उनले यौन चाहाना पूरा गरिरहेकी छन् । कहिलेकाहीँ आमा अलिक उत्ताउली भइन् कि जस्तो पनि लाग्थ्यो मलाई । आमाको विषय समातेर बिदुरले प्रश्न गर्छ कि भन्ने त्रास उत्पन्न नभएको पनि होइन । माउभन्दा चल्ला बाठा हुन कहिल्यै मन लागेन । सबैको मन हुन्छ । मन गरुङ्गो भयो भने जीवन कहिल्यै माथि उठ्न सक्दैन । जिन्दगी जिउन जान्नेका लागि मात्रै रहेछ भन्ने कुरा आमाको डायरीबाट अवगत भएको छ । आमाको जीवन हो जसरी खुसी हुन्छिन् ठिकै छ भन्ने पनि लाग्यो मलाई । डायरीका पानाहरू रङ्गिन छन् । आमाको जीवन जत्तिकै । यतिका दिनसम्म लुकाएर राखिएको डायरी आमाले किन बाहिरै छोडिन् ? किन लुकाइनन् पहिले जस्तै ? किन हतारिइन् आज ? म आउँदैछु भन्ने सूचना पहिले गरेकी थिएँ । म आउने थाहा हुँदाहुँदै घर छोडेर किन गइन् ? सधै म आउँदा प्रसन्न हुन्थिन् । खबर पाएपछि कुरेर बस्थिन् । ‘तिमी बस्दै गर म बजार पुगेर तुरुन्तै आउँछु’ भन्दै निस्केकी थिइन् । तर किन ढिलो गरिन् ? धेरै प्रश्न मनमा उठेका थिए तर गौण बनेर बसे । छोटो जीवनको लामो कहानी… ” डायरीको अन्तिम पानाको अन्तिम अपूर्ण वाक्य थियो यो । बाको मृत्यु हुनुभन्दा अघिल्लो दिन मात्र लेखिएको रहेछ । यी अपूर्ण वाक्यले बाको अपूर्ण जीवनलाई संकेत गरिरहेजस्तो लाग्यो । डायरी बन्द गरें । बाको अनुहार र रोमान्टिक स्वभाव तस्बिर हेरेर मिलाउँदै थिएँ । ढोका बज्यो । म जुरुक्क उठें । डायरी राख्न नपाउँदै आमा भित्र पसिन् । मुटु थरर काँप्यो । रंगेहात चोरी पक्रिएजस्तै लाग्यो । म केही बोल्न सकिन । शिर निहुरियो । अनुहार निलोकालो भयो । आमाको अनुहार भने उज्यालो थियो । आमा मुस्कुराइन् र गम्लङ्ग अङ्गालो हालिन् । आमाको शरीरबाट पुरुष गन्ध आइरहेको थियो । ****************** #आमाको डायरी #सुमित्रा न्यौपाने
छेकेन कोरोनाले संसारकै ठूलो किताब मेला तर...: कोरोनाभाइरसको आतंकले युरोपलाई अझै सताउन छाडेको छैन। युरोपमै सबैभन्दा बढी प्रभावकारी रूपमा कोरोनाभाइरस नियन्त्रणमा भूमिका खेलेको जर्मनीमा पनि कोरोनालाई लिएर असमञ्जसको भाव छँदैछ। यसका बाबजुद पनि संसारकै ठूलो किताब मेलाको उपमा पाएको जर्मनीको फ्य्राङ्कफर्ट पुस्तक मेला नरोकिने पक्का भएको छ। यो मेलाको आयोजन नरोक्ने कुरामा आयोजक सहमत भएका छन्। त्यसै पनि जर्मनीमा किताब प्रकाशन हुन थालेको पाँच सय वर्ष पुगेको उपलक्ष्यमा जर्मनीको यो मेला रोक्ने कुरामा धेरै सहमत हुन नसकेकाले यसलाई जारी राख्न सहमत भएका हुन्। पाँच सय वर्षअघि फ्य्राङ्कफर्ट शहर नजिकैको मेइन्ज छेउमा प्रिन्टिङ प्रेस उद्घटान भएको थियो। यस मेलामा त्यसो त संसारकै ठूला प्रकाशकहरूले सहभागिता नजाउने भइसकेका छन्। त्यसमाथि यहाँका लोभलाग्दा छलफल कार्यक्रम पनि अधिकांशतः डिजिटल नै हुने पक्का भइसकेको अवस्थामा यसलाई कम्तीमा जारी राख्ने अवस्थामा आयोजक पुगेका हुन्। “यस्तो महाव्याधिको अवस्थामा कार्यक्रमलाई जारी राख्नु नै ठूलो कुरा हो, त्यसैले यस पटकको किताब मेला विशेष हुन पुगेको छ,” किताब मेलाका निर्देशक जुएगर्न बुजले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै भने। अक्टोबर महिनामा आयोजन हुने यस मेलाको सफलताले पूरा इभेन्ट उद्योगलाई नै प्रभावित तुल्याउने वा नमूना बन्ने हुनाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आयोजक लागिपरेको निर्देशक बुजको भनाइ छ। कोरोनाभाइरसका कारण करिब तीन हजारभन्दा बढी यस्ता इभेन्टहरू रद्द गरिसकिएको छ। रद्द नहोस् पनि किन, पूरा देश अहिलेसम्म लकडाउनमै छ, खुले पनि कतैकतै आंशिक रूपमा मात्र खुलेको छ। त्यस्तै यात्रामा प्रतिबन्ध लगायतका समस्याले ट्रेड फेयरहरू रोकिएका हुन्। यस्तो अवस्थामा किताब मेला आयोजना हुनु अन्य व्यापार मेलाकै भाग्य निर्धारण हुनु एसोसिएसन अफ जर्मन ट्रेड फेयर इन्डस्ट्रीका प्रबन्ध निर्देशक हेराल्ड कोटरले बताए। युरोपमा विश्वव्याधिलाई राम्रोसँग व्यवस्थापन गर्ने देशमध्येमा जर्मनीलाई मानिन्छ। दुई लाखभन्दा बढी संक्रमित फेला पर्दा जम्मा ९ हजार २ सयको मृत्यु भयो। यो बेलायतभन्दा निकै कम हो। बेलायतमा हालसम्म ४५ हजार बढीको मृत्यु भइसकेको छ। तुलनात्मक रूपमा जर्मनीमा खुला भए पनि ठूला कार्यक्रमहरू आयोजना गर्न आउँदो अक्टोबर महिनासम्म रोक लगाइएको छ। यसको सबैभन्दा ठूलो मार म्युनिखको बियर महोत्सवलाई परेको छ। बुजले यस वर्षको किताब महोत्सव विशेष हुने बताएका छन्। व्यापारिक भेटघाट, साहित्य उत्सव तथा भर्चुअल इभेन्टजस्ता मिश्रित तरिकाले कार्यक्रम सञ्चालन गरिने भएको छ। यस मेलामा ठूला प्रकाशन संस्थाहरू पेइन्गुइन रेन्डम हाउस, हार्पर कोलिन्स र स्प्रिन्जर नेचर तथा जर्मनीका चार ठूला प्रकाशन संस्थाहरू रेन्डम हाउस डचल्यान्ड, बोनिएर, होल्जब्रिङ्क तथा बास्टी लुबेले सहभागिता नजनाउने पहिल्यै घोषणा गरिसकेका छन्। होल्जब्रिङ्कका प्रबन्ध निर्देशक अलेक्जेन्डर लोरबियर भन्छन्, “यस मेलामा हामी सहभागी नहुनुको एउटा कारण जिम्मेवारी पनि हो किनभने कार्यक्रम सफल बनाउने नाममा हामी कामदार, लेखक तथा पाहुनाकै स्वास्थ्यमाथि खेलबाड गर्न सक्दैनौँ।” औषधविज्ञहरूले भने यस किसिमको निर्णयलाई सुझबुझपूर्ण भनेर स्वागत गरिसकेका छन्। “यस्ता कार्यक्रमहरू रोग फैलाउन सबैभन्दा उपयुक्त माध्यम हुन्, सुपर स्प्रिडर हुन्,” हाली विश्वविद्यालयका भाइरोलजीका प्राध्यापक अलेक्जेन्डर केकुले भन्छन्, “मानिसहरू प्रत्यक्ष भेट हुने यस्ता कार्यक्रमलाई कि त तपाईंले सिधै रद्द गर्नुपर्छ, कि त आएका प्रत्येक व्यक्तिको परीक्षण गर्नुपर्छ।” यता आयोजकहरूले भने कार्यक्रम नरोक्नका लागि सामाजिक दुरी कायम गर्ने, प्रत्येक आगन्तुकको प्रिरजिस्ट्रेसन गर्ने, स्वास्थ्यको ख्याल आगन्तुकले नै राख्नुपर्नेजस्ता नियम बनाएको छ। यसका बाबजुद पनि कतिपय व्यक्तिहरू यसबाट सन्तुष्ट भएका भने छैनन्। “यस्ता नियमबाट हामी खासै सन्तुष्ट भएका छैनौँ,” बोनियर मिडिया डचल्यान्डका प्रमुख कार्यकारी क्रिस्चियन सुमाकर गेब्लर भन्छन्, “त्यसैले यसमा सहभागी नहुनु नै उत्तम हो भनी हामी यतिबेला चुपो लागेर बस्या छम्।” केहीले भने मेला जारी रहनुपर्ने धारणा राखेका छन्। जमर्न प्रकाशक क्लेटकोटाका प्रबन्ध निर्देशक टम क्राउसार भन्छन्, ”हामी सधैँ डराएर बस्न जरूरी छैन। विभिन्न क्षेत्रका मानिसहरू सचेत भएर यस्ता कार्यक्रममा सहभागी हुँदा आत्मविश्वास बढ्छ। गतिला छलफल हुन्छन्।” यसअघि कम्तीमा एक लाखभन्दा बढी मानिसहरू दैनिक यो मेलामा भ्रमणका लागि आउँथे भने यस पटक मुस्किलले २० हजारको उपस्थिति रहने अपेक्षा मेला आयोजकको छ। अघिल्लो वर्ष ७ हजार ४ सय विभिन्न प्रदर्शक भेला भएका थिए भने यस पटक त्यसको एक तिहाई नै आए भने पनि ठूलो सफलता ठान्नुपर्ने बुजको भनाइ छ। यो मेलाको सबैभन्दा ठूलो व्यापार भनेको पुस्तक प्रकाशन, बिक्री भन्दा पनि संसारभरिका प्रकाशकहरूको भेलामा अनुवाद अधिकार लिने, बेच्ने अवसरका रूपमा उपयोग गरिन्छ। त्यसका लागि यस पटक पनि खासै अवरोध नहुने बुज बताउँछन्। २०२० मा आयोजन हुने अन्य ठूला पुस्तक मेलामध्ये लन्डन बुक फेयर र बोलोग्ना चिल्ड्रेन्स बुक फेयर रद्द भइसकेका छन्। “ती कार्यक्रम रद्द भइसकेपछि कम्तीमा किताब उद्योगलाई एउटा त मेला चाहियो नि ! व्यापार त चलाउनै परो कि कसो?” बुज भन्छन्। बुजले त्यसो भनिरहे पनि मेलामा जानेहरूले पहिलेको वातावरण भने नहुनेमा विश्वस्त छन्। “प्रायः पहिलेको किताब मेलामा म ४० वटा बैठकमा त सहभागी हुन्थेँ नै, फ्राङ्कफर्ट भर्लाग्सन्सलट प्रकाशन गृहका प्रमुख जोअचिम अनसेल्ड भन्छन्, यस पटक भने मैले मुस्किलले दुई वा तीन वटा बैठक मात्र गर्न सकूँला।” यस पटकको मेलामा भने आगन्तुकहरूले एउटा कुरा पक्कै चुक्चुकाउने गरी छुटाउने छन् र त्यो हो, साथीहरूसँगको मस्तमाहोलको भेटघाट। हातमा बियरका ग्लास, होहल्लाका साथ रमाइलो र किताबी गफ यस पटक भने हुने छैन। अनसेल्ड भन्छन्, “पुराना साथी भेट्ने र रमाइलो गर्दै नयाँ नयाँ आइडिया सुनाउने कुरा भने यस पटक सम्भव देखिएन। दुःखको कुरा हो २०२० मा कोरोनाले हामीलाई यसबाट भने वञ्चित गरिदियो।” #पुस्तक मेला #फाइनान्सियल टाइम्स
गीत-सङ्गीत विशेष प्रवासी प्रवाहको एघारौ शृङ्खला\xa0(भिडियाेसहित): गैरआवसीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम ” प्रवासी प्रवाह” एघारौ शृंखला सम्पन्न भएकाे छ । उक्त श्रृंखलामा गीत र सङ्गीतलाइ केन्द्रमा राखिएकाे थियाे । कार्यक्रम साउन ११ गते तदानुसार जुलाई २६ तारिक बेलुका ८ बजे सम्पन्न भएको थियाे । विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरूका सिर्जनाका प्रवाहहरूलाई प्रवाहित गर्न यस कार्यक्रमको उदेश्य रहेको छ । गैरआवासीय नेपाली संघ – भाषा,साहित्य ,संस्कृति तथा सम्पदा समितिको अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह”को एघारौ शृङ्खलामा नेपालबाट वरिष्ठ कवि तथा गीतकार डा. कृष्णहरि बराल, बेलायतबाट चर्चित गायिका शर्मिला बर्देवा, अमेरिकाबाट लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासी, जापानबाट कवि तथा लेखक बेलुकाजी थापा, कतारबाट गजलकार,कवि दीप मिलनको उपस्थिति थियो । “गीत लेखन पहिले लेख्दैआएको भन्दा फरक लेखिनु पर्छ । गीत कविता विधाको एउटा हाँगो हो ! उपन्यास-कथा एक्लै पढिने हुनाले अश्लिल हुँदा पनि ठिक मानिन्छ, तर गीत सबैको सामु सुनिने हुनाले यसको रचना गर्दा सचेत हुनु पर्छ ! गीतलाई हाम्रो परम्परा संस्कृति र संस्कार अनुसार सेन्सर गरिनु पर्छ ! उछ्शृंखल र सामाजिक बन्धनलाई नाघेको हुनुहुँदैन ।” कार्यक्रममा अतिथि साहित्यकार डा. कृष्णहरि बरालले भन्नुभयाे । साथै उहाँले आफ्ना केही गजल पनि सुनाउनु भयो । त्यस्तैगरी अमेरिकामा बसेर पनि नेपाली गीत-सङ्गीतलार्इ माया गरिरहनुभएका लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीले गीत-सङ्गीतको कुनै सिमा नहुने मत राख्नुभयाे । उहाँले भन्नुभयाे- “म जहाँ रहे पनि नेपाली गीत-सङ्गीतलाई माया गर्छु भने ।” उहाँले आफ्ना नयाँ पुराना गीतहरू हार्मोनियम बजाएर लाइभ सुनाउनुभयाे । त्यस्तै बेलायतमा रहेर पनि आफ्नो गीत-संगीतप्रतिको लगावलाई निरन्तरता दिनुभएको गायिका शर्मिला बर्देवाले ट्रयाकमा कृष्णहरि बरालले लेखेको गीतका साथै अन्य गीत सुनाउनुभयो । त्यसैगरी कतारमा रहेर गजल, छन्द कविता लेखिरहेका कवि दिप मिलनले आफ्ना केही छन्द कविता र गजल सुनाउनुभएकाे थियाे । कार्यक्रम भगवती बस्नेत र नृपेश उप्रेतिले संचालन गरेका थिए । प्रवासी प्रवाह अनलाइन कार्यकम विभिन्न देशका गतिविधि र साहित्य सिर्जना सुन्नको लागि एन आर एनको भाषा साहित्य तथा सम्पदा प्रवर्धन समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाह सुन्न हेर्न नभुल्नु होला । यस शृंखलालार्इ तलकाे लिंकमा गएर पनि सुन्न तथा हेर्न सक्नुहुनेछ । https://www.facebook.com/watch/live/?v=748909199220510&ref=watch_permalink
प्रज्ञा-प्रतिष्ठानमा संस्कृति मन्त्रीको पोखियो असन्तोष: साहित्यपाेस्ट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रज्ञा प्रतिष्ठानका क्रियाकलापप्रति असन्तोष जनाउँदै साउन १५ भित्रमा सबै निकाय र विभागको प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन् । मन्त्री भट्टराईले गएको आइतबार तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबीच भएको संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त निर्देशन दिएका हुन् । प्रज्ञा भवन, कमलादीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरू बीच भएको संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले चार दिनभित्र सबै प्रज्ञा–प्रतिष्ठान र संस्थानले आ.व. २०७६/०७७ को प्रतिवेदन मन्त्रालयमा अनिवार्य बुझाउन निर्देशन दिएका हुन् । “विनियोजित बजेटले महत्त्वपूर्ण कार्यक्रमहरू गर्न कठिनाई भए मन्त्रालयले थप सहयोग गर्नेछ ।” भट्टराइले दर्जनौ पदाधिकारीको संयुक्त भेलालाई सम्बोधन गर्दै भने, “पेश्की फस्र्योट, बेरुजु फस्र्योट शतप्रतिशत हुनैपर्छ । मितव्ययी पनि हुनैपर्छ र प्रत्येक महिनामा आ–आफ्ना कामहरूबारे मन्त्रालयमा कार्यप्रगति रिपोर्टिङ गर्नै पर्छ ।” मन्त्री भट्टाराईले कतिपय समान प्रकृृतिका काम छुट्टाछुट्टै गरेर फजुल खर्च गरेकोमा असन्तोष व्यक्त गर्दै भने, “संयुक्त रूपमा गर्न सकिने कामलाई छुट्टाछुट्टै गर्नुको कुनै तुक छैन ।” सुरुमा नरम तरिकाले प्रस्तुत भएका मन्त्री भट्टराईले भने, “आपसी परिचयका साथै प्राज्ञिक गतिविधिका बारेमा एकअर्काका अनुभव आदान प्रदान गरौँ र आगामी कार्ययोजनाबारे छलफल गरौँ भन्ने उद्देश्यले यस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । म मन्त्री भएर आएपछि प्राज्ञहरूबाट धेरै कुरा सिकेको छु । प्रज्ञा–प्रतिष्ठानहरू मेरा लागि विश्वविद्यालय भएको छ ।” प्राज्ञहरूको भनाइ सुनेपछि भट्टराई लामो समय बोलिरहे । उनले भने, “कोरोना भाइरस कारण पूर्वनिर्धारित ठूला गोष्ठी, सेमिनार तथा सभाहरू आयोजना हुन नसकेका भए तापनि अब सानातिना गोष्ठी, सेमिनारहरू आयोजना गर्न कुनै बन्देज छैन । तपाईँहरु अघि बढ्नूस् ।” विस्तारै बौद्धिकरुपमा भट्टराईले प्रज्ञा प्रष्ठिानको कार्यशैलीप्रति असन्तोष जनाउँदै भने, “अबदेखि प्रज्ञा–प्रतिष्ठानहरूमा पनि कुलपतिसमक्ष उपकुलपति र प्राज्ञहरूले कार्यसम्पादन सम्झौता लागू गर्नुपर्ने हुन्छ । हामीसँग अर्को विकल्प छैन ।” मन्त्री भट्टराईले मानव सभ्यता र समाजलाई सकारात्मक बाटोतर्फ दिशानिर्देश गर्ने खालका लेखन र गतिविधिहरू प्राज्ञहरूबाट हुनुपर्ने आवश्यकता पनि औँल्याए । सारा विश्व पूर्वीय सभ्यतातिर फर्किइरहेका बेला नेपाली नागरिकमा भने नकरात्मक चिन्तन र सोचको विकास भइरहेको तर्फ सङ्केत गर्दै उनले सामाजिक सद्भाव कायम राख्न र साझा राष्ट्र तथा राष्ट्रियतालाई मजबुद बनाउने पक्षमा प्राज्ञहरूको अहम् भूमिका रहनुपर्ने कुरामा जोड दिए । थप भने, “विश्वमा नेपालको सकरात्मक उपस्थिति देखाउन सबैले आआफ्ना तर्फबाट सक्दो रचनात्मक भूमिका खेल्नै पर्छ । त्यसमा बौद्धिक व्यक्तिहरुको भूमिका अझ बढी हुनुपर्छ ।” पहिलोपटक भेटघाटः प्रज्ञा प्रतिष्ठानको इतिहासमा पहिलोपटक यस किसिमको भेटघाट भएको त्यहाँ उपस्थिति प्राज्ञहरुले साहित्यपोस्टलाई बताएका छन् । भेटघाट हुँदा सबैको कुरा सुन्ने र आफ्नो कुरा राख्ने परिपाटीको विकास भएको पनि उनीहरुले बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि कार्यक्रममा यस किसिमको ऐतिहासिक भेटघाट पहिलो पटक भएकोमा खुसी व्यक्त गरेका छन् । कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानले सरकारले तोकेका जिम्मेवारीहरू शतप्रतिशत पूरा गर्दै आएको स्पष्टिकरण दिए । उनले राज्यले अपेक्षा गरेका दायित्वहरू निर्वाह गरी सार्थकता पुष्टी हुने प्रकारका कामहरू प्रतिष्ठानले गरिरहेको दावी गरे । कामको प्रगति विवरण : कार्यक्रममा मन्त्री भट्टराईको गुनासो मात्र थिएन, भएका कामको प्रसंसा पनि गरेका थिए । प्राज्ञहरुका अनुसार कुलपतिले दक्षिण एसियाका प्रायः सबै प्रज्ञा–प्रतिष्ठानसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको आपसी सहकार्य सम्झौता भई त्यो क्रम जारी रहेको र इजरायलसँग समेत सम्झौता भएको अनुभव सुनाउँदा मन्त्री भट्टराईले खुसी व्यक्त गरेका थिए । प्रतिष्ठानले उक्त कार्यक्रममा चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन आयोजना गरिएको, प्रादेशिक, नेपाल दर्पण महाग्रन्थ र नेपाली दर्शन महाग्रन्थको लेखन कार्य सुरु भएको विवरण पेश गरेको थियो । त्यसैगरी नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण गरी लागू गरिएको र अर्को वर्ष १ लाख १५ हजार शब्दको प्रज्ञा नेपाली बृहत् शब्दकोश ल्याउने गरी काम भइरहेको जानकारी पनि कार्यक्रममा दिइयो । प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटा सङ्ग्रहालयको डिपिआर निर्माण पूरा भएको जानकारी पनि गराएको थियो । कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले भने, “हामीले आफ्नो औचित्य र सार्थकता पुष्टि हुने गरी काम गर्न सकेनौँ भने हाम्रो भविष्य खतरामा छ । सबैले यो कुरा हामीले बुझेका छौँ ।” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आ.व. २०७६÷७७ मा आफ्नो प्रज्ञा–प्रतिष्ठानले गरेका गतिविधिहरू प्रस्तुत गरे । उनले संस्थाले आफ्नो लक्ष्यको ८५ प्रतिशत कार्य पूरा गरेको बताउँदै कलाकार अरनिकोको १७ फिटको ढलौटको मूर्तिको काम हुँदै गरेको र ललितकलाकर्मी परिचयपत्रको कार्यविधि बनाई वितरण गर्ने तयारी गरिरहेको जानकारी दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले आफूहरू नियुक्त भएर आएदेखिका कामहरूका बारेमा प्रकाश पार्दै कोरोनाका कारण लक्ष्यअनुरुपका कामहरू गर्न नसकेको बताएका थिए । सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले पनि आफ्नो संस्थानले सम्पन्न गरेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक प्रदेश एक पर्वको नीतिअनुसार सात ओटै प्रदेशका विशिष्ट अमूर्त सांस्कृतिक सम्पदाको खोज–अध्ययन गरी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजानेतर्फ प्रज्ञा प्रतिष्ठानले काम गर्नुपर्ने कुरामा जोड दिए । उनले सरकारले गरेको लगानीको औचित्य र प्रतिफल देखिने गरी कामहरू गर्न प्रज्ञा–प्रतिष्ठान र संस्थानलाई आग्रह गरे । उक्त अन्तरक्रियाको सञ्चालन नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गरेका थिए । #प्रज्ञा प्रतिष्ठान #योगेश भट्टराई
फन्टुस फिक्सनका पात्रहरू: ‘भाइ ! कसलाई बनाउनु मैले सदस्य ? तिमीलाई कि माइलो दाइलाई कि जेठो दाइलाई ?’ ‘मलाई बनाउनु दाइ !’ ‘रसिद काटिदिऊँ ?’ ‘कति पैसा लाग्छ दाइ ?’ ‘पाँच सय रुपियाँ प्रवेश शुल्क, वार्षिक सदस्यताबापत दुई सय र सहयोग तीन सय गरेर एक हजार रुपियाँ ।’ ‘हुन्छ दाइ ! मलाई बनाइदिनु ।’ भगवती सुनसरी पूर्व विद्यार्थी शैक्षिक प्रतिष्ठानको विशेष अभियान विस्तारको क्रममा म छु । साँझको बेला छ । मालपोत कार्यालयअगाडि बाटोमा भेटेँ भाइलाई । ‘सागर पोखरेल होइन तिम्रो नाम ?’ रसिदमा नाम लेख्ने बेलामा मैले सोधेँ । ‘सागर पोखरेल होइन तिम्रो नाम ?’ रसिदमा नाम लेख्ने बेलामा मैले सोधेँ । ‘मेरो नाम प्रेम सागर हो दाइ । रसिद चाहिँ राजेन्द्र दाइ वा गणेश दाइका नामबाट काटिदिनुहोस् । किनकि म भगवती माविको विद्यार्थी होइन । तपाईँको यो जुन अभियान छ, त्यो मलाई निकै राम्रो लागेको छ । त्यसैले मैले सहयोग गर्न चाहेको हुँ । यो पैसा सहयोगस्वरूप लिएर दाइहरूसँग पनि सदस्यताबापत मागे हुन्छ,’ पैसा दिँदै उनले भने । म छक्क पर्छु । फन्टुस फिक्सनका पात्रहरू कसरी, कुन रूपमा मेरो छेउमा आउँछन् ? भन्न सक्तिनँ । कोही प्रेरक भएर आउँछन्, कोही दुखान्त । यहाँनेर म एउटा कुरा फेरि स्पष्ट पार्न चाहन्छु साथीहरूलाई कि फन्टुस फिक्सन म लेखिरहेको छुइनँ । मभित्र कोही छ जसले मलाई यी सब लेखाइरहेछ । यो सिलसिला कहिले सकिन्छ थाहा छैन । यति थाहा छ, मैले भेटेका, चिनेका, पढेका सबै फन्टुस फिक्सनका पात्रहरू हुन् । र, अहिलेसम्मको अनुभवमा मूल कथा भन्दै जाँदा बाटोमा, जमघटमा जो–जो भेटिन्छन्, जोडिँदै जान्छन् । यसरी जोडिँदै जाँदा मेरै वा कसैको निजी जिन्दगीमा हस्तक्षेप जस्तो केही अनुभव भएमा, संयोग मात्र हुनेछ । … कस्तो राम्रो प्रश्न मैले सोच्दै नसोचेको । प्रश्नले मेरो अन्तरआत्मा छोयो । ‘साँच्ची अचेल म महिनामा कतिवटा किताब पढ्छु हँ ?’ फन्टुस फिक्सनको पात्र परिचय अध्याय सुरु गरुँ अब अलिकति । भोजराज खनालबाट कुराको थालनी गरुँ । मैले सुरुमा चिन्दा खनालजी कट्टर कम्युनिस्ट कार्यकर्ता थिए । सुनसरी एमालेको कार्यालय हुलाक टोलमा डम्बर खतिवडाले एउटा गुणस्तरीय पुस्तकालय सजाएका थिए । खनालजीसँग बेलाबेलामा त्यहीँ भेट हुन्थ्यो । शिव खेडाको जित आपकी, म्याक्सिम गोर्कीको आमा र अरू रसियन किताबहरू बीचमा हुन्थे । बीचमा १० वर्ष इटहरीमा बाक्लो भएँ । स्थानीय चुनावको सेरोफेरोमा सिरियाको सेलुनअगाडि झुलुक्क भेट भयो । सुरुमा मैले उनलाई झन्डै नचिनेको । ‘ओहो ! भोजराजजी के छ ?’ आफूतिर आउँदै गरेको देखेर मैले सोधिहालेँ । ‘राम्रो छ सुविद सर ! धेरै पछि तपाईलाई यहाँ देखेँ र कुरा गर्न मन लाग्यो ।’ ‘आहा ! तपाई जस्तो मित्रलाई अचानक मसँग कुरा गर्न मन लाग्यो । मेरो अहोभाग्य !’ तपाईँलाई थाहै छ, म प्रायः साथीभाइसँग कुरा गर्नुपर्याे भने यस्तै रमाइलो मुडमा हुन्छु । कहिलेकाहीँ कुरा बुझेर पनि बुझ पचाए जस्तो गर्नेहरूसँग चाहिँ अलि झिँजो लाग्छ । नत्र मेरा साथीहरूसँग कुरा गर्नु तपाईलाई पनि मजै हुन्छ । ‘अचेल तपाई पहिले जस्तै किताब पढ्दै हुनुहुन्छ कि छैन ?’ कस्तो राम्रो प्रश्न मैले सोच्दै नसोचेको । प्रश्नले मेरो अन्तरआत्मा छोयो । ‘साँच्ची अचेल म महिनामा कतिवटा किताब पढ्छु हँ ?’ यो प्रश्न मैले आफूले आफूलाई नसोधेको २० वर्ष भइसकेको रहेछ । सुरुमा म तीन–चार घण्टामा एउटा उपन्यास पढिसक्थेँ । किताबको माग पूर्ति गर्न कहिले कंशमडान, कहिले मधेसा, कहिले सिङ्गिया, कहिले इटहरी, कहिले धरान, कहिले विराटनगर, कहिले वीरपुर पुग्थेँ साथीहरूसँग । हिन्दी, नेपाली जे भेटिन्छ, दिनेले जे दिन्छन्, ल्यायो–पढ्यो । कुनै–कुनै किनिन्थ्यो, कुनै सट्टापट्टा गरिन्थ्यो । सुरज सुब्बा, अजय मण्डल, अनुज पराजुली, म, लाली, मीरा दिदी आदि उपन्यास र अरू साहित्यिक किताब पढ्ने कोर ग्रुपमा थियौँ । बिचमा म नेपाली साहित्यमा भिडेर लागेँ । कवि बन्छु भन्ने लक्ष्य प्रष्ट पारेँ । किताबसँगको दोस्ती झन् बाक्लियो । मैले आजसम्म जति फिल्म हेरेको छु, त्योभन्दा धेरै किताब पढेको छु । हरेक पल्ट काठमाडौँ जाँदा एउटा र आउँदा एउटा किताब सकिन्थ्यो । किताब फिक्सन नफिक्सन जस्तो पनि हुन सक्थ्यो । बिडम्बना मेरो किताब पढ्ने बानी क्रमशः घटेर हुँदाहुँदा वर्षमा एउटामा सीमित हुनपुग्यो । त्यो पनि निकै हल्लखल्ल भयो र कथाले माग्यो भने मात्र । तर यी कुरा मैले भनिनँ भोजराजजीलाई । भन्ने सन्दर्भ पनि परेन । ‘किन ?’ म सोझै मुद्दामा आएँ । ‘तपाईँसँग समय छ र पढ्न चाहनुहुन्छ भने म तपाईँलाई किताबहरू उपलब्ध गराउनसक्छु,’ उनले भने, ‘अचेल हामीले सखुवागाछीमा एउटा पुस्तकालय बनाएका छौँ । त्यहाँ निकै राम्रा–राम्रा किताबहरू छन् ।’ नेकी और पुछ–पुछ । ‘ओके छ त !’ मैले भनेँ । … ‘समाजवाददेखि सावधान’ एक हप्ताका बिचमा दुई पटक फोन सम्पर्क गरिसकेपछि इनरुवामा भेटेर भोजराजजीले मलाई ओशो रजनिशको विचार समेटिएको किताब दिनुभयो । ‘यो किताब तपाईले पढ्नुभएको छ कि छैन, यदि छ भने अर्को ल्याइदिन्छु,’ भन्दै भोजराजजीले किताब मतिर बढाउनुभयो । ‘यो निकै बिकेको किताब हो र यसका बारेमा के भनिन्छ भने,’ पन्डितजीको टेबुलमा टेको लाएर किताबका पानाहरू पल्टाउँदै गर्दा भोजराजजीले भन्नुभयो, ‘यदि कुनै कम्युनिस्टले यो किताब साँच्चिकै समय दिएर पढ्यो भने उसले आफूलाई कम्युनिस्ट हुँ भन्न छोड्छ ।’ सातौँ पाना पल्टाउँदै गर्दा मैले गडेर भोजराजजीका आँखामा हेरेँ । ‘तपाईँले पत्याउनु भएन होला । यसको एउटा उदाहरण त म नै हुँ ! अचेल म आफूलाई कम्युनिस्ट हुँ भन्न मन पराउँदिनँ ।’ मलाई ओशोको किताबले भन्दा पनि भोजराजजीको प्रस्तुतिले निकै आकर्षित गयो । त्यसो त मैले ओशोको ‘सम्भोगसे समाधितक’ किताब जुन दिन पढी सिध्याएँ, त्यो दिनदेखि आजसम्म त्यसको प्रभावले मलाई छोडेको छैन । ३४ वर्षभन्दा बढी भयो । त्यसमा भएको, त्यो एउटा माझी झिसमिसेमै जाल थाप्न गएको, केही वस्तुसँग उसको खुट्टा ठोकिएको, उसले त्यसलाई ढुङ्गाको पोको ठानेको, जाल थाप्ने क्रममा समय कटाउन त्यो पोकोबाट एउटा–एउटा ‘ढुङ्गा’ झिक्दै पानीमा फ्याँक्दै गर्न थालेको र जतिबेला ऊ अन्तिम ढुङ्गा फ्याँक्न लाग्दै थियो त्यही बेला सूर्योदय भएको र उसले आफ्नो हातमा सुनको डल्ला देखेर पछुतो मानेको प्रसङ्ग हामी धेरैको जीवनमा मिलेको सम्झेँ । तर, यो कुरा पनि मैले भोजराजजीलाई भनिनँ । ‘किताब जलाइनुभन्दा पनि खतरनाक अपराध यहाँ छन्, तीमध्ये एक किताब नपढ्नु हो,’ जब–जब म कसैलाई कुनै किताब दिँदै हुन्छु वा कसैबाट कुनै किताब लिँदै हुन्छु, जोसेफ ब्रोड्स्कीको यो भनाइ सुरुमा सम्झिन्छु । ‘हुन्छ, तपाईँले यति मायाले दिएपछि पनि मैले यो किताब नपढ्नु भएको म कृतघ्न हुनु हो,’ मैले भने, ‘एक हप्तापछि म फिर्ता दिन्छु ।’ … ‘व्यक्तिको अस्तित्व समाप्त पार्नु छ भने पहिले उसको सम्पत्ति खोसिदेऊ । सम्पत्ति खोसिनासाथ व्यक्तिको सोचविचारको क्षमता नष्ट हुन्छ ।’ किताब पढ्दै गर्दा मेरो एउटा बानी के छ भने आफ्नो वा अर्काको, जसको भए पनि घत लागेका र प्रुफ नमिलेका शब्दहरूमा अन्डरलाइन लगाउँछु । यात्राका क्रममा पढ्दा पनि मेरो गोजीमा एउटा डटपेन अद्यावधिक हुनै पर्छ । समाजवाददेखि सावधान शीर्षकमा मैले पछिल्लो छिमलमा पढ्न थालेको किताबको हिन्दी संस्करण मैले धेरै वर्षअघि पढिसकेको रहेँछु । हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । पर्सिविस शेलीले भने जस्तो म ओशोका विचारहरू पढ्दै, अन्डरलाइन लगाउँदै गर्न थालेँ । ‘व्यक्तिको मूल्य जस्तो अर्को केही छैन । व्यक्तिको स्वतन्त्रता जस्तो मूल्यवान अरू केही हुँदैैन । व्यक्तिको मूल्य हराउनु भनेको सबैभन्दा घातक कुरा हो ।’ ‘कोही इस्लामका लागि मर्दै छ, कसैले इस्लामका लागि मार्दै छ । इस्लामका लागि मर्नेले वहिशत प्राप्त गर्छ । आफ्ना लागि नबाँच । इस्लामका लागि बाँच । कोही भन्दै गर्छ, हिन्दूत्वका लागि बाँच । तिमी मर तर मन्दिर, मूर्तिहरू बचाऊ । कोही हिन्दूस्तानका लागि बाँच्न प्रेरित गर्दै छ । कोही पाकिस्तानका लागि, इस्लामका लागि बलिदान दिन उक्साउँदै छ । अनि कसैले भन्दै छ, समाजवादका लागि आन्दोलन गर । मर, त्याग गर ।’ ‘जसले आफूलाई बुझ्छ, आफूलाई पाउँछ, त्यसले अरूलाई बाँड्न सुरु गर्छ । आफूलाई पाइसकेपछि नयाँ आनन्द सुरु हुन्छ । अनि यस्तो आनन्द अरूलाई बाँड्ने छटपटी हुन्छ ।’ ‘कतिपय क्षणमा आफ्ना दुःख अरूसमक्ष राख्दा सुन्ने पनि दुःिखत हुन्छ, द्रवित बन्छ । यस्ता दुःखले अरूलाई पनि दुःखी पार्छ ।’ ‘बुद्ध भिकारी होइनन् । बुद्धको भिकारीपनमा पनि एउटा सम्राटको व्यक्तित्व छ ।’ जति पाना पल्टाउँदै गयो यति मन छुने तर्कहरूसँग साक्षात्कार हुँदै गयो । ‘मान्छे इतिहासबाट केही पनि सिक्न चाहँदैन । पुराना शब्द र उपाय बदलिन्छन् ।’ ‘मान्छे आफैँले मैले यति घण्टा काम गर्नु छ भनेर काम गर्न थालोस् । कामसँगै पैसा पनि मागोस् । बिना काम पैसा माग्न लाज होस् ।’ ‘देशको मस्तिष्क यति धेरै माकुरे जालोले जेलिएको छ, त्यसलाई हटाउँदा पनि अप्ठेरो स्थिति सिर्जना हुन सक्छ ।’ किताबको करिब अन्तमा ओशोको भनाइ यस्तो छ – ‘म भगवान्सँग प्रार्थना गर्छु, यस्तो समय आओस्, हामीले भगवान्को मन्दिरमा माग्न जानु नपरोस्, बरू हामीहरू धन्यवाद दिनका लागि जान सकौँ ।’ … फन्टुस फिक्सनका अर्का पात्र घनेन्द्र ओझाका बारेमा थोरै कुरा गरौँ । धेरै पत्रिकामा डेस्कको अनुभव सँगालेका ओझा हिजोआज अजय सुमार्गीवाला थाहा खबर डट कममा डेस्कको काम हेर्छन् । ‘हाम्रोमा यदि कसैको कविता, गीत, गजल, लेख, समाचार, फोटो छापिन्छ वा रेडियोमा समाचार प्रयोग हुन्छ भने त्यसको धेर–थोर जति भए पनि पारिश्रमिक दिइन्छ,’ सुरुमा यस्तै भन्थे घनेन्द्र । थाहा खबरमा मेरा पनि केही गजल र लेखहरू प्रयोग भएका छन् । एक–दुई वटा मैले नै छाप्न अनुरोध गरेको थिएँ । एक–दुई वटा उनैले मागेर छापेका हुन् । तर, पारिश्रमिक पाएको छुइनँ । ‘यसमा मेरै कमजोरी छ दाइ,’ अस्ति काठमाडौँमा भेटिएका बेला उनले भने, ‘हिसाब गरेर मेनेजमेन्टलाई दिने जिम्मा मेरै छ, तर मैले नै समय व्यवस्थापन गर्न सकिरहेको छुइनँ ।’ घनेन्द्र अनाम मण्डलीका संस्थापकमध्येका एक हुन् । गजलका बारेमा निकै अध्ययन गरेका छन् । अब अनाम मण्डली भनेपछि तपाईले बुझिहाल्नुभयो, नेपालमा बहरमा गजल लेख्नुपर्छ भनेर अभियान चलाउने साथीहरूको जमात हो । तपाईँलाई थाहै छ, भर्खर मेरो गजल सङ्ग्रह ‘जूनको आगो’ सार्वजनिक भएको छ । त्यसमा अपेक्षित बहरमा एउटै पनि रचना छैनन् । त्यसैले घनेन्द्र ओझा, सुरेश सुवेदी, जय गौडेल, बलराम दाहाल, प्रभाती किरणहरू उस्तो रुचाउँदैनन्, मेरो गजल लेखाइ । यसबाहेक घनेन्द्र सामाजिक सञ्जालमा कडा रूपमा प्रस्तुत हुन्छन्, दुनियाँका लागि । तर, मेरा निम्ति भने अलि नरम शब्दहरू नै चयन गर्छन् । ‘यायावरजस्तो जिन्दगी भोग्न मन पराउने सुविद स्थायी जागिर हुँदाहुँदै शोखको पेसा पत्रकारितामा पनि उत्तिकै समय दिइरहेका छन् । अझ भन्दा जागिरभन्दा बढी नै समय, श्रम र मिहिनेत उनको पत्रकारितामा देखिन्छ । उनी कतिबेला सुत्छन्, कतिबेला उठ्छन्, सायद उनी आफैँलाई थाहा हुँदैन । रातको बाह्र–एक बजेसम्म साहित्य र पत्रकारिताका विषय खोज्न चोक, गल्ली र सडकहरूमै भौँतारिरहेका भेटिन्छन्, इटहरीतिर । विद्यालयमा पढाउनु, पत्रपत्रिकाका लागि लेख, समाचार लेख्नु, सम्पादन गर्नु, एफएम रेडियोमा कार्यक्रम उत्पादन गर्नु, सञ्चालन गर्नु, समाजसेवाका विविध क्रियाकलापमा सहभागी बन्नु, साथीभाइसँग चियागफ गर्न पनि भ्याउनु र त्यसबाहेकको समय सिर्जनामा तल्लीन रहनु सुविदको दिनचर्याको हो, पङ्क्तिकारले देखेको ।’ जूनको आगोका बारेमा चर्चा गर्ने क्रममा घनेन्द्रले मेरा बारेमा देशान्तर साप्ताहिक र अनलाइनमा मायाले सजाएका शब्द हुन् यी । ‘सुविद दाइले कुन दिन मलाई पनि फन्टुस फिक्सनको पात्र बनाइदिन बेर छैन,’ आफूलाई बिझेको सन्दर्भ सार्वजनिक गर्नुअघि उनले मलाई मेन्सन गर्दै दुई पटक यस्तै भूमिका लेखेका छन् सामाजिक सञ्जालमा । फन्टुस फिक्सनको पात्र हुन रहर गर्ने घनेन्द्रको नेपाली भाषाप्रेम र लेखन प्रष्टताको म ठूलो फ्यान हुँ । अहिलेलाई यत्ति भनेँ । ००० #तपाईँ #सुविद गुरागाई
जापानी लोककथा : बूढी आमा: धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढाबूढीहरूलाई मर्नको लागि एक्लै छाड्नु सामान्य नै थियो । गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृत्यु दिनको लागि तयारी गर्यो । सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्दनाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्मलिन पुग्यो पुग्यो र कतिपय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन । जुनसुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धाधुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोराछोरीले आफ्ना आमाबाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो । बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अलमलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटाहरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखाविरुवाका हाँगाविंगाहरू निमोठिन् र केहि पाइला कट्नेबित्तिकै बाटोमा खसाउँदै गइन् । यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँठाउँमा हाँगाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसानले विस्तारै आफ्नी आमालाई भुइँमा बिसायो र आमाप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आरामदायी ठाउँ खोज्यो । भुइँमा झरेका सल्लाका पातहरूहलाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमालाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँशु भरिएका आँखा र दुखिरहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो । ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’ छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरिपूर्ण आमाको आवाज काँपिरहेको थियो । ‘तिम्रा आँखाहरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो खतरा नै खतराले भरिपूर्ण छ । सावधानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ । तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदरणीय आमा, हजुरको ममता देखेर मेरो मुटु नै टुक्राटुक्रा हुन्छ ! म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घरसम्मको बाटो पत्ता लगाउनेछौं र मर्नुपरे बरु संगै मर्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो (कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा !) र जूनेली प्रकाशमा आमाले भुइँमा झारेका हाँगाविंगालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो । उसको भान्छाकोठाको कुनामा खानेकुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लुकायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो । समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थरथर काँप्यो । आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई राज्यपालको त्यो अचम्मलाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् । उनले भनिन्, ‘परालको डोरी बाट’ । ‘त्यसपछि चेप्टा ढुंगाहरूमा राखेर त्यसलाई सिधा पार र एउटा हावा नचलेको रात पारेर आगो सल्काऊ’| किसानले मान्छेहरूलाई भेला पारेर आमाले भनेजस्तै गर्यो र आगो निभेपछि ढुंगामा खरानीको डोरी बन्यो । राज्यपाल किसानको बुद्धि देखेर प्रशन्न भयो र सबैको अगाडि निकै प्रशंसा गर्यो । र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डुब्यो । धेरैबेरपछि उसले आफ्नो शिर उठायो र गम्भीर मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’, ‘सायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु । यति भनेपछि उसले त्यतिखेर नै आफ्नो कठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धाहरूलाई मार्नुपर्ने व्यवस्थाको अन्त्य भयो । मात्सुओ बाशो (१६४४-१६९४) लाई जापानको सबैभन्दा महान् हाइकु कवि मानिन्छ । जापानको एडो कालमा उनी सर्वाधिक लोकप्रिय कवि थिए । उनका हाइकुहरू विश्वका विभिन्न भाषामा अनुदित छन् र उनले अन्तर्राष्ट्रिय जगतमा निकै ख्याति पनि कमाएका छन् । उनीद्वारा लिखित जापानी लोककथा; एजेड मदर (बूढी आमा)लाई अंग्रेजीबाट नेपालीमा गरिएको अनुवाद हो । यस कथालाई नेपालीमा अनुवादक अनुप जोशीले अनुवाद गर्नुभएको हो । #अनुवादक अनुप जोशी #जापानी लोककथा : बूढी आमा #मात्सुओ बाशो
कमाएर खाने कि मागेर चलाउने ?: म यसो २५ वर्ष अगाडिको समयमा फर्केर जान्छु । सन् १९९४ अर्थात् विक्रम सम्वत् २०५० साल । २०४६ सालको जनआन्दोलनपश्चात् संसदीय संवैधानिक राजतन्त्र स्थापना भएको चार वर्ष भएको थियो । आन्दोलन पंचायति व्यवस्था र राजतन्त्रको विरुद्धमा भएको थियो भन्ने कुरा बिर्सँदै गइरहेको थियो । संविधानका अक्षरहरूमा, नेताहरूको भाषणहरूमा बाहेक जनसाधारणले महसुस गर्न सकिने आर्थिक–सामाजिक रूपान्तरणको झल्को देखिन पाएको थिएन । महसुस गर्न सकिनेगरी एउटा परिवर्तन भने भएको थियो । त्यो हो बोल्न, लेख्नमात्र होइन गालीगलौज गर्न पनि प्रतिबन्ध थिएन । अधिकांश समय शासनसत्ता नेपाली कांग्रेसको हातमा थियो । २०४६ को जनआन्दोलन बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त प्रयासमा भएको भए तापनि २०५० सालसम्म आइपुग्दा पानी बाराबार भइसकेको थियो । नेपाली कांग्रसकै नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागिसकेका थिए । बामहरू आफैँ टुक्रा टुक्रामा विभाजित त थिए नै, सँगै बाम पार्टीहरूको एक मोर्चा २०४६ सालको आन्दोलन र सम्झौतालाई मान्न तयार थिएन । यसैबेला नेपाली कांग्रेसको सत्ताधारी मूलधारकै तर्फबाट एउटा नारा आयो– उदारीकरण, बजारीकरण, विश्वव्यापीकरण । जे त्यतिखेरका शासकहरूले भने– सरकारले आफैँले व्यापार गर्ने होइन, उद्योग चलाउने होइन । सरकार त नियमक संस्था हो, त्यसकारण सरकारको स्वामित्व भएका अधिकांश उद्योग अति सस्तो मूल्यमा बिक्री भयो । सरकारले आफैँ भन्यो– हामी व्यवस्थापनमा चुस्त छैनौँ । नीजिक्षेत्र हामीभन्दा व्यवस्थित छ । त्यतिखेरै पनि विशेषत रामशरण महतको नेपालको अर्थतन्त्रमा निर्णायक भूमिका रह्यो । उनको एकल निर्णय नै नीति र कानुन बने । यहीबेला युवाहरू विदेश जान थालिसकेका थिए । कामको अवसर थिएन । सरकारी उद्योगहरू विशेषत चिनियाँ सहयोगमा स्थापित उद्योग सबै बिक्री भइसकेर पनि बन्द भइसकेको थियो । निजि बैंक र फाइनान्स कम्पनी खोल्ने लहर चलेको थियो । तीन करोड चुक्ता पूँजी र पहुँच भए बैंक स्थापना गर्न सकिन्थ्यो, फलस्वरूप उद्योगी–व्यवसायीहरू नै बैंक स्थापनामा लागे । कतिपयले त सरकारी बैंकमा तीन करोड ऋण लिएर नयाँ निजि बैंक पनि खोले । त्यसैबेला एउटा अर्को व्यवसाय सुरू भयो , रेमिट्यान्स कम्पनी । नेपालीहरूले मलेसिया र खाडी मुलुकमा काम गर्न गइसकेका थिए । घरमा पैसा व्यक्तिगत विश्वास र हुण्डीको भरमा पठाउनु पथ्र्यो । घरमा पैसा पुग्न कमसेकम एक हप्ता त लाग्थ्यो । ल्याएकै मानिसले खाइदेला कि भन्ने डर पनि थियो । यसैबेला खुलेका रेमिट्यान्स कम्पनीहरूको कारोबार धेरै ठूलो भयो । उदारीकरणले नेपालमा आयात बढायो । नेपालका परम्परागत उद्योग धरासायी भयो । सरकारको राजश्व आयातमै बढी निर्भर हुँदै गयो । आयातीत सामान बिकाउन नयाँ सुविधाहरू दिइयो । किस्ताबन्दीमा टीभी, मोटरसाइकल, मोटर पाइन थाल्यो । ती सामान किन्न न्यून ब्याजदर मात्र होइन , शून्य प्रतिशत ब्याजदरमैँ पनि किस्तामा सामान पाइन थाल्यो । जनता झन् झन् उपभोग गर्ने भए । स्नेह सायमि व्यापार सम्झौताहरू हुँदै गए, हामीसँग निकासी गर्ने सामान छैन । आयात गर्ने प्रसस्त थियो । त्यतिखेरै नेपालमा अष्टे«लियाबाट मासु र जुस आइसकेको थियो, भारतबाट तरकारी र फलफूल त आइरहेकै थियो । जुन पञ्चायति व्यवस्थाको विरोध गरियो, उसले जोगाए जतिको अर्थतन्त्र पनि जोगिएन । रामशरणजीको एउटा नीति बन्यो, जे जस्तो ऋण, जे सुकै सर्तमा पनि स्वीकार गर्ने । यसरी नेपाली अर्थतन्त्रमा विदेशी चलखेल बढ्यो । उनीहरूले यसो गर कीउसो गर भन्ने खटन बढ्यो । हामी आर्थिक रूपमा कहाँ छौँ ?अबका दिनमा के के गर्ने ? मात्र होइन, कुन महत्वपूर्ण संस्थामा कसलाई नियुक्ति गर्नेसमेत हस्तक्षेप हुन थाल्यो । विदेशी भन्नासाथ ठूलै मान्छे, हामीभन्दा पक्कै जान्ने बुझ्ने हुनुपर्छ भन्ने हामीलाई लाग्न थाल्यो । त्यसपछिका उद्योग भनेका जडान उद्योगमात्र हुन् । जसले न नेपालीलाई रोजगार दिन्छ न विदेशी मुद्रा कमाउँछ । विदेशी मुद्रा कमाउने, नेपालको संस्कृति र परम्परा, नेपालको पर्यावरण जोगाउने, अलिकति भए पनि पैसा नेपाल र नेपालीकै हातमा रहोस् भन्ने सोच पनि सरकारदेखि समाजसम्म हराउँदै गयो । त्यसो हुँदाहुँदै पनि अर्थतन्त्र त चलाउनु पर्यो । कसरी चलाउने त ? राजस्व आयातमा निर्भर, उल्लेख्य उद्योग छैन, जस्तोसुकै सर्त मानेर विदेशी ऋण माग्दा पनि अर्थतन्त्र नै चल्नेगरी त पाइएन । कसरी चल्यो त नेपाली अर्थतन्त्र भने रेमिट्यान्स । हामीसँग निर्यात गर्ने एउटै वस्तु छ , मान्छे । प्रत्येक आमाबाले आफ्नो आधाजीवन र आयश्रोत खर्चेर हुर्काएको कलकलाउँदा युवाहरू । धनी देशसँग पैसा छ, आरामदायी र बौद्धिक काम गर्ने मान्छे छन्, तर खतरापूर्ण, फोहोरी कसैले नगर्ने काम गर्ने मान्छे छैनन् । त्यसका लागि यो संसारमा नेपालजस्तै लथालिंग र गरीब मुलुक छन् । आफ्नो देशमा नै युवाहरू टिकाउनु पर्छ र आफ्नो देशमै रोजगार सिर्जना गर्नु पर्छ भन्न सोच छैन । ती देशका नागरिकहरू ऋण काढेर दलालको ढाँटमा फँसेर गाउँबाट सिधै कहिल्यै नदेखेको हवाइजहाज चढ्न आइपुग्छन् र एकैपटक पुग्छन् कि खाडी कि मलेसिया । युवाले आफ्नै बलबुतामा केही काम गर्छु भन्यो भने केही छैन, साहुले ऋण पनि दिँदैन । यो अवस्थामा लहैलहैमा ढिलोचाँडो विदेशै हो । त्यही भयो, अहिले २५ वर्षपछि अर्थात् सन् २०१९ , विक्रम संवत २०७६ मा के छ त सिनारियो ? छोराहरू विदेशमा काम गर्छन्, बुहारीहरू गाउँ छोडेर सदरमुकाम बस्छन् । गाउँघर सुनसान छ । खेतबारी बाँझै छ । बूढाबूढी गाउँमा छन् । अशक्त छन् । उद्योगधन्दा हुने त कुरै भएन । सहरमा उपभोग गर्ने चलन बढेको छ । रोटीको सट्टा चाउचाउ र पिज्जा, बर्गर, स्टिक खाएका छन् । पकाउन मन लाग्दैन । रोजगारदाताहरू शीपयुक्त कामदार नपाएर निराश छन् । भारतीय मूलका मानिसहरूको श्रमबाट सहर चलेको छ । फेरि पनि नयाँ नयाँ मोबाइल फोन, टीभी, मोटरसाइकल, मोटरले सहर जाम छ । गरिब र धनीबीचको खाडल बढ्दो छ । यसो हुँदाहुँदै पनि केहीयुवाहरू अलग सोच्छन्, अलग गर्छन् । जस्तै मणिकर कार्की राजनीतिमा रहँदारहँदै बुटवलमा चियाचौतारीको स्थापना गर्छन् । अनुरूप मानन्धर अमेरिकाबाट पढेर फर्केपछि फाइकस बायोटेक कम्पनी स्थापना गरेर टिस्यु कल्चरको ल्याब खोल्छन । आकाश अधिकारी रेडमड कफीसपको चेन बनाइरहेछन् । कुशल सुन्दर श्रेष्ठ हाइड्रोपावरमा लागिरहेछन् । दीप बस्नेत कृषिमा लागेका छन । पवन रेग्मी प्रकाशकको भूमिकामा छन् । कमसेकम रोजगारी खोज्न छोडेर रोजगारको सिर्जना गरिरहेछन् । नेपालको अर्थतन्त्र धान्ने बिउ यिनीहरू र यिनीहरूजस्तै नेपालमा नै साना ठूला व्यवसाय गर्ने युवाहरू नै हुन् । यसको उल्लेख्य प्रतिफल अर्को २५ वर्षपछि प्रमाणित हुनेछ । #जीवनको रंग #स्नेह सायमि
डम्बरको गीत: हजुरको माया सुन हो, हे आमा, होइन पित्तल तामा खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।। संसारैको इज्जत थाम, आफूप्रति सबैको लाग्छ लाम साराको प्यार खनिन्छ तर अरुको काम आमाको नाम हजुरको प्रेम हिरा हो, हे आमा, होइन पित्तल तामा खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।। दुनियाँको मन राख, आफूप्रति सबैले राख्छन् चाख साराको प्यार बर्सिन्छ तर अरुको लाख आमाको काख हजुरको प्रीति मणि हो, हे आमा, होइन पित्तल तामा खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।। #डम्बर बिकेल #डम्बरको गीत
पूँजीवाद: महाभारतको युद्ध गरेर आएका शकुनीहरू गरिबको रगतले अक्षता लगाए खाण्डव वनको बस्तीभित्र निर्दोषको गिदी झिकेर टाउको व्यापार गरे निर्दोषको आँसु को व्यापार गरे विजयको उत्सव मनाए के के गरेनन् उनीहरूले पाठशालाको चकलाई बारुद बनाए निर्दोष गुरुलाई फाँसी लगाए अक्षर नचिनेका युवालाई बन्दुक दिए बन्दुकले जागिर खाने प्रमाणपत्र दिएन बन्दुक सँगै जवानीमा खिया लागेका युवा देशको लागि अयोग्य बनेर खाडी पसेको छन् । युद्धमा हात,खुट्टा गुमाएका योद्धाहरू मृत्यु पर्खेर बसेको छन् युद्धमा छोरा गुमाएका आमाहरू लास वा सास को प्रतीक्षामा छन् युद्धमा सहिद भएकाको परिवार अहिले मसानघाट भएको छ । कतिले छोरा छोरी गुमाए कतिले श्रीमान र श्रीमती गुमाए कतिले बाआमा गुमाए कतिको परिवार टुक्राटुक्रा भए । अरुको परिवार टुक्राटुक्रा बनाउने महासामन्तहरू अहिले आफै सिसा झै टुक्राटुक्रा भए । गरिबको बलिदानले गणतन्त्र आयो गरिब सधैँको गरिब भए तर जनता सबै बराबर बनाउँछौ भन्ने तिनको मालिकहरू चप्पल लगाएर सिंहदरबार छिरे कुबेर भन्दा धनी बनेर निस्किए । अहिले धनको सगरमाथाबाट हेर्दै सहिदको परिवारलाई भन्दै छन् न त समाजवाद ल्यायौँ,न त मार्क्सवाद सत्ताले त हामीहरूको त्रिनेत्र खुल्यो अहिले पूँजीवादको नातावादको धृतराष्ट्र भएर सत्तामा बसेको छौं । #अजय अनमोल #पूँजीवाद
अनेसासले नवनिवार्चित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै: साहित्यपोस्ट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो २९ औँ वार्षिक साधारणसभा तथा केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम आगामी अगस्ट २, २०२० मा गर्ने निर्णय गरेको छ । सो निर्णय संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको हो । अनेसासको हालै सप्पन्न निर्वाचनले जापानका प्रकाश पौडेल माइलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बैठकले सोही दिन भानु जयन्तीको पनि आयोजना गर्नेछ । सो अवसरमा “अनेसास भानु विषेश सम्मान २०२०” बाट भानु प्रतिष्ठान (नेपाल) सम्मानित हुने कुरा साहित्यपोटसँग अनेसासका महासिचव गणेश घिमिरेले बताए । यसैगरी अनेसास भानु सम्मानबाट स्रष्टाहरू प्रभा आचार्य, डा. देवी नेपाल, बलराम दाहाल, दुर्गा रिजाल, सरु गुरागाईलगायतका स्रष्टाहरू पनि सम्मानित हुने जनाइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरिने सो कार्यक्रममा विभिन्न संचार माध्यमहरू पनि सम्मानित हुने जनाइएको छ । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने र कार्यक्रममा अनेसासका केन्द्रीय कार्यसमिति, नवनिर्वाचित कार्यसमिति, सस्थापक एवं पूर्वअध्यक्षहरूको सल्लाहकार समिति, BOT कार्यसमिति, निर्वाचन समिति, पुरस्कारदाताहरू, च्याप्टर अध्यक्षहरूलगायतको उपस्थिति हुने पनि जनाइएको छ । बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा निर्वाचन समिति, संचार माध्यमहरू र मतदाताहरूमा धन्यवाद पनि ज्ञापन गरेको छ । यस कार्यक्रमअघि संस्थाले अनेसास, जर्जिया च्याप्टरको सहकार्यमा भाषाशास्त्री महानन्द सापकोटाको जन्मजयन्ती आगामी जुलाई ३१ मा आयोजना गर्ने पनि जनाएको छ ।
नियात्रा: नेदरल्याण्ड भ्रमणका स्मृतिहरू: भारी मन बोकेर एसिया महादेशलाई नाघेर युरोपसम्मको दूरी तयसँगै यात्रैयात्राको विदेशिने क्रमले डेढ दशकभन्दा बढी नाघिसकेको छ । यसैक्रममा नीलो समुद्र र हरियाली वातावरणले सिँगारिएको प्रकृतिको सुन्दरतम् देश नेदरल्याण्ड जाने योजना बन्यो । फूलै–फूलको सहर । पर्यटकलाई आकर्षित गर्ने म्युजियमको देश, विकाश निर्माणको तीव्रता र ऐतिहासिक ठाउँ हेर्न शताब्दीऔँ पुरानो त्यो ऐतिहासिक सङ्ग्रहालय त्यहाँभित्रको संरचना आ–आफ्नो धर्मसँग सम्बन्धित स्थलहरूको आँगन हेर्न अत्तालिरहेको छ मन । हतारमा यात्रा गर्दा विभिन्न कुरालाई ध्यानमा राख्नुपर्छ भन्ने कुरा मेरा प्रिय कवि श्यामलको कविता “हतारमा यात्रा”लाई मनन गर्दै चाहिने सर्जामहरू जम्मा गरेर निजि वाहनमा चढियो । दिनभरिको कामको थकाइ, बेलुकीको यात्रा रमाइलो हुनेमा आशावादी हुँदै गाडीमा भएको नाभिगेटरमा गन्तव्य स्थान हल्याण्डको आम्स्ट्राडम सेटिङ्ग गरेपछि हुइँकायो ड्राइभर छोरा निश्चलले । यात्रीहरू म र श्रीमती । समय साँझको ८:५० भएको थियो । नयाँ ठाउँको यात्रा भनेपछि त्यसै पनि हौसिन्छु म । एक सय बीस किलोमिटर प्रतिघण्टाको दरले गाडी दौडाउँदै छ छोराले । बाटामा कति गाडीलाई उछिनेर अगाडि बढियो । कति गाडीले हामीलाई पछाडि छाडे छाडे । हिउँदको बेला । हेर्दा उज्यालै भए पनि रात परिसकेको थियो । अचम्म लाग्छ, नेपाल र युरोपको समय मिलाउने पारा देखेर । युरोपमा छ महिनामा एक घण्टा समयलाई बढाउने र घटाउने गरिन्छ । युरोपमा गर्मीयाममा लामो दिन हुन्छ र अबेरमा सूर्य अस्ताउँछ । बिहान पाँच बजे नै सूर्य उदाउछ । १० बजे रातीसम्म झलमल्ल घाम लाग्छ । उज्यालैमा बेल्जियमको विभिन्न सहर छिचोल्दै प्राकृतिक पदमार्ग, उपत्यका र बाटामा ठाउँ ठाउँमा ठूला चम्किला भवनहरू देखिन्थे । युरोपभरिका घरका बनौट, यातायात र त्यसको सञ्जाल प्रायः उस्तै हुन्छ । १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा हुँइकिरहदा देखिने जमिनको दृश्य साँच्चै मनमोहक थियो । समथर जमिन, हरिया जङ्गल कुनै कलाकारले वर्षौं लगाएर बनाएका चित्र जस्ता । तहतह र खण्डखण्डमा विभाजित खेतका गराझैँ लाग्ने भूबनोट । शिशिर ऋतुको प्रारम्भमा प्रायः युरोपभरि प्रकृतिले असाध्यै सुन्दर पार्दोरहेछ । विशाल भूभागहरू आँखाले भ्याइनसक्नुका घाँसे मैदान र त्यसमा चर्दै गरेका गार्इका बगाल र भेंडा र घोडाका बथान हेर्दै हामी अगाढी रेलमार्गको किनारैकिनार पिचरोडबाट कमिलाको ताँतीसरि दौडिइरहेका ट्रकहरू,फराकिला फाँट र ती फाँटमाथि फैलिएका विशाल सामुन्द्रिक ताल, अनि क्षितिजरेखासँगै टाँसिएर दौडिएका ससाना पहाडका श्रृङ्खलाहरूझैँ लाग्ने मनमोहक दृश्य हेर्दै दौडिरहेका छौ । संसार सबैभन्दा अनौठो देश । जहाँ पानी माथि छ जमीन तल । विश्वकै एकमात्र यस्तो देश जहाँ अनौठा कुराहरूले भरिपूर्ण छन । सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैंचाहरू, कलात्मक गगनचुम्बी भवनहरूले मनै लोभ्याउथे । बेलुकीपख पश्चिमको आकाशलाई राताम्मे पारेर क्षितिजरेखाबाट विस्तारै तलतिर घस्रँदै गरेको सूर्यतिर औल्याउँदै जीवन सङ्गिनी उषाले भनिन अहा कस्तो राम्रो, दिनमा ताप दिने सुनौलो सूर्य जब दिन ढल्कदै जान्छ अनि रातो किन भएको होला र कहाँ जान्छ होला यो उज्यालिने सुर्य रातमा । मैले अस्ताउँदो सूर्यलाई देखाउदै मनमा उर्लिएका भावनाका तरङ्गलाई खेलाउँदै यो जीन्दगी पनि यसरीनै अस्ताउछ एक दिन , उज्यालोको सपना बोकेर हिँड्दाहिँड्दै कहाँ पुगेर के हुने हो पत्तै हुँदैन जिन्दगीको । जमिनमुनिको सम्पूर्ण भूभागमा भूमिगत रेलमार्ग अनि त्यसैमाथि अति अग्ला र ठूला भवनलाई आम्स्ट्राडामका सहरले आफ्नो खोकिलामा सजिलै राखेको देख्दा जो कोहिलाई पनि अचम्म लाग्छ । विश्वको न्यायलयको प्रधान कार्यालय द हेग (Den Haag) ले पनि जो कोहिलाई आकषिर्त गर्दछ । । उज्यालोले राति हो वा दिउँसो छुट्टयाउन गा–हो छ । तीन घण्टाभरिको यात्रामा निकै थाकेका थियौं हामी । थकाइ भोकलाई बोकेर हिमालय किचेनमा आईपुगेका छौ । जीवन हाँसेर बाँच्नका लागी हो भन्ने मान्यताका साथ अरुलाई सधैं खुशी रहन अभिप्रेरित गर्ने प्रिय अम्बिका बहिनी,विना बहिनी र साना साना भान्जीहरू आर्य र अंशुसँगै खुशी वाड्यौ एकार्कामा । विमल गिरी पराई आकाशमुनि रातको समयमा रेस्टुरेन्टकी सानु कद हँसिलो अनुहारको वइटर बहिनीले पिउनको लागि के ल्याउ भनिन, मैले यहाँको प्रसिद्ध बियर हेनेकेन ल्याउनुन भने र सबैले चियर्सगर्दै बिभिन्न परिकारसँगै पिउने खाने काम भयो । त्यती पिउदिन् म कैले कैले मात्र हो । पिउन अलि गाह्रो भएको छ । भुपिलाई सम्झिएँ “पिउन कति गाह्रो छ पिएर त हेर साथी ।” राजनीति, साहित्य र कलाका विविध प्रसङ्गमा गफिँदै छौँ l थाकेको अनुभूति, भैरहेको छ र मात्रै अलिकती लिएको हुँ । उसो त सबैले थोरै थोरै मात्र पियौ । दुइ दशकअघि अमेरिकामा स्थापित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वएकेडेमीको रुपमा विकसित हुँदै गरेको अनेसास नेदर्ल्याण्ड च्याप्टरका अध्यक्ष हिमालय किचेनका प्रोपाइटर सुर्यराज गिरीसङ्ग बसाइमा समाजको सकारात्मक गन्तव्यका लागि बाँचेका अक्षरजीविहरूको कुरा भए र स्टाफहरू मामा कैलाश गिरी हुनुहुन्थ्यो । दुई जोडी स्थानिय जोडीहरू उत्साहपूर्वक अनुभूति साट्दै खाने पिउने गरिरहेका थिए । मैले थोरै बुझे अनुसार ति जोडाजोडीहरू आफ्नै भाषामा बोलिरहेका थिए । भाषाप्रेम,देशप्रेम र नागरिकप्रेम एक किसिमले युरोपियनहरूको विशेषता नै हो । आफन्तहरूको कुरा सुनिरहदा कुरैकुरामा सङ्गिनी उषाले भन्दै थिईन जीवनमा भ्रमण त गर्नै पर्ने रहेछ । भ्रमणले मानिसलाई धेरै जान्ने सुन्ने बनाउँदोरहेछ । दु:ख सुख भोग्दै समयले निखार्दा–निखार्दै यो उमेरभो । आशा, आकांक्षा, कल्पना र संघर्ष अनि धैर्यका अनुभवहरू ।वगिरहन्छन नदी झै । हिजो हामी कहाँ थियौ आज यहाँ छौ भोली कहाँ पुगिने हो मैले थोरै थपे । मैले यसो भित्ते घडीतिर हेरे गफैगफमा विहानको तीन बजिसकेको थियो हतार हतार रेस्टुरेन्ट बन्द गरेर हामी हुइकियौ । नेदरल्यान्डको राजधानी आम्स्ट्राडम एउटा क्यानलै क्यानलले भरिएको पर्यटकिय सहर हो र यस सहरलाई उत्तरको भ्यानिस (Venice) भनेर चिनिन्छ । यहाँ करिब ९० वटा नहर (द्वीपहरू)थिए । १७ औं शताब्दीको प्रारम्भमा आप्रवासन बढ्दै गएपछि एक व्यापक योजना एकै ठाउँमा राखिएको थियो l जसको मुख्य नहरहरूको ओरपरका भागहरूमा १५५० स्मारक भवनहरू छन् यो भवन र स्मारकहरूलाई २०१० मा यूनेस्कोको स्मारक भवनहरू विश्व स्थलको रूपमा सूचीबद्ध गरिएको थियो । यहाँ अबस्थित नहरहरूलाई चार मुख्य भागमा छुट्याइएको छ । नहरको रिंग क्षेत्रमा पन्द्र सयजति पुलहरूछन । ति पुलहरूका लम्बाइलाई जोड्ने हो भने सय किलोमिटर जति हुन आउछ । नेदरल्याण्ड यस्तो देशहो जहाँ भाषा साहित्य र कला(चित्रकार)ले भरिपूर्ण भएको देश मानिन्छ । विश्वप्रसिद्ध चित्रकारहरू रेम्ब्रान्ट, भेरमेर,भेनगगको जन्म पनि नेदर्ल्याण्डमा भएको थियो । उनीहरू मरेर गए पनि लाखौँलाख व्यक्तिको मनमा उनीहरू बाँचिरहेका छन् र सयौँ वर्षसम्म बाँचिरहने छन् । नेदर्ल्याण्डको अतिव्यस्त व्यापारिक केन्द्रहरूमा जहाँ गाजा, चरेस,कोकिनजस्ता हानिकारक पदार्थहरू बाटाबाटामा खुलेआम किनबेच हुन्छन । गल्लीहरूमा गाजा र चरेस खानेका भिडहरूले दङ दङ दुसित घुवा उडाइरहेका हुन्छन । दुर्गन्धबाट मुक्ति पाउन मानिसहरू नाक थुनेर आफ्नो गन्तव्यतर्फ लम्कदैँ गरेका भेटिन्थे । सबै आआफ्नै धुनमा हतारमा हिडिरहेका थिए । कत्तिलाई कहाँ पुग्नु छ के के भ्याउनु छ, मान्छेको भिड उस्तैछ । सबैलाई हतार छ । फुत्त मेरै अगाडीबाट घुडामाथिको ट्याटु देखाउदै मेरै अगाडि एउटी काली आउँदा त छक्कै परे म । पर्फुमको महकसँगै सडक र पेटीमा हात समातेर हिँडिरहेका युगल जोडीहरू,बैसालु मुस्कानका साथ सुन्दरीहरू स्तन, नितम्ब,जाँघ हल्लाउदै अर्धनग्न ओहोरदोहोर गरिरहेका थिए । युरोपमा समयको अत्यन्त ख्याल गरिन्छ । त्यसैले आउनुपर्ने र पुग्नुपर्ने समयमा रत्तीभर तलमाथि हुँदैन । सादनहरू पनि ठीकठीक समयमा हिँड्ने र रोकिने गर्दछन् युरोपमा । हाम्रा देशमा जस्तो यात्रुहरूलाई घन्टौघन्टासम बाटोमा कुराएराउने कल्पना नै गर्न सकिन्न यहाँ । बाटाभरि साइकल यात्रीहरूको निकै भीड देखिन्छ । सामान्य मानिसहरू बिहानै साइकल चढेर काममा गएका देखिन्छन् । दिउँसो पनि ठूला सडकहरूमा मनग्य साइकल यात्रीहरू भेटिन्छन् । सहरमा यात्रीहरू भने नगण्य देखिन्छन् । जमिनै जमिनले घेरिएको भूपरिवेष्ठित राष्ट्रको नागरिकलाई त्यहाँको समुन्द्रै समुन्द्रले भरिएको परिवेशले निकै मोहित बनाएको थियो । जताततै हेरेर नभ्याउने पानी । जताततै डुङ्गा, बोट र जहाज देखिन्थे । चढ्ने र उत्रनेको त्यस्तै भिड । हामी (अम्बिका, उषा र निश्शल) पनि प्रति व्यक्ती ११ युरो तिरेर Tourist बोटमा १ घण्टा घुम्यौ । बिभिन्न अनुहारहरूसङ्ग एकाकार हुन पाउदा मन प्रफुल्ल भयो । १५ भाषामा मद्यमा सुन्न र सुनाउन मिल्ने रेकर्डेड छोटो ब्रिफिङ सुनिन्थ्यो वाणिज्य, आर्थिक, सांस्कृतिक, मनोरञ्जन, शिक्षा र पर्यटनको बारेमा सुनाइ रहेका थिए । हामी सबैका लागि एउटा अविस्मरणीय र एउटा रोमान्चकारी यात्रा थियो । गर्मी हपहपी छ । तर सबैलाई आनन्द । अनुहार राताम्मेछन सबैको । भर्खरका कुरकुरे वैशका ठिटाठिटीहरू आफ्नो छोप्नु पर्ने अङ्गहरूलाई थोरै कपडाले छोपिएका देखिन्थे । खुलेआम चुम्बन गर्दै, एकर्कामा औँला मुसार्नमा तल्लिन देखिन्थे ।कसैलाई कसैको चासो र मतलब थिएन । हामीभने मुखामुख गर्छौ । जताततै खुसी एवम् मायालु वातावरणयुक्त छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अधारभूत अधिकार राज्यले सुनिश्चित गरेको छ । ढुक्क छन सबैजना । मोरामोरी कतै हेर्दैनन । अचम्मको बसाइ,ओटले ओठलाई डसेकाछन । बिभिन्न मुलुकका काला, गोरा, सबै सबै अटाएको छन । प्रकृतिले दिएका यी सुन्दर उपहारहरू आखिर मान्छेकै खुसीमा थिए । बाटोमा देखिने प्राकृृतिक दृश्यहरूले वसन्त निम्त्याउँदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिंदै हरियालीमा परिणत हुने तरखरमा देखिन्थे परपर नियाल्दा l यसो हेर्दा सत्र अठारका वर्षका झै लाग्ने कम्मर नांगै पार्दै बीच बेन्चमा बसेर टोह्लाइरहेका थिए । कस्तो लाजसरम पचेका यी खैरेनीहरू । पोखिनै आटेका अटेसमटेस कामुक छातीमा ट्याटुलाई थोरै लुकाएका फुचीहरू नांगै तिघ्रा पारेर जिस्किदै कसैले अँगालो मारेर, कोही टाँसिएर, कोही नाङ्गे काखमा बसेर, सेल्फी खिचिरहेका देखिन्थे । यात्राका संझना, कोशेलीहरू मनभरी बोकेर हामी बाटो लाग्यौ । सी यु अगेन आम्ट्राडम । चारपाने झापा,हाल ब्रसेल्स । #विमल गिरी
सामाजिक सञ्जाल र समयको बाँडफाँड: समाज द्रूत गतिमा परिवर्तनतर्फ अग्रसर भइरहेको छ । सदियौँदेखि विधिको शासनबाट चलिरहेको समाज अहिले प्रविधिको शासनमा रूपान्तरण भएको छ । प्रविधिको चङ्गुलमा फसिसकेको छ दुनिया, मानिससँग जोडिएका हरेक क्षेत्रहरू प्रविधिसँग पनि जोडिइसकेका छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, व्यापार, मनोरञ्जनलगायत हरेक क्षेत्रमा प्रविधि अपरिहार्य भइसकेको छ । एक्काइसौँ शताब्दीको यही परिवर्तनशील समाजका बृहत् आयाममाथि चर्चा र चिन्तन गर्ने बौद्धिक जमात पनि प्रविधिको विकाससँगै फरक ढङ्गले अघि बढ्न विवश भइरहेका छन् । प्रविधिले गर्दा उनीहरूको अमूल्य समय बचत भएको कुरा नकार्न सकिन्न तर त्यही प्रविधिमा आधारित भएर ठूलो फड्को मारेको मनोरञ्जन क्षेत्रका केही मञ्चहरूकै कारण बौद्धिक वर्गले समाजका विभिन्न आयाममाथि आफ्ना विचार, विमर्श, अनुसन्धान एवं रचनात्मक कार्यमा दिनुपर्ने महत्वपूर्ण समय बर्बाद गरिरहेको अनुभूति भइरहेको छ । हामीमध्ये धेरै अहिले सामाजिक सञ्जालका मञ्चहरू, जस्तै फेसबुक, ट्वीटर, टिकटक, युट्युब, इन्स्टाग्राम आदिमा आफ्ना अमूल्य समय व्यतित गरिरहेका छौँ । झिना-मसिना कुरामा अल्झिएर बसेका छौँ । समाजका अगुवाका रूपमा समाजको मेरूदण्ड बनेर बसेका राजनीतिज्ञदेखि प्रशासक, प्राध्यापक, शिक्षक, चिन्तकलगायत अन्य विभिन्न पेशा-व्यवसायमा आवद्ध सबै सामाजिक सञ्जालमा जोडिएका छौँ। ती मञ्चहरूमार्फत् आफ्ना विचारहरू, रचनाहरू, विभिन्न फोटोहरू तथा भिडियोहरू सेयर गरिरहेका हुन्छौँ । अरूले सेयर गरेका त्यस्ता सामाग्रीहरू पढिरहेका हुन्छौँ, हेरिरहेका हुन्छौँ र आफ्ना धारणा राखिरहेका हुन्छौँ । तर के यस्ता कार्यले हामीलाई केही मात्रामा खुसी र केही समय कटाउने मेलो दिनुबाहेक कुनै महत्वपूर्ण गन्तव्यमा पुर्याउन सघाइरहेका छन् त ? के प्रवुद्ध वर्गले समाजका निम्ति गर्न सक्ने योगदानमा अझै थप केही दिन सहयोग गरिरहेका छन् त ? हामीले यस विषयमा सोच्ने बेला भइसकेको छ भन्ने लाग्छ । ढिला गर्यौँ भने समाजको रूप नै बद्लिसकेको हुनेछ र मानवसभ्यतामाथि नै ठूलो प्रश्न चिह्न खडा भइसकेको हुनेछ । दीपक श्रेष्ठ हामी जुन पेशा-व्यवसायमा लागे पनि हामीले आ-आफ्नो क्षेत्रका बारेमा विचार आदानप्रदान गर्नेदेखि छलफल र बहसको माध्यमबाट नवीन सोचको विकास गर्न हरदम तयार रहनुपर्दछ। यसका निम्ति सामान्य छलफलदेखि अनुसन्धानात्मक अध्ययनसम्म गर्नुपर्ने हुन्छ । त्यसका निम्ति हामी मानसिकरूपले तयार हुनुपर्दछ । शारीरिक रूपमा स्फुर्त रहनुपर्दछ । तर वर्तमान परिवेशको कुरा गर्ने हो भने हामी सबै व्यस्त छौँ । हाम्रो मस्तिष्क र शरीर दुवै प्रविधिको चङ्गुलमा परिसकेका छन् । सामाजिक सञ्जालमा भुलेरै मस्त भइसकेका छौँ। अझ भनौं अस्तव्यस्त भइसकेका छौँ। हामी एक्लाएक्लै भएर विभाजित भइसकेका छौँ। विचारमा मात्र होइन काममा समेत विभाजित छौँ। हामी न मिलेर केही ठोस कार्य गर्न सक्षम भएका छौँ न कुनै योजना बनाउन नै लागिपरेका छौँ। हामी त आफैँलाई मात्र केन्द्रमा राखेर अघि बढिरहेका छौँ। आफैँले सोचेको मात्र ठीक, आफैँले सम्पन्न गरेको कार्य मात्र राम्रो भन्दै आफ्नै डम्फु बजाउनमै मस्त छौँ । यो सबै सामाजिक सञ्जालकै कारण भइरहेको छ भन्ने नै मेरो निष्कर्ष हो। मैले मेरा जीवनका उर्जाशील कैयौं वर्ष लेखपढमै बिताएको छु । शिक्षण पेशामा आवद्ध भएर करिब दुई दशक यही क्षेत्रका निम्ति लगानी गरेको छु । तर मैले यस क्षेत्रमा देखेका, भोगेका कैयौँ समस्याहरू समाजसामु कहिल्यै उजागर गर्न सकिनँ । सन् २००९ मा फेसबुक नेपालीहरूमाझ आएदेखि नै म पनि यसमा रमाउन थालेँ । आफ्ना चिनारू तथा नचिनेका सामान्य व्यक्ति एवं सेलिब्रेटीहरू खोजी खोजी फ्रेण्ड रिक्वेस्ट पठाएर ‘हाइ हेलो’ गर्दै सुरू भएको थियो सामाजिक सञ्जालको यात्रा । यो यात्रामा अन्य यस्तै सञ्जालहरू युट्युब, ट्वीटर, इन्स्टाग्राम, टिकटक सबैमा भुल्न थालेँ । समय कटेको पत्तै नहुनेगरी जीवनका करिब एक दशक समय बितेपछि भने अहिले आएर आफूले गुमाएका ती विगत सम्झेर पछुताउँदैछु। सबै कामहरू जति सबै अरूले नै गरिदिने हुन् भन्ने मानसिकतामा बसिरहेका छौँ ? लेखपढमा रुची भएको म जस्तो शिक्षण पेशामा लागेको व्यक्ति यसरी भुलभुलैयामा परेको छ भने अरूको त झन् के कुरा गर्नू र खै ! हामी त्यस्ता सामाजिक सञ्जालका दास हुनपुगेका छौँ भने ती प्रविधि विकास गर्नेहरूचाहिँ संसारका धनाढ्यमा गनिन थालेका छन् । तर हामी दास बनिरहेका छौँ । किन हामी उच्च शिक्षा आर्जन गरेकाहरू नै दास मानसिकता पालिरहेका छौँ ? किन सबै कामहरू जति सबै अरूले नै गरिदिने हुन् भन्ने मानसिकतामा बसिरहेका छौँ ? मलाई विश्वास छ, हामी सबै मध्यम स्तरमा लेखपढ गर्न सक्षम छौँ। कैयौँ विषयमा छलफल चलाउन सक्षम छौँ। हामी अनुसन्धान गरेर त्यसबाट नयाँ निचोड निकाल्न सक्ने स्थानमा छौँ। तर हेर्नुहोस् त, सामाजिक सञ्जालको करामत ! हामी हल्काफुल्का कुरामा रूमलिइरहेका छौँ । यसको फाइदा उठाउँदै सत्तामा बस्नेहरूले अनेकौंपटक जनताको आँखामा छारो हाल्ने र झारा टार्ने काम गरिरहेको कुराबाट बेखबर भएका छौँ । खबर आए पनि त्यसलाई सही दिशातर्फ डोर्याउन हामीमध्ये कतिजना विचारशील र विवेकपूर्वक लागिपरेका छौँ ? प्रश्न हामीतिरै तेर्सिएको छ। ठण्डा दिमागले सोच्नुपर्ने बेला आइसकेको छ, सञ्जालमा अल्झिएर हामीले महत्वपूर्ण समय खेर फालिरहेका त छैनौँ ? हामीले एकपटक पाउने यो जिन्दगीमा अनेकौँ कार्य गर्नुपर्ने कुरा शाश्वत सत्य हो । सञ्जालमा बाँधिएर त्यसमा नियमित तर थोरै समय दिएर अघि बढ्नु अबको कार्यदिशा हुनुपर्दछ । हामीले आफूले विज्ञता हाँसिल गरेको क्षेत्रका अनेकन् सत्यतथ्यहरू बाहिर ल्याउन सक्नुपर्दछ। शिक्षा, स्वास्थ्यमात्र होइन मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने धर्म, संस्कृति, इतिहास, परम्परादेखि हिजोआजका जल्दोबल्दो प्रविधिका विविध आयामहरूमाथि प्रकाश पार्नसमेत ढिला भइसकेको छ । यसका निम्ति आ-आफ्ना क्षेत्रमा आवद्ध भएका साथीहरू मिलेर घनिभूत रूपमा छलफल चलाएर तत्तत् क्षेत्रका कमीकमजोरी एवं फाइदाजनक तथ्यहरू उजागर गर्नुपर्छ । जुन समाजको ऐना हुनेछ । विभिन्न संचार माध्यमहरूमार्फत् त्यस्ता कुराहरू सार्वजनिक गर्नुपर्दछ । त्यसका निम्ति रेडियो, टेलिभिजन, इन्टरनेट तथा इन्टरनेटमा आधारित विभिन्न सामाजिक मञ्चहरू प्रयोग गर्न सक्छौँ। जो व्यक्ति जे विषयमा सामान्य जानकार छन् वा विशेषज्ञतामा हाँसिल गरेका छन्, त्यो व्यक्तिले स्वयं वा अन्य व्यक्तिसँग मिलेर विषयगत लेख रचनाहरू तयार गर्न सक्छन् । आमजनतामा पुग्न सकिने सशक्त एवं सरल माध्यमहरूमध्ये लेखेर व्यक्त गरिने माध्यम सबैभन्दा उपयुक्त माध्यम हो भन्ने मेरो ठहर हो । यसको निम्ति कुनै पनि जटिल किसिमका प्राविधिक ज्ञानको आवश्यकता पर्दैन । जो व्यक्ति जे विषयमा सामान्य जानकार छन् वा विशेषज्ञतामा हाँसिल गरेका छन्, त्यो व्यक्तिले स्वयं वा अन्य व्यक्तिसँग मिलेर विषयगत लेख रचनाहरू तयार गर्न सक्छन् । लेख रचनाहरू साहित्यिक वा गैरसाहित्यिक जुनकुनै रूपमा लेख्न सकिन्छ । सामान्य छलफल गरेर निष्कर्षमा पुग्ने हो कि अनुसन्धानका अनेकन विधि अपनाएर निचोड निकाल्ने हो, त्यो लेखकमा भर पर्दछ । एकलरूपमा वा समूहमा रहेर लेखिएका लेखहरू विभिन्न दैनिक पत्रपत्रिकादेखि जर्नललगायत हालको समयमा अनलाइन जर्नल तथा पत्रपत्रिकामा समेत प्रकाशन गर्न सकिने भइसकेको छ । निजि खर्च वा प्रकाशकको सहयोगमा पुस्तक प्रकाशन गरेर पनि अघि बढ्न सकिने यो कार्यमा लागेमा समाजका निम्ति केही अतुलनीय कार्य गर्न सकिने देखिन्छ । यस्तो महत्वपूर्ण कार्य गर्दा आफूलाई मिल्ने अपार सन्तुष्टि त छँदैछ, आफ्नो विज्ञता समाजको निम्ति अचुक सामाग्री हुनजाने कुरामा पनि गर्व गर्न सकिने समय आउनेछ । समयको भरपुर सदुपयोग गर्दै आफ्नो रूचीको विषय र क्षेत्रमा अध्ययन अनुसन्धान गरेर केही योगदान गर्न सकेको खण्डमा मानव सभ्यता र विकासमा एउटा ईंट्टा थपिन जाने कुरामा पक्का छ छैन । यसका निम्ति हामीले गर्नुपर्ने एकमात्र महत्वपूर्ण कार्य भनेको समयको सदुपयोग हो। हामी हाम्रा भावी पुस्तालाई विस्तारै सही बाटोमा ल्याउनसमेत सफल हुनेछौँ। आजका दिनसम्म आइपुग्दा हामीले समय बचत गर्न सक्ने एकमात्र उपाय भनेकै सामाजिक सञ्जालमा कम तर गुणस्तरीय समय दिएर व्यवस्थापन गर्नु हो । यसो गर्दा अनावश्यक सामाग्री हेर्न र सुन्नबाट टाढा रहन सक्छौँ । हामीले नहेरेपछि, नसुनेपछि,नपढेपछि र अनावश्यक रूपमा सेयर नगरेपछि त्यस्ता उट्पट्याङ्ग र अनुचित सामाग्रीहरूको प्रकाशन र प्रशारण स्वत बन्द हुनेछन् । हामी हाम्रा भावी पुस्तालाई विस्तारै सही बाटोमा ल्याउनसमेत सफल हुनेछौँ। लेखपढ जस्तो ज्ञान आर्जन गर्ने दिव्य कार्यमा मन लगाएर फेरि पनि समाजलाई उर्वर र उर्जाशील बनाउन सक्षम हुनछौँ। आफ्नो अमूल्य जीवनका बाँकी दिनहरू अझ सचेत भएर लेखपढमा बिताउन सक्नेछौँ । ज्ञानको महासागरमा एक थोपामात्र अमृतसरी आफ्ना नवीन विचार थप्न अग्रसर हुने अवसरलाई खेर फाल्नु भनेको ठूलो भूल हो । सही समयमा पलाएको सही विचारले हामीलाई दिने भनेको त्यही सन्तुष्टि नै हो जुन हामी अवास्तविक सामाजिक सञ्जालमा खोजिरहेका छौँ । #दीपक श्रेष्ठ
पुस्तक समीक्षा कसरी लेख्ने?: पुस्तक समीक्षा लेख्ने र समीक्षक बन्ने रहर धेरैलाई हुन्छ । तर थोरैसँग यस विधामा हात हाल्ने आँट अथवा ज्ञान हुन्छ । यो एउटा जोखिमपूर्ण प्राज्ञिक अभ्यास पनि भएकोले थोरैले मात्र यसलाई अँगाल्छन् । धेरैले प्रयास गरे पनि थोरैले त्यस प्रयासलाई निरन्तरता दिन्छन् । पुस्तक किन्नुपर्यो, समय लगाएर, दोहोर्याई–तेहेर्याई पढ्नुपर्यो, लेख्नुपर्यो, पत्रिकाको सजिलो अप्ठेर र इच्छाअनुसार म्याद कुर्नुपर्यो, र छापिएपछि कुनै पनि प्रकारका आसन्न प्रतिक्रियको समना गर्न कम्मर कसेर तयार रहनुपर्यो । समीक्षा गर्नका लागि हातमा टिपिएको पुस्तकको मात्रै होइन, त्यसले समेट्ने विविध सिद्धान्त, त्यसको विधागत जानकारी, त्यस्तै अन्य पुस्तकको जानकारी, त्यसको लेखकको बारेमा धेरथोर जानकारी (नवसमालोचनावादीले यो पर्दैन भन्छन्, म पर्छ भन्छु) समेटिएको समय र परिवेश आदिको जानकारी हुनु अनिवार्य आवश्यक छ । साथसाथै विवेचनामा प्रयोग हुने प्राविधिक शब्दहरूको ज्ञान र मानक नेपाली अथवा समीक्षा लेख्ने भाषाको राम्रो ज्ञान पनि जरुरी हुन्छ । लेखिएको समीक्षा विश्वसनीय हुनका लागि समीक्षकको अध्ययन र ज्ञानको क्षेत्र पनि विश्वसनीय र व्यापक हुनु जरुरी हुन्छ । हुन त समीक्षा सबैले लेख्न सक्छन् भन्ने पनि गरिन्छ, तर त्यसको प्रभावकारिता कमजोर भयो भने के अर्थ ? महेश पौड्याल पुस्तक समीक्षा कसरी लेख्ने भन्ने विषय द्वितीयक विषय हो । पहिलो विषय हो, यो बाटो कण्टकाकीर्ण र अप्जसिलो छ, तरै पनि हिँड्छु भन्ने अठोट । सबै लेखकले समीक्षा स्वीकार्छन् भन्ने हुँदैन । सबै सम्पादकले समीक्षा छापिदिन्छन् भन्ने पनि हुँदैन । तर, आत्मविश्वासपूर्ण ढङ्गले, बाटो नबिराइकन हिँड्ने प्रतिबद्धता चाहिन्छ । र त्यो धैर्य पनि चाहिन्छ । धेरै रिसाउँछन् । केहीले सम्बन्धै विच्छेद पनि गर्छन् । स्वभावैले लेखकहरू प्रशंसा खोज्छन्, तर समीक्षकले वस्तुपरक ढङ्गले जे सत्य हो त्यो भन्ने हो । ‘मैले यस्तै देखेँ’ भनेर आत्मगत कुरा भन्न पाइँदैन । पुस्तक समीक्षाका लागि केही टिप्स यहाँ दिइएको छ । माथि उल्लेख गरिएजस्तो प्रतिबद्धता हुने जो कोहीले पनि यी बुँदामाथि मनन गर्न सक्छ । यी बुँदालाई नजरअन्दाज गरेर कसैले आफ्नो नविन र मौलिक कसि बनाउँदा पनि हुन्छ । १. पुस्तकका बारेमा प्रारम्भिक जानकारी सङ्कलन गर्नुस्ः किताबको नाम, विधा, प्रकाशन, प्रकाशन मिति, संस्करण, पृष्ठ सङ्ख्या, मूल्य आदि । २. लेखकका अन्य कृति, तिनीहरूको विधा र अलिकति भए पनि विषयवस्तु थाह पाउनुस् । ३. जुन विधाको पुस्तक हो, त्यस विधाबारे सैद्धान्तिक र संरचनात्मक जानकारी, र पछिल्लो समय त्यस विधामा लेखिएका अन्य केही समकालीन पुस्तकको जानकारी सङ्कलन गर्नुस् । ४. पुस्तक पढ्दैखेरी समीक्षा गर्नु छ भन्ने कुराको हेक्का राख्नुस् । त्यसो भयो भने, पछि सम्झनुपर्ने कुरालाई रेखाङ्कन गरिन्छ । चिनो लाइन्छ । सम्झनुपर्ने कुरा सम्झनामा राखिन्छ । सबल पक्षहरूको टिपोट बनाइन्छ । दुर्वल पक्षहरूलाई पनि चिनो लगाएर ध्यानमा राखिन्छ । ५. पुस्तकमा प्रयुक्त कथानक, अथवा तथ्याङ्कलाई सुरुदेखि नै आलोचनात्मक ढङ्गले हेर्नुस् । के कुराहरू विश्वसनीय छन्? संभावित छन्? भ्रामक छन्? अथवा, सिर्जनशील छन्? अथवा छैनन्? निक्र्यौल गर्नुस् । प्रभाववादको चपेटमा पर्नु हुँदैन समीक्षक । यहाँनेर एउटा चिकित्सकको दृष्टान्त सटिक हुनसक्छ । बिरामीले जति नै रोइकराइ गरे पनि, जति नै पुराना कथा सुनाए पनि, र जति नै बिलौना गाए पनि एउटा चिकित्सक त्यसै रोदनसँग पग्लिएर बग्न मिल्दैन । ऊ आफ्नो ठाउँबाट कुनै पनि संवेदनाले विचलित नभई बस्नुपर्ने हुन्छ । समीक्षक पनि त्यस्तै हो । कथासँगै आँसु बगाउने, पात्रसँगै रोइदिने पाठक प्रभावको बशमा पर्छ । ऊ आलोचनात्मक बन्नै सक्दैन । ७. भाषा कस्तो छ? शुद्ध छ? अशुद्ध छ? प्रयोगशील छ? क्लिष्ट छ? सरल छ? प्राञ्जल छ? सम्प्रेष्य छ? पत्ता लाउनुस् । ८. पुस्कतको कभरमा के छ? कभर र कथ्यका बीच सामाञ्जस्य छ वा छैन? भित्रको प्राविधिक पक्ष कस्तो छः लेआउट, फोन्टको आकार, छापा, कागजको गुणवत्ता आदि पनि हेर्नुहोस् । ९. चित्र छन्? चित्र र कुरोको बीचमा सामञ्जस्य छ वा छैन? चित्र सम्पादन गरिएको छ वा छैन? चित्रहरू कथ्यको सांस्कृतिक परिवेशमा फिट छन्? १०. यी तमाम कुरा विचार गरेपछि तपाईंसँग अब पुस्तकको सबल पक्ष, दुर्वल पक्ष, यसको ऐतिहासिक, समाजिक अथवा प्राज्ञिक मूल्यको जानकारी रहन्छ, र लेखकलाई दिनुपर्ने सम्यक सुझावको सूची पनि रहन्छ । अब तपाईं समीक्षाका लागि तयार हुनुहुन्छ । लेख्नुपूर्व : यी माथिका कुरामा स्पष्ट भएपछि, यी कुरामा ध्यान दिनुहोस्ः १. तपाईं आफ्नो लैङ्गिक पहिचान बिर्सनुहोस् । पुरुष वा महिला भएर समीक्षा लेख्दा लैङ्गिक आग्रहले घुसपेठ गर्छन् । २. तपाईं आफ्नो धार्मिक, क्षेत्रीय अथवा जातीय पहिचान बिर्सनुहोस् । ३. तपाईं आफ्ना सैद्धान्तिक अथवा राजतैतिक आग्रह पनि बिर्सनुहोस् । ४. लेखकसँग तपाईंको कुनै प्रकारको करिबी सम्बन्ध, मनमुटाव अथवा दुष्मनी छ भने त्यो पनि बिर्सनुहोस । ५. तपाईंलाई यो समीक्षा लेखेवापत लेखक वा प्रकाशक अथवा उनीहरूका करिबीहरूबाट कुनै नाजायज (पारिश्रमिक अथवा प्राज्ञिक मूल्याङ्कनबाहेकको) फाइदा हुने सम्भावना छ भने समीक्षा लेख्ने काम बन्द गरिदिनुहोस् । किनकि, त्यस स्थितिमा तपाईंले आरति लुख्नुहुन्छ । पाठकबाट जस, यश, कीर्ति हाँसिल हुने, अथवा आफ्नो प्राज्ञिक उन्नति हुने कुरो यस कर्मबाट बोनसमा आउने कुरा हो । यो समीक्षा पढेर लेखकले के भन्ला भन्ने चिन्ता तपाईंको मनमा छ भने तपाईं कमजोर समीक्षक हो । ६. यो तिरन–तारनको खेती होइन । यो विषय दिमागमा रहनु हुँदैन । ७. तपाईं सम्पादक अथवा लेखकले दिएको दृष्टिविन्दुबाट नलेख्नुहोस् । पुस्तकले जे माग्छ, त्यो अन्तिम । ८. जतिपल्ट, र जुन कोणबाट प्रश्न गर्दा पनि पुस्तक अब्बलै सावित हुन्छ भने अब्बलै हो । अन्यथा होइन । पुस्तकलाई प्रश्न गर्दा आफ्ना निजी आग्रहलाई त्यागेर, तटस्थ प्रश्न गर्नुहोस् । समीक्षा लेखन समीक्षा लेखनको कुनै स्थापित संरचना छैन । त्यसैले, समीक्षकले सकेसम्म आफ्नै मौलिक शैली बनाउनु राम्रो । सकिएन भने, यसो गरे पनि हुन्छः १. सुुरुमै पाठकको ध्यान तान्नु जरुरी छ । तथ्याङ्क र विवरणले ध्यान तान्दैन । त्यसका लागि कुनै कथाशैलीको प्रसङ्ग, अथवा केही प्रश्नबाट सुरु गर्नु राम्रो । २. यी प्रसङ्ग अथवा प्रश्न राखेपछि पुस्तकको कुरा जोड्नुहोस्ः पुस्तक, लेखक, प्रकाशन, प्रकाशन सन्दर्भ अथवा अरु केही आवश्यक कुरो, प्रकाशन समय, चर्चा, पुरस्कार..आदि । ३. अब पुस्तकमा के छ, त्यो भन्नुहोस्, संक्षेपमा । ४. पुस्तकमा के छैन, त्यसको चर्चा गर्ने होइन । शीर्षक पढ्दा यो चाहिँ हुनुपर्ने भन्ने लागेको, तर भित्र पढ्दा नभनेटेको कुरा छ भने प्रश्न उठाउन पाइन्छ । अथवा, एउटा समूहका सूचनामा केही छुटे भने सम्झाउन पाइन्छ । ५.अब पुस्तकले अघि सारेका तथ्य र कुराको सामाजिक, साहित्यक, प्राज्ञिक मूल्यको कुरा गर्नुस् । ६. पुस्तकका सबल पक्ष केके छन्, लेख्नुहोस् । ७. पुस्तकका दुर्वल पक्ष केके छन्, लेख्नुहोस् । ८. लेखकलाई दिनुपर्ने केही सुझाव छ? छ भने, दिनुहोस् । छैन भने त छैन । नोटः राम्रो समीक्षकलाई हेक्का हुनुपर्छ कि कुनै पनि दृष्टिकोण वैयक्तिक हुने हुनाले अन्तिम सत्य होइन । त्यसैले, विशेषण प्रयोग गर्दा सधैँ सचेत हुनुपर्छ । अब्बल, शक्तिशाली, अत्यन्तै शक्तिशाली, प्रभावशाली, कोशेढुङ्गो, उत्कृष्ट, निकृष्ट, निम्न कोटिको…आदिआदि विशेषण प्रयोग गर्नु हुँदैन । किताब बलियो छ भने, ती बलिया पक्षको विश्लेषण गर्ने हो । पाठकले आफैँ विशेषण जुराउँछन् । निकृष्ट छ भने पनि, किताबको कमजोर पक्ष केलाइदिएपछि पाठकले आफैँ निकृष्ट भएको निचोड निकाल्छन् । समीक्षाका नामका पुस्तकको विज्ञापन नगर्नुहोस् । यो किताब पढ्न योग्य छ वा छैन भन्ने एउटा वस्तुगत निचोड पाठकले तपाईंको समीक्षा पढेपछि निकालोस् । राम्रो समीक्षा लेख्नुहोला, शुभकामना ! #महेश पौड्याल
नेपाली साहित्यमा अपाङ्गताको सन्दर्भः पूर्वजन्मको पाप नै हो त !: साहित्य यस्तो बहुआयमिक विधा हो जहाँ कथा, निबन्ध, गजल, उपन्यास, मुक्तकजस्ता विधाहरूबाट विविध प्रकारका अनुभूति र सन्दर्भहरू प्रकट हुने गर्दछ । नेपाली साहित्य समयक्रमसँगै परिमार्जित हुँदै गइरहेको छ । जसको प्रयोग अध्ययन-अध्यापन कार्यका साथै मनोरन्जनको लागि पनि हुने गर्दछ । प्रश्न उठ्छ, यो बहुआयमिक विधाले सबै पक्षमा सकारात्मक छलाङ् मार्न सकेको छ त ? के यो समावेशी बन्न सकेको छ त ? समावेशीताको कुरा गर्दा यहाँ हामी अपाङ्गता भएका व्यक्तिहरूको समावेशीताको सन्दर्भलाई जोड्छौँ । अपाङ्गता समावेशी साहित्यको प्रसङ्ग जोड्दा अपाङ्गता के हो बुझ्नु अत्यावश्यक हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौदिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सृजित विभिन्न अवरोधहरूसँगको अन्तरक्रियाको कारणले समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति बुझिन्छ। यस परिभाषानुसार अपाङ्गता भएको व्यक्ति भनिनको लागि जम्मा तीनवटा मुख्य कुरा हुन जरूरी छ । शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता भएको । समाज वा वरिपरिको वातावरणसँग अन्तरक्रिया गर्दा अवरोधको सामना गर्नुपरेको । \u200dसमाजमा अन्य व्यक्तिसरह समान आधारमा सहभागी हुन नपाएको । सरिता लामिछाने त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐनका अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रीयसम्बन्धी दीर्धकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ । अपाङ्गता जन्मजात, विभिन्न प्रकारका रोगहरूको सङ्क्रमणमा समयमै उपचार नपाउदा र दुर्घटनाको कारण पनि सृजना हुने गर्दछ । विगतदेखि वर्तमान समयको समीक्षा गर्दा प्रायःजसो साहित्यिक कृतिहरूमा अपाङ्गतालाई पुर्वजन्मको पापको फलका रूपमा प्रतिस्थापित गरी अपाङ्गता भएका व्यक्तिहरूलाई निरिह र अपहेलितरूपमा प्रस्तुत गरेको पाइन्छ । जसको उदाहरणको रूपमा २०६२ मा मदन पुरस्कार प्राप्त कृष्ण धराबासीको राधा उपन्यासमा कुन्तीको मुखारबिन्दुबाट प्रकट भएको सन्दर्भलाई लिन सकिन्छ । उपन्यासमा दृष्टिविहिन धृतराष्ट्रको पत्नी गान्धारीको भनाइलाई यसरी उल्लेख गरेको छ; “यी आँखाले म मेरो रूप हेर्न सक्दिनँ, प्रकृतिले मलाई यति सुन्दर बनाएर के गर्नु ? जुन सुन्दरतालाई हेरेर मेरो पति खुसी हुनै सक्दैन, जोसँग आँखै छैन । अन्धाकी श्रीमतीलाई रूपको के महत्व ! त्यसैले मैले यो आँखामा पट्टी बाँधेकी हुँ ।” त्यसैगरी महाभारतको एक प्रसङ्गमा धृतराष्ट्रको छोरा दुर्योधनलाई द्रौपदीले अन्धाको छोरा अन्धै हुन्छ भनेको कुरा उल्लेख छ । साथै सुबिन भट्टराईको उपन्यास सायामा ओस्लोबाट साढे दुई वर्षपछि घर फर्केको सन्दर्भमा अतितको भनाइ छ, “मैले प्रेममा अन्धो भएर घरलाई लात हानेको थेँ” । यी प्रसङ्गहरूमा पनि दृष्टिविहिनलाई सम्बोधन गरेर भनिने अमर्यादित शब्दावलीको प्रयोग गरेको छ । उक्त भनाइहरूले अपाङ्गता भएका व्यक्तिहरू दयाको पात्र हुन् र बिग्रे-भत्केका चिजहरूको तुनलना गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई होच्याएर प्रयोग गरिने शब्दावलीहरूको प्रयोग गर्नु वान्छनीय हुन्छ भन्ने सोचलाई मौलाउन मलजल प्रदान गरेको छ । तथापि वास्तविक जीवनमा केही यस्ता उदाहरणहरू छन् जसले गान्धारीको भनाइलाई गलत र विवेधकारी प्रमाणित गरेको छ । विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतिकात्मक बनाएर शीर्षकहरू चयन गरेको छ । सुन्दरताले आँखाले हेरेर मात्र महत्व पाउने होइन, सुन्दरतालाई नहेरे पनि महसुस गर्न सकिन्छ । यसतर्फ साहित्यकारहरूले आफ्नो अनुसन्धानअघि बढाएर कलम चलाउनेतर्फ अभिप्रेरित हुनुपर्दछ । विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतिकात्मक बनाएर शीर्षकहरू चयन गरेको छ । तथापि ती कृतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको खातिर प्रयोग हुने अमर्यादित शब्दावलीहरूको प्रयोग भएका छन् । जुन कृतिहरू हालसम्म प्रसिद्ध र उत्कृष्ट कृतिको रूपमा स्थापित भएका छन्, उदाहरणको रूपमा लैन सिंह वाङ्देलको औपन्यासिक कृति ‘लङ्गडाको साथी’, भुपि शेरचन्दको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, केशवराज पिँडालीको ‘लाटो बुङ्गाको डायरी’, उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, गुरूकुलमा निरन्तर मन्चन भइरहने नाटक ‘अन्धाले हात्ती छामेको’ आदिलाई लिन सकिन्छ । सिमित सूचना र अमैत्री प्रणालीका बीचमा पनि केही अपाङ्गता भएका व्यक्तिहरू साहित्य क्षेत्रमा क्रियाशील भइरहेका छन् । साहित्यिक सचेतना र क्रियशीलतालाई अपाङ्गताले छेक्दैन भन्ने प्रमाण झमक घिमिरे र पारिजातजस्ता स्रष्टाहरूले प्रस्तुत गरिसकेका छन् । छिट्फूट कृतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सकारात्मक सन्दर्भलाई प्रस्तुत गरिएके छ । उदाहरणका रूपमा मिलन सङ्ग्रौलाको उपन्यास ‘च्याट गल्’, शारीरीक अपाङ्गता भएका व्यक्ति कृष्ण भन्डारीको कृति ‘ह्विल् चियरको जिन्दगी र मनको आँखा’, दृष्टिविहिन कमल लामिछानेको ‘अन्तर्दृष्टि’, राम देव पान्डेको ‘काँडाघारीका फूलहरू”, मनिसा गौचनको “ह्वाइट् केन्”, झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति “जीवन काँडा कि फूल” आदीलाई लिन सकिन्छ । जसको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूले जीवनमा गर्नु पर्ने सङ्घर्ष र सङ्घर्ष पश्चात् प्राप्त हुने सफलतालाई उजागर गरेका छन् । परिणामस्वरूप स्वयम् अपाङ्गता भएका व्यक्तिहरूलाई समेत जीवनप्रति सकारात्मक आसा जगाउनुका साथै अन्य व्यक्तिहरूलाई समेत उत्प्रेरणा प्राप्त भएको छ । नेपाली साहित्य क्षेत्र अपाङ्गता भएका व्यक्तिहरूको परिपेक्षमा पहुँचयोग्य अवश्य छैन । बजारमा आएका धेरै कृतिहरू दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समयमै सहजरूपमा पढ्न पाउँदैनन् । तथापि विगत २ दशकदेखि रेडियोकर्मी अच्युत घिमिरेद्वारा सञ्चालन गरेका कार्यक्रमहरू रेडियो वाचन र हाल पनि प्रत्येक मङ्गलबार र शुक्रबार बेलुका ९:१५ मा उज्यालो रेडियोबाट प्रसारण भइरहेको स्रुति सम्वेग कार्यक्रमले भने दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूलाई गद्यात्मक साहित्यिक कृतिहरू पढ्ने अवसर जुटाएको छ । कतिपय पाठ्यक्रममा समावेश भएका कृतिहरू प”र्णरूपमा पढ्नका लागि रेडियोकर्मीलाई अनुरोध गरेर स्रुति सम्वेगमा नै निर्भर हुनुपरेको कुरा दृष्टिविहिन व्यक्तिहरू बताउछन् । साहित्यिक कृतिको अध्ययनमा तिर्खाएका दृष्टिविहिन समुदायलाई घिमिरेको आवाजमा सञ्चालित कार्यक्रमहरूले केही राहत भने भएको छ । साथै घिमिरेद्वारा सञ्चालित बुलबुल र एकल कविता वाचनले केही अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सृजना र सृजनशीलताको उजागर गर्ने मौका मिलेको छ । तथापि यो नै यथेष्ट भने छैन । सहभागिता शून्य हुनुको कारण अपाङ्गता भएका व्यक्तिहरूमा साहित्यिक चेतना नभएर होइन, ती कार्यक्रमको बारेमा सूचनाहरू पहुँचयुक्त ढाँचामा प्रकासन र प्रसारण नहुनु, प्रशिक्षण आयोजना गरिएका स्थानहरू अपाङ्गतामैत्री नहुनु बाधकहरू हुन् । काठमाडौँ उपत्यकाबाहिर रहेका प्रायः अपाङ्गता भएका व्यक्तिहरूद्वारा रचना भएका धेरै सृजनाहरू डायरीमै सिमित रहेका छन् । अझै पनि खण्डकाव्य, महाकाव्यहरूलाई शृङ्खलाबद्ध रूपमा वाचन गरिने खालका कार्यक्रम र पहलहरू भने कहीँकतैबाट भएका छैनन् । विभिन्नप्रकारका साहित्यिक प्रशिक्षणका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता शून्य पाइन्छ । सहभागिता शून्य हुनुको कारण अपाङ्गता भएका व्यक्तिहरूमा साहित्यिक चेतना नभएर होइन, ती कार्यक्रमको बारेमा सूचनाहरू पहुँचयुक्त ढाँचामा प्रकासन र प्रसारण नहुनु, प्रशिक्षण आयोजना गरिएका स्थानहरू अपाङ्गतामैत्री नहुनु बाधकहरू हुन् । यो सवालमा प्रज्ञाप्रतिष्ठानको पनि खासै ध्यान पुगेको पाइँदैन । “जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछन् कवि” भन्ने भनाइलाई वैधानिकता प्रदान गर्ने दायित्व अग्रज र समकालीन साहित्यकारहरू सबैको हो । समाजमा रहेका बहुसन्दर्भहरूलाई पस्कने साहित्यकारहरूले अपाङ्गताको अधिकारमुखी अवधारणाको अध्ययन गरी आफ्नो कृतिहरूमा सोको प्रतिबिम्ब उतारेमा नेपाली साहित्य जगत पनि समावेशी बन्न सक्थ्यो कि ? ( दृष्टिविहीन लामिछाने अपाङ्गताकाे क्षेत्रमा लामाेसमयदेखि क्रियाशील छिन् । ) #सरिता लामिछाने
बुकरमा हिलारीले कीर्तिमान रच्लिन् ?: द बुकर प्राइजेजले अन्तर्राष्ट्रिय बुकर पुरस्कारको लामो सूची जारी गरेको छ । लामो सूचीमा छानिएका १३ पुस्तकमध्ये यस पटक नौ वटा उपन्यास साना प्रकाशकका परेका छन् । यस्तो हुनुलाई साना प्रकाशकको साहित्य प्रतिको गहिरो रूचि तथा ठूला प्रकाशकको खतरा मोल्न नरूचाउने प्रवृत्तिका रूपमा अर्थ्याइन थालेको छ । प्रतियोगिताका लागि सहभागी १६२ वटा पुस्तकबाट यो लामो सूची निकालिएको हो । यस पटक सबैलाई आश्चर्यमा पार्ने गरी उपन्यासकार हिलारी मन्टेल पनि सूचीको मुख्य दाबेदारमा परेकी छन् । मन्टेलले यसअघि दुई उपन्यासमार्फत् बुकर पुरस्कार जितिसकेकी छन् । सन् २००९ मा वल्फ हल र २०१२ मा बिङ अप बडिज् मार्फत् उनले पुरस्कार हात पारेकी हुन् । उनको पछिल्लो उपन्यास द मिरर एन्ड द लाइटबाट पुनः लामो सूचीमा परेकी हुन् । त्यसो त बुकरमा दोस्रो पटक पुरस्कृत हुने अवसर मार्गरेट एटवुड, पिटर केरी र जिएम कोएत्जले पाएका छन् तर तेस्रो पटक पुरस्कृत हुने अवसर भने अहिलेसम्म कसैले पाएका छैनन् । यसबीच लेखिका मन्टेलले आफू यो पुरस्कारको उचित हकदार भएको प्रतिक्रिया दिएकी छन् । ९०० पृष्ठको यो उपन्यासमा बेलायती प्रधानमन्त्री थोमस क्रमवेलको जीवनको अन्तिम समयको कथालाई जीवन्त तरिकाले बयान गरिएको छ । यस पटकको सूचीमा पहिलो उपन्यासबाट नै बुकरको लामो सूचीमा पर्नेको संख्या आठ छ । डायन कुक, अवनी दोषी, ग्याब्रियल क्राउज, काइली रेइड, डग्लस स्टुआर्ट, ब्रान्डन टेलर, सोफी वार्ड तथा सी पाम झाङका उपन्यास पहिलो पटकमै यस सूचीमा परेका हुन् । नौ महिला र चार पुरूष यस सूचीमा परेको बुकर प्राइजेजले जनाएको छ । भारतीय मूलकी अवनी दोषीको पुस्तक नामांकनलाई लिएर भारतीयहरू पनि उत्साहित भएका छन् । उनी दुबईमा जन्मिएकी युवा लेखिका हुन् । ‘लामो छलफलपछि जब यो सूची तयार भयो, फर्केर हेर्दा साना तथा स्वतन्त्र पुस्तक प्रकाशकहरू नै बढी जसो सूचीमा परेको पाउँदा खुसी लागेको छ,’ कम्पोसले गार्डियन पत्रिकालाई भनेकी छन् । प्रकाशकले खतरा मोल्दै महत्त्वाकांक्षी र सान्दर्भिक आख्यान ल्याउन भूमिका खेलेका छन्, कम्पोस थप्छिन्। यी उपन्यासमध्ये छानेर ६ पुस्तकको छोटो सूची पनि जारी गरिनेछ । आउँदो सेप्टेम्बरमा जारी गरिने सो सूचीको विजेता नोभेम्बर महिनामा घोषणा हुने बताइएको छ । The 2020 Booker Prize longlist in full: Diane Cook – The New Wilderness Tsitsi Dangarembga – This Mournable Body Avni Doshi – Burnt Suga Gabriel Krauze – Who They Was Hilary Mantel – The Mirror & The Light Colum McCann – Apeirogon Maaza Mengiste – The Shadow King Kiley Reid – Such a Fun Age Brandon Taylor – Real Life Anne Tyler – Redhead by The Side of The Road Douglas Stuart – Shuggie Bain Sophie Ward – Love and Other Thought Experiments C Pam Zhang – How Much of These Hills is Gold #बुकर प्राइज
भस्मासुरको देशभित्र देशको खोजी: आजका बहुसङ्ख्यक मानिसको जीवन समस्याग्रस्त र जटिल छ । समस्या र जटिलताहरूले थोपरेको पीडा, छटपटी, अन्याय, अत्याचार, शोषण र दमन आदिसँग लड्दै बिताइरहेका हरेक मानिसहरूका आफ्नै व्यथाहरू छन् । विकृति विसङ्गतिले ग्रस्त सामाजिक संरचना पनि हाम्रै आँखा अगाडि छ । र त साहित्यकारहरू जीवन जगत्कै अनुभूतिको अभिव्यक्तिलाई आफ्ना सिर्जनामा प्रस्तुत गर्दछन् । मानिसको यथार्थ जीवनलाई आत्मसात गर्ने सन्दर्भमा कविताले कुनैबेला मान्छेका दुःख पीडालाई उद्घाटित गर्छ भने कुनैबेला सुख र आनन्दलाई । त्यसैले भाव, विचार र अनुभूतिको कलात्मक र प्रभावात्मक अभिव्यक्तिलाई नै हामी कविता भन्छौँ । जीवन–जगत्का भोगाइका भावले कविता कसिलो बन्दछ । कसिलोको अर्थ कविताभित्र भएको नैतिकता, आदर्श र सौन्दर्य पक्ष हो । दिव्यदृष्टि, सौन्दर्य चेतना र स्वतःस्फूर्त संवेदनीयताका आधारमा आफ्नो परिवेशबाट उपलब्ध अनुभूतिलाई सशक्त रूपमा कविले प्रस्तुत गर्ने हुँदा कविताले हृदयमा निनाद उत्पन्न गराउने धर्म राख्दछ । एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृतिले सामाजिकता प्राप्त गर्न सकेन भन्ने अर्थ बुझ्नु पर्दछ । साहित्य लेखनमा युवा पिँढी डटेर लागेको साहित्यका पाठकलाई बोध भएको छ । यतिबेला साहित्य बजार उपन्यास, कथा र कविताको माहोलले तातेको देखिन्छ । आख्यान र काव्य दुवै विधामा युवाहरूको उपस्थिति सक्रिय रहेको मान्नु पर्दछ । कवितामा होस् या आख्यानमा यतिबेला आम पाठकले चाहेको कुरा नै चिन्तन हो चिन्ता होइन । एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृतिले सामाजिकता प्राप्त गर्न सकेन भन्ने अर्थ बुझ्नु पर्दछ । पाठकले कुनै कृतिमा देश भेटेनन् भने, समाज भेटेनन् भने र दर्शन भेटेनन् भने त्यो कृति कसका लागि हो त ? कृति सार्वजनिक भएपछि त्यो सबैको हुन्छ, सामाजिक हुन्छ । र, कृतिले सामाजिक परिघटनाहरुलाई बोक्न सक्नु पर्दछ । लेखकको चिन्तन र विचारले सामूहिक विश्वदृष्टि दिन सक्नु पर्दछ । आफ्नो कविता सङ्ग्रहसहित साहित्य बजारमा आउने कविहरूको भिड नै लागेको छ । कविताप्रतिको यो मोह कविमा मात्र नभएर पाठकहरूमा पनि बढेको छ । यसलाई कविता साहित्यको दरिलो उपलब्धि मान्नु पर्दछ । कविता रुचाउने पाठकहरुलाई कति कविले न्याय गर्न सके त कति कविले प्रचारप्रसार मात्रै गरे खास कविताको मर्मलाई पाठकसमक्ष पस्किन सकेनन् । आफ्नो पहिलो कविता सङ्ग्रह भस्मासुरको देश लिएर युवा कवि वाक्सेली थापा यतिबेला कविता बजारमा आफ्नो स्थान खोजिरहेका छन् । सङ्ग्रहमा रहेका एकाउन्नवटा कविताभित्र उनी कविताको वर्णन–कौशलमा निपूर्ण रहेका छन् । उनका कविताको भावभूमि नै सामाजिक विकृतिलाई हटाएर स्वच्छ समाजको निर्माण गर्नु रहेको देखिन्छ । तर कवि एवम् साहित्यकार सामाजिक यथार्थलाई साहित्यमा प्रतिबिम्बका रुपमा प्रस्तुत गर्नुका सट्टामा आफै निर्माणकर्ता हुन पुग्यो भने त्यो कविता नभएर एउटा नारा मात्रै हुन्छ । कथामा होस्, उपन्यासमा होस् या कवितामा होस् लेखक बढी निर्णायक कर्ता बन्यो भने त्यस्तो साहित्यले दिन चाहेको विषयवस्तु भेटिँदैन र नचाहिने कुराको फेहरिस्ता बढेको देखिन्छ । महेश क्षितिज कवि वाक्सेली थापा सामाजिक परिघटनालाई जीवन्तता प्रदान गर्दै कवितामा सामाजिक समस्या देखाउँदै उज्यालो समाधान पनि हेर्न रुचाउँछन् । उनले चाहेको उज्यालो आफ्नो व्यक्तिगत स्वार्थको उज्यालो होइन । कविलाई थाह छ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर केही लेख्न सकेमा त्यसले समूहको समानधर्मितालाई बोक्न सक्छ र सबैले आफ्नो महसुस गर्न सक्छन् । उज्यालो एवम् शान्तिलाई नै कविताको मुहान बनाउन सिपालु थापाले अँध्यारो पक्षलाई हटाउन समूहको साझा समानधर्मितालाई हतियारको हरक, लुकामारी र गान्धी समय, सिंहदरबार, छातीमा बिझाइरहेको ड्रगन, सदरमुकाम, भस्मासुरको देश, सिरानघरे माइलो कवितामा देखाएका छन् । कवि समूहको आवाजलाई यसरी लेख्छन् ः जसरी कि सुटुक्क बुद्घले मध्यरातमै छोडेथे दरबार प्रत्येक दिन देखिरहेछु मध्यरातमै जन्मिरहेछन् समयका नयाँ कृष्ष्णहरु र खेलिरहेछन् उकलौटी खेल खै्र कसरी सिक्यो समयले अँध्यारो पर्दाभित्र यसरी खेल्न । ( अँध्यारो पर्दाभित्र ) कवि वाक्सेली थापाका कविताहरु नेपाली समाजको विगत दशकको यथार्थसँग सम्बद्घ रहेको पाइन्छ । कविता सौन्दर्यको पुजारी हुनुपर्दछ, नैतिकताको छहरा हुनुपर्दछ अनि आर्दशको दर्पण पनि हुनुपर्दछ । प्रकृतिको विराट रूपको माध्यमद्वारा मानवीय जगत्, संस्कृति, दर्शन र भूगोललाई कविले चिनाउन सक्नुपर्दछ । कविता भनेको मूलतः जीवन जगत्को आलोचना हो भन्ने कुरा कविहरूले बुझ्नु जरुरी छ । कवि वाक्सेली थापाका कविताहरु नेपाली समाजको विगत दशकको यथार्थसँग सम्बद्घ रहेको पाइन्छ । यस सङ्ग्रहभित्र रहेका कतिपय कविताको सामाजिक पृष्ठभूमि तत्कालीन जनयुद्घ र त्यसका क्रिया प्रतिक्रियाबाट प्रभावित नेपाली समाज र नेपाली मानसिकता रहेको बुझिन्छ । ठूलो अर्को नरमेध नहुने बुझेर अब थन्क्याउनुपर्छ कोतगार्डमा बन्दुकको डरलाग्दो हँुकार त्यागेर बारुद पर्व आफैँले बालेको घातक आगोमा आाफैँ भस्म नहुने सर्तमा । ( धाँजाहरुका बिरुद्घमा ) शक्तिशाली अनुभूतिको स्वतःस्फूर्त प्रवाह मानेर हेर्दा वाक्सेली थापा युद्घ चाहदैनन् । युद्घले अशान्ति र आँसु मात्रै निम्त्याउँछ त्यसैले हाम्रा लागि युद्घ बर्जित छ र शान्ति प्रिय छ भन्छन् । कविका हेराइमा देश जून फुल्ने बारी हो र जून भनेका धरतीका सन्तानहरु ह्ुन् । हत्या हिंसा आतङ्कले सन्तानहरू निमिट्याँन्न पार्दै लगेको देखेर चित्त नबुझेको गुनासो गरेका छन् । कविले जुन दृष्टि राखेर कविता लेखेका छन् त्यो दृष्टिलाई समर्थन गर्नेहरुको जमात पनि थियो र असमर्थन गर्नेहरुको जमात पनि थियो । ज्ञानेन्द्र शाह राजालाई कतिले विरोध स्वरुप चोर भनेको तर चोर शब्दले सम्बोधन नगर्न कवि सबै क्रान्तिकारी साथीहरुलाई आग्रह पनि गर्दछन् । ज्ञाने चोर होइन शीर्षक झट्ट सुन्दा कवि राजा पक्ष्यका मान्छे हुन् कि भन्ने भान त आउँछ तर वास्तबमा कवि कवितामा ज्ञानेन्द्रजस्ता मान्छेहरुले आपूmलाई कसैले चोर भन्दा मनमा कस्तो भावना जागृत हुन्छ भन्ने मनोविज्ञाानलाई यसरी देखाउन खोजेका छन् ः क्रान्तिकारी साथीहरु हो भो यसरी नारा नलगाऊ जथाभावी आक्रोसले तातेको सडकमा ज्ञाने चोर होइन । ( ज्ञाने चोर होइन ) सहरी जीवनका सुखहरू भन्दा ग्रामीण जीवनका दुःखहरूलाई कविले बढी प्राथमिकता दिएको देखिन्छ । सामाजिक सांस्कृतिक परिघटनाहरू पनि कविले जीवन्त रूपमा उठाएका छन् । नेपालको राजनीतिमा भइरहने उतारचढाव, राजनीतिक दल, नेता, समाजका प्रभुत्वशाली वर्गप्रति पनि कविको ठूलो गुनासो रहेको देखिन्छ । जनताहरूले न त लोकतन्त्रको महसुस गर्न पाए न त गणतन्त्रको नै । जो शक्तिमा छ अर्थात् जोसँग सत्ता छ उनीहरुले मात्र गणतन्त्रको अनुभूत गरेका छन् । विकृति र विसङ्गतिले देश, समाज र हरेक मान्छेलाई जकडेपछि कविले आफ्नै जिन्दगीलाई पनि अरुकै इशारामा चलाउनु परेको बाध्यतालाई देखाएका छन् । कवि थापाका कविताहरूमा सीमान्तकृत वर्ग बोलेका छन् । जुन कुराले मन छुन्छ त्यही कुरालाई इमान्दारीपूर्वक अभिव्यक्ति बनाउनु कविको आफ्नो निजात्मकता हो । अन्धो राष्ट्रवादी नाराभन्दा सघन राष्ट्रवाद र राष्ट्रप्रेममा यिनको कवितात्मक कल्पना तीब्र भएको देखिन्छ । आपूm बाँचेको युगमा भएका सामाजिक परिघटनाहरुकै सेरोफेरोमा कवि आफ्नो कविताको परिवेश निर्धारण गर्दछन् । यति हुँदाहुँदै पनि कवि कतिपय कविताभित्र आफै हराएका छन् । कविताभित्र कसरी पस्ने र कसरी निस्कने हो भन्ने प्रयासमा कवि जेलिएका छन् । बढीभन्दा बढी नेता एवम् राजनीति विषयक कविता भएकाले सबै कवितामा एकै किसिमको स्वाद पनि यहाँ भेटिन्छ । प्रथम पुरुषीय क्रियापदमा उचित भाषिक चिह्न प्रयोग नहुँदा भाव खजमजिएको तथ्यलाई कविले बुझ्न सकेका छैनन् । यी साना तर गम्भीर कमजोरीलाई कविले सुधार्नु पर्ने हुन्छ । समग्रमा थोरै कमजोरीका बीचमा पनि भस्मासुरको देश कविता सङ्ग्रहभित्रका एकाउन्नवटै कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने कवि वाक्सेली थापाको यो सङ्ग्रह पठनीय रहेको छ । विधा: कविता प्रकाशक : बालाजी पब्लिकेशन पृष्ठ : १२५ कृतिकार : वाक्सेली थापा मूल्य : २०० #भस्मासुरको देशभित्र देशको खोजी #महेश क्षितिज
‘यात्री’ कविताभित्रको अध्यात्म: (सारसंक्षेप – लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको फाँटमा उल्लेख्य योगदान दिने व्यक्ति हुन् । उनको ‘यात्री’ कविता आध्यात्मिक विषयवस्तुमा आधारित देखिन्छ । पूर्वीय मनीषीहरूका चिन्तन र मननमा सुझाएइको अध्यात्म दर्शनको शरीररचना विज्ञानलाई मूल सिद्धान्त मानी ‘यात्री’ कवितामा आध्यात्मिकता पहिल्याउने कार्य प्रस्तुत लेखमा गरिएको छ । यस कवितामा कविले मानिसको काँधमा चढी मन्दिरमा पूजा गर्न हिँडेको ‘यात्री’लाई तिमी कुन मन्दिरमा, के सामग्री लिएर पूजा गर्न जाँदैछौ ? भनी गरिएका प्रश्न र तिनको उत्तर समेटिएको छ । यसमा कविले यात्रीलाई ईश्वरको प्राप्ति मानिसद्वारा बनाइएका कृत्रिम वस्तुमा हुँदैन शरीरभित्र हुन्छ भनी शरीरका अङ्ग र तत्त्वहरूलाई ईश्वर बस्ने मन्दिरका रूपमा प्रस्तुत गरेका छन् । त्यसैले यस कविताको विश्लेषणबाट ईश्वरको साक्षात वास भएको स्थान मानव शरीर हो, ईश्वरको खोजी शरीरभित्रै गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।) शब्दकुञ्जी : शरीररचना, अध्यात्मिकता, मन्दिर, यात्री, दर्शन आदि । १. विषय परिचय लक्ष्मीप्रसाद देवकोटा ( वि.सं. १९६६–२०१६ ) बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यका कविता, निबन्ध, कथा, नाटक, उपन्यास र समालोचना विधामा कलम चलाए पनि कविता र निबन्ध विधामा उनको विशेष योगदान रहेको देखिन्छ । उनको ‘ यात्री ’ कविता ‘ भिखारी ’ (२०१०) कविता सङ्ग्रहमा सङ्कलित छ । उनका करिब छ सय फुटकर कवितामध्ये ‘ यात्री ’ मानवतावादी कविता हो । देवकोटालाई मानवतावादी, आस्तिक, प्रकृतिप्रेमी, क्रान्तिकारी र राष्ट्रवादी कविका रूपमा चिनाइएको छ (भट्टराई, २०५१, १८०–१८४) । उनको मानवतावाद ‘समानता, स्वतन्त्रता र भातृत्व’को फ्रान्सेली दर्शनमा आधारित रही प्रकृति, ईश्वर र मानवका त्रिभुज सम्बन्धमा केन्द्रित रहेको छ (त्रिपाठी र अन्य, २०४५, १४४) । यो दर्शनले मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने मान्यता राख्दछ (भट्टराई, २०५१, १८०) । उनले “मानवतावादी पृष्ठभूमिमा ईश्वरको जुन स्थापना गरेका डा. खगेन्द्र घोडासैनी छन्, त्यो उच्चकोटीको छ” (जोशी, २०४५, ४९) तर देवकोटाको यो दर्शन फ्रान्सेली मानवतावादमा मात्रै सीमित देखिँदैन । यसको सम्बन्ध पूर्वीय मनीषीहरूका रचना वेद, उपनिषद् र गीतामा प्रतिपादित शरीररचना विज्ञानसँग पनि छ । ईश्वरलाई प्रत्यक्ष वा साकार रूपमा मानवबाहेक अरू प्राणी र वस्तुतर्फ केन्द्रित गराउने पाखण्डीहरूको विरोध र वेद, उपनिषद् र गीतामा प्रतिपादित ईश्वरको स्थापना ‘यात्री’ कवितामा गरिएको छ । त्यसैले यस लेखमा ‘वेद, उपनिषद् र गीतामा प्रतिपादित शरीररचना र आध्यात्मिक चिन्तन तथा ‘यात्री’ कविताको विचारमा समानता छ’ भन्ने विषयलाई प्रमुख प्राक्कल्पना बनाइएको छ । लक्ष्मीप्रसाद देवकोटा चिन्तन र मनन गर्ने दार्शनिक कवि हुन् । उनका विचारमा देखावट र लोकप्रियताका पछि लाग्ने मानिसहरू बोक्रे हुन् । बोक्रे चिन्तन अँगालेका मानिसहरू भित्र हेर्न छाडेर बाहिर हेर्न थाल्दछन् (देवकोटा, २०५७, ६५) । हरेक वस्तुमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो (देवकोटा, २०५७, ८५) । त्यसैले हरेक वस्तुलाई सतही र वस्तुगत रूपमा हेर्ने तर गहिराइमा नजाने चिन्तन बोक्रे चिन्तन हो । देवकोटाले ईश्वरको खोजी गर्दा पनि त्यसको गहिराइमा पुगेर निष्कर्ष निकालेका छन् । ‘ यात्री ’ कवितामा ईश्वरको चिन्तन गहिराइमा गएर गरिएको छ । ‘ यात्री’ कवितामा व्यक्त आध्यात्मिकता पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य हो । यो उद्देश्य हाँसिल गर्न ‘प्रस्तुत लेखमा ईश्वर प्राप्तिमा मनुष्य शरीरको के कस्तो महत्त्व रहेको हुन्छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी ‘यात्री’ कवितामा पाइने आध्यात्मिकताको विश्लेषण गर्ने प्रयास गरिएको छ । प्रस्तुत अध्ययनमा ‘यात्री’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति, लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ । २. अध्ययन विधि यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ स् २.१ अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ । २.३ जसङ्ख्या र नमुना छनोट : प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाका सबै कवितालाई जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा देवकोटाका रचनामध्ये उनको ‘यात्री ’ कविता छनोट गरिएको छ । २.४ तथ्याङ्क सङ्कलन : प्रस्तुत अध्ययनमा ‘यात्री’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति, लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ । २.५ तथ्याङ्क सङ्कलनका साधन : यस अध्ययनमा दस्तावेजको विश्लेषण गर्न प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ । २.६ तथ्याङ्क विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । उदाहरण र समीक्षात्मक विश्लेषण गरेर निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ । ३. सैद्धान्तिक पर्याधार ‘यात्री’ कवितामा प्रतिपादित विचारलाई उपनिषद्, गीता, वेद र श्रीमद्भागवत्को शरीररचना विज्ञानको सैद्धान्तिक आधारमा अनुसन्धानात्मक व्याख्या र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस कविताको सैद्धान्तिक पर्याधार शरीररचना विज्ञान हो । यो सिद्धान्त वेद, उपनिषद् र गीतामा प्रतिपादित छ । अध्यात्म दर्शनमा शरीरलाई ईश्वर प्राप्तिको साधन मानिएको छ । “शान्तकारं….योगिभिर्ध्यानगम्यं” योगीजनले ध्यान गरेर ईश्वरको अनुभव गर्छन् अनि “ यं ब्रह्मा ….ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो ” (श्रीमद् भागवत् महापुराण, १२, १३(१) योगीजन ध्यानमा स्थित भएर मनले ईश्वरको दर्शन गर्दछन् जस्ता भनाइले ध्यानलाई र कर्मयोगलाई महत्त्व दिइएको देखिन्छ । ध्यान र कर्म योग शरीरद्वारा गरिने भएकाले शरीर ईश्वर प्राप्तिको साधन मानिन्छ । ब्रह्मचारीको वेशमा आएका महादेवले उनैको प्राप्तिका लागि तपस्यारत पार्वतीलाई यस्तो भनेका छन् “ अपि क्रियार्थ सुलभं….शरीर माद्यं खलु धर्म साधन ” (कुमारसम्भव, ५÷३३) अर्थात् धर्मका जति काम छन्, तिनमा शरीरको रक्षा गर्नु सबैभन्दा पहिलो काम हो । यसैले धर्मको साधना गर्ने माध्यम शरीर बनेको देखिन्छ । ईश्वरको वासस्थान मानव शरीरमा हुन्छ भन्ने कुराको वर्णन मुण्डकोपनिषद्मा यसरी व्यक्त गरिएको छ– “ पुरुष एवेदं विश्वं कर्म तपो ब्रह्म परामृतम् । एतयो वेद निहितं गुहायां सोऽविद्याग्रन्थिं विकरतीह सोम्य ” (गोयन्दका, २०६८, २३०) अर्थात् हृदयरूप गुफामा लुकेका यी अन्तर्यामी परमेश्वरलाई जसले जान्दछ, त्यसले यस मनुष्य शरीरमा नै अविद्याजनित अन्तःकरणको गाँठो खोल्न सक्छ । यसको आशय होस यस्तो व्यक्ति सबै प्रकारका संशय र भ्रमरहित भएर परब्रह्म पुरुषोत्तमलाई प्राप्त गर्दछ । यस्तै आशय अर्को मन्त्रमा पनि प्रकट गरिएको छ– “ आविः सन्निहितं गुहाचरं नाम महत्पदमत्रैतत्समर्पितम् । एजत्प्राणन्निमिषच्च यदेतज्जानथ सदसद्वरेण्यं परं विज्ञानाद्यद्वरिष्ठं प्रजाना ” (गोयन्दका, २०६८, २३०) अर्थात् सर्वशक्तिमान्, सर्वज्ञ र सर्वव्यापी परमेश्वर प्रकाश स्वरूप छन् । उनी सम्पूर्ण प्राणीहरूका अत्यन्त नजिक उनैका हृदयरूपी गुफामा लुकेर बस्नाले नै उनी गुहाचर नामले प्रसिद्ध छन् । हलचल गर्ने, सास फेर्ने, आँखा चिम्लिने जति प्राणी छन्, ती सबै यिनै परमेश्वरमा स्थित अर्थात् समर्पित छन् । सबैका आश्रय यी परमात्मा नै हुन् । तपाईं यिनलाई जान्नुहोस् । यी सत् र असत् अर्थात् कार्य र कारण एवं प्रकट र अप्रकट सबै हुन् । सबैद्वारा वरण गर्न योग्य र अत्यन्त श्रेष्ठ तथा सम्पूर्ण प्राणीहरूको बुद्धिभन्दा पर अर्थात् अज्ञेय छन् । मानिसको शरीरलाई क्षेत्रका नामले पुकारिन्छ अनि जसले यसलाई जान्दछ उसलाई क्षेत्रज्ञ भनिन्छ । उपनिषद्का यी मन्त्रमा ईश्वरको वासस्थान सजीव प्राणीहरूका अन्तरमा हुन्छ भनिएको छ । त्यसकारण उपनिषद्ले ईश्वरको खोजी मानव शरीरभित्रै गर्न प्रेरित गर्छन् । मानिसद्वारा बनाइएका बाहिरी साधनहरू जस्तै तीर्थ, धर्मस्थान र धर्मग्रन्थमा ईश्वरलाई खोज्न प्रेरित गर्दैनन् । हाड, छाला, मासु, रगत र नसाहरूबाट ईश्वरले नै बनाएको शरीररूपी घर नै वास्तवमा ईश्वरलाई खोज्ने ठाउँ हो । शरीर नै ईश्वर प्राप्तिको साधन हो, त्यसैमा खोज्नुपर्छ । यसबाट उपनिषद्ले शरीररचना विज्ञानलाई महत्त्व दिइएको देखिन्छ । मानिसको शरीरलाई क्षेत्रका नामले पुकारिन्छ अनि जसले यसलाई जान्दछ उसलाई क्षेत्रज्ञ भनिन्छ । जसरी क्षेत्र (भूमि) मा बिउ रोपेपछि त्यसको गुणअनुसार फल फल्दछ र त्यसको उपभोग किसानले गर्नुपर्दछ त्यसैगरी यो शरीरमा रोपिएका कर्मका संस्काररूप बिउको फलरूपी परिणाम जीवात्माले भोग्नु पर्दछ (गीता, १३, १) । शरीररूपी क्षेत्रमा पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश), अहंकार, बुद्धि र मूल प्रकृति (सत्त्व, रज र तम गुणको साम्यावस्था), दस इन्द्रियहरू, मन र पाँच इन्द्रियका विषयहरू (शब्द, स्पर्श, रूप, रस र गन्ध) तथा इच्छा, द्वेष, सुख, दुःख, स्थूल शरीरको पिण्डीय चेतना र घृति (राजसी भोगको इच्छा) जस्ता विकारहरू रहेका हुन्छन् (गीता, १३, ५–६) । क्षेत्रज्ञ पुरुषहरूले शरीरभित्रै गएर योग, अभ्यास र ध्यानका माध्यमबाट परम पुरुषलाई प्राप्त गर्न सक्छन् । ती परमात्मा चराचर सम्पूर्ण प्राणीहरूका भित्र र बाहिर परिपूर्ण छन् अनि चर र अचर पनि उनै छन् । उनी सूक्ष्म भएर अविज्ञेय छन् तथा धेरै नजिक भएर पनि नजान्नाले टाढा छन् (गीता, १३, १५) । ती परब्रह्म ज्योतिहरूका पनि ज्योति एवं मायाबाट धेरै टाढा छन् । ती परमात्मा बोधस्वरूप जान्न योग्य एवं तत्त्वज्ञानबाट प्राप्त गर्न योग्य छन् अनि सबैका हृदयमा विशेष रूपले स्थित छन् (गीता, १३, १७) । परमात्मा सबै प्राणीहरूका हृदयमा स्थित सबैका आत्मा हुन् तथा सम्पूर्ण प्राणीहरूका आदि, मध्य र अन्त पनि उनी नै हुन् (गीता, १०, २०) । उनलाई मन र इन्द्रियसहित वशमा राख्नेवाला आशा र सङ्ग्रहरहित योगीले एक्लै एकान्त स्थलमा बसेर आत्मालाई निरन्तर परमात्मामा लगाएपछि प्राप्त गर्न सक्छ (गीता, ६, १०) । परमात्मालाई प्राप्त गर्न भक्ति गर्नेहरू अर्थार्थी (पैसाका लागि), आर्त (सङ्कट निवारण), जिज्ञासु (परमात्माको यथार्थरूप जान्न चाहने) र ज्ञानी (ज्ञान चाहने) गरी चार प्रकारका हुन्छन् (गीता, ७, १६) । अनि यस्ता भक्तमध्ये परमात्मामा नित्य एकीभावले अनन्य प्रेम भक्तिवाला ज्ञानी भक्त अति उत्तम छन् किनभने परमात्मालाई तत्त्वले जान्न चाहने ज्ञानीका लागि उनी प्रिय छन् र ज्ञानी भक्त उनलाई प्रिय लाग्दछन् (गीता, ७, १७) । यस्तै उत्पत्ति र विनाशको गुण भएका सम्पूर्ण पदार्थहरू ईश्वरको अधिनमा छन् । त्यस्ता ईश्वर मनुष्य शरीरमा अन्तर्यामी रूपले सदैव विद्यमान रहेका हुन्छन् (गीता, ८. ४) । जो व्यक्ति अन्तकालमा पनि परमात्मालाई नै स्मरण गरेर शरीर त्याग गर्दछ, उसले परमात्माको साक्षात् स्वरूपलाई प्राप्त गर्दछ । यसमा कुनै संशय छैन । जुन मनुष्यले अन्तकालमा जुन जुन भाव स्मरण गर्दै शरीर त्याग गर्दछ, त्यो त्यो भाव नै उसलाई प्राप्त हुन्छ किनकि ऊ सधैँ त्यसै भावमा लागि परेको हुन्छ (गीता, ८. ५ र ६) । यसरी गीताले पनि शरीरलाई भगवत् प्राप्तिको साधन मानेको छ । भगवत् प्राप्ति बाहिरी कर्म गरेर हुँदैन भन्ने कुरा मुण्डकोपदिषद्मा यसरी उल्लेख गरिएको छ–“ प्लवा ह्येते अदृढा यज्ञरूपा, अष्टादशोक्तभवरं येषु कर्म । एतच्छेयो येऽभिनन्दति मूढा, जरामृत्युं ते पुनरेवापि यान्ति ”(गोयन्दका, २०६८, २१६) । अर्थात् नित्य, दर्श, पौर्वमास, चातुर्मास आदि अठार प्रकारका यज्ञका भेद छन् । सकाम कर्मको वर्णन गरिएका यी यज्ञरूपी अठार प्रकारका डुङ्गाहरू दृढ छैनन् । यिनका सहायताले संसाररूपी समुद्रबाट पारी पुग्न त परै जाओस् यस लोकका वर्तमान दुःखरूपी ससाना नदीहरू तरेर स्वर्गसम्म पुग्ने कुरामा शङ्का छ । जसले यिनैबाट जीवको कल्याण हुन्छ भन्ने ठान्दछन् ती मूर्ख हुन् किनभने यी लक्ष्यमा नपुगेर बिचमै छिन्नभिन्न हुन्छन् । यस रहस्यलाई नबुझेर जो मूर्खहरू यी सकाम कर्महरूलाई जन्ममृत्युको निराकरणका उपाय ठान्दछन्, यिनको प्रशंसा गर्दछन्, तिनले अवश्य जन्ममृत्युका दुःखहरू झेल्ने छन् । ऐतरेयोपनिषद्मा मानव शरीरको सृष्टि हुँदादेखि नै यसमा प्रत्येक देवताको वास रहेको भनिएको छ– “ अग्निर्वाग्भूत्वा मुखं प्राविशद्वायुः प्राणो भूत्वा नासिके प्राविशद् आदित्यश्चक्षुर्भूत्वाक्षिणी प्राविशद्दिशः श्रोत्रं भूत्वा कर्णो प्राविशन्नोषधिवनस्पतयो लोमाग्नि भूत्वा त्वचं प्राविशंश्चन्द्रमा मनो भूत्वा हृदयं प्राविशन्मृत्युरपानो भूत्वा नाभिं प्राविशदापो रेतो भूत्वा शिश्नं प्राविशन ” (गोयन्दका, २०६८, २८०) । अर्थात् सृष्टिकर्ता परमेश्वरको आज्ञा पाएर अग्नि देवताले वाक् इन्द्रियको रूप धारण गरी परमात्माले सृष्टि गरेका मनुष्यको मुखमा प्रवेश गरेर जिब्रालाई आफ्नो आश्रय बनाए । त्यसपछि वरुण देवता पनि रसना इन्द्रिय बनेर मुखमा प्रविष्ट भए । वायु देवता प्राण भएर नासिका मार्गबाट छिरेर सम्पूर्ण शरीरमा प्रविष्ट भए । अश्विनीकुमार पनि प्राणको रूप धारण गरेर नासिकामा प्रवेश गरे । सूर्य देवता नेत्रेन्द्रिय बनेर आँखामा, दिशाभिमानी देवता श्रोतेन्द्रिय बनेर दुबै कानमा, औषधि र वनस्पतिका अभिमानी देवता रौँ बनेर छालामा, चन्द्रमा मनको रूप धारण गरेर मनमा, मृत्यु देवता अपानको रूप धारण गरेर नाभीमा अनि जलका अधिष्ठातृ देवता वीर्य बनेर लिङ्गमा प्रविष्ट भए । यसरी सम्पूर्ण देवताहरू इन्द्रियको रूप धारण गरेर आआफ्नो उपयुक्त ठाउँमा प्रवेश गरी स्थिर भएर बस्न थालेको उल्लेख गरिएको छ । वेदमा पनि देवताहरूको वास शरीरमा छ भनिएको छ– “ पुरुष एवेदं सर्वं यद्भूतं यच्च भाव्यम् । उतामृतन्वस्येशानो यदन्नेनातिरोहति ” (शुक्ल यजुर्वेद संहिता, सन् १९८७, ५२४) अर्थात् यो संसारमा जे जति निर्मित भएको छ त्यो सबै एउटै परम पुरुषबाट भएको हो । ती परम पुरुष सधैँ सबैमा व्याप्त छन् । ती अमरत्व प्रदान गर्नेवाला हुन् । तीबाहेक अमरत्व प्रदान गर्नेवाला अरू कोही छैन । “ चन्द्रमा मनसो जातश्चक्षोः सूर्यो अजायत, श्रोताद्वायुश्च प्राणश्च मुखादग्निरजायत ” (शुक्ल यजुर्वेद संहिता, सन् १९८७, ५२६) अर्थात् सर्वव्यापक परमात्माका मुखबाट चन्द्रमा, आँखाबाट सूर्य, कानबाट वायु र प्राण तथा मुखबाट अग्निको उद्भव भयो । यसरी ती परम पुरुष नै सम्पूर्ण देवताका स्रोत हुन् । त्यसैले देवताको उत्पत्ति पनि उनै ईश्वरबाट भएको हो । यसरी उत्पन्न भएका देवताहरूको वास मानव शरीरमा नै रहेको हुँदा तिनको खोजी पनि शरीरमै गएर गर्नु पर्ने कुरा वेदले औँल्याएको देखिन्छ । यसरी मावन शरीरका तत्त्वहरूलाई सबल बनाउने देवताको वास पनि शरीरभित्रै रहेको कुरा अध्यात्म दर्शनमा बताइएको छ । मानव शरीरका यी तत्त्वलाई वास्तुकलाका उपकरणका रूपमा अथ्र्याई लक्ष्मीप्रसाद देवकोटाद्वारा ‘यात्री’ कवितामा मानव शरीरलाई ईश्वरको वासस्थान मानिएको छ । प्रस्तुत लेखमा अध्यात्म दर्शनको यही शरीररचना विज्ञानलाई सैद्धान्तिक आधार मानी ‘यात्री’ कविताको विश्लेषण गर्ने प्रयास गरिएको छ । ४. छलफल र विश्लेषण संरचना, विषयवस्तु, मूलभाव वा विचार, भाषाशैली र शीर्षक जस्ता उपशीर्षक राखी ‘ यात्री ’ कवितामा आध्यात्मिकता पहिल्याउने कार्य निम्नलिखित रूपमा गरिएको छ ४.१ संरचना ‘ यात्री ’ कवितामा जम्मा ४२ हरफ छन् । चार हरफको एक श्लोक मान्ने हो भने यस कवितामा जम्मा साढे दस श्लोक हुन जान्छ । हरफ र श्लोक सङ्ख्याका आधारमा यो कविता लघु आकारमा संरचित छ । यो कविता मात्रिक छन्द अन्तर्गतको ‘ऊर्मि’ छन्दमा लेखिएको छ । विषम पाउमा १६ र सम पाउमा १४ मात्रा हुने अर्धसम छन्दलाई ‘ऊर्मि’ छन्द भनिन्छ । यसमा सङ्गीतको प्रधानता रहेको हुन्छ (सापकोटा, २०५२, ५४) जस्तै : कुन् मन्–दिर्–मा जान्–छौ या–त्री २ २ २ २ २ २ २ २ . १६ मात्रा विषम पाउ कुन् मन्–दिर्–मा जा–ने हो ? २ २ २ २ २ २ २ . १४ मात्रा सम पाउ यसरी विषम पाउमा १६ मात्रा र सम पाउमा १४ मात्राका ४२ हरफबाट यो कविता संरचित भएको देखिन्छ । ४.२ विषयवस्तु ‘यात्री’ कविता ईश्वरको खोजी र त्यसको प्राप्तिका साधन वा तरिकासँग सम्बन्धित विषयवस्तुमा आधारित देदिन्छ । यसमा मानवतावादी, रहस्यमय तथा शरीररचनाका शिल्पबाट ईश्वरको वासस्थान औंल्याइएको छ । यहाँ मानिसहरूको काँधमा चढी ईश्वरको खोजीमा हिँडेको यात्रीलाई सम्बोधन गर्दै कविले हे यात्री ! तिमी मनुष्य शरीरमा रहेका अविनाशी, बाहिरी आँखाले देख्न नसकिने सर्वशक्तिमान् ईश्वरको खोजी गर्न कुन मन्दिरमा जाँदैछौ ?, त्यहाँ जान तिमीले साथमा लैजाने पूजा सामग्री के हो ?, त्यो पूजा सामग्री सँगै कसरी लैजान्छौ ? अनि ईश्वरको साक्षात् वासस्थान भएका मनुष्यको काँधमा चढेर कुन देवपुर आर्थात् ईश्वरको घर जान खोज्दैछौ ? भनी प्रश्न गरेका छन् । यिनै प्रश्नको उत्तरमा कवि भन्छन्– हाडहरूको सुन्दर खम्बा भएको, मासुरूपी पिण्डको भित्ता भएको, मस्तिष्करूपी सुनको छानो भएको अनि नौ ओटा इन्द्रियहरूका ढोका भएको, नसारूपी नदीका तरल तरङ्गमा रगतरूपी पानी बगेको मनुष्य शरीर अपार छ । हे यात्री ! तिमी कुन मन्दिर खोज्दैछौ ? ईश्वर बस्ने मन्दिरको द्वार कुन हो ? तिमीलाई थाहा छ ? मानिसको मनरूपी सुन्दर सिंहासनमा नै जगदीश्वर विराजमान छन् । यो चेतन शरीर नै ती हिरण्मय ज्योतिरूपी परमात्मा बस्ने ठाउँ हो । मनुष्यको शिर नै ईश्वररूपी मन्दिरका शिरको मुकुट हो । शरीररूपी यो सुन्दर मन्दिर विश्वभरि छ अर्थात् शरीरमा भएर पनि जगत्व्यापी छ । ईश्वर शरीरभित्र छन् तर तिम्रो खोजी बाहिर छ । बाहिरी आँखाद्वारा बाहिरी सहरमा ईश्वर खोज्दै छौ जहाँ ईश्वर छैनन् । ईश्वरको वासस्थान गहिराइमा छ, तिमी भने सतहमा खोजी गरिरहेका छौ । ईश्वरसँग भेट गर्न चाहन्छौ भने हृदयको ज्ञानरूपी बत्ती बाली हेर । हे यात्री साथी ! ईश्वर बिच सडकमा हिँडिरहेका छन् । असल काम गर्ने हातहरू ईश्वरले चुम्दछन् । ईश्वरका जादुगरी हातले सेवकहरूको साथ दिन्छन् । ईश्वरको आफैँभित्र अनुभूति गर्नेहरूले उनलाई सडक किनारमा बसी चराहरूको भाषामा गीत गाएको देख्छन् । यस्तै उनी मानिसहरूका दुख र पीडाको गानामा बोल्दछन् । यी चर्मचक्षुले र कानले ईश्वरको कहीँ कतै दर्शन र श्रवण हुँदैन किनकि उनी अगम, अदृश्य र अपरम्पार छन् । त्यसैले हे यात्री ! तिमी कुन मन्दिरमा जान्छौ ? ईश्वरको वास भएको मानव शरीररूपी परिचित देशलाई छोडी कुन नयाँ र बिरानो देशमा जाँदैछौ ? त्यो बिरानो देशमा ईश्वरलाई खोज्न नजाऊ, बरु फर्क । जाऊ मानिसहरूको पाउमा मलम लगाऊ । स्वयं ईश्वर नै मानिसको रूपमा आएका हुनाले त्यो दिव्य मुहार हँसाऊ भनी संसारका बाहिरी वस्तुमा ईश्वरको खोजी गर्दै भड्कीएका यात्रीलाई लक्षित गर्दै ईश्वर प्राप्तिको साधन शरीर हो । यही शरीरभित्र गएर खोज । चर्मचक्षुले ईश्वर देखिँदैनन् बरु मानव सेवा गरेर प्रत्यक्ष ईश्वरको दर्शन गर भनी कविले यस कवितामा ईश्वर प्राप्तिको साधन पनि पहिल्याउने काम गरेका छन् । त्यसैले ‘यात्री’ कविताको मूल विषयवस्तु ईश्वरको खोजी र त्यसको प्राप्तिका उपायहरूसँग सम्बन्धित रहेको देखिन्छ । ‘यात्री’ कविताको विषयवस्तु वेद, उपनिषद् र गीताद्वारा प्रतिपादित जन्म र मृत्युको चक्रबाट मुक्त हुन चाहने जिज्ञासुका लागि सुझाइएको अध्यात्म दर्शनमा आधारित छ । यसमा बाहिरी वस्तुमा ईश्वर खोज्नेहरू आफूले बनाएका संरचना वा मन्दिरमा जान स्वयं ईश्वरले बनाएका मन्दिररूपी मानवको काँधमा चढेर पुण्य आर्जन गर्न खोज्ने पाखण्डीहरूप्रति व्यङ्ग्य गर्दै तिनका क्रियाकलापको विरोध र ईश्वरको सर्वव्यापकताको सिद्धि गर्ने विषयवस्तुको उपस्थापन कविले गरेका छन् । ४.३ मूलभाव वा विचार ‘यात्री’ कवितामा दार्शनिक विचार र मानवतावादी भावना पाइन्छ । कविले अध्यात्म दर्शनलाई सरल र शिष्ट तरिकाले प्रस्तुत गरेका छन् । यो शान्त रसयुक्त कविता हो । अध्यात्म दर्शन भक्ति भावना प्रधान दर्शन हो । मानवतावादी दर्शन हो । यसले ईश्वरको सर्वव्यापकत्व स्वीकार गर्छ तर ईश्वरको बाहिरी रूपमा दर्शन हुन्छ भन्ने भ्रम पाल्दैन । यदि बाहिर ईश्वरको दर्शन हुन्छ भने त्यो केवल प्राकृतिक कुरामा हुन्छ मानिसहरूले बनाएका कृत्रिम वस्तुमा हुँदैन । दुःखी मानिस, उनीहरूको सेवा, चराको बोली आदि प्राकृतिक कुरा हुन् । ईश्वर सर्वव्यापक भए पनि उनको प्राप्ति मानव अन्तर्हृदयमा हुन्छ । ईश्वर अनुभवगम्म विषय हो, प्रत्यक्ष दर्शन हुने ठोस, तरल वस्तु होइन । ईश्वरलाई चर्मचक्षुले हेर्न खोज्नु मूर्खता हो । मानिसको काँधमा चढेर ईश्वरलाई खोज्न बाहिर हिँड्नु त झन महामूर्खको काम हो । यो तरिकाले ईश्वरको प्राप्ति त के उनको गन्धसमेत पाउन सकिँदैन । ईश्वरको प्राप्ति शरीरभित्रै गएर खोजी गर्नाले हुन्छ । मनुष्य शरीर नै ईश्वर बस्ने असली र वास्तविक घर हो भन्ने मूल भाव वा विचार ‘यात्री’ कवितामा व्यक्त भएको पाइन्छ । ४.४ भाषाशैली ‘यात्री’ कविता सम्बोधन शैलीमा लेखिएको छ । यहाँ कविले ‘यात्री’लाई सम्बोधन गर्दै आफ्ना जिज्ञासा अघि सारेका छन् अनि तिनको आफैँ उत्तर पनि दिँदै गएका छन् । यस कवितामा प्रचलित तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग पाइन्छ । यसमा ताज, तिलस्मी, दिवार, मलम जस्ता आगन्तु शब्द, मन्दिर, यात्री, सामग्री, पूजा, देवपुरी, सुन्दर, मांसपिण्ड, मस्तिष्क, इन्द्रिय, तरल, तरङ्ग, सिंहासन, जगदीश्वर, चेतन, ज्योति, हिरण्मय, विश्वक्षेत्र, ईश्वर, चर्मचक्षु, हृदय, प्रचुर, दर्शन, आर्त, दिव्य मुहार, अपार जस्ता तत्सम र काँध, साथ, कसोरी, लाने, छाना, गाना, ताना, काना, पाउ, घाउ, हँसाऊ जस्ता तद्वभ र झर्रा शब्द प्रयोग भएका देखिन्छन् । शब्द प्रयोगका दृष्टिले यो कविता सरल छ । यसमा मानव शरीरका अङ्ग र यसका तत्त्वलाई वास्तुकलाका सामग्रीका अर्थमा प्रयोग गरी ईश्वर निर्मित मानव शरीर नै मन्दिर हो र यही नै ईश्वर प्राप्तिको असली साधन हो भनिएको छ । मानिस र उसको सेवाबाटै ईश्वरलाई खुसी पार्न सकिन्छ । बाहिरी पूजा र पूजा सामग्रीको कुनै अर्थ छैन । ईश्वर अनुभूतिजन्य विषय भए पनि मानिसहरू चर्मचक्षुले हेर्न खोज्दछन् अनि नपाउँदा निराश हुन्छन् । ईश्वरलाई पाउने देश अर्थात् शरीरलाई छोडेर विदेश अर्थात् मन्दिरतिर धाइरहेकाले खाली हात फर्किनु परेको कुरालाई यसमा व्यङ्ग्य पनि गरिएको छ । ईश्वर भित्र छन्, गहिराइमा छन्, जताततै छन्, सेवकहरूसँग ईश्वर सधैँ रहन्छन् । सडक किनारमा चराको बोलीमा र मानिसहरूका पीडा र दुःखका भावनामा ईश्वर बोल्दछन् । मानिसहरूले यिनमा ईश्वर खोजी गर्दैनन् बरु मानवताकै खिल्ली उडाउने गरी मानिसहरूका काँधमा चढेर आफैँले बनाएका मन्दिरमा ईश्वर खोज्न तम्सिन्छन् । यसरी ईश्वर खोज्ने मानिसलाई देवकोटा अन्धकारमा रुमल्लिएको यात्री भन्दछन् । घरभित्र वा आफैँसँग भएको वस्तु बाहिरतिर खोज्दै हिँड्ने मूर्ख मानिसहरूलाई देवकोटाले मानवता विरोधी ठहयाएका छन् । त्यसैले यो कविता भाव अनुकूलको भाषामा लेखिएको छ । यस कवितामा प्रश्न र उत्तरको शैली पाइन्छ । कवि स्वयंले प्रश्न गरी त्यसको उचित समाधान पनि खोजेर हाम्रा अघि राखेका छन् । यस्ता प्रश्न र उत्तर सँगसँगै आएका हुनाले यो प्रश्नोत्तर शैलीमा रचिएको कविता हो । यसमा मानव शरीर र ईश्वरको वर्णन गरिएको छ । त्यसैले यसमा वर्णनात्मक शैली पनि पाइन्छ । ४.५ शीर्षक ‘यात्री’ कवितामा एकशब्दे शीर्षक राखिएको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने कामलाई ‘यात्रा’ भनिन्छ । यसरी ‘यात्रा’ गर्ने व्यक्ति नै ‘यात्री’ हो । यस कविताको ‘यात्री’ मन्दिर जाँदै गरेको हुनाले यसले तीर्थतर्पको यात्रालाई सङ्केत गरेको छ । यो ‘यात्री’लाई ईश्वरको पूजा गर्ने उद्देश्यले मन्दिरतर्फ जाँदै गरेको भन्ने अर्थमा आएको हुनाले यसले ‘तीर्थयात्री’को पर्याय बुझाएको छ । तीर्थयात्रा गर्ने व्यक्तिले पूजाको सामग्री पनि बोकेको हुन्छ । यात्रा गर्दा अपनाइने साधन पनि हुन्छ । यस कविताको ‘यात्री’ बाहिरी संसारमा ईश्वर प्राप्त गर्ने लालसाले मानिसको काँधमा चढी ईश्वरको खोजी गर्दै गरेको देखिन्छ । उसको यो क्रियाकलाप देखेर कविले स्वयं मानिसको शरीर ईश्वरको मन्दिर हो, त्यसभित्र बस्ने आत्मा नै ईश्वरको प्रतीक हो । संसारमा बाहिर ईश्वर देखिँदैनन् । ईश्वर सर्वत्र छन्, उनलाई खोज्न कुन देवपुरीमा हिँडेको हो भनी यात्रीसँग प्रश्न गर्दै तिनको उत्तर पनि आफैँ दिएका छन् । कविले पीडा, दुःखमा रहेकाहरूको सेवाबाट ईश्वरको आफैँभित्र अनुभूति गर्न सकिन्छ भनेका हुनाले ईश्वर पाउन हिँडेको ‘तीर्थयात्री’ भन्ने सन्दर्भमा ‘यात्री’ कविताको शीर्षक सार्थक र उपयुक्त रहेको देखिन्छ । ५. निष्कर्ष ‘यात्री’ कविताले अँगालेको शरीररचनापरक आध्यात्मिक जीवनदर्शन फ्रान्सेली दर्शनसँग मिल्दोजुल्दो भए पनि देवकोटाले पूर्वीय जीवनदर्शनबाट यसको प्रेरणा पाएको देखिन्छ । देवकोटा संस्कृतका पनि ज्ञाता थिए । उनको प्राचीन आर्य संस्कृतिप्रति अगाध आस्था र श्रद्धा थियो । उनी गम्भीर चिन्तन र मनन गर्थे । उनका निबन्धमा पनि सतही रूपमा गरिने चिन्तनलाई बोक्रे चिन्तन भनिएको छ । कुनै पनि कुराको गहिराइमा नगई त्यसको मर्म नुबुझी त्यसलाई अँगाल्ने वा अन्धानुकरण गर्ने मानिसहरू प्रशस्तै हुन्छन् । तिनीहरू ईश्वरको प्राप्तिका लागि गरिने उपाय वा साधनहरू अपनाउँदा पनि सत्य, तथ्य र यथार्थ कुराको खोजी नगरी बोक्रे चिन्तनका पछि लागेका हुन्छन् । तिनै मानिसहरू मध्येको ‘यात्री’ कविताको यात्री मानिसको काँधमा चढेर मन्दिरमा गई पाषाण मूर्तिको पूजा गरेर ईश्वर प्राप्ति गर्ने अभिलाषा राख्दछ जुन कुरा अध्यात्मदर्शन र शरीररचना विज्ञानसँग मेल खाँदैन । अध्यात्मदर्शनसँग सम्बन्धित पूर्वीय मनीषीका चिन्तन, खोज र धरोहरहरू वेद, उपनिषद्, गीता, श्रीमद्भागवत् जस्ता शास्त्रहरूमा ईश्वरको प्राप्ति शरीरमा गएर खोजी गर्नाले हुन्छ भनिएको छ । देवी देवताको वासस्थान पनि यही मानव शरीर नै हो । जिउँदो जाग्दो मानव शरीर नै ईश्वरको असली मन्दिर हो । मानवका वेदना, पीडा र आँसु पुछेर उनीहरूको सेवा गर्नाले सबै मानवप्रति समभाव राख्नाले मानवताको कदर हुन्छ । ईश्वर पनि यस्तै सेवकहरूलाई देखेर प्रसन्न हुन्छन् । ईश्वरको खोजी शरीर बाहिर त्यो पनि मानिसले बनाएका कृत्रिम वस्तुमा खोज्नु निरर्थक काम हो र बोक्रे चिन्तन हो । ईश्वर सर्वव्यापक छन् तर उनलाई चर्मचक्षुले देख्न सकिँदैन, आफैँभित्र अनुभव गर्न सकिन्छ भनिएको छ । त्यसैले ‘यात्री’ अध्यात्मिक कविता हो । यसले ईश्वरलाई आफैँभित्र खोज्न प्रेरित गर्दछ भन्ने निष्कर्ष निकालिएको छ । सन्दर्भ कृतिसूची कालिदास (२०२१). कुमारसम्भव महाकाव्यम्, काशी :पण्डित पुस्तकालय । गोयन्दका, हरिकृष्ण दास (२०६८). ईशादि नौ उपनिषद्, (तिसौं संस्करण), गोरखपुर स् गीता प्रेस । घोडासैनी, खगेन्द्र (२०७४).‘यात्री’ कविताको शरीररचनापरक विश्लेषण’ हैमप्रभा–१६, (पृ.२३–३१) । जोशी, ताराप्रसाद, सम्पा. (२०४५). नेपाली कविता संग्रह भाग–२, काठमाडौं, भोटाहिटी स् रत्न पुस्तक भण्डार । त्रिपाठी, वासुदेव र अन्य, सम्पा. (२०४८). नेपाली कविता भाग–२, ललितपुर स् साझा प्रकाशन । देवकोटा, लक्ष्मीप्रसाद (२०५७). लक्ष्मी निबन्ध सङ्ग्रह, ललितपुर स् साझा प्रकाशन । देवकोटा, लक्ष्मीप्रसाद (२०६०). भिखारी, ललितपुर स् साझा प्रकाशन । भट्टराई, घटराज, सम्पा. (२०५१). प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौं स् एकता बुक्स डिस्ट्रिव्युटर्स, प्रा.लि. । लुइटेल, खगेन्द्रप्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं स् नेपाली राजकीय प्रज्ञा प्रतिष्ठान । शुक्ल यजुर्वेद संहिता, उवट–महिधर भाष्येण च समन्विता (सन् १९८७). वाराणसी स् मोतीलाल बनारसी दास । श्रीमद्भगवत्गीता (२०६८). गोरखपुर स् गीताप्रेस । श्रीमद्भागवत् महापुराण (सन् १९९४). दिल्ली स् चौखम्बा संस्कृत प्रतिष्ठान । सापकोटा, नाराणप्रसाद (२०५२). छन्दोऽलंकारमाला, लेखक स्वयं प्रकाशन । #‘यात्री’ कवितामा आध्यात्मिकता #डा. खगेन्द्र घोडासैनी
दाहाल यज्ञनिधिको स्मृतिमा पाल्पालीसहित तीनजना सम्मानित: साहित्यपोस्ट साहित्यकार एवम् सञ्चारकर्मी दाहाल यज्ञनिधिको दोस्रो स्मृति दिवसको अवसरमा संक्षिप्त कार्यक्रम आयोजन गरी तीनजना प्रतिभालाई सम्मान गरिएको छ । आयोजक संस्थाका संयोजक रमेश शुभेच्छुकानुसार स्मृति सभाबाट गरिने विविध कार्यक्रममध्ये आज पहिलो कार्यक्रम गरिएको हो । मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा साहित्यकार पाल्पालीकै निवासमा आयोजित विशेष कार्यक्रममा तीनैजनालाई प्रा. राजेन्द्र सुवेदीले सम्मान अर्पण गरेका हुन् । कार्यक्रममा दाहाल यज्ञनिधि स्मृति सभाले मृगौला पीडित साहित्यकार एवम् अधिवक्ता बिके पाल्पालीलाई नगद २५ हजारसहित सम्मान गरेको हो । लामो समयदेखि मृर्गौला रोगबाट पीडित पाल्पालीको सिर्जनशीलता र उपचारमा आर्थिक सहयोग होस् भनेर सम्मान प्रदान गरिएको बताइएको छ । त्यसैगरी दाहाल यज्ञनिधि स्मृति सभाले काभ्रेकी सरिता कोइराला र धादिङकी सीता सिम्खडालाई २५ हजार नगदसहितको दाहाल यज्ञनिधि स्मृति सम्मान २०७७ संयुक्तरूपमा अर्पण गरेको छ । सरिता कोइराला ह्विलचियर प्रयोग गर्ने एयरपोर्टमा कम्प्युटर अपरेटरको काम गर्ने कर्मचारी हुन् । उनलाई लेखन र भिन्न क्षमताकी नवप्रतिभाको रूपमा सम्मान प्रदान गरिएको हो । सीता सिंखडालाई अर्पण गरिएको सम्मान पत्रमा लकडाउनको अवधिमा ठेलामा सुताएर मृर्गौला पीडित श्रीमतीको डायलासिस गराउँदै आएका डम्बरबहादुर सिम्खडाको समाचार कान्तिपुर दैनिकमा पढेर उहाँलाई भेटी सहयोग गर्ने उद्देश्यले सीतालाई सहयोगस्वरूप सम्मान गरिएको व्यहोरा उल्लेख गरिएको छ । कार्यक्रममा सीता उपस्थित हुन सकिनन् । उनका नामको सम्मान उनका श्रीमान डम्बर बहादुर सिम्खडाले ग्रहण गरे । प्रमुख अतिथि सुवेदीले तीनैजना आआफ्नै किसिमले जीवन सङ्घर्ष गरिरहेका व्यक्तिलाई सहयोग र सम्मानका लागि चययन गरेकोप्रति समितिको असल कामको प्रशंसासहित खुसी व्यक्त गरे । कार्यक्रममा स्मृति सभाका संयोजक रमेश शुभेच्छुले दाहाल यज्ञनिधिको सोच र आदर्शलाई अनुसरण गर्दै सम्मानका लागि पात्र चयन गरिएको बताए । “हामीले दाहाल यज्ञनिधिलाई गुमाएको दोस्रो वर्ष भइसकेको छ”, स्मृति सभाका संयोजक शुभेच्छुले दाहालका विषयमा पनि प्रकाश पार्दै भने, “हामीले उहाँकै सोच र आदर्शलाई आधार बनाएर सम्मानित व्यक्तित्व चयन गरेका हौँ । हामीले गर्ने बाँकी काम पनि उहाँको आदर्शलाई दायाँबायाँ हुन नदिने गरी गर्ने छौँ ।” कार्यक्रममा डा. विष्णु राईले सहभागी र पुरस्कार ग्रहण गर्ने प्रतिभाहरूलाई समितिका तर्फबाट धन्यवाद ज्ञापन गरे । साहित्यकार एवम् पत्रकार ठाकुर बेल्बासेले संस्थाको परिचय दिँदै थप कार्यक्रमका बारे जानकारी थिए । उनकाअनुसार संस्थाले सीमान्तकृत एवम् समस्यामा परेका प्रतिभाहरूको सहयोगलाई लक्ष्य बनाएको बताए । कार्यक्रममा कवयित्री गीता सापकोटाले दाहालकै कविता वाचन गरेर दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिन् । कार्यक्रममा साहित्यकार डम्बर घिमिरे,सञ्चारकर्मी कृष्ण कँडेल, सञ्चार कर्मी लुइटेल दिनेशलगायत पाल्पालीका परिवारका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति थियो । स्मृति सभाका संरक्षक सुधा दाहाल र सदस्य निलम कार्की निहारिका काठमाडौँ बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको समतिका सदस्य लुइटेल दिनेशले जानकारी दिए । #दाहाल यज्ञनिधि
अराजक बाहुनवाद: माफ गर्नुहोला, यो लेखको आसय बाहुन जातलाई नकारात्मक तवरले टिप्पणी गर्नु होइन । बाहुनवाद कुनै जात विशेषसँग सम्बन्धित छैन । यो विशुद्ध कुविचर हो, कुसंस्कार हो । कुरीति र कुचिन्तन हो । बाहुनवाद शब्द सुन्नेबित्तिकै निश्चित समुदाय तर्सिनुपर्ने आवश्यकता छैन । बाहुनवाद शब्दबाट तर्सनु, उग्र हुनुको सट्टा सामाजिक धरातल तथा एकल नश्लवादी चिन्तन बुझ्न आवश्यक छ । सामान्य बुझाइमा जुनसुकै व्यक्ति, चाहे त्यो दमाई, कामी, सार्की, वादी, बाहुन, क्षेत्री, सन्यासी, राई, लिम्बू, तामाङ, ठकुरी होस् या अन्य कुनै आदिवासी, जसको विचार मैँ ठूलो, मैँ राम्रो, मेरो जात, समुदायले गरेको सामाजिक-धार्मिक कार्य पवित्र भन्ने अहम्कारी सोच राख्छ भने त्यो मानिस बाहुनवादी हो । उसको सोच, विचार र आचरण बाहुनवादभित्र पर्दछ । बाहुनवादको जात, धर्म र लिङ्ग हुँदैन । बाहुनवादी दमाई पनि हुनसक्छ, नेवार पनि । मुलतः बाहुनवाद कुसंस्कारी मानसिकताको उपज हो । बाहुनवादी जातव्यवस्थाको निरन्तरता हो । कुसंस्कारी अमानवीय जातिवादी प्रवृत्ति हो । उच्च जातिय अहंकारी रवैया हो । हिन्दू धर्मभित्रको वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले उसका अनुयायीलाई जातको आधारमा निश्चित घेरा कोरिदिएको छ । जातको आधारमा मानिसले गर्न मिल्ने र नमिल्ने, छुन मिल्ने र नमिल्ने , नाता गाँस्न मिल्ने र नमिल्नेजस्ता विभेदकारी धार्मिक दायरा कोरिदिएको छ । जातको आधारमा पेशा तोकिएको छ । भोजन र मान-सम्मान तोकिएको छ । जात-गोत्रको आधारमा एउटा निश्चित जातभित्र नातागोता मिल्ने, रोटीबेटीको सम्बन्ध चल्ने निश्चित सांस्कृतिक प्रावधान बनाइदिने बाहुनवाद नै हो । जातको आधारमा तिमी, तपाईँ, हजुर, तँ जस्ता शब्दको चयन हुने परिपाटी हाम्रै समाजमा देखिन्छ । मानिसको थर थाहा पाएपछि ‘तपाईँ’बाट ‘तिमी’ सम्बोधन गर्ने मानिस नेपाली समाजमा प्रशस्त भेटिन्छन् । मिमबहादुर परियार जातिय आधारमा सम्बोधन गर्ने पुरातनवादी सोच बाहुनवाद हो । बाहुनवाद यतिसम्म क्रुर छ कि यदि कुनै व्यक्ति कथित धर्म र जातिय नीति विरुद्ध गए त्यसको नतिजा नराम्रो हुने । उक्त व्यक्ति र उसको परिवारले सामाजिक बहिस्करणको सामना गर्नुपरेको तथ्य हाम्रौ समाजमा घटेका गतिविधिबाट पुष्टि भएको छ । यिनै बाहुनवादी रवैया सामाजिक, सांस्कृतिक थुनछेक प्रवृत्ति हो भन्ने स्पष्ट हुन्छ । हिन्दू धर्मका चार वर्णमध्ये ब्राह्मण वर्णलाई हिन्दूवादी संस्कारले सधैँभरि समाजको माथिल्लो तहमा राख्ने काम गरेको छ । उक्त समुदायलाई जातको हिसाबले सामाजिक, धार्मिक र सांस्कृतिक तवरमा शुद्ध बनाएको छ । उसको कार्यलाई पवित्र मानेको छ । धार्मिक पूजाआजा, यज्ञहवनमा सधैँ उसको हालीमुहाली हुने नीति बनाइदिएको छ । ब्राह्मणबाहेक अन्य कसैले पुरोहित कार्य गर्न नमिल्ने धार्मिक शास्त्रमा लेखिदिएको छ । राजादेखि रैतीसम्म ब्राह्मण जातको अगाडि झुक्नु पर्ने नियम बनाइएको छ । उसलाई समाजको सर्वश्रेष्ठ वर्ण मानेर धार्मिक ग्रन्थमा चित्रण गरिएको छ । जसकारण ऊ पूज्नीय भयो, उसका अगाडि सबै झुक्नुपर्ने वातावरण सृजना गरियो । अर्कोतिर वर्णको आधारमा, जातको आधारमा शुद्र अर्थात् आजको दलित समुदाय सामाजिक पीडाको दलनमा बस्न बाध्यात्मक अवस्था सृजना गरियो । दलित र उसका गतिविधिलाई नकारात्मक मानचित्रसँग तुलना गरियो । शारीरिक रूपमा राम्रो भए, ‘कस्तो बाहुनीजस्ती’ भन्ने, यदि कथित समाजले नराम्ररी देखे, ‘कस्तो दमाई-कामीजस्तो’ भनी विभेदकारी उपमा दिने परिपाटी बसालियो । दलितलाई अशुद्ध भनियो । उसलाई किनारमा राखियो । ऊसँग कुनै पनि सांस्कृतिक/सामाजिक सम्बन्ध जोड्न प्रतिबन्ध लगाइयो । जातको आधारमा सामाजिक दूरी कायम राख्नुपर्ने कथित हिन्दूवादी अभ्यासलाई समाजको मुलधारमा राखियो । यी यावत् नश्लवादी समाजिक चित्र नै बाहुनवादी चरित्र हो । दैलेखका सेते दमाईका छोराले ठकुरी थरकी युवतीसँग प्रेमविवाह गर्दा केटी पक्षको कुटपिटबाट सेते दमाईको हत्या भएको थियो । हिन्दू धर्मावलम्बीले सधैँ जातलाई केन्द्रमा राखेर सामाजिक/धार्मिक खाका तयार गर्यो । इतिहास साक्षी छ, दलित समुदायका प्रतिनिधिले बाहुनवादी मान्यता विपरीत विद्रोह गरे हत्यासम्म गर्ने कानुन पारित भएको थियो । जयस्थिति मल्लको मानवन्याय शास्त्र, राम शाहको कथित सुधारवादी नीति भनौँ या जङ्गबहादुर राणाले पारित गरेको विस.१९१० को मुलुकी ऐन; यी तमाम नश्लवादी कानुन दलितका विरुद्ध थिए भने कथित उपल्लो जात भनिएकाको हितमा थिए । सर्सर्ती तत्कालीन नश्लवादी कानुन बाहुनवादी रहेको तथ्य यसका नीति-नियमबाट थाहा हुन्छ । तत्कालीन एकल जातिय कानुनको प्रभाव आजसम्म पनि समाजको गतिविधिमा देखिन्छ । आफ्ना छोराछोरीको विवाहको लागि भाँडामा लमी खटाएर चिनो-कुडिलो मिलाएर लगन जुराउने समाज हाम्रै हो । वि.स. २०७७ जेठ १२ नवराज विक नाम गरेका युवाले कथित उपल्लो थरकी शुष्मा मल्लसँग प्रेमविवाह गर्न खोज्दा नवराजसहित अन्य पाँच युवाको सामुहिक हत्या भयो । दैलेखका सेते दमाईका छोराले ठकुरी थरकी युवतीसँग प्रेमविवाह गर्दा केटी पक्षको कुटपिटबाट सेते दमाईको हत्या भएको थियो । यी तमाम घटनाको प्रमुख कारण कथित दलितले कथित गैरदलितसँग सम्बन्ध गाँस्ने भयो, हाम्रो जातमाथि कथित दलितले धावा बोल्यो भनेर सारा गाउँ मिलेर हत्या गरियोको हो । फलतः दलित समुदायको सामाजिक, धार्मिक, सांस्कृतिक स्वतन्त्रता हनन् भयो । उसलाई समाजको हरेक कार्यमा बहिष्कारको नीतिद्वारा टाढा राखियो । जातलाई प्रमुख आधार देखाएर धार्मिक समाजिक र सांस्कृतिक दूरी कायम गर्नुपर्ने धार्मिक कानुन बनाइयो । नवराज विक, सिते दमाई, अजित मिजारको मृत्युको प्रमुख कारकतत्व बाहुनवाद हो । बाहुनवादी कथित नीति-नियमले कलिला युवाको हत्या गर्न अग्रसर बनायो । हिन्दूवादी जात व्यवस्थाले एउटा निश्चित समुदायलाई, विशेषगरी तागाधारी समुदाय र उसको हेजेमनी पछ्याउँदै गरेको आदिवासी जनजाति समुदायमा बाहुनवादी अहंकारवादी संक्रिण सोच प्रदान गर्यो । जनजाति समुदाय जसको समाजिक रीतितिथि, भाषा, संस्कार छुट्टै छ, उसले ब्राह्मण संस्कृतिलाई पछ्याउने काम गर्यो । आफ्नो झर्रा रीतिरिवाजलाई किनारमा लगाउँदै, बिर्सदै, ब्राह्मण समुदायका कर्मकाण्डको अभ्यास आफ्नो जीवनपद्धतिमा लागू गर्यो । सोही कारणले जनजाति समुदायमा पनि बाहुनवादी उच्चजातिय अहंकारी प्रवृत्ति देखियो । हामीमा पनि दलित समुदायलाई दमन गर्नुपर्छ भन्ने दानवीय मानसिकताको विकास भयो । यिनै नश्लवादी तथा जातिवादी निच चिन्तनको कारण कयौँ अन्तरजातिय विवाह गरेका क्रान्तिकारी मनहरूको हत्या भयो । जातविरोधी शक्तिलाई थुनछेकको सामाजिक र सांस्कृतिक षड्यन्त्र स्थापना भयो । अझ दलित र गैरदलित विद्रोही शक्तिलाई तहसनहस पार्ने षड्यन्त्रको रूपमा बाहुनवादलाई समाजको अग्रस्थानमा राख्न जातवादी-बाहुनवादी भाइरसह? मूलमन्त्र बनाएर लागिपरेको देखिन्छ । रोटी र बेटीको सम्बन्ध अस्वीकार गर्नेजस्ता बाहुनवादी क्रियाकलाप दलित समुदायभित्र पनि देखिन्छ । जुन निन्दनीय छ । अर्कोतिर दलित समुदायभित्र पनि बाहुनवादको जीवाणु सलबलाएको देखिन्छ । सदियौँदेखि जातिय आधारमा दमन सहेको समुदायमा पनि बाहुनवादी प्रवृत्ति देखिन्छ । कामी समुदायले दमाई समुदायलाई विभेद गर्ने । रोटी र बेटीको सम्बन्ध अस्वीकार गर्नेजस्ता बाहुनवादी क्रियाकलाप दलित समुदायभित्र पनि देखिन्छ । जुन निन्दनीय छ । यस्ता विभेदकारी प्रवृत्तिको घोरभत्सना हुनुपर्छ । बाहुनवादका दासहरू विभेदकारी कुचिन्तनलाई सफल पार्न समाजका कुना कुनामा जातिवादको भाइरस फैलाउन सफल भएका छन् । सामाजिक भाइचारा ध्वस्त पार्न सफल भएका छन् । दलित मार्न अग्रसर देखिएका छन् । दलितको मृत्यु सस्तो बनाउन सफलता हात पारेका छन् । यस्ता विभेदकारी, विखण्डनकारी मानसिकतालाई जीवित राख्न बाहुनवादले अहम् भूमिका खेलेको छ । समाजलाई जातियताका आधारमा बाँड्न र भाँड्न सफल भएको छ । विभेदकारी र उच्च जातिय अहंकारी वादहरू जबसम्म जीवित हुन्छन् तबसम्म समाज चिराचिरामा विभाजित हुनेछ । बाहुनवादको रजगज कायम हुनेछ । मानिस मानिसबीच अमानवीय खाडलको सृजना हुनेछ । समानता, समाजिक स्वतन्त्रता र भाइचाराको हत्या हुनेछ । नश्लवादी प्रवृत्तिको सीमा हुँदैन, सिद्धान्त हुँदैन । विशुद्ध कुसंस्कारबाट प्रचालित हुन्छ । बाहुनवादी प्रवृत्तिजस्तै पश्चिमा मुलुकमा विभेदकारी नीति थियो , अझैसम्म बेलाबखत रङभेदका घटना घटेको देखिन्छ । अर्कोतिर काला समुदायलाई हिन नजरले हेरिन्थ्यो । उसको सम्पत्ति तथा सामाजिक स्वतन्त्रता खोसिएको थियो । बेलायती विस्तारवादी तथा साम्राज्यवादी नीति अनुसार पश्चिमा गोराहरूमा नश्लवादी चिन्तन हावी थियो । एक रङ, वर्णले विश्वमा राज गर्नुपर्छ भन्ने एकल नश्लवादी मानसिकता गोरा समुदायमा देखिएको थियो । उक्त नश्लवादी चिन्तनलाई टेवा पुर्याउने “ह्वाइटस् म्यान बर्डन” शब्दावली अङ्ग्रेजी कवि रुडयाड किपलिङले सन् १८८९ तिर प्रतिपादन गरेको थिए । जसको मुख्य आशय भनेको सेतो अर्थात् गोरो छाला भएका मानिस सभ्य, राम्रा, विवेकशील, ज्ञानी तथा अन्य राम्रा मानकको रूपमा हेरिन्थ्यो । सबै राम्रो ज्ञानले भरिपूर्ण गोरा हुन् भन्ने नश्लवादी भाव उक्त कुचिन्तनमा थियो । जब कि काला छाला भएका अफ्रिकी मुलवासीलाई नकारात्मक मानकसँग तुलना गरिन्थ्यो । काला समुदायका मानिसलाई नराम्रा, अज्ञानी, हिंस्रक इत्यादिको चस्माबाट हेरिन्थ्यो । गोरा वर्णलाई उच्चश्रेणीको मानिस ठानिएको थियो । उसका हरेक क्रियाकलापलाई संस्कार र सभ्यताको रूपमा मानिन्थ्यो । उसलाई ज्ञान-विज्ञानको भण्डारको रूपमा चित्रण गरिन्थ्यो । अर्कोतिर काला समुदायलाई हिन नजरले हेरिन्थ्यो । उसको सम्पत्ति तथा सामाजिक स्वतन्त्रता खोसिएको थियो । रैथाने समुदायलाई आफ्नो मातृभूमिमा शरणार्थीको दर्जा गोराले दिएका थिए । काला समुदायमाथि गोरो छाला भएकै कारणले युरोपियनले अमानवीय गतिविधि लादेका थिए । पश्चिमाको ह्वाइट म्यान वर्डन र हिन्दूको बाहुनवादको रूप र सार एउटै हो । समाजको सिमान्तकृत समुदायलाई दलदलमा राख्ने नश्लवादी प्रपञ्च हो । आफ्नो भेषभूषा, रूपरङ, चालचलनलाई राम्रो देखाउने नश्लवादी षड्यन्त्र हो । जसरी काला जातिका मानिसलाई गोरा समुदायले आफ्नै ठाउँमा बिरानो बनाए । आफ्नै मातृभूमिमा सुकुम्बासी बनाए । कथित संस्कार र सभ्यताको नाममा काला जातिको अफ्रिकन मौलिक संस्कृतिमाथि गोरा जातिले क्रिस्चियन मिसिनेरी प्रवेश गराएर तहसनहस पारिदिए । राजनीतिक, संस्कृतिक र आर्थिक रूपले दासत्वमा बस्न बाध्यात्मक परिस्थिति निर्माण गरिदिए । त्यस्तै हिन्दू धर्ममा पनि बाहुनवादको छत्रछायामा दलितमाथि राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक तवरबाट बहिस्कार गरियो । दलितका हरेक कामकाजलाई हिन नजरले हेरियो । फलतः दलित समुदायलाई अछुतको पगरी थमाएर समाजिक स्वतन्त्रता हनन् गरियो । दलितमाथि धर्म-संस्कारको नाममा सामाजिक र मानसिक यातना दिइयो । आजको मितिमा पनि कथित सभ्य समाजले दलितको मनमस्तिष्कमा चोट दिएको छ । समाजको कुना कुनामा बाहुनवादले सृजना गरेका अनगिन्ती सामाजिक अपहेलना दलितले सामाना गर्नुपरेको छ । बाहुनवादी जवाफ उदेकलाग्दो छ । विभेदको अन्त्य भइसकेको छ, हामी सबै बराबर जस्ता ढोँगी उत्तर दिएर बाहुनवादलाई प्रशय दिएको देखिन्छ । यी तमाम पिडाको उत्तर कसले दिने ? निश्चितरूपमा बाहुनवादी समाजले दिनुपर्ने हो, यसका दासहरूले जिम्मेवारी लिनुपर्ने हो । समाजमा कालो संस्कृति फैलाएर समाजिक भाइचारा भाँड्ने जिम्मेवारी बाहुनवाद र उसका दासहरूले लिनुपर्ने हो । तर विडम्बना, बाहुनवादी जवाफ उदेकलाग्दो छ । विभेदको अन्त्य भइसकेको छ, हामी सबै बराबर जस्ता ढोँगी उत्तर दिएर बाहुनवादलाई प्रशय दिएको देखिन्छ । भाषणमा सबैले जात छैन भनेको सुनिन्छ । तर जब घरमा बिहेवारी सम्बन्धको कुरा चल्छ तब जात, गोत्रको कुरा तिनै कथित सुधारवादीको क्रियाकलापमा बाहुनवाद अर्थात् जातभातको चर्चा चलाएको देखिन्छ । कानुनका धारमा समानताको नीति, नियम र ऐन छन् तर दैनिक जीवनमा उही जातीय घिनलाग्दो चित्र देखिन्छ । मानिस जातको नाममा हत्या गर्न अग्रसर हुन्छ । जातलाई सामाजिक प्रतिष्ठा ठानेर दलितको हत्या भएका धेरै घटना छन् । कयौँ दलित गाउँबाट निकालिएका छन् । कयौँको सम्पत्ति जफत गरिएको छ । यी तमाम घटनाको एकमात्र कारण भनेको बाहुनवाद हो । जबसम्म बाहुनवादलाई तहसनहस गरिँदैन तबसम्म समाजमा विभेद कायम रहन्छ । भाषण, गफ दिन सहज र सरल हुन्छ तर कार्यन्यवन गर्न मानिसलाई गाह्रो हुन्छ । वर्तमान परिपेक्ष्यमा नेपाली समाजले समाजिक जटिलता भनेको ढोँगीपन हो । बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो । राज्यको दुर्गति हुने । नेपाली समाजलाई प्रगतितिर लग्ने कि दुर्गतितिर ? बाहुनवादलाई जीवनपद्धति राख्नु नै नेपाली समाजको ठूलो भुल रहेको छ । विशेषगरी तागाधारी समुदायले बाहुनवादलाई आफ्नो सामाजिक र सांस्कृतिक मन्त्रको रूपमा अभ्यास गरेको देखिन्छ । जब कि जनसंख्या तथा राजनीतिक पहुँचमा तागाधारी समुदायको बाहुल्यता छ । निर्णायक तहमा उसको उपस्थित बाक्लो छ । शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक उपस्थिति तागाधारीको बलियो छ । नेपाली समाजमा जातिय सवालमा तागाधारी समुदाय नसच्चिए बाहुनवाद जीवित रहन्छ । बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो । राज्यको दुर्गति हुने । नेपाली समाजलाई प्रगतितिर लग्ने कि दुर्गतितिर ? राष्ट्रलाई प्रगतिपथमा लैजानुको पहिलो पाइला बाहुनवादको अन्त्य गर्नुपर्छ । समाजको सबै वर्ग, तहतप्काबाट नश्लवादी, विभेदकारी नीति अङ्गालेको बाहुनवादलाई सदाको लागि तहसनहस पार्नुपर्छ । अनि मात्र समतामूलक समाजको निर्माण हुन्छ । भाइचारा तथा एकतामार्फत् अग्रगामी पथतिर लम्कन सकिन्छ । जब समाजमा जात रहँदैन तब मानिसलाई जता जान पनि सरल र सहज हुन्छ । अबको नेपालले सहजता खोज्ने हो । जटिलता त्याग्ने हो । #बाहुनवाद #मिमबहादुर परियार
हाम्रो किबोर्डभित्रको भाषिक अराजकता: उठान: सूचना र प्रविधिको द्रुततर विकाससँगै नेपाली भाषालाई पनि सूचना र प्रविधिसँग संयोजन र अद्यावधिक गर्दै जानु अति आवश्यक छ । त्यसै सन्दर्भमा स्मार्ट फोनका लागि भनेर तयार गरिएको हाम्रो किबोर्ड मोबाइल एप्सले पनि नेपाली भाषाका धेरैजसो प्रयोक्ताहरूलाई नेपाली भाषामा नै आफ्ना विचारहरू आदानप्रदान गर्न सजिलो र सहज बनाएको छ । यसमा एकदुईओटा अक्षर टाइप गर्नेबित्तिकै सम्बद्ध शब्द देखाउने र पूरै शब्द टाइप गरिरहनुपर्ने झन्झटबाट पनि प्रयोक्ताहरू मुक्त छन् तर यसमा भण्डारण गरिएका अधिकांश शब्दहरू दोहोरो वर्णविन्यास र त्रुटिपूर्ण रहेकाले नेपाली भाषाको शुद्ध लेखनमा यसले नकारात्मक प्रभाव पार्दै गएको छ र यसतर्फ प्रयोक्ताहरू अत्यन्त सचेत हुनु आवश्यक छ । भाषाप्रेमीहरूको गम्भीर चिन्ताः भाषिक शुद्धीकरण अभियानअन्तर्गत मैले गत हप्ता फेसबुकमा ‘म किन बधाइ लेख्न रुचाउँछु ?’ भन्ने शीर्षकमा दीर्घ ‘बधाई’ होइन ह्रस्व ‘बधाइ’ लेख्नुपर्छ भन्ने तार्किक विचार प्रस्तुत गरेको थिएँ । त्यसै सन्दर्भमा भाषाप्रेमी विद्वान् लक्ष्मीशरण अधिकारीले “मोबाइल टाइपमा त बिद्या, बिद्यार्थी, बिद्यालय, बिज्ञान, बिपरित, बिज्ञापन देखाउँछ, के यी शब्दहरूलाई शुद्ध मान्न सकिन्छ त ?” भनेर प्रश्न गर्नुभयो । निश्चय नै मैले पनि मोबाइलमा यस किसिमका त्रुटिहरू बारम्बार देखिरहेको थिएँ तर उहाँले उल्लेख गरेजस्ता गम्भीर त्रुटितर्फ मेरो ध्यान जान सकेको थिएन । त्यसैले मोबाइलमा यसरी सेटिङ गरेर कुन कम्पनीले हाम्रो किबोर्ड एप्स निकालेको होला भनेर अशुद्ध शब्दलाई निराकरण गर्ने दिशातर्फ मेरो ध्यान आकृष्ट भयो । सोही फेसबुक विचारका सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले “ती शब्द त संस्कृत तत्सम हुन्, विद्वान्, विद्यालय नै भन्नु, लेख्नुपर्छ, लेख्न त पढेलेखेकाले पनि बिद्धालय लेख्छन्, त्यो शुद्ध हुन्छ र ?” भन्ने प्रश्न गर्दै उहाँले “मेरै नाम कतिले विधानाथ वा विध्यानाथ लेखेको देख्दा दिक्क लाग्छ” उल्लेख गर्नुभएको थियो भने भाषाचिन्तक एवं कवि रमेश खकुरेलले “विद्ध आलय” उल्लेख गर्दै आश्चर्य प्रकट गर्नुभएको थियो । निश्चय नै पढेलेखेका व्यक्तिहरूले नै ‘विद्या’ शब्दलाई शुद्ध लेख्न नसकी विधा, विध्या र बिद्धा लेख्ने गरेका छन् भने ‘विद्यालय’ शब्दलाई सन्धिविच्छेद गर्दा कुनै विद्यार्थीले ‘बिद्ध+आलय’ गर्यो भने कुनै आश्चर्य हुँदैन । विद्वान्हरूको भाषाप्रतिको यो चिन्ता त एउटा प्रतिनिधिमूलक चिन्ता हो र यस्तो चिन्ता गरिरहने चिन्तकहरू नेपालमा यत्रतत्र सर्वत्र छन् तर तिनको चिन्तालाई निराकरण गर्ने प्रयास हुनुको सट्टा यस्ता चिन्ताहरूलाई मलजल गरिरहने बाध्यता परिस्थिति बढ्दै गएको छ । श्रद्धाञ्जली लेख्ने कि श्रद्धाञ्जलि ? हाम्रो किबोर्डमा ‘श्रद्धा’ शब्द लेख्ने बित्तिकै ‘श्रद्धाञ्जली’ र ‘श्रद्धाञ्जलि’ दुवै शब्द देखापर्छन् । यी दुवै शब्द शुद्ध रहेछन् भनेर धेरैजसो प्रयोक्ताहरूले सुरुको शब्द थिच्ने गर्छन् भने केही प्रयोक्ताले ‘श्रद्धाञ्जलि’ पनि थिच्ने गर्छन् । कसैको मृत्यु हुँदा फेसबुकमा राखिएका समाचारमा मृतकप्रति यी दुवै शब्दको प्रयोग गरिएको पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशले २०४० को पहिलो संस्करणदेखि हालसम्म ‘श्रद्धाञ्जली’ शब्दलाई मात्र प्रविष्टि दिइएको छ तर ‘श्रद्धाञ्जलि’ शब्दलाई हालसम्म प्रविष्टि नै दिएको छैन, जसका कारण ‘श्रद्धाञ्जलि’ शब्द त अशुद्ध रहेछ, प्राज्ञिक शब्दकोशमा भेटिएको ‘श्रद्धाञ्जली’ शब्द मात्र शुद्ध हो भन्ने भ्रम प्रयोक्ताहरूमा पर्न गएको छ । संस्कृतमा ह्रस्व अन्तमा रहेको ‘अञ्जलि’ शब्द मात्र शुद्ध मानिन्छ । ‘श्रद्धाञ्जलि’ तत्सम शब्द भएका कारण यसलाई अन्तमा दीर्घ लेख्नुलाई अशुद्ध ठान्नुपर्छ । अनुपयुक्त ‘श्रद्धाञ्जली’ शब्दलाई मानक ठहर्याउने नेपाली बृहत् शब्दकोशको दुष्प्रयास हाम्रो किबोर्डको भन्दा पनि बढ्ता असह्य छ । पुर्व लेख्ने कि पूर्व ? हाम्रो किबोर्डमा ‘पुर्व’ र ‘पूर्व’ दुवै शब्द शुद्ध ठानेर राखिएका छन् । नेपाली भाषामा शुद्ध र अशुद्ध शब्दको सामान्य ज्ञान नभएका प्रयोक्ताले सिफ्ट नथिचीकन ‘पुर्व’ शब्द लेख्न पाएपछि सिफ्ट थिचेर ‘पूर्व’ लेख्ने प्रयास नै गर्दैनन् । ‘पुर्व’ शब्द नै शुद्ध ठहरिएपछि किबोर्डमा उपलब्ध हुने पुर्वक, पुर्वाग्रह, पुर्वाधार आदि शब्दलाई अशुद्ध ठहर्याउने चासो पाठकले राख्तैनन् । हाम्रो किबोर्ड केवल किबोर्ड मात्रै नभएर सहयोगी शब्दकोश पनि भएका कारण यसले पुर्व/पूर्व, पुर्वाधार/पूर्वाधार आदि दोहोरो प्रविष्टिलाई निरुत्साहित गरी पूर्व, पूर्वक, पूर्वाग्रह, पूर्वाधार आदि शुद्ध शब्दलाई मात्र प्रविष्टि दिने प्रयासमा सम्बद्ध उत्पादक कम्पनीको ध्यान आकृष्ट हुनुपर्छ । इ लेख्ने कि ई ? हाम्रो किबोर्डमा एउटै शब्दमा ह्रस्व र दीर्घ दुवै ‘इ’ वर्णको प्रयोग गरिएका शब्दहरू पनि पाइन्छन्, जसका कारण प्रयोक्ताहरूमा अन्योल देखिन्छ । ‘मिठाइ’ शब्दसँग ‘मिठाई’ मात्र होइन ‘मिठाइँ’ शब्द पनि रहेको छ । ‘मिठाई’ त कसैले दीर्घ पनि लेख्न सक्ने सम्भावना रहला तर अनर्थक ‘मिठाइँ’ शब्द कसरी त्यहाँ समावेश भयो ? भन्ने कुरा आश्चर्यलाग्दो छ । नेपालीमा ‘आइ’ प्रत्यय ह्रस्व हुने भएकाले ‘मिठाइ’ शब्द शुद्ध हो र ‘मिठाई’ तथा ‘मिठाइँ’ शब्द अशुद्ध हुन् भनेर सोच्ने क्षमता सर्वसाधारण प्रयोक्तामा कम हुने भएकाले यी तीनओटै शब्द प्रयोगमा आउन सक्छन्, जसका कारण भाषामा शुद्धता कायम गर्दै जान गाह्रो हुनेछ । हाम्रो किबोर्डले त ‘मिठाइ’ शब्द विकल्पमा देखायो तर हाम्रो प्राज्ञिक शब्दकोश (२०४०—२०६७) ले ‘मीठो+आइ’ का आधारमा ‘मिठाई’ शब्दलाई शुद्ध ठानेको छ । ह्रस्व इकार अन्तमा हुने ‘आइ’प्रत्यय लागेर किन दीर्घ ईकारान्त ‘मिठाई’ त्रुटिपूर्ण शब्दको प्रविष्टिले २०४० सालदेखि हालसम्म निराकरण पाउन सकेन ? भन्ने कुरामा कसैको ध्यान जान सकेको छैन । हाम्रो किबोर्डले ‘मिठो’ र ‘मीठो’ दुवै शब्दलाई शुद्ध ठानेको छ तर प्रज्ञाका पुराना शब्दकोश (२०४०–२०५८) ले ‘मीठो’लाई र नयाँ शब्दकोश (२०६७–२०७५) ले ‘मिठो’लाई शुद्ध ठानेका छन् । वास्तवमा ‘मिष्ट– मिट्ठ– मीठो’ यसरी शब्दको विकास भएको हो र प्राकृतबाट नेपालीमा आउँदा क्षतिपूर्ति दीर्घीभवनको भाषाविज्ञानी मान्यताले दीर्घ भएर ‘मीठो’ बन्न पुगेको हो । ‘स्वीकार्नु’ र ‘स्विकार्नु’ जस्ता शब्दलाई पनि हाम्रो किबोर्डले शुद्ध ठानेको छ । नेपाली भाषाका नयाँ निर्देशकहरूले ‘स्विकार्नु’लाई शुद्ध ठान्छन् तर विद्यार्थीले सँगसँगै आएका ‘स्वीकार’ र ‘स्विकार्नु’मध्ये एउटामा दीर्घ र अर्कामा किन ह्रस्व लेखिएको हो ? भनेर प्रश्न गरेका खण्डमा त्यसको चित्तबुझ्दो जवाफ हाम्रो भाषाका नयाँ निर्देशक र प्रायः सबैजसो शिक्षकमा छैन । वास्तवमा यस्ता तत्सम प्रकृतिका शब्दलाई प्रकृतिको सुरक्षा गरेर लेख्ने बानीको विकास गर्न सकियो भने विद्यार्थीले ‘स्विकार्छ’ शब्दका सादृश्यमा ‘स्विकार’ लेख्ने किसिमका गल्तीहरू गर्ने थिएनन् । उ लेख्ने कि ऊ ? हाम्रो किबोर्डमा एउटै शब्दमा ह्रस्व उकार र दीर्घ ऊकार दुवैको प्रयोग भएका शब्दहरूको सङ्ख्या पनि अत्यधिक छ । ‘सासू’ मात्र हुनुपर्नेमा ‘सासु’ पनि छ । ‘पूर्ण’ मात्र शुद्ध हो भन्ने ख्याल नगरिएका कारण ‘पुर्ण’ पनि समावेश गरिएको छ । ‘सुखी’ शब्द शुद्ध हो भन्ने थाहा नपाउनेलाई ‘सूखी’ शब्दले पनि झुक्याउने अवसर हाम्रो किबोर्डले नै दिएको छ । ‘फुर्तिलो’ मात्र नभएर ‘फूर्तिलो’ पनि शुद्ध ठानिएको छ । ‘लुट’ मात्र शुद्ध ठानिनुपर्नेमा ‘लूट’ शब्दले पनि सर्वसाधारण प्रयोक्ताका आँखामा लुटपाट मच्चाएको छ । यस किसिमको दोहोरो प्रयोगलाई निराकरण गर्ने दिशामा सम्बद्ध कम्पनी र प्रयोक्ताहरू स्वयंको पनि विशेष ध्यान जानु आवश्यक छ । ब लेख्ने कि व ? हाम्रो किबोर्डमा सबैभन्दा बढ्ता असावधानी ‘व’ लेख्नुपर्ने शब्दमा ‘ब’ देखिएको छ । विद्या, विद्युत्, विद्युतीय, विद्रोह, विश्व, विश्वास, विशेष, विशाल, विशिष्ट, विकास, विस्तार, वृद्ध, अवस्था, विपरीत, विज्ञानजस्ता शब्द शुद्ध हुन् भन्ने ख्याल गर्न सकेको भए हाम्रो किबोर्डद्वारा बिद्यार्थी, बिद्यालय, बिद्धुत्, बिद्धुतिय, बिश्व, बिश्वबिद्धालय, बिश्वास, बृद्ध, अबश्था, विशेश, बिशेष, बिशाल, बिज्ञापन आदि शब्दहरूमा ‘ब’कारको प्रयोग नै हुने थिएन । ‘वीकाश’ शब्द (अष्टाध्यायी ६।३।१२३) शुद्ध हो भन्ने कुरा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञिक शब्दकोशले बुझ्न सकेको भए ‘विकाश’लाई ‘बिकाश’ गर्न हाम्रो किबोर्ड पनि अग्रसर हुने थिएन होला । श लेख्ने कि ष-स ? हाम्रो किबोर्डमा तीनओटै श, ष, सका सम्बन्धमा पनि अन्योल देखिन्छ । पुराना शब्दकोश (२०४०–२०५५)मा ‘शहर’ र ‘शहरीकरण’ लेख्न निर्देशन दिइएको भए पनि नयाँ शब्दकोश (२०५८–२०७५) मा भने ‘सहर’ र ‘सहरीकरण’ लेख्न निर्देशन दिइएको छ । यसका बारेमा नेपालीमा विवाद कायमै रहेका कारण हाम्रो किबोर्डमा यस्ता दोहोरै शब्द समावेश हुनु अस्वाभाविक होइन । वास्तवमा आगन्तुक शब्दमा एउटै ‘स’को प्रयोग गर्ने विषयमा सहमति जनाउन उपयुक्त भएकाले हाम्रो किबोर्डले पनि यस्ता आगन्तुक शब्दमा एउटै सकारको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसका विषयमा भारतीय प्रवासी नेपाली प्रयोक्ताहरूको विमति रहनु अस्वाभाविक देखिँदैन । हाम्रो किबोर्डले ‘विशेष’ शब्दलाई ‘विषेश’ र ‘बिशेश’ शब्दको प्रयोग गरेका कारण धेरैजसो पत्रकार र फ्ल्यास ब्यानर बनाउनेहरूले ‘विषेश’ शब्दलाई शुद्ध ठानेर प्रयोग गर्ने गरेको भेटिन्छ । तसर्थ यस किसिमका अशुद्धिहरू निराकरण गर्न हाम्रो किबोर्ड उत्पादक कम्पनीको ध्यान जानु आवश्यक छ । हलन्त लेख्ने कि अजन्त ? हाम्रो किबोर्डमा अजन्त मात्र लेख्नुपर्ने शब्दलाई हलन्तका रूपमा समेत तथा हलन्त मात्र लेख्नुपर्ने शब्दलाई अजन्तमा समेत उल्लेख गरिएको पाइन्छ । सदैव अजन्त हुनुपर्ने ‘दुःखद’ र ‘वरिष्ठतम’ शब्दलाई हलन्त ‘दुःखद्’ र ‘वरिष्ठतम्’ पनि बनाइएको छ भने सधैँ हलन्त लेख्नुपर्ने ‘आत्मसात्’ शब्दलाई अजन्त ‘आत्मसात’ पनि उल्लेख गरिएको छ । धेरैजसो पत्रपत्रिकाहरूमा सम्भवतः यसकै प्रभावमा ‘दुःखद्’ अनुपयुक्त शब्दको प्रयोग भएको देख्न सकिन्छ । तसर्थ यस्ता अनुपयुक्त शब्दको प्रयोगबाट प्रयोक्तालाई बचाउन पनि सम्बन्धित निकायको ध्यान जानुपर्छ । थप अशुद्धिहरू हाम्रो किबोर्डमा ‘स्वस्थ’ मात्र लेख्नुपर्नेमा ‘स्वास्थ’, ‘स्वास्थ्य’ मात्र लेख्नुपर्नेमा ‘स्वस्थ्य’, ‘एकाइ’ मात्र लेख्नुपर्ने ‘इकाइ’ र ‘इकाई’, ‘अत्यधिक’ मात्र लेख्नुपर्नेमा ‘अत्याधिक’, ‘उपर्युक्त’ लेख्नुपर्नेमा ‘उपरोक्त’जस्ता अनुपयुक्त शब्दहरूको प्रयोग गरिएको छ । त्यसैले यस्ता अनुपयुक्त शब्दहरूको प्रयोग हुनबाट बचाई नेपाली भाषालाई स्तरीय र मानक बनाउन पनि हाम्रो किबोर्ड एप्स उत्पादक कम्पनीको ध्यानाकर्षण हुनु जरुरी छ । बैठान नेपाली भाषाको शुद्ध लेखनका सन्दर्भमा सर्वप्रथम प्रयोक्ताहरू नै सचेत हुन नसक्ने हो र सजिलोका लागि तयारी खाजाजस्तै तयारी शब्दमा मात्र बढ्ता विश्वास गर्दै त्यसको संरचना अनि शुद्धताका बारेमा प्रयोक्ता स्वयंले चासो नराख्ने हो भने एकाध व्यक्तिको चिन्ता र चासोले चलाइएका शुद्ध लेखनका अभियानहरू सार्थक र सफल हुन सक्ने छैनन् । साथै सूचना र प्रविधिको द्रुततर विकासलाई ध्यानमा राखेर तयार गरिने हाम्रो किबोर्डजस्ता एप्स र शब्दकोश एप्सका निर्माताहरूले आफ्ना कमीकमजोरीहरूलाई आत्मसात् गरेर तिनलाई निराकरण गर्दै जाने विषयमा गम्भीर नबन्ने हो भने नेपाली भाषाको शुद्धता कायम गर्दै जान निकै जटिलताहरू थपिने छन् । तसर्थ सर्वसाधारण प्रयोक्ताहरू मात्र होइन नेपाली शब्दकोश र हाम्रो किबोर्डजस्ता एप्सका निर्माताहरूको यथासमयमै यस विषयमा गम्भीर ध्यानाकर्षण हुनु अति आवश्यक देखिन्छ । #डा. मतिप्रसाद ढकाल
म पैसा हुँ: ‘म’ को हुँ ? मेरो पछि करोड़ौं मानिस दगुर्छन् म सर्वव्यापी छु मान्छेलाई रुवाउँछु, हसाउँछु म मानिसको निद्रा, तिर्खा, भोक हरण गर्छु जन्मदा पनि मलाई चाहिन्छ जान्नेलाई यही नजान्नेलाई कतै न कतै राजा-भिखारीलाई पनि मेरो खाँचो म नहुँदा सबैको हुन्छ नाश मेरो लागि मान्छेले मान्छे चिन्दैन श्वास भए नभए पनि जस पाउँदैन ‘म’ को हुँ ? मान्छेलाई थाङ्ने, माग्ने बनाउँछु मेरो निम्ति असत्य, हिंसा गर्न कर लाग्छ म लज्जित पार्छु, सम्मान दिलाउँछु म मानिसलाई उँभो चडाउछु, भिरमा ठेल्छु ‘म’ को हुँ ? चिन्नेले अघि नै चिने नचिन्नेलाई भन्दैछु म आखिरमा पैसा त हुँ होइन र मानिस हो? म पैसा हुँ साँच्चै… म पैसा हुँ। समार दलनी, विश्वनाथ, असम
बस्नलाई अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर: आजको शृङ्खलामा हामीले कवि श्रीदीप दाहालको कवितामाथि कवि मोहन सङ्ग्रामको टिप्पणी लिएर आएका छौँ । प्रस्तुत छ कवि दाहालको तीन कवितामाथि टिप्पणीकारको टिप्पणी । बस्नलाई अग्ला अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर १. बाग्मती कविता श्रीदीपका कविताहरू मोतीका दानाजस्ता लाग्छन् । जसलाई उसले कल्पनाको सागरको गहिराईसम्म पुगेर जतनले ल्याएको छ । प्रस्तुत कविता बाग्मती पढ्नेले यो कुरा सजिलै महसुस गर्न सक्छन् । कविता पढ्दा अर्को पनि के कुरा महसुस हुन्छ भने, श्रीदीपसँग हरेक वस्तुलाई हेर्ने पृथक दृष्टिकोण छ, आफ्नै दृष्टिकोण छ । एउटा कविलाई आम मान्छेभन्दा पृथक बनाउन यो महत्वपूर्ण पनि हुन्छ । बर्षौँ देखि बोलिदैँ आएको कहावत ‘नपत्याउने खोलाले बगाउँछ’ माथि कवितामा कविले पेश गरेको सजीव उदाहरण र सीमित शब्दको प्रयोगले कविताप्रति कवि कति गम्भीर छ भन्ने प्रष्ट हुन सकिन्छ । कविः श्रीदीप दाहाल २. स्ट्यान्डर्ड कविता पढ्दा लाग्छ, कवि औपचारिक दुनियाँसँग दिक्क भैसके । केही न केही नाममा कहिले आफैँसँग कहिले दुनियाँसँग नाटक गरेर जिन्दगीलाई रंगमञ्च बनाउने समुदायसँगको आक्रोस कविले व्यक्त गरेका छन् । कविता मार्फत कवि तर्क गर्छन्, ः स्ट्यान्डर्डको नाममा गिलासको पिँधमा थोरै चिया छोड्नेहरूले, थालको कुनामा अलिकति खाना छोड्नेहरूले जीवनका केही कुनाहरू बाँच्न पाएका हुँदैनन् । यो रंगमञ्चमा बाँच्दा नाटक गर्न नचाहानेहरू दोषी देखिन्छन्, कविताको अन्तिम पङ्तिmमा औपचारिताको नाममा बेहिसाब गर्नुपर्ने प्रेम पनि औँला भाँचेर गर्नु पर्ने स्थिती व्यक्त गर्दै कविले प्रेमिकालाई सोधेको प्रश्नले कवितालाई झनै सशक्त र सान्दर्भिक बनाएको छ । जिन्दगी गणितमा हिसाब गरेर जीवन कटाउने सहरका घरबेटीले केटाकेटीको मनको हिसाब राख्न सक्दैन ३. खेल्ने उमेरमा बस्नलाई अग्ला अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर र यहाँका खेल्ने उमेरका केटाकेटीसँग कविता सम्बन्धित छ । सबै जिन्दगी गणितमा हिसाब गरेर जीवन कटाउने सहरका घरबेटीले केटाकेटीको मनको हिसाब राख्न सक्दैन । कविले कवितामा विषयवस्तु मात्र नभई लयमा पनि खुब मिहेनत गरेको भेट्न सकिन्छ । कविता पढ्ने जो कोहीले पनि यसको लय भेट्टाउन सक्छ । एउटा अंश छ ः जहाँ आँगन हुँदैन घर अगाडि घर अगाडि गाडी हिँड्छ कहिलेकाँही केटाकेटी कुल्चेर जहाँ करेसा हुँदैन घर पछाडि घर पछाडि ठाउँ नछाडि कसैले अर्को घर बनाउँछ । कविले यो कवितामा बीचबीचमा थुप्रै पन्च लाइनहरू लेखेका छन् जो सिधै पाठकको हृदय भित्रैसम्म पुग्न सक्छन् । समग्रमा श्रीदीपका कविताहरू सरल र गहिरा छन् । यस्तो भन्नुको तात्पर्य के हो भने : श्रीदीपले पाठकहरुलाई सजिलो बाटोबाट गहिराईसम्म पुर्याउने क्षमता राख्छ । अन्त्यमा : कविः मोहन सङ्ग्राम श्रीदीप र कविता आर आर नजिकै कुनै गल्लीको चियापसलको कुनामा चुरोट पिउँदै श्रीदीप दाहाल धुवाँको अक्षरले कविता लेख्छ । नबुझिने पारामा धुवाँको अक्षरले क्रान्तीको कविता लेख्छ नजानिदो पारामा धुँवाको अक्षरले यौनको कविता लेख्छ मिडियाले धुवाँको अक्षर चिन्दैन धुँवाले मिडियाको अनुहार धमिलो देख्छ यसरी हरेक दिन तातो हावाले माथि उडाइरहेछ श्रीदीपको कविता ढुक्क भएर बस् श्रीदीप एकदिन तेरो कविता आकाशले बाचन गर्नेछ । मोहन संग्रामद्वारा टिप्पणी गरिएका कवि श्रीदीप दाहालको तीन कविता यहाँ प्रस्तुत छ । १. बाग्मती सानो भएर के गर्नु सबैभन्दा धेरै मान्छे यही खोलाले बगाएको छ । जुन खोलाले आफू बग्ने क्षमता नै गुमाएको छ । त्यही खोलाले सबैभन्दा धेरै मान्छे बगाएको छ । बगाइरहेको छ बगाइरहेको हुन्छ । जहिल्यै गएर हेर्दा पनि पत्याउनु हुन्छ ? हो, नपत्याउने खोलाले बगाउँदो रहेछ । २. स्ट्यान्डर्ड स्ट्यान्डर्डको नाममा भातमाराहरू अलिकति भोक पेटमा छाड्छन् अलिकति भात प्लेटमा छाड्छन् स्ट्यान्डर्ड नाममा भातमाराहरू चाटीचुटी आफ्नो जिन्दगी पनि जिउन सक्दैनन् । छाडेकै भरमा आफ्नो स्ट्यान्डर्ड झल्कन्छ भने राधा ! मैले तिमीलाई कति माया गरेपछि तिमीलाई छाड्नुपर्छ ? स्ट्यान्डर्डको नाममा । ३. खेल्ने उमेरमा खेल्ने उमेरमा खेल्न नपाउँदा खेल्दा घरबेटी जहिल्यै कराउँछ जीवनमा कहिल्यै बाल्यकाल नआएझैँ जीवन निः सन्तान भएर गुज्रिएकोझैँ गर्छ घर अगाडि नखेल्नु भन्छ । जहाँ आँगन हुँदैन घर अगाडि घर अगाडि गाडी हिँड्छ कहिलेकाहीँ केटाकेटी कुल्चिएर । जहाँ करेसा हुँदैन घर पछाडि घर पछाडि ठाउँ नछाडि कसैले अर्को घर बनाउँछ । अनि घरबेटी घर अगाडि नखेल्नु भन्छ यसरी भन्छ ऊ सधैँ हार व्यहोरेको भूपू खेलाडी हो । भने जसरी भन्छ जसलाई खेलभन्दा जीतसँग प्रेम छ । उसलाई थाहा छैन खेल जित्न जितको होइन खेलको मोह हुनुपर्छ । ऊ त महिना मरेको हिसाब राख्छ मन मरेको हिसाब राख्दैन । तँ यो कुरा किन बुझ्दैनस् घरबेटी केटाकेटीले बल खेल्दा तेरो घरको झयाल फुट्छ । केटाकेटीले नखेल्दा उसको मनको झ्याल फुट्छ । तँ यो कुरा किन बुझ्दैनस् घरबेटी घरकोभन्दा मनको झ्याल महँगो हुन्छ । र कोमल पनि । खोलो मिचेर घर बनाउँदा एकदिन पक्कै आउँछ खोलो पाहुना लाग्न । तेरो घरमा पाहुना लाग्न गएका बलहरूले संकेत गर्छन् त्यहाँ पहिला चौर थियो केटाकेटीलाई सडकमा खेल्न दे ! घरबेटी तँ चौरमा बसेर फूर्ति लगाउनू । एउटा बूढो मान्छे बच्चैमा मरेको कसैले मलाई जोक सुनाएको थियो सायद यो साँच्चै हुन्छ खेल्ने उमेरमा खेल्न नपाउँदा । #आँगन सहर #खेल्ने उमेर
आमा, किन हाँस्नु भाको ?: चन्द्रकला दाहाल करिब तीन वर्षअघि मलेसिया गएको रमेश खबरै नगरी घर आउँदा गाउँभरि हल्ला भएछ । स्कुल नजिक भूमिनन्दन दाइसँग भेट भएर सँगै आएका थिए रमेश । भूमिनन्दन दाइ रमेशको मिल्ने साथी, साह्रै असल मान्छे अनि मलाई “बैनी” भनेर बोलाउनु हुन्छ । बिहानको त्यस्तै ८ बज्दो हो, सधैँझैँ ठट्टा गर्दै छिमेकी चुडाल बा, “हैन कहाँबाट भूमिनन्दन बाबु हलुवामा बालुवा हुन आइपुग्नु भएछ हँ” भन्दै आइपुग्नु भो । भेट गर्नै भनेर होला कृष्ण सेडाईं भिनाजू, पौडेल्नी माल्दिदी र खड्का काका पनि एकै छिनमा भेला हुनु भो हाम्रो घरमा । रमेशले मलेसिया जाने बेलामा उहाँहरुलाई नै मेरो रेखदेखको जिम्मा लाएर गएका थिए । कुराकानीकै क्रममा रमेशले मलेसियामा भने बमोजिमको काम नपाइने, पाए पनि तलब कम दिने, लुटेराहरुबाट लुटिने र ज्यानैसमेत जान सक्ने जस्ता आफूले भोगेका समस्याहरु सुनाए । अनि अब विदेश नजाने, यसो सानोतिनो पसल गर्ने र छोरीलाई बोर्डिङ हाल्ने जस्ता आफ्ना साना योजना सुनाए । रमेशको निर्णयले सबैजना खुसी भए । “अब त देशमा स्थिर सरकार छ, यदि चाह्यो भने विदेसिएका युवा युवतीहरुलाई फर्काउने वातावरण बनाउन सक्छ,” भनी सेडाईं भिनाजूले आफ्नो तर्क दिनुभो। उहाँ राजनीतिमा निकै दख्खल राख्नु हुन्छ । “खै हाम्रा केटाहरु कहिले आउने हुन्,” भन्दै लामो सुस्केरा हाल्नु भो पौडेल्नी माल्दिदीले । यति नै बेला खेताला खोजेर फर्किनु भएकी चुडाल्नी जेठी बडेमा पनि थपिनु भो । रमेशले विदेशबाट ल्याएका चकलेट सबैका हातमा राखिदिए । पौडेल्नी माल्दिदीले नातिलाई लगिदिने भनेर गम्छाको छेउमा बाँध्नु भो । ”ल स्कुल जान ढिला हुन्छ” भनेर भूमिनन्दन दाइले बिदा मागेपछि सबैजना आ-आफ्नो घरतिर लाग्नु भो । भूमिनन्दन दाइ स्कुलको हेडसर हुनुहुन्छ । मैले पनि कुरा गर्दागर्दै भात पकाइसकेकी थिएँ । रमेशले भान्सामा पस्दापस्दै “के पकायौ त सानु तरकारी ?” भनेर सोधे । “हिजोको मोहीको सोल्लर, तोरीको साग र अलिकति करेला भुटेकी छु,” भनेँ । “म त करेला खान्नँ, तीतो हुन्छ” भन्दै छोरी बाला रुन थाली । “आलु आलु खाउली,” भनेपछि बल्ल बल्ल चुप लागी । खाना खाएर बूढाबूढी बजार जाने सल्लाह भो । लोग्ने मान्छेको मन न हो, कोठाभित्र लुगा फेर्न पस्नेबित्तिकै “त्यस्तो पापी ठाउँबाट धन्न बाँचेर आइयो, अब तिमीलाई छाडेर कहीँ पनि जान्नँ सानु” भन्दै मलाई अँगालोमा बेरे । मैले पनि तीन वर्षदेखि प्रतीक्षा गरेको न्यानो अँगालो आँखा चिम्म गरेर स्वीकार गरेँ । बजार जाँदा बाटोमा पर्ने खोला तर्दा रमेशले एक हातले पाइन्ट र चप्पल अप्ठेरो गरी समाते । अनि अर्को हातले अलि रोमान्टिक हुँदै खोलाको पानी उघाएर मेरो जिउभित्र हालिदिए । “आच्छु.. के गरेको ?” भन्दै मैले पनि पानी छ्यापिदिएँ । अनि हामी दुवै एकैछिन मरीमरी हाँस्यौँ । यसै बेला छोरी बालाले “आमा किन हाँस्नु भाको ?” भनेर घच्घच्याउँदा पो म झल्याँस्स बिउँझिएछु । यतिञ्जेलसम्म रमेशसँगका खुसीका पलहरु त सबै सपना पो रहेछन् ! मेरो रमेश त दुई महिनाअघि मात्र मलेसियाबाट काठको बाकसमा फिर्ता आएको थियो, अनि यिनै हातले सदाका लागि बिदा गरेकी थिएँ । आकाश खसेजस्तो अनि मुटु फुट्ला जस्तो भो । म के नै पो गर्न सक्थेँ र ? भर्खरै सपनामा रमेशले बेरेझैँ सँगै सुतेकी छोरीलाई अँगालो हालेर धेरैबेर रोएँ । अनि सझेँ, मजस्तै दिदीबैनीहरु अझै कति विधवा हुने हुन्, मेरी बालाजस्तै कति छोराछोरीहरु टुहुरा हुने हुन्, अनि अझै कति वृद्ध बुबाआमाहरुको काख रित्तिने हो ? साथै, मनमनै ईश्वरसँग प्राथना गरेँ- हे भगवान्, अघि सपनामा कृष्ण भिनाजूले भनेजस्तै सम्पूर्ण विदेसिएका युवा युवतीहरुलाई स्वदेश बोलाउने वातावरण मिलाओस् । उज्यालो भैसकेको थियो । ढोका खोलेर यसो बाहिर हेरेँ अनि आफूलाई पनि । केही दिनदेखि नधोएका मेरा सेता लुगा, धेरै दिनदेखि कोही नआएको उराठलाग्दो आँगन । आँगनको पल्लो छेउमा भएको अँगेनामा रातभरि बसेको कुकुर उठ्यो, थरर गर्दै जिउभरि लागेको खरानी टक्टकायो । खरानी माथिसम्म उड्यो । मनमनै सम्झेँ, “मेरो जीवन पनि त्यही खरानी जस्तै भयो नि !” यतिकैमा छोरी बाला पनि उठिछ । बाहिर आएर मेरो हात तान्दै भनी, “आमा, आमा, भोक लागो !” #चन्द्रकला दाहाल
सँघारमा उभिएकी छौ तिमी: अच्यूत गाैतम सँघारमा उभिएकी छौ तिमी तिमीलाई स्वागत गरौँ कि बिदाइ म आफैँ दोधारमा छु गनिरहेको छु ती पलहरु जसलाई तिम्रो आगमनले अनमोल बनाएको थियो अनि बिर्सन खोजिरहेको छु हाम्रा कयौँ मौन संवादहरु जहाँ व्यक्त गरिएको थियो वियोगका सुस्केराहरु ! तिम्रो आगमनले ल्याएको थियो एउटा भव्य उमङ्ग जसलाई सजाएको छु स्मृतिको कोलाजमा सायद तिम्रो बिदाइ पनि उत्सव बन्नेछ यो शहरमा तिमीले गाउने स्वतन्त्रताको गीत फेरि एकपटक बज्नेछ यो ब्राह्मणमा सम्झिदै जाँदा सम्झिने रहेछ तिम्रो सुन्दर केशरासीमा अल्झिएका सम्झनका अनेक फूलका थुङ्गाहरु तिमीसँगको पहिलो भेट तिम्रा मुस्कानहरु तिम्रा इशाराहरु तिम्रा सङ्केतहरु सबै सबै सम्झिने रहेछ सम्झिने रहेछ पहिलोपटक तिमीलाई सम्झिदै जूनहरु हेरेको कथा तिम्रा प्रत्येक चन्चलता भित्रका शालीनता तिम्रा प्रत्येक संवादहरु भित्रका दार्शनिकता तिम्रा प्रत्येकअच्यूत गौतम स्पर्शहरु भित्रका असिम स्नेह सबै सबै नियालिरहेको छु तिमी उभिएकी छौ सँघारमा तिमीलाइ स्वागत गरौँ कि बिदाइ म आफैँ दोधारमा छु स्वागत गरौँ तिमीले गुमाइसकेकी छौ तिमी आफैँ भित्रको भव्य व्यक्तित्व बिदाइ गरौँ म वियोगले रन्थनिने छु तिमी आफैँ भन म के गरुँ !! बुटवल, रूपन्देही #अच्यूत गौतम #रूपन्देही
आमा 'म' घर फर्किदै छुँ: सुमन्त दास (१) आमा………! विषाक्त कोरोना भाइरसले त्रसित भएको छ दुनियाँ सुन्दैछु चारै दिशा केवल लाशै-लाश गन्ती गरी रहेको अरे! रोगीको आत्मीयहरुको चित्कार सुन्दा-सुन्दै मलाई धेरै डर लाग्न थालेको छ आमा………! कर्म थलो सबै स्तब्ध हुँदै छ हात पनि खाली छ, धेरै दिन अन्न मुखमा नपरी हात-खुट्टा मेरो थर-थरी काँप्दैछ कोठा मालिकको यातनामा मलाई झन् साह्रै गाह्रो हुँदैछ । (२) आमा…….! आउँदैछु घर पैतालुको भरमा ‘म’ सङ्गै छन् हजारौं मित्र भोक, तिर्खा, निद्रा त्यागी सबै विवश छन् आफ्नो-आफ्नो घर पुग्न ! धेरैले बाटोमै प्राण त्यागेका छन् कोही भोकै-तिर्खै, थकानले आँखा फुस्रो पारी हिँडे्का छन् कसैका पैतालुको छाला ताछिई रक्त निरन्तर बगिरहेछ हिँड्दा-हिँड्दै हजारौं किमि भो सक्दिनँ आमा अब ! ‘म’ सारै थाकिसकेको छु । (३) प्रहरीको लाठीको पीर अझै कति खप्नु? कस्ले बुझ्ने प्रदेशीको पीडा? राजाको घरमा जति नै गुहार लगाए पनि कसैले सुन्ने छैन ‘आमा’ गरिबको वेदना यहाँ त हाम्रो भावनामा राजनीति गरिन्छ यहाँ हाम्रो भाग खोसिन्छ प्रदेशी जिन्दगी नै कति गाह्रो रहेछ! आमा……! आफ्नै घरमा मर्ने मलाई धेरै रहर छ तिम्रै अनुहार हेर्ने धेरै चाहना छ र, हिँड्दै-हिँड्दै भए तापनि आमा ‘म’ घर फर्किदै छु । समार दलनी, विश्वनाथ, असम #असम #सुमन्त दास
निद्रा: निद्रा त, हिजो पनि लाग्थेन। जब जेठको गर्मीमा, दिउसो टन्टलापुर घामले घमौरा उमारेको ढाड राति सुत्ने बेला चिलाएर औडाहा हुन्थ्यो, म जुरुक्क उठेर, बाहिर धारामा गई खललल टाउको भिजाउँथे, अनि फेरि फर्की जब निदाउने कोसिस गर्दथेँ, त्यसैबेला एउटा लामखुट्टे कानैनेर आई कराउन थाल्थ्यो, क्याऊऊऊ !! निद्रा, आज पनि लाग्दैन आजकल शरीरमा घमौराहरु देखिँदैनन्, न त आकाशमा उहिलेजस्तो ताराहरु नै, आजकल लामखुट्टेहरु पनि मेरो निद्रा बिथोल्न आउँदैनन्, आउँछन् त केवल, मनभित्रै छट्पटिइरहेका आवाजहरु, गुम्सिएका यादहरु, थोत्रा अधुरा आकांक्षाहरु ! हिजो र आजमा, समय बदलियो, परिवेश बदलियो, म आफैँ बदलिए, तर निद्रा आज पनि लाग्दैन, अर्कोतिर, गर्मी भने जस्ताको तस्तै छ.. हिजो तनको गर्मीले सताउने गर्थ्यो, आज मनको गर्मीले अत्याइरहेछ । #जर्मनी #संसार तिवारी
निर्दयी ', "देवीप्रसाद थापा ‘मामा’ प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो । उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए । उनीहरू प्रत्येक दिन कहीँ न कहीँ भेट गर्थे । क्रम बढ्दै जाँदा एकदिन नरेन्द्र उसलाई भेट्न असमर्थ भयो । उसले प्रश्न गरी, “हिजो मलाई भेट्न किन आयौन तिमी ?” उसले उत्तर दियो, “आमा बिरामी हुनुभयो । घर छोड्न मिलेन ।” उसले लगत्तै भनी, “मेरी पनि आमा बिरामी हुनुहुन्थ्यो थियो । मलाई घरबाट ननिस्कनु भन्दाभन्दै पनि म निस्किएँ । लोग्नेमान्छे कति निर्दयी हुँदोरहेछ । आज बुझेँ ।” “निर्दयी तिमी कि म ?” उसले प्रश्न गर्यो । मणिपुर #देवीप्रसाद थापा 'मामा' #मणिपुर
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. नर + नारी (मोहन कोइराला) मलाई छुन आगो डर मान्छे आगो छुन म डर मान्छु मसित पानी छ, उससित आगो छ म पानी भएर भेट्न आउँछु, बादलमा उड्छु ऊ भुङ्ग्रो भएर भेट्न आउँछे, झिल्कामा चोइटिन्छे बिजुलीको घुक्र्याइमा नाइनास्ती फर्काएर । २. मानिसको पयर (ईश्वरवल्लभ) आकाश मात्रै नहेर धरती पनि हेर्नुपर्छ धरतीले मानिसलाई सारै माया गर्छ जति नै तारा आकाशमा छन् त्यति नै थोपा यहाँ पानी पर्छ, त्यति नै बिरुवा यहाँ सर्छ— क्षितिज जति जति टाढिँदै जान्छ पाइला त्यति त्यति नै यहाँ सर्छ कहीँ बत्ती बल्दै बल्दै जान्छ, कहीँ बत्ती निभ्दै निभ्दै जान्छ, तर पयर मानिसको सर्दै सर्दै जान्छ । ३. विधवा (द्वारिका श्रेष्ठ) मन टुसाउने यी वैभवहरू कलिला दुई आँखामा यसै–यसै बुड्छन् । बादल झैँ बढेका उनका छोराछोरीहरू आकाश जत्रो छाती दिएर पनि यहाँ अत्तालिरहेका मान्छे, कपालमा लत्रेका उनका लामा केशपाशमा तिमीहरूको औँला गुजुल्टिन्छन् उनको गरुङ्गो छातीमाझमा लोग्नेको श्वास फुसफुसिन्छ, उसैको कात्रो लगाउने यी विधवाहरू लोग्नेलाई घिसारी–घिसारी हिँड्छन् । ४. ईश्वरले खाएको बालक (मदन रेग्मी) करकापमा मित्रता मृत्युको सुरक्षित राखिएको थियो तेजापमा एउटा प्राचीन फिलिङ्गो, प्रणय र होमोग्लोविनको बीभत्सता । यो अटूट आगमन काष्ठमण्डपको भोको लहरलाई मिल्किन देऊ । धुन देऊ पालिस, दिन र रातले थुपारेको विधिवत् स्रष्टाहरु, चिहानको एक तह, त्यो ईश्वरले खाएको बालकको आँगमा चम्किरहेछ आज पनि बिफरको सौन्दर्य र खुम्चिँदै त्वचा–सुरविहीन मलिलो नबिझाउने दौड आफ्नै उपसंहारतर्फ आफ्नै अन्तिम संहारतर्फ, लम्कन्छ युगको एउटै मुहान, ईश्वरले खाएको बालक !! ५. राज्यकविता (तोया गुरुङ) दिलमा खुलेको नीलो आकाशमा ताराको बुट्टा भनेको राज्यकविता बादलको छ्याक्ला भनेको पनि राज्यकविता डम्म बादल भनेको पनि राज्यकविता झर्छ एउटा मधुर मुस्कान, त्यो हाँसेको दिन हुन्छ या रोएको दिन हुन्छ— त्यो पनि एउटा राज्यकविता तर, कहिलेकाहीँ त यसै मन बिथोलिएर पनि घाम ओइलिन्छ तर घाममा फुलेको फूल भने ओइलिएको हुँदैन यसरी कति पटक जुधेको प्रकृतिसँग प्रश्न भयो उत्तरमा— तिमी हिँड आफ्नो धरातलमा आफ्नो आकृतिमा पवित्र वसुधा भएर हिँड प्रकृति पनि तिम्रो राज्यकविता भएर हिँड भवितव्य पनि तिम्रो राज्यकविता भएर हिँड । #सूक्ष्म कविता
राष्ट्रिय भजन: माधव प्रसाद उपाध्याय खनाल लिपुलेक हाम्रै, कालापानी हाम्रै हो लिम्पियाधुरा हाम्रै हो सुस्ता हाम्रै हो । ठूला देशले सानोलाई हेप्न पाइन्न हाम्रो सीमा लिन्छौँ, तिम्रो टुक्रा चाहिन्न । आऊ बसौँ वार्ता गर्न हामी तयार पहिलेको मैत्री हाम्रो अझै सपार । बलियाले निर्धोलाई थिच्ने कहाँ हो ? भाइभाइ मिली बस्नु ज्यादै राम्रो हो । वेद पुराण धर्म कर्म सबै उनै हुन् पशुपति केदारनाथ द्यौता यौटै हुन् । आयोध्याका रामको सीता विवाह जनकपुरमा भएको इतिहासै छ । पारस्परिक सम्बन्ध अघि देखिको त्रिभूवनको ससुराली इण्डिया नै हो । ज्यानै दिई रक्षा गरे तिम्रै देशको नेपालीको बहादुरी भुल्न सक्छ को ? तिम्रो व्यापार बजार नेपाल नै हो सियोदेखि यान किन्ने नेपाली नै हो । इण्डियाले नेपाललाई हेप्न हुँदैन बिना नेपाल तिम्रो रक्षा कैल्यै हुँदैन । गोर्खा सेना बहादुर नेपाली नै हो भि.सि. तक्मा प्रात गर्ने नेपाली नै हो । पोखरा –३२, गगनगौंडा, कास्की #पोखरा #माधवप्रसाद उपाध्याय खनाल
सहगमन: डाँडा माथिका ती राता पहेँला ताराहरु कसैका पनि होइनन् बिल्कुल लावारिस आकाशको कालो अँध्यारो गहिराईमा हुत्याइएका भुस्याहा कुकुरका भोका बच्चाजस्तै र, ती यति स्वतन्त्र छन् कि जति तिमी हामी छौँ, अहिले हामी भुस्याहा हौँ, तारा हौँ । जगत जुन चलिरहेछ ट्वाक-ट्वाक ट्वाक ट्वाक ट्वाक बन्चरोले रुख काटेझैँ एकनास घना जङ्गलको चर्को शून्यानुभूतिमा यहाँ हुनु भनेको अस्पष्ट हल्लाहरुमा मात्र सीमित हुनु हो जून टुक्रा टुक्रामा उछिट्टिएर आई पुग्छ आफ्नै काखमा बेलाबखत प्रश्न बनेर के थुनिएकाछौँ हामी आफ्नै गुफाभित्र या हामी साँच्चै स्वतन्त्र छौँ? आँखामा बिझेका यी काँडा हुन् कि सपना? टाढा-टाढा डाँडापारि पुगेका पराई हुन् कि आफ्ना? जवाफ म कहाँ भेटुँ? मेरो मनको साँध मिच्ने तिम्रा कुटिल नजरहरुमा? धुँवा, धुलो बीचको भिडभाडमा? जङ्गल बनेका सहरहरुमा? नाङ्गिएका पहाडहरुमा? डढेलो लागेसँगै मेरो देशका हिमालहरु अब तिम्रा समुद्रहरु खडेरीमा पुरिन सक्छन् अहंकारको पर्खाल पारि पर्खाइमा कसैको बितेका र बित्न बाँकी समयहरु बुझ्न बाँकी प्रश्नहरु, मन्त्रहरु “असतोमा सद्\u200cगमय”हरु बितेका र बित्न बाँकी टुक्रा-टुक्रा समयहरु सहगमनका फर्कनेछु म यी पहाडहरुलाई एकैछिन अङ्गालो हालेर। #शुभाषिस पराजुली
लनर्स् आर अनर्स्: यदि बाटोमा कुनै बुद्धिमान् मानिस भेटिए सोध्नु- कुन किताब पढ्दै हुनुहुन्छ ? तर हामी सोध्छौँ, चिया पिउनु भयो ? खाना खानु भयो ? हाम्रो सरोकार पेटसँग मात्र हुन्छ । संसारको सबैभन्दा खतरनाक मानिस को हो ? दुईजना छन् । एक त्यो जसको जन्म अहिलेसम्म भएकै छैन । जागिरको प्रतिक्षामा बित्दै गरेको एकान्तवासमा एउटा प्रश्न खुकुरीको धार लिएर मेरो निद्रा हराम गर्न आइपुग्छ । “कसैले पढ्नु किन जरुरी छ ?” प्रश्न त्यो मान्छेलाई जो आफू पढाइदेखि भागेर पतनको मार्ग समाधिस्थ रह्यो कैयौँ हेमन्त । मैले यही प्रश्न सुदासलाई बिसाएँ, जवाफ पाएँ- “पढ्नु–नपढ्नुमा अन्तर के नै छ र ? यदि उसले आफूलाई चिन्न सकेन भने पढ्नु जागिर खान गरिने व्यसन भयो, दुर्भाग्य ! पढ्ने मगन्ते र अरबपतिबीच केही अन्तर छैन भनेर बुझ्नुमा छ, र यही बुझाईले मात्र दुईको रेखाङ्कन गर्न सक्ला ! कि तिमीले, ‘ ह्वाइ गो टु युनिभर्सिटी नपढी आएका हौँ र ?” सङ्गीतशून्य भवन र नृत्यशून्य प्राध्यापक भएको विश्वविद्यालय तीर्थस्थल कम र वधशाला ज्यादा लाग्छ । सुदास तिमीलाई थाहै छ, म शाकाहारी, हत्या जीवको होस् या सृजनशक्तिको, दृश्यभोग गर्न सक्दिनँ । त्यसैले कलेज नगएरै कटाएको हुँ मैले स्मसानघाटको तीर्थयात्रा । रोगले मान्छे मर्ला-नमर्ला भोकले जरुर मर्छ । क्षुधाग्नीले पोलेको मानिसलाई आगोले पोल्नै पर्दैन । म मर्न चाहन्न, त्यसैले सोच्दैछु–सोध्दैछु कसैले पढ्नु किन जरुरी छ ? सुमन भन्छ, “पढ्नु भनेको क्षितिज फराकिलो हुनु हो । रङ्गघात भएको मानिसले रङ्ग खुट्याउन सक्नु हो । जुन रङ्ग प्रकृतिमा हिजो पनि थियो आज पनि छ । हिजोसम्म रङ्गदेखि बेखबर थियौँ, आज सृष्टिका सुन्दरतम रङ्गहरूको आस्वादन गर्न पायौँ ।” दीपेन्द्र मुडभरी हो, म पनि उसको भनाइमा सहमति जनाउँछु र थप्छु, एउटा किरिङ-मिरिङ चित्र आँखाअगाडि आउँछ । नजिकैको गाउँमा साइँली आमा बस्छिन् । सानोमा पढ्न पाइनन् । लजालु त्यसमाथि । आज तीन छोराकी आमा एक नातिकी हजुरआमा भएकी छिन् । घर व्यवहार आफैँ हेर्छिन् । छोराले बेलाबखत आैषधी किन्न, भैँसी बाख्रा किन्न पैसा पठाउँछ, विदेशबाट । उनी नै जान्छिन् धार्के बजार, पैसा निकाल्न । सधैँ ल्याप्चे लगाउनु पर्दा उनको मन चिरिन्थ्यो । अर्काको माटो र घाउको खाटो चलाउनु हुदैँन । साइँली आमाको बिसाएको घाउ प्रत्येक महिना पुनः उप्किन्छ । एकदिन उनले ठानिन्, आजबाट ल्याप्चे लगाउँदिनँ । उनी प्रौढ कक्षामा सामेल भइन र सिकिन आफ्नो नाम लेख्न एकाउन्न वर्षमा पुगेर– कोपिला । धार्के पुगेर आफ्नो नाम लेखेको दिन उनको दैलो उघ्रियो, मोतिबिन्दु मेटियो । बाटामा पर्ने प्रत्येक होडिङ्ग बोर्डमा खोजिन् ‘क’ ‘प’ र ‘ल’ । र उनले छिटोछिटो पाइला चालिन् प्रौढ कक्षातर्फ । आज पनि हजारौँ सूचनापाटी साइँली आमाहरूलाई पर्खेर बसेका छन् । त्यही त, मेरै आफन्तमा पनि यस्तो किस्सा धेरैको छ । मेरै बा स्कूल जान पाउनुभएन, तर कसरी कसरी अक्षर चिन्नुभयो । इङ्लिस-नेपाली पढ्न सक्नुहुन्छ । हस्ताक्षर धस्काउनुहुन्छ । प्रश्न उठाउन सक्नुहुन्छ । पढ्नु भनेको प्रश्न उठाउन सक्नु पनि हो । जवाफदेहिता एउटा उन्नत समाजको परिचय हो । जहाँ नागरिकको जिब्रोमा प्रश्न छैन, त्यहाँ चाटुकार र ख्वामितकै बोलबाला हुन्छ । कर्मचारी कामचोरमा परिणत हुन श्राप पर्नै पर्दैन । सेवाग्राहीको मुख बन्द भए पुग्छ । “तर पढ्नु गार्हो काम हो”, सन्तोष थप्छन् । “किन ?” “हामीले आफ्नै खुसीले पढ्न चाहेका होइनौँ नि ! हामीलाई पढ्न कर गरियो । पढौँला, जागिर पाइएला अनि जिन्दगी धन्य होला भन्ने दिलासामा मान्छे पढ्छन् । विवेकलाई पुष्ट गर्न पो पढ्नुपर्ने होइन र ? धेरै मान्छे धेरैथर कुरा पढ्छन् , सिङ्गो लाईब्रेरी रित्याउछन् कोही त ! आखिरीमा जान्नुपर्ने र बुझ्नुपर्ने कुरो के हो ?”, प्रश्न लामो मौनता तोडेर आउँछ । “म को हुँ ? म किन छु ? यत्ति जाने पढ्न सकियो, नजाने समयको बर्बादी मात्र भयो ।” मित्र सरोनर कीर्तिपुरको चुचुरोमा ध्यानस्त छन् । चराको पखेटामा मेरो भारी बिसाइपठाउँछु । साथी त त्यही हो जोसँग भारी काँध साट्न सकियोस् । सबैभन्दा छिटो कुनै पनि किताब पढ्न सक्ने पावर”, दुवैले एकसाथ माग्दछन् । हाम्रो परिवेश अनुसार पढ्नु भनेको आर्थिक, साँस्कृतिक दुश्चक्रबाट निस्किनु हो । हाम्रा अधिकांस जनता गरिब छन्, दैनिक हातमुख जोड्न सकस छ । संसारकै धनीहरूमध्येका बिल गेट्स र वारेन बफेटलाई सोधिन्छ, “यदि तपाईँहरूलाई कुनै एक सुपरपावर छान्न दिइए कुन पावर छान्नुहुन्छ ?” “सबैभन्दा छिटो कुनै पनि किताब पढ्न सक्ने पावर”, दुवैले एकसाथ माग्दछन् । स्मरणरहोस्, बिल गेट्स हप्तामा एउटा किताब पढ्छन् र कथाले माग्दा वारेन बफेट दिनको हजार पेज पढ्छन् । धनी र गरिबमा यदि केही फरक छ भने त्यो फरक ज्ञानप्रतिको लगाव नै हो, केही सिक्ने हुट्हुटी नै हो । लनर्स् आर अनर्स् । अर्नस् आर लनर्स् । अनुसन्धान भयो, चरम निराशामा व्यक्तिलाई पुर्याइदियो र उसलाई त्यसबाट निस्किन तीन बाटो दिइयो- चिया (कफी) पिउने, डेटिङ् जाने, किताब पढ्न । डिप्रेसनबाट निस्कने चिया पिउनेमध्ये ४८ प्रतिशत, डेटिङ् जानेमध्येमा ५७ प्रतिशत र किताब पढ्नेमध्येमा ७० प्रतिशत सफल भए । आत्महत्या र डिप्रेसन दर संसारकै उच्च दशमा रहेको नेपालमा आम जनतामा अध्ययन गर्ने बानीको विकास गर्नु आत्महत्या र डिप्रेसन रोकथामको अचुक अस्त्र हुनसक्छ । पढ्ने बानीले अल्जाइमर र डिमेन्सियाजस्ता रोगलाई पराजित गर्न सक्ने कुरामा विज्ञहरू सहमत हुँदैछन् । पाठकहरू पात्रहरूसँगै उठ्बस् गर्न थाल्दछन् । किताब नपढ्ने मानिस एक जिन्दगी बाँच्छ र मर्छ , किताब पढ्ने मानिस मर्नुअघि हजारौँ जिन्दगी बाँच्छ । पात्र रुँदा पाठक रुन्छ । पात्रलाई परेको मर्का देखेर ती निराश हुन्छन् । पात्रले जब संकटलाई पार लगाउँछ, पाठकको जीवनमा आशाको सीतल हावा सञ्चारित हुन्छ । जब पढ्न थालिन्छ, आनन्द दिने ‘टेसटोस्टेरन’ हर्मोन वृद्धि हुन्छ जसले आत्महत्या दूर गराउँछ । सुत्नुअघि १५ मिनेट मात्र पढ्ने गरे पनि गुणस्तरीय निद्रा लाग्छ । र राम्रो निद्रा स्वास्थ्य व्यक्तिको व्यारोमिटर हो । शरीर बलियो बनाउँन व्यायामशाला गइन्छ, त्यस्तै मस्तिष्क बलियो बनाउन चिन्तन र अध्ययनको आवश्यकता पर्दछ । यदी शारिरीक सुखको उत्सर्ग संसर्ग हो भने मानसिक सुखको संसर्ग किताब पढ्नु र चिन्तन गर्नु नै हो ‘गेम अफ थ्रोन’मा टिरियन ल्यानिष्टर भन्छन्, “म मेरो भाइको तरवार जत्ति उचाईको पनि छुइनँ ।” टिरियन एक परित्यक्त पात्र हुन् जो युद्धमा होइन असी वर्षको उमेरमा संसर्ग गर्दागर्दै मर्न चाहन्छन् (यदी शारिरीक सुखको उत्सर्ग संसर्ग हो भने मानसिक सुखको संसर्ग किताब पढ्नु र चिन्तन गर्नु नै हो) । भन्छन्, “तर मेरो दिमाग उसको तरवार भन्दा सयौँ गुणा विशाल छ ।” टिरियन अत्यन्त अध्ययनशील छन् र आफ्नो मेधाको बलमा शक्तिमा पुग्छन् । बुद्धिमान मानिसभन्दा ठूलो बुद्धिमान नेता हो जो आफूले देखेको सपनामा संसारलाई हिँडाउछ । ज्ञान पढिन्छ, बुझिन्छ, बोध गरिन्छ अनि श्रृति परम्परामा जान्छ । जब कुनै कुरा श्रृति परम्परामा पुग्छ, त्यो अमर हुन्छ । जसरी रामायण र महाभारत अमर भए । अमरता हामीमै निर्भर छ । त्यसो भए जो कामबिना माम खान पाउँदैनन् उनीहरूले किन पढ्ने ? पढ्न बसे भोकै रहनुपर्ने बाध्यता पनि त छ । तर सत्य यो पनि हो, ती पिँधका मानिसले पढ्नुपर्ने झन् ठूलो आवश्यकता छ । ताकि उनीहरूले बुझुन्, उनीहरू गरीब हुन् कि बनाइएका हुन् ? के मान्छे, कमिला र गधाको जीवनमा केही अन्तर छैन ? जुन दिन त्यो अन्तर बुझ्नेछन् १४ औँ शताब्दीमा फलाम सम्बन्धि काम गर्ने गुटेन वर्गले बनाएको प्रिन्टिङ् मेसिनको आत्माले साक्षात्कार प्राप्त गर्नेछ । त्यो दिनकै प्रतीक्षामा कैयौँ पिँढी दरपिँढी बुटमुनि दबाइए, ती बौरी उठ्नेछन् र कबिरले देखेको एक अचम्म दुनियाको दर्शन गर्नेछ । त्यसैले पढ्न पाएका ‘प्रीभिलेज क्लास’ले पढ्न नपाएकाहरूलाई सहयोग गर्नुपर्यो । त्यहाँ शिक्षक कोही हुनेछैन्, दुवै हुनेछन् जिज्ञासु । दुवैले देखेको अर्धसत्य पूर्णसत्यमा बद्लिनेछ । एकदिन उसको भेट ईश्वरसँग हुनेछ । ईश्वरलाई पछाडि छोडेर अघि बढ्नेछ । “जबसम्म प्रश्नले एक शब्दमा जवाफ पाउँदैन, न्याय भएन ।”, म सुजनलाई कोट्याउछु । सुजन मुराकामीको देशबाट बिरालो चालमा लेख्छ, “you can learn about the basic facts about the world by yourself but you will be old and tired by then …. म चुपचाप लाइकको निलो स्टिकर पठाइदिन्छु । र, एक त्यो जो निरन्तर सिकिरहन्छ । हरेक दिन आफ्ना गल्तीको समिक्षा गरेर भूलसुधारको प्रण गर्छ । तेलधारावत् प्रयास गर्छ हिजोभन्दा आज माथि उठ्न । उसको लागि अपरिमेय अपराजित केही बाँकी रहनेछैन । एकदिन उसको भेट ईश्वरसँग हुनेछ । ईश्वरलाई पछाडि छोडेर अघि बढ्नेछ । #दीपेन्द्र मुडभरी
दोषी आत्मा: श्रीमान् यो न्यायालयले दोषी करार गरेर काटिएपछि मेरो नामको पत्र उपस्थित भएकी छु म एकपल्ट आज फेरि यो न्यायालयको कठघरामा जलाइएर बाँकी रहेका मेरा केही अस्थिपञ्जरहरूलाई साथैमा लिएर फैसला सुनाउनुभन्दा अगाडि बिर्सिनु भयो कि श्रीमान् ? टुक्रा टुक्रा पारेर जलाइएको मेरो शरीर श्रीमान् हत्या त मेरो भएकै थियो तर एकपल्ट फेरि यो न्यायालयले मेरो हत्या गरिदिएपछि मेरो शरीर जलेर बाँकिरहेका त्यही खरानीका राखहरू बोकेर श्रीमान् यो न्यायालयमा भेटी चढाउन आएकी छु एक चोटी यी खरानीका राखको टीका लगाएर फैसला सुनाउँदै गर्दा त्यो खरानीको राखमा नजर आएन श्रीमान् के यो न्यायालयलाई ? अग्निकुण्डमा जल्दै गरेकी एउटी नारीको निर्दोष अनुहारको ठीकै छ श्रीमान् यो न्यायालयले मलाई दोषी नै करार गरिसकेपछि एउटै बिन्ति गर्न चाहन्छु बाँकिरहेका मेरा केही अस्थिपञ्जरहरुलाई पनि यही न्यायालयको न्यायका किताबका ठेलीहरुसँगै जलाइयोस् श्रीमान् जलिरहेका ठेलीका ती प्रत्येक पानाहरुबाट उडिरहेका धुँवाका मुस्लोहरुले भोलि कसैको हत्याको साक्षी बनेर न्यायालयको यो कठघरामा उभिएर बयान दिँदै गरेकी एउटा त्यो दोषी आत्माको अनुहार श्रीमान् म किन हजुरकै नातिनीको जस्तो देख्छु जस्को भर्खरै हत्या भएको छ श्रीमान् म एउटा दोषी आत्मा फिराद पत्र बोकेर ईश्वरको अदालतबाट उपस्थित भएकी छु फेरि यो न्यायालयमा एकचोटी मेरो अस्थिपञ्जरसँगै जलिरहेका न्यायालयको न्यायसँग रेटिएका न्यायका गलाहरुसँग बयान दिँदै गरेकी यो दोषी आत्मालाई सायद दृष्टिभ्रम भएर पनि हुन सक्छ श्रीमान् हजुरको छेउमा बसेर मुस्कुराइरहेको त्यो एउटा क्रूर हत्याराको अनुहार कता कता मेरै श्रीमानसँग मिलेझैँ लाग्छ विदुर, नुवाकोट #नुवाकाेट #रूपा थापा
निभाइदिउँ बत्तीहरु अब: राजेन्द्रप्रसाद अधिकारी रातभन्दा दिन डरलाग्दो हुन थालेको छ निहत्था र कमजोरका अस्मीता जीवन, र घर राज्यकोषबाट तालिमप्राप्त कुकुरहरुको मनोरञ्जनमा लुटिनु मारिनु, र जलाइनु सामान्य हुन थालेको छ सूर्य-ग्रहण लागेजस्तो दिउँसै अन्धकार देखिन थालेको छ अब निभाइदिउँ बत्तीहरु पनि किन चाहियो मेरो देशमा उज्याला बत्तीहरु, दिनमा लाग्ने घमाइलो घाम, र ठूलो रुखमुनिको छहारी? स्याल र व्बाँसाहरुलाई निष्फिक्री घुम्न दिउँ सहरबाट लासहरु घिसार्दै जङ्गलमा लगेर बनभोज खान दिउँ, र चौतारीमा न्यायको विकाउ सुकुल ओछ्याएर निर्धक्क उघ्राउन दिउँ न्याय पचाएर डकार्न सक्नेहरुलाई फेरी पनि सोध्न त मन लागेकै छ संसद भवनको झ्याल र ढोका थुनेर सरकारी कोषको ट्याबलेट खाएर मस्त निदाइरहेका धमिराहरुलाई – कुनै दिन तपाँईहरुलाई आफ्नै मौनता देखेर आफैलाई लज्जाबोध होला कि नहोला ? कुनै दिन तपाँईहरुलाई आफु देखेर आफैलाई हीनताबोध होला कि नहोला ?? कुनै दिन तपाँईहरुलाई आफ्नै घरका बच्चाहरुले ढोका थुनेर घर बाहिर राख्ने दिन आउला कि नआउला ??? #राजेन्द्रप्रसाद अधिकारी
सुबासका दुई गजलहरु: सुबास अधिकारी (१) हिजो मैले गरेको थिएँ,एक उल्लेखनीय काम आजको ताजा अखबारहरुमा छ उसको नाम याद मेरो गरेर समयको मूल्य चुकाउँदैन कोही थाहा छ भने सबैलाई,मसँग कहिल्यै हुँदैन दाम संविधानले प्रदान गरेको अधिकार ग्रहण गर्दा कुटिएँ सुरक्षाकर्मीबाट, साक्षी छ शरीरमा डाम के छ पीडितको अवस्था भनी बुझ्ने भएन कोही पीडकको दरबार सामु छ, शुभेच्छुहरुको लाम सीधा बाटोम हिँडेर, सिधै अघि बढ्न सकिएन घुमाउरा बाटाहरुमा छ,अवसरवादीहरुको जाम घरधनीले भोलि कोठा छोडर निस्कनु भन्दैछन् हे प्रभु ! छौ भने भन,आजको भोलि कहाँ जाम ? (२) न तिमीलाई देखेर परैबाट कहिल्यै तर्केको छु न तिम्रो सामु परेर बोल्दा कहिल्यै झर्केको छु यात्रामा तिमीभन्दा अलिकति अघि बढे पनि तिम्रो हालखबर बुझ्न बारबार पछि फर्केको छु मलाई हाँसेको मात्र देख्नेहरुलाई थाहा छैन, एकान्तमा आँसु झारेर पटकपटक दर्केको छु बाहिरबाट हेर्दा मात्र मलाई सग्लो देखिएको हो भित्रबाट चियाउने हो भने ठाँउठाँउमा चर्केको छु #सुवास अधिकारी
पारिजात: आन्दोलनभित्र, आन्दोलनबाहिर: पारिजातको नाम नेपाली साहित्यको आकाशमा चम्किरहने नामको रूपमा पाठकको मस्तिष्कमा दर्ता भएको छ । नेपाली समाजमा दुई ढुङ्गामा खुट्टा राख्नु हुँदैन भन्ने मानसिकतालाई पारिजातले चिर्दै अलग अलग विधामा कलम चलाएकी छन् । उनले जुन विधामा टेकेर कलम चलाए पनि पाठकलाई निराश बनाउने काम गरिनन् । उनका कृतिहरू नेपाली साहित्यमा अब्बल कृतिकै रूपमा चिनिएका छन् । आज हामीले उनका कवितामाथि कुरा गरे पनि उनले आख्यान विधामा पाएको मदन पुरस्कार छुटाउनु हुँदैन । त्यसो त पारिजातलाई मदन पुरस्कार पाउने पहिलो महिलाको रूपमा पनि नेपली समाजले चिन्दैआएको छ । हामीले पारिजात भनेर चिनिरहँदा उनको वास्तविक नाम भने हाम्रो मस्तिष्कबाट ओझेल हुन दिइरहेका त छैनौँ ? बिष्णुकुमारी वाइवा मात्र भन्ने हो भने नेपाली पाठकले के आँखा चिम्लेर नै पारिजातको तस्बिर सम्झन्छ ? प्रश्न छ । खैर, उनलाई नेपाली साहित्यले पारिजात नै भनेर आफ्नो कित्तामा समावेश गरेको भने पक्कै हो । उनको स्वभाव पानीमा रुझ्नु, कल्पना गर्नु थियो । सा–साना कुराले उनलाई निकै गहिरो प्रभाव छाड्ने गर्दथ्यो । उनका कृतिहरू प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवादको भाव छाडेको पाइन्छ । राजनीतिक यात्रामा पनि उनको विशेष भूमिका रहेको पाइन्छ । पारिजात वि.सं. २०३५ र २०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन् । वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो । उनको आन्दोलन कविता निकै नै चर्चित कविता हो । जब जब मानिसहरू वा शोषित र उत्पीडितहरू आफ्ना हक, अधिकार, स्वतन्त्रता र पहिचानका लागि सडकमा उत्रन्छन् तब तब उनको आन्दोलन कविताको माग हुन्छ । मौन भएर बसेको यस कविताले आन्दोलनमा एक भाषा बनेर अग्र पङ्क्तिमा उभिएको भान हुन्छ । प्रस्तुत छ पारिजातको आन्दोलन कविता । आन्दोलन चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले हत्केलामा यसै निचोर्न सक्तैन एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । मण्डप भित्र मन्त्रहरूले कति दिन छलाउन सक्छ मुक्तिलाई के हो र मन्त्र मुक्तिको निम्ति ? लात्ते भकुण्डो होइन मुक्ति भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति होस गर्न पर्छ यस्तो सोच्नलाई मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन आकाश भरी पहिले बाटै तैनाथ गरेर छरिता बाजाहरूको जमातमा उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र काँक्रा र फर्सीका बिऊ जस्तो पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर मुक्तिका चाहनाहरू चुँडालेर कथित बलियो बन्धनबाट आँप, बेल र पिपलका रंगीचंगी पातहरूको । होस गर्न पर्छ यतिखेर निर्धाका मुटु निचोर्नेहरूले शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन् एकपछि अर्को लस्कर लागेर । मुक्तिको पक्षमा होस् वा शोषितको वकालत गर्नलाई होस्, पारिजातको आन्दोलन कविताले नेपाली साहित्यमा मात्र नभएर नेपाली राजनैतीक उथलपुथलमा समेत भूमिका खेलेको पाइन्छ । उनको याे कविता विभिन्न अङ्कमा छापिएका छन् । उनले प्रस्तुत कविता कुन मितिमा लेखिन् भन्नेकुरा चाहिँ गोप्य नै छ । वा भनौँ प्रथमपटक कहाँ र कहिले प्रकाशित भयो भन्ने ज्ञात नभए तापनि पारिजातका कविताहरू मा उनको आन्दोलन कविता भेट्न सकिन्छ । युवाकवि शरद ऋतुले बुझेकाे पारिजात र आन्दोलन कविताः कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जीलिङमा हुर्किएकी पारिजातको जीवन कुनै मिथक जस्तो लाग्छ । आदर्शजस्तो सुनिने सङ्घर्ष यथार्थमा नै उनको जीवनको पर्यायवाची थियो । अस्तित्ववादी, विसङ्गतिवादी कला–यात्राको रूझानदेखि जीवनवादी, प्रगतिशील विचार साहित्यसम्मको उनको यात्रा आफैँमा एउटा विशद ग्रन्थ हो र राजनीतिक/वैचारिक प्रगतिवादीहरूका निमित्त आदर्श संहिता पनि । रिमालको आमाको सपनाजस्तै पारिजातको सपना पनि उही छ, मुक्ति । आन्दोलन, सत्ताप्राप्ति र राजनीतिका विविध स्वार्थहरूका विशृङ्खल क्रीडाभूमि रहिआएको यो देशका सचेत, चेतनशील कवि,लेखकहरूको सपना र सङ्घर्ष सधैँ उही नै छ । प्रस्तुत कवितामा पनि उनी तमाम प्रकारका बन्धन, अव्यवस्था र अन्यायहरूका विरूद्ध मुक्तिको चाह राख्छिन् । मुक्ति अवश्यम्भावी छ । मुक्तिका चाहहरू काँक्रा, फर्सीका बिऊ जस्तो पट्ट फुटेर समयानुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् । बन्धन र अन्यायका प्रतिरोधमा लाखौँ स्पार्टाकसहरू लामबद्ध हुँदैछन् र एकदिन सबै जञ्जीरहरू चुँडालेर स्वतन्त्रताको गीत गाउनेछन् । शरद ऋतु पारिजातको जीवन–प्रवृत्तिमा मुखर भएर झल्किने न्याय–चेतना, जुझारूपन, साहस, अठोट उनका पछिल्ला रचनाहरूमा पनि समानधर्मी भएर देखिन्छन् । रायन, रामेश, मञ्जुल, निर्मल लामा, मोहनविक्रम सिंह लगायत अरू थुप्रै सङ्गत, अध्ययन र चिन्तनले जीवनमुखी विचारधाराप्रति एकनिष्ठ उनको जीवनको पछिल्लो कालखण्ड र रचनाधर्मिताले तमाम विपन्न, सर्वहारा, समाजको पिँधमा परेका वर्ग र जातिका लागि न्यायको आन्दोलनमा काँधमा काँध मिलाएर बढेको पाइन्छ । उनी कृत्रिम, मुर्दा शान्तिको पक्षमा होइन, जीवन झैँ गतिशील र शाश्वत न्याय, समानता र शान्तिको पक्षमा दृढ छिन् । उनलाई थाहा छ, शासकको कथित तानाबाना या छलछामहरूले मुक्तिको बाटो टाल्न/छेक्न सक्दैन । मुक्ति त्यति कमजोर या लाचार विषय होइन । जस्तोसुकै प्रतिबन्ध या रोकावट भए पनि मुक्तिकामी योद्धाहरू त्यसलाई परास्त गर्न सक्षम छन् या हुनेछन् । सतहमा जतिसुकै तरङ्गहरू थपिए पनि अन्तर्यको शासकिय प्रवृत्ति, राज्य या सत्ताको विभेदात्मक चरित्र विगतदेखि वर्तमानसम्म उस्तै जड नै छ । प्रखर समय चिन्तन र सत्योन्मुख जीवनवादी चेतनाले आलोकित रचनाहरू लामै काल–अवधिसम्म पनि आफ्नो अस्तित्व प्रमाणित गर्न सक्षम हुन्छन् । पारिजातका अन्य रचनाहरू जस्तै प्रस्तुत कविता वर्तमानमा पनि उस्तै समयसापेक्ष र सान्र्दभिक छ । यस्ता कविताहरूले परिवर्तनका लागि समय–समयमा उठ्ने आन्दोलनहरूमा र परिवर्तनकामीहरूको विचार निर्माणको तहमा पनि बलियो टेवा पुर्याउँछन् । कवि सरिता तिवारीका नजरमा आन्दोलन कविताभन्दा बाहिरकी पारिजातः नेपाली साहित्य लेखन र समग्र बौद्धिक आन्दोलनमा पारिजात एउटा युग हुन् । उनको युग असामान्य रूपले ठूलो बौद्धिक बहस र आन्दोलनहरूको कोलाहलले भरिएको म पाउँछु । २००७ सालको परिवर्तनपछि विश्वव्यापी बौद्धिक लहरले रन्थनिँदै लेख्नेहरूको नयाँ छिमलमा पारिजात अग्रणीमध्ये एक रहिन् । लेखन र सामयिक बहस दुवैमा युग निर्माण र संक्रमणको नेतृत्व गर्ने पात्रका रूपमा पारिजातको उपस्थिति धेरै नै उम्दा रह्यो । यसमा फरक मत छैन । सरिता तिवारी पारिजातले किशोरी उमेरदेखि नै कविताहरू लेखिन् । सुरुका कवितामा उमेरजन्य सहज, स्वभाविक प्रेम,प्रणय र वियोगका भाव नै आए तर समयक्रममा उनका कविताले एकालापीय बौद्धिक संवाद गर्न थाले । पहिलो कविता संग्रह ‘आकांक्षा’ देखि जीवनको उत्तराद्र्धसम्मका कविताको विचार, संरचना र बुनोटसम्मै पारिजात अरु विधामा जस्तै आयमिक छिन् । राजनीतिक चेतना र सामाजिक बोधको तहमा पुगेर लेख्न थालेपछि उनको मुखरता झनै स्पष्ट र खरो हुन्छ । स्वच्छन्दातावादी वा अस्तित्ववादी,शून्यवादी दर्शनले प्रेरित भएर लेखिँदाका उनका कविता जति आत्मकेन्द्रित र निजी छन् । जीवनका सामुहिक संघर्ष र उद्वेलनले प्रेरित भएर लेख्न थाल्दाका कविताको भाव ठीक विपरीत छन् । प्रेमसँगै प्रणय र दुरन्त साथको अपिल गर्ने सुरुका कवितामा उनलाई कसैकी प्रेमिका र स्वास्नी बन्ने चाहले आत्मसमर्पित मुद्रामा उभ्याइदिएको जस्तो लाग्छ । जस्तो कि– प्रिये, आज मैले जीवन बिसर्जन गरेँ के मलाई समात्न दिन्नौ सम्झनाको त्यो झिनो धागो जसमा झुण्डिँदै झुण्डिँदै मैले अन्तिम सास निभाउनु छ?( आधार) यही संग्रहको अर्को एउटा कवितामा उनी भन्छिन् म तेरै आत्माको अनन्त साथी तेरै सिन्दूरकी दीर्घपथगामिनी (सिन्दूरको आकांक्षा) विचारबोधका आयमिक यात्रामा उनका शब्द फेरिन थाले तर ती घोर एब्सर्डिटीले कुँदिएका छन् । अस्तित्वचिन्तन र मृत्युबोधको गहिरो भावनात्मक दवाबमा लेखिएका कविता हुन् ,यी जहाँ उनी भन्छिन्, यो होशको संसारमा मभित्र कोही मरिरहेछ (पागल हुन्छु कि) ‘ लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र ’ यस्तै भावको उत्कर्ष अभिव्यक्ति हो । पछिल्ला कविता सबैभन्दा बढी जीवनप्रतिको लालसा र सामुहिक लडाइँको प्रतिबद्धताले भिजेका छन् । उनको व्यक्तिगत जीवनजस्तै छ कवितामा बाँचेको शब्दको जीवन पनि । यही चरणमा आएर उनले ‘मानुषी’ जस्तो युगान्तकारी कविता रचिन् । बैंसालु वर्तमान कवितासंग्रह उनको वैचारिक जीवनको पछिल्लो मेनिफेस्टो नै हो भन्दा हुन्छ । ‘म कोलाहल जन्माउन खोज्दैछु’, ‘तिमी मान्छेका जात हाै’,‘एउटा स्वास्नीमान्छेको अन्तर्वार्ता’, ‘एउटा तारा जलेरै आउनुपर्छ’ जस्ता कविता उनको वैचारिक कायाकल्पका प्रमाण हुन् । म समीक्षक होइन, शब्दशक्ति र भावको गुणदोष मात्रै खुट्याएर पढ्न, म आफूभित्र एउटा कविलाई जिउँदो राखेर कविता पढ्न रुचाउँछु । विचारका हरेक आयामकी पारिजातलाई म समान प्रेमले पढ्छु तर चेतना बनाउने तहमा उक्लेकी पारिजात मलाई विशेष लाग्छिन् । कसैलाई पढ्न सिफारिस गर्नुपरे म ‘बैंसालु वर्तमान’ रोज्छु । #पारिजात
एनएलजी कलाश्री सिर्जना पुरस्कार सुरेश हाचेकालीलाई: साहित्यपोस्ट नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिकाको २०७७ सालको अङ्क प्रकाशित भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको हो । नेपालको साहित्यिक पत्रकारितामा नै उत्कृष्ट मानिने ‘कलाश्री’को नयाँ अङ्क हालै राजधानीको पानीपोखरीस्थित एनएलजीको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको हो । सो अवसरमा एनएलजी कलाश्री सिर्जना पुरस्कार कवि तथा समालोचक सुरेश हाचेकालीलाई समर्पण गरिनुका साथै विशेष शान्ति कविता गोष्ठीसमेत आयोजना गरिएको थियो । ‘कलाश्री’को नयाँ अङ्कमा प्रकाशित विशिष्ट सिर्जनाहरूमध्ये विशेष ठहरिएको हाचेकालीको समालोचनात्मक सिर्जनाले उक्त पुरस्कार प्राप्त गरेको हो । पत्रिकामा हाचेकालीले सरुभक्तको अहंवादसम्बन्धी सिद्धान्तलाई आधार मानेर सिर्जना गरिएको समालोचना समाविष्ट छ । नेपाली कलासाहित्य डटकमले विगत १७ वर्षदेखि निरन्तर नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा विशुुद्ध कलासाहित्यिक वार्षिक ई–पत्रिका पनि प्रकाशित गर्दैआएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले साहित्यपोस्टसँग बताइन् । सो ई–पत्रिका पनि सोही कार्यक्रममा प्रमुख इन्स्योरेन्सका सिइओ सुनिलबाबु पन्तले सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवम् कवि तथा गीतकार एस्पी कोइराला भने, “नेपाली साहित्यको समृद्धिमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको उल्लेखनीय योगदान रहेको छ ।” समारोहमा विमल कोइराला र पन्तले पनि बोलेका थिए । बुद्धजयन्तीको सन्दर्भसमेत जोडेर आयोजित विशेष शान्ति कविगोष्ठीमा कविहरू डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला, शशी लुमुम्बू, केशव सिग्देल, फूलमान बल, मणि लोहनी, अरुण वैद्य, महेश पौड्याल, राजेश्वर कार्की, सविता गौतम, अनुपम रोशी, हाचेकाली र प्रज्वल अधिकारीले शान्ति विषयमा सिर्जना गरिएका आआफ्ना कविता पाठ गरेका थिए । कलाश्रीमा नेपाल तथा नेपाल बाहिरका स्रष्टा र विदेशी स्रष्टाका समेत गरी करिब तीन सय स्रष्टाका कथा, कविता, लेख, निबन्ध, संस्मरण, समालोचना लगायतका सामग्री समाविष्ट छन् । #कलाश्री #सुरेश हाचेकाली
काल आइहाल्छ: तपाईंँ जतिसुकै ठूलो अस्पतालको ठूला डाक्टरहरू छेउछाउ राखेर सुनका बढेमानका ढोकामा चुक्कुल लगाएर भित्रै बस्नुस् न ! काल आइहाल्छ क्यारे ! काल आउन आकाश खस्नु पर्दैन धरती भासिन पर्दैन समुन्द्र सुक्न पर्दैन हावा रोकिनु पर्दैन । तपार्इँ सिंहदरबार भन्दा पनि चिटिक्क परेको ठूलो भिमकाय पर्खालले घेरेको मगमग बास्ना चल्ने दरबारभित्र हजारौं सैनिकको सुरक्षित घेराभित्र श्रीपेच नै लगाएर बस्नुस न काल आइहाल्छ क्यारे ! तपाईंले विश्वास गर्नुभएन पख्नुस म एउटा उदाहरण दिन्छु “दुर्गमको मेरो सानो झुपडीमा परार मेरि आमा खुसी चिरा परेर दुख्दा, महिनौं छ्ट्पटाउदै बसिन् तर औषधि दिन कोही आएनन् त्यसै साल मेरा बा आफ्नै आँसुको बाढीमा डुब्दा पौडी खेल्न नजानेर बग्दै बग्दै विलीन भए तर उदार गर्न कसैका हेलिकप्टर आएनन् पोहोर मेरी बहिनीले भाइटिकामा आफैँले बुनेको मखमलिको माला आफ्नै घाँटीमा झुण्डयाएर आत्महत्या गरिन् पोष्टमार्टम गर्नुपर्छ भनेर लास उठाउन कोही आएनन् । कोही आउनै चाहेनन् । मेरो झुपडी सानो छ ढोकाबाट छिर्दा टाउको ठोकिन्छ अँध्यारो छ दुर्गन्धित छ त्यसैले कोही आउनै चाहँदैनन् तर तपाईँको दरबार त ठूलो छ मगमग बास्ना चल्छ उज्यालो छ सुगन्धित छ आकर्षक छ जो पनि आउन चाहन्छन् कोही आउनै नचाहने दुर्गमको मेरो सानो दुर्गन्धित झुपडीमा त आयो काल । जो पनि आउन चाहने तपाईंको आकर्षक दरबारमा तपाईं ढुक्क भएर बस्नुभा छ जतिसुकै सुरक्षित घेराभित्र ढुक्क भएर बस्नुस् न काल आइहाल्छ क्यारे । #काल आइहाल्छ #केशव गजुरेल
आँखाहरू: कसैलाई कोमल लाग्ने यी आखाँहरू जसले देखिसकेको छ एउटा रात अलप हुनुपूर्व समुन्द्रमा नुहाउँदै गरेको जुन जसले देखिसकेको छ वरको लहरामा झुण्डिएर चरा जस्तै उड्ने प्रयत्न गरिरहेका बच्चाहरू जसले देखिसकेको छ आफ्नै जीवनको किनारामा डुङ्गा बाधिरहेको माझी जसले देखिसकेको छ वेदनाको मोटो पुस्तक बोकेर भट्टि छिर्ने आकस्मिक पाहुनाहरू । कसैलाई कठोर लाग्ने यी आँखाहरू जसले देखिसकेको छ खतरनाक रोगले ग्रसित बन्दै गएको यो देशको शाषक जसले देखिसकेको छ सभ्यताको पुरानो विज्ञान बोकेर हिँडेका आदिवासीहरू जसले देखिसकेको छ अस्तित्वको निम्ति द्वन्द्व गरिरहेका दुर्लभ पुतलीहरू जसले देखिसकेको छ भोकले पेट मिचिरहेका बुद्दका मुर्तिहरू जसले देखिसकेको छ छुरा बोकेर स्वागतार्थ उभिएका फूलहरू कसैलाई प्रेमिल लाग्ने यी आँखाहरू जसले देखिसकेको छ मध्यरातमा सेतो फ्रक लगाएर नाचेर हिँड्ने सुन्दर युवतीको प्रेतात्मा जसले देखिसकेको छ बाथ ट्युबको तातोपानीमा उत्तानो पल्टिरहेकी कुनै स्त्रीको नाङ्गो शरीर जसले देखिसकेको छ कुनै काल्पनिक टापुको मोनास्ट्रीमा निदाइरहेको फकिर जसले देखिसकेको छ घाइते इतिहास बोकेर बिक्रीमा बसेको पुरानो थाङ्का । कसैलाई कुरुप लाग्ने यी आँखाहरू जसले देखिसकेको छ घाटको छेउमा आगो बेचिरहेका पुजारीहरू जसले देखिसकेको छ अल्लाहले आत्महत्या गरेको मस्जिदमा उठेको मिनार जसले देखिसकेको छ अगरबत्ती जलिरहेको मन्दिरमा गुम्बज जसले देखिसकेको छ बतासलाई कुल्चिएर आकाश छुदै गरेका कलश । यी सबै सबै दृश्यहरू देखिसकेका यी आखाँहरूलाई कहिल्यै नझिम्किने गरि एकदिन लामो विश्राम त दिनु छ नै । तर विश्राम दिनुपूर्व अन्त्यमा म यी नै आँखाहरूले हेर्न चाहन्छु संसारलाई दासी बनाएर बसेको ईश्वरको आँखाबाट खसेको एक थोपा आँसु । #आँखाहरू #दिलिप कुवँर
कोरोनाको चपेटामा यौनकर्मीः हाम्रो नजर कहिले बद्लिन्छ ?: गतवर्ष डिसेम्बरमा चीनको हुवान प्रान्तमा पहिलोपटक देखिएको कोरोना भाइरस हेर्दाहेर्दै विश्वभर कुनै विश्व प्रसिद्ध कम्पनीको पोडक्टजसरी फैलियो । कोरोनाको असर स्वास्थ क्षेत्रमा मात्र नपरेर यसले विश्व अर्थतन्त्रमा पनि ठूलो क्षती पुर्यायो । यसको औषधी अझैसम्म पनि पत्ता लागिसकेको छैन । अनुसन्धान र अनेकन अड्कलहरूका बीचमा धेरैले धेरै विषय उठाएर बोलेका छन् । कोरोनाको चपेटामा पर्यटन क्षेत्र सायदै सबैभन्दा बढी धरासायी । अधिकांश होटल र ट्राभल्स त उठ्नै नसक्ने स्थितिमा रहेको पाइन्छ । बैंकक जस्तो देशको अवस्था के भयो होला सोच्नूस् त ! जसको अर्थतन्त्र नै पर्यटनले धानेको छ । अझ यौनकर्मीले धानेका छन् भन्दा पनि फरक नपर्ला ! कृषिप्रधान देश भनिएता पनि पर्यटनको उत्तिकै सम्भावना हाम्रो देश हाम्रो पनि हो । कोरोनाको कारणले पर्यटन व्यवसाय र यस क्षेत्रबाट जीविका चलाइरहेका ठूलो श्रमशक्ति विस्थापित हुन पुगेको छ । यही कारण हो कि, भ्रमण वर्षको उद्घोषले केही चहकिलो भएको हाम्रा अनुहारले फेरि धमिल हुनुपर्यो । रूपक अधिकारी निजि क्षेत्रका कामदार सबैभन्दा बढी मारमा छन् । निजि क्षेत्र धरासायी भएपछि त्यसको प्रत्यक्ष असर कामदारले नै भोग्ने हो । निजि क्षेत्रमा रोजगार गुमाउनेको बारेमा धेरैले धेरैपटक लेख्दा कसैको कलम पनि यौनकर्मीको कोठातिर घुमेको पाइनँ । मेरो एक नजिकको मित्रले यस विषयमा मेरो ध्यानाकर्षण गराउँदै भने, “यौनकर्मीको बारेमा केही लेखन केही ।” तर के लेख्ने ? कसरी लेख्ने ? गम्भीर कुरा थियो । यौनकर्मी भन्नेबित्तिकै हामी पैसा लिएर यौनकर्म गर्ने बुज्दछौँ । तर यौनकर्मी यौनचाहनाका सारथी मात्र हैनन् । यौनकर्म त उनीहरूको काम मात्र न हो, जस्तो म यहाँ उनीहरूमाथि लेख्ने काम गरिरहेको छु । तर कसले बुझ्ने ? हाम्रो देशमा यौनकर्मीलाई हेर्ने दृष्टिकोण देख्दा पनि उदेक लाग्छ । यो त्यो समाज हो जहाँ साँझमा कुनै होटलको मैलो कोठामा यौनकर्मीको शरीरसँग खेलेर भोलिपल्ट सभ्य नागरिकको बहसमा निस्किन्छ भलाद्मी । त्यस्तो समाजमा उनीहरूका सुख दुःखका बारेमा बोल्नु वा लेख्नु चानचुने कुरा हैन । हाम्रो समाजमा ज्यालादारी मजदुर र यौनकर्मीको अवस्था लगभग उस्तै छ । दयनीय । यौनकर्मी अर्थात् हाम्रो जरुरतको साथी तर हामी त्यति सजिलै यो कुरा स्वीकार्दैनौँ । हाम्रो साथी महिला र पुरुष दुबै हुनसक्छन् तर यौनको कुरा आउनेबित्तिकै हाम्रो समाजमा महिलालाई मात्र हेयको दृष्टिले हेरिन्छ । लाग्छ, महिलाहरू मात्र उपभोगका वस्तु हुन् । उनीहरूमा यौनको चाहाना हुनु वा देखाउनु असामाजिक हो । अझ यौनकर्मीका बारेमा गरिने कुरा र चियागफ होस् वा भट्टी गफमा प्रयोग गरिने शब्दहरू नै होस्, सुन्दा लाग्छ- यौन पुरूषहरूको मात्र मुद्दा हो । चाहाना र इच्छा हो । यौनकर्मी महिला र पुरुष दुवै हुन्छन् । हाम्रो समाजमा पनि दुवैथरिका यौनकर्मी रहेको अध्ययनले देखाउछ । तर यो बिषयमा कोही पनि खुलेर कुरा गर्दैनन् भलै अधिकतम महिला वा पुरुषले यौनकर्मीको साथ लिएकै हुन्छन् । यौनकर्मीको पनि आत्मसम्मान हुन्छ भन्ने चेत हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । जुन लज्जाको विषय हो, कमसेकम मेरा लागि । यौनजन्य गतिविधिबाट दैनिकी चलाउने वा यौनकर्मलार्इ नै पेशा बनाएकाहरू यौनकर्मी हुन् । मान्छे, अझ हाम्रो समाज यौनका कुरामा बहस गर्ने ल्याकत राख्दैन । यौन जघन्य अपराध भएझैँ व्याख्या गर्छ । यस विषयलार्इ रहस्य बनाउन चाहान्छ । तर फोनमा वा सन्जालमा यौनजन्य कुराकानी गरेर आफ्नो शरीरको गर्मी पखाल्न पनि लागिपर्छ । जुन यौनकर्म हो । यसरी हेर्दा हाम्रो स्वभावमै यौन छ । तर यौनकर्मीको पनि आत्मसम्मान हुन्छ भन्ने चेत हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । जुन लज्जाको विषय हो, कमसेकम मेरा लागि । यौन पेशा, सेवा वा व्यवसाय के हो ? कसैले खुलेर भन्न सकेको अवस्था छैन । सायद त्यही भएर हुनुपर्छ यौनकर्मीहरूको कोठामा हामीमध्ये धेरैको कलम पुगे पनि संवेदना पुग्न सकेको छैन । के यौनकर्मीहरू मानव हैनन् ? उनीहरूको संवेदना र आत्मसम्मान केही पनि हुँदैन ? के उनीहरूको जीवनमा बन्दाबन्दीले केही प्रभाव पारेको छैन ? कसैको दुखदायी जीवनमा निमेषभर भए पनि खुसीको अनुभूति दिलाउने खुबी भएका यौनकर्मी मेरो नजरमा भगवानभन्दा कम छैनन् । सरकारले वैधानिकता दिएका मुलुकहरूमा पनि यो बन्दाबन्दीमा यौनकर्मीहरूको बारेमा कसैले चासो लिएको पाइँदैन । अझ नेपालको हकमा त यौनकर्मीलाई अपराधीको नजरमा हेर्ने गरिन्छ । कसैको दुखदायी जीवनमा निमेषभर भए पनि खुसीको अनुभूति दिलाउने खुबी भएका यौनकर्मी मेरो नजरमा भगवानभन्दा कम छैनन् । किनकि उनीहरू मात्र यस्ता पात्र हुन् जो धोका दिँदैनन् र सबैभन्दा बढी पीडित पनि छन् । केही समयअघि संसदमा समेत उठेको कुरा आज किन कसैका ओठमा छैनन् । के यौन राजनीतिक प्रश्न मात्र हो ? वा यौन पितृसत्तात्मक सोचको कुन्ठा हो ? केही समय पहिले मैले आफ्ना फरक तीन यौनकर्मी साथीसँग कुराकानी गरेको थिएँ, जसमध्ये पुरुष यौनकर्मीको जीवन केही सजिलो थियो । महिला यौनकर्मीले सुरक्षाको अनुभूति गर्दैनन् र तेस्रो लिङ्गी साथीको अवस्था सबैभन्दा दयनीय छ । यसमा म आफैँले गर्न सक्ने कुरा धेरै केही छैन, तर पनि उनीहरूसँग खुलेर मत्रवत् कुरा गर्छु, यसैमा उनीहरू अनुहारमा खुसीको खुसी फुलाउँछन् । यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् । तर यसले यौनकर्मीहरूको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् । तर यसले यौनकर्मीहरूको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । यस मुश्किल घडीमा उनीहरूको बारेमा बोल्ने कोही पनि छैनन् । मलाई लाग्छ, यस विषयमा खुलेर गर्नुपर्छ र एउटा निचोडमा पुग्नुपर्छ भन्ने लाग्छ । यो समाज यति सजिलै सुधारको बाटोमा हिँड्नेवाला छैन, किनकि यहाँ नेपोटिज्ममा (नातावाद) बहस हुन्छ । र बहस गर्नेहरू नातावादले नै त्यो स्थानमा बसेका हुन्छन् । जसरी पिढी दरपिढी अन्धविश्वासको हद बढ्दै गएको छ, त्यसरी नै यौनकर्मीप्रति हेर्ने नजरिया पनि कायमै छ । म चाहन्छु कि मानवसभ्यताको सुरुवातसँगै हुर्किएको यौनकर्मलाई हेर्ने नजिर बदलियोस् । अब यौनकर्मीहरूको जीवनमा लामो समयदेखि लागेको लक डाउन फुकुवा होस् । #यौनकर्मीः #रूपक अधिकारी
नवपुस्ताः कसैलाई पिसिआरभन्दा पहिले आँखाको चिन्ता, कसैलाई अर्थतन्त्र र राजनीतिमा चासाे: ओजस्वी आचार्य: “भारतले गरेको अतिक्रमणले मभित्रको देशभक्ति र न्यायबोधमा तरङ्ग थपिदियो।” ओजस्वी आचार्य मुहारमा अन्योलता, अगाडि ‘वाटर सप्लाई इन्जिनियरिंग’को मोटो किताब, र आँखाभरि फेसबुकको नोटिफिकेसन प्यानल; यही अवस्थामा इन्जिनियरिंग अध्ययन संस्थानको “चैत्र ६ गतेदेखिको परिक्षा अर्को सूचना नआउँदासम्मको लागि रद्द ।” भनेर आएको सूचनासँगै मेरो पर्सनल लकडाउनको समय सुरु भएको थियो । संयोग भनौं वा विडम्बना, हाल यो लेख्दै गर्दा पनि टियुले केही दिनअगाडि रोकिएका परीक्षा भाद्रमा हुने भनेर निकालेको सूचनाले म ठ्याक्क उही अवस्थामा छु ।अन्योलता, अगाडि उहीँकिताब, र ध्यान फेसबुकका खबरहरूमा । लाग्छ, टियुले एक सेमेस्टर सकिने समयमा एउटा चक्र भने पूरा गरिदियो। विद्यार्थीको परिचयमा बाँधिएका हामी अहिल्यै एउटै खुड्किला रोकिएका छौँ। अहिले यी दुई समरूपी विन्दुहरू बीचको समयलाई फर्केर हेर्दा, धेरैजसो विद्यार्थीको झैँ मेरो सिर्जनशीलता पनि केहीहदसम्म टियुको अनिर्णयको मारमा परेको छ। यसका बावजुद पनि यो लामो फुर्सदलाई समय सार्थक र उपयोगी बनाउन मैले धेरै प्रयास गरेँ। हाल विश्वको भयाभह स्थिति र विक्षुब्ध समाजको हरेकको मानसिकतामा गहिरो प्रभाव पारेको छ। यस्तो बेला मेरो सबैभन्दा ठूलो उपलब्धी अाफूलाई मानसिक रूपमा स्वस्थ बनाउनु नै हुन्छ। ठूलो परिवारको उपस्थितिमा रहनु र निरन्तर सुन्दर बेनी बजारवरिपरि वेगसँग हुत्तिने पवन, हँसिला पहाड, स्वतन्त्र कालीगण्डकी, निश्चल झरनासँगको निरन्तर अन्तरक्रियाले काठमाडौँको जीवन्त वातावरणको कमी हुन दिएन। साथै बेनीमा समयसँग थपिएको नयाँपनलाई निहाल्नु र बाल्यकालको स्मृतिका भिज्नुले पनि मभित्र उमंग थपिदियो। यानी अल्बर्सले भनेकी छिन्, “कला त्यो हो जसबाट तिमीले एक फरक सुखको सास फेर्ने छौँ।” उनको यो भनाइलाई नै मेरो समयले समात्यो। म कलाको विभिन्न विधाको नजिक रहेर जीवनलाई नयाँ ढंगले अध्ययन गर्न चाहन्छु। चाहे प्रकृतिको अद्भुत कला होस्, वा हामी मानवहरूको शैलीद्वारा रचित सुन्दर कला। एउटा कलम वा एउटा चलचित्र वा एउटा किताबमा मात्र पनि जीवनको महिमालाई उदाहरणीय तरिकाले प्रतिबिम्बित गरेको हुन्छ। कतिले एउटा किताबमै जीवनका उत्कृष्ट सार भेटेका हुन्छन्, कतिले किताबबाट नै जीवनको रहस्य छामेका छन्। त्यसरी नै साहित्य, संगीत, चलचित्र, खेलकुद र कलम, यी नै मेरो समयको अभिन्न सहयात्री बने र मेरो दुरुस्तताको कारक पनि। फुर्सदको बेलामा केही कविताहरू लेखेँ, प्रकृतिलाई सम्झेर लेखेँ, समाज सम्झेर लेखेँ, प्रेम सम्झेर लेखेँ, राजधानी सम्झेर लेखेँ, समय सामान्य नभए पनि कविताबाट नै मेरो आमजीवन बाचेँ भन्दा अतिशयोक्ति नहोला। भिन्नभिन्न भाषाका चलचित्रहरू पनि हेरियो। मलाई विशेषगरी क्राइम, थ्रिलर, मिस्ट्रीका मुभी मन पर्छन्। तर अहिले सबै जनराका मुभीहरूलाई चाख्ने मैका पाए। Dead Poets Society, Good Will Hunting जस्ता मुभीले मनलाई नयाँ उर्जा दिए, जिन्दगी जिउने नयाँ शैली सिकाइदिए र परिवेशहरूलाई नयाँ कोणबाट विश्लेषण गर्न बाध्य बनाए । हेर्न मन लागेका तर नहेरेका मुभी कुनै बाँकी छोडिएन। अहिलेको स्थितिले निम्त्याएको ठूलो समस्या भनेको डिप्रेसन र मानसिक रोग हो। यसबाट म आफू प्रभावित नभए पनि आफ्नै उमेरका साथीसंगी यसको चपेटामा परेको देख्दा मन खिन्न भइरह्यो। त्यसमाथि केही ठूला र सम्माननीय नामहरूले समेत यसबाट उम्कन नसकेको समाचारहरू दिनदिनै आइरहेका छन् । यस्तो अवस्थामा म आफू एक जिम्मेवार नागरिक र संवेदनशील मानिस भएकाले मैले यस विरुद्द केही गर्नुपर्ने सोच बनाए । यसैको लागि काठमाडौँ भ्याली लिओ क्लबको प्रोजेक्ट मन-मस्तिष्कको माध्यमबाट आफूजस्तै युवाहरूलाई कला साहित्यको क्षेत्रमा आफ्नो मन र मस्तिष्क संलग्न गराइराख्न प्रोत्साहन गर्नका निम्ति केही कार्यक्रमहरूमा क्रियाशील भएँ। आफ्नो भावनात्मक स्थिरता र स्वस्थतामा पनि यो क्रियाशीलताले मदत गर्यो। अध्ययनका लागि पनि यो परिवेशले साथ दियो। मुख्यतः अर्थशास्त्र अध्ययनमा नै मेरो समय बित्यो।पहिल्यैदेखि रुची भए पनि समयको अभावमा अध्ययनको मौका मिलेको थिएन, कोभिडले भनौं वा आफ्नो रुचीले हो, जुराइदियो।यसले मेरो प्रत्येक विचारहरु र अनुभवमा एउटा नयाँ आर्थिक कोण थपिएको आभाष हुन्छ। एक आमनागरिकको जीवनमा अर्थशास्त्रको यो व्यवस्था कतिसम्म सम्बन्धित रहेको छ र यसले कसरी हामीले बोक्ने विचारहरूलाई असर गरको छ जस्ता कुराहरूसँग सचेत भए। अर्थशास्त्रको पूर्ण अन्धकारबाट थोरै उज्यालोतर्फ अग्रसर रहेर चालेको यो पाइलालाई उपलब्धी नै मान्छु। यसबाहेक करिब आधा दर्जन जति अंग्रेजी र नेपाली साहित्यका किताब पढेँ । राजनीतिले पनि यो समयलाई उति निष्कृय हुने ठाउँ दिएन। भारतले गरेको अतिक्रमणले मभित्रको देशभक्ति र न्यायबोधमा तरङ्ग थपिदियो। नयाँ नक्साको समर्थनका लागि सामाजिक सञ्जालबाटै भए पनि सहभागीता र हौसला देखाइयो। अभियान पूर्णरूपमा सफल हुन त अझ कैयौँ वर्ष, देशले आजसम्म नदेखेको साहस र सैयौं विभुतिहरूको देशभक्ति चाहिएला तर जे सुकै होस्, अभियानले देशको माया ब्युँताइदियो, केही साथीहरू जुराइदियो र सबैभन्दा महत्वपूर्ण केही सिकाइदियो। अहिले पनि फर्केर हेर्दा यी चार महिनामा अझै केही बढी गर्न सकिन्थ्यो कि झैँ भने लाग्छ, केही समय अझ सिर्जनशील हुन सक्थेँ । तर मस्तिष्कमा रहेको नवीन ज्ञानले कुनै कुराको पछुतो हुन खासै दिएको छैन न त यो समयबाट व्यक्तिगत रूपमा कुनै गुनासो छ। स्थिति छिटै सहज होस्, सबै स्वस्थ हुन् र काठमाडौँमा बर्षामा रुझेको परिवेशमा फेरि उसैगरी छिट्टै घुम्न सकियोस् भन्ने अग्रिम चाहना छ। विश्वास पौडेल : “ अब पिसिआरभन्दा पहिले आँखाको जाँच गराउनु छ । “ विश्वास पौडेल राजधानी विद्यार्थीको रहर हैन बाध्यता हो । मलाई यस्तै लाग्छ । मेरो गाउँकै ठूलो विद्यालयमा व्यवस्थापन संकायको पढाइ गराउन भव्य पुराणको आयोजना गर्न परेको तितो वास्तविकताले धेरै अर्थ बोकेको छ । समाजको । प्रवृत्तिको अनि शिक्षा र चेतनास्तरको । सहर, रहर, बाध्यता र वास्विकतामा कतै रूमलिरहको जीवन र दैनिकीलाई एकपल्ट नजिकैबाट नियाल्ने मौका लक डाउनले दियो । चैत्र ५, नाइट गाडीमा काठमाडौंबाट झापा आउँदैगर्दा सायद थानकोट नकट्दै पत्तो पाइयो, अब सबैकुरा बन्द हुँदैछ, चाँडै नै बन्दाबन्दी हुनेछ । घर बसाइ लम्बिने निश्चित भयो । गदगद हुँदै थियो कताकता मन । मनोवादमा “आफ्नै मस्तिष्कले “२ जोर लुगा बोकेर पुस्तक सबै काठमाडौँ राखेर घर हिडेंको भेटिस् अब !” भनेजस्तो लाग्यो । “काठ्माडौँमा फोहोर जता पनि हुन्छ, यो सरकारले व्यवस्थापन नै गर्दैन” भन्दै पोटेटो चिप्स खाएर खोलचाहिँ कमलविनायक जाने बसबाट हुँइक्याउने म नै हो । तर अब म असल नागरिक भइसकेको छु । म काहीँ हिँड्ने छैन । किन हिँड्नु र ? बल्ल बल्ल त आराम भएको छ । सहरको हतासबाट । भीडबाट, प्रदुषणबाट । निष्ठुर सहर ! कोरोनाको कहर विस्तारै बढ्दै गइरहेको थियो विश्वमा । हाम्रा देशका निकै विज्ञ सम्माननीय व्यक्तित्वले भनिदिए, “नेपालमा कोरोना छैन, कोरोनामुक्त देश हो नेपाल ।” त्यसैले मैले पनि घमण्डका साथ लेखिदिए फेसबुक स्टाटस, “ पशुपति पुगेर बाग्मती पुलमाथि मास्क खोल्दै उसले भन्यो, ‘लास जलेको अत्तरमा अयचयलब बाँच्न सक्दैन ।’ जय भोलेनाथ ।” यसबेलासम्म मेरो देश यही आशाको त्यान्द्रोमा बाँचेको थियो । आर्याघाटमा जीवन थियो, आशा अनि भरोसाको । यो अन्धभक्ति थियो या अन्धोपनको भक्ति ? सरोकारवालाको काम देख्दा आज भोट खसाल्ने हातको चोइटाले खाना पकाएर नि नखानु जस्तो लाग्छ । घर पनि आइयो । २ –४ दिन आराम भएपछि पुलकित पनि भइयो । तर, घरको जेठो छोरो, पढाइ पनि अन्तिम वर्षमा पुर्याएको, परिस्थितिले जिस्काउन थाल्यो । बढ्दो अभाव र आपूर्तिको खाडलले काउकुती लाग्न थाल्यो । जीवन यस्तो मोडमा आएर अडियो कि गरेर खान पनि नपाइने र नगरी खान पनि नपाइने । आमाको छातीमा निकै समस्या भइसकेको रहेछ । यदाकदा दशैँमा मात्र घरमा आउँदा छोरा देख्दाको आनन्दले हो या दशैँमा अभावका अरू पीडा अझ सतही भएकाले हो, यो विषय ओझेल परेको थियो । धेरै दिनको घर बसाइमा यो समस्या लुकेन, लुक्न सकेन । स्कुटर किन्न पाए यो घाममा यत्ति साह्रो हुन्थेन । दैनिक ८–९ कि.मी. स्कूलसम्म साइकल चलाएर पुग्न निकै गाह्रो पर्न थालिसकेको कुरा आमाको ढल्कदैगएको उमेरले पनि प्रष्ट पार्छ । समाधान खोज्न आमाहरू पहिलैबाट सिपालु हुन् । तर यो समाधान मेरै कारणले अड्केर बस्यो । मन अमिलो भयो । कहिलेकाहीँ यसो साथीहरू भेला हुँदा खेलेको म्यरिज तासमा हारेको पैसाले पनि मस्तिष्कमा ताण्डव नृत्य गर्न थाल्यो । कतै म यो पसिनाको अवमूल्यन त गरिरहेको छैन ? पुरानो डायरी पल्टाएँ एकदिन । कक्षा दशको बिदाइमा स्कूलले दिएको सम्झना, जसमा सहपाठीहरूले आफ्ना भावना लेखेका छन्, विचार पोखेका छन् । पल्टाउँदै गएँ । सकिए । म खासै पपुलर रहेनछु, धेरैले भरेनछन् । आज ती खालीपाना भर्ने साथी पनि सम्पर्कमा छैनन् । बिर्तामोड पनि सहर न हो । त्यो पनि निष्ठुर नै छ । चित्त बुझाएँ । कोरोना संक्रमितको संख्या ५-१० भन्दाभन्दै सय, हजार हुँदै लम्कदै छ । ज्यान गुमाउनेको संख्या पनि बढ्दै छ । सरकारमा भ्रष्टचार संस्थागत भएर सामान्य रितझैँ भइसकेको छ । खाडीमा पिल्सिएका युवाको रेमिट्यान्समा करोडौँका कार्पेट फेर्ने सरकारबाट राहात र उद्धारको आश राख्नु मूर्खताबाहेक केही होइन । अनलाइन पढाएजस्तो गरेर लाखौंको बिल पठाउन उद्दत निजी संस्थानहरूको त झन के कुरा गर्नु ? अध्यादेशदेखि राजीनामा मागसम्म आइपुग्दा राजनीतिले लाज पचाइसकेको छ । १० वर्षे जनयुद्धको जन्मभूमि रूकुममा जातीय हिंसा भड्किएर प्रेमीको हत्याले गणतन्त्रमात्र नभई हाम्रो समाजको धरातललाई उदाङ्गो बनाइसकेको छ । श्वास गन्हाइसक्दा पनि मञ्जनलाई दोष दिने नेतृत्वको दुःख देखेर कुन युवा सडकमा ननिस्केला ? बालुवाटारमा पानीको फोहोरा खाएर माइतीघरमा फूल बाँढ्ने युवाबाट अभिभावक सरकारले आजसम्म पनि केही पाठ सिकेको छैन । भ्रष्टचार संसदमा सुट र टाईमा मग्न हुँदा अव्यवस्थित क्वारेन्टिनमा बलत्कार हुनु र बढ्दो आत्महत्यामा सहसम्बन्ध नदेख्नु बयलगाढाको दोष हो, जसमा चडेर अमेरिका पुग्न सम्भव छैन । लक डाउन सकिएको घोषणा भयो । लकडाउन किन गरिएको थियो ? किन सकियो ? यी प्रश्न अझैं पनि मस्तिष्कमा खेलिरहन्छन् । विचाराधिन मुद्दामा बोल्नु राम्रो होइन । तर, रञ्जन कोइराला एकदिन पनि जेलबाहिर निस्कनु भनेको अर्की चेलीको आयु घट्नु हो । सरकारका तीनै अंग गलेको व्यवस्थामा आफ्नो भविष्य अन्योल देखिरहेको मैले अब जताततै बेथिति, अनियमितता, अनिर्णय, दण्डहिनताबाहेक केही देख्नै छाडेँ । सायद मलाई मोतिबिन्दु नै भएको छ । साँच्चै, अब पिसिआरभन्दा पहिले आँखाको जाँच गराउनु छ । #ओजस्वी आचार्य #नवपुस्ता #विश्वास पौडेल
अस्तित्व खोज्न निस्कियो 'डुमेरो': पब्लिकेसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ । यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अँगालेको छ । गौतमले पत्रकरिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गरेकी हुन् । वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छन् । अखबारका स्तम्भमा उनी सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गरेका छन् । यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो । पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘गौतमले वकालत गर्ने भाषाको अराज्नैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ । उनले पात्रहरूका सशक्तीकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन् । गौतमको शैली निडर, बेलगाम र समसामयिक छ । यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अँगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।’ शीर्षक ‘डुमेरो’ आफैँमा नौलो शब्द छ । कुनै गन्तव्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ । ‘यो शब्द सुन्नमा लयालु त छँदैछ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ । महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ । तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं; जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन । अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तव्य तय गर्न सक्तैन । हाम्रा चुनौती अमूर्त छन्, संघर्ष नौला छन् । यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो ।’ महामारीको लगत्तै बजारमा आएको किताबले अरुबेलाझैँ प्रकाशन जगतलाई सन्तुष्ट पार्नेमा विश्वस्त रहेकी नेपालयकी सैजन मास्के भन्छिन्, ‘समय साँच्चै चुनौतीपूर्ण छ तर हाम्रो अघिल्लो प्रकाशन- भूवन ढुंगानाको ‘परित्यक्ता’ले बन्दाबन्दीका बाबजूद तुलनात्मक रुपमा निकै राम्रो परिमाणमा स्वीकृति पायो । यो पुस्तकलाई पनि नेपाली पुस्तक बजारले उत्साहजनक प्रोत्साहन प्रदान गर्छ भन्नेमा हामी आशावादी छौँ ।’ नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ, जुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । यसको ई-बुक प्रतिलिपि भने थुप्रै डट कम (thuprai.com) बाट किन्न सकिन्छ साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ । #डुमेरो #सरला गाैतम
बुकाहोलिक्सको लक डाउनमा स्रस्टासँग साक्षात्कारको १०० भाग पूरा: अहिले धेरैलाई धेरै हदसम्म घरमा बन्दी भएर बसिरहनु बानी जस्तो भइसक्यो तर कोरोना भाइरसको असर कम गर्न भएको लकडाउनको सुरुवात अहिले जस्तो सामान्य थिएन । दिक्दारलाग्दो वा हतारको भए पनि मानिसहरु आफ्नो दैनिकीसँग भिजेका थिए । जस्तो भए पनि मानिसलाई आफ्नै दैनिकी प्यारो थियो । होला, केहिलाई केहि दिन ढुक्कले घर बस्न मन थियो तर लकडाउन तिनका लागि पनि दिक्क लाग्दो थियो । यस्तोमा के गर्ने भन्ने धेरैको प्रश्न थियो तर जवाफ कमैसँग मात्रै थियो । बुकाहोलिक्स जुन फेसबुकमा किताबहरुको बारेमा छलफल गर्ने प्रतिष्ठित ग्रुप हो त्यसमा सदस्यहरुको संख्या बढ्न थाल्यो । यसबाट मानिसहरु लकडाउनमा केहि पढ्न खोजिरहेका छन् अथवा भनौँ, साहित्यसँग निकटता खोजिरहेका छन् भन्ने अर्थ निकाल्न सकिन्थ्यो । यसो त लकडाउनको कारणले मासिक रुपमा हुदै गरेको बुकाहोलिक्सको चकटी बहस पनि रोकियो । यसैले बुकाहोलिक्स टिम पनि केहि फरक गर्न सकिन्छ कि भन्ने सोचाइमा थियो । यो कुरा बैशाखको पहिलो साताको हो । लकडाउन सुरु भएको ३ साता बितिसकेको थियो । यसैले अनलाइनमा नै साहित्यिक कार्यक्रम गर्ने सोच भयो र सुरुवात भयो लकडाउनमा स्रस्टासँग साक्षात्कारको । बुकाहोलिक्सको फेसबुक ग्रुपमा अप्रिल १७ अर्थात बैशाख ५ मा पहिलो साक्षात्कार मोहन मैनालीबाट भयो । र, दैनिक भएको साक्षात्कार हिजो अर्थात २६ जुलाइमा ठ्याक्क १००औँ भाग सर्जक तुलसी दिवसको साक्षात्कारसँगै यो क्रम सकियो । साक्षात्कारमा आउँनु हुने स्रस्टाहरु १. मोहन मैनाली २. मनु मञ्जिल ३. रमेश सायन ४. अमृता लम्साल ५. विपुल सिंजापति ६. अनुपम पोखरेल ७. सरिता भट्टराई ८. केशव सिग्देल ९. निष्प्रभ सजि १०. हरिमाया भेटवाल ११. कृष्ण धरावासी १२. खिमा रिजाल १३. भिष्म उप्रेति १४. चन्द्र कटुवाल १५. युवराज नयाँघरे १६. राजा पुनियानी १७. इश्वरे कडेल १८. एलबी क्षेत्री १९. जीवा लामिछाने २०. सरस्वती प्रतिक्षा २१. नविवन विभास २२. निलम कार्की निहारिका २३. भुपिन खड्का २४. अमोद देव भट्ट २५. अश्विनी कोइराला २६. नयन राज पाण्डै २७. छुदेन काबिमो २८. बिमला तुम्खेवा २९. प्रज्वल पराजुली ३०. विप्लब प्रतिक ३१. बसन्त पराजुली ३२. उषा शेरचन ३३. अविनाश श्रेष्ठ ३४. रविन्द्र समिर ३५. मोमिला जोशी ३६. अनन्त अनुराग ३७. रमेश क्षितिज ३८. बालिका थपलिया ३९. महेश पौडेल ४०. दुर्गा कार्की ४१. मनोज बोगटी ४२. नविन के क्षेत्री ४३. स्वप्निल स्मृति ४४. नवराज पराजुली ४५. सरिता तिवारी ४६. तिर्थ श्रेष्ठ ४७. भुमिका श्रेष्ठ ४८. राधा पौडेल ४९. सौरभ कार्की ५०. समा श्री ५१. भुपेन्द्र खड्का ५२. मिन कुमार नबोदित ५३. माया ठकुरी ५४. रोशन परियार ५५. प्रनिका कोयु ५६. सिलु जि न्यौपाने ५७. नदिश ५८. रविन्द्र मिश्र ५९. हिरण्य कुमारी पाठक ६०. गीता रेग्मी ६१. रजनी ढकाल ६२. आश्मा अर्याल ६३. शीवा शाह ६४. फराह गुजनावी ६५. अर्चना थापा ६६. चिराग बाङदेल ६७. दीपा पुन राई ६८. प्रणय राना ६९. विक्रम पवन परियार ७०. तिर्थ गुरुङ ७१. शैलेन्द्र अधिकारी ७२. नविन प्राचिन ७३. रजनीमीला ७४. सुजिव शाक्य ७५. केदार शर्मा ७६. मुकुल ढकाल ७७. इक्रम बस्रा ७८. प्रगति राई ७९. गोविन्द राज भट्टराई ८०. देबकी तिमल्सिना ८१. नारायण तिवारी ८२. निमेश निखिल ८३. प्रतिसरा सायमि ८४. सुमन पोखरेल ८५. रोशन शेरचन ८६. रुपेश श्रेष्ठ ८७. मधुवन पौडेल ८८. विष्णु एस राई ८९. बीना थिङ तामाङ ९०. अमित पोखरेल ९१. करुण थापा ९२. उमा सुवेदी ९३. राम गोपाल आशुतोष ९४. गीता त्रिपाठी ९५. महेश राना ९६. दिनेश अधिकारी ९७. मञ्जुश्री थापा ९८. श्रवण मुकारुङ ९९. सरुभक्त १००. तुलसी दिवस साक्षात्कारमा नेपाल बाहिर भारतीय, बंगलादेशी तथा पाकिस्तानी सर्जकहरुको पनि साक्षात्कार थियो भने नेपाल बाहिर रहेका धेरै नेपाली सर्जकहरुले पनि साक्षात्कारमा आफ्नो लेखन अनुभव बाढ्नुका साथै रचना वाचन गर्नु भएको थियो । बुकाहोलिक्सको साक्षात्कारलाई युट्युबमा बुकाहोलिक्सको च्यानलमा हेर्न सकिन्छ ।
ठिटा-ठिटीहरूको स्वप्नयात्राः काव्यात्रा: ३ वर्षअघि, आफैँ कमाउने बाटो पहिल्याएर सक्दो पढ्ने उद्देश्यले गाउँबाट अवसरहरूको सहर काठमाडौँ पसेको एउटा ठिटो, आफ्नो सपनाहरू तुहिँदै गरेको भयानक यथार्थ स्वीकार गर्न नसकिरहँदा कुनै व्यस्त गल्लीको अनाम सहरमा छटपटीहरूका बीच निदाउने कोसिस गरिरहेथ्यो । उता अर्की ठिटी, आफ्नो सपनाको बाटो हिँड्न आफ्नाहरूसँगै लड्नुपर्दा रात र दिन एउटै महसुस गरिरहेथी । त्यही सहरमा कथाहरूको सिकार गर्दै अर्को ठिटो पनि भर्खर सपनाको पखेटा हाल्दै थियो । एक-अर्काबाट अञ्जान यी तीनको नाटकीय ढङ्गबाट एकसँग अर्को गर्दै परिचय हुन्छ । त्यसपछि भेट र आफ्ना सपनाहरूको हालखबर साटासाट ! ती सपनाको मिलनबिन्दूको पत्तो लाग्छ । यी तीनैजना एक किसिमले जोगी हुन्छन्, संसारभन्दा अलग्गै हिँड्न खोजिरहेका; यस अर्थमा कि संसारको प्राथमिकता धन भइरहँदा यिनको प्राथमिकता आफ्नो सपना थियो । तीनको टोलीमा एक थपिएर जम्मा चारजनाको टोली स्वप्नयात्राका लागि अघि बढ्यो । कुनै पनि सफल अभियानको लागि सर्वप्रथम त एउटा सबल टिमको जरुरी हुन्छ । यी तीनको सानो टोलीले आफूजस्तै स्वप्नजोगीहरूको खोजी गर्न थाल्यो । यस दौरानमा धेरैजनाको आउने र जाने क्रम रह्यो । मानौँ यी तीनजनाको टोली सपना नाउँको एउटा वृक्ष बोकेर बसेको चौतारी हो र त्यसको छहारीमा क्षणभरलाई सुस्ताउन बटुवाहरूको आवतजावत चलिरहन्थ्यो । तीनको टोलीमा एक थपिएर जम्मा चारजनाको टोली स्वप्नयात्राका लागि अघि बढ्यो । जसमध्ये राजकुमार नेपाल, प्रवीण पौडेल, रितेश गुरुङ र यो लेखिरहने ठिटी । हाम्रो यात्रा तीन वर्षअघि लिट्रेचर पार्कदेखि सुरु भएको थियो । तर, दैनिक साहित्यिक खुराक पस्किएर पठन-लेखन संस्कृतिको विकास गर्ने त्यस यात्राक्रममा अचानक उत्साहित पखेटाहरू काटिन पुगेका थिए । यस समस्या आइपर्नुमा हामी आफैँ दोषी थियौँ । प्राविधिक पाटोमा सम्पूर्ण दक्षता हाँसिल नभइसक्नु र कमजोर आर्थिक स्थितिका कारण यथेष्ट स्रोत-साधन जुटिनसक्नुले सुरुवाती चरणको यात्रा एक वर्ष पुग्दानपुग्दै स्थगित भएको थियो । घर र समाजबाट प्राप्त असहयोगका बाबजुद हामीले अर्को एक वर्ष स्रोत-साधन जुटाउने र अझै बढी प्राविधिक दक्षता हाँसिल गर्नमा खर्च गर्यौँ । साहित्यको क्षेत्रमा केही गर्छु भनी लाग्ने अधिकांशले सहयोगभन्दा धेरै असहयोग नै प्राप्त गर्छन् । कारण, समाज अर्थमुखी छ र साहित्य, अर्थका मामिलामा अझै पनि विलम्ब पाइला चाल्छ, कमसेकम हाम्रो जस्तो विकासोन्मुख मुलुकमा । खैर, यस विषयमा केही गर्न सकिन्छ कि भन्नेमा हामी स्वयं प्रयासरत छौँ । घर र समाजबाट प्राप्त असहयोगका बाबजुद हामीले अर्को एक वर्ष स्रोत-साधन जुटाउने र अझै बढी प्राविधिक दक्षता हाँसिल गर्नमा खर्च गर्यौँ । यसरी गल्तीबाट पाठ सिकेर पुनः उदाउन हामीलाई एक वर्ष लागेको थियो र जन्मिएको थियो ‘ काव्या लय ’ जसले पनि गत महिना आफ्नो एक वर्षको यात्रा पूरा गरिसकेको छ । साहित्यमा लगानी गर्न डराइरहेको समाजलाई आजको भोलि नै परिवर्तन गर्न असम्भव छ । सर्वप्रथम त लेख्ने र पढ्ने बानीको विकास गर्न जोड दिनु नै यस लक्ष्यप्राप्तीको आधारभूत सूत्र हो । आफ्नो दिल र दिमागमा भएको कुरा लेख्ने र सुनाउने अवसर खोजिरहेकाहरूलाई त्यो अवसर जुटाइदिनु यस मानेमा सूक्ष्म मुद्दा देखिए तापनि प्राथमिक ठहरिन्छ । साहित्यपारखीहरूका लागि लेखन एक नित्यकर्म र पठन एक स्वभाव बनोस् र बल्ल यस क्षेत्रमा सम्भावना देख्ने आँखाहरू पनि बढ्नेछन् । काव्यालय यही सोचलाई केन्द्रमा राखेर यात्रारत छ । काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो । जो वर्षौँदेखि लेखिरहनुभएको छ, लेखेरै आज समाजमा चिनिनुभएको छ, वहाँहरूमा साहित्यप्रति पहिल्यै रस बसिसकेको छ । साहित्यको ऊर्जा र यसले मानसिकतामा ल्याउने उन्नत परिवर्तनसँग वहाँहरू पहिल्यै परिचित हुनुहुन्छ । यो खुशीको कुरा हो । यहाँ हरेक दिन साहित्यसँग प्रथम साक्षात्कार गर्ने कति हुनुहुन्छ होला ? आजै मात्र पहिलोपटक आफ्ना भावनाहरूलाई काव्यिक छाँटमा व्यक्त गरेर आफैँ चकित पर्ने कति हुनुहुन्छ होला ? आजै मात्र कलेजको लाइब्रेरीबाट वा बुवाको पुरानो सन्दुकबाट संयोगवश फेलापरेको कथा वा उपन्यासको किताब पढेर जीवनमा पहिलोपटक हृदयबाट आनन्दित हुने कति हुनुहुन्छ होला ? काव्यालय, साहित्यका त्यस्ता कोपिलाहरूलाई पनि समानान्तर रूपमा अघि बढ्ने अवसर मिल्नुपर्छ भन्नेमा दृढता राख्दछ । यस अर्थमा, काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो । आफ्नो यात्रामा अविरल लागिराखियो भने, कतै न कतै पाइलाको डोब गाढासँग बस्ने नै रहेछ । गत महिना, असार १४ का दिन काव्यालयले आफ्नो पहिलो वर्षोउत्सव पूरा गरेको छ । काव्यकर्मप्रतिको हाम्रो अविरल लगाव र मिहेनत देखेर मञ्जरी प्रकाशन र टेकसाथीद्वारा प्रायोजनमा साथ-सहयोग प्राप्त भयो । जसकारण हामीले वर्षभरि प्रकाशित रचनाहरूमध्येबाट ‘आर्टिकल्स अफ द इयर’ अन्तर्गत ५ रचनालाई चुनेर प्रोत्साहनस्वरूप उपहार वितरण गर्न सक्षम भयौँ । यात्राको क्रम जारी छँदै छ र आशा छ यस्तै कृतार्थ हुनसकिने क्षणहरू यस दौरानमा अझै थपिँदै जाने छन् । काव्यालय पाठक र लेखकहरूसँग औपचारिकता नभएर बरू मित्रता गर्दै अघि बढिरहेको छ । यात्राकै कुरा गर्नुपर्दा, काव्यालयको यात्रालाई म एउटा जीवन्त यात्रा भन्न रुचाउँछु । जसरी जन्मपश्चात् एउटा अञ्जान शिशुले जीवनको यात्रा जानी-नजानी गर्छ । जीवनको यात्रा एउटा अञ्जान शिशुले दिनानुदिन परिपक्व हुँदैगर्दा जसरी जिउनेक्रममा जीवन श्रीजु सरल लाई सिकेर, जानेर गर्दै जान्छ, काव्यालयको यात्रा त्यस्तै जीवन्त चलिरहेको छ । गल्ती र कमजोरीहरूका कारण लड्दै, उठ्दै र अर्कोपटक त्यही बाटोमा कसरी नलडी हिँड्ने ? काव्यालय पनि काव्यकर्म गर्ने दौरानमा यी कुरा सिक्दै अघि बढिरहेको छ । यस अर्थमा, काव्यालय पाठक र लेखकहरूसँग औपचारिकता नभएर बरू मित्रता गर्दै अघि बढिरहेको छ । यसर्थ यो काव्याभियान कुनै संस्थागत प्रक्रियाभन्दा बढी साथी-साथीबिचको ‘कम्बाइन्ड स्टडी’ हो भन्दा फरक नपर्ला । विशेष गरी नयाँ र युवा लेखकहरूको बाहुल्यता भएको काव्यालयको अनलाइन पोर्टलमा मुक्तक, हाइकू हुँदै गजल, कविता, कथा, निबन्ध, संस्मरण, पत्र-साहित्य, पाठकीय समीक्षा, विचार एवं निर्बन्ध लेखहरूसम्म हामीले समेट्दै आइरहेका छौँ । काव्यालयमा एकातर्फ समाजको यथार्थ चित्रण र सँगसँगै अर्कोतर्फ कल्पनाशीलतामा निर्बन्ध विचरण गरी लेख्ने दुवै धारका युवा-कलमहरू समेटिँदै आएका छन् । काव्यालयको सुरुवाती दिनहरूमा ‘स्याटर्डेकलम’ शीर्षक अन्तर्गत हरेक शनिबार पाँच-पाँच साहित्यिक खुराक पस्किँदैआएका थियौँ भने समयक्रमसँगै ‘मिस्ट्रीटेलर’ शीर्षकको स्तम्भ थपेका छौँ जसमा महिनाको दुई शुक्रबार रितेश गुरुङका (मिस्ट्री, फ्यान्टासी र थ्रिलर विधाका) रचनाहरू प्रकाशित हुँदै आइरहेका छन् । त्यस्तै, पोखराका युवालेखक त्रिवेणीको स्तम्भ ‘दोभान’ मा पनि यथार्थपरक एवं खोजमूलक लेखहरू महिनाको दुई बुधबार प्रकाशित हुँदै आइरहेका छन् । भोलि के हुन्छ ? आज थाहा नहुनु प्राकृतिक कुरा हो । तर सपना देख्नु र भोलि यस्तो गर्छु भनी सोच्नु/कल्पनु मानिसको स्वभाविक गुण । त्यही गुणले काव्यालय पनि अप्रभावित रहेको छैन । समय र शुभेच्छुकहरूको माग अनुरूप काव्यालयको परिकल्पना, अब साहित्यको पोड्कास्ट र प्रकाशनतर्फ उन्मुख छ । उन्मेश आँखाले देखेको सपना पूरा हुन्छन् पनि भनिन्छ । खैर, ‘प्राकृतिक नियमानुसार भोलि के हुन्छ ? आज थाहा हुँदैन’ त अघि पनि भनेँ तर उन्मेश आँखाले देखेको सपना पूरा हुन्छन् पनि भनिन्छ । हामी प्रकृतिको अनिश्चितताले व्याकुल हृदयलाई उखानहरूको हौसलाले सुनिश्चित् रहन सान्त्वना दिँदै साहित्यपारखी एवं शुभेच्छुकहरूको माया, साथ र सहयोगले अघि बढिरहेका छौँ । #काव्यालय #श्रीजु सरल
सुस्तरी: राती अबेरसम्म घरधन्दा गरी सुत्छिन् कतिखेर थाहा छैन ! आमा बिहानै भालेलाई जगाएर दैलो तानी हालेर डोकोमा रित्तो गाग्रो झुन्डाई हातमा सानो हत्तर टाढा पँधेराको पानी उभाउन जुनकिरीको उज्यालोमा ओरालो झर्छिन् आमा सुस्तरी !! किनकि थाहा छ उनलाई आवाज आए घरमा बिच्कन सक्छ बा, दाजु र हामीहरूको निद्रा जाग्न सक्छन् अँधेरैमा नानीहरू आवाज आए बाटोमा उछिन्न सक्छिन् साइँली बजैले चाल पाउन सक्छन् गाउँका अरु बुहारीले ! अनि नभरिन सक्छन् रित्ता भाँडाहरू यही निहुँमा सुन्नुपर्छ बिहानभर बजैको महाभारत ! नपाक्न सक्छ एकछाक आटो ! त्यसैले सुस्तरी पाइला सार्दी हुन् आमा सुस्तरी ! सुस्तरी !! #पुष्कर रिजाल
प्रज्ञा–प्रतिष्ठानबाट मानव सृष्टिका कथा आउने: साहित्यपोस्ट नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जात–जातिका उत्पत्तिकथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो । “प्रत्येक जात–जातिका सृष्टिका आ–आफ्नै कथा छन् । तिनलाई खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्न लागिएको हो ।” बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले साहित्यपोस्टलाई बताए । उनले नेपालका सातै प्रदेशमा बसोबास गर्ने विभिन्न जात–जातिका सृष्टिका कथा खोज तथा सङ्कलन गरेर प्रकाशन गर्ने निणय गरिएको जानकारी समेत दिए । प्राज्ञ डा. नेपालका अनुसार साउन १४ गते बुधबारका दिन बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न भएका कामको जानकारी, मूल्याङ्कन तथा समीक्षा गरिनुका साथै आगामी आ.व.का योजनाका बारेमा छलफल गरी विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको थियो ।
छोरी र छोरा: तेस्रो सन्तान पनि छोरी भयो भन्दा अस्पताल एक परिवारको रोदनले गुञ्जियो छोराको आगमनले अर्को परिवारमा खुसी गर्जियो । छोरी पाउनेलाई बधाई रित्तियो छोरा पाउँदा मिठाइको भण्डार रित्तियो यो आधुनिक संसारमा अझै भेद्भाव देख्दा सन्तान पाउने रहर पनि रित्तियो । छोरा जन्मे हाँस्ने गर्छन छोरी जन्मे रुने छोरा बुहारी छुट्टिए पनि छोरी साथै हुने कति खुसी हुने गर्छन छोरा जन्म्यो भनि कतिले त हत्या गर्छन, आफ्नै सन्तान छोरीको पनि छोराले मात्र होइन छोरीले नि विश्व हाँकेकै छन् अन्तरिक्षमा पुगेर वरि रेकर्ड पनि राखेकै छन् छोरीलाई हेला गर्छन किन मान्छन घिन छोरीलाई नै पूजा गर्छन् देवता मान्छन सबैले रातदिन माता लक्ष्मी, पार्वती देवी सरस्वती पूजा गर्छन सबैले पल, घड़ा र रती प्राथमिकता छोराछोरी दुबैलाई बराबरी दिऊँ मित्रताको साथ बढ्छ यही शिक्षा लिऊँ । #बन्दना सत्याल
प्रश्नहरूमा मान्छेः खेम रिजाल र “धूमिल जून”: विश्वसाहित्यको विकासक्रमलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने हरेक साना–ठूला परिवर्तन र समस्यालाई सम्बोधन गर्ने “यथार्थवादी” साहित्यको युगको अन्त्यतिर फेरि साहित्य अध्यात्मिक, अन्तर्मुखी अथवा रुमानी विषयहरूको बिसौनीमा आइपुग्छ । आधुनिकतावादको घोर निराशा तथा अनिश्वरवादी सोचको पटाक्षेपपछि साहित्य उत्तरआधुनिक पडाउमा जब आइपुग्यो, त्यसले नयाँ सम्भावनाको बाली लगायो । उत्तराधुनिकतावादी साहित्य सारमा निराशावादी साहित्य होइन । त्यो बहुल सम्भावनाहरूको साहित्य हो । तर मानव, ईश्वर अथवा प्रकृति — केहीको पनि केन्द्रीय सत्तालाई न स्वीकार गर्यो, न अस्वीकार । ऊ केवल मौन रह्यो । बरु, यी तीन सत्ताको निर्मितिका पछाडिका संकथनहरूमाथि घोत्लियो, र सबै खाले निचोड, निर्णय र नियमनकै विरुद्ध उभियो । भन्न त समालोचकहरूले उत्तरआधुकिताले बहुलवादको वकालत गर्ने हुनाले प्रजातान्त्रिक पद्धतिको पृष्ठपोषण गर्छ पनि भने, तर त्यसले न विरोध गर्छ, र पृष्ठभोषण गर्छ । त्यसले, कुनै पनि धारणा अथवा पद्धतिको निर्मितिमा प्रयुक्त सारहरू, आधारहरू र कारकहरूको सूक्ष्म विश्लेषण गर्छ । १९४५ को आणविक बमकाण्डबाट विक्षत भएको हिरोसिमा र नागासाकीमा पनि पुनः बिरुवा पलाउन लागेपछि मान्छे पुनः हल्लियो, र अस्था राख्ने ठाउँ त वास्तवमा छ कि भन्ने निचोडमा पुग्यो । तर हामी उत्तरआधुनिक समयका छैनौँ । हामी उत्तर–उत्तरआधुनिक समयमा छौँ, जसले उत्तरआधुनिकताका केही महŒवपूर्ण मान्यताहरूलाई परित्याग गरेर अगाडि बढिरहेको छ । सो के भने, पुनः मान्छे आस्था झुण्डाउने कुनै ठाउँ खोजिरहेको छ । प्रकृतिले बचाउला भन्दाभन्दै प्रलयको भागी भएको, राजाले बचाउलान् भन्दाभन्दै अनेकौँ अहमयुद्धको सिकार भएको, भगवान्ले बचाउलान् भन्दाभन्दै भगवान् आफैँ सूली चढेको, विज्ञानले बचाउँला भन्दाभन्दै विज्ञानकै बलमा विश्वयुद्ध भएको र करोडौँको सङ्ख्यामा नरसंहार भएको यथार्थका कारण मान्छेले आस्था झुण्डाउने ठाउँ गुमाएको सत्य हो । त्यसैले, बीसौँ शताब्दीको मध्यतिर विश्वको साहित्य घोर निराशावदी, अस्तित्ववादी, शून्यवादी तथा विसङ्गतिवादी भएर गएको हामीले सबैले देखेकै हो, पढेकै हो । यो समय ठूला शासक–प्रशासकका साथै आम जनतामा पनि आत्महत्या, विक्षिप्तता र पागलपनको लहरै चल्यो । अस्थाले बिसौनी पाएन भने सासले मात्रै जीवन धान्दैन । मान्छे आफ्नै समाप्तिका उपायहरूको खोजी गर्न अभीशप्त हुन्छ । तर, १९४५ को आणविक बमकाण्डबाट विक्षत भएको हिरोसिमा र नागासाकीमा पनि पुनः बिरुवा पलाउन लागेपछि मान्छे पुनः हल्लियो, र अस्था राख्ने ठाउँ त वास्तवमा छ कि भन्ने निचोडमा पुग्यो । मेरो मान्यता हो, उत्तरअधुनिक सोचको प्रधानता रहेको करिब आधा शताब्दीको समय भनेको मान्छेको आस्था झुण्डाउने ठाउँको खाजी गर्ने कोशिसको समय थियो । तर, उत्तरआधुनिकताले त्यो भेट्टाउन सकेन । र त्यो जिम्मा उत्तर–उत्तराधुनिकताले लियो । आज पुनः मान्छे कि मान्छेको नजिक पुगेको छ, कि धेरै हदसम्म ईश्वरको पुनरअविष्कार गर्नमा तल्लिन छ, कि अध्यात्मिक र आत्मिक चिन्तनतिर प्रवृत्त छ । यस परिवर्तनको प्रतक्ष लक्षण साहित्यमा देखिन्छ । पछिल्लो समयको साहित्य वाह्य यथार्थ कम र भित्री यथार्थ बढी बोकेको साहित्य हो । नेपाली कविताकै कुरा गर्ने हो भने, २०६२–६३ को आन्दोलनको वरिपरि देखिएको आक्रोषपूर्ण र राजनैतिक कविताले आफ्नो काम गरेर, आफ्नो बाटो तय गरेर, नयाँ कवितालाई बाटो दिइसकेको छ । अर्थात्, एक दशकको धङ्धङीपछि नेपाली कविता जनआन्दोलनको “ह्याङओभर” बाट मुक्त भएको छ । पछिल्लो छिमलको नेपाली कविता पुनः भावप्रधान बन्दैछ, रुमानी बन्दैछ, मान्छेका स्थायी समस्याः सुख, दुःख, आँसु, हाँसो, रोदन, आत्मिक उत्तनि, अवनति, आस्था, अनास्था, पीडा, मोक्ष आदि निजी, आत्मिक अथवा अध्यात्मिक विषयहरूमा बढी केन्द्रित भएको छ । कविता अखबारी मूर्तताबाट क्रमशः भावनात्मक अमूर्ततातिर उन्मुख छ, प्राविधिक भाषाबाट हृदयगीतको भाषातिर प्रवृत्त छ, क्लिष्ट परिष्कारवादी संस्कारबाट सरल, सर्वस्पर्शी र आमभाष्यको निकट आइरहेको छ । युवा वयका लेखक खेमको कविताले सरकार, शासनसत्ता, प्रेम, यौन र समयका विपार्यसलाई पनि नछोएको होइन यी पछिल्ला रुझानहरूको एउटा साक्षी हो, खेम रिजालको कवितासङ्ग्रहः “धूमिल जून ।” अमेरिकामा बसेर कविता कर्ममा समर्पित श्रष्टा खेम रिजालको सङ्ग्रह पढिरहँदा मलाई दुई नेपाली कविहरूको सम्झना आइ नै रह्यो, जो आफ्ना फरक फरक शैली, शिल्प र कथ्यको बलमा नेपाली कविताको पछिल्लो कडीको आर्तनाद लेखिरकेका छन् । पहिलो, सोलुखुम्बुका युवा कवि सुवास सङ्गम राई, जसको “ नेप्चीको लय ” कवितासङ्ग्रह २०७२ मा प्रकाशित भयो । एकै वाक्यांशमा भन्ने हो भने, उनको समग्र कविता “ चिन्मयको खोजी ” हो, जसले आजपर्यन्त प्रयोगमा आएका शान्तिमार्गहरूको एउटा बलियो विकल्पको खोजी गरेको छ । त्यो विकल्प के हो, त्यो सुवास सङ्गमलाई पनि सायद थाह छैन, तर यो थाह छ, एउटा बलियो विकल्पको माग आजको समयले गरेको छ, र त्यो विकल्प मान्छेभित्रको आन्तिरक पृथ्वीबाट कुनै दिन प्रस्फुटित हुनु अवश्यम्भावी छ । मैले यसै मेसोमा सम्झेका अर्का कवि हुन्, चर्चित, मदनपुरस्कार विजेता काव्यकार गोपाल पराजुली । “ अर्को ईश्वरको घोषणा ” पछिका उनका सम्पूर्ण काव्य— “ अर्को विश्वको प्रस्ताव ”, “ शान्ति खोजिरहेको सिपाही ”, “ एउटा जेलबर्डको डायरी ” र फुटकर रूपमा प्रकाशित कविताहरू यसै प्रश्नको उत्तर खोजिरहेछन्ः आजको युगमा, जीवन र जगतको सुरक्षाका लागि सबैभन्दा बलियो शान्तिमार्ग के हुन सक्छ ? उनी मान्छेभित्रै ईश्वर स्थापित गर्छन्, र त्यसै ईश्वरको पक्षमा मतदान गर्छन् । हिंसाका सम्पूर्ण अभ्यास र उपक्रमलाई खारेज गर्छन्, र अनास्थाका सबै सबै दर्शनहरूको एकमुष्ट विरोध गर्छन् । उनी पनि भित्री मान्छेको आत्मिक र अध्यात्मिक विकासमा भोलिको भविष्य निहित रहेको देख्छन् । यी तमाम तर्कहरूको साक्ष्यको रूपमा हामी खेम रिजालले “ धूमिल जून ” मा सङ्ग्रह गरेका कवितालाई लिन सक्छौँ । हाल ओहायोको सिन्सिनाटीमा बस्दै आएका, भूटानी मूलका नेपाली कवि, गीतकार, सङ्गीतकर्मी तथा गायक रिजालको यस अघि “ किनारोका छाल ” गजलसङ्ग्रह पनि प्रकाशित छ । गीत र गजलको निकट रहेकैले होला, उनको कविताकारिता थोरै, छोटा, जनस्रुतिको निकट रहेका लालित्यपूर्ण शब्दहरूको जगमा उभिएको देख्न सकिन्छ । ५१ कविता बोकेको, “धूमिल जून” सायद खेमको पहिलो कवितासङ्ग्रह को । युवा वयका लेखक खेमको कविताले सरकार, शासनसत्ता, प्रेम, यौन र समयका विपार्यसलाई पनि नछोएको होइन, तर उनको कविताको सबैभन्दा बलियो अभीष्ट भनेकै मान्छेको भित्री संसार चिहाउनु हो । सङ्ग्रहभरि कविले आफ्नो “स्व” को निर्मितिमाथि घनीभूत चिन्तन गरेका छन् । यसभित्रका थुप्रैवटा कविताको कोलाज बनाउने हो भने, ती कविता उनको परिचय खोज्न अथवा निर्माण गर्नमा समर्पित छन् । वास्तवमा “म को हुँ” भन्ने कुराको खोजी आजसम्मको दर्शनको सबैभन्दा गहन, सबैभन्दा विवादित, र सबैभन्दा असङ्गतिपूर्ण खोजी हो । आजसम्म मान्छे यस प्रश्नको कुनै सम्यक अथवा सर्वमान्य उत्तरमा पुग्न सकेको छैन । यसअर्थमा, खेमले पनि त्यसको कुनै सञ्जीवनी उत्तरको अविष्कार गरेका छन् भन्ने होइन, तर धेरैलाई गाँजेजस्तो उनलाई पनि यस प्रश्नले राम्रैसँग गाँजेको छ । उनी आफ्नै बारेमा लेख्छन्ः मेरो रगत माटोमा घोलेर हेर्नू गर्भिणी आमाको गर्भमा अलिकति जून देख्नेछौ त्यी उज्यालोको पखाइमा रहनू ( म गर्भमा ) मान्छेको स्वको निर्मिति एक जटिल प्रक्रिया हो । यो केवल जैविक प्रश्न होइन । यो आदिभौतिक र अध्यात्मिक प्रश्न पनि हो । हामी हामी कसरी बन्छौँ? हराजौँको सङ्ख्यामा विद्यमान तर्क, वितर्क, सिद्धान्त र मान्यताका बीच मान्छेभित्रको मान्छेको निर्मितिमा एउटा सर्वसम्मत मान्यता भने अवश्य छ । सो के भने, हाम्रो भौतिकीको निर्मिति पञ्चमहाभूतबाट बनेको छ भने हाम्रो आस्तित्विक निर्मिति हामीजस्तै अरु मान्छेहरूको उपस्थितिका कारण सम्भव भएको छ । अर्थात्, हाम्रो आस्तित्विक निर्मितिलाई अरुहरूको अनुमोदन चाहिन्छ, साबिती चाहिन्छ । त्यसैले नै कवि लेख्छन्ः म शून्यतामा कोलाहल त्यो भीडमा सङ्केत, या त सम्बोधनमा तिमी जहाँ छौ म सदैव त्यहीँ हुनेछु । ( म ) यस स्वीकारोक्तिले मान्छेको आस्तित्विक यथार्थलाई एउटा सापेक्षित यथार्थ बनाइदिन्छ, जो सत्य पनि हो । अरु मान्छे नहुनु हो भने, हामी एक्लै हुनु अथवा नहुनुको के अर्थ हुन्छ ? यो प्रश्न पहिचानसँग जोडिएको प्रश्न पनि हो, र पहिचान पनि मान्छेको “ म को हुँ ” को खोजीसँग जोडिएको प्रश्न हो । “ धूमिल जून ” सङ्ग्रहका थुपै्र कवितामा कविले पहिचानको प्रश्नमाथि बहस गरेका छन् । विविध कोणबाट आफूलाई हेर्छन्ः एक सन्तानका रूपमा, एक साथीका रूपमा, एक प्रेमीका रूपमा, एक राष्ट्रभक्तका रूपमा, एक पुरुषका रूपमा, र एक आम मान्छेका रूपमा, र आफ्नै पहिचारबाट “ मेरो परिचय ” शीर्षकको कवितामा भन्छन्, “ चिन्न सकिनँ मैल आफैँलाई ।” यो एउटा गहिरो खोजी हो, किन कि, उनको स्वीकारोक्ति यस्तो छः म शान्त थोरै अशान्त पनि ब्रह्माण्डलाई महसुस गरिरहेको धैर्यधारणसँगै आफैँमा विक्षिप्त छु ( म ) खेमका कविताको अर्को गहिरो कथ्य भनेको मानवीय सम्बन्धहरूको मूल्याङकन हो । माथि हामीले स्थापित ग¥यौँ एउट तर्क, कि हाम्रो परिचय र निर्मिति सापेक्षित चिज हो, अरुहरूको उपस्थितिको सापेक्षतामा मात्रै त्यो अर्थपूर्ण हुन्छ । तर, यी “अरुहरू” सँगको मान्छेको सम्बन्ध सधैँ सङ्तिपूर्ण र सुमधुर हुन्छ भन्ने हुँदैन । खेमले स्वीकारेका छन्, कि मान्छे–मान्छेबीचको सम्बन्ध विश्वासमा कम र अविश्वासमा बढी टिकेको छ । यिनै अविश्वासका कारण “ अँध्यारो मार्ग ” शीर्षकको कवितामा मान्छे “कुटिल मार्गका /प्रशोधित छविहरू / नम्रता कुँदिएका / चमकदार स्मारक भनाउँदा / मानिसहरूको खरिद गर्न चाहन्छन् ।” त्यसै अविश्वासका कारण “ पुराना निर्दाेष सपनाहरू उत्तेजित छन् गोप्य अनुहारको खोजमा ” (भ्रामक प्रेमी) । साथीभाइभित्रै पनि अविश्वास यति छ कि, करिबीहरू पनि “ सम्बन्धको वेवास्ता गरी ” “ भित्रै भित्रै जल्ने ” गर्छन् (ऊ) । यस्तै यस्तै अविश्वासका कारण आजको मान्छे यस्तो भएको छः अर्कोको मर्म नबुझ्ने भएको संरचना भत्काउने नयाँ सिर्जना कहिल्यै नगर्ने गरिहाले पनि बिट नमार्ने आफ्नो जिद्दी नछोड्ने खै हामी कस्तकस्ता ’ (खै हामी कस्ताकस्ता) यी तमाम आन्तरिक विपर्यासहरूको बीचमा बाँचेको मान्छेसँग भित्री उज्यालो छैन भने ऊ आफैँभित्र खण्डित हुन्छ, निराश हुन्छ, र ज्योतिविहीन हुन्छ । “प्याला साथी” कवितामा आफैँलाई भेट्टाउन नसकेर मदिराको शरणमा पुगेको कुनै एउटा मान्छे धुवाँमा गुम्सिन्छ, अन्यायलाई जलाउन नसकेको अधकल्चो विचार बोकेर तमासामा तेर्सिन्छ । “अनौठो राष्ट्रपति” शीर्षकको कवितामा भन्छन्, “पूँजीवादी कवचले हिलोको हड्ताल उठाएको छ ।” आजको समय, शासन, सत्ता र सरकारलाई कसरी हेरेका छन् खेमले ? यो अविश्वासको श्रृङ्खला यहाँ पनि जारी छ । भोकाहरू भोकै छन्, नाङ्गाहरू नाङ्गै । घरविहीनहरू किनारामै छन्, दुःखीहरू दुःखकै सागरमा छन् । र व्यवस्थालाई यी तमाम पीडाहरूको खासै हेक्का छजस्तो देखिँदैन । “सरकार” शीर्षकको कविताको उठानविन्दुमै उनी सरकारको सार्विक प्रवृत्ति र त्यसका विरुद्ध एउटा प्रतिनिधि प्रतिकार यसरी व्यक्त गर्छन्ः म भोकाएको मान्छे असम्भव प्रेमको उदासी हेरचाहमुक्त मेरो हृदय दमनको कठोरताले ममाथि समानुपातिक शासनमा प्रतिबन्ध लगाउँदै स्वस्थ्यको उत्तम मजा लिन्छ तर मलाई आरामको आवश्यकता छ । ( सरकार ) कनुै अनामिक या अमूर्त प्रतिनिधि सरकारको मात्रै होइन, आफू बसिरहेको मुलुक अमेरिककै पनि घुमाउरो आलोचना उनले गरेका छन् । “अनौठो राष्ट्रपति” शीर्षकको कवितामा भन्छन्, “पूँजीवादी कवचले हिलोको हड्ताल उठाएको छ ।” अगाडि लेख्छन्ः अनुपयुक्तले आफ्नो बोलीको दौरान व्यक्तिगत आक्रमणहरू अधिकांश बेवास्ता उत्प्रेरित सिद्धान्तहरू र स्वतन्त्रताको विरुद्धमा धम्कीहरू सत्य र सभ्यताका लागि ध्वस्त पार्दै छ ( अनौठो राष्ट्रपति ) थुप्रै भावहरूको कोलाज हो खेमको कविता । विषयहरूको वैभेद्य लोभलाग्दो छ । प्राकृति चित्रण र त्यसभित्र निहित गहन अध्यात्मिक यथार्थ “अनुयायी” जस्ता कविताले चित्रण गरेका छन्, जसमा जून एक शान्त तर विशाल उपस्थितिको रूपक अलङ्कार हो । प्रकृतिकै छटाहरूबीच आफूले मन पराएको मान्छेको उपस्थितिको आभास पाउनु एउटा सुन्दर रुमानी चिन्तन् हो, जसलाई “आनन्द” जस्तो कवितामा उनले प्रस्तुत गरेका छन् । आमाको महानता, प्रेमको शाश्वतता, खण्डित जीवनका विभाजित नियति, रहर र यौनका अभीप्साहरू उनको अविताका अन्य बलशाली विषयहरू हुन् । यी मामाम कविता पढेपछि पाठक केही निचोडमा अवश्य पुग्छन् — मान्छेले आफ्नो सम्पूर्ण परिचय अरुमा खोज्छ, तर अक्सर भेट्दैन । जीवनबाट आस्था गुमाएर मृत्युन्मुख भएकाहरूलाई झिनामसिना आशाहरूले अल्झाउँछ । स्वार्थमा लिप्त मान्छे समाजको क्यान्भासका एउटा कालो धब्बा हो । सधैँ साथको बाचा गरेका प्रेमीहरू नियतिको चक्रमा बिछोडिन बाध्य हुन्छन् । जीवनयात्राको अन्तिम सत्य मृत्यु हो, तर बाटोमा आइपर्ने कुनै नाफा अथवा नोक्सान होइन । आफ्नो सीमाबारे थाह पाएको मान्छे आफूले केही उपलब्धि गर्न सकेन भने दुःखी हुन्छ । भ्रमहरूको बीचमा मान्छेलाई आफ्नो स्व चिन्न कठिन हुन्छ । यी केही निचोड हुन् खेमका कविताका । यी उथलपुथलबीच कविलाई लाग्छ, प्रकृतिको साथ, र आन्तरिक अथवा आत्मिक यात्रा उनको जीवनको उपल्लो अभीष्ट हो । लेखाइको पनि । उनलाई थाह छ, “अप्रिय चीजको स्मरणमा हामी अरुसँग चिन्तित हुन्छौँ”, तर उनलाई यो पनि थाह छः सम्झौता विरुद्ध नयाँ निकास ल्याए साधारण जीवनमा आनन्द मिल्नेछ ।( मानव जीवन ) विविध कथ्य र विचारका बीच पनि कविहरूसँग एउटा विश्वदृष्टि हुन्छ, एउटा निजी भावभूमि हुन्छ । के हो खेमको निजी दृष्टि जीवन र जगतबारे? यसको उत्तर त खेमसँगै हुन्छ । हामीले पाठकको हैसियतबाट हेर्दा लाग्छ, उनी आफूले बाँचेको समयका सम्पूर्ण विवर्यासको समाधान प्रेम, प्रकृतिसँगको निकटता, प्रजातन्त्र र आन्तिम शान्तिको खोजीमा नै भेट्छन् । स्वरूपमा जति सरल देखिन्छन् खेमका कविता, त्यति सरल छैनन् ती भावमा । अमूर्त कविता हुन्, र अधिकांश कविता अविधात्मक छैनन् । चित्रकलाजस्ता छन् कविता, जसको छेउटुप्पो पत्तो लाउन धेरैपल्ट पढ्नुपर्छ । झटकाजस्ता उपसङ्हार छन् कवितामा । सामान्य उठान छ, र ओजपूर्ण समापन । धेरैपल्ट पढ्ने आग्रह राख्छन् । धैर्य चाहिन्छ उनलाई बुझ्न र उनको भावतरङ्गको मेलोसेसो पत्ता लाउन । प्रयोगशील छन् र अपारम्परिक छन् । त्यसैले नै नवीन र सुन्दर पनि छन् । अन्त्यमा भूटान र आप्रवाशनबारे एउटा नोट । सङ्ग्रहभित्र “कैद” शीर्षकको एउटा कविता छ – सङ्हभित्रकै लामो कविता । कवितामा एउटा दारुण परिस्थितिको चित्रण छ, जहाँ समय जीवनप्रतिकूल छ । हिरासतमा पागल बच्चाहरू जीवन र मृत्युको अवशेष बनेका छन् । आँसुका अविराम रेखाहरू बगेका छन् । कोही कसैको पर्वाह गरिरहेजस्तो देखिँदैन । लामो बाटो हिँडेका यात्री फर्कने सम्भावना देखिँदैन । प्रेमका सम्वाहकहरू भूमिगत छन् । कविहरू सुदूरका सपनाको व्यर्थ पखाइमा छन् । फुटपाथहरूमा जीवन कैद छ । र कविताको अन्त्यमा भनिएको छः बिना देश बाँचिरहेका भोका, चिसा, र निराश आत्माहरू पछुतो गर्छन् जीवनको बारेमा अपमान गर्यो अतिक्रमणले अस्तित्वको संघर्ष युद्धमा । ( कैद ) हुन त यस कवितलाई जीवनका अन्य विविध पक्षसँग जोडेर हेर्न सकिन्छ र यसको कथ्यलाई आस्तिवक युद्धमा मान्छेको संघर्षसँग जोड्न पनि सकिन्छ । तर यसमा केही वाक्यांश यस्ता छन्, जसले भूटानबाट निर्वाशित नेपाली मूलमा प्रियजनहरूको आत्मा बोलेको हो भन्दा अत्युक्ति हुँदैन । “ यात्री फर्कने छैन ”, “ बिना देश बाँचिरहेका ”, “ अपमान गर्यो अतिक्रमणले ” तथा “ अस्तित्वको संघर्ष युद्धमा ” जस्ता वाक्यांशले यस कवितालाई यसरी पनि व्याख्या गर्ने आधार दिन्छ । र त्यसैले यस कवितालाई थप शक्ति पनि दिन्छ । यस कवितभरि पोखिएको करुण रस र असन्तुष्टीको भाव आजको एउटा प्रतिनिधि भाव पनि त हो । यी तमाम कथ्य र तर्कका बीचमा उभिन्छ खेम रिजालको काव्यिक दावी । एउटा पूर्ण मान्छेको खोजी र आत्मिक र चिरस्थायी सुखको चिन्तन् उनको कविताको एउटा निश्कर्ष हो ।
हाम्रा आमाहरू अहिले यशोदा, बुवाहरू पनि नन्दबाबा नै: ‘मदन पुरस्कार प्राप्त उपन्यास’ राधा,यही कुराले पनि लोभ्याउथ्यो यो उपन्यास पढ्न।वास्तवमा कुनै पनि पुस्तकमा यस्ता सर्वाधिक चर्चाका पुरस्कारको ट्याग लगाइनुले त्यसलाई अझ व्यापारीकरण गरेझैँ लाग्दो रहेछ।हुन त पाएको कुरा लेख्नु हक पनि त बन्छ।जेहोस्, पुस्तक राम्रो छ भन्ने मानसिकता बस्यो।कस्तोखाले राम्रो ?यो प्रश्न भने बनिरह्यो ।प्रेमलाई लिएर पनि राम्रा पुस्तक बन्थे,राम्रा पुस्तकमा समाजका घटनाहरू हुन्थे,राम्रा पुस्तक वस्तविकतामा आधारित हुन्थे | एउटा मानसिकता बनाएर पढ्न सुरु गरेँ। सुरुमा लेखक आफैँ ‘म’ पात्रका रूपमा प्रस्तुत भए ।लाग्यो,यिनले कसरी राधामा लगेर जोड्लान् आफूलाई?जब ‘अध्याय एक’ सुरु भयो, परिवेश र पात्रहरू फेरिएका थिए ।राधा स्वयम् ‘म’का रूपमा प्रस्तुत भइन्।कृष्ण पनि उपस्थित थिए, तर चमत्कारबिहिन र साधारण मानिस जस्तै ।उनले कृष्णलाई चमत्कारिक्तामा मिसाएका थिएनन् ।यो कुरा लेखकले आफ्ना भनाइमा नै भनेका कारण अचम्म लागेको थिएन ।सुरुमा पढ्दै जाँदा खासै नौला घटना आएनन्।सब सुन्दै आएका कुराहरू थिए । जब बिचतिर राधा हराउनु पर्थ्यो, उनी हराइनन्।झन् सशक्त बनाइएकी नायिका थिइन् ।उनी युद्धमा प्रत्यक्ष सहभागी नबने पनि परोक्ष रूपले महत्त्वपूर्ण भूमिकामा प्रस्तुत भइन्।सुरुमा सुशिला र उनी प्रतियोगी साथीहरू बने पनि समयले परिपक्वता दिँदै गयो ।जब सुशिलाले विरगति प्राप्त गरी तब लाग्यो, एउटा उर्जवान पात्रको अन्त्य भयो,एक अनन्य मित्र बली चढी ।ऊ अमर बनी। आरती आचार्य त्यसपछिका घटनाहरूमा क्रमशः पूर्वमान्यताहरू तोडिए।ओहो!त्यो समयको पाठक मस्तिष्क ।पहिलेका मान्यताहरू धर्मराएर अस्तित्व खोजिरहेको र लेखकले दिएका नयाँ मान्यताले पनि आफ्नो अस्तित्वको दावा गर्ने। साच्चै त्यो वैचारिक द्वन्द्वको क्षण बन्दो रहेछ।“अस्तित्वमा आएको प्रत्येक वस्तुको प्रथम सर्त रहन्छ- ऊ त्यहाँ हुनुको सत्यबोध। ऊ छ यो सन्देश प्रसारण गर्नु उसको प्रथम कर्तव्य पनि। ऊ हुनु प्रथम सत्य हो।”,लेखकको यही भनाइले ममा नयाँ मान्यता बन्यो सायद । जब कृष्णको जन्मको सत्य बाहिर आयो तब नारीत्वमा प्रश्नहरू उठे । जवाफ उहीँ थियो खोज्नु परेन।पढ्दै जाँदा पुरुष प्रधानताले गाँजेको त्यही युगमै नारी सह-अस्तित्व मित्था बन्दै गयो। प्रेमले त्यहाँ अनेक अर्थ राख्यो ।युद्धले केही सिकायो,पछि भौतिकताले गाँज्यो पनि।पुरुषका पीडाहरू पनि पोखिए, तर तिनका अघि महिलाका पीडाहरू विशाल बनेर देखिए।कथामा कृष्ण जस्तो आदर्श बन्नुपर्थ्यो, त्यो कति पनि बनेनन्।राधाप्रति खासै न्याय गर्न सकेका जस्ता देखिएनन् ।राधा महल बनाउँदैमा प्रेमीको उत्तरदायित्व पूरा गरेको भन्न सकिने अवस्था थिएन ।कथाभरिका कुनै नारी पात्रले उचित न्याय भेट्न सकेका छैनन् ।हो, यही हाम्रो समाज लेखकले देखाउन खोजेजस्तै लाग्यो । कथाका पात्रहरू वसुदेव, देवकी, नन्दबाबा,यशोदा हाम्रै समाजका पात्रहरू थिए ।पढेर सक्दा लाग्यो, मैले सोचेभन्दा पनि धेरै अत्याचार,दमन र शोषण भएका छन् नारीहरूमाथि।आफ्नै अस्तित्वबारे उनीहरूलाई चेत छैन ।यही अवचेतनको फाइदा उठाइएका छन् पुरुषहरू। आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् । कथाका नन्दबाबा मलाई घरिघरि हाम्रै बाहरू जस्ता लागे।नन्दबाबा आफ्ना आदर्शले किचिएर,पुत्र मोहले तानिएका जस्ता लागे।आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् । के हाम्रा बाहरूले पनि आमाहरूलाई त्यसै गरेका छैनन् ?म हाम्रा बाहरूको हरेक दु:खमा आमाहरूको साथ देख्छु।खोई त्यो साथ बाहरूले निभाउन सकेका ?खोई दु:ख आधाआधा बाँडिन सकेको ? प्रायः समाजका सबै बाहरू पढेका छन्। नपढे पनि धेरैलाई माक्र्सवाद र लेलिनवादका धेरै कुराहरू थाहा छ।प्राय: राजनीतिमा चासो राख्ने हरपुरुष जान्दछन्, ‘साम्यवाद’ ।के ती कुनै वादले भन्दैनन्, नारी र पुरुषको सह-अस्तित्वको महत्त्व ?भौतिकवादमा विश्वास गर्ने मेरा बाहरू किन छोराको अस्तित्व खोजिरहन्छन् ? समाजले छोरा जन्माउन नसक्ने भन्दै आमाहरूलाई खिसी गरिरहँदा कहाँ जान्छ हाम्रा बाहरूका आदर्श?ती शिक्षित मस्तिष्कले किन भन्न सक्दैनन्,’भो, छोराहरू नभए पनि केही हुँदैन ?तँ बच्चा जन्माउने प्रविधि पनि होइनस्।छोडिडे, मलाई यहीँ खुसीले बाँचे स्वर्ग पुग्नु पर्दैन ।’, के हाम्रा बाहरूले कहिल्यै आमाहरू बनेर सोच्न सके? कृष्णका सोह्र हजार एक सय आठ श्रीमतीहरू पुग्दा मलाई यही प्रश्नले सताइरह्यो, के राधाका पनि सोह्र हजार एक सय आठ श्रीमानहरू भएका भए त्यो समाजले उनलाई नैतिकहिन देख्दैनथ्यो?के कृष्णमा राधामा जत्तिकै समर्पण भाव हुनुहुँदैन ?कृष्णले राधाका केही गुणहरू खोज्दाखोज्दै आठ रानीहरू पुगेछन्।राधाले पनि त्यसै गरेकी भए?……. हुन त नारीहरू आफूलाई पुरुषको सापेक्षतामा दाँजेर आफ्नो अस्तित्व मेटाइरहेका छन्।पुरुषलाई उनीहरू सापेक्षताको महान श्रेणीमा राख्छन् ।नारीलाई आफू नारी बन्नु छैन, बस् पुरुष जस्तो बन्न नपाएकामा पीडा छ।हामीले त आफ्नै अस्तित्व खोजेर माथि पुग्नुपर्ने होइन र?हाम्रो आफ्नै महत्व छ।हामी आफैँमा महान हौँ।फेरि किन पुरुषसँग दाँजेर अपमानित हुने गरिरहन्छौँ? कृष्णको कालका देवकी,यशोदा,एकनंशा,द्रौपदी,राधा,रुक्मिणी ,कुन्ती र अहिलेका पुतली ,फूलमाया,सीता, गीताहरूको कथा लगभग उस्तै छ।सबै पुरुषमा अडेका ।पुरुषको अहंतालाई भाग्यको खेल मान्ने हाम्रा आमाहरू दासत्वको एउटा उत्कृष्ट नमुना हुन्। यो उपन्यास लेखेर २०६१ मा सकिएको छ।अहिले १५ वर्षमा पाइला टेकेछ।त्यो काल र यो कालमा पनि त ग्रामीण बस्तीहरूका महिलाको अवस्थामा खासै फरक छैन ।पीडा उही, अत्याचार उही। झन अचेल त अत्याचारहरूले आधुनिक रूप लिएका छन् । पढ्दै गर्दा लाग्यो, के म पनि कलियुगकी एकनंशा होइन ?पुत्र पाउने आशामा जन्माइएकी? के मेरो जन्म छोरी पाएकै दिनका रूपमा मनाइयो ?जति भव्यताका साथ छोराका जन्महरू मनाइए?समाजभरि हेरेँ, ओहो! धेरै त एकनंशा नै हुन्। “हरेक युद्धहरू नारीले गर्दा (नारीका लागि) भएका छन् |”, यो समाजमा व्याप्त भनाइ हो र राधाले प्रस्ट पार्छ कि यी युद्धहरू सत्ता प्राप्तिका लागि भएका थिए ।तपाईं देख्नुहुन्छ, सत्य युगदेखि नै सम्पूर्ण शासनको बागडोर सम्हालेका नारी पात्र?कति कठिन छ तिनीहरूलाई भेट्न।वर्तमान पनि त उस्तै छ होइन र?एउटा मुर्ति राष्ट्रपतिको कुर्सीमा स्थापित गर्दैमा नारी समावेशीता पूर्ण हुन्छ ? पारिजातले सहअस्तित्वमा जोड दिएकी छन् तर के उनी मात्र हुन् कलम उठाउने ?वर्तमानसम्म अलि धेरै उठे होलान् । यो पुस्तकले महिलामाथिको अन्याय छर्लङ्ग पारिदिएको छ।तर महिलामाथिको अन्याय विरुद्ध पुरुषले नै कलम उठाइदिनु परेको छ।यसको अर्थ रहन्छ, महिलाहरू अझै आफूमाथिको अन्याय विरुद्ध कलात्मक कलम उठाउन सकिरहेका छैनन्।पारिजातले सहअस्तित्वमा जोड दिएकी छन् तर के उनी मात्र हुन् कलम उठाउने ?वर्तमानसम्म अलि धेरै उठे होलान् । तर हरदमित नारीमा यो साहस हुनुपर्ने होइन ?कतिपय क्षेत्रमा नारी अवसर पुगेर पनि प्रभावकारी छैन ।यी महिलाहरू यस्तै निस्कृय भए भने यिनकै पक्षमा फेरि कलम उठाइदिन अर्को ’कृष्ण धरावासी’ जन्मनु पर्ने छ।त्यतिबेला पनि यी नारीहरू यस्तै काँतर हुनेछन् । लेखकले राधालाई न्याय दिलाउन पूर्वमान्यता भत्काएर राधाका पक्षमा कलम चलाइदिएका छन्।तर अन्त्यमा राधाले के आफूलाई न्याय गरिन् ?के कृष्णहरूले उचित न्याय दिन सके? अन्त्यमा राधा कुरुक्षेत्र पुगेकी छिन्, उनी अब कहाँ जालिन्? त्यो रहस्य नै रहन्छ ।तर कृष्णका नाममा बनेका धारणाहरू अहिले ममा भत्किएका छन् ।हुन त मैले पुराण पढेकी छैन, तर पनि सुनेकै भरमा बनेका आदर्श कृष्णका मान्यताहरू अब छैनन् ।तर एउटा प्रश्न मनमा रहिरह्यो ,मैले कुनै दिन पुराण पढेँ भने मेरो कृष्णप्रतिको यो धारणा तठस्त बन्ला कि फेरि नयाँ विकास होला? आमाले मैले पढेको पुस्तकबारे सोध्नुभयो, ‘के रैछ त्यसमा?’ भनेँ-‘भगवानका पालादेखि न्याय नपाएकी नारी राधाको माध्यमबाट नारीमाथिको अत्याचार प्रस्ट पार्दिएको छ।’ आमाले भन्नुभयो,“ जसले जहाँ जे लेखे पनि हामीलाई घाँस नकाटी सुख छैन, भारी नबोकी हुँदैन । हाम्रा दु:खका कथाहरूले गर्दा उनीहरू झनमाथि पुग्न पाएका छन्।”, मलाई लाग्यो नारीहरू विश्वास पनि गर्न सक्दैनन् कि उनीहरूका लागि सहअस्तित्वको कुनै दिन आउनेछ। द्रौपदीको पाण्डवहरूतर्फको समर्पण, राधाको कृष्णतिरको समर्पण ,रुक्मिणीको पतिव्रता आदिले फेरि बोल्छ नारी महानता र सृष्टिको महानता। यो लेखिरहँदा लाग्ला, म नारीवादी बनेर सोचिरहेकी छु।यी सब समाजका यथार्थ कुराहरू हुन् र पुरुष भए पनि लेखक आफैँले स्विकारेका छन्।वसुदेव,नन्दराय, गर्ग ऋषि,कृष्ण, बलराम आदिले अन्यायलाई सक्न निभाएको भूमिका महत्त्वपूर्ण छ, तर उनीहरू स्वयम् न्यायीक बन्न भने सकेका छैनन् ।द्रौपदीको पाण्डवहरूतर्फको समर्पण, राधाको कृष्णतिरको समर्पण ,रुक्मिणीको पतिव्रता आदिले फेरि बोल्छ नारी महानता र सृष्टिको महानता। पुस्ततकका विचारले अलि दिन वैचारिक उठलपुठल बनाइदियो र साँच्चै सोच्न बाध्य बनायो ।मलाई लाग्छ, एक सफल पुस्तकको विशेषता यही हो । #आरती आचार्य #उपन्यास राधा
चन्द्र हाँसेपछि नासिएका साहित्यिक सहिद कृष्णलाल अधिकारी: नेपाली इतिहास काण्ड–पर्वले भरिएका छन् । अनि, नेपाली दुखान्तक पर्वको ऐतिहासिक श्रृंखलामा बिर्सन सकिँदैन, मकै पर्वलाई पनि । अरू पर्वमा राजा, महाराजा, भाइ–भारदार काटिन्थे या झोस–पोलमा विष पिलाइन्थ्यो । यो मकै पर्वमा चाहिँ लेखक फन्दामा परे । हरिबहादुर थापा लेखक कृष्णलाल अधिकारीले कुन उद्देश्यले मकैको खेती पुस्तक लेखे । पुस्तक पाना जलाएपछि वास्तविक तथ्य अज्ञात रह्यो । धेरैको ठम्माईमा मकै खेती प्राविधिक थियो, साहित्यिक व्यंग्य कृति होइन । राणाकालीन नायब–सुब्बा कृष्णलाल अधिकारीलाई लागेको हुनुपर्छ, ‘मकै खेतीका शत्रु मार्न सकियो भने किसानको भलो हुन्छ ।’ तर पुस्तकको व्याख्याचाहिँ राणा–शासकविरुद्ध जनता भड्काउने व्यंग्यमा परिणत हुन पुग्यो । त्यसो पनि हुन सक्छ । किनभने कसैले पनि शासकविरुद्ध व्यंग्य होइन पनि भनेका छैनन् । त्यो कालखण्डमा प्रचलित थियो, ‘चन्द्र हाँस्यो कि नास्यो ।’ सुब्बा कृष्णलाल अधिकारीका हकमा पनि चन्द्र शमशेर हाँस्न पुगे । उनकै हँसाईमा, ठ्याक्कै एक सय वर्षअघि साउन महिनामा सुब्बा कृष्णलाल अधिकारीलाई नेल ठोकियो । जेल कोचियो । उनी जेलमै परलोक भए । उनको पुस्तकका प्रतिहरू जलाइयो । एक प्रति फेला नपरेकामा थप सजायसमेत ठोकियो । उनको पुस्तकका पाण्डुलिपि पढ्ने, भाषा हेर्नेहरू, सूचना नदिने सरकारी अधिकारीहरुको जागिर खोसियो । यिनै कारण १९७७ साउन ११ मा पर्व श्रृंखलामा थपियो, ‘मकै पर्व’ । लेखक कृष्णलाल अधिकारी राणा शासककै कर्मचारी थिए । उनी कौशल अड्डाका नायब सुब्बा । त्यो कालमा नायब सुब्बा भनेको सानो पद होइन । ठूलै पद हो । पहाड–तराईमा जीवनको भरोसा मकै थियो । तर किराले धुन्चक्र पाथ्र्याे, आजकल धुन्धुकारी रूपमा जमजमाएका फौजी किरा र सलहझैँ । लेखकको असल उद्देश्य थियो, मकै पुस्तक लेख्ने र निःशुल्क वितरण गरी गाउँघरसम्म पुर्याउने । किरा निमिट्यान्न पार्न सके किसानले राहत पाउँथे । मकै छरेदेखि फल लाग्दासम्म दुःख दिने किराका बखान किताबमा सामेल थियो भन्ने भनाइ छ । अर्थात् मकैका जरा खाने खुम्ले–खुम्रेदेखि जुँगा खाने धमिरासम्म । कृष्णलाल अधिकारी हराएको किताब पनि फेला परेको छैन । त्यो कालखण्डका जान्ने र सुन्नेहरूबाट ‘मकैको खेती’का केही वाक्य बाहिर आयो । पुस्तककै वाक्य थियो, ‘मकैका निम्ति रातो टाउके र कालो टाउके किराले खुब दुःख दिन्छन् ।’ श्री ३ महाराज चन्द्र शमशेर रातो क्याप लगाउँथे । कमान्डर इन चिफ भीम शमशेर कालो क्याप । चाकडीका धरन्धर पोलाहाले दुई शासकलाई खुम्ले–खुम्रे किराको टाउकोसँग दाँजे । त्यस्तो व्यंग्यपूर्ण वाक्य राणा शासकका पाच्य सवाल थिएन । मकै खेतीका लेखक कृष्णलालविरुद्ध पोल लगाएपछि शासक खुसी हुने भए । अनि वापतमा ‘लाभ’ मिल्ने नै भयो । पोल लगाउने पात्र पनि टाढाका थिएनन् । लेखक अधिकारीकै आफन्त थिए । खुम्रे किरा मार्न खरो मंगलबारका दिन करुवा तेलमा धूप हाल्नुपर्छ । त्यसपछि किरा समाप्त हुन्छन् । त्यो वाक्यलाई पनि राणाहरूविरुद्ध जनता भड्काउने तत्वभित्र पारियो, ‘मंगलबार तेल धूप ।’ अर्काे वाक्य थियो, ‘बालकलाई आमाको दूधले फाइदा दिन्छ, चन्द्रोदयले दिँदैन ।’ त्यो वाक्य पनि अर्थिन पुग्यो, ‘नेपाली प्रजा’ भनेका बालक हुन् । आमा भनेका ‘राजा’ हुन् । चन्द्र शमशेरभन्दा राजा ठीक हुन् भन्ने पोल लागेपछि चन्द्र शमशेरमा सहन गर्न सकेनन् । त्यसरी अथ्र्याएपछि चन्द्र शमशेर क्रोधित हुने नै भए । अझ त्यो कालखण्डमा शासनको आधार भनेकै ‘तीन–च’ अर्थात्, चाकडी, चाप्लुसी, चुक्ली थियो । आमकिसान ‘मकै खेती’मा लाग्ने किराबाटै पीडित थिए । शासकहरू चाहिँ मोजमस्ती र सम्पत्ति भारत थन्क्याउनमै मग्न थिए । हुन पनि चन्द्रोदयमा मुलुकको अथाह सम्पत्ति भारत थन्किन पुगिरहेको दृश्य राणाकालीन कर्मचारीहरूले पनि देखिरहेकै थिए । राणाकालीन प्रशासक सरदार भीमबहादुर पाण्डेको ‘त्यसबखत नेपाल’ खण्डबद्ध पुस्तकका श्रृंखला १९७७ सालबाटै सुरू हुन्छ । त्यसकारण पुस्तक पनि मकै पर्वबाटै सुरू भएको छ । पाण्डे लेखेका छन्, ‘अर्काको कुरा लगाएर आफू स्वागिलो हुनु नै त्यसबखत दरबारियाहरूको मूल ताक र महामन्त्र हुन्थ्यो । त्यस्ताले अर्काको कुरा लगाएनन् भने आफन्तकै कुरा पनि मालिकलाई लगाउँथे, आफू स्वागिलो हुन, दुनो सोझ्यान, प्रतिद्वन्द्वीलाई पछार्न । रोजिन्दा मालिकको कान भर्नु खास काम र कर्तव्य ठहरिन्थ्यो । यिनैको पेचापेचमा परे विचरा ‘मकैको खेती’ लेख्ने नासु कृष्णलाल पनि १९७७ सालमा ।’ कोहीका लागि भने ‘मकैको खेती’ असल उद्देश्य बोकेको ‘किसान–उपयोगी’ पुस्तक मात्र थियो । यसमा दुईथरि मत पनि बाहिर आए, कोही राणा शासकका निम्ति व्यंग्य कस्ने उद्देश्यसहित पुस्तक लेखिएको टिप्पणी गर्छन् । कोहीका लागि भने ‘मकैको खेती’ असल उद्देश्य बोकेको ‘किसान–उपयोगी’ पुस्तक मात्र थियो । तिनको मतमा, पोलाहा झेली बखान र शासकले किराका टाउकासँग आफैँलाई दाँज्दाको परिणति हो, ‘मकै पर्व ।’ अर्काेचाहिँ पहाडमा बाँदरले मकै स्वाहा पार्छन्, रुग्न ‘कुकुर’ चाहिन्थ्यो नै । मकै खेती रुग्न बेलायती कुकुर होइन, गाउँ–घरकै भुस्याहा कुकुर चाहिन्छ भन्ने मत लेखक अधिकारीको थियो । बेलायती कुकुर धनीहरूका ठूला बैठकहरूमा बस्छन् । दूध–भात मात्र खान्छन् । उता हाम्रा भुस्याहा कुकुर जुठो ढिंडो खाँदै ढेडु बाँदरबाट ‘मकैको खेती’ जोगाउँछन् । त्यसकारण नेपालमा बेलायती कुकुर होइन, भोटे कुकुर चाहिन्छ । पोलाहाले त्यसलाई पनि यसरी अथ्र्याए, ‘बेलायती कुकुर भनेका राणा शासकहरू हुन् भने भोटे कुकुर भनेका नेपाली जनता ।’ निरंकुश शासकलाई के चाहियो र ? पोलाहाका पोलसँगै तिनको दिमाग तात्न पुग्यो, १९७७ सालमा राणा शासकहरूले त्यो पुस्तक जलाउने निर्णय लिए । छापिएकामध्ये १ प्रति फेला नपरेको हुँदा ३ वर्ष थपसहित नौ वर्षको जेल सजाय तोकियो । झोसपोलकै आधारमा “मकैको खेती” पुस्तक राणाहरूको ‘गाथगादी’ ताक्ने तोपमा रूपान्तरित गरियो । मकैको खेतीका वाक्यलाई झैँ तिनीहरू पनि त्यसरी नै अथ्र्याइरहेका हुन्छन् । दुःख दिइरहेका हुन्छन् । शासकीय पोलाहा हरेक कालखण्डमा नियमित छन् । यतिखेर पनि उत्पात् जन्मिएका छन्, विचौलिया मतिसहित । शासकलाई त्यसरी नै खुसी पार्न ‘अरिङ्गाल’हरू धुन्चक्र हिसाबले बालुवाटार, सिंहदरबार, नेताका निवासवरिपरि झुम्मिन्छन् । मकैको खेतीका वाक्यलाई झैँ तिनीहरू पनि त्यसरी नै अथ्र्याइरहेका हुन्छन् । दुःख दिइरहेका हुन्छन् । रिझाएवापत हैसियत अत्यधिक ठूलो पदीय लाभ लिइरहेका हुन्छन् । नेपालपछि पर्नुमा तिनैखाले ‘अभिशप्त इतिहास’ श्रृंखला नियमित हुनु हो, कवि कृष्णभूषण बलको कविताझैँ । ‘अमरसिंह थापाले विष खाएर मर्नुपर्ने वीर बलभद्रले अफगानमा युद्धमा मर्नुपर्ने काजी भीम मल्लले काटिनुपर्ने भीमसेन थापाले सेरिनुपर्ने, बाध्यताको इतिहास’ #कृष्णलाल अधिकारी #मकैको खेती #हरिबहादुर थापा
अबोधः एक यमलोक यात्रा: घन गिटीमा बजार्दाबजार्दै उनलाई व्यथाले बजार्यो । फोरेका गिटीका चुच्चा ढुङ्गा हत्केलाले अठ्याउँदा हात रगताम्मे भए । नदीका किनार उनको मृतकण्ठले पुकारेको आवाजले प्रतिध्वनित् थियो । त्यो पुकार उनकै कानसम्म मात्र पुग्यो । आवाजले कानलाई सन्देश पढायो, “तँ गरिबको पुकार कसले सुन्छ ?” बिपिन अर्याल सूर्यले तापको श्राप बढाउँदै थियो । पसिनाको मूलले भिजाएको सारीभरि पोखिएका थिए रगतका भलहरू । त्यही समय ऊ आमाको पेटलाई लत्याएर दुनियाको होलमोलमा मुछियो । नदीवरिपरि ऊ रोएका आवाज गुन्जियो । आमाले उठेर छिनोले नाभी काटिन् र निदाइन्, कहिल्यै नबिउँझिने निद्रामा । कति निर्दयी रहिछे पापीनी ! आफ्नो छोरालाई एकपटक ममताका हत्केलामा राखेर उसका अधरमा नचुमी, नअंगाली सधैँका लागि नदाइन् । उनलाई छोराभन्दा प्यारो त बगर पो रहेछ ! रक्सीको मातमा रोल्मोलिएर बगर घुदैआएको एक व्यक्तिले छोरालाई उठायो । उसलाई मात्र नभई साथमा उसका जिम्मेवारी पनि । आमाको छातीलाई बेल्चाका बेल्चा बालुवाले अंगाले, त्यस पापीनीलाई त ठीकै भयो ! खुब प्रेम थियो नि बगरसँग, आफ्नो प्रेम प्राप्त गरी ! उसलाई पाल्नेले पनि 5 वर्षमै संसार छाड्यो । ऊ फेरि अनाथ भयो, कर्म दिनेबाट पनि । त्यसपछि सडकका पेटी उसको शरीर बिसाउने बिस्तारा बने भने झुत्रा भएर पनि भोकका भारी बोक्ने बोराहरू ब्ल्याङ्केट र आकाश छानो । अरे ऊ त धनी पो भएछ ! जहाँ गयो त्यहीँ घर । खालि प्लास्टिक तथा सिसाका बोतल उसको जिम्मेवारी थियो र जति धेरै बोतल उति धेरै खाना । कुनै दिन बोतलहरु छैन त उपवास । ऊ बिरामी पर्न पनि सक्दैन, सधैँ स्वस्थ रहनै पर्ने । भोको पेटले विद्यालय जान त के सोच्न सक्नेसम्म कुरो भएन । तर ऊ अनाथ भने होइन, मात्र आफ्नो भन्ने कोही नभएको हो । उसको नाम छैन, भए पिन बिर्सिसक्यो । बोलाउनेले ‘एइ…. खाते’ भन्छन् । ऊ सोच्छ ” खान नपाउनेहरूकै नाम खाते ! खान पाउनेहरूको त के के हो के के ! खान नपाउनेहरूको नाम आवश्यक पर्दैन हो ?” प्रश्न त्यतिकै छोडिदिएर बोतल बटुल्छ ती फरक नाम भएकाहरूले फालेका । आकाश चकमन्न अध्याँरोको बाकसभित्र बन्द भएको छ। चारैतिर तुफानले बजारलाई ढाकेको छ। मान्छेहरू घरभित्रै बसेर कोही आगोका वरिपरि गोलाकार भएर, कोही सिरकमा गुटमुटिएर, कोही हातमा कफी लिएर मुखमा तातो सुर्की लगाउँदै चीसो मनाइरहेका छन् । उनीहरू बाहिरी तत्वको सामना गर्नु नपरेकोमा कृतज्ञ छन् । तर त्यहाँ ऊहरू पनि छन्, जो घरभित्र बस्नेभन्दा ठीक विपरित छन् । प्रतिक्षालयमा ऊ शरिरबाट कम्पन फ्याँक्दै, टुक्रुक्क परेर उज्यालोको पर्खार्इमा थियो, अध्याँरो आकाशमुनि बसेर सुन्दर बिहानीको परिकल्पना गर्दै थियो । उसलाई बाडुल्की कहिल्यै लाग्दैन । बाडुल्की लाग्न त सम्झिनेहरू चाहिने रहेछ ! यद्पि उसले पनि साथी पायो, जो एक राक्षस थियो । त्यो कहिल्यै सुत्दैनथ्यो- किरण । आशाको किरण। किरण र ऊ सधैँ राति सँगै खेल्थे, रातिमा मात्र । दिनमा आउन किरण सक्दैनथ्यो । तिनीहरू कहिले क्यानका बोतललाई फुटबल बनाउथे र खेल्थे, कहिले लुकामारी खेल्थे, कहिले एकअर्कोलाई छुने खेल । उसले कल्पना गर्थो, ऊ रातमा मात्र नभई दिनमा पनि ती खेल खेल्न सकोस् । पूरा दिन साथीसँगै दिन बिताउन सकोस् । एक रात ऊ साहसिक यात्रामा निस्कियो, राक्षसहरूको संसार घुम्न । “ऐ किरण ! तिमी कता छौ ? ……… किरण ?” अनाथले रात पर्नलाग्दा चिच्चायो । उसको बायाँपट्टिबाट भयभित र डरलाग्दो आवाज सुन्न थाल्यो । ऊ झ्याप्प त्यतैतिर फर्कियो । केही देखेन र छिटो छिटो यताउति मन्टो फर्काउँदै हेर्न लाग्यो । किरण चिच्यायो ‘भू………..!’ ऊ डराएन, तर उसले आफ्नो पनि संसारमा कोही भएको महसुस गर्यो । उसले किरणलाई हेर्नासाथ किरणले प्रश्न गर्यो, “किन हो तिमी बस् यहीँ वरिपरि घुमिरहन्छौ ? जाऊँ हिँड आज म तिमीलाई राक्षसहरूको दुनियाँ घुमाउँछु । तर म पहिले नै तिमीलाई चेतावनी दिन्छु, यो सुरूमा डरलाग्दो छ । पछि पक्कै तिमीलाई रमणीय लाग्नेछ ।” उसले भुईँबाट उठ्दै जवाफ दियो, “हुन्छ, म तयार छु । हुनसक्छ, मैले त्यहाँ मेरा आफन्तलाई भेट्न सकू !” उसलाई किरणले रिसको आँखाले हेर्यो, हेरिरहन सकेन र हाँस्न लाग्यो । “हे ! के मैले त्यस्तो हाँसोउठ्दो कुरा के गरेँ ?” “हाम्रो संसारमा कुनै परिवार हुँदैन, न कुनै आफन्त । हामी केटाकेटीहरूलाई तर्साउँदै हिँड्छौँ । ल अब जाऊँ ।”, जब उनीहरू राक्षसहरूको संसार प्रस्थान गर्दै थिए, किरणलाई बल्ल महसुस भयो उसको कुनै नाम थिएन । भन्यो, “अब तिमीलार्इ नाम चाहिन्छ । अबोध ! तिमीलाई आफ्नो नाम कस्तो लाग्यो ?”, उसलार्इ मन नपर्ने कुरै थिएन । मनमनै तीन पटक भन्यो, “अबोध ! अबोध !! अबोध !!!” उनीहरूले राक्षसको संसारमा जानेक्रममा शब्द र प्रश्नहरूको सुरुङ पार गरे । दृश्य र आवाजहरूको, कल्पना र सपनाहरूको, भोक र खानाहरूको, नाङ्गो शरीर र कपडाहरू अनेकौँ सुरूङपश्चात् गन्तव्यमा पुगे । त्यहाँ अबोधले अनेकौँ अनौठा चिजबिज र दृश्यहरू देख्यो जुन यसअघि कहिल्यै देखेको थिएन । अबोधले फरक-फरक प्रकृतिका राक्षसहरू र तिनका संस्कृति देख्यो। तिनीहरूको आकाश कालो थियो जसमा कहिल्यै नमेटिने कालो अध्याँरो थियो । जूनलाई रातो रगतले लिपिएको थियो जसबाट रगत तपतप चुहिरहेको थियो र रूखहरू बैजनी रंगले रंगिएका थिए। घाँसहरू कालो छायाजस्ता देखिन्थे । तर सबैभन्दा हतोत्साहित बनाउने पक्ष त यो थियो कि त्यस संसारका कुनै पनि राक्षसका छाया थिएनन् ।किरणले अबोधको अनौठो अनुहार हेर्यो र मुसुक्क हाँस्यो । दुवैले रातो चन्द्रमालाई हेरिरहेका थिए । अचम्मको र डरलाग्दो दृश्य त्यो जूनमा खोपिएको थियो; जहाँ एक बालक सडकमा भोकका कारण मृत अवस्थामा सुतिरहेको थियो। #बिपिन अर्याल
गोठमा झुण्डिएको त्यो डोरी: भोलि शुक्रबार, पांक्षिक रूपमा स्तम्भ थालेको छु– मलाई थाहा छैन । विगत केही दिनदेखि दिमागमा एउटा कुराले बहुत जोर जोरसँग हिर्काइरहको छ । तर शीर्षक ‘ गोठमा झुण्डिएको त्यो डोरी ‘सिवाय अरू एक शब्द लेख्न सकेको छैन । शुरु गर्नुभन्दा निरन्तरता दिनु खै किन गाह्रो हुन्छ ? मलाई थाहा छैन । “फेरि अर्को पनि गएछ ।”, आवाज निरजको हो, आफ्नै रुमबाट सुनाउँछ । “लाइभ आएरै ?”, म सोध्छु, तर ऊसँग पक्का जानकारी छैन । भन्छ, “अरे ! तर भिडियोचाहिँ छैन मैले देखेको ।” म झन धेरै रन्थनिन्छु । मेरो दिमागमा खै केले हो ? पटक पटक एघार हजार भोल्टको झड्का महसुस भइरहन्छ । गत मंगलबार साँझ, दिन साहित्यपोस्टकै वेवसाइटमा बिताएर पल्टिने सुरमा थिएँ, अचानाक फेसबुकको न्यूज फिटमा एउटा भिडियो देखियो । जुन एक युवतीले लाइभमा आएर आत्महत्या गरेको थियो । तर मैले हेरेकै भिडियोचाहिँ लाइभ नभएर मेरो फ्रेण्ड लिस्टमै भएकी एक युवतीले आफ्नो वालमा राखेकी थिइन् । जुन केही दिनअघिको भिडियो भए पनि मैले हेरेको थिइनँ । समचारमा भने पढेको थिएँ । कृष्ण ढुङ्गेल उसो त मान्छे मरेको, काटमारको, कुटपिटको तथा आत्महत्या गरेको फोटा तथा भिडियोहरू सञ्जालमा राख्नेलाई घृणा गर्छु । भरसक हेर्दिनँ । न्यूज फिडमै आइपुगे पनि छिटो छिटो स्क्रोल गरेर भाग्छु । तर त्यो भिडियोबाट मलाई भाग्न खै केले दिएन ? मलाई थाहा छैन । हो, म त्यो भिडियोबाट भाग्न सकिनँ । हेरेँ । भिडियोमा एक कलकलाउँदो उमेरकी युवती छिन्, उमेर २० पक्कै पुगेको नहोला ! बेडमाथि कुर्सी राखेर उनी फेनमा सल बाध्ने कोसिसमा देखिन्छिन् । केही समयको प्रयासमा सफल हुन्छिन् र केहीबेरमै कुनै पीडा नै महसुस नभए जसरी तनक्क हुन्छिन् । के साँच्चै मर्न यति सजिलो छ ? यो प्रश्न आफैँलाई गरिरहँदा म आफूलाई पूर्ण रूपमा खालि महसुस गर्छु । लाग्छ, मेरो भाडाको कोठा पूरै घुमिरहेको छ । म पल्टिएको ओछ्यान घुमिरहेको छ, फन्फनी । र सबैभन्दा बढी त मेरो दिमाग घुमिरहेको छ । त्यो अव्यक्त शून्यताले मलाई मेरो बाल्यालसँग जोडिएको एक घटनासम्म पुर्याइ छोड्छ । खै किन कुनै स्मिृतिमा धुमिल बनिरहेको कुरासम्म पुग्न पनि केहीले पैदा गरिदिएको शून्यता आवश्यक हुन्छ ? मलाई थाहा छैन । ==================== उमेरले सात वर्षको हुँदो हुँ । गाउँमा भर्खरै बिजुली बलेको थियो । बिजुलीसँगै भित्रिएको थियो टेलिभिजन । शनिबार नेपाल टेलिभिजनले हिन्दी फिल्म दिन्थ्यो । नेपाली फिल्म हेर्नका लागि सिडीको सहारा लिनुपथ्र्यो । त्यो पनि आफ्नोमा पहुँच थिएन । तावा परिवारमा विदेशबाट ल्याएको ३२ इन्चे टेलिभिजन र डिभिडी प्लेअर थियो । र, त्यही हेरिन्थ्यो दाइ दिदीहरूसँग नेपाली फिल्महरू । त्यो समयमा नेपाल फिल्मी जगतमा राजेश हमाल, निखिल उप्रेती, दीलिप रायामाझी, श्रीकृष्णलगायतका हिरोहरूको राज थियो । त्यसमा पनि मलाई सबैभन्दा मन पर्ने दीलिप रायामाझी । अचेल मेरा प्रिय नायक दीलिप रायमाझी के गर्दै होलान् ? मलाई थाहा छैन । फिल्म हेर्नेक्रममा एउटा कुरो मेरो बालमस्तिष्कमा गहिरो गरी गढ्यो । जसलाई उप्काएर फाल्न कसैले सकेन, र त्यसको रहस्य थाहा पाउन म आफैँ माथि प्रयोग गर्दाे भएँ । यदाकदा फिल्महरूमा हिरोहरू मरिरहेका हुन्थेँ । कही राजेश हमाल त कहीँ निखिल उप्रेती, कही दीलिप रायामाझी त कहीँ श्रीकृष्ण श्रेष्ठ । तर अघिल्लो फिल्ममा मरेको त्यही हिरो अर्काे फिल्ममा हाँसिरहेको हुन्थ्यो । गुण्डाहरूलाई पिटिरहेको हुन्थ्यो । अचम्म ! मेरो लागि खुब रहस्यको कुरो बन्न पुग्यो त्यो । अँ साँच्ची, मान्छे मरेपछि जाने स्वर्ग र नर्क कहाँ कहाँ होलान् ? मलाई थाहा छैन । दिन शनिबारको । महिना पक्कै पनि भदौको । म कुखुराको खोरपछाडि माछाको चारो गँड्यौला खन्दै थिएँ । गँड्यौलाका लागि मलिलो माटो खन्दैजाँदा माटोमा खै कहिलेदेखि पुरिएर रहेको डोरी फरुवामा अल्झिएर आयो । डोरी त्यस्तै दुई मिटरको हुँदो हो । त्यसबेला ममा खै कुन शक्तिले काम गरिरहेको थियो ? म सरासर ग्वाली (गोठ) तिर लागेँ । दिउँसो गाई वस्तु ग्वालीमा हुँदैनन् । अझ बर्खामास, उसै पनि हिलो हुने, ग्वाली सुकाउनका लागि भए पनि वस्तुभाउ सबेरै निकाल्नु पर्छ । तर गाईको बाछो भने ग्वालीमै थियो । मेनुका (दिदी) ग्वालीको छेउमै थिई । मेनुकाको भागमा दिउँसो बाछोलाई मीठो घाँस खुवाउने जिम्मा परेको हुनुपर्छ । ऊ मलखाडीका डिलमा रहेको कलकलाउँदो दूबो काट्दै थिई । ग्वालीमा ढाट लगाइएको हुन्छ । ताकि वस्तुभाउले घाँस तथा पराल नटेकून् र घाँसमा नगोब्य्राऊन, नमुतून् । ग्वालीमा मभन्दा थोरै अग्लो बनाएर टाँड छुट्याइएको थियो । तल वस्तु बाँध्ने, माथि दाउरा, मकैका ढोड, खोस्टालगायत राख्न मिल्ने प्रयोजनाका लागि । टाँड छापिएको थिएन, तर बाँस तथा काठका छ्डकेहरू बाक्लै राखेर सामान राख्ने मिल्ने बनाइएको थियो । भुइँदेखि भेट्ने मेरो उचाइ थिएन, वस्तुका लागि लगाइएको ढाटमा चढेर टाँडमा तेस्राइएको एउटा बाँसमा उही गँड्यौला खोज्दा फेला पारेको डोरी बाँधे । त्यही डोरीलाई मालाझैँ आफ्नै घाँटीमा पनि बाँधे । मलाई थाहा थियो, झुण्डेपछि मान्छे मर्छ । कर्सिगं बाको मिलमा काम गर्ने लाटो पनि त झुण्डिएरै मरेको थियो नि ! तर एउटा फिल्ममा मरेको हिरो अर्काेमा कसरी बाँच्छ ? मलाई थाहा थिएन । डोरो सुर्कनो नभएर गाँठो परेछ, घाँटीमा दबिएन । तर असर त परिगयो । डोरीलाई हातले समाएर म ख्याक् ख्याक् गर्न थालेछु । खुट्टाहरू कोक्रोझैँ हल्लिने थाले छन् । खासमा त्यो मेरो ढाटमा टेकेर आफू बाँच्ने प्रयास हुनुपर्छ । तर मेरा खुट्टा र ढाटको तालमेल कति पनि मिलेको थिएन् । डोरी घाँटीमा सुर्कनो न परेर के भो त, मेरो अगाडि अँन्धकार छाउँदै गएको मलाई महसुस भए । केहीबेरमै मैले आफूलाई भुइँमा पछारिएको पाएँ । छेउमा मेनुका रुँदै बसेकी थिई । घाँटीमा उसैगरि डोरी मालाझैँ गाँठो परेर बसेको थियो । आँखाअघि, केहीबेरअघि टाँडमा बाँधेको डोरोको चुँडिएर रहेको भाग पूर्ण स्थिर बनेकै थिएन । सुस्तरी सुस्तरी चलयामान थियो । थाहा पाएँ, म फिल्मका हिरोहरू जस्तै मरेर बाँचेको रहेनछु । बरु म छट्पटाउन थालेपछि मेनुका मेरो खुट्टामा आएर झुण्डिएकी रहिछे । माटोमुनि दबिएर बसेर मक्किएको डोरीले मेनुका र मेरो भार थाम्न नसकी चुट्टिएको रहेछ । र म बाँचेको रहेछु । धन्न ! डोरी मक्किएको रहेछ । यदि डोरी नमक्कीएको वा डोरी मेनुका र म दुवैको भार थाम्न सकेको भए आज म स्वर्ग वा नर्क कहा हुन्थेँ होला ? मलाई थाहा छैन । ……………… मान्छेले आत्महत्याको प्रयास मुख्यतः दुई कारणले गर्छ– आवेग (आक्रोस) र मानसिक समस्या । तर म अपवाद हुँ । म रहरले आत्महत्याको प्रयास गर्नेहरूमध्ये पर्छु । मानसिक समस्याको कारण आत्महत्या गर्नेहरूका बारेमा उनीहरूको समस्याको समाधान नै प्रमुख समधान हुनुपर्छ । तर आवेग र रहरको आत्महत्या सरासर मूर्खतासिवाय केही होइन । र यी दुई कारकहरूले अहिलेको लाइभ आएर आफैँलाई मार्नेहरूको शृंखलामा मनोवैज्ञानिक सम्बन्ध राख्छ । यी दुई एकअर्कामा के कति अवस्थामा अन्तरसम्बन्धित पनि छन् भन्ने मलाई लाग्छ । आक्रोशमा गरिने कुनै पनि क्रियाकलापमा कसैलाई देखाउने रहर हुन्छ । रहरमा गरिएका त रहरै भइहाले । यसरी हेर्दा आक्रोमा पनि सूक्ष्म रूपमा रहर मिसिएको हुन्छ । साथीभाइ, प्रेमीप्रेमिका तथा परिवारमा आएका विवादको आवेगमा आएर गरिने मनोविज्ञानले ‘अरूलाई देखाइदिन्छु’ भन्ने मनोभाव पैदा गर्छ र त्यसैको नजिता अहिले एकपछि अर्को गर्दै फेसबुकमा लाइभ आएर आत्महत्या गर्नेहरूको शृंखला हो । हामी अहिले आफ्ना बच्चालाई सकेसम्म दुःख नदिन चाहान्छौँ । सुखसयलमा उनीहरूलाई राखेको कुरा सम्झेर आफैँसँग घमण्ड गर्छौँ । तर दुःख सिकाउन बिर्सिन्छौँ । दुःख नबुझ्ने भनेको जीवनको आधी पाटो छुट्नु हो । दुःखले आवेगमा नियन्त्रण सिकाउँछ । यदि आवेगमा नियन्त्रण गर्न सक्नेमात्र हो भने पनि कमसेकम अरूलाई देखाउने आक्रोशमा गरिने आत्महत्यामाथि लगाम लगाउन सकिन्छ । तपाईँलाई सबै पुगिसरी भए तापनि आफ्ना बच्चालाई आवेग नियन्त्रण सिकाउनुहोस् । बच्चाले सिक्ने भनेकै आफ्नो परिवारबाट हो । जानीजानी दुःख दिनुहोस्, साना साना । सामथ्र्य छ भन्दैमा उनीहरूका सारा इच्छा र चाहानाहरू पूरा नगर्दिनुहोस्, केही अपूरै छोड्दिनुहोस् । अभावमा रहन दिनुहोस् । केही इच्छा चाहानाहरू उनीहरूकै लागि छोडिदिनुहोस् । विज्ञान, प्रविधि र विश्वको बारेमा थाहा नभए पनि हुन्छ, मानवीयता र संवेदना बुझाउनुहोस् । हामी खै किन संस्कारको नाममा बच्चाहरूमा आवेग, संवेदनाहिनता र घमण्ड भरिरहेका छौँ ? मलाई थाहा छैन । #कृष्ण ढुङ्गेल #मलाई थाहा छैन
भ्यान गगको अन्तिम चित्र: ट्रि रूटः भ्यान गगको अन्तिम चित्रकला एक सय ३० वर्षअघि भिन्सेन्ट भ्यान गग फ्रान्सको एभर्स-सर-ओइसे होटलस्थित उनको कोठामा सुतिरहेका बेला अचानक उठे र चित्र कोर्न बाहिर निस्किए । त्यो रात उनी होटल त फर्किए तर उनी गोली लागेर घाइते भएका थिए । त्यसको दुई दिनपछि जुलाई २९, १८९० मा उनको मृत्यु भयो । भ्यान गगका अध्येताः वुतर भान डेर भिन त्यो बेला उनले बनाएको चित्र ‘ट्रि रूट्स’ कुन ठाउँमा बसेर, के हेरेर त्यो चित्र उतारे होलान् भन्ने जिज्ञासा कला मर्मज्ञहरूमा हुने गर्छन् । त्यस्तै जिज्ञासा फ्रान्सेली अध्येता वुतर भान डेर भिनलाई पनि नभएको होइन । यसका लागि उनले कयौँ वर्ष यसैमा घोत्लिए र अन्ततः त्यो ठाउँ पनि फेला पारिछाडे । भ्यान गग इन्स्टिच्युटका निर्देशकसमेत रहेका वुतरले राजधानी पेरिसभन्दा २० माइल टाढा बाटाको छेउमा पुगेर त्यो ठाउँ पत्ता लगाइछाडे, जहाँ भ्यान गगले ७० दिन बिताएका थिए र अन्तिम चित्र बनाएका थिए । सो कुरालाई नेदरल्यान्ड्सका शोधकर्ताहरूले पनि समर्थन जनाएका छन् । अध्ययनमा सारा ऊर्जा खर्चेका वुतर भन्छन्, ‘त्यो ठाउँ, रूखको जरा र वातावरण यस्तै हुनुपर्छ भन्ने मेरो व्याख्या थियो तर विज्ञजनहरूले त यही कुरा सत्य निस्कँदा भने आश्चर्य लागेको छ ।’ रूखको जरा भएको तस्बिर वुतरले सन् १९०५ मा खिचिएको एउटा तस्बिरमा त्यही रूखको जरो देखिएपछि भने अध्येताहरू वुतरको निष्कर्षलाई आधिकारिक मान्यता दिएका हुन् । सो तस्बिर ९४ वर्षीया रूई डउबिङ्गीले निजी संकलनमा राखेकी थिइन् र सो तस्बिर सार्वजनिक गर्ने क्रममा फेला पारिएको थियो । सो रूख वर्षौंदेखि त्यहीँ रहिरहेको भए पनि कसैले ख्याल गरेका थिएनन् । सो जराको ४५ देखि ५० प्रतिशत भाग अझै पनि त्यहीँ रहेको वुतर बताउँछन् । धेरै वर्षअघिदेखि भ्यान गगको अन्तिम चित्र कुन हो भन्ने विषयमा निकै ठूलो चर्चा र दाबी हुने गर्छ । खासगरी भिसेन्टी मिनेलीले भ्यान गगको जीवनीमा आधारित निर्देशन गरेको फिल्म ‘लस्ट फर लाइफ’मा उनको अन्तिम चित्र ह्विटफिल्ड विद क्रोज हो भन्ने दाबी गरिएको थियो । त्यो चित्र बनाउँदाबनाउँदै उनी बौलाएको र आफैँलाई गोली हानेको दृश्य देखाइएको थियो । तर भ्यान गगकै ज्वाइँ एन्ड्रिज बोङ्गरले लेखेको अन्तिम चित्रबारेको एउटा आलेखमा भने जंगलको दृश्य, सूर्य र जीवन्तता रहेको बताएका थिए । भ्यान गगको प्रेरणा रूखको जरा सन् २०१२ मा भ्यान गग म्युजियमले प्रकाशन गरेको एक आलेखमा भने भ्यान गगले अन्तिम कृतिका रूपमा ट्रि रूट्स सिर्जना गरेको निष्कर्ष निकालेको थियो । र, सोही निष्कर्षलाई अधिकांश विद्वानहरूले सहमति जनाएका छन् । सन् २०११ मा निस्किएको भ्यान गगको जीवनी ‘भ्यान गगः द लाइफ’का लेखकद्वय स्टिभन नेइफ र ग्रेगरी ह्वाइट स्मिथले भने भ्यान गग आफैँले गोली हानी आत्महत्या गरेका होइनन्, बरू होटल छेउमा बस्ने दुई जना युवाले पहिले भएको झगडाको परिणामस्वरूप गोली हानेको तर्क गरेका थिए । केहीले भने यो चित्रलाई विश्लेषण गर्दै भनेका छन्, ‘यो चित्र बनाइसकेपछि भ्यान गगले आत्महत्याको प्रयास गरे भन्नु उचित हुँदैन किनभने उनी जस्तो मानसिक अवस्थामा थिए, यो चित्र बनाइसकेपछि सारा तनावमुक्त भएको हुनुपर्छ ।’ भ्यान गग इन्स्टिच्युटका वुतर भने त्यसमा असहमति जनाउँछन्, भन्छन्, ‘भ्यान गगले यो चित्र बनाइसकेपछि पक्कै आत्महत्याको प्रयास गरे होलान् भन्ने अनुमान गर्न सकिन्छ किनभने चित्रमा एक किसिमको जीवनको सङ्घर्ष र मृत्युसँगको सङ्घर्ष प्रतिविम्वित हुन्छ । चित्रले त्यही इङ्गित भएको छ । उनले जीवनसँग अन्तिम बिदाई मागेको त्यहाँ प्रयुक्त रङले बताइरहेको छ ।’ #द न्युयोर्क टाइम्स #भ्यान गग
२१ औँ शताब्दीका हामी सचेत युवा: डा. वीरेन्द्र केसी थकाई, हार र लक्ष्यहीन जीवन हामीलाई कीमार्थ स्वीकार छैन एकै पाइलामा लक्ष्य भेटियोस् त्यो पनि हामी चाहँदैनौँ लक्ष्यमा पुग्दा खुट्टा दुखेको अनुभूति हुँदैन भने त्यो प्राप्तिको के मजा ? त्यसैले हामी अप्ठेरोमै लक्ष्य चुन्छौँ र त्यो प्राप्तिको यात्रामा दिनरात नभनी अनवरत तल्लिन रहन्छौँ कठिनाई चिर्दै लक्ष्यमा लम्किएका हाम्रा पाइलाहरु एक निमेष रोकिने छैनन् आकांक्षा र महत्त्वाकांक्षा स्वाभिमान र अभिमान यी सबै घोलिएको रगत हाम्रा धमनीहरुमा हरपल उर्लिरहन्छ हामी मनमा बुद्ध मुटुमा बलभद्र र मस्तिस्कमा सचेतना बोकेर उर्ली हिँड्ने २१ औँ शताब्दीका सचेत युवा हौँ । दाङ हालः न्युजिल्यान्ड #डा. वीरेन्द्र केसी #दाङ #न्युजिल्यान्ड
मनोजको प्रकृतिपूजा: मनोज योञ्जन तामाङ प्रकृतिसँग रम्न रूचाउने कलाकार मनोज योञ्जन तामाङले कलाकारिता क्षेत्रमा पाइला सारेको दुई दशक पूरा भइसकेको छ । उनी आफूलाई स्वच्छन्दतावादी कलाकार ठान्छन् । त्यसो त सबै जसो कलाकारहरू प्रायः प्रकृतिका पूजक र प्राकृतिक सौन्दर्यमा भुल्ने स्वभावकै हुन्छन् । उनी पनि यसभन्दा भिन्न भने छैनन् । खासगरी फरक फरक ठाउँ घुम्दै स्थानीयपनलाई कलामा उतार्ने उनको खुबी छ । दृश्यचित्र (ल्यान्डस्केप)मा काम गर्न उनी खुबै रूचाउँछन् । यसो गर्दा प्रकृतिसँग अझ नजिकिने अवसर पाइने उनको भनाइ छ । रङहरूमा दिनप्रतिदिन मिठास र निखार ल्याउन पनि दृश्यचित्रमा काम गर्नुपर्ने उनलाई लाग्छ । सुन्दर पर्यटकीय नगरी पोखराको बासिन्दा भएकाले पनि हिमाल, ताल तलैयाहरूसँग सामीप्य बढेकाले हुनसक्छ, दृष्यहरूलाई कलामा उतार्न (ल्याण्डस्केप गर्न) नै उनको बढ्ता झुकाव हुने गर्छ । पोखरा कार्यथलो भए पनि राजधानी काठमाडौँ लगायत अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा भाग लिन बेलाबेलामा उनी विदेश गइरहन्छन् । उनी भन्छन्, ”कला नै मेरा लागि सबथोक हो र जीवनभर कलाकर्ममै रमिरहने मेरो इच्छा छ।” कलाक्षेत्रमै लागेर थोरबहुत नाम र दाम कमाएका मनोजका लागि सबैभन्दा गर्विलो क्षण चाहिँ कलाकारको पहिचान बनाउन सकेकामा नै छ । बेला-बेलामा विभिन्न पुरस्कार र सम्मान थापिरहँदा उनी आफ्नो छनोटप्रति सन्तुष्टि व्यक्त गर्छन्। हाल कुची समूहसँग आबध्द रहेका उनी ठाउँका ठाउँ दृश्यचित्र बनाउने अभियानमा समेत सरिक छन् । पछिल्लो समय कुची समूहले दृष्यचित्रहरूलाई अझ बढी लोकप्रिय बनाउन ”अन दि स्पोट” कामहरू गर्दै आएरहेको छ। आउनुहोस्, आज उनै सहृदयी कलाकार मनोज योञ्जन तामाङका केही उम्दा सिर्जनाहरू अवलोकन गरौँः #कुची समूह #मनोज योञ्जन तामाङ
कथा : मेरो श्रीमानको बिहे: ‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग भनेका थिए । पण्डितको कुरो सुनेपछि मेरी आमाको अनुहार एकाएक अँध्यारो भएको थियो । ‘ए… त्यै भएर पो यसरी बिरामी पर्दिरहिछे ।’ आमाले चिन्तित मुद्रामा मतिर दृष्टि पुर्याउँदै भन्नुभयो । ‘आ… यो रोबोटको युगमा यस्ता कुरामा कसले विश्वास गर्छ ? मानिसहरू कहिल्यै बिरामी पदर्नैन् र ? मलाई पनि बेला–बेलामा रोगले सताउँछ तर डाक्टरलाई जँचाएर औषधि उपचार गर्यो भने ठीक भइहाल्छ ।’ ‘आ… यो रोबोटको युगमा यस्ता कुरामा कसले विश्वास गर्छ ? मानिसहरू कहिले बिरामी पदर्नैन् र ? मलाई पनि माया ठकुरी बेला–बेलामा रोगले सताउँछ तर डाक्टरलाई जँचाएर औषधि उपचार गर्यो भने ठीक भइहाल्छ ।’ आमाको करले गर्दा पण्डितलाई चिना देखाउन राजी भएकी मैले उनले भनेको कुराप्रति अनास्था पक्रट गर्दै भने । ‘तैँले त विश्वास गदिर्नस् तर हामीले त परम्परादेखि मान्दैआएको रीतिलाई अझै पनि मान्दै आएकाछौँ । मलाई त पण्डितजीले भन्नभुएको कुरामा विश्वास लाग्यो । हुन पनि हिजोआज तँलाई बारम्बार एउटा न एउटा रोगले सताइरहेको छ ।’ मेरी आमाले पण्डितले भनेको कुरामा सही थाप्दै भन्नुभयो । ‘तपाइर्हंरूले यस विषयमा राम्रोसगँ घरसल्लाह गरेर खबर गर्नुहोला । मैले उहाँको चिना हेरे र जस्तो देखेँ त्येस्तै भनेँ । आफ्नो तर्फ़बाट उपाय पनि भनिदिएँ । अब यो कुरा मान्ने नमान्ने तपाइर्हंरूको इच्छा । अहिलेलाई म बिदा भएँ’ भन्दै पण्डित बिदा भएर गएका थिए । ‘खुसी त लाग्ने नै भयो नि । बिहे पनि कस्तो ? आफ्नै श्रीमतीले गराइदिने । तिमी पनि खुसी नै हुनु पर्ने हो, होइन र ?’ ‘ए छोरी ! तेरो बुद्धि के भएको हो ! यतिका पढेगुनेको मान्छे भएर पनि आफ्नो हित–अहित हुने कुराको मेसो नपाउने । हेर, मैले भनिदिया’छु तेरो चिनोमा सौतेनी ग्रह लेखेको छ भने त्यो भएरै छोड्छ । भएन, जुवाइँको चिउँडो पनि दुईवटा देखिन्छ । त्यस्ता दुईवटा चिउँडो हुने मानिसको दुईवटी श्रीमती हुन्छन् भन्ने ठीकै रहेछ । चिनोले पनि त्यही देखायो ।’ पण्डित गइसकेपछि मेरी आमाले आफ्ना मनमा उठेका भावना व्यक्त गर्नु भयो । ‘आमाले पनि कुन युगको कुरा गनर्भुएको होला ? अहिले आइमाइ मान्छेले चाहे भने आफूलाई लोग्नेमान्छे र लोग्नेमान्छे आइमाईमा परिवर्तित हुन सक्छन, सात समुद्र पारिबसेको मान्छेले एक–अर्काको अनुहार हेर्दै बात मार्न सक्छन् । तपाई भने अझै पनि ‘चिनामा लेखेको छ’ भन्दै उही रूढिवादी रीतिथिति मान्न छोड्नुभएको छैन । यसो गरेर पनि संसार चल्छ र ?’ आमाको कुराको प्रतिवाद गर्दै मैले भने । मेरो कुरा सुनेर आमाले कुनै उत्तर दिनु भएन, तर आमाको अनुहार हेर्दा उहाँले मेरो कुरा मन नपराएको स्पष्टसँग देखिन्थ्यो । ‘के हो ! पण्डितले त मलाई दोस्रो विवाह गनुपर्छ भने अरे हो ?’ राति काेठामा पस्नासाथ मेरो श्रीमान्ले मुस्कराउँदै मसँग प्रश्न गर्नुभएको थियो । ‘बिहेको कुरा सुनेर निकै खुसी लागेको जस्तो छ नि !’ मैले भने । ‘खुसी त लाग्ने नै भयो नि । बिहे पनि कस्तो ? आफ्नै श्रीमतीले गराइदिने । तिमी पनि खुसी नै हुनु पर्ने हो, होइन र ?’ श्रीमान्ले परिहासपूर्ण स्वरमा भन्नुभयो । ‘ए छोरी, पण्डितले भनेको कुरालाई हलुका रूपमा लिनु हुँदै न है !’ तेरो दुईवटा नाबालक सन्तानहरू छन्, भएन तेरो बुवाको मृत्युपछि म पनि तिमीहरूको आश्रयमा बसेकी छु । तँबाहेक मेरो अरू सन्तान छैनन् । तँलाई केही भयो भने म वृद्ध भइसकेकी मान्छेले यी केटाकेटीहरूलाई के गरी हुर्काउनु ? जुवाइँले बिहे गर्दिन भने पनि उनको आफन्तहरूले आखिर उनको बिहे नगराई छोड्ने छैनन्, अनि सौतेनी आमाले यी केटाकेटीलाई कति हेला गर्ली ? त्यो कुरा तँलाई मैले बुझाइरहनु पर्दैन । मान् छोरी, मान् ! मैले भनेको मानेर पण्डितले भनेको कुरालाई गम्भीरतापूर्वक पालना गर् !’ अर्को दिन बिहान मौका पाउनासाथ आमाले मसँग भन्नुभएको थियो । ‘मेरो बिहेको विषयमा कुरा हुँदै छ कि क्या हो ?’ भन्दै उत्तिनै खेर मेरो श्रीमान् हामी आमा–छोरीले बात मारेको ठाउँमा टुप्लुक्क आउनुभयो । ‘हेर्नोस् न जवुाइसाँप, म त यसलाई सम्झाउँदा–सम्झाउँदा हार खाइसकेँ, कति सम्झाउँदा पनि नबुझ्ने । अब तपाईंले नै यसलाई सम्झाउनुपर्यो ।’ जुवाइँलाई आफ्नो अघि देख्नसाथ मेरी आमाले गुनासो पोख्नुभयो । त्यसपछि कैयन् दिनसम्म मेरो श्रीमान्को बिहेको विषयलाई लिएर हाम्रो घरमा आमा, मेरा श्रीमान् र मेरो बीचमा निकै चर्काचर्की परेको थियो । ‘यतिका वर्षसम्म मैले तिमीलाई बडो दिलदार नारी भनेर ठानेको थिएँ, तर तिमी पनि ईष्र्यालु र सङ्कुचित विचारधारा भएकी नारी पो रहिछ्यौ त… ! मैले दोस्रो विवाह गदैर्मा कनु चाहिँ भुँइचालो आउँछ र यसरी तर्सिएकी ? मैले बिहे गरे पनि तिम्रो अधिकार जस्ताको तस्तै सुरक्षित रहनेछ , ढुक्क भएर बसे हुन्छ ।’ आमाको कुरो सुनेपछि मेरो श्रीमान्ले मतिर हेर्दै ठट्यौली पारामा भन्नभयो । ‘पण्डितले दोस्रो विवाहको योग छ भनेको सुने देखि खुसीले तपाईँको त पखेटा पलाएको जस्तो छ । तपाईंहरू गर्नुहुन्छ होला यस्ता कुरामा विश्वास, म त गर्दिनँ ।’ मैले भनेकी थिएँ । त्यसपछि कैयन् दिनसम्म मेरो श्रीमान्को बिहेको विषयलाई लिएर हाम्रो घरमा आमा, मेरा श्रीमान् र मेरो बीचमा निकै चर्काचर्की परेको थियो । केही दिनपछि, मलाई मनाउनुलाई केही सीप नलागेपछि, मेरी आमाले आँसुको हतियार तेस्र्याएर अनसन बस्ने घोषणा गर्नुभयो । अन्त्यमा आमाको मन राख्नका लागि मात्र भए पनि मैले मेरो श्रीमान्को दोस्रो बिहेका निम्ति स्वीकृति दिएँ । मैले स्वीकृति दिनासाथ घरमा खुसियाली छायो । एकदिनको कुरो हो, म भान्साकोठामा बसेर तरकारीका लागि आलु काट्दै थिएँ, त्यत्तिकैमा मेरी साढे पाँच वर्षीया छोरीले मेरो छेउमा आएर मसँग सोधी, ‘मामु ! अब हाम्रो बुवाको बिहे हुन्छ अरे हो ?’ मलै छोरीतिर हेर्दै हाँस्दै ‘हो’ भने । मैले ‘हो’ भन्नासाथ छोरी खुसी भएर ताली बजाउँदै ‘हाम्रो बुवाको बिहे… ! हाम्रो बुवाको बिहे… !’ भन्दै बाहिरतिर दगुरी । मेरी आमाले फेरि पण्डितलाई घरमा डाक्न पठाउनुभयो । पण्डित आए । लगनका लागि साइत जुराए । अनि त्यही दिनदेखि मेरी आमाले बिहेमा चाहिने सर्जामको बन्दोबस्त गर्न लाग्नुभयो । तोकिएको मितिमा बिहानको करिब नौ बजेतिर हामीहरू एउटा जीप र पिकअप भ्यान लिएर विवाहस्थलतिर लाग्यौँ । प्रायः डेढ घन्टाजति यात्रा गरेपछि हामीहरू सबै विवाहस्थलमा पुग्यौँ । त्यहाँ पुगे र गाडीबाट ओर्लनासाथ हाम्रा एकजना निकटका पारिवारिक मित्र कमलकान्तले हामीलाई स्वागत गरेका थिए । ‘सब ठीकठाक छ त कमलकान्तजी ?’ उनलार्इ भेटनसाथ मेरो श्रीमानले प्रश्न गर्नुभयो । ‘सब ठीक छ । मासु, पुलाव, अचार, दही सब तयार भइसकेको छ ।’ कमलकान्तले उत्तर दिए । ‘ओहो ! वहाँको बिहेमा दुलहीको तफर्बाट तपाँइलेनै यत्रो भोजको आयाजेना गर्नुभएको?’ मैले कमलकान्ततिर हेरे र परिहास गर्दै भने । ‘होइन भाउजू, मेरो गाउँ मन्दिरदेखि नजिकै पर्छ त्यै भएर मैले यसो मद्दत मात्र गरेको हुँ, बाँकी बोको किन्ने आदि सारा खर्च त उहाँले अस्ति नै दिइसक्नभुएको थियो।’ कमलकान्तले मेरो श्रीमान्तिर इङ्गित गर्दै भने । ‘ए ! नयाँ दुलहीका निम्ति अहिलेदेखि नै यतिका खर्च गरेको ?’ मैले श्रीमान्तिर हरे र व्यङग्य हाँने । ‘किन नगर्नु त ?उनी तिमीजस्तो जबाफ लगाउने खालकी छैनिन्, मैले जे भनेँ पनि शिर निहुराएर सुनिरहन्छिन् । अब त तिमी मसगँ रिसाएको बेला म उसैसँग बसेर कुरा गरिरहनेछु ।’ मेरा श्रीमान्ले गम्भीर स्वरमा भन्नुभयो । ‘उस्स… !’ श्रीमान्को कुरो सुनेपछि मेरो मुखबाट आवाज निस्क्यो । बेहुलीलाई सिँगार्ने, उसलाई सारी–चोलो, माला, चुरा, टीका आदि लगाइदिने काम मेरी आमाले गर्नुभएको थियो । अझ भएन एउटा झिलमिल सितारा जडेको ओढ्ने ओढाउने काम पनि आमाबाटै भयो । त्यो सब काम गरिरहँदा आमा निकै उत्साहित देखिनुभएको थियो । म एकनाससित आमाको दुलहीलाई सिगाँर्दै गरेको दृश्य हेरिरहे । केही बेरपछि विवाहको कार्यक्रम सुरु भयो । पण्डितले वैदिक मन्त्र पढ्न थाले । आमाले कन्यादान गर्नुभयो । मेरो श्रीमान्ले दुलहीलाई सिन्दुर–पोते लगाइदिनुभयो । ‘ल… अब विवाह सम्पन्न भयो ।’ विवाहको विधि सिध्याएपछि पण्डितले भने। ‘अब भने म ढुक्क भएँ ।’ आमाले सन्तोषको सास फेर्दै भन्नु भयो । म हाँसे मात्र । ‘ए … त्यो त म गरिहाल्छु नि पण्डितजी, तपाँइले पीर गर्नै पर्दैन ।’ खानपान सिध्याएर फर्किने बेलासम्ममा साँझ पर्न लागेको थियो । हामीहरू घर फर्किनकोलागि जीपमा गएर बस्यौँ । अगाडि सिटमा ड्राइभर, आमा र सानो छोरो बसेका थिए भने पछिल्तिरको सिटमा मेरो श्रीमान, छोरी र म बस्यौँ । ‘पख्नोस् ! पख्नोस् ! एउटा कुरो त मैले भन्नै बिर्सिएको रहेछु ।’ जीप हिँड्न लाग्दा पण्डितले हतार हतार गरेर हामीतिर आउँदै भने। ‘के बिर्सनुभयो ?’ पण्डित नजिकै आएपछि मेरो श्रीमान्ले सोध्नुभयो । ‘ए… कुरो के भने …, तपाँइले एउटा कुरामा चाँहि ध्यान दिनुपर्छ । त्यो के भने कथकांल यो दुलही मरेको तपाँइले देख्नुभयो भने चाँहि तपाइले उसको सम्पूर्ण मृत्यु सस्ंकार आफैले गर्नुपर्ने हुन्छ । यसथर्, तपाँइ यतातिर… ।’ ‘ए … त्यो त म गरिहाल्छु नि पण्डितजी, तपाँइले पीर गर्नै पर्दैन ।’ पण्डितले भन्न खोजेको कुरो नसकिँदै उनको कुरोलाई बीचैमा काट्दै मेरा श्रीमान्ले भन्नुभयो । मैले श्रीमानतिर हेरेर ओठ लेब्य्राएँ । त्यसपछि, जीप गुड्न सुरु भयो । जीप गुड्दै गर्दा अनायासै मेरो दृष्टि मन्दिरको नजिकै रहेको त्यो निर्जन एकान्त स्थानमा पुग्यो जहाँ अनेकौँ बोटबुट्यानहरूको माझ दुलही बनाएर सजाइएको त्यो आँकको बोट ठिङ्ग उभिएको थियो । ************* #माया ठकुरी #मेरो श्रीमानको बिहे
संसारका अद्भूत चित्रकला २: लियोनार्दो दा भिन्सी जीवनको एउटा मोडमा उभिएपछि लियोनार्दो दा भिन्सीले भनेका थिएः हे ईश्वर मलाई माफ गरिदेऊ । मलाई माफ गरिदेऊ कि मैले तिम्रो उत्तम सिर्जनालाई जति उम्दा स्वरूप दिन सक्नुपर्थ्यो, सकिनँ । भिन्सी एक चित्रकार, कलाकार मात्र थिएनन्, इन्जिनियर, वैज्ञानिक, दार्शनिक र संगीतकार पनि थिए । विविध विषयमा उनको वृहद ज्ञानको प्रशंसा अद्यापि हुने गरेको छ । यहाँ चर्चा गर्न लागेको सर्वकालीक महान् चित्रकलामध्येको एउटा हो । र, त्यो हो- मोना लिसाको चित्र । मोना लिसाको अर्थ माई लेडी । यो चित्र फ्रान्सको लुभ्र दरबारस्थित ग्यालरीमा बुलेट प्रुफ सिसाले बेरेर राखिएको छ । यो चित्रको सुन्दरताका कारण सदियौँदेखि यी महिला को हुन् भन्ने छलफल, वादविवाद चलिआएको छ । खासगरी चित्रमा देखिएको अनुहारको हाउभाव, खुला तर खुलिनसकेको मृदु मुस्कानका कारण यस चित्रलाई अमर बनाइदिएको विज्ञहरूको धारणा छ । यो चित्रको मूल विशेषता भन्नु नै तपाईंले जुन कोणबाट यो चित्रमा हेरे पनि तपाईंलाई नै हेरेजस्तो महसुस गराउनु हो । यो चित्रमार्फत् लियोनार्दो दा भिन्सीले मानिसको मनोवैज्ञानिक सम्बन्ध कायम गरेका छन् । यस्तो उम्दा प्रयोग यसअघि चित्रमा प्रयोग भएको थिएन । यो कति प्रभावशाली बन्न पुग्यो भने त्यसपछिका कयौँ चित्रकारहरूले यसलाई नक्कल गरिहाले । मोना लिसाको चित्र यति जीवन्त किन छ त ? विज्ञहरू भन्छन्, मोना लिसाको छालाको कमनीयता, भुक्क उठेका हात, चम्किला कपाल, आँखाको उज्यालोजस्ता कुरा चित्रमा त्यसै छिर्दैन । यसका लागि कलाकारिताको मिहिनता चाहिन्छ । मोना लिसाको बसाइ, उनको लवाइ, आनन्ददायी भावजस्ता कुराले उनको भाव प्रकट भने हुँदैन । जस्तो कि उनको भाव बुझ्न मुख, आँखा मात्रले पर्याप्त छैन । रोचक त के छ भने उनको ओठले बेग्लै भाव दर्शाउँछ, आँखाले भने हास्यको कुनै छनक पनि दिएको छैन । विज्ञहरू भन्छन्, मोना लिसाले जुन लुगा लगाएकी छन्, त्यो बेला बनाइएका अधिकांश मिथकीय पात्रहरूले लगाउने किसिमकै छ । धार्मिक वा ऐतिहासिक पात्रकै जस्तो छ, जसले एक किसिमको चाह अभिव्यक्त गर्ने गर्छ । तर यो चित्र त्यो बेला बनाइने मिथकीय पात्रहरू भेनस वा म्याडोना या अन्य दैवीय पात्रहरूजस्तो छैन । यसको अर्थ हो, मोना लिसामार्फत् लियोनार्दा दा भिन्सी त्यो बेलाका सबै मूल्यमान्यता तोड्न चाहन्थे र एउटी सामान्य स्त्रीलाई नै मिथक बनाउन चाहन्थे । उसो भए तपाईं लुभ्र जानु भयो भने यो चित्रमा के ख्याल गर्ने त ? विज्ञहरू भन्छन्, मोना लिसाको मुस्कान, उनको आँखा वा आई कन्ट्याक्ट, हातको पोस्चर, कपाल र निधार, पृष्ठभूमिमा रहेको पुल र नदी, उनले लगाएको कपडाको अवस्थितिजस्ता कुरालाई मिहिनतापूर्वक हेर्नुभयो भने तपाईंले दा भिन्सीको कलाको परख गर्नुभयो । अन्यथा, तपाईंले चित्र मात्र हेर्नुभयो, परख गर्नुभएन । #मोना लिसा #लियोनार्दो दा भिन्सी #संसारका अद्भूत चित्रकला
नेपाली कविताको प्रादेशिक इतिहास लेखिँदै: नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली कविताको वृहद् इतिहास तयार पार्ने भएको छ । यसका लागि शुरूमा प्रादेशिक कविताको इतिहास तयार पारिनुपर्ने भएका कारण त्यसमा काम थालनी गरिएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने र त्यसका लागि मुख्य जिम्मेवारसमेत तोकिएको छ । प्रा. डा. हेमनाथ पाैड्याल विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको जनाए । पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नं. एकका लागि प्रा.डा. भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा.डा. यदुनाथ ढकाल, प्रदेश पाँचका लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगत्प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ । प्राज्ञ प्रा.डा. पौडेलले भने, “प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ ।” #नेपाल प्रज्ञा प्रतिष्ठान
संसारका अद्भूत चित्रकला १: शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । आजबाट भने हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्ट वर्कहरूका बारेमा शृंखलाबद्ध रूपमा पस्कने जमर्को गरेका छौँ । विभिन्न पुस्तकहरूमा आधारित रहेर यो शृंखला हामीले शुरू गरेका छौँ । यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूलाई पस्किइने छ । पहिलो कला हामीले चीनको बेइजिङस्थित दरबार संग्रहालयमा राखिएको पुरानो चित्रका बारेमा यहाँ अवलोकन मात्र होइन, यसबारे सानो चर्चा पनि गर्नेछौँ । सिल्कको कपडामा चित्रांकित ‘चिङमिङ स्क्रल’मा १२ औँ शताब्दीको चीनको दैनिक जीवनको भव्य चित्र प्रस्तुत गरिएको छ । यो चित्रको नाउँ चिङमिङ किन राखियो होला भन्ने बारेमा विद्वानहरूको विभिन्न मत छ । केहीले भने त्यो बेला चीनमा मनाइने चिङमिङ जात्राका बेलाको चहलपहल उजागर गर्न यो नाम राखियो भन्छन् । किनभने सय दिने जाडो यामको अन्त्यपछि आफ्ना पितृलाई सम्झने चाडका रूपमा यसलाई लिइन्छ । यस चाडमा सर्वत्र रमाइलो वातावरण, सरसफाई र चहलपहलपूर्ण दैनिकी हुन्छ । तर यो चाड झल्काउन कागजी झकिझकाउका दृश्य नभएकाले महोत्सव झल्काउन यो चित्र बनाइएको होइन कि भन्ने आशंका गर्नेहरू पनि छन् । वैकल्पिक धारणा राख्नेहरूले भने चिङमिङको शाब्दिक अर्थलाई जोड दिन्छन् । चिङमिङको अर्थ उज्यालो-स्पष्ट या शान्तिपूर्ण र क्रमबद्ध भन्ने हुन्छ । शहरको भिडभाडपूर्ण ठाउँ भए पनि सबै शान्तिपूर्ण ढंगले क्रमबद्ध तरिकाले आफ्नै दैनिक जीवन गुजारिरहेको अर्थमा लिनेहरू पनि छन् । चित्रलाई ध्यानपूर्वक हेर्यो भने यसमा गरिब वा गरिबी भन्ने चिज देखिँदैन । सम्पन्नताको प्रतीकका रूपमा यो चित्रलाई लिन सकिन्छ । सबै किसिमका जातजातिका मानिसहरूको सम्मिश्रण यसमा देखिन्छ । पाँच मिटरभन्दा अलि बढी लम्बाई र साढे पच्चीस सेमी चौडाईको यो चित्र हेर्नका लागि पूरै हातभरि स्क्रोल खोल्नु पर्ने हुन्छ । पहिलेका चित्रहरू स्क्रोलमा बटारेर राखिन्थ्यो । यस चित्रलाई झाङ जुदुआनले बनाएका हुन् । उनका बारेमा भने उति धेरै जानकारी प्राप्त छैन । झाङले उत्तरी चीनको सङ राजवंशको शान्तिपूर्ण समयलाई इंगित गर्दै यो चित्र बनाएका हुन् । झाङले जीवनकालभरि कयौँ चित्र बनाएका भए पनि अन्य चित्रहरू अस्तित्वमा देखिएका छैनन् । उनको यही एक मात्र चित्र सुरक्षित रहेको देखिन्छ । चीनको हालको साङदोङ प्रान्तस्थित झुचेङमा जन्मिएका उनी चित्रकला अध्ययनका लागि त्यो बेलाको राजधानी बियानलियाङ पुगेका थिए । उनको कलाबाट मख्ख परेर त्यो बेलाका सम्राट हुइजोङले उनलाई दरबारको हानलिन एकेडेमीमा अध्यापन गराउने अवसर दिएका थिए । सम्राट हुइजोङले सन् ११०० देखि ११२६ सम्म शासन चलाएको इतिहासकारहरू बताउँछन् । हेर्नुहोस्, अद्भूत पेन्टिङः यी चित्रको भव्यतम स्वरूप अझ विस्तृत र भव्यतम दृश्यको स्वाद लिन तलको तस्बिरमा क्लिक गर्नुहोस्ः #संसारका अद्भूत चित्रकला
फ्लोयडहरूका भूत र राजनीति: रेमिका थापा म जर्ज फ्लोयडहरूका लाश हुँ हाडखोर, खरानी, हंस, आत्मा र फ्लोयडहरूकै भूत प्रेत हुँ हेर्न चाह्यौ भने, तिम्रो सेता दरबारको अग्लो सिँढीमा लत्रेका फ्लोयडहरूका गर्दन हुँ तिम्रो धुरीमा चढ्दै गरेका राता प्लेकार्डहरू हुँ विचार गर्न चाह्यौ भने तिम्रा हरिया घाँसका समतल आँगनमा भेला भएका संसारकै सबभन्दा ठूला प्रश्नहरू हुँ तिम्रा चिम्नीबाट निस्कन लागेको संसारकै पिरा धुँवा हुँ म यस शताव्दीका सबभन्दा नमीठा अनुभव हुँ म इतिहासकै सबभन्दा तीता आँसु हुँ करूणा र त्रास हुँ, कुरुप त्रासदि हुँ तिमी डराएर पनि नडराए जस्तो स्वाङ पार्दैछौ भने छक्क परौला कि म चारतिर सल्कदै आउने आगोको दन्कदो ज्वाला हुँ तिम्रा करिडरमा उज्याइएका बन्दुकहरूका अघिल्तिर नडराई उभिने संसारकै बहादुर नारा र जुलुस हुँ, प्रतिवाद हुँ तिमी मलाई तिम्रा खिड्कीका कुनाबाट चिहाउँदैछौ भने तिम्रा दाह्राहरू, तोप र ट्याङ्कहरू मतिर फर्काएर आरामले बसेका छौ भने बुझिलेऊ, म संसारकै डरलाग्दो विस्फोटक हुँ अथवा तिमी मलाई हेर्नै चाहन्नौ भने पनि के गर्छौ र म त तिम्रै टेबलको फूलदानमा दबिएको गहनाउने सिनोहरू हुँ तिम्रै हिंसाका डामले डढेका र पोलेका घाउ र पिपहरू हुँ म त तिम्रो गोजीमा भएको रुमालबाट सर्दै आउने संक्रमणहरू हुँ तिम्रो बटनहोलमा सिउरेको रातो गुलाबमा चढिसकेको तरल जीवाणु हुँ तिमी तिम्रा कसाई औपचारिकताहरू थुकेर एकचोटि बाहिर निस्क र मसँग बात गर ! मात्र एकचोटि मसँग बात गर ! तर तिम्रा अफिसका मसिना कारिन्दाहरू भन्छन्, ठूला देशमा फ्लोयडहरूसँग यस्ता घटना अनगिन्ती भै नै रहन्छन् जसका रेकर्ड राखिएका हुँदैनन् तर हाम्रा लोकतन्त्र भने ल एन्ड अडरमा भने पक्का छ ! आज त ऊ पार्टीको वार्षिक उत्सवमा व्यस्त छ तर अपसोच फ्लोयडहरू पार्टीका कार्यकारी क्याडर हुँदैनन् भोलि आर्थिक व्यापारिक आणविक सम्झौताका डेलिगेसनहरू छन्, पर्सीदेखि लगातार सप्ताह दिनसम्म ऊ तेस्रो विश्वको भ्रमणमा हुनेछ, ती देशहरूका राजधानीमा आयोजित आन्तरिक उपनिवेशीकरण, किनारीकरण, शान्ति, सद्भावना, भाइचारा, अल्पसङ्ख्यक सुरक्षा मानव अधिकार र लोकतान्त्रिक मूल्य आदि विषयका सेमिनारहरूमा ‘की नोट स्पीच’ राख्नेछ, तर भनिएको छ, ती जम्मै विषयहरूमा फ्लोयडहरूका मुद्दा मेल खाँदैनन् एसियाका आधा दर्जन युनिवर्सिटीहरूमा नस्लभेद, रङभेद, इन्स्टिचुसनल माइन्डसेट र पुलिसी प्रक्रियाले उत्पन्न गरेका हिंसाका विरोधमा सम्पन्न प्रतिवाद सभामा प्रमुख अतिथिको सम्बोधन राख्नेछ चौथो मुलुकमा प्राकृतिक आपदा, गरिबी, भोखमरी र भ्रष्टाचारबारे बोल्दै राहत प्याकेजहरूको घोषणा गर्नेछ, तर भनिन्छ यी जम्मै विषयसँग पनि जर्ज फ्लोयडहरूका सन्दर्भ मेल खाँदैन बरू के सोमालिया आदि मसिना ठाउँमा पड्केका बन्दुक र बारुदका चित्कारले फ्लोयडहरूका स्वर ढाक्न मिल्दैन र ? बरू के एनकाउन्टर र अरू प्रोपोगान्डाका भूत्याहा आतङ्कले फ्लोयडहरूका भूत खेद्न सकिन्न र ?? तिम्रा अरू सिल्की कारिन्दाहरू थप्छन्, फर्केपछि, लोकतन्त्रका अरु कति काम छन् ? सीमा विवाद,सेना, युद्ध, हतियार, गोला, बम, परमाणु खेती आदि निरीक्षणको कार्यक्रममा व्यस्तै हुनेछ, इराक, लिबिया, अफगानिस्तान, सिरिया, नाइजेरिया इत्यादि अनि अरू तेस्रो र चौथो मुलुकका समस्याहरू त छँदै छन् ती जम्मै हुनु भनिएका कार्यक्रमका सूचीमा पनि फ्लोयडहरूका नाम लेखिएका छैनन् त्यसपछि त क्रिसमस, नयाँ साल, फार्म हाउस, रिफ्रेसमेन्ट पार्टी अनि लगत्तै आइपुग्छ चुनाउ ! यो राजनैतिक सिजन हो क्या, महाशय, के तपाईँहरू अर्को साल अफसिजन पारेर आउनोस्, हुन्न ? #जर्ज फ्लोइड #रेमिका थापा
स्केचका बादशाह: पारिपारि हिमालहरूको हिमाल । जसको सौन्दर्य पिएर वारिवारि मातिरहेका पहाडहरू । अझै वारि डाँडाको फेदीमा बसेर सुँक्कसुँक्क रोइरहेको फेवाताल । जसलाई छोडेर हरसाँझ उसको प्रेमी अन्तकतै जान्छ तर हरबिहान आँखाबाट खसेको उसको आँसुलाई मायालु हातले पुछिदिन आउँछ । र, प्रेमिकासित छेवैमा लुगा फुकालेर सँगै नुहाउन थाल्छ । तर त्यो स्वार्थी प्रेमीलाई सधै नजिकबाट देखिरहेको छट्टु घाम पनि कम्ताको बदमास छ ? हतपत लुकाइदिन्छ उसका लुगाहरू । यसरी प्रेमिका फेवातालसित घामको साथ रहुन्जेल प्रेमी माछापुच्छ्रेलाई अँगालो मार्न बाध्य बनाइरहन्छ । माछापुच्छ्रे र फेवातालको प्रेमकथा नजिकैबाट देख्दादेख्दै हुर्केका कृष्ण जवानीमा कृष्णजस्तै भएछन् । एउटासित मोह-माया बसेर नपुग्ने । इच्छाहरूका गोपिनीहरू यिनका पनि कम अनौठो-अनौठो छ ? खासमा बसेको हो यिनलाई राधासित प्यार । जो यिनको आँखामा सानैदेखि चित्र भएर आएकी थिइन् । तर कृष्णको प्यासी मनले के मान्न सक्थ्यो, राधालाई छाडेर अरू-अरूसित प्रेम बस्दै गयो कृष्णको । यो सारंश कथा हो, पोखरा ८, बगालेटोलका कृष्ण मरासिनीको । चित्र यिनको सानैदेखिको शौख । तर चित्र कोर्न सिक्दासिक्दै बीचैमा छाडेर खेल्न थाले टेबुल टेनिस । जब टेनिस बललाई मोहम्मद अलिको मुक्का बनाएर दह्रो सर्ट प्रहार गर्थे उनले, विपक्षीलाई हत्तपत्त डिफेन्स गर्न गाह्रै पर्थ्यो । यसरी धेरै प्रतिस्पर्धीहरूलाई ढलाएर, कुनै बखत गण्डकी अंचलभरिकै टेनिसका एक्लो हिरो थिए कृष्ण । छत्तीसदेखि छयालीससम्म १० वर्ष उनी यसरी टेनिसमै समर्पित भए । जब बिस्तारै टेनिस-एडिक्टले छोड्दै गयो कृष्णलाई, हान्निए रंगमञ्चको स्टेजमा । दर्शकहरूको वाहवाही लुटे । अन्ठाउन्न/उन्साठीसम्म रंगमञ्चका कलाकार भएर अभिनय गरिरहे । यसैबीचमा फेरि अर्का नशाले छोयो यिनलाई, गए – गुरु मनोरञ्जन जोशीको गुरुकुलमा । (विरजू महाराजका शिष्य) पाँच वर्ष कत्थक नृत्य सिकेर, चौथो वर्षको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि फ्रेममा हालेर भित्तामा राख्न भ्याइहाले । फेरि यत्तिकैमा सबकुछ छोडेर, वन तालिम केन्द्रको अधिकृत भएर पाँच वर्ष बिताइदिए । ••• अठार सय भन्दा धेरै मुहार स्केच । अठार सय भन्दा धेरै चित्र स्केच गर्नु चानचुने कुरा होइन, त्यो पनि पछिल्लो ४/५ वर्ष भित्रमा । जसका लागि ठूलो तपस्या, अडिग इच्छाशक्ति, समयको लगानी र अर्गानिक इनर्जी नभई सम्भव छैन । तर कृष्णले रिटायर्ड लाइफमा स्केचको सगरमाथा बारम्बार आरोहण गरेर आफू भित्रको दक्षता देखाएका छन् । कीर्तिमान राखेका छन् । भविष्यमा जो कसैलाई उनको कीर्तिमान तोड्न फलामको चिउरा चपाउनुजस्तै हुनेछ । भ्याउँदासम्म उनी अचेल दैनिक एउटा न एउटा मुहारचित्र कोर्छन् । र, आफ्नो फेसबुक पेजमा “बसिबियाँलो” नाम दिएर चित्रहरू अपलोड गरिरहन्छन् । उनको स्केचमा देशका प्रसिद्ध साहित्यकारहरूदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूदेखि, प्रतिभावान्/उदीयमान प्रतिभाहरू स्केचमा सजिने सौभाग्य पाएका छन् । भन्छन्, “फेसबुकमा राखेका चित्रहरू नि:शुल्क हुन् । यो मेरो आफ्नो खुशीले बनाउँछु । कसैदेखि प्रभावित भएँ भने म उनको चित्र स्केच गरिहाल्छु । अर्डर गर्यो भने शुल्क लिन्छु । कहिलेकाहीँ नि:शुल्क त कहिलेकाहीँ न्यून शुल्क लिन्छु । मेरा सम्पत्ति तिनै चित्रहरू हुन् ।” पेन्सिल/चारकोललाई माध्यम बनाएर चित्र कोर्ने कृष्णले त्यसो त तैलरंग र जलरंगबाट पनि चित्र बनाउने प्रयास गरे । २०७२ सालमा प्रकृति र मुहारचित्र समावेशगरी दुई पटक पोखरामा एकल चित्र प्रदर्शनी गरिसकेका कृष्ण, त्यसपछि भने आफ्ना चित्रहरू पेन्सिलबाटै कोर्दै आइरहेका छन् । उनी आफूलाई पेन्सिल आर्ट नै सुट भएको बताउँछन् । अहिलेसम्म कसैसँग आर्टको प्रशिक्षण नलिएको बताउने कृष्ण मरासिनीले यद्यपि, आफ्नो आइडियल भने पोखराका वरिष्ठ चित्रकार गुरु यादवचन्द्र भुर्तेललाई मान्छन् । केही बुझ्नुछ भने उनीसँग सुझाव लिन्छन् । त्यसो त सामाजिक काममा पनि सक्रिय रहेका कृष्ण, सिध्दार्थ क्लबको पूर्व अध्यक्ष र हाल सल्लाहकार पनि हुन् । #कृष्ण मरासिनी #जीवित खड्का मगर
औरहीमा मनु ब्राजाकीलाई खोज्न जाँदा: गोविन्द गिरी प्रेरणा कथाकार मनु ब्राजाकीसँग साह्रै नजिकको सम्बन्ध कहिल्यै भएन मेरो । अन्तरंग भएन । अर्थात् उनको जीवनको लेखकीय उर्वर समयमा उनी मदिरा प्रेममा लाग्दा हुँदा म उनको नजिक कहिल्यै भइनँ । तर उनको कथा छापिएको पत्रिका भेटेपछि, उनकै कथा पहिलो प्राथमिकतामा पर्दथ्यो पढ्नका लागि । उनको प्रख्यात कथा “तिम्री स्वास्नी र म” गरिमामा छापिएको थियो । त्यो कथा गरिमामा हिट भयो । साहित्यकारको जगतमा मात्र होइन पाठकहरूको जगतमा पनि उनी हिट भए । कथाको विषयवस्तु र उनको लेखन शैली, बनौट र छनौट त उनको नितान्त बेग्लै मनु ब्राजाकीमय थियो नै, शीर्षकले पनि उनले यो कथामा बाजी मारेका थिए । यो कथा मनु ब्राजाकीको पर्याय नै भइदियो । पछि साझाबाट यही शीर्षकमा कथा संग्रह प्रकाशित भयो र अत्यन्त छोटो समयको अन्तरालमा त्यो पुस्तक बक्यो । सम्भवत: साझा प्रकाशनको प्रकाशन इतिहासमै त्यति छिटो कथा संग्रह बिकेको यो पहिलो कृति थियो । उनी जनकपुरको औरहीमा बस्तथे । उनको लेखनको उत्सर्गतिर लाग्दासम्म उनको कथाको पुछारमा औरही, जनकपुर नै लेखिएको हुन्थ्यो । पञ्चायतको अबसानअघिको अन्तिमपल्ट मध्यमाञ्चलमा भएको राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको बेला थियो । यस्तो बेलामा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सवारी सिविरमा एक कवि गोष्ठी गर्ने परम्परा थियो । राजाको मुकाम हेटौंडामा थियो, मेरो गृह नगर । विजय मल्ल प्रतिष्ठानको सदस्य सचिव थिए । उनले भने, “गोविन्द सवारी शिविरमा हुने कवि गोष्ठीलाई सहयोग गर्ने हो ?” गोविन्द गिरी प्रेरणा मैले विजय मल्ललाई भनेँ, “के गर्नुपर्ने दाइ मैले ?” “यस्तोबेलामा स्थानीय कवि लेखकहरूलाई मौका दिनुपर्छ । आँगनमा आएका राजालाई कविता सुनाउने मौका उनीहरूलाई दिनुपर्छ । तिमी हेटौंडाको मान्छे । उतातिरका कविहरूलाई तिमी चिन्दछौ । अब उनीहरूको घरघरमा गएर निमन्त्रणा गर्ने । त्यसको लागि तिमीले मसँग गएर मलाई सहयोग गर्ने ।” विजय मल्लले भने । मैले हुन्छ भनेँ । यस्तो मजाको कुरामा मेरो रुचि नहुने कुरै थिएन । प्रज्ञा प्रतिष्ठानबाट मैले काम गर्ने त्रिभुवन विश्वविद्यालयमा मलाई एक हप्ताको काजमा झिकाउन विजय मल्लले चिट्ठी लेखिदिए र त्यही चिट्ठीको आधारमा त्रिभुवन विश्वविद्यालयबाट बेतलबी काज स्वीकृत भयो । अनि प्रज्ञा प्रतिष्ठानको गाडीमा विजय मल्लको साथमा म कवि, लेखक खोज्न साथ लागेँ । मैले कवि लेखकहरूको जाने-बुझेसम्मका, नाम चलेका र स्थानLय कविहरूको सूची बनाएको थिएँ । त्यसमा निर्विवाद रूपले मनु ब्राजाकीको नाम थियो र मलाई थाहा भएको ठेगाना औरही थियो । तर औरहीमा के, कता, कहाँ भन्ने चाहिँ थाहा थिएन । औरही कत्रो नै होला र त्यस्तो चर्चित लेखकलाई नचिन्ने को होला ? भन्ने मेरा स्वाभाविक अनुमान थियो । हामी जनकपुर रवाना भयौँ । अनि औरही पुगेर पूरै चक्कर लगाएर घरघरमा सोध्दै हिँड्दा पनि मनु ब्राजाकीलाई चिन्छु भन्ने कोही फेला परेन । मलाई बडो बेमज्जा लाग्यो । त्यस्तो नामी मान्छेलाई आफ्नो ठाउँमा कसैले चिन्दैनन् ? वास्तवमा मनु ब्राजाकी उनको साहित्यिक नाम थियो । उनको खास नाम त अर्कै । अनि गाउँका ती अर्ध साक्षर अनि निरक्षरहरूलाई मनु ब्राजाकी कुन चरीको नाम हो ? कसरी थाहा होस् । अनि मनु ब्राजाकीलाई नभेटिएपछि निराश हुँदै हामी जनकपुरमा लीला सिं कर्माकहाँ पुग्यौँ र त्यहाँबाट वीरगञ्ज फर्कियौँ, साँझ । राजाको सवारी शिविरमा कविता वाचनका लागि मनु ब्राजाकीलाई ल्याउन सकिएन । यद्यपि पछिसम्म पनि हामीले उनको खोज, खबर गर्न भने चुकेनौँ । त्यसपछि भेट हुँदा उनलाई मैले यो कुरा बताएँ । मेरो कुरा सुनेर उनी हाँसे मात्र । उनले त्यसमा खासै रुचि वा चासो देखाएनन् । उनको स्वभाव नै त्यस्तै थियो । आनन्दी । मनमौजी । निर्धक्क । कहिल्यै ढिलो नहुने । कहिल्यै केही नबित्ने । पछि पनि काठमाडौँमा बेला बेलामा भेट हुन्थ्यो, आकस्मिक् । उनी मगनमस्त नै हुन्थे । र ढिलो बोल्ने र कहिल्यै हतार नभएको जस्तो लाग्थ्यो मलाई । भेटेपछि यसो लगाउँ भनिहाल्थे । उनको प्रिय घरेलु मार्का नै हुन्थ्यो । तर म छक्क पर्छु, मैले किन कहिल्यै उनलाई त्यसमा साथ दिइनँ, जबकि म त्योबाट अछुत पनि त थिइनँ । मलाई पनि प्रिय लाग्थ्यो, मनु ब्राजाकीजस्तो पारखी नभए पनि । उनले कथाका अतिरिक्त गजल लेखे । साझा प्रकाशनबाट गजल सङ्ग्रह पनि निस्कियो । गजलमा उनको पकड राम्रो थियो । उनले गजल बुझेका थिए, गजलको विधागत संरचना बुझेर नै उनले गजल लेखेका थिए, लहडमा होइन । नेपाली साहित्यमा पछिल्लो चरणमा गजल स्थापित गराउनमा उनको पनि ठूलो योगदान छ, मरिमेटेर गजलमा तपस्या नै गरेर लाग्ने ज्ञानुवाकर पौडेलपछि । आख्यानको एक हाँगा कथामा उच्चतम स्थान बनाए पनि आख्यानको अर्को रूप उपन्यासमा मनु जम्न सकेनन् । भनौँ उनले कुनै उपन्यास नै पूरा गर्न सकेनन् । उनले थालेको उपन्यासको अंश पत्रिकामा प्रकाशित भयो, अधूरो टुक्रा । तर पाठकहरूले त्यसलाई चासो दिएको नपाएर हुनसक्छ वा उपन्यास पूरा गर्ने धैर्य नभएर हुनसक्छ, उनको उपन्यास लेखनको यात्रा अधूरोमै बिसौनीमा पुग्यो । उनी छोरीको निम्तोमा अमेरिका पुगे, सपत्नी । अमेरिकामै उनलाई घातक मष्तिष्कघात भयो । उपचार राम्रो भयो । उनले पुनर्जीवन पाए । आफ्नो पिताको सेवा गर्न पाएर छोरीलाई पनि ठूलो सन्तोष मिलेको हुनुपर्छ । अझ छोरी ज्वाइँले उनलाई अमेरिकामा नै बस्ने बन्दोवस्त मिलाइदिए । उनको स्वास्थ्य राम्रो भयो । तर उनलाई विस्मृतिले दु:ख दियो । उनी लामो लेख्न नसक्ने भए । भानु जयन्ती मनाउन कोलोराडो जाँदा उनीसँग मेरो भेट भयो निकै लामो समयको अन्तरालपछि, बढो खुसी भयौँ हामी दुवै । उनी कार्यक्रममा सम्मानित अतिथि थिए । लेखन के कसो छ ? एकअर्कालाई सोध्नु त सामान्य भयो । उनले त्यसबेला भनेका थिए, “गोविन्दजी ! म त कथा पनि लेख्न सक्दिनँ । लेख्दै जाँदा बिर्सन्छु । सानो रचना मात्र लेख्न सक्छु । लघुकथा, गजल जस्तो ।“ भयो त अब । यौटा लेखकको लागि योभन्दा ठूलो सजाय के हुन्थ्यो ! तर यसको विकल्प थिएन । उनले सो समारोहमा अति छोटो मन्तव्य व्यक्त गरेका थिए त्यो पनि लिखित रूपमा । त्यो उनले कसैलाई डिक्टेट गराएका थिए, तर पुछारमा हस्ताक्षर भने उनको थियो । त्यो मन्तव्य लेखिएको पाना मैले मागेँ, उनले दिए । सरक्क मैले लिएँ र त्यसलाई जतन गरी कोलोराडोबाट भर्जिनिया ल्याएर आफ्नो नीजि पुस्तकालयमा सुरक्षित राखेँ । उनको यौटा डायस्पोरा साहित्यको विषयमा निकै विचारोत्तजक लेख छापियो । त्यसले नेपाली साहित्यमा तरंग नै ल्याइदियो । त्यस किसिमको लेख लेख्ने त्यसअघि कसैले आँट वा जमर्को गरेका थिएनन् । अन्ततः मनु अमेरिकाबाट नेपाल फर्किए र नेपालमै बस्ने सुनियो । अमेरिकामा बस्दा खानपानमा पथ परहेज हुन्थ्यो नै । उपचार पनि राम्रो हुन्थ्यो । तर बिना इलमको अमेरिका बसाई कष्टप्रद होइन, सजाय नै हो एकप्रकारले । सायद यिनै कारणले वा किन हो उनी नेपाल गए अमेरिका नफर्कने गरी । नेपाल गएपछि साहित्यकार साथीभाइको माया पाउनु त स्वाभाविक थियो नै । उनका पुस्तकहरू पुनर्मुद्रण हुन सुरू भयो । उनका रचनाहरू सम्पादन भएर बजारमा देखा पर्न थाले । किशोर पहाडीले उनका कथाहरूको सम्पादन गरे र त्यो प्रकाशित भयो । बगर फाउण्डेसनका तर्फबाट सर्वश्रेष्ट पाण्डुलिपि पुरस्कार भविष्य यात्रा कथा संग्रहका लागि प्राप्त गरिसकेका उनी त्यसका सञ्चालक तथा बगर साहित्यिक पत्रिकाका सम्पादक नकुल सिलवाल उनलाई उच्च सम्मान गर्दथे । उनको विषयमा बगरको विशेषांक निकाल्न सामाग्री संकलन गर्दै थिए । केही सामाग्री संकलन पनि भइसकेको थियो । तर त्यसैबीच उनले मृत्युलाई आफैँले रोजे र त्यो उनको योजना अधूरै रह्यो । काठमाडौँमा मनुलाई मष्तिष्कघात भएको खबर मैले शब्दपथबाट थाहा पाएँ । स्वभावत दुःख लाग्यो । उनको स्वास्थमा सुधार आएको खबर आएको थियो । विभिन्न खबर आइरहे । र अन्तमा अन्तिम खबर आयो, जीवन अन्तको । मनमौजी मनु ब्राजाकी अब सम्झनामा छन् । कथाका पानामा छन् । गजलका हरफमा छन् । अब औरहीमा खोज्न जाँदा भेटिने छैनन् । फल्सचर्च, भर्जिनिया, अमेरिका । #साहित्य निर्माता
पोस्टरकविता- शृङ्खला ३: (रवि रोदनले सुरु गर्नुभएको यस अभियानमा साहित्यपोस्टले सहकार्य गर्दै आइरहेको छ । यहाँ विभिन्न कविका छोटा आकारका कविता पोस्ट हुने गर्दछन् र कवितामाथि चित्रको सयोगार्थ समाजलाई कविता पढ्न उत्प्रेरित गराउने कवि रोदनको चाहाना रहेको छ । पोस्टरकवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ ।- काव्य सम्पादक) प्रस्तुत छ तेस्रो शृङ्खलाका पोस्टरकविताहरू: १. २. ३. ४. ५. दार्जेलिङमा जन्मिएका राजु हिमांशु नेपाली कविताको फाँट एक चर्चित नाम हो । साहित्यमा राजु हिमांशु लेखे पनि उनको नाम राजु प्रधान हिमांशु हो । उनका धेरै कविता सङ्ग्रह र नाटक सङ्ग्रह प्रकाशित भएका छन् । ६. ७. धनकुटामा जन्मिएका सुमन राई कविता लेखिरहन्छिन् । अनलाइन पत्रिकातिर उनका कविताहरू धेरै छापिएका छन् । ८. अर्घाखाँचीमा जन्मेको शुभाष चन्द्र पोख्रेल हाल काठमाडौँमा बस्छन् । नेपाली स्नाकोत्तर गरेका उनले कविता लेख्छन् । उनको हालसम्म कुनै कृति प्रकाशित भएको छैन् । ९. भारतको सिक्किममा जन्मिएका पुरन कुमार भण्डारी पेशाले कृषक हुन् । विगत सात वर्षबाट लेखनमा सक्रिय भएका पुरनको मेरो खुसी नामको गीत सङ्ग्रह समेत प्रकाशित छ । १०. पानी कविताबाट कविता यात्रा सुरु गरेकी समा श्री हाल काठमाडौँ बस्छिन् । वंशलोचन र अल्पविराम उनका प्रकाशित कृतिहरू हुन् । #शृङ्खला पोस्टर
क्रान्तिकारी महिला बन्न के पढ्ने ?: तपाईं महिला हो ? संसार बदल्न मन छ ? तर संसार बदल्नुभन्दा पहिला त आफैँ बद्लिनु पर्छ, आफ्नो सोच बदल्नु पर्छ । सोच बदल्नका लागि उसो भए यो बेला के पढ्ने त ? बेलायतबाट प्रकाशन हुने कस्मोपलिटन म्यागेजिन ले सेप्टेम्बर अंक (जुन अगस्त १ मा नै बजारमा आइसकेको छ) ‘क्रान्तिकारी पठन’ शीर्षकमा एउटा आलेख प्रकाशन गरेको छ । जसमा अहिलेका युवा महिलाले पढ्न शुरू गर्न सकिने केही पुस्तकको सूची प्रकाशन गरेको छ । क्रान्तिकारी महिलाको पहिचान बनाउन वा विचार निर्माणमा भूमिका खेल्ने उसो भए के पढ्ने त ? सूची तल हेर्नुहोस्ः लिली कोलको ‘हु केयर्स विन्स’ लिली कोल एक समयकी सुपर मोडल हुन् । उनी मोडलिङबाट सिनेमा उद्योगमा समेत प्रवेश गरिन् र एउटा नाम बनाइन् । उनको बहुचर्चित सिनेमा सेन्ट ट्रिनिअन्स हो । जब सिनेमा खेल्न कम हुन थाल्यो, उनले आफ्नो बाँकीको जीवन अर्थपूर्ण बनाउनुपर्छ भन्ने लाग्यो र यतिबेला उनलाई जलवायु परिवर्तन अभियन्ताका रूपमा चिनिइन्छ । उनले यस पुस्तकमार्फत मान्छे जस्तो सुकै बेलामा पनि आशावादी हुनुपर्ने धारणा राखेकी छन् । वातावरणका पक्षमा रत्तिभर पनि गम्भीर नहुने मानिस देख्दा कोललाई दिक्क लाग्छ । उनले पुस्तकमा आफू मोडलिङ क्षेत्रमा आएको बेलाका अनुभव, आफ्नो निजी आनन्दका लागि मानिसले जनावरका रौँबाट उत्पादन हुने पहिरनप्रतिको आशक्तिले निम्त्याएको जनावरपीडा लगायतका विषयमा कटु आलोचना गरेकी छन् । उनी भन्छिन्ः संसार बदल्न केही गर्नु पर्दैन, अहिले हामीले जे-जस्ता भौतिक सुखका लागि मरिहत्ते गरिरहेका छौँ, त्यस्तो आशक्ति छाडेर आफूलाई नभई नहुने कुरामा मात्र ध्यान दिन सक्छौँ । अथवा, तपाईंले आँखाले देखेका हरेक राम्रा चिज किन्ने भन्दा पनि साँच्चिकै माया गर्ने चिज किनिदिनुभयो भने तपाईंले यो संसारलाई कृपा गरिरहनु भएको हुन्छ । हरेक सचेत व्यक्तिले त्यति मात्र गरिदियौँ भने पनि संसार बद्लिन्छ । तपाईंको दुई वटा शब्द यस वा नोले धेरै कुरा फरक पारिदिन्छ । जेन फोन्डाको ह्वाट क्यान आई डु ? हलिउडकी प्रख्यात अभिनेत्री जेन फोन्डालाई एउटी सुन्दर हिरोनीका रूपमा मात्र लिनुभयो भने गल्ती गरिरहनु भएको हुनसक्छ । जेन फोन्डा पनि बिग्रँदो वातावरण प्रति साह्रै चिन्तित छिन् । धुँवा, धुलो, विलुप्त हुँदै गरेका कयौँ जनावरहरूको प्रेमले उनी चिन्तित छिन् । यति चिन्तित छिन् कि उनी भन्छिन्, शक्तिशाली मानिसहरूले सारा बेथिति रोक्नका लागि एक्सनमा जान ढिला भइसक्यो । उनले यस पुस्तकमा आफू चर्चित हिरोइन भइसकेपछिका निरसिला दिनहरूमा कसरी जलवायु परिवर्तनबारे सोच्न थालिन् र अभियन्ताका रूपमा उदाइन् भन्नेबारे लेखेकी छन् । उनले जलवायु परिवर्तनका असर र त्यसलाई रोक्नेबारे केही सुझाव सल्लाह पनि दिएकी मात्र छैनन्, आफूसँग जोडिन हरेक पाठकलाई आग्रहसमेत गरेकी छन् । उनी भन्छिन्ः ‘सडकमा निस्कने र नारा लगाउने कुरामा बानी पार्नुस् । सरकारलाई हत्तु बनाउन तपाईं सडकमा निस्कनै पर्छ । कहिलेकाहीँ बन्द र ठप्प पारिदिनै पर्छ किनभने सरकारहरू बैरा हुन्छन् । तिनले सानो स्वर सुन्नै चाहदैनन् । यसो गर्दा तपाईं विद्रोही हुनुहुन्न । विद्रोही त तपाईं त्यो बेला भइरहनु भएको हुन्छ, जब तपाईं बिनाकाम घरैमा बसिरहनु हुन्छ, केही सोच्नु हुन्न र आफैँलाई हानि पुर्याइरहनु भएको हुन्छ ।’ एलिफ सफाकको हाउ टु स्टे सेन इन एज अफ डिभिजन बुकर पुरस्कारको नामांकनमा परेकी लेखिका सफाक उपन्यास लेखेर सर्वसाधारणलाई मनोरञ्जन मात्र दिलाउँदिनन् । उनी त एउटा सचेत लेखिका भएका कारण बेलाबेलामा अभियानसमेत सञ्चालन गरिरहेकी हुन्छिन् । टर्कीकी प्रख्यात लेखिका सफाकले त्यहाँको सरकारलाई बेलाबेलामा हैरान बनाउँछिन्, अभियानमार्फत् । कहिले वाक् स्वतन्त्रताबारे सरकारसँग झुत्ती खेलिरहेकी हुन्छिन् त कहिले कोही अन्यायमा परेकालाई बोलेर, कानुनी रूपमा लड्न खोजेर सघाइरहेकी हुन्छिन् । यो किताब हेर्दा निकै सानो छ । पकेट साइजको यो किताबमा जे जस्ता कुरा लेखिका सफाकले अभिव्यक्त गरेकी छन्, प्रत्येक वाक्यमा मुक्का हाने बराबरको सशक्त अभिव्यक्ति पस्किएकी छन् । अस्तव्यस्त यो संसारमा केही काम पनि ठीकसँग भइरहेको छैन भनेर तपाईं दिक्क, निराश र आत्तिनु भएको छ भने यो किताबले तपाईंलाई भविष्यप्रति आशावादी हुने ठाउँ दिएको छ । उनी भन्छिन्ः तपाईंभित्रको निराशालाई अँगाल्नुस्, त्यसलाई स्वीकार गर्नुस् । हामी आफैँलाई गाली गरेर, कुण्ठित भएर बाँच्न सक्दैनौँ । सधैँ खुसी मात्र खोजेर पनि हुँदैन । हामी जे हौँ, जस्ता छौँ त्यसलाई स्वीकार गरेर, योभन्दा राम्रो हुने र गर्ने संकल्पका साथ अघि बढ्नु पर्छ तर अहिल्यै तुरून्तै त्यो चाहियो भनेर अड्डी नकस्नुस् । आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयासलाई जारी राख्नुस् । यति बुझिसकेपछि अब तपाईंलाई अन्य थप चार वटा पुस्तकका बारेमा बताउनै पर्छ । ती पुस्तकले पनि तपाईंलाई आशावादी बनाउन भूमिका खेल्न सक्छन् । काजल ओडेड्राको डु समथिङ एक्टिभज्म फर एभ्रिवन बेलायतस्थित चेन्ज डट ओर्गकी निर्देशक काजलले कसरी साना साना कुराहरूबाट संसार परिवर्तन भइरहेको छ भनेर उदाहरण दिँदै तपाईंले पनि त्यो भूमिका कसरी खेल्न सक्नुहुन्छ भन्नेबारे खुलाएकी छन् । इब्राम एक्स केन्डीको हाउ टु बि एन एन्टिरेसिस्ट तपाईं जातिवादी हुनुहुन्न भने राम्रो कुरा हो तर कुरा त्यतिमै मात्र अड्किनु हुन्न । तपाईं जातिवादीविरोधीका रूपमा देखिनु पर्छ । हरेक ठाउँमा भएका अन्यायका बारेमा मुख खोल्नुपर्छ । सशक्त रूपमा एनटिरेसिस्ट अर्थात् छुवाछुतबारे कडा रूपमा प्रस्तुत हुनै पर्छ । यो पुस्तकले कसरी छुवाछुत र अन्यायका बारेमा खुलेर अघि बढ्न सकिन्छ भन्नेबारे मज्जाले बताउँछ । ग्रेटा थनबर्गको नो वन इज टू स्मल टु मेक अ डिफरेन्स किशोरावस्था नै जलवायु समस्यामा केन्द्रित रहेर अभियान सञ्चालन गरेकी ग्रेटा थनबर्ग अहिलेको किशोर पुस्ताकी सबैभन्दा चर्चित व्यक्ति हुन् । एक पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई खाने खेल्ने उमेरमा चिल गर्न छाडेर के उफ्रिरहेकी ? रमाइलो गर भनेका थिए । उनले त्यो कुरा अस्वीकार गर्दै जवाफमा भनेकी थिइन्, ‘तपाईंहरूले जहिल्यै चिल गरेर हामीलाई अप्ठेरो वातावरण र जलवायु परिवर्तनको खतरनाक मोडमा ल्याइदिनु भएको छ । हामी चिल हुनै सक्तैनौँ ।’ रेनी एडो-लजको ह्वाई आम् नो लङ्गर टकिङ टु ह्वाइट पिपुल रेनीको यो बेवाक पुस्तकले तपाईंलाई भित्रैसम्म हल्लाइदिन्छ । कसरी छुवाछुट र विभेद संरचनागत रूपमा भित्रसम्म फैलिएको छ भन्ने खुलासा उनले यस पुस्तकमार्फत गरेकी छन् ।
मंगलका फोटोसँग पाटन यात्रा: मंगल पाटनलाई खुला संग्राहलय मान्छन् । त्यो पनि यस्तो संग्राहलय जहाँ, हरेक दिशामा हेर्दा फोटो खिच्नै पर्ने दृष्य देखिन्छन् । एक दिन समय निकालेर पाटनका गल्लिहरु घुम्ने हो भने पाटन अरु संसार भन्दा धेरै कुरामा फरक छ भन्ने मान्न न कुनै सिद्धान्त थाहा पाउँनु पर्छ, न अर्को कुनै तर्क गर्नु पर्छ । पाटनमा जे छ, त्यो अन्त कतै छैन । यो देख्नका लागि पाटनलाई छुट्टाछुट्टै हेरेर भने सम्भव हुदैन । सिंगो पाटनलाई एकाकार गराउँनु पर्छ । यहाँ मंगलका केहि फोटोहरु राखेका छौँ । जुन चाडपर्व विशेष भन्दा पनि दैनिक जीवनका फोटोहरु छन् । उनका थप फोटोहरु फेसबुक पेजमा पनि हेर्न सकिन्छ ।
पत्रकार अधिकारीको कवितासंग्रह सार्वजनिक: m साहित्यपोस्ट पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कवितासंग्रह ‘‘बुढो गौंडा र इष्टेनीहरु’ सनिबार सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिकरण गरेका हुन् । m पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात् गौडालाई उजागर गरेको बताए । ‘धनकुटाको सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उनको भनाइ थियो, ‘यस कवितासंग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’ पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले कवितासंग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए । उनले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गरे । उनले धनकुटामा मात्र बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रुपमा रहेको गौंडालाई बिम्बको रुपमा कवितामा पस्किएको बताए । m कार्यक्रममा साहित्यकार तथा प्रकाशक संस्था पूूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गरे । ‘‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशाशनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनःस्मरण गराउनमात्रै चाहेको बताउए । कार्यक्रममा उनले शीर्ष कविता वाचन गरेका थियो । कार्यक्रममा धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिलाहरु मौलिक भेषभुषामा उपस्थिति थिए । आठपहरिया समुदायका महिलालाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् । कान्तिपुर दैनिकका धनकुटा उपसम्पादक रहनुभएका अधिकारीले चार वर्षअगाडि गीतीसंग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गरेका थिए । पुस्तक प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो । #रमेशचन्द्र अधिकारी
छैटौँ सम्मेलनमा बेलायती अनुभव: प्रकाश पौडेल ‘माइला’ संसार एकाइसौँ शताब्दीमा प्रवेश गर्ने पूर्वसन्ध्यामा अमेरिकाका केही प्रसिद्ध व्यावसायिक संस्थाहरू मिलेर विश्वभरि सर्वेक्षण गरेका रहेछन् । उक्त सर्वेक्षणको उद्देश्य संसारका ६ अर्ब मानिसहरूले सबैभन्दा बढी सुनेका देशहरू कुन-कुन हुन् ? मानिसहरू सबैभन्दा बढी कुन-कुन ठाउँ जान चाहन्छन् ? संसारमा मानिसले सबैभन्दा बढी सुनेका जीवित शासकहरू को-को हुन् ? आदि । अमेरिका विश्वको शक्तिशाली मुलुक भएका कारण विश्वभरिका मानिसले कुनै न कुनै रूपमा अमेरिका र अमेरिकी ठाउँहरूको नाम लिइदिऊन् भन्ने यो सर्वेक्षणको भित्री उद्देश्य हुनुपर्छ । नत्र अर्बौँ रुपैयाँ लगाएर यति ठूलो सर्वे किन गरिन्थ्यो होला र ? प्रकाश पौडेल ‘माइला’ तर सर्वेक्षण उनीहरूको सोच र अनुमानभन्दा विपरीत आयो । नतिजामा अमेरिका अघि देखिएन । विश्वका मानिसलाई सबैभन्दा बढी चासो बेलायतप्रति भएको अध्ययनले देखायो । उनीहरूले सबैभन्दा बढी सुनेको सहर लन्डन थियो र सबैभन्दा बढी चासो बेलायतको बकिंहम प्यालेस र महारानी भिक्टोरियाको थियो । धेरै मानिसले हेर्न चाहेको ठाउँ चाहिँ थेम्स नदीमा रहेको लन्डन व्रिज रहेछ । विश्व इतिहासका बारेमा जानकारी राख्ने जो कसैका लागि पनि यो सर्वेक्षणले दिएको नतिजा अनौठो थिएन । तर केही अमेरिकीहरूले यो सर्वेक्षणको नतिजा आएपछि आश्चर्य मानेको कुरा कहीँकतै पढेको थिएँ । दोस्रो विश्वयुद्ध अघिसम्म बेलायत विश्वको शक्तिशाली मुलुक थियो । कहिल्यै घाम नअस्ताउने मुलुकका रूपमा बेलायतलाई लिइन्थ्यो । हुन पनि भारतदेखि अफ्रिकासम्मका देशमा उसले बेलायतमा बसेर शासन गर्ने सामर्थ राख्दथ्यो । अधिकांश देशका नागरिकले आफ्नो स्कूलदेखि नै कुनै न कुनै रूपमा बेलायतका विषयमा पढ्नै पर्छ । आज पनि क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डले मान्ने राजसंस्था बकिंहम प्यालेस नै हो । आज पनि ती देशकी राष्ट्राध्यक्ष महारानी एलिजावेथ द्वितीया नै हुन् । त्यसबाहेक पछिल्लो समयमा बेलायतबाट स्वतन्त्र भएका मुलुकहरू जमैका, फारवाडोस जस्ता दर्जनौँ अफ्रिकी मुलुकहरूको पाठ्यक्रम बेलायतीले बनाएका हुन्, जहाँ बेलायतको इतिहास अनिवार्य पढाइ हुन्छ । भारतमा पनि केही वर्षअघिसम्म बेलायती इतिहास अनिवार्य पढ्नु पर्दथ्यो । यी कारणले बेलायतको दरबार, त्यहाँकी महारानी, थेम्स नदी र त्यसमाथि बनेको पुलको तस्बिरप्रति विश्वका ठूलो समुदायप्रति चासो जाग्नु स्वाभाविक नै हो । स्वाभाविक रूपमा हामी नेपालीहरूले पनि बेलायतबारे धेरैअघिदेखि सुन्दै र पढ्दै आएका हौँ । नेपालको प्रशासनको केन्द्र सिंहदरबार बेलायती इन्जिनियरहरूले आफ्नो डिजाइनमा बनाएका हुन् । घण्टाघर र धेरै राणाकालीन दरबारमा बेलायती शैलीमा बनेको छ । उदघाटन शत्र सन्चालन गर्दै महासचिव गणेश घिमिरे नियात्रा साहित्यको कुरा गर्दा ‘जंगबहादुरको बेलायत यात्रा’ नामक पुस्तकको नाम नलिई यो विधाको प्रारम्भ नै हुँदैन । यो विधाले उत्कर्ष हाँसिल गरेको पुस्तक पनि डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ नै हो । नियात्रा विधामा मदन पुरस्कार पाउने यो हालसम्मको एकमात्र पूर्ण कृति हो । त्यसयता बेलायतका विषयमा यति धेरै पुस्तक र लेखहरू लेखिए, त्यसको कुनै गणना छैन । बेलायत जो पुगे, केही न केही लेखे । यही छिमलमा २०१९ को अगस्ट् पहिलो साता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा संस्थाको वरिष्ठ उपाध्यक्षको नाताले पुगेको थिएँ । सर्जक हुनु र बेलायत पुग्नु अनि केही नलेख्नु कसरी सम्भव हुन सक्ला ? बारम्बार लेखिरहने बेलायतमाथि लेख्नुपर्ने नयाँ कुरा केही छैन भन्ने लाग्छ । तर बेलायत पुगेकाहरूलाई थाहा छ, यहाँको आकर्षणले हरेकलाई यसरी तान्छ, नलेखी रहनै सकिँदैन । विदेशमा बसेर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैँमा दुस्साहसपूर्ण काम हो । तर अनेसासभित्र यस्ता दुस्साहसी साथीहरू प्रसस्त छन् । यही कारण, हरेक वर्ष आफ्नो कर्मथलोमा दर्जनौँ साहित्यकार बोलाएर कार्यक्रम गर्ने होड चल्छ । सायद यही कारण सन् २००९ सालदेखि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने परम्पराको अभिभारा सन् २०११ मा बेलायतले दोस्रो सम्मेलन गरेर पूरा गरेको थियो । त्यसपछि फेरि अमेरिका, जापान, अस्ट्रेलिया हुँदै आठ वर्षपछि पुनः बेलायतले छैटौँ सम्मेलन गर्ने हिम्मत जुटायो । हिम्मत शब्दको प्रयोग यहाँ त्यसै गरिएको होइन, किनभने अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन गर्न चानचुने आँटले पुग्दैन । छैटौँ सम्मेलनको नेतृत्व अनेसासका बेलायत च्याप्टर अध्यक्ष सुमलकुमार गुरुङले गर्नुभएको थियो । जसलाई सफल पार्न बेलायतका दर्जनौँ साहित्यकारहरूले हास्टेमा हैसे गर्नुभएको थियो । युके सम्मेलन सुमल दाइको नेतृत्वमा हुने कुराले यो भव्य र सभ्य हुन्छ भन्ने कुराको अनुमान मैले पहिल्यै गरिसकेको थिएँ । बेलायती गोर्खा सैनिकका रूपमा काम गर्नुभएका उहाँ लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यस्ता कार्यक्रममा अनुशासन, व्यवस्थापन र आर्थिक पाटो सबैमा उत्तिकै ध्यान दिनुपर्ने भएकाले पनि फराकिलो छाती र कार्यक्रमहरूको अनुभव भएका व्यक्तिको आवश्यकता पर्छ । सुमल दाइसँग मेरो पहिलो भेट सन् २०१५ मा जापानमा भएको थियो । उहाँ चौथो सम्मेलनको क्रममा जापान आउँदा मैले चौथो सम्मेलनको संयोजकको रूपमा केही दिन संगत गर्ने मौका पाएको थिएँ । उहाँसँग घुमफिर गर्दा र केही कार्यक्रममा सँगै रहँदा साहित्यप्रति उहाँको रुचि र उहाँको पाको अनुभवको छनक मैले पाइसकेको थिएँ । डायस्पोरामा झण्डै पाँच दशक बिताइसकेको कुरा थाहा पाउँदा म उतिबेलै झस्केको थिएँ । लण्डनस्थित राजदुतावास परिसरमा सजाइएको नेपाली साहित्यकारहरूको तस्बिर युके सम्मेलनमा म एक्लै होइन, श्रीमती भूमिकासहित जाने निधो गरेँ । एयरपोर्टको समय र बेलाबेलामा आफ्नो यात्राको विवरण दिनेबाहेक यात्राभरि म उनीसँगै गफिँदै थिएँ । यसले समय बितेको खासै पत्तो भएन । प्लेनको यात्रापछि पो थाहा भयो, हामीले एकअर्काको कुरा नसुनेको पनि धेरै भएछ ! डायस्पोरामा रहने धेरैको समस्या एउटै होला । हातमुख जोड्ने मात्रै होइन, स्वदेशमा पनि चुल्होचौकोको सन्तुलित जोहो गर्नु पर्ने बाध्यताले गर्दा धेरैको घरको कथा सायद मेरोजस्तै थियो । हाम्रो ट्रान्जिट मलेसियाको क्वालालम्पुर विमानस्थल थियो । त्यहाँबाट सिधै विमान हिथ्रो विमानस्थल पुग्दै थियो । त्यहाँ चर्चित लेखक नारायण गाउँले र डा. दुर्गाप्रसाद पोखरेल हामीलाई लिन आउने कुरा पनि पक्का भइसकेको थियो । समयलाई नै सम्पूर्ण चिन्ता जिम्मा लगाएर हामी पूर्वी एसियाबाट, मध्य एसिया हुँदै पश्चिमको शक्तिशाली राष्ट्र बेलायत उत्रदै थियौँ । हामी दुवैको यो पहिलो युरोप यात्रा थियो । त्यसैले उनी जति उत्साहित थिइन्, परिचारिकाहरूको चुस्त व्यवस्थापकीय र सेवाग्राही भावले जापानदेखि लण्डनसम्मको १९ घण्टाको यात्रालाई अझ सुखद् बनायो । झ्यालबाट देखिने विभिन्न दृश्यले मेरो मन खिच्यो किनकि त्यो भेगको यात्रा नै पहिलो थियो । साँझ ५ बजे विमानले लण्डनको एक चक्कर लगाउँदा थेम्स नदीमा साँझको पहेँलो घामले सुनौलो रङ फ्याँकिरहेको थियो । टोकियोका जस्ता अग्ला र चम्किला भवन त त्यहाँ थिएनन् तर परैबाट यसको फरकपन महसुस गराउन सक्षम थियो । नभन्दै एयरपोर्टबाट बाहिर निस्कदा अनुभव भयो, बेलायत आफ्नै गरिमा बोकेर सयौं वर्षदेखि उसैगरी मुस्कुराइरहेको छ । लन्डनलाई नौओटा क्षेत्र (जोन) मा छुट्याइएको छ । हिथ्रु विमानस्थल जोन ७ मा पर्दछ, यद्यपि भौतिक विकास, जनघनत्त्व र बजारको हिसाबले जोन ४ जस्तो देखिन्छ रे ! बेलायतको लागी नेपाली राजदुत महामहिम डा. दुबसु छेत्रीबाट सम्मान ग्रहण गर्दै । हामीलाई नारायण गाउँले र दुर्गा पोखरेलले न्यानो स्वागत गर्दै पश्चिम लन्डनको हेजस्थित आफ्नो घर पुर्याउनु भयो तर घाम भने अझै अस्ताएको थिएन । उसैगरी चम्किलो सुनौला रङ सहरभरि परिरहेको थियो । हतारमा गाउँलेजीको घरमा चिया पिएर दुर्गा पोखरेलको घरतिर लाग्यौं । साँझ अझै गहिरिएको थिएन । यति लामो साँझ यसअघि मैले कहिल्यै अनुभव गरेको थिइनँ । ‘अहिले कति बज्यो, घाम त अझै अस्ताएको छैन नि ?’ मैले गाउँलेलाई सोधेँ । ‘भर्रखर त रातको नौ बज्न लाग्यो, अब घाम अस्ताउने बेला भयो,’ उत्तर दुर्गा दाइले दिनुभयो । अचम्मको मौसम हुँदो रहेछ है ! मैले छक्क परेर घामतिर हेर्दा अचानक बादल लाग्यो र केहीबेरमै पानी पर्यो । दुर्गा दाइ हाँस्नुभयो र भन्नुभयो, ‘यो लण्डन हो, मौसमको भर हुन्न ।’ मनमा डा. तारानाथ शर्माले आफ्नो पुस्तकमा लेखेको कुरा सम्झिएँ, ‘यहाँ मौसमको भर हुँदैन । महिलाको त झन् हुँदैन ।’ हामीले खाना खाँदा पानी परिरहेको थियो । भोलिपल्ट बिहानै साहित्यकार डा. रूपक श्रेष्ठको घर पुग्ने योजना थियो । त्यहाँ पुग्दा गोबर्धन पूजा र विश्वबिमोहनजीसँग भेट भयो । रूपकजीसँग पहिलो भेट भए पनि उहाँले त्यो छनक पर्न दिनुभएन । गोरखापत्र दैनिकका प्रधान सम्पादकसमेत रहनुभएका श्रीओम श्रेष्ठ रोदन दाइको ल्यान्डिङ सोही दिन भएकाले राज श्रेष्ठजीहरू विमानस्थलतर्फ लाग्नु भयो । नारायणजीले गाडी दक्षिण-पश्चिममा पर्ने साउथहलतिर हुइँक्याउनु भयो । साउथहल घुम्दै गर्दा भैरहवा र सुनौली नाकाको बजार घुमेको झल्को पनि लाग्यो घरिघरि । हामीलाई साँझको प्रतीक्षा थियो किनभने साँझसम्ममा विश्वभरिबाट साहित्यकारहरू आउने कार्यक्रम थियो, जो एकअर्कालाई भेट्न व्यग्र थियौँ । नभन्दै साँझको डिनर भव्य भयो । नेपालबाट दर्जनौँ साहित्यकारहरू आउनुभएको थियो । अमेरिका, अस्ट्रेलिया, युरोपदेखि र मध्यपूर्वका मुलुकबाट पनि केही साथीहरू आउनुभएको रहेछ । हामी त्यहाँ पुग्दा मोहन सिटौला, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, पदम विश्वकर्मा, डा. रेणुका सोलु, श्रीओम रोदन, गोबर्धन पूजा, राजन केसी, लालगोपाल सुबेदी, भीमसेन सापकोटा, मीना केसी, बाबा बस्नेत, हरिमाया अधिकारी, सन्ध्या पहाडी, राजेन्द्र श्रेष्ठ, प्रतीक ढकाल, कमला रिसाल, दुर्गा शाह बाबा, शान्ति गिरी, डा. पुष्पा शर्मा, सरिता अर्याल, डा. कविता लामा, सुमन वर्षा घिमिरे लगायत सबै जना आइपुगी सक्नु भएको रहेछ । च्याप्टरका कोषाध्यक्ष सचिन गुरुङ र महासचिव सन्तोष कार्कीले स्वागत गर्नुभयो । परिचयको आदान प्रदान गर्दागर्दै रात बितेको पत्तै भएन । होटेल पुग्दा अबेर भइसकेको थियो । सम्मेलन उदघाटन शत्रमा सहभागीहरू भोलिपल्ट कार्यक्रम प्रारम्भ भयो । प्रमुख अतिथिको आसनबाट बेलायतस्थित नेपाली राजदूत डा. दुबसु क्षेत्री र विशिष्ट अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संयुक्त रूपमा गर्नु भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्त्वमा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथि जगमान गुरुङ, बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, सम्मेलन संयोजक सुमलकुमार गुरुङ र ट्रस्टीका सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेलले मन्तव्य राख्नुभएको थियो । त्यसअघि मैले वरिष्ठ उपाध्यक्षको नाताले सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता र यसले नेपाली साहित्यलाई दिएको योगदानको बारेमा चर्चा गरेँ । बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाउनुभएको शुभकामनापत्र केन्द्रीय उपाध्यक्ष सुनिल संगमले पढेर सुनाउनुभएको थियो । सेमन्त राई र भरत लोहोरुङ राईको बाँसुरी मात्रै होइन, दीपक थापा, कमला रिसाल, बिसी राई अनि स्नेहा श्रेष्ठको गीतले कार्यक्रमको बीचबीचमा बेग्लै रौनक छरेको थियो । भिडियोग्राफर आशिष श्रेष्ठ र फोटोग्राफर साकार श्रेष्ठको कलात्मक र छरितो काम प्रशंसायोग्य थियो । अनेसासका कारण भव्य भेटघाट र साहित्यिक कार्यक्रम भएको थियो । योबेला संस्थाका संस्थापक हेमनाथ सुवेदीको याद अयो । फर्केर हेर्दा उहाँकै सपनाले यो जमघट सम्भव भएको महसुस भयो । कार्यक्रममा अघिल्लोपटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने च्याप्टर र कार्यक्रम संयोजकहरूलाई सम्मान गरियो । यसको अवसर गणेश घिमिरे र म स्वयंले प्राप्त गर्यौँ । त्यसपछि सुरु भयो, मधुर कविता वाचन । दुई दर्जन कविहरूले एकै ठाउँ बसेर कविता वाचन गरेको यो समय मेरा लागि निकै आकर्षक थियो । कार्यक्रममा आधा दर्जन बढी कृति र स्मारिका विमोचन गरिएको थियो भने सुप्रमा पुरस्कारबाट गजलकार नृपेश उप्रेतीलाई सम्मानित गरिएको थियो । महासचिव गणेश घिमिरे, लक्ष्मी राई र सानु घिमिरेको मिठासपूर्ण कार्यक्रम सञ्चालनले समय बितेको पत्तै भएन । बेलायतवासी साहित्यकार सञ्जु बजगाईं, बेल्जियम च्याप्टरका पूर्वअध्यक्ष दीपेन्द्र केसी, विमल गिरी, बेल्जियम च्याप्टरका अध्यक्ष राजकुमार पुडासैनी, साहित्यकारहरू जगत नवोदित, वाइबि गुरुङ, रोजा ओली, मोहन आचार्य जल्लादसँग कार्यक्रमको बीचबीचमा भलाकुसारी चलिरह्यो । भारतबाट आउनुभएका डा. पुष्पा शर्मा, मीना सुब्बा, लतिका जोशी, रत्न सुब्बा, रुद्र पौडेल, गीतादेवी शर्मा, कृष्णराज घटानी, ललिता जोशी लगायत सबै जना मध्य भागतिर लहरै बस्नुभएको थियो । बेलायतका साहित्यकार कृष्ण बजगाइँ मुसुमुसु हाँसेर अगाडि बसेको निकै पछि देखेँ । हात हल्लाएर उहाँलाई स्वागत गर्नसम्म भ्याएँ । मुख्य कार्यक्रममा उहाँको उपस्थिति मेरा लागि महत्वपूर्ण थियो। कवि गाेष्ठीमा कविता वाचन गर्दै जगत नबोदित हेर्दाहेर्दै कुनबेला साँझ पर्नथाल्यो थाहा भएन । कार्यक्रमको समाप्तीसँगै बेलायतस्थित नेपाली दूतावास पुग्न हामीलाई हतारो भयो । कारण, दूतावासमा साहित्यकारहरूका लागि डिनर कार्यक्रम राखिएको थियो । राति अबेरसम्म हामीले राजदूत दुबसु क्षेत्रीको साहित्य क्षेत्रको योगदानको चर्चा गर्दै बितायौँ । दूतावासमै पनि कवि गोष्ठी निकै सशक्त रूपमा चल्यो । न्युयोर्कबाट आएका कवि कृसु छेत्रीसँग दूतावासमै भेट भयो । गोष्ठीलगत्तैको डिनरमा डा. दुर्गा दाहाल, प्रतीक ढकाल, दुर्गा रिजाल, गीता मैनाली, पुष्पा खनाल, कल्पना खरेल, बिनु गुरुङ, निरु न्यौपाने, यादव रेग्मी लगायत सबै जना केहीबेर गफमा व्यस्त भयौँ । होटल फर्कंदा हिजोजस्तै अबेर भैसकेको थियो । कार्यक्रम अवधिभर अनेसासको कार्यकारीहरू सबैको व्यस्तता बढ्नु स्वाभाविक थियो । केही साथीहरू फुर्सद हुनासाथ लन्डनका छेउकुनाका चोकहरू घुमिसक्दा हामी भने कार्यक्रमको योजना, छलफल र आन्तरिक मिटिङ गरिरहेका हुन्थ्यौँ । भोलिपल्टको कार्यक्रममा कार्यपत्रको प्रस्तुति र प्यानल छलफलको कार्यक्रम राखिएको थियो । यसका लागि सिक्किम विश्व विद्यालयकी नेपाली विभाग प्रमुख डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले वर्तमान परिप्रेक्षमा नेपाली साहित्य माथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसको टिप्पणीकार शान्तिमाया गिरीको टिप्पणी पनि निकै गम्भीर थियो । त्यसलगत्तै नेपाली भाषामा विशेष दख्खल राख्ने बेलायती नागरिक माइकल हटले महाभूकम्पपछि नेपाली साहित्यको अवस्था शीर्षकमा गहकिलो कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि सुमन वर्षा घिमिरेले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रपछि डा. रूपक श्रेष्ठले प्यानल डिस्कसन चलाउनु भयो । विषय थियो, डायस्पोरा लेखन । यो डिस्कसनले पनि उपस्थित साहित्कारको ताली पाएको थियो । यद्यपि समय अभावले गर्दा पूर्वअध्यक्षद्वय मोहन सिटौला र पदम विश्वकर्माले सञ्चालन गर्ने भनिएको प्यानल डिस्कसन कार्यक्रम स्थगन गर्नुपर्\u200dयो । प्यानल डिस्कसन सन्चालन गर्दै डा. रुपक श्रेष्ठ समग्र कार्यक्रम कस्तो भयो ? मलाई थाहा छैन । संस्थामा आफैँ कार्यकारी भएका कारण आफ्नो काम राम्रै भएको जस्तो लाग्दोरहेछ । त्यसको मूल्यांकन सहभागी साथीहरूले गर्नुभयो होला ! सामाजिक सञ्जाल, समाचार साइटहरू र प्रत्यक्षप्रसारणको माध्यमबाट हेर्नुहुने विभिन्न च्याप्टरका साथीहरूले गर्नुभयो होला ! तर एउटा कुरा चाहिँ भन्नै पर्छ, आयोजकका रूपमा युके अध्यक्ष सुमल दाइ र त्यहाँका साथीहरूले रातदिन नभनी दिएको समय र खटाइबिना त्यत्रो कार्यक्रम गर्न सम्भव थिएन । कार्यक्रममा सारा गुरुङ भाउजू, लक्ष्मी राई, लय प्रसाईं, बिशन थापा, राधा सापकोटा, विजय गुरुङ, माया गुरुङ, सन्तोष कार्की, मदन पौडेल, संगम गुरुङ, राजु गुरुङ, समीक्षा गुरुङ, देवयानी शर्मा, दीपक थापा लगायतको भूमिका महत्त्वपूर्ण रहेको छ । अन्तिम चरणमा मेरो नेतृत्वमा रहेको ७ सदस्यीय घोषणापत्र समितिद्वारा आठ बुँदे घोषणापत्र सार्वजनिक गरिएसँगै सहभागी सबैलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । मलाई बेलायत पुग्दा राणाकालीन नेपालको सम्झना हुन्छ । बेलायतका जुनसुकै गल्ली पुग्नुस्, तपाईंले सिंहदरबार, बागदरबार र लालदरबारहरू भेट्न सक्नुहुनेछ । सुरु सुरुमा म काठमाडौँ आउँदा मलाई प्रभाव पारेका यी दरबारहरू बेलायतमा जताततै पाइने गरेछन् । बेलायतबाट राणाहरू कतिसम्म प्रभावित थिए भन्ने ती दरबारले महसुस गराउँछ । तर उनीहरूले बेलायतको दरबारबाट प्रभावित भए पनि त्यहाँको प्रजातान्त्रिक मूल्य मान्यताबाट धेरै सिक्न सकेनन् । यता प्रजातन्त्रवादीहरूले बेलायतको प्रजातन्त्रबाट धेरै सिके तर विकासको मोडल र जनताको सेवा कसरी गर्नुपर्छ भन्ने कुरा सिकेनन् । बेलायत घुमुञ्जेल मलाई लाग्यो, यी दुवै कुरा नेपालीहरूले किन सिक्न सकेनन् ? भोलिपल्टको कार्यक्रम बेग्लै थियो । महान् साहित्यकार सेक्सपियरको घर जाने कार्यक्रममा म सहभागी हुन सकिनँ । डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंजीसँग लन्डन ब्रिज र बकिङ्गम दरबारतिर घुम्दै गर्दा सेक्सपियरको घर पुग्न नपाएकोमा थक्थकी लागिरहेको थियो । ग्रिनविचको धर्सोमा उभिँदा छविरमण सिलवालको कृति ग्रिनविचको साँझ (२०७५) को सम्झना आयो ।त्यहीबेला प्रिय साथी परशुराम पौडेलसँग १६ वर्षपछि भेट भयो । उदघाटन शत्रमा पुस्तक प्रदर्शन लेख सक्दैगर्दा बेलायतका नेपाली राजदूत दुबसु क्षेत्रीको कुरा गरिएन भने यो अपूरो हुन्छ । नेपालमा सरकारी कर्मचारीको छवि उति राम्रो छैन तर एउटै दुबसुले ती सम्पूर्ण सरकारी छविलाई नामेट पार्न सफल भएका छन् । दुबसुले देशभित्र पनि पनि निकै राम्रो काम गरेको पढ्न र सुन्न पाइन्छ । साहित्यिक व्यक्तित्व पनि उँचो छ । तर परराष्ट्र मन्त्रालयका जागिरे भएका कारण उनी स्वदेशमा भन्दा विदेशमै बढी भेटिन्छन् । उनी बर्मामा जाँदा त्यहाँका बर्मेली नेपालीहरूलाई साहित्यको मूलधारमा ल्याउन ठूलो प्रयास गरेको कुरा त्यहाँ पुगेकाहरूले प्रशंसा गरेको सुन्न, पढ्न पाइन्छ । म आफैँले पनि उहाँ जापानमा हुँदा नेपाली भाषा, संस्कृति र नेपालीहरूका लागि गरेको प्रयासलाई नजिकबाट अनुभव गरेको थिएँ । यसपटक बेलायतमा हुँदा उहाँले हाम्रो कार्यक्रमको प्रमुख अतिथि हुने मात्र होइन, सम्पूर्ण साहित्कारहरूलाई रात्रि भोजको व्यवस्था गर्नुभएको थियो । रात्रिभोज त एउटा बहाना थियो, खासमा उहाँले त्यसबखत नेपाली साहित्यका विषयमा गरेको चिन्तनले सबैलाई मन्त्रमुग्ध पारेको थियो । दूतावासको भित्तामा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्त्वहरूको फोटो सजाइएको थियो । सम्भवतः साहित्यकारलाई सम्मानपूर्वक फोटो झुन्ड्याउने दूतावास लन्डन दुतावास नै हुनु पर्छ भनेर कुमारबाबु सिम्खडाले केही समयअगाडि सामाजिक सन्जालमा लेख्नुभएको थियो । उदघाटन शत्रमा पुस्तक प्रदर्शन #प्रकाश पौडेल ‘माइला’
भारतीय नेपाली साहित्यः इतिहास लेखनका केही आधार (भाग एक): नेपाल र भारतमा बोलिने र लेखिने नेपाली भाषा प्रायः एउटै भए पनि साहित्यको इतिहास भने हाम्रो आफ्नोआफ्नै छ । नेपालबाट नेपाली साहित्यका इतिहासहरू धेरै प्रकाशित भएका छन् तर भारतबाट आजसम्म बृहत् रूपमा भारतीय नेपाली साहित्यको इतिहास लेखिएको छैन । पाठ्यपुस्तकहरूको रूपमा लेखिएका दुई चार कृतिहरूको कुरा बेग्लै हो । अपवादमा मणिपुरकी गोमा शर्माद्वारा लिखित ’नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’यस दिशामा एउटा स्तुत्य प्रयास हुँदाहुँदै पनि यसमा धेरै तथ्याङ्कहरू त्रुटिपूर्ण भएको छ । (१) भारतीय नेपाली साहित्यको इतिहास लेख्ने लेखाउने बारेमा धेरै पल्ट बी.पी. कोइराला फाउण्डेसनद्वारा आयोजित भारत नेपाल लेखक समेलनमा व्यापकरूपमा चर्चा पनि चलेको हो । लेख्ने लेखाउने कुरा पनि तय भएको हो । तर आजसम्म यस्ता प्रस्तावहरू कार्यान्वित भएका छैनन् । नेपालले समग्रमा (भारतलाई पनि लिएर) नेपाली साहित्यको इतिहास लेख्दा आजसम्म इतिहासकारहरूले भारतबारे कतिपय त्रुटिहरू गर्दैआएका छन् । उनीहरूले लेखेका कुराहरू कि अमर्यादित हुन्छन् कि अपूर्ण हुन्छन् । विशेष उनीहरूले भारतका दुई चारजना विशिष्ट लेखकहरूको नाम र उनीहरूको योगदानको मात्र इतिहासमा उल्लेख गरेको पाइन्छ । यसको कारण हो उनीहरू नेपालमा बसेर सुनेका भरमा अथवा अरूले अघि लेखेका त्रुटिपूर्ण कुराहरू नै दोहोराएर लेख्ने गर्छन् । उनीहरू शोध गर्ने, फिल्ड वर्क गर्ने कष्टसम्म गर्दैनन् । आजसम्म नेपालबाट भारतीय साहित्यको इतिहास लेख्न तथा यसका आधार ग्रन्थहरू खोजी गर्न भारतको दार्जीलिङ, सिक्किम, आसाम इत्यादि ठाउँहरूको नेपालबाट कसैले भ्रमण गरेको थाह लाग्दैन । अपवादमा यसपाला पहिलोपल्ट डा.गोविन्दराज भट्टराईले ’नेपाली अनुवाद ग्रन्थसूची’ मा भारतलाई समावेश गर्न ठूलो परिश्रम गर्नुभएको छ । उहाँले यसको निम्ति आसामका कतिपय नेपाली बहुल क्षेत्रहरूको भ्रमण गरेर सिलगढीमा समेत साहित्यकारहरूसित भेटी यस कार्यलाई पूर्णता दिनुभएको हो । यसैले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित यो ग्रन्थमा भारतका अनुवादित कृतिहरूले निश्चितरूपले स्थान पाएको होला भन्न सकिन्छ । साहित्यको इतिहास लेख्ने अरूको निम्ति यो एउटा उदाहरणसमेत भएको छ । नेपालबाट प्रकाशित यस्ता इतिहास तथा इतिहास लेखनका आधार ग्रन्थहरूमा भारतबारे साधारण लेखकहरूले मात्र होइन विद्वान लेखकहरूले समेत धेरै भूल गरेका छन् । यस्तो भूल समालोचक डा.ईश्वर बरालबाट पनि भएको छ । डा. ईश्वर बरालले मधुपर्क (१७र७ मङ्सिर२०४१)मा ’सिक्किमको नेपाली साहित्य’ शीर्षकमा एउटा लेख लेख्नुभएको थियो । यसमा धेरै भूलहरू थिए । मैले यसमा भएका भूलहरू औंल्याएर लेखेको सम्पादकलाई पत्र मधुपर्क (१८र१, जेठ २०४२) मा छापियो । यो छापिएपछि डा.बरालले आफ्नो भूल स्वीकार गरेर सामग्रीको अभावमा यस्तो भएको हो भनेर खेद प्रकट गर्दै मलाई पत्र लेख्नुभएको थियो । ’ईश्वर बरालः कृति र कीर्ति’ ग्रन्थमा भएको मेरो संस्मरणात्मक लेखमा डा.बरालको उक्त पत्र समावेश छ । सामग्रीको अभावमा पनि यति त्रुटिपूर्ण लेख लेख्ने बाध्यता किन ? ( मेरो प्रश्नको जवाफ बरालजीले कहिले दिनुभएन ।) हामीकहाँ प्रारम्भिककालका इतिहास लेखनका अरू पनि धेरै सामग्रीहरूको ठूलो अभाव छ । भारतेली नेपाली साहित्यको इतिहास बृहत् रूपमा लेख्दा यसका आधार ग्रन्थहरूको ठूलो अभाव देखा पर्छ । यसको एउटा कारण हो, हामीसित राम्रा ’लेखक परिचय कोश’ छैनन्, न त मौलिक र अनुवादित कृतिहरूको ग्रन्थकोश नै छ । हामीकहाँ प्रारम्भिककालका इतिहास लेखनका अरू पनि धेरै सामग्रीहरूको ठूलो अभाव छ । अलिअलि भएका यस्ता धेरै सामग्रीहरू साथै सन्दर्भ ग्रन्थहरूसमेत अहिले अप्राप्य भैसकेका छन् । (क) ईसाई मिसनेरीहरू र गंगाप्रसाद प्रधान भारतीय नेपाली साहित्यको प्रारम्भिक कालमा कोश र व्याकरण निर्माण गर्नमा ईसाई मिसिनेरीहरूले गरेको योगदान अविस्मरणीय छ । यस्ता विदेशी विद्वानहरूमा ले.जे.ए.एटन (ग्रामर अफ दि नेपलि नरबहादुर दाहाल ज ल्याङवेज, १८२०) रेभ.ए.टर्नबुल (ए नेपलिज ग्रामर, १८८७), दोस्रो संस्करण ( १९०४) मेजर ए.जि.एफ.ब्राउन (मेनुयल अफ खस, गोर्खाली अर पर्वतिया(१८९२), सर राल्फ लिले टर्नर (व्यूत्पतिमूलक कोश, १९३१ ) इत्यादि हुन् । योबाहेक दार्जीलिङ जिल्लाको पहाडी क्षेत्र र सिक्किममा शिक्षा प्रचारमा समेत उनीहरूको अवदान कम छैन । नेपाली व्याकरण र कोश निर्माणमा उनीहरूको देनलाई हामीले भुल्नु हुँदैन। उनीहरूका कृतिहरू आज अव्यवहारिक भए पनि यी सबै हाम्रा ऐतिहासिक नीधि भएका छन ्। यी ईसाई मिसिनेरीहरूको नेपाली भाषा,साहित्यप्रतिको योगदानमाथि नेपालीमा कुनै कृति प्रकाशित हुनुपर्ने हो, तर प्रकाशित भएको छैन । भारतमा ईसाई मिसिनेरीहरूको नेपाली साहित्यमा योगदानको चर्चा गर्दा पाद्री गंगाप्रसाद प्रधानको नाम अग्रपंक्तिमा आउँछ। उहाँले अनुवाद गर्नुभएको पुरानो र नयाँ नियम बाइबल सन् १९१४ मा बाइबल सोसाइटीले प्रकाशित गरेको हो। योबाहेक उहाँले नेपाली उखान संग्रह गरेर प्रकाशित गर्नु भयो। उहाँले ईसाई मिसिनेरी मिसेज गोलेनसित मिलेर हान्स डेनिस आण्डर्सनका विश्व प्रसिद्ध बालकथाहरू नेपालीमा अनुवाद गर्नु भयो। पहिलो नेपाली भाषाका समाचार पत्र गोर्खे खबरकागत् सन् १९०१ देखि सन् १९३२ सम्म प्रकाशित गर्नु भयो। गंगाप्रसाद प्रधान झर्रो नेपाली भाषाका पक्षपाती हुनुहुन्थ्यो। यसैले उहाँले गोर्खे खबरकागत लगायत सम्पूर्ण कृतिहरूमा झर्रो नेपाली भाषा चलाउनु भयो। नेपालबाट आई काशीवास गर्ने नेपाली लेखकहरूले लेखेको नेपाली भाषालाई उहाँ ’काशीभाषे बोली’ भन्नुहुन्थ्यो। वास्तवमा उहाँ धर्मको कारणले ओझेलमा पर्नु भए हो । उहाँ ईसाई हुनुहुन्थ्यो । त्यसबेला ईसाई हुनु नेपाली समाजमा सामाजिक अपराध नै मानिन्थ्यो। एकताका डा.ईश्वर बरालले दार्जीलिङबाट फर्केर गएपछि एउटा लेखमा ’कृस्थान हुन लागेको दार्जीलिङको नेपाली समाज’ लेखिदिँदा ठूलो हंगामा भएको थियो। एक मात्र हिन्दू राष्ट्र नेपालबाट आई काशीमा बसेर नेपाली भाषामा लेख्ने नेपालका लेखकहरू गंगाप्रसाद प्रधानलाई विधर्मी भनेर उहाँले प्रयोग गर्ने गरेको भाषाको समेत आलोचना गर्थे। दार्जीलिङका पारसमणि प्रधानसमेत भाषाको कुरामा उहाँको पक्षमा थिएनन् । वास्तवमा गंगाप्रसाद प्रधान नेपाली साहित्यमा ईसाई भक्तिधाराका प्रवर्तक हुनुहुन्थ्यो। आफूले लेखेको साहित्यलाई उहाँले कहिले ईसाई साहित्य भन्नु भएन। गंगाप्रसाद प्रधानलाई भारतको साहित्य अकादमीले एकजना भारतीय साहित्यका निर्माता मानेर उहाँको मोनोग्राफ(जीवनी) समेत प्रकाशित गरिसकेको छ। नेपाली भाषामा जसले जे लेखे पनि नेपाली साहित्य हुनु पर्ने हो। हिन्दी साहित्य, बंगला साहित्य ,इत्यादि अलगै साहित्यहरू हुन्। त्यसरी नै ईसाई साहित्य भन्नाले यो पनि अलगै हो कि भन्ने भ्रम देखा पर्छ। अरू पनि धेरै विशिष्ट नेपाली साहित्यकारहरू कृष्णदास प्रधान,दानियल खालिङ, एम.एम.गुरूङ, इत्यादि सबै ईसाई थिए तर उनीहरूले आफ्नो सिर्जनालाई कतै पनि ईसाई साहित्य भनेका छैनन्। आज गंगाप्रसाद प्रधानका कति अनुयायीहरू आफूले लेखेको साहित्यलाई ईसाई साहित्य भन्ने गर्छन्। गंगाप्रसाद प्रधानले धर्म परिवर्तन गरे पनि उनी आजीवन नेपाली भाषा, साहित्य र संस्कृतिका पृष्ठपोषक रहनु भयो। उहाँले पाद्री मेकफार्लैनबाट अलफनेस प्रेस लिएर गोर्खे प्रेस नामकरण गरेर चलाउँनु भयो। उनको अर्को महत्वपूर्ण देन त्यसबेला नेपाली कोश र व्याकरण लेखनमा लागेका अंग्रेज र अन्य विदेशीहरूलाई उनीहरूको काममा यथेष्ठ सहयोग पुर्याउनुभएको थियो। उनको सहयोग पाएर नै ईसाई मिसिनेरीहरूले नेपालीकोश र व्याकरण तयार गरेर भाषा र साहित्यको सेवा गरे। गंगाप्रसाद प्रधानलाई भारतको साहित्य अकादमीले एकजना भारतीय साहित्यका निर्माता मानेर उहाँको मोनोग्राफ(जीवनी) समेत प्रकाशित गरिसकेको छ। आफ्नो समयमा गंगाप्रसाद प्रधान एकजना व्यक्तिले जे जति गर्नु भयो, यसलाई हामीले धेरै मान्नु पर्छ । अब आज उहाँ बारेका सामग्रीहरूको अभाव छैन । सलोन कार्थकले उहाँको जीवनी लेखेका छन्। उनको सम्पूर्ण कृतिहरूको रचनावली प्रकाशित भइसकेको छ। योबाहेक नरबहादुर दाहाल र एडोन रोङगोङको संयुक्त सम्पादनमा भारत र नेपालका धेरै जना लेखकहरूको गंगाप्रसाद प्रधानबारे लेखहरूको संग्रह ’अजम्बरी गंगाप्रसाद प्रधान’ एकता बुक हाउसले प्रकाशित गरिसकेको छ। अझ भाषिक अध्ययनको निम्ति नेपाल बाइबल सोसाइटीले गंगाप्रसाद प्रधानले अनुवाद गरेको बाइबलको नयाँ संस्करणसमेत प्रकाशित गरेको छ। उनको भाषा, साहित्य र पत्रकारिताप्रतिको योगदानको कदर गर्दै खरसाङको गोर्खा जनपुस्तकालयले खरसाङको गोर्खा जातीय विभूति उद्यानमा पारसमणि प्रधानसँगसँगै गंगाप्रसाद प्रधानको सालिक निर्माणको प्रस्ताव विचाराधीन छ। यसैले भारतेली नेपाली साहित्यको इतिहासमा ईसाई मिसिनेरीहरू र गंगाप्रसाद प्रधानले उचित स्थान पाउककनु पर्छ। (ख) लहरी र सवाई भारतीय नेपाली साहित्यको प्रारम्भिककालमा लहरी र सवाई लेखनले एउटा नौलो दिशा प्रदान गरेको थियो। यसले अहिले शताब्दीभन्दा पनि धेरै समय टेकिसकेको छ। तुलाचन आलेको ’मनीपुर्का लडाञिको सवाई’ (१८९३) धनवीर भंडारीको ’अब्बर्पहाड’को सवाई’(१८९७)र ’भैंचालाको सवाई’ पहिलो र दोस्रो भाग(१९०५) कृष्णबहादुर उदासको ’अछामको सवाई’(१९०८) इत्यादि उल्लेखनीय छन् । लहरी र सवाईबारे केही अध्ययन गुप्त प्रधानको ’धूमिल पृष्ठहरू’मा पाइन्छ । अझ हालैमा प्रकाशित डा.भीमकान्त उपाध्यायको ग्रन्थ ’नेपाली लहरीकाव्य ’लहरी र सवाईको मानक ग्रन्थ नै बन्न पुगेको छ । यसअघि पनि साहित्य अकादमीले लहरी र सवाई बारे डा.भीमकान्त उपाध्यायको एउटा कृति प्रकाशित गरिसकेको छ। यस्ता कृतिहरू यस विषयको इतिहास लेखनको आधार बन्न सक्छन्। भारतका बिभिन्न विश्वविद्यालयहरूमा अहिले लहरी र सवाईबारे शोधकार्य पनि चलिरहेको छ । यसैले यस विषयमा अरू पनि धेरै कुराहरू प्रकाशमा आउने सम्भावना देखिन्छ । (ग) प्रथम नाटककार र प्रथम उपन्यासकार योबाहेक भारतबाट प्रकाशित पहिलो नेपाली नाटक ’जीवन लीला’ र नाटककार डा.इन्द्रमान राई बारे दार्जीलिङ सर्कारी महाविद्यालयकी नेपाली विभागकी प्रमुख प्रा.सुजातारानी राईको कृति ’बिहङ्गम विवेचना’बाट धेरै कुरा जान्न सकिन्छ । यस कृतिमा भएको एउटा लेख ’नाटककार डा. इन्द्रमान राई शोधपरक सर्वेक्षणात्मक अध्ययन’ यस विषयको खोजपूर्ण लेख भएको छ। यस लेखबाट उनका केही साहित्यिक पक्षको जानकारी पाइन्छ। प्रतिमान सिंह लामा भारतका एकजना स्वत्रन्त्रता संग्रामी पनि थिए। भारतेली नेपाली साहित्यको पहिलो नेपाली उपन्यास ’महाकाल जासूस’र यसका लेखक प्रतिमान सिंह लामाको विषयमा पनि धेरैजना अनभिज्ञ छन्। उनको उपन्यास ’महाकाल जासूस’ भारतको अंग्रेजी शासनकालमा सन् १९१८ तिर खरसाङको हरि प्रिण्टिङ प्रेसमा छापिएको हो। त्यसै समय त्यही प्रेसमा मुद्रित ’चन्द्रिका’ मा यसको विज्ञापन पनि छापिएको छ। त्यसबेला भारतमा अंग्रेजको शासन र नेपालमा राणा शासन थियो। अंग्रेजका जासूस र राणाका जासूसहरू खरसाङमा आएर ’महाकाल जासूस’ का प्रतिहरू सबै किनेर लगी जलाइदिएकोले अहिले अप्राप्य भएको हो भन्ने शंका गरिएको छ। लेखकका ’महाकाल जासूस’ बाहेक अन्य विधाका कतिपय रचनाहरू पनि छन्। डा.मोहन पी.दाहालको ’प्रतिमान सिंह लामा’ बारेमा एउटा लेख मदन पुरस्कार गुठीको पत्रिका ’नेपाली’ (पूर्णांक १०८) मा प्रकाशित छ। यस लेखबाट उनका केही साहित्यिक पक्षको जानकारी पाइन्छ। प्रतिमान सिंह लामा भारतका एकजना स्वत्रन्त्रता संग्रामी पनि थिए। खरसाङका जी.बी.बलले लेखेको एउटा संस्मरणले यस विषयलाई पुष्टि गरेको छ ।(२) यसैले हालैमा खरसाङको ’गोर्खा जातीय विभूति उद्यान’मा प्रतिमान सिंह लामाको सालिक पनि स्थापित भएको छ। योबाहेक भारतका प्रारम्भिककालका अरू पनि धेरै लेखक कविहरू ओझेलमा परेका छन्। पारसमणि प्रधानको सम्पादनमा प्रकाशित’चन्द्रिका’को प्रकाशन काल(१९१८)की एकजना कालेबुङकि लेखिका कुमुदिनी शर्मा भारतेली नेपाली साहित्यमा प्रथम नारी स्रष्टा मानिन्छिन् तर उनको बारेमा पनि विशेष जानकारी केही पाइँदैन । उनको खोजीमा नारी कथाकारहरूबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने साङमू लेप्चाले धेरै परिश्रम गरेकी छन् । तर अझै यो विषयअनिश्चित नै छ । #नरबहादुर दाहाल